नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
यहोशू
यहोशूको पुस्तक
1

1 परमप्रभुका दास मोशाको मृत्युपछि परमप्रभु मोशाका मुख्य सहायक नूनका छोरा यहोशूसँग यसरी बोल्नुभयो, 2 "मेरो दास मोशाको मत्यु भएको छ । यसकारण, उठ्, तँ र यी मानिसहरू यर्दन नदी तरेर मैले तिनीहरू अर्थात् इस्राएलका मानसिहरूलाई दिएको भूमिमा जाओ । तेरो खुट्टाको पैतालाले टेकेका सबै ठाउँ म तँलाई दिने छु । 3 मैले मोशालाई प्रतिज्ञा गरेझैँ यो मैले तँलाई दिएको छु । 4 त्यो मरुभूमि र लेबनानदेखि महानदी यूफ्रेटिससम्म, हित्तीहरूका सबै भूमि र घाम अस्ताउने भूमध्य सागरसम्म हुने छ । 5 तेरो सारा जीवनभरि तेरो सामु कोही पनि खडा हुन सक्‍ने छैन । जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग हुने छु । म तँलाई त्याग्‍ने छैनँ वा छोड्ने छैनँ । 6 बलियो र साहसी हो । तैँले यी मानिसहरूलाई मैले तिनीहरूलाई दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गरेको भूमि अधिकार गराउने छस् । 7 बलियो हो र खुबै साहसी हो । मेरा दास मोशाले पालन गर्न तँलाई आज्ञा गरेका सबै व्यवस्था सावधानीसाथ पालन गर् । यसबाट दाहिनेतिर वा देब्रेतिर नलाग्, ताकि तँ जहाँ गए तापनि सफल हुन सक्‍ने छस् । 8 तैँले व्यवस्थाको यो पुस्तकबारे सदैव चर्चा गर्ने छस् । तैँले यसलाई दिनरात मनन गर्ने छस्, ताकि तैँले लेखेका सबै कुरा पालन गर्न सक्‍ने छस् । अनि तेरो फलिफाप हुने छ र तँ सफल हुने छस् । 9 के मैले तँलाई आज्ञा गरेको होइनँ र? बलियो र साहसी हो । नडरा । निराश नहो । तँ जहाँ गए पनि परमप्रभु परमेश्‍वर तँसँग हुनुहुन्छ । 10 अनि यहोशूले मानिसहरूका अगुवाहरूलाई आज्ञा गरे, 11 "छाउनीभरि जाओ र मानिसहरूलाई आज्ञा गर, 'तिमीहरूका निम्ति खानेकुराहरू तयार पार । तिमीहरू तिन दिनमा यर्दन नदी तरेर पारि जाने छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको भूमि अधिकार गर्ने छौ' ।" 12 यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूलाई भने, 13 "परमप्रभुका दास मोशाले तिमीहरूलाई भनेका वचनहरू सम्झ । तिनले भनेका थिए, 'परमप्रभुले तिमीहरूलाई विश्राम दिइरहनुभएको छ र उहाँले तिमीहरूलाई यो भूमि दिँदै हुनुहुन्छ ।' 14 तिमीहरूका पत्‍नीहरू, तिमीहरूका स-साना बालबच्‍चाहरू र तिमीहरूका गाईवस्‍तुहरू मोशाले दिएका यर्दन वारिको भूमिमा नै रहने छन् । 15 तर परमप्रभुले तिनीहरूलाई पनि तिमीहरूलाई झैँ विश्राम नदिनुभएसम्म तिमीहरूका योद्धाहरू तिमीहरूका भाइहरूसँग पारि जाने छन् र तिनीहरूलाई सहायता गर्ने छन् । 16 त्यसपछि तिनीहरूले पनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई दिनुहुने भूमि अधिकार गर्ने छन् । त्यसपछि तिमीहरू परमप्रभुका दास मोशाले यर्दन वारि घाम झुल्कनेतिर दिएका तिमीहरूका आफ्नै भूमिमा फर्कने छौ र यसलाई अधिकार गर्ने छौ ।" 17 तिनीहरूले यहोशूलाई जवाफ दिए, "तपाईंले हामीलाई आज्ञा गर्नुभएका सबै कुरा हामी गर्ने छौँ, र तपाईंले हामीलाई जहाँ पठाउनुहुन्छ हामी उतै जाने छौँ । हामीले मोशाको आज्ञा पालन गरेझैँ हामी तपाईंको आज्ञा पनि पालन गर्ने छौँ । परमप्रभु तपाईंका परमेश्‍वर मोशासँग रहनुभएझैँ तपाईंसँग रहनुभएको होस् । 18 तपाईंका आज्ञाहरू विरुद्ध विद्रोह गर्ने र तपाईंका वचनहरूको अवज्ञा गर्ने जोसुकैलाई मार्नुपर्छ । मात्र बलियो र साहसी हुनुहोस् ।"

2

1 नूनका छोरा यहोशूले शित्तीमबाट दुई जना मानिसलाई जासुसको रूपमा पठाए । तिनले भने, "जाओ, त्यो भूमिलाई हेर, विशेष गरी यरीहोलाई हेर ।" तिनीहरू गए र राहब नाउँ गरेकी वेश्याकहाँ आए र तिनीहरू त्यहीँ बास बसे । 2 यरीहोका राजालाई यसो भनियो, "हेर्नुहोस्, यस भूमिको भेद पत्ता लगाउन इस्राएलका मानिसहरू यहाँ आएका छन् ।" 3 यरीहोका राजाले राहबकहाँ खबर पठाए र भने, "तिमीकहाँ आउने ती मानिसहरूलाई बाहिर लेऊ, जो तिम्रो घरमा प्रवेश गरेका थिए, किनभने तिनीहरू सारा भूमिको जासुस गर्न आएका छन् ।" 4 तर ती महिलाले ती दुई जना मानिसलाई लगेर लुकाएकी थिइन् । तिनले भनिन्, "हो, मानिसहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका थिए, मलाई थाहा भएन । 5 तिनीहरू सहरको प्रवेशद्वार बन्द गर्ने समय हुँदा साँझपख गए । तिनीहरू कता गए मलाई थाहा भएन । तपाईंहरू छिटो-छिटो जानुभयो भने सम्भवतः तपाईंहरूले तिनीहरूलाई भेट्टाउनु हुनेछ ।" 6 तर तिनले तिनीहरूलाई कौसीमा लगेकी थिइन् र तिनले कौसीमाथि थुपारेकी सनको डाँठहरूमुनि लुकाएकी थिइन् । 7 त्यसैले ती मानिसहरू यर्दनको जाँघरहरूतिर जाने बाटो हुँदै तिनीहरूको पिछा गरे । ती पिछा गर्नेहरू जाने बित्तिकै प्रवेशद्वार बन्द गरियो । 8 ती मानिसहरू राति सुत्‍नुअगि नै तिनी कौसीमाथि तिनीहरूकहाँ आइन् । 9 तिनले भनिन्, "मलाई थाहा छ, परमप्रभुले यो भूमि तपाईंहरूलाई दिनुभएको छ र तपाईंहरूको डर हामीमाथि आइपरेको छ । यो भूमिमा बस्‍ने सबै मानिस तपाईंहरूको सामु शिथिल हुने छन् । 10 तपाईंहरू मिश्रबाट आउनुहुँदा परमप्रभुले लाल समुद्रको पानी कसरी सुकाउनुभयो भनी हामीले सुनेका छौँ । तपाईंहरूले यर्दन पारिका दुई जना एमोरी राजाहरू सीहोन र ओगलाई के गर्नुभयो भनेर पनि हामीले सुनेका छौँ । 11 हामीले यो सुन्‍ने बित्तिकै हाम्रा हृदय शिथिल भए, कसैसँग पनि साहस रहेन, किनभने परमप्रभु तपाईंहरूका परमेश्‍वर नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्छ । 12 बिन्ती छ, मैले जसरी तपाईंहरूलाई दया गरेको छु त्यसरी नै तपाईंहरूले पनि मेरो पिताको घरानालाई दयापूर्वक व्यवहार गर्नुहुने छ भनी परमप्रभुको नाउँमा शपथ खानुहोस् । मलाई एउटा चिन्ह दिनुहोस्, 13 कि तपाईंहरूले मेरा बुबा, आमा, दाजुभाइहरू, दिदी-बहिनीहरू र तिनीहरूका सबै परिवारको जीवन बचाउनुहुने छ र तपाईंहरूले हामीलाई मृत्युबाट जोगाउनुहुने छ । 14 ती मानिसहरूले तिनलाई भने, "मृत्युसम्म नै तिमीहरूको जीवनको सट्टामा हाम्रो जीवन ! यदि तिमीले हाम्रो कामबारे बताएनौ भने, जब परमप्रभुले यो भूमि हामीलाई दिनुहुने छ हामी तिमीसँग दयालु र विश्‍वासयोग्य हुने छौँ ।" 15 त्यसैले तिनले डोरीको सहायताले तिनीहरूलाई झ्यालबाट तल झारे । तिनी बसोवास गर्ने घर सहरको पर्खालभित्र नै बनाइएको थियो । 16 तिनले तिनीहरूलाई भने, "पहाडतिर जानुहोस् र लुक्‍नुहोस्, नत्र पिछा गर्नेहरूले तपाईंहरूलाई भेट्टाउने छन् । पिछा गर्नेहरू नफर्केसम्म तिन दिनसम्म त्यहीँ लुक्‍नुहोस् । अनि आफ्नो बाटो लाग्‍नुहोस् ।" 17 ती मानिसहरूले तिनलाई भने, "यदि तिमीले यो कुरा गरेनौ भने हामीले तिमीलाई गरेका प्रतिज्ञाहरू लागु हुने छैनन् । 18 हामी यो भूमिमा आउँदा तिमीले हामी जुन झ्यालबाट झरेका थियौँ त्यहीँ नै यो रातो डोरी बाँध्‍नुपर्छ र तिमीले तिम्रा बुबा, आमा, तिम्रा दाजुभाइहरू र तिम्रा बुबाका सबै घरानालाई घरभित्र ल्याउनुपर्छ । 19 तिम्रो घरबाहिर बाटोतिर जानेहरूको रगत तिनीहरूको शिरमाथि पर्ने छ र हामी दोषरहित हुने छौँ । तर घरमा तिमीसँगै रहने कुनै माथि हात लगाइयो भने, त्यसको रगत हाम्रो शिरमा पर्ने छ । 20 तर यदि तिमीले हाम्रा कामहरूबारे बतायौ भने, तिमीले हामीलाई खान लगाएको शपथबाट हामी मुक्‍त हुने छौँ । 21 राहबले जवाफ दिए, "तपाईंहरूले भन्‍नुभएबमोजिम नै होस् ।" तिनले तिनीहरूलाई पठाए र तिनीहरू गए । अनि तिनले झ्यालमा त्यो रातो डोरी बाँधिन् । 22 तिनीहरू गए र पहाडतिर गए अनि तिनीहरूको पिछा गर्नेहरू नफर्केसम्म तिनीहरू तिन दिनसम्म त्यहीँ नै बसे । पिछा गर्नेहरूले बाटोमा सबैतिर खोजे र केही पनि भेट्टाएनन् । 23 ती दुई जना मानिस फर्के र नूनका छोरा यहोशूकहाँ आए र तिनीहरूले तिनीहरूमाथि आइपरेका सबै कुरा तिनलाई बताए । 24 तिनीहरूले यहोशूलाई भने, "साँच्‍चै, यो भूमि परमप्रभुले हामीलाई दिनुभएको छ । त्यो भूमिका सबै बासिन्दा हाम्रो कारणले शिथिल भइरहेका छन् ।"

3

1 यहोशू बिहान सबेरै उठे र तिनीहरू शित्तीमबाट हिँडे । तिनीहरू यर्दनमा आए अनि, तिनी र इस्राएलका सबै मानिसले पारि जानअगि त्यहीँ नै छाउनी हाले । 2 तिन दिनपछि अधिकृतहरू छाउनीको बिच-बिचतिर गए; 3 तिनीहरूले मानिसहरूलाई आज्ञा गरे, "जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको करारको सन्दुक र लेवी कुलका पुजारीहरूले यसलाई बोकिरहेका देख्छौ, तिमीहरूले यो ठाउँलाई छोड्नुपर्छ र यसको पछि-पछि जानुपर्छ । 4 तिमीहरू र यसको बिचमा एक हजार मिटर फरक हुनुपर्छ । यसको नजिक नआओ, ताकि कुन बाटो जानुपर्ने हो, सो तिमीहरूले देख्‍न सक्‍ने छौ, किनभने तिमीहरू यो बाटोमा यसअगि हिँडेका छैनौ ।" 5 यहोशूले मानिसहरूलाई भने, "भोलिको निम्ति आ-आफूलाई शुद्ध पार, किनभने परमप्रभुले तिमीहरूमाझ अचम्मका कामहरू गर्नुहुने छ ।" 6 योहोशूले पुजारीहरूलाई भने, "करारको सन्दुक लेओ र मानिसहरूको अगिअगि जाओ ।" त्यसैले तिनीहरूले करारको सन्दुक उठाए र मानिसहरूको अगिअगि गए । 7 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, "आज म तँलाई इस्राएलका मानिसहरूको नजरमा महान् व्यक्‍ति बनाउने छु । म जसरी मोशासँग थिएँ, त्यसै गरी म तँसँग पनि छु भनी तिनीहरूले जान्‍ने छन् । 8 तैँले करारको सन्दुक बोक्‍ने पुजारीहरूलाई आज्ञा दिने छस्, 'जब तिमीहरू यर्दनको पानीको छेउमा पुग्छौ, तिमीहरू यर्दन नदीमा नै उभिरहनुपर्छ' ।" 9 अनि यहोशूले इस्राएलका मानिसहरूलाई भने, "यहाँ आओ, र परमप्रभु तिमीहरूका परमेश्‍वरको वचन सुन । 10 परमेश्‍वर तिमीहरूमाझ हुनुहुन्छ र कनानीहरू, हित्तीहरू, हिव्वीहरू, परिज्‍जीहरू, गिर्गाशीहरू, एमोरीहरू र यबूसीहरूलाई तिमीहरूको अगिबाट धपाउनु हुनेछ भनी तिमीहरूले थाहा पाउने छौ । 11 हेर, सारा पृथ्वीका परमप्रभुको करारको सन्दुक यर्दन नदीमा तिमीहरूको अगिअगि जाने छ । 12 अब इस्राएलका हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छान । 13 जब सारा पृथ्वीका प्रभुहरूका परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरूको खुट्टाले यर्दन नदीको पानी छुन्छ यर्दनको पानी रोकिने छ र माथिबाट तल बग्दै गरेको पानी पनि बग्‍न छोड्ने छ र त्यो एक थुप्रो भएर रहने छ । 14 त्यसैले जब मानिसहरू यर्दन पारि जानलाई हिँडे, पुजारीहरूले करारको सन्दुकलाई बोकेर मानिसहरूको अगिअगि गए । 15 ती करारको सन्दुक बोक्‍नेहरू यर्दन नदीमा आउने र तिनीहरूका खुट्टाले पानी छुने बित्तिकै (कटनीको समयभरि नै यर्दन नदीको पानी यसको किनारासम्म पुग्छ) 16 माथिबाट तलतिर बग्दै गरेको पानी एक थुप्रो भई रोकियो । 17 पानी निकै माथिदेखि नै बग्‍न छोड्यो । पानी सार्तान नजिकैको आदम नाम गरेको सहरबाट नेगेवको समुद्र अर्थात् मृत सागरसम्म नै बग्‍न छोड्यो । मानिसहरू यरीहो नजिकै पारि तरे । इस्राएलका मानिसहरूले सुक्खा भूमिमा पार नगरेसम्म परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरू यर्दन नदीको बिचमा सुक्खा जमिनमा उभिए ।

4

1 जब सबै मानिस यर्दन तरे, परमप्रभुले यहोशूलाई भन्‍नुभयो, 2 "मानिसहरूबाट एक जना अर्थात् हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छान् । 3 तिनीहरूलाई यस्तो आज्ञा दे, "यर्दन नदीको बिचबाट बाह्रवटा ढुङ्गा लेओ जहाँ पुजारीहरू सुक्खा जमिनमा उभिरहेका हुन्छन्, तिनीहरूलाई तिमीहरूसँगै लेओ र तिनीहरूलाई आज रात बिताउने ठाउँमा राख' ।" 4 त्यसपछि यहोशूले बाह्र जना मानिसलाई बोलाए जसलाई तिनले इस्राएलका कुलहरूबाट अर्थात् हरेक कुलबाट एक-एक जना चुनेका थिए । 5 यहोशूले तिनीहरूलाई भने, "तिमीहरूका परमप्रभु परमेश्‍वरको सन्दुकअगि यर्दनको बिचमा जाओ । तिमीहरू हरेकले इस्राएलका मानिसहरूका कुलहरूको सङ्ख्याअनुसार आ-आफ्नो काँधमा एउटा-एउटा ढुङ्गा लिनु । 6 आउने दिनहरूमा तिमीहरूका सन्तानहरूले, 'यी ढुङ्गाहरूको अर्थ के हो?' भनी सोध्दा तिमीहरूका निम्ति यो एउटा चिन्ह हुने छ । 7 अनि तिमीहरूले तिनीहरूलाई यसो भन्‍ने छौ, 'परमप्रभु परमेश्‍वरको सन्दुक सामु यर्दन नदीको पानी रोकिएको थियो । त्यसैले यी ढुङ्गाहरू इस्राएलका मानिसहरूका निम्ति स्मारक हुने छन्' ।" 8 इस्राएलका मानिसहरूले यहोशूले आज्ञा गरेमुताबिक गरे र तिनीहरूले परमप्रभुले यहोशूलाई भन्‍नुभएअनुसार यर्दनको बिचबाट बाह्रवटा ढुङ्गा टिपे । तिनीहरूले ढुङ्गाहरूलाई इस्राएलका मानिसहरूका सङ्ख्याअनुसार खडा गरे । तिनीहरूले ढुङ्गाहरूलाई छाउनी हालेको ठाउँमा लगे र तिनीहरूलाई त्यहीँ खडा गरे । 9 यहोशूले करारको सन्दुक बोक्‍ने पुजारीहरूको खुट्टाले टेकेका ठाउँ अर्थात् यर्दनको बिचबाट ल्याएका बाह्रवटा ढुङ्गा खडा गरे । त्यो स्मारक आज पनि त्यहीँ छ । 10 मोशाले यहोशूलाई आदेश दिएबमोजिम परमप्रभुले मानिसहरूलाई बताउनू भनी आज्ञा गर्नुभएका सबै कुरा पुरा नभएसम्म सन्दुक बोक्‍ने पुजारीहरू यर्दनको बिचमा नै खडा भए । मानिसहरू छिटो-छिटो गरी तरे । 11 जब सबै मानिस तरी सके परमप्रभुको सन्दुक र पुजारीहरू मानिसहरूको अगिअगि तरे । 12 रूबेनको कुल, गादको कुल र मनश्शेको आधा कुल मोशाले तिनीहरूलाई आज्ञा गरेअनुसार एउटा फौजको रूपमा इस्राएलका मानिसहरूका अगिअगि गए । 13 झण्डै चालिस हजार सशस्‍त्र मानिस परमप्रभुको सामु यरीहोको मैदानमा युद्धको निम्ति गए । 14 त्यस दिन परमप्रभुले यहोशूलाई सबै इस्राएलको दृष्‍टिमा महान् बनाउनुभयो । तिनीहरूले मोशालाई आदर गरेझैँ तिनको सारा जीवनभरि तिनलाई पनि आदर गरे । 15 परमप्रभु यहोशूसँग बोल्नुभयो, 16 "गवाहीको सन्दुक बोक्‍ने पुजारीहरूलाई यर्दनबाट बाहिर आउनलाई आज्ञा दे ।" 17 त्यसैले, यहोशूले पुजारीहरूलाई आज्ञा दिए, "यर्दनबाट बाहिर आओ ।" 18 जब परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरू यर्दनको बिचबाट आए र तिनीहरूका खुट्टाका पैताला सुक्खा जमिनबाट उठाइए, यर्दनको पानी आफ्नो स्थानमा फर्क्यौ र त्यो चार दिन पहिलेको जस्तै यसको किनारासम्म बग्‍न लाग्यो । 19 मानिसहरू पहिलो महिनाको दसौँ दिनमा यर्दनबाट बाहिर आए । तिनीहरू यर्दनको पूर्वतिर गिलगालमा बसे । 20 तिनीहरूले यर्दनबाट बाहिर ल्याएका ती बाह्रवटा ढुङ्गालाई यहोशूले गिलगालमा खडा गरे । 21 तिनले इस्राएलका मानिसहरूलाई भने, "जब तिमीहरूका सन्तानहरूले 'यी ढुङ्गाहरू के हुन्?' भनी सोध्छन्, 'इस्राएलले यहीँबाट यर्दन नदीमा सुक्खा जमिनमा तरेको थियो' भनी 22 तिमीहरूका सन्तानहरूलाई बताउनू ।' 23 जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले लाल समुद्रलाई सुक्खा बनाउनुभएको थियो त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू पार नगरेसम्म यर्दनको पानी तिमीहरूको निम्ति सुकाउनुभयो । 24 यसरी परमप्रभुको बाहुली शक्‍तिशाली छ भनी पृथ्वीका सबै मानिसले जानून् र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सदासर्वदा आदर गर ।"

5

1 यर्दनको पश्‍चिमतिरका एमोरी राजाहरू र भूमध्य सागरको तटतिर कनानी राजाहरू इस्राएलका मानिसहरूले यर्दन नतरेसम्म यर्दनको पानी सुकाउनुभएको थियो भन्‍ने सुन्‍ने बित्तिकै तिनीहरूको हृदय शिथिल भयो र इस्राएलका मानिसहरूको कारण तिनीहरूमा कुनै आँट आएन । 2 त्यस बेला परमप्रभुले यहोशूलाई भन्‍नुभयो, "ढुङ्गाका कर्दहरू बना र इस्राएलका सबै पुरुषको फेरि एक पटक खतना गर् ।" 3 त्यसपछि यहोशू आफैले ढुङ्गाका कर्दहरू बनाए र तिनले इस्राएलका सबै पुरुषको गिबियथ-हाअरालोथमा खतना गरे । 4 यहोशूले तिनीहरूलाई खतना गर्ने कारण थियोः युद्ध गर्ने पुरुषहरूलगायत मिश्रबाट आएका सबै पुरुष मिश्रबाट आएपछि मरुभूमिको यात्रामा मरेका थिए । 5 तथापि मिश्रबाट आएका सबै पुरुषको खतना भएको थियो, र मिश्रबाट आउँदा मरुभूमिमा जन्मेका कुनै पनि पुरुषको खतना भएको थिएन । 6 मिश्रबाट निस्केर आएका सबै पुरुष अर्थात् युद्ध गर्ने सबै पुरुष नमरेसम्म इस्राएलका मानिसहरू मरुभूमिमा हिँडिरहे, किनकि तिनीहरूले परमप्रभुको आवाज पालन गरेनन् । परमप्रभुले तिनीहरूका पिता-पुर्खालाई हामीलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको भूमि अर्थात् दूध र मह बग्‍ने भूमि उहाँले तिनीहरूलाई देख्‍न दिनुहुन्थ्यो भनी शपथ खानुभएको थियो । 7 यहोशूले खतना गरेका मानिसहरू परमप्रभुले तिनीहरूका सट्टामा उठाउनुभएका तिनीहरूका छोराछोरीहरू थिए, किनभने तिनीहरूको त्यस किसिमले खतना भएको थिएन । 8 जब तिनीहरू सबैको खतना भयो, तिनीहरू निको नभएसम्म तिनीहरू त्यहीँ नै रहे । 9 त्यसपछि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, "आजको दिन मैले मिश्रको अपमान तिमीहरूबाट हटाएको छु ।" त्यसैले, त्यस ठाउँको नाउँ वर्तमानसम्म पनि गिलगाल राखिएको छ । 10 इस्राएलका मानिसहरूले गिलगालमा छाउनी हाले । तिनीहरूले त्यही महिनाको चौधौँ दिनको साँझ यरीहोको मैदानमा निस्तार-चाड मनाए । 11 निस्तार-चाडपछि त्यसै दिन तिनीहरूले त्यो भूमिको केही उब्जनीबाट अखमिरी रोटी र भुटेको अन्‍न खाए । 12 तिनीहरूले त्यस भूमिको उब्जनीबाट खाएपछि त्यही दिन मन्‍न रोकियो । इस्राएलका मानिसहरूका निम्ति कुनै मन्‍न थिएन, तर तिनीहरूले त्यस वर्ष कनानको भूमिको उब्जनीबाट खाए । 13 यहोशू यरीहोको नजिक हुँदा तिनले माथि हेरे र हेर, एउटा मानिस तिनको सामु उभिरहेका थिए । तिनको हातमा नाङ्गो तरवार थियो । यहोशू तिनीकहाँ गएर सोधे, "तपाईं हाम्रो वा हाम्रा शत्रुको पक्षमा हुनुहुन्छ?" 14 तिनले भने, "कुनै पक्षको होइन । किनभने म परमप्रभुको फौजको सेनापति हुँ । अहिले म आएको छु ।" अनि यहोशूले जमिनमा घोप्टो परेर आराधना गरे र तिनलाई भने, "मेरा मालिकले उहाँको दासलाई के भन्‍नुहुन्छ?" 15 परमप्रभुको फौजका सेनापतिले यहोशूलाई भने, "तेरो खुट्टाको जुत्ता फुकाल्, किनभने तँ उभिरहेको ठाउँ पवित्र छ ।" यहोशूले त्यसै गरे ।

6

1 इस्राएलका फौजका कारण यरीहोतिरका सबै प्रवेशद्वारहरू बन्द थिए । कोही पनि बाहिर आउँदैनथ्यो र भित्र पस्दैनथ्यो । 2 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, "हेर्, मैले यरीहोलाई यसको राजा र यसका तालिम प्राप्‍त सिपाहीहरूसहित तेरो हातमा सुम्‍पेको छु । 3 तिमीहरूले सहरको फेरो मार्नुपर्छ, लडाइँमा जाने सबै मानिसले सहरलाई एक फेरो मार्नुपर्छ । तिमीहरूले छ दिनसम्म यसै गर्नू । 4 सात जना पुजारीले सन्दुकको अगि सातवटा भेडाका सिङका सातवटा तुरही बोक्‍नुपर्छ । सातौँ दिनमा तिमीहरूले सहरलाई सात फेरो मार्नू र पुजारीहरूले तुरही फुक्‍नू । 5 त्यसपछि तिनीहरूले भेडाको सिङको सँगै लामो समयसम्म बजाउनुपर्छ र जब तिमीहरूले त्यो आवाज सुन्छौ सबै मानिस ठुलो स्वरमा कराउनुपर्छ, र सहरको पर्खाल जगसम्म नै ढल्ने छ । हरेक सिपाही सोझै अगि बढेर आक्रमण गर्नुपर्छ ।" 6 अनि नूनका छोरा यहोशूले पुजारीहरूलाई बोलाएर तिनीहरूलाई भने, "करारको सन्दुक बोक, र सात जना पुजारीले परमप्रभुको सन्दुक अगिअगि भेडाका सातवटा सिङका तुरहीहरू बोकून् ।" 7 तिनले मानिसहरूलाई भने, "जाओ र सहरको फन्को मार, अनि सशस्‍त्र मानिसहरू परमप्रभुको सन्दुकअगि जाने छन् ।" 8 यहोशूले मानिसहरूलाई भनेजस्तै सात जना पुजारीले परमप्रभुको सामु भेडाका सिङहरूको सातवटा तुरही बोके । तिनीहरू अगि बढ्दा तिनीहरूले तुरहीहरू फुके । परमप्रभुको करारको सन्दुक तिनीहरूको पछिपछि थियो । 9 सशस्‍त्र मानिसहरू पुजारीहरूको अगिअगि हिँडे र तिनीहरूले तिनीहरूका तुरहीहरू फुके, तर पछाडिका सुरक्षाकर्मीहरू सन्दुकको पछिपछि हिँडे र पुजारीहरूले तिनीहरूको तुरही निरन्तर रूपमा फुकिरहे । 10 तर यहोशूले यसो भन्दै मानिसहरूलाई आज्ञा दिए, "नकराओ । मैले कराउनू नभनेसम्म तिमीहरूको मुखबाट कुनै आवाज ननिस्कोस् । त्यसपछि मात्र कराओ ।" 11 त्यसैले तिनले परमप्रभुको सन्दुकलाई त्यस दिन सहरको वरिपरि एक पटक जान लगाए । अनि तिनीहरू छाउनी प्रवेश गरे र राति छाउनीमा नै बसे । 12 यहोशू बिहान सबेरै उठे र पुजारीहरूले परमप्रभुको सन्दुक बोके । 13 परमप्रभुको सन्दुकअगि भेडाको सिङको सातवटा तुरही बोक्‍ने सात जना पुजारी लगातार हिँडिरहे र तुरही फुकिरहे । सशस्‍त्र सिपाहीहरू तिनीहरूको अगि हिँडिरहेका थिए । तर पछिल्तिरका सुरक्षाकर्मीहरू परमप्रभुको सन्दुकको पछिपछि हिँडे । त्यसपछि तुरही लगातार बजाइयो । 14 तिनीहरूले दोस्रो दिन पनि सहरलाई एक फेरो लगाए र बिहानै छाउनीमा फर्के । तिनीहरूले छ दिनसम्म यसै गरे । 15 सातौँ दिनमा तिनीहरू बिहान सबेरै उठे र तिनीहरूले त्यस दिन पनि सहरको फेरो मारे । त्यस दिन तिनीहरूले सहर वरिपरि सात फन्को मारे । 16 जब सातौँ दिनमा पुजारीहरूले तुरही फुके यहोशूले मानिसहरूलाई आज्ञा दिए, "कराओ! किनभने परमप्रभुले यो सहर तिमीहरूलाई दिनुभएको छ । 17 यो सहर र यसमा भएका सबै थोक विनाशको निम्ति परमप्रभुको लागि अलग गरिएको छ । राहाब र तिनको घरमा तिनीसँग भएकाहरू मात्र बाँच्ने छन्, किनभने तिनले हामीले पठाएका मानिसहरूलाई लुकाएकी थिइन् । 18 तर तिमीहरूचाहिँ विनाशको निम्ति अलग गरिएका थोकहरू लिने कुरामा सावधान होओ, ताकि तिमीहरूले तिनीहरूलाई विनाशको निम्ति चिनो लगाओ, र तिमीहरूले तिनीहरूमध्ये कुनै पनि नलेओ । यदि तिमीहरूले यसो गरेनौ भने, तिमीहरूले इस्रएलको छाउनीलाई विनाश गरिनु पर्ने थोकजस्तै तुल्याउने छौ र तिमीहरूले यसमाथि कष्‍ट ल्याउने छौ । 19 सबै चाँदी, सुन, र काँसाबाट बनेका थोकहरू अनि फलामलाई परमप्रभुको निम्ति अलग गरिएको छ । ती सबै परमप्रभुको घरमा जानुपर्छ ।" 20 जब तिनीहरूले तुरही फुके, मानिसहरू ठुलो स्वरमा कराए अनि पर्खाल जगसम्मै ढल्यो । त्यसैले हरेक मानिस सोझै अगि बढ्यो र सहर कब्जा गरियो । 21 तिनीहरूले सहरमा भएका पुरुष र महिला, जवान र वृद्ध, गोरु, भेडा र गधाहरूलाई तरवारले विनाश पारे । 22 त्यसपछि भूमिको भेद लिने दुई जना मानिसलाई भने, "ती वेश्याको घरभित्र जाओ । ती महिला र तिनीसँग भएका सबैलाई तिमीहरूले शपथ खाएबमोजिम बाहिर ल्याओ ।" 23 त्यसैले त्यो भूमिको भेद लिने जवानहरू गए र राहाबलाई बाहिर ल्याए । तिनीहरूले तिनका बुबा, आमा, दाजुभाइहरू र तिनीसँग भएका सबै नातेदारलाई ल्याए । तिनीहरूले उनीहरूलाई इस्राएलको छाउनी भएको ठाउँमा ल्याए । 24 तिनीहरूले सहर र यसमा भएका सबै थोकलाई जलाए । चाँदी, सुन, काँसामा भाँडाहरू र फलामलाई मात्र परमप्रभुको घरमा राखियो । 25 तर यहोशूले राहाब वेश्या, उनको बुबाको घराना र तिनीसँग भएका सबैलाई जीवितै राखे । उनी आजसम्म पनि इस्राएलमा नै बस्छिन्, किनभने उनले यहोशूले यरीहोको जासुस गर्न पठाएका मानिसहरूलाई लुकाइन् । 26 त्यसपछि यहोशूले तिनीहरूलाई त्यस बेला शपथ खान लगाएर यसो भन्दै आज्ञा दिए, "यो यरीहो सहरको पुनर्निर्माण गर्ने मानिस श्रापित होस् । त्यसको जेठो छोरोको मूल्यमा जग बसालिने छ, र त्यसको कान्छो छोरोको मूल्यमा यसका प्रवेशद्वारहरू खडा गरिने छ ।" 27 परमप्रभु यहोशूसँग हुनुहुन्थ्यो, र तिनको कीर्ति सारा मुलुकभरि फैलियो ।

7

1 तर इस्राएलका मानिसहरूले विनाशको निम्ति अलग गरिएका थोकहरूको बारेमा बेइमानीपूर्वक काम गरे । यहूदा कुलका जेरहको छोरो जब्दीको छोरो कर्मीको छोरो आकानले विनाशको निम्ति अलग गरिएका केही थोकहरू लिए, र परमप्रभुको क्रोध इस्राएलविरुद्ध दन्कियो । 2 यहोशूले यरीहोबाट मानिसहरूलाई ऐतिर पठाए, जुन बेथेलको पूर्वतिर बेथ-आवनको नजिक थियो । तिनले तिनीहरूलाई भने, "जाओ र त्यस भूमिको भेद लेओ ।" त्यसैले तिनीहरू ऐको जासुस गर्नलाई गए । 3 जब तिनीहरू यहोशूकहाँ फर्केर आए, तिनीहरूले तिनलाई भने, "ऐको निम्ति सबै मानिसलाई नपठाउनुहोस् । ऐमा गएर आक्रमण गर्नलाई दुई वा तिन हजार मानिसलाई मात्र पठाउनुहोस् । सबै मानिसलाई लडाइँ गर्न कष्‍ट नदिनुहोस्, किनभने तिनीहरू सङ्ख्यामा थोरै छन् । 4 त्यसैले फौजबाट झण्डै तिन हजार मानिस मात्र गए, तर यिनीहरू ऐका मानिसहरूको सामु पराजित भए । 5 ऐका मानिसहरूले सहरको प्रवेशद्वारदेखि ढुङ्गाको थुप्रोसम्म लखेट्दा छत्तिस जना मारे, र उनीहरूले तिनीहरूलाई पहाडको ओह्रालोमा झरिरहँदा मारे । मानिसहरूको हृदय शिथिल भयो र पानीजस्तै भयो । 6 तब यहोशूले आफ्‍नो लुगा च्याते । तिनी र इस्राएलका धर्म-गुरुहरूले आ-आफ्‍नो शिरमा धूलो हाले र साँझसम्म नै परमप्रभुको सन्दुकको सामु भुइँमा घोप्टो परेर लम्पसार परिरहे । 7 त्यसपछि यहोशूले भने, "हाय! हे परमप्रभु परमेश्‍वर, तपाईंले यी मानिसहरूलाई किन यर्दन तारेर ल्याउनुभयो? के हामीलाई एमोरीहरूका हातमा दिएर नष्‍ट पार्नलाई हो? हामीले अर्कै निर्णय गरेर हामी त यर्दन पारी नै बसेको भए पनि हुनेथियो । 8 हे परमप्रभु, इस्राएलीहरूले आफ्ना शत्रुहरूका सामु पीठ फर्काएपछि म के भन्‍न सक्छु र? 9 कनानीहरू र यस भूमिमा बस्‍नेहरूले यो कुरा सुन्‍ने छन् । तिनीहरूले हामीलाई घेर्ने छन् र पृथ्वीका मानिहरूलाई हाम्रो नाउँ बिर्सन लगाउने छन् । अनि तपाईंको महान् नाउँको निम्ति तपाईं के गर्नुहुन्छ? 10 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, "उठ् । तँ किन घोप्टो परेर लम्पसार परिरहन्छस्? 11 इस्राएलले पाप गरेको छ । मैले तिनीहरूलाई आज्ञा गरेका मेरो करार तिनीहरूले तोडेका छन् । तिनीहरूले अलग गरेका केही थोकहरू चोरेका छन्, र तिनीहरूले आफ्नै सरसामानहरू माझ राखेर तिनीहरूका पाप ढाकेका छन् । 12 परिणामस्वरूप, इस्राएलका मानिसहरू तिनीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनन् । तिनीहरूले आफ्ना शत्रु सामु तिनीहरूका पीठ फर्काएका छन् किनभने तिनीहरू स्वयम्‌लाई नै विनाशको निम्ति अलग गरिएका छन् । तिमीहरूमाझ अझै रहेको ती विनाश पारिनुपर्ने थोकहरू नष्‍ट नपारेसम्म म तिमीहरूसँग हुने छैनँ । 13 उठ् । मानिसहरूलाई मेरो निम्ति शुद्ध पार् र तिनीहरूलाई भन्, 'आ-आफूलाई भोलिको निम्ति शुद्ध पार । किनभने इस्राएलका परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, " तिमीहरू इस्राएलकामाझ नष्‍ट पारिनुपर्ने थोकहरू अझै छन् । नष्‍ट पारिनलाई अलग गरिका थोकहरूलाई तिमीहरूका माझबाट नहटाएसम्म तिमीहरू तिमीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनौ ।" 14 बिहान तिमीहरू कुल-कुलअनुसार हाजिर हुनुपर्छ । परमप्रभुले चुन्‍नुहुने कुल आ-आफ्‍नो कुलअनुसार उहाँको नजिक आउने छ । परमप्रभुले चुन्‍नुहुने कुल तिनीहरूको घराना‍-घरानाअनुसार नजिक आउनुपर्छ । परमप्रभुले चुन्‍नुहुने घराना एक‍-एक गरी आउनुपर्छ । 15 जोसँग विनाशको निम्ति चुनिएका थोकहरू छन् त्यसलाई चुनिने छ, त्यसलाई र त्यससँग भएका सबै थोक जलाइने छन्, किनभने त्यसले परमप्रभुको करार तोडेको छ र त्यसले इस्राएलमा अपमानजनक काम गरेको छ' ।" 16 त्यसैले, यहोशू बिहान सबेरै उठेर ‍इस्राएललाई कुल-कुल गरेर नजिक ल्याए र यहूदाको कुललाई चुनियो । 17 यहोशूले यहूदाको सन्तानलाई नजिक ल्याए, र जेरहको सन्तानलाई चुनियो । 18 तिनले जेरहको घरानालाई एक-एक गर्दै नजिक ल्याए र जब्दीको घरानालाई चुनियो । तिनले जब्दीको घरानालाई एक‍-एक गरी ल्याए र यहूदा कुलका जेरहका छोरा जब्दीका छोरा कर्मीका छोरा आकानलाई चुनियो । 19 त्यसपछि यहोशूले आकानलाई भने, "हे मेरो छोरो, इस्राएलका परमप्रभु परमेश्‍वरको सामु सत्य कुरा बता र उहाँलाई तेरो स्वीकारोक्‍ति दे । तैँले के गरेको छस्, कृपया मलाई बता । मसँग यो कुरा नलुका ।" 20 आकानले जवाफ दिए, "साँच्‍चै, मैले इस्राएलको परमप्रभु परमेश्‍वरको विरुद्धमा पाप गरेको छु । मैले गरेको पाप यही होः 21 जब मैले लूटको मालहरूमा बेबिलोनबाट ल्याइएको सुन्दर ओढ्ने, दुई सय शेकेलको चाँदी र पचास शेकेल तौल भएको सुनको डण्डा देखेँ, मैले तिनीहरूलाई चाह गरेँ र लिएँ । तिनीहरूलाई मेरो पालको बिचमा जमिनमुनि लुकाएको छु र चाँदीचाहिँ यसको मुनि छ ।" 22 यहोशूले समाचारवाहकहरूलाई पठाए, जो पालमा गए र ती थोकहरू त्यहाँ थिए । तिनीहरूले हेर्दा तिनीहरूलाई तिनकै पालमा लुकाइएका भेटे र चाँदी तिनीहरूको मुनि थियो । 23 तिनीहरूले ती थोकहरूलाई पालको माझबाट लिए अनि यहोशू र इस्राएलका मानिसहरूकहाँ ल्याए । तिनीहरूले त्यसलाई परमप्रभुको सामु खन्याए । 24 त्यसपछि यहोशू र सारा इस्राएलले जेरहका छोरा आकान, चाँदी, ओढ्ने, सुनको डण्डा, त्यसका छोराछोरीहरू, त्यसका गधाहरू, त्यसका गोरुहरू, त्यसका भेडाहरू, त्यसको पाल र त्यससँग भएका सबै थोकलाई लिए अनि तिनीहरूले उनीहरूलाई आकोरको बेँसीमा ल्याए । 25 यहोशूले भने, "तैँले हामीमाथि किन कष्‍ट ल्याइस्? परमप्रभुले तँमाथि पनि कष्‍ट ल्याउनुहुने छ ।" सबै इस्राएलले ढुङ्गाले हाने । त्यसपछि बाँकी सबैलाई पनि ढुङ्गाले हानेर मारे र तिनीहरूलाई आगोले जलाइदिए । 26 तिनीहरूले त्यसमाथि ढुङ्गाको ठुलो थुप्रो लगाए, जुन आजसम्म पनि छ । परमप्रभुको क्रोध हट्यो । यसकारण, आजको दिनसम्म पनि त्यस ठाउँको नाउँ आकोरको बेँसी रहेको छ ।

8

1 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, "नडरा; निरुत्साहित नहो । युद्ध गर्ने सबै मानिसलाई तँसँगै लैजा । ऐमा जा । हेर्, मैले ऐका राजा, त्यसका मानिसहरू, त्यसको सहर र त्यसको भूमिलाई तेरो हातमा दिएको छु । 2 तैँले ऐ र त्यसको राजालाई यरीहो र त्यसका राजालाई गरेझैँ गर्ने छस्, त्यसबाहेक, तैँले आफ्‍नो निम्ति लूटका मालहरू र गाईवस्तुहरू लिने छस् । सहरको पछाडिबाट ढुकेर बस्‍नू । 3 त्यसैले यहोशू उठे र तिनीसँग भएका युद्ध गर्ने सबै मानिसलाई लिए । त्यसपछि यहोशूले बलियो र सहासी तिस हजार मानिस चुनी तिनीहरूलाई राति नै पठाए । 4 तिनले तिनीहरूलाई आज्ञा गरे, "हेर, तिमीहरू यसको पछाडि सहरको विरुद्ध ढुकेर बस्‍ने छौ । सहरभन्दा धेरै टाढा नजाओ, तर तिमीहरू सबै तयार होओ । 5 म र मसँग भएका सबै मानिस सहरको नजिक जाने छौँ, र जब उनीहरू हामीलाई आक्रमण गर्न आउँछन् हामी पहिलेझैँ उनीहरूबाट भाग्‍ने छौँ । 6 हामीले उनीहरूलाई सहरबाहिर नखिँचेसम्म उनीहरू हाम्रो पछिपछि आउने छन् । उनीहरूले भन्‍ने छन्, 'तिनीहरू पहिलेझैँ हामीबाट भागिरहेका छन् ।' त्यसैले हामी उनीहरूबाट भाग्‍ने छौँ । 7 त्यसपछि तिमीहरू आ-आफ्नो लुक्‍ने ठाउँबाट निस्केर आउने छौ, र तिमीहरूले सहरलाई कब्जा गर्ने छौ । परमप्रभु तिमीहरूका परमेश्‍वरले यसलाई तिमीहरूको हातमा दिनुहुने छ । 8 जब तिमीहरूले सहर कब्जा गर्छौ, तिमीहरूले यसलाई आगोले जलाइदिनू । परमप्रभुको वचनमा दिइएको आज्ञा पालन गरेर तिमीहरूले यो गर्ने छौ । हेर, मैले तिमीहरूलाई आज्ञा गरेको छु । 9 यहोशूले तिनीहरूलाई पठाए, र तिनीहरू लुक्‍ने ठाउँतिर गएर तिनीहरू ऐको पश्‍चिमपट्टि बेथेल र ऐको बिचमा लुके । 10 यहोशू बिहान सबेरै उठे र तिनका सिपाहीहरूलाई तयार पारे । योहोशू र इस्राएलका धर्म-गुरुहरूले ऐका मानिसहरूलाई आक्रमण गरे । 11 तिनीसँग भएका लड्ने मानिसहरू गए र सहरको नजिक पुगे । तिनीहरू सहरको नजिक आइपुगे र ऐको उत्तरतिर छाउनी हाले । ऐ र तिनीहरू बिचमा एउटा बेँसी थियो । 12 तिनले झण्डै पाँच हजार जना मानिस लिए र सहरको पश्‍चिमपट्टि बेथेल र ऐको बिचमा लुक्‍न पठाए । 13 तिनीहरूले मुख्य फौजलाई सहरको उत्तरतिर र पछाडितिरको सुरक्षाकर्मीहरूलाई पश्‍चिमपट्टि गरी सबै सिपाहीलाई तैनाथ गरे । त्यस रात यहोशूले बेँसीमा नै रात बिताए । 14 जब ऐका राजाले यो देखे, तिनी र तिनका फौज बिहान सबेरै उठे र माथिबाट यर्दन नदीलाई देख्‍ने ठाउँमा इस्राएललाई आक्रमण गर्न निस्के । लुकेका मानिसहरूले सहरलाई पछाडिबाट आक्रमण गर्न पर्खिरहेका छन् भन्‍ने तिनलाई थाहा थिएन । 15 यहोशू र सबै इस्राएलले तिनीहरू सामु आफैलाई पराजित हुन दिए र तिनीहरू मरुभूमितिर भागे । 16 सहरमा भएका सबै मानिसलाई तिनीहरूको पिछा गर्नलाई आह्वान गरियो र तिनीहरू यहोशूको पछिपछि गए अनि तिनीहरूलाई सहरबाट बाहिर निकालियो । 17 इस्राएललाई लखेट्न नजाने ऐ र बेथेलमा एक जना पनि मानिस बाँकी रहेन । तिनीहरूले इस्राएलको पिछा गर्दा सहरलाई त्यागे र यसलाई खुला नै छोडे । 18 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, "तेरो हातमा भएको भालालाई ऐतिर पसार, किनभने म ऐलाई तेरो हातम दिने छु ।" यहोशूले तिनको हातमा भएको भाला सहरतिर पसारे । 19 तिनले आफ्नो हातको भाला पसार्दा लुकेर बसेका सिपाहीहरू आ-आफ्नो ठाउँबाट हतार-हतार निस्‍के । तिनीहरू दौडे र सहरभित्र पसी यसलाई कब्जा गरे । तिनीहरूले सहरलाई आगो लगाइदिए । 20 ऐका मानिसहरू फर्के र पछाडि हेरे । तिनीहरूले सहरबाट आकाशतिर धूवाँ गइरहेको देखे र तिनीहरू यता-उता कतै पनि उम्कन सकेनन् । किनभने मरुभूमितिर भागेका इस्राएली सिपाहीहरू तिनीहरूका पिछा गर्नेहरूको सामना गर्न फर्केका थिए । 21 जब यहोशू र सारा इस्राएलले धूवाँको मुस्‍लोसँगै सहर कब्जा गरेको देखे, तिनीहरू फर्के र ऐका मानिसहरूलाई मारे । 22 सहरभित्र गएका अरू सिपाहीहरू पनि तिनीहरूलाई आक्रमण गर्न बाहिर निस्के । त्यसैले ऐका मानिसहरू यतापट्टि र उतापट्टिका इस्राएलका फौजको बिचमा फसे । इस्राएलले ऐका मानिसहरूलाई आक्रमण गर्‍यो; तिनीहरू कोही पनि बचेनन् वा उम्केनन् । 23 तिनीहरूले ऐका राजालाई सुरक्षित राखे, जसलाई तिनीहरूले जीवितै समातेका थिए र तिनीहरूले तिनलाई यहोशूकहाँ ल्याए । 24 जब इस्राएलले मरुभूमि नजिकैको मैदानमा ऐका बासिन्दाहरू सबैलाई मारिसिद्ध्याए, जहाँ उनीहरूले तिनीहरूको पिछा गरेका थिए र तिनीहरू सबै तरवारद्वारा मारिए, तब सबै इस्राएल ऐतिर फर्के । तिनीहरूले यसलाई तरवारले आक्रमण गरे । 25 त्यस दिन मरेका पुरुष र महिला बाह्र हजार जना थिए । ऐका सबै मानिस यति नै थिए । 26 यहोशूले ऐका मानिसहरू सबैलाई पूर्ण रूपमा नष्‍ट नपारेसम्म भाला समाइरहेका तिनको हात पछाडि फर्काएनन् । 27 परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएमुताबिक तिनीहरूले सहरबाट गाईवस्तुहरू र लूटका मालहरू मात्र लिए । 28 यहोशूले ऐलाई जलाए र यसलाई भग्‍नावशेषको थुप्रोमा परिणत गरिदिए । यो आजको दिनसम्म पनि त्यागिएको ठाउँ भएको छ । 29 तिनले ऐका राजालाई साँझसम्मै रुखमा झुण्ड्याए । जब सूर्य अस्ताउँदै थियो, यहोशूले आज्ञा दिए र तिनीहरूले राजाको शरीरलाई रुखबाट निकाले र यसलाई सहरको प्रवेशद्वारअगि फ्याँके । तिनीहरूले यसमाथि ढङ्गाको ठुलो थुप्रो लगाए । त्यहाँ त्यो थुप्रो आजसम्म पनि छ । 30 त्यसपछि यहोशूले परमप्रभुका दास मोशाले इस्राएलका मानिसहरूलाई 31 आज्ञा गरेअनुसार परमप्रभु इस्राएलका परमेश्‍वरको निम्ति एबाल डाँडामाथि एउटा वेदी बनाए, जस्तो मोशाको व्यवस्थाको पुस्तकमा लेखिएको छः "नकाटेका ढुङ्गाहरूबाट बनाइएको एउटा वेदी, जसमाथि कसैले पनि फलामको हतियार चलाएको छैन ।" तिनले वेदीमाथि परमप्रभुको होमबलि चढाए र तिनीहरूले मेलबलि चढाए । 32 त्यहाँ तिनले इस्राएलका मानिसहरूको सामु मोशाको व्यवस्थाको प्रतिलिपी ढुङ्गाहरूमा लेखे । 33 स्वदेशी र विदेशी सारा इस्राएल, तिनीहरूका धर्म-गुरुहरू, अधिकृतहरू र तिनीहरूका न्यायकर्ताहरू परमप्रभुको सन्दुक बोक्‍ने लेवीहरू र पुजारीको सामु सन्दुकको दुवैतिर खडा भए । तिनीहरूको आधा भाग गीरीज्‍जीम डाँडाको अगि र अर्को आधा भागचाहिँ एबाल डाँडाको अगि खडा भए । परमप्रभुका दास मोशाले तिनीहरूलाई पहिले आज्ञा गरेझैँ तिनीहरूले इस्राएलका मानिसहरूलाई आशिष् दिए । 34 त्यसपछि यहोशूले व्यवस्थाका वचनहरू अर्थात् आशिष्‌हरू र सरापहरू सबै पढे, जस्तो तिनीहरूलाई व्यवस्थाको पुस्तकमा लेखिएको थियो । 35 इस्राएलको भेला अर्थात् महिला, स-साना छोराछोरीहरू र तिनीहरूमाझ बसोबास गरेका परदेशीहरूको सामु मोशाले यहोशूलाई आज्ञा गरेका वचन तिनले नपढेका कुनै पनि थिएनन् ।

9

1 त्यसपछि यर्दन पारिको पहाडी देशहरू र लेबनानपट्टि महासमुद्रको किनारका मैदानहरूमा हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्‍जीहरू, हिव्वीहरू र यबूसीहरू बस्थे । 2 यिनीहरू यहोशू र इस्राएलविरुद्ध युद्ध गर्न एउटै समूहमा सहभागी भए । 3 जब गिबोनका बासिन्दाहरूले यहोशूले यरीहो र ऐलाई गरेका कुरा सुने, 4 उनीहरूले धूर्त योजना बनाएर काम गरे । उनीहरू समाचारवाहकको रूपमा गए । उनीहरूले फाटिसकेको बोराहरू लिए र उनीहरूका गधामाथि राखे । उनीहरूले पुरानो, फाटेको र मरम्मत गरिएका मशकहरू पनि लिए । 5 उनीहरूले खुट्टामा पुरानो र टालेका जुत्ताहरू अनि लुगा पनि पुरानो फाटेको नै लगाए । उनीहरूले खानलाई लगेका सबै रोटी सुकिसकेका र ढुसी परेका थिए । 6 उनीहरू गिलगालमा यहोशूको छाउनीमा गए र तिनलाई र इस्राएलका मानिसहरूलाई भने, "हामी धेरै टाढाको देशबाट आएका हौँ, त्यसैले अहिले हामीसँग सन्धि गर्नुहोस् । 7 इस्राएलका मानिसहरूले हिव्वीहरूलाई भने, "सायद तिमीहरू हाम्रो नजकै बस्‍छौ । हामीले तिमीहरूसँग कसरी सन्धि गर्नु ?" 8 उनीहरूले भने, "हामी तपाईंहरूका दासहरू हौँ ।" यहोशूले उनीहरूलाई भने, "तिमीहरू को हौ? तिमीहरू कहाँबाट आएका हौ?" 9 उनीहरूले तिनलाई भने, "परमप्रभु तपाईंका परमेश्‍वरको नाउँको कारण तपाईंका दासहरू टाढा देशबाट यहाँ आएका छन् । उहाँको बारेमा र उहाँले मिश्रमा गर्नुभएका सबै कुरा, 10 र यर्दन पारिका एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन, अस्तारोतमा बस्‍ने बाशानका राजा ओगलाई उहाँले गर्नुभएका सबै कुरा हामीले सुनेका छौँ । 11 हाम्रा धर्म-गुरुहरू र हाम्रा देशका बासिन्दाहरूले हामीलाई भने, 'यात्राको निम्ति खानेकुराहरू लैजाओ । तिनीहरूलाई भेट्न जाओ र तिनीहरूलाई भन, 'हामी तपाईंका दासहरू हौँ । हामीसँग सन्धि गर्नुहोस् ।' 12 हामी तपाईंहरूकहाँ आउनलाई हाम्रो घरबाट यात्रा सुरु गरेको दिन यो रोटी तातै थियो । तर अहिले हेर्नुहोस्, यो सुकिसकेको र ढुसी परेको छ । 13 १३ हामीले मशकहरू भर्दा यिनीहरू नयाँ नै थिए र हेर्नुहोस्, अहिले यी चुहिरहेका छन् । धेरै लामो यात्राको कारण हाम्रा लुगा र जुत्ताहरू फाटिसकेका छन्' ।" 14 त्यसैले इस्राएलीहरूले उनीहरूका केही खानेकुरा लिए, तर उनीहरूले परमप्रभुको निर्देशनको खोजी गरेनन् । 15 यहोशूले उनीहरूसँग शान्ति सम्झौता गरे, उनीहरूसँग सन्धि गरे र उनीहरूलाई जीवित रहन दिए । मानिसहरूका अगुवाहरूले पनि उनीहरूसँग शपथ खाए । 16 इस्राएलीहरूले उनीहरूसँग यो सन्धि गरेको तिन दिनपछि उनीहरू छिमेकी रहेछन् र उनीहरू नजिकै बस्दा रहेछन् भनी तिनीहरूले थाहा पाए । 17 त्यसपछि इस्राएलका मानिसहरू निस्के र तेस्रो दिनमा सहरमा आए । उनीहरूका सहरहरू गिबोन, कपीरा, बरोत, किर्यात-यारीम थिए । 18 इस्राएलका मानिसहरूले उनीहरूलाई आक्रमण गरेनन्, किनभने तिनीहरूका अगुवाहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको सामु उनीहरूबाट शपथ खाएका थिए । सबै इस्राएलीले तिनीहरूका अगुवाहरूविरुद्ध गनगन गरे । 19 तर सबै अगुवाले मानिसहरूलाई भने, "हामीले उनीहरूको बारेमा परमप्रभु इस्राएलका परमेश्‍वरद्वारा शपथ खाएका छौँ र अहिले हामी उनीहरूको हानि गर्न सक्दैनौ । 20 हामी उनीहरूलाई यसो गर्ने छौँ: हामीले उनीहरूसँग शपथ खाएका कारण हामीमाथि आइपर्ने क्रोधबाट बच्‍न हामी उनीहरूलाई बाँच्‍न दिने छौँ ।" 21 अगुवाहरूले तिनीहरूका मानिसहरूलाई भने, "उनीहरूलाई बाँच्‍न देओ ।" त्यसैले अगुवाहरूले तिनीहरूलाई भने झै गिबोनीहरू सबै इस्राएलीका निम्ति पानी बोक्‍ने र दाउरा काट्ने मानिसहरू भए । 22 यहोशूले उनीहरूलाई बोलाए र भने, " 'हामी टाढाबाट आएका हौँ' भनी तिमीहरूले हामीसँग किन छल गर्‍यौ, जब कि तिमीहरू हाम्रै माझमा बस्दा रहेछौ? 23 अब यसैकारण तिमीहरू श्रापित भएका छौ र तिमीहरूमध्‍ये केही सधैँको निम्ति मेरा परमेश्‍वरको भवनमा दाउरा काट्ने र पानी तान्‍ने दासहरू हुने छौ ।" 24 उनीहरूले यहोशूलाई जवाफ दिए र भने, "परमप्रभु तपाईंका परमेश्‍वरले उहाँका दास मोशालाई सबै भूमि दिन र तपाईं सामु भएका भूमिका सबै बासिन्दालाई नष्‍ट पार्नलाई आज्ञा दिनुभएको तपाईंका दासहरूलाई बताइएको हुनाले तपाईंहरूको कारण हामी हाम्रो जीवनको निम्ति साह्रै भयभीत भएका थियौँ । यसैले हामीले यसो गर्‍यौँ । 25 अब हेर्नुहोस्, हामीलाई तपाईंको शक्‍तिमा राख्‍नुहोस् । तपाईंको नजरमा हामीलाई जे गर्न असल र उचित लाग्छ, त्यही गर्नुहोस् ।" 26 त्यसैले यहोशूले उनीहरूका निम्ति यसो गरेः तिनले उनीहरूलाई इस्राएलका मानिसहरूको नियन्त्रणबाट छुटकारा दिए । त्यसैले इस्राएलीहरूले उनीहरूलाई मारेनन् । 27 त्यस दिन यहोशूले गिबोनीहरूलाई समुदायको निम्ति र परमप्रभुले चुन्‍नुभएको ठाउँको निम्ति दाउरा काट्ने र पानी बोक्‍नेहरू बनाए ।

10

1 यरूशलेमका राजा अदोनिसेदेकले यहोशूले ऐलाई कब्जा गरेका र यसलाई (तिनले यरीहो र यसका राजालाई गरेझैँ) पूर्ण रूपमा नष्‍ट गरेका कुरा सुने, अनि गिबोनका मानिसहरूले इस्राएलसँग कसरी शान्ति सम्झौता गरे र तिनीहरूका माझ बस्‍छन् भन्‍ने पनि सुने । 2 यरूशलेमका मानिसहरू साह्रै भयभीत भए, किनभने गिबोन राजकीय सहरहरूमध्ये एकजस्तै ठुलो सहर थियो । यो ऐभन्दा ठुलो र यसका सबै मानिस शक्‍तिशाली योद्धाहरू थिए । 3 त्यसैले यरूशलेमका राजा अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनका राजा दबीरलाई एउटा सन्देश पठाए, 4 "मकहाँ आउनुहोस् र गिबोनलाई आक्रमण गर्न मलाई सहायता गर्नुहोस् किनभने तिनीहरूले यहोशू र इस्राएलका मानिसहरूसँग शान्ति सम्झौता गरेका छन् ।" 5 पाँच एमोरी राजा अर्थात् हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा, उनीहरू र उनीहरूका सबै फौजले गिबोनविरुद्ध मोर्चा बाँधे र उनीहरूले यसलाई आक्रमण गरे । 6 गिबोनका मानिसहरूले यहोशू र गिलगालमा भएका फौजलाई समाचार पठाए । उनीहरूले भने, "चाँडो गर्नुहोस् ! तपाईंका दासहरूबाट आफ्ना हातहरू नखिँच्‍नुहोस् । हामीकहाँ चाँडो गरी आउनुहोस् र हामीलाई बचाउनुहोस् । हामीलाई सहायता गर्नुहोस्, किनभने पहाडी देशहरूमा बस्‍ने सबै एमोरी राजा हामीलाई आक्रमण गर्न भेला भएका छन् ।" 7 यहोशू, तिनी र तिनीसँग भएका युद्ध गर्ने सबै अनि लड्‍ने सबै मानिस गिलगालबाट गए । 8 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, "उनीहरूसँग नडरा । मैले उनीहरूलाई तेरो हातमा दिएको छु । उनीहरू कसैले पनि तेरो आक्रमणलाई रोक्‍न सक्‍ने छैनन् । 9 यहशूले रातभरि यात्रा गरेर उनीहरूमाथि अचानक जाइलागे । 10 परमप्रभुले इस्राएलका सामु शत्रुहरूलाई अन्योलमा पार्नुभयो, र इस्राएलले गिबोनमा ठुलो संहारको साथ उनीहरूलाई मारे अनि उनीहरूलाई बेथ-होरोनसम्मै खेदे । तिनीहरूले आजेका र मक्‍केदाको बाटोसम्मै उनीहरूलाई मारे । 11 जब तिनीहरू इस्राएलबाट बेथ-होरोनको डाँडाको ओरालोमा झरे, परमप्रभुले स्वर्गबाट ठुला-ठुला असिनाहरू बर्साउनुभयो र उनीहरू मरे । इस्राएलका मानिसहरूले तरवारले मारेका भन्दा असिनाको कारण मरेकाहरू धैरै थिए । त्यस दिन परमप्रभुले इस्राएलका मानिसहरूलाई एमोरीहरूमाथि विजय दिनुभयो, 12 अनि यहोशू परमप्रभुसँग बोले । यहोशूले इस्राएलको सामु परमप्रभुलाई यसो भने, "ए सूर्य, गिबोनमाथि र ए चन्द्र अय्यालोनको बेँसीमा अडिरह ।" जातिले तिनीहरूका शत्रुहरूमाथि बदला नलिएसम्म सूर्य अडियो र चन्द्र रोकियो । के यो याशारको पुस्तकमा लेखिएको छैन र? 13 सूर्य आकाशको बिचमा रहिरह्यो; यो झण्डै पुरै दिनभरि नै अस्ताएन । 14 परमप्रभुले मानव-जातिको कुरा सुन्‍नुभयो, यसअगि र यसपछि कहिल्यै पनि यस्तो भएको छैन । किनभने परमप्रभुले इस्राएलको तर्फबाट युद्ध लडिरहनुभएको थियो । 15 यहोशू र तिनीसँग भएका सबै इस्राएली गिलगालको छाउनीमा फर्के । 16 अब पाँच जना राजा उम्केका र आफै मक्‍केदाको गुफामा लुकेका थिए । 17 यहोशूलाई यसो भनियो, "पाँच जना राजा मक्‍केदाको गुफामा लुकेको भेट्टाइए ।" 18 यहोशूले भने, "गुफाको मुखमा ठुला-ठुला ढुङ्गाहरू गुडाएर राख र उनीहरूको सुरक्षाको निम्ति सिपाहीहरू खटाओ । 19 तिमीहरूचाहिँ नबस । तिमीहरूका शत्रुहरूको पिछा गर र पछाडिबाट आक्रमण गर । उनीहरूको सहरमा पस्‍न नदेओ किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूका हातमा दिनुभएको छ ।" 20 उनीहरू झण्डै पूर्ण रूपमा नष्‍ट नभएसम्म नै यहोशू र इस्राएलका सन्तानहरूले उनीहरूलाई ठुलो संहारको साथ संहार गरिसिद्ध्याएका थिए; केही बचेकाहरू मात्र उम्केर किल्ला भएको सहरमा पुगे । 21 त्यसपछि सबै फौज मक्‍केदाको छाउनीमा यहोशूकहाँ शान्तिसँग फर्के । इस्राएलका मानिसहरूका विरुद्ध कसैले एक शब्द पनि बोल्ने आँट गरेन । 22 यहोशूले भने, "गुफाको मुख खोल । गुफाबाट यी राजाहरूलाई लिएर आओ ।" 23 तिनीहरूले तिनले भनेझैँ गरे । तिनीहरूले यरूशलेमका राजा, हेब्रोनका राजा, यार्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा अर्थात् यी पाँच जना राजालाई गुफाबाट बाहिर ल्याए । 24 जब तिनीहरूले राजाहरूलाई यहोशूकहाँ ल्याए, तिनले इस्राएलका सबै मानिसलाई बोलाए । तिनले तिनीसँग युद्धमा जाने सेनाहरूका सेनापतिहरूलाई भने, "उनीहरूको गर्दनमा तिमीहरूको खुट्टाले टेक ।" त्यसैले तिनीहरू आए र उनीहरूका गर्दनमाथि तिनीहरूका खुट्टाले टेके । 25 अनि तिनले तिनीहरूलाई भने, "नडराओ, र निराश नहोओ । बलियो र साहसी होओ । तिमीहरूले लड्न गइरहेका तिमीहरूका शत्रुहरूलाई परमप्रभुले यसै गर्नुहुन्छ ।" 26 अनि यहोशूले आक्रमण गरी राजाहरूलाई मारे । तिनले उनीहरूलाई पाँचवटा रुखमा झुण्ड्याए । तिनीहरूले उनीहरूलाई साँझसम्म झुण्ड्याए । 27 घाम अस्ताउँदा यहोशूले आज्ञा दिए र तिनीहरूले उनीहरूलाई रुखबाट तल झारे अनि उनीहरू लुकेका गुफाभित्र नै उनीहरूलाई फ्याँकिदिए । तिनीहरूले गुफाको मुखमा ठुला-ठुला ढुङ्गाहरू राखे । ती ढुङ्गाहरू आजसम्म पनि छन् । 28 यसरी, यहोशूले त्यस दिन मक्‍केदा कब्जा गरे र यसका राजासहित त्यहाँ भएका सबैलाई तरवारले मारे । तिनले यसमा भएका सबैलाई पूर्ण रूपमा नष्‍ट पारे । तिनले कसैलाई पनि जीवित छोडेनन् । तिनले मक्‍केदाका राजालाई यरीहोका राजालाई झैँ गरे । 29 यहोशू र सारा इस्राएल मक्‍केदाबाट लिब्‍नातिर गए । तिनले लिब्‍नाविरुद्ध लडे । 30 परमप्रभुले यसलाई उनीहरूका राजासहित इस्राएलको हातमा दिनुभयो । यहोशूले यसलाई र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनले यसमा कसैलाई जीवित छाडेनन् । तिनले यसका राजालाई यरीहोका राजालाई झैँ गरे । 31 यहोशू र तिनीसँग भएका सबै इस्राएल लिब्‍नाबाट लाकीशतिर अगि बढे । तिनले यसको नजिकै छाउनी हाले र यसविरुद्ध लडे । 32 परमप्रभुले लाकीशलाई इस्राएलको हातमा दिनुभयो । यहोशूले यसलाई दोस्रो दिनमा कब्जा गरे र तिनले लिब्‍नालाई गरेजस्तै यसलाई र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । 33 त्यसपछि गेजेरका राजा होराम लाकीशलाई सहायता गर्न आए । यहोशूले उनलाई र उनीसँग भएका फौजलाई एक जना पनि जीवित नराखी आक्रमण गरे । 34 त्यसपछि यहोशू र सारा इस्राएल लाकीशबाट एग्लोनतिर अगि बढे । तिनीहरूले यसको नजिकै छाउनी हाले र यसविरुद्ध युद्ध गरे, 35 र त्यसै दिन यसलाई कब्जा गरे । तिनीहरूले यसलाई तरवारले प्रहार गरे र यहोशूले लाकीशलाई गरे झैँ यसमा भएका सबैलाई पूर्ण रूपमा नष्‍ट पारे । 36 त्यसपछि यहोशू र सारा इस्राएल एग्लोनबाट हेब्रोनतिर अगि बढे । तिनीहरूले यसविरुद्ध युद्ध गरे । 37 तिनीहरूले यसलाई, यसका राजा, यसका गाउँहरू र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनीहरूले यसमा कसैलाई जीवित छाडेनन् । तिनीहरूले एग्‍लोनलाई जे गरेका थिए, तिनीहरूले यसलाई र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्‍ट पारे । 38 त्यसपछि यहोशू र तिनीसँग भएका सबै फौज फर्के र तिनीहरू दबीरतिर लागे र यसविरुद्ध युद्ध गरे । 39 तिनीहरूले यसलाई, यसका राजा र यस नजिकका सबै गाउँलाई कब्जा गरे । तिनीहरूले उनीहरूलाई तरवारले प्रहार गरे र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्‍ट पारे । तिनीहरूले कसैलाई पनि जीवित छाडेनन् । तिनीहरूले लिब्‍नालाई र यसका राजालाई र हेब्रोनलाई गरेझैँ दबीरलाई पनि गरे । 40 यहोशूले पहाडी देश, नेगेव, समथर भूमि र पहाडहरूका सबै भूमिमाथि विजय हासिल गरे । उनीहरूका कुनै पनि राजा जीवित रहेनन् । परमप्रभु इस्राएलका परमेश्‍वरले आज्ञा गर्नुभएजस्तै तिनले सबै थोकलाई पूर्ण रूपमा नष्‍ट पारे । 41 यहोशूले कादेश-बर्नेदेखि गाजासम्म र गोशेनदेखि गोबोनसम्म सब देशलाई प्रहार गरे । 42 यहशूले यी सबै राजा र उनीहरूका भूमिलाई एकै पटकमा कब्जा गरे, किनभने परमप्रभु इस्राएलका परमश्‍वर इस्राएलको पक्षमा युद्ध गर्नुभयो । 43 त्यसपछि यहोशू र तिनीसँग भएका सबै इस्राएल गिलगालको छाउनीमा फर्के ।

11

1 जब हासोरका राजा याबीनले यो सुने, उनले मादोनका राजा रोबाब, शिम्रोनका राजा र आक्षापका राजालाई समाचार पठाए । 2 उनले उत्तरी पहाडी देशमा, किन्‍नरेतको दक्षिणतिरको यर्दन बेँसीमा, तराईमा र पश्‍चिमतिरको नपोत डोरमा बस्‍ने राजाहरूलाई पनि समाचार पठाए । 3 उनले पूर्व र पश्‍चिमका कनानीहरू, एमोरीहरू, हित्तीहरू, परिज्‍जीहरू, पहाडी देशका यबूसीहरू मिस्पाको मैदान नजिकका हेर्मोन डाँडा छेउछाउका हिव्वीहरूलाई पनि समाचार पठाए । 4 उनीहरूका सबै फौज उनीहरूसँगै समुद्र किनारको बालुवाका कण जत्तिकै ठुलो सङ्ख्यामा आए । उनीहरूसँग कैयौँ घोडा र रथहरू थिए । 5 यी सबै राजा तोकिएको समयमा भेटे र उनीहरू इस्राएलविरुद्ध लड्नलाई मेरोमको पानी नजिकै छाउनी हाले । 6 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, "उनीहरूको उपस्थितिमा नडरा किनभने म भोली यसै समयमा उनीहरू सबैलाई इस्राएलको हातमा मृत मानिसहरूको रूपमा दिँदै छु । तैँले उनीहरूका घोडाहरूको ढोड नसा काटिदिनू र उनीहरूका रथहरू जलाइदिनू ।" 7 यहोशू र सबै योद्धा आए । तिनीहरू मेरोमको पानीमा अचानक आए र शत्रुहरूलाई आक्रमण गरे । 8 परमप्रभुले शत्रुहरूलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई प्रहार गरे अनि उनीहरूलाई सीदोनसम्म, मिस्रपोत-मैमसम्मै र पूर्वतिर मिस्पाको बेँसीसम्म खेदे । तिनीहरूले उनीहरूमा कोही पनि जीवित नरहेसम्म नै उनीहरूलाई प्रहार गरे । 9 यहोशूले उनीहरूलाई परमप्रभुले भन्‍नुभएमुताबिक गरे । तिनले घोडाहरूका ढोड नसाहरू काटे र रथहरू जलाए । 10 त्यस बेला यहोशू फर्के र हासोस कब्जा गरे । तिनले यसका राजालाई तरवारले प्रहार गरे । (हासोर यी सबै राज्यका शिर थियो ।) 11 तिनीहरूले त्यहाँ भएका सबै जीवित थोकहरूलाई तरवारले प्रहार गरे र नष्‍ट पार्नलाई अलग गरे । त्यसैले त्यहाँ कोही पनि जीवित रहेन । अनि तिनले हासोरलाई आगो लगाए । 12 यहोशूले यी राजाहरूका सबै सहर कब्जा गरे । तिनले उनीहरूका सबै राजालाई कब्जा गरे र उनीहरूलाई तरवारले प्रहार गरे । परमप्रभुका दास मोशाले भनेझैँ तिनले उनीहरूलाई तरवारले पूर्ण रूपमा नष्‍ट पारे । 13 इस्राएलले डाँडामाथि निर्मित सहरहरू हासोरबाहेक अरू कुनैलाई पनि जलाएन । यहोशूले यसलाई मात्र जलाए । 14 इस्राएलको फौजले यी सहरहरूबाट गाईवस्तुहरूसहित सबै लूटका माल लिए । तिनीहरूले सबै मानिस नमरेसम्म सबै मानिसलाई तरवारले मारे । तिनीहरूले सास फेर्ने कुनै प्राणीलाई जीवित छाडेनन् । 15 परमप्रभुले जसरी मोशालाई आज्ञा गर्नुभयो, त्यसरी नै मोशाले यहोशूलाई आज्ञा गरे र यहोशूले त्यसै गरे । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको कुनै पनि कुरालाई यहोशूले अपूरा छोडेनन् । 16 यहोशूले पहाडी देश, सबै नेगेव, गोशेनका सबै भूमि, पहाडहरू, यर्दन नदीको बेँसी, इस्राएको पहाडी देश र तराईको सबै भूमिलाई लिए । 17 तिनले एदोम नजिकको हालाक डाँडादेखि उत्तरतिर हेर्मोन डाँडाको मुनि लेबनान नजिकको बेँसीमा पर्ने बाल-गादसम्म उनीहरूका सबै राजाहरूलाई कब्जा गरे र उनीहरूलाई मारे । 18 यहोशूले सबै राजासँग लामो समयसम्म युद्ध गरे । 19 गिबोनमा बस्‍ने हिव्वीहरूबाहेक कुनै पनि सहरले इस्राएलको फौजसँग शान्ति सम्झौता गरेनन् । इस्राएलले सबै बाँकी सहरलाई कब्जा गरे । 20 किनभने उनीहरूका हृदय कठोर बनाउनुहुने परमप्रभु नै हुनुहुन्थ्यो, त्यसैले उनीहरूले इस्राएलविरुद्ध लडाइँ गर्थे, ताकि उहाँले मोशालाई अह्राउनुभएझैँ उहाँले उनीहरूलाई दयाविना नै पूर्ण रूपमा नष्‍ट पार्नुभएको होस् । 21 त्यसपछि यहोशू आए र तिनले अनाकीलाई नष्‍ट पारे । तिनले यो पहाडी देश, हेब्रोन, दबीर, अनाब, यहूदाका सबै पहाडी देश र इस्राएलका सबै पहाडी देशमा यसो गरे । 22 गाजा, गात र अश्दोदमा बस्‍ने बाहेक अनाकीहरू इस्राएलको भूमिमा कोही पनि रहेनन् । 23 त्यसैले परमप्रभुले मोशालाई भन्‍नुभएअनुसार यहोशूले सारा भूमि कब्जा गरे । यहोशूले यसलाई इस्राएललाई उत्तराधिकारको रूपमा दिए अर्थात् उनीहरूका हरेक कुललाई भाग लगाइदिए । त्यसपछि मुलुकले युद्धबाट विश्राम लियो ।

12

1 इस्राएलका मानिसहरूले पराजित गरेका त्यस भूमिका राजाहरू यिनै हुन् । इस्राएलीहरूले यर्दनको पूर्वतिरका अर्नोनको बेँसीदेखि हेर्मोन डाँडासम्म अनि पूर्वतिरका सबै अराबाका भूमिलाई कब्जा गरे । 2 एमोरी राजा सीहोन हेश्बोनमा बस्‍थे । तिनले अरोएरसम्म शासन गर्थे जुन बेँसीको माझमा पर्ने अर्नोनको छेउमा र अम्मोनीहरूको सिमानामा पर्ने गिलादको आधा भाग हो । 3 सीहोनका राजाले अराबादेखि किन्‍नरेतको समुद्रसम्म, पूर्वतिर अराबाको समुद्रसम्म (मृत सागर), बेथ-यशीमोनतिर सबैतिर र पिसगाको ओरालोका पहाडहरूसम्म शासन गर्थे । 4 रपाईहरूमा बाँकी रहेका एक जना बाशानका राजा ओग अस्तारोत र एद्रईमा बस्‍थे । 5 तिनले हेर्मोन डाँडा, सलका, पूरै बाशानदेखि गशुरका मानिसहरू, माकाती गिलेदको आधा भागदेखि हेश्बोनका राजा सीहोनको सिमानासम्म शासन गर्थे । 6 परमप्रभुका दास मोशा र इस्राएलका मानिसहरूले उनीहरूलाई पराजित गरे अनि परमप्रभुका दास मोशाले त्यो भूमिलाई रूबेनी, गादी र मनश्‍शेका आधा कुलको उत्तराधिकारको रूपमा दिए । 7 त्यस भूमिका राजाहरू यिनै हुन् जसलाई यहोशू र इस्राएलका मानिसहरूले लेबनान नजिकको बाल-गाददेखि एदोमको छेउको हालाक डाँडासम्म यर्दनको पश्‍चिमपट्टि पराजित गरेका थिए । यहोशूले त्यो भूमि अधीन गर्न इस्राएलका कुलहरूलाई दिए । 8 तिनले तिनीहरूलाई हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्‍जीहरू, हिव्वीहरू र यबूसीहरूको भूमि पहाडी देशहरू, तराईहरू, अराबा, पहाडका पाटाहरू र नेगेव दिए । 9 राजाहरूमा यरीहोका राजा, ऐका राजा जुन बेथेलको छेउमा छ, 10 यरूशलेमका राजा, एनइमका राजा, 11 यार्मूतका राजा, लाकीशका राजा, 12 एग्लोनका राजा, गेजेरका राजा, 13 दबीरका राजा, गेदेरका राजा, 14 होर्माका राजा, आरादका राजा, 15 लिब्‍नाका राजा, अदुल्लामका राजा, 16 मक्‍केदाका राजा, बेथेलका राजा, 17 तप्पूहका राजा, हेपेरका राजा, 18 अपेकका राजा, लश्शारोनका राजा, 19 मादोनका राजा, हासोरका राजा, 20 शिम्रोनका राजा, अक्षापका राजा, 21 तानाकका राजा, मगिद्दोका राजा, 22 कादेशका राजा, कर्मेलको योक्‍नामका राजा, 23 नापोत डोरका राजा, गिलगालको गयीमका राजा, 24 र तिर्साका राजा पर्छन् । सबै राजाको सङ्ख्या एकतिस जना थियो ।

13

1 परमप्रभुले यहोशूलाई यसो भन्‍नुहुँदा तिनी धेरै वृद्ध भएका थिए, "तँ धैरै वृद्ध भइस्, तर कब्जा गर्न बाँकी अझै धेरै भूमि छन् । 2 अझै बाँकी रहेका भूमि यिनै हुन्ः पलिश्‍तीहरू र गशूरीहरूका सबै, मिश्रको पूर्वतिर पर्ने 3 शिहपरदेखि उत्तरतिर एक्रोनको सिमानासम्म, जसलाई कनानीहरूको सम्पत्ति ठानिन्छ; गाजा, अश्दोद, अश्‍कलोन, गात र एक्रोनका पाँच जना पलिश्‍ति शासकहरू र अव्वीहरूका क्षेत्र । 4 दक्षिणमा (अव्वीहरूका क्षेत्र); कनानीहरूका सबै भूमि, सीदोनीहरूको अधीनमा भएका आरादेखि मोरिहरूको सिमानामा भएको अपेकसम्म; 5 गबालीहरूको भूमि, पूर्वतिरका सबै लेबनान, हर्मोन डाँडामुनि बाल-गाददेखि लेबो-हमातसम्म । 6 साथै,लेबनानदेखि पहाडी देशका सबै बासिन्दादेखि सीदोनका सबै मानिसलगायत मिस्रपोतमैमसम्म । म उनीहरूलाई इस्राएलको फौजको सामु धपाउने छु । मैले तँलाई आज्ञा गरेबमोजिम इस्राएललाई त्यो भूमि उत्तराधिकारको रूपमा बाँडिदे । 7 यो भूमिलाई नौ कुल र मनश्शेको आधा कुलको निम्ति उत्तराधिकारको रूपमा बाँडी दे ।" 8 मनश्शेको आधा कुल, रूबेनीहरू र गादीहरूले तिनीहरूको उत्तराधिकार प्राप्‍त गरेका छन् जुन मोशाले तिनीहरूलाई दिएका यर्दनको पूर्वतिर, अर्नोन नदीको घाँटीको किनारामा भएको 9 अरोएरदेखि (घाँटीको माझमा भएको सहरलगायत), दीबोनसम्मका मेदबाको टार; 10 सीहोनका सबै सहर, एमोरीहरूका राजा, जसले हेश्बोनमा शासन गरे, अम्मोनीहरूको सिमानासम्म; 11 गिलाद, गशूरीहरू र माकातीहरूको प्रदेश, सबै हेर्मोन डाँडा, सलकासम्मका सबै बाशान; 12 बाशानको ओगका सबै अधिराज्य, जसले अस्तारोत र अद्रईमा शासन गरे, मोशाले उनीहरूलाई प्रहार गरी धपाउँदा बाँकी रहेकाहरू यिनीहरू नै हुन् । 13 तर इस्राएलका मानिसहरूले गशूरीहरू र माकातीहरूलाई धपाएनन् । बरु, गशूर र माकात आजको दिनसम्म पनि इस्राएलको माझमा बसोबास गर्छन् । 14 मोशालाई लेवीका कुललाई मात्र उत्तराधिकार दिएनन् । परमप्रभु इस्राएलका परमेश्‍‌वरका बलिदानहरू, आगोद्वारा चढाइएका बलिदानहरू परमेश्‍‌वरले मोशालाई भन्‍नुभएझैँ तिनीहरूका उत्तराधिकार हुन् । 15 मोशाले रूबेनको कुललाई कुल-कुलअनुसार उत्तराधिकार दिए । 16 तिनीहरूको भाग अर्नोन नदीको घाँटीको किनारमा पर्ने अरोएर र उपत्यकाको माझमा पर्ने सहरदेखि मेदबासम्मको सबै समथल भू-भाग थियो । 17 रूबेनले हेश्बोन र समथल भू-भागमा रहेका यसका सबै सहर, दीबोन र बमोत-बाल, र बेथ-बाल-मोन, 18 रयहसा, लदेमोत, मेपात, 19 र किर्यातैम, सिब्मा, उपत्याकको डाँडा रहेको सेरेथशेहार पनि प्राप्‍त गरे । 20 रूबेनले यी पनि प्राप्‍त गरेः बेथ-पोर, पिसगाको भीरालो भू-भाग, बेथ-यसीमोत, 21 समथर भू-भागका सबै सहर, र एमोरीहरूका राजा सीहोनका सबै अधिराज्य, जसले हेश्बोनमा शासन गरेका थिए, जसलाई मोशाले मिद्यानका अगुवाहरू, एवी, रेकेम, सूर, हूर र रेबाका अगुवाहरूसँगै हराएका थिए, सीहोनका शासकहरू जो त्यो भू-भागमा बस्थे । 22 इस्राएलका मानिसहरूले मारेकाहरूमध्ये टुनामुना गर्ने बोरका छोरा बालामलाई पनि मारे । 23 रूबेनको कुलको सिमाना यर्दन नदी हो । यो तिनीहरूको सिमाना हो । यो रूबेनका वंशलाई तिनीहरूका कुल-कुलअनुसार तिनीहरूका सहरहरू र गाउँहरूसहित दिइएको उत्तराधिकार थियो । 24 मोशाले गादका कुललाई कुल-कुलअनुसार यी दिएः 25 तिनीहरूका क्षेत्र याजेर, गिलादका सबै सहर र अम्‍मोनीहरूको आधा भू-भाग, रब्बाको पूर्वतिरको अरोएर, 26 हेश्बोनदेखि रामतमस्पा र बेतोनीमसम्म, महनोमदेखि दबीरको क्षेत्रसम्म । 27 उपत्यका, मोशाले तिनीहरूलाई बेथ-हाराम, बेथ-निम्रा सुक्‍कोत, सापोन, होश्‍बोनका राजा सीहोनका बाँकी राज्य, साथै यर्दनलाई सिमानाको रूपमा, किन्‍नरेत समुद्रको तल्लो भागहरू, यर्दनभन्दा पर पूर्वतिरका भू-भाग दिए । 28 यो गादको कुलको कुल-कुलअनुसारको तिनीहरूका सहरहरू र गाउँहरूसहित उत्तराधिकार हो । 29 मोशाले मनश्शेका आधा कुललाई उत्तराधिकार दिए । यो मनश्शेका कुललाई कुल-कुलअनुसार दिइएको थियो । 30 तिनीहरूका क्षेत्र महनोमदेखि, बाशानसम्म, बाशानका राजा ओगका सम्पूर्ण राज्य, याईरका सबै नगर, जुन बाशानमा छन्, साठीवटा सहर; 31 गिलादको आधा भाग, र अस्तारोत र एद्रई (बशानमा ओगका राजकीय सहरहरू)। यिनीहरू माकीरको कुल-कुलअनुसार मनश्शेका छोरा माकीरको कुललाई दिइएको थियो । 32 यो मोशाले तिनीहरूलाई यर्दनपारि पूर्वतिर दिएका उत्तराधिकार हो । 33 मोशाले लेवीहरूलाई उत्तराधिकार दिएनन् । परमप्रभु इस्राएलका परमेश्‍‌वरले भन्‍नुभएझैँ उहाँ नै तिनीहरूका उत्तराधिकार हुनुहुन्छ ।

14

1 कनानको भू-भागमा इस्राएलका मानिसहरूले उत्तराधिकारको रूपमा प्राप्‍त गरेका क्षेत्र यी नै हुन्, जसलाई पुजारी एलाजार, नूनका छोरा यहोशू र कुलनायकहरूले तिनीहरूलाई बाँडिदिए । 2 जसरी परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको थियो, त्यसरी नै साँढे नौ कुललाई तिनीहरूको उत्तराधिकार चिट्ठाद्वारा चुनिएको थियो । 3 किनभने साँढे दुई कुललाई यर्दनपारि नै उत्तराधिकार दिइएको थियो, तर तिनले लेवीलाई कुनै उत्तराधिकार दिएनन् । 4 वास्तवमा योसेफको कुल मनश्शे र एफ्राइम गरी दुई कुल थिए । लेवीहरूलाई त्यो भू-भागमा कुनै उत्तराधिकार दिइएन, तर तिनीहरूका गाईवस्तुहरूका निम्ति चरन र तिनीहरूका भौतिक सरसामानहरूका निम्ति केही सहरहरू मात्र दिइए । 5 इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएमुताबिक गरे, त्यसैले तिनीहरूले भू-भाग बाँडे । 6 त्यसपछि यहूदाको कुल गिलगालमा यहोशूकहाँ आए । कनज्‍जी यपून्‍नेका छोरा कालेबले तिनलाई भने, "तपाईं र मेरो बारेमा परमप्रभुले कादेश-बर्नेमा के भन्‍नुभएको थियो भनी तपाईंलाई थाहा छ । 7 परमप्रभुका दास मोशाले यो भूमिको भेद लिन पठाउँदा म चालिस वर्षको थिएँ । मैले तिनलाई मेरो हृदयमा भएअनुसारको प्रतिवेदन ल्याएर दिएँ । 8 तर मसँगै गएका मेरा दाजुभाइहरूले मानिसहरूको हृदय डरले शिथिल बनाइदिए । तर मैले मेरा परमप्रभु परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याएँ । 9 त्यस दिन मोशाले यसो भने, 'निश्‍चय नै, तिम्रा खुट्टाले टेकेका भू-भाग तिम्रो र तिम्रा सन्तानहरूको एउटा अंश हुने छ, किनभने तिमीले परमप्रभु मेरा परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याएका छौ ।' 10 अब, हेर्नुहोस्, इस्राएलीहरू मरुभूमिमा हिँड्दा परमप्रभु मोशासँग बोल्नुभएको समयदेखि उहाँले भन्‍नुभएमुताबिक नै यी चालिस वर्षसम्म उहाँले मलाई जीवितै राख्‍नुभएको छ । अब, हेर्नुहोस्, म पचासी वर्षको भएको छु । 11 म अझै आजको दिनमा पनि मोशाले मलाई पठाउनुभएको दिनको जत्तिकै बलियो छु । युद्धको निम्ति अनि बाहिर भित्र गर्नको निम्ति मेरो सामर्थ्य अहिले पनि त्यस बेलाको जत्तिकै छ । 12 यसकारण, परमप्रभुले त्यस दिन प्रतिज्ञा गर्नुभएको यो पहडी देश मलाई दिनुहोस् । किनभने तपाईंले त्यस दिन सुन्‍नुभयो, कि त्यहाँ अनाकीहरू ठुला-ठुला किल्ला भएको सहरहरूमा थिए । सायद परमप्रभुले भन्‍नुभएझैँ उहाँ मसँग रहनुहुने छ र मैले उनीहरूलाई धपाउने छु ।" 13 त्यसपछि यहोशूले तिनलाई आशिष् दिए र यपून्‍नेका छोरा कालेबलाई हेब्रोन उत्तराधिकारको रूपमा दिए । 14 यसकारण, हेब्रोन आजको दिनसम्म पनि यपून्‍नेका छोरा कालेबको उत्तराधिकार भएको छ, किनभने तिनले इस्राएलका परमप्रभु परमेश्‍वरलाई पूर्ण रूपमा पछ्याए । 15 हेब्रोनको पहिलेको नाउँ किर्यत-अर्बा थियो । (अर्बा अनाकीमहरूमध्ये महान् मानिस थिए ।) त्यसपछि त्यो मुलुकले युद्धबाट विश्राम पायो ।

15

1 यहूदाका मानिसहरूको कुलको निम्ति कुल-कुलअनुसार भू-भागको भाग सूदूर दक्षिणतिरको चोसो हुँदै जीनको मरुभूमिसँगै एदोमको सिमानाको दक्षिणसम्म थियो । 2 दक्षिणतिरको सिमाना खारा समुद्रदेखि दक्षिणी मोहडाको खाडीसम्म जान्छ । 3 तिनीहरूको सिमाना अक्रब्बीमको डाँडाको दक्षिण हुँदै जीनतिर जान्थ्यो, र कादेश-बर्नेको दक्षिणतिर हेस्रोनसँगै अद्दारसम्म जान्थ्यो, जहाँ यो कर्कातिर घुमेको थियो । 4 यो अज्मोन हुँदै मिश्रको खोलासम्म र समुद्रको अन्तसम्म आयो । यो तिनीहरूको दक्षिणी सिमाना थियो । 5 पूर्वी सिमाना यर्दनको मुखमा खारा समुद्र थियो । उत्तरतिरको सिमाना यर्दनको मुखमा भएको समुद्रको खाडीबाट जान्थ्यो । 6 यो बेथ-अराबालाई छिचलेर बेथहोग्लातिर गयो । त्यसपछि यो रूबेनका छोरा बोहनको ढुङ्गातिर माथि जान्थ्यो । 7 त्यसपछि सिमाना आकोरको बेँसीबाट दबीरतिर माथि लाग्यो, र यस्तै उत्तरतिर, गिलगालतिर मोडिएर, जुन अदुममीमको डाँडाको सामुन्‍ने छ, जुन बेँसीको दक्षिणपट्टि छ । त्यो सिमाना एम-शेमेशको पानीका मूलहरू हुँदै एन-रिगेलतिर गयो । 8 अनि त्यो सिमाना यबूसी (त्यो भनेको यरूशलेम हो) सहरको दक्षिणतिरको बेन-हिन्‍नोमको बेँसीतिर माथि निस्क्यो । यो हिन्‍नोमको बेँसीमाथि पर्ने डाँडाको टुप्‍पोसम्म निस्क्यो, पश्‍चिममा, जुन रपाईको बेँसीको उत्ततिरको छेउमा छ । 9 त्यसपछि सिमाना नेप्‍तोहको पानीको मुहानतिरको डाँडाको चुचुरोदेखि, र त्यहाँबाट एप्रोन पहाडका सहरहरू निस्क्यो । 10 सिमाना बाला (किर्यत-यारीम हो) तिर मोडिन्छ । त्यसपछि सिमानाबालाको पश्‍चिमबाट सेइर पहाडसम्म घेरा लगायो, र उत्तरतिर यारीम पहाडको (यसलाई कसालोन भनिन्छ) छेउ हुँदै बेथ-शेमेशतिर ओरालो झरेर तिम्‍ना पार गर्‍यो । 11 सिमाना एक्रोनको उत्तरी डाँडाको किनारा निस्‍क्यो र यो शिक‍करोनतिर मोडिन्छ अनि बाला पहाड हुँदै, यो त्यहाँबाट यब्‍नेलतिर गयो । त्यो सिमाना समुद्रमा टुङ्गियो । 12 पश्‍चिमी सिमाना महासमुद्र र यसको किनारा थियो । यो यहूदा वंशको कुल-कुलअनुसारको सिमाना हो । 13 परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञामुताबिक यहोशूले यपून्‍नेका छोरा कालेबलाई किर्यत-अर्बा अर्थात् हेब्रोन (अर्बा अनाकका पिता थिए) यहूदाको कुलको माझ भू-भाग दिए । 14 कालेबले त्यहाँबाट तिन जना अनाकका छोरालाई धपाएः शेशै, अहीमान र तल्मै जो अनाकका सन्तानहरू थिए । 15 त्यहाँबाट तिनी दबीरका सन्तानहरूलाई (दबीरलाई किर्यत-सेपेर भनिन्थ्यो) आक्रमण गर्न गए । 16 कालेबले भने, "जुन मानिसले किर्यत-सेपेर आक्रमण गर्छ र यसलाई कब्जा गर्छ, त्यसलाई म मेरो छोरी अक्सालाई पत्‍नीको रूपमा दिने छु ।" 17 जब कालेबका भाइ कनजका छोरा ओत्‍निएलले यसलाई कब्जा गरे, कालेबले तिनलाई तिनकी छोरी अक्सा पत्‍नीको रूपमा दिए । 18 त्यपछि चाँडै अक्सा ओत्‍निएलकहाँ आइन् र उनले तिनलाई आफ्‍नो बुबासँग खेत माग्‍न आग्रह गरिन् । जब तिनी आफ्‍नो गधाबाट ओर्लिन्, कालेबले तिनलाई भने, "तिमी के चाहन्छ्यौ?" 19 अक्साले जवाफ दिइन्, "मलाई विशेष कृपा गर्नुहोस्, किनभने तपाईंले मलाई नेगेवको भू-भाग दिनुभएको छ, मलाई पानीका मुहानहरू पनि दिनुहोस् ।" अनि कालेबले तिनलाई पानीका माथिल्लो र तल्‍लो मुहानहरू दिए । 20 कुल-कुलअनुसार यहूदा वंशका उत्तराधिकार यही थियो । 21 यहूदा कुलको अधीनमा रहेका सुदूर दक्षिणका सहरहरू एदोमको सिमानातिर यी नै थिएः कब्सेल, एदेर, यागूर, 22 कीना, दीमोना, अदाद, 23 केदेश, हासोर, यित्‍नान, 24 जीप, तेलेम, बालोत, 25 हासोरहादत्ता, किर्योत-हेस्रोन (जुन हासोर हो), 26 अमाम, शेमा, मोलादा, 27 हसर-गद्दा, हेश्‍मोन, बेथ-पालेत, 28 हसर-शूआल, बेर्शेबा, बिज्योत्या । 29 बाला, ईम, एसेम, 30 एल्तोलद, कसील, होर्मा, 31 सिक्लग, मद्‌मन्‍न, सन्‍सन्‍ना, 32 लबाओत, शिल्हीम, ऐन, रिम्मोन । यिनीहरू तिनीहरूका गाउँहरूसहितका सब उनन्तिस सहर थिए । 33 पश्‍चिमतिरको तल्‍लो पहाडी देशमा, एश्‍तोल, सोरा, अश्‍ना, 34 जानोह, एनगन्‍नीम, तप्‍पूह, एनाम, 35 यर्मूत, अदूल्लाम, सोको, आजेका, 36 शारैम, अदीतैम, र गदेरा (अर्थात् गदेरोतेम)। यिनीहरू तिनीहरूका गाउँहरूसहित चौध सहर थिए । 37 सनान, हदाशा, मिग्‍दलाद, 38 दिलान, मिस्पा, योक्‍तेल, 39 लाकीश, बोस्कत, एग्लोन, 40 कोब्‍बन, लहमास, कितलीश, 41 गदेरोत, बेथ-दागोन, नामा, मक्‍केदा । यिनीहरू तिनीहरूका गाउँहरूसहित सोह्रवटा थिए । 42 लिब्‍ना, एतेर, आशान, 43 यिप्‍ताह, अश्‍ना, नसीब, 44 कीलाह, अक्जीब, मारेशा । यिनीहरूका गाउँहरूसहित नौवटा सहर थिए । 45 यसका वरिपरिका नगरहरू र गाउँहरूसहित एक्रोन; 46 एक्रोनदेखि महासमुद्रसम्म, तिनीहरूका गाउँहरूसहित अश्दोद नजिकका सबै बस्ती । 47 अश्‍दोद, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू, गाजा, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू; मिश्रको खोलासम्म, र यसको किनारासँगै महासमुद्रसम्म । 48 पहाडी देशमा, शामीर, यत्तीर, सोको, 49 दन्‍ना, किर्यत-सन्‍ना (अर्थात् दबीर), 50 अनाब, एश्तमोह, अनीम, 51 गोशेन, होलोन, गीलोह । यिनीहरू तिनीहरूका गाउँहरूसहितका एघार सहर थिए । 52 अरब, दुमा, एशान, 53 यानूम, बेथ-तप्‍पूह, अपेका, 54 हुम्ता, किर्यत-अर्बा (अर्थात् हेब्रोन), र सीओर । यिनीहरू तिनीहरूका गाउँहरूसहितका नौवटा नगर हुन् । 55 माओन, कर्मेल, जीप, युक्‍ता, 56 यिजरेल, योक्दाम, जानोह, 57 कैन, गिबा र तिम्‍ना । यिनीहरू तिनीहरूका गाउँहरूसहित दसवटा सहर थिए । 58 हलहूल, बेथ-सर, गदोर, 59 मारात, बेथ-अनोत र एल्तकोन । यिनीहरू तिनीहरूका गाउँहरूसहित छवटा सहर थिए । 60 किर्यत-बाल (अर्थात् किर्यत-यारीम), र रब्‍बा । यिनीहरू तिनीहरूका सहरहरूसहित दुईवटा सहर थिए । 61 मरुभूमिमा त्यहाँ बेथ-अराबा, मिद्दीन, सकाका, 62 निब्शान, नूनको सहर र एन-गदी थिए । यिनीहरू तिनीहरूका सहरहरूसहित छवटा सहर थिए । 63 तर यबूसीहरू अर्थात् यरूशलेमका बासिन्दाहरूको सवालमा यहूदाका कुलले तिनीहरूलाई धपाउन सकेनन्, त्यसैले आजको दिनसम्म पनि यबूसीहरू यहूदाको कुलको माझमा बस्छन् ।

16

1 योसेफको कुलको भू-भागको अंश यरीहोमा यर्दनबाट यरीहोको पानीका मुहानहरूको पूर्वतिर, मरुभूमितिर, बेथेलको पहाडी देश हुँदै यरीहोबाट माथि जान्छ । 2 त्यसपछि यो बेथेलबाट लूजतिर, अरकीको क्षेत्रतिर गयो । 3 त्यसपछि यो तल्‍लो बेथ-होरोनको क्षेत्रसम्मै यल्पेतीको क्षेत्रसम्म पश्‍चिमतिर झर्‍यो र गेजेरतिर गयो; यो समुद्रमा टुङ्गियो । 4 योसेफका कुल मनश्शे र एफ्राइमले तिनीहरूका उत्तराधिकार यसरी प्राप्‍त गरे । 5 कुल-कुलअनुसार एफ्राइमको कुलको क्षेत्रः तिनीहरूको भागको पूर्वतिरको सिमाना अतारोत-अद्दारबाट माथिल्‍लो बेथ-होरोनसम्म निस्क्यो, 6 र यो त्यहाँबाट सममुद्रसम्म पुग्यो । मिक्मतातबाट उत्तरतिर यो पूर्वतर्फ तानत-शीलोतिर मोडियो र यसभन्दा उता पूर्वतिर यानोह निस्क्यो । 7 त्यसपछि यो यानोहबाट अतारोतिर तल झर्‍यो, र यरीहो पुगेर यर्दनमा अन्त भयो । 8 तप्‍पूहबाट पश्‍चिमतिर कना खोलातिर समुद्रमा टुङ्गियो । यो कुल-कुलअनुसार एफ्राइमको कुलको भाग, 9 मनश्शेको कुलको उत्तराधिकारभित्र एफ्राइमको कुललाई चुनिएका सहरहरूसँगै तिनीहरूका गाउँहरूसहित सबै सहर थिए । 10 तिनीहरूले गेजेरमा बस्‍ने कनानीहरूलाई धपाएनन्, त्यसैले आजको दिनसम्म पनि एफ्राइमभित्र कनानीहरू बस्छन्, तर यी मानिसहरूलाई बेगारी काम गर्न लगाइएको थियो ।

17

1 यो मनश्शेको (जो योसेफका जेठा छोरा थिए) कुलको भूमिको भाग थियो, माकीरका निम्ति, जो जेठा छोरा थिए र तिनी गिलादका पिता थिए । माकीरका सन्तानहरूलाई गिलाद र बाशानको भू-भाग दिइयो, किनभने माकीर योद्धा थिए । 2 यो भू-भागलाई मनश्शेका बाँकी कुल अबीएजेर, हेलेक, अस्रीएल, शकेम, हेपेर, शमीदालाई तिनीहरूका कुलअनुसार दिइयो । 3 मनश्शेका छोरा माकीरका छोरा गिलादला छोरा हेपेरका छोरा सलोफादको कुनै छोरा थिएन, तर छोरीहरू मात्र थिए । तिनकी छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा थिए । 4 तिनीहरू पुजारी एलाजार, यहोशू र अगुवाहरूकहाँ आए र भने, "परमप्रभु परमेश्‍वरले हाम्रा दाजुभाइहरूसँगै उत्तराधिकार दिनू भनी आज्ञा गर्नुभएको थियो ।" त्यसैले, परमप्रभुको आज्ञाअनुसार, तिनले ती महिलाहरूलाई तिनीहरूका बुबाका दाजुभाइहरूमाझ उत्तराधिकार दिए । 5 गिलाद र बाशानमा मनश्शेलाई दस भाग जमिन दिइयो, जुन यर्दन पारिपट्टि छ, 6 किनभने मनश्शेका छोरीहरूले आफ्‍ना दाजुभाइहरूसँगै उत्तराधिकार पाए । गिलादको भू-भाग मनश्शेका बाँकी कुललाई दिइयो । 7 मनश्शेको क्षेत्र आसेरबाट मिक्मतातसम्म पुग्यो, जुन शकेमको पूर्वमा छ । त्यसको सिमाना तप्‍पूहको पानीको मुहान नजिक बसोबास गर्नेहरूकहाँसम्म दक्षिणतिर निस्क्यो । 8 (तप्‍पूहको भू-भाग मनश्शेको थियो, तर मनश्शेको सिमानामा पर्ने तप्पूहको नगर एफ्राइम कुलको थियो ।) 9 त्यो सिमाना कनाको खोलासम्मै तल गएर निस्क्यो । मनश्शेका नगरहरू माझका खोलाको दक्षिणतिरका यी सहरहरू एफ्राइमका थिए । मनश्शेको सिमाना खोलाको उत्तरतिर थियो र यो समुद्रमा टुङ्गिएको थियो । 10 दक्षिणतिरको भू-भाग एफ्राइमको थियो, र उत्तरतिरको भू-भाग मनश्शेको थियो; यसको सिमाना समुद्र थियो । उत्तरतिर आशेरसम्म र पूर्वतिर इस्साखारसम्म पुगेको थियो । 11 इस्साखार र आशेरमा पनि मनश्शेले बेथ-शान र यसका गाउँहरू, योबलाम र यसका गाउँहरू, डोरका बासिन्दाहरू र यसका गाउँहरू, एन्दोर र यसका गाउँहरू, तानाका बासिन्दाहरू र यसका गाउँहरू, मगिद्दोका बासिन्दाहरू र यसका गाउँहरू (र तेस्रो सहरचाहिँ नपेत हो) । 12 तैपनि मनश्शेको कुलले ती सहरहरू अधिकार गर्न सकेनन्, किनभने यस भू-भागमा कनानीहरू निरन्तर बस्दै रहे । 13 जब इस्राएलका मानिसहरू वृद्धि भए, तिनीहरूले कनानीहरूलाई बेगारी काममा लगाए, तर तिनीहरूलाई पूर्ण रूपमा धपाएनन् । 14 त्यसपछि योसेफका सन्तानहरूले यहोशूलाई यसो भने, "तपाईंले हामीलाई किन जमिन एक भाग र उत्तराधिकारको निम्ति एक अंश मात्र दिनुभएको, किनभने हामी धेरै सङ्ख्यामा भएका मानिसहरू हौँ र परमप्रभुले हामीलाई पर्याप्‍त आशिष् दिनुभएको छ?" 15 यहोशूले तिनीहरूलाई भने, "यदि तिमीहरू धेरै सङ्ख्यामा छौ भने, तिमीहरू जङ्गलतिर जाओ र परिज्‍जीहरू र रपाईहरूको भू-भागमा आफ्नो निम्ति फँडानी गर । यसो गर, किनभने एफ्राइमको पहाडी देश तिमीहरूको निम्ति साह्रै सानो छ ।" 16 योसेफका सन्तानहरूले भने, "पहाडी देश हामीलाई पर्याप्‍त हुँदैन । तर बेथ-शान र यसका गाउँहरू अनि यिजरेलको बेँसी दुवैमा बस्‍ने कनानीहरूसँग फलामका रथहरू छन् । 17 त्यपछि यहोशूले योसेफका घराना एफ्राइम र मनश्शेलाई भने, "तिमीहरू धेरै सङ्ख्यामा भएका मानिसहरू हौ र तिमीहरूसँग धेरै शक्ति छ । तिमीहरूसँग एक भाग मात्र हुनुहुँदैन । 18 पहाडी देश पनि तिमीहरूको नै हुने छ । तथापि यो जङ्गल हो, तिमीहरूले यसलाई फँडानी गर र यसलाई र यसका टाढा-टाढाको सिमानासम्म अधीन गर । तिमीहरूले कनानीहरूलाई धपाउने छौ, तथापि तिनीहरूसँग फलामका रथहरू छन् र तिनीहरू बलिया छन् ।"

18

1 त्यसपछि इस्राएलका मानिसको सारा सभा शीलोमा जम्‍मा भयो । तिनीहरूले त्यहाँ भेट हुने पाल खडा गरे र त्यो भूमि तिनीहरूको अधीनमा थियो । 2 इस्राएलका मानिसहरूमाझ अझै पनि सात कुल थिए जसलाई तिनीहरूका उत्तराधिकार दिइएको थिएन । 3 यहोशूले इस्राएलका मानिसहरूलाई भने, "परमप्रभु तिमीहरूका पुर्खाले तिमीहरूलाई दिनुभएको भू-भागमा जान तिमीहरूले कहिलेसम्म पछि सारिरहन्छौ? 4 हरेक कुलको निम्ति तिन-तिन जना मानिस चुन र म तिनीहरूलाई पठाउने छु । तिनीहरूले गएर भू-भागहरूको सबै कुराको सर्वेक्षण गर्ने छन् । तिनीहरूले यसको विवरण तिनीहरूको उत्तराधिकारको दृष्‍टिकोणबाट तयार पार्ने छन् र त्यसपछि तिनीहरू मकहाँ फर्केर आउने छन् । 5 तिनीहरूले यसलाई सात खण्डमा विभाजन गर्ने छन् । यहूदाको कुल दक्षिणतिर तिनीहरूकै क्षेत्रमा रहने छन् र योसेफको परिवार उत्तरतिर तिनीहरूकै क्षेत्रमा रहने छन् । 6 तिमीहरूले भूमिलाई सातवटा खण्डमा वर्णन गर्ने छौ र मकहाँ ल्याउने छौ । म परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने यहाँ चिट्ठा हाल्ने छु । 7 तिमीहरूका माझमा लेवीहरूको कुनै उत्तराधिकार छैन किनभने परमप्रभुको पुजारीको काम नै तिनीहरूको उत्तराधिकार हो । गाद, रूबेन र मनश्शेका आधा कुलले यर्दनपारि नै आफ्नो हिस्सा पाइसकेका छन् । यो उत्तराधिकार परमप्रभुका दास मोशाले नै तिनीहरूलाई दिएका हुन् ।" 8 त्यसैले मानिसहरू उठे र गए । भू-भागको विवरण लेख्‍न जाने मानिसहरूलाई यहोशूले यसो भन्‍दै आज्ञा दिए, "भूमिको सबैतिर जाओ, यसको विवरण लेख र मकहाँ आओ । म परमप्रभुको सामु यहाँ शीलोमा तिमीहरूको निम्ति चिट्ठा हाल्ने छु ।" 9 मानिसहरू उठे र भूमिको सबैतिर गएर हरेक भागमा सहरहरूको सूची बनाएर सातैवटै खण्डमा यसका सहरहरूको मुट्ठामा विवरण लेखे । अनि तिनीहरू शीलोमा यहोशूकहाँ छाउनीमा फर्के । 10 त्यसपछि यहोशूले परमप्रभुको सामु शीलोमा तिनीहरूका निम्ति चिट्ठा हाले । यहोशूले इस्राएलका मानिसहरूलाई यहाँ नै बाँडफाँड गरे र हरेकलाई आ-आफ्नो भाग दिइयो । 11 कुल-कुलअनुसार बेन्यामीनको कुलको निम्ति भूमिको भाग । तिनीहरूलाई दिइएको क्षेत्र यहूदाका सन्तानहरू र योसेफका सन्तानहरूको बिच अवस्थित थियो । 12 उत्तरतिर तिनीहरूको सिमाना यर्दनमा सुरु भयो । त्यो सिमाना यरीहोको उत्तरतिरको पर्वतशृङ्खला हुँदै माथि पश्‍चिमी पहाडी देशतिर लाग्यो । यो बेथ-आवनको मरुभूमिसम्म पुगेको थियो । 13 त्यहाँबाट सिमाना लूजको (अर्थात् बेथेल) दिशामा दक्षिणतिर लाग्यो । त्यसपछि सिमाना बेथ-होरोनको दक्षिणतिरको पहडा हुँदै अतारोत-अद्दारतिर झर्‍यो । 14 त्यसपछि सिमाना अर्कै दिशातिर मोडियोः पश्‍चिमपट्टि यो बेथ-होरोनबाट सामुन्‍नेतिरका पहाडतिर मोडियो । यो यहूदाको कुलको अधीनमा रहेको एउटा सहर किर्यत-बाल (अर्थात् किर्यत-यारीम) मा टुङ्गियो । यसले पश्‍चिमी सिमाना निर्माण गर्‍यो । 15 दक्षिणतिरको सिमाना किर्यत-यारीमको बाहिरबाट सुरु भयो । यो त्यहाँबाट एफ्रोनतिर, नेप्‍तोहको पानीका मुहानहरूतिर निस्‍क्यो । 16 त्यसपछि सिमाना पहाडको सिमातिर तल झर्‍यो, जुन बेनहिन्‍नोमको सामुन्‍ने थियो, जुन रपाईंको बेँसीको उत्तरी किनारामा थियो । यो त्यसपछि हिन्‍नोमको बेँसीतिर, यबूसीहरूको भिरको दक्षिण र एन-रोगेलतिर तल निरन्तर झर्‍यो । 17 यो शेमशतिर गएर उत्तरतिर मोडियो, र त्यहाँबाट यो गलीलोततिर निस्‍क्यो, जुन अदुम्‍मीमको उकालोको सामुन्‍ने थियो । त्यसपछि यो रूबेनको बोहनको ढुङ्गातिर झर्‍यो । 18 यो बेथ-अराबाको काँधतिर उत्तरतिर र अराबातिर तल आयो । 19 सिमाना बेथ-होग्‍लाको उत्तरतिर छिचोल्यो । त्यो सिमाना खारा समुद्रको उत्तरी खाडीमा, यर्दनको दक्षिणी किनारामा टुङ्गियो । यो दक्षिणतिरको सिमाना थियो । 20 पूर्वतिरको यसको सिमाना यर्दन नै भयो । यो बेन्यामीन कुलको उत्तराधिकार थियो, र यो कुल-कुलअनुसार, सिमाना-सिमाना गरेर वरिपरि दिइएको थियो । 21 बेन्यामीन कुलको कुल-कुलअनुसारका सहरहरू यी नै थिएः यरीहो, बेथ-होग्ला, एमेक-कसीस, 22 बेथ-अराबा, समारैम, बेथेल, 23 अब्बीम, पारा, ओप्रा, 24 कपर अमोनी, ओप्‍नी, र गेबा । तिनीहरूका सहरहरूसहित त्यहाँ बाह्रवटा सहर थिए । 25 त्यहाँ गिबोन, रामा, बेरोतका सहरहरू पनि थिए । 26 मिस्पा, कपीरा, मोशा, 27 रेकेम, यिर्पल, तरला, 28 सेलाह, एलेप, यबूस (यरूशलेमजस्तै), गिबा, र किर्यत । तिनीहरूका सहरहरूसहित त्यहाँ चौधवटा सहर थिए । यो बेन्यामीनको कुलको निम्ति तिनीहरूको उत्तराधिकार थियो ।

19

1 दोस्रो चिट्ठा कुल-कुलअनुसार शिमियोनको कुललाई पर्‍यो । तिनीहरूको भाग यहूदाको कुलको अधीन रहेको भागको बिचमा थियो । 2 तिनीहरूको उत्तराधिकारमा यी ठाउँहरू थिएः बेर्शेबा, शेबा, मोलादा, 3 हसर-शूआल, बाला, एसेम, 4 एल्तोलद, बतूल र होर्मा । 5 शिमियिनको भागमा यी पनि थिएः सिक्लग, बेथ-मर्काबोथ, हसर-सूसा, 6 बेथ-लबाओत, शारूहेन । 7 शिमियोनका यी पनि थिएः ऐन, रिम्‍मोन, एतेर र आशान । यिनीहरू तिनीहरूका सहरहरूसहित चारवटा सहर थिए । 8 बालात-बेअरसम्म (अर्थात् नेगेवको रामा) यी सहरहरू वरिपरिका तिनीहरूका गाउँहरूलगायत सँगै थिए । यो कुल-कुलअनुसार शिमियोनको कुलको उत्तराधिकार थियो । 9 शिमियोनको कुलको उत्तराधिकारले यहूदाको कुलको क्षेत्रको भाग निर्धारण गर्‍यो । किनभने यहूदाको कुललाई दिइएको भाग तिनीहरूका निम्ति धेरै ठुलो भय । शिमियोनको कुलले तिनीहरूका भागको बिचबाट तिनीहरूका उत्तराधिकार पायो । 10 कुल-कुलअनुसार तेस्रो चिट्ठा जबूलूनको कुललाई पर्‍यो । तिनीहरूको उत्तराधिकारको सिमाना सारीदमा सुरु भयो । 11 तिनीहरूको सिमाना पश्‍चिमतिर मरलासम्म र दब्‍बेशेतलाई छोयो; त्यसपछि यो योक्‍नामको सामुन्‍नेको खोलासम्म फैलिएको थियो । 12 सारीदबाट सिमाना पूर्वतिर मोडियो र किस्लोथतबोरको सिमानासम्म छोयो । त्यहाँबाट दाबरतसम्म र यापीसम्म छोयो । 13 त्यहाँबाट यो पूर्वतिर छिचोलेर गात-हेपेर र इथ-कासीनसम्म पुग्यो; त्यसपछि यो रिम्‍मोनसम्म पुग्यो र नेआतिर मोडियो । 14 सिमानाले हन्‍नतोनतिर उत्तरतिर मोड लियो र यिप्‍ताहएलको बेँसीमा टुङ्गियो । 15 यो प्रदेशमा यी सहरहरू परेः काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथेलेहेम । तिनीहरूका गाउँहरूसहित बाह्रवटा सहर थिए । 16 यी सहरहरूलगायत तिनीहरूका गाउँहरूसहित कुल-कुलअनुसार यो जबूलूनको कुलको उत्तराधिकार थियो । 17 चौथो चिट्ठा कुल-कुलअनुसार इस्साखारको कुलको पर्‍यो । 18 तिनीहरूका क्षेत्रमा यी परेः यिजरेल, कसुल्लोत, शूनेम, 19 हपरैम, शीओन र अनाहारत । 20 यसमा रब्बीत, किश्‍योन, एबेस, 21 रेमेथ, एन-गन्‍नीम, एन-हद्दा र बेथ-पसेस पर्छन् । 22 तिनीहरूका सिमानाले तबोर, शहसूमा र बेथ-शेमेश छोयो र यर्दनमा अन्त भयो । तिनीहरूका गाउँहरूसहित सोह्रवटा सहर थिए । 23 तिनीहरूका गाउँहरूसहित तिनीहरूको कुलअनुसार यो इस्साखारको उत्तराधिकार थियो । 24 पाँचौँ चिट्ठा कुल-कुलअनुसार आशेरको कुलमा पर्‍यो । 25 तिनीहरूको सिमानामा हेल्कत, हली, बेतेन, अक्षाप, 26 अल्लम्मेलेक, अमाद र मिशाल पर्थे । पश्‍चिमतिरको सिमाना कार्मेल र शीहोरलिब्‍नातसम्म फैलिएको थियो । 27 त्यसपछि यो पूर्वतिर बेथ-दागोनतिर र जबूलूनतिर लाग्यो र यिप्‍ताह-एलको बेँसीसम्म, उत्तरतिर बेथ-एमेक र नीएलसम्म पुग्यो । यो उत्तरतिर काबूलसम्म गयो । 28 यो एब्रोन, रहोब, हम्मोन र कनासाथै महा-सीदोनसम्म पुग्यो । 29 सिमाना रामातिर र टुरोसको किल्ला भएको सहरतिर मोडियो । त्यसपछि सिमाना होसातिर मोडियो र अक्जीबको प्रदेशमा, 30 उम्मा, अपेक र रहोब समुद्रमा टुङ्गियो । तिनीहरूका गाउँहरूसहित बाइसवटा सहर थिए । 31 तिनीहरूको गाउँलगायत सहरहरू यो कुल-कुलअनुसार आशेरको कुलको उत्तराधिकार थियो । 32 छैठौँ चिट्ठा कुल-कुलअनुसार नप्‍तालीको कुललाई पर्‍यो । 33 तिनीहरूको सिमाना हेलेपबाट, सानन्‍नीमको अग्राठको रुखबाट अदामी-नेकेब, याब्‍नेल र लक्‍कूमसम्म पुग्यो; यो यर्दनमा अन्त भयो । 34 सिमाना पश्‍चिमपट्टि अज्नोथ-तबोरतिर मोडियो र हक्‍कोकतिर लाग्यो; यसले दक्षिणमा जबूलूनलाई छोयो र पश्‍चिममा आशेरलाई र पूर्वमा यहूदालाई यर्दन नदीमा भेट्टायो । 35 यिनीहरू किल्ला भएका सहरहरू थिएः सिद्दीम, सेर, हम्मत, रक्‍कत, किन्‍नरेत, 36 अदामा, रामा, हासोर, 37 केदेश, एद्रेई, एन-हासोर । 38 यिरोन, मिग्दलएल, होरेम, बेथ-अनात बेथ-शेमेश थिए । तिनीहरूका गाउँहरूसहित उन्‍नाइसवटा सहर थिए । 39 तिनीहरूका गाउँहरूसहित सहरहरू यो कुल-कुलअनुसार यो नप्‍तालीको उत्तराधिकार थियो । 40 सातौँ चिट्ठा कुल-कुलअनुसार दानको कुललाई पर्‍यो । 41 यसको उत्तराधिकारको क्षेत्रमा सोरा, एश्‍तोल, इर-शेमेश, 42 शालवीन, अय्यालोन, इत्ला पर्थे । 43 यसमा एलोन, तिम्‍ना, एक्रोन, 44 एल्तके, गिब्‍बतोन, बालात, 45 यहूद, बने-बरक, गात-रिम्‍मोन, 46 मे-यरकोन र योप्पापारिको क्षेत्रसँगै रक्‍कोन पर्थ्यो । 47 जब दानको कुल आफैमा हरायो, दानले लेशेमलाई आक्रमण गर्‍यो, यसविरुद्ध लड्यो, र तरवारले प्रहार गरेर यसलाई कब्जा गर्‍यो; यसलाई अधीन गरेर यसमा बसोबास गर्‍यो । तिनीहरूले लेशेमलाई आफ्नो पुर्खाको नाउँअनुसार यसको नाउँ राखे । 48 कुल-कुलअनुसार तिनीहरूको गाउँहरूसहितको सहरहरू यो दानको कुलको उत्तराधिकारको थियो । 49 जब इस्राएलका मानिसहरूले भूमिको बाँडफाँड गर्न सिद्ध्यायो, तिनीहरूले नूनका छोरा यहोशूलाई तिनीहरू माझमा एउटा भाग दिए । 50 परमप्रभुको आज्ञाद्वारा तिनले मागेका, तिनीहरूले तिनलाई एफ्राइमको पहाडी देशको तिम्‍नथ-सेरह दिए । तिनले त्यो सहरको पुनर्निर्माण गरे र त्यहाँ बसे । 51 भेट हुने पालको प्रवेशद्वारमा पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूको कुलहरूका अगुवाहरूले शीलोमा परमप्रभुको सामु चिट्ठा हालेर बाँडेका उत्तराधिकार यिनीहरू नै हुन् । यसरी तिनीहरूले भू-भाग बाँड्न सिद्ध्याए ।

20

1 त्यसपछि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, 2 "इस्राएलका मानिसहरूलाई यसो भन्, 'मैले मोशाद्वारा तिमीहरूलाई भनेजस्तै शरण-नगरहरू चुन । 3 यसो गर ताकि जसले मानिसलाई अनजानमा मार्छ त्यो व्यक्‍ति त्यहाँ जान सक्छ । यी सहरहरू मारिएको व्य‍क्‍तिको रगतको बदला लिन खोज्‍नेबाट शरण-स्थान हुने छ । 4 त्यो ती सहरहरूमध्ये एउटामा भागेर जाने छ, सहरको प्रवेशद्वारमा खडा हुने छ र त्यस सहरका धर्म-गुरुहरूलाई त्यसका सबै कुरा बताउने छ । त्यसपछि तिनीहरूले त्यसलाई सहरभित्र लाने छन् र त्यसलाई तिनीहरूमाझ बस्‍नलाई ठाउँ दिने छन् । 5 यदि कोही मारिएको व्यक्‍तिको बदला लिन आउँछ भने, त्यस सहरका मानिसहरूले मार्ने व्यक्‍तिलाई अधिकारीहरूको हातमा सुम्‍पनुहुँदैन । तिनीहरूले यसो गर्नुहुँदैन, किनभने त्यसले आफ्नो छिमेकीलाई अनजानमा मार्‍यो, र विगतमा तिनको उनीसँग कुनै दुश्मनी थिएन । 6 सहरमा न्यायको सभाको सामु खडा नभएसम्म ती दिनमा प्रधान पुजारीको सेवा गरिरहेका व्यक्‍तिको मृत्यु नभएसम्म त्यो व्यक्ति त्यस सहरमा रहनुपर्छ । त्यसपछि दुर्घटनावश मानिसलाई मार्ने व्यक्‍ति आफ्नो घर र आफ्नो सहरमा फर्कन सक्छ, जहाँबाट त्यो भागेको थियो' ।" 7 त्यसैले इस्राएलीहरूले नप्‍तलीको पहाडी देशमा गालीलको केदेश, एफ्राइमको पहाडी देशमा शकेम, र यहूदाको पहाडी देशमा किर्यत-अर्बा (जुन हेब्रोन हो) छाने । 8 यर्दनको पूर्वपट्टि, तिनीहरूले रूबेनको कुलबाट उच्‍च-स्थानमाथिको मरुभूमिमा बेसेर; गादको कुलबाट रामो गिलाद; र मनश्शेको कुलबाट बाशाको गोलान चुने । 9 इस्राएलका मानिसहरू र तिनीहरूमाझ बसोबास गरेका परदेशीहरूका निम्ति चुनेका सहरहरू यिनै हुन्, ताकि अनजानमा मानिसलाई मार्ने व्यक्‍ति सुरक्षाको निम्ति त्यहाँ भागोस् । यो व्यक्‍ति सभाको सामु पहिले न्यायको निम्ति खडा नभई त्यो व्यक्‍ति बगाइएको रगतको बदला लिन चाहनेको हातबाट नमरोस् ।

21

1 त्यसपछि लेवी कुलका कुलनायकहरू पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूभित्रका तिनीहरूका पुर्खाहरूको परिवारहरूका अगुवाहरूकहाँ आए । 2 तिनीहरूले कनानको भूमिमा शीलोमा तिनीहरूलाई भने, "परमप्रभुले मोशाद्वारा हाम्रा गाईवस्तुहरूका निम्ति खर्कसहितका बसोबास गर्न हामीलाई सहरहरू दिन आज्ञा गर्नुभएको थियो ।" 3 त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञाद्वारा लेवीहरूलाई तिनीहरूका खर्कहरूसहित तिनीहरूको उत्तराधिकारबाट निम्‍न सहरहरू दिए । 4 कहातीहरूका निम्ति हालेको चिट्ठाको परिणाम यस्तो आयोः लेवीबाट जन्‍मेका हारूनका सन्तानहरू, पुजारीहरूले यहूदाको कुलबाट, शिमियोनका कुलबाट र बेन्यामीनको कुलबाट दिइएका तेह्रवटा सहर पाए । 5 बाँकी कहातीहरूलाई एफ्राइम, दान र मनश्शेको आधा कुलबाट दश सहर दिइयो । 6 त्यसपछि गेर्शोनबाट जन्मेका मानिसहरूलाई चिट्ठाद्वारा इस्साखार, आशेर, नप्‍तली र बाशानमा मनश्शेको आधा कुलबाट तेह्रवटा सहर दिइयो । 7 मरारीका सन्तानहरूका कुल-कुलअनुसार रूबेन, गाद र जबूलूनको कुलबाट बाह्रवटा सहर पाए । 8 त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुले मोशाद्वारा आज्ञा दिनुभएमुताबिक लेवीहरूलाई यी सहरहरू (तिनीहरूका खर्कहरूसहित) चिट्ठा हालेर दिए । 9 यहूदा र शिमियोनका कुलहरूबाट तिनीहरूले यहाँ नाउँद्वारा सूची बनाएअनुसार दिए । 10 यी सहरहरू हारूनका सन्तानहरूलाई दिइयो, जो कहाती कुलका थिए र लेवी वंशबाटका थिए । किनभने पहिले हालेको चिट्ठा तिनीहरूलाई पर्‍यो । 11 इस्राएलीहरूलाई किर्यत-अर्बा (अर्बा अनाका पिता थिए) अर्थात् जुन हेब्रोन हो यहूदाको पहाडी देशमा यसका खर्कहरूसहित तिनीहरूलाई दिए । 12 तर तिनीहरूका गाउँहरूसहित सहरका खेतहरू यपुन्‍नेका छोरा कालेबलाई पहिले नै तिनको अधिकारको रूपमा दिइएको थियो । 13 तिनीहरूले पुजारी हारूनका सन्तानहरूलाई यसका खर्कहरूसहित हेब्रोन, जुन अरूलाई अनजानमा मार्ने मानिसको निम्ति शरण-नगर थियो, र यसको खर्कसहित लिब्‍ना, 14 यसको खर्कसहित यत्तीर, र यसको खर्कसहित एश्तमो दिए । 15 तिनीहरूले यसको खर्कसहित होलोन, यसको खर्कसहित दबीर, 16 यसको खर्कसहित ऐन, यसको खर्कसहित युत्ता र यसको खर्कसहित बेथ-शेमेश दिए । यी दुई कुलबाट दिइएका नौवटा सहर थिए । 17 बेन्यामीनको कुलबाट यसको खर्कसहित गिबोन, यसको खर्कसहित गेबा, 18 यसको खर्कसहित अनातोत, र यसको खर्कसहित चारवटा सहर दिइयो । 19 हारूनका सन्तानहरू, पुजारीहरूलाई दिइएका सहरहरू तिनीहरूका खर्कहरूसहित तेह्रवटा थिए । 20 बाँकी कहातीहरू जो लेवी कुलको कहाती थिए, तिनीहरूले चिट्ठा हालेर एफ्राइमको कुलबाट तिनीहरूलाई दिएका थिए । 21 तिनीहरू कसैलाई अनजानमा मानिस मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको निम्ति एफ्राइमको पहाडी देशमा यसको खर्कसहित शकेम, गेजेर, 22 यसको खर्कसहित किब्सैम र यसको खर्कसहित बेथ-होरोन गरी चाटवटा सहर दिइयो । 23 दानको कुलबाट कहातको कुललाई यसको खर्कसहित एल्तके, यसको खर्कसहित गिब्‍बतोन, 24 यसको खर्कसहित अय्यालोन र यसको खर्कसहित गात-रिम्मोन गरी चारवटा सहर दिइयो । 25 मनश्शेको कुलबाट कहातको कुललाई यसको खर्कसहित तानाक र यसको खर्कसहित गात-रिम्‍मोन गरी दुईवटा सहर दिइयो । 26 तिनीहरूका खर्कसहित बाँकी कहाती कुलका निम्ति दसवटा सहर थिए । 27 मनश्शेको आधा कुलबाट अन्य लेवी कुल अर्थात् गेर्शोनको कुललाई तिनीहरूले यसको खर्कसहित गोलान अनजानमा मानिसलाई मार्ने व्यक्‍तिको निम्ति शरण-नगर हुनलाई साथै यसको खर्कसहित बे-एश्तरा गरी दुईवटा दिए । 28 गेर्सोनका कुललाई तिनीहरूले इस्साखारको कुलबाट यसको खर्कसहित किश्योन, यसको खर्कसहित दाबरत, 29 यसको खर्कसहित यर्मूत र यसको खर्कसहित एन-गन्‍नीम गरी चारवटा सहर दिए । 30 आशेरको कुलबाट तिनीहरूले यसको खर्कसहित मिशाल, यसको खर्कसहित अब्दोन, 31 यसको खर्कसहित हल्केत र यसको खर्कसहित रहोब गरी चाटवटा सहर दिए । 32 नप्‍तलीको कुलबाट, तिनीहरूले गेर्शोनको कुललाई यसको खर्कसहित गालीलमा केदेश, कसैलाई अनजानमा मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको रूपमा; यसको खर्कसहित हम्मोत-डोर र यसको खर्कसहित कर्तान गरी जम्मा तिनवटा सहर दिए । 33 गेर्शोनको कुलबाट तिनीहरूका खर्कसहित जम्मा तेह्रवटा सहर थिए । 34 बाँकी लेवीहरू माकीरको कुललाई जबूलूनको कुलबाट यी सहरहरू दिइयोः यसको खर्कसहित योक्‍नाम, यसको खर्कसहित कर्तह, 35 यसको खर्कसहित दिम्‍ना र यसको खर्कसहित नहलल गरी जम्मा चारवटा सहर दिइयो । 36 मरारीको कुललाई यी सहरहरू दिइयोः यसको खर्कसहित बेसेर, 37 यसको खर्कसहित यहसा, यसको खर्कसहित कदेमोत, र यसको खर्कसहित मेपात गरी चारवटा सहर । 38 गादको कुलबाट तिनीहरूले यसको खर्कसहित गिलादमा रामोतलाई अरूलाई अनजानमा मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको रूपमा, र यसको खर्कसहित महनोम दिए । 39 मरारीका कुललाई यसको खर्कसहित हेश्बोन र यसको खर्कसहित याजेर पनि दिइयो । यी चारवटा सहर थिए । 40 यी सबै सहर मरारी कुलका थिए जो लेवी कुलबाटका थिए, तिनीहरूलाई चिट्ठा हालेर बाह्रवटा सहर दिइयो । 41 लेवीका सहरहरू इस्राएलका मानिसहरूको अधीनमा रहेको भू-भागको बिचबाट लिइएका सहरहरू तिनीहरूका खर्कसहित अठचालिसवटा थिए । 42 यी हरेक सहरको आ-आफ्नै खर्कहरू थिए । सबै सहरको यस्तै नै थियो । 43 यसरी परमप्रभुले इस्राएलका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको सबै भू-भाग दिनुभयो । इस्राएलीहरूले यो कब्जा गरे र त्यहाँ बसोबास गरे । 44 त्यसपछि परमप्रभु तिनीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएबमोजिम नै तिनीहरूलाई चारैतिर विश्राम दिनुभयो । तिनीहरूका एक जना शत्रुले पनि तिनीहरूलाई पराजित गर्न सकेन । परमप्रभुले तिनीहरूका सबै शत्रुलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो । 45 परमप्रभुले इस्राएलको घरानालाई भन्‍नुभएका सबै असल प्रतिज्ञाहरूमध्ये एउटा पनि सत्य हुन आउनबाट चुकेन । ती सबै नै पुरा हुन आए ।

22

1 त्यस बेला यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई बोलाए । 2 तिनले तिनीहरूलाई भने, "तिमीहरूले परमप्रभु परमेश्‍वरका दास मोशाले आज्ञा गरेका सबै गरेका छौ । तिमीहरूले मैले आज्ञा गरेका सबै कुरामा मेरो आज्ञा पालन गरेका छौ । 3 तिमीहरूले वर्तमानसम्म यति धेरै दिनसम्म पनि आफ्ना दाजुभाइहरूलाई छाडेका छैनौ, र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाअनुसार आवश्यक कर्तव्यहरू पुरा गरेका छौ । 4 अहिले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूका दाजुभाइहरूलाई विश्राम दिनुभएको छ । यसकारण, फर्क र तिमीहरूको आफ्नै भूमिमा जाओ, जुन परमप्रभुका दास मोशाले यर्दन पारिपट्टि तिमीहरूलाई दिएका छन् । 5 परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएका आज्ञाहरू र व्यवस्था पालन गर्न, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न, उहाँका सबै आज्ञा पालन गर्न, उहाँमा नै रहिरहन र तिमीहरूका सारा ह्रदय र सारा प्राणले उहाँको आराधना गर्नमा होसियार होओ ।" 6 त्यसैले यहोशूले तिनीहरूलाई आशिष् दिएर पठाए, र तिनीहरू आफ्ना पालहरूतिर गए । 7 मनश्शेको आधा कुललाई मोशाले बाशानमा नै उत्तराधिकार दिएका थिए, तर बाँकी आधा कुललाई तिनीहरूका दाजुभाइको छेउमा यर्दनको पश्‍चिमपट्टि दिए । यहोशूले तिनीहरूलाई आ-आफ्ना पालहरूमा पठाए; तिनले तिनीहरूलाई आशिष् दिए 8 र तिनीहरूलाई भने, "धेरै रुपियाँ-पैसा र सुन, चाँदी, काँसा र फलामसहित धेरै लत्ताकपडासहित तिमीहरूका पालहरूमा फर्क । तिमीहरूका शत्रुहरूबाट लिएका लूटका मालहरू तिमीहरूका दाजुभाइहरूसँग बाँड । 9 त्यसैले रूबेनका सन्तानहरू, गादका सन्तानहरू र मनश्शेका आधा कुल इस्राएलका मानिसहरूलाई शीलोमा छोडेर घरतिर फर्के, जुन कनानको भूमि हो । तिनीहरू आफ्नै भू-भाग गिलादको प्रदेशमा जानलाई हिँडे, जुन तिनीहरूले मोशाद्वारा परमप्रभुको आज्ञा पालनमा आफैले स्वामित्वमा लिएका थिए । 10 जब तिनीहरू कनानको भूमि यर्दनमा आए, रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूले यर्दन नजिकै निकै ठुलो र सजिलै देखिने वेदी बनाए । 11 इस्राएलका मानिसहरूले यो सुने र भने, "हेर, रूबेन, गाद र मनश्शेका आधा कुलका मानिसहरूले इस्राएलका मानिसहरूको अधीनमा पर्ने यर्दन नजिकको प्रदेशको गलिलोथको कनानको भूमिको सामुन्‍ने वेदी निर्माण गरेका छन् ।" 12 जब इस्राएलका मानिसहरूले यो कुरा सुने, इस्राएलका मानिसको सारा भेला तिनीहरू विरुद्ध युद्ध गर्न जान शीलोमा जान सँगै भेला भए । 13 त्यसपछि इस्राएलका मानिसहरूले गिलादको भूमिमा रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलकहाँ समाचारवाहकहरू पठाए । तिनीहरूले एलाजारका छोरा पुजारी पीनहास, 14 र इस्राएलको हरेक कुलबाट एक-एक जना गरी दस जना अगुवालाई तिनीसँगै पठाए र तिनीहरू सबै इस्राएलको कुलका परिवारको प्रमुख थिए । 15 तिनीहरू गिलादको मुलुकमा रूबेन, गाद र मनश्शेको आधा कुलकहाँ आए र तिनीहरूले तिनीहरूलाई भने, 16 "परमप्रभुका सारा समुदाय यसो भन्छ, 'परमप्रभुको विरुद्धमा आजको दिन आफ्‍नो निम्ति वेदी निर्माण गरेर परमप्रभुलाई पछ्याउनबाट तर्किएर इस्राएलका परमेश्‍वरको विरुद्ध तिमीहरूले कस्तो बेइमानी गरेको? 17 के पोरको हाम्रो पाप पर्याप्‍त थिएन? तैपनि हामीले आफूलाई यसबाट अझै शुद्ध पारेका छैनौँ । त्यो पापको निम्ति परमप्रभुको समुदायमा विपत्ति आइपर्‍यो । 18 के तिमीहरू पनि अहिले नै परमप्रभुलाई पछ्याउनबाट तर्किनुपर्छ? यदि तिमीहरूले आज उहाँको विरुद्ध विद्रोह गर्‍यौ भने, उहाँ भोलि हामी इस्राएलको सबै समुदायसँग रिसाउनुहुने छ । 19 यदि तिमीहरूको अधीनमा भएको भूमि अशुद्ध छ भने, तिमीहरू परमप्रभुको पवित्र वासस्थान खडा भएको भूमिमा नै तरेर आउनुपर्छ र हाम्रो माझमा नै भाग लिन आउनुपर्छ । परमप्रभुको विरुद्ध विद्रोह मात्र नगर, न त परमप्रभुको वेदीबाहेक अन्य वेदी निर्माण गरेर हाम्रो विरुद्धमा विद्रोह गर । 20 के परमेश्‍वरलाई सुम्पेका थोकहरूको विषयमा जेरहको छोरो आकानले विश्‍वास तोडेनन्? के सबै इस्राएलका मानिसमाथि क्रोध परेन? त्यसको पापको निम्ति आफू मात्रै मरेन' ।" 21 त्यसपछि रूबेन, गाद, र मनश्शेका आधा कुलले इस्राएलका कुलका प्रमुखहरूलाई जवाफ दिए, 22 "हे सर्वशक्‍तिमान्, परमप्रभु परमेश्‍वर सर्वशक्‍तिमान्, हे परमप्रभु परमेश्‍वर ! उहाँ जान्‍नुहुन्छ, इस्राएलले जानोस् ! यदि यो विद्रोह वा विश्‍वास तोड्नलाई परमप्रभुको विरुद्धमा थियो भने, 23 परमप्रभुलाई पछ्याउनबाट आफै तर्कन यो वेदी बनाएका हौँ भने आज हामीलाई नछोड्नुहोस् । 24 यदि हामीले यो वेदी होमबलि, अन्‍नबलि वा मेलबलि चढाउनलाई निर्माण गरेका हौँ भने, परमप्रभुले हामीलाई यसको निम्ति मूल्य चुकाउन लगाउनुभएको होस् । होइन! हामीले आउँदो दिनमा तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई यसो भन्‍लान् भन्‍ने डरले हामीले यसो गर्‍यौँ, 'परमप्रभु इस्राएलका परमेश्‍वरसँग तिमीहरूको के सरोकार? 25 किनभने परमप्रभुले तिमीहरू र हामीबिच यर्दनलाई सिमान बनाउनुभएको छ । तिमीहरू रूबेन र गादका मानिसहरू, तिमीहरूको परमप्रभुसँग कुनै सरोकार छैन ।' 26 त्यसैले तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई परमप्रभुको आराधना गर्न छोड्न लगाउन सक्छन् । त्यसैले हामीले भन्यौ, 'एउटा वेदी बनाऔँ, न त कुनै होमबलि न त कुनै बलिदानको निम्ति, 27 तर हामीपछिका हाम्रा पुस्ताहरूका निम्ति हामीहरू र तिमीहरूबिच साक्षी हुनलाई, ताकि हामीले हाम्रा होमबलिहरू र हाम्रा मेलबलिसहित हामीले परमप्रभुको सेवा गर्न सकौँ, ताकि तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई, "परमप्रभुमा तिमीहरूको कुनै हिस्सा छैन" भनी आउँदो समयमा कहिल्यै नभनून् ।' 28 त्यसैले हामीले भन्यौँ, 'यदि भविष्यमा हामीलाई वा हाम्रा सन्तानहरूलाई यसो भनिएमा, हामीले भन्‍नेथियौँ, "हेर, यो वेदीको प्रतिरूप, जुन हाम्रा पुर्खाहरूले न त होमबलि, न त बलिदानहरूको निम्ति, तर हामीहरू र तिमीहरू बिच गवाही हुनको निम्ति बनाए ।" 29 हामी आज परमप्रभुको पवित्र वासस्थान सामु रहेको हाम्रो परमप्रभु परमेश्‍वरको वेदीभन्दा अर्को वेदी होमबलि वा अन्‍नबलि वा बलिदानको निम्ति निर्माण गरेर उहाँलाई पछ्याउन छोडेर परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कुरा हामीबाट दूर होस्' ।" 30 जब पुजारी पीनहास र मानिसहरूका अगुवाहरू अर्थात् तिनीसँग भएका इस्राएलका कुलहरूका प्रमुखहरूले रूबेन, गाद र मनश्शेका मानिसहरूको कुरा सुने । यो तिनीहरूलाई नजरमा असल लाग्यो । 31 एलाजारका छोरा पुजारी पीनहासले रूबेन, गाद र मनश्शेका मानिसहरूलाई भने, "आज परमप्रभु हाम्रा माझमा हुनुहुन्छ भनी हामीले थाहा पायौँ, किनभने तिमीहरूले यो उहाँको विरुद्धमा विश्‍वासलाई तोडेका छैनौ । अहिले तिमीहरूले इस्राएलका मानिसरूलाई परमप्रभुको हातबाट छुटकारा दिएका छौ ।" 32 त्यसपछि एलाजारका छोरा पीनहास र अगुवाहरू रूबेनीहरू, गादीहरूको गिलादको मुलुकबाट कनानको भू-भागमा इस्राएलका मानिसहरूकहाँ फर्के र तिनीहरूलाई यो समाचार ल्याए । तिनीहरूको प्रतिवेदन इस्राएलका मानिसहरूको नजरमा असल थियो । 33 इस्राएलका मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे र रूबेनी र गादीहरूलाई तिनीहरू बसोबास गरेका ठाउँबाट नष्‍ट पार्नलाई तिनीहरूको विरुद्धमा युद्ध गर्नेबारे कुनै कुरा गरेनन् । 34 रूबेनीहरू र गादीहरूले त्यो वेदीलाई "साक्षी" नाउँ राखे, किनभने तिनीहरूले भने, "यो हामी र परमप्रभु नै परमेश्‍वर हुनुहन्छ भन्‍ने बिच साक्षी छ ।"

23

1 परमप्रभुले तिनीहरूको वरिपरि भएका तिनीहरूका सबै शत्रुबाट विश्राम दिनुभएको धेरै समयपछि यहोशू वृद्ध भइसकेका थिए । 2 यहोशूले इस्राएलका धर्म-गुरुहरू, अगुवाहरू, न्यायकर्ताहरू सबैलाई बोलाए र तिनीहरूलाई भने, "म निकै वृद्ध भइसकेको छु । 3 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका खातिर यी सबै जातिलाई गर्नुभएका सबै कुरा तिमीहरूले देखेका छौ, किनभने तिमीहरूका निम्ति लड्नुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुनुहुन्छ । 4 हेर, मैले तिमीहरूलाई पश्‍चिममा यर्दनदेखि महासमुद्रसम्म पहिले नै नष्‍ट पारेका जातिहरूका साथै तिमीहरूका कुलहरूका निम्ति उत्तराधिकारको रूपमा हुन विजय हासिल गर्न बाँकी रहेका जातिहरू तिमीहरूलाई दिएको छु । 5 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई धपाउनुहुने छ । उहाँले तिनीहरूलाई तिमीहरूका खातिर फ्याँक्‍नुहुने छ । उहाँले तिनीहरूको भू-भाग कब्जा गर्नुहुने छ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको भूमि अधीन गर्ने छौ । 6 त्यसैले निकै बलियो होओ, ताकि मोशाको व्यवस्थाबाट न त दहिने न त देब्रेतिर नलागी सबै पालन गर । 7 त्यसैले तिमीहरू तिमीहरूका माझमा रहेका जातिहरूसँग नमिसिओ वा तिनीहरूका देवताहरूको नाउँ उच्‍चारण नगर, तिनीहरूको शपथ नखाओ, तिनीहरूको आराधना नगर वा तिनीहरूलाई दण्डवत् नगर । 8 बरु, तिमीहरूले आजको दिनसम्म गरेझैँ तिमीहरूका परमप्रभु परमश्‍वरमा नै रहिरहो । 9 किनभने परमप्रभुले ठुलो र बलियो जातिहरूलाई तिमीहरूको सामु धपाउनुभएको छ, आजको दिनसम्म कोही तिमीहरूको सामु खडा हुन सकेको छैन । 10 तिमीहरूमध्ये एक जनाले हजार जनालाई भगाउनेछ, किनभने तिमीहरूका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ उहाँ तिमीहरूका निम्ति लड्नुहुने छ । 11 विशेष ध्यान देऊ, ताकि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर 12 तर यदि तिमीहरू तिमीहरूमाझ बाँकी रहेका यी जातिहरूसँग लाग्यौ र पछि हट्यौ भने वा यदि तिमीहरूले तिनीहरूसँग अन्तर-जातीय विवाह गर्‍यौ भने वा यदि तिमीहरू उनीहरूसँगै आयौ र उनीहरू तिमीहरूसँग सबै आए भने, 13 यो जान कि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू माझबाट यी जातिहरूलाई धपाउनुहुने छैन । बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरू नष्‍ट नभएसम्म उनीहरू तिमीहरूका निम्ति पासो र जाल अनि तिमीहरूका पीठमा कोर्रा, तिमीहरूका आँखाका कसिङ्गर हुने छन् । 14 म सबै पृथ्वीको मार्गमा जाँदै छु, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको बारेमा प्रतिज्ञा गर्नुभएको कुनै पनि असल कुरा सत्य साबित हुन एक शब्द पनि चुकेको छैन भनी तिमीहरूले आफ्नो सारा ह्रदय र आफ्नो सारा प्राणले जान्दछौ । यी सबै कुरा तिमीहरूका निम्ति पुरा भएका छन् । तिनमा एउटै पनि चुकेको छैन । 15 तर जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएका सबै वचन पुरा भएको छ, त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरूलाई नष्‍ट नगरेसम्म परमप्रभुले तिमीहरूमाथि सबै खराबी ल्याउनुहुने छ । 16 यदि तिमीहरूले पालन गर्न तिमीहरूलाई उहाँले आज्ञा गर्नुभएको परमप्रभु तिमीहरूका परमेश्‍वरको करार तोड्यौ भने, उहाँले यो गर्नुहुने छ । यदि तिमीहरू जान्छौ र अरू देवताहरूको आराधना गर्छौ र दण्डवत् गर्छौ भने, परमप्रभुको क्रोध तिमीहरूविरुद्ध दन्किने छ र उहाँले तिमीहरूलाई दिनुभएको असल भूमिबाट तिमीहरू चाँडै नष्‍ट हुने छौ ।"

24

1 त्यसपछि यहोशूले इस्राएलका सबै कुललाई शकेममा भेला गरे र तिनीहरूका धर्म-गुरुहरू, तिनीहरूका अगुवाहरू, तिनीहरूका न्यायकर्ताहरू र तिनीहरूका अधिकृतहरूलाई बोलाए, र तिनीहरूले आफैलाई परमेश्‍वरको सामु प्रस्तुत गरे । 2 यहोशूले सबै मानिसलाई भने, "परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूका पुर्खा अब्राहम र नाहोरका पिता तेरह लामो समयअगि यूफ्रेटिस नदीपारि बस्थे र तिनीहरूले देवताहरू पुज्दथे । 3 तर मैले तिमीहरूका पितालाई यूफ्रेटिस पारिबाट कनानको भूमिमा ल्याएँ र त्यसलाई त्यसको छोरा इसहाकद्वारा धेरै सन्तानहरू दिएँ । 4 त्यसपछि मैले इसहाकलाई याकूब र एसाव दिएँ । मैले पहाडी देश एसावको अधीनमा दिएँ, तर याकूब र तिनका सन्तानहरू मिश्र देशतिर तल गए । 5 मैले मोशा र हारूनलाई पठाएँ, र मैले मिश्रीहरूमाथि विपत्ति ल्याएँ । त्यसपछि मैले तिमीहरूलाई ल्याएँ । 6 मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रबाट ल्याएँ र तिमीहरू समुद्रमा आयौ । मिश्रीहरूले लाल समुद्रसम्म नै रथहरू र घोडाहरूसहित तिमीहरूको पिछा गरे । 7 जब तिमीहरूका पुर्खाहरूले परमप्रभुको पुकारा गरे, उहाँले तिमीहरू र मिश्रीहरूबिच अन्धकार राख्‍नुभयो । उहाँले समुद्रलाई तिनीहरूमाथि ल्याउनुभयो र तिनीहरूलाई ढाक्‍नुभयो । मैले मिश्रीहरूलाई गरेको कुरा तिमीहरूले देख्यौ । त्यसपछि तिमीहरू मरुभूमिमा लामो समयसम्म बस्यौ । 8 मैले तिमीहरूलाई एमोरीहरूको भूमिमा ल्याएँ, जो यर्दनपारि बस्थे । उनीहरू तिमीहरूसँग लडे र मैले तिनीहरूलाई तिमीहरूको हातमा दिएँ । तिमीहरूले तिनीहरूको भूमि अधीन गर्‍यौ र मैले तिनीहरूलाई तिमीहरूको सामु नष्‍ट गरेँ । 9 त्यसपछि मोआबका राजा सिप्‍पोरका छोरा बालाक उठे र इस्राएललाई आक्रमण गरे । तिनले तिमीहरूलाई सराप दिन बओरका छोरा बालामलाई बोलाए । 10 तर मैले बालामको कुरा सुनिनँ । वास्तवमा, तिनले तिमीहरूलाई आशिष् दिए । त्यसैले मैले तिमीहरूलाई त्यसको हातबाट छुटकारा दिएँ । 11 तिमीहरूले यर्दन तर्‍यौ र यरीहोमा आयौ । यरीहोका अगुवाहरूले एमोरीहरू, परिज्‍जीहरू, कनानीहरू, हित्तीहरू, गिर्गाशीहरू, हित्तीहरू, हिव्वीहरू र यबूसीहरूसँगै तिमीहरूसँग लडे । मैले तिमीहरूलाई तिनीहरूमाथि विजय दिएँ र तिमीहरूको नियन्त्रणमा राखेँ । 12 मैले तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाएँ, जसले उनीहरूलाई र दुई जना एमोरी राजालाई धपाए । यो तिमीहरूको तरवार वा धानुवाणले भएको थिएन । 13 मैले तिमीहरूलाई तिमीहरूले श्रम नगरेको भूमि, तिमीहरूले निर्माण नगरेका सहरहरू दिएँ, र तिमीहरू तिनमा बस्छौ । तिमीहरूले नरोपेको दाखबारी र जैतूनको बगैँचाको फल तिमीहरूले खान्छौ ।' 14 परमप्रभुको भय मान र सारा इमानदारी र विश्‍वनीयतामा उहाँको आराधना गर; तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूबाट अलग रहो र परमप्रभुको आराधना गर । 15 यदि परमप्रभुको आराधना गर्न तिमीहरूको दृष्‍टिमा गलत देखिन्छ भने, तिमीहरूले कसको सेवा गर्ने तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूको वा एमोरीहरूका देवताहरू जसको भूमिमा तिमीहरूले बसोबास गरेका छौ । तर म र मेरो घरानाले चाहिँ परमप्रभुको आराधना गर्छौं । 16 मानिसहरूले जवाफ दिए र भने, " अरू देवताहरूको सेवा गर्न हामी परमप्रभुलाई कहिल्यै त्याग्‍ने छैनौँ, 17 किनभने हामीलाई र हाम्रा पुर्खाहरूलाई मिश्र अर्थात् दासत्वको घरबाट ल्याउनुहुने परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्छ, र उहाँले हाम्रो दृष्‍टिमा ठुला-ठुला चिन्हका कामहरू गर्नुभयो, हामी हिँडेका सबै मार्गमा र हामीले पार गरेका सबै जातिमाझ हामीलाई सुरक्षा दिनुभयो । 18 त्यसपछि त्यो भूमिमा बसोबास गर्ने एमोरीहरूलगायत सबै मानिसलाई हाम्रो सामु धपाउनुभयो । त्यसैले हामी पनि परमप्रभुको सेवा गर्छौं किनकि उहाँ हाम्रो परमेश्‍वर हुनुहुन्छ । 19 तर यहोशूले मानिसहरूलाई भने, "तिमीहरूले परमप्रभुको सेवा गर्न सक्‍दैनौ, किनभने उहाँ पवित्र हुनुहुन्छ, उहाँ डाही परमेश्‍वर हुनुहुन्छ; उहाँले तिमीहरूका पाप र अपराधलाई क्षमा गर्नुहुने छैन । 20 यदि तिमीहरूले परमप्रभुलाई त्याग्यौ र विदेशी देवताहरू पुज्यौ भने उहाँ फर्कनुहुने छ र तिमीहरूलाई हानि गर्नुहुने छ । उहाँले तिमीहरूलाई असल गर्नुभएपछि तिमीहरूलाई नष्‍ट पार्नुहुने छ ।" 21 तर मानिसहरूले यहोशूलाई भने, "होइन, हामी परमप्रभुको आराधना गर्ने छौँ । 22 त्यसपछि यहोशूले मानिसहरूलाई भने, "तिमीहरूले परमप्रभुको आराधना गर्ने छौ भनी आफैले चुनेका छौ भनी तिमीहरूको विरुद्धमा तिमीहरू आफै साक्षीहरू हौ । तिनीहरूले भने, "हामी साक्षी छौँ ।" 23 "अहिले तिमीहरूसँग भएका विदेशी देवताहरू फ्याँक, र तिमीहरूका हृदय परमप्रभु इस्राएलतिर फर्काओ ।" 24 मानिसहरूले यहोशूलाई भने, "हामीले परमप्रभु हाम्रा परमेश्‍वको नै आराधना गर्ने छौँ । हामी उहाँको सोर सुन्‍ने छौँ । 25 यहोशूले त्यस दिन मानिसहरूसँग करार बाँधे । तिनले त्यस दिन आदेशहरू र व्यवस्थाहरू दिए । 26 यहोशूले यी वचनहरूलाई परमेश्‍वरको व्यवस्थाको पुस्तकमा लेखे । तिनले ठुलो ढुङ्गा लिए र यसलाई परमप्रभुको नजिकको पवित्र वासस्थान नजिकै रुखमुनि खडा गरे । 27 यहोशूले सबै मानिसलाई भने, "हेर, यो ढुङ्गा तिमीहरूको विरुद्धमा गवाही हुने छ । परमप्रभुले हामीलाई भन्‍नुभएका सबै कुरा यसले सुनेको छ । त्यसैले तिमीहरूले तिमीहरूका परमेश्‍वरलाई त्याग्‍यौ भने, यो तिमीहरूका विरुद्ध गवाही हुने छ । 28 यहोशूले मानिसहरूलाई हरेकको आ-आफ्ना उत्तराधिकारमा पठाए । 29 यी सबै कुरा भएपछि नूनका छोरा यहोशू ११० वर्षको उमेरमा मरे । 30 तिनीहरूले तिनलाई आफ्‍नै अंशको सिमानाभित्र अर्थात् तिम्‍नथ-सेरामा नै गाडे, जुनचाहिँ एफ्राइमको पहाडी देश, गास पर्वत हो । 31 इस्राएलले यहोशू र तिनीभन्दा पछिसम्म बाँचेका धर्म-गुरुहरूको जीवनकालभरि परमप्रभुको आराधना गरे, जसले परमप्रभुले इस्राएलका निम्ति गर्नुभएका सबै कुराको अनुभव गरेका थिए । 32 इस्राएलका मानिसहरूले मिश्रबाट ल्याएका योसेफका हड्‍डीहरूलाई तिनीहरूले शकेममा गाडे, त्यो याकूबले शकेमका पिता हमोरका छोराहरूबाट किनेका थिए । तिनले यो एक सय चाँदीका टुक्रामा किने र यो योसेफका सन्तानहरूको उत्तराधिकार बन्यो । 33 हारूनका छोरा एलाजार पनि मरे । तिनीहरूले तिनलाई गिबा अर्थात् तिनका छोरा पीनहासको सहरमा गाडे, जुन तिनलाई दिइएको थियो । यो एफ्राइमको पहाडी देशमा थियो ।