नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
१ राजाहरू
१ राजाहरूको पुस्तक
1

1 जब राजा दाऊद वृद्ध भए र तिनको उमेर ढल्किसकेको थियो, तिनीहरूले तिनलाई कम्बल ओढाइदिँदा पनि तिनलाई न्यानो हुँदैनथ्यो । 2 त्यसैले तिनका सेवकहरूले तिनलाई भने, “हाम्रा मालिक राजाको लागि एउटी कन्या केटी खोजौँ । त्यसले राजाको सेवा गरोस् र उहाँको वास्ता गरोस् । त्यसले हाम्रा मालिक राजालाई न्यायो पार्न त्यो उहाँसित सुतोस् ।” 3 त्यसैले तिनीहरूले इस्राएलका सारा सिमानाभित्र एउटी सुन्दरी स्त्रीको खोजी गरे । तिनीहरूले शूनम्मी अबीशगलाई फेला पारी राजाकहाँ ल्याए । 4 केटी अत्यन्तै सुन्दरी थिइन् । उनले राजाको सेवा गरिन् र तिनको वास्ता गरिन्, तर राजाले उनीसित सहवास गरेनन् । 5 त्यस बेला हग्गीतका छोरा अदोनियाहले “म राजा हुने छु” भन्दै आफैलाई उचाले । त्यसैले तिनले पचास जना मानिससँगै रथहरू र घोडचढीहरू आफ्नो अगि दगुर्न तयार पारे । 6 "तैँले किन यस्तो व्यवहार गरेको ?" भनी तिनका पिताले तिनलाई कहिल्यै सोधेनन् । अदोनियाह आफै पनि अत्यन्तै सुन्दर मानिस थिए र तिनी अब्शालोमभन्दा पछि जन्मेका थिए । 7 अदोनियाहले सरूयाहका छोरा योआब र पुजारी अबियाथारसित सरसल्लाह लिए । तिनीहरूले अदोनियाहलाई पछ्याएर तिनको मदत गरे । 8 तर पुजारी सादोक, यहोयादाका छोरा बनायाह, नातान अगमवक्ता, शिमी, रेई र दाऊदका शक्तिशाली मानिसहरूचाहिँ अदोनियाहतर्फ लागेनन् । 9 अदोनियाले एन-रोगेलको छेउमा अवस्थित जोहेलेत भन्ने ढुङ्गानेर भेडा, गोरु र पोसिएका बाछाहरू बलिदान चढाए । तिनले आफ्ना सबै दाजुभाइ, राजा छोराहरू र यहूदाका सबै मानिसलगायत राजाका सेवकहरूलाई निमन्त्रणा दिए । 10 तर तिनले नातान अगमवक्ता, बनायाह, शक्तिशाली मानिसहरू र आफ्ना भाइ सोलोमनलाई निमन्त्रणा दिएनन् । 11 तब नातानले सोलोमनकी आमा बतशेबालाई यसो भन्दै सोधे, “हाम्रा मालिक दाऊदलाई थाहै नदिई हग्गीतका छोरा अदोनियाह राजा भएका छन् भन्ने कुरा के तपाईंले सुन्नुभएको छैन ?” 12 त्यसकारण, तपाईंले आफ्नै जीवन र तपाईंका छोरा सोलोमनको जीवन बचाउन सक्नुभएको होस् भनेर म अब तपाईंलाई सल्लाह दिन चाहन्छु । 13 राजा दाऊदकहाँ गएर भन्नहोस्, ‘मेरा मालिक राजा, के तपाईंले आफ्नो सेवकलाई “निश्चय नै मपछि तिम्रो छोराले शासन गर्ने छ र त्यो नै मेरो सिंहासनमा बस्ने छ” भनी तपाईंले मसित शपथ खानुभएको होइन र ? त्यसो भए, किन अदोनियाहले शासन गर्दै छन् त ?’ 14 तपाईंले राजासित बोलिरहनुहुँदा म तपाईंको पछिपछि भित्र आउने छु र तपाईंको कुरा पुष्टि गरिदिने छु ।” 15 त्यसैले बतशेबा राजाको कोठामा गइन् । राजा अत्यन्तै वृद्ध भइसकेका थिए, र शूनम्मी अबीशगले राजाको सेवा गर्दै थिइन् । 16 बतशेबाले शिर झुकाई राजाको सामु शाष्टाङ्ग दण्डवत् गरिन् । तब राजाले सोधे, “तिमी के चाहन्छ्यौ ?” 17 उनले राजालाई भनिन्, “हे मेरा मालिक, परमप्रभु तपाईंका परमेश्वरको नाउँमा तपाईंले आफ्नी दासीसित यसो भन्दै शपथ खानुभएको थियो, ‘निश्चय नै मपछि तिम्रो छोराले शासन गर्ने छ र त्यो नै मेरो सिंहासनमा बस्ने छ ।” 18 अब हेर्नुहोस्, अदोनियाह राजा भएको छ, र मेरा मालिक हजुरलाई यो कुरा थाहै छैन । 19 तिनले ठुलो सङ्ख्यामा गोरुहरू, पोसिएका बाछाहरू र भेडा बलिदान चढाएका छन्, अनि राजाका सबै छोरा, पुजारी अबियाथार, र सेनापति योआबलाई निमन्त्रणा दिएका छन्, तर तपाईंका दास सोलोमनलाई भने निमन्त्रणा दिएका छैनन् । 20 हे मेरा मालिक राजा, हजुरपछि को सिंहासनमा बस्ने छ भनी हजुरबाट थाहा पाउनलाई सारा इस्राएलले हजुरकै प्रतीक्षा गरिरहेका छन् । 21 नत्रता जब हजुर आफ्ना पिता-पुर्खाहरूसित सुतिजानुहुने छ तब म र मेरो छोरो सोलोमनलाई अपराधीजस्तै ठानिने छ ।” 22 उनी राजासित बोलिरहँदा नातान अगमवक्ता भित्र आए । 23 सेवकहरूले राजालाई भने, “नातान अगवमक्ता आएका छन् ।” तिनी भित्र प्रवेश गरेपछि तिनले भुइँसम्मे निहुरेर राजालाई दण्डवत् गरे । 24 नातानले भने, “हे मेरा मालिक राजा, “के हजुरपछि अदोनियाह राजा हुने छन् र तिनी नै हजुरको सिंहासनमा बस्ने छन् भनी हजुरले भन्नुभएको छ र ?’ 25 किनकि तिनी आज तल गएका छन्, र तिनले ठुलो सङ्ख्यामा गोरुहरू, पोसिएका बाछाहरू र भेडाहरू बलिदान चढाएका छन्, अनि तिनले राजाका सबै छोरा, सेनापतिहरू र पुजारी अबियाथारलाई निमन्त्रणा दिएका छन् । तिनीहरू तिनकै सामु खाँदै र पिउँदै यसो भन्दै छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्!’ 26 तर तिनले तपाईंका दास मलाई, पुजारी सादोक, यहोयादाका छोरा बनायाह र हजुरको दास सोलोमनलाई निमन्त्रणा दिएका छैनन् । 27 हे मेरा मालिक राजा, के हजुरपछि हजुरको सिंहासनमा को बस्ने भनेर हजुरले हामी हजुरका दासहरूलाई जानकारी नै नदिई यसो गर्नुभएको हो र ?” 28 तब राजा दाऊदले जवाफ दिए, “बतशेबालाई फेरि मकहाँ बोलाऊ ।” उनी राजाको उपस्थितिमा आएर राजाको सामु खडा भइन् । 29 राजाले शपथ खाएर भने, “मेरा सबै सङ्कष्टमा मलाई छुटकारा दिनुहुने परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, 30 कि इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा मैले यसो भनी शपथ खाएको थिएँ, “मपछि तिम्रो छोरा सोलोमनले शासन गर्ने छ र त्यो नै मेरो सिंहासनमा बस्ने छ ।' आज म यो पुरा गर्ने छु ।” 31 तब बतशेबाले भुइँमा शिर झुकाई राजाको सामु घुँडा टेकेर भनिन्, “मेरा मालिक राजा दाऊद सदासर्वदा दीर्घायु होऊन्!" 32 राजा दाऊदले भने, “पुजारी सादोक, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई मकहाँ बोलाएर ल्याऊ ।” त्यसैले तिनीहरू राजाको सामु हाजिर भए । 33 राजाले तिनीहरूलाई भने, “तिमीहरूका मालिकका सेवकहरूलाई तिमीहरूसँगै लैजाओ, र मेरो पछि सोलोमनलाई राजाको खच्चरमा सवारा गराएर गीहोनसम्म सँगसँगै लैजाओ । 34 पुजारी सादोक र नातान अगमवक्ताले तिनलाई इस्राएलमाथि राजा अभिषेक गरून्, अनि तुरही फुकी यसो भनून्, ‘राजा सोलोमन दीर्घायु होऊन्!’ 35 त्यसपछि तिमीहरू तिनको पछिपछि आओ र तिनी आएर मेरो सिंहासनमा बस्ने छन् । किनकि तिनी मेरो ठाउँमा राजा हुने छन् । मैले तिनलाई इस्राएल र यहूदामाथि शासक नियुक्त गरेको छु ।” 36 यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “यस्तै होस्! मेरा मालिक राजाका परमेश्वर परमप्रभुले यसको पुष्टि गरून् । 37 जसरी परमप्रभु मेरा मालिक राजासित हुनुभएको छ, त्यसै गरी सोलोमनसित हुनुभएको होस्, र उहाँले मेरा मालिक राजा दाऊदको सिंहासनभन्दा सोलोमनको सिंहासन उच्च पार्नुभएको होस् ।” 38 त्यसैले, पुजारी सादोक, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह र करेतीहरूसाथै पेलेथीहरू तल झरे अनि सोलोमनलाई राजा दाऊदको खच्चरमा सवार गराएर गीहोनमा ल्याए । 39 पुजारी सादोकले पालबाट तेल राख्ने सिङ लिई सोलोमनलाई तेलले अभिषेक गरे । त्यसपछि तिनीहरूले तुरही फुके, अनि सबै मानिसले भने, “राजा सोलोमन दीर्घायु होऊन्!" 40 तब सबै मानिस तिनको पछिपछि लागे, अनि मानिसहरूले बाँसुरी बजाउँदै बडो आनन्द मनाए । तिनीहरूको हल्लाले जमिनै थर्क्यो । 41 अदोनियाह र तिनीसित भएका सबै पाहुनाले खाइसक्ने बित्तिकै यो खबर सुने । योआबले तुरहीको आवाज सुनेपछि तिनले भने, “सहरमा किन हल्ला हुँदै छ ?” 42 तिनी बोलिरहँदा पुजारी अबियाथार का छोरा जोनाथन आइपुगे । अदोनियाहले भने, “भित्र आऊ, किनकि तिमी योग्य मानिस हौ र तिमीले शुभ खबर ल्याउँछौ ।” 43 जोनाथनले अदोनियाहलाई जवाफ दिए, “हाम्रा मालिक राजा दाऊदले सोलोमनलाई राजा बनाउनुभएको छ, 44 र राजाले तिनीसितै पुजारी सादोक, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह र करेतीहरूसाथै पेलेथीहरूलाई पठाउनुभएको छ । तिनीहरूले सोलोमनलाई राजाको खच्चरमा सवार गराएका छन् । 45 पुजारी सादोक र नातान अगमवक्ताले गीहोनमा सोलोमनलाई राजा अभिषेक गरेका छन्, अनि तिनीहरू त्यहाँबाट रमाउँदै आएका छन् । सहरमा त्यसैको हल्ला हो । तपाईंले सुन्नुभएको आवाज त्यही नै हो । 46 साथै, सोलोमन राज्यको सिंहासनमा बसिरहेका छन् । 47 यसबाहेक, राजाका सेवकहरू हाम्रा मालिक राजा दाऊदलाई यसो भन्दै आशिष् दिन आए, 'हजुरका परमेश्वरले सोलोमनको नाउँ हजुरको भन्दा उत्तम बनाऊन् र हजुरको भन्दा तिनको सिंहासन महान् बनाऊन् ।' त्यसपछि राजाले पलङ्गमा नै दण्डवत् गरे । 48 राजाले यसो पनि भने, 'इस्राएलका परमेश्वर परमप्रभु धन्यका होऊन् जसले आजको दिन मेरो सिंहासनमा एक जना व्यक्तिलाई राख्नुभएको छ जुन मेरै आँखाले देखेका छन्' ।” 49 त्यसपछि अदोनियाहका सबै पाहुना अत्यन्तै डराए । तिनीहरू उठेर आ-आफ्नो बाटो लागे । 50 अदोनियाह सोलोमनदेखि डराएर उठे अनि गएर वेदीका सिङहरू समाते । 51 त्यसपछि सोलोमनलाई यसो भनियो, “हेर्नुहोस्, अदोनियाह राजा सोलोमनदेखि डराएका छन्, किनकि तिनले यसो भन्दै वेदीका सिङहरू समातेका छन्, ‘राजा सोलोमनले आफ्ना दासलाई तरवारले नमारून् भनी उहाँले पहिले मसित शपथ खानुभएको होस्' ।” 52 सोलोमनले भने, “तिनले आफैलाई योग्य मानिस साबित गरे भने तिनको इच्छाविना एउटा रौँ पनि भुइँमा झर्ने छैन, तर तिनमा दुष्टता पाइयो भने तिनी मर्ने छन् ।” 53 त्यसैले राजा सोलोमनले मानिसहरू पठाए जसले अदोनियाहलाई वेदीबाट लिएर आए । तिनी आएर राजा सोलोमनलाई दण्डवत् गरे, र सोलोमनले तिनलाई भने, “तिम्रो घरमा जाऊ ।”

2

1 दाऊदको मर्ने दिन नजिकिँदै गर्दा तिनले आफ्ना छोरा सोलोमनलाई यसो भने, 2 "संसारको रीतझैँ म पनि मर्दै छु । त्यसकारण, बलिया होऊ, र आफैलाई मर्द साबित गर । 3 मोशाको व्यवस्थामा लेखिएका परमप्रभु तिम्रा परमेश्वरका मार्गहरूमा हिँड्न, उहाँका विधिहरू, आज्ञाहरू, निर्णयहरू र उहाँका करारका आदेशहरू पालन गर्न होसियार होऊ ताकि तिमी जता गए पनि तिमीले गर्ने सबै काममा तिम्रो उन्नति होस्, 4 ताकि परमप्रभुले मेरो बारेमा यसो भन्नुभएको वचन उहाँले पुरा गर्नुभएको होस्, 'तेरा छोराहरूले तिनीहरूका सारा ह्रदय र सारा प्राणले विश्वसनीयतासाथ मेरो सामु हिँड्न होसियारीपूर्वक आफ्ना आचरणको रेखदेख गरे भने इस्राएलको सिंहासनमा बस्ने उत्तराधिकारीको कहिल्यै अभाव हुने छैन ।' 5 सरूयाहका छोरा योआबले मलाई के गरे, र इस्राएलका दुई सेनापति अर्थात् नेरका छोरा अबनेर र येतेरका छोरा अमासलाई के गरे, सो तिमीलाई थाहै छ । तिनले दुवैलाई मारिदिए । तिनले शान्तिको समयमा युद्धको रगत बगाए, र युद्धको रगत आफ्नो कम्मरको पटुका र खुट्टाको जुत्तामा दले । 6 तिमीले सिकेको बुद्धिले योआबसित व्यवहार गर्नू, तर तिनको फुलेको कपाल शान्तिसित चिहानमा जान नपाओस् । 7 तथापि, गिलादका बर्जिल्लैका छोराहरूमाथि दया देखाउनू, र तिम्रो टेबलमा खानेहरूमध्ये तिनीहरू पनि होऊन् किनकि म तिम्रो दाजु अब्शालोमबाट भाग्दा तिनीहरू मकहाँ आएका थिए । 8 हेर, बहूरीमको बेन्यामीनी गेराको छोरो शिमी तिमीसितै छ, जसले म महनोममा जाँदा त्यस दिन मलाई बेसरी सरापेको थियो । शिमी यर्दनमा मलाई भेट गर्न आयो, र त्यसले परमप्रभुको नाउँमा शपथ खाँदै भन्यो, 'म तिमीलाई तरवारले मार्ने छैनँ ।' 9 त्यसकारण, अब त्यसलाई दण्डविना नछोड्नू । तिमी बुद्धिमानी मानिस हौ, र त्यसलाई के गर्नुपर्छ भनी तिमीलाई थाहा छ । तिमीले त्यसको फुलेको कपाल रगतसँगै चिहानमा ल्याउनू ।” 10 त्यसपछि दाऊद आफ्ना पुर्खाहरूसित सुते, र तिनलाई दाऊदको सहरमा गाडियो । 11 दाऊदले इस्राएलमाथि चालिस वर्षसम्म शासन गरे । तिनले हेब्रोनमा सात वर्षसम्म र यरूशलेममा तेत्तिस वर्षसम्म राज्य गरे । 12 तब सोलोमन आफ्ना पिता दाऊदको सिंहासनमा बसे, र तिनको शासन दृढतापूर्वक स्थापित थियो । 13 त्यसपछि हग्गीतका छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ आए । उनले भनिन्, “के तिमी शान्तिसितै आयौ ?” तिनले जवाफ दिए, “हजुर, शान्तिसित आएँ ।” 14 तब तिनले भने, “मैले तपाईंलाई केही कुरो भन्नु छ ।” उनले भनिन्, “भन ।” 15 अदोनियाहले भने, “तपाईंलाई थाहै छ, कि राज्य मेरै थियो, र सारा इस्राएलले म नै राजा हुने छु भनी अपेक्षा गरेरहेका थिए । तर कुरो परिवर्तन भयो, र राज्य मेरो भाइलाई दिइयो किनकि परमप्रभुले यो तिनलाई दिनुभएको थियो । 16 अब म तपाईंलाई एउटा बिन्ती चढाउँछु र त्यसलाई इन्कार नगरिदिनुहोस् ।” बतशेबाले तिनलाई भनिन्, “भन ।” 17 तिनले भने, “मैले शुनम्मी अबीशगलाई पत्नीको रूपमा लैजान पाऊँ भनी सोलोमन राजालाई बिन्ती गरिदिनुहोस् ।” 18 बतशेबाले भनिन्, “ठिक छ । म राजासित कुरा गर्ने छु ।” 19 त्यसकारण अदोनियाहको निम्ति कुरा गर्न बतशेबा राजा सोलोमनकहाँ गइन् । उनलाई भेट्न राजा खडा भए र तिनले उनलाई दण्डवत् गरे । त्यसपछि राजा आफ्नो सिंहासनमा बसे, र राजाकी आमाको निम्ति एउटा सिंहासन ल्याउने हुकुम गरे । उनी राजाको दाहिने हातपट्टि बसिन् । 20 त्यसपछि उनले भनिन्, “तिमीलाई एउटा सानो बिन्ती चढाउने इच्छा छ, किनकि तिमीले इन्कार गर्ने छैनौ ।” राजाले उनलाई भने, “भन्नुहोस् मेरी आमा । म त्यसलाई इन्कार गर्ने छैनँ ।” 21 उनले भनिन्, “तिम्रो दाजु अदोनियाहलाई शूनम्मी अबीशग पत्नीको रूपमा देऊ ।” 22 राजा सोलोमनले आफ्नी आमालाई भने, “तपाईं किन शूनम्मी अबीशगलाई अदोनियाहको लागि माग्नुहुन्छ ? तपाईं तिनको लागि किन राज्य नै माग्नुहुन्न ? किनकि तिनी मेरा दाजु हुन् । किन पुजारी अबियाथार र सरूयाहका छोरा योआबको निम्ति पनि माग्नुहुन्न ?” 23 तब राजा सोलोमनले परमप्रभुको नाउँमा यसो भनी शपथ खाए, “यो बिन्तिको निम्ति अदोनियाहले आफ्नो ज्यान गुमाएनन् भने परमेश्वरले मलाई त्योभन्दा कठोर व्यवहार गरून् । 24 त्यसकारण मलाई स्थापित गर्नुहुने, मलाई मेरा पिता दाऊदको सिंहासनमा राख्नुहुने र आफ्नो प्रतिज्ञाअनुसार मेरो वंश खडा गर्नुहुने जीवित परमप्रभुको नाउँमा म भन्दछु, कि आज निश्चय नै अदोनियाह मारिने छन् ।” 25 त्यसैले राजा सोलोमनले यहोयादाका छोरा बनायाहलाई पठाए, र बनायाहले अदोनियाहलाई फेला पारी मारे । 26 तब राजाले पुजारी अबियाथारलाई भने, “तिम्रो आफ्नै जग्गा अनातोतमा जाऊ । तिमी मृत्युको लायक छौ, तर मेरा पिता दाऊदको सामु तिमीले परमप्रभुको सन्दुक बोकेकाले र मेरा पिताजस्तै हरेक मार्गमा तिमीले दुःख भोगेकाले तिमीलाई म यस बेला मार्दिनँ ।” 27 त्यसैले सोलोमनले अबियाथारलाई पुजारीको पदबाट हटाइदिए । यसरी शीलोमा बस्ने एलीका घरानाको बारेमा परमप्रभुले भन्नुभएको वचन पुरा भयो । 28 यो खबर योआबकहाँ आयो किनकि योआबले अदोनियाहलाई समर्थन गरेका थिए, यद्यपि तिनले अब्शालोमलाई भने समर्थन गरेका थिएनन् । त्यसैले योआब परमप्रभुको पालभित्र भागे, र वेदीका सिङहरू पक्रेर बसे । 29 योआब भागेर गई वेदीको छेउमा बसेका छन् भनी सोलोमनलाई बताइयो । तब सोलोमनले यहोयादाका छोरा बनायाहलाई यसो भनी पठाए, “जाऊ र तिनलाई मार ।” 30 त्यसैले बनायाह परमप्रभुको पालभित्र प्रवेश गरी योआबलाई भने, “राजाले तिमीलाई बाहिर आउनू हुकुम गर्नुभएको छ ।” योआबले जवाफ दिए, “अँहँ, म यहीँ नै मर्ने छु ।” त्यसैले बनायाह राजाकहाँ फर्के र भने, “योआब वेदीमा नै मर्न चाहन्छन् ।” 31 राजाले तिनलाई भने, “तिनले भनेजस्तै गर । तिनलाई मारेर गाड । यसरी म र तिमीले मेरा पिताको घरानाबाट विनाकारण योआबले बगाएको रगतको दोष लैजाने छौ । 32 तिनले बगाएको रगतको दोष तिनकै शिरमाथि परोस् किनकि तिनले मेरा पिता दाऊदको जानकारीविनै आफूभन्दा धर्मी र उत्तम दुई जना मानिस अर्थात् इस्राएलका सेनापति नेरका छोरा अबनेर र यहूदाका सेनापति येतेरका छोरा अमासलाई आक्रमण गरी तिनीहरूलाई तरवारले मारे । 33 त्यसैले तिनीहरूको रगतको दोष सदाको निम्ति योआब र तिनका सन्तानहरूका शिरमाथि परोस् । तर दाऊद र तिनका सन्तानहरू अनि तिनको वंश र तिनको सिंहासनमा भने सदासर्वदा परमप्रभुबाट शान्ति आओस् ।” 34 तब यहोयादाका छोरा बनायाह माथि उक्ले अनि योआबलाई प्रहार गरी मारे । तिनलाई उजाड-स्थानमा तिनको आफ्नै जग्गामा गाडियो । 35 राजाले तिनको ठाउँमा यहोयादाका छोरा बनायाहलाई सेनापतिमा र अबियाथारको ठाउँमा सादोकलाई पुजारीमा नियुक्त गरे । 36 त्यसपछि राजाले शिमीलाई डाक्न पठाए र तिनलाई भने, “आफ्नो निम्ति यरूशलेममा घर बनाएर त्यहीँ बस, अनि त्यहाँबाट कतै नजाऊ । 37 किनकि जुन दिन तिमी किद्रोन उपत्यका पार गरेर जान्छौ, निश्चय नै तिमी मारिने छौ भनी जान । तिम्रो रगतको दोष तिम्रै शिरमाथि पर्ने छ ।” 38 त्यसैले शिमीले राजालाई भने, “तपाईंले भन्नुभएको कुरो राम्रो छ । मेरा मालिक राजाले भन्नुभएझैँ हजुरको दासले गर्ने छ ।” त्यसैले धेरै दिनसम्म शिमी यरूशलेममा नै बसे । 39 तर तिन वर्षको अन्त्यमा शिमीका दुई जना दास गातका राजा माकाका छोरा आकीशकहाँ भागेर गए । त्यसैले तिनीहरूले शिमीलाई यसो भने, “हेर्नुहोस्, तपाईंका दासहरू गातमा छन् ।” 40 तब शिमी उठे अनि गधामा जीनकाठी कसेर आफ्ना दासहरूको खोजीमा आकीशकहाँ गए र गातबाट आफ्ना दासहरूलाई फर्काएर ल्याए । 41 शिमी यरूशलेमबाट गातमा गएर फर्केका छन् भनी जब सोलोमनलाई सुनाइयो, 42 तब राजाले शिमीलाई डाक्न पठाए र तिनलाई भने, “'जुन दिन तिमी यहाँबाट अन्त कतै जान्छौ, तिमी निश्चय नै मारिने छौ भनी जान' भनी के मैले परप्रभुको नाउँमा शपथ खाई तिमीलाई गवाही दिएको थिइनँ र ? तब तिमीले मलाई भन्यौ, 'हजुरले भन्नुभएको कुरा राम्रो छ ।' 43 तब तिमीले किन परमप्रभुसित खाएको सपथ र मेरो आज्ञा पालन गरेनौ ?” 44 राजाले शिमीलाई यसो पनि भने, “तिमीले मेरा पितालाई गरेका सबै दुष्टता तिमीलाई आफ्नो मनमा थाहा छ । त्यसकारण परमप्रभुले तिम्रो दुष्टता तिम्रै शिरमाथि फर्काइदिनुहुने छ । 45 तर राजा सोलोमनचाहिँ आशिषित हुने छन्, र दाऊदको सिंहासन परमप्रभुको सामु सदाको निम्ति स्थापित हुने छ ।” 46 तब राजाले यहोयादाका छोरा बनायाहलाई आज्ञा दिएअनुसार तिनले शिमीलाई मारे । यसरी सोलोमनको हातमा शासन बलियो गरी स्थापित भयो ।

3

1 सोलोमनले विवाहद्वारा मिश्रका राजा फारोसित मैत्रीपूर्ण सम्बन्ध गाँसे । तिनले फारोकी छोरीसित विवाह गरे, र तिनले आफ्नै महल, परमप्रभुको मन्दिरसाथै यरूशलेमको पर्खाल निर्माण गरेपछि उनलाई दाऊदको सहरमा ल्याए । 2 परमप्रभुको नाउँमा कुनै पनि घर निर्माण नभइसकेकोले मानिसहरूले उच्च स्थानहरूमा बलिदान चढाउँदै थिए । 3 आफ्ना पिता दाऊदका विधिविधानहरूमा हिँडी सोलोमनले परमप्रभुप्रति आफ्नो प्रेम देखाए, तर तिनले उच्च स्थानहरूमा बलिदान चढाए र धूप बाले । 4 राजा बलिदान चढाउन गिबोनमा गए किनकि त्यो निकै उच्च स्थान थियो । सोलोमनले त्यस वेदीमा एक हजारवटा होमबलि चढाए । 5 रातमा गिबोनमा परमप्रभु सपनामा सोलोमनकहाँ देखा पर्नुभयो । उहाँले भन्नुभयो, “तँ मबाट के चाहन्छस्, माग् ।” 6 त्यसैले सोलोमनले भने, “मेरा पिता दाऊद तपाईंको सामु विश्वसनियतामा, धार्मिकतामा र ह्रदयको सोझोपनमा हिँडेकाले तपाईंले आफ्ना दास दाऊदलाई करारको ठुलो विश्वसनीयता देखाउनुभएको छ । तपाईंले उहाँप्रति करारको ठुलो विश्वसनीयता कायमै राख्नुभएको छ, र आज उहाँको सिंहासनमा बस्न एक जना पुत्र दिनुभएको छ । 7 अब हे परमप्रभु मेरा परमेश्वर, म सानो बालक भए तापनि तपाईंले आफ्ना दासलाई मेरा पिता दाऊदको ठाउँमा राजा बनाउनुभएको छ । मलाई मेरो कर्तव्य थाहा छैन । 8 तपाईंका दास तपाईंले छान्नुभएका मानिसहरूका बिचमा छन् जो असङ्ख्य र अनगिन्ती छन् । 9 त्यसैले मैले खराब र असल छुट्ट्याउन सकूँ भनेर मानिसहरूको न्याय गर्न तपाईंका दासलाई समझशक्तिको ह्रदय दिनुहोस् । किनकि तपाईंको यस महान् जातिलाई न्याय गर्न को सक्षम छ ?” 10 सोलोमनको यस बिन्तीले परमप्रभुलाई खुसी तुल्यायो । 11 त्यसैले परमेश्वरले तिनलाई भन्नुभयो, “तैँले आफ्नो लागि लामो जीवन वा धनसम्पत्ति वा तेरा शत्रुहरूको जीवन नमागी न्याय छुट्ट्याउने समझशक्ति मागेको छस् । 12 हेर्, अब तैँले मबाट मागेको सबै कुरा म पुरा गर्ने छु । म तँलाई बुद्धिमानी र समझशक्तिको हृदय दिने छु । यसरी तेरो सामु कोही पनि तँजस्तो हुने छैन, र तँपछि पनि कोही पनि तँजस्तो खडा हुने छैन । 13 तैँले मबाट नमागेका कुराहरू अर्थात् धनसम्पत्ति र मान पनि मैले तँलाई दिएको छु ताकि राजाहरूका बिचमा तेरो जीवनभर तँजस्तो कोही पनि नहोस् । 14 तेरा पिता दाऊदझैँ मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न तँ मेरो मार्गमा हिँडिस् भने म तेरो आयु लम्ब्याउने छु ।” 15 त्यसपछि सोलोमन ब्युँझे, र यो त सपना पो रहेछ! तिनी यरूशलेममा आए, र परमप्रभुको करारको सन्दुकको सामु खडा भए । तिनले होमबलि र मेलबलिहरू चढाए, अनि आफ्ना सबै सेवकहरूलाई भोज दिए । 16 त्यसपछि दुई जना वेश्या स्त्री राजाकहाँ आई तिनको सामु खडा भए । 17 एक जना स्त्रीले भनी, “हे मेरा मालिक, यो स्त्री र म एउटै घरमा बस्छौँ, अनि त्यस घरमा मैले एउटा बालक जन्माएँ । 18 मैले जन्म दिएको तेस्रो दिनमा यस स्त्रीले बालक जन्माई । हामी सँगसँगै थियौँ । घरमा हामीसित कोही पनि थिएन, तर हामी दुई जना मात्र थियौँ । 19 त्यसपछि रातमा यो स्त्रीले बालकलाई थिचेर मारिछ । 20 त्यसैले मध्य रातमा तपाईंकी दासी सुतिरहेको बेलामा त्यो उठी र छेउमा राखिएको मेरो छोरो लिएर काखमा राखिछ अनि मेरो काखमा चाहिँ त्यसको मरेको छोरो राखिछ । 21 म मेरो बच्चालाई दूध खुवाउन बिहान उठ्दा त्यो मरेको रहेछ । बिहान मैले त्यसलाई नियालेर हेर्दा त्यो मैले जन्माएको मेरो छोरो थिएन ।” 22 त्यसपछि अर्की स्त्रीले भनी, “त्यसो होइन । जीवित छोरोचाहिँ मेरो छोरो हो, र मरेकोचाहिँ तेरो छोरो हो ।” पहिलो स्त्रीले भनी, “त्यसो होइन । मरेकोचाहिँ तेरो छोरो हो, र जीवितचाहिँ मेरो छोरो हो ।” यसरी तिनीहरूले राजाको सामु बताए । 23 तब राजाले भने, “तिमीहरूमध्ये एउटीले भन्छौ, 'यो जीवितचाहिँ मेरो छोरो हो, र तेरो छोरोचाहिँ मरेको छ ।' त्यसै गरी, अर्कीले भन्छौ, 'त्यसो होइन । तेरो छोरो मरेको छ, र मेरो छोरोचाहिँ जीवितै छ' ।” 24 राजाले भने, “मलाई एउटा तरवार ल्याइदेऊ ।” त्यसैले तिनीहरूले राजाको सामु एउटा तरवार ल्याइदिए । 25 तब राजाले भने, “जीवित छोरोलाई काटेर दुई भाग लगा अनि आधा भाग एउटी स्त्रीलाई र बाँकी आधा भाग अर्की स्त्रीलाई दिनू ।” 26 तब आफ्नो छोरोको निम्ति दयाले भरिएर जीवित छोरोकी आमाले राजालाई भनी, “हे मेरा मालिक, जीवित बालक त्यसलाई नै दिनू र त्यसलाई कुनै पनि हालतमा नमार्नू ।” तर अर्की स्त्रीले भनी, “त्यो न मेरो हुने छ न तेरो । त्यसलाई दुई टुक्रा पारियोस् ।” 27 तब राजाले जवाफ दिए, “जीवित बालक पहिलो स्त्रीलाई दिनू, र त्यसलाई कुनै पनि हालतमा नमार्नू । त्यो नै बालककी आमा हो ।” 28 जब सारा इस्राएलले राजाले गरेको न्याय सुने तिनीहरू राजादेखि डराए किनकि न्याय सम्पादन गर्न परमेश्वरको बुद्धि तिनमा थियो भनी तिनीहरूले देखे ।

4

1 राजा सोलोमन सारा इस्राएलमाथि राजा भए । 2 तिनका अधिकारीहरू यी नै हुन्: सादोकका छोरा अजर्याह पुजारी थिए । 3 शीशाका छोराहरू एलीहोरेफ र अहियाह सचिवहरू थिए । अहीलूदका छोरा यहोशापात लेखापाल थिए । 4 यहोयादाका छोरा बनायाह सेनापति थिए । सादोक र पुजारी अबियाथार हरू थिए । 5 नातानका छोरा अजर्याह जिल्ला-जिल्लाका अधिकृतहरूका जिम्मावाल थिए । नातानका छोरा जाबूद पुजारी र राजाका मित्र थिए । 6 अहीशार राजमहलका जिम्मावाल थिए । अब्दाका छोरा अदोनिराम बेगार काम गर्नेहरूका जिम्मावाल थिए । 7 सारा इस्राएलमा सोलोमनका बाह्र जना जिल्ला-जिल्लाका जिल्लापाल थिए जसले राजा तथा राज घरानालाई भोजन जुटाउने काम गर्थे । हरेक मानिसले वर्षमा एक-एक महिनाको भोजन जुटाउनुपर्थ्यो । 8 तिनीहरूका नाउँ यी नै हुन्: एफ्राइमको पहाडी देशमा बेन-हूर; 9 माकाज, शाल्बीम, बेथ-शेमेश र एलोन-बेथहानानमा बेन-देकेर; 10 अरूब्बोतमा बेन-हेसेद (तिनको जिम्मामा सोको र हेपेरका सबै क्षेत्र थिए); 11 सारा नापोत डोरमा बेन-अबीनादाब (सोलोमनकी छोरी ताफातलाई तिनले विवाह गरेका थिए); 12 तानाक र मगिद्दोसाथै यिजरेलमुनिको सार्तानको छेउमा भएका सारा बेथ-शान, हाबिल-महोला र योक्मामसम्ममा अहीलूदका छोरा बाना; 13 रामोत-गिलादमा बेन-गेबेर (तिनको जिम्मामा गिलादमा भएका मनश्शेका छोरा याईरका सहरहरू र बाशानमा भएको अर्गोबको क्षेत्रसाथै मूल ढोकामा काँसाका बार भएका पर्खालले घेरिएका साठीवटा ठुला-ठुला सहर पनि थिए); 14 महनोममा इद्दोका छोरा अहीनादाब; 15 नप्तालीमा अहीमास (तिनले सोलोमनकी छोरी बासमतलाई विवाह गरेका थिए); 16 आशेर र आलोतमा हूशैका छोरा बाना; 17 इस्साखारमा पारूहका छोरा यहोशापात; 18 बेन्यामीनमा एलाका छोरा शिमी; 19 गिलादमा ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगको देश), र तिनी त्यस जिल्लाका एक मात्र जिल्लापाल थिए । 20 यहूदा र इस्राएलका मानिसहरू समुद्र छेउका बालुवाजत्तिकै असङ्ख्य थिए । तिनीहरू खाँदै र पिउँदै थिए अनि खुसी थिए । 21 सोलोमनले यूफ्रेटिस नदीदेखि पलिश्तिहरूको देश र मिश्रको सिमानासम्म राज्य गर्थे । सोलोमनको जीवनभर तिनीहरूले तिनीकहाँ कर ल्याए र तिनको सेवा गरे । 22 सोलोमनको एक दिनको खाना पचहत्तर मुरी मसिनो पिठो, एक सय पचास मुरी अन्न, 23 पोसिएका दसवटा गाई-गोरु, खर्कमा पालेका बिसवटा गाई-गोरु, एक सयवटा भेडा-बाख्रा अनि मृग, हरिण, बराँठ र कुखुराहरू थिए । 24 किनकि तिनले युफ्रेटिस नदीको पश्चिमपट्टिका सबै देश अर्थात् तिफसादेखि गाजासम्मा राज्य गर्थे, र तिनको वरिपरि भएकाहरू सबैसित तिनी शान्तिमा बस्थे । 25 यहूदा र इस्राएल सुरक्षित थिए । सोलोमनको जीवनभर दानदेखि बेर्शेबासम्म हरेक मानिस आ-आफ्नै दाख र नेभाराको मुनि सुरक्षितसाथ बस्थ्यो । 26 सोलोमनका रथहरूका लागि घोडाहरूका चालिस हजारवटा तबेला, र बाह्र हजार घोडचढी थिए । 27 जिल्ला-जिल्लाका अधिकृतहरूले प्रत्येक महिना पालैपालो राजा सोलोमन र तिनको टेबुलमा बसेर खानेहरू सबैका निम्ति भोजन जुटाउँथे । तिनीहरूलाई कुनै कुराको कमी थिएन । 28 रथका घोडाहरू र अन्य घोडाहरूका लागि पनि तिनीहरूले तोकिएका आ-आफ्नै जौ र पराल ल्याउने गर्थे । 29 परमेश्वरले सोलोमनलाई महान् बुद्धि र समुद्रीतटका बालुवाजस्तै फराकिलो समझशक्ति दिनुभयो । 30 पूर्वका सबै मानिस र मिश्रका सबै बुद्धिभन्दा सोलोमनको बुद्धि श्रेष्ठ थियो । तिनी सबै मानिसभन्दा बुद्धिमानी थिए । 31 तिनी एज्री एतान, माहोलका छोराहरू हेमान, कलकोल र दर्दाभन्दा बुद्धिमानी थिए अनि तिनको ख्याति वरिपरिका सबै जातिहरूमा फैलिएको थियो । 32 तिनले तिन हजारवटा हितोपदेशको रचना गरे, र तिनका गीतहरूको सङ्ख्या एक हजार पाँचवटा थियो । 33 तिनले बोट बिरुवाहरूको विषयमा लेबनानको देवदारुदेखि लिएर भित्तामा उम्रने हिसपसम्मका बिरुवाहरूको वर्णन गरे । तिनले पशुपक्षी, घस्रने प्राणीहरू र माछाको बारेमा पनि वर्णन गरे । 34 सोलोमनको बुद्धि सुन्न सबै जातिका मानिसहरू आउने गर्थे । तिनको बुद्धि सुनेका पृथ्वीका सबै राजाका प्रतिनिधिहरू तिनीकहाँ आउने गर्थे ।

5

1 टुरोसका राजा हीरामले सोलोमनकहाँ आफ्ना सेवकहरू पठाए किनकि आफ्नो पिताको सट्टामा सोलोमन राजा अभिषेक गरिएका थिए भनी तिनले सुनेका थिए । हीरामले दाऊदलाई सधैँ माया गर्थे । 2 सोलोमनले यसो भन्दै हीरामलाई वचन पठाए, 3 "मेरा पिता दाऊद युद्धले घेरिएकाले परमप्रभु उहाँका परमेश्वरको नाउँमा उहाँले मन्दिर बनाउन सक्नुभएन भनी तपाईंलाई थाहै छ । उहाँको जीवनभर परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँको खुट्टाको पैतालामुनि ल्याउनुभयो । 4 तर अहिले परमप्रभु मेरा परमेश्वरले मलाई हरेक क्षेत्रमा विश्राम दिनुभएको छ । 5 त्यसैले परमप्रभु मेरा परमेश्वरको नाउँमा एउटा मन्दिर बनाउने मेरो इच्छा छ जस्तो परमप्रभुले मेरा पिता दाऊदलाई यसो भन्नुभएको थियो, 'म तेरो छोरोलाई तेरो सिंहासनमा बसाउने छु, र त्यसले नै मेरो नाउँमा मन्दिर बनाउने छ ।' 6 त्यसकारण, अब तिनीहरूलाई मेरो निम्ति देवदारुका रुखहरू काट्न आज्ञा दिनुहोस् । मेरा दासहरू तपाईंका दासहरूसित मिल्ने छन्, र तपाईंले तोक्नुभएको ज्याला म तिनीहरूलाई दिने छु । किनकि तपाईंलाई थाहा छ, कि सीदोनीहरूजस्तै रुख ढाल्ने सिपालु मानिसहरू हाम्रा बिचमा कोही छैन ।” 7 हीरामले सोलोमनको कुरा सुनेपछि तिनी अत्यन्तै खुसी भए र भने, “आज परमप्रभु धन्यका होऊन् जसले दाऊदलाई आफ्ना जातिको रेखदेख गर्न एउटा बुद्धिमान् छोरा दिनुभएको छ । 8 हीरामले सोलोमनलाई यस्तो वचन पठाए, “तपाईंले मलाई पठाउनुभएको सन्देश मैले सुनेको छु । म तपाईंले चाहना गर्नुभएका सबै देवदारु र सल्लाका काठ जुटाइदिने छु । 9 मेरा दासहरूले लेबनानबाट समुद्रसम्म मूढाहरू ल्याउने छन्, र ती बाँधेर तपाईंले तोक्नुभएको ठाउँमा म बगाएर पठाउन लगाउने छु । म त्यहाँ खोल्न लगाउने छु, र तपाईंले ती लैजान सक्नुहुने छ । मेरो घरानालाई भोजन जुटाइदिएर तपाईंले चाहनुभएको कुरा पुरा गर्नुहोस् ।” 10 त्यसैले सोलोमनले चाहेका सबै देवदारु र सल्लाका मूढा हीरामले तिनलाई दिए । 11 सोलोमनले हीरामको घरानालाई भोजनको निम्ति पचास हजार मुरी गहुँ र साढे चार हजार लिटर शुद्ध तेल दिए । सोलोमनले यो वर्षैपिच्छे हीरामलाई दिन्थे । 12 आफूले प्रतिज्ञा गर्नुभएझैँ परमप्रभुले सोलोमनलाई बुद्धि दिनुभयो । सोलोमन र हीरामको बिचमा शान्ति कायम थियो, र तिनीहरू दुई जनाले एउटा करार बाँधे । 13 सोलोमन राजाले सारा इस्राएलबाट तिस हजार बेगार काम गर्ने मानिस जम्मा गरे । 14 तिनले तिनीहरूलाई हरेक महिना दस-दस हजार गरी लेबनानमा पठाए । तिनीहरू एक महिना लेबनानमा बस्थे र दुई महिना घरमा बस्थे । अदोनिराम बेगार काम गर्नेहरूका जिम्मावाल थिए । 15 सोलोमनका सत्तरी हजरा भरिया र पहाडमा असी हजार ढुङ्गा काट्ने मानिस थिए । 16 मजदुरहरूका कामको रेखदेख गर्न खटिएका तिन हजार तिन सय नाइके थिए । 17 राजाको आज्ञामा तिनीहरूले मन्दिरको जगको निम्ति उच्च गुणस्तरका ठुला-ठुला ढुङ्गाहरू फोरेर निकाले । 18 त्यसैले सोलोमन र हीरामका कारीगरहरूसाथै गेबालका मानिसहरूले मन्दिर निर्माणको निम्ति काठ र ढुङ्गाहरू काटेर तयार पारे ।

6

1 यसैले सोलोमनले परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे । इस्राएलीहरू मिश्र देशबाट निस्केर आएको चार सय असीऔँ वर्षमा, सोलोमनले इस्राएलमाथि राज्य गरेको चौथो वर्षको जीभ अर्थात् दोस्रो महिनामा कामको थालनी भएको थियो । 2 सोलोमन राजाले परमप्रभुको निम्ति बनाएका मन्दिरको लमाइ साठी हात, चौडाइ बिस हात र उचाइ तिस हात थियो । 3 मन्दिरको मुख्य सभाकक्षको सामुन्नेको दलान मन्दिरको चौडाइ बराबरको थियो अर्थात् बिस हातो लामो थियो, र त्यो मन्दिरको अगिल्तिर दस हातसम्म निस्केको थियो । 4 तिनले मन्दिरको छानामुनिका साँघुरा झ्यालहरू बनाए । 5 मुख्य सभाकक्षका भित्ताहरूको विपरीत तिनले यसको वरिपरि कोठाहरू बनाए अर्थात् तिनले भित्री र बाहिरी कोठा बनाए । तिनले चारैतिर कोठाहरू बनाए । 6 सबैभन्दा मुनिको तलाको चौडाइ पाँच हात, बिचको तलाको चौडाइ छ हात र तेस्रो तलाको चौडाइचाहिँ सात हात थियो । तिनले मन्दिरका चारैपट्टि बाहिरतिर मन्दिरको भित्तामा केही नघुसाऊन् भनी पालीहरू निर्माण गरे । 7 ढुङ्गाको खानीमा नै तयार पारिएका ढुङ्गाहरूबाट मन्दिर बनाइयो । यसको निर्माण हुँदा घन वा छिनु वा कुनै किसिमको फलामे औजारको आवाज सुनिएन । 8 मन्दिरको दक्षिणपट्टि सबैभन्दा तल्लो तलाको प्रवेशद्वारा थियो, अनि त्यहाँबाट बिचको र तेस्रो तलामा जानलाई सिँढी थियो । 9 यसरी सोलोमनले मन्दिर बनाएर सिद्ध्याए । तिनले मन्दिरलाई दलिन र देवदारुका फल्याकहरूले ढाके । 10 तिनले मन्दिरको भित्री कक्षको विपरीत किनाराका कोठाहरू बनाए र हरेक कोठाको उचाइ पाँच हात थियो । ती मन्दिरसँगै देवदारुका काठका सत्तरीले जोडिएका थिए । 11 परमप्रभुको यो वचन सोलोमनकहाँ आयो, 12 "तैँले बनाइरहेको यो मन्दिरको विषयमा भन्नुपर्दा, तैँले मेरा विधिविधानहरू पालन गरी न्याय कायम गरिस् र मेरा सबै आज्ञा पालन गरी तिनमा हिँडिस् भने मैले तेरा पिता दाऊदसित बाँधेको प्रतिज्ञा तँद्वारा नै पुरा गर्ने छु । 13 म इस्राएलका मानिसहरूका बिचमा बस्ने छु, र तिनीहरूलाई त्याग्ने छैनँ ।” 14 यसरी सोलोमनले मन्दिर बनाएर सिद्ध्याए । 15 तिनले देवदारुका फल्याकहरूले मन्दिरको भुइँदेखि दलिनसम्म भित्रपट्टिका भित्ताहरू बनाई मन्दिरको भुइँमा सल्लाका फल्याकहरू ओछ्याए । 16 तिनले मन्दिरको पछाडिपट्टि भुइँदेखि दलिनसम्म देवदारुका बिस हात लामा फल्याकहरू मिलाएर राखे । तिनले यसलाई भित्री कोठा अर्थात् महा-पवित्रस्थान बनाए । 17 महा-पवित्रस्थानको अगाडिपट्टि रहेको मुख्य कक्ष अर्थात् पवित्रस्थान चालिस हात लामो थियो । 18 मन्दिरको भित्रपट्टिको देवदारुको काठमा फक्रेका फुल र लौकाका बुट्टा कुँदिएका थिए । ती सबै देवदारुका थिए । एउटै पनि ढुङ्गा देखिँदैनथ्यो । 19 परमप्रभुको करारको सन्दुक राख्नका लागि सोलोमनले मन्दिरको भित्री कोठा तयार पारे । 20 भित्री कोठा बिस हात लामो, बिस हात चौडा र बिस हात अग्लो थियो । सोलोमनले भित्ताहरू निखुर सुनले मोहोरी वेदीलाई देवदारुको काठले ढाके । 21 सोलोमनले मन्दिरको भित्री भाग निखुर सुनले मोहोरे, र भित्री कोठाको सामुन्ने तिनले सुनका सिक्रीहरू झुण्ड्याए । 22 मन्दिरको निर्माण नसकिएसम्म तिनले सम्पूर्ण भित्री भाग सुनले मोहोरे । भित्री भागमा भएको वेदीलाई पनि तिनले सुनले मोहोरे । 23 सोलोमनले भित्री कोठाको लागि जैतूनको काठबाट दुईवटा करूब बनाए । प्रत्येकको उचाइ दस हात थियो । 24 पहिलो करूबको एउटा पखेटा पाँच हात लामो थियो भने अर्को पखेट पनि पाँचै हात लामो थियो । एउटा पखेटाको टुप्पोदेखि अर्को पखेटाको टुप्पोसम्म दस हात थियो । 25 दोस्रो करूबको नाप पनि दसै हात थियो । दुवै करूबको कद र आकार उही थिए । 26 एउटा करूबको उचाइ दस हात थियो र अर्कोको उचाइ पनि उत्ति नै थियो । 27 सोलोमनले करूबहरूलाई सबैभन्दा भित्री कोठामा राखे । ती करूबका पखेटाहरू बाहिरतिर फैलिएका थिए । एउटा करूबको एउटा पखेटाले एकापट्टिको भित्तालाई र अर्को करूबको एउटा पखेटाले अर्कोपट्टिको भित्तालाई छुन्थे । तिनीहरूका अर्का पखेटाहरूले चाहिँ महा-पवित्रस्थानको बिच भागमा एक-अर्कालाई छुन्थे । 28 सोलोमनले करूबहरूलाई सुनले मोहोरे । 29 तिनले मन्दिरका चारैपट्टिका भित्री र बाहिरी कोठाहरूका सबै भित्तामा करूब, खजूरका बोट र फक्रेका फुलका बुट्टाहरू कुँदे । 30 सोलोमनले मन्दिरका भित्री र बाहिरी कोठाहरूका भुइँलाई सुनले मोहोरे । 31 सोलोमनले भित्री कोठाको प्रवेशद्वारको लागि पाँच पट्टिका थाम भएका जैतूनको काठका ढोकाहरू बनाए । 32 यसरी तिनले जैतूनको काठका दुईवटा ढोका बनाए, र तिनका करूब, खजूरका बोट र फक्रेका फुलका चित्रहरू खोपे । तिनले तिनमा निखुर सुनले मोहोरी करूबहरू र खजुरका बोटहरूलाई सुनले ढाके । 33 यसै गरी, सोलोमनले मन्दिरको मुख्य सभाकक्षको प्रवेशद्वारको निम्ति जैतूनको काठका चार पट्टिका थामहरू बनाए । 34 तिनले खोपिल्टामा घुम्ने दुईवटा खापा भएका सल्लाका दुईवटा ढोका पनि बनाए । 35 तिनले तिनमा करूब, खजुरका बोट र फक्रेका फुलका चित्रहरू कुँदी तिनलाई सुनले मोहोरे । 36 तिनले भित्री चोक काटेका ढुङ्गाका तिन लहर गरी र देवदारुको काठको सत्तरीको एक लहर गरी बनाए । 37 चौथो वर्षको जीभ महिनामा परमप्रभुको मन्दिरको जग बसालियो । 38 एघारौँ वर्षको बूल महिना अर्थात् आठौँ महिनामा निर्देशनमुताबिक मन्दिरका सबै भाग बनाएर सिद्ध्याइयो । मन्दर बनाउन सोलोमनलाई सात वर्ष लाग्यो ।

7

1 आफ्नो राजदरबार बनाउन सोलोमनलाई तेह्र वर्ष लाग्यो । 2 तिनले लेबनानको वन भनिने राजदरबार बनाए । यसको लमाइ एक सय हात, चौडाइ पचास हात र उचाइ तिस हात थियो । देवदारुका स्तम्भहरूका चारवटा लहर र तीमाथि देवदारुकै सत्तरीहरूले राजदरबार बनाइयो । 3 स्तम्भहरूमा अडिएका ती सत्तीहरूमाथि देवदारुले छत बनाइयो । प्रत्येक लहरमा पन्ध्रवटा गरी जम्माजम्मी पैँतिसवटा सत्तरी थिए । 4 सत्तरीहरू तिनवटा लहरमा राखिएका थिए, र हरेक झ्याल एक-अर्कामा आमनेसामने थिए । 5 सबै ढोकाका आयतकार चौकोसहरू थिए अनि झ्याल तिन-तिनवटा पङ्क्तिमा एक अर्कातिर फर्केका थिए । त्यहाँ पचास हात लामो र तिस हात चौडा स्तम्भहरूले घेरिएको एउटा चोक थियो । 6 त्यसको सामु एउटा दलान थियो, र त्यसको सामु खम्बाहरू थिए अनि एउटा बाहिर निस्केको छत थियो । 7 सोलोमनले सिंहासन कक्ष अर्थात् न्याय गर्नको लागि न्यायको कक्ष बनाए । यसको भुइँ देवदारुको काठले ढाकिएको थियो । 8 सोलोमनले आफू बस्ने महल त्यसको पछिल्तिर न्यायको भवनजस्तै बनाए । आफूले विवाह गरेर ल्याएका फारोकी छोरीको निम्ति पनि तिनले योजस्तै घर बनाए । 9 यी भवनहरू ठिक तरिकाले मापन गरी करौँतीले काटी चारैतिर चिल्लो बनाइएका महङ्गा पत्थरहरूबाट सिङ्गारिएका थिए । यी ढुङ्गाहरू जगदेखि छतसम्म र विशाल चोकको बाहिरपट्टि पनि प्रयोग गरिएका थिए । 10 जगमा आठ र दस हातका लामा-लामा महङ्गा ढुङ्गाहरू हालिएका थिए । 11 तिनको माथि ठिक किसिमले काटिएका महङ्गा ढुङ्गाहरू र देवदारुका सत्तरीहरू थिए । 12 परमप्रभुको मन्दिरको चोक र त्यसको दलानजस्तै विशाल चोकका चारैपट्टि काटेर मिलाइएका ढुङ्गाका तिनवटा पङ्क्ति थिए, र देवदारुका सत्तरीहरूको एउटा पङ्क्ति थियो । 13 सोलोमन राजाले हुरामलाई टुरोसबाट बोलाउन लगाए । 14 हुराम नप्ताली कुलकी एउटी विधवाका छोरा थिए । तिनका पिता टुरोसवासी काँसाका कारिगर थिए । हुराम बुद्धि र समझशक्तिले भरिएका र काँसाका महान् काम गर्ने सिप भएका मानिस थिए । सोलोमन राजाको लागि काँसाको काम गर्न तिनी राजाकहाँ आए । 15 हुरामले दुईवटा काँसाका स्तम्भको रचना गरे । प्रत्येक स्तम्भको उचाइ अठार हात र परिधि बाह्र हातको थियो । 16 तिनले स्तम्भहरूमाथि शिर राख्न ढालेका काँसाका दुईवटा स्तम्भ-शिर पनि बनाए । हरेक स्तम्भ-शिरको उचाइ पाँच हात थियो । 17 हरेक स्तम्भमाथि भएको स्तम्भ-शिरको निम्ति जालीस्वरूप सातवटा झुण्डिएका सिक्री बनाइए । 18 यसरी हुरामले स्तम्भहरूका स्तम्भ-शिर सिँगार्नलाई प्रत्येक सिक्रीको जालीका वरिपरि दुईवटा पङ्क्ति भएको बुट्टादार दारिम बनाए । 19 दलानभित्रका स्तम्भका स्तम्भ-शिरहरू लिली फुलको आकारका चार हात उचाइका थिए । 20 दुवै स्तम्भका स्तम्भ-शिरमा जाली नजिकैको कचौराको आकार भएको भागमा स्तम्भ-शिरको चारैपट्टि पङ्क्ति-पङ्क्ति गरी दुई सय बुट्टादार दारिम बनाइए । 21 तिनले मन्दिरको दलानमा ती स्तम्भहरू खडा गरे । दाहिनेपट्टिको स्तम्भलाई याकीन र देब्रेपट्टिको स्तम्भलाई बोआज नाउँ राखियो । 22 स्तम्भ-शिरहरूलाई लिली फुलको आकारमा सजाइयो । यसरी स्तम्भहरूको काम सम्पन्न भयो । 23 हुरामले ढालेर बनाइएको धातुको विशाल खड्कुँलो बनाए जसको बिट एउटा किनारादेखि अर्को किनारासम्म दस हात थियो । यसको उचाइ पाँच हात थियो, र परिधि तिस हात थियो । 24 त्यस विशाल खड्कुँलोका चारैतिर बाहिरपट्टि बिटमुनि हरेक हातमा दसवटा लौका बनाइएका थिए, र खड्कुँलो र लौका दुवै एउटै टुक्रा धातुबाट बनाइएका थिए । 25 खड्कुँलोलाई बाह्रवटा गोरुमाथि राखिएको थियो– तिनवटा उत्तरतिर फर्केका, तिनवटा पश्चिमतिर फर्केका, तिनवटा दक्षिणतिर फर्केका र तिनवटा पूर्वतिर फर्केका थिए । खड्कुँलो तीमाथि राखिएको थियो, र तिनका सबै पछिल्ला भाग भित्रपट्टि फर्केका थिए । 26 खड्कुँलोको चौडाइ चार अङ्गुल थियो, र यसको बिटचाहिँ कचौराको बिटजस्तो फक्रेको लिली फुलजस्तो थियो । यसमा लगभग चवालिस हजार लिटर पानी अटाउँथ्यो । 27 हुरामले काँसाका दसवटा आधार बनाए । प्रत्येक आधार चार हात लामो, चार हात चौडा र तिन हात अग्लो थियो । 28 ती आधार यसरी बनाइएका थिएः तिनका वरिपरिका पाटाहरू ठाडो फ्रेममा जोडिएका थिए, 29 र ती पाटा र फ्रेमहरूमा सिंह, गोरु र करूबहरू थिए । सिंह र गोरुहरूको माथि र तल ढलौटे मालाहरू थिए । 30 प्रत्येक आधारमा काँसाका धुरा भएका चारवटा चक्का थिए, र हरेकमा चार टेकामा अडेको एउटा बाटा थियो जसको चारैतिर ढलौटे मालाहरू थिए । 31 आधारभित्र खुला भाग थियो, जसको गोलाकार साढे एक हात थियो, र त्यसभित्र एक हात अग्लो मुकुट थियो । त्यसको खुला भागको वरिपरि बुट्टाहरू कुँदिएका थिए, र आधारका पाटाहरू गोलाकार नभई वर्गाकार थिए । 32 चारवटा चक्का पाटाहरूको मुनि थिए, र चक्काहरूका धुरा आधारसँग गाँसिएका थिए । हरेक चक्काको उचाइ साढे एक हात थियो । 33 ती चक्काहरू रथका चक्काजस्ता थिए । तिनका धुरा, बिट, सुइरा र नाभि सबै ढालेर बनाइएका धातुका थिए । 34 हरेक आधारका चारवटा समात्ने बिँड एउटा-एउटा कुनामा थिए, जुन आधारबाट बाहिर निस्केका थिए । 35 आधारहरूको टुप्पामा आधा हात गहिरो गोलाकार धातुको फित्ता थियो, अनि आधारका टेका र पाटाहरू त्यसकै टुप्पासँग गाँसिएका थिए । 36 पाटा र टेकाहरूका खाली ठाउँमा हुरामले करूबहरू, सिंहहरू र खजूरका रुखहरूको चित्र कुँदी त्यसको वरिपरि मालाहरू लगाए । 37 यसरी नै तिनले दसवटा आधार बनाए । ती सबै एउटै नाप र एउटै आकार भएका ढालेर बनाइएका थिए । 38 हुरामले काँसाका दसवटा बाटा बनाए । एउटा बाटामा आठ सय असी लिटर पानी अटाउँथ्यो । हरेक बाटा चार हातको थियो, र दसवटै आधारका लागि एउटा-एउटा बाटा थियो । 39 तिनले पाँचवटा आधार मन्दिरको दक्षिणपट्टि र पाँचवटा आधार उत्तरपट्टि राखे । तिनले खड्कुँलोचाहि मन्दिरको दक्षिणपट्टि फर्कने गरी पूर्वी किनारामा राखे । 40 हुरामले बाटाहरू, बेल्चाहरू र छर्कने बाटाहरू बनाए । यसरी तिनले परमप्रभुको मन्दिरमा सोलोमन राजाको लागि सबै काम सिद्ध्याए । 41 तिनले दुईवटा स्तम्भ, स्तम्भको टुप्पामा कचौरा आकारका दुईवटा स्तम्भ-शिर माथिका स्तम्भ-शिरहरू सजाउने दुईवटा बुट्टादार जाली बनाए । 42 तिनले दुईवटा सजाउने जालीका निम्ति चार सयवटा दारिम (दुईवटा स्तम्भका कचौराको आकार भएका स्तम्भ-शिरलाई ढाक्ने प्रत्येक जालीको निम्ति दुई पङ्क्ति दारिम), 43 दसवटा आधार र आधारमाथि राख्नलाई दसवटा बाटा बनाए । 44 तिनले खड्कुँलो भनिने विशाल बाटा र त्यसको मुन्तिर बाह्रवटा गोरु, 45 भाँडाकुँडाहरू, बेल्चाहरू, बाटाहरू अनि सबै चिजहरू बनाए । हुरामले परमप्रभुको मन्दिरको लागि सोलोमन राजाको निम्ति टल्काइएका काँसाबाट बनाएका थिए । 46 राजाले ती यर्दनको मैदानमा सुक्कोत र सार्तानको बिचमा ढालेर बनाउन लगाएका थिए । 47 सोलोमनले धेरै भाँडाकुँडा बनाएकाले तिनले जोखेनन् । तिनले काँसाको ओजन निधो गरेनन् । 48 सोलोमनले परमप्रभुको मन्दिरमा राखिने सबै सजाउने सामान सुनबाट बनाएका थिएः सुनको वेदी, उपस्थितिको रोटी राखिने सुनको टेबुल, 49 निखुर सुनका सामदानहरू जसलाई भित्री कोठाको दाहिनेपट्टि पाँचवटा र देब्रेपट्टि पाँचवटा गरी राखिन्थ्यो; फुलको आकारका सुनका बुट्टाहरू, बत्तीहरू र चिम्टाहरू । 50 सोलोमनले गिलासहरू, सलेदाका चिम्टाहरू, बाटाहरू, चम्चाहरू र धुपोराहरू पनि बनाए र यी सबै निखुर सुनका थिए । तिनले भित्री कोठा (अर्थात् महा-पवित्रस्थान) का ढोकाहरू र मन्दिरको मुख्य सभाकक्षका ढोकाहरूका निम्ति सुनका खोपिल्टाहरू पनि बनाए । 51 यसरी सोलोमन राजाले परमप्रभुको मन्दिरको निम्ति सबै काम गरी सिद्ध्याए । त्यसैले सोलोमनले आफ्ना पिता दाऊदद्वारा अलग गरिएका चीजहरू अर्थात् चाँदी, सुन, सजाउने सामानहरू भित्र ल्याई परमप्रभुको मन्दिरका भण्डारमा राखे ।

8

1 तब सोलोमनले इस्राएलका सबै धर्म-गुरु, कुल-कुलका नायकहरू र इस्राएलका परिवारका मुख्य-मुख्य व्यक्तिहरूलाई सियोन अर्थात् दाऊदको सहरबाट परमप्रभुको सन्दुक ल्याउनलाई यरूशलेममा जम्मा गरे । 2 एतानीम महिना अर्थात् सातौँ महिनामा चाडको अवसरमा इस्राएलका सबै मानिस सोलोमन राजाको सामु भेला भए । 3 इस्राएलका सबै धर्म-गुरु आए, अनि पुजारीहरूले सन्दुक उठाए । 4 तिनीहरूले परमप्रभुको सन्दुक, भेट हुने पाल र पालभित्र भएका सजावटका सबै पवित्र सामान ल्याए । पुजारी र लेवीहरूले यी सामानहरू ल्याएका थिए । 5 सोलोमन राजा र इस्राएलका सारा समुदाय सन्दुकको सामु भेला भए, अनि तिनीहरूले असङ्ख्य भेडाहरू र गोरुहरू बलिदान चढाए । 6 पुजारीहरूले परमप्रभुको करारको सन्दुकलाई त्यसको उचित स्थान अर्थात् करूबहरूको छायामुनि मन्दिरको महा-पवित्रस्थानमा लगेर राखे । 7 किनकि करूबहरूले सन्दुक राखिएको ठाउँको माथि आ-आफ्ना पखेटा फैलाएका थिए, र ती पखेटाले सन्दुक र त्यसका डन्डाहरूमाथि छाया पारेका थिए । 8 यी डन्डाहरू यति लामा-लामा थिए, कि तिनका टुप्पाहरू महा-पवित्रस्थानको सामु पवित्रस्थानबाट देख्न सकिन्थे, तर तिनलाई बाहिरबाट भने देख्न सकिँदैनथ्यो । ती आजको दिनसम्म त्यहीँ छन् । 9 इस्राएलीहरू मिश्र देशबाट आउँदा परमप्रभुले तिनीहरूसित करार बाँध्नुहुँदा होरेब पर्वतमा मोशाले दुईवटा शिला-पाटी सन्दुकभित्र राखेका थिए, र सन्दुकभित्र यी शिला-पाटीहरू मात्र थिए । 10 पुजारीहरू पवित्रस्थानबाट बाहिर आउँदा परमप्रभुको मन्दिर बादलले भरियो । 11 बादलको कारणले पुजारीहरूले सेवा गर्न सकेनन् किनकि परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको थियो । 12 तब सोलोमनले भने, “परमप्रभु बाक्लो बादलमा बस्नुहुनेथियो भनी उहाँले भन्नुभएको थियो, 13 तर तपाईं सदासर्वदै रहनलाई मैले एउटा शोभनीय वासस्थान निर्माण गरेको छु ।” 14 तब राजा फर्केर उभिरहेका इस्राएलका सारा समुदायलाई आशिष् दिए । 15 तिनले भने, “इस्राएलका परमेश्वर परमप्रभुको स्तुति होस् जो मेरा पिता दाऊदसित बोल्नुभयो, र जसले यसो भन्दै आफ्नै हातले यो कुरा पुरा गर्नुभएको छ, 16 'मैले मेरो जाति इस्राएललाई मिश्रबाट बाहिर ल्याएको दिनदेखि मेरो नाउँ राख्नको लागि मैले इस्राएलका सबै कुलबाट कुनै पनि सहर छानिनँ । 17 तथापि मेरो जाति इस्राएलमाथि शासन गर्न मैले दाऊदलाई छानेँ ।' इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा एउटा भवन निर्माण गर्ने इच्छा मेरा पिता दाऊदको ह्रदयमा थियो । 18 तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नुभयो, 'तेरो ह्रदयमा मेरो नाउँमा एउटा भवन निर्माण गर्ने इच्छा राम्रै छ । 19 तरै पनि तैँले त्यो भवन बनाउने छैनस्, बरु तेरो छोरो अर्थात् तेरो आफ्नै रगत र मासुको छोरोले मेरो नाउँमा भवन बनाउने छ ।' 20 परमप्रभुले आफूले भन्नुभएको वचन पुरा गर्नुभएको छ, किनकि म मेरा पिता दाऊदको ठाउँमा खडा भएको छु, र परमप्रभुले प्रतिज्ञा गर्नुभएझैँ म इस्राएलको सिंहासनमा बसेको छु । मैले इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा घर बनाएको छु । 21 मैले त्यहाँ सन्दुकको निम्ति ठाउँ बनाएको छु जसमा परमप्रभुको करार राखिएको छ । उहाँले मिश्रबाट हाम्रा पिता-पुर्खाहरूलाई ल्याउनुहँदा उहाँले तिनीहरूसित यो करार बाँध्नुभएको थियो ।” 22 सोलोमन परमप्रभुको वेदी र इस्राएलका सारा समुदायको सामुन्ने खडा भए, र स्वर्गतिर आफ्ना हात फैलाए । 23 तिनले भने, “हे इस्राएलका परमेश्वर परमप्रभु, माथि स्वर्गमा वा तल पृथ्वीमा तपाईंजस्तो कुनै ईश्वर छैन जसले आफ्ना सारा ह्रदयले तपाईंको अगि हिँड्ने तपाईंका दासहरूसित करारको विश्वसनीयता कायम राख्नुहुन्छ । 24 तपाईंले आफ्ना दास अर्थात् मेरा पिता दाऊदसित प्रतिज्ञा गर्नुभएको वचन पुरा गर्नुभएको छ । हो, तपाईंले आफ्नो मुखले बोल्नुभयो र त्यसलाई आफ्नो हातले पुरा गर्नुभयो जस्तो आज हुन आएको छ । 25 अब हे इस्राएलका परमेश्वर परमप्रभु, तपाईंका दास अर्थात् मेरा पिता दाऊदसित प्रतिज्ञा गर्नुभएको वचन पुरा गर्नुहोस् । तपाईंले भन्नुभयो, 'तँ मेरो अगि हिँडेजस्तै तेरा सन्तानहरू मेरो अगि हिँड्न होसियार भए भने इस्राएलको सिंहासनमा बस्न कुनै मानिसको अभाव हुने छैन ।' 26 अब हे इस्राएलका परमेश्वर, तपाईंले आफ्ना दास अर्थात् मेरा पिता दाऊदसित बोल्नुभएको तपाईंको वचन पुरा होस् । 27 तर के परमेश्वर साँच्चै नै पृथ्वीमा बस्नुहुन्छ र ? सारा विश्व र आकाशमा पनि तपाईं अटाउनुहुन्न भने मैले बनाएको यस मन्दिरमा तपाईं कसरी अटाउन सक्नुहुन्छ त! 28 तरै पनि हे परमप्रभु मेरा परमेश्वर, तपाईंका दासको यस प्रार्थना र बिन्तीलाई आदर गरिदिनुहोस् । आज तपाईंका दासले तपाईंको सामु टक्र्याउने प्रार्थना र पुकारालाई सुनिदिनुहोस् । 29 रातदिन यस मन्दिरतर्फ तपाईंका आँखा खुला रहोस् जुन ठाउँको बारेमा तपाईंले भन्नुभएको छ, 'त्यहाँ मेरो नाउँ र उपस्थिति रहने छ' ताकि तपाईंका दासले यस ठाउँतर्फ चढाएका प्रार्थनाहरू तपाईंले सुन्नुभएको होस् । 30 त्यसैले हामीले यस ठाउँतर्फ फर्केर प्रार्थना गर्दा तपाईंका दास र तपाईंको जाति इस्राएलको बिन्तीलाई सुनिदिनुहोस् । हो, तपाईं बसोबास गर्नुहुने ठाउँ अर्थात् स्वर्गबाट सुन्नुहोस् । तपाईंले सुन्नुभएपछि क्षमा दिनुहोस् । 31 कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा पाप गरी त्यसलाई शपथ खान लगाइयो र त्यसले यस मन्दिरभित्रको वेदीको सामु आई शपथ खायो भने 32 स्वर्गबाट सुनेर जवाफ दिनुहोस् । दोषीहरूलाई दण्डाज्ञा दिँदै तिनीहरूले गरेको खराबी तिनीहरूकै शिरमाथि खन्याउँदै आफ्ना दासहरूको न्याय गर्नुहोस् । निर्दोषहरूलाई दोषी नठहराउनुहोस् र तिनीहरूको धार्मिकताअनुसार तिनीहरूको प्रतिफल दिनुहोस् । 33 तपाईंको जाति इस्राएलले तपाईंको विरुद्धमा पाप गरेकाले तिनीहरू शत्रुबाट पराजित हुँदा तिनीहरू तपाईंकहाँ फर्की तपाईंको नाउँलाई पुकारे, प्रार्थना गरे र तपाईंको मन्दिरमा क्षमाको अनुरोध गरे भने 34 तब स्वर्गमा सुन्नुहोस् र तपाईंको जाति इस्राएलको पाप क्षमा गरिदिनुहोस् । तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस् । 35 मानिसहरूले तपाईंको विरुद्धमा पाप गरेकाले आकाश बन्द भई वृष्टि रोकिँदा तिनीहरूले यस ठाउँतर्फ फर्केर प्रार्थना गरी तपाईंको नाउँ पुकारे र तिनीहरूलाई कष्ट आउँदा तिनीहरूका पापबाट फर्के भने 36 स्वर्गमा सुन्नुहोस् र तपाईंका दासहरूसाथै तपाईंको जाति इस्राएलको पाप क्षमा गरिदिनुहोस् अनि तिनीहरू कसरी चल्नुपर्ने हो भनी तिनीहरूलाई असल तरिका सिकाउनुहोस् । सम्पत्तिको रूपमा तपाईंले आफ्नो जातिलाई दिनुभएको तपाईंको देशमा वृष्टि ल्याइदिनुहोस् । 37 जब देशमा अनिकाल पर्दा वा रोग, विपत्ति, वनस्पति ओइलाउने ढुसी वा शीत वा सलहहरू वा झुसिलकिराहरू आउँदा वा तिनीहरूको कुनै सहरमा मूलद्वारमा शत्रुले आक्रमण गर्‍यो वा त्यहाँ कुनै विपत्ति वा रोग लाग्दा, 38 कुनै एक व्यक्ति वा तपाईंको सारा जाति इस्राएलले हरेकले आफ्नो ह्रदयको दुःख सम्झेर आफ्नो हात यस मन्दिरतिर उचाली प्रार्थना र बिन्ती चढायो भने 39 स्वर्गबाट सुन्नुहोस् जहाँ तपाईं बस्नुहुन्छ, तिनीहरूलाई क्षमा दिनुहोस् र हरेकले गरेअनुसार त्यसको प्रतिफल दिनुहोस् । किनकि तपाईंले मात्र सारा मानव-जातिका ह्रदय जान्नुहुन्छ । 40 तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएको यस देशमा तिनीहरू बस्दा तिनीहरूको जीवनभर तिनीहरू तपाईंदेखि डराऊन् भन्नाका लागि यसै गर्नुहोस् । 41 यसको अतिरिक्त, तपाईंको जाति इस्राएलभन्दा बाहिरको कुनै परदेशी तपाईंको नाउँको कारणले टाढाको देशबाट आएको छ– 42 किनकि त्यसले तपाईंको महान् नाउँ, तपाईंको शक्तिशाली हात र तपाईंको फैलाइएको पाखुराको बारेमा सुनेको छ– र यस मन्दिरतर्फ हेरेर प्रार्थना चढाएको छ भने 43 तब स्वर्गबाट सुन्नुहोस् जहाँ तपाईं बस्नुहुन्छ अनि त्यस परदेशीले मागेको कुरा दिनुहोस् । तपाईंले आफ्नो जाति इस्राएललाई गरेजस्तै पृथ्वीका सबै जातिले तपाईंको नाउँलाई जानी तपाईंदेखि डराऊन् भन्ने हेतुले यसो गर्नुहोस् । मैले बनाएको यो घरमा तपाईंको नाउँ राखिएको छ भनी तिनीहरूले जान्न सकून् भनेर यसो गर्नुहोस् । 44 तपाईंले जुनसुकै बाटो भएर पठाउनुभए तापनि तपाईंको जाति शत्रुको विरुद्धमा लड्न बाहिर गएको छ, र हे परमप्रभु, तिनीहरूले तपाईंले चुन्नुभएको सहर र मैले तपाईंको नाउँमा बनाएको मन्दिरतर्फ हेरेर तपाईंमा प्रार्थना चढाएका छन् भने 45 स्वर्गमा तिनीहरूका प्रार्थना र बिन्ती सुनेर तिनीहरूलाई मदत गर्नुहोस् । 46 पाप नगर्ने कोही नभएकोले तिनीहरूले तपाईंको विरुद्धमा पाप गरेका छन्, र तपाईं तिनीहरूसित रिसाउनुभई तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभएको छ र शत्रुहरूले तिनीहरूलाई तिनीहरूको देशबाट धेरै टाढाको देशमा निर्वासनमा लगेका छन्, 47 र तिनीहरू निर्वासित भएर अर्कै देशमा लगिएका रहेछन् भनी तिनीहरूले थाहा पाएपछि तिनीहरूले पश्चात्ताप गरेर तिनीहरूलाई निर्वासित गर्नेहरूको देशबाट तिनीहरूले तपाईंको निगाह खोजेका छन् र तिनीहरूले 'हामीले बाटो बिराई पाप गरेका छौँ, हामीले दुष्टतापूर्वक व्यवहार गरेका छौँ' 48 भनेर भनेमा र तिनीहरूलाई निर्वासित बनाएर लैजानेहरू अर्थात् तिनीहरूका शत्रुहरूको देशमा तिनीहरूका सारा ह्रदय र सारा प्राणले तिनीहरू तपाईंकहाँ फर्के भने र तिनीहरूले तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको तपाईंको देश र तपाईंले छान्नुभएको सहर र मैले तपाईंको नाउँमा बनाएको यस मन्दिरतर्फ हेरी तपाईंलाई प्रार्थना चढाए भने, 49 तब तपाईंको वासस्थान स्वर्गबाट मदतको लागि तिनीहरूले चढाएको प्रार्थना र अनुरोध सुन्नुहोस् । यसरी तिनीहरूसितको सम्बन्ध पुनर्स्थापित हुने छ । 50 तपाईंको विरुद्धमा पाप गरेका तपाईंको जातिलाई क्षमा दिनुहोस्, र तिनीहरूले तपाईंको विरुद्धमा गरेका सबै अधर्म क्षमा गरिदिनुहोस् अनि तिनीहरूका विजेताहरूका सामु तिनीहरूलाई दया देखाउनुहोस् र तिनीहरूका विजेताहरूलाई पनि तिनीहरूमाथि दया देखाउन लगाइदिनुहोस् । 51 तिनीहरू तपाईंले चुन्नुभएका तपाईंका जाति हुन् जसलाई तपाईंले फलाम गल्ने भट्टीको बिचबाट अर्थात् मिश्रबाट छुटकारा दिनुभयो । 52 तपाईंका दास र तपाईंको जाति इस्राएलले जुनसुकै बेला तपाईंलाई पुकारा गर्दा तिनीहरूको कुरा सुन्न तपाईंका आँखा खुला रहून् । 53 किनकि हे परमप्रभु, तपाईंले हाम्रा पुर्खाहरूलाई मिश्रबाट ल्याउनुहुँदा तपाईंका दास मोशालाई व्याख्या गर्नुभएझैँ तपाईंकै हुन र तपाईंका प्रतिज्ञाहरू प्राप्त गर्न तपाईंले नै तिनीहरूलाई पृथ्वीका सबै जातिबाट अलग गर्नुभयो ।” 54 जब सोलोमनले परमप्रभुको सामु यी सबै प्रार्थना र बिन्ती चढाएर सिद्ध्याए, तब तिनी परमप्रभुको वेदीबाट उठे जहाँ तिनले घुँडा टेकेर आफ्ना हात स्वर्गतिर फैलाएका थिए । 55 "परमप्रभुको स्तुति होस्, जसले आफ्ना सबै प्रतिज्ञा पुरा गरी आफ्नो जाति इस्राएललाई विश्राम दिनुभएको छ । 56 परमप्रभुले आफ्ना दास मोशासित गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि विफल भएको छैन । 57 परमप्रभु हाम्रा परमेश्वर हाम्रा पुर्खाहरूसित हुनुभएझैँ हामीसित पनि होऊन् । उहाँले हामीलाई कहिल्यै नछोडून्, न त त्यागून् । 58 उहाँका सबै मार्गमा जिउन, र उहाँले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएका उहाँका आदेशहरूसाथै निर्देशनहरू अनि विधिविधानहरू पालन गर्न उहाँले हाम्रा ह्रदय आफूतर्फ फर्काऊन् । 59 मैले परमप्रभुको सामु चढाएका यी वचनहरू रातदिन परमप्रभु हाम्रा परमेश्वरको नजिक रहून् ताकि दिनप्रतिदिनको खाँचोअनुसार तपाईंको दास र तपाईंको जाति इस्राएलको कारण मदत मिलोस्, 60 ताकि पृथ्वीका सबै जातिले परमप्रभु नै परमेश्वर हुनुहुन्छ र उहाँबाहेक अर्को ईश्वर छैन भनी जानून् । 61 त्यसकारण, आजको दिनमा झैँ परमप्रभु हाम्रा परमेश्वरका विधिविधानहरू र उहाँका आज्ञाहरू पालन गर्न तिमीहरूको ह्रदय उहाँप्रति साँचा होऊन् । 62 त्यसैले राजा र तिनीसँगै सारा इस्राएलले परमप्रभुको निम्ति बलिदानहरू चढाए । 63 सोलोमनले परमप्रभुको निम्ति बाइस हजार गाईवस्तु र एक लाख बिस हजार भेडा-बाख्रा मेलबलिको रूपमा चढाए । यसरी राजा र इस्राएलका सारा समुदायले परमप्रभुको मन्दिर समर्पण गरे । 64 त्यसै दिन राजाले परमप्रभुको मन्दिरको सामु चोकको बिचको भागलाई पनि अर्पण गरे, अनि तिनले त्यहाँ होमबलि, अन्नबलि र मेलबलिको बोसो चढाए, किनकि परमप्रभुको सामु राखिएको काँसाको वेदी यति सानो थियो कि त्यहाँ होमबलि, अन्नबलि र मेलबलिको बोसो चढाउन सकिँदैनथ्यो । 65 यसैले सोलोमनले त्यस बेला एउटा चाड मनाए । त्यहाँ लेबो-हमातदेखि मिश्रको खोलासम्मका सारा इस्राएल, ठुलो समुदायले परमप्रभु हाम्रा परमेश्वरको सामु सात दिन र अर्को सात दिन गरी जम्मा चौध दिनसम्म चाड मनाए । 66 आठौँ दिनमा तिनले मानिसहरूलाई बिदा दिए, र तिनीहरूले राजालाई धन्यको भने अनि परमप्रभुले आफ्ना दास दाऊद र आफ्नो जाति इस्राएलको निम्ति गर्नुभएका सबै असल कार्यको कारण हर्षित र आनन्दित हृदयसाथ तिनीहरू आ-आफ्ना घरतर्फ लागे ।

9

1 सोलोमनले परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याएछि र तिनले चाहेका कुरा सबै सम्पन्न गरेपछि 2 गिबोनमा देखा पर्नुभएझैँ परमप्रभु दोस्रो पटक सोलोमनकहाँ देखा पर्नुभयो । 3 तब परमप्रभुले तिनलाई भन्नुभयो, “तैँले मेरो सामु राखेको प्रार्थना र बिन्ती मैले सुनेको छु । मैले तैँले बनाएको यो मन्दिर सदासर्वदा मेरो नाउँ राख्न आफ्नै लागि अलग गरेको छु । मेरा आँखा र मेरो मन सधैँभरि त्यहाँ हुने छ । 4 मैले तँलाई आज्ञा गरेका सबै आज्ञा पालन गरी मेरा विधिविधानहरू र उर्दीहरू मानेर ह्रदयको सत्यनिष्ठा र सोझोपनमा तेरा पिता दाऊद हिँडेझैँ तँ मेरो सामु हिँडिस् भने, 5 म इस्राएलमाथि तेरो राज्यको सिंहासन सदाको निम्ति स्थापित गर्ने छु, जस्तो मैले तेरा पिता दाऊदलाई यसो भनी प्रतिज्ञा गरेको थिएँ, 'इस्राएलको सिंहासनमा बस्न तेरो सन्तानको कहिल्यै अभाव हुने छैन ।' 6 तर तँ र तेरा छोराछोरीहरू तर्केर गई मैले तेरो सामु राखेका मेरा आज्ञा र विधिविधानहरू पालन नगरी अरू देवताहरूको पुजा गर्‍यौ र तिनीहरूको सामु निहुरियौ भने, 7 मैले इस्राएललाई दिएको देशबाट म तिनीहरूलाई निष्कासित गरिदिने छु, र मेरो नाउँको लागि मैले अलग गरेको यो मन्दिरलाई म मेरो दृष्टिबाट मिल्काइदिने छु अनि इस्राएल सबै जातिका बिचमा घृणा र उपहासको उदाहरण बन्ने छ । 8 यो मन्दिर भग्नावशेषको थुप्रो बन्ने छ, र यसबाट भएर जाने प्रत्येक व्यक्तिले यसको घृणा गर्ने छ । तिनीहरूले सोध्ने छन्, 'परमप्रभुले यो देश र यो मन्दिरलाई किन यसो गर्नुभएको होला ?’ 9 अरूहरूले जवाफ दिने छन्, ' तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र देशबाट ल्याउनुहुने तिनीहरूका परमेश्वर परमप्रभुलाई त्यागी अरू देवताहरूको पछि लागी तिनीहरूको सामु निहुरी तिनीहरूलाई पुजेकाले परमप्रभुले तिनीहरूमाथि यी सबै विपत्ति ल्याउनुभएको हो' ।” 10 सोलोमनले दुईवटा भवन अर्थात् परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याउन तिनलाई बिस वर्ष लाग्यो । 11 टुरोसका राजा हीरामले सोलोमनले चाहेका सबै देवदारु र सल्लाका काठ तिनलाई जुटाइदिए । त्यसैले सोलोमन राजाले हीरामलाई गालीलको क्षेत्रमा बिसवटा सहर दिए । 12 सोलोमनले हीरामलाई दिएका सहरहरू हेर्न तिनी टुरोसबाट आए, तर तिनी खुसी भएनन् । 13 त्यसैले हीरामले भने, “हे मेरा भाइ, तपाईंले मलाई दिनुभएका यी सहरहरू कस्ता सहरहरू हुन् ?” हीरामले ती सहरहरूलाई काबूल देश भने जसलाई आजसम्म पनि त्यही नाउँले चिनिन्छ । 14 हीरामले राजालाई चार टन सुन पठाएका थिए । 15 सोलोमन राजाले परमप्रभुको मन्दिर, आफ्नो निजी दरबार, टेवा दिने गाराहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउनलाई बेगार काममा लगाएका मजदुरहरूको विवरण यही हो । 16 मिश्रका राजा फारोले गेजेरलाई माथि उक्लेर कब्जा गरेका थिए । तिनले यस सहरका कनानीहरूलाई मारेर जलाइदिएका थिए । त्यसपछि फारोले यो सहर आफ्नी छोरी सोलोमनकी पत्नीलाई दाइजोस्वरूप दिएका थिए । 17 त्यसैले सोलोमनले गेजेर र तल्लो बेथ-होरोनलाई पुनर्निर्माण गरे । 18 तिनले बालात र यहूदियाको उजाड-स्थानमा तामार, आफ्नो अधिकारमा भएका सबै भण्डारण गर्ने सहरहरू, 19 र आफ्ना रथहहरू र घोडचढीहरू राख्नका निम्ति सहरहरू बनाए । यरूशलेम, लेबनान र आफूले शासन गरेका सबै इलाकामा आफूले इच्छा गरेअनुसार तिनले बनाउने काम गरे । 20 बाँकी रहेका सबै एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसी जो इस्राएली थिएनन्, 21 तिनीहरूका सन्तानहरू जो देशमा बाँकी रहेका थिए, जसलाई इस्राएलीहरूले पूर्ण रूपमा नष्ट गर्न सकेका थिएनन्, तिनीहरूलाई सोलोमनले बेगार काममा लगाएका थिए जो आजको दिनसम्म छन् । 22 तथापि, सोलोमनले इस्राएलीहरूलाई भने बेगार काममा लगाएनन् । बरु, तिनीहरू तिनका सिपाहीहरू, अधिकृतहरू र कप्तानहरू अनि सारथीहरूका कप्तान र घोडचढीहरू बने । 23 तिनीहरू सोलोमनका कामको रेखदेख गर्ने अधिकारीहरू पनि बने जसको सङ्ख्या पाँच सय पचास थियो । तिनीहरूले काम गर्ने मानिसहरूको रेखदेख गर्ने काम गर्थे । 24 फारोकी छोरी दाऊदको सहरबाट सोलोमनले उनको लागि बनाएको घरमा सरिन् । पछि सोलोमनले टेवा दिने गाराहरू बनाए । 25 सोलोमनले परमप्रभुको निम्ति बनाएका वेदीमा परमप्रभुको निम्ति धूप बाल्दै तिनले वर्षमा तिन पटक होमबलि र मेलबलिहरू चढाउँथे । यसरी तिनले मन्दिरको काम सम्पन्न गरी त्यसको प्रयोग गरे । 26 सोलोमन राजाले लाल समुद्रको किनारमा भएको एदोमको एलात नजिकै एस्योन-गेबेरमा जहाजहरू बनाए । 27 हीरामले आफ्ना सेवकहरू अर्थात् समुद्रको विषयमा जान्ने नाविकहरू सोलोमनका मानिसहरूसित काम गर्न सोलोमनका जहाजहरूमा पठाए । 28 तिनीहरू सोलोमनका सेवकहरूसँगै ओपीरमा गए । त्यहाँबाट तिनीहरूले राजा सोलोमनकहाँ साँढे चौध टन सुन ल्याए ।

10

1 जब शेबाकी रानीले परमप्रभुको नाउँको सम्बन्धमा सोलोमनको कीर्ति सुनिन्, उनी कठिन प्रश्नहरू लिएर तिनलाई जाँच गर्न आइन् । 2 उनी मसलाहरू लादिएका ऊँटहरू, थुप्रै सुन र धेरै बहुमूल्य रत्नहरू लिएर ज्यादै ठुलो लावालश्करसाथ यरूशलेम आइन् । उनी आइपुगेपछि उनले आफ्नो ह्रदयमा भएका सबै कुरा सोलोमनलाई बताइन् । 3 सोलोमनले उनका सबै प्रश्नका जवाफ दिए । उनले सोधेका सबै प्रश्नको राजाले जवाफ दिए । 4 जब शेबाकी रानीले सोलोमनका सबै बुद्धि, तिनले बनाएका राजदरबार, 5 तिनको टेबुलको भोजन, तिनका वरिपरि बस्ने अधिकारीहरू, तिनका अधिकारीहरूका काम र तिनीहरूका पोशाक, सेवा टहल गर्ने नोकर-चाकरहरू, तिनले परमप्रभुको घरमा बलिदान गर्ने होमबलिको तरिका देखिन्, तब उनी अवाक् भइन् । 6 उनले राजालाई भनिन्, “तपाईंका वचन र तपाईंको बुद्धिको बारेमा मैले मेरो देशमा सुनेको कुरो साँचो रहेछ । 7 म यहाँ नआएसम्म मैले सुनेको कुरामा मैले विश्वास गरिनँ । अब मेरा आफ्नै आँखाले मैले देखेको छु । तपाईंको बुद्धि र धन-सम्पत्तिको बारेमा मलाई आधा मात्र बताइएको रहेछ! तपाईंको कीर्ति मैले सुनेको भन्दा ज्यादा रहेछ । 8 तपाईंका पत्नीहरू कति प्रसन्न होलान्! तपाईंको बुद्धि सुन्न पाएकाले तपाईंको सामु निरन्तर खडा हुने तपाईंका सेवकहरू कति प्रसन्न होलान्! 9 परमप्रभु तपाईंका परमेश्वरको स्तुति होस् जो तपाईंमा प्रसन्न हुनुहुन्छ र जसले तपाईंलाई इस्राएलको सिंहासनमा राख्नुभएको छ । परमप्रभुले इस्राएललाई सदाको निम्ति प्रेम गर्नुभएकाले न्याय र धार्मिकता कायम गर्न उहाँले तपाईंलाई राजा बनाउनुभएको छ ।” 10 उनले राजालाई चार टन सुन र प्रशस्त मात्रामा मसलासाथै बहुमूल्य रत्नहरू दिइन् । शेबाकी रानीले सोलोमन राजालाई दिएकी जत्तिकै यति प्रशस्त मसला तिनलाई फेरि कहिल्यै दिइएन । ओपीरबाट सुन ल्याउने 11 हीरामका जहाजहरूले पनि ठुलो परिमाणमा चन्दनको काठ र बहुमूल्य पत्थरहरू ल्याउँथे । 12 राजाले ती चन्दनका काठहरूबाट परमप्रभुको मन्दिर र राजदरबारका खम्बाहरू बनाउनुका अतिरिक्त गायकहरूका लागि वीणा र सारङ्गीहरू बनाए । चन्दनको काठको यति धेरै परिमाण आजको दिनसम्म फेरि कहिल्यै देखिएको छैन । 13 राजा सोलोमनले शेबाकी रानीले इच्छा गरेकी हरेक थोक दिए । राजाले आफ्नो राजकीय उदारताका अतिरिक्ता उनले मागेकी हरेक कुरा दिए । यसरी उनी आफ्ना सेवकहरूसँगै आफ्नो देशमा फर्किन् । 14 सोलोमनकहाँ वर्षेनी आउने गरेको सुनको ओजन तेइस टन थियो । 15 यसबाहेक, पैकारीहरू र व्यापारीहरूले पनि सुन ल्याउँथे । अरब देशका सबै राजा र प्रादेशिक राज्यपालहरूले पनि सोलोमनकहाँ सुनचाँदी ल्याउने गर्थे । 16 सोलोमन राजाले पिटेको सुनबाट दुई सयवटा ठुला-ठुला ढाल बनाए । प्रत्येक ढाल बनाउन साढे तिन किलोग्राम लागेको थियो । 17 तिनले पिटेको सुनका तिन सयवटा स-साना ढाल पनि बनाए । प्रत्येक ढालमा करिब डेढ किलोग्राम सुन लागेको थियो । राजाले तिनलाई लेबनानको वन भनिने राजदरबारमा राखे । 18 त्यसपछि राजाले हस्ती-हाडको एउटा ठुलो सिंहासन बनाई त्यसलाई सबैभन्दा उत्तम सुनले मोहोरे । 19 सिंहासनमा उक्लने छवटा खुड्किला थिए, र यसको पछाडिपट्टि गोलाकार टुप्पो थियो । बस्ने आसनको दुवैपट्टि हात अड्याउने बाहु थिए, र बाहुका छेउ-छेउमा उभिएका एक-एकवटा सिंह थिए । 20 छवटै खुट्किलाको एक-एकपट्टि एउटा-एउटा सिंह गरी खुट्किलाहरूमा बाह्रवटा सिंह खडा थिए । अन्य कुनै पनि राज्यमा यस्तो किसिमको सिंहासन थिएन । 21 सोलोमन राजाका सबै पिउने कचौरा सुनका थिए, र लेबनानको वन भनिने राजदरबारका भएका सबै पिउने कचौरा निखुर सुनका थिए । कुनै पनि कचौरा चाँदीको थिएन किनकि सोलोमनको समयमा चाँदीलाई मूल्यवान् ठानिदैनथ्यो । 22 हीरामका जहाजहरूसँगै समुद्रमा सोलोमन राजाका पनि जहाजहरू थिए । हरेक तिन वर्षमा एक पटक जहाजहरूले सुन, चाँदी, हस्ति-हाडसाथै ढेडु र बाँदरहरू ल्याउने गर्थे । 23 यसरी सोलोमन राजा धन-सम्पत्ति र बुद्धिमा संसारका सबै राजाभन्दा श्रेष्ठ थिए । 24 परमेश्वरले सोलोमनको ह्रदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्नलाई सारा दुनियाँले तिनको उपस्थितिको खोजी गर्थे । 25 तिनलाई भेट्नेहरूले हरेक वर्ष कोसेली, सुन र चाँदीका भाँडाकुँडाहरू, लुगाहरू, हातहतियार, मसलासाथै घोडा र खच्चरहरू ल्याउँथे । 26 सोलोमनले रथहरू र घोडचढीहरू जम्मा गरे । तिनका चौध सयवटा रथ र बाह्र हजार घोडचढी थिए जसलाई तिनले रथ राख्ने सहरहरू र आफूसितै यरूशलेममा पनि राख्ने गर्थे । 27 राजाले यरूशलेममा चाँदी जमिनको ढुङ्गासरह बनाए । तिनले देवदारुचाहिँ पहाडका जङ्गली अञ्जीरका बोटहरूसरह प्रशस्त तुल्याए । 28 सोलोमनका घोडाहरू मिश्र र क्यूएबाट पैठारी गरिन्थे, अनि राजाका व्यापारीहरूले तिनलाई क्यूएबाट किन्ने गर्थे । 29 मिश्रबाट चाँदीका छ सय सिक्कामा एउटा रथ र चाँदीको डेढ सय सिक्कामा एउटा घोडा किनिन्थ्यो । त्यसपछि यीमध्ये धेरैजसो हित्ती र अरामीहरूका राजाहरूलाई बेचिन्थे ।

11

1 अब राजा सोलोमनले फारोकी छोरीलगायत मोआबी, अम्मोनी, सीदोनी र हित्तीजस्ता धेरै विदेशी स्त्रीहरूलाई प्रेम गरे । 2 तिनीहरू त्यस्ता जातिहरूका थिए जसको बारेमा परमप्रभुले इस्राएललीहरूलाई भन्नुभएको थियो, “विवाह गर्न तिनीहरूका बिचमा नजाओ, न त तिनीहरू तिमीहरूका बिचमा आऊन् किनकि निश्चय नै, तिनीहरूले तिमीहरूका ह्रदय तिनीहरूका देवताहरूतर्फ फर्काउने छन् ।” यस आज्ञाको बाबजुत पनि सोलोमन यी स्त्रीहरूप्रति मोहित भए । 3 सोलोमनका सात सय जना राजकीय पत्नी र तिन सय जना उपपत्नी थिए । तिनका पत्नीहरूले तिनको ह्रदयलाई बहकाइदिए । 4 किनकि जब सोलोमन वृद्ध भए तिनका पत्नीहरूले तिनको ह्रदयलाई अन्य देवताहरूतर्फ फर्काइदिए । तिनको ह्रदय तिनका पिता दाऊदको ह्रदयजस्तै परमप्रभु तिनका परमेश्वरतर्फ पूर्ण रूपमा समर्पित भएन । 5 किनकि सोलोमन सीदोनीहरूकी देवी अश्तोरेत र अम्मोनीहरूको घिनलाग्दो देवता मोलोखको पछि लागे । 6 सोलोमनले परमप्रभुको दृष्टिमा दुष्ट काम गरे । तिनले आफ्ना पिता दाऊदले गरेझैँ पूर्ण रूपमा परमप्रभुलाई पछ्याएनन् । 7 तब सोलोमनले मोआबको घृणित देवता कमोश र अम्मोनीहरूको घृणित देवता मोलोखको निम्ति यरूशलेमको पूर्वपट्टिको डाँडामा पुजा गर्ने अग्लो स्थान बनाए । 8 तिनले आफ्ना सबै विदेशी पत्नीका निम्ति पनि पुजा गर्ने अग्लो स्थानहरू बनाए जसले त्यहाँ तिनीहरूका देवताहरूलाई धूप बाल्ने र बलिदान चढाउने गर्थे । 9 परमप्रभु सोलोमनसित रिसाउनुभयो, किनकि तिनको ह्रदय इस्राएलका परमेश्वरबाट तर्केर गएको थियो यद्यपि उहाँ तिनीकहाँ दुई पटक देखा पर्नुभएको थियो, 10 र यसै विषयमा अर्थात् तिनी अरू देवताहरूको पछि लाग्न हुँदैन भनी उहाँले तिनलाई आज्ञा दिनुभएको थियो । तर सोलोमनले परमप्रभुको आज्ञा मानेनन् । 11 त्यसकारण परमप्रभुले सोलोमनलाई भन्नुभयो, “तैँले यसो गरेको कारण र तैँले मेरो करार र मैले तँलाई आज्ञा गरेका मेरा विधिविधानहरू पालन नगरेकोले निश्चय नै म यो राज्य तँबाट खोसेर तेरो दासलाई दिने छु । 12 तथापि तेरा पिता दाऊदको खातिर म तेरो जीवनकालमा यसो गर्दिनँ, तर तेरो छोरोको पालमा त्यसको हातबाट म यसलाई विभाजन गरिदिने छु । 13 तापनि म सबै राज्य खोस्दिनँ । मेरा दास दाऊदको खातिर र मैले चुनेको यरूशलेमको खातिर म एउटा कुल तेरो छोरोलाई दिने छु ।” 14 तब परमप्रभुले सोलोमनको विरुद्धमा एदोमी हददलाई विरोधीको रूपमा उठाउनुभयो । तिनी एदोमको राजकीय घरानाका थिए । 15 दाऊद एदोममा छँदा सेनापति योआब मरेकाहरूको लाश गाड्न एदोममा उक्लेका थिए जहाँ हरेक पुरुष मारिएको थियो । 16 योआबले एदोमको हरेक पुरुषलाई नमारुञ्जेल तिनी र इस्राएल त्यहाँ छ महिनासम्म बसेका थिए । 17 तर त्यस बेला हदद बालक भएकोले आफ्ना पिताका सेवकहरूद्वारा तिनलाई अन्य एदोमीहरूसँगै मिश्रमा लगिएको थियो । 18 तिनीहरू मिद्यानबाट निस्केर पारानमा आइपुगे जहाँबाट तिनीहरूले आफूसँगै केही मानिसहरूलाई मिश्रका राजा फारोकहाँ लिएर गए । फारोले तिनलाई एउटा घर, देश र भोजन जुटाइदिएका थिए । 19 हददले फारोको दृष्टिमा ठुलो निगाह पाए र फारोले तिनलाई आफ्नी पत्नी तहपेनस रानीकी एउटी बहिनीसित विवाह गरिदिए । 20 तहपेनसकी बहिनीले हददबाट एउटा छोरो जन्माइन् । तिनीहरूले तिनलाई गनूबत नाम राखे । तहपेनसले तिनलाई फारोको राजदरबारमा हुर्काइन् । त्यसैले गनूबत फारोका छोराछोरीहरूका बिचमा राजदरबारमा हुर्किए । 21 तिनी मिश्रमा छँदा दाऊद आफ्ना पुर्खाहरूसित मिल्न गए र सेनापति योआब मरे भनी जब हददले सुने तिनले फारोलाई भने, “मेरो आफ्नै देशमा जानलाई मलाई अनुमति दिनुहोस् ।” 22 तब फारोले तिनलाई भने, “तर तिमीलाई यहाँ मसित केको अभाव छ र तिमी आफ्नै देशमा जान खोज्छौ ?” हददले जवाफ दिए, “कुनै कुराको अभाव छैन । कृपया, मलाई जान दिनुहोस् ।” 23 परमेश्वरले सोलोमनको विरुद्धमा एल्यादाका छोरा रेसोनलाई पनि विरोधीको रूपमा उठाउनुभयो । तिनी आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेका थिए । 24 दाऊदले सोबाका मानिसहरूलाई पराजित गर्दा रेसोनले आफ्ना लागि मानिसहरू भेला गरे र तिनी सानो मोर्चाका सेनापति बनेका थिए । रेसोनका मानिसहरू दमस्कस गए, र त्यहीँ बसोबास गरे । यसरी रेसोनले दमस्कसलाई नियन्त्रणमा लिए । 25 तिनी सोलोमनको जीवनभर इस्राएलका शत्रु थिए, र हददले पुर्‍याउएको सङ्कष्टमा तिनले पनि साथ दिए । रेसोन इस्राएललाई घृणा गर्थे र तिनले अराममाथि शासन गरे । 26 तब नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए । तिनी सोलोमनका एक जना अधिकारी जेरेदाका एफ्राइमी थिए । तिनकी विधवा आमा सेरूआ थिइन् । 27 तिनी राजाको विरुद्धमा उठे किनकि सोलोमनले टेवा दिने गाराहरू बनाएका थिए, र आफ्ना पिता दाऊदको सहरको पर्खालमा प्रवेशद्वार मर्मत गरेका थिए । 28 यारोबाम एक शक्तिशाली मानिस थिए । तिनी मेहनती भएको देखेर सोलोमनले तिनलाई योसेफका घरानाका सारा बेगार काम गर्नेहरूमाथि तिनलाई नाइके तुल्याएका थिए । 29 त्यस बेला यारोबाम यरूशलेममा जाँदा शीलोका अहियाह अगमवक्ताले तिनलाई बाटोमा भेटे । अहियाहले नयाँ खास्टो लगाएका थिए र मैदानमा दुई जना मानिस मात्र थिए । 30 तब अहियाहले आफूले लगाएको नयाँ खास्टो निकाली त्यसलाई च्यातेर बाह्र टुक्रा बनाए । 31 तिनले यारोबामलाई भने, “दसवटा टुक्रा लिनुहोस्, किनकि इस्राएलका परमेश्वर परमप्रभु यसो भन्नुहुन्छ, 'हेर्, म सोलोमनको हातबाट राज्य टुक्रा पारेर तँलाई दस कुल दिने छु, 32 (तर मेरा दास दाऊदको खातिर र मैले इस्राएलका सबै कुलबाट चुनेको सहर यरूशलेमको खातिर सोलोमनलाई एउटा कुल दिने छु), 33 किनकि तिनीहरूले मलाई त्यागेर सीदोनीहरूकी अश्तोरेत देवी, मोआबको कमोश देवता र अम्मोनीहरूको मोलोख देवतालाई पुजा गरेका छन् । आफ्ना पिता दाऊदले गरेझैँ मेरो दृष्टिमा जे ठिक छ त्यही गर्न र मेरा विधिविधानहरूसाथै मेरा उर्दीहरू पालन गर्न त्यो मेरो मार्गमा हिँडेको छैन । 34 तथापि म सोलोमनको हातबाट पुरै राज्य भने खोस्दिनँ । बरु, मेरा आज्ञाहरू र मेरा विधिविधानहरू पालन गर्ने मैले चुनेका मेरा दास दाऊदको खातिर मैले त्यसलाई त्यसको जीवनभर शासक बनाएको छु । 35 तर म त्यसको छोरोको हातबाट राज्य खोसेर म दस कुललाई दिने छु । 36 म एउटा कुल सोलोमनको छोरोलाई दिने छु ताकि मेरो नाउँ राख्न मैले चुनेको सहर यरूशलेममा मेरो सामु मेरा दास दाऊदको एउटा बत्ती सधैँ बलिरहोस् । 37 म तँलाई चाहिँ लिने छु, र तैँले इच्छा गरेअनुसार तैँले शासन गर्ने छस्, र तँ इस्राएलमाथि राजा हुने छस् । 38 मेरा दास दाऊदले गरेझैँ मैले तँलाई दिएका सबै आज्ञा तैँले मानिस्, र मेरो दृष्टिमा जे ठिक छ त्यही गरिस्, र मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न मेरा मार्गहरूमा हिँडिस् भने म तँसित हुने छु, र दाऊदको निम्ति निर्माण गरेझैँ म तेरो वंशलाई स्थिर गराउने छु, अनि इस्राएलचाहिँ म तँलाई दिने छु । 39 म दाऊदका सन्तानहरूलाई दण्ड दिने छु, तर सदाको निम्ति भने होइन ।” 40 त्यसैले सोलोमनले यारोबामलाई मार्न खोजे । तर यारोबाम उठेर मिश्रका राजा शीशककहाँ भागे । सोलोमनको मृत्यु नहोउञ्जेलसम्म तिनी मिश्रमा नै बसे । 41 सोलोमनले गरेका अन्य कामहरू र तिनको बुद्धिको विषयमा के सोलोमनको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 42 सोलोमनले यरूशलेममा बसी सारा इस्राएलमाथि चालिस वर्षसम्म शासन गरे । 43 तिनी आफ्ना पित्रहरूसित सुते, र तिनलाई तिनका पिता दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा रहबाम राजा भए ।

12

1 रहबाम शकेममा गए किनकि सारा इस्राएल तिनलाई राजा बनाउन शकेममा आउँदै थिए । 2 नबातका छोरा यारोबामले यो कुरा सुन्दा (तिनी अझैसम्म मिश्रमा नै थिए जहाँ तिनी सोलोमन राजाको उपस्थितिबाट भागेर गएका थिए) तिनी मिश्रमा नै बसेका थिए । 3 त्यसैले, तिनीहरूले यारोबामलाई बोलाइपठाए, अनि यारोबाम र इस्राएलका सारा समुदाय रहबामकहाँ आएर भने, 4 "तपाईंका पिताले हाम्रो जुवा गरुङ्गो बनाइदिनुभयो । अब तपाईंका पिताले हामीमाथि राखिदिनुभएको भारी र जुवा हलुङ्गो बनाइदिनुहोस्, अनि हामी तपाईंको सेवा गर्ने छौँ । 5 रहबामले तिनीहरूलाई भने, “तपाईंहरू जानुहोस् र तिनदिनपछि फर्केर आउनुहोस् ।” त्यसैले मानिसहरू प्रस्थान गरे । 6 रहबाम राजाले आफ्ना पिता सोलोमन जीवित छँदा तिनको सामु खडा हुने पाका मानिसहरूसित सरसल्लाह लिए र भने, “यी मानिसहरूलाई जवाफ दिन तपाईंहरू मलाई के सल्लाह दिनुहुन्छ ?” 7 तिनीहरूले तिनलाई जवाफ दिए, “आज तपाईं तिनीहरूका सेवक बनी तिनीहरूको सेवा गर्नुभयो र तिनीहरूलाई असल जवाफ दिनुभयो भने तिनीहरू सधैँ तपाईंका सेवकहरू हुने छन् ।” 8 तर रहबामले यी पाका मानिसहरूले दिएको सल्लाहलाई बेवास्ता गरे, र आफूसँगै हुर्केर आफ्नो सामु खडा हुने युवाहरूसित सल्लाह लिए । 9 तिनले तिनीहरूलाई भने, “'तपाईंका पिताले हामीमाथि राखिदिनुभएको जुवा हलुको पारिदिनुहोस्' भनी बताउने मानिसहरूलाई मैले कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरू मलाई के सल्लाह दिन्छौ ?” 10 आफूसँगै हुर्केका युवाहरूले रहबामलाई यसो भने, “तपाईंका पिता सोलोमनले तिनीहरूको जुवा गरुङ्गो बनाइदिनुभयो र अब तपाईंले यसलाई हलुको बनाइदिनुपर्छ भनी बताउने मानिसहरूलाई गएर यसो भन्नुहोस्, ‘मेरो कान्छी औँला मेरा पिताको कम्मरभन्दा मोटो छ । 11 त्यसैले अब मेरा पिताले तिमीहरूमाथि गरुङ्गो जुवा बोकाउनुभएको थियो । म त्यो अझै गरुङ्गो पारिदिने छु । मेरा पिताले तिमीहरूलाई कोर्रा लगाउनुभएको थियो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लगाउने छु' ।” 12 त्यसैले तेस्रो दिनमा यारोबाम र सारा मानिस रहबामकहाँ आए । किनकि राजाले यसो भनी निर्देशन दिएका थिए, “तेस्रो दिनमा मकहाँ फर्केर आओ ।” 13 राजाले मानिसहरूलाई कडा तवरले जवाफ दिए, र तिनले पाका मानिसहरूले तिनलाई दिएको सल्लाहको बेवास्ता गरे । 14 तिनले युवाहरूको सल्लाह मानी तिनीहरूलाई भने, “मेरा पिताले तिमीहरूमाथि गरुङ्गो जुवा बोकाउनुभएको थियो । म त्यो अझै गरुङ्गो पारिदिने छु । मेरा पिताले तिमीहरूलाई कोर्रा लगाउनुभएको थियो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लगाउने छु ।” 15 यसरी राजाले मानिसहरूको कुरा सुनेनन् किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई उहाँले भन्नुभएको वचन पुरा होस् भनेर परमप्रभुले यस्तो परिस्थिति ल्याउनुभएको थियो । 16 जब सारा इस्राएलको कुरा राजाले नसुनेको तिनीहरूले देखे तब मानिसहरूले तिनलाई जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्सा छ र ? यिशैका छोरामा हाम्रो कुनै उत्तराधिकार छैन! हे इस्राएली हो, आ-आफ्ना पालमा जाओ । हे दाऊद, तिमी आफ्नै घर सम्हाल ।” यसरी इस्राएलीहरू आ-आफ्ना पालमा फर्केर गए । 17 तर रहबाम यहूदाका सहरहरूमा बस्ने इस्राएलीहरूका राजा बने । 18 तब रहबाम राजाले बेगार काममा लगाउने मानिसहरूका जिम्मावाल अदोनीरामलाई पठाए, तर सारा इस्राएलले तिनलाई ढुङ्गाले हानेर मारे । रहबाम राजा आफ्नो रथमा चढेर झट्टै यरूशलेममा भागे । 19 त्यसैले आजको दिनसम्म इस्राएल दाऊदको घरानाको विरुद्धमा बागी बनेको छ । 20 यारोबाम फर्के भनी जब सारा इस्राएलले सुने तिनीहरूको आफ्नो सभामा तिनलाई बोलाउनपठाइ तिनलाई सारा इस्राएलमाथि राजा बनाए । यहूदाको कुलबाहेक दाऊदको परिवारलाई पछ्याउने कोही भएन । 21 जब रहबाम यरूशलेममा आए तिनले यहूदाको सबै घराना र बेन्यामीन कुललाई भेला गरे । इस्राएलको घरानाको विरुद्धमा लडी सोलोमनका छोरा रहबामको राज्यलाई पुनर्स्थापित गर्न त्यहाँ १,८०,००० चुनिएका योद्धा जम्मा भएका थिए । 22 तर परमेश्वरका जन शमायाहकहाँ परमेश्वरको वचन आयो, 23 "सोलोमनका छोरा यहूदाका राजा रहबाम अनि यहूदा र बेन्यामीनका सम्पूर्ण घरानासाथै बाँकी सबै मानिसलाई भन्, 24 'परमप्रभु यसो भन्नुहुन्छः आफ्ना दाजुभाइ इस्राएलका मानिसहरूलाई तिमीहरूले आक्रमण नगर्नू वा तिनीहरूसित लडाइँ नगर्नू । हरेक मानिस आ-आफ्नो घरमा फर्केर जाओस् किनकि यो काम मैले गरेको हुँ' ।” त्यसैले तिनीहरूले परमप्रभुको वचन सुने र तिनीहरू फर्केर आ-आफ्नो बाटो लागे । यसरी तिनीहरूले उहाँको वचन पालन गरे । 25 तब यारोबामले एफ्राइमको पहाडी देशमा शकेमलाई मजबुत पारी तिनी त्यहीँ बसे । तिनी त्यहाँबाट गएर तिनले पनीएल सहर बनाए । 26 यारोबामले आफ्नो ह्रदयमा सोचे, “अब यो राज्य दाऊदको घरानामा फर्कने छ । 27 यी मानिसहरू यरूशलेमस्थित परमप्रभुको मन्दिरमा बलिदान चढाउन गए भने यी मानिसहरूका ह्रदय तिनीहरूका मालिक अर्थात् यहूदाका राजा रहबामकहाँ फर्कने छन् । मलाई मारेर तिनीहरू यहूदाका राजा रहबामकहाँ फर्केने छन् ।” 28 यसैले राजा यारोबामले सरसल्लाह लिई सुनका दुईवटा बाछा बनाए । तिनले मानिसहरूलाई भने, “तिमीहरूलाई यरूशलेमसम्म जान निकै टाढा हुन्छ । हे इस्राएली हो, तिमीहरूलाई मिश्र देशबाट ल्याउने देवताहरू यी नै हुन् ।” 29 तिनले एउटालाई बेथेलमा र अर्कोलाई दानमा राखे । 30 यसरी यही कार्य नै पाप बन्यो । मानिसहरू एक ठाउँदेखि अर्को ठाउँमा र दानसम्मै पुजा गर्न गए । 31 यारोबामले डाँडामा पुजा गर्ने ठाउँहरू बनाए, र तिनले सबै मानिसका बिचबाट पुजारीहरू नियुक्त गरे जो लेवीका छोराहरूमध्येका थिएनन् । 32 आठौँ महिनाको पन्ध्रौँ दिनमा यहूदामा जस्तै यारोबामले एउटा चाड ठहराए, र तिनी वेदीमा गए । तिनले बेथेलमा आफूले बनाएका बाछाहरूका निम्ति बलिदान चढाए, र तिनले बेथेलमा आफूले बनाएका डाँडाका ठाउँहरूमा पुजारीहरू नियुक्त गरे । 33 आफ्नो मनमा योजना बनाएअनुसार आठौँ महिनाको पन्ध्रौँ दिनमा बेथेलमा आफूले निर्माण गरेको वेदीमा तिनले बलिदान चढाए । यसरी तिनले इस्राएलीहरूका निम्ति चाड ठहराए, र धूप बाल्न आफै वेदीमा उक्लेर जाने गरे ।

13

1 परमप्रभुको वचनद्वारा परमेश्वका जन बेथेलमा आए । यारोबाम धूप बाल्नलाई वेदीनेर उभिरहेका थिए । 2 तिनले परमप्रभुको वचनद्वारा वेदीको विरुद्धमा चिच्च्याए, “हे वेदी, हे वेदी! परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, दाऊदको घरानामा योशियाह नाउँ गरेको बालकको जन्म हुने छ, र त्यसले तेरो लागि बलिदान चढाउने डाँडाका ठाउँहरूमा पुजारीहरूलाई तँमाथि नै बलिदान चढाउने छ । तँमाथि तिनीहरूले मानिसका हड्डीहरू जलाउने छन्' ।” 3 तब उही दिन परमेश्वरका जनले यसो भन्दै एउटा चिन्ह दिए, “परमप्रभुले घोषणा गर्नुभएको चिन्ह यही होः हेर, वेदी दुई फक्लेटा हुने छ, र त्यसमाथि भएको खरानीचाहिँ खन्याइने छ' ।” 4 बेथेलमा परमेश्वरका जनले वेदीको विरुद्धमा भनेका कुरा जब राजा यारोबामले सुने तिनले वेदीबाट आफ्नो हात पसारेर यसो भने, “त्यसलाई समात्!" तब तिने परमेश्वरको जनलाई समात्न जुन हात पसारेका थिए, त्यो सुक्यो र तिनले त्यो फेरि आफूतिर ल्याउन सकेनन् । 5 (वेदी पनि दुई फक्लेटा भयो, र खरानी वेदीबाट पोखियो जस्तो परमप्रभुको वचनद्वारा परमेश्वरका जनले चिन्हद्वारा व्याख्या गरेका थिए ।) 6 त्यसैले परमेश्वरका जनले परमप्रभुलाई प्रार्थना गरे, र राजाको हात पहिलेकै जस्तो भयो । 7 राजाले परमेश्वरका जनलाई भने, “मेरो घरमा खानपान गर्नुहोस्, र म तपाईंलाई इनाम दिने छु ।” 8 परमेश्वरका जनले राजालाई भने, “तपाईंले मलाई आधा सम्पत्ति दिनुभए तापनि म तपाईंसित जान्नँ, न यस ठाउँमा तपाईंसित खाने छु न पिउने छु । 9 किनकि परमप्रभुले आफ्नो वचनद्वारा मलाई आज्ञा दिनुभएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न त पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।” 10 त्यसैले परमेश्वरका जन अर्कै बाटो भएर गए, र तिनी जुन बाटो भएर आएका थिए त्यही बाटो भएर आफ्नो घरमा फर्केनन् । 11 बेथेलमा एक जना वृद्ध अगमवक्ता बस्थे । त्यस दिन बेथेलमा परमेश्वरका जनले गरेका सबै कुरा अगमवक्ताका एक जना छोराले तिनलाई बताए । परमेश्वरका जन राजासित बोलेका थिए भन्ने कुरा पनि तिनका छोराहरूले तिनलाई बताए । 12 तिनीहरूका पिताले तिनीहरूलाई सोधे, “तिनी कुनचाहिँ बाटो लागे ?” परमेश्वरका जन यहूदाको बाटो भएर गएका थिए भनी तिनका छोराहरूले देखेका थिए । 13 त्यसैले तिनले आफ्ना छोराहरूलाई भने, “मेरो निम्ति गधामा काठी कस ।” त्यसैले तिनीहरूले गधामा काठी कसी त्यसमा चढेर गए । 14 ती वृद्ध अगमवक्ता परमेश्वरका जनको पछिपछि गए र तिनलाई फलाँटको रुखमुनि बसिरहेको भेट्टाए, र तिनले भने, “के यहूदाबाट आउनुभएका परमेश्वरका जन तपाईं नै हुनुहुन्छ ?” तिनले जवाफ दिए, “हो, म नै हुँ ।” 15 तब ती वृद्ध अगमवक्ताले तिनलाई भने, “मसितै घरमा आउनुहोस् र खानपान गर्नुहोस् ।” 16 परमेश्वरका जनले भने, “म तपाईंसँगै फर्केर जान सक्दिनँ, न त यस ठाउँमा तपाईंसँगै खानपान गर्न सक्छु न पिउन सक्छु । 17 किनकि परमप्रभुको वचनद्वारा मलाई आज्ञा दिइएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।” 18 त्यसैले ती वृद्ध अगमवक्ताले तिनलाई भने, “तपाईंजस्तै म पनि अगमवक्ता हुँ, र परमप्रभुको वचनद्वारा एउटा स्वर्गदूतले मलाई यसो भने, 'तिनलाई तिमीसँगै घरमा फर्काएर ल्याउनू ताकि तिनले रोटी खान सकून् र पानी पिउन सकून्' ।” तर तिनले परमेश्वरका जनलाई झुट बोल्दै थिए । 19 त्यसैले परमेश्वरका जन ती वृद्ध अगमवक्तासँगै फर्केर गए, र तिनको घरमा रोटी खानुका साथै पानी पिए । 20 तिनीहरू टेबुलमा बस्दै गर्दा परमप्रभुको वचन तिनलाई फर्काएर ल्याउने अगमवक्ताकहाँ आयो, र 21 तिनले यहूदबाट आएका परमेश्वरका जनलाई यसो भनेर कराए, “परमप्रभु भन्नुहुन्छ, 'तँ परमप्रभुको वचनप्रति अनाज्ञाकारी भएकोले र परमप्रभुले तँलाई दिनुभएको वचन पालन नगरी 22 फर्केर आई यस ठाउँमा रोटी खाएकोले र पानी पिएकोले तेरो शरीरलाई तेरा पित्रहरूको चिहानमा गाडिने छैन किनकि तैँले परमप्रभुले मनाही गर्नुभएको ठाउँमा रोटी खाइस् र पानी पिइस्' ।” 23 जब ती परमेश्वरका जनले रोटी खाइसके र पानी पिइसके तब अगमवक्ताले तिनीसँगै तिनको घरमा फर्केर आएका परमेश्वरका जनका लागि गधामा जीन काठी कसे । 24 परमेश्वरका जन गइसकेपछि बाटोमा एउटा सिंहसित तिनको जम्काभेट भयो । सिंहले तिनलाई मारिदियो, र तिनको लाश बाटोमै पडिरह्‍यो । तब गधा र सिंह लाशको छेउमा उभिएका थिए । 25 मानिसहरू त्यो बाटो भएर जाँदा तिनीहरूले बाटोमा लाश छाडिएको र लाशनेर सिंह उभिरहेको देखे । तिनीहरू ती वृद्ध अगमवक्ता बस्ने सहरमा आएर यो कुरा बताइदिए । 26 जब तिनलाई फर्काएर ल्याउने अगमवक्ताले यो कुरा सुने तिनले भने, “तिनी परमप्रभुको वचन नमान्ने परमेश्वरका जन हुन् । त्यसकारण परमप्रभुले तिनलाई सिंहको मुखमा पर्न दिनुभयो जसले तिनलाई टुक्राटुक्रा पारी मारिदियो जस्तो परमप्रभुको वचनले तिनलाई चेताउनी दिएको थियो ।” 27 त्यसैले ती वृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई यसो भने, “मेरो गधमा जीन काठी कस ।” तिनीहरूले त्यसै गरे । 28 तिनी बाटो लागे र तिनले बाटोमा लाश पडिरहेको अनि लाशको छेउमा गधा र सिंह उभिरहेका देखे । सिंहले लाशलाई खाएको थिएन न त गधालाई आक्रमण गरेको थियो । 29 अगमवक्ताले परमेश्वरका जनको लाश उठाई गधामा राखे र फर्काएर ल्याए । तिनको निम्ति शोक गर्न र लाशलाई गाड्न तिनी आफ्नै सहरमा आए । 30 तिनले लाशलाई आफ्नै चिहानमा राखे, र तिनीहरूले यसो भन्दै तिनको निम्ति शोक गरे, “धिक्कार, मेरा भाइ!" 31 तिनले लाशलाई गाडिसकेपछि वृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई यसो भने, “जब म मर्छु, मलाई परमेश्वरका जन गाडिएकै चिहानमा गाड्नू । मेरा हड्डीहरू तिनका हड्डीहरूको छेउमा रहून् । 32 किनकि तिनले परमप्रभुको वचनद्वारा बेथेलको वेदीको विरुद्धमा र सामरियाका सहरहरूमा भएका सबै डाँडाका ठाउँहरूका घरहरूको विरुद्धमा घोषणा गरेका सन्देश निश्चय नै पुरा हुने छ ।” 33 यसपछि यारोबाम आफ्नो दुष्ट मार्गबाट फर्केनन्, तर तिनले डाँडाका ठाउँहरूका लागि सबै थरीका मानिसहरूका बिचबाट सामान्य पुजारीहरूलाई नियुक्त गरिरहे । सेवा गर्न चाहने जोसुकैलाई पनि तिनले पुजारीको रूपमा अभिषेक गर्थे । 34 यो विषय यारोबामको परिवारको निम्ति पाप बन्यो, र यसले गर्दा तिनको परिवार पृथ्वीबाट नष्ट भएर सर्वनाश भएर गयो ।

14

1 त्यस बेला यारोबामको छोरो अबिया अत्यन्तै बिरामी पर्‍यो । 2 यारोबामले आफ्नी पत्नीलाई भने, “उठ र तिमी मेरी पत्नी हौ भनी नचिन्नलाई आफ्नो भेष बदली गर । अनि शीलोमा जाऊ किनकि अहियाह अगमवक्ता त्यहीँ छन् । यी मानिसहरूमाथि म नै राजा हुनेथिएँ भनी मेरो बारेमा बताउने तिनी नै थिए । 3 आफ्नो साथमा दसवटा रोटी, केही फुरौला र एक भाँडो मह लिएर अहियाहकहाँ जाऊ । बालकलाई के हुने छ भनी तिनले तिमीलाई बताउने छन् ।” 4 यारोबामकी पत्नीले त्यसै गरिन् । उनी बाटो लागिन् र शीलोमा गइन्, र अहियाहको घरमा आइन् । अहियाहले देख्न सक्दैनथे । तिनको वृद्धावस्थाको कारणले तिनले आफ्ना आँखाको ज्योति गुमाएका थिए । 5 परमप्रभुले अहियाहलाई भन्नुभयो, “हेर्, यारोबामकी पत्नी आफ्नो छोरोको बारेमा तँबाट सल्लाह लिन आउँदै छे किनकि त्यसको छोरो बिरामी परेको छ । तैँले यस्तो-यस्तो जवाफ दिनू किनकि त्यो अर्कै स्त्री भएझैँ त्यसले नाटक गर्छे ।” 6 उनी ढोकामा आइपुग्दा अहियाहले उनको खुट्टाको आवाज सुने, र भने, “हे यारोबामकी पत्नी, भित्र आऊ । किन तिमी अर्कै स्त्री भएझैँ नाटक गर्छ्यौ ? म खराब समाचारसहित तिमीकहाँ पठाइएको छु । 7 गएर यारोबामलाई भन कि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'मैले तँलाई मेरो जाति इस्राएलमाथि अगुवा हुनलाई मानिसहरूका बिचबाट उठाएँ । 8 मेरो दृष्टिमा जे ठिक छ त्यही गर्न अनि मेरा आज्ञाहरू पालन गर्न र सारा ह्रदयले मेरो पछि लाग्ने मेरा दास दाऊदजस्तै तँ नभए तापनि मैले दाऊदको घरानाबाट राज्य टुक्र्याई त्यो तँलाई दिएँ । 9 तर तैँले तँभन्दा अगिका सबैले भन्दा दुष्ट काम गरेको छस् । तैँले अरू देवताका मूर्तिहरू र ढालेर बनाएका धातुका प्रतिमूर्तिहरू बनाएर मलाई रिस उठाएको छस्, र मलाई तेरो पीठपछि राखेको छस् । 10 त्यसकारण हेर्, म तेरो परिवारमा विपत्ति ल्याउने छु । चाहे कमारा होस् या फुक्का, म इस्राएलको हरेक पुरुष बालकलाई खतम पारिदिने छु, र तेरो घरानालाई गोबर जलाएझैँ पूर्ण रूपमा हटाइदिने छु । 11 तेरो घरानाको हरेक व्यक्ति जो यस सहरमा मर्छ, त्यसलाई कुकुरहरूले खाने छन्, अनि खेतमा मर्ने जोसुकैलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् किनकि म परमप्रभुले यसो भनेको छु ।' 12 त्यसैले हे यारोबामकी पत्नी, उठेर आफ्नो घर फर्केर जाऊ । तिमी सहरमा प्रवेश गर्दा तिम्रो बालक अबिया मर्ने छ । 13 सारा इस्राएलले त्यसको निम्ति शोक गर्ने छन् र त्यसलाई गाड्ने छन् । यारोबामको परिवारबाट चिहानमा जाने त्यही मात्र हुने छ किनकि यारोबामको घरबाट त्यसले मात्र इस्राएलका परमेश्वर परमप्रभुको दृष्टिमा निगाह पायो । 14 साथै, त्यस दिन परमप्रभुले इस्राएलबाट एक जना राजा उठाउनुहुने छ जसले यारोबामको परिवारलाई खतम पारिदिने छ । आज नै त्यही दिन हो । 15 किनकि पानीमा निगालो हल्लिएझैँ परमप्रभुले इस्राएललाई हल्लाउनुहुने छ, र उहाँले तिनीहरूका पिता-पुर्खाहरूलाई दिनुभएको यस असल देशबाट जरैदेखि उखेलिदिनुहुने छ । उहाँले तिनीहरूलाई यूफ्रेटिस नदीभन्दा पारि तितर-बितर पारिदिनुहुने छ किनकि तिनीहरूले अशेराका खम्बाहरू बनाई परमप्रभुलाई रिस उठाएका छन् । 16 यारोबामले पाप गरेका कारण र तिनले इस्राएललाई पाप गर्न लगाएकाले उहाँले इस्राएललाई त्यागिदिनुहुने छ ।” 17 त्यसैले यारोबामकी पत्नी उठिन् र बाटो लागिन् अनि तिर्सामा आइन् । उनले आफ्नो घरको सँघार टेक्दा बालक मर्‍यो । 18 सारा इस्राएलले त्यसलाई गाडे, र त्यसको निम्ति शोक गरे जस्तो परमप्रभुले आफ्ना दास अहियाह अगमवक्ताद्वारा भन्नुभएको थियो । 19 यारोबामका अन्य कामहरूको बारेमा अर्थात् कसरी तिनले युद्ध गरे र शासन गरे भन्ने विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् । 20 यारोबामले बाइस वर्ष शासन गरे, र त्यसपछि तिनी आफ्ना पित्रहरूसित सुत्न गए, अनि तिनको ठाउँमा तिनका छोरा नादाब राजा भए । 21 सोलोमनका छोरा रहबामले यहूदामा शासन गर्दै थिए । रहबाम राजा हुँदा तिनी एकचालिस वर्षका थिए । तिनले परमप्रभुले आफ्नो नाउँ राख्न इस्राएलका सबै कुलबाट चुन्नुभएको सहर यरूशलेममा सत्र वर्ष शासन गरे । तिनकी आमाको नाउँ नामा थियो जो एक अम्मोनी स्त्री थिइन् । 22 यहूदाले परमप्रभुको दृष्टिमा जे खराब छ त्यही गरे । तिनीहरूका पिता-पुर्खाहरूले गरेका पापभन्दा बढी पाप गरेर तिनीहरूले उहाँलाई डाही तुल्याए । 23 किनकि तिनीहरूले पनि आफ्ना लागि प्रत्येक उच्च स्थान र हरियो रुखमुनि डाँडाका ठाउँहरू, ढुङ्गाका मूर्तिहरू र अशेराका खम्बाहरू बनाए । 24 त्यस देशमा झुटा धर्मसम्बन्धी वेश्याहरू पनि थिए । परमप्रभुले इस्राएलीहरूकै सामुबाट धपाउनुभएका जातिहरूले अभ्यास गरेका घिनलाग्दा कार्यहरू नै तिनीहरूले गरे । 25 राजा रहबामको शासनकालको पाँचौँ वर्षमा मिश्रका राजा शीशकले यरूशलेमको विरुद्धमा आक्रमण गरे । 26 तिनले परमप्रभुको मन्दिर र राजको महलका खजानाहरू लिएर गए । तिनले हरेक कुरो लिएर गए । तिनले सोलोमनले बनाएका सुनका ढालहरू पनि लिएर गए । 27 राजा रहबामले तिनको सट्टामा काँसाका ढालहरू बनाए, र राजाको महलको ढोकाहरूको रक्षा गर्ने रक्षकहरूका हातमा जिम्मा दिए । 28 राजा परमप्रभुको मन्दिरमा प्रवेश गर्दा ती रक्षकहरूले ती ढालहरू बोक्थे । त्यसपछि तिनीहरूले ती रक्षक कोठामा ल्याएर राख्ने गर्थे । 29 रहबामले गरेका अरू सबै कामहरूको बारेमा के यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 30 रहबाम र यारोबामको बिचमा युद्ध चलिरह्‍यो । 31 यसरी रहबाम आफ्ना पित्रहरूसित सुत्न गए, र तिनीहरूसँगै दाऊदको सहरमा गाडिए । तिनकी आमाको नाउँ नामा थियो जो अम्मोनी स्त्री थिइन् । तिनको ठाउँमा तिनका छोरा अबिया राजा भए ।

15

1 नबातका छोरा राजा यारोबामको शासनकालको अठारौँ वर्षमा अबियाले यहूदामाथि शासन गर्न थाले । 2 तिनले यरूशलेममा तिन वर्ष राज्य गरे । तिनकी आमाको नाउँ माका थियो । उनी अबीशालोमकी छोरी थिइन् । 3 अबिया तिनको समयभन्दा अगि तिनका पिताले गरेका सबै पापमा हिँडे । तिनको ह्रदय तिनका पुर्खा दाऊदको ह्रदयजस्तै परमप्रभु तिनका परमेश्वरप्रति समर्पित भएन । 4 तरै पनि दाऊदको खातिर परमप्रभु तिनका परमेश्वरले यरूशलेमलाई बलियो बनाउन तिनी पछि तिनको छोरोलाई उठाएर यरूशलमेमा तिनलाई एउटा बत्ती दिनुभयो । 5 दाऊदले परमेश्वरको दृष्टिमा जे ठिक छ, त्यही गरेकाले उहाँले यसो गर्नुभयो । किनकि हित्ती उरियाहको विषयमा बाहेक उहाँले तिनलाई दिनुभएको कुनै पनि आज्ञाबाट तिनी आफ्नो जीवनभर तर्केर गएनन् । 6 अबियाको जीवनभर रहबाम र यारोबामको बिचमा युद्ध भइरह्‍यो । 7 के अबियाले गरेका अन्य कामहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? अबिया र यारोबामको बिचमा युद्ध चलेको थियो । 8 अबिया आफ्ना पित्रहरूसित सुते, र तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा आसा राजा भए । 9 इस्राएलका राजा यारोबामको बिसौँ वर्षमा आसाले यहूदामाथि शासन गर्न थाले । 10 तिनले यरूशलेममा एकचालिस वर्ष राज्य गरे । तिनकी हजुर आमाको नाउँ माका थियो जो अबीशालोमकी छोरी थिइन् । 11 आसाले तिनका पुर्खा दाऊदले परमप्रभुको दृष्टिमा जे ठिक छ, त्यही गरे । 12 तिनले देशबाट झुटो धर्मसम्बन्धी वेश्याहरूलाई निष्कासन गरे, र तिनका पुर्खाहरूले बनाएका सबै मुर्तिलाई हटाइदिए । 13 तिनले आफ्नी हजुर आमा माकालाई पनि राजमाताको पदबाट हटाए किनकि उनले अशेरा देवीको एउटा घिनलाग्दो मूर्ति बनाएकी थिइन् । आसाले त्यस घिनलाग्दो मूर्तिलाई टुक्राटुक्रा पारी किद्रोन उपत्यकामा लगेर जलाइदिए । 14 तर डाँडाका थानहरू भने हटाइएनन् । तरै पनि आसाको ह्रदय तिनको जिवनकालभरि परमप्रभुप्रति पूर्ण रूपमा समर्पित थियो । 15 तिनले आफ्ना पिताद्वारा अलग गरिएका कुराहरू र तिनी आफैले बनाएर अलग गरेका सुन, चाँदीसाथै भाँडाकुँडाहरू परमप्रभुको मन्दिरभित्र ल्याए । 16 आसा र इस्राएलका राजा बाशाका राज्यकालभरि तिनीहरूको बिचमा युद्ध चलिरह्‍यो । 17 इस्राएलका राजा बाशा यहूदाको विरुद्धमा आक्रामक रूपमा आए, र यहूदका राजा बाशाको देशमा कसैलाई प्रवेश गर्न नदिन तिनले रामामा किल्ला निर्माण गरे । 18 त्यसपछि आसाले परमप्रभुको मन्दिर र राजाको महलका भण्डारहरूमा छाडिएका सबै चाँदी र सुन लिए । तिनले ती आफ्ना अधिकारीहरूका हातमा दिए, र त्यसलाई तब्रिमोनका छोरा, हेज्योनका नाति अरामका राजा बेन-हददकहाँ पठाइदिए जो दमस्कसमा बस्थे । तिनले भने, 19 "मेरा पिता र तपाईंका पिताको बिचमा भएजस्तै तपाईं र मेरो बिचमा एउटा करार बाँधियोस् । हेर्नुहोस्, मैले तपाईंकहाँ चाँदी र सुनको उपहार पठाएको छु । इस्राएलका राजा बाशासितको करार तोड्नुहोस् ताकि तिनले मलाई एकलै छाडून् ।” 20 बेन-हददले राजा आसाको कुरा सुने र आफ्ना सेनापतिहरू पठाए, अनि तिनीहरूले इस्राएलका सहरहरूमाथि आक्रमण गरे । तिनीहरूले इयोन, दान, हाबिल-बेथ-माका र नप्तालीको क्षेत्रसमेत सबै सारा किन्नरेतलाई आक्रमण गरे । 21 जब बाशाले यो कुरा सुने तिनले रामामा किल्ला निर्माण गर्न छाडेर तिनी तिर्सामा फर्केर गए । 22 तब राजा आसाले सारा यहूदामा एउटा घोषणा गरे जसमा कोही पनि छुटेको थिएन । तिनीहरूले बाशाले रामा सहर निर्माणको लागि प्रयोग गरिरहेका ढुङ्गाहरू र काठहरू लिएर गए । तब राजा आसाले बेन्यामीनको गेबा र मिस्माको निर्माणमा ती सामग्रीहरूको प्रयोग गरे । 23 के आसाले गरेका अरू कामहरू, तिनका सारा शक्ति र तिनले निर्माण गरेका सहरहरूको बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? तर तिनको वृद्धावस्थामा तिनको खुट्टामा रोग लाग्यो । 24 त्यसपछि आसा आफ्ना पित्रहरूसित सुते र तिनलाई तिनका पिता पुर्खा दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा यहोशापात राजा भए । 25 यहूदाका राजा आसाको दोस्रो वर्षमा यारोबामका छोरा नादाबले इस्राएलमाथि शासन गर्न थाले । तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे । 26 तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र आफ्ना पिताको चालमा हिँडे । तिनी आफ्नै पापमा हिँडे र इस्राएललाई पनि पाप गर्न लगाए । इस्साखारको घरानाका 27 अहियाहका छोरा बाशाले नादाबको विरुद्धमा षड्यन्त्र रचे । बाशाले तिनलाई पलिश्तीहरूको सहर गिब्बतोनमा मारे किनकि नादाब र सारा इस्राएलले गिब्बतोनलाई घेरा हाल्दै थिए । 28 यहूदाका राजा आसाको तेस्रो वर्षमा बाशाले नादाबलाई मारे, तिनको ठाउँमा तिनी राजा बने । 29 तिनी राजा हुनेबित्तिकै बाशाले याराबामको सारा घरानालाई मारे । तिनले यारोबामको कुनै पनि सन्तानलाई जिउँदो राखेनन् । यसरी परमप्रभुले आफ्ना दास शीलोका अहियाहद्वारा बोल्नुभएझैँ तिनले यारोबामको सबै राजकीय वंशलाई नष्ट गरिदिए । 30 यारोबामले गरेका पाप र तिनले इस्राएललाई गर्न लगाएका पापको कारण तिनीहरूले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाएकाले यसो हुन आएको हो । 31 के नादाबका अरू कार्यहरू र तिनले गरेका कामको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 32 आसा र इस्राएलका राजा बाशाको बिचमा तिनीहरूको राज्यकालभरि युद्ध चलिरह्‍यो । 33 यहूदाका राजा आसाको तेस्रो वर्षमा अहियाहका छोरा बाशाले तिस्रामा बसी सारा इस्राएलमाथि शासन गर्न थाले, र तिनले चौबिस वर्ष राज्य गरे । 34 तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र तिनी यारोबामको मार्ग र तिनले इस्राएललाई गर्न लगाएको पापमा हिँडे ।

16

1 बाशाको विरुद्धमा हनानीका छोरा येहूकहाँ परमप्रभुको वचन आयो, 2 "मैले तँलाई धूलोबाट उठाई मेरो जाति इस्राएलमाथि अगुवा बनाए तापनि तँ यारोबामको चालमा हिँडी तैँले मेरो जाति इस्राएललाई पाप गर्न लगाएको छस् र तिनीहरूका पापद्वारा मलाई रिस उठाएको छस् । 3 हेर्, म बाशा र त्यसको घरानालाई पूर्ण रूपमा निमिट्यान्न पारिदिने छु र तेरो घरानालाई नबातका छोरा यारोबामको परिवारजस्तै तुल्याउने छु । 4 बाशाको घरानाका सहरमा मर्ने जोसुकैलाई कुकुरहरूले खाने छन्, र खेतमा मर्नेलाई चाहिँ आकाशका चराचुरुङ्गीहरूले खाने छन् ।” 5 के बाशाले गरेका अरू कामहरू र तिनको शक्तिको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 6 बाशा आफ्ना पित्रहरूसित सुत्न गए, र तिनलाई तिर्सामा गाडियो । तिनको ठाउँमा तिनका छोरा एलाह राजा भए । 7 यारोबामको घरानाले गरेजस्तै बाशाले परमप्रभुको दृष्टिमा गरेका सबै खराबी गरेकाले र आफ्ना हातको कामले उहाँलाई रिस उठाएकाले र तिनले यारोबामको घरानाका सबैलाई मारेकाले बाशा र तिनको परिवारको विरुद्धमा परमप्रभुको वचन हनानीका छोरा अगमवक्ता येहूकहाँ आयो । 8 यहूदाका राजा आसाको छब्बिसौँ वर्षमा बाशाका छोरा एलाहले तिर्सामा बसेर सारा इस्राएलमाथि शासन गर्न थाले । तिनले दुई वर्ष राज्य गरे । 9 तिनको दास जिम्री अर्धरथ-सेनाका सेनापति थिए जसले राजाको विरुद्धमा षड्यन्त्र गरे । त्यस बेला एलाह तिर्सामा भएको आफ्नो राजमहलको जिम्मावाल आर्साको घरमा मद्यपान गरिरहेका थिए । 10 जिम्री भित्र पसे, र राजामाथि आक्रमण गरी तिनलाई मारे । यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्री तिनको ठाउँमा राजा भए । 11 जब जिम्री आफ्नो सिंहासनमा बसी शासन गर्न थाले, तिनले बाशाका सबै घरानालाई मारे । तिनले बाशाका आफन्त वा मित्रहरूमध्ये एउटै पनि पुरुषलाई जिउँदो छाडेनन् । 12 यसरी अगमवक्ता येहूद्वारा परमप्रभुले बाशाको विरुद्धमा बोल्नुभएको वचनमुताबिक जिम्रीले बाशाका सारा घरानालाई नष्ट गरिदिए । 13 बाशा र तिनका छोरा एलाहले गरेका पाप र इस्राएललाई गर्न लगाएका सबै पापको कारण अनि तिनीहरूका मूर्तिहरूले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाएको कारण यस्तो हुन आएको हो । 14 के एलाहले गरेका अरू कामहरूको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 15 यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्रीले तिर्सामा केवल सात दिन शासन गरे । त्यस 16 बेला सेनाचाहिँ पलिश्तीहरूको सहर गिब्बतोनको नजिकै छाउनी हालेर बसेका थिए । छाउनीका सेनाले यो सुने, “जिम्रीले षड्यन्त्र गरी राजालाई मारेका छन् ।” त्यसैले त्यसै दिन छाउनीमा सारा इस्राएलले सेनापति ओम्रीलाई इस्राएका राजा घोषणा गरे । 17 ओम्री गिब्बतोनबाट गए र तिनीसँगै सारा इस्राएल पनि गए, अनि तिनीहरूले तिर्सालाई घेरा हाले । 18 त्यसैले जब जिम्रीले सहर घेरा हालिएको देखे तिनी राजाको महलसित गाँसिएको किल्लामा गए, र तिनले राजमहलमा आगो लगाइदिए । यसरी तिनी आगोमा जलेर मरे । 19 तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरेर यारोबामको चालमा र तिनले गरेका पाप र तिनले इस्राएललाई गर्न लगाएका पापमा हिँडेर ती पाप गरेकाले यसो हुन आएको हो । 20 के जिम्रीका अरू कामहरू र तिनले गरेको विद्रोहको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 21 तब इस्राएलका मानिसहरू दुई भागमा विभाजन भए । मानिसहरूमध्ये आधाले गीनतका छोरा तिब्नीलाई राजा बनाउन तिनलाई पछ्याए भने बाँकी आधाले चाहिँ ओम्रीलाई पछ्याए । 22 तर ओम्रीलाई पछ्याउने मानिसहरू गीनतका छोरा तिब्नीलाई पछ्याउने मानिसहरूभन्दा बढी शक्तिशाली थिए । त्यसैले तिब्नी मरे, र ओम्री राजा बने । 23 यहूदाका राजा आसाको एकतिसौँ वर्षमा ओम्रीले सारा इस्राएलमाथि शासन गर्न थाले, र तिनले जम्माजम्मी बाह्र वर्ष राज्य गरे । तिनले छ वर्षचाहिँ तिर्साबाट राज्य गरे । 24 तिनले करिब सत्तरी किलोग्राम चाँदीमा शेमेरको हातबाट सामरियाको डाँडा किने । तिनले त्यसमा एउटा सहर बनाए, र त्यस डाँडाको प्रथम मालिक शेमेरको नाउँमा त्यसको नाउँ सामरिया राखे । 25 ओम्रीले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे, अनि तिनीभन्दा अगिका सबैले भन्दा तिनी अझै दुष्टतापूर्वक हिँडे । 26 किनकि तिनी नबातका छोरा यारोबामका सबै चाल र तिनले तिनीहरूका बेकम्मा मूर्तिहरूद्वारा इस्राएललाई गर्न लगाएका पापमा हिँडी तिनले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए । 27 के ओम्रीले गरेका अरू कामहरू र तिनले देखाएको शक्तिको विषयमा इस्राएलका राजाहरूको इतिहासकको पुस्तकमा लेखिएका छैनन् र ? 28 यसरी ओम्री आफ्ना पित्रहरूसित सुते, र तिनी सामरियामा गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाब राजा भए । 29 यहूदाका राजा आसाको अठतिसौँ वर्षमा ओम्रीका छोरा आहाबले इस्राएलमाथि शासन गर्न थाले । ओम्रीका छोरा आहाबले सामरियाबाट इस्राएलमाथि बाइस वर्ष शासन गरे । 30 ओम्रीका छोरा आहाबले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे । तिनले तिनीभन्दा अगिका सबैले भन्दा अझै खराब गरे । 31 आहाबको लागि नबातका छोरा यारोबामका पापमा हिँड्नु मामुली कुरा थियो । त्यसैले तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेलसित विवाह गरे । तिनले बालको पुजा गरे र त्यसको सामु निहुरे । 32 तिनले सामरियामा निर्माण गरेका बालको मन्दिरमा बालको निम्ति एउटा वेदी बनाए । 33 आहाबले अशेरा देवीको मूर्ति खडा गरे । आहाबले तिनीभन्दा अगिका सबै राजाले भन्दा बढी इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए । 34 आहाबको शासनकालमा बेथेलका हीएलले यरीहोको पुनर्निर्माण गरे । हीएलले सहरको जग बसाल्दा तिनको जेठो छोरो अबीरामको मृत्यु भयो । तिनले सहरका मूल ढोकाहरू बनाइरहँदा तिनको कान्छो छोरो सगूबको मृत्यु भयो । यसरी परमप्रभुले नूनका छोरा यहोशूद्वारा बोल्नुभएको वचन पुरा भयो ।

17

1 गिलादको तिश्बेका तिश्बी एलियाले आहाबलाई भने, “इस्राएलका परमेश्वर परमप्रभु जसको सामु म खडा छु, उहाँको नाउँमा म भन्दछु कि मैले नभनेसम्म पानी पर्ने छैन वा शीत पर्ने छैन ।” 2 परमप्रभुको वचन एलियाकहाँ आयो, 3 "यस ठाउँलाई छाडेर पूर्वतिर जा । यर्दनको पूर्वमा पर्ने करीत खोलामा लुकेर बस् । 4 तैँले त्यही खोलाबाट पानी पिउने छस्, र मैले तँलाई खुवाउन कागहरूलाइ आज्ञा गरेको छु ।” 5 एलिया गए, र परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनले गरे । तिनी यर्दनको पूर्वमा पर्ने केरीत खोलानेर बस्न गए । 6 कागहरूले तिनलाई बिहान र बेलुका रोटी र मासु ल्याए, अनि तिनले खोलाबाट पानी पिए । 7 तर देशमा पानी नपरेकोले केही समय बितेपछि खोला सुक्यो । 8 परमप्रभुको वचन तिनीकहाँ आयो, 9 "उठेर सीदोनको सारपातमा जा, र त्यही बस् । हेर्, तेरो खानाको बन्दोवस्त मिलाउन मैले त्यहाँ एउटी विधवालाई आज्ञा दिएको छु ।” 10 त्यसैले तिनी उठेर सारपातमा गए । तिनी सहरको मुल ढोकामा आइपुग्दा एउटी विधवाले दाउरा बटुल्दै थिइन् । तिनले उनलाई डाकेर भने, “मलाई पिउनलाई यो भाँडोमा थोरै पानी ल्याइदिनुहुन्छ कि ?” 11 उनी पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “तपाईंको हातमा रोटीको टुक्रा पनि ल्याइदिनुहोस् ।” 12 उनले भनिन्, “परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि मसित कुनै रोटी छैन, तर भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलकति तेल छ । हेर्नुहोस्, म र मेरो छोरोको लागि खाना बनाई खाएर हामी नमरूँ भनी मैले दुईचार टुक्रा दाउरा बटुल्दै छु ।” 13 एलियाले उनलाई भने, “नडराऊ । गएर मैले भनेझैँ गर, तर पहिले मेरो निम्ति सानो रोटी बनाएर ल्याऊ । त्यसपछि तिमी र तिम्रो छोरोको निम्ती केही रोटी बनाऊ । 14 किनकि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'परमप्रभुले पृथ्वीमा वृष्टि नपठाउञ्जेलसम्म पिठोको भाँडो रित्तो हुने छैन, न त ढुङ्ग्रोबाट तेल आउन रोकिने छ ।” 15 त्यसैले उनले एलियाले भनेझैँ गरिन् । उनी र एलियालगायत उनको घरानाले धेरै दिनसम्म खाए । 16 परमप्रभुले एलियाद्वारा बोल्नुभएको वचनले भनेझैँ पिठोको भाँडो रित्तो भएन, न त ढुङ्ग्रोबाट तेल आउन रोकियो । 17 यी कुरापछि ती स्त्री अर्थात् त्यस घरको मालिक्नीको छोरो बिरामी पर्‍यो । त्यसको रोग यति गम्भीर थियो कि त्यसले सास फेर्नै छोड्यो । 18 त्यसैले त्यसकी आमाले एलियालाई भनिन्, “हे परमेश्वरका जन, मेरो विरुद्धमा तपाईंसित के छ ? के तपाईं मेरो पापलाई स्मरण गराई मेरो छोरोलाई मार्न आउनुभएको हो ?” 19 तब एलियाले उनलाई जवाफ दिए, “तपाईंको छोरो मलाई दिनुहोस् ।” तिनले उनका पाखुराबाट शरीरलाई लिई आफू बसेको कोठामा लगे, र आफ्नै ओछ्यानमा सुताए । 20 तिनले परमप्रभुलाई पुकारे, “हे परमप्रभु मेरा परमेश्वर, के तपाईंले म जुन विधवासित बसिरहेको छु, उनको छोरोलाई मारेर उनीमाथि विपत्ति ल्याउनुभएको हो ?” 21 त्यसपछि एलिया त्यस बालकमाथि तिन पटक लम्पसार परेर सुते । तिनले परमप्रभुलाई पुकारे, “हे परमप्रभु मेरा परमेश्वर, यो बालकको जीवन फर्कोस् भनी म तपाईंलाई बिन्ती गर्दछु ।” 22 परमप्रभुले एलियाको कुरा सुन्नुभयो । बालकको जीवन फर्केर आयो र त्यो जीवित भयो । 23 एलियाले बालकलाई लिई कोठाबाट बाहिर ल्याए । बालकलाई त्यसकी आमाको जिम्मा लगाएर तिनले भने, “हेर, तिम्रो छोरो बाँचेको छ ।” 24 ती स्त्रीले एलियालाई भनिन्, “अब मलाई थाहा भयो, कि तपाईं परमेश्वरका जन हुनुहुँदोरहेछ र तपाईंको बोलीमा भएको परमप्रभुको वचन तपाईंको मुखमा साँचो रहेछ ।”

18

1 धेरै दिन बितेपछि खडेरीको तेस्रो वर्षमा परमप्रभुको वचन एलियाकहाँ आयो, “आहाबकहाँ गएर आफैलाई प्रकट गर्, र म देशमा वृष्टि ल्याउने छु ।” 2 आफैलाई आहाबकहाँ प्रकट गर्न एलिया गए । सामरियामा घोर अनिकाल परेको थियो । 3 आहाबले राजदरबारको जिम्मावाल ओबदियालाई बोलाए । ओबदियाले परमप्रभुलाई अत्यन्तै आदर गर्थे । 4 किनकि ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा ओबदियाले एक सय अगमवक्तालाई लिएर तिनीहरूलाई पचास-पचास गरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएका थिए । 5 आहाबले ओबदियालाई भने, “देशको चारैतिर भएका खोलानाला र त्यसका मुहानहरूमा जाऊ । सायद हामीले घाँस पाउनेछौँ अनि घोडा र खच्चरहरूलाई जीवितै राख्न सक्छौँ । यसरी हामीले सबै पशु गुमाउने छैनौँ । 6 त्यसैले निरीक्षण र पानीको खोजीको लागि तिनीहरूले देश विभाजन गरे । आहाब एकलै एकातिर गए, र ओबदिया अर्कोतिर गए । 7 ओबदिया बाटोमा जाँदै गर्दा एलियाले अकस्मात् तिनलाई भेटे । ओबदियाले तिनलाई चिनिहाले र भुइँतिर शिर निहुराए । तिनले भने, “के तपाईं मेरा मालिक एलिया हुनुहुन्न र ?” 8 एलियाले तिनलाई जवाफ दिए, “म नै हुँ । 'हेर, एलिया यहीँ छन्' भनी गएर तिम्रो मालिकलाई बताइदेऊ ।” 9 ओबदियाले भने, “मैले के पाप गरेको छु, कि तपाईं आफ्ना दासलाई आहाबको हातमा मर्नलाई सुम्पनुहुन्छ ?” 10 परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि यस्तो कुनै जाति वा राज्य छैन जहाँ मेरा मालिकले तपाईंलाई फेला पार्न मानिसहरू पठाएका छैनन् । 'एलिया यहाँ छैनन्' भनी कुनै जाति वा राज्यले बताउँदा तिनीहरूले फेला पार्न सकेनन् भनी आहाबले तिनीहरूलाई भाकल गर्न लगाउँछन् । 11 तथापि अहिले तपाईं भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।' 12 म यहाँबाट जानेबित्तिकै परमप्रभुका आत्माले तपाईंलाई मैले नचिनेको ठाउँमा लैजानुहुने छ । तब मैले आहाबलाई गएर बताउँदा तिनले तपाईंलाई फेला नपारेपछि तिनले मलाई मार्ने छन् । तापनि म तपाईंका दासले त मेरो बाल्यकालदेखि नै परमप्रभुको आराधना गरेको छु । 13 हे मेरा मालिक, ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा मैले परमप्रभुका एक सय जना अगमवक्तालाई पचास-पचास गरी कसरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएँ भन्ने कुरो तपाईंलाई बताइएको छैन र ? 14 अहिले तपाईं मलाई भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।' तिनले मलाई मार्ने छन् ।” 15 तब एलियाले जवाफ दिए, “सर्वशक्तिमान् परमप्रभु जसको अगि म खडा छु, उहाँको नाउँमा शपथ खाएर म भन्दछु, कि निश्चय नै म आजै आहाबकहाँ देखा पर्ने छु ।” 16 त्यसैले ओबदिया आहाबलाई भेट्न गए, र एलियाले भनेका कुरा तिनलाई बताए । 17 तब राजा एलियालाई भेट्न गए । जब आहाबले एलियालाई देखे, तिनले तिनलाई भने, “तिमी नै एलिया हौ ? इस्राएलमा कष्ट ल्याउने तिमी नै हौ!" 18 एलियाले जवाफ दिए, “मैले इस्राएलमा कष्ट ल्याएको छैनँ, तर तपाईं र तपाईंको परिवारले परमप्रभुका आज्ञाहरू त्यागेर बाल देवताको पछि लागी कष्ट ल्याउनुभएको छ । 19 अब मलाई कर्मेल डाँडामा भेट गर्न सारा इस्राएलीलाई बोलाउनुहोस् । ईजेबेलको टेबुलमा बसेर खाने बालका चार सय पचास अगमवक्ता र अशेराका चार सय अगमवक्तालाई पनि ल्याउनुहोस् ।” 20 त्यसैले आहाबले सारा इस्राएलीलाई भेल हुन खबर पठाए, र तिनीहरू अगमवक्ताहरूसँगै कर्मेल डाँडामा जम्मा भए । 21 एलिया सबै मानिसका नजिक आई भने, “कहिलेसम्म तिमीहरू आफ्नो मन बद्लिरहन्छौ ? परमप्रभु नै परमेश्वर हुनुहुन्छ भने उहाँको पछि लाग । तर बाल परमेश्वर हो भने त्यसको पछि लाग ।” तापनि मानिसहरूले तिनलाई जवाफ दिएनन् । 22 तब एलियाले मानिसहरूलाई भने, “परमप्रभुको अगमवक्ताको रूपमा म एकलै छाडिएको छु, तर बालका अगमवक्ताहरू ४५० जना छन् । 23 तिनीहरूले हामीलाई दुईवटा साँढे देऊन् । तिनीहरू आफैले एउटा साँढेको छनोट गरी त्यसलाई टुक्राटुक्रा पारून्, अनि त्यसलाई दाउरामाथि राखून्, तर त्यसको मुनि आगो भने नलगाऊन् । त्यसपछि म अर्को साँढेलाई तयार पार्ने छु, र त्यसलाई दाउरामाथि राख्ने छु, तर त्यसको मुनि आगो भने लगाउँदिनँ । 24 तिमीहरूले आफ्नो देवतालाई पुकार गर, र म परमप्रभुलाई पुकार्ने छु । जसले आगोद्वारा जवाफ दिनुहुन्छ उहाँ नै परमेश्वर हुनुहुने छ ।” सबै मानिसले भने, “यो असल कुरो हो ।” 25 त्यसैले एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरूले एउटा साँढे छनोट गरी त्यसलाई तयार पार किनकि तिमीहरू सङ्ख्यामा धेरै छौ । त्यसपछि आफ्नो देवतालाई पुकार गर, तर साँढेको मुनि आगो नलगाओ ।” 26 तिनीहरूले तिनीहरूलाई दिइएको एउटा साँढे लिएर त्यसलाई तयार पारे, र बिहानदेखि दिउँसोसम्म यसो भन्दै बाललाई पुकार गरे, “हे बाल, हाम्रा कुरा सुन्नुहोस् ।” तर त्यहाँ कुनै आवाज आएन, न त कसैले जवाफ दियो । तिनीहरूले बनाएका वेदीको वरिपरि तिनीहरू नाचे । 27 मध्यान्हमा एलियाले तिनीहरूको खिसी गर्दै भने, “अझै चर्को गरी कराओ । त्यो पो देवता हो! उसले सोचविचार गर्दै होला वा काममा व्यस्त होला वा यात्रामा होला वा सुतिहरको छ होला । त्यसैले उसलाई ब्युँझाइनुपर्छ ।” 28 त्यसैले तिनीहरू अझै चर्को गरी चिच्च्याए, र तिनीहरूको आदतअनुसार तिनीहरूले आ-आफूलाई तरवार र भालाले प्रहार गरे । 29 मद्यदिन बितेर गयो, र तिनीहरू साँझको बलिदान चढाउने बेलासम्म तिनीहरू बरबराउँदै थिए, तर त्यहाँ कुनै आवाज सुनिएन न त कसैले जवाफ दियो । तिनीहरूका बिन्तीलाई ध्यान दिने कोही भएन । 30 तब एलियाले मानिसहरूलाई भने, “मेरो नजिक आओ ।” सबै मानिस तिनको नजिक आए । त्यसपछि तिनले परमप्रभुको भत्केको वेदी मर्मत गरे । 31 एलियाले बाह्रवटा ढुङ्गा लिए । प्रत्येकले याकूबका बाह्र छोराको प्रतिनिधित्व गर्थ्यो । यी तिनै याकूब हुन् जसकहाँ परमप्रभुको यस्तो वचन आएको थियो, “तेरो नाउँ इस्राएल हुने छ ।” 32 ती ढुङ्गाहरूले तिनले परमप्रभुको नाउँमा एउटा वेदी बनाए, र त्यस वेदीको वरिपरि पन्ध्र लिटर जति बिउ जाने ठुलो खाडल खने । 33 तिनले आगो लगाउन दाउराको बन्दोवस्त गरे, साँढेलाई टुक्राटुक्रा पारे, र ती टुक्राहरूलाई दाउरामाथि राखे । तिनले भने, “चार गाग्रा पानी भरेर यो बलि र दाउरामाथि खन्याइदेओ ।” 34 त्यसपछि तिनले भने, “दोस्रो पटक पनि यसै गर ।” तिनीहरूले दोस्रो पटक पनि त्यसै गरे । फेरि एक पटक तिनले भने, “तेस्रो पटक पनि यसै गर ।” तिनीहरूले तेस्रो पटक पनि त्यसै गरे । 35 पानी वेदीको चारैतिर पोखियो र खाडल भरियो । 36 साँझको बलिदान चढाउने समयमा एलिया अगमवक्ता नजिक आएर भने, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, तपाईं इस्राएलका परमेश्वर हुनुहुन्छ र म तपाईंका दास हुँ र यी सबै कुरा मैले तपाईंको वचनअनुसार गरेको छु भनी आज थाहा होस् । 37 हे परमप्रभु, मेरो कुरा सुन्नुहोस्, तपाईं परमप्रभु नै परमेश्वर हुनुहुन्छ र तपाईंले नै यी मानिसहरूका ह्रदय फर्काउनुभएको छ भनी यी मानिसहरूले जानून् ।” 38 तब परमप्रभुको आगो खसी होमबलि, दाउरा, ढुङ्गाहरू, धूलोलाई नष्ट पार्‍यो, र खाडलको पानी पनि सुकाइदियो । 39 जब सबै मानिसले यो देखे तिनीहरूले आ-आफ्ना शिर झुकाई भने, “परमप्रभु नै परमेश्वर हुनुहुन्छ! परमप्रभु नै परमेश्वर हुनुहुन्छ!" 40 त्यसैले एलियाले तिनीहरूलाई भने, “बालका अगमवक्ताहरूलाई पक्र । एउटै पनि भाग्न नपाओस् ।” त्यसैले तिनीहरूले बालका अगमवक्कताहरूलाई पक्रे र तिनीहरूलाई कीशोन खोलामा ल्याई मारे । 41 एलियाले आहाबलाई भने, “उठ्नुहोस्, खानपान गर्नुहोस् र पिउनुहोस् किनकि ठुलो झरीको आवाज आउँदै छ ।” 42 त्यसैले आहाब खानपान गर्न र पिउनलाई गए । तब एलिया कर्मेल डाँडाको टाकुरामा उक्ले, भुइँमा आफ्नो शिर झुकाई आफ्ना घुँडाहरूका बिचमा आफ्नो मुहार राखे । 43 तिनले आफ्नो नोकरलाई भने, “गएर समुद्रतिर गएर हेर् ।” तिनको नोकर गएर हेर्‍यो र फर्केर आई भन्यो, “त्यहाँ केही छैन ।” त्यसैले एलियाले भने, “सातपल्ट गएर हेर् ।” 44 सातौँ पटकमा नोकरले भन्यो, “हेर्नुहोस्, मानिसको हातजस्तै समुद्रबाट सानो बादल उठिरहेको छ ।” एलियाले जवाफ दिए, “गएर आहाबलाई भन्, 'आफ्नो रथ तयार गरेर तल जानुहोस् नत्रता पानीले तपाईंलाई रोक्ने छ ।” 45 केही क्षणमा नै बादल कालो भयो र हुरी चल्यो, अनि त्यहाँ ठुलो झरी पर्‍यो । आहाब रथमा चढेर यिजरेलमा गए, 46 तर परमप्रभुको हात एलियामाथि थियो । तिनले आफ्नो खास्टो पटुकामा कसे, र यिजरेलको प्रवेशद्वारसम्मै आहाबको अगिअगि कुदे ।

19

1 एलियाले गरेका सबै काम र कसरी तिनले सबै अगमवक्तालाई तरवारले मारे भनी आहाबले ईजेबेललाई बताए । 2 तब ईजेबेलले एलियाकहाँ यसो भनेर एक जना सन्देशवाहक पठाए, “तैँले जसरी ती अगमवक्ताहरूको प्राण लिइस्, त्यसरी नै भोलि यसै बेलासम्म मैले तेरो प्राण लिइनँ भने देवताहरूले मलाई पनि त्यसै गरून् वा सोभन्दा बेसी गरून् ।” 3 जब एलियाले यो कुरा सुने तिनी उठेर आफ्नो जीवन बचाउन भागे, र यहूदाको बेर्शेबामा आए, तर आफ्नो नोकरलाई चाहिँ त्यहीँ छाडे । 4 तर तिनी आफैचाहिँ एक दिनको यात्रा गरेर उजाड-स्थानमा गए, र अम्रिसको एउटा झाडीमा आए । आफू मरोस् भनी तिनले बिन्ती गर, “हे परमप्रभु, अब अति भयो । मेरो प्राण लिनुहोस् किनकि म मेरा पित्रहरूभन्दा असल छैनँ ।” 5 त्यसैले तिनी पल्टे, र अम्रिसको झाडीमुनि सुते । अकस्मात् एउटा स्वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ ।” 6 एलियाले हेरे, र आफ्नो शिरनेर कोइलामा पोलेर तयार पारिएको रोटी र एक सुरही पानी देखे । त्यसैले तिनले खाए, र पिए अनि फेरि पल्टे । 7 परमप्रभुका दूत दोस्रो पटक पनि आए र तिनलाई छोएर भने, “उठेर खाऊ किनकि तिम्रो लागि यात्रा निकै लामो छ ।” 8 त्यसैले तिनी उठेर खाए, र पिए अनि त्यस खानाको शक्ति पाएर चालिस दिन यात्रा गरेर परमेश्वरको पर्वत होरेबसम्मै आए । 9 त्यहाँ तिनी एउटा गुफामा गए, र त्यहीँ नै बसे । तब परमप्रभुको वचन तिनीकहाँ आयो, “ए एलिया, तँ यहाँ के गर्दै छस् ?” 10 एलियाले जवाफ दिए, “सर्वशक्तिमान् परमप्रभुको निम्ति म साह्रै जोसिलो भएको छु, किनकि इस्राएलीहरूले तपाईंको करार उल्लङ्घन गरेका छन्, तपाईंका वेदीहरू भत्काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन् । अब म एकलै छाडिएको छु, र तिनीहरूले मेरो प्राण लिन खोज्दै छन् ।” 11 परमप्रभुले जवाफ दिनुभयो, “निस्केर जा, अनि पर्वतमा मेरो सामु खडा हो ।” तब परमप्रभु त्यहाँबाट भएर जानुभयो, र प्रचण्ड बतासले पर्वतलाई प्रहार गर्‍यो अनि परमप्रभुको सामु चट्टानहरू टुक्राटुक्रा भए, तर परमप्रभु बतासमा हुनुहुन्थेन । बतासपछि एउटा भूकम्प गयो, तर परमप्रभु भूकम्पमा पनि हुनुहुन्थेन । 12 भूकम्पपछि एउटा आगो आयो, तर परमप्रभु आगोमा पनि हुनुहुन्थेन । आगोपछि एउटा सानो आवाज आयो । 13 जब एलियाले त्यो आवाज सुने तब तिनले खास्टोमा आफ्नो मुहार लुकाए, र बाहिर निस्केर गुफाको मुखमा उभिए । तब एउटा आवाज आयो जसले तिनलाई भन्यो, “ए एलिया, तँ यहाँ के गर्दै छस् ?” 14 एलियाले जवाफ दिए, “सर्वशक्तिमान् परमप्रभुको निम्ति म साह्रै जोसिलो भएको छु, किनकि इस्राएलीहरूले तपाईंको करार उल्लङ्घन गरेका छन्, तपाईंका वेदीहरू भत्काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन् । अब म एकलै छाडिएको छु, र तिनीहरूले मेरो प्राण लिन खोज्दै छन् ।” 15 तब परमप्रभुले तिनलाई भन्नुभयो, “फर्केर दमस्कसको उजाड-स्थानको बाटोमा जा, र तँ त्यहाँ आइपुगेपछि हजाएललाई अरामका राजाको रूपमा अभिषेक गर् । 16 तैँले निम्शीका छोरा येहूलाई इस्राएलको राजाको रूपमा नियुक्त गर्नू, र तेरो ठाउँमा हाबिल-महोलाको शाफातका छोरा एलीशालाई अगमवक्ताको रूपमा अभिषेक गर्नू । 17 हजाएलको तरवारबाट उम्कने जोसुकैलाई येहूले मार्ने छन्, र येहूको तरवारबाट उम्कने जोसुकैलाई एलीशाले मार्ने छन् । 18 तर म इस्राएलमा सात हजार मानिसलाई बचाइराख्ने छु, जसले बालको सामु घुँडा टेकेका छैनन्, र जसका मुखले त्यसलाई चुम्बन गरेका छैनन् ।” 19 त्यसैले एलिया त्यहाँबाट प्रस्थान गरे, र तिनले शाफातका छोरा एलीशालाई फेला पारे । तिनले बाह्र हल गोरुले खेत जोतिरहेका थिए । त्यस बेला तिनले बाह्रौँ हललाई जोतिरहेका थिए । एलिया एलीशाकहाँ आए, र तिनलाई आफ्नो खास्टो ओढाइदिए । 20 त्यसपछि एलीशाले ती गोरुहरू छाडेर एलियाको पछि लागे । तिनले भने, “मलाई मेरा पिता र मेरी आमालाई चुम्बन गर्न दिनुहोस्, र त्यसपछि म तपाईंको पछि लाग्ने छु ।” तब एलियाले भने, “फर्केर जाऊ, तर मैले तिमीलाई भनेको कुराको बारेमा सोचविचार गर ।” 21 त्यसैले एलीशा एलियाबाट गए, र एक हल गोरु लिए । तिनले हलोका काठहरू जलाएर मासु पकाए । तिनले त्यो मानिसहरूलाई दिए, र तिनले पनि खाए । तब तिनी उठेर एलियाको पछि लागे, र तिनको सेवा गरे ।

20

1 अरामका राजा बेन-हददले आफ्ना सबै सेनालाई जम्मा गरे । तिनीसित बत्तिस स-साना राजा, घोडाहरू र रथहरू थिए । तिनी माथि उक्लेर सामरियालाई घेरा हाली यसको विरुद्धमा लडे । 2 तिनले इस्राएलका राजा आहाबको सहरमा सन्देशवाकहरू पठाएर भने, “बेन-हदद यसो भन्नुहुन्छ, ' 3 तपाईंका सुन र चाँदी मेरा हुन् । साथै, तपाईंका सबैभन्दा राम्रा-राम्रा पत्नीहरू र बालबच्चा मेरै हुन्' ।” 4 इस्राएलका राजाले भने, “हे मेरा मालिक राजा, तपाईंले भन्नुभएझैँ म र मेरा सबै तपाईंकै हुन् ।” 5 सन्देशवाकहरू फर्केर आएर भने, “बेन-हदद यसो भन्नुहुन्छ, 'तपाईंले तपाईंका चाँदी, तपाईंका सुन, तपाईंका पत्नीहरू र बालबच्चा मलाई दिनुपर्छ भनी मैले समाचार पठाएँ । 6 तर म भोली यसै बेलातिर मेरा दासहरूलाई पठाउने छु, र तिनीहरूले तपाईंको घर र तपाईंका अधिकारीहरूका घरहरू खोजतलास गर्ने छन् । तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूले आफ्ना हातले ती ल्याउने छन्' ।” 7 तब इस्राएलका राजाले देशका धर्म-गुरुहरूलाई जम्मा गरी भने, “यी मानिसले त सङ्कष्ट ल्याउन खोज्दै छन् भनी ख्याल गर्नुहोस् । मेरा पत्नीहरू, बालबच्चा, चाँदी र सुन लैजान तिनले मकहाँ समाचार पठाएका छन्, तर मैले इन्कार गरिदिएको छु ।” 8 सारा धर्म-गुरु र मानिसहरूले आहाबलाई भने, “तिनको कुरा नसुन्नुहोस्, वा तिनको आज्ञामा सहमति नजनाउनुहोस् ।” 9 त्यसैले आहाबले बेन-हददका सन्देशवाहकरूलाई भने, “मेरा मालिक राजालाई भनिदेऊ, 'तपाईंले पहिलो पटक आफ्नो दासमार्फत भन्नुभएको हरेक कुरामा म सहमत हुन्छु, तर यो दोस्रो मागलाई चाहिँ स्वीकार गर्दिनँ' ।” त्यसैले सन्देशवाहकरू त्यहाँबाट प्रस्थान गरे र बेन-हददको निम्ति यो जवाफ लिएर गए । 10 तब बेन-हददले आहाबलाई जवाफ पठाए, “सामरियाको बाँकी धूलो मेरो हरेक मानिसलाई एक-एक मुट्ठी दिन पुग्यो भने पनि देवताहरूले मलाई त्यस्तै वा त्योभन्दा कठोर व्यवहार गरून् ।” 11 इस्राएलका राजाले जवाफ दिए, “बेन-हददलाई भन्, 'भर्खरै कवच भिर्ने मानिसले त्यो फुकाल्ने मानिसले झैँ घमण्ड गर्नुहुँदैन' ।” 12 बेन-हदद र तिनी मुनिका राजाहरूले तिनीहरूका पालहरूमा मद्य पिइरहँदा तिनले यो समाचार सुने । बेन-हददले आफ्ना मानिसहरूलाई आज्ञा दिए, “युद्धको लागि पङ्क्तिबद्ध होओ ।” त्यसैले तिनीहरू त्यस सहरलाई आक्रमण गर्न तयार भए । 13 तब हेर, एक जना अगमवक्ता इस्राएलका राजाकहाँ आई भने, “परमप्रभु भन्नुहुन्छ, 'के तैँले यो विशाल सेनालाई देख्दै छस् ? हेर्, म आज यसलाई तेरो हातमा सुम्पिदिने छु, र म नै परमप्रभु हुँ भनी तैँले थाहा पाउने छस्' ।” 14 आहाबले जवाफ दिए, “कोद्वारा ?” परमप्रभुले जवाफ दिनुभयो, “जिल्ला-जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरूद्वारा ।” तब आहाबले भने, “कसले युद्धको थालनी गर्ने छ ?” परमप्रभुले जवाफ दिनुभयो, “तैँले ।” 15 तब आहाबले जिल्ला-जिल्लाका जल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरूलाई भेला गराए । तिनीहरू दुई सय बत्तिस जना थिए । त्यसपछि तिनले इस्राएलका सबै सिपाहीलाई जम्मा गरे । तिनीहरू सात हजार थिए । 16 तिनीहरू मध्य दिनमा बाहिर निस्के । बेन-हदद र तिनको समर्थन गर्ने तिनीमुनिका बत्तिस जना राजा पालमा मद्य पिएर मातिरहेका थिए । 17 पहिले जिल्ला-जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरू अगाडि बढे । बेन-हददद्वारा पठाइएका चेवा गर्ने मानिसहरूले तिनलाई भने, “सामरियाबाट मानिसहरू आउँदै छन् ।” 18 बेन-हददले भने, “तिनीहरू मेलमिलाप वा युद्ध जेसुकैको लागि आएको भए तापनि तिनीहरूलाई जिउँदै ल्याओ ।” 19 त्यसैले जिल्ला-जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरू सहरबाट बाहिर गए, र सेना तिनीहरूको पछिपछि लागे । 20 हरेकले आ-आफ्नो प्रतिद्वन्द्वीलाई मार्‍यो । अरामीहरू भागे, र इस्राएलीहरूले तिनीहरूलाई खेदे । अरामका राजा बेन-हदद केही घोडचढीहरूसँगै घोडामा चढेर उम्के । 21 तब इस्राएलका राजा बाहिर निस्केर घोडाहरू र रथहरूलाई आक्रमण गरे, र अरामीहरूको ठुलो संहार गरे । 22 त्यसैले अगमवक्ता इस्राएलका राजाकहाँ आई भने, “जानुहोस्, र आफैलाई बलियो पार्नुहोस्, अनि तपाईंले जे गर्दै हुनुहुन्छ त्यसलाई बुझेर योजना बनाउनुहोस् किनकि नयाँ वर्षमा अरामका राजा तपाईंको विरुद्धमा आउने छन् ।” 23 अरामका राजाका अधिकारीहरूले तिनलाई भने, “तिनीहरूका ईश्वर त पहाडहरूका ईश्वर रहेछन् । त्यसकारण तिनीहरू हामीभन्दा शक्तिशाली भएका हुन् । तर अब तिनीहरूको विरुद्धमा मैदानमा लडौँ, र निश्चय नै हामी तिनीहरूभन्दा शक्तिशाली हुने छौँ । 24 त्यसैले तपाईंले यसो गर्नुहोस्, 'सबै राजालाई तिनीहरूका पदबाट हटाई तिनीहरूको सट्टामा सेनाका नायकहरूलाई राख्नुहोस् । 25 तपाईंले गुमाउनुभएका सेनाजस्तै सेना तयार पार्नुहोस् । घोडाको लागि घोडा र रथको लागि रथ तयार पार्नुहोस् । यसरी हामी तिनीहरूसित मैदानमा लड्न सक्छौँ । तब निश्चय नै हामी तिनीहरूभन्दा शक्तिशाली हुने छौँ ।” त्यसैले बेन-हददले तिनीहरूको कुरा सुनेर त्यसैअनुसार गरे । 26 नयाँ वर्षको थालनीपछि बेन-हददले अरामीहरूलाई जम्मा गरी इस्राएलको विरुद्धमा लड्न अपेकमा गए । 27 इस्राएलीहरू पनि भेला भए, र अरामीहरूको विरुद्धमा लड्न तिनीहरूलाई खानेकुरा दिइयो । इस्राएलीहरूले तिनीहरूको सामुन्ने छाउनी हाले, र तिनीहरू बाख्राका दुईवटा स-साना बगालजस्तै थिए, जब कि अरामीहरूले पुरै मैदानलाई ढाकेका थिए । 28 तब एक जना परमेश्वरका जन नजिक आई इस्राएलका राजालाई भने, “परमप्रभु भन्नुहुन्छ, 'अरामीहरूले परमप्रभु पहाडहरूका ईश्वर हुनुहुँदोरहेछ, उपत्यकाको ईश्वर होइन रहेछ भनी भनेकाले म यो विशाल सेनालाई तेरो हातमा सुम्पिदिने छु, र म नै परमप्रभु हुँ भनी तैँले थाहा पाउने छस्' ।” 29 त्यसैले सेनाहरूले सात दिनसम्म एक-अर्काको सामुन्ने छाउनी हाले । अनि सातौँ दिनमा युद्ध सुरु भयो । इस्राएलका मानिसहरूले एकै दिनमा एक लाख पैदल अरामीलाई मारे । 30 बाँकी रहेकाहरू अपेक सहरभित्र भागे, र सत्ताइस हजारमाथि पर्खाल ढलेर बज्र्यो । बेन-हदद भागेर सहरको भित्री कोठामा गए । 31 बेन-हददका अधिकारीहरूले तिनलाई भने, “अब हेर्नुहोस्, इस्राएलको घरानाका राजाहरू कृपालु छन् भनी हामीले सुनेका छौँ । हाम्रा कम्मरको वरिपरि भाङ्ग्रा लगाएर शिरका वरिपरि फेटा बाँधेर इस्राएलका राजाकहाँ जाऔँ । सायद तिनले तपाईंको ज्यान जोगाउनुहुने छ ।” 32 त्यसैले तिनीहरूले आ-आफ्ना कम्मरवरिपरि भाङ्ग्रा लगाए, र शिरमा फेटा बाँधे अनि इस्राएलका राजाकहाँ आई भने, 'तपाईंका दास बेन-हददले भन्नुभएको छ, 'कृपया, मलाई बाँच्न दिनुहोस्' ।” आहाबले भने, “के तिनी अझै जिउँदै छन् ? तिनी त मेरा भाइ हुन् ।” 33 अब ती मानिसहरूले राजाबाट कुनै चिन्ह सुन्ने अपेक्षा गर्दै थिए । त्यसैले तिनीहरूले झट्टै उत्तर दिए, “ज्यू, हजुरका दास बेन-हदद जीवितै हुनुहुन्छ ।” तब बेन-हददले भने, “गएर तिनलाई ल्याओ ।” तब बेन-हदद तिनीकहाँ आए, र आहाबले तिनलाई आफ्नो रथमा चढाए । 34 बेन-हददले आहाबलाई भने, “मेरा पिताले तपाईंका पिताबाट लिनुभएका सहरहरू म तपाईंलाई पुनर्स्थापित गरिदिने छु, र मेरा पिताले सामरियामा गरेझैँ तपाईंले आफ्नो लागि दमस्कसमा बजारहरू स्थापित गर्न सक्नुहुन्छ ।” आहाबले जवाफ दिए, “यो सम्झौतासहित म तिमीलाई छाडिदिने छु ।” त्यसैले आहाबले तिनीसित सम्झौता गरी तिनलाई जान दिए । 35 अगमवक्ताका छोराहरूमद्ये कोही एक जनाले आफ्नो कुनै अगमवक्ता साथीलाई परमप्रभुको वचनद्वारा भने, “मलाई हिर्काऊ ।” तर ती मानिसले तिनलाई हिर्काउन इन्कार गरे । 36 तब अगमवक्ताले आफ्ना मित्र अगमवक्तालाई भने, “तिमीले परमप्रभुको कुरा नमानेकाले तिमी मबाट जानेबित्तिकै एउटा सिंहले तिमीलाई मार्ने छ ।” ती मानिस प्रस्थान गर्नेबित्तिकै एउटा सिंह आएर तिनलाई मारिदियो । 37 तब अगमवक्ताले अर्को मानिसलाई फेला पारी तिनलाई भने, “मलाई हिर्काऊ ।” 38 त्यसैले ती मानिसले तिनलाई हिर्काई घाइते बनाए । तब अगमवक्ता प्रस्थान गरे र बाटोनेर राजाको प्रतीक्षा गरे । तिनले आँखामा पट्टी बाँधेर गुप्त भेष बनाएका थिए । 39 राजा त्यही बाटो भएर आउँदा अगमवक्ताले राजालाई बोलाएर भने, “तपाईंका दास युद्धको मुखैमा गएका थिए, र एक जना सिपाहीले मलाई रोकेर मकहाँ एक जना मानिस लिएर आई मलाई भन्यो, 'यो मानिसको रक्षा गर । कुनै कारणले गर्दा यो मानिस हरायो भने यसको सट्टामा तिमीले आफ्नो प्राण दिनुपर्ने छ वा तिमीले करिब चौँतिस किलोग्राम चाँदी तिर्नुपर्ने हुन्छ ।' 40 तर तपाईंका दास यताउता जाँदैमा व्यस्त भएकाले त्यो मानिस भाग्यो ।” तब इस्राएलका राजाले तिनलाई भने, “तेरो दण्ड यही हुने छ जुन तँ आफैले निधो गरिस् ।” 41 तब ती अगमवक्ताले झट्टै आफ्ना आँखाबाट पट्टी निकाले, र तिनी त एक अगमवक्ता रहेछन् भनी इस्राएलका राजाले चिने । 42 अगमवक्ताले राजालाई भने, “परमप्रभु भन्नुहुन्छ, 'मैले मृत्युदण्ड तोकेको मानिसलाई तैँले आफ्नो हातबाट फुत्किन दिएकोले त्यसको प्राणको सट्टा तेरो प्राण र तिनीहरूका मानिसहरूको सट्टा तेरा मानिसहरू हुने छन्' ।” 43 त्यसैले इस्राएलका राजा उदास भए, र रिसाएर सामरियामा आफ्नो महलमा आइपुगे ।

21

1 यो केही समय बितेपछिको कुरा हो । सामरियाका राजा आहाबको दरबार नजिकै यिजरेलमा यिजरेली नाबोतको एउटा दाखबारी थियो । 2 आहाबले नाबोतलाई यसो भने, “सागबारी लगाउन मलाई तिम्रो दाखबारी देऊ किनकि यो मेरो घर नजिकै छ । यसको सट्टामा म तिमीलाई अझै राम्रो दाखबारी दिने छु वा तिमीले चाह्यौ भने म तिमीलाई यसको दाम तिरिदिने छु ।” 3 नाबोतले आहाबलाई जवाफ दिए, “मेरा पुर्खाहरूका पैतृक सम्पत्ति मैले तपाईंलाई दिनदेखि परमप्रभुले मलाई निषेध गरून् ।” 4 त्यसैले आहाब उदास भए, र रिसाएर आफ्नो दरबारमा गए किनकि यिजरेली नाबोतले तिनलाई यसो भनी जवाफ दिएका थिए, “म मेरा पुर्खाहरूको पैतृक सम्पत्ति तपाईंलाई दिन्नँ ।” तिनी आफ्नो ओछ्यानमा ठुस्स परेर सुते, र तिनले खाना खान इन्कार गरे । 5 तिनकी पत्नी ईजेबेल तिनीकहाँ आएर भनिन्, “खानै नखाने गरी तपाईं किन यति धेरै उदास हुनुभएको छ ?” 6 तिनले उनलाई जवाफ दिए, “मैले यिजरेली नाबोतलाई भनेँ, 'तिम्रो दाखबारी मलाई बेच वा तिमीलाई इच्छा लागे म तिमीलाई अर्को अझै राम्रो दाखबारी दिने छु ।' तब तिनले मलाई जवाफ दिए, 'म तिमीलाई मेरो दाखबारी दिन्नँ' ।” 7 त्यसैले तिनकी पत्नी ईजेबेलले तिनलाई जवाफ दिइन्, “के तपाईंले इस्राएलको राज्यमाथि शासन गर्नुहुन्न र ? उठेर खानुहोस् । तपाईंको मन प्रसन्न होस् । म यिजरेली नाबोतको दाखबारी तपाईंलाई दिलाइदिने छु ।” 8 त्यसैले ईजेबेलले आहाबको नाउँमा चिठीहरू लेखिन्, र तिनका राजाको छाप लगाई नाबोतको सहरमा तिनीसित बस्ने धर्म-गुरुहरू र भारदारहरूकहाँ पठाइन् । 9 उनले चिठीहरूमा यसो लेखेकी थिइन्, “उपवासको घोषणा गरी नाबोतलाई मानिसहरूका बिचमा आदरको स्थानमा बसाओ । 10 तिनीसँगै दुई जना बेइमान मानिसलाई पनि राख जसले तिनको विरुद्धमा यस्तो गवाही देऊन्, 'तपाईंले परमेश्वर र राजालाई सराप दिनुभयो' ।” तब तिनलाई बाहिर लगेर ढुङ्गाले हानेर मार । 11 त्यसैले नाबोतको सहरका मानिसहरू, धर्म-गुरुहरू र धनी मानिसहरूलाई ईजेबेलले लेखेकी चिठीहरूमा व्याख्या गरेझैँ तिनीहरूले गरे । 12 तिनीहरूले उपवासको घोषणा गरे, र नाबोतलाई मानिसहरूभन्दा आदरको स्थानमा बसाए । 13 दुई जना बेइमान मानिस आए, र तिनीहरू नाबोतको सामु बसे । मानिसहरूको उपस्थितिमा तिनीहरूले नाबोतको विरुद्धमा यसो भनी गवाही दिए, “नाबोतले परमेश्वर र राजा दुवैलाई सराप दिए ।” त्यसपछि तिनीहरूले तिनलाई सहरबाहिर लगी ढुङ्गाले हानेर मारे । 14 तब धर्म-गुरुहरूले ईजेबेललाई यो खबर पठाइन्, “नाबोतलाई ढुङ्गाले हानेर मारिएको छ ।” 15 जब ईजेबेलले नाबोतलाई ढुङ्गाले हानेर मारिएको छ भनी सुनिन् उनले आहाबलाई भनिन्, “नाबोत मरिसकेकाले उठ्नुहोस्, र यिजरेली नाबोतको दाखबारी अधिकार गर्नुहोस् जुन बेच्नलाई तिनले इन्कार गरेका थिए ।” 16 नाबोत मरे भनी जब आहाबले सुने तिनी उठेर यिजरेली नाबोतको दाखबारीमा गए, र त्यसको अधिकार गरे । 17 तब परमप्रभुको वचन तिश्बी एलियाकहाँ आयो, 18 "उठ्, र सामरियामा बस्ने इस्रालका राजा आहाबलाई भेट्न जा । त्यो नाबोतको दाखबारीमा छ जहाँ त्यो दाखबारी हडप्न गएको छ । 19 तैँले त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'के तैँले त्यसलाई मारेर त्यसको सम्पत्ति हडपेको छस् ?’ त्यसपछि त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'जुन ठाउँमा कुकुरहरूले नाबोतको रगत चाटे, त्यही ठाउँमा कुकुरहरूले तेरो रगत, हो तेरै रगत चाट्ने छन्' ।” 20 आहाबले एलियालाई भने, “ए मेरो शत्रु, के तैँले मलाई भेट्टाएको छस् ?” एलियाले जवाफ दिए, “तपाईंले परमप्रभुको दृष्टिमा दुष्ट काम गरी आफैलाई बेच्नुभएकोले मैले तपाईंलाई भेट्टाएको छु । 21 परमप्रभु तपाईंलाई यसो भन्नुहुन्छ, 'हेर्, म तँमाथि विपत्ति ल्याउने छु, र इस्राएलमा भएको तेरो हरेक पुरुष, कमारा र फुक्कालाई पूर्ण रूपमा भस्म पारी सर्वनाश पार्ने छु । 22 म तेरो घरानालाई नबातका छोरा यारोबाम र अहियाका छोरा बाशाको घरानाजस्तै तुल्याउने छु किनकि तैँले मलाई रिस उठाई इस्राएललाई पाप गर्न लगाएको छस् ।' 23 परमप्रभुले ईजेबेलको सम्बन्धमा पनि यसो भन्नुभएको छ, 'यिजरेलको पर्खालको छेउमा नै कुकुरहरूले ईजेबेललाई खाने छन् ।' 24 आहाबको घरानामा भएको हरेक जो सहरमा मर्छ त्यसलाई कुकुरहरूले खाने छन्, र मैदानमा मर्ने हरेकलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् ।” 25 आहाबजस्तो कोही थिएन जसले परमप्रभुको दृष्टिमा दुष्ट काम गर्न आफैलाई बेचे जसलाई तिनकी पत्नीले पाप गर्न उक्साएकी थिइन् । 26 आहाबले परमप्रभुले इस्राएलीहरूको सामुबाट हटाउनुभएका मूर्तिहरूलाई पछ्याई एमोरीहरूले गरेजस्तै घृणित कामहरू गरे । 27 जब आहाबले यी वचनहरू सुने तिनले आफ्ना लुगा च्याते, र आफ्नो शरीरमा भाङ्ग्रा लगाए अनि उपवास बसे । तिनी भाङ्ग्रा लगाई अत्यन्तै उदास भए । 28 तब परमप्रभुको वचन तिश्बी एलियाकहाँ आयो, 29 “के आहाबले मेरो सामु आफैलाई विनम्र पारेको तैँले देखेको छस् ? त्यसले मेरो सामु आफैलाई विनम्र तुल्याकोले म आउनेवाला विपत्ति त्यसकै समयमा ल्याउँदिनँ । म त्यसको छोराको समयमा त्यसको परिवारमा विपत्ति ल्याउने छु ।”

22

1 अराम र इस्राएलको बिचमा युद्ध नभई तिन वर्ष बित्यो । 2 तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजाकहाँ गए । 3 इस्राएलका राजाले आफ्ना अधिकारीहरूलाई भनेका थिए, “के रामोत-गिलाद हाम्रै हो भनी तिमीहरूलाई थाहा छ ? तर अरामका राजाका हातबाट यसलाई लिन हामीले केही पनि गरिरहेका छैनौँ ।” 4 त्यसैले तिनले यहोशापातलाई भने, “के तपाईं युद्ध गर्नलाई मसितै रामोत-गिलादमा जानुहुन्छ ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिस तपाईंका मानिसजस्तै हुन् र मेरा घोडाहरू तपाईंका घोडाहरू जस्तै हुन् ।” 5 यहोशापातले इस्राएलका राजालाई भने, “पहिले तपाईंले के गर्नुपर्छ भन्नाका लागि परमप्रभुको वचनबाट निर्देशन खोज्नुहोस् ।” 6 तब इस्राएलका राजाले चार सय अगमवक्तालाई जम्मा गरी तिनीहरूलाई भने, “म रामोत-गिलादमा युद्ध गर्न जाऊँ कि नजाऊँ ? तिनीहरूले जवाफ दिए, “आक्रमण गर्नुहोस्, किनकि परमप्रभुले यो राजाका हातमा सुम्पिदिनुहुने छ ।” 7 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका अर्का कुनै अगमवक्ता छैनन् जसबाट हामीले सल्लाह लिन सक्छौँ ?” 8 इस्राएलका राजाले यहोशापातलाई भने, “एक जना मानिस छन् जसबाट हामीले मदतको लागि परमप्रभुबाट सल्लाह लिन सक्छौँ । तिनी यिम्लाका छोरा मीकाया हुन्, तर म तिनलाई घृणा गर्छु किनकि तिनले मेरो बारेमा कुनै असल कुरोको भविष्यवाणी गर्दैनन्, केवल खरावी मात्र बोल्छन् ।” तर यहोशापातले भने, “राजाले यस्तो भन्नुहुँदैन ।” 9 तब इस्राएलका राजाले एक जना अधिकारीलाई बोलाई तिनलाई हुकुम गरे, “ठिक अहिले नै इम्लाका छोरा मीकायालाई ल्याउनू ।” 10 इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात राजकीय पोशाक पहिरेर सामरियाको मूल ढोकाको खुला ठाउँमा आ-आफ्नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोल्दै थिए । 11 केनानका छोरा सिदकियाहले चाहिँ फलामका सिङहरू बनाएका थिए । तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'अरामीहरू नष्ट नभएसम्म तिमीहरूले तिनीहरूलाई यसैले दण्ड दिनू' ।” 12 तब सबै अगमवक्ताले यसो भनी अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गरी विजयी हुनुहोस् किनकि परमप्रभुले यो राजाको हातमा सुम्पिदिनुभएको छ ।” 13 मीकायालाई बोलाउन गएका सन्देशवाहकले तिनलाई भने, “अब हेर्नुहोस्, अगमवक्ताहरूका वचनहरूले एउटै मुखले राजालाई असल कुरा भन्छन् । तपाईंको वचन तिनीहरूको जस्तै होस् र असल कुराहरू भन्नुहोस् ।” 14 मीकायले जवाफ दिए, “परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, कि परमप्रभुले मलाई जे भन्नुहुन्छ, म त्यही भन्ने छु ।” 15 जब तिनी राजाकहाँ आए राजाले तिनलाई भने, “मीकाया, हामी युद्धको लागि रामोत-गिलादमा जाऊँ कि नजाऊँ ?” मीकायाले तिनलाई जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस् । परमप्रभुले यो तपाईंको हातमा सुम्पिदिनुहुने छ ।” 16 तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा अरू कुरा नभनी साँचो कुरा मात्र भन्नू भनी म तिमीलाई कति पटक शपथ खान लगाऊँ ?” 17 तब मीकायाले भने, “मैले गोठाला नभएका भेडाझैँ सारा इस्राएल पहाडहरूतिर तितर-बितर भएको देखेँ, र परमप्रभुले भन्नुभयो, 'तिनीहरूसित कुनै गोठालो छैन । हरेक मानिस शान्तिसित आफ्नै घरमा फर्कोस्' ।” 18 त्यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल कुरा नभई केवल विपत्तिको बारेमा अगमवाणी बोल्छन् भनी के मैले तपाईंलाई भनेको होइन र ?” 19 तब मीकायाले भने, “त्यसकारण परमप्रभुको वचन सुन्नुहोस्: मैले परमप्रभुलाई उहाँको सिंहासनमा विराजमान हुनुभएको अनि उहाँको दाहिने र देब्रे हातपट्टि उहाँनेर सबै स्वर्गीय सेना उभिरहेका देखेँ । 20 परमप्रभुले भन्नुभयो, 'आहाब रामोत-गिलादमा उक्लेर गई त्यहाँ त्यसको पतन होस् भन्नाका लागि त्यसलाई कसले बहकाउने छ ?’ एउटाले एउटा कुरा भन्यो र अर्कोचाहिँले अर्कै कुरा भन्यो । 21 तब एउटा आत्मा अगाडि बढी त्यो परमप्रभुको सामु उभियो । त्यसले भन्यो, 'म तिनलाई उक्साउने छु ।' परमप्रभुले त्यसलाई भन्नुभयो, 'कसरी ?’ 22 आत्माले जवाफ दियो, 'म बाहिर जाने छु, र तिनका सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा बन्ने छु ।' परमप्रभुले भन्नुभयो, 'तैँल त्यसलाई बहकाउने छस्, र तँ सफल पनि हुने छस् । अब जा र त्यसै गर् ।' 23 त्यसैले अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा हालिदिनुभएको छ, र परमप्रभुले तपाईंको लागि विपत्तिको घोषणा गर्नुभएको छ ।” 24 तब केनानका छोरा सिदकियाह माथि उक्लेर आई मीकायाको गालामा थप्पड हानेर भने, “तिमीसित बोल्न परमप्रभुका आत्मा मबाट कुनचाहिँ बाटो भएर जानुभयो त ?” 25 मीकायाले भने, “हेर, तिमी भित्र कोठामा लुक्न जाँदा त्यस दिन तिमी आफैले देख्ने छौ ।” 26 इस्राएलका राजाले आफ्ना अधिकारीलाई हुकुम दिए, “मीकायालाई समात्, अनि त्यसलाई सहरका शासक र मेरो छोरा योआशकहाँ लैजा ।” 27 त्यसलाई भन्, ‘राजा भन्नुहुन्छः यो मानिसलाई झ्यालखानामा हाल्, र म सुरक्षितसाथ नफर्केसम्म त्यसलाई थोरै रोटी र थोरै पानी मात्र खुवाउनू' ।” 28 तब मीकायाले भने, “तपाईं सुरक्षितसाथ आउनुभयो भने परमप्रभुले मद्वारा बोल्नुभएको होइन ।” तब तिनले थपे, “हे सारा मानिस हो, यो कुरा सुन ।” 29 त्यसैले इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए । 30 इस्राएलका राजाले यहोशापातलाई भने, “म भेष बद्लेर युद्धमा जाने छु, तर तपाईंले आफ्नो राजकीय पोशाक पहिरिनुहोस् ।” त्यसैले इस्राएलका राजाले भेष बद्ले, र तिनी युद्धमा गए । 31 अरामका राजाले आफ्ना रथहरूका बत्तिस जना सेनापतिलाई यसो भनी आज्ञा दिएका थिए, “साना-ठुला जोसुकैलाई आक्रमण नगर्नू । बरु, इस्राएलका राजालाई मात्र आक्रमण गर्नू ।” 32 जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले भने, “निश्चय नै यिनी इस्राएलका राजा हुन् ।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्कंदा यहोशापात चिच्च्याए । 33 तिनी इस्राएलका राजा होइनन् रहेछ भनी जब रथहरूका सेनापतिहरूले देखे तिनीहरू तिनको पिछा गर्नबाट फर्के । 34 तर एक जना सेनापतिले जथाभावी काँड हाने, र त्यस काँडले इस्राएलका राजाको कवचको जोर्नीमा लाग्यो । तब आहाबले आफ्नो सारथीलाई भने, “फर्की, र मलाई युद्धबाट बाहिर लैजा, किनकि मलाई बेसरी चोट लागेको छ ।” 35 त्यस दिन युद्ध झन् चर्कंदै गयो, र आफ्ना रथमा अडिएर राजाले अरामीहरूको सामना गरिरहे । साँझमा तिनी मरे । तिनको घाउबाट निस्केको रगतचाहिँ रथभित्रै बगिरहेको थियो । 36 तब सूर्य अस्ताउँदै गर्दा सेनाका बिचमा एउटा यस्तो आवाज फैलियो, “हरेक मानिस आ-आफ्नो सहरमा फर्केर जाओस्, र हरेक मानिस आ-आफ्नो बस्तीमा फर्केर जाओस् ।” 37 यसरी राजा आहाब मरे, र तिनलाई सामरियामा लगी त्यहीँ नै गाडियो । 38 तिनीहरूले रथलाई सामरियाको तलाउमा धोए, र परमप्रभुको वचनले घोषणा गरेझैँ कुकुरहरूले तिनको रगत चाटे (यहीँ नै वेश्याहरू नुहाउने गर्थे) । 39 के आहाबले गरेका अरू कार्यहरू, तिनले बनाएको हस्ती-हाडको महलसाथै सबै सहरहरूको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 40 यसरी आहाब आफ्ना पित्रहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा अहज्याह राजा भए । 41 इस्राएलका राजा आहाबको चौथो वर्षमा आसाका छोरा यहोशापातले यहूदामाथि शासन गर्न थाले । 42 यहोशापातले शासन गर्न थाल्दा तिनी पैँतिस वर्षका थिए, र तिनले यरूशलेममा पच्चिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अजूबा थियो, जो शिल्हीकी छोरी थिइन् । 43 तिनी आफ्ना पिता आसाका मार्गमा हिँडे । तिनी तीबाट फर्केनन् । तिनले परमप्रभुको दृष्टिमा जे ठिक छ, त्यही गरे । तथापि डाँडाका थानहरू भने हटाइएनन् । मानिसहरूले डाँडाका थानहरूमा अझै पनि बलिदान चढाउँदै थिए, र धूप बाल्दै थिए । 44 यहोशापात इस्राएलका राजासित शान्तिमा रहे । 45 के यहोशापातका अरू कार्यहरू, तिनले देखाएका शक्ति र कसरी तिनले युद्ध लडे भन्ने विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 46 तिनका पिता आसाको समयसम्म बाँकी रहेका झुटो धर्मसम्बन्धी वेश्याहरूलाई तिनले देशबाट हटाए । 47 एदोममा कुनै राजा थिएन, तर त्यहाँ सहायकले शासन गर्थ्यो । 48 यहोशापातले समुद्रमा आवात-जावत गर्ने जहाजहरू बनाए । ती सुनको लागि ओपीरमा जानुपर्थ्यो, तर एस्योन-गेबेरमा ध्वंश भएको कारण ती जान सकेनन् । 49 तब आहाबका छोरा अहज्याहले यहोशापातलाई भने, “यी जहाजहरूमा मेरा अधिकारीहरूलाई तपाईंका अधिकारीहरूसँगै जान दिनुहोस् ।” तर यहोशापातले अनुमति दिएनन् । 50 यहोशापात आफ्ना पित्रहरूसित सुते, र तिनीहरूसितै आफ्ना पुर्खा दाऊदको सहरमा गाडिए । तिनको ठाउँमा तिनका छोरा यहोराम राजा भए । 51 यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा आहाबका छोरा अहज्याहले सामरियामा बसेर इस्राएलमाथि शासन गर्न थाले, र तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे । 52 तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र तिनका बुबाआमाको चालमा हिँडे अनि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको मार्गमा हिँडे । 53 तिनले आफ्ना पिताले गरेझैँ बालको सेवा गरे, त्यसको पुजा गरे अनि इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए ।