नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
व्यवस्था
व्यवस्थाको पुस्तक
1

1 यर्दन नदीको बेँसीको मैदानमा सुपको सामुन्‍ने अराबामा पारान, तोफेल, लाबान, हसेरोत र दीसाहाबका बिचमा यर्दनपारिको उजाड-स्थानमा मोशाले सबै इस्राएलीलाई दिएका वचन यिनै हुन् । 2 होरेबदेखि सेइर पर्वतको बाटो भएर कादेश-बर्नेसम्म पुग्‍न एघार दिन लाग्छ । 3 चालिसौँ वर्षको एघारौँ महिनाको पहिलो दिनमा मोशाले इस्राएलका सबै मानिसलाई परमप्रभुले तिनीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएका सबै कुरा तिनले तिनीहरूलाई बताइदिए । 4 हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोन र एद्रईको अस्तारोतमा बस्‍ने बाशानका राजा ओगलाई परमप्रभुले आक्रमण गर्नुभएपछि यो भएको थियो । 5 यर्दनपारि मोआब देशमा मोशाले यी निर्देशनहरू दिन थाले, 6 "परमप्रभु हाम्रा परमेश्‍वर यसो भन्दै होरेबमा हामीसित बोल्नुभयो, 'तिमीहरू यस डाँडामा बसेको धेरै भइसकेको छ । 7 आफ्नो यात्रा सुरु गरी एमोरीहरूको पहाडी देश र त्यसका छेउछाउका सबै ठाउँ अर्थात् यर्दन नदीको बेँसीको मैदान, पहाडी देश, तराई, नेगेव र समुद्रीतटमा कनानीहरूको देश र लेबनान र महानदी यूफ्रेटिससम्म जाओ । 8 हेर, मैले यो देश तिमीहरूको सामु राखिदिएको छु । परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिनीहरू र तिनीहरूका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा गएर यसलाई कब्जा गर ।' 9 त्यस बेला मैले तिमीहरूलाई यसो भनेँ, 'म एक्लै तिमीहरूलाई अगुवाइ गर्न सक्दिनँ । 10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको वृद्धि गराउनुभएको छ, अब हेर आज तिमीहरू आकाशका तारापुञ्‍जजस्तै धेरै भएका छौ । 11 परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले आफूले प्रतिज्ञा गरेअनुसार तिमीहरूलाई हजारौँ गुणा वृद्धि गरी तिमीहरूलाई आशिष् दिनुभएको होस् । 12 तर म आफैले मात्र कसरी तिमीहरूका भार, तिमीहरूका बोझ र तिमीहरूका झगडाहरू बोक्‍न सक्छु ? 13 हरेक कुलबाट बुद्धिमान् मानिसहरू, समझशक्ति भएकाहरू र असल नाम चलेकाहरूलाई छान र म तिनीहरूलाई तिमीहरूका नायक नियुक्त गर्ने छु ।' 14 तिमीहरूले जवाफ दिई मलाई भन्यौ, 'तपाईंले भन्‍नुभएको कुरो हाम्रो निम्ति असल छ ।' 15 त्यसैले मैले तिमीहरूका कुलहरूबाट मुख्य मानिसहरू, बुद्धिमान् मानिसहरू, असल नाउँ चलेकाहरूलाई छानी तिनीहरूलाई तिमीहरूका नायक बनाएँ ताकि तिनीहरूले कुल-कुलअनुसार हजार, सय, पचास र दसको रेखदेख गरून् । 16 त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनी आज्ञा दिएँ, 'तिमीहरूका दाजुभाइहरूका बिचमा भएको झगडालाई सुनी कुनै मानिस, भाइ र तिमीहरूका परदेशीको बिचमा धार्मिकतापूर्वक न्याय गर । 17 झगदा हुँदा कसैको पक्षपात नगर । साना-ठुला दुवैको कुरामा समान रूपमा ध्यान देओ । मानिसको अनुहारदेखि नडराओ किनकि न्याय परमेश्‍वरको हो । तिमीहरूले मिलाउन नसक्‍ने झगडा मकहाँ ल्याओ र म त्यो सुन्‍ने छु ।' 18 तिमीहरूले गर्नुपर्ने सबै कुरा मैले त्यस बेला नै तिमीहरूलाई आज्ञा गरेको थिएँ । 19 हामी होरेबबाट यात्रा गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा गर्नुभएअनुसार तिमीहरूले देखेका विशाल र डरलाग्दो उजाड-स्थानबाट भएर एमोरीहरूको पहाडी देशतर्फ जाने बाटो लाग्यौँ अनि हामी कादेश-बर्ने आइपुग्यौँ । 20 मैले तिमीहरूलाई भनेँ, 'तिमीहरू एमोरीहरूको पहाडी देशमा आइपुगेका छौ जुन देश परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिँदै हुनुहुन्छ । 21 हेर, परमप्रभु तिमीहरूका परमेश्‍वरले यो देश तिमीहरूका सामु राखिदिनुभएको छ । तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएअनुसार माथि उक्लेर यसको अधिकार गर । नडराओ, न त निरुत्साहित होओ ।' 22 तिमीहरू हरेक मकहाँ आएर भन्यौ, 'हामीभन्दा अगिअगि मानिसहरू पठाऔँ ताकि तिनीहरूले हाम्रो निम्ति त्यस देशको भेद लिई हामीले त्यस देशलाई कसरी आक्रमण गर्नुपर्छ र हामी कुन-कुन सहरमा आइपुग्‍नुपर्ने हो भन्‍ने बारेमा तिनीहरूले बताऊन् ।' 23 त्यो सल्लाहले मलाई ज्यादै खुसी पार्‍यो । मैले तिमीहरूमध्ये हरेक कुलबाट एक-एक गरी बाह्र जना मानिस छानेँ । 24 तिनीहरू पहाडी देशमा गए । तिनीहरू एश्कोलको बेँसीमा पुगी यसको जासुसी गरे । 25 तिनीहरूले आ-आफ्ना हातमा त्यस देशका केही उत्पादनहरू हामीकहाँ ल्याए । तिनीहरूले हामीकहाँ यस्तो समाचार पनि ल्याए, 'परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिन लाग्‍नुभएको यो देश असल छ ।' 26 तर तिमीहरूले आक्रमण गर्न इन्कार गरी परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरुद्धमा गयौ । 27 तिमीहरूका पालहरूमा गनगन गर्दै तिमीहरूले भन्यौ, "परमप्रभुले हामीलाई घृणा गर्नुभएको छ । त्यसैले, एमोरीहरूको हातमा सुम्पी हामीलाई नष्‍ट गर्न उहाँले हामीलाई मिश्र देशबाट बाहिर ल्याउनुभएको छ । 28 अब हामी कहाँ जाने? हाम्रा दाजुभाइहरूले यसो भनी हामीलाई निराश बनाएका छन्, 'ती मानिसहरू हामीभन्दा ठुला र अग्ला छन् । तिनीहरूका सहरहरू विशाल छन् र आकाशसम्मै पर्खाल लगाइएका छन् । त्यस बाहेक, त्यहाँ हामीले अनाकीहरूका सन्तानहरूलाई पनि देखेका छौँ' ।" 29 तब मैले तिमीहरूलाई भनेँ, 'भयभीत नहोओ, न त तिनीहरूदेखि डराओ । 30 तिमीहरूका अगिअगि जानुहुने तिमीहरूका परमप्रभु परमेश्‍वर नै तिमीहरूका पक्षमा लड्नुहुने छ जस्तो तिमीहरूकै आँखाका सामुन्‍ने मिश्रमा तिमीहरूका निम्ति उहाँले गर्नुभएको थियो । 31 तिमीहरू यस ठाउँमा नआइपुगुञ्‍जेलसम्म बुबाले आफ्नो छोरोलाई बोकेजस्तै उजाड-स्थानसाथै हरेक ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बोक्‍नुभएको तिमीहरूले देखेकै छौ ।' 32 यस वचनका बाबजुत पनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरमा विश्‍वास गरेनौ 33 जो रातमा आगो र दिनमा बादल बनेर तिमीहरूलाई छाउनी बनाउने ठाउँ पत्ता लगाउन तिमीहरूका अगिअगि जानुभयो । 34 परमप्रभुले तिमीहरूको आवाज सुन्‍नुभयो र उहाँ रिसाउनुभयो । उहाँले शपथ खाएर भन्‍नुभयो, 35 'निश्‍चय नै यो दुष्‍ट पुस्ताको एउटै मान्छेले पनि मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनेको असल देश देख्‍ने छैन । 36 तर यपुन्‍नेका छोरा कालेबले यो देश देख्‍नेछ । त्यसले पूर्ण रूपमा परमप्रभुलाई पछ्याएकोले म त्यसलाई र त्यसका सन्तानहरूलाई त्यसले पाइला टेकेको यो देश दिने छु ।' 37 तिमीहरूका कारणले परमप्रभु मसित पनि रिसाउनुभयो, 'तँ पनि त्यहाँ जाने छैनस् । 38 मेरो सामु खडा हुने नूनका छोरा यहोशू त्यहाँ जाने छ । त्यसलाई उत्साह दे किनकि त्यसले यस देशको कब्जा गर्न इस्राएललाई अगुवाइ गर्नेछ । 39 यस बाहेक, तेरा स-साना बालबालिकाहरू जसको विषयमा तैँले तिनीहरू सिकार हुने छन् भनी बताएको थिइस्, जससित आज असल र खराबको ज्ञान छैन, तिनीहरू नै त्यहाँ जाने छन् । तिनीहरूलाई म यो देश दिने छु र तिनीहरूले यसको अधिकार गर्ने छन् । 40 तर तिमीहरू भने फर्केर उजाड-स्थानको बाटो हुँदै नर्कटहरूको समुद्रको दिशातर्फ जाओ ।' 41 तब तिमीहरूले मलाई जवाफ दियौ, 'हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौँ । हामी माथि उक्लेर लडाइँ गर्ने छौँ, र परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई गर्नू भनी आज्ञा दिनुभएका सबै कुरा हामी गर्नेछौँ । तिमीहरूका बिचमा भएका हरेक पुरुषले आ-आफ्नो हतियार उठाएर त्यस पहाडी देशलाई आक्रमण गर्न तयार भयौ । 42 परमप्रभुले मलाई भन्‍नुभयो, 'तिनीहरूलाई भन्, "आक्रमण नगर्; लडाइँ नगर् किनकि म तिमीहरूसँग हुने छैनँ, र तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुने छौ ।' 43 मैले तिमीहरूलाई यसरी नै भनेँ, तर तिमीहरूले मेरो कुरा सुनेनौ । तिमीहरू परमप्रभुको आज्ञाको विरुद्धमा गयौ । तिमीहरू हठी भयौ र त्यस पहाडी देशलाई आक्रमण गर्न गयौ । 44 तर त्यस पहाडी देशमा बस्‍ने एमोरीहरू तिमीहरूको विरुद्धमा आएर तिमीहरूलाई मौरीलाई झैँ लखेटे अनि सेइरदेखि होर्मासम्मै तिमीहरूलाई प्रहार गरे । 45 तिमीहरू फर्केर पमरप्रभुको सामु रोयौ । तर पमरप्रभुले तिमीहरूको रुवाइ सुन्‍नुभएन, न त उहाँले तिमीहरूलाई ध्यानै दिनुभयो । 46 त्यसैले तिमीहरू कादेशमा धेरै दिनसम्म बस्यौ । तिमीहरूले त्यहाँ पुरै दिनहरू बितायौ ।

2

1 तब हामी परमप्रभुले मलाई भन्‍नुभएझैँ नर्कटहरूको समुद्रको दिशातर्फ उजाड-स्थानमा यात्रा गर्‍यौँ । हामीले धेरै दिनसम्म सेइर पर्वतको फन्को मार्‍यौँ । 2 परमप्रभुले मलाई यसो भन्‍नुभयो, ' 3 तिमीहरू धेरै दिनसम्म यस पर्वतको वरिपरि घुम्दै छौ । अब उत्तरतिर फर्क । 4 मानिसहरूलाई यसो भनी आज्ञा दे, 'तिमीहरू सेइरमा बस्‍ने एसावका सन्तानहरू अर्थात् तिमीहरूका दाजुभाइहरूको सिमाना पार गरेर जानुपर्छ । तिनीहरू तिमीहरूदेखि डराउने छन् । त्यसकारण सावधान होओ । 5 तिनीहरूसँग लडाइँ नगर्नू किनकि म तिनीहरूको कुनै पनि देश तिमीहरूलाई दिने छैनँ । पैतलाले टेक्‍ने जत्रो ठाउँ पनि म तिमीहरूलाई दिने छैनँ । किनकि मैले सेइर पर्वत एसावको अधिकारमा दिएको छु । 6 तिमीहरूले खानका लागि पैसा तिरेर तिनीहरूबाट खाना किन्‍नू । तिमीहरूले पिउनका लागि पैसा तिरेर तिनीहरूबाट पानी पनि किन्‍नू । 7 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष् दिनुभएको छ । यो ठुलो उजाड-स्थानको यात्राभरि उहाँले तिमीहरूको हेरचाह गर्नुभएको छ । यी चालिस वर्ष परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसित हुनुभएको छ, र तिमीहरूलाई कुनै कुरोको कमी भएको छैन' ।" 8 त्यसैले हामी सेइरमा बस्‍ने एसावका सन्तानहरू अर्थात् हाम्रा दाजुभाइहरूका सिमानाहरू भएर गयौँ । यो ठाउँ एलात र एस्योन-गेबेर अनि अराबाट पर पर्छ । तब हामी फर्केर मोआबको उजाड-स्थानको बाटो लाग्यौँ । 9 परमप्रभुले मलाई भन्‍नुभयो, 'मोआबलाई दुःख नदे, र तिनीहरूसित लडाइँ नगर् । म त्यसको देश तिमीहरूको आफ्नो अधिकार हुनलाई दिन्‍नँ किनभने मैले आर सहरलाई लोतका सन्तानहरूको अधिकार हुनलाई दिएको छु ।' 10 (पहिले त्यहाँ एमीहरू बस्थे जुन जाति पराक्रमी, असङ्ख्य र अनाकीहरूजस्तै अग्ला-अग्ला थिए । 11 अनाकीहरूझैँ यी मानिसहरू पनि रपाईहरू हुन् भनी ठानिन्छ, तर मोआबीहरूले तिनीहरूलाई एमी भन्थे । 12 सेइरमा पहिले होरीहरू पनि बस्थे, तर एसावका सन्तानहरूले तिनीहरूलाई धपाए । तिनीहरूले होरीहरूलाई त्यहाँबाट निकाली तिनीहरूको ठाउँमा बसोबास गरे जस्तो परमप्रभुले इस्राएललाई तिनीहरूको अधिकारको रूपमा यो देश दिनुभएको थियो ।) 13 'अब उठेर जेरेद खोला पारि जाओ ।' त्यसैले हामी जेरेद खोला पारि गयौँ । 14 कादेश-बर्नेबाट जेरेद खोला पारिसम्म आउन हामीलाई अठतिस दिन लाग्यो । त्यस बेलासम्म परमप्रभुले शपथ खानुभएझैँ लडाइँको लागि योग्य सबै मानिसको त्यो पुस्ता नष्‍ट भइसकेको थियो । 15 त्यस बाहेक, तिनीहरूलाई नष्‍ट नपारूञ्‍जेल परमप्रभुको हात त्यो पुस्ताको विरुद्धमा थियो । 16 जब मानिसहरूका बिचबाट लडाइँको लागि योग्य सबै मानिस मरेर गए, 17 परमप्रभुले मलाई यसो भन्‍नुभयो, 18 'आज तिमीहरूले मोआबको सिमाना आर सहरलाई पार गर्नुपर्छ । 19 तिमीहरू अम्मोनका मानिसहरूको सिमानामा आइपुग्दा तिनीहरूलाई दुःख नदेओ वा तिनीहरूसित लडाइँ नगर । अम्मोनीहरूको कुनै पनि भूमि म तिमीहरूको अधिकारको रूपमा दिन्‍नँ । किनकि मैले यो देश लोतका सन्तानहरूलाई अधिकारको रूपमा दिएको छु ।' 20 (त्यसलाई पनि रपाईहरूको देश ठानिन्थ्यो । त्यहाँ पहिले रपाईहरू बस्थे, तर अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्दथे । 21 तिनीहरू पराक्रमी, असङ्ख्य र अनाकीहरूझैँ अग्ला-अग्ला थिए । तर परमप्रभुले अम्मोनीहरूकै सामुन्‍ने तिनीहरूलाई नष्‍ट गरिदिनुभयो र तिनीहरूले यिनीहरूलाई धपाएर तिनीहरू यिनीहरूको ठाउँमा बसे । 22 परमप्रभुले सेइरमा बस्‍ने एसावका सन्तानहरूकै सामुन्‍ने होरीहरूलाई नष्‍ट गरी तिनीहरूको ठाउँमा यिनीहरूलाई राख्‍नुहुँदा यिनीहरूका लागि पनि यसै गर्नुभयो । यिनीहरू आजसम्म यहाँ बसोबास गर्दै छन् । 23 गाजासम्म टाढा गाउँहरूमा बस्‍ने अव्वीहरूलाई कप्‍तोरबाट आएका कप्‍तोरीहरूले नष्‍ट पारी तिनीहरूको ठाउँमा बसोबास गरे ।) 24 'अब उठेर आफ्ना यात्रा थाल अनि अर्नोनको बेँसी पार गर । हेर, मैले हेश्बोनका राजा एमोरी सीहोन र त्यसको देश तिमीहरूलाई दिएको छु । यसलाई कब्जा गर्न थाल र त्योसित लडाइँ गर । 25 पुरै आकाशमुनि भएका जाति-जातिहरूमा म तिमीहरूको डर र त्रास हाल्न सुरु गर्ने छु । तिनीहरूले तिमीहरूको बारेमा भएको खबर सुनेर थरथर काम्‍ने छन् अनि तिमीहरूको कारणले विचलित हुने छन् ।' 26 मैले कदेमोतको उजाड-स्थानबाट हेश्बोनका राजा सीहोनलाई शान्तिका वचनहरूसहित सन्देशवाकहरू पठाएँ, 27 'मलाई तपाईंको देश भएर जान दिनुहोस् । म लोकमार्ग भएर जानेछु । म दाहिने र देब्रे लाग्‍ने छैनँ । 28 खानको लागि तपाईंले मलाई पैसामा खाना बेच्नुहुने छ र पिउनको लागि पैसामा पानी दिनुहुने छ । केवल मलाई तपाईंको देश भएर जान दिनुहोस् 29 । जसरी सेइरमा बस्‍ने एसावका सन्तानहरू र आर सहरमा बस्‍ने मोआबीहरूले मेरो निम्ति गरेथे त्यसै गरी मैले यर्दन पार गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने देशमा नपुगेसम्म त्यसै गर्नुहोस् ।' 30 तर हेश्बोनका राजा सीहोनले हाम्रो कुरा सुनेनन् र हामीलाई तिनको बाटो भएर जान दिएनन् । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनको मन कठोर बनाइदिनुभएको थियो र तिनको हृदय हठी बनाइदिनुभएको थियो ताकि तिमीहरूको शक्तिद्वारा उहाँले तिनलाई पराजित गर्नुभएको होस् जस्तो उहाँले आजको दिनसम्म गर्नुभएको छ । 31 परमप्रभुले मलाई भन्‍नुभयो, 'हेर्, मैले तेरै सामुन्‍ने सीहोन र त्यसको देश तँलाई दिन थालेको छु । यस देशमाथि तेरो अधिकार होस् भनेर यसलाई कब्जा गर्न थाल् ।' 32 तब सीहोन आफ्ना सबै मानिस लिएर यहसा भन्‍ने ठाउँमा हाम्रो विरुद्धमा लड्न आए । 33 परमप्रभु हाम्रा परमेश्‍वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो र हामीले तिनी, तिनका छोराहरू र तिनका सबै मानिसलाई पराजित गर्‍यौँ । 34 त्यस बेला हामीले तिनका सबै सहर कब्जा गरी हरेक सहर, पुरुष र स्‍त्रीहरू अनि बालबच्‍चाहरूलाई पूर्ण रूपले नष्‍ट पार्‍यौँ । एउटै पनि बाँचेन । 35 आफ्ना निम्ति लुटको मालको रूपमा लगेका गाईवस्तु र सहरबाट लुटिएका मालहरू मात्र हामीले लियौँ । 36 अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलादसम्म हामीले कब्जा गर्न नसक्‍ने कुनै सहर थिएन । परमप्रभु हाम्रा परमेश्‍वरले ती हाम्रा हातमा दिनुभयो । 37 केवल अम्मोनका सन्तानहरूको देशसाथै यब्बोक नदीका सबै किनाराका जग्गा अनि पहाडी देशका सहरहरू जहाँ परमप्रभु हाम्रा परमेश्‍वरले जान हामीलाई निषेध गर्नुभयो थियो, त्यहाँ तिमीहरू गएनौ ।

3

1 तब हामी फर्केर बाशानको बाटोतर्फ लाग्यौँ । बाशानका राजा ओग र तिनका मानिसहरू एद्रईमा हामीलाई आक्रमण गर्न आए । 2 परमप्रभुले मलाई भन्‍नुभयो, 'त्यसदेखि नडरा । किनकि मैले तँलाई त्यसमाथि विजय दिएको छु, र तेरा सबै मानिस र त्यसको भूमि तेरो नियन्त्रणमा राखिदिएको छु । तैँले हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै त्यसलाई गर्ने छस् ।' 3 त्यसैले परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई बाशानका राजा ओग र तिनका सबै मानिसमाथि विजय दिनुभई हाम्रो नियन्त्रणमा दिनुभयो । हामीले एउटै पनि नछाडि तिनका मानिसहरूलाई मार्‍यौँ । 4 त्यस बेला हामीले तिनका सबै सहर कब्जा गर्‍यौँ । हामीले बाशानमा अर्गोबको राज्यसाथै ओगको राज्य गरी एउटै पनि नछाडि सबै साठीवटा सहरलाई कब्जा गर्‍यौँ । 5 यी सबै सहर अग्ला-अग्ला पर्खालले घेरिएका, प्रवेशद्वार र बारहरू भएका सहरहरू थिए । यीबाहेक पर्खाल नलगाइएका धेरै सहरहरू पनि थिए । 6 हामीले हेश्बोनका राजालई गरेजस्तै तिनीहरूका पुरुष र स्‍त्रीहरूसाथै स-साना बालबच्‍चालाई पूर्ण रूपमा नष्‍ट पार्‍यौँ । 7 तर सबै गाईवस्तु र सहरका धनमाल भने लुटको मालको रूपमा हामीले लियौँ । 8 त्यस बेला हामीले एमोरीहरूका दुई राजाका हातबाट यर्दन पारिको अर्नोनको बेँसीदेखि हेर्मोन डाँडासम्मको देश कब्जा गर्‍यौँ । 9 (हेर्मोनलाई सीदोनीहरूले सिरिओन र एमोरीहरूले सेनीर भन्दछन्) । 10 हामीले तराईका सबै सहर, सबै गिलाद, सबै बाशान, सलका र एद्रईसम्मका इलाकाहरू अनि बाशानमा भएका ओग राज्यका सबै सहर कब्जा गर्‍यौँ । 11 (रपाईहरूमा केवल बाशानका राजा जीवित रहे । तिनको पलङ्ग फलामको थियो । मानिसहरूको नापअनुसार यो नौ हात लामो र चार हात चौडा थियो । के अम्मोनका सन्तानहरू रब्बामा नै बस्थेनन् र?) 12 त्यस बेला हामीले अधिकारको रूपमा लिएको देश अर्थात् अर्नोनको बेँसीनेर अरोएरदेखि गिलादको पहाडी देशको आधा भाग र यसका सहरहरू मैले रूबेनीहरू र गादीहरूलाई दिएँ । 13 गिलादको बाँकी भाग र सम्पूर्ण बाशान अर्थात् ओगको राज्य (अर्गोबको सम्पूर्ण राज्य र सम्पूर्ण बाशान) मैले मनश्शेको आधा कुललाई दिएँ । (उही क्षेत्रलाई रपाईहरूको देश भनिन्छ । 14 मनश्शेका सन्तान याईरले गशूरी र माकातीहरूको सिमानासम्म अर्गोबको सारा राज्य कब्जा गरे । तिनले त्यस क्षेत्र र बाशानलाई आफ्नै नाउँद्वारा हब्बात-याईर नाउँ दिए जसलाई आजसम्म उही नामले चिनिन्छ ।) 15 मैले गिलादचाहिँ माकीरलाई दिएँ । 16 रूबेनीहरू र गादीहरूलाई मैले गिलाददेखि अर्नोन बेँसीसम्म (बेँसीको मध्य भाग त्यस इलाकाको सिमाना थियो) र यब्बोक नदी (जुन अम्मोनीहरूको सिमाना थियो) दिएँ । 17 यसको अर्को सिमाना किन्‍नरेतदेखि पिसगा टापुको पूर्वपट्टि रहेको भीरमुनि अराबा समुद्र (अर्थात् खारा समुद्र) सम्म अर्थात् यर्दन नदीको बेँसीको मैदान थियो । 18 त्यस बेला मैले तिमीहरूलाई यसो भनेर आज्ञा दिएँ, 'परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यो देश अधिकार गर्न दिनुभएको छ । सबै योद्धाहरू इस्राएलका मानिसहरू अर्थात् तिमीहरूका दाजुभाइहरूका सामु हतियार भिरेर जानुपर्छ । 19 तर तिमीहरूका पत्‍नीहरू, तिमीहरूका बालबच्‍चाहरू र तिमीहरूका गाईवस्तु (तिमीहरूसित थुप्रै गाईवस्तु छन् भनी मलाई थाहा छ) मैले तिमीहरूलाई दिएका सहरहरूमा बस्‍ने छन् । 20 परमप्रभुले तिमीहरूलाई झैँ तिमीहरूका दाजुभाइहरूलाई विश्राम नदिनुभएसम्म र परमप्रभुले तिमीहरूलाई दिनुहुने यर्दनपारिको भूमि तिमीहरूलाई अधिकार गर्न नदिनुभएसम्म तिमीहरूले यसो गर्नू । तब मैले तिमीहरूलाई अधिकारमा दिएको देशमा तिमीहरू हरेक फर्केर आउने छौ ।' 21 त्यस बेला मैले यहोशूलाई यसो भनेर आज्ञा दिएँ, 'परमप्रभु तिमीहरूका परमेश्‍वरले यी दुई राजालाई गर्नुभएका सबै कुरा तिम्रो आफ्नै आँखाले देखेका छन् । अब तिमीहरू पारि जाँदा सबै राज्यलाई पनि परमप्रभुले उही गर्नुहुने छ । 22 तिनीहरूदेखि नडराओ किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूको पक्षमा लड्नुहुने छ ।' 23 त्यस बेला मैले परमप्रभुलाई यसो भनेर बिन्ती चढाएँ, 24 'हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्ना दासलाई तपाईंको महान्‌ता र तपाईंको शक्तिशाली हात देखाउन थाल्नुभएको छ किनकि स्वर्ग र पृथ्वीमा त्यस्तो कुनचाहिँ देव छ जसले तपाईंले गर्नुभएका शक्तिशाली कार्यहरू गर्न सक्छ? 25 म बिन्ती गर्दछु, कि मलाई पारि गएर यर्दनपारिको त्यो देश, असल पहाडी देश र लेबनान पनि देख्‍न दिनुहोस् ।' 26 तर तिमीहरूका कारणले परमप्रभु मसित रिसाउनुभयो । उहाँले मेरो कुरा सुन्‍नुभएन । परमप्रभुले मलाई भन्‍नुभयो, 'तेरो लागि यति नै पर्याप्‍त होस् । अबदेखि उसो यस विषयमा मसित नबोल् । 27 पिसगाको टाकुरामा उक्लेर तेरा आँखा पश्‍चिमतिर, उत्तरतिर, दक्षिणतिर र पूर्वतिर लगा । तेरा आँखाले हेर् किनकि तँ यर्दनपारि जान पाउने छैनस् । 28 बरु, यहोशूलाई निर्देशन दिनू र त्यसलाई उत्साह दिएर बलियो पार्नू किनकि त्यो यो जातिको अगिअगि पारि जाने छ, र त्यसले नै तैँले देखेको यो देश तिनीहरूलाई अधिकार गर्न लाउने छ ।' 29 त्यसैले हामी बेथ-पोरको सामुन्‍नेको बेँसीमा बस्यौँ ।

4

1 अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउनै लागेका विधिविधानहरूलाई सुन । तिनको पालन गरी तिमीहरू जीवित होऊ र परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा गएर त्यसलाई अधिकार गर । 2 मैले तिमीहरूलाई आज्ञा गरेका वचनहरूमा नथप्‍नू न त तीबाट घटाउनू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएका आज्ञाहरू तिमीहरूले पालन गर्न सक । 3 बाल-पोरको कारणले परमप्रभुले के गर्नुभयो, त्यो तिमीहरूका आँखाले देखेका छन् । पोरको बाल देवतालाई पछ्याउने सबै मानिसलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूकै बिचबाट नष्‍ट पारिदिनुभयो । 4 तर परमप्रभु तिमीहरूका परमेश्‍वरसित टाँसिनेहरूमध्ये हरेक आज जीवित छ । 5 हेर, परमप्रभु मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएझैँ मैले तिमीहरूलाई विधिविधानहरू सिकाएको छु, कि तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा तिमीहरू प्रवेश गर्दा तिमीहरूले ती पालन गर्नुपर्छ । 6 त्यसकारण ती मान र पालन गर । किनकि जाति-जातिहरूको दृष्‍टिमा यो तिमीहरूको बुद्धि र समझशक्ति हुने छ जसले यी सबै विधिविधानको बारेमा सुनेर यसो भन्‍ने छन्, 'निश्यच नै, यो महान् जाति बुद्धिमानी र समझशक्ति भएको जाति रहेछ ।' 7 किनकि हामीले जहिलेसुकै पुकारा गर्दा हाम्रा परमप्रभु परमेश्‍वर जत्ति नजिक हुनुहुन्छ, त्यति अर्को कुन जातिको ईश्‍वर नजिक छ ? 8 आज मैले तिमीहरूका सामु राखिरहेको यो व्यवस्थाजस्तै धार्मिक विधिविधान भएको कुनचाहिँ अर्को महान् जाति छ ? 9 केवल ध्यान देओ र आ-आफूलाई होसियारीपूर्वक पहरा देओ ताकि तिमीहरूका आँखाले देखेका कुराहरू तिमीहरूले नबिर्स र तिमीहरूका जीवनभरि ती तिमीहरूका ह्रदयबाट नजाऊन् । बरु, ती तिमीहरूका छोराछोरीहरू र नातिनातिनाहरूलाई सिकाओ । 10 होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु उभिएको दिनमा परमप्रभुले मलाई यसो भन्‍नुभयो, 'मानिसहरूलाई जम्मा गर् र म तिनीहरूलाई मेरा वचन सुन्‍ने बनाउने छु ताकि यस पृथ्वीमा तिनीहरू बाचुञ्‍जेलसम्म तिनीहरूले मेरो भय मान्‍न सिकून् र तिनीहरूका छोराछोरीहरूलाई सिकाउन सकून् ।' 11 तिमीहरू पर्वतको फेदको नजिक आएर उभियौ । पर्वतमा आगो दन्केर आकाशको बिचसम्मै पुग्यो, अनि बाक्लो अन्धकार र बादल छायो । 12 आगोको बिचबाट परमप्रभु तिमीहरूसित बोल्नुभयो । तिमीहरूले बोलिएको वचनको आवाज सुन्यौ तर त्यहाँ तिमीहरूले कुनै स्वरूप देखेनौ । तिमीहरूले आवाज मात्रै सुन्यौ । 13 उहाँले तिमीहरूलाई तिमीहरूले पालन गर्नुपर्ने उहाँको करार अर्थात् दस आज्ञाको घोषणा गर्नुभयो । उहाँले तिनलाई दुईवटा शिला-पाटीमा लेख्‍नुभयो । 14 तिमीहरूलाई विधिविधानहरू सिकाउन त्यस बेला परमप्रभुले मलाई आज्ञा दिनुभयो ताकि पारि गएर तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा ती पालन गर्न सक । 15 त्यसैले तिमीहरूले आ-आफूलाई ध्यान देओ किनकि त्यस दिन होरेबमा परमप्रभु आगोको बिचबाट तिमीहरूसित बोल्नुहुँदा तिमीहरूले कुनै स्वरूप देखेनौ । 16 कुनै पुरुष वा स्‍त्रीको स्वरूपमा वा खोपेर कुनै पनि प्रतिमा बनाएर वा 17 पृथ्वीमा कुनै पशुको स्वरूप वा आकाशमा उड्ने कुनै चराचुरुङ्गी वा 18 भुइँमा घस्रने कुनै पनि प्राणी वा पृथ्वीमुनि पानीमा भएको कुनै पनि माछाको प्रतिमा बनाएर तिमीहरूले आफूलाई भ्रष्‍ट नपार । 19 पुरै आकाशमुनि सबै जातिलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुभएका सूर्य, चन्द्रमा वा ताराहरूसाथै सबै आकाशीय पिण्डहरू देखेर तिनको पुजा आराधना गर्न आफ्ना आँखा माथि नउठाओ । 20 तर परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै निज सम्पत्ति (जस्तो आज तिमीहरू छौ) बनाउन आगोको भट्टी अर्थात् मिश्रबाट निकालेर ल्याउनुभएको छ । 21 तिमीहरूका कारणले परमप्रभु मसित रिसाउनुभयो । म यर्दनपारि जान नपाउने र परमप्रभु तिमीहरूका परमेश्‍वरले सम्पत्तिको रूपमा तिमीहरूलाई दिनुहुने देशमा जान नपाउने गरी उहाँले शपथ खानुभयो । 22 बरु, म यस देशमै मर्नुपर्छ । म यर्दनपारि जान पाउने छैनँ । तर तिमीहरू त्यस असल देशमा गएर त्यसको अधिकार गर्ने छौ । 23 सावधान बस ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित बाँध्‍नुभएको करार तिमीहरूले नभुल र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई निषेध गर्नुभएको कुनै पनि कुराको प्रतिमूर्ति नबनाओ । 24 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर भस्म पार्ने आगो र डाही परमेश्‍वर हुनुहुन्छ । 25 तिमीहरूले छोराछोरीहरू र नातिनातिनाहरू जन्माइसकेपछि तिमीहरू लामो समयसम्म त्यस देशमा बस्दा तिमीहरूले आफूलाई भ्रष्‍ट पारी खोपेर कुनै पनि कुराको प्रतिमूर्ति बनाएर परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा दुष्‍ट काम गरी उहाँलाई चिढ्यायौ भने म आज स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्दछु, 26 कि जुन देश अधिकार गर्न तिमीहरू यर्दनपारि जाँदै छौ त्यस देशबाट तिमीहरू चाँडै नै पूर्ण रूपमा नष्‍ट हुने छौ । त्यहाँ तिमीहरू लामो समयसम्म बाँच्ने छैनौ, तर तिमीहरू पूर्ण रूपमा नष्‍ट हुने छौ । 27 परमप्रभुले तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पारिदिनुहुने छ, र उहाँले तिमीहरूलाई धपाउनुभएका जातिहरूका बिचमा तिमीहरूको सङ्ख्या थोरै हुने छ । 28 त्यहाँ तिमीहरूले मानिसहरूका हातले बनाइएका काठ र ढुङ्गाका अन्य देवताहरूको सेवा गर्ने छौ जसले न देख्छन् न सुन्छन् न खान्छन् न त सुँघ्छन् । 29 तर त्यहीँबाट नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको खोजी गर्ने छौ र तिमीहरूका सारा ह्रदय र सारा प्राणले उहाँको खोजी गर्दा तिमीहरूले उहाँलाई भेट्टाउने छौ । 30 ती पछिल्ला दिनमा तिमीहरू सङ्कष्‍टमा हुँदा र यी सबै कुरा तिमीहरूमा आइपर्दा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की उहाँको आवाज सुन्‍ने छौ । 31 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर कृपालु हुनुहुन्छ । उहाँले तिमीहरूलाई त्याग्‍नुहुने छैन न त नष्‍ट गर्नुहुने छ न तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करारलाई भुल्नुहुने छ । 32 अब के पहिले कहिल्यै यस्तो महान् घटना भएको थियो वा यस्तो कहिल्यै सुनिएको थियो ? तिमीहरूभन्दा अगि बितेका दिनहरू अर्थात् परमेश्‍वरले पृथ्वीमा मानिस सृजनुभएको दिनको बारेमा सोधपुछ गर । आकाशको एक छेउदेखि अर्को छेउसम्म सोधपुछ गर । 33 तिमीहरूले सुनेजस्तै आगोको बिचबाट परमेश्‍वर बोल्नुभएको सुनेर के कुनै जाति कहिल्यै जीवित भएको छ ? 34 वा मिश्रमा तिमीहरूका आँखाकै सामुन्‍ने परमप्रभु तिमीहरूका परमेश्‍वरले गर्नुभएझैँ परीक्षा, चिन्ह, आश्‍चार्य, लडाइँ, शक्तिशाली हात, पसारिएको पाखुरा र महान् त्रासहरूद्वारा अर्को जातिको बिचबाट आफ्नो लागि एउटा जातिलाई लिएर आउन के परमेश्‍वरले कहिल्यै कोसिस गर्नुभएको छ ? 35 तिमीहरूलाई नै यी कुराहरू देखाइए ताकि तिमीहरूले परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ र उहाँबाहेक अरू कोही ईश्‍वर छैन भनी तिमीहरूले जान्‍न सक । 36 तिमीहरूलाई निर्देशन दिन उहाँले स्वर्गबाट आफ्नो आवाज तिमीहरूलाई दिनुभयो । पृथ्वीमा उहाँले आफ्नो दन्कने आगो तिमीहरूलाई देखाउनुभयो । तिमीहरूले आगोको बिचबाट उहाँका वचन सुन्यौ । 37 उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नुभएकाले उहाँले तिनीहरूका सन्तानहरूलाई चुन्‍नुभयो अनि उहाँको उपस्थिति र महाशक्तिसहित तिमीहरूलाई मिश्रबाट ल्याउनुभयो । 38 उहाँले तिमीहरूकै सामु तिमीहरूभन्दा शक्तिशाली र महान् जातिलाई धपाइदिनुभयो ताकि तिमीहरूलाई भित्र ल्याई सम्पत्तिको रूपमा तिनीहरूको देश दिन सकून् जस्तो आज उहाँले गर्नुभएको छ । 39 त्यसकारण आज यो जान र ह्रदयमा राख कि परमप्रभु नै माथि स्वर्ग र तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्छ र अरू कोही छैन । 40 आज मैले तिमीहरूलाई दिएका विधिविधानहरू तिमीहरूले पालन गर ताकि तिमीहरू र तिमीहरू पछि आउने तिमीहरूका छोराछोरीहरूको भलो होस् अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले सदाको निम्ति तिमीहरूलाई दिनुभएको देशमा तिमीहरूको आयु लामो होस् ।" 41 तब मोशाले यर्दनको पूर्वपट्टि तिनवटा सहर छाने 42 ताकि कुनै पनि व्यक्तिले पहिले दुश्मनी नभएका अर्को व्यक्तिलाई अजान अवस्थामा मारेको खण्डमा त्यहाँ भागेर जान सकोस् । यी सहरमध्ये कुनै एउटामा भागेर त्यसले आफ्नो ज्यान बचाउन सक्थ्यो । 43 यी सहरहरू यिनै थिएः रूबेनीहरूका लागि उजाड-स्थानमा मैदानको बेसेर, गादीहरूका लागि गिलादको रामोत र मनश्शेका सन्तानहरूका लागि बाशानको गोलान । 44 मोशाले इस्राएलका मानिसहरूका सामु राखिदिएको व्यवस्था यही हो । 45 इस्राएलीहरू मिश्रबाट आउँदा तिनले तिनीहरूलाई दिएका करारका आज्ञाहरू, व्यवस्थाहरू र अन्य आज्ञाहरू यी नै हुन् । 46 तिनीहरू हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोनको देश बेथ-पोरको सामुन्‍ने यर्दनको पूर्वपट्टि छँदा मोशाले यी आज्ञाहरू दिएका थिए । मोशा र इस्राएलीहरू मिश्रबाट आउँदा तिनले यी राजालाई हराएका थिए । 47 तिनीहरूले तिनको देश र बाशानका राजा ओगको देशमाथि अधिकार गरे । यी एमोरीहरूका दुई राजा थिए जो यर्दनपारि पूर्वपट्टि बस्थे । 48 यो क्षेत्र अर्नोनको बेँसीको छेउमा रहेको अर्नोनदेखि सियोन पर्वत (अर्थात् हेर्मोन पर्वत) सम्म 49 र यर्दनपारि पूर्वपट्टि यर्दन नदीको बेँसीको मैदानका सबै भूभागदेखि अराबाको समुद्रसम्म र पिसगा टापुको भिरसम्म पर्थ्यो ।

5

1 मोशाले सारा इस्राएलीलाई बोलाएर भने, "हे इस्राएल हो, आज मैले तिमीहरूलाई दिने विधिविधानहरू सुन ताकि तिनलाई जानेर तिमीहरू आज्ञाकारी बन्‍न सक । 2 परमप्रभु हाम्रा परमेश्‍वरले होरेबमा हामीसित करार बाँध्‍नुभयो । 3 परमप्रभुले यो करार हाम्रा पिता-पुर्खाहरूसित बाँध्‍नुभएन, आज हामी बाँचेकाहरू सबैसित बाँध्‍नुभयो । 4 पर्वतमा परमप्रभु आगोको बिचबाट तिमीहरूसित आमनेसामने बोल्नुभयो । 5 त्यस बेला उहाँको वचन प्रकट गर्न म परमप्रभु र तिमीहरूका बिचमा उभिएँ किनकि आगोको कारणले गर्दा तिमीहरू डराएका थियौ, र तिमीहरू पर्वतमा उक्लेर गएनौ) । परमप्रभुले भन्‍नुभयो, 6 'तिमीहरूलाई मिश्रदेश अर्थात् दासत्वको देशबाट ल्याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । 7 तिमीहरूले मेरो सामु अन्य कुनै देवी-देवता नमान्‍नू । 8 आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू । 9 तिनीहरूका सामु ननिहुरनू न त तिनीहरूको सेवा गर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिने छु । 10 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्‍वसनीयता देखाउने छु । 11 परमप्रभु तिमीहरूका परमेश्‍वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्ने छैनँ । 12 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएमुताबिक शबाथ-दिन पवित्र राख्‍न याद राख्‍नू । 13 तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र तिमीहरूका सबै काम गर्नुपर्छ । 14 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गोरु, वा तिमीहरूका गधा वा तिमीहरूका कुनै पनि गाईवस्तु वा तिमीहरूको सहरभित्र भएका परदेशीले कुनै काम नगरोस् । तिमीहरूका कमारा-कमारीले पनि तिमीहरूसँगै विश्राम गरून् । 15 तिमीहरू मिश्र देशमा कमारा थियौ, र परमप्रभु तिमीहरूका परमेश्‍वरले शक्तिशाली हात र फैलिएको पाखुराद्वारा तिमीहरूलाई त्यहाँबाट ल्याउनुभयो भनी याद राख्‍नू । त्यसकारण, शबाथ-दिन मान्‍न परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएको छ । 16 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस् र तिमीहरूको भलो होस् । 17 हत्या नगर्नू । 18 व्यभिचार नगर्नू । 19 चोरी नगर्नू । 20 आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू । 21 आफ्नो छिमेकीकी पत्‍नीको लालच नगर्नू; आफ्नो छिमेकीको घरको लालच नगर्नू; त्यसको खेत, कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।' 22 परमप्रभुले यी वचनहरू पर्वतमा आगोको बिचबाट घोर अन्धकारमा बादलबाट तिमीहरूका सारा समुदायलाई ठुलो सोरमा भन्‍नुभयो । उहाँले अरु कुनै पनि वचन थप्‍नुभएन । उहाँले दुईवटा शिला-पाटीमा ती लेख्‍नुभयो र मलाई दिनुभयो । 23 पर्वत जलिरहँदा अन्धकारको बिचबाट तिमीहरूले आवाज सुन्दा तिमीहरूका सबै धर्म-गुरु र तिमीहरूका कुलहरूका नायकहरू मकहाँ आयौ । 24 तिमीहरूले भन्यौ, 'हेर, परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई उहाँको महिमा र उहाँको महान्‌ता देखाउनुभएको छ, र आगोको बिचबाट हामीले उहाँको आवाज सुनेका छौँ । परमेश्‍वर मानिसहरूसित बोल्नुहुँदा पनि तिनीहरू जीवितै रहन सक्छन् भनी आज हामीले देखेका छौँ । 25 तर हामी किन मर्ने ? किनकि यो महाअग्‍निले हामीलाई भस्म पार्ने छ । हामीले परमप्रभु हाम्रा परमेश्‍वरको आवाज अझै सुन्यौँ भने हामी मर्ने छौँ । 26 किनकि आगोको बिचबाट जीवित परमेश्‍वरको वचन सुनेर पनि हामीजस्तै बाँच्ने कुनचाहिँ प्राणी होला ? 27 जानुहोस् र परमप्रभु हाम्रा परमेश्‍वरले भन्‍नुहुने हरेक कुरो सुन्‍नुहोस् । परमप्रभु हाम्रा परमेश्‍वरले तपाईंलाई भन्‍नुहुने हरेक कुरो हामीलाई दोहोर्‍याउनुहोस् । हामी यसलाई सुन्‍ने छौँ र पालन गर्ने छौँ ।' 28 तिमीहरू मसित बोल्दा परमप्रभुले तिमीहरूका वचन सुन्‍नुभयो । उहाँले मलाई भन्‍नुभयो, 'यी मानिसहरूले तँलाई भनेका वचनहरू मैले सुनेको छु । तिनीहरूले भनेका कुरा असल थिए । 29 मेरो आदर गर्ने र सधैँ मेरा सबै आज्ञा मान्‍ने हृदय तिनीहरूमा भइदिए त तिनीहरू र तिनीहरूका छोराछोरीहरूको सदासर्वदा भलो हुनेथियो । 30 गएर तिनीहरूलाई भन्, 'तिमीहरूका पालहरूमा फर्क ।' 31 तर तँचाहिँ मेरो नजिक खडा हो, र म तँलाई सबै आज्ञा र विधिविधान दिने छु जुन तैँले तिनीहरूलाई सिकाउने छस् ताकि मैले तिनीहरूलाई अधिकारको लागि दिने देशमा तिनीहरूले यी पालन गरून् ।' 32 त्यसकारण, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएका आज्ञाहरू पालन गर । 33 तिमीहरू दायाँ र बायाँ नलाग । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएका सबै मार्गमा हिँड ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू बाँच्न सक, र तिमीहरूको भलो होस् अनि तिमीहरूको आयु लामो होस् ।

6

1 अब यर्दन पारि गई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले पालन गरून् भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउन भनी मलाई दिनुभएका आदेश र विधिविधानहरू यिनै हुन् । 2 तिमीहरूको आयु लामो होस् भनेर तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका नातिनातिनाहरूले जीवनभरि परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नू र उहाँका सबै विधान र आज्ञा मान्‍नू । 3 त्यसकारण, हे इस्राएल हो, तिनलाई सुन र पालन गर ताकि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बग्‍ने देशमा तिमीहरूको भलो होस् र तिमीहरू गुणात्मक रूपमा वृद्धि हुन सक । 4 हे इस्राएल हो, सुनः पमरप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ । 5 तिमीहरूले पमरप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय, सारा प्राण र सारा शक्तिले प्रेम गर्नू । 6 आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू तिमीहरूका हृदयमा राख । 7 अनि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई ती मेहनतसाथ सिकाउनू । तिमीहरू आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिमीहरूले तिनकै चर्चा गर्नू । 8 तिमीहरूले चिन्हको रूपमा तिनलाई हातमा बाँध्‍नू र तिमीहरूका आँखाका बिचमा तिनले पट्टको काम गरून् । 9 तिमीहरूले तिमीहरूका घरका चौकोस र ढोकाहरूमा ती लेख्‍नू । 10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिमीहरूलाई दिन्छु भनी शपथ खानुभएको तिमीहरूले नबनाएका अनि ठुला 11 र ज्यादै राम्रा-राम्रा सहरहरू भएको देशमा ल्याउनुहुँदा जहाँ तिमीहरूले नबनाएका सबै किसिमका असल थोकहरूले घरहरू भरिपूर्ण हुने छन्, तिमीहरूले नखनेका इनारहरू हुने छन् र तिमीहरूले नरोपेका दाखबारी र जैतूनका रुखहरू हुने छन्, ती तिमीहरूले खाने छौ र तृप्‍त हुने छौ, 12 तब तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको देशबाट ल्याउनुहुने परमप्रभुलाई नबिर्सन होसियार होओ । 13 परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नू; उहाँको मात्र आराधना गर्नू र उहाँको नाउँमा शपथ खानू । 14 तिमीहरूका वरिपरि भएका जाति-जातिहरूका देवी-देवताहरूको पछि नलाग्‍नू, 15 किनकि तिमीहरूका बिचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुनुहुन्छ । तिमीहरूले त्यसो गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरको क्रोध तिमीहरूका विरुद्धमा दन्कने छ र उहाँले तिमीहरूलाई पृथ्वीको धूलोबाट नष्‍ट पार्नुहुने छ । 16 मस्साहमा परीक्षा गरेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरको परीक्षा नगर्नू । 17 तिमीहरूलाई आज्ञा गर्नुभएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, उहाँका गम्भीर आदेशहरू र उहाँका विधिहरू दत्तचित्तसाथ पालन गर्नू । 18 तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठिक र असल छ, त्यही गर्नू ताकि तिमीहरूको भलो होस् र परमप्रभुले तिमीहरूका पुर्खाहरूसित शपथ खानुभएको देशमा गएर यसको अधिकार गर्न सक, 19 अनि परमप्रभुले भन्‍नुभएझैँ तिमीहरूले तिमीहरूका सबै शत्रुहरूलाई धपाउन सक । 20 भावी दिनमा तिम्रो छोराले, 'परमप्रभु हाम्रा परमेश्‍वरले तपाईंलाई दिनुभएका करारका आदेशहरू, विधिविधानहरू के-के हुन् ?' भनी सोध्दा 21 तिमीले आफ्नो छोरोलाई भन्‍नू, 'हामी मिश्रमा फारोका कमाराहरू थियौँ । परमप्रभुले हामीलाई शक्तिशाली हातद्वारा मिश्रबाट ल्याउनुभयो, 22 र उहाँले हाम्रा आँखाकै सामु मिश्रमा फारो र तिनका सबै घरानामाथि महान् र डरलाग्दा चिन्हसाथै आश्‍चर्यहरू देखाउनुभयो । 23 उहाँले हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो ताकि हाम्रा पुर्खाहरूसित शपथ खानुभएको देशभित्र उहाँले हामीलाई ल्याउन सक्‍नुभएको होस् । 24 परमप्रभुले सधैँ यी सबै विधिविधान मान्‍न, हाम्रो भलाइको लागि परमप्रभु हाम्रा परमेश्‍वरको भय मान्‍न हामीलाई आज्ञा दिनुभएको छ ताकि आजजस्तै उहाँले हामीलाई जीवित राख्‍नुभएको होस् । 25 हामीले उहाँले हामीलाई आज्ञा गर्नुभएझैँ परमप्रभु हाम्रा परमेश्‍वरको सामु यी सबै आज्ञा मान्यौँ भने यो हाम्रो धार्मिकता हुने छ ।'

7

1 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुँदा उहाँले तिमीहरूकै सामु तिमीहरूभन्दा महान् र शक्तिशाली सात जाति हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई धपाउनुहुने छ । 2 तिमीहरूले तिनीहरूलाई पराजित गर्दा परमप्रभु तिमीहरूका परमेश्‍वरले नै तिनीहरूलाई तिमीहरूकहाँ सुम्पिदिनुहुने छ र तिमीहरूले तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गर्नू । तिनीहरूसित कुनै करार नबाँध्‍नू, र तिनीहरूलाई कृपा नदेखाउनू । 3 तिनीहरूसित विवाहको कुनै बन्दोवस्त नमिलाउनू । तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू, र आफ्ना छोराहरूका निम्ति तिनीहरूका छोरीहरू नलिनू । 4 किनकि तिनीहरूले तिमीहरूका छोराहरूले अरू देवी-देवताहरूलाई पुजून् भनेर मलाई पछ्याउनबाट तिनीहरूलाई तर्काउने छन् । त्यसैले परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने छ, र उहाँले तत्काल तिमीहरूलाई नष्‍ट गर्नुहुने छ । 5 तिनीहरूसित यसरी व्यवहार गर्नूः तिनीहरूका वेदीहरू भत्काइदिनू; तिनीहरूका ढुङ्गाका खम्बाहरू टुक्राटुक्रा पारिदिनू; तिनीहरूका अशेरा देवीका खम्बाहरू काटेर ढालिदिनू र तिनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू । 6 किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका निम्ति अलग गरिएका जाति हौ । उहाँले तिमीहरूलाई पृथ्वीको धरातलमा भएका अन्य कुनै पनि जातिहरूभन्दा उहाँको जातिको रूपमा अधिकार हुन चुन्‍नुभएको छ । 7 अरू जातिहरूभन्दा तिमीहरू सङ्ख्यामा धेरै भएकाले परमप्रभुले तिमीहरूलाई प्रेम देखाउनुभएको होइन वा चुन्‍नुभएको होइन किनकि तिमीहरू सबै जातिभन्दा सङ्ख्यामा थोरै छौ । 8 तर उहाँले तिमीहरूलाई प्रेम गर्नुहुने भएकोले र उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित खानुभएको शपथ पुरा गर्ने इच्छा गर्नुभएकोले तिमीहरूलाई चुन्‍नुभएको हो । 9 त्यसकारण, परमप्रभुले तिमीहरूलाई शक्तिशाली हातले बाहिर ल्याउनुभएको छ, र दासत्वको घर अर्थात् मिश्रका राजा फारोको हातबाट छुटकारा दिलाउनुभएको छ । तसर्थ, परमप्रभु तिमीहरूका परमेश्‍वर नै विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू मान्‍ने हजारौँ पुस्तासम्म आफ्ना करार पुरा गर्नुहुन्छ र विश्‍वासयोग्य हुनुहुन्छ भनी जान । 10 तर उहाँको अवहेलना गर्नेहरूलाई उहाँले बदला लिनुहुने छ वा तिनीहरूलाई नष्‍ट गर्नुहुने छ । उहाँको अवहेलना गर्नेहरू जोकसैप्रति पनि उहाँ सहनशील हुनुहुन्‍न । उहाँले त्यसको बदला लिनुहुने छ । 11 त्यसकारण मैले तिमीहरूलाई दिएका आज्ञा र विधिविधानहरू पालन गर र मान । 12 तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करार र विश्‍वसनियता उहाँले पुरा गर्नुहुने छ । 13 उहाँले तिमीहरूलाई प्रेम गर्नुहुने छ; आशिष् दिनुहुने छ र गुणात्मक रूपमा वृद्धि गराउनुहुने छ । तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिमीहरूको शरीरको फल, भूमिको फल, तिमीहरूको अन्‍न, तिमीहरूको नयाँ दाखमद्य, तिमीहरूको तेल, तिमीहरूको गाईवस्तु र तिमीहरूको बगाललाई वृद्धि गरी आशिष् दिनुहुने छ । 14 अरू सबै जातिभन्दा तिमीहरू सुखि हुने छौ । तिमीहरूका बिचमा कोही पनि निसन्तान हुने छैन, र तिमीहरूका गाईवस्तुमध्ये एउटै पनि बैला हुने छैन । 15 परमप्रभुले तिमीहरूबाट सबै रोग लैजानुहुने छ । तिमीहरूले जानेका मिश्रका कुनै पनि खराब रोगहरू तिमीहरूमाथि आउने छैनन्, तर तिमीहरूलाई घृणा गर्नेहरूमाथि उहाँले ती ल्याउनुहुने छ । 16 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने सबै जातिलाई नष्‍ट गर्नू, र तिनीहरूलाई दया नदेखाउनू । तिनीहरूका देवी-देवताको पुजा नगर्नू किनकि त्यो तिमीहरूका निम्ति पासो हुने छ । 17 'यी जातिहरू सङ्ख्यामा हामीभन्दा धेरै भएकाले हामीले कसरी धपाउन सकौँला' भनी तिमीहरूले आफ्ना ह्रदयमा सोच्यौ भने पनि 18 तिनीहरूदेखि नडराओ । परमप्रभु तिमीहरूका परमेश्‍वरले फारो र सबै मिश्रीलाई के गर्नुभयो भनी तिमीहरूले याद राख्‍नू । 19 भयानक दुःखकष्‍ट, चिन्ह, आश्‍चर्य, शक्तिशाली हात र फैलिएको पाखुरा जसद्वारा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ल्याउनुभयो, सो तिमीहरूका आँखाले देख्यौ । तिमीहरू डराएका ती सबै जातिलाई पनि परमप्रभु तिमीहरूका परमेश्‍वरले त्यसै गर्नुहुने छ । 20 यसबाहेक, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरू बाँकी रहुञ्‍जेलसम्म र तिमीहरूको उपस्थितिबाट नष्‍ट नहोस् भनी तिनीहरू लुकेसम्म तिनीहरूका बिचमा अरिङ्गाल पठाउनुहुने छ । 21 तिनीहरूदेखि नडराओ किनकि परमप्रभु परमेश्‍वर तिमीहरूका बिचमा हुनुहुन्छ जो महान् र भययोग्य हुनुहुन्छ । 22 परमप्रभु परमेश्‍वरले तिमीहरूकै सामुन्‍ने तिनीहरूलाई अलिअलि गरेर धपाउनुहुने छ । तिमीहरूले तिनीहरूलाई एकै चोटि पराजित गर्ने छैनौ नत्रता जङ्गली जनावरहरू तिमीहरूका बिचमा धेरै हुने छन् । 23 तर तिमीहरू तिनीहरूसित युद्ध गर्न जाँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूमाथि तिमीहरूलाई विजयी तुल्याउनुहुने छ । 24 उहाँले तिनीहरूका राजाहरूलाई तिमीहरूको शक्तिमुनि ल्याउनुहुने छ र तिमीहरूले आकाशमुनि तिनीहरूका नाउँ मेटिदिने छौ । तिनीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म कोही पनि तिमीहरूका सामु खडा हुन सक्दैन । 25 खोपेर बनाइएका तिनीहरूका देवी-देवताहरूका प्रतिमूर्तिहरू जलाइदिनू । तिनलाई ढाक्‍ने सुनचाँदीको लोभ गरेर ती आफ्नो निम्ति नराख्‍नू । तिमीहरूले त्यसो गर्‍यौ भने तिमीहरू त्यसद्वारा पासोमा पर्ने छौ किनकि यो परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्ति घृणित कुरो हो । 26 तिमीहरूका घरमा कुनै पनि घृणित वस्तु ल्याएर त्यसको पुजा गर्न नथाल्नू । त्यसलाई पूर्ण रूपमा घृणा गर्नू र तिरस्कार गर्नू किनकि यो विनाशको निम्ति अलग गरिएको हो ।

8

1 आज मैले तिमीहरूलाई दिने सबै आज्ञा मान्‍नू ताकि तिमीहरू बाँच्न सक र वृद्धि हुन सक अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा गएर त्यसलाई अधिकार गर्न सक । 2 तिमीहरूलाई विनम्र पार्न र तिमीहरूले उहाँका आज्ञाहरू मान्छौ कि मान्दैनौ भनेर तिमीहरूका ह्रदयमा भएको कुरा जाँच गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरले यी चालिस वर्षसम्म तिनीहरूलाई उजाड-स्थानमा डोर्‍याउनुभएका उहाँका सबै मार्गलाई सम्झनू । 3 उहाँले तिमीहरूलाई विनम्र तुल्याउनुभयो; भोकले पीडित तुल्याउनुभयो र मन्‍न खुवाउनुभयो जसलाई तिमीहरूले चिनेका थिएनौ न त तिमीहरूका पिता-पुर्खाहरले चिनेका थिए । मानिस रोटीले मात्र नभई परमप्रभुको मुखबाट निस्केको हरेक कुराले बाँच्दछ भनी तिमीहरूलाई बुझाउन उहाँले यसो गर्नुभयो । 4 ती चालिस वर्षसम्म तिमीहरूका लुगा च्यातिएर झरेन न त तिमीहरूको गोडा सुन्‍नियो । 5 बुबाले आफ्नो छोरोलाई अनुशासनमा राखेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अनुशासनमा राख्‍नुहुन्छ भनी तिमीहरूले आफ्नो ह्रदयमा ख्याल राख्‍नू । 6 उहाँका मार्गहरूमा हिँडी उहाँलाई आदर गर्न सकून् भनेर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा मान्‍नू । 7 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बेसीँ र पर्वतहरू हुँदै खोलानाला र मुल भएको असल देशमा ल्याउँदै हुनुहुन्छ । 8 यो गहुँ र जौ अनि दाख र जैतून अनि अनार र जैतून रुखहरूसाथै मह पाउने देश हो । 9 यो त्यही देश हो जहाँ तिमीहरूलाई अन्‍नको अभाव हुने छैन र त्यहाँ कुनै थोकको कमी हुने छैन । यस देशका ढुङ्गाहरू फलामका छन् र त्यहाँका पहाडहरूबाट तिमीहरूले तामा निकाल्ने छौ । 10 तिमीहरू खाएर अघाउने छौ, अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको असल देशको लागि तिमीहरूले उहाँलाई धन्यको भन्‍ने छौ । 11 आज मैले तिमीहरूलाई दिएका उहाँका आज्ञाहरू, उहाँका विधिविधानहरूलाई बेवास्ता नगर्न र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई नभुल्न होसियार होओ । 12 नत्रता तिमीहरूले अघाउञ्‍जेल खाँदा र तिमीहरूले घरहरू बनाई तिनमा बस्दा तिमीहरूको हृदय घमण्डले फुल्ने छ । 13 तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरू गुणात्मक रूपमा वृद्धि हुँदा र तिमीहरूका सुन र चाँदीको वृद्धि हुँदा र तिमीहरूसित भएका सबै थोकको वृद्धि हुँदा 14 तिमीहरूको ह्रदय घमण्डले फुली मिश्र देश अर्थात् दासत्वको देशबाट तिमीहरूलाई ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले नभुल्नलाई होसियार बस । 15 उहाँलाई नबिर्स जसले तिमीहरूलाई विषालु सर्प र बिच्छीहरू भएको पानी नपाइने विशाल र डरलाग्दो उजाड-स्थानबाट ल्याउनुभयो, जसले तिमीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो । 16 तिमीहरूलाई नम्र बनाउन र तिमीहरूको जाँच गरी अन्त्यमा तिमीहरूको भलाइ गर्न उहाँले तिमीहरूलाई उजाड-स्थानमा तिमीहरूका पिता-पुर्खाहरूले कहिल्यै नजानेका मन्‍न खुवाउनुभयो । 17 तर तिमीले ह्रदयमा सोचौला, 'मेरो शक्ति र मेरो शक्तिशाली हातले मैले यी सबै सम्पत्ति थुपारेको हुँ ।' 18 तर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई याद गर्नू किनकि उहाँले नै तिमीहरूलाई सम्पत्ति थुपार्ने शक्ति दिनुहुन्छ । उहाँले नै तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करार स्थापित गर्नुहुन्छ जुन आजको दिनसम्म छ । 19 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई बिर्सी अन्य देवी-देवताहरूको पछि लागेर तिनीहरूको पुजा गर्‍यौ र तिनीहरूको आराधना गर्‍यौ भने तिमीहरू निश्‍चय नै मर्ने छौ भनी म आज तिमीहरूको विरुद्धमा गवाही दिन्छु । 20 परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाजलाई ध्यान दिएनौ भने तिमीहरूकै सामु परमप्रभुले नष्‍ट गर्नुभएका जातिहरूजस्तै तिमीहरू नष्‍ट हुने छौ ।

9

1 हे इस्राएल हो, सुन । तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरू अनि आकाशै छुने पर्खाल लगाएका ठुला-ठुला सहरहरूमाथि अधिकार गर्न आज तिमीहरूले यर्दन पार गर्नै लागेका छौ । 2 तिनीहरू महान् र अग्ला छन् जो अनाकका छोराहरू हुन् जसको बारेमा तिमीहरूलाई थाहै छ र 'अनाकका छोराहरूको सामु को खडा हुन सक्छ ?' भनी तिमीहरूले सुनेकै छौ । 3 त्यसकारण, आज यो जानिराख कि परमप्रभु तिमीहरूका परमेश्‍वर नै भस्म गर्ने आगोजस्तै तिमीहरूभन्दा अगिअगि जानुहुन्छ । उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुने छ, र तिमीहरूको अधीनमा ल्याउनुहुने छ । त्यसैले परमप्रभुले तिमीहरूलाई भन्‍नुभएझैँ तिमीहरूले तिनीहरूलाई धपाउने छौ, र तिनीहरूलाई चाँडै नै नष्‍ट पार्ने छौ । 4 तिमीहरूकै सामु परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई निकाल्नुभएपछि आफ्नो ह्रदयमा यसो नभन, 'मेरो धार्मिकताको कारणले गर्दा परमप्रभुले मलाई यो देश अधिकार गर्न ल्याउनुभएको छ ।' बरु यी जातिहरूको दुष्‍टताको कारणले परमप्रभुले तिनीहरूलाई तिमीहरूकै सामु धपाउँदै हुनुहुन्छ । 5 तिमीहरूको धार्मिकता वा तिमीहरूको ह्रदयको सोझोपनको कारणले गर्दा तिमीहरूले तिनीहरूको देश अधिकार गर्न लागेका होइनौ, तर यी जातिहरूको दुष्‍टताको कारणले गर्दा तिमीहरूका परमेश्‍वरले तिमीहरूकै सामुन्‍ने तिनीहरूलाई धपाउँदै हुनुहुन्छ ताकि उहाँले तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसित शपथ खानुभएको वचनलाई सत्य साबित गर्न सकून् । 6 त्यसकारण यो जानिराख, कि तिमीहरूको धार्मिकताको कारणले परमप्रभु तिमीहरूका परमेश्‍वरले यो असल देश तिमीहरूलाई अधिकारको लागि दिन लाग्‍नुभएको होइन किनकि तिमीहरू त हठी मानिसहरू हौ । 7 उजाड-स्थानमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई कसरी क्रोधित तुल्यायौ भनी याद राख । तिमीहरूले मिश्र देश छाडेदेखि तिमीहरू यस ठाउँमा नआउञ्‍जेलसम्म तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोही बनेका छौ । 8 साथै, हेब्रोनमा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ, र तिमीहरूलाई नाशै पार्ने गरी उहाँ क्रुद्ध हुनुभयो । 9 परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएका करारका शिला-पाटीहरू लिन म पर्वतमा उक्लँदा म चालिस दिन चालिस रातसम्म पर्वतमा बसेँ । मैले न रोटी खाएँ, न पानी पिएँ । 10 परमप्रभुले मलाई आफ्नै औँलाले लेख्‍नुभएका दुईवटा शिला-पाटी दिनुभयो । सभाको दिनमा आगोको बिचबाट परमप्रभुले पर्वतमा बोल्नुभएका सबै वचन तिनमा लेखिएका थिए । 11 ती चालिस दिन र चालिस रातको अन्त्यमा परमप्रभुले मलाई करारका दुईवटा शिला-पाटी दिनुभयो । 12 परमप्रभुले मलाई भन्‍नुभयो, 'उठेर छिटो गरी यहाँबाट तल जा किनकि तैँले मिश्रबाट ल्याएका तेरा मानिसहरूले आफैलाई भ्रष्‍ट पारेका छन् । मैले तिनीहरूलाई आज्ञा गरेको मार्गबाट तिनीहरू चाँडै नै तर्केर गएका छन् । तिनीहरूले आफ्नो निम्ति ढलौटे मूर्ति बनाएका छन् ।' 13 यसबाहेक, परमप्रभुले मलाई भन्‍नुभयो, 'मैले यी मानिसहरूलाई देखेको छु र तिनीहरू हठी छन् । 14 मलाई एक्लै छोडिदे ताकि मैले तिनीहरूलाई नष्‍ट गर्नू सकूँ र स्वर्गमूनिबाट तिनीहरूको नाउँ मेटाइदिन सकूँ र तँबाट नै तिनीहरूभन्दा महान् र शक्तिशाली जाति बनाउन सकूँ ।' 15 त्यसैले म फर्केर पर्वतबाट ओर्ली आएँ, अनि पर्वत जलिरहेको थियो । करारका दुईवटा शिला-पाटी मेरा हातमा थिए । 16 मैले हेरेँ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेका थियौ । तिमीहरूले आफ्नो निम्ति बाछाको ढलौटे मूर्ति बनाएका थियौ । परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको मार्गबाट तिमीहरू चाँडै नै तर्केर गएका थियौ । 17 मैले ती दुईवटा शिला-पाटीलाई लिएर मेरा हातबाट फालिदिएँ । मैले तिमीहरूकै सामु तिनलाई टुक्रा-टुक्रा पारिदिएँ । 18 फेरि, मैले न रोटी खाएँ न पानी पिएँ । परमप्रभुको दृष्‍टिमा दुष्‍ट काम गरेर उहाँलाई चिढ्याई तिमीहरूका सबै पापको कारणले गर्दा चालिस दिन र चालिस रातसम्म म परमप्रभुको सामु लम्पसार परेँ । 19 किनकि तिमीहरूलाई नाशै पार्ने गरी तिमीहरूको विरुद्धमा भएको परमप्रभुको रिस र कडा बेखुसीको कारणले म भयभीत भएँ । तर त्यस बेला पनि परमप्रभुले मेरो कुरा सुन्‍नुभयो । 20 हारूनलाई नष्‍ट गर्ने गरी उहाँ तिनीसित ज्यादै रिसाउनुभयो । त्यस बेला मैले हारूनको लागि पनि प्रार्थना गरेँ । 21 मैले तिमीहरूको पाप अर्थात् तिमीहरूले बनाएको बाछो लिएर त्यसलाई जलाइदिएँ अनि त्यसलाई चकनाचुर पारेर धूलोपिठो पारिदिएँ । मैले त्यस धूलोलाई पर्वतबाट आउने खोलामा फालिदिएँ । 22 तबेरा, मस्साह र किब्रोथ-हत्तावामा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ । 23 परमप्रभुले तिमीहरूलाई कादेश-बर्नेमा यसो भनी पठाउनुहुँदा, 'मैले तिमीहरूलाई दिएको देशमा गएर त्यसलाई अधिकार गर' तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्‍वरको आज्ञाको विरुद्धमा विद्रोह गर्‍यौ, अनि उहाँको कुरा मानेनौ वा सुनेनौ । 24 मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरू परमप्रभुको विरुद्धमा बागी भएका छौ । 25 परमप्रभुले तिमीहरूलाई नष्‍ट गर्नुहुनेथियो भनी उहाँले भन्‍नुभएकोले म चालिस दिन चालिस रातसम्म उहाँको सामु लम्पसार परेँ । 26 मैले परमप्रभुलाई यसो भनी प्रार्थना चढाएँ, 'हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्ना मानिसहरू अर्थात् तपाईंको सम्पत्तिलाई नष्‍ट नगर्नुहोस् जसलाई तपाईंले आफ्नो महान्‌ताद्वारा छुटकारा दिनुभएको छ र आफ्नो शक्तिशाली हातले मिश्रबाट ल्याउनुभएको छ । 27 तपाईंका दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्झनुहोस् । यो जातिको हठलाई नहेर्नुहोस् न त तिनीहरूका दुष्‍टता र पापलाई नै हेर्नुहोस् । 28 नत्रता तपाईंले हामीलाई जुन देशबाट ल्याउनुभयो त्यसले भन्ला, 'परमप्रभुले प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिनीहरूलाई लैजान नसक्‍नुभएकोले र उहाँले तिनीहरूलाई घृणा गर्नुभएकोले तिनीहरूलाई उजाड-स्थानमा मार्न उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभएको छ ।' 29 तथापि तिनीहरू तपाईंका मानिसहरू र तपाईंको सम्पत्ति हुन् जसलाई तपाईंले आफ्नो महाशक्ति र तपाईंको शक्तिको प्रदर्शनीद्वारा बाहिर ल्याउनुभयो ।'

10

1 त्यस बेला परमप्रभुले मलाई भन्‍नुभयो, 'पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काट्, र पर्वतमा मकहाँ उक्लेर आइज अनि काठको एउटा सन्दूक बना । 2 तैँले फुटाएका पहिलेका पाटीहरूमा भएका वचनहरू म यी पाटीहरूहरूमा लेख्‍ने छु, र तैँले तिनलाई सन्दुकमा राख्‍नू ।' 3 त्यसैले मैले बबुल काठको एउटा सन्दुक बनाएँ, र पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काटेँ अनि मेरो हातमा ती दुईवटा पाटी लिएर पर्वतमा उक्लेँ । 4 पर्वतमा सभाको दिनमा आगोको बिचबाट परमप्रभुले तिमीहरूलाई बोल्नुभएका दस आज्ञा उहाँले पहिलेजस्तै ती पाटीहरूमा लेख्‍नुभयो र मलाई दिनुभयो । 5 म फर्केर पर्वतबाट तल ओर्लें, र मैले बनाएका सन्दुकमा ती पाटीहरू राखेँ । परमप्रभुले आज्ञा गर्नुभएझैँ ती त्यहाँ थिए ।" 6 (इस्राएलीहरू बिरोथ-बने-याकानबाट हिँडेर मोसेरामा आए । त्यहाँ हारून मरे, र त्यहीँ गाडिए । तिनको ठाउँमा तिनका छोरा एलाजारले पुजारीको पद सम्हाले । 7 त्यहाँबाट तिनीहरू गुदगुदासम्म हिँडे र गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए । 8 त्यस बेला परमप्रभुको नाउँमा मानिसहरूलाई आशिष् दिन र उहाँको सेवाको लागि उहाँको सामु खडा हुनका लागि परमप्रभुको करार बोक्‍न उहाँले लेवी कुललाई छान्‍नुभयो जस्तो आजसम्म चलिआएको छ । 9 त्यसकारण, आफ्ना दाजुभाइहरूसँगै लेवीसित जमिनको कुनै हिस्सा वा सम्पत्ति हुँदैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनलाई भन्‍नुभएझैँ परमप्रभु नै तिनको सम्पत्ति हुनुहुन्छ) 10 पहिलेजस्तै म चालिस दिन र चालिस रातसम्म पर्वतमा बसेँ । त्यस बेला पनि परमप्रभुले मेरो कुरा सुन्‍नुभयो । 11 परमप्रभुले मलाई मार्ने इच्छा गर्नुभएन । परमप्रभुले मलाई भन्‍नुभयो, 'उठ् र मानिसहरूलाई यात्रामा अगुवाइ गर्न तिनीहरूको अगि जा । मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिने छु भनी प्रतिज्ञा गरेको देशमा तिनीहरू जाने छन् र त्यसको अधिकार गर्ने छन् ।' 12 अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट चाहनुभएका कुराहरू यिनै हुन्: परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान; उहाँका सबै मार्गमा हिँड; उहाँलाई प्रेम गर; परमप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय र सारा प्राणले आराधना गर; 13 परमप्रभुका आज्ञा र विधिविधानहरू पालन गर जुन तिमीहरूका भलाइको निम्ति आज मैले तिमीहरूलाई दिँदै छु । 14 हेर, आकाश, आकाशमण्डलहरू, पृथ्वी र तिनमा भएका सबै परमप्रभु तिमीहरूका परमेश्‍वरकै हुन् । 15 परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नमा उहाँ खुसी हुनुभयो र उहाँले तिमीहरू, तिमीहरूका सन्तानहरू र त्यसपछि आउनेहरूलाई चुन्‍नुभयो जस्तो तिमीहरू देख्छौ । 16 त्यसकारण, तिमीहरूका ह्रदयको खतना गर, र अबदेखि उसो हठी नहोओ । 17 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै देवहरूका परमेश्‍वर र प्रभुहरूका प्रभु, महान् परमेश्‍वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ जसले कसैको पक्षपात गर्नुहुन्‍न र घुस लिनुहुन्‍न । 18 उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ, र परदेशीलाई भोजन र वस्‍त्र दिएर प्रेम देखाउनुहुन्छ । 19 त्यसकारण परदेशीलाई प्रेम गर । किनकि तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ । 20 परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान । उहाँको आराधना गर । उहाँमै टाँसिरहो, र उहाँको नाउँमा मात्र शपथ खाओ । 21 उहाँ तिमीहरूको प्रशंसा हुनुहुन्छ, उहाँ तिमीहरूका परमेश्‍वर हुनुहुन्छ जसले तिमीहरूका आँखाले देख्‍ने गरी यी महान् र भययोग्य कुराहरू गर्नुभएको छ । 22 तिमीहरूका सत्तरी जना पिता-पुर्खा मिश्रमा गएका थिए । अहिले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराहरूजत्तिकै असङ्ख्य बनाउनुभएको छ ।

11

1 त्यसकारण परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू, र उहाँका निर्देशन, उहाँका विधिविधानहरू र उहाँका आज्ञाहरू सधैँ पालन गर्नू । 2 ख्याल गर, कि म तिमीहरूका छोराछोरीहरूसित बोलिरहेको छैनँ जसले परमप्रभु परमेश्‍वरलाई चिनेका छैनन्, न त उहाँको दण्ड, उहाँको महान्‌ता, उहाँको शक्तिशाली हात वा फैलिएको पाखुरा, 3 चिन्हहरू र कार्यहरू देखेका छैनन् जुन उहाँले मिश्रमा त्यहाँका राजा फारो र तिनका सबै देशमा गर्नुभयो । 4 उहाँले मिश्रका सेना, तिनीहरूका घोडाहरू वा तिनीहरूका रथहरू र तिनीहरूले तिमीहरूलाई खेद्दा कसरी नर्कटको समुद्रको पानीले तिनीहरूलाई डुबायो र आजको दिनसम्म कसरी परमप्रभुले तिनीहरूलाई नष्‍ट गर्नुभयो 5 वा तिमीहरू यस ठाउँसम्म नआइपुगुञ्‍जेलसम्म उहाँले तिमीहरूलाई उजाड-स्थानमा के गर्नुभयो भनी तिनीहरूले देखेनन् । 6 रूबेनवंशी एलिआबका छोराहरू दातान र अबीरामलाई सारा इस्राएलको बिचमा परमप्रभुले के गर्नुभयो र कसरी धरतीले आफ्नो मुख बाएर तिनीहरू, तिनीहरूका घरानाहरू, तिनीहरूका पालहरू र तिनीहरूको पछि लाग्‍ने हरेक जीवित वस्तुलाई निल्यो भनी तिनीहरूले देखेनन् । 7 तर परमप्रभुले गर्नुभएका सबै महान् कामहरू तिमीहरूका आँखाले देखेका छन् । 8 त्यसकारण आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा पालन गर ताकि तिमीहरू बलिया भई तिमीहरूले पारि गई अधिकार गर्ने देशलाई अधिकार गर्न सक, 9 र परमप्रभुले तिमीहरू तिमीहरूका पिता-पुर्खाहरूका सन्तानहरूलाई दिन्छु भनी तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बहने देशमा तिमीहरूको आयु लामो हुन सकोस् । 10 किनकि तिमीहरू अधिकार गर्न जान लागेको देश मिश्र देशजस्तो होइन जहाँबाट तिमीहरू आयौ, जहाँ तिमीहरूले बिउ रोप्यौ र बारीमा झैँ खुट्टाले पानी हाल्यौ । 11 तर तिमीहरू अधिकार गर्न जाने देश पहाड र बेँसीहरू भएको देश हो जहाँ आकाशका पानीले जमिन भिजाउँछ । 12 यो परमप्रभु तिमीहरूका परमेश्‍वरले देखरेख गर्नुहुने देश हो । परमप्रभु तिमीहरूका परमेश्‍वरका आँखा वर्षको सुरुदेखि अन्त्यसम्म सदैव यसमाथि हुन्छ । 13 तिमीहरूका सारा ह्रदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न र उहाँको सेवा गर्न आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरूले दत्तचित्तसाथ पालन गर्‍यौ भने 14 म तोकिएको ऋतुमा तिमीहरूको देशमा अगिल्लो वृष्‍टि र पछिल्लो वृष्‍टि पठाउने छु, ताकि तिमीहरूले तिमीहरूको अन्‍न, नयाँ मद्य र तेल जम्मा गर्न सक । 15 म तिमीहरूका गाईवस्तुहरूका लागि खर्कमा घाँस दिने छु, र तिमीहरू खाएर तृप्‍त हुने छौ । 16 ध्यान देओ, नत्रता तिमीहरू ठगिने छौ र अन्तैतिर लागेर अन्य देवताहरूको पुजा गर्ने छौ र तिनीहरूको सामु निहुरने छौ । 17 अनि परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने छ, र उहाँले आकाशलाई बन्द गरिदिनुहुने छ अनि वृष्‍टि रोकिने छ र जमिनले फसल उत्पादन गर्ने छैन र परमप्रभुले तिमीहरूलाई दिनुहुने असल देशबाट तिमीहरू चाँडै नै नष्‍ट हुने छौ । 18 त्यसकारण, मेरा यी वचनहरू तिमीहरूका हृदय र मनमा भण्डारण गर; तिमीहरूका हातमा चिन्हको रूपमा बाँध र ती तिमीहरूका आँखाका बिचमा फेटा होऊन् । 19 ती आफ्ना छोराछोरीहरूलाई सिकाओ र तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा र सुत्दा अनि उठ्दा तिनको चर्चा गर । 20 तिमीहरूको घरको ढोकाको चौकोसमा र सहरका द्वारहरूमा तिनलाई लेख, 21 ताकि स्वर्ग माथि भएसम्म र पृथ्वी तल रहेसम्म परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका आयु र तिमीहरूका छोराछोरीहरूका आयु लम्बिन सकोस् । 22 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न र उहाँमा टाँसिन मैले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरूले दत्तचित्तसाथ पालन गर्‍यौ भने, 23 परमप्रभुले तिमीहरूकै सामु यी सबै जातिलाई धपाइदिनुहुने छ, र तिमीहरूले तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरूलाई पराजित गर्ने छौ । 24 तिमीहरूका खुट्टाका पैतलाले टेकेको हरेक भूमि तिमीहरूको हुने छ- उजाड-स्थानदेखि लेबनानसम्म, यूफ्रेटिस नदीदेखि पश्‍चिम समुद्रसम्म तिमीहरूको सिमान हुने छ । 25 कुनै मानिस तिमीहरूको सामु खडा हुन सक्दैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ तिमीहरूले कुल्चने सारा भूमिमा उहाँले तिमीहरूको डर र त्रास हालिदिनुहुने छ । 26 हेर, आज म तिमीहरूका सामु आशिष् र श्राप राख्छु । 27 परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरूले आशिष् पाउने छौ, 28 र परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन नगरी आज मैले दिएको आज्ञाबाट तिमीहरू तर्केर तिमीहरूले नचिनेका अन्य देवताहरूको पछि लाग्यौ भने तिमीहरूले सराप पाउने छौ । 29 जब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुन्छ तब तिमीहरूले आशिष्‌चाहिँ गीरीज्‍जीम डाँडामा र श्रापचाहिँ एबाल डाँडामा घोषणा गर्नू । 30 के यी डाँडाहरू पर्दनपारि, पश्‍चिमी सडकको पश्‍चिमपट्टि, अराबामा बस्‍ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेका फँलाटका रुखहरूको छेउमा छैनन् र ? 31 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशलाई अधिकार गर्न तिमीहरू यर्दन पारि जानुपर्छ र यसलाई अधिकार गरी तिमीहरू त्यहाँ बस्‍ने छौ । 32 आज मैले तिमीहरूका सामु राखिदिएका सबै विधिविधान पालन गर्नू ।

12

1 परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिनुभएको देशमा तिमीहरू बाँचुञ्‍जेलसम्म तिमीहरूले मान्‍नुपर्ने विधिविधानहरू यिनै हुन् । 2 जुन जातिहरूलाई तिमीहरूले पराजित गर्छौ तिनीहरूले अग्ला पर्वतहरू, डाँडाहरू र हरेक हरियो रुखमुनि पुजा गर्ने तिनीहरूका देवताहरूलाई निश्‍चय नै नष्‍ट पारिदिनू । 3 तिनीहरूका वेदीहरू भत्काइदिनू र तिनीहरूका ढुङ्गाका मूर्तिहरूलाई टुक्राटुक्रा पारिदिनू र तिनीहरूका अशेरा देवीका खम्बाहरू जलाइदिनू । खोपेर बनाइएका तिनीहरूका देवताका मूर्तिहरू काटिदिनू र त्यस ठाउँबाट तिनीहरूका नाउँ मेटिदिनू । 4 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यसरी आराधना नगर्नू । 5 तर जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न तिमीहरूका सबै कुलबाट चुन्‍नुहुन्छ त्यही नै त्यो ठाउँ हुने छ जहाँ तिमीहरू बस्छौ र त्यहीँ नै तिमीहरू जाने छौ । 6 त्यहीँ नै तिमीहरूले आफ्ना होमबलि, भेटी, दशांश, तिमीहरूका हातका भेटी, भाकलका भेटी, स्वैच्छिक भेटी र तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका पहिले जन्मेकाहरूलाई ल्याउने छौ । 7 त्यहीँ नै तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खाने छौ र तिमीहरू र तिमीहरूका घरानाहरूले हात लगाएका हरेक कुराको बारेमा आनन्द मनाउने छौ जहाँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएको छ । 8 आज यहाँ हामीले गरिरहेका कुनै पनि कुरा नगर्नू । अहिले हरेकलाई आफ्नो दृष्‍टिमा जे ठिक लाग्छ, त्यसले त्यही गरिरहेको छ । 9 किनकि तिमीहरू अझै पनि विश्राम अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने उत्तराधिकारमा आएका छैनौ । 10 तर जब तिमीहरू यर्दन पारी जान्छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशमा बस्छौ तब उहाँले तिमीहरूलाई तिमीहरूका चारैतिर भएका सबै शत्रुबाट विश्राम दिनुहुने छ ताकि तिमीहरू सुरक्षितसाथ बस्‍न सक । 11 अनि जुन ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न छान्‍नुहुन्छ त्यहीँ नै मैले तिमीहरूलाई आज्ञा दिने हरेक थोक ल्याओ अर्थात् तिमीहरूका होमबलि, भेटी, दशांश र तिमीहरूका हातका भेटी, परमप्रभुको निम्ति तिमीहरूले चढाउने भाकलका सबै स्वैच्छिक भेटी ल्याओ । 12 तिमीहरू, तिमीहरूका छोराहरू, तिमीहरूका छोरीहरू, तिमीहरूका कमारा-कमारीहरू र तिमीहरूका सहरभित्र हुने लेवीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु रमाउने छौ । तिमीहरूका बिचमा बस्‍ने लेवीहरूसित कुनै हिस्सा वा सम्पत्ति हुँदैन । 13 तिमीहरूका होमबलिहरू तिमीहरूले देख्‍ने हरेक ठाउँमा नचढाउन होसियार बस । 14 तर परमप्रभुले तिमीहरूका कुलबाट छान्‍नुहुने एउटा ठाउँमा तिमीहरूले आफ्ना होमबलिहरू चढाउनू र त्यहीँ नै मैले तिमीहरूलाई आज्ञा गरेका हरेक कुरा गर्नू । 15 तथापि, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌लाई स्वीकार गरी तिमीहरूलाई इच्छा लागेअनुसार तिमीहरूका सहरहरूभित्र तिमीहरूले पशु मारेर खान सक्छौ । हरिण र मृगजस्ता प्राणीका मासुहरू शुद्ध र अशुद्ध दुवै थरीका मानिसहरूले खान सक्छन् । 16 तर तिमीहरूले रगतचाहिँ नखाओ । यसलाई पानीझैँ भुइँमा पोखाइदेओ । 17 तिमीहरूको अन्‍न, नयाँ मद्य, तेल, गाईवस्तु वा भेडा-बाख्राका पहिले जन्मेकाहरूको दशांश तिमीहरूले सहरहरूभित्र खानुहुँदैन । तिमीहरूले गर्ने भाकलसँगै चढाउने कुनै पनि बलिदानको मासु नखाओ न त स्वैच्छिक भेटी वा तिमीहरूका हातले चढाउने भेटीबाट खाओ । 18 बरु, तिमी, तिम्रा छोराछोरी, तिम्रा कमारा-कमारी र तिम्रा सहरहरूभित्र बस्‍ने लेवीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले छन्‍नुहुने ठाउँमा तिनलाई खानू । तिमीहरूले हात लगाउने हरेक कुराको बारेमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु रमाउने छौ । 19 तिमीहरू आफ्नो देशमा बसुञ्‍जेलसम्म लेवीहरूलाई नभुल्नमा ध्यान देओ । 20 परमप्रभु तिमीहरूका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएबमोजिम उहाँले तिमीहरूका सिमानाहरू बढाउनुहुँदा मासु खाने तिमीहरूको इच्छाको कारणले तिमीहरूले 'म मासु खाने छु' भन्दा तिमीहरूले इच्छा लागेअनुसार खान सक्छौ । 21 परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो नाउँ राख्‍न छान्‍नुहुने ठाउँ तिमीहरूबाट ज्यादै टाढा भयो भने मैले तिमीहरूलाई आज्ञा दिएअनुसार परमप्रभुले तिमीहरूलाई दिनुभएका गाईवस्तु र भेडा-बाख्राबाट केहीलाई मार्नू, र तिमीहरूको मनले इच्छा गरेअनुसार तिमीहरूले आफ्ना सहरहरूभित्र तिनलाई खान सक्छौ । 22 तिमीहरूले हरिण र मृगलाई खाएझैँ तिनीहरूलाई खान सक्छौ । अशुद्ध र शुद्ध मानिसहरूले समान रूपमा खान सक्छन् । 23 केवल रगत नखाने कुरामा निश्‍चित होओ किनकि रगत जीवन हो । मासुसँगै जीवन नखाओ । 24 तिमीहरूले रगत नखाओ । यसलाई पानीलाई झैँ भुइँमा खन्याइदिनू । 25 तिमीहरूले रगत नखाओ । तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठिक छ त्यो गर्‍यौ भने तिमीहरू र तिमीहरूका छोराछोरीहरूको भलो हुने छ । 26 तर तिमीहरूसित भएका थोकहरू र भाकलका भेटीहरू जुन परमप्रभुका हुन्, ती लिएर परमप्रभुले छान्‍नुहुने ठाउँमा जाओ । 27 त्यहाँ परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीमा तिमीहरूले होमबलिसाथै मासु र रगत चढाओ । तिमीहरूका बलिदानको रगत परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीमा खन्याऊ र मासुचाहिँ तिमीहरूले खाओ । 28 मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै वचनलाई ध्यान दिएर पालन गर ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा तिमीहरूले जे ठिक र असल छ त्यही गर्दा तिमीहरू र तिमीहरूका छोराछोरीहरूको सदैव भलो होस् । 29 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सामु ती जातिहरूलाई निष्कासन गर्नुहँदा तिमीहरू त्यहाँ गई तिनीहरूलाई पराजित गर्ने छौ र तिनीहरूको देशमा बस्‍ने छौ । 30 होसियार बस, कि तिमीहरूका सामु तिनीहरू नष्‍ट गरिएपछि तिनीहरूलाई पछ्याउने पासोमा नपर्नू । 'यी जातिहरूले कसरी तिनीहरूका देवताहरूको पुजा गर्छन् म पनि त्यस्तै गर्ने छु' भन्दै तिनीहरूका देवताहरूको चासो लिने पासोमा नपर्नू । 31 तिमीहरूले त्यसरी परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना नगर्नू किनकि तिनीहरूले आफ्ना देवताहरूलाई परमप्रभुको दृष्‍टिमा घृणित हरेक कुरो र उहाँले घृणा गर्ने कुराहरू गरेका छन् । तिनीहरूले आफ्ना छोराछोरीहरू आफ्ना देवताहरूका निम्ति आगोमा होम दिन्छन् । 32 मैले जे-जे आज्ञा दिन्छु, त्यसको पालन गर । यसमा नथप न त यसबाट हटाउने काम गर ।

13

1 तिमीहरूका बिचमा कुनै अगमवक्ता वा स्वप्‍न-दर्शी देखा परी त्यसले तिमीहरूलाई कुनै चिन्ह वा चमत्कार देखाउन खोज्यो भने 2 र त्यसले तिमीहरूलाई भनेको चिन्ह वा चमत्कार घटेपछि 'तिमीहरूले नजानेका अरू देवताहरूलाई पछ्याएर तिनीहरूको पुजा गरौँ' भन्यो भने 3 त्यस अगमवक्ता वा स्वप्‍न-दर्शीको कुरा नसुन्‍नू । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सारा हृदय र सारा प्राणले उहाँलाई प्रेम गर्छौ कि गर्दैनौ भनी तिमीहरूको जाँच गर्दै हुनुहुन्छ । 4 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको पछि लाग्‍नू; उहाँको आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र उहाँको कुरा सुन्‍नू र उहाँको आराधना गर्नू अनि उहाँमा टाँसिनू । 5 त्यस अगमवक्ता वा स्वप्‍न-दर्शीलाई मृत्युदण्ड दिनू किनकि त्यसले तिमीहरूलाई मिश्र देशबाट ल्याउनुहुने र दासत्वको घरबाट छुटकारा दिनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा बोलेको छ । त्यस अगमवक्ताले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई हिँड्न लगाउनुभएको मार्गबाट तिमीहरूलाई तर्काउन चाहन्छ । त्यसैले तिमीहरूका बिचबाट दुष्‍टतालाई मिल्काइदेओ । 6 मानौँ, तिम्रो आफ्नै दाजुभाइ, वा तिम्रो छोरा वा छोरी वा तिम्री प्यारी पत्‍नी वा तिम्रो घनिष्‍ठ साथीले तिमीहरूलाई गोप्य रूपमा फकाएर यसो भन्यो, 'जाऔँ र तिमीहरू वा तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका अन्य देवताहरूको पुजा गरौँ 7 अर्थात् तिमीहरूका वरिपरि, तिमीहरूको नजिक वा टाढा वा पृथ्वीको एउटा कुनादेखि अर्को कुनासम्म भएका जातिहरूको कुनै देवताको पुजा गरौँ ।' 8 त्यस बेला तिमीहरूले त्यसको कुरा नसुन्‍नू, त्यसलाई दया देखाउन आफ्ना आँखालाई अनुमति नदिनू, र त्यसलाई नजोगाउनू वा नलुकाउनू । 9 बरु, त्यसलाई निश्‍चय नै मारिदिनू । त्यसलाई मार्नेमा तेरो हात पहिलो होस् र त्यसपछि अरूहरू तम्सून् । 10 तिमीहरूले त्यसलाई ढुङ्गाले हानेर मार्नू किनकि त्यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्‍वरबाट तर्काउन खोजेको छ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याउनुभयो । 11 सारा इस्राएली यो सुनेर डराउने छन्, र तिमीहरूका बिचमा कसैले पनि यस्तो दुष्‍टता गर्ने छैन । 12 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बस्‍न दिनुहुने कुनै पनि सहरमा 13 केही दुष्‍ट मित्रहरू तिमीहरूबाट तर्केर गई तिमीहरूको सहरका बासिन्दाहरूलाई 'तिमीहरूले नचिनेका अन्य देवताहरूको पुजा गरौँ' भनेको तिमीहरूले सुन्यौ भने 14 तिमीहरूले गम्भीर रूपमा साक्षीको जाँच गर्नू; अनुसन्धान गर्नू अनि केरकार गर्नू । तिमीहरूका बिचमा यस्तो घृणित कुरो भएको रहेछ भनी तिमीहरूले पक्‍का गर्‍यौ भने तिमीहरूले कारवाही अगाडि बढाउनू । 15 तिमीहरूले तरवारले त्यस सहरका बासिन्दाहरूलाई आक्रमण गरी त्यसलाई पूर्ण रूपमा नष्‍ट गरिदिनू अनि त्यहाँ भएका सबै मानिसलगायत तिनीहरूका गाईवस्तु सबैलाई तरवारले नष्‍ट पार्नू । 16 तिमीहरूले लुटका सबै माल सडकको बिचमा जम्मा गरी परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु ती मालसमेत सहरलाई जलाइदिनू । त्यो सहर सदाको लागि भग्‍नावशेषको थुप्रो हुने छ । यसलाई फेरि कहिल्यै पुनर्निर्माण नगरियोस् । 17 विनाशको लागि अलग गरिएको कुनै पनि थोक तिमीहरूको हातमा नहोस् ताकि परमप्रभुको क्रोध शान्त होस् जसले तिमीहरूलाई दया देखाउनुहुन्छ, तिमीहरूलाई टिठ्याउनुहुन्छ र तिमीहरूलाई पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएमुताबिक सङ्ख्यामा वृद्धि गराउनुहुन्छ । 18 आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्न र परमप्रभुको दृष्‍टिमा जे ठिक छ त्यही गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज सुनेकाले उहाँले यसो गर्नुहुने छ ।

14

1 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका मानिसहरू हौ । मृतकहरूका लागि तिमीहरूले आफ्नो शरीरमा चोट नपुर्‍याउनु न त आफ्नो शिरको अगाडिको भाग खौरनू । 2 किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ, र परमप्रभुले पृथ्वीको सतहमा बसोबास गर्ने सबै जातिभन्दा उहाँको आफ्नै निज सम्पत्ति हुन तिमीहरूलाई छान्‍नुभएको छ । 3 तिमीहरूले कुनै घृणित खानेकुरो नखाओ । 4 तिमीहरूले खान हुने प्राणीहरू यिनै हुन्: गोरु, भेडा र बोका, 5 मृग, हरिण, बराँठ, जङ्गली बोका, चित्तल र पहाडी भेडा । 6 दुई भागमा खुर चिरिएका र उग्रने कुनै पनि पशु तिमीहरूले खान सक्छौ । 7 तथापि, दुई भागमा खुर चिरिएका र उग्राने यी प्राणीहरूचाहिँ नखानूः ऊँट, खरायो, शापान, किनभने तिनीहरूले उग्रन्छन् तर तिनीहरूको खुर चिरिएको हुँदैन । त्यसैले ती तिमीहरूका निम्ति अशुद्ध हुन् । 8 सुँगुर पनि तिमीहरूका लागि अशुद्ध हो किनकि त्यसको खुर चिरिएको हुन्छ तर त्यसले उग्रँदैन । त्यो तिमीहरूका निम्ति अशुद्ध हो । सुँगुरको मासु नखानू, र तिनीहरूका सिनु नछुनू । 9 पानीमा बस्‍ने यी जलजन्तुहरूमध्ये पखेटा र कत्ला भएका तिमीहरूले खान सक्छौ । 10 तर पखेटा र कत्ला नभएकाहरूचाहिँ तिमीहरूले नखानू । ती तिमीहरूका लागि अशुद्ध हुन् । 11 तिमीहरूले सबै शुद्ध पक्षी खान सक्छौ । 12 तर तिमीहरूले यी पक्षीहरूचाहिँ नखानूः गरुड, गिद्ध, कालो गिद्ध, 13 सबै थरीका रातो चील, कालो चील । 14 तिमीहरूले कुनै पनि किसिमको काग, 15 र अस्ट्रिच, ठुलो लाटोकोसेरो, समुद्री चरो, सबै थरीका बाज, 16 सानो लाटोकोसेरो, ठुलो लाटोकोसेरो, सेतो लाटोकोसेरो, मरुभूमिको लाटोकोसेरो, 17 माछा मार्ने चील र जल कौवा खानुहुँदैन । 18 तिमीहरूले सारस, कुनै पनि किसिमको बकुल्ला, फाप्रे चरो र चमेरो खानुहुँदैन । 19 बथान-बथानमा उड्ने सबै किरा तिमीहरूका लागि अशुद्ध हुन् । तिमीहरूले ती खानुहुँदैन । 20 तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खान सक्छौ । 21 आफै मरेको कुनै पनि थोक नखानू । तिमीहरूका सहरहरूभित्र बस्‍ने परदेशीलाई त्यो दिन सक्छौ र त्यसले खान सक्छ वा यो परदेशीलाई बेच्न सक्छौ । किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ । बाख्राको पाठो माउको दूधमा नपकाउनू । 22 वर्षैपिच्छे तिमीहरूको खेतबाट आउने सबै उब्जनीबाट निश्‍चय नै दशांश छुट्ट्याउनू । 23 परमप्रभु तिमीहरूका परमेश्‍वरले जुन ठाउँलाई आफ्नो पवित्र वासस्थानको रूपमा चुन्‍नुहुन्छ, त्यही ठाउँमा उहाँको सामु तिमीहरूको अन्‍न, नयाँ मद्य, तेल र तिमीहरूका गाईवस्तुसाथै भेडा-बाख्राको पहिले जन्मेकाहरूको दशांश खानू । परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सधैँ आदर गर्न सिक्‍नू । 24 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएपछि उहाँको पवित्र स्थानको रूपमा छान्‍नुहुने ठाउँमा दशांश लिएर जान तिमीहरूलाई निकै टाढा भयो र तिमीहरूले त्यहाँसम्म दशांश लैजान सकेनौ भने, 25 तिमीहरूले त्यसलाई बेचेर पैसा आफ्नो हातमा लिन सक्छौ अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा जान सक्छौ । 26 त्यहाँ तिमीहरूले इच्छा लागेअनुसार खर्च गर्न सक्छौः गोरुको लागि वा भेडाको लागि वा दाखमद्यको लागि वा कडा दाखमद्यको लागि वा तिमीहरूको इच्छाअनुसार अन्य जुनसुकै थोकको लागि । त्यहाँ तिमीहरूले परमप्रभु तिमीहरूका सामु खाने छौ अनि तिमीहरू र तिमीहरूको घराना रमाउने छौ । 27 तिमीहरूका सहरहरूभित्र भएको लेवीलाई नत्याग किनकि त्योसित तिमीहरूसँग झैँ कुनै हिस्सा वा सम्पत्ति छैन । 28 तिमीहरूले हरेक तिन वर्षको अन्त्यमा वर्ष-वर्षको उब्जनीको सबै दशांश ल्याउनू, र त्यसलाई तिमीहरूका सहरभित्र भण्डारण गर्नू । 29 लेवीसित तिमीहरूसँगै कुनै हिस्सा वा सम्पत्ति नभएकोले लेवीसाथै तिमीहरूका सहरहरूभित्र भएका परदेशी, अनाथसाथै विधवा आएर ती खाऊन् अनि तृप्‍त होऊन् । यसो गर ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूले गर्ने सबै कुरामा तिमीहरूलाई आशिष् देऊन् ।

15

1 हरेक सात वर्षको अन्त्यमा कर्जाहरू रद्द गरिदिनू । 2 त्यो काम यसरी गरिने छः हरेक ऋणदाताले आफ्नो छिमेकीलाई दिएको ऋण रद्द गरिदिने छ । त्यसले आफ्नो छिमेकी वा भाइबाट ऋणको माग गर्दैन किनकि परमप्रभुको कर्जामाफीको घोषणा गरिएको छ । 3 तिमीहरूले परदेशीबाट चाहिँ यसको माग गर्न सक्छौ, तर तिम्रो भाइको ऋणचाहिँ फुक्‍का गरिदेओ । 4 तथापि, तिमीहरूका बिचमा कोही गरिब हुनुहुँदैन (किनकि परमप्रभुले तिमीहरूलाई सम्पत्तिको रूपमा अधिकार गर्न दिनुहुने देशमा तिमीहरूलाई निश्‍चय नै आशिष् दिनुहुने छ) । 5 तर यसको लागि तिमीहरूले आज मैले तिमीहरूलाई दिएका यी सबै आज्ञा पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज होसियारीसाथ सुन्‍नुपर्छ । 6 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूलाई आशिष् दिनुहुने छ । तिमीहरूले धेरै जातिहरूलाई ऋण दिने छौ, तर तिमीहरूले ऋण लिने छैनौ । तिमीहरूले धेरै जातिहरूमाथि शासन गर्ने छौ, तर तिनीहरूले तिमीहरूमाथि शासन गर्ने छैनन् । 7 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशको कुनै पनि सहरभित्र तिमीहरूका बिचमा कुनै पनि भाइ गरिब भयो भने तिमीहरूको गरिब भाइप्रति तिमीहरूले आफ्नो हृदय कठोर पार्नुहुँदैन न त मुट्ठी बाँध्‍नुहुन्छ । 8 तर तिमीहरूले उसलाई निश्‍चय नै आफ्नो हात खुला गर्नू, र उसको खाँचोको लागि पर्याप्‍त मात्रामा ऋण दिनू । 9 'सातौँ वर्ष अर्थात् छुटकाराको वर्ष नजिकै छ' भनी आफ्नो मनमा दुष्‍ट विचार ननिम्त्याउन होसियार होओ ताकि तिमीहरूका बिचमा भएको गरिब भाइप्रति लोभी नभएर तिमीहरूले उसलाई दिन सक । तिमीहरू लोभी भयौ भने त्यो पाप हुन्छ । 10 निश्‍चय नै तिमीहरूले उसलाई दिनू, र तिमीहरूले उसलाई दिँदा हृदयमा दुःख नमान्‍नू किनकि यसको साटो परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काम र तिमीहरूले हात हाल्ने सबै थोकमा आशिष् दिनुहुने छ । 11 किनकि देशमा गरिबहरूको कहिल्यै अन्त्य हुने छैन । त्यसकारण म तिमीहरूलाई आज्ञा दिन्छु, 'तिमीहरूको देशमा खाँचोमा परेको तिमीहरूका भाइ र गरिबको लागि तिमीहरूले आफ्नो हात खुला राख्‍नू ।' 12 तिमीहरूका हिब्रू भाइ या बहिनी तिमीकहाँ बेचिएको छ र त्यसले छ वर्षसम्म सेवा गरेको छ भने सातौँ वर्षमा तिमीहरूले त्यसलाई स्वतन्त्र भएर जान दिनू । 13 तिमीहरूले त्यसलाई स्वतन्त्र भएर जान दिँदा त्यसलाई रित्तो हात नपठाओ । 14 तिमीहरूका भेडा-बाख्रा, खला र दाखको कोलबाट त्यसलाई प्रशस्त मात्रामा लिएर जान देओ । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएमुताबिक त्यसलाई दिनू । 15 तिमीहरू मिश्र देशमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई छुटकारा दिनुभएको थियो भनी तिमीहरूले याद गर्नू । त्यसकारण आज मैले तिमीहरूलाई यो आज्ञा दिँदै छु । 16 त्यसले तिमीहरू र तिमीहरूको घरलाई माया गरेकोले र तिमीहरूसित राम्ररी बसेकोले 'म तपाईंहरूकहाँबाट जान्‍नँ' भन्यो भने 17 एउटा सुतारो लिएर त्यसको कानको लोती ढोकामा लगाएर छेड्नू, र त्यो जीवनभरि तिमीहरूको कमारो हुने छ । तिमीहरूका कमारीलाई पनि यसै गर्नू । 18 त्यसलाई फुक्‍का भएर जान दिन अप्ठ्यारो नमान्‍नू किनकि त्यसले छ वर्षसम्म तिमीहरूको सेवा गरेको छ र ज्यालादारी व्यक्तिले गर्ने दोब्बर काम गरेको छ । तिमीहरूले गर्ने सबै काममा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुहुने छ । 19 तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका सबै पहिले जन्मेकाहरूलाई परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गर्नू । गाईवस्तुबाट पहिले जन्मेकाहरूलाई कुनै काम नगराउनू न त भेडा-बाख्राबाट पहिले जन्मेकाहरूबाट ऊन कत्रनू । 20 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा वर्षैपिच्छे उहाँको सामु तिमीहरू र तिमीहरूको घरानाले पहिले जन्मेकोलाई खानू । 21 त्यो लङ्गडा वा अन्धा वा त्यसमा कुनै किसिमको खोट छ भने तिमीहरूले त्यो परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु नचढाउनू । 22 त्यसलाई तिमीहरूकै सहरभित्र खानू । हरिण वा मृगको मासु खाएझैँ शुद्ध र अशुद्ध व्यक्तिहरूले समान रूपमा खानू । 23 केवल तिमीहरूले यसको रगतचाहिँ नखानू। पानीझैँ गरी यसलाई भुइँमा पोखाइदिनू ।

16

1 आबीब महिनाको सम्झना राखेर परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु निस्तार-चाड मान्‍नू किनकि आबीब महिनामा नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई रातमा मिश्रबाट ल्याउनुभयो । 2 परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा गाईवस्तु र भेडा-बाख्राबाट उहाँको सामु निस्तार-चाडको बलि चढाउनू । 3 योसँगै खमिर हालेको रोटी नखानू । सात दिनसम्म अखमिरी रोटी अर्थात् कष्‍टको रोटी खानू । किनकि तिमीहरू हतारमा मिश्र देशबाट निस्केर आयौ । तिमीहरू मिश्र देशबाट निस्केर आएको दिनलाई याद राख्‍न तिमीहरूका जीवनभरि यसको पालन गर्नू । 4 सात दिनसम्म तिमीहरूका सबै सिमानाभित्र कुनै पनि खमिर देखिनुहुँदैन । पहिलो दिनको साँझमा तिमीहरूले चढाउने बलिको कुनै पनि मासु भोलि बिहानसम्म रहनुहुँदैन । 5 परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने जुनसुकै सहरमा तिमीहरूले निस्तार-चाडको बलि नचढाउनू । 6 बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो पवित्र स्थानको रूपमा छान्‍नुहुने ठाउँमा त्यो चढाउनू । तिमीहरू मिश्रबाट निस्केर आएको वर्षको समय पारेर सूर्योदयको बेला साँझमा निस्तार-चाडको बलि चढाउनू । 7 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा त्यसलाई पोलेर खानू । तिमीहरू बिहान फर्केर आ-आफ्ना पालमा जानू । 8 छ दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू । सातौँ दिनमा परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु पवित्र सभा हुने छ । त्यस दिन तिमीहरूले कुनै काम नगर्नू । 9 तिमीहरूले आफ्ना लागि सात दिन गन्‍नू । पाकेको बाली काट्न सुरु गर्ने समयदेखि तिमीहरूले सात दिन गन्‍नू । 10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌मुताबिक तिमीहरूले दिने स्वैच्छिक बलिको योगदानसहित परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि साताहरूको चाड मान्‍नू । 11 परमप्रभु तिमीहरूका परमेश्‍वरले पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, सहरभित्र भएको लेवी र परदेशीसाथै तिमीहरूका बिचमा भएका अनाथ र विधवाले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाओ । 12 तिमीहरू मिश्रमा कमारा थियो भनी तिमीहरूले याद गर्नू । तिमीहरूले यी विधिहरू मान्‍नू र पालन गर्नू । 13 तिमीहरूका खला र दाखको कोलबाट सबै फसल जम्मा गरिसकेपछि तिमीहरूले सात दिनसम्म छाप्रो-वासको चाड मान्‍नू । 14 तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, लेवी र परदेशीसाथै तिमीहरूका सहरभित्र भएका अनाथ र विधवाले चाड अवधिमा आनन्द मनाओ । 15 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा उहाँको लागि सात दिनसम्म यो चाड मान्‍नू किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै फसल र तिमीहरूका हातका सबै काममा आशिष् दिनुहुने छ र तिमीहरू पूर्ण रूपमा आनन्दित हुने छौ । 16 परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा वर्षको तिन पटक तिमीहरूका सबै पुरुष उहाँको सामु खडा होओः अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-वासको चाडमा । परमप्रभुको सामु कोही पनि रित्तो हात नजानू । 17 बरु, आफूले सकेजति हरेकले दिनू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌लाई तिमीहरूले जान्‍न सक । 18 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने तिमीहरूका सबै सहरमा न्यायकर्ता र अधिकारीहरू नियुक्त गर्नू । तिमीहरूका हरेक कुलबाट तिनीहरूलाई छान्‍नू, र तिनीहरूले मानिसहरूको निष्पक्ष न्याय गरून् । 19 तिमीहरूले जबरजस्ती न्याय हरण नगर । पक्षपात नगर न त घुस लेओ किनकि घुसले बुद्धिमानीहरूको आँखालाई अन्धो तुल्याई धर्मीहरूका वचनलाई बङ्ग्याइदिन्छ । 20 न्यायको मात्र पछि लाग ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूले दिनुहुने देशलाई अधिकार गरी त्यहाँ तिमीहरू बस्‍न सक्‍ने छौ । 21 तिमीहरूले आफ्ना लागि परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीको छेउमा अशेरा देवीको निम्ति कुनै पनि खम्बा खडा नगर्नू । 22 तिमीहरूले आफ्ना लागि कुनै चोखा ढुङ्गा खडा नगर्नू जसलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्छ ।

17

1 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि कुनै पनि खोट लागेको वा खराब भएको बलि नचढाउनू किनकि त्यो परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि घृणित कुरो हुने छ । 2 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा तिमीहरूका बिचमा कुनै पुरुष वा स्‍त्रीले दुष्‍ट काम गर्‍यो भने वा उहाँको करार भङ्ग गर्‍यो भने वा 3 मैले आज्ञा नगरेको अन्य देवताहरूको पछि लागेर तिनीहरूको पुजा गर्‍यो भने वा सूर्य, चन्द्रमा वा कुनै पनि आकाशीय पिण्डलाई ढोग्यो भने, 4 र यस बारेमा तिमीहरूलाई बताइयो भने वा तिमीहरूले यस बारेमा सुन्यौ भने तिमीहरूले होसियारीसाथ अनुसन्धान गर्नू । इस्राएलमा त्यस्तो घृणित कुरो गरिएको साँचो र निश्‍चित ठहरियो भने तिमीहरूले गर्नुपर्ने कुरो यही हो । 5 यस्तो दुष्‍ट काम गर्ने त्यो पुरुष वा स्‍त्रीलाई तिमीहरूले सहरको प्रवेशद्वारमा ल्याएर हरेक पुरुष, स्‍त्री र तिमीहरूले ढुङ्गाले हानेर मार्नू । 6 दुई वा तिन जना साक्षीको आधारमा त्यसलाई मारिने छ । तर एक जना मात्र साक्षीको आधारमा त्यसलाई मारिनुहुँदैन । तिनीहरूलाई मार्न 7 ती साक्षीहरूले पहिले आ-आफ्ना हात उठाऊन् त्यसपछि अरू सबै मानिसले आ-आफ्ना हात उठाऊन् । यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्‍टतालाई हटाउने छौ । 8 हत्या वा दुर्घटनाबाट भएको मृत्यु वा एउटा वा अर्को व्यक्तिको अधिकार वा एउटा किसिमको हानि वा अर्को किसिमको विषय वा तिमीहरूका बिचमा भएका कुनै पनि वादविवाद मिलाउन तिमीहरूलाई गार्‍हो भयो भने परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा जानू । 9 तिमीहरू लेवीका सन्तानहरू अर्थात् त्यस बेला न्यायको लागि सेवा गर्ने पुजारीहरूकहाँ जानू । तिनीहरूका सल्लाह लिनू र तिनीहरूले निर्णय सुनाउने छन् । 10 परमप्रभुले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा तिमीहरूलाई दिइएको व्यवस्थालाई तिमीहरूले मान्‍नू । 11 तिनीहरूले गर्न भनी तिमीहरूलाई निर्देशन दिने हरेक कुरो मान्‍न तिमीहरू होसियार होओ । तिनीहरूले सिकाउने नियमलाई पछ्याउनू, र तिनीहरूले दिएको निर्णयअनुसार गर्नू । तिनीहरूले बताउने कुराबाट दायाँ वा बायाँतिर नतर्कनू । 12 परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु सेवा गर्न खडा हुने पुजारी वा न्यायकर्ताको कुरा अहङ्कारी भएर नसुन्‍ने व्यक्ति मारिने छ । तिमीहरूले इस्राएलबाट दुष्‍टता हटाओ । 13 सबै मानिस यो सुनेर डराउने छन् अनि अब उसो अहङ्कारी हुने छैनन् । 14 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा आइपुगेर यसको अधिकार गरेपछि र यसमा बसोबास गर्न थालेपछि तिमीहरूले 'हाम्रा वरिपरि भएका सबै जातिले जस्तै हाम्रो शासन गर्न राजा चुन्‍ने छौँ' भन्यौ भने 15 परमप्रभु तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने व्यक्तिलाई तिमीहरूले निश्‍चय नै राजाको रूपमा चुन्‍नू । तिमीहरूका दाजुभाइका बिचबाट नै तिमीहरूले आफ्ना लागि राजा चुन्‍नू । कुनै पनि परदेशीलाई आफ्नो राजा नबनाओ । 16 तर ती राजाले आफ्नो लागि घोडाहरूको वृद्धि नगरून् न त घोडाहरूको वृद्धिको लागि मानिसहरूलाई मिश्रमा फर्कन लगाऊन् किनकि 'तिमीहरू त्यसरी फेरि कहिल्यै नजाओ' भनी परमप्रभुले तिमीहरूलाई भन्‍नुभएको छ । 17 तिनले आफ्ना लागि धेरै पत्‍नीहरू नल्याऊन् नत्रता तिनको हृदय बरालिने छ । तिनले सुन र चाँदीको थुप्रो नलगाऊन् । 18 तिनी आफ्नो राज्यको सिंहासनमा बस्दा तिनले पुजारीहरू अर्थात् लेवीहरूको सामु राखिएको व्यवस्थाको प्रतिबाट आफ्नो लागि एक प्रति मुट्ठामा उतारून् । 19 त्यो मुट्ठा तिनीसितै हुनुपर्छ, र तिनले आफ्नो जीवनभरि यसलाई पढ्नुपर्छ । यसरी तिनले परमप्रभु आफ्ना परमेश्‍वरको आदर गर्न सकून् अनि यस व्यवस्थाको सबै वचन र विधिविधान पालन गर्न सकून् । 20 तिनले आफैलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्‍ठ नठानून् र यी आज्ञाहरूबाट तर्केर दायाँ वा बायाँ नलागून् भनेर तिनले यसो गर्नुपर्छ किनकि आफ्नो राज्यमा तिनी र तिनका सन्तानहरूले इस्राएलमा लामो समयसम्म शासन गर्नुपर्ने हुन्छ ।

18

1 पुजारीहरू अर्थात् लेवीहरू र सबै लेवी कुलको इस्राएलीहरूसित कुनै हिस्सा वा अंश हुने छैन । तिनीहरूले आफ्नो अंशको रूपमा आगोद्वारा चढाइएका परमप्रभुका बलिहरू खाऊन् । 2 आफ्ना दाजुभाइहरूका बिचमा तिनीहरूको कुनै अंश नहोस् । तिनीहरूलाई प्रतिज्ञा गरिएअनुसार परमप्रभु नै तिनीहरूका अंश हुनुहुन्छ । 3 गोरु वा भेडा बलिदान गर्ने मानिसहरूबाट पुजारीहरूले पाउने भाग यही होः कुम, दुईवटा गाला र आन्द्रा-भुँडी । 4 तिमीहरूको अन्‍न, नयाँ मद्य, तेलको पहिलो फलसाथै तिमीहरूको भेडाको पहिलो ऊन तिमीहरूले पुजारीलाई दिनू । 5 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले परमप्रभुको नाउँमा सेवा गर्न त्यो र त्यसका छोराहरूलाई सदाको लागि चुन्‍नुभएको छ । 6 इस्राएलको कुनै पनि सहरमा बसेको कुनै एउटा लेवीले आफ्नो सारा हृदयले इच्छा गरेर परमप्रभुले छान्‍नुहुने ठाउँमा आयो भने 7 परमप्रभुको सामु खडा हुने त्यसका सबै लेवी दाजुभाइले जस्तै गरी त्यसले परमप्रभु त्यसका परमेश्‍वरको नाउँमा सेवा गरोस् । 8 त्यसको आफ्नो परिवारको सम्पतिको बिक्रीबाट आएको अतिरिक्त त्यसले पनि खानको लागि समान हिस्सा पाउनुपर्छ । 9 जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा आउँछौ तब तिमीहरूले ती जातिहरूका घृणित कुराहरूको देखासिकी गर्न नसिक्‍नू । 10 तिमीहरूका बिचमा आफ्नो छोरा या छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, वा गिलासमा भएको चिन्हहरू पढ्ने वा टुनामुना गर्ने, 11 मोहनी लगाउने, आत्मासित सल्लाह लिने वा भाग्य बताउने वा मरेकाहरूका आत्मासित कुरा गर्ने कोही पनि नपाइयोस् । 12 किनकि जसले यी कुराहरू गर्छ, त्यो परमप्रभुको दृष्‍टिमा घृणित हुन्छ । यी घृणित कामहरूको कारणले गर्दा नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूकै सामु तिनीहरूलाई धपाउँदै हुनुहुन्छ । 13 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु निष्खोट हुनुपर्छ । 14 किनकि तिमीहरूले हराउने जातिहरूले जादुगरी, शकून-अपशकूनको अभ्यास गर्नेहरूको कुरा सुन्छन् । तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई त्यसो गर्न अनुमति दिनुभएको छैन । 15 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका बिचबाट तिमीहरूका दाजुभाइबाट मजस्तै एक जना अगमवक्ता खड गर्नुहुने छ । तिनको कुरा सुन्‍नू । 16 होरेबमा सभाको दिनमा तिमीहरूले यसो भन्दै परमप्रभु तिमीहरूका परमेश्‍वरलाई बिन्ती चढायौ, 'हामीले फेरि परमप्रभु हाम्रा परमेश्‍वरको आवाज सुन्‍न नपरोस् न त उहाँको यो डरलाग्दो आगो देख्‍न परोस् नत्रता हामी मर्ने छौँ ।' 17 परमप्रभुले मलाई भन्‍नुभयो, 'तिनीहरूले भनेका कुरा ठिक छ । 18 म तिनीहरूकै दाजुभाइहरूका बिचबाट तँजस्तै एक जना अगमवक्ता खडा गर्ने छु । म त्यसको मुखमा मेरा वचन हालिदिने छु र त्यसले मैले तँलाई आज्ञा गरेका सबै वचन बोल्ने छ । 19 त्यसले मेरो नाउँमा बोल्ने मेरा वचन नसुन्‍ने कोही पनि मारिने छ । 20 तर मेरो नाउँमा अहङ्कारी भएर मैले आज्ञा नगरेको वचन बोल्ने वा अन्य देवताहरूको नाउँमा बोल्ने अगमवक्ता मारिनैपर्छ ।' 21 तिमीहरूले आ-आफ्ना हृदयमा सोधौला, 'परमप्रभुले बोल्नुभएको वचन होइन भनेर हामीले कसरी थाहा पाउने ?' 22 परमप्रभुको नाउँमा बोल्ने अगमवक्ताले बोल्दा तिमीहरूले परमप्रभुको सन्देश थाहा पाउने छौ ।

19

1 परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई नष्‍ट गरी तिनीहरूको देश तिमीहरूलाई अधिकार गर्न दिनुहुँदा तिनीहरूपछि तिमीहरू तिनीहरूका सहर र घरहरूमा आएर बस्‍ने छौ । 2 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशको बिचमा आफ्नो लागि तिनवटा सहर रोज्नू । 3 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशलाई तिन भागमा विभाजन गरी ती सहरहरूमा जाने सिमाना निर्धारण गर्नू ताकि ज्यानमारा त्यहाँ भागेर जान सकोस् । 4 जसले आफ्नो छिमेकीलाई पहिले घृणा गर्दैनथ्यो र त्यसले अजानमा उसलाई मार्‍यो भने मारेर त्यहाँ बस्‍न जाने व्यक्तिको विषयमा भएको व्यवस्था यही हो । 5 उदाहरणको लागि, कुनै मानिस आफ्नो छिमेकीसँगै दाउरा काट्न जङ्गलमा जान्छ र रुख ढाल्नलाई बञ्चरो चलाउँदा बञ्चरो बीँडबाट फुस्केर छिमेकीलाई लागेर त्यो मर्‍यो भने त्यो मान्छे यीमध्ये कुनै एउटा सहरमा भागेर आफ्नो ज्यान बचाउन सक्छ । 6 नत्रता बाटो लामो छ भने बदला लिने व्यक्ति त्यो ज्यान मार्नेको पछि गई त्यसको तातो रिसमा त्यसलाई उछिनी त्यसलाई प्रहार गरेर मार्न सक्छ यद्यपि त्यो मानिस मारिने योग्यको भने थिएन किनकि विगतमा त्यसले आफ्नो छिमेकीलाई घृणा गरेको थिएन । 7 त्यसकारण, तिमीहरूले आफ्ना लागि तिनवटा सहर अलग गर्नू भनी म आज्ञा दिन्छु । 8 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूका सिमाना बढाइदिनुभयो र तिमीहरूलाई पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो भने 9 र आज मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै आज्ञा अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्ने र सधैँ उहाँका मार्गहरूमा हिँड्ने आज्ञाहरू तिमीहरूले पालन गर्‍यौ भने तिमीहरूले यी तिनवटा सहरका अतिरिक्त अन्य तिनवटा पनि थप्‍नुपर्छ । 10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा निर्दोष रगत नबगाइयोस् र त्यसको दोष तिमीहरूमाथि नलागोस् भन्‍नाका लागि यसो गर । 11 तर कसलै आफ्नो छिमेकीलाई घृणा गर्छ र ढुकेर बसी त्यसको विरुद्धमा उठेर त्यसलाई मर्ने गरी हिर्काउँछ र त्यो यी तिनवटा सहरमध्ये एउटामा भाग्छ भने 12 त्यसको सहरका धर्म-गुरुहरूले मान्छे पठाई त्यसलाई त्यहाँबाट ल्याउनुपर्छ र जिम्मेवार नातेदारको हातमा सुम्पनुपर्छ अनि त्यसको रगतको बदला लिइयोस् । 13 तिमीहरूका आँखाले त्यसलाई दया देखाउनुहुँदैन । बरु, तिमीहरूले इस्राएलबाट निर्दोषको हत्याको दोषलाई निर्मूलन गर्नुपर्छ ताकि तिमीहरूको भलो हुन सकोस् । 14 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई निज सम्पत्तिको रूपमा अधिकार गर्न दिन लाग्‍नुभएको देशमा लामो समयदेखि राखिएको आफ्नो छिमेकीको सिमानाको ढुङ्गो नहटाओ । 15 कुनै पनि विषयमा कुनै पनि अपराध वा पापको लागि एउटै मात्र साक्षी खडा नहोस् । दुई वा तिन जनाको साक्षीको आधारमा त्यस विषयको पुष्‍टि होस् । 16 कसैले गलत काम गरेको छ भनी कुनै अधर्मी मानिस खडा हुन सक्छ । 17 कुरा नमिलेको दुवै जना व्यक्ति परमप्रभु, पुजारीहरू र ती दिनमा सेवा गर्ने न्यायकर्ताहरूको सामु खडा होऊन् । 18 न्यायकर्ताहरूले दत्तचित्तसाथ जाँचबुझ गरून् । हेर, साक्षी झुटो रहेछ र त्यसले आफ्नो भाइको विरुद्धमा झुटो गवाही दिएको रहेछ भने 19 त्यसले आफ्नो भाइलाई जे गर्ने सोच बनाएको थियो, त्यसलाई त्यसै गर्नू । यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्‍टता हटाउनू । 20 तब बाँकी हुनेहरू यो सुनेर डराने छन्, अनि त्यसपछि कसैले पनि तिमीहरूका बिचमा यस्तो दुष्‍टता गर्ने छैन । 21 तिमीहरूले दया नदेखाउनू । ज्यानको सट्टा ज्यान, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात र गोडाको सट्टा गोडा हुने छ ।

20

1 तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले तिनीहरूको भन्दा धेरै घोडा, रथ र मानिसहरू देख्यौ भने तिनीहरूदेखि नडराओ । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसितै हुनुहुन्छ जसले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनुभयो । 2 तिमीहरू युद्धमा जानै लाग्दा पुजारी नजिक आएर मानिसहरूलाई उसले यसो भन्‍नुपर्छ, 3 'हे इस्राएली हो, सुन । तिमीहरू आफ्ना शत्रुको विरुद्धमा युद्धमा जान लागेका छौ । तिमीहरूका ह्रदय विचलत नहोऊन् । नडराओ, नकाम । तिनीहरूदेखि भयभीत नहोओ । 4 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका शत्रुहरूको विरुद्धमा लडी तिमीहरूलाई बचाउन तिमीहरूको अगिअगि जाँदै हुनुहुन्छ ।' 5 अधिकारीहरूले मानिसहरूलाई यसो भनून्, 'के घर निर्माण गरेर त्यसलाई अर्पण गर्न नपाएको यहाँ कोही छ ? त्यो आफ्नो घरमा फर्केर जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र अर्कोले त्यसको घर अर्पण नगरोस् । 6 के दाखबारी लगाएर यसको फल खान नपाउने यहाँ कोही छ ? त्यो घरमा जाओस् र युद्धमा मर्नु नपरोस् अनि अर्कोले त्यसलाई उपभोग गर्न नपाओस् । 7 के मगनी भएर बिहे नभएको यहाँ कोही मानिस छ ? त्यो घरमा जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र त्यसलाई अर्कोले बिहे गर्न नपाओस् ।' 8 यसबाहेक अधिकारीहरूले मानिसहरूलाई यसो भनून्, 'के यहाँ कोही डरपोक र कातर छ ? त्यो फर्केर आफ्नो घरमा जाओस् ताकि त्यसको भाइको हृदय त्यसको झैँ शिथिल नहोस् ।' 9 अधिकारीहरूले मानिसहरूसित बोलिसकेपछि तिनीहरूले उनीहरूमाथि सेनानायकहरू नियुक्त गरून् । 10 कुनै सहरलाई आक्रमण गर्न तिमीहरू नजिक पुग्दा ती मानिसहरूसित शान्तिको प्रस्ताव राख्‍नू । 11 तिनीहरूले तिमीहरूको प्रस्तावलाई स्वीकार गरी तिमीहरूलाई सहरमा स्वागत गरे भने त्यस सहरमा भएका सबै मानिसलाई बेगार काममा लगाउनू र तिनीहरूले तिमीहरूको सेवा गरून् । 12 तर तिनीहरूले तिमीहरूसित कुनै शान्ति सम्झौता गर्नुको साटो तिमीहरूको विरुद्धमा युद्ध गर्न आए भने तब तिमीहरूले सहरलाई घेरा हाल्नू, 13 र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिई तिमीहरूको नियन्त्रणमा ल्याउनुहुँदा तिमीहरूले त्यस सहरको हरेक व्यक्तिलाई मार्नू । 14 तर स्‍त्री, बालबच्‍चा, गाईवस्तु र सहरमा भएका हरेक थोक लुटको मालको रूपमा आफ्नो लागि लैजानू । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट दिनुभएको लुटको माल तिमीहरूले उपभोग गर्नू । 15 तिमीहरूबाट टाढा भएका सबै सहरलाई मात्र तिमीहरूले यसो गर्नू, तिमीहरूले यी जातिहरूका सहरहरूलाई भने त्यसो नगर्नू । 16 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने यी जातिहरूको सहरहरूमा भने तिमीहरूले सास फेर्ने कसैलाई जीवित नराख्‍नू । 17 बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिमीहरूले हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई पूर्ण रूपमा नष्‍ट गरिदिनू । 18 तिनीहरूले आफ्ना देवताहरूसित गरेका तिनीहरूका घृणित मार्गहरू तिनीहरूले तिमीहरूलाई नसिकाऊन् भन्‍नाका लागि यसो गर्नू । तिनीहरूको मार्ग पछ्यायौ भने तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरका विरुद्धमा पाप गर्ने छौ । 19 कुनै सहरलाई कब्जा गर्न तिमीहरूले त्यसलाई लामो समयसम्म घेर्दा तिमीहरूले बञ्चरोले यसका रुखहरू नकाट्नू । किनकि तिमीहरूले तीबाट खान सक्छौ । त्यसैले, तिनलाई नकाट । किनकि के जङ्गलका रुखहरू जाति हुन् जसलाई तिमीहरू घेरा हाल्छौ ? 20 फल दिने रुखहरू होइनन् भनी तिमीहरूले चिनेका रुखहरूलाई मात्र तिमीहरूले काटेर नष्‍ट गर्नू । तिमीहरूसित युद्ध गर्ने सहर पराजित नभएसम्म घेरा हाल्ने काममा ती प्रयोग गर्न सक्छौ ।

21

1 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशको कुनै मैदानमा कोही मारिएको पाइयो र यसको हत्याराको निधो भएन भने, 2 तिमीहरूका धर्म-गुरुहरू र न्यायकर्ताहरू गएर लाशदेखि नजिक भएका सहरहरू पत्ता लगाऊन् । 3 त्यसपछि लाशको निकटतम सहरका धर्म-गुरुहरूले गाईवस्तुबाट काममा नलगाएको र जुवा नहालेको एउटा कोरली लिऊन् । 4 अनि तिनीहरूले त्यस कोरलीलाई नजोतिएको र बिउ नछरिएको खोला भएको उपत्यकामा लैजाऊन्, र त्यहाँ तिनीहरूले त्यसको घाँटी भाँचिदिऊन् । 5 पुजारीहरू अर्थात् लेवीका सन्तानहरू अगाडि आऊन् किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उहाँको सेवा गर्न र परमप्रभुको नाउँमा आशिष् दिन अनि हरेक वादविवाद मिलाइदिन छान्‍नुभएको छ । 6 मारिएको मानिसको निकटतम सहरका सबै धर्म-गुरुले उपत्यकामा घाँटी निमोठिएको कोरलीमाथि आ-आफ्ना हात धोऊन् । 7 अनि तिनीहरूले त्यस मामललाई जवाफ दिई यसो भनून्, 'हाम्रा हातले यो रगत बगाएका होइनन्, न त हाम्रा आँखाले यसलाई देखेका छन् ।' 8 हे परमप्रभु इस्राएललाई क्षमा दिनुहोस् जसलाई तपाईंले छुटकारा दिनुभएको छ, र तपाईंको जाति इस्राएलको बिचमा यो निर्दोषको हत्याको दोष नलगाउनुहोस् ।' तब हत्याको दोषलाई क्षमा हुने छ । 9 यसरी तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठिक छ त्यही गरेकाले तिमीहरूले तिमीहरूका बिचबाट निर्दोषको हत्याको दोषलाई हटाउने छौ । 10 जब तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध गर्न जान्छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिई तिनीहरूलाई तिमीहरूको वशमा ल्याउनुहुन्छ अनि जब तिमीहरूले तिनीहरूलाई बन्दी बनाई ल्याउँछौ, 11 तब तिमीहरूले बन्दीहरूका बिचमा सुन्दरी स्‍त्री देख्यौ र त्यसलाई आफ्नी पत्‍नी बनाउने इच्छा गर्‍यौ भने 12 त्यसलाई आफ्नो घरमा लैजानू । त्यसले आफ्नो कपाल खौरन्छे र नङ् काट्छे । 13 त्यसपछि त्यसले निर्वासनमा छँदा आफूले लगाएको लुगा फुकाल्छे र त्यो तिम्रो घरमा बसी आफ्ना बुबाआमाको लागि एक वर्षसम्म शोक गर्छे । त्यसपछि तिमी त्योसित सुत्‍न सक्छौ र त्यसको पति हुन सक्छौ र त्यो तिम्री पत्‍नी हुन्छे । 14 तर तिमीले त्यसमा रुचि देखाएनौ भने त्यसलाई इच्छा लागेको ठाउँमा जान दिनू । तथापि तिमीले त्यसलाई पैसामा नबेच्नू, त्यसलाई कमारीलाई जस्तै व्यवहार नगर्नू किनकि तिमीले त्यसको सतीत्व नष्‍ट गरेका छौ । 15 कुनै मानिसका दुई पत्‍नी छन् र त्यसले एउटालाई माया गर्छ र अर्कीलाई घृणा गर्छ अनि दुवै जनाले सन्तान जन्माएका छन् भने अनि घृणा गरिनेले चाहिँ जेठो छोरो जन्माएको छ भने 16 अंशबन्डा गर्दा माया गर्नेको छोरा भनेर माया नगर्नेको खास जेठो छोरोलाई उछिनेर पिताले कान्छोलाई अधिकार दिन मिल्दैन । 17 बरु, त्यसले घृणा गरिएकी पत्‍नीको छोरोलाई नै आफ्ना सबै सम्पत्तिको दोब्बर भाग दिएर जेठो हो भनी मान्यता देओस् । किनकि त्यो छोरो नै त्यसको शक्तिको सुरु हो । जेठोको हक त्यसको नै हो । 18 कुनै मानिसको हठी र विर्दोही छोरो छ जसले आफ्ना बुबा वा आमाको कुरा मान्दैन वा र तिनीहरूले त्यसलाई सुधार्दा पनि त्यो सुध्रदैन भने 19 त्यसका बुबाआमाले त्यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरका ढोकाहरूमा ल्याऊन् । 20 तिनीहरूले धर्म-गुरुहरूलाई यसो भनून्, 'यो हाम्रो छोरो हठी र विर्दोही छ । यसले हाम्रो कुरा मान्दैन । यो लफङ्गो र मतवाला हो ।' 21 तब सहरका सबै मानिसले त्यसलाई ढुङ्गाले हानेर मारून् । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टतालाई हटाउने छौ । सारा इस्राएली यो सुनेर डराउने छन् । 22 कुनै मानिसले मृत्यु योग्यको पाप गरेको छ र त्यसलाई मृत्युदण्ड दिँदा त्यसलाई रुखमा झुण्ड्यायौ भने 23 त्यसको लाश रातभरि रुखमा नरहोस् । बरु, त्यसलाई त्यही दिनमा नै गाडिदिनू । किनकि जो झुण्ड्याइन्छ त्यो परमप्रभुबाट श्रापित हुन्छ । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशलाई तिमीहरूले बिटुलो नपार भनेर यो आज्ञा पालन गर ।

22

1 आफ्नो इस्राएली छिमेकीको गोरु वा भेडा तर्केर गएको देख्दा त्यसलाई नदेखेको जस्तो नगर्नू । तिमीले त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदिनू । 2 तिम्रो इस्राएली छिमेकी तिम्रो नजिक छैन भने वा तिमीले त्यसलाई चिन्दैनौ भने तिमीले त्यो पशु आफ्नो घरमा ल्याउनू र छिमेकीले नखोजेसम्म त्यो तिम्रो घरमा हुने छ । तब यो तिमीले त्यसलाई दिनू । 3 त्यसको गधाको मामलामा पनि यसै गर्नू; त्यसको लुगाको सवालमा पनि यसै गर्नू । तिम्रो इस्राएली छिमेकीको हराएको कुनै पनि कुरो पाइएको खण्डमा यसै गर्नू । तिमीले आफ्नै लागि नलुकाउनू । 4 तिम्रो इस्राएली छिमेकीको गधा वा गोरु बाटोमा लोटेको देख्यौ भने नदेखेको जस्तो नगर्नू । त्यसलाई उठाउन मदत गर्नू । 5 पुरुषले लगाउने वस्‍त्र स्‍त्रीले लगाउनुहुँदैन न त स्‍त्रीले लगाउने वस्‍त्र पुरुषले लगाउनुहुन्छ । किनकि यी कुरा गर्ने जोसुकै परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि घृणित हुने छ । 6 कुनै बाटो वा रुख वा भुइँमा बचेरो वा फुलमा माउ बसिरहेको देख्यौ भने माउलाई बचेरोसँगै नलैजानू । 7 माउलाई जान दिएर बचेरोलाई लैजान सक्छौ । यो आज्ञालाई पालन गर ताकि तिमीहरूको भलो हुन सकोस्, र तिमीहरूको आयु लामो होस् । 8 तिमीहरूले नयाँ घर बनाउँदा छतको चारैतिर बार लगाउनू ताकि त्यहाँबाट कोही लड्यो भने त्यसको दोष तिमीहरूको घरलाई नलागोस् । 9 तिमीहरूले दाखबारीमा दुई किसिमका बिउ नलागाउनू । नत्रता तिमीहरूले त्यसो गर्‍यौ भने तिमीहरूले लगाएको बिउ मात्र नभई दाखबारीसमेत अपवित्र हुने छ । 10 गोरु र गधा सँगसँगै नारेर नजोत्‍नू । 11 ऊन र सुती मिसाएर बनाइएको लुगा नलगाउनू । 12 तिमीहरूले लगाउने लुगाको चारै कुनामा झुम्का लगाउनू । 13 मानौँ, कसैले विवाह गरेर पत्‍नीसित सुतिसकेपछि त्यसलाई घृणा गर्छ र 14 र बदनाम गराउने नियतले पत्‍नीलाई यसो भन्छ, 'मैले यो स्‍त्रीलाई ल्याएँ, तर म त्योसित सुत्‍न जाँदा त्यो कन्या केटी भएको पाइनँ ।' 15 तब त्यस केटीका बुबाआमाले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ त्यसको कुमारीत्वको प्रमाण ल्याउनुपर्छ । 16 केटीका बुबाले धर्म-गुरुहरूलाई यसो भन्‍नुपर्छ, 'मैले यो मानिसलाई मेरी छोरी त्यसकी पत्‍नी हुनलाई दिएँ र त्यसले यसलाई घृणा गर्छ । 17 हेर, त्यसले यसलाई घृणा गरी लाजमर्दो अभियोग लगाएको छ, "मैले तिम्री छोरीमा कुमारीत्वको प्रमाण पाइनँ ।" तर मेरी छोरीको कुमारीत्वको प्रमाण यहाँ छ ।' तब तिनीहरूले सहरका धर्म-गुरुहरूको सामु त्यो लुगा फिँजाओस् । 18 त्यस सहरका धर्म-गुरुहरूले त्यस पुरुषलाई समातेर दण्ड दिऊन् । 19 अनि तिनीहरूले त्यसलाई चाँदीको एक सय सिक्‍काको जरिवाना तिराई त्यो केटी र केटीका पितालाई दिऊन् किनकि त्यस मानिसले इस्राएलको कुमारीत्वको बारेमा कलङ्क लगाएको छ । त्यो केटी त्यसकै पत्‍नी हुनुपर्छ । त्यसले जीवनभर त्यस केटीलाई त्याग्‍न पाउँदैन । 20 तर केटीमा कुमारीत्वको प्रमाण नपाइएको कुरो साँचो रहेछ भने 21 तिनीहरूले केटीलाई त्यसका बुबाको घरको ढोकामा ल्याऊन्, र सहरका मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मारून् किनकि त्यसले इस्राएलमा आफ्नो पिताको घरमा वेश्यावृत्तिको कार्य गरी लाजमर्दो काम गरेकी छे । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू । 22 कुनै पुरुषले अर्काकी पत्‍नीसित सहवास गरिरहेको फेला पर्‍यो भने सहवास गर्ने पुरुष र स्‍त्री दुवै जना मारिऊन् । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू । 23 कुनै कन्या केटीको कुनै पुरुषसित मगनी भएको छ र अर्को पुरुषले सहरमा त्योसित सहवास गर्‍यो भने 24 दुवै जनालाई सहरको मूल ढोकामा ल्याई ढुङ्गाले हानेर मार्नू । सहरभित्र भएर पनि केटी नचिच्‍च्याएकीले त्यसलाई ढुङ्गाले हानेर मार्नू । आफ्नो छिमेकीकी पत्‍नीको सतीत्व नष्‍ट गरेकोले पुरुषलाई ढुङ्गाले हानेर मार्नू । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू । 25 तर कुनै पुरुषले मगनी भएकी केटीलाई खेतमा फेला पारी त्योसित जबरजस्ती सहवास गरेको रहेछ भने पुरुष मात्र मारियोस् । 26 तर केटीलाई चाहिँ केही नगर्नू । केटीले मृत्युदण्ड पाउने कुनै काम गरेकी छैन । यो कुनै मानिसले आफ्नो छिमेकीलाई आक्रमण गरी मारेको जस्तै सवाल हो । 27 किनकि पुरुषले स्‍त्रीलाई खेतमा फेला पारेको थियो र मगनी भएकी केटी चिच्‍च्याइकी थिई, तर त्यसलाई बचाउन त्यहाँ कोही थिएन । 28 कुनै पुरुषले मगनी नभएकी केटीलाई फेला पारी त्यससित जबरजस्ती सहवास गर्‍यो र त्यो कुरो प्रकाशमा आयो भने 29 त्यस पुरुषले केटीका बुबालाई चाँदीका पचास सिक्‍का देओस्, र त्यो केटी त्यसकी पत्‍नी होस् किनकि त्यसले केटीलाई अपमान गरेको छ । त्यसको जीवनभर त्यसले केटीलाई त्याग्‍न पाउँदैन । 30 कुनै मानिसले आफ्नो बुबाकी पत्‍नीलाई आफ्नी पत्‍नी नतुल्याओस् । त्यसले आफ्ना बुबाको वैवाहिक अधिकारलाई हरण गर्नुहुँदैन ।

23

1 लिङ्ग किचिएको वा काटिएको मानिसलाई परमप्रभुको सभामा प्रवेश गर्न निदनू । 2 कुनै अवैध बच्‍चा परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन । त्यसको दस पुस्तासम्म त्यसको कोही सन्तान पनि परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन । 3 अम्मोनी वा मोआबी परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन । त्यसको दस पुस्तासम्म त्यसको कोही सन्तान पनि परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन । 4 किनकि तिमीहरू मिश्रबाट आउँदा बाटोमा तिनीहरूले रोटी र पानी लिएर तिमीहरूलाई भेट्न आएका थिएनन्, र तिमीहरूको विरुद्धमा श्राप दिन तिनीहरूले पतोरमा बस्‍ने बओरका छोरा बालामलाई भाडामा लिएका थिए । 5 तर परमप्रभु तिमीहरूका परमेश्‍वरले बालामको कुरा सुन्‍नुभएन । बरु, तिमीहरूका परमेश्‍वरले श्रापलाई आशिष्‌मा परिणत गरिदिनुभयो किनकि तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो । 6 तिमीहरूका जीवनभर तिमीहरूले तिनीहरूका शान्ति वा उन्‍नतिको खोजी नगर्नू । 7 तिमीहरूले कुनै एदोमीलाई तिरस्कार नगर्नू । कुनै मिश्रीलाई घृणा नगर्नू किनकि तिमीहरू त्यसको देशमा परदेशी थियौ । 8 तिनीहरूबाट जन्मेका तेस्रो पुस्ताका सन्तानहरू परमप्रभुको सभामा पस्‍न सक्छन् । 9 तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले आ-आफूलाई दुष्‍ट कुराहरूबाट अलग राख । 10 तिमीहरूका बिचमा रातम कुनै पुरुष स्वप्‍न-दोषको कारणले गर्दा अशुद्ध भएको छ भने त्यो सेनाको छाउनीबाट बाहिर जाओस् र छाउनीमा फर्केर नआओस् । 11 साँझ परेपछि त्यसले पानीले नुहाओस् । सूर्य अस्ताएपछि त्यो छाउनीमा आओस् । 12 छाउनीबाहिर तिमीहरूका लागि एउटा ठाउँ हुनुपर्छ । 13 खन्‍नका लागि तिमीहरूसित सामग्रीहरू हुनुपर्छ । दिसा बसिसकेपछि खाल्डो खनेर दिसा पुरिदिनू । 14 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिन र तिमीहरूका शत्रुहरूलाई तिमीहरूका हातमा दिन उहाँ तिमीहरूको छाउनीको बिचमा हिँडडुल गर्नुहुन्छ । त्यसकारण, तिमीहरूको छाउनी पवित्र हुनुपर्छ ताकि तिमीहरूका बिचमा कुनै अशुद्ध कुरा देखेर उहाँ तिमीहरूका बिचबाट तर्केर नजानुभएको होस् । 15 आफ्नो मालिकबाट भागेर आएको कमारालाई त्यसको मालिककहाँ नफर्काउनू । 16 त्यसले जुनसुकै सहर छाने तापनि त्यसलाई तिमीहरूसँगै बस्‍न दिनू । त्यसलाई थिचोमिचो नगर्नू । 17 इस्राएलीका छोरीहरू र छोराहरूका बिचमा कसैले पनि मन्दिरको वेश्यावृत्तिमा काम नगरोस् । 18 तिमीहरूले कुनै भाकलको निम्ति वेश्यावृत्तिको ज्याला वा कुकुरको ज्याला परमप्रभु तिमीहरूका परमेश्‍वरको भवनमा नल्याउनू । किनकि यी दुवै परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि घृणित कुराहरू हुन् । 19 ब्याज प्राप्‍त गर्न सकिने रुपियाँ-पैसा, भोजन वा अन्य कुनै पनि कुरो आफ्नो इस्राएली भाइलाई ऋणस्वरूप दिँदा त्यसबाट ब्याज नलिनू । 20 परदेशीबाट भने तिमीहरूले ब्याज लिन सक्छौ । तर आफ्नो इस्राएली भाइबाट भने तिमीहरूले ब्याज लिनुहुँदैन । यसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूको हात परेको हरेक थोकमा आशिष् दिनुभएको होस् । 21 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई भाकल गर्दा यसलाई पुरा गर्न विलम्ब नगर किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट यो चाहनुहुन्छ । भाकल पुरा नगर्नु पाप हो । 22 तर भाकलै गरेका छैनौ भने यो तिमीहरूका लागि पाप हुँदैन । 23 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले भाकल गरेअनुसार वा तिमीहरूका मुखले स्वैच्छापूर्वक प्रतिज्ञा गरेअनुसार तिमीहरूका मुखबाट निस्केको कुरा पुरा गर्नुपर्छ । 24 तिमीहरू आफ्नो छिमेकीको दाखबारीमा जाँदा इच्छा लागेअनुसार चाहेजति दाख खान सक्छौ, तर आफ्नो टोकरीमा भने नहाल । 25 तिमीहरू आफ्नो छिमेकीको अन्‍न पाकेको खेतमा जाँदा तिमीहरूले आफ्ना हातले अन्‍नका बाला टिप्‍न सक्छौ, तर पाकेको बालीमा हँसिया नलगाओ ।

24

1 आफूले बिहे गरेर ल्याएकी पत्‍नीमा कुनै खोट पाएकोले पुरुषले त्यसलाई त्याग्‍न चाह्यो भने त्यसले त्यागपत्र लेखेर उसको हातमा थमाइदिएर उसलाई आफ्नो घरबाट पठाओस् । 2 त्यो आफ्नो घरबाट गइसकेपछि त्यो कसैकी पत्‍नी हुन सक्छे । 3 दोस्रो पतिले पनि त्यसलाई घृणा गरी त्यागपत्र लेखी त्यसको हातमा थमाइदिएर उसलाई घरबाट पठाइदियो वा दोस्रो पतिको पनि मृत्यु भयो भने 4 त्यसको पहिलेको पति अर्थात् उसलाई घरबाट पठाउने पतिले त्यस स्‍त्री अशुद्ध भएपछि त्यसलाई आफ्नी पत्‍नी हुनलाई नलिन पनि सक्छ । किनकि त्यसो गर्नु परमप्रभुको लागि घृणित कुरो हो । तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिन लाग्‍नुभएको देशलाई दोषी नबनाओ । 5 भर्खरै बिहे गरेको पुरुष सेनासँगै युद्धमा नजाओस् न त जबरजस्ती उसलाई कुनै जिम्मेवारी दिइयोस् । त्यो एक वर्षसम्म घरमा रही त्यसले भर्खरै ल्याएकी पत्‍नीसित रमाओस् । 6 कसैले धितोको रूपमा जाँतो वा जाँतोको माथिल्लो ढुङ्गा नलिओस् किनकि त्यसो गर्नु भनेको त्यस व्यक्तिको जीवन लिनु बराबर हो । 7 इस्राएलीहरूका बिचबाट कसैले आफ्ना दाजुभाइमध्ये एउटालाई अपहरण गरी त्यसलाई नोकरसरह व्यवहार गरी बेचिदिएको छ भने त्यो अपहरणकारी मारिनैपर्छ । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टतालाई हटाउने छौ । 8 कुष्‍ठरोगको विपत्तिको बारेमा तिमीहरूले ध्यान देओ ताकि पुजारीहरू अर्थात् लेवीहरूले तिमीहरूलाई सिकाएका हरेक निर्देशनलाई तिमीहरूले होसियारीसाथ पछ्याई पालन गर्न सक । मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिमीहरूले गर्नू । 9 तिमीहरू मिश्रबाट आइरहँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले मिरियमलाई के गर्नुभयो, सो सम्झ । 10 तिमीले आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिँदा धरौटी लिन उसको घरभित्र प्रवेश नगर । 11 तिमी बाहिरै पर्ख, र तिमीले ऋण दिएको व्यक्ति धरौटी लिएर बाहिरै आओस् । 12 त्यो गरिब रहेछ भने त्यसको आफ्नो सम्पत्ति ठानी धरौटीसितै नसुत्‍नू । 13 सूर्य अस्ताउनुअगि तिमीले त्यसको धरौटी फिर्ता गरिदिनू ताकि त्यो आफ्नो ओढ्नेमा सुत्‍न सकोस् र तिमीलाई आशिष् दिन सकोस् । परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु यो तिम्रो निम्ति धार्मिकता हुने छ । 14 तिमीहरूले गरिब र दरिद्र ज्यालादारी नोकरलाई थिचोमिचो नगर, चाहे त्यो तिमीहरूकै सहरभित्र तिमीहरूको देशमा भएको इस्राएली भाइ होस् वा परदेशी होस् । 15 तिमीहरूले हरेक दिन त्यसलाई त्यसको ज्याला दिनू । सूर्य अस्ताउनुअगि यो विषय सुल्झोस् किनकि त्यो गरिब हो र यसमा नै भर पर्छ । यसो गर्नू ताकि त्यसले परमप्रभुको सामु पुकार नगरोस्, र यो तिमीहरूले गरेका पाप नबनोस् । 16 छोराछोरीका कारणले बुबाआमालाई नमार्नू, न त बुबाआमाको कारणले छोराछोरीलाई मार्नू । बरु, हरेक मानिस आफ्नै पापको निम्तो मरोस् । 17 परदेशी वा अनाथले पाउने न्याय हरण गर्न दमन नगर । विधवाको ओढ्ने धरौटीको रूपमा नराख । 18 बरु, तिमीहरू मिश्रमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई त्यहाँबाट छुटकारा दिनुभयो भनी याद गर्नू । त्यसकारण, यो आज्ञा पालन गर्न मैले तिमीहरूलाई निर्देशन दिएको छु । 19 तिमीहरूले आफ्नो खेतमा फसलको कटनी गर्दा अन्‍नको एक बिटा बिर्सेका छौ भने त्यसलाई लिन फर्केर नजाओ । यो परदेशी, अनाथ वा विधवाको लागि होस् ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा आशिष् दिनुभएको होस् । 20 तिमीहरूले भद्राक्षको रुखलाई हल्लाउँदा तिमीहरू फेरि हाँगाहरूमा नजाओ । यो परदेशी, अनाथ वा विधवाको लागि होस् । 21 तिमीहरूले आफ्नो दाखबारीबाट दाख बटुल्दा तिमीहरूले फेरि सोहोरसाहर नगर्नू । छाडिएको चाहिँ परदेशी, अनाथ र विधावाको लागि हुने छ । 22 तिमीहरू मिश्रमा कमारा थियौ भनी याद राख्‍नू । त्यसकारण, मैले तिमीहरूलाई आज्ञा गरेको यो निर्देशन मान्‍नू ।

25

1 मानिसहरूका बिचमा झैझगडा भयो र तिनीहरू अदालतमा गए भने न्यायकर्ताहरूले तिनीहरूको न्याय गरून् अनि धर्मीलाई छाडिदिएर दुष्‍टलाई दोषी ठहराऊन् । 2 दोषी मानिसले पिटाइ खानुपर्छ भने न्याकर्ताले त्यसलाई लम्पसार पर्न लगाएर न्यायकर्ताको उपस्थितिमा त्यसको अपराधअनुसार त्यसलाई कोर्रा हानोस् । 3 न्यायकर्ताले त्यसलाई चालिस कोर्रा लगाउन सक्छ, तर त्यसभन्दा बढीचाहिँ होइन । किनकि त्यसभन्दा बढी कोर्रा लगाए तिमीहरूको इस्राएली भाइ तिमीहरूको दृष्‍टिमा अपमानित हुने छ । 4 दाइँ गर्दा गोरुलाई महला नलागाओ । 5 सँगसँगै बसेका दाजुभाइमध्ये कुनै छोरो नजन्माई एउटाको मृत्यु भयो भने मरेको मानिसकी पत्‍नीलाई परिवारभन्दा बाहिर विवाहको लागि नदिइयोस् । बरु, मर्नेको दाजु वा भाइले त्यसलाई आफ्नी पत्‍नी तुल्याओस्, र मृत लोग्‍नेको दाजु वा भाइले आफ्नो कर्तव्य पुरा गरोस् । 6 स्‍त्रीले जन्माउने पहिलो छोरोलाई मरेको व्यक्तिको नाउँ दिइयोस् ताकि त्यसको नाउँ इस्राएलबाट नमेटियोस् । 7 तर देवरले आफ्नी भाउजुलाई राख्‍ने इच्छा गरेन भने मुल ढोकामा गई भाउजुले धर्म-गुरुहरूलाई यसो भनोस्, 'मेरो देवरले इस्राएलमा त्यसको दाजुको नाउँ राख्‍न इन्कार गर्छ । त्यसले मसित देवरले गर्नुपर्ने कर्तव्य गर्दैन ।' 8 तब त्यसको सहरका धर्म-गुरुहरूले त्यसलाई बोलाएर त्यससित कुराकानी गरून् । तर त्यसले 'म भाउजुलाई राख्‍न चाहन्‍नँ' भनी जिद्दी गर्‍यो भने 9 भाउजु धर्म-गुरुहरूको उपस्थितिमा देवरकहाँ आई उसले त्यसको खुट्टाबाट जुत्ता फुकालेर त्यसको मुखमा थुकिदेओस् । भाउजुले यसो भनोस्, 'आफ्नो दाजुको घर निर्माण नगर्ने मानिसलाई यसै गरिन्छ ।' 10 इस्राएलमा त्यसको नाउँलाई 'जुत्ता फुकालिएको घर' भनिने छ । 11 मानिसहरू एक-अर्कासित झगदा गर्दा एक जनाकी पत्‍नी आएर आफ्नो पतिलाई बचाउन विरोधीको गुप्‍ताङ्ग अँठ्याई भने 12 त्यसको हात काटिदिनू । त्यसलाई नटिठ्याउनू । 13 तिमीहरूले आफ्नो झोलामा एउटै तौलको लागि कम र ज्यादा ओजन भएका ढकहरू नराख्‍नू । 14 तिमीहरूको घरमा पनि एउटै नापको लागि फरक किसिमका माना-पाथी नहोऊन् । 15 तिमीहरूसित सिद्ध र ठिक तौलका ढकसातै माना-पाथीहरू हुनुपर्छ ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूका आयु लामो होस् । 16 किनकि यस्ता कुराहरू गर्ने अर्थात् बेइमानीपूर्वक काम गर्ने सबै परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि घृणित हुन् । 17 तिमीहरू मिश्रबाट आउँदा बाटोमा अमालेकीहरूले गरेको कुरो याद राख्‍नू । 18 तिनीहरूले तिमीहरूलाई बाटोमा भेटे र थाकेर हैरान भएकाहरू सबैलाई तिनीहरूले आक्रमण गरे । तिनीहरूले परमेश्‍वरको आदर गरेनन् । 19 त्यसकारण, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुँदा तिमीहरूका वरिपरि भएका तिमीहरूका सबै शत्रुबाट तिमीहरूलाई विश्राम दिनुभएपछि आकाशमुनि अमालेकीहरूको नाउँनिशानै मेटिदिन नभुल्नू ।

26

1 जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशमा आई यसको अधिकार गरेर वसोवास गर्छौ, 2 तब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा भूमिको सबै उब्जनीको पहिलो फल लिनू । त्यसलाई एउटा डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा त्यसलाई लिएर जानू । 3 ती दिनमा सेवा गर्ने पुजारीकहाँ गएर यसो भन्‍नू, 'परमप्रभु तपाईंका परमेश्‍वरले हामीलाई दिन्छु भनी हाम्रा पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा म आइपुगेको छु भनी म उहाँको अगि स्वीकार गर्दछु ।' 4 पुजारीले तिमीहरूका हातबाट डालोलाई लिई परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदीको सामू राखून् । 5 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु भन्‍नू, 'मेरा पुर्खा फिरन्ते अरामी थिए । तिनी मिश्रमा गई त्यहीँ बसोबास गरे, र तिनका मानिसहरू सङ्ख्यामा थोरै थिए । त्यहाँ तिनीबाट एक महान्, शक्तिशाली र असङ्ख्य जाति बन्यो । 6 मिश्रीहरूले हामीलाई निष्‍ठुरतापूर्वक व्यवहार गरी हामीलाई दुःख दिए । तिनीहरूले हामीलाई कमाराहरूले गर्ने काम गर्न लगाए । 7 हामीले हाम्रा पिता-पुर्खाहरूका परमेश्‍वर परमप्रभुलाई पुकार्‍यौँ, र उहाँले हाम्रो क्रन्दन, हाम्रो पीडा, हाम्रो श्रम र हाम्रो थिचोमिचो सुन्‍नुभयो । 8 परमप्रभुले हामीलाई शक्तिशाली हात, फैलिएको पाखुरा, ठुलो आतङ्क, चिन्ह र आश्‍चर्यहरूद्वारा मिश्रबाट ल्याउनुभयो । 9 अनि उहाँले हामीलाई यो ठाउँमा ल्याउनुभएको छ र हामीलाई दूध र मह बग्‍ने यो देश दिनुभएको छ । 10 अब हेर्नुहोस्, परमप्रभुले मलाई दिनुभएको यस देशको उब्जनीको पहिलो फल मैले तपाईंकहाँ ल्याएको छु ।' तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु त्यस डालोलाई राखेर उहाँको आराधना गर्नू । 11 अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू, तिमीहरूका बिचमा भएका लेवीसाथै परदेशीका निम्ति उहाँले गर्नुभएका सम्पूर्ण भलाइको कारणले आनन्द मनाओ । 12 दशांश दिने वर्ष अर्थात् तेस्रो वर्षमा तिमीहरूको उब्जनीको सबै दशांश अलग गरिसकेपछि तिमीहरूले त्यो परदेशी, अनाथ र विधवालाई दिनू ताकि तिमीहरूका सहरभित्र तिनीहरूले खाएर तृप्‍त होऊन् । 13 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु यसो भन्‍नू, 'तपाईंले मलाई दिनुभएका सबै आज्ञामुताबिक जुन थोकहरू परमप्रभुका हुन् ती मैले मेरो घरबाट ल्याएर लेवी, परदेशी, अनाथ र विधवालाई दिएको छु । मैले तपाईंका कुनै पनि आज्ञा उल्लङ्घन गरेको छैनँ न त त्यसलाई बिर्सेको छु । 14 मेरो शोकको घडीमा मैले त्यो खाएको छैनँ, न म अशुद्ध हुँदा मैले त्यसलाई कतै राखेको छु, न त मृतकहरूको आदरमा मैले त्यो दिएको छु । मैले परमप्रभु मेरा परमेश्‍वरको आवाज सुनेको छु । तपाईंले मलाई दिनुभएको हरेक आज्ञा मैले पालन गरेको छु । 15 पवित्रस्थानबाट हेर्नुहोस् जहाँ तपाईं बस्‍नुहुन्छ जुन स्वर्ग हो । तपाईंको जाति इस्राएल, तपाईंले हाम्रा पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको दूध र मह बग्‍ने देश अर्थात् हामीलाई दिनुभएको देशलाई आशिष् दिनुहोस् ।' 16 आज परमप्रभु तिमीहरूका परमेश्‍वरले यी विधिविधानहरू पालन गर्न तिमीहरूलाई आज्ञा गर्दै हुनुहुन्छ । त्यसकारण, तिमीहरूका सारा ह्रदय र सारा प्राणले तिनको पालन गर र तिनलाई मान । 17 आज तिमीहरूले घोषणा गरेका छौ, कि परमप्रभु नै तिमीहरूका परमेश्‍वर हुनुहुन्छ, र तिमीहरू उहाँका मार्गहरूमा हिँडी उहाँका विधिविधानहरू, आज्ञाहरू मान्‍ने छौ र उहाँको कुरा सुन्‍ने छौ । 18 आज परमप्रभुले घोषणा गर्नुभएको छ, कि तिमीहरू एउटा जाति हौ जो उहाँको प्रतिज्ञामुताबिक उहाँको आफ्नै निज सम्पत्ति हो, र तिमीहरूले उहाँका सबै आज्ञा मान्‍ने छौ । 19 अनि उहाँले सृजना गर्नुभएका सबै जातिभन्दा तिमीहरूलाई उच्‍चमा राख्‍नु हुनेछ, र तिमीहरूले प्रशंसा, ख्याति र आदर पाउने छौ । तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ उहाँको निम्ति अलग गरिएका जाति हुने छौ ।"

27

1 मोशा र इस्राएलका धर्म-गुरुहरूले मानिसहरूलाई यसो भनी आज्ञा दिए, "आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा पालन गर । 2 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा जान जब तिमीहरूले यर्दन नदी पार गर्ने छौ तब त्यस दिन तिमीहरूले ठुला-ठुला ढुङ्गाहरू खडा गरेर तिनलाई कमेरोले पोत्‍नू । 3 तिमीहरूले पार गरिसकेपछि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा त्यसको अधिकार गर्दा यो व्यवस्थाका सबै वचन तिनमा लेख्‍नू । 4 तिमीहरूले यर्दन पार गरिसकेपछि एबाल डाँडामा यी ढुङ्गाहरू खडा गर्नू जसमा मैले आज तिमीहरूलाई दिने यी आज्ञाहरू कमेरोले पोत्‍नू । 5 त्यहाँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरका निम्ति ढुङ्गाहरूको एउटा वेदी बनाउनू, तर तिनमा कुनै फलामे हतिहार प्रयोग नगर्नू । 6 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदी प्रयोगमा नआएको ढुङ्गाको बनाउनू । त्यसमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई होमबलि चढाउनू । 7 त्यसमा तिमीहरूले मेलबलि र स्वैच्छिक बलि पनि चढाउनू । तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाओ । 8 तिमीहरूले यी ढुङ्गाहरूमा यस व्यवस्थाका सबै वचन ज्यादै प्रस्टसँगै लेख्‍नू । 9 मोशा र पुजारी अर्थात् लेवीहरूले सारा इस्राएलीलाई भने, "हे इस्राएली हो, मौन भएर सुन । आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको जाति भएका छौ । 10 त्यसकारण, आज मैले तिमीहरूलाई दिएका आज्ञा र विधिहरूसाथै परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा पालन गर ।" 11 त्यही दिन मोशाले मानिसहरूलाई आज्ञा दिई भने, 12 "तिमीहरूले यर्दन नदी पार गरेपछि मानिसहरूलाई आशिष् दिन यी कुलहरू गीरीज्‍जीम डाँडामा खडा होऊन्: शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीन । 13 श्रापको घोषणा गर्न यी कुलहरूचाहिँ एबाल डाँडामा खडा होऊन्: रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍ताली । 14 ठुलो सोरमा लेवीहरूले इस्राएलीहरूलाई यसो भनेर जवाफ दिऊन्: 15 'कारीगरको हातले बनाएको जस्तै खोपेर वा ढालेर परमप्रभुको लागि घृणित मूर्ति गुप्‍तमा बनाउने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 16 'आफ्ना बुबाआमालाई श्राप दिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 17 'आफ्नो छिमेकीको साँधसिमानाको ढुङ्गो हटाउने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 18 'दृष्‍टिविहीनलाई उल्टो बाटो देखाइदिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 19 'परदेशी, टुहुरा वा विधवाले पाउनुपर्ने न्याय हरण गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 20 'आफ्नो पिताको अधिकार हरण गरी पिताकी पत्‍नीसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 21 'कुनै पनि किसिमको पशुसँग सम्भोग गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 22 'आफ्ना बुबा वा आमाकी छोरी अर्थात् आफ्नै बहिनीसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 23 'आफ्नी सासुसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 24 'आफ्नो छिमेकीलाई गुप्‍तमा मार्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 25 'निर्दोष व्यक्तिलाई मार्न घुस लिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 26 'यस व्यवस्थाका वचन पुरा गर्न पालन नगर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'

28

1 आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका सबै आज्ञा पालन गर्न उहाँको कुरा होसियारीपूर्वक सुन्यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पृथ्वीका सबै जातिभन्दा उच्‍च बनाउनुहुने छ । 2 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुन्यौ भने यी सबै आशिष् तिमीहरूमा आउने छन् । 3 तिमीहरू सहरमा आशिषित् हुने छौ र खेतमा आशिषित् हुने छौ । 4 तिमीहरूका सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूका पशु, तिमीहरूका गाईवस्तुसाथै तिमीहरूका बाछा-बाछीमाथि 5 आशिष् पर्ने छ । 6 तिमीहरूको डालो र पिठो मुछ्ने आरीमा आशिष् पर्ने छ । तिमीहरू भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष् पाउने छौ । 7 तिमीहरूको विरुद्धमा खडा हुने तिमीहरूका शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु पराजित गर्नुहुने छ । तिनीहरू तिमीहरूको विरुद्धमा एउटा बाटो भएर आउने छन्, तर तिमीहरूकै सामु सातवटा बाटो भएर भाग्‍ने छन् । 8 परमप्रभुले तिमीहरूका धनसार र तिमीहरूले हात लगाउने हरेक थोकमा आशिष् ल्याउनुहुने छ । उहाँले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा उहाँले तिमीहरूलाई आशिष् दिनुहुने छ । 9 परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गरी उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले प्रतिज्ञा गरेअनुसार परमप्रभुले तिमीहरूलाई आफ्नो लागि अलग गर्नुभएको जातिको रूपमा स्थापित गर्नुहुने छ । 10 तिमीहरू परमप्रभुको नाउँद्वारा डाकिएका छौ भनी पृथ्वीका सबै जातिले थाहा पाउने छन्, र तिनीहरू तिमीहरूदेखि डराउने छन् । 11 परमप्रभुले तिमीहरूका सन्तान, तिमीहरूका गाईवस्तु, तिमीहरूको भूमिको उब्जनी र तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूको उन्‍नति गराउनुहुने छ । 12 ठिक समयमा वृष्‍टि दिन र तिमीहरूको देशको सबै काममा आशिष् दिन परमप्रभुले तिमीहरूका निम्ति आकाशमा भएको आफ्नो भण्डारण खुला गर्नुहुने छ । तिमीहरूले धेरै जातिलाई ऋण दिने छौ, तर तिमीहरूले ऋण लिने छैनौ । 13 परमप्रभुले तिमीहरूलाई शिर तुल्याउनुहुने छ, पुच्छर होइन । तिमीहरू केवल माथि हुने छौ, तल होइन । आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू पालन गर्न र मान्‍न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुन्यौ भने, 14 र आज मैले तिमीहरूलाई आज्ञा गरेका वचनहरूबाट दायाँ र बायाँ गएर अरू देवताहरूको सेवा गर्न तिनीहरूको पछि लागेनौ भने तिमीहरूले आशिष् पाउने छौ । 15 तर आज मैले तिमीहरूलाई दिएका सबै आज्ञासाथै विधिहरू पालन गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुनेनौ भने यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् । 16 तिमीहरूको सहर र तिमीहरूको खेतमा श्राप पर्ने छ । 17 तिमीहरूको डालो र पिठो मुछ्ने आरीमा श्राप पर्ने छ । 18 तिमीहरूको सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूको गाईवस्तु र बाछा-बाछीहरूमा श्राप पर्ने छ । 19 तिमीहरू भित्र आउँदा र बाहिर जाँदा श्राप पर्ने छ । 20 तिमीहरूले दुष्‍ट काम गरी मलाई त्यागेकाले तिमीहरू चाँडै नष्‍ट नभएसम्म तिमीहरूले हात लगाउने हरेक थोकमा परमप्रभुले तिमीहरूमाथि श्राप, भ्रम र हप्की पठाउनुहुने छ । 21 तिमीहरूले अधिकार गर्न जान लागेको देशमा तिमीहरूको नाउँनिशानै नमेटुञ्‍जेलसम्म परमप्रभुले तिमीहरूमाथि विपत्ति ल्याउनुहुने छ । 22 परमप्रभुले तिमीहरूलाई सङ्क्रामक रोग, ज्वरो, सूज, खडेरी, प्रचण्ड ताप, चिलाउने बतास र ढुसीले आक्रमण गर्नुहुने छ । तिमीहरू नष्‍ट नभएसम्म यी आइरहने छन् । 23 तिमीहरूको शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको पृथ्वी फलाम हुने छ । 24 परमप्रभुले तिमीहरूको देशको वृष्‍टिलाई धूलोपिठोमा बद्लनुहुने छ । तिमीहरू विनाश नभएसम्म यो आकाशबाट आइरहने छ । 25 परमप्रभुले तिमीहरूलाई तिमीहरूका शत्रुहरूको सामु परास्त गर्नुहुने छ । तिमीहरू तिनीहरूको विरुद्धमा एउटा बाटो जाने छौ, तर तिनीहरूबाट सातवटा बाटा भएर भाग्‍ने छौ । तिमीहरू पृथ्वीका सबै राज्यमा धपाइने छौ । 26 तिमीहरूका लाश आकाशका चराचुरुङ्गीहरू र पृथ्वीका पशुहरूका लागि भोजन हुने छन् । तिनीहरूलाई त्रसित पार्ने कोही हुने छैन । 27 परमप्रभुले तिमीहरूलाई मिश्रका फोका, गिर्खा, पिला, चिलाउने रोगले आक्रमण गर्नुहुने छ जसबाट तिमीहरू निको हुन सक्दैनौ । 28 परमप्रभुले तिमीहरूलाई पागलपन, अन्धोपन र मानसिक गोलमालले आक्रमण गर्नुहुने छ । 29 अन्धोले अन्धकारमा छामछाम-छुमछुम गरेर हिँडेजस्तै तिमीहरू मद्यदिनमा हिँड्ने छौ, तिमीहरूले आफ्ना मार्गमा उन्‍नति गर्ने छैनौ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र लुटिने छौ अनि तिमीहरूलाई बचाउने कोही हुने छैन । 30 तिम्रो मगनी भएकी केटीलाई अर्को पुरुषले लगेर बलत्कार गर्ने छ । तिमीहरूले घर बनाउने छौ, तर त्यसमा बस्‍न पाउने छैनौ । 31 तिमीहरूले दाखबारी लगाउने छौ, तर यसको फल खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गोरुलाई मारिने छ, तर तिमीहरूले त्यसको मासु खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गधालाई जबरजस्ती लगिने छ, र तिमीहरूले फिर्ता पाउने छैनौ । तिमीहरूको भेडा तिमीहरूका शत्रुहरूलाई दिइने छ, र तिमीहरूलाई सहायता गर्ने कोही हुने छैन । 32 तिमीहरूका छोराछोरीहरू अरू जातिहरूलाई दिइने छन् । तिमीहरूले पुरै दिन तिनीहरूको बाटो हेर्ने छौ, तर तिनीहरूलाई देख्‍ने छैनौ । तिमीहरूका हातमा कुनै शक्ति हुने छैन । 33 तिमीहरूको देशको उब्जनी र तिमीहरूको परिश्रमको फल तिमीहरूले नचिनेको जातिले खाइदिने छ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र पेलिने छौ । 34 यसरी तिमीहरू तिमीहरूले देख्‍नु परेको दृश्यद्वारा बौलाहा हुने छौ । 35 परमप्रभुले तिमीहरूलाई तिमीहरूको शिरदेखि पैतालासम्म अनि घुँडा र खुट्टामा फोकाले आक्रमण गर्नुहुने छ जसबाट तिमीहरू निको हुनै सक्दैनौ । 36 परमप्रभुले तिमीहरू र तिमीहरूले आफ्नो लागि रोजेका राजालाई तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका जातिकहाँ धपाउनुहुने छ । त्यहाँ तिमीहरूले काठ र ढुङ्गाले बनेका देवताहरूलाई पुज्ने छौ । 37 परमप्रभुले तिमीहरूलाई सबै जातिको बिचमा धपाउनुहुने छ जहाँ तिमीहरू हेला, तिरस्कार र गिल्लाका पात्र बन्‍ने छौ । 38 तिमीहरूले खेतमा धेरै बिउ लगाउने छौ, तर थोरै मात्र कटनी गर्ने छौ किनकि सलहहरूले त्यसलाई खाइदिने छन् । 39 तिमीहरूले दाखबारी लगाई त्यसको कटनी गर्ने छौ, तर तिमीहरूले दाखरस पिउन पाउने छैनौ, न त दाख नै जम्मा गर्न पाउने छौ किनकि किराहरूले ती खाइदिने छन् । 40 तिमीहरूका इलाकाभरि तिमीहरूले भद्राक्षका रुखहरू लगाउने छौ, तर तिमीहरूले तेल निकाल्न पाउने छैनौ, किनकि तिमीहरूका भद्राक्षका रुखहरूको फल झर्ने छन् । 41 तिमीहरूले छोराछोरीहरू जन्माउने छौ, तर तिनीहरू तिमीहरूका हुने छैनन् किनकि तिनीहरू दासत्वमा लगिने छन् । 42 तिमीहरूका सबै रुख र तिमीहरूको भूमिको फललाई सलहहरूले नष्‍ट गरिदिने छन् । 43 तिमीहरूको बिचमा बास गर्ने परदेशी तिमीहरूभन्दा माथि-माथि उठ्ने छ । तर तिमीहरूचाहिँ तल-तल झर्ने छौ । 44 त्यसले तिमीहरूलाई ऋण दिने छ, तर तिमीहरूले त्यसलाई ऋण दिने छैनौ । त्यो शिर हुने छ भने तिमीहरू पुच्छर हुने छौ । 45 यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् र तिमीहरू नष्‍ट नभएसम्म तिनले तिमीहरूको पिछा गर्ने छन् । उहाँले तिमीहरूलाई उहाँका आज्ञा र निर्देशनहरू पालन गर्न तिमीहरूले उहाँको कुरा नसुनेकाले यो हुने छ । 46 चिन्ह र आश्‍चर्यको रूपमा यी श्रापहरू तिमीहरू र तिमीहरूका सन्तानहरूमाथि सदाको निम्ति आइपर्ने छन् । 47 तिमीहरूको उन्‍नति हुँदा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई ह्रदयबाट खुसीसाथ र आनन्दसाथ उहाँको आराधना नगरेकाले 48 परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुहुने शत्रुहरूको तिमीहरूले सेवा गर्ने छौ । तिमीहरूले भोक, तिर्खा, नग्‍नता र गरिबीमा तिनीहरूको सेवा गर्ने छौ । उहाँले तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म उहाँले तिमीहरूको काँधमा जुवा हालिदिनुहुने छ । 49 परमप्रभुले धेरै टाढाबाट अर्थात् पृथ्वीको छेउबाट आफ्नो सिकारको लागि झम्टने गरुडझैँ तिमीहरूको विरुद्धमा एउटा जातिलाई ल्याउनुहुने छ जसको भाषा तिमीहरू बुझ्दैनौ । 50 यो एउटा क्रुर रूप भएको जाति हुने छ जसले पाकाहरूलाई आदर गर्दैन र युवाहरूलाई स्‍नेह देखाउँदैन । 51 तिमीहरू नष्‍ट नभएसम्म तिनीहरूले तिमीहरूका बाछा-बाछी र तिमीहरूको देशको फल खाने छन् । तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म तिनीहरूले तिमीहरूका लागि कुनै अन्‍न, नयाँ मद्य वा तेल वा बाछा-बाछी वा भेडा-बाख्रा छाड्ने छैनन् । 52 तिमीहरूले भरोसा गरेका सहरहरूका अग्ला र मजबुत पर्खालहरू नढालेसम्म तिनीहरूले तिमीहरूका सहरहरूलाई घेराबन्दी गर्ने छन् । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको तिमीहरूको देशका सबै सहरलाई तिनीहरूले घेराबन्दी गर्ने छन् । 53 तिमीहरूका शत्रुहरूले तिमीहरूमाथि कष्‍ट ल्याएको समयमा र तिमीहरूलाई घेराबन्दी गर्दा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएका तिमीहरूका आफ्नै सन्तान अर्थात् छोराछोरीका मासु खाने छौ । 54 तिमीहरूका बिचमा भएका कोमल र भद्र मानिसले पनि आफ्नै भाइ, आफ्नी प्यारी पत्‍नी र आफ्ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउने छैन । 55 तिमीहरूको शत्रुले तिमीहरूका सबै सहरभित्र कष्‍ट ल्याएको समयमा र घेराबन्दी गर्दा यहाँसम्म हुने छ कि त्यसले खाँदै गरेको आफ्ना बालबच्‍चाहरूको शरीरको मासु त्यसले कसैलाई दिने छैन । 56 तिमीहरूको बिचमा भएकी कोमल र शिष्‍ट स्‍त्री जसले कोमलता र शिष्‍टताको कारणले भुइँमा आफ्नो पैतलाले टेक्‍न पनि चाहँदिन थिई, त्यस्ती स्‍त्रीले पनि आफ्ना पतिसाथै आफ्नै छोराछोरी, 57 अनि आफूले भर्खरै जन्माएको छोरोसाथै आफ्नै बालबच्‍चाको मासु खाने छे । तिमीहरूको शत्रुले तिमीहरूको सहरलाई घेराबन्दी गरी कष्‍टमा ल्याउँदा त्यसले केही खान नपाएकीले गर्दा गुप्‍तमा त्यसले त्यो मासु खाने छे । 58 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको महिमित र भययोग्य नाउँलाई आदर गर्न यस पुस्तकमा लेखिएका व्यवस्थाका सबै वचन पालन गरेनौ भने 59 परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानमाथि डरलाग्दा विपत्तिहरू ल्याउनुहुने छ । ती लामो समयसम्म आउने भयानक डरलाग्दा र प्रचण्ड विपत्तिहरू हुने छन् । 60 मिश्रमा जुन विपत्तिहरूदेखि तिमीहरू डराएका थियौ, उहाँले तिनै विपत्तिहरू तिमीहरूमाथि ल्याउनुहुने छ । 61 ती तिमीहरूमा टाँसिने छन् । यसको अतिरिक्त, तिमीहरू नष्‍ट नभएसम्म परमप्रभुले व्यवस्थाको यस पुस्तकमा नलेखिएका हरेक रोग र विपत्ति पनि तिमीहरूमाथि ल्याउनुहुने छ । 62 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा नमानेकाले तिमीहरू आकाशका ताराहरूजत्तिकै सङ्ख्यामा धेरै भए तापनि तिमीहरूको सङ्ख्या थोरै हुने छ । 63 तिमीहरूको भलो गर्न र तिमीहरूलाई गुणात्मक रूपमा वृद्धि गराउनमा परमप्रभु एक पटक जसरी रमाउनुभयो, त्यसै गरी तिमीहरूलाई नष्‍ट गरी विनाश गर्नमा उहाँ रमाउनुहुने छ । तिमीहरूले अधिकार गर्न लागेको देशबाट तिमीहरू धपाइने छौ । 64 परमप्रभुले तिमीहरूलाई पृथ्वीको एउटा कुनाबाट अर्को कुनासम्म सबै जातिका बिचमा तितर-बितर पारिदिनुहुने छ । त्यहाँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका काठ र ढुङ्गाले बनेका देवताहरूको पुजा गर्ने छौ । 65 यी जातिहरूका बिचमा तिमीहरूले चैन पाउने छैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ हुने छैन । बरु, त्यहाँ परमप्रभुले तिमीहरूलाई थरथर काँप्‍ने ह्रदय, थाक्‍ने आँखा र शोक गर्ने प्राण दिनुहुने छ । 66 तिमीहरूको जीवन तिमीहरूकै सामु आशङ्कमा झुण्डिने छ । तिमीहरू हरेक दिन र रात डराउने छौ अनि तिमीहरूको जीवनभर कुनै निश्‍चयता हुने छैन । 67 तिमीहरूका ह्रदयमा हुने डर र तिमीहरूका आँखाले देख्‍नुपर्ने कुराहरूको कारणले बिहान तिमीहरूले 'राति भइदिए हुन्थ्यो!' भन्‍ने छौ भने राति तिमीहरूले 'बिहान भइदिए हुन्थ्यो!' भन्‍ने छौ । 68 परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूद्वारा तिमीहरू जुन बाटो भएर आएका थियौ त्यही बाटो भएर तिमीहरूलाई मिश्र देशमा फर्काएर लैजानुहुने छ जुन बाटोको बारेमा उहाँले भन्‍नुभएको थियो, 'तिमीहरूले फेरि मिश्र देख्‍ने छैनौ ।' त्यहाँ तिमीहरूले आफैलाई कमारा-कमारीको रूपमा आफ्ना शत्रुहरूको हातमा बेच्ने छौ, तर कसैले तिमीहरूलाई किन्‍ने छैन ।

29

1 होरेबमा परमप्रभुले इस्राएलीहरूसित बाँध्‍नुभएको करारबाहेक मोआब देशमा परमप्रभुले मोशामार्फत इस्राएलीहरूलाई दिनुभएका वचनहरू यी नै हुन् । 2 मोशाले सारा इस्राएलीलाई डाकेर भने, "मिश्र देशमा फारो, तिनका सबै अधिकारी र तिनका सबै देशमा परमप्रभुले तिमीहरूका सामु गर्नुभएको हरेक कुरा तिमीहरूले देखेका छौ । 3 तिमीहरूका आँखाले डरलाग्दो दुःखकष्‍ट, चिन्ह र आश्‍चर्यहरू देख्यौ । 4 तर आजको दिनसम्म परमप्रभुले तिमीहरूलाई जान्‍ने ह्रदय, देख्‍ने आँखा वा सुन्‍ने कान दिनुभएको छैन । 5 मैले तिमीहरूलाई चालिस वर्षसम्म उजाड-स्थानमा अगुवाइ गरेको छु । तिमीहरूका लुगा फाटिएन, न त तिमीहरूका जुत्ता च्यातिए । 6 तिमीहरूले अरू कुनै रोटी खाएनौ, न त तिमीहरूले कुनै अरू मद्य पियौ ताकि म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍न सक । 7 तिमीहरू यस ठाउँमा आउँदा हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग तिमीहरूको विरुद्धमा युद्ध गर्न आए र हामीले तिनीहरूलाई परास्त गर्‍यौँ । 8 हामीले तिनीहरूको देश कब्जा गरी रूबेनीहरू, गादीहरू र मनेश्शेको आधा कुललाई पैतृक सम्पत्तिको रूपमा दियौँ । 9 त्यसकारण, तिमीहरूले गर्ने हरेक कुरामा तिमीहरूको उन्‍नति होस् भनेर यस करारका वचनहरू पालग गर र मान । 10 आज तिमीहरूका नायक, कुल, धर्म-गुरु, अधिकृत र इस्राएलका सबै मानिस परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खडा छौ । 11 तिमीहरूका छोराछोरीहरू, पत्‍नीहरू, तिमीहरूको छाउनीमा भएका परदेशी, दाउरे र पनेरे सबै उहाँको सामु खडा छौ । 12 आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको करारभित्र प्रवेश गर्न र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित खान लाग्‍नुभएको शपथभित्र प्रवेश गर्दै छौ 13 ताकि आज उहाँले तिमीहरूलाई आफ्नै जाति बनाउनुभएको होस् र उहाँले भन्‍नुभएझैँ उहाँले तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नुभएअनुसार उहाँ तिमीहरूका परमेश्‍वर होऊन् । 14 किनकि मैले यो करार र यो शपथ आज परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु 15 यहाँ उभिनेहरूसित मात्र नभएर आज हामीसित यहाँ नहुनेहरूसित पनि बाँध्दै छु । 16 हामी मिश्रमा कसरी बस्यौँ र जाति-जातिहरूका बिचबाट हामी कसरी आयौँ भनी तिमीहरू जान्दछौ । 17 तिनीहरूका बिचमा भएका काठ र ढुङ्गा, चाँदी र सुनले बनेका घिनलाग्दा मूर्तिहरूलाई तिमीहरूले देखेका छौ । 18 तिमीहरूका बिचमा भएका कुनै पुरुष, स्‍त्री, घराना, कुलको ह्रदय परमप्रभु हाम्रा परमेश्‍वरबाट तर्केर गई ती जातिहरूका देवताहरूको पुजा गर्न पछि नलागोस् भन्‍ने कुरामा निश्‍चित होओ । तिमीहरूका बिचमा यस्तो तितो विष उत्पन्‍न गर्ने कोही नहोस् । 19 त्यस्तो व्यक्तिले यो श्रापका वचनहरू सुन्दा त्यसले आफैलाई आशिष् दिई आफ्नो ह्रदयमा यसो भन्छ, 'म मेरो ह्रदयको हठीपनामा हिँडे तापनि मसित शान्ति हुने छ ।' यसले सुक्खा जमिनसँगै भिजेको जमिनलाई पनि नष्‍ट गर्ने छ । 20 परमप्रभुले त्यसलाई क्षमा दिनुहुने छैन, बरु परमप्रभुको क्रोध र उहाँको डाह त्यो मानिसको विरुद्धमा दन्कने छ अनि यस पुस्तकमा लेखिएका सबै श्राप त्यसमाथि आउने छन् । यसरी परमप्रभुले आकाशमुनिबाट त्यसको नाउँ मेटिदिनुहुने छ । 21 व्यवस्थाको यस पुस्तकमा लेखिएका करारका सबै श्रापअनुसार परमप्रभुले त्यसलाई इस्राएलका सबै कुलबाट विनाशको निम्ति अलग गर्नुहुने छ । 22 तिमीहरूपछि आउने पुस्ता अर्थात् तिमीहरूका सन्तान र सुदूर देशबाट आउने परदेशीले यस देशमा आइपरेका विपत्तिहरू र परमप्रभुले ल्याउनुभएका विपत्तिहरू देख्दा तिनीहरूले यस बारेमा भन्‍ने छन् । 23 परमप्रभुले आफ्नो रिस र क्रोधमा सदोम र गमोरा, अदमा र सबोयीमलाई नष्‍ट पार्नुभएझैँ समस्त देशमा गन्धक र नून जलेको खाक मात्र हुने छ । 24 अन्य जातिहरूसँगै तिनीहरूले भन्‍ने छन्, 'किन परमप्रभुले यस देशलाई यसो गर्नुभएको ? यो डरलाग्दो रिसको मतलब के हो ?' 25 मानिसहरूले भन्‍ने छन्, 'तिनीहरूले मिश्रबाट ल्याउनुहुने परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिनीहरूसित बाँध्‍नुभएको करार त्यागेकाले गर्दा यसो भएको हो । 26 तिनीहरू आफूले नचिनेका र उहाँले तिनीहरूलाई नदिनुभएको अन्य देवताहरूको पछि लागी तिनीहरूको सेवा गरेकाले र तिनीहरूका सामु निहुरेकाले गर्दा यसो भएको हो । 27 त्यसकारण, यस पुस्तकमा लेखिएका सबै श्राप आउने गरी परमप्रभुको रिस यस देशको विरुद्धमा दन्किएको हो । 28 परमप्रभुले आफ्नो रिस, क्रोध र भयानक कोपमा तिनीहरूलाई तिनीहरूको देशबाट जरैदेखि उखेली अर्को देशमा फ्याँक्‍नुभएको छ, जस्तो आज छ ।' 29 गुप्‍त कुराहरू परमप्रभु हाम्रा परमेश्‍वरका मात्र हुन् । तर प्रकट भएका कुराहरू सदाको निम्ति हाम्रा र हाम्रा सन्तानहरूका हुन् ताकि हामीले यस व्यवस्थाका सबै वचन पालन गर्न सकूँ ।

30

1 जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्राप तिमीहरूमाथि आइपर्ने छन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अन्य जातिहरूका बिचमा धपाउनुभएपछि जब तिमीहरूले यी सम्झने छौ, 2 र तिमीहरूका सारा हृदय र प्राणले आज मैले तिमीहरू र तिमीहरूका सन्तानलाई आज्ञा गरेका यी सबै वचनलाई पालन गरेर तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरकहाँ फर्कंदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको निर्वासनलाई उल्ट्याइदिनुहुने छ र तिमीहरूलाई टिठ्याउनुहुने छ । 3 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तितर-बितर पार्नुभएका सबै जातिबाट तिमीहरूलाई फर्काएर ल्याई तिमीहरूलाई एकत्रित गर्नुहुने छ । 4 तिमीहरूको कुनै पनि मानिस निर्वासित भएर आकाशमुनिको सबैभन्दा टाढा लगिए तापनि परमेश्‍वरले तिमीहरूलाई जम्मा गरी ल्याउनुहुने छ । 5 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाहरूले अधिकार गर्नुभएको र तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूलाई ल्याउनुहुने छ । उहाँले तिमीहरूको भलो गर्नुहुने छ र तिमीहरूका पिता-पुर्खाहरूभन्दा तिमीहरूलाई सङ्ख्यामा वृद्धि गर्नुहुने छ । 6 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू र तिमीहरूका सन्तानहरूका हृदयको खतना गरिदिनुहुने छ अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सारा हृदयले प्रेम गर्ने छौ अनि तिमीहरू जीवित हुने छौ । 7 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई घृणा गर्ने र तिमीहरूको खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि यी सबै श्राप ल्याउनुहुने छ । 8 तिमीहरू फर्केर परमप्रभुको आवाज सुन्‍ने छौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्ने छौ । 9 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको देशका सबै काम, तिमीहरूका सन्तान, तिमीहरूका बाछा-बाछी, तिमीहरूको भूमिको फलमा प्रचुर मात्रामा उन्‍नति गराइदिनुहुने छ । किनकि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूमा आनन्द मनाउनुभएझैँ तिमीहरूको उन्‍नतिमा पनि आनन्द मनाउनहुने छ । 10 तिमीहरूका सारा हृदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र निर्देशनहरू पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा मान्यौ भने उहाँले यसो गर्नुहुने छ । 11 किनकि आज मैले तिमीहरूलाई दिएको यो आज्ञा तिमीहरूका निम्ति कठिन छैन, न त प्राप्‍तै गर्न नसक्‍ने गरी टाढा छ । 12 'हामीले पालन गर्न सकूँ भनेर हाम्रो निम्ति स्वर्गमा गई यसलाई तल ल्याएर हामीलाई बताउने को छ ?' भनी तिमीहरूले भन्‍नुपर्ने गरी यो स्वर्गमा छैन । 13 'हामीले पालन गर्न सकूँ भनेर हाम्रो निम्ति सागर पार गरी यसलाई ल्याएर हामीलाई बताउने को छ ?' भनी तिमीहरूले भन्‍नुपर्ने गरी यो समुद्रपारि छैन । 14 तर तिमीहरूले पालन गर्न सक्‍ने गरी वचन तिमीहरूको नजिकै छ अर्थात् तिमीहरूको मुख र हृदयमा छ । 15 हेर, आज मैले तिमीहरूका सामु जीवन र भलाइ, मृत्यु र दुष्‍ट्याइँ राखिदिएको छु । 16 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका मार्गहरूमा हिँड्न र उहाँका आज्ञाहरूसाथै उहाँका निर्देशनहरू, विधिविधानहरू पालन गर्न आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आदेशहरू पालन गर्‍यौ भने तिमीहरू बाँच्ने छौ र तिमीहरूको वृद्धि हुने छ अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू प्रवेश गर्न लागेका देशमा तिमीहरूलाई आशिष् दिनुहुने छ । 17 तर तिमीहरूका हृदय बरालिएर अटेरी भयौ र अरू देवताहरूप्रति आकर्षित भएर तिनीहरूको सामु निहुरी तिनीहरूको पुजा गर्‍यौ भने 18 तिमीहरू पक्‍कै नष्‍ट हुने छौ भनी आज म घोषणा गर्दछु । यर्दनपारि गएर तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूको आयु लामो हुने छैन । 19 तिमीहरूको सामु मैले जीवन र मृत्यु अनि आशिष् र श्राप राखिदिएको छु भनी तिमीहरूको विरुद्धमा गवाही दिन आज मैले स्वर्ग र पृथ्वीलाई साक्षी राखेको छु । त्यसकारण, तिमीहरू र तिमीहरूका सन्तानहरू बाँच्न सकून् भनी जीवन रोज । 20 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँको कुरा पालन गर्न र उहाँमा टाँसिनका लागि यसलाई मान्‍नू । किनकि उहाँ नै तिमीहरूको जीवन र तिमीहरूको दीर्घायु हुनुहुन्छ । परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक, याकूबसित प्रतिज्ञा गर्नुभएको यो देशमा तिमीहरू बाँच्न सक भन्‍नलाई यो आज्ञा मान्‍नू ।

31

1 मोशा गएर सारा इस्राएलीलाई यी वचन भने, 2 "म अहिले एक सय बिस वर्ष पुगेँ । अब म भित्र बाहिर गर्न सक्दिनँ । परमप्रभुले मलाई यसो भन्‍नुभएको छ, 'तँ यर्दनपारि जाने छैनस् ।' 3 परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूभन्दा अगिअगि त्यहाँ जानुहुने छ । उहाँले तिमीहरूकै सामु यी जातिहरूलाई नष्‍ट पार्नुहुने छ, र तिमीहरूले तिनीहरूलाई धपाउने छौ । परमप्रभुले भन्‍नुभएझैँ यहोशू तिमीहरूभन्दा अगि त्यहाँ जाने छन् । 4 परमप्रभुले एमोरीहरूका राजा सीहोन र ओग अनि तिनहरूका देशलाई नष्‍ट पार्नुभएझैँ तिनीहरूलाई नष्‍ट पार्नुहुने छ । 5 तिमीहरूले तिनीहरूसित युद्धमा जम्काभेट गर्दा परमप्रभुले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनहुने छ, र मैले तिमीहरूलाई दिएका सबै आज्ञामुताबिक तिनीहरूलाई गर्नू । 6 बलियो र खुबै साहसी होओ । नडराओ र तिनीहरूदेखि भयभीत नहोओ । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँगै जानुहुने छ । उहाँले तिमीहरूलाई छाड्नुहुने छैन, न त त्याग्‍नुहुने छ ।" 7 मोशाले यहोशूलाई बोलाई सारा इस्राएलको सामुन्‍ने भने, "बलियो र खुबै साहसी होऊ, किनकि यी मानिसहरूलाई दिन्छु भनी परमप्रभुले तिनीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमी यिनीहरूसँगै जाऊ । तिमीहरूले तिनीहरूलाई यसको अधिकार गर्न दिने छौ । 8 परमप्रभु तिम्रो अगिअगि जानुहुने छ । उहाँ तिमीसँगै हुनुहुने छ । उहाँले तिमीलाई छाड्नहुने छैन, न त त्याग्‍नुहुने छ । नडराऊ, निरुत्साहित नहोऊ ।" 9 मोशाले यो व्यवस्था लेखेर लेवीका छोराहरू अर्थात् पुजारीहरूलाई दिए जसले परमप्रभुले करारको सन्दुक बोक्थे । तिनले इस्राएलका सारा धर्म-गुरुलाई पनि यसका प्रतिहरू दिए । 10 मोशाले तिनीहरूलाई यसो भनी आज्ञा दिए, "हरेक सात वर्षको अन्त्यमा अर्थात् ऋणहरू रद्द गरिदिने समयमा, छाप्रो-वासको चाडमा, 11 परमप्रभु तिमीहरूका परमेश्‍वरले उहाँको पवित्र वासस्थानको लागि उहाँले छान्‍नुहुने ठाउँमा सारा इस्राएली उहाँको सामु देखा पर्दा तिनीहरूले सुन्‍ने गरी सारा इस्राएलीको सामु तिमीहरूले यो व्यवस्थाका वचन पढ्नू । 12 पुरुष र स्‍त्रीहरू, बालबच्‍चाहरू, तिमीहरूका सहरभित्र बस्‍ने परदेशीलगायत सबै मानिसलाई भेला गराउनू ताकि तिनीहरूले सुनेर सिक्‍न सकून् र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई आदर गर्न सकून् अनि यस व्यवस्थाका वचनहरू पालन गर्न सकून् । 13 यर्दनपारि तिमीहरूले अधिकार गर्न जान लागेको देशमा बसुञ्‍जेलसम्म यो व्यवस्था नजान्‍ने तिनीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान्‍न सिकून् ।" 14 परमप्रभुले मोशालाई भन्‍नुभयो, "हेर, तँ मर्ने दिन आउँदै छ । यहोशूलाई डाकेर भेट हुने पालमा तेरो उपस्थितिमा ले ताकि म त्यसलाई आज्ञा दिन सकूँ ।" मोशा र यहोशू भेट हुने पालमा गएर आफैलाई उपस्थित गराए । 15 परमप्रभु बादलको खाँबोमा पालमा देखा पर्नुभयो । बादलको खाँबो पालको ढोकामाथि अडियो । 16 परमप्रभुले मोशालाई भन्‍नुभयो, "हेर्, तँ तेरा पिता-पुर्खाहरूसित सुत्‍ने छस् । जुन देशमा यी मानिसहरू जाँदै छन्, त्यहाँ तिनीहरूले अनौठा देवताहरूको पछि लागि आत्मिक व्यभिचार गर्ने छन् । तिनीहरूले मलाई त्याग्‍ने छन् र मैले तिनीहरूसित बाँधेको मेरो करार भङ्ग गर्ने छन् । 17 तब त्यस दिन मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कने छ र म तिनीहरूलाई त्यागिदिने छु । म तिनीहरूबाट मेरो मुहार लुकाउने छु, र तिनीहरू नष्‍ट हुने छन् । तिनीहरूले धेरै विपत्ति र सङ्कष्‍टहरू झेल्ने छन् अनि त्यस दिन तिनीहरूले भन्‍ने छन्, 'के हाम्रा परमेश्‍वर हाम्रा बिचमा नहुनुभएकोले यी विपत्तिहरू हामीमाथि आइपरेका होइनन् र ?' 18 तिनीहरू अन्य देवताहरूकहाँ फर्की तिनीहरूले गर्ने तिनीहरूका सबै दुष्‍ट्याइँको कारणले त्यस दिन म निश्‍चय नै तिनीहरूबाट मेरो मुहार लुकाउने छु । 19 अब त्यसकारण तिमीहरूले आफ्नो निम्ति यो गीत लेखेर इस्राएलीहरूलाई सिकाओ । यसलाई कण्ठस्थ पार ताकि यो गीत इस्राएलीहरूको विरुद्धमा मेरो साक्षी होस् । 20 किनकि तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी मैले प्रतिज्ञा गरेको दूध र मह बग्‍ने देशमा जब मैले तिनीहरूलाई ल्याएको हुने छु, र तिनीहरू खाएर तृप्‍त भएर मोटाएका हुने छन्, तब तिनीहरू अन्य देवताहरूकहाँ लागी तिनीहरूको सेवा गर्ने छन् र तिनीहरूले मेरो तिरस्कार गरी मेरो करार भङ्ग गर्ने छन् । 21 जब यस जातिमाथि धेरै खराबी र सङ्कष्‍ट आइपर्ने छन्, यो गीतले तिनीहरूको सामु साक्षीको रूपमा गवाही दिने छ (किनकि यो तिनीहरूका सन्तानका मुखबाट बिर्सिने छैन) । मैले तिनीहरूलाई प्रतिज्ञा गरेको देशमा तिनीहरूलाई ल्याउनुभन्दा अगावै तिनीहरूले आज रचेका योजनाहरू मलाई थाहा छ ।" 22 त्यसैले त्यही दिन मोशाले यो गीत लेखी इस्राएलीहरूलाई सिकाए । 23 परमप्रभुले नूनका छोरा यहोशूलाई यस्तो आज्ञा दिई भन्‍नुभयो, "बलियो र खुबै साहसी होऊ । किनकि मैले इस्राएलीहरूलाई प्रतिज्ञा गरेको देशमा तैँले तिनीहरूलाई ल्याउने छस्, र म तँसित हुने छु ।" 24 मोशाले यस व्यवस्थाका वचनहरू लेखिसिद्ध्यापछि 25 परमप्रभुको करारको सन्दूक बोक्‍ने लेवीहरूलाई तिनले आज्ञा दिए, 26 "व्यवस्थाको यस पुस्तकलाई लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरको करारको सन्दुकको छेउमा राख ताकि यो तिमीहरूको विरुद्धमा साक्षीको रूपमा रहोस् । 27 किनकि म तिमीहरूको विद्रोह र हठ जान्दछु । हेर, आज म तिमीहरूसित जीवित छँदा नै तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोही भएका छौ । मेरो मृत्युपछि झन् कति धेरै विद्रोही हुन्छौ ? 28 तिमीहरूका कुलका सबै धर्म-गुरुहरू र तिमीहरूका अधिकारीहरूलाई भेला गर ताकि तिनीहरूले सुन्‍ने गरी मैले यी वचनहरू तिनीहरूलाई बोल्न सकूँ र तिनीहरूको विरुद्धमा स्वर्ग र पृथ्वीलाई साक्षी राख्‍न सकूँ । 29 किनकि म जान्दछु, कि मेरो मृत्युपछि तिमीहरू पूर्ण रूपमा भ्रष्‍ट भई मैले तिमीहरूलाई दिएको मार्गबाट बरालिने छौ । आगामी दिनहरूमा तिमीहरूमाथि विपत्तिहरू आइपर्ने छन् । तिमीहरूका हातका कामहरूले तिमीहरूले परमप्रभुलाई चिढ्याई उहाँको दृष्‍टिमा दुष्‍ट कामहरू गर्ने भएकोले यसो हुने छ ।" 30 मोशाले यस गीतका शब्दहरू सुरुदेखि अन्त्यसम्म इस्राएलीहरूका सारा समुदायलाई सुनाए ।

32

1 हे आकाश, सुन्, र मलाई बोल्न दे । पृथ्वीले मेरा मुखका वचन सुनोस् । 2 मेरो शिक्षा झरीको थोपाझैँ खसोस्, मेरो बोली शीतझैँ झरोस्, कलिलो घाँसमाथि सिमसिमे पानीझैँ, र बिरुवाहरूमाथि झरीझैँ बर्सोस् । 3 किनकि म परमप्रभुको नाउँको घोषणा गर्ने छु, र हाम्रा परमेश्‍वरको महान्‌ता वर्णन गर्ने छु । 4 उहाँ चट्टान हुनुहुन्छ, उहाँको काम सिद्ध छ । किनकि उहाँका सबै मार्ग न्यायोचित छन् । उहाँ अधर्म नभएको विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ । उहाँ न्यायी र सत्य हुनुहुन्छ । 5 तिनीहरूले उहाँको विरुद्धमा भ्रष्‍टतापूर्वक काम गरेका छन् । तिनीहरू उहाँका छोराछोरी होइनन् । यो तिनीहरूको अपमान हो । तिनीहरू बाङ्गो र टेडो पुस्ता हुन् । 6 हे मूर्ख र बुद्धि नभएका मानिसहरू हो, के तिमीहरूले यसरी नै परमेश्‍वरलाई कृतज्ञता देखाउँछौ ? के उहाँ नै तिमीहरूलाई सृजनुहुने तिमीहरूका पिता हुनुहुन्‍न र ? उहाँले नै तिमीहरूलाई बनाउनुभयो, र स्थापित गर्नुभयो । 7 प्राचीन समयलाई सम्झ, धेरै पहिलेका वर्षहरूको बारेमा सोच । तिमीहरूका पितालाई बिन्ती चढाओ र उहाँले तिमीहरूलाई देखाउनुहुने छ, तिमीहरूका धर्म-गुरुहरूलाई उहाँले बताउनुहुने छ । 8 जब सर्वोच्‍चले जाति-जातिहरूलाई तिनीहरूका अंश दिनुभयो, जब उहाँले सबै मानव-जातिलाई विभाजन गर्नुभयो, र जाति-जातिहरूका सिमाना छुट्ट्याइदिनुभयो, उहाँले तिनीहरूका देवताहरूका सङ्ख्या पनि तोकिदिनुभयो । 9 किनकि परमप्रभुको हिस्सा नै उहाँका जाति हुन् । याकूब उहाँको अलग गरिएको अंश हो । 10 उहाँले तिनलाई मरुभूमिमा फेला पार्नुभयो, र निर्जन-स्थान र गर्जने उजाड-स्थानमा । उहाँले तिनको रक्षा गर्नुभयो, र तिनको वास्ता गर्नुभयो । उहाँले तिनलाई आँखाको नानीझैँ सुरक्षा दिनुभयो । 11 आफ्नो गुँडलाई रक्षा गर्ने र आफ्ना बचेराहरूमाथि पखेटा फटफटाउने गरुडले झैँ परमप्रभुले आफ्ना पखेटा फैलाई तिनीहरूलाई थाम्‍नुभयो र तिनीहरूलाई आफ्ना प्वाँखमा बोक्‍नुभयो । 12 परमप्रभुले मात्रै तिनीहरूलाई अगुवाइ गर्नुभयो । कुनै विदेशी देवता उहाँसित थिएन । 13 उहाँले तिनलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरूमा सवार गराउनुभयो, र बारीको फल खुवाउनुभयो । उहाँले तिनलाई चट्टानबाट निस्केको मह र दर्शन-ढुङ्गाको भीरको तेलले पालन-पोषण गर्नुभयो । 14 तिनले गाई-गोरुको बथान र भेडा-बाख्राको बथानाबाट दूध र दही अनि मोटा-मोटा थुमा अनि बाशानका भेडाहरू र बाख्राहरूको बोसोसाथै सर्वोत्तम गहुँ खाए । तिमीहरूले फिँज उठेको दाखरस पियौ । 15 तर मोटाएर यशूरूनले लात हान्यो । तिमी अति धेरै मोटायौ र भरपेट खायौ । तिनले आफैलाई सृजनुहुने परमेश्‍वरलाई त्यागे, र आफ्नो उद्धारको चट्टानलाई इन्कार गरे । 16 तिनीहरूले आफ्ना अनौठा देवताहरूद्वारा परमप्रभुलाई डाही तुल्याए । 17 तिनीहरूका घृणित कामहरूले तिनीहरूले उहाँलाई क्रोधित तुल्याए । तिनीहरूले भूतात्माहरूलाई बलि चढाए जो देव होइनन्, जसलाई तिनीहरूले चिनेका थिएनन्, जो भर्खरै देखा परेका थिए, जोदेखि तिमीहरूका पिता-पुर्खाहरू डराउँदैनथ्ये । 18 तिमीहरूले ती चट्टानलाई त्याग्यौ जो तिमीहरूका पिता बन्‍नुभयो, र तिमीहरूलाई जन्म दिने परमेश्‍वरलाई भुल्यौ । 19 परमप्रभुले यो देख्‍नुभयो र तिनीहरूलाई इन्कार गर्नुभयो किनकि उहाँका छोराछोरीहरूले उहाँलाई चिढ्याए । उहाँले भन्‍नुभयो, 20 "म तिनीहरूबाट मेरो मुहार लुकाउने छु, र तिनीहरूको अन्त्य कस्तो हुने छ भनी हेर्ने छु किनकि तिनीहरू भ्रष्‍ट पुस्ता हुन्, अविश्‍वासयोग्य सन्तान हुन् । 21 जे ईश्‍वर होइन, त्यसको कारण तिनीहरूले मलाई डाही तुल्याएका छन्, र तिनीहरूका बेकम्मा कामहरूद्वारा मलाई रिस उठाएका छन् । जो जाति नै होइनन्, तिनीहरूद्वारा म तिनीहरूलाई डाही तुल्याउने छु । एउटा मूर्ख जातिद्वारा म तिनीहरूलाई क्रोधित तुल्याउने छु । 22 किनकि मेरो रिसद्वारा आगो सल्केको छ र त्यसले तल्लो पातालसम्मै जलाउँछ । यसले पृथ्वी र यसको फसललाई भस्म पार्दै छ । यसले पहाडहरूका जगमा आगो लगाउँदै छ । 23 म तिनीहरूमाथि विपत्तिको थुप्रो ल्याउने छु । म तिनीहरूमा मेरा सबै काँड चलाउने छु । 24 तिनीहरू भोकले नष्‍ट हुने छन्, र प्रचण्ड ताप र डरलाग्दो विनाशले भस्म हुने छन् । भुइँमा घस्रने जन्तुहरूको विषसहित म तिनीहरूकहाँ जङ्गली जनावरहरूको दाह्रा, पठाउने छु । 25 बाहिर तरवारले तिनीहरूलाई मार्ने छ, र सुत्‍ने कोठाभित्र त्रासले तिनीहरूलाई नष्‍ट गर्ने छ । यसले युवा र कन्या दुवै अनि दूधे-बालक र कपाल फुलेको वृद्धलाई नष्‍ट पार्ने छ । 26 म तिनीहरूलाई टाढा-टाढासम्म तितर-बितर पारिदिने छु र मानव-जातिको बिचबाट तिनीहरूको सम्झना मेटिदिने छु भनी मैले भनेँ । 27 म शत्रुको खिसीदेखि डराइनँ, र तिनीहरूका शत्रुहरूले गल्ती गरेर भन्लान्, 'हाम्रो हात माथि उचालिएको छ ।' मैले यी सबै गरेको भए सक्थेँ । 28 किनकि इस्राएल बुद्धि नभएको जाति हो, र तिनीहरूमा कुनै समझशक्ति छैन । 29 ओहो, तिनीहरू बुद्धिमानी भएर तिनीहरूले यो बुझेका भए त तिनीहरूले तिनीहरूको अन्तलाई विचार गर्नेथिए! 30 तिनीहरूका चट्टानले तिनीहरूलाई नबेचेको भए र परमप्रभुले तिनीहरूलाई नत्याग्‍नुभएको भए कसरी एक जनाले एक हजारलाई वा दुई जनाले दस हजारलाई खेद्‍न सक्थ्यो ? 31 किनकि हाम्रा शत्रुहरूका चट्टान हाम्रो चट्टानजस्तो छैन जुन कुरा हाम्रै शत्रुहरूले पनि स्वीकार गर्छन् । 32 किनकि तिनीहरूको अङ्गुरको लहरा सदोमबाट र गमोराका बारीहरूबाट आएको हो । 33 तिनीहरूका दाखहरू विषालु दाखहरू हुन् । तिनीहरूका झुप्पाहरू तिता छन् । तिनीहरूको दाखमद्य सर्पहरूको विष हो र कडा गोमनको विष हो । 34 के यो मैले साँचेर राखेको र मेरो भण्डारणमा छाप लगाएर राखेको योजना होइन र ? 35 बदला लिने काम मेरो हो र तिनीहरूको खुट्टा चिप्लिएको ठिक समयमा म नै प्रतिशोध लिने छु । 36 किनकि तिनीहरूको लागि विपत्तिको दिन नजिकै छ, र तिनीहरूमाथि आइपर्ने कुराहरू हतारमा आउने छन् ।" किनकि परमप्रभुले उहाँको जातिलाई न्याय दिनुहुने छ, र उहाँले आफ्ना सेवकहरूमा दया देखाउनुहुने छ । तिनीहरूको शक्ति गएको छ, र कमारा वा फुक्‍का कोही बाँकी छैन भनी उहाँले देख्‍नुहुने छ । 37 तब उहाँले भन्‍नुहुने छ, "तिनीहरूका देवताहरू कहाँ छन् ? तिनीहरूले शरण लिने चट्टान कहाँ छ ? 38 तिनीहरूका बलिहरूको बोसो खाने र तिनीहरूका अर्घबलि पिउने देवताहरू खोई ? ती उठेर तिनीहरूको मदत गरून् । तिनीहरू नै तिनीहरूको सुरक्षा होऊन् । 39 अब हेर, म नै परमेश्‍वर हुँ, र मबाहेक अर्को कुनै ईश्‍वर छैन । म नै मार्छु, र जीवित पार्छु । म नै चोट पुर्‍याउँछु, र निको पार्छु । तिमीहरूलाई मेरो शक्तिबाट बचाउने कोही छैन । 40 किनकि मेरो हात स्वर्गतर्फ उठाई म भन्छु, 'जस्तो म सदा जीवित रहन्छु, त्यसरी नै म काम गर्ने छु । 41 जब म मेरो चम्कने तरवारमा शान लगाउँछु, र जब मेरा हातले न्याय ल्याउन सुरु गर्छ, तब म मेरा शत्रुहरूमाथि प्रतिशोध ल्याउने छु, र मलाई अवहेलना गर्नेहरूलाई म बदला लिने छु । 42 म मेरा काँडहरूलाई रगतले मत्याउने छु, र मेरो तरवारले मारिएकाहरू र निर्वासितहरूको रगतसितै मासु र शत्रुहरूका शिर खाने छ ।" 43 हे जातिहरू हो, परमेश्‍वरका मानिसहरूसँगै आनन्द मनाओ, किनकि उहाँले आफ्ना दासहरूको रगतको बदला लिनुहुने छ । उहाँले आफ्ना शत्रुहरूमाथि प्रतिशोध लिनहुने छ, र उहाँले आफ्नो देशसाथै आफ्नो जातिको निम्ति प्रायश्‍चित्त गर्नुहुने छ । 44 मोशा र नूनका छोरा यहोशू आएर यस गीतका सबै शब्द मानिसहरूले सुन्‍ने गरी पाठ गरे । 45 तब मोशाले यी सबै शब्द सारा इस्राएलीलाई भनी सिद्ध्याए । 46 तिनले मानिसहरूलाई भने, "आज मैले तिमीहरूलाई साक्षी दिएका सबै वचन मनमा राख ताकि तिमीहरूका आफ्ना छोराछोरीहरूलाई यो व्यवस्थाका सबै वचन पालन गर्न आज्ञा दिन सक । 47 यो तिमीहरूको जीवन भएकोले र यसद्वारा नै तिमीहरूले यर्दनपारि अधिकार गर्न लागेको देशमा तिमीहरूको आयु लम्बिने भएकोले यो तिमीहरूका लागि व्यर्थको विषय होइन ।" 48 त्यही दिन परमप्रभुले मोशालाई यसो भन्‍नुभयो, 49 "यरीहोको सामु मोआब देशमा भएको अबारीम पहाडको नेबो डाँडामाथि उक्लेर जा । मैले इस्राएलीहरूलाई तिनीहरूको अधिकारस्वरूप दिन लागेको कनान देशलाई हेर् । 50 जसरी तेरो दाजु हारून होर पर्वतमा मरेर आफ्ना मानिसहरूसित मिल्न गए त्यसरी नै तँ उक्लेर गएको डाँडामा तँ मर्ने छस्, र तँ तेरा मानिसहरूसित मिल्न जाने छस् । 51 जीनको उजाड-स्थानको कादेशमा मेरीबाको पानीमा इस्राएलीहरूका बिचमा तँ मेरो सामु अविश्‍वासयोग्य भएकोले र इस्राएलीहरूका बिचमा तैँले मलाई आदर र इज्‍जत नगरेकोले तँमाथि यो आइपर्ने छ । 52 तेरो सामु भएको देशलाई तैँले देख्‍ने छस्, तर मैले इस्राएलीहरूलाई दिने लागेको देशभित्र तँ प्रवेश गर्ने छैनस् ।"

33

1 यो आफ्नो मृत्युअगि परमेश्‍वरका मानिस मोशाले इस्राएलीहरूलाई दिएको आशिष् हो । 2 तिनले भनेः "परमप्रभु सीनैबाट आउनुभयो, र तिनीहरूमाथि सेइरबाट उदय हुनुभयो । उहाँ पारान पर्वतबाट चम्कनुभयो, र उहाँ दसौँ हजार पवित्र जनसित आउनुभयो । उहाँको दाहिने हातमा बिजुलीको प्रकाश थियो । 3 वास्तवमा उहाँले मानिसहरूलाई प्रेम गर्नुहुन्छ । उहाँका सबै पवित्र जन उहाँको हातमा छन्, र तिनीहरूले तपाईंको पाउमा शिर निहुराउँछन् । तिनीहरूले तपाईंका वचनहरू प्राप्‍त गरे । 4 मोशाले हामीलाई व्यवस्था दिए, जुन याकूबको समुदायको सम्पत्ति हो । 5 तब मानिसका अगुवाहरू र इस्राएलका सबै कुल एकै ठाउँमा जम्मा हुँदा यशूरूनमा राजा हुनुहुन्थ्यो । 6 रूबेन बाँचून्, र नमरून, तर तिनका मानिसहरू थोरै होऊन् । 7 यो यहूदाको निम्ति आशिष् हो । मोशाले भनेः हे परमप्रभु, यहूदाको सोर सुन्‍नुहोस्, र तिनलाई फेरि आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस् । तिनको पक्षमा लड्नुहोस् । तिनका शत्रुहरूको विरुद्धमा सहायता बन्‍नुहोस् । 8 लेवीको विषयमा मोशाले भनेः तपाईंको तुम्मीम र तपाईंको ऊरीम तपाईंको राजकीय जनसित छ, जसलाई तपाईंले मस्साहमा जाँच्नुभयो, जोसित तपाईंले मेरीबाको पानीमा झगडा गर्नुभयो । 9 तिनले आफ्ना बुबा र आमाको विषयमा भने, "मैले उहाँहरूलाई देखेको छैनँ ।" न तिनले आफ्ना दाजुभाइहरूलाई स्वीकर गरे, न त तिनले आफ्नै सन्तानको वास्ता गरे । किनकि तिनले तपाईंको वचनको रखवाली गरे, र तपाईंको सन्दूकलाई सुरक्षा दिए । 10 तिनले याकूबलाई तपाईंका विधिहरू र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछन् । तिनले तपाईंको सामु धूप बाल्छन्, र तपाईंको वेदीमा सबै होमबलि चढाउँछन् । 11 हे परमप्रभु, तिनका सबै सम्पत्तिमा आशिष् दिनुहोस्, र तिनका हातका काम स्वीकार गर्नुहोस् । तिनको विरुद्धमा खडा हुनेहरू र तिनलाई घृण गर्नेहरूका कम्मरमा हिर्काउनुहोस् ताकि तिनीहरू फेरि उठ्न नसकून् । 12 बेन्यामीनको विषयमा मोशाले भनेः परमप्रभुका प्रिय उहाँको छेउमा सुरक्षित रहून् । परमप्रभुले तिनको जीवनभर रक्षा गर्नुहुन्छ, र तिनी परमप्रभुको पाखुराको बिचमा बस्छन् । 13 योसेफको विषयमा मोशाले भनेः माथि आकाशबाट झर्ने अनमोल शीत र तल गहिराइको पानीले तिनको देश परमप्रभुद्वारा आशिषित् होस् । 14 तिनको देश सूर्यको ताप र महिनैपिच्छेका उब्जनीका अनमोल कुराहरूले आशिषित् होस् । 15 साथै, प्राचीन पर्वतहरूका उत्तम कुराहरू, र अनन्तका पर्वतहरूका अनमोल कुराहरूले आशिषित् होस् । 16 तिनको देश पृथ्वीका अनमोल कुराहरू र यसको प्रचुरता अनि जलिरहेको पोथ्रामा बस्‍नुहुनेको निगाहले आशिषित् होस् । योसेफको शिरमा आशिष् आओस्, र आफ्ना दाजुभाइहरूमाथिका राजकुमारको शिरमा आशिष् आओस् । 17 ऐश्‍वर्यमा तिनी पहिले बियाएका बाछोझैँ छन्, र तिनका सिङ अर्नाका सिङ हुन् । तीद्वारा नै तिनले सबै मानिसलाई पृथ्वीको पल्लो छेउसम्म हान्‍ने छन् । यी एफ्राइमका दसौँ हजार हुन् र मनश्शेका हजारौँ हुन् । 18 जबूलूनको विषयमा मोशाले भनेः ए जबूलून तिमी बाहिर जाँदा र ए इस्साखार तिमी आफ्ना पालहरूमा बस्दा आनन्दित होओ । 19 तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउने छन् । त्यहाँ तिनीहरूले धार्मिकताका बलिदानहरू चढाउने छन् । किनकि तिनीहरूले समुद्रको प्रचुरता र समुद्रीतटको बालुको सम्पत्ति उपभोग गर्ने छन् । 20 गादको विषयमा मोशाले भनेः गादलाई वृद्धि गर्ने धन्यका हुन् । त्यहाँ तिनी सिंहिनीझैँ बस्‍ने छन्, र तिनले मुखियाको पाखुरा लुछिदिने छन् । 21 तिनले आफ्नो निम्ति सबैभन्दा उत्तम जग्गा छाने, किनकि नायकको हिस्सा तिनको निम्ति अलग गरिएको थियो । तिनी मानिसहरूका अगुवाहरूसँगै आए । तिनले इस्राएलसितै परमप्रभुको न्याय र उहाँका विधिहरू पुरा गरे । 22 दानको विषयमा मोशाले भनेः दान बाशानबाट हामफाल्दै आउने सिंहको डमरु हो । 23 नप्‍तालीको विषयमा मोशाले भनेः नप्‍ताली परमप्रभुको आशिष्‌को भरिपूर्णता र स्‍नेहद्वारा सन्तुष्‍ट भएका छन् । तिनले पश्‍चिम र दक्षिणको देश अधिकार गर्ने छन् । 24 आशेरको विषयमा मोशाले भनेः आशेर अन्य छोराहरूमध्ये सबैभन्दा बढी आशिषित् होऊन् । तिनी आफ्ना दाजुभाइहरूकहाँ स्वीकारयोग्य होऊन्, र तिनले आफ्नो खुट्टा जैतूनको तेलमा धोऊन् । 25 तिनको सहरका बारहरू फलाम र काँसाका होऊन् । तिमी बाँचुञ्‍जेसम्म तिम्रो सुरक्षा हुने छ । 26 यशूरूनमा परमेश्‍वरजस्तो कोही छैन । उहाँ सत्य हुनुहुन्छ जो तिम्रो सहायताको लागि आफ्नो प्रतापमा बादलमाथि स्वर्गबाट सवार भएर आउनुहुन्छ । 27 अनन्त परमेश्‍वर शरणस्थान हुनुहुन्छ, र मुनितिरचाहिँ अनन्त पाखुरा छन् । उहाँले तिमीहरूका सामुन्‍नेबाट शत्रुलाई धपाउनुहुने छ, र उहाँले भन्‍नुभयो, "नाश पार्!" 28 इस्राएल सुरक्षामा बस्यो । अन्‍न र नयाँ मद्यको देशमा याकूबको सन्तान सुरक्षित थियो । वास्तवमा तिनको आकाशले तिनमाथि शीत झारून् । 29 ए इस्राएल, तिम्रा आशिष्‌हरू अनगिन्ती छन् । परमप्रभुद्वारा बचाइएको जाति तिमीजस्तै को छ र ? उहाँ तिम्रो सहायताको ढाल हुनुहुन्छ, र तिम्रो प्रतापको तरवार हुनुहुन्छ । तिम्रा शत्रुहरू काँप्दै तिमीकहाँ आउँछन् । तिमीले तिनीहरूका अग्ला-अग्ला ठाउँहरूमा कुल्चने छौ ।

34

1 मोशा मोआबको मैदानबाट यरीहो सामुन्‍ने नेबो डाँडामा पिसगाको टाकुरामा उक्ले । त्यहाँ परमप्रभुले तिनलाई गिलाददेखि दानसम्म, 2 र सबै नप्‍ताली, एफ्राइम र मनश्शेका सबै देश अनि यहूदाका सबै देशदेखि पश्‍चिम समुद्रसम्म, 3 र नेगेव, र यरीहोको उपत्यकाको मैदान, खजुरको सहरदेखि सोअरसम्म देखाउनुभयो । 4 परमप्रभुले तिनलाई भन्‍नुभयो, "'म यो देश तेरा सन्तानहरूलाई दिन्छु' भनी मैले अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गरेको देश यही हो । मैले तँलाई तेरा आँखाले हेर्न अनुमति दिएको छु, तर तँ त्यहाँ जान पाउने छैनस् ।" 5 त्यसैले परमप्रभुको वचनको प्रतिज्ञाअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे । 6 परमप्रभुले तिनलाई बेथ-पोरको सामुन्‍ने मोआब देशको उपत्यकाको बेँसीमा गाड्नुभयो, तर तिनको चिहान कहाँ छ भनी आजको दिनसम्म कसैलाई थाहा छैन । 7 मोशाको मृत्यु हुँदा तिनी एक सय बिस वर्षका थिए । तिनका आँखा धमिला भएका थिएनन् न त तिनको स्वाभाविक बल घटेको थियो । 8 मोआबको मैदानमा इस्राएलीहरूले मोशाको निम्त चालिस दिनसम्म शोक गरेपछि तिनको शोकको समय सकियो । 9 नूनका छोरा यहोशू बुद्धिका आत्माले भरिएका थिए किनकि मोशाले तिनीमाथि आफ्नो हात राखेका थिए । इस्राएलीहरूले तिनको कुरा सुन्थे, र तिनले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार गर्थे । 10 इस्राएलमा मोशाजस्तै अगमवक्ता कोही खडा भएन जसलाई परमप्रभुले आमने-सामने चिन्‍नुहुन्थ्यो । 11 मिश्र देश, फारो र तिनका सबै अधिकारीसाथै तिनका समस्त देशमा तिनीद्वारा सबै चिन्ह र आश्‍चर्य गर्न परमप्रभुद्वारा पठाइएका कुनै पनि अगमवक्ता तिनीजस्तो छैन । 12 सारा इस्राएलीको दृष्‍टिमा मोशाले गरेजस्तै महान् र भयानक कामहरू कुनै पनि अगमवक्ताले कहिल्यै गरेको छैन ।