नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
२ राजाहरू
२ राजाहरूको पुस्तक
1

1 आहाबको मृत्युपछि मोआब इस्राएलको विरुद्धमा बागी भयो । 2 तब अहज्याह सामरियामा माथिल्लो कोठाको झ्यालबाट तल खसे र घाइते भए । यसैले तिनले सन्देशवाहकहरू पठाए र तिनीहरूलाई भने , "जाओ र यस चोटबाट म निको हुन्छु कि हुन्‍न एक्रोनको देवता बाल-जिबबलाई सोध ।" 3 तर परमप्रभुका दूतले तिश्बी एलियालाई भने, "उठ, र सामरियाका राजाका सन्देशवाहकहरूलाई भेट्न जाऊ, अनि तिनीहरूलाई सोध, 'के इस्राएलमा कुनै परमेश्‍वर नभएको हुनाले तिमीहरू एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन जाँदैछौ ? 4 त्यसकारण परमप्रभु भन्‍नुहुन्‍छ, “ तँ उक्‍लेको त्‍यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । बरु, तँ निश्‍चय नै मर्नेछस्' ।" तब एलिया गए । 5 जब सन्देशवाहकहरू अहज्याहकहाँ फर्के तब तिनले तिनीहरूलाई सोधे, "तिमीहरू किन फर्केका छौ ?" 6 तिनीहरूले तिनलाई भने, "एक जना मानिस हामीलाई भेट्न आए जसले हामीलाई भने, 'तिमीहरूलाई पठाउने राजाकहाँ फर्के जाऊ र तिनलाई भन, "परमप्रभु यसो भन्‍नुहुन्छः 'के इस्राएलमा कुनै परमेश्‍वर नभएको हुनाले तिमीहरू एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन जाँदैछौ ? त्यसकारण तँ उक्‍लेको त्‍यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । बरु, तँ निश्‍चय नै मर्नेछस्' ।" 7 अहज्याहले आफ्ना सन्देशवाहकहरूलाई भने, "तिमीहरूलाई भेट्न आउने र यी कुराहरू भन्‍ने मानिस कस्‍तो किसिमको थियो ?" 8 तिनीहरूले तिनलाई जवाफ दिए, "तिनले रौँका लुगा लगाएका थिए, र आफ्नो कम्मरमा छालाको पेटी बाँधेका थिए ।" त्यसैले राजाले भने, "तिनी त तिश्बी एलिया हुन् ।" 9 तब राजाले पचास जना सिपाहीसँगै एक जना कप्‍तानलाई एलियाकहाँ पठाए । कप्‍तान एलियाकहाँ गए जहाँ तिनी डाँडाको टाकुरामा बसिरहेका थिए । कप्‍तानले तिनलाई भने, "हे परमेश्‍वरका मानिस, राजाले भन्‍नुभएको छ, 'तल आउनुहोस्' ।" 10 एलियाले कप्‍तानलाई भने, "म परमेश्‍वरका मानिस हुँ भने स्वर्गबाट आगो झरोस् र तपाईं र तपाईंका पचास जना मानिसलाई भस्म पारोस् ।" तब स्वर्गबाट आगो झर्‍यो र तिनलाई र तिनका पचास जना मानिसलाई भस्म पार्‍यो । 11 फेरि राजा अहज्याहले अर्का कप्‍तानलाई पचास जना सिपाहीसहित एलियाकहाँ पठाए । यी कप्‍तानले पनि एलियालाई भने, "हे परमेश्‍वरका मानिस, राजा भन्‍नुहुन्छ, 'झट्टै तल आउनुहोस्' ।" 12 एलियाले तिनीहरूलाई भने, "म परमेश्‍वरका मानिस हुँ भने स्वर्गबाट आगो झरोस् र तपाईं र तपाईंका पचास जना मानिसलाई भस्म पारोस् ।" फेरि स्वर्गबाट परमेश्‍वरको आगो झर्‍यो र तिनलाई र तिनका पचास जना मानिसलाई भस्म पार्‍यो । 13 तथापि राजाले पचास जना योद्धाको तेस्रो समूह पठाए । यो कप्‍तान माथि उक्‍ले, एलियाको सामु आफ्‍ना घुँडा टेके र तिनले विनम्रतापूर्वक बिन्ती गरेर भने, "हे परमेश्‍वरका मानिस, म तपाईंसँग बिन्‍ति गर्छु, कि मेरो जीवन र तपाईंका यी पचास जना दासका जीवन तपाईंको दृष्‍टिमा मूल्यवान् होऊन् । 14 वास्तवमा स्वर्गबाट आगो झर्‍यो र यस अघिका दुई जना कप्‍तानलाई तिनीहरूका मानिसहरूसँगै भस्म पार्‍यो, तर मेरो जीवन तपाईंको दृष्‍टिमा मूल्यवान् होस् ।" 15 परमप्रभुका दूतले एलियालाई भने, "त्‍योसँगै तल जा । त्‍योदेखि नडरा ।" त्यसैले एलिया उठे र त्‍योसँगै राजाकहाँ गए । 16 पछि एलियाले अहज्याहलाई भने, "परमप्रभु यसो भन्‍नुहुन्छ, 'तैँले एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन सन्देशवाहकहरू पठाएको छस् । जानकारी लिनको लागि इस्राएलमा कुनै परमेश्‍वर नभएको हुनाले त्‍यसो गरेको हो ? यसैले तँ उक्‍लेको त्‍यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । तँ निश्‍चय नै मर्नेछस्' ।" 17 यसरी एलियाले बोलेको परमप्रभुको वचनअनुसार अहज्याह मरे । अहज्याहको कुनै छोरो नभएको हुनाले यहूदाका राजा यहोशापातका छोरा यहोरामको दोस्रो वर्षमा योरामले तिनको ठाउँमा राज्य गर्न थाले । 18 अहज्याहका सम्‍बन्‍धमा भएका अरू कुराहरूका बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?

2

1 जब परमप्रभुले एलियालाई हावाको भूमरीद्वारा उठाएर स्‍वर्गमा लानै लाग्‍नुभएको थियो, तब एलीशालाई साथ लिएर एलिया गिलगालबाट गए । 2 एलियाले एलीशालाई भने, "कृपागरी यहीँ बस, किनकि परमप्रभुले मलाई बेथेलमा पठाउनुभएको छ ।" एलीशाले जवाफ दिए, "परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्‍छु, म तपाईंलाई छोड्नेछैनँ ।" त्यसैले तिनीहरू बेथेलमा झरे । 3 बेथेलमा भएका अगमवक्ताहरूका छोराहरू एलीशाकहाँ आए र तिनलाई भने, "परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लानुहुनेछ भनी के तपाईंलाई थाहा छ ?" एलीशाले जवाफ दिए, "हो, मलाई थाहा छ, तर यसबारेमा कुरा नगर ।" 4 एलियाले तिनलाई भने, "एलीशा, कृपागरी यहीँ बस, किनकि परमप्रभुले मलाई यरीहोमा पठाउनुभएको छ ।” तब एलीशाले जवाफ दिए, "परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्छु, म तपाईंलाई छोड्नेछैनँ ।” त्यसैले तिनीहरू यरीहोमा गए । 5 तब यरीहोमा भएका अगमवक्ताहरूका छोराहरू एलीशाकहाँ आए र तिनलाई भने, "परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लानुहुनेछ भनी के तपाईंलाई थाहा छ ?" एलीशाले जवाफ दिए, "हो, मलाई थाहा छ, तर यसबारेमा कुरा नगर ।" 6 तब एलियाले तिनलाई भने, "कृपागरी, यहीँ बस, किनकि परमप्रभुले मलाई यर्दनमा पठाउनुभएको छ ।" एलीशाले जवाफ दिए, "परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्छु, म तपाईंलाई छोड्नेछैनँ ।" त्यसैले ती दुई जना गइरहे । 7 पछि यी दुई जना यर्दन नदीनेर उभिरहँदा तिनीहरूका सामु अगमवक्ताहरू पचास जना छोराहरू उभिए । 8 एलियाले आफ्नो खास्टो उतारे, त्यसलाई बेह्रे अनि त्यसले पानीलाई हिर्काए । नदी दुईतिर विभाजित भयो जसको कारणले ती दुई जना सुक्खा जमिनबाट हिंडे । 9 तिनीहरू पारि पुगेपछि एलियाले एलीशालाई भने, "तिमीबाट मलाई लानुअघि तिम्रो निम्ति मैले के गर्नुपर्छ मलाई भन ?" एलीशाले जवाफ दिए, "तपाईंको आत्माको दोब्बर भाग ममा आउन दिनुहोस् ।" 10 एलियाले भने, "तिमीले कठिन कुरा मागेका छौ । तापनि तिमीबाट मलाई लगिएको तिमीले देख्यौ भने, तिम्रो निम्‍ति यो हुनेछ, तर देखेनौ भने, यो हुनेछैन ।" 11 तिनीहरू कुराकानी गर्दै अगाडि बढ्दा थिए, हेर, एउटा अग्‍निमय रथ र घोडाहरू देखा परे, जसले यी दुई जना मानिसलाई एक-अर्काबाट अलग गरिदियो, अनि एलिया हावाको भूमरीद्वारा स्वर्गमा लगिए । 12 एलीशाले यो देखे र तिनी चिच्‍च्याए, "हे मेरा पिता, हे मेरा पिता, इस्राएलका रथहरू र तिनीहरूका घोडाहरू !” तिनले एलियालाई फेरि देखेनन्, र तिनले आफ्‍ना वस्‍त्र समाते र दुई भागमा च्याते । 13 तिनले एलियाबाट खसेको खास्टो उठाए र यर्दन नदीको किनारमा खडा हुनलाई फर्केर गए । 14 एलियाबाट खसेको खास्टोले तिनले पानीलाई हिर्काए र भने, "एलियाका परमप्रभु परमेश्‍वर कहाँ हुनुहुन्छ ? जब तिनले पानीलाई हिर्काए तब त्‍यो दुईतिर विभाजित भयो र एलीशा पारि गए । 15 जब यरीहोबाट आएका अगमवक्ताहरूका छोराहरूले तिनी पारि तरेको देखे तब तिनीहरूले भने, "एलियाका आत्माले एलीशामा बास गरेको छ ।” त्यसैले तिनलाई भेट्न तिनीहरू आए, र तिनको अघि आफैलाई भुइँसम्मै निहुराए । 16 तिनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईंका दासहरूका माझमा पचास जना बलिया मानिस छन् । हामी अनुरोध गर्छौं कि तिनीहरूलाई जान र तपाईंका मालिकको खोजी गर्न दिनुहोस्, कतै परमप्रभुका आत्माले तिनलाई माथि लानुभएको र तिनलाई कुनै पहाड वा उपत्यकामा फाल्‍नुभएको छ कि?" एलीशाले जवाफ दिए, "अहँ, तिनीहरूलाई नपठाओ ।" 17 तर एलिशा लाजमा पारून्‍जेलसम्म तिनीहरूले बिन्ती गरेको हुनाले तिनले भने “तिनीहरूलाई पठाओ ।” तब तिनीहरूले पचास जना मानिस पठाए, र तिनीहरूले तिन दिनसम्म खोजी गरे, तर तिनलाई पाएनन् । 18 एलीशा यरीहोमा हुँदा तिनीहरू तिनीकहाँ फर्केर आए, र तिनले तिनीहरूलाई सोधे, “के 'नजाओ' भनी मैले तिमीहरूलाई भनेको थिइनँ र ?" 19 सहरका मानिसहरूले एलीशालाई भने, "हेर्नुहोस्, तपाईं देख्‍न सक्‍नुहुन्छ यो सहरको अवस्था राम्रै छ, तर पानी दूषित छ, र जमिनले फल दिंदैन ।” 20 एलीशाले जवाफ दिए, “एउटा नयाँ कचौरा मकहाँ लेओ, र यसभित्र नून हाल ।" त्यसैले तिनीहरूले त्‍यो तिनीकहाँ ल्याए । 21 एलीशा पानीको मुहानमा गए, र त्यसमा नुन छर्किदिए । तब तिनले भने, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'मैले यो पानीलाई शुद्ध पारेको छु । अब फेरि मृत्यु हुने वा फलविहीन जमिन हुनेछैन' ।” 22 त्यसैले एलीशाले बोलेको वचनद्वारा आजको दिनसम्म पानी शुद्ध छ । 23 त्यसपछि एलीशा त्यहाँबाट बेथेलमा गए । तिनी बाटोमा जाँदै गर्दा सहरबाट केही केटाहरू आए र तिनको खिसी गरे। तिनीहरूले भने, "ए मुडुले, तिमी माथि जाऊ ! ए मुडुले, तिमी माथि जाऊ!" 24 एलीशा आफ्‍नो पछाडि फर्के र तिनीहरूलाई देखे । तिनीहरूमाथि सराप परोस् भनी तिनले परमप्रभुलाई पुकारे । त्यसपछि जङ्गलबाट दुईवटा पोथी भालु निस्केर आयो र बयालिस जना केटाहरूलाई घाइते बनाए । 25 तब एलीशा त्यहाँबाट कर्मेल डाँडामा गए, र त्यहाँबाट तिनी सामरिया फर्के ।

3

1 यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योरामले सामरियामा बसेर इस्राएलमा राज्‍य गर्न थाले । तिनले बाह्र वर्ष राज्य गरे । 2 परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे, तर आफ्ना आमाबाबुले गरेझैँ त गरेनन् । किनकि आफ्ना पिताले बनाएका बालको चोखो ढुङ्गाको मूर्तिलाई तिनले हटाए । 3 तापनि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापहरूमा तिनी लागे । तिनी तीबाट फर्केनन् । 4 मोआबका राजा मेशाले भेडाहरू पाल्थे । तिनले इस्राएलका राजालाई एक लाख भेडाका पाठा र एक लाख भेडाका ऊन दिनुपर्थ्यो । 5 तर आहाब मरेपछि मोआबका राजाले इस्राएलको राजाको विरुद्धमा विद्रोह गरे । 6 त्यसैले त्यस बेला युद्धको लागि सारा इस्राएललाई भेला गराउन राजा योरामले सामरिया छाडे । 7 तिनले यहूदाका राजा यहोशापातलाई यसो भनेर सन्देश पठाए, “मोआबका राजा मेरो विरुद्धमा बागी भएका छन् । मोआबको विरुद्धमा तपाईं मसँगै युद्ध गर्न जानुहुन्छ ?" यहोशापातले जवाफ दिए, "म जानेछु । म तपाईंजस्तै हुँ, मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन्, मेरा घोडाहरू तपाईंका घोडाहरूजस्तै हुन् ।" 8 तब तिनले भने, "हामीले कुन दिशाबाट आक्रमण गर्नुपर्छ ?" यहोशापातले जवाफ दिए, "एदोमको उजाड-स्थानको बाटोबाट ।" 9 त्यसैले यहूदाका राजा र एदोमका राजासँगै इस्राएलका राजा गए । तिनीहरू सात दिनसम्म यताउता भौंतारिए, अनि त्यहाँ सेनाका निम्‍ति र तिनीहरूलाई पछ्याउने पशुहरूका निम्‍ति पानी भएन । 10 त्यसैले इस्राएलका राजाले भने, “यो के हो ? के परमेश्‍वरको मोआबको हातमा सुम्पिदिन हामी तिन जना राजालाई बोलाउनुभएको हो ?" 11 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै अगमवक्ता छैनन् जसद्वारा हामी परमप्रभुसँग सल्‍लाह लिन सक्छौँ ?" इस्राएलका राजाका सेवकमध्‍ये एक जना जवाफ दियो र भन्‍यो, "शाफातका छोरा एलीशा यहीँ छन् जसले एलियाका हातमा पानी हाल्‍थे ।” 12 यहोशापातले भने, "परमप्रभुको वचन तिनीसित छ ।” त्यसैले इस्राएलका राजा यहोशापात र एदोमका राजा तिनीकहाँ तल गए । 13 एलीशाले इस्राएलका राजालाई भने, "मेरो तपाईंसित के सरोकार छ र ? तपाईंका बुबाआमाका अगमवक्ताहरूकहाँ जानुहोस् ।” त्यसैले इस्राएलका राजाले तिनलाई भने, “अहँ, परमप्रभुले हामी तिन जना राजालाई एकैसाथ मोआबको हातमा सुम्पिदिनलाई बोलाउनुभएको छ ।" 14 एलीशाले भने, "सर्वशक्तिमान् परमप्रभु जिवित जसको सामु म खडा हुन्छु, उहाँको नाउँमा शपथ खाएर म भन्छु । मैले यहूदाका राजा यहोशापातको उपस्थितिलाई आदर नगर्ने भए म तपाईंलाई ध्‍यान दिने थिइनँ वा तपाईंलाई हेर्ने पनि थिइनँ । 15 तर अब मकहाँ एक जना सङ्गीतकार ल्याउनुहोस् ।” जब वीणा बजाउनेले वीणा बजाए तब परमप्रभुको हात एलीशामाथि पर्‍यो । 16 तिनले भने, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'यो सुक्खा नदीको उपत्यकालाई खाल्डै-खाल्डो बनाओ ।' 17 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'तिमीहरूले बतास देख्‍नेछैनौ, न त वर्षा देख्‍नेछौ, तर यो नदीको उपत्यका पानीले भरिनेछ, अनि तिमीहरू, तिमीहरूका गाईवस्तु र सबै पशुले पिउनेछौ ।' 18 यो परमप्रभुको दृष्‍टिमा मामुली कुरो हो । उहाँले तिमीहरूलाई मोआबीहरूमाथि विजयी पनि तुल्याउनुहुनेछ । 19 किल्लाले घेरिएको हरेक सहर र हरेक असल सहरलाई तिमीहरूले आक्रमण गर्नेछौ, हरेक असल रुखलाई काटेर ढालिदिनेछौ, पानीका सबै मुहान बन्द गरिदिनेछौ र हरेक असल खेतलाई ढुङ्गाले विनाश गरिदिनेछौ ।" 20 त्यसैले बिहान बलि चढाउने समयमा एदोमको दिशाबाट पानी आयो । देश पानीले भरियो । 21 जब सारा मोआबीहरूले तिनीहरूको विरुद्धमा लडाइँ गर्न राजाहरू आए भनी सुने, तिनीहरूमा हतियार भिर्न सक्‍ने सबै जनाले आफैलाई एकसाथ भेला गराए र तिनीहरू सिमानामा तैनाथ भए । 22 तिनीहरू बिहान सबेरै ब्युँझे र पानीमा घाम प्रतिबिम्‍बित भयो । मोआबीहरूले तिनीहरूको सामु भएको पानी हेरे, तब त्‍यो रगतजस्तै रातो देखियो । 23 तिनीहरू चिच्‍च्याए, “यो त रगत पो हो ! निश्‍चय नै राजाहरूको नाश भएको छ र तिनीहरूले एक-अर्कालाई मारेका छन्! त्यसैले, हे मोआबी हो, हामी गएर तिनीहरूलाई लुटौँ ।" 24 जब तिनीहरू इस्राएलको छाउनीमा आए, तब इस्राएलीहरूले तिनीहरूलाई छक्‍क पारे र मोआबीहरूलाई आक्रमण गरे जो तिनीहरूका सामुबाट भागे । इस्राएलका सेनाले मोआबीहरूलाई मार्दै तिनीहरूलाई देशको पारिसम्म खेदे । 25 तिनीहरूले सहरहरू नष्‍ट पारे, र हरेक असल खेत ढुङ्गाले नभरिएसम्म हरेक मानिसले ढुङ्गा फ्याँके । तिनीहरूले हरेक पानीको मुहान थुनिदिए, र सबै असल रुखहरू काटिदिए । कीर-हरेशेत मात्र ढुङ्गाहरूसमेत त्यसको ठाउँमा छोडियो । तर घुयेँत्रो भिरेका सिपाहीहरूले त्यसलाई पनि घेरा हाले र आक्रमण गरे । 26 जब मोआबका राजा मेशाले युद्ध हारेको देखे, तब पार गरेर एदोमका राजाकहाँ जानलाई तिनले सात सय जना तरवार भिरेका मानिसलाई आफूसँग लगे, तर तिनीहरू सफल भएनन् । 27 तब तिनले आफ्नो जेठो छोरो लिए जो तिनीपछि राजा हुनेथिए र तिनलाई होमबलिको रूपमा पर्खालमा चढाए । यसैले इस्राएलको विरुद्धमा चर्को क्रोध पर्‍यो, र इस्राएली सेनाले राजा मेशालाई छाडे रतिनीहरूका आफ्‍नै देशमा फर्के ।

4

1 अगमवक्ताका छोराहरूमध्ये एउटाकी पत्‍नी एलीशाकहाँ रुँदै आएर यसो भनिन्, “मेरा पति तपाईंका दास मर्नुभयो, र तपाईंका दास परमप्रभुदेखि डराउनुहुन्थ्यो भनी तपाईंलाई थाहा छ । अब मेरा दुई छोरालाई कमारा बनाउन लैजानलाई ऋणदाता आएका छन् ।" 2 त्यसैले एलीशाले तिनलाई भने, “तिम्रो निम्ति म के गरौं ? घरमा तिमीसँग के छ मलाई भन ।” तिनले भनिन्, "तपाईंका दासीको घरमा एउटा भाँडोमा तेलबाहेक केही छैन ।" 3 तब एलीशाले भने, “तिम्रा छिमेकीहरूबाट रित्ता भाँडाहरू पैँचो माग्‍न जाऊ । सकेजति धेरै पैँचो माग । 4 त्यसपछि तिमी भित्र जाऊ र तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गर, अनि ती सबै भाँडामा तेल खन्याऊ । भरिएका भाँडाहरू एकापट्टि राख ।" 5 त्यसैले तिनी एलीशाबाट विदा भइन्, र तिनले आफ्ना छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गरिन् । तिनीहरूले तिनीकहाँ भाँडाहरू ल्याए, र तिनले ती तेलले भरिन् । 6 जब ती भाँडाहरू भरिए तब तिनले आफ्नो छोरोलाई भनिन्, " अर्को भाँडा मकहाँ ल्याऊ ।” तर उसले तिनलाई भन्‍यो, "अब एउटै भाँडा पनि छैन।” त्यसपछि तेल आउन पनि छाड्यो । 7 तब तिनी आइन् र परमेश्‍वरका मानिसलाई त्यो कुरो बताइन् । तिनले भने, “गएर तेल बेच । तिम्रो ऋण तिर, र आफ्ना छोराहरूसित आरामसित बस ।" 8 एक दिन एलीशा शूनेममा गए जहाँ एक जना प्रतिष्‍ठित स्‍त्री बस्थिन् । उनले तिनलाई तिनीसँगै खाना खान अनुरोध गरिन् । त्यसैले जब एलीशा त्यो बाटो भएर जान्थे, तब तिनी खानको लागि त्यहाँ रोकिन्थे । 9 ती स्‍त्रीले आफ्ना पतिलाई भनिन्, “हेर्नुहोस्, अब मलाई थाहा भयो, कि यिनी परमेश्‍वरका पवित्र मानिस हुन् जो सधैँ यो बाटो हिंड्‍छन् । 10 कौसीमा एलीशाको लागि एउटा सानो कोठा बनाऔँ, र त्यसमा एउटा खाट, टेबल, आसन र बत्ती राखौँ । तब तिनी हामीकहाँ आउँदा तिनी त्यहीँ बस्‍नेछन् ।” 11 यसरी फेरि एक दिन आयो जतिबेला एलीशा त्‍यहाँ रोकिए, तिनी त्‍यो कोठामा बसे, र त्यहीँ विश्राम गरे । 12 एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “ती शूनम्मीलाई बोला ।” त्यसले तिनलाई बोलाएपछि तिनी एलीशाको सामु खडा भइन् । 13 एलीशाले उसलाई भने, “तिनलाई भन्, 'हाम्रो वास्ता गर्न तिमीले यो सबै कष्‍ट झेलेकी छ्यौ । तिम्रो लागि के गर्न सकिन्छ ? के हामी तिम्रो लागि राजा वा सेनापतिसित कुरा गरौं' ?" तिनले जवाफ दिइन्, “मेरा आफ्नै जातिको बिचमा म बस्‍दैछु ।" 14 त्यसैले एलीशाले भने, "त्यसो हो भने, तिनको लागि हामी के गर्न सक्छौँ त ?" गेहजीले जवाफ दियो, “वास्तवमा तिनीसँग छोरो छैन, र तिनका पति बुढो भएका छन् ।" 15 त्यसैले एलीशाले भने, "तिनलाई बोला ।” जब त्यसले तिनलाई बोलायो, तिनी ढोकामा खडा भइन् । 16 एलीशाले भने, "एक वर्षपछि यही समयमा तिम्रो काखमा एउटा छोरो हुनेछ ।” तिनले जवाफ दिइन्, "होइन, हे मेरा मालिक र परमेश्‍वरका मानिस, आफ्नी दासीसित झुट नबोल्नुहोस् ।” 17 तर एलीशाले त्‍यो स्‍त्रीलाई भनेझैँ तिनी गर्भवती भइन् र अर्को वर्ष ठिक त्यही समयमा एउटा छोरो जन्माइन् । 18 बालक हुर्केपछि एक दिन त्यो आफ्नो बुबाकहाँ गयो जो कटनी गर्नेहरूसँगै थिए । 19 त्यसले आफ्नो बुबालाई भन्यो, "मेरो टाउको दुख्यो । मेरो टाउको दुख्‍यो । उसका बुबाले आफ्नो सेवकलाई भने, "त्यसलाई त्यसकी आमाकहाँ लिएर जाऊ ।" 20 जब नोकरले केटोलाई उठाएर त्यसकी आमाकहाँ ल्यायो तब केटो मध्यान्हसम्म आमाको काखमा बस्यो, र त्यो मर्‍यो । 21 त्यसैले ती स्‍त्री उठिन्, र केटोलाई परमेश्‍वरका मानिसको ओछ्यानमा सुताइन्, ढोका बन्द गरेर बाहिर निस्किन् । 22 तिनले आफ्ना पतिलाई बोलाइन् र भनिन्, "कृपया, मलाई एक जना नोकर र एउटा गधा पठाउनुहोस् ताकि म छिटो परमेश्‍वरका मानिसकहाँ जान र फर्केर आउन सकूँ ।" 23 तिनका पतिले भने, "किन तिमी आजै उहाँकहाँ जान चाहन्छ्यौ ? आज न औँसी हो, न त शबाथ हो ।” उनले जवाफ दिइन्, “यो ठिक हुनेछ ।" 24 त्यसपछि उनले गधामा काठी कसिन्, र आफ्नो सेवकलाई भनिन्, "छिटो कुदा । मैले नभनेसम्म दौडन ढिला नगर ।" 25 त्यसैले तिनी गइन् र कर्मेल डाँडामा परमेश्‍वरका मानिस भएको ठाउँमा आइन् । जब परमेश्‍वरका मानिसले टाढैबाट तिनलाई देखे तिनले आफ्नो सेवक गेहजीलाई भने, “हेर्, शूनम्मी स्‍त्री आउँदैछिन् । 26 तिनलाई भेट्न दौडेर जा र तिनलाई सोध, 'तिमी, तिम्रा पति र छोरोलाई सबै ठिकै छ' ?" तिनले भनिन्, "ठिकै छ ।" 27 जब तिनी डाँडामा परमेश्‍वरका मानिस भएको ठाउँमा आइपुगिन् तब तिनले एलीशाको पाउ समातिन् । गेहजी तिनलाई हटाउनलाई अगाडि बढ्यो, तर परमेश्‍वरका मानिसले भने, "तिनलाई नछोऊ किनकि तिनी अत्यन्तै दुखी छिन्, र परमप्रभुले मबाट समस्या लुकाउनुभएको छ, र मलाई केही भन्‍नुभएको छैन ।" 28 तब तिनले भनिन्, "हे मेरा मालिक, मैले, तपाईंसँग छोरो मागेकी थिएँ र ? मैले 'मलाई नछकाउनुहोस्' भनेकी थिइनँ र' ?" 29 तब एलीशाले गेहजीलाई भने, "यात्राको लागि लुगा लगा, र तेरो हातमा मेरो लट्ठी समात् । तिनको घरमा जा । कुनै मानिसलाई भेटिस् भने अभिवादन नगर्, र कसैले तँलाई अभिवादन गर्‍यो भने जवाफ नदे । बालकको अनुहारमा मेरो लट्ठी राखिदे ।" 30 तर बालककी आमाले भनिन्, "परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर म भन्छु, कि म तपाईंलाई छाड्दिनँ ।” त्यसैले एलीशा उठे, र तिनको पछि लागे । 31 गेहजी तिनीहरूभन्दा अगिअगि गयो र बाललको अनुहारमा लट्ठी पसार्‍यो, तर बालकले बोलेन र सुनेन । त्यसैले गेहजी एलीशालाई भेट्न फर्क्यो र तिनलाई यसो भन्यो, "बालक ब्युँझेको छैन ।" 32 जब एलीशा घरमा आइपुगे, तब बालक मरिसकेको थियो, र ओछ्यानमा शान्‍त थियो । 33 त्यसैले एलीशा भित्र गएर बालक र आफूलाई राखेर ढोका बन्द गरे, र परमप्रभुलाई प्रार्थना चढाए । 34 तिनी ओछ्यानमाथि चढे र बालकमाथि सुते । तिनले आफ्नो मुख उसको मुखमा, आफ्ना आँखा उसको आँखामा, र आफ्ना हात उसको हातमा राखे । तिनले आफैलाई बालकमाथि लमतन्‍न पारे, र बालकको शरीर न्यानो भयो । 35 तब एलीशा उठे, र कोठाको वरिपरि घुमे अनि तिनी फेरि ओछ्यानमा चढे र बालकमाथि लमतन्‍न परे । बालकले सात पटक छिउँ काड्‍यो र आफ्ना आँखा खोल्यो । 36 त्यसैले एलीशाले गेहजीलाई बोलाए र भने, "शूनम्मीलाई बोला ।” त्यसले उनलाई बोलायो, र जब तिनी कोठाभित्र आइन्, तब एलीशाले भने, "तिम्रो छोरोलाई बोक ।" 37 तब एलीशाको पाउमा तिनी भुइँसम्‍मै घोप्टो परिन्, अनि आफ्नो छोरोलाई उठाइन् र बाहिर गइन् । 38 तब एलीशा फेरि गिलगालमा आए । देशमा अनिकाल परेको थियो अनि अगमवक्ताहरूका छोराहरू तिनका सामु बसिरहेका थिए । तिनले आफ्नो सेवकलाई भने, "आगोमा ठुलो भाँडो बसाल र यी अगमवक्ताहरूका छोराहरूका निम्ति जाउलो पका ।" 39 तिनीहरूमध्‍ये एक जना तरकारी खोज्न बारीमा गयो । त्यसले जङ्गली दाख भेट्टायो, र त्यसले जङ्गली लौका आफ्नो पोल्टाभरि जम्मा गर्‍यो । तिनीहरूले ती काटे र जाउलोमा हाले, तर ती कस्‍ता किसिमका थिए भनी तिनीहरूलाई थाहा थिएन । 40 मानिसहरूले खानलाई तिनीहरूले जाउलो खन्याए । पछि तिनीहरूले खाँदै गर्दा तिनीहरू चिच्‍च्याए र भने, "हे परमेश्‍वरका मानिस, भाँडामा त मृत्यु पो छ ।” त्यसैले तिनीहरूले त्यो फेरि खान सकेनन् । 41 तर एलीशाले भने, "केही पिठो ल्याऊ ।” तिनले त्यसलाई भाँडोभित्र हाले र भने, "मानिसहरूलाई यो खान देऊ ताकि तिनीहरूले त्‍यो खानसकून् ।” तब त्‍यस भाँडोमा त्यस्तो हानिकारक कुनै कुरो बाँकी रहेन । 42 बाल-शलीशाको कोही एक जना मानिस परमेश्‍वरकका मानिसकहाँ आयो, र त्यसले अगौटे फलबाट तयार गरिएको जौँका बिसवटा रोटी र केही अन्‍नका ताजा बाला आफ्नो बोरामा लिएर आयो । त्यसले भन्यो, "यो मानिसहरूलाई दिनुहोस् ताकि तिनीहरूले खान सकून् ।” 43 तिनको सेवकले भन्यो, "एक सय जना मानिसलाई मैले यसबाट कसरी भाग पुर्‍याउन सक्छु र ?" तर एलीशाले भने, "यो मानिसहरूलाई ताकि तिनीहरूलेखान सकून्, किनकि परमप्रभु भन्‍नुहुन्छ, 'तिनीहरूले खानेछन्, र केही बच्‍नेछ' ।" 44 त्यसैले तिनको सेवकले त्यो तिनीहरूका सामु राखिदियो र तिनीहरूले खाए अनि परमप्रभुको वचनले प्रतिज्ञा गरेझैँ केही बच्‍यो ।

5

1 अरामका राजाका सेनापति नामान आफ्ना मालिकको दृष्‍टिमा महान् र इज्‍जतदार मानिस थिए किनकि तिनीद्वारा परमप्रभुले अरामलाई विजय दिनुभएको थियो । तिनी बलिया र साहसी मानिस पनि थिए, तर तिनी कुष्ठरोगी थिए । 2 अरामीहरू दलहरूमा मिलेर हमला गर्न गएका थिए, र तिनीहरूले इस्राएल देशबाट एउटी सानी केटीलाई ल्याएका थिए । त्यसले नामानकी पत्‍नीको सेवा गर्थी । 3 केटीले आफ्नी मालिक्‍नीलाई भनी, "मेरा मालिक सामरियामा भएका अगमवक्ताको साथमा भएको भए हुन्थ्यो! तब उहाँले मेरा मालिकलाई कुष्ठरोगबाट निको पार्नुहुन्थ्यो ।" 4 त्यसैले नामान भित्र प्रवेश गरे, र इस्राएल देशबाट ल्याइएकी त्‍यो केटीले के भनेकी थई त्‍यो राजालाई भने । 5 त्‍यसैले अरामका राजाले भने, "अब जाऊ, र म इस्राएलका राजालाई एउटा चिठी पठाउनेछु ।” नामान गए र तिन सय चालिस किलो चाँदी, सत्तरी किलो सुन र दस जोर लुगा तिनले आफूसितै लगे । 6 तिनले इस्राएलका राजाको निम्ति चिठी पनि लिएर गए जसमा लेखिएको थियो, "जब यो चिठी तपाईंकहाँ ल्याइन्छ मैले तपाईंकहाँ आफ्‍नो सेवकलाई पठाएको तपाईंले देख्‍नुहुनेछ, ताकि तपाईंले तिनको कुष्ठरोगबाट तिनलाई निको पारिदिनुहोस् ।" 7 जब इस्राएलका राजाले चिठी पढेका थिए, तब तिनले आफ्ना लुगा च्याते र भने, "आफैमा कुष्ठरोग भएको मानिसलाई मैले निको पारोस् भनी यो मानिसले इच्‍छा गर्नलाई मार्न र जिउँदो पार्न के म परमेश्‍वर हुँ र ? उसले मसित झगडाको निहुँ खोजेको जस्‍तो पो लाग्‍दैछ ।" 8 त्‍यसैले इस्राएलका राजालले आफ्ना लुगा च्याते भनी जब परमेश्‍वरका मानिस एलीशाले सुने, तब तिनले राजालाई यसो भनी समाचार पठाए, "किन तपाईंले आफ्नो लुगा च्यात्‍नुभएको ? अब ऊ मकहाँ आओस्, र इस्राएलमा अगमवक्ता रहेछन् भनी उसले थाहा पाउनेछ ।" 9 त्यसैले नामान आफ्ना घोडाहरू र रथहरू लिएर आए र एलीशाको घरको ढोकामा उभिए । 10 एलीशाले तिनीकहाँ यसो भनेर एक जना सन्देशवाहक पठाए, "जानुहोस् र यर्दनमा आफूलाई सातपल्ट डुबुल्की लगाउनुहोस् र तपाईंको देह पहिलेको जस्तै हुनेछ । तपाईं शुद्ध बन्‍नुहुनेछ ।" 11 तर नामान रिसाए र यसो भन्दै गए, "हेर, निश्‍चय नै तिनी मकहाँ बाहिर आउँनेछन् र खडा हुनेछन् अनि तिनले आफ्ना परमप्रभु परमेश्‍वरको नाउँ पुकार्नेछन् र मेरो कुष्ठरोगमाथि आफ्‍ना हात हल्‍लाउँनेछन् र मेरो कुष्‍टरोग निको पार्नेछन् भनी मैले सोचेको थिएँ । 12 के दमस्कसका अबाना र फारपर नदीहरू इस्राएलका सबै पानीभन्दा असल छैनन् र ? के म तिनमा नुहाएर शुद्ध हुन सक्दिनँ र ?" त्‍यसैले तिनी फर्के र क्रुद्ध हुँदै आफ्नो बाटो लागे । 13 तब नामानका सेवकहरू नजिक आए, र तिनलाई भने, "हे मेरा पिता, अगमवक्ताले तपाईंलाई कुनै कठिन कुरो गर्न लगाएको भए के तपाईंले त्‍यो गर्नुहुने थिएन र ? त्‍यसको बदलामा 'आफैलाई डुबुल्की लगाउन र शुद्ध हुन' भन्दा झन् किन नगर्ने त ?" 14 तब तिनी तल गए र परमेश्‍वरका मानिसको सल्‍लाह मानेर यर्दमा आफैलाई सात पल्ट डुबुल्की लगाए । तिनको देह बच्‍चाको झैँ पहिलेजस्तै भयो र तिनी निको भए । 15 नामान र तिनको दल परमेश्‍वरका मानिसकहाँ फर्केर आए र तिनको सामु खडा भए । तिनले भने, "हेर्नुहोस्, सारा पृथ्वीमा इस्राएलमा बाहेक अन्त कतै परमेश्‍वर हुनुहुन्‍न रहेछ भनी अब मलाई थाहा भयो । त्यसकारण तपाईंको दासबाट उपहार ग्रहण गर्नुहोस् ।" 16 तर एलीशाले जावाफ दिए, "परमप्रभु जसको सामु म खडा हुन्‍छु, उहाँको नाउँमा शपथ खाएर भन्छु, म केही लिने छैनँ ।” नामानले एलीशालाई उपहार लिन बिन्ती गरे तर तिनले इन्कार गरे । 17 त्यसैले नामानले भने, "तपाईं लिनुहुन्‍न भने तपाईंका दासलाई दुईवटा खच्‍चरले बोक्‍न सक्‍ने माटो लान दिनुहोस् । किनकि अबदेखि तपाईंका दासले परमप्रभुबाहेक अन्य कुनै ईश्‍वरलाई न त होमबलि न बलिदान चढाउनेछ । 18 यो एउटा कुरामा परमप्रभुले तपाईंको दासलाई क्षमा गरून्, त्‍यो हो, जब मेरा राजा रिम्मोनको मन्दिरमा पुजा गर्न जान्‍छन् अनि मेरो हातमा भर पर्छन्, अनि रिम्मोनको मन्दिरमा म पनि निहुरिन्छु, तब यस विषयमा परमप्रभुले हजुरको दासलाई क्षमा गरून् ।" 19 एलीशाले तिनलाई भने, "शान्तिसित जाऊ ।” यसरी नामान फर्केर गए । 20 तिनी अलि पर मात्र पुगेका थिए, परमेश्‍वरका मानिस एलीशाको सेवक गेहजीले आफ्नो मनमा भन्यो, "मेरा मालिकले यी अरामी नामानको हातबाट तिनले ल्याएका उपहारहरू ग्रहण नगरी तिनको बचत गर्नुभएको छ । परमप्रभुको नाउँमा शपथ खाएर म भन्छु, म तिनको पछि दौडेर जानेछु, र तिनीबाट केही लिनेछु ।” 21 त्यसैले गेहजी नामानको पछि गयो । जब नामानले तिनको पछि कोही दौडेर आएको देखे, तब आफ्नो रथबाट त्यसलाई भेट्न तिनी ओर्ले र भने, "के सबै कुरा ठिकै छ ?" 22 गेहजीले भन्यो, "सबै ठिकै कुरा छ । मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको छ, 'हेर, एफ्राइमको पहाडी देशबाट अगमवक्ताहरूका छोराहरूमध्ये दुई जना युवा मकहाँ आएका छन् । कृपया, तिनीहरूलाई एक तोडा चाँदी र दुई जोर लुगा दिनुहोस् ।" 23 नामानले भने, "म तिमीलाई दुई तोडा चाँदी दिन अत्यन्तै खुसी छु ।” नामानले गेहजीलाई जिद्दी गरे र दुईवटा थैलामा दुई तोडा चाँदी र दुई जोर लुगा राखिदिए, अनि तिनले आफ्ना दुई जना सेवक दिए जसले ती थैलाहरू बोकेर गेहजीको अगि लागे । 24 जब गेहजी डाँडामा आइपुग्यो त्यसले तिनीहरूका हातबाट चाँदीका थैलाहरू लियो र ती घरमा लुकायो । त्यसले ती मानिसहरूलाई पठायो र उनीहरू गए । 25 जब गेहजी भित्र गयो र आफ्ना मालिकको अघि खडा भयो, तब एलीशाले भने, "ए गेहजी, तँ कहाँबाट आएको ?" त्यसले जवाफ दियो, "तपाईंको दास कतै गएन ।" 26 एलीशाले गेहजीलाई भने, "ती मानिसले तँलाई भेट्न आफ्नो रथ घुमाउँदा के मेरो आत्मा तँसितै थिएन र ? के यो रुपियाँ-पैसा र लत्ता कपडा, भद्राक्षका बोटहरू र दाखबारीहरू, भेडा-बाख्रा र गाई-गोरुहरू अनि कमारा-कमारीहरू ग्रहण गर्ने समय हो र ? 27 त्यसैले नामानको कुष्ठरोग तँ र तेरा सन्तानमाथि सधैँभरि रहनेछ ।” त्यसैले गेहजी हिउँजस्तै सेतो कुष्ठरोगी बनेर तिनको उपस्थितिबाट बाहिर गयो ।

6

1 अगमवक्ताहरूका छोराहरूले एलीशालाई भने, " जुन ठाउँमा हामी तपाईंसँग बस्छौँ, त्यो हामी सबैका लागि ज्‍यादै साँघुरो छ । 2 कृपा गरी हामी यर्दनमा जान र त्यहाँ हरेक मानिसले एउटा रुख काट्न अनि त्यहाँ एउटा ठाउँ बनाउने अनुमति हामीलाई दिनुहोस् जहाँ हामी बस्‍न सक्‍छौं ।” एलीशाले भने, " यस काममा तिमीहरू अगि बढ ।” 3 तिनीहरूमध्ये एक जनाले भन्यो, "कृपा गरी आफ्ना दासहरूसँगै जानुहोस् ।” एलीशाले जवाफ दिए, "म जानेछु ।" 4 त्यसैले तिनीहरूसँगै तिनी गए र जब तिनीहरू यर्दनमा आइपुगे, तब तिनीहरूले रुखहरू काट्न सुरु गरे । 5 तर एक जनाले काटिरहँदा बञ्चरोको टाउको पानीमा खस्यो । त्यसले चिच्‍च्याएर भन्यो, "हे मेरा मालिक, यो त मागेर ल्‍याएको थियो !” 6 त्यसैले परमेश्‍वरका मानिसले भने, "त्‍यो कहाँ खस्यो ?" त्यस मानिसले एलीशालाई त्यो ठाउँ देखायो । तब तिनले एउटा लट्ठी काटे, त्यसलाई पानीमा फाले र फलाम पनि तैरियो । 7 एलीशाले भने, "त्यसलाई समात ।” त्यसैले त्यस मानिसले आफ्नो हात पसार्‍यो र बञ्चरो समात्यो । 8 अब अरामका राजाले इस्राएलको विरुद्धमा युद्ध गरिरिहेका थिए । तिनले आफ्ना सेवकहरूसित यसो भनेर सल्लाह लिए, "मेरो छाउनी यस्तो-यस्तो ठाउँमा हुनेछ ।" 9 त्यसैले परमेश्‍वरका मानिसले इस्राएलका राजाकहाँ यसो भनेर मानिसहरू पठाए, "त्योबाट ठाउँबाट नजानुहोस् किनकि अरामीहरू त्यहाँ तल झर्दैछन् ।" 10 इस्राएलका राजाले त्यस ठाउँमा एउटा समाचार पठाए जसको विषयमा परमेश्‍वरका मानिसले बोलेका र चेताउनी दिएका थिए । एक वा दुई पटकभन्दा बढी राजा त्यहाँ जाँदा तिनी सावधान भए । 11 यी चेताउनीहरूका बारेमा अरामका राजा क्रोधित तुल्याइए, र तिनले आफ्ना सेवकहरूलाई बोलाए र तिनीहरूलाई भने, "हाम्रा माझमा भएकाहरूमध्ये कसले इस्राएका राजालाई समर्थन गर्छ त्‍यो तिमीहरू मलाई भन्दैनौँ ?" 12 त्यसैले तिनका एक जना सेवकले भने, "हे मेरा मालिक राजा, हामीले गर्दैनौँ किनकि इस्राएलमा भएका एलीशा अगमवक्ताले तपाईंले आफ्नो सुत्‍ने कोठामा बोल्नुभएका कुरासमेत इस्राएलका राजालाई भनिदिन्छन् ।" 13 राजाले जवाफ दिए, "जाओ र एलीशा कहाँ छ हेर, ताकि मानिसहरू पठाएर म त्‍यसलाई समात्‍न सकूँ ।” तिनलाई यसो भनियो, “तिनी दोतानमा छन् ।” 14 त्यसैले राजाले दोतानमा एउटा ठुलो सेनासँगै घोडाहरू र रथहरू पठाए । तिनीहरू रातमा आए र सहरलाई घेरा हाले । 15 जब परमेश्‍वरका मानिसको नोकर सबेरै उठ्‍यो र बाहिर गयो, हेर, एउटा ठुलो सेनाले घोडाहरू र रथहरू लिएर सहरलाई घेरेको थियो । तिनको सेवकले तिनलाई भन्यो, "ओहो ! मेरा मालिक, हामी के गरौँ ?" 16 एलीशाले जवाफ दिए, "नडरा, किनकि तिनीहरूसित भएकाहरूभन्दा हामीसित भएकाहरू धेरै छन् ।" 17 एलीशाले प्रार्थना गरे, "हे परमप्रभु, यसका आँखा खोलिदिनुहोस् ताकि यसले देख्‍न सकोस् भनी म बिन्ती गर्छु।” तब परमप्रभुले त्यस सेवकका आँखा खोल्‍नुभयो, र त्यसले देख्यो । हेर, एलीशाको वरिपरि डाँडामा अग्‍निमय घोडाहरू र रथहरूले भरिएको थियो ! 18 जब अरामीहरू तल ओर्ली एलीशाकहाँ आए, तिनले परमप्रभुमा प्रार्थना गरे र भने, “यी मानिसहरूलाई अन्धा तुल्याउनुहोस् भनी म बिन्ती गर्छु ।” त्यसैले एलीशाले बिन्ती गरेझैँ परमप्रभुले तिनीहरूलाई अन्धा तुल्याउनुभयो । 19 तब एलीशाले अरामीहरूलाई भने, "यो बाटो होइन, न त यो सहर नै हो । मेरो पछि लाग र तिमीहरूले खोजिरहेका मानिस भएको ठाउँमा म तिमीहरूलाई लानेछु ।” तब तिनीहरूलाई तिनले सामरिया लगे । 20 जब तिनीहरू सामरिया आइपुगे, तब एलीशाले भने, "हे परमप्रभु, यी मानिसहरूका आँखा खोल्‍नुहोस् ताकि तिनीहरूले देखून् ।” परमप्रभुले तिनीहरूका आँखा खोल्‍नुहोस्, र तिनीहरूले देखे अनि हेर, तिनीहरू त सामरिया सहरको बिचमा पो रहेछन् । 21 जब इस्राएलका राजाले तिनीहरूलाई देखे, तब तिनले एलीशालाई भने, "हे मेरा पिता, के म तिनीहरूलाई मारौं ? के म तिनीहरूलाई मारौं ?" 22 एलीशाले जवाफ दिए, "तपाईंले तिनीहरूलाई मार्नुहुँदैन । के तपाईंले आफ्नै तरवार र धनुले कैद गरेका मानिहरूलाई मार्नुहुन्थ्यो र ? तिनीहरूका सामु भोजन र पानी दिनुहोस्, ताकि तिनीहरूले खाऊन् र पिऊन् अनि आफ्ना मालिककहाँ जाऊन् ।" 23 त्यसैले राजाले तिनीहरूका लागि प्रशस्त भोजन तयार गरे, अनि जब तिनीहरूले खाए र पिए तब तिनीहरूलाई तिनले पठाइदिए र यसरी तिनीहरू आफ्ना मालिककहाँ फर्केर गए । अरामी सिपाहीका ती दलहरू लामो समयसम्म इस्राएल देशमा फर्केनन् । 24 यो घटनापछि अरामका राजा बेन-हददले आफ्ना सारा सेना जम्मा गरे र सामरियालाई आक्रमण गरे र त्‍यसलाई घेरा हाले । 25 त्यसैले सामरियामा ठुलो अनिकाल पर्‍यो । तिनीहरूले यति लामो समयसम्म घेरा हाले, जसले गर्दा गधाको एउटा टाउलाई एक किलो चाँदी र एक मुट्ठी दाललाई पचपन्‍न ग्राम चाँदीमा बिक्री गरियो । 26 जब इस्राएलका राजा पर्खालमा हिंड्दै थिए, तब एउटी स्‍त्रीले रुँदै तिनलाई भनी, "हे मेरा मालिक राजा, मलाई मदत गर्नुहोस् ।" 27 तिनले भने, "परमप्रभुले नै तिमीलाई मदत गर्नुहुन्‍न भने म कसरी तिमीलाई मदत गर्न सक्छु र ? खलो वा दाखको कोलबाट कुनै कुरो आउँदैछ र ?" 28 राजाले निरन्‍रतर बोले, "तिमीलाई के कुराले कष्‍ट दिंदैछ ?" त्यसले जवाफ दिई, "यो स्‍त्रीले मलाई भनी, ‘तिम्रो छोरो देऊ ताकि त्‍यसलाई हामी आज खाऊँ र हामी भोली मेरो छोरो खानेछौँ' ।’ 29 त्यसैले हामीले मेरो छोरोलाई उसिन्‍यौं र त्‍यसलाई खायौँ, अनि अर्को दिन मैले त्यसलाई भनेँ, ‘तिम्रो छोरो देऊ ताकि त्‍यसलाई हामी खाऊँ,’ तर त्यसले आफ्नो छोरो लुकाएकी छे ।" 30 जब राजाले त्‍यो स्‍त्रीको कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते (यति बेला तिनी पर्खालमा हिंडिरहेका थिए), र मानिसहरूले हेरे अनि तिनले कम्‍मरमा भाङ्ग्रा मात्र लगाएको देखे । 31 तब तिनले भने, "आज शाफातका छोरा एलीशाको शिर बाँकी रह्‍यो भने परमेश्‍वरले मलाई पनि यसै र अनि त्योभन्दा बढी गरून् ।" 32 तर एलीशा आफ्नो घरमा बसिरहेका थिए र धर्म-गुरुहरू तिनीसँगै बसिरहेका थिए । राजाले आफ्‍नो अघि एक जना मानिसलाई पठाए तर त्‍यो सन्देशवाहक एलीशाकहाँ आइपुग्‍नु अघि तिनले धर्म-गुरुहरूलाई भने, "हेर्नुहोस्, त्‍यो हत्याराको छोरोले मेरो शिर काट्नलाई कसैलाई पठाएको छ । जब सन्देशवाहक आइपुग्छ तब ढोका थुन्‍नुहोस् र त्यसले ठेल्‍दा थामिराख्‍नुहोस् । के त्यसको पछाडि त्‍यसको मालिकको पाइलाको आवाज आएको छैन र ?" 33 तिनीहरूसित तिनले बोल्‍दाबोल्‍दै सन्देशवाहक तिनीकहाँ आयो । राजाले भनेका थिए, “परमप्रभुबाट नै यो समस्‍या आउँछ । अब फेरि मैले किन परमप्रभुको प्रतीक्षा गरिरहने ?"

7

1 एलीशाले भने, "परमप्रभुको वचन सुन्‍नुहोस् । परमप्रभु यसो भन्‍नुहुन्छ, 'भोलि यतिबेला सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बिक्री हुनेछ' ।" 2 तब जुन अधिकारीको हातको भरमा राजा हिंड्थे तिनले परमेश्‍वरका मानिसलाई जवाफ दिए र भने, "हेर्नुहोस्, परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र ?" एलीशाले जवाफ दिए, "तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्‍नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।" 3 मूल ढोकाको ठिक बाहिर कुष्ठरोग लागेका चार जना मानिस थिए । तिनीहरूले एक-अर्कालाई भने, “हामी नमरेसम्म हामी यहाँ किन बसिरहने ? 4 हामी सहरमा जाऔं भनौं भने, सहरमा अनिकाल परेको छ र हामी त्यहाँ मर्नेछौं । हामी यहीँ बसौँ भने पनि हामी मर्नेछौँ । अब हामी अरामीहरूका सेना भएको ठाउँमा जाऔँ । तिनीहरूले हामीलाई जिउँदै राखे भने हामी जिउनेछौँ, र तिनीहरूले हामीलाई मारे भने हामी मर्नेछौँ ।" 5 त्यसैले अरामी छाउनीभित्र जानलाई तिनीहरू साँझपख उठे । जब तिनीहरू छाउनीको बाहिरी भागमा आइपुगे, त्यहाँ कोही पनि थिएन । 6 किनकि परमप्रभुले अरामी सेनालाई रथहरू, घोडाहरूको होहल्‍लाजस्‍तै— अर्को ठुलो सेनाको होहल्‍ला सुन्‍ने पार्नुभएको थियो, अनि, अनि तिनीहरूले एक-अर्कालाई भने, "इस्राएलका राजाले हित्तीहरू र मिश्रीहरूका राजाहरूलाई भाडामा लिएर हाम्रो विरुद्धमा आएका छन् ।” 7 त्यसैले सिपाहीहरू उठे र साँझमा नै भागे । तिनीहरूले आफ्ना पालहरू, घोडाहरू, गधाहरू र छाउनीलाई जस्ताको तस्तै छाडे र आफ्‍नो ज्यान बचाउन भागे । 8 जब कुष्‍टरोग लागेका मानिसहरू छाउनीको बाहिरी भागमा आइपुगे, तब तिनीहरू एउटा पालभित्र पसे र खानपान गरे अनि चाँदी, सुन र लुगाहरू उठाए र गएर ती लुकाए । तिनीहरू फर्केर आए र अर्को पालभित्र पसे र त्यहाँबाट पनि लुटका माल लगे र लुकाए । 9 तब तिनीहरूले एक-अर्कालाई भने, "हामीले ठिक गरिरहेका छैनौँ । आजको दिन शुभ खबरको दिन हो, तर हामी यस बारेमा मौन बसिरहेका छौँ । बिहन नभएसम्म हामीले पर्ख्यौं भने हामीमाथि दण्ड आइपर्नेछ । तब हामी अब जाऔं र राजाको घरानालाई भनौं ।" 10 त्यसैले तिनीहरू गए र सहरका पालेहरूलाई बोलाए । तिनीहरूले उनीहरूलाई यसो भने, "हामी अरामीहरूका छाउनीमा गयौँ तर त्यहाँ कोही थिएन, कुनै मानिसको आवाज त्‍यहाँ सुनिएन, तर त्‍यहाँ घोडाहरू र गधाहरू बाँधिएका थिए अनि पालहरू जस्ताको तस्तै थिए ।” 11 तब पालेहरूले त्यो खबर ठुलो स्‍वरले फैलाए, अनि त्‍यसपछि भित्र राजाको घरानालाई पनि त्‍यो कुरा बताइयो । 12 तब रातमा राजा उठे र आफ्ना सेवकहरूलाई भने, "अब अरामीहरूले हामीलाई के गरेका छन् भनी म तिमीहरूलाई भन्‍नेछु । हामी भोकाएका छौँ भनी तिनीहरूलाई थाहा छ । त्यसैले तिनीहरू छाउनीबाहिर खेतबारीमा लुक्‍न गएका छन् । तिनीहरू भन्दैछन्, 'जब तिनीहरू सहरबाहिर आउँछन्, तब हामी तिनीहरूलाई जिउँदै समात्‍ने छौँ, र सहरभित्र पस्‍नेछौँ’ ।” 13 राजाका एक जना सेवकले जवाफ दिए र भने, "केही मानिसहरूले सहरमा छाडिएका पाँचवटा घोडा लिएर जाऊन् । तिनीहरू इस्राएलका बाँकी जनसङ्ख्याजस्तै छन् अर्थात् अधिकांश मरिसकेका छन् । हामी तिनीहरूलाई पठाऊँ र हेरौँ।” 14 त्यसैले तिनीहरूले घोडाहरूसँगै दुईवटा रथ लिए र राजाले तिनीहरूलाई यसो भनेर अरामीहरूको सेनाको पछि पठाए, "जाओ र हेर ।” 15 तिनीहरू यर्दन नदीसम्मै तिनीहरूका पछि गए र अरामीहरूले हतारमा फालेका लुगा र सामनहरूले सबै बाटो भरिएका थिए । त्यसैले सन्देशवाहकहरू फर्के र राजालाई बताइदिए । 16 मानिसहरू बाहिर निस्के र अरामीहरूको छाउनी लुटे । त्यसैले जस्‍तो परमप्रभुले भन्‍नुभएको थियो त्‍यस्‍तै भयो, एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बेचियो । 17 जसको हातमा भर परेर राजा हिंड्थे ती अधिकारीलाई तिनले मूल ढोका हेर्ने जिम्मा दिएका थिए र मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे । राजाले परमेश्‍वरका मानिसलाई तिनको घरमा भेट्न जाँदा तिनले अगमवाणी गरेजस्‍तै तिनको मृत्‍यु भयो । 18 त्‍यसैले त्‍यस्‍तै भयो जास्‍तो परमेश्‍वरका मानिसले राजालाई यसो भनेका थिए, "यति बेलातिर सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा तिन माना जौ र एक ग्राम चाँदीमा डेढ माना पिठो पाइनेछ ।" 19 ती अधिकारीले परमेश्‍वरका मानिसलाई जवाफ दिएका थिए, "हेर्नुहोस्, परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र ?" एलीशाले जवाफ दिएका थिए, "तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्‍नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।" 20 तिनलाई ठिक त्यस्तै हुन आयो, किनकि मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे र तिनी मरे ।

8

1 अब एलीशाले त्‍यस स्‍त्रीसित बात गरेका थिए जसको छोरोलाई तिनले मृत्‍युबाट फेरि जिवित पारेका थिए । तिनले उनलाई भने, "उठ र आफ्ना घरानाको साथमा जाऊ र तिमीलाई जहाँ इच्छा लाग्‍छ त्‍यहाँ अर्को देशमा गएर बस, किनकि परमप्रभुले यस देशमा सात वर्षसम्म अनिकाल ल्याउने वचन दिनुभएको छ ।" 2 त्यसैले ती स्‍त्री उठिन् र परमेश्‍वरका मानिसको वचन मानिन् । तिनी आफ्ना घारानासित गइन् र सात वर्षसम्म पलिश्तीहरूको देशमा बसिन् । 3 सात वर्षको अन्त्यमा ती स्‍त्री पलिश्तीहरूको देशबाट फर्किन्, अनि आफ्नो घर र जमिन फिर्ता पाउन राजाकहाँ विन्‍ति चढाउन गइन् । 4 राजाले परमेश्‍वरका मानिसको सेवक गेहजीलाई यसो भन्दै थिए, "एलीशाले गरेका सबै महान् काम मलाई भन ।" 5 तब कसरी एलीशाले मेरको बच्‍चालाई मृत्‍युबाट फेरि जिवित पारेका थिए भनी राजालाई बताइरहँदा मृत्‍युबाट फेरि जिवित भएको बच्‍चाकी आमा आफ्नो परिवार र जमिनको निम्ति बिन्ती गर्न राजाकहाँ आइन् । गेहजीले भने, "हे मेरा मालिक राजा, ती स्‍त्री यिनै हुन् र तिनको छोरो यही हो जसलाई एलीशाले मृत्‍युबाट फेरि जिवित पारेका थिए ।” 6 जब राजाले त्‍यो स्‍त्रीलाई तिनको छोरोको बारेमा सोधे, तब तिनले त्‍यो कुरा उनलाई व्याख्या गरिन् । त्यसैले राजाले तिनको निम्ति यसो भनेर एक जना अधिकारीलाई खटाए, “जे तिनका थिए ती सबै अनि तिनले देश छाडेर गएको दिनदेखि अहिलेम्मको उक्‍त जमिनको उब्जनीसमेत तिनैलाई फिर्ता दिनू।" 7 एलीशा दमस्कसमा आए जहाँ अरामका राजा बेन-हदद बिरामी थिए । राजालाई भनियो, "परमेश्‍वरका मानिस यहाँ आएका छन् ।" 8 राजाले हजाएललाई भने, "आफ्नो हातमा उपहार लेऊ र गएर परमेश्‍वरका मानिसलाई भेट र तिनीद्वारा परमप्रभुसित यसो भनेर सल्‍लाह खोज, 'के म यस रोगबाट निको हुन्छु ?' ” 9 त्यसैले हजाएल तिनलाई भेट्न गए र तिनले आफूसित चालिसवटा ऊँटमाथि राखेर दमस्कसका हरेक असल थोक उपहार लगे । हजाएल आए र एलीशाको सामु खडा भए र भने, "तपाईंका छोरा अरामका राजा बेन-हददले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको छ, 'के म यस रोगबाट निको हुन्छु' ?" 10 एलीशाले तिनलाई भने, "जानुहोस्, र बेन-हददलाई भन्‍नुहोस्, 'निश्‍चय नै तपाईं निको हुनुहुनेछ,' तर तिनी निश्‍चय नै मर्नेछन् भनी परमप्रभुले मलाई देखाउनुभएको छ ।" 11 तब हजाएललाई शर्म नलागेसम्म एलीशाले तिनलाई एकटक लगाएर हेरे, अनि परमेश्‍वरका मानिस रोए । 12 हजाएलले सोधे, "हे मेरा मालिक, तपाईं किन रुनुहुन्छ ?" तिनले जवाफ दिए, "किनकि तपाईंले इस्राएलका मानिसमाथि गर्ने खराबी मलाई थाहा छ । तपाईंले तिनीहरूका किल्लाहरू आगोमा जलाउनुहुनेछ, र तिनीहरूका युवाहरूलाई तरवारले मार्नुहुनेछ अनि तिनीहरूका बालबच्‍चालाई टुक्राटुक्रा पार्नुहुनेछ र गर्भवती स्‍त्रीहरूका पेट चिर्नुहुनेछ ।” 13 हजाएलले भने, "तपाईंको दास को हो जसले यति ठुलो काम गरोस् ? ऊ केवल एउटा कुकुर हो ।” एलीशाले भने, "तपाईं अरामका राजा बन्‍नुहुनेछ भनी परमप्रभुले मलाई देखाउनुभएको छ ।" 14 तब हजाएल एलीशाबाट बिदा भए र आफ्ना मालिककहाँ आए जसले तिनलाई सोधे, "एलीशाले तिमीलाई के भने ?" तिनले जवाफ दिए, "तपाईं निश्‍चय नै निको हुनुहुनेछ भनी तिनले मलाई बताए ।" 15 तब अर्को दिन हजाएलले कम्बल लिए र त्‍यो पानीमा चोपे, अनि त्‍यो बेन-हददको मुखमा राखिदए ताकि तिनी मरे । त्यसपछि तिनको ठाउँमा हजाएल राजा भए । 16 इस्राएलका राजा आहाबका छोरा योरामको पाँचौँ वर्षमा यहोरामले राज्‍य गर्न थाले । तिनी यहूदाका राजा यहोशापातका छोरा थिए । यहोशापात यहूदाका राजा हुँदादेखि नै तिनले राज्‍य गर्न थाले । 17 यहोरामले राज्‍य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए, र तिनले यरूशलेममा आठ वर्ष राज्य गरे । 18 आहाबको घरानाले गरेझैँ, यहोराम इस्राएलका राजाहरूका चालमा हिंडे किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए, र परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही तिनले गरे । 19 तापनि, परमप्रभुका दास दाऊदको कारणले उहाँले यहूदालाई नष्‍ट गर्न चाहनुभएन, किनकि तिनलाई सधैँ सन्तानहरू दिनेछु भनी उहाँले तिनलाई भन्‍नुभएको थियो । 20 यहोरामको समयमा, यहूदाको विरुद्धमा एदोम बागी भयो र आफ्‍नो निम्‍ति आफैले राजा नियुक्‍त गर्‍यो । 21 त्यसपछि यहोराम आफ्ना सबै रथ लिएर जाईरमा गए । जब एदोमीहरूले यहोरामलाई घेरा हाले, तब तिनका रथ सेनापतिहरू उठे र तिनीहरूलाई रातमा आक्रमण गरे। तर यहोरामका सेना भागे र आ-आफ्ना घर फर्के । 22 त्यसैले आजको दिनसम्म नै एदोम यहूदाको शासनको विरुद्धमा बागी भएको छ । त्यसै बेला लिब्ना पनि बागी भयो । 23 यहोराम, र तिनले गरेका सबै कामका बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 24 यहोराम आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूसँगै दाऊदको सहरमा गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा अहज्याह राजा भए । 25 इस्राएलका राजा आहाबका छोरा योरामको बार्‍हौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्‍य गर्न सुरु गरे । 26 अहज्याहले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अतल्याह थियो । उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन् । 27 अहज्याह आहाबको घरानाका चालमा हिंडे । आहाबको घरानाले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे किनकि अहज्याह आहाबको घरानाका ज्वाइँ थिए । 28 रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न आहाबका छोरा योरामसितै अहज्याह गए । अरामीहरूले योरामलाई घाइते बनाए । 29 अरामका राजा हजाएलको विरुद्धमा राजा योरामले लडाइँ गर्दा रामोतमा अरामीहरूले तिनमा पारेको चोटबाट निको हुन तिनी यिजरेलमा फर्के । त्यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याह आहाबका छोरा योरामलाई भेट्न यिजरेलमा झरे किनकि योराम घाइते भएका थिए ।

9

1 अगमवक्ताहरूका छोराहरूमध्ये एक जनालाई एलीशा अगमवक्ताले बोलाए र तिनलाई भने, "यात्राको लागि लुगा लगाऊ, अनि तिम्रो हातमा तेलको यो सानो भाँडो लेऊ र रामोत-गिलादमा जाऊ । 2 तिमी पुगेपछि निम्शीका नाति, यहोशापातका छोरा येहूलाई खोज, अनि भित्र जाऊ र तिनका साथीहरूका बिचबाट तिनलाई उठाऊ र भित्री कोठामा लैजाऊ । 3 त्यसपछि तेलको भाँडो लेऊ र यो तिनको शिरमा खन्याऊ, र भन, 'परमप्रभु यसो भन्‍नुहुन्छः “मैले तँलाई इस्राएलको राजा अभिषेक गरेको छु ।” तब ढोका खोल, र दौड । ढिलो नगर ।" 4 त्‍यसैले ती जवान मानिस, जवान अगमवक्ता रामोत-गिलादमा गए । 5 तिनी आइपुग्दा सेनापतिहरू बसिरहेका थिए । त्यसैले जवान अगमवक्ताले भने, “हे कप्‍तान, तपाईंलाई एउटा सन्‍देश लिएर आएको छु ।” येहूले भने, "हामीमध्ये कसलाई ?" जवान अगमवक्ताले जवाफ दिए, "तपाईंलाई कप्‍तान ।” 6 त्यसैले येहू उठेर घरभित्र गए र ती अगमवक्ताले येहूको शिरमाथि तेल खन्याए, र तिनलाई भने, "इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि अर्थात् परमप्रभुका मानिसहरूमाथि राजा अभिषेक गरेको छु । 7 तैँले आफ्नो मालिक आहाबको घरानालाई मार्नुपर्छ, यसरी ईजेबेलको हातद्वारा मारिएका परमप्रभुका सबै सेवक अगमवक्ताहरूका रगत र मेरा सेवकहरूका रगतको बदला मैले लिन सक्छु । 8 किनकि आहाबको पुरै घराना नष्‍ट हुनेछ, र म आहाबको घरानाबाट कमारा होस् वा फुक्‍का हरेक पुरुषलाई निमिट्ट्यान्‍न पार्नेछु । 9 म आहाबको घरानालाई नबातका छोरा यारोबामको घराना र अहज्याहका छोरा बाशाको घरानाजस्तै तुल्याउनेछु । 10 ईजेबेललाई यिजरेलमा कुकुरहरूले खानेछन्, र त्यसलाई गाड्ने कोही हुनेछैन' ।” तब अगमवक्ताले ढोका खोले र भागे । 11 तब येहू आफ्ना मालिकका सेवकहरूकहाँ आए र एक जनाले तिनलाई सोधे, "के सबै कुरा ठिकै छ ? यो पागल मान्छे किन तपाईंकहाँ आएको ?" येहूले तिनीहरूलाई जवाफ दिए, "तिमीहरू यी मानिस र तिनले कस्ता किसिमका कुरा भन्छन् भनेर तिमीहरू जान्‍दछौ ।" 12 तिनीहरूले भने, "त्यो कुरा झुट हो । हामीलाई भन्‍नुहोस् ।” येहूले भने, "तिनले मलाई यी भने अनि यसो पनि भने, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेको छु' ।" 13 तब तिनीहरूले तुरुन्‍तै आ-आफ्ना बाहिरी वस्‍त्र उतारे र येहू हिंड्ने खुड्किलामा ओछ्याए । तिनीहरूले तुरही फुके र भने, "येहू राजा हुनुहुन्छ ।" 14 यसरी निम्शीका नाति, यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे । अब योराम र सारा इस्राएलले अरामका राजा हजाएलको कारणले रामोत-गिलादलाई रक्षा गरिरहेका थिए, 15 तर अरामका राजा हजाएलको विरुद्धमा लड्दा राजा योरामलाई अरामीहरूले घाइते बनाएका हुनाले तिनी निको हुन यिजरेलमा फर्केका थिए । येहूले योरामका सेवकहरूलाई भने, "तिमीहरूको राय यस्तै छ भने यिजरेलमा गएर यो समाचार बताउनलाई कोही पनि भागेर सहरबाहिर जान नपाओस् ।" 16 त्यसैले येहू रथमा चढी यिजरेल गए । किनकि योरामले त्यहीँ विश्राम गर्दै थिए । त्यस बेला यहूदाका राजा अहज्याह योरामलाई भेट्न तल झरेका थिए । 17 यिजरेलको धरहरामा पहरेदार खडा थियो, र त्यसले येहूका फौज आइरहेको टाढैबाट देख्यो । त्यसले भन्यो, “मानिसहरूको एउटा समूह आइरहेको मैले देख्दछु ।” योरामले भने, "एक जना घोडचढीलाई तिनीहरूलाई भेट्न पठा । त्यसलाई यसो भन्‍न लगा, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो' ?" 18 त्यसैले येहूलाई भेट्न एक जना मानिस घोडामा चढेर गयो । त्यसले भन्यो, "राजा यसो भन्‍नुहुन्छ, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो' ?" येहूले भने, "मित्रभावसित तँलाई केको सरोकार? फर्केर मेरो पछि लाग् ।” तब पहरेदारले राजालाई भन्यो, "सन्देशवाहकले तिनीहरूलाई भेट्यो, तर त्यो फर्केर आएन ।” 19 तब तिनले घोडामा अर्को मानिसलाई पठाए । त्यो तिनीहरूकहाँ आएर भन्यो, "राजा यसो भन्‍नुहुन्छ, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो' ?" येहूले भने, "मित्रभावसित तँलाई केको सरोकार? फर्केर मेरो पछि लाग् ।" 20 फेरि पहरेदारले भन्‍यो, "त्यसले तिनीहरूलाई भेटेको छ, तर त्यो फर्केर आएन । किनकि जुन तरिकाले रथ हाँकिएको छ त्यो त निम्शीका छोरा येहूले हाँकेजस्तै छ । तिनले बौलाहाले जस्तै हाँक्दैछन् ।" 21 त्यसैले योरामले भने, "मेरो रथ तयार पार ।” तिनीहरूले तिनको रथ तयार पारे, र इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह आ-आफ्नै रथमा चढेर येहूलाई भेट्न बाहिर निस्के । तिनीहरूले यिजरेली नाबोतको जग्गामा तिनलाई भेटे । 22 योरामले येहूलाई देखेपछि तिनले भने, "येहू, के तिमी मित्रभावले आएको हो ?" तिनले जवाफ दिए, "तिम्री आमा ईजेबेलका यति धेरै मूर्तिपूजा र वेश्यावृत्ति हुँदाहुँदै पनि कसरी मित्रभाव हुन्छ ?" 23 त्यसैले योरामले आफ्नो रथ घुमाए र अहज्याहलाई यसो भनेर भागे, "अहज्याह, धोका भएछ ।" 24 तब येहूले आफ्नो धनु निकाले र पुरा शक्ति लगाएर योरामका काँधहरूका बिचैमा तिनलाई हाने । काँडले तिनको मुटुलाई नै छेड्यो, र तिनी आफ्नो रथमा लडे । 25 तब येहूले आफ्ना सेनापति बिदकारलाई भने, "तिनलाई उठाऊ र यिजरेली नाबोतको खेतमा फालिदेऊ । तिनका पिता आहाबको पछि रथमा तिमी र म जाँदा परमप्रभुले तिनको विरुद्धमा भन्‍नुभएको यो अगमवाणीको बारेमा वोचार गरः 26 'परमप्रभु घोषणा गर्नुहुन्छ— हिजो मैले नाबोतको रगत र त्यसका छोराहरूको रगत देखेँ, र परमप्रभु भन्‍नुहुन्छ, निश्‍चय नै म यही खेतमा त्यसको बदला लिनेछु ।' अब परमप्रभुको वचनअनुसार तिनलाई उठाऊ र यही खेतमा फालिदेऊ ।" 27 जब यहूदाका राजा अहज्याहले यो देखे, तिनी बेथ-हागान जाने बाटोतिर भागे । तर येहूले तिनलाई पछ्याए, र भने, "तिनलाई पनि रथमा मार ।” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा प्रहार गरे । अहज्याह मगिद्दोमा भागे, र त्यहीँ मरे । 28 तिनका सेवकहरूले तिनको लाशलाई रथमा राखेर यरूशलेम ल्याए, र दाऊदको सहरमा तिनका पर्खाहरूसित तिनकै चिहानमा गाडे । 29 आहाबका छोरा योरामको एघारौँ वर्षमा अहज्याहले यहूदामाथि राज्‍य सुरु गरेका थिए । 30 येहू यिजरेलमा आएको कुरा ईजेबेलले सुनिन्, र तिनले आफ्ना आँखामा गाजल लगाइन्, कपाल बाटिन् र झ्यालबाट हेरिन् । 31 येहू मूल ढोकामा भित्र आउँदै गर्दा तिनले उनलाई भनिन्, "ए आफ्ना मालिकका हत्यारा जिम्री, के तिमी मित्रभावले आएका हौ ?" 32 येहूले माथि झ्यालमा हेरे र भने, “मेरो पक्ष लिने को छ ? को छ ?" तब दुई वा तिन जना नपुंसकले बाहिर हेरे । 33 येहूले भने, "तिनलाई तल फालिदेओ ।" त्यसैले तिनीहरूले ईजेबेललाई तल फालिदिए, र तिनका केही रगत उछिट्टिएर भित्तामा र घोडाहरूमा परे, अनि येहूले तिनलाई खट्टाले कुल्चिदिए । 34 जब येहू दरबारभित्र पसे, तब तिनले खानपान गरे । तब तिनले भने, "अब त्‍यो श्रापित स्‍त्रीलाई हेर र त्‍यसलाई गाडिदेओ, किनकि त्‍यो राजाकी छोरी थिई ।" 35 तिनलाई गाड्न तिनीहरू गए तर तिनीहरूले तिनको खप्पर, खुट्टा र हत्केलाबाहेक केही भेट्टाएनन् । 36 त्‍यसैले तिनीहरू आएर येहूलाई बताए । तिनले भने, “आफ्ना सेवक तिश्बी एलियाद्वारा परमप्रभुले बोल्नुभएको वचन यही हो, 'यिजरेलको जमिनमा कुकुरहरूले ईजेबेलको मासु खानेछन्, 37 र ईजेबेलको लाश यिजरेलका खेतहरूमा मलझैँ हुनेछ ताकि कसैले यस्तो भन्‍न नसकोस्, 'यो ईजेबेल हो' ।"

10

1 सामरियामा आहाबको घरानाका सत्तरी जना सन्तान थिए । येहूले चिठीहरू लेखे र ती सामरियामा यिजरेलका शासकहरू, धर्म-गुरुहरू र आहाबका सन्तानका अभिभावककहाँ यसो भनेर पठाए, 2 "तिमीहरूका मालिकका सन्तानहरू तिमीहरूसित छन्, र तिमीहरूसित रथहरू, घोडाहरू र किल्लाबन्दी गरिएको सहर हतियार छन् । त्यसैले यो चिठी तिमीहरूले प्राप्‍त गर्ने बित्तिकै, 3 तिमीहरूका मालिका सन्तानमध्ये सबैभन्दा उत्तम र योग्यलाई छान र तिनलाई आफ्‍ना पिताको सिंहासनमा राख, अनि तिमीहरूका मालिकका राजकीय वंशको निम्ति लडाइँ गर ।" 4 तर तिनीहरू त्रसित भए र आपसमा भने, "हेर, येहूको सामु दुई जना राजा त खडा हुन सकेनन् । त्‍यसैले हामी कसरी खडा हुन सक्छौँ ?" 5 तब दरबारका रेखदेख मानिसहरू, सहरका प्रमुखहरू र धर्म-गुरुहरू अनि बालबालिकका अभिभावकहरूले येहूलाई यसो भनेर समाचार पठाए, "हामी तपाईंका सेवकहरू हौँ । तपाईंले हामीलाई जे आज्ञा दिनुहुन्‍छ, त्‍यो हरेक कुरा हामी गर्नेछौँ । हामी कुनै मानिसलाई राजा बनाउनेछैनौँ । तपाईंको दृष्‍टिमा जे ठिक लाग्‍छ, त्यही गर्नुहोस् ।” 6 तब येहूले तिनीहरूलाई यसो भनेर दोस्रो पटक चिठी लेखे, "तिमीहरू मेरो पक्षमा छौ र तिमीहरूले मेरो कुरा सुन्छौ भने तिमीहरूले आफ्‍ना मालिकका सन्‍तानका शिरहरू लिनुपर्छ र भोली यसै बेला यिजरेलमा मकहाँ आउनुपर्छ ।” त्यस बेला राजाका सत्तरी जना सन्तानहरू आफूलाई हुर्काउने सहरका महत्त्वपूर्ण मानिसहरूसँगै थिए । 7 त्यसैले जब तिनीहरूकहाँ चिठी आयो, तब तिनीहरूले राजाका छोराहरूलाई समाते र सत्तरी जनालाई नै मारे, तिनीहरूका शिरहरू टोकरीहरूमा राखे, र ती यिजरेलमा येहूकहाँ पठाए । 8 एक जना सन्देशवाहक येहूकहाँ यसो भन्‍न आयो, "तिनीहरूले राजाका छोराहरूका शिरहरू ल्याएका छन् ।” त्‍यसैले तिनले भने, "बिहानसम्म तिनलाई मूल ढोकामा दुईवटा थुप्रो लगाएर राख्‍नू ।" 9 बिहान येहू बाहिर निस्के र खडा भए र सबै मानिसहरूलाई भने, "तिमीहरू निर्दोष छौ । हेर, मैले मेरा मालिकको विरुद्धमा षड्यन्त्र गरें र तिनलाई मारेँ, तर यी सबैलाई कसले मारे ? 10 अब तिमीहरूले निश्‍चय नै बुझ्नुपर्छ कि आहाबको घरानाको सम्बन्धमा बोलिएको परमप्रभुको वचनको कुनै पनि भाग खेर जाने छैन किनकि परमप्रभुले आफ्ना सेवक एलियाद्वारा बोल्नुभएअनुसार गर्नुभएको छ ।" 11 त्यसैले येहूले यिजरेलमा आहाबका घरानाका बाँकी रहेका सबै जना, तिनका मुख्य मानिसहरू, तिनका नजिकका मित्रहरू र पुजारीहरू कसैलाई पनि नछडी सबैलाई मारे । 12 तब येहू उठे र आफ्नो बाटो लागे । तिनी सामरियामा गए । तिनी गोठालोको बेथ-एकेदमा आइपुग्दा, 13 तिनले यहूदाका राजा अहज्याहका दाजुभाइलाई भेटे । येहूले तिनीहरूलाई भने, "तिमीहरू को हौ ?" तिनीहरूले जवाफ दिए, "हामी अहज्याहका दाजुभाइहरू हौँ, र हामी राजाका सन्तान र रानी ईजेबेलका सन्तानलाई अभिवादन गर्न जाँदैछौँ ।” 14 येहूले आफ्ना मानिसहरूलाई भने, "तिनीहरूलाई जिउँदै समात ।” त्यसैले तिनीहरूले उनीहरूलाई जिउँदै समाते र बयालिस जना पुरुष सबैलाई बेथ-एकेदको कुवामा मारे । तिनीहरूमध्‍ये एक जनालाई पनि तिनले जिउँदो छोडेनन् । 15 येहू त्यहाँबाट गएपछि तिनले रेकाबका छोरा यहोनादाब आफूलाई भेट्न आइरहेका देखे । येहूले तिनलाई अभिवादन गरे र तिनलाई भने, "मेरो ह्रदय तिमीतर्फ भएझैँ तिम्रो ह्रदय मतर्फ छ ?" यहोनादाबले जवाफ दिए, "हजुर छ।” येहूले भने, "छ भने मलाई तिम्रो हात देऊ।” त्यसैले तिनले येहूलाई आफ्नो हात दिए, येहूले यहोनादाबलाई आफूसितै रथमा लगे । 16 येहूले भने, "मसँग आऊ र परमप्रभुको निम्ति मेरो जोसलाई हेर ।” त्यसैले तिनले यहोनादाबलाई आफ्‍नो रथमा आफूसँगै लगे । 17 जब तिनी सामरियामा आए, तब जसरी परमप्रभुले पहिले नै आहाबको घरानालाई एलियाद्वारा भन्‍नुभएको थियो त्‍यसरी नै येहूले सामरियामा बाँकी रहेका तिनका सबै सन्तानलाई मारे, र आहाबको राजकीय वंशको एउटैलाई पनि छाडेनन् । 18 तब येहूले सारा मानिसलाई एकसाथ जम्मा गरे र तिनीहरूलाई भने, "आहाबले त बालको थोरै मात्र सेवा गरे, तर येहूले त झन् बढी त्यसको सेवा गर्नेछ । 19 त्यसकारण बालका सबै अगमवक्ता, त्यसका सबै आराधक र सबै पुजारीलाई मकहाँ बोलाओ । कोही पनि नछोडियोस् किनकि बाललाई चढाउन मसित एउटा ठुलो बलिदान छ । जो आउँदैन, त्यो बाँच्नेछैन ।” तर बालका आराधकहरूलाई मार्न येहूले छलपूर्वक यसो गरेका थिए । 20 येहूले भने, "बालको निम्ति एउटा सभा बोलाओ ।” त्यसैले तिनीहरूको यसको घोषणा गरे । 21 तब येहूले सारा इस्राएलभरि समाचार पठाए, र बालका आराधकहरू सबै आए । नआएको मानिस एउटै पनि थिए । तिनीहरू बालको मन्दिरमा आए, र मन्दिर एउटा कुनादेखि अर्को कुनासम्म भरिएको थियो । 22 येहूले पुजारीको वस्‍त्र-भण्डारको रेखदेख गर्ने मानिसलाई भने, "बालका सबै आराधकका लागि वस्‍त्र ल्याऊ ।” त्यसैले ती मानिसले तिनीहरूकहाँ वस्‍त्रहरू ल्याए । 23 रेकाबका छोरा यहोनादाबसित येहू बालको मन्दिरभित्र गए, र तिनले बालका आराधकहरूलाई भने, "यहाँ परमप्रभुका कुनै पनि सेवक नहोऊन्, तर बालका आराधकहरू मात्र होऊन् भन्‍ने कुरामा निश्‍चित होऊ ।" 24 तब तिनीहरू बलिहरू र होमबलि चढाउन भित्र गए । येहूले असि जना मानिसलाई छानेका थिए जो बाहिर खडा थिए । तिनले तिनीहरूलाई भने ,"मैले तिमीहरूका हातमा ल्याएको कुनै पनि मानिस भाग्‍यो भने, जसले भगाउँछ, त्यो भाग्‍नेको प्राणको सट्टा त्यसको प्राण लिइनेछ ।" 25 तब येहूले होमबलि चढाएर सिद्ध्याउने बित्तिकै तिनले पहरेदार र सेनापतिहरूलाई भने, "भित्र जाओ र गएर तिनीहरूलाई मार । कोही बाहिर नआओस् ।” त्यसैले तिनीहरूले तरवारको धारले उनीहरूलाई मारे, अनि पहरेदार र कप्‍तानहरूले तिनीहरूलाई बाहिर फाले र तिनीहरू बालको मन्दिरको भित्री कोठामा गए । 26 तिनीहरूले बालको मन्दिरको भित्र राखिएको ढुङ्गाको मूर्तिलाई घिसारेर बाहिर ल्याए, र ती आगो लगाइदिए । 27 त्यसपछि तिनीहरूले बालको खम्बाहरू भँचिदिए र बालको मन्दिरलाई भत्काइदिए, अनि मानिसहरूले त्‍यसबाट शौचालय बनाए जसलाई मानिसहरूले आजसम्म प्रयोग गर्छन् । 28 यसरी येहूले इस्राएलबाट बालको पुजालाई नष्‍ट पारे । 29 तर नबातका छोरा यारोबामका पापहरू जसद्वारा तिनले इस्राएललाई पाप गर्न लगाए, अर्थात् बेथेल र दानमा सुनका बाछाहरूका पुजालाई येहूले छाडेनन् । 30 त्यसैले परमप्रभुले येहूलाई भन्‍नुभयो, " परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तैँले त्यही गरेको कारणले र आहाबको घरानालाई मेरो ह्रदयमा भएअनुसार गरेको हुनाले तेरा सन्तानहरूको चार पुस्तासम्म इस्राएलको सिंहासनमा बस्‍नेछन् ।” 31 तर आफ्ना सारा ह्रदयले इस्राएलका परमप्रभु परमेश्‍वरको व्यवस्थामा हिँड्न कुरालाई येहूले वास्ता गरेनन् । इस्राएललाई पाप गर्न लगाउने यारोबामका पापहरूबाट तिनी फर्केनन् । 32 ती दिनमा परमप्रभुले इस्राएलको क्षेत्रफल घटाउन थाल्नुभयो, र हजाएलले इस्राएलका सिमानाहरूमा इस्राएलीलाई पराजित गरे, 33 यर्दन नदीको पूर्वतिर भएको गिलाद, गादी, रूबेनी र मनश्शे सबै क्षेत्र, अर्नोन उपत्‍यकाको ओएरदेखि गिलाद र बाशानसम्मै कब्‍जा गरे । 34 येहू र तिनका सबै काम र तिनको शक्तिको बारेमा के इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 35 येहू आफ्ना पर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तब तिनको ठाउँमा तिनका छोरा यहोआहाज राजा भए । 36 येहूले सामरियामा बसेर इस्राएलमाथि अट्ठाइस वर्ष राज्य गरे ।

11

1 अब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरो मरेका देखेपछि तिनी उठिन् र सबै राजकीय बालबालिकालाई मारिन् । 2 तर राजा यहोरामकी छोरी, अहज्याहकी बहिनी यहोशेबाले मारिन लागेका राजाका छोराहरूका माझबाट अहज्याहका छोरो योआशलाई तिनको धाईसँगै सुटुक्‍क लगेर लुकाइन् । तिनले तिनीहरूलाई सुत्‍ने कोठामा राखिन् । योआश नमारिऊन् भनेर तिनीहरूले अतल्याहबाट उसलाई लुकाए । 3 अतल्याहले देशमा राज्‍य गर्दा परमप्रभुको मन्‍दिरमा छ वर्षसम्म उसलाई आफ्‍नो धाईसँगै लुकाइयो । 4 सातौँ वर्षमा यहोयादाले सन्देश पठाए, र सयौं करीहरू तथा पहरादारहरूका कमान्‍डरहरूलाई परमप्रभुको मन्दिरमा आफूकहाँ लाए । तिनले तिनीहरूसित करार बाँधे र परमप्रभुको मन्दिरमा तिनीहरूलाई शपथ खान लगाए । तब तिनले तिनीहरूलाई राजाका छोरा देखाए । 5 तिनले तिनीहरूलाई यसो भनेर आज्ञा दिए, "तिमीहरूले यसो गर्नुपर्छ । तिमीहरूमध्ये एक-तिहाइ जो शबाथमा आउँछौ, तिमीहरूले राजदरबारको रेखदेख गर्नेछौ, 6 र एक-तिहाइचाहिं सुर ढोकामा बस्‍नेछौ अनि बाँकी एक-तिहाइ रक्षक कोठाको पछाडि बस्‍नेछौ ।" 7 शबाथमा सेवा नगर्ने अन्य दुईवटा दलले, राजाको लागि परमप्रभुको मन्दिरमा रेखदेख गर्नुपर्छ । 8 हरेक मानिसले आफ्नो हातमा तरवार लिएर राजाको वरिपरि तैनाथ हुनुपर्छ । तिमीहरूको नजिक आउने जोसुकै भए पनि त्‍यसलाई मारियोस् । राजा बाहिर जाँदा र भित्र आउँदा तिमीहरू तिनीसँगै हिड्‍नुपर्छ । 9 त्यसैले यहोयादा पुजारीले आज्ञा गरेअनुसार सयौं दलका कमान्‍डरहरूले सबै कुरा गरे । हरेकले आफ्नो दलका मानिसहरू अर्थात् शबाथमा सेवा गर्न खटाइएकाहरू र शबाथमा सेवा गर्नबाट फुर्सद भएकाहरूलाई लिएर तिनीहरू यहोयादा पुजारीकहाँ आए । 10 तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा राखिएका राजा दाऊदका भालाहरू र ढालहरू कमान्‍डरहरूलाई दिए । 11 मन्दिरको दाहिने किनाराबाट देब्रे किनारासम्म अनि वेदी र मन्दिरको नजिक अङ्गरक्षहरू आ-आफ्ना हातमा हतियार लिएर खडा भएर राजालाई घेरा हाले । 12 तब यहोयादाले राजाका छोरा योआशलाई बाहिर ल्याए, तिनलाई श्रीपेच लगाइदिए, र तिनलाई करारको उर्दी थमाइदिए । तब तिनीहरूले तिनलाई राजा बनाए र तिनलाई अभिषेक गरे । तिनीहरूले आफ्‍ना ताली बजाए र भने, "राजा दीर्घायु रहून् !” 13 जब अतल्याहले अङ्गरक्षकहरू र मानिसहरूको हल्‍ला सुनिन् , तब तिनी परमप्रभुको मन्‍दिरमा मानिसहरूकहाँ आइन् । 14 तिनले हेरिन् र चलनअनुसार राजा खम्बानेर खडा थिए, अनि कप्‍तानहरू र तुरही फुक्‍नेहरू राजाको छेउमा थिए । देशका सबै मानिसहरूले आनन्द मनाउँदै र तुरही फुक्दै थिए । तब अतल्याहले आफ्‍ना लुगा च्यातिन् र चिच्‍च्याइन्, धोका! धोका ।” 15 तब यहोयाद पुजारीले सयौ कमान्‍डरहरूलाई यसो भनेर आज्ञा दिए, “तिनलाई बाहिर ल्याई दल-दलको बिचमा राख । तिनको पछि लाग्‍ने जोसुकैलाई तरवारले मार ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्दिरभित्र नमार ।” 16 त्यसैले जब तिनी राजदरबारमा घोडाहरू पस्‍ने ठाउँमा पुगिन्, तब तिनीहरूले तिनलाई समाते र त्यहीँ तिनलाई मारियो । 17 तब यहोयादाले तिनीहरू परमप्रभुका जाति हुनुपर्छ भनेर परमप्रभु र राजा अनि जनताको बिचमा, अनि राजा र जनताको बिचमा एउटा करार बाँधे । 18 त्‍यसैले देशका सबै मानिसहरू बालको मन्दिरमा गए र त्यसलाई भत्काइदिए । तिनीहरूले बालका वेदीहरू र त्यसका मूर्तीहरूलाई टुक्राटुक्रा पारे, र तिनीहरूले ती वेदीकै सामुन्‍ने बालको पुजारी मत्तानलाई मारे । तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा पहरादारहरू नियुक्त गरे । 19 यहोयादाले आफूसित सयौं करीहरू तथा पहरादारहरूका कमान्‍डरहरू र देशका सबै मानिसहरूलाई साथमा लिए र तिनीहरूले मिलेर राजालाई परमप्रभुको मन्दिरबाट ल्याए र तिनीहरू पहरादारको ढोकाको बाटो हुँदै राजदरबारमा गए । योआशले राजकीय सिंहासनमा आफ्नो आसन ग्रहण गरे । 20 त्‍यसैले देशका सबै मानिसहरू आनन्दित भए, र राजाको दरवारमा अतल्याहलाई तरवारले मारिएपछि सहरमा शान्ति भयो । 21 योआशले राज्‍य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए ।

12

1 येहूको सातौँ वर्षमा योआशले राज्‍य गर्न थाले । तिनले यरूशलेममा चालिस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ सिब्या थियो, जो बेर्शेबाकी थिइन् । 2 योआशले सधैँ परमप्रभुको दृष्‍टिमा जे ठिक छ, त्यही गरे किनकि यहोयादा पुजारीले तिनलाई सल्‍लाह दिने गर्थे । 3 तर डाँडाका थानहरू भने हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलिदान चढाए र धूप बाले । 4 योआशले पुजारीहरूलाई भने, "परमप्रभुको मन्दिरभित्र पवित्र भेटीहरूको रूपमा ल्याइएका सबै रुपियाँ-पैसा अर्थात् जनगणनामा जम्मा गरिएको रकम वा व्यक्तिगत भाकलबाट प्राप्‍त गरिएको रकम वा परमप्रभुद्वारा मानिसहरूका आ-आफ्ना ह्रदयमा प्रेरित गरी तिनीहरूद्वारा ल्याइएको रकम जम्मा गर, 5 पुजारीहरूले कुनै एक जना कोषाध्यक्षबाट रकम लिऊन् र मन्दिरमा भएको कुनै पनि क्षतिको मर्मत गरून् ।" 6 तर राजा योआशको तेइसौँ वर्षसम्म पनि पुजारीहरूले मन्दिरमा केही पनि मर्मत गरेका थिएनन् । 7 तब राजा योआशले यहोयादा पुजारी र अन्य पुजारीहरूलाई बोलाई तिनीहरूलाई भने, "किन तिमीहरूले मन्दिरमा केही पनि मर्मत गरेका छैनौ ? अबदेखि तिमीहरूका कर उठाउनेहरूबाट रकम नउठाउनू, तर मन्दिरको मर्मतको लागि जे-जेति जम्मा भएका छन्, ती लिएर मर्मत गर्न सक्‍नेहरूलाई दिनू ।" 8 त्यसैले अब मानिसहरूबाट रुपियाँ-पैसा नलिने र पुजारीहरू आफैले मन्दिरको मर्मत नगर्ने कुरामा तिनीहरू सहमत भए । 9 बरु, यहोयादा पुजारीले एउटा सन्दुक लिएर त्यसमा प्वाल पारे, अनि यसलाई परमप्रभुको मन्दिरभित्र प्रवेश गर्ने दाहिनेपट्टि वेदीको छेउमा राखे । मन्दिरको प्रवेशद्वारको पहरा दिने पुजारीहरूले परमप्रभुको मन्दिरमा ल्याएका सबै रकम त्यसैमा हाल्‍थे । 10 जब सन्दुकमा धेरै रकम जम्‍मा भएको तिनीहरूले देख्‍थे, राजाका सचिव र प्रधान पुजारी आउँथे र परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ-पैसा थैलाहरूमा हाल्‍थे र त्‍यसपछि गणना गर्थे । 11 तिनीहरूले उक्त रकम हिसाब गरेपछि परमप्रभुको मन्दिरको रेखदेख गर्नेहरूका हातमा दिन्थे । तिनीहरूले परमप्रभुको मन्दिरमा काम गर्ने सिकर्मीहरू र निर्माणकर्ताहरू 12 अनि डकर्मीहरू र ढुङ्गा काट्नेहरू, परमप्रभुको मन्दिरको मर्मतको निम्ति तिनीहरूले काठपात र काटेर मिलाइएका ढुङ्गाहरू किन्‍नलाई र मन्दिरको पुनर्निर्माणको लागि आवश्‍यक सबै खर्च गर्नलाई त्‍यो लिएर तिर्थे । 13 तर परमप्रभुको मन्दिरभित्र ल्याइएको रकम चाँदीको कचौरा, सामदानका चिम्टाहरू, बाटाहरू, तुरहीहरू वा सुनचाँदीका सजावटका सामानहरूका लागि खर्च गरिएन । 14 तिनीहरूले यो पैसा परमप्रभुको मन्दिरको मर्मतको काम गर्नेहरूलाई दिए । 15 यसको बाहेक, तिनीहरूले काम गर्नेहरूका निम्ति मुख्य कामदारहरूलाई दिएका रुपियाँ-पैसाको हिसाब आवश्‍यक थिएन किनकि यी मानिसहरू इमानदार थिए । 16 तर दोष बलि र पाप बलिको निम्ति ल्याइने रुपियाँ-पैसा भने परमप्रभुको मन्दिरमा ल्याइएन किनकि यो पुजारीहरूको थियो । 17 त्यसपछि अरामका राजा हजाएलले गातको विरुद्धमा आक्रमण गरे र त्‍यसलाई लिए । त्यसपछि हजाएलले यरूशलेमलाई आक्रमण गर्न फर्के । 18 यहूदाका राजा योआशले तिनका पुर्खाहरू अर्थात् यहूदाका राजाहरू यहोशापात, यहोराम र अहज्याह र तिनी आफैले अलग गरेका सबै पवित्र थोकसाथै परमप्रभुको मन्दिर र राजाका भण्डार कोठाहरूमा भेट्टाइएका सबै सुन लिए र ती अरामका राजा हजाएललाई पठाइदिए । तब हजाएल यरूशलेमबाट गए । 19 योशाश, तिनले गरेका अरू कामहरूका बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 20 तिनका सेवकहरू खडा भए र तिनीहरूले मिलेर षड्यन्त्र गरे । तिनीहरूले योशाशलाई सिल्लाको ओरालो बाटोमा भएको बेथ-मिल्लोमा आक्रमण गरे । 21 तिनका सेवकहरू शिम्मतका छोरा योजाबाद र शोमेरका छोरा यहोजाबादले तिनलाई आक्रमण गरे, अनि तिनी मरे । तिनीहरूले योआशलाई दाऊदको सहरमा तिनका पुर्खाहरूसित गाडे, र तिनको ठाउँमा तिनका छोरा अमस्याह राजा भए ।

13

1 यहूदाका राजा अहज्याहका छोरा योआशको तेइसौँ वर्षमा येहूका छोरा यहोआहाजले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सत्र वर्ष राज्य गरे 2 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे, र इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापको चामा हिंडे । अनि यहोआहाज तीबाट फर्केनन् । 3 इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध दन्कियो, अनि उहाँले तिनीहरूलाई अरामका राजा हजाएल र हजाएलका छोरा बेन-हददको हातमा निरन्तर रूपले दिनुभयो । 4 त्यसैले यहोआहाजले परमप्रभुलाई बिन्ती गरे, र परमप्रभुले तिनको कुरा सुन्‍नुभयो किनकि अरामका राजाले कसरी इस्राएलमाथि थिचोमिचो गरिरहेका थिए भनी उहाँले देख्‍नुभयो । 5 त्यसैले परमप्रभुले इस्राएललाई एउटा उद्धारक दिनुभयो, अनि तिनीहरू अरामीहरूका हातबाट उम्के, र इस्राएलीहरू पहिलेजस्तै आ-आफ्ना घरमा बस्‍न लागे । 6 तापनि इस्राएललाई पाप गर्न लगाउने यारोबामका घरानाका पापहरूबाट तिनीहरू फर्केनन्, र तिनीहरू तिनमा लागिरहे । अनि अशेरा देवीको खम्बा सामरियामा रहिरह्‍यो । 7 अरामीहरूले यहोआहाजलाई केवल पचास घोडचढी, दसवटा रथ र दस हजार पैदल सिपाही मात्र छाडे किनकि अरामका राजाले तिनीहरूलाई नाश पारेका थिए र तिनीहरूलाई अन्‍न चुट्ने समयको भुसजस्तै पारेका थिए । 8 यहोआहाज, तिनले गरेका सबै काम र तिनको शक्तिको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 9 यसरी यहोआहाज आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तिनको ठाउँमा तिनका छोरा यहोआश राजा भए । 10 यहूदाका राजा योआशको सैँतिसौँ वर्षमा यहोआहाजका छोरा यहोआशले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सोह्र वर्ष राज्य गरे । 11 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनले इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापलाई छाडेनन्, तर तिनी तिनैमा हिंडे । 12 यहोआश, तिनले गरेका सबै कामहरू र कसरी तिनको शक्ति जसद्वारा तिनले यहूदाका राजा अमस्याहको विरुद्धमा लडे भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 13 यहोआश आफ्ना पुर्खाहरूसित सुते, र यारोबाम तिनको सिंहासनमा बसे । इस्राएलका राजाहरूसँगै यहोआशलाई सामरियामा गाडियो । 14 अब एलीशा एउटा रोगले बिरामी परे जसबाट पछि तिनी मरे । त्यसैले इस्राएलका राजा यहोआश तिनीकहाँ आए र तिनीसँग रोए । तिनले भने, "हे मेरा पिता, हे मेरा पिता, इस्राएलका रथहरू र घोडचढीले तिमीलाई उठाएर लाँदैछन् ।” 15 एलीशाले तिनलाई भने, "एउटा धनु र केही काँडहरू उठाउनुहोस् ।” त्यसैले योआशले एउटा धनु र केही काँडहरू उठाए । 16 एलीशाले इस्राएलका राजालाई भने, "आफ्‍नो हात धनुमा राख्‍नुहोस् ।” त्यसैले तिनले आफ्नो हातमा धनुमा राखे । तब एलीशाले आफ्ना हात राजाका हातमाथि राखे । 17 एलीशाले भने, "पूर्वपट्टिको झ्याल खोल्नुहोस् ।” त्यसैले तिनले त्‍यसलाई खोले । तब एलीशाले भने, "हान्‍नुहोस् !” तिनले हाने । एलीशाले भने, "यो परमप्रभुको विजयको काँड हो अर्थात् अराममाथि विजयको काँड हो, किनकि अरामीहरूलाई सर्वनाश नपारूञ्जेलसम्म तपाईंले तिनीहरूलाई अपेकमा आक्रमण गर्नुहुनेछ ।" 18 तब एलीशाले भने, "काँडहरू लिनुहोस् ।” त्यसैले तिनले ती लिए । तिनले इस्राएलका राजालाई भने, "तिनले भुइँमा हान्‍नुहोस् ।” तिनले तिन पटक भुइँमा हानेपछि तिनी रोकिए । 19 तर परमेश्‍वरका मानिस तिनीसित रिसाए र भने, "तपाईंले पाँच वा छ पटक भुइँलाई हिर्काउनुपर्थ्‍यो । तब तपाईंले अरामलाई निमिट्ट्यान्‍न नभएसम्म आक्रमण गर्नुहुनेथियो, तर अब त तपाईंले अरामलाई तिन पटक मात्र आक्रमण गर्नुहुनेछ ।” 20 तब एलीशा मरे, र तिनीहरूले तिनलाई गाडे । नयाँ वर्षको समयमा मोआबीहरूका नयाँ दलहरूले देशलाई लुटे । 21 तिनीहरूले कुनै एउटा मानिसलाई गाडिरहँदा तिनीहरूले मोआबीहरूको एउटा दललाई देखे, त्यसैले तिनीहरूले लाशलाई एलीशाको चिहानमा फाले । लाशले एलीशाका हड्‍डीहरूलाई छुनेबित्तिकै त्यो बिउँतियो, र आफ्नो पाउमा खडा भयो । 22 अरामका राजा हजाएलले यहोआहाजको जीवनभर इस्राएललाई थिचोमिचो गरिरहे । 23 तर अब्राहाम, इसहाक र याकूबसित बाँध्‍नुभएको आफ्‍नो करारको कारणले गर्दा परमप्रभु इस्राएलप्रति अनुग्रही हुनुभयो, र तिनीहरूलाई दया देखाउनुभयो र तिनीहरूको फिक्री गर्नुभयो । त्यसैले परमप्रभुले तिनीहरूलाई नष्‍ट गर्नुभएन, र उहाँले तिनीहरूलाई अझै पनि आफ्नो उपस्थितिबाट धपाउनुभएको छैन । 24 अरामका राजा हजाएल मरे, र तिनको ठाउँमा तिनका छोरा बेन-हदद राजा भए । 25 यहोआहाजका छोरा यहोआशले तिनका पिता यहोआहाजबाट हजाएलका छोरा बेन-हददले युद्ध गरी लिएका सहरहरू फिर्ता लिए । यहोआशले तिनलाई तिन पटक आक्रमण गरे, र तिनले इस्राएलका ती सहरहरू फिर्ता लिए ।

14

1 इस्राएलका राजा यहोआहाजको छोरा यहोआशको दोस्रो वर्षमा यहूदाका राजा योआशका छोरा अमस्याहले राज्‍य गर्न थाले । 2 तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यहोअदीन थियो जो यरूशलेमकी थिइन् । 3 परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्यही गरे, तापनि तिनका पुर्खा दाऊदले गरेझैँ भने होइन । आफ्ना पिता योआशले गरेका हरेक काम तिनले गरे । 4 तर डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलि चढाए र धूप बाले । 5 तिनको शासन सुदृढ हुनेबित्तिकै आफ्‍ना पिताको अर्थात् राजाको हत्या गर्ने सेवकहरूलाई तिनले मारे । 6 तापनि तिनले हत्याराहरूका छोराहरूलाई भने मारेनन् । बरु, तिनले मोशाको व्यवस्थामा लेखिएअनुसार काम गरे, जस्‍तो परमप्रभुले यसो भनेर आज्ञा दिनुभएको थियो, "बुबाहरूलाई छोराछोरीका कारणले अनि छोराछोरीलाई बुबाहरूका कारणले मार्नुहुँदैन । बरु, हरेक व्यक्तिलाईउसको आफ्नै पापको कारणले मार्नुपर्छ ।" 7 नुनको उपत्यकामा एदोमका दस हजार सिपाहीलाई तिनले मारे । तिनले युद्धमा सेलालाई जिते त्यसको नाउँ योक्तेल राखे जसको नाउँ आजको दिनसम्म पनि त्यही छ । 8 तब अमस्याहले इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा यहोआशकहाँ यसो भनी सन्देशवाहकहरू पठाए, "आउनुहोस्, हामी युद्धमा एक-अर्कालाई आमनेसामने भेटौँ ।" 9 तर इस्राएलका राजा यहोआशले यहूदाका राजा अमस्याहलाई यसो भनी सन्देशवाहकहरू पठाए, "लेबनानको एउटा सिउँडीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर सन्‍देश पठायो, 'तिम्री छोरी मेरा छोरासित विवाह गरिदेऊ ।' तर लेबनानमा भएको जङ्गली जनावर त्‍यताबाट हिंड्‍यो र सिउँडीलाई कुल्‍च्‍यो । 10 तिमीले साँच्‍चै एदोमलाई आक्रमण गर्‍यौ, र तिम्रो शेखी बढेको छ । आफ्‍नो विजयमा गर्व गर, तर घरमै बस किनकि तिमीले किन आफैलाई सङ्कष्‍टमा पार्ने अनि तिमी र यहूदा पनि दुवै किन पतन हुने ?" 11 तर अमस्याहले यो कुरा सुनेनन् । त्यसैले इस्राएलका राजा यहोआशले आक्रमण गरे, अनि तिनी र यहूदाका राजा अमस्याह यहूदाको बेथ-शेमेशमा एक-अर्कासित आमनेसामने भेटे । 12 इस्राएलद्वारा यहूदा पराजित भयो, र हरेक मानिस घर भाग्‍यो । 13 बेथ-शेमेशमा इस्राएलका राजा यहोआशले अहज्याहका नाति, योआशका छोरा यहूदाका राजा अमस्याहलाई समाते । तिनी यरूशलेममा आए र तिनले एफ्राइमको ढोकादेखि कुने ढोकासम्म लगभग दुई सय मिटर लामो यरूशलेमको पर्खाल भत्काइदिए । 14 तिनले परमप्रभुको मन्दिरमा भेट्टाइएका सबै सुन र राजदरबारका मुल्यवान् थोकहरूका साथमा केही बन्दीहरूलाई समेत लगे र सामरिया फर्के । 15 यहोआश, तिनले गरेका सबै काम, तिनको शक्ति र कसरी तिनले यहूदाका राजा अमस्याहसित लडे भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 16 तब यहोआश आफ्ना पुर्खाहरूसित सुते, र इस्राएलका राजाहरूसँगै सामरियाम गाडिए, अनि तिनको ठाउँमा तिनका छोरा यारोबाम राजा भए । 17 इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्ष बाँचे । 18 अमस्याहका विषयमाभएका अन्‍य कुराहरूका बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 19 तिनीहरूले यरूशलेममा अमस्याहको विरुद्धमा षड्यन्त्र रचे र तिनी लाकीशमा भागे । तिनी लाकीशमा भागे तर तिनीहरूले तिनको पिछा गर्न लाकीशमा मानिसहरू पठाए, र तिनलाई त्यहीँ मारे । 20 तिनीहरूको तिनको लाशलाई घोडाहरूमा राखेर ल्‍याए र दाऊदको सहरमा तिनी आफ्ना पुर्खाहरूसितै गाडिए । 21 यहूदाका सारा मानिसले सोह्र वर्षका अजर्याहलाई लिए र तिनलाई आफ्‍ना पिता अमस्याहको ठाउँमा राजा बनाए । 22 राजा अमस्याह आफ्ना पुर्खाहरूसित सुतेपछि अजर्याहले नै एलात सहरलाई पुनर्निर्माण गरे र त्‍यसलाई यहूदामा फिर्ता दिए । 23 यहूदाका राजा योआशका छोरा अमस्याहको पन्ध्रौँ वर्षमा इस्राएलका राजा येहोआशका छोरा यारोबामले सामरियामा राज्‍य गर्न थाले । तिनले एकचालिस वर्ष राज्य गरे । 24 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापबाट तिनी फर्केनन् । 25 इस्राएलका परमप्रभु परमेश्‍वरले आफ्ना सेवक गात-हेपेरका अमित्तैका छोरा योना अगमवक्ताद्वारा बोल्‍नुभएको वचनअनुसार लेबोहमातदेखि अराबाको समुद्रसम्म इस्राएलका सिमानालाई तिनले पुनर्स्थापित गरे । 26 किनकि फुक्‍का र स्वतन्त्र हरेक इस्राएलीले कष्‍ट भोगिरहेको परमप्रभुले देख्‍नुभयो, र इस्राएलको लागि कुनै उद्धारक थिएन । 27 त्‍यसैले आकाशमुनि इस्राएलको नाउँ परमप्रभुले मेट्नुहुनेछैन भनी उहाँले भन्‍नुभयो । बरु उहाँले तिनीहरूलाई येहोआशका छोरा यारोबामको हातबाट बचाउनुभयो । 28 यारोबाम, तिनले गरेका सबै काम, तिनको शक्ति, कसरी तिनले युद्ध गरे र यहूदाको अधीनमा रहेका दमस्कस र हमातलाई इस्राएललाई फिर्ता गराए भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 29 यारोबाम आफ्ना पुर्खाहरू इस्राएलका राजाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा जकरिया राजा भए ।

15

1 इस्राएलका राजा यारोबामको सत्ताइसौँ वर्षमा यहूदाका राजा अमस्याहका छोरा अजर्याहले राज्‍य गर्न थाले । 2 अजर्याहले राज्‍य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए, र तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यकोल्याह थिए, र उनी यरूशलेमकी थिइन् । 3 आफ्ना पिता अमस्याहले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्यही गरे । 4 तापनि डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलि चढाए र धूप बाले । 5 परमप्रभुले राजालाई प्रहार गर्नुभयो ताकि आफ्‍नो मर्ने दिनसम्म नै तिनी कुष्ठरोगी भए र बेग्लै घरमा बसे । राजाका छोरा योतामले राजमहको रेखदेख गरे र देशमा जनतामाथि राज्‍य गरे । 6 अजर्याह, तिनले गरेका सबै कामको बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 7 यसरी अजर्याह आफ्ना पर्खाहरूसित सुते । तिनीहरूले तिनलाई आफ्ना पुर्खाहरूसँगै दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा योताम राजा भए । 8 यहूदाका राजा अजर्याहको अठतिसौँ वर्षमा यारोबामका छोरा जकरियाले सामरियाम बसेर इस्राएलमाथि छ महिना राज्‍य गरे । 9 आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन् । 10 याबेशका छोरा शल्लूमले जकरियाको विरुद्धमा षड्यन्त्र गरे, तिनलाई इब्लममा आक्रमण गरे र मारे । त्यसपछि तिनको ठाउँमा आफू राजा भए । 11 जकरियाका बारेमा भएका अरू सबैकुरा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् । 12 परमप्रभुले येहूसँग यसो भनेर बोल्‍नुभएको उहाँको वचन यही थियो, "तेरा सन्तानहरू इस्राएलको राजगद्धिमा चौथो पुस्तासम्म बस्‍नेछन् ।” त्यस्तै हुन आयो । 13 यहूदाका राजा अजर्याहको उनन्चालिसौँ वर्षमा याबेशका छोरा शल्लूमले राज्‍य गर्न थाले, र तिनले सामरियमा एक महिना मात्र राज्य गरे । 14 गदीका छोरा मनहेम तिर्साबाट सामरियामा उक्ले । सामरियामा तिनले याबेशका छोरा शल्लूमलाई आक्रमण गरे। तिनले उनलाई मारे र उनको ठाउँमा आफू राजा भए । 15 शल्लूमका बारेमा भएका अरू कुरा र तिनले गरेका षड्यन्त्रको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैन । 16 त्यसपछि मनहेमले तिफसा र तिर्साका सिमानाहरूमा भएका सबैलाई आक्रमण गरे, किनकि तिनीहरूले उनका लागि सहर खुला गरेनन् । त्यसैले तिनले त्‍यसलाई आक्रमण गरे र त्यस गाउँमा भएका सबै गर्भवती स्‍त्रीका पेट चिरे । 17 यहूदाका राजा अजर्याहको उनन्चालिसौँ वर्षमा गदीका छोरा मनहेमले इस्राएलमा राज्‍य सुरु गरे । तिनले सामरियामा दस वर्ष राज्य गरे । 18 परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे । आफ्नो जीवनकालभरि तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन् । 19 तब अश्शूरका राजा पूल इस्राएलको विरुद्धमा आए, र इस्राएल राज्यलाई आफ्‍नो हात सुदृढ पार्नलाई पुलले आफूलाई सहयोग गरोस् भनेर मनहेमले पूललाई एक हजार तोडा चाँदी दिए । 20 अश्शूरका राजालाई मनहेमले तिर्नुपर्ने पैसा तिनले इस्राएलबाट जबरदस्ती उठाउन हरेक धनी मानिसले पचास शेकेल चाँदी तिनलाई तिर्नुपर्ने आवश्‍यक्‍ता भयो । त्‍यसैले अश्शूरका राजा फर्केर गए र त्यस देशमा बसेनन् । 21 मनहेमको सम्‍बन्‍धमा र तिनले गरेका सबै कामको बारेमा ती इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 22 यसरी मनहेम आफ्ना पर्खाहरूसित सुते, र तिनका छोरा पकहीया तिनको ठाउँमा राजा भए । 23 यहूदाका राजा अजर्याहको पन्ध्रौँ वर्षमा मनहेमका छोरा पकहीयाले सामरियामा बसेर इस्राएलमा राज्‍य सुरु गरे । तिनले दुई वर्ष राज्य गरे । 24 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गराउन लगाउने नबातका छोरा यारोबामका पापलाई तिनले छाडेनन् । 25 पकहीयाको एक जना पेकह नाउँ गरेका सेवक थिए जो रमल्याहका छोरा थिए, जसले तिनको विरुद्धमा षड्यन्त्र गरे । पेकहले गिलादका पचास जना मानिस आफ्नो साथमा लिएर सामरियामा राजदरबारको गढीभित्र पकहीया, अर्गोब र अरिहलाई मारे । पेकहले पकहीयालाई मारे र तिनको ठाउँमा आफू राजा भए । 26 पकहीया, तिनले गरेका कामका बारेमा ती इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैन । 27 यहूदाका राजा अजर्याहको बाउन्‍नौँ वर्षमा रमल्याहका छोरा पेकहले सामरियामा बसेर इस्राएलमाथि राज्‍य सुरु गरे । तिनले बिस वर्ष राज्य गरे । 28 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट तिनी फर्केनन् । 29 इस्राएलका राजा पेकहको समयमा अश्शूरका राजा तिग्लत-पिलेसेर आए, र तिनले इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश, हासोर, गिलाद, गालील र नप्‍तालीका सबै भूमि लिए । तिनले मानिसहरूलाई बन्‍दी बनाएर अश्शूर देशमा लगे । 30 त्यसैले एलाहका छोरा होशियाले रमल्याहका छोरा पेकहको विरुद्धमा षड्यन्त्र गरे । तिनले उनलाई आक्रमण गरे र तिनलाई मारे । त्यसपछि उज्‍जियाहका छोरा योतामको बिसौँ वर्षमा तिनको ठाउँमा आफू राजा भए । 31 पेकहका सम्‍बन्‍धमा भएका अरू कुराहरू अनितिनले गरेका सबै कामको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैन् । 32 इस्राएलका राजा रमल्याहका छोरा पेकहको दोस्रो वर्षमा यहूदाका राजा अजर्याहका छोरा योतामले राज्‍य सुरु गरे । 33 तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यरूशा थियो । तिनी सादोककी छोरी थिइन् । 34 परमप्रभुको दृष्‍टिमा जे ठिक थियो योतामले त्यही गरे । तिनले आफ्ना पिता अजर्याहले गरेका सबै उदाहरणको अनुसरण गरे । 35 तापनि डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूका बलि चढाए र धूप बाले । योतामले परमप्रभुको मन्दिरको माथिल्लो मूल ढोका निर्माण गरे । 36 योतामको सम्‍बन्‍धमा भएका अरू कुराहरू र तिनले गरेका सबै कामका बारेमा ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 37 ती दिनमा परमप्रभुले यहूदाको विरुद्धमा अरामका राजा रसीन र रमल्याहका छोरा पेकहलाई पठाउन सुरु गर्नुभयो । 38 योताम आफ्ना पुर्खाहरूसित सुते र तिनका पुर्खा दाऊदको सहरमा तिनी आफ्‍ना पुर्खाहरूसँगै गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाज राजा भए ।

16

1 रमल्याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले राज्‍य सुरु गरे । 2 आहाजले राज्‍य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनका पुर्ख दाऊदले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्‍यो गरेनन् । 3 बरु, तिनी इस्राएलका राजाहरूको चालमा हिंडे । वास्तवमा परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूका घृणित अभ्यासहरूको अनुसरण गरेर तिनले आफ्नो छोरोलाई आगोमा टेकेर हिंड्‍न लगाए । 4 तिनले उच्‍च थानहरू, डाँडाका टाकुराहरू र हरेक हरियो रुखमुनि बलिदानहरू चढाए र धूप बाले । 5 तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह आक्रमण गर्न यरूशलेममा आए । तिनीहरूले आहाजलाई घेरे तापनि तिनीहरूले तिनलाई पराजित गर्न सकेनन् । 6 त्यस बेला अरामका राजा रसीनले अरामको लागि एलात फेरि प्राप्‍त गरे र यहूदाका मानिसहरूलाई एलातबाट धपाए । तब अरामीहरू एलातमा आए , जहाँ तिनीहरू आजको दिनसम्म नै बसेका छन् । 7 त्‍यसैले आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरकहाँ यसो भनेर सन्देशवाहकहरू पठाए, "म तपाईंको सेवक र तपाईंको छोरो हुँ । माथि आउनुहोस् र अरामका राजा र इस्राएलका राजाको हातबाट मलाई बचाउनुहोस् जसले मलाई आक्रमण गरेका छन् ।" 8 त्यसैले आहाजले परमप्रभुको मन्दिरमा भेट्टाइएका चाँदी र सुन अनि राजदरबारका धन-सम्‍पति लिए र अश्शूरका राजाकहाँ उपहारको रूपमा ति पठाए । 9 तब अश्शूरका राजाले तिनको कुरा सुने, र अश्शूरका राजा दमस्कसको विरुद्धमा गए, त्‍यसमाथि विजय हासिल गरे र यहाँका मानिसहरूलाई बन्दी बनाएर कीरमा लगे । तिनले अरामका राजा रसीनलाई पनि मारे । 10 राजा आहाज अश्शूरका राजा तिग्लत-पिलेसेरलाई भेट्न दमस्कसमा गए । दमस्कसमा तिनले एउटा वेदी देखे । तिनले आवश्यक सबै कामको लागि वेदीको ढाँचा र तरिका उरियाह पुजारीलाई नमुनाको लागि पठाए । 11 त्यसैले राजा आहाजले दमस्कसबाट पठाएको योजनाहरू जस्‍तै ढाँचाको वेदी उरियाह पुजारीले बनाए । राजा आहाज दमस्कसबाट फर्कनुअगि तिनले यसलाई बनेर सिद्ध्याए । 12 राजा दमस्कसबाट आएपछि, तिनले वेदी देखे । राजा वेदीमा गए र बलिदानहरू चढाए । 13 तिनले आफ्ना होमबलि र अन्‍नबलि चढाए, आफ्‍नो अर्घबलि खन्याए, अनि मेलबलिको रगतलाई वेदीमाथि छर्के । 14 परमप्रभुको सामु भएको काँसाको वेदी, तिनले परमप्रभुको मन्दिरको सामुबाट अर्थात् तिनको वेदी र परमप्रभुको मन्दिरको बिचबाट ल्‍याए र आफ्‍नो वेदीको उत्तरपट्टि राखे । 15 तब राजा आहाजले उरियाह पुजारीलाई यसो भनेर आदेश दिए, "ठुलो वेदीमा बिहानको होमबलि र साँझको अन्‍नबलि अनि राजाको होमबलि र तिनको अन्‍नबलिलाई देश भरिका सबै मानिसका होमबलि र तिनीहरूका अन्‍नबलि र तिनीहरूका अर्घबलिसँगै चढाऊ । यसमाथि होमबलिको सबै रगत र बलिदानका सबै रगत छर्क । तर काँसाको वेदीचाहिं मार्गदर्शनको सल्लाह लिन मेरो निम्‍ति हुनेछ ।" 16 राजा आहाजले जसरी आज्ञा दिए, उरियाह पुजारीले त्‍यसरी नै गरे । 17 तब राजा आहाजले गुड्‍ने आधारहरूबाट पाटाहरू र बाटाहरू हटाए । तिनले विशाल खँड्कुलोलाई त्यसलाई थामिराख्‍ने काँसाका साँढेहरूबाट निकाले र ढुङ्गाको आधारमा राखे । 18 तिनले शबाथमा प्रयोग गरिने चँदुवालाई हटाए जसलाई तिनीहरूले मन्दिरमा निर्माण गरेका थिए । तिनले अश्शूरका राजाको कारणले मन्दिरबाहिर भएको राजकीय प्रवेशद्वारलाई पनि हटाइदिए । 19 आहाज र तिनले गरेका कामका बारेमा ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 20 आहाज आफ्ना पुर्खाहरूसित सुते र दाऊदको सहरमा तिनका पुर्खाहरूसँगै गाडिए । तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए ।

17

1 यहूदाका राजा आहाजको बाह्रौं वर्षमा एलाहका छोरा होशियाले राज्‍य सुरु गरे । तिनले सामरियामा बसेर इस्राएलमाथि नौ वर्ष राज्य गरे । 2 परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे, तापनि तिनीभन्दा अगिका इस्राएलका राजाहरूले जस्तै भने होइन । 3 अश्शूरका राजा शलमनेशेरले होशियालाई आक्रमण गरे र उनी तिनका सेवक बने र तिनलाई कर तिरे । 4 त्यसपछि आफ्‍नो विरुद्धमा होशियाले षड्यन्त्र गरेका कुराको जानकरी अश्शूरका राजाले थाहा पाए, किनकि होशियाले मिश्रका राजा सोकहाँ सन्देशवाहकहरू पठाएका थिए । साथै, तिनले अश्शूरका राजालाई वर्षैपिच्छे तिर्दै आएको कर पनि तिरेनन् । त्यसैले अश्शूरका राजाले तिनलाई बन्‍दी बनाए र झ्यालखानामा थुनेर राखे । 5 तब अश्शूरका राजाले देशैभरि आक्रमण गरे, र सामरियामाथि आक्रमण गरे र यसलाई तिन वर्षसम्म घेराबन्दी गरे । 6 होशियाको नवौँ वर्षमा अश्शूरका राजाले सामरियालाई कब्जा गरे र इस्राएलीहरूलाई अश्शूरमा लगे । तिनीहरूलाई गोजानको हाबोर नदीको किनारको हलहमा र मादीहरूका सहरहरूमा तिनले बसाले । 7 इस्राएलीहरूले आफूलाई मिश्रदेशका राजा फारोको हातबाट छुटाउनुहुने, तिनीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरेका हुनाले यसरी तिनीहरू बन्‍दी भए । यी मानिसहरूले अरू देवताहरूको पुजा गरिरहेका थिए, 8 र इस्राएलका मानिसहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूका अभ्यासहरू तथा इस्राएलका राजाहरूका अभ्यासहरू गरिरहेका थिए । 9 इस्राएलका मानिसहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा जे कुराहरू गर्नु ठिक थिएन, गुप्‍त रूपमा त्यही गरे । धरहरादेखि किल्लासम्‍म नै आफ्‍ना सबै सहरहरूमा तिनीहरूले आफ्‍ना निम्‍ति उच्‍च थानहरू बनाए । 10 हरेक उच्‍च डाँडा रहरेक हरियो रुखमुनि तिनीहरूले डुङ्गाका मूर्तिहरू र अशेराका खम्बाहरू बनाए । 11 तिनीहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूले गरेजस्तै तिनीहरूले उच्‍च थानहरूमा धूप बाले । परमप्रभुलाई रिस उठाउनलाई इस्राएलीहरूले दुष्‍ट कुराहरू गरे, 12 तिनीहरूले मूर्तिहरूको पुजा गरे, जसका बारेमा परमप्रभुले तिनीहरूलाई भन्‍नुभएको थियो, "तिमीहरूले यो कुरा गर्ने छैनौ ।" 13 तापनि परमप्रभुले हरेक अगमवक्ता र हरेक दर्शीद्वारा इस्राएल र यहूदालाई यसो भनरे चेताउनी दिनुभएको थियो, "आ-आफ्ना दुष्‍ट मार्गहरूबाट फर्केर मेरा आज्ञाहरू र विधिहरू पालन गर, अनि मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेका अनि आफ्‍ना सेवकहरू अर्थात् अगमवक्ताहरूद्वारा मैले तिमीहरूकहाँ पठाएका सबै आज्ञा पालन गर्न सावधना होओ ।" 14 तर तिनीहरूले सुनेनन् । बरु परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि विश्‍वास नगर्ने आफ्‍ना पुर्खाहरूजस्तै तिनीहरू ज्‍यादै हठी भए । 15 तिनीहरूले उहाँका विधिहरू र तिनीहरूका पुर्खाहरूसित उहाँले बाँध्‍नुभएको करार र उहाँले तिनीहरूलाई दिनुभएका करारका आज्ञाहरूलाई इन्कार गरे । तिनीहरूले बेकम्मा अभ्यासहरूको अनुसरण गरे अनि तिनीहरू आफै पनि बेकम्मा भए । तिनीहरूले आफ्नो वरिपरि भएका अरू जातिहरूको अनुसरण गरे जसको नकल्ल नगर्नू भनेर परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएको थियो । 16 तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञालाई बेवास्ता गरे । तिनीहरूले पुजा गर्नलाई पिटेर तयार पारिएका धातुको दुईवटा बाछाका बनाए । तिनीहरूले अशेरा देवीको खम्बा बनाए, र तिनीहरूले आकाशका सम्पूर्ण तारा र बालको पुजा गरे । 17 तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा हिंड्‍न लगाए, तिनीहरूले जोखना हेर र टुनामुना गरे, तिनीहरूले परमप्रभुको दृष्‍टिमा जे खराब छ, त्यही गर्न आफैलाई बेचे, र तिनीहरूले उहाँलाई रिस उठाए । 18 त्यसकारण परमप्रभु इस्राएलसित अत्यन्तै रिसाउनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट हटाइदिनुभयो । त्यहाँ यहूदाको कुलबाहेक कोही पनि छोडिएन । 19 यहूदाले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालन गरेनन्, र तिनीहरूले इस्राएलले गरेका अभ्‍यासहरूको अनुसरण गरे । 20 यसैले परमप्रभुले इस्राएलका सबै सन्तानलाई इन्कार गर्नुभयो । उहाँले तिनीहरूलाई कष्‍ट दिनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट नफल्‍नुभएसम्म उहाँले तिनीहरूलाई लुटको मालको रूपमा अधिकार गर्नेहरूको हातमा सुम्पिनुभयो । 21 उहाँले इस्राएललाई दाऊदको राजकीय वंशबाट अलग गर्नुभयो, र तिनीहरूले नबातका छोरा यारोबामलाई राजा बनाए । यारोबामले इस्राएललाई परमप्रभुको अनुसरण गर्नबाट बहकाए र तिनीहरूलाई ठुलो पाप गर्न लगाए । 22 इस्राएलका मानिसहरूले यारोबामका सबै पापको अनुसरण गरे र तिनीहरू ती कुराबाट फर्केनन्, 23 त्यसैले परमप्रभुले आफ्ना सबै सेवक अगमवक्ताहरूद्वारा आफूले गर्छु भन्‍नुभएझैँ इस्राएललाई आफ्नो दृष्‍टिबाट हटाउनुभयो । यसरी तिनीहरूको आफ्नै देशबाट इस्राएललाई अश्शूरमा बन्दी बनाएर लगियो, र आजको दिनसम्म पनि त्‍यस्‍तै भएको छ । 24 अश्शूरका राजाले बेबिलोनबाट र कूताबाट र अव्वाबाट हमात र सपर्बेमबाट मानिसहरू ल्याए र इस्राएलका मनिसहरूको साटोमा तिनीहरूलाई सामरियाका सहरहरूमा बसाले । तिनीहरूले सामरिया कब्जा गरे र यसका सहरहरूमा बसे । 25 तिनीहरूले बसोबाससुरु गर्दा तिनीहरूले परमप्रभुलाई आदर गरेनन् । त्यसैले परमप्रभुले तिनीहरूका बिचमा सिंहहरू पठाउनुभयो जसलेतिनीहरूमा कसैलाई मारे । 26 त्यसैले तिनीहरूले अश्शूरका राजालाई यसो भने, "तपाईंले बन्दी बनाएर लैजानुभएका जातिहरू र सामरियाका सहरहरूमा बसोबास गरेका मानिसहरूले यस देशका देवताले चाहेका अभ्यासहरूका जान्‍दैनन् । त्यसैले उहाँले तिनीहरूका बिचमा सिंहहरू पठाउनुभएको छ, र सिंहहरूले यहाँ मानिसहरूलाई मर्दैछन् किनकि तिनीहरूले यस देशका देवताले चाहेका अभ्यासहरू जान्‍दैनन् ।” 27 तब अश्शूरका राजाले यसो भनेर आज्ञा दिए, "तिमीहरूले त्यहाँबाट ल्याएका पुजारीहरूमध्ये एउटालाई लिएर जाओ । तिनी गएर त्यहीँ बसून्, र तिनले त्यस देशका देवताले चाहेका अभ्यासहरू मानिसहरूलाई सिकाऊन् ।” 28 त्यसैले तिनीहरूले सामरियाबाट बन्दी बनाएर लगेका पुजारीहरूमध्ये एक जना आए र बेथेलमा बसे । तिनीहरूले परमप्रभुलाई कसरी आदर गर्नुपर्छ भनी तिनले तिनीहरूलाई सिकाए । 29 हरेक जातिले आ-आफ्ना देवताहरू बनाए, अनि सामरीहरूले बनाएका उच्‍च थानहरूमा तिनलाई राखे । आफू बसोबास गर्ने ठाउँमा हरेक जातिले त्‍यसै गरे । 30 बेबिलोनका मानिसहरूले सुक्‍कोन-बनोत बनाए, कूताका मानिसहरूले नेर्गल बनाए, हमातका मानिसहरूले अशीमा बनाए, 31 अव्वीहरूले नेभज र तर्ताक बनाए । सपर्बेमीहरूले आफ्ना देवता अद्रम्मलेक र अनम्मलेकका निम्ति आफ्ना छोराछोरीलाई आगोमा जलाए । 32 तिनीहरूले परमप्रभुको पनि आदर गरे, र तिनीहरूका बिचबाट उच्‍च थानहरूमा पुजारीहरू नियुक्त गरे, जसले उच्‍च स्‍थानमा निर्मित मन्दिरहरूमा आफ्‍ना निम्ति बलि चढाए । 33 तिनीहरूले परमप्रभुलाई आदर गर्थे र जुन जातिहरूबाट आफू ल्याइएका थिए तिनीहरूकै प्रचलनअनुसार आ-आफ्नै देवताहरूको पनि पुज्थे । 34 आजको दिनसम्म तिनीहरू आफ्‍ना पुराना प्रचलनहरूमा लागेकै छन् । तिनीहरूले न परमप्रभुलाई आदर गर्छन्, न त परमप्रभुले इस्राएल नाउँ दिनुभएको याकूबका मानिसहरूलाई उहाँले दिनुभएका विधिहरू, उर्दीहरू, व्यवस्था वा आज्ञाहरू नै तिनीहरूले पालन गर्छन्— 35 अनि तिनीहरूसित परमप्रभुले करार बाँध्‍नुभयो र तिनीहरूलाई आज्ञा दिनुभयो, "तिमीहरूले अन्य देवताहरूको भय मान्‍ने छैनौ, न तिनीहरूको सामु निहुरिनेछौ, न तिनीहरूकको पुजा गर्नेछौ न त तिनीहरूलाई बलि चढाउनेछौ । 36 तर महान् शक्ति र उठेका हातहरूले तिमीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभुलाई मात्र तिमीहरूले आदर गर्नुपर्छ । तिमीहरूले उहाँलाई मात्र दण्डवत् गर्नुपर्छ, र उहाँलाई मात्र बलि चढाउनुपर्छ । 37 उहाँले तिमीहरूका निम्ति लेख्‍नुभएका विधिहरू र उर्दीहरू, व्यवस्था र आज्ञाहरूलाई तिमीहरूले सदासर्वदा पालन गर्नेछौ । त्यसैले तिमीहरू अन्य देवताहरूको डर मान्‍नुहुँदैन, 38 र मैले तिमीहरूसित बाँधेको करार तिमीहरूले बिर्सनेछेनौ, न त तिमीहरूले अन्य देवताहरूको आदर गर्नेछौ । 39 तर तिमीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरको आदर गर्नेछौ । उहाँले तिमीहरूका शत्रुहरूको शक्तिबाट तिमीहरूलाई छुटकारा दिनुहुनेछ ।” 40 तिनीहरूले यो कुरा सुनेनन्, किनकि तिनीहरूले विगतमा गरेका कुरामा तिनीहरू लागिरहे । 41 यसरी यी जातिहरू परमप्रभुदेखि डराए र आफूले खोपेर बनाएका मूर्तिहरूको पनि तिनीहरूले पुजा गरे, अनि तिनीहरूका छोराछोरी र नातिनातिनाले पनि त्‍यसै गरे । आजको दिनसम्म आफ्ना पुर्खाहरूले गरेझैँ तिनीहरूले निरन्‍तर त्‍यसै गर्दैछन् ।

18

1 इस्राएलका राजा एलाहका छोरा होशियाको तेस्रो वर्षमा यहूदाका राजा आहाजका छोरा हिजकियाले राज्‍य गर्ने सुरु गरे । 2 तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अबिया थियो । तिनी जकरियाकी छोरी थिइन् । 3 आफ्ना पुर्खा दाऊदले गरेका सबै उदाहरणको अनुसरण गरेर परमप्रभुको दृष्‍टिमा जे ठिक थियो तिनले त्यही गरे । 4 तिनले उच्‍च ठाउँहरू हटाए, ढुङ्गाका खम्बाहरू नष्‍ट पारे र अशेरा स्‍ताम्‍भहरू टुक्राटुक्रा पारिदिए । तिनले मोशाद्वारा निर्मित काँसाको सर्पलाई टुक्राटुक्रा पारे किनकि ती दिनमा इस्राएलका मानिसहरूले यसमा धूप बालिरहेका थिए । यसलाई, “नहूश्तान” भनिन्थ्यो । 5 इस्राएलका परमप्रभु परमेश्‍वरमा हिजकियाको यस्‍तो विश्‍वास थियो ताकि यहूदाका सबै राजाहरूका माझमा तिनीभन्दा पछि कोही पनि तिनीजस्तो थिएन, न त तिनीभन्‍दा पहिलेका राजाहरूका माझमा नै कोही थियो । 6 किनकि तिनी परमप्रभुमा लागिरहे । तिनले उहाँको अनुसरण गर्न छोडेनन् तर परमप्रभुले मोशालाई दिनुभएका उहाँका आज्ञाहरू तिनले पालन गरे । 7 त्यसैले परमप्रभु हिजकियासित हुनुभयो, र तिनी जहाँ गए तापनि तिनको उन्‍नति भयो । अश्शूरका राजाको विरुद्धमा तिनी बागी भए र उनको सेवा गरेनन् । 8 पलिश्तीहरूको देश गाजा र पहरेदार बस्‍ने धरहरादेखि किल्लाबन्‍दी गरिएको सहरसम्म त्यसको वरिपरिका सिमानाहरू तिनले जिते । 9 राजा हिजकियाको चौथो वर्ष, जुन इस्राएलका राजा एलाहका छोरा होशियाको सातौँ वर्षमा, अश्शूरका राजा शलमनेशेर सामरियाको विरुद्धमा आए र त्‍यसलाई घेरा हाले । 10 तिन वर्षको अन्त्यमा अर्थात् हिजकियाको छैटौँ वर्षमा, जुन इस्राएलका राजा होशियाको नवौँ वर्षमा, तिनीहरूले त्‍यसलाई कब्जा गरे । यसरी सामरियालाई कब्जा गरियो । 11 यसरी अश्शूरका राजाले इस्राएलीहरूलाई बन्दी बनाएर अश्शूरमा लगे, र तिनीहरूलाई हलहमा, गोजानको हाबोर नदीको किनारमा र मादीहरूका सहरहरूमा बसाले । 12 तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आवाज नसुनेको तर परमप्रभुका दास मोशाले दिएका उहाँको करारका सबै आज्ञालाई उल्लङ्घन गरेका हुनाले उहाँले यसो गर्नुभयो । तिनीहरूले त्‍यसलाई सुन्‍न र पालन गर्न इन्कार गरे । 13 तब राजा हिजकियाको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्लाबन्दी गरिएका सबै सहरहरूमा आक्रमण गरे र तिनलाई कब्जा गरे । 14 त्यसैले यहूदाका राजा हिजकियाले लाकीशमा बसिरहेका अश्शूरका राजालाई यसो भनेर समाचार पठाए, "मैले तपाईंलाई चोट पुर्‍याएको छु । मबाट पछि हट्नुहोस् । तपाईंले ममाथि जस्तो भारी बोकाउनुहुन्छ, म बोक्‍नेछु ।” अश्शूरका राजाले यहूदाका राजा हिजकियाबाट दस टन चाँदी र एक टन सुन माग गरे । 15 त्यसैले हिजकियाले परमप्रभुको मन्दिर र राजदरबारका भण्डारहरूमा पइएका सबै चाँदी दिए । 16 त्यसपछि हिजकियाले परमप्रभुको मन्दिरका ढोकाहरू र तिनले सुनको जलप लगाएका खम्बाहरूबाट सुन काटेर निकाले । तिनले उक्‍त सुन अश्शूरका राजालाई दिए । 17 तर अश्शूरका राजाले तार्तान र रबसरिस अनि आफ्ना प्रधान सेनापतिलाई एउटा ठुलो सेनाको साथमा लाकीशबाट यरूशलेममा राजा हिजकियाकहाँ पठाए । तिनीहरू बाटोमा यात्रा गरे र यरूशलेम बाहिर आइपुगे । तिनीहरू धोबीको खेतमा जाने माथिल्लो पोखरीको कुलोनेरको बाटोमा आए र त्‍यहाँ रोकिए । 18 जब तिनीहरूले राजा हिजकियालाई बोलाएका थिए, तब, राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम, र सचिव शेब्ना अनि लेखापाल आसापका छोरा योआ तिनीहरूलाई भेट्न गए । 19 त्‍यसैले ती प्रधान सेनापतिले अश्शूरका सम्राट महाराजाले हिजकियालाई के भनेका थिए त्‍यो भनिदिन भने, "तिम्रो दृढताको स्रोत के हो ? 20 युद्धका गर्न मित्रहरू र शक्ति छन् भनेर तिमी व्‍यर्थका कुरा मात्र बोल्छौ । तिमीले कसमाथि भरोसा गरिरहेका छौ जसको कारणले तिमीले मेरो विरुद्धमा विद्रोह गर्नुपर्‍यो ? 21 हेर, मिश्रदेशको यो चिरा परेको निगालोको टेक्‍ने लौरोमा तिमी भरोसा गर्छौ, तर कुनै मानिसले यसमा शिर अडायो भने, यो त्यसको हातैमा टाँसिन्‍छ र त्यसलाई छेडिदिन्‍छ । आफूमाथि भरोसा गर्ने हरेकको निम्‍ति मिश्रदेशका राजा फारो त्यस्तै हो । 22 तर तिमी मलाई भन्‍छौ, 'हामी परमप्रभु हाम्रा परमेश्‍वरमाथि भर पर्छौं,' भने, के उहाँ नै होइन जसका उच्‍च ठाउँहरू र वेदीहरू हिजकियाले हटाइदिए, अनि यहूदा र यरूशलेमलाई भनेका छन्, 'तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ' ? 23 त्यसकारण अब मेरा मालिक अश्शूरका राजाबाट म तपाईंलाई राम्रो प्रस्ताव राख्‍न चाहन्छु । तपाईंले घोडचढीहरू पाउनुभयो भने, म तपाईंलाई दुई हजार घोडाहरू दिनेछु । 24 मेरा मालिकका सेवकहरूमध्ये सबैभन्दा तल्लो एउटा कप्‍तानको पनि तपाईं कसरी विरोध गर्न सक्‍नुहुन्छ ? तपाईंले रथहरू र घोडचढीहरूको लागि मिश्रदेशमा भरोसा गर्नुगर्नुपर्छ । 25 के परमप्रभुविना यस ठाउँको विरुद्धमा लडाइँ गर्न र यसलाई नाश गर्न म आएको हुँ र ? परमप्रभुले मलाई भन्‍नुभयो, "यस देशलाई आक्रमण गर र नाश गर ।" 26 तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले प्रधान सेनापतिलाई भने, "कृपा गरी तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्नुहोस् किनकि हामी त्‍यो बुझ्छौँ । कृपया पर्खालमा खडा भएका मानिसहरूले सुन्‍ने गरी हामीसित यहूदाका भाषामा नबोल्नुहोस् ।” 27 तर प्रधान सेनापतिले तिनीहरूलाई भने, "के मेरा मालिकले तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्‍नलाई मलाई पठाउनुभएको हो र ? के पर्खालमा बस्‍ने यी मानिसहरूलाई पनि होइन र, जसले तिमीहरूसँगै तिनीहरूका आफ्नै दिसा र पिसाब खानुपर्नेछ ?" 28 तब प्रधान सेनापति खडा भएर तिनले यहूदीहरूको भाषामा चर्को सोरमा यसो भने, "अश्शूरका सम्राट, महाराजाको कुरा सुन । 29 राजा भन्‍नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई धोका नदिओस् किनकि उसले तिमीहरूलाई मेरो शक्तिबाट छुटकारा दिन सक्‍ने छैनन् । 30 हिजकियाले तिमीहरूलाई यसो भन्दै परमप्रभुमाथि भरोस गर्न नलगाओस्, 'निश्‍चय नै परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ, र यो सहर अश्शूरका राजाको हातमा पर्नेछैन ।' 31 हिजकियाको कुरा नसुन, किनकि अश्शूरका राजा यसो भन्‍नुहुन्छ, 'मसित सम्झौता गर र मकहाँ आओ । तब तिमीहरू हरेकले आफ्नै दाखबारी र भद्राक्षाको बोटबाट खान पाउने छ, र आफ्नै कुवाको पानी पिउन पाउनेछ । 32 अनाज र नयाँ दाखमद्य, अन्‍न र दाखबारी, भद्राक्षका रुखहरू र मह भएको देश अर्थात् तिमीहरूको आफ्नै देशजस्तो एउटा देशमा मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसो गर्नेछौ, ताकि तिमीहरू बाँच्‍नेछौ र मर्नेछैनौ ‘परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई फकाउन खोज्दा कुरा उसको नसुन । 33 के कुनै जातिका देवताहरूले तिनीहरूलाई अश्शूरका राजाको हातबाट छुटकारा दिएका छन् र ? 34 हमात र अर्पादका देवताहरू कहाँ छन् ? सपर्बेम, हेना र हेना र इव्वाका देवताहरू कहाँ छन् ? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटकारा दिएका छन् ? 35 देशहरूका सबै देवतामध्ये के कुनै देवताले मेरो शक्तिबाट आफ्‍नो देशलाई छुटकारा दिएको छ र ? कसरी परमप्रभुले मेरो शक्तिबाट यरूशलेमलाई छुटकारा दिन सक्छ र ?" 36 तर मानिसहरू मौन रहे र जवाफ दिएनन् किनकि राजाले आज्ञा दिएका थिए, "तिनलाई जवाफ नदिनू ।" 37 तब राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र लेखापाल आसापका छोरा योआले आ-आफ्ना लुगा च्यातेर हिजकियाकहाँ आए, र प्रधान सेनापतिले भनेका कुराहरू तिनलाई बताइदिए ।

19

1 जब राजा हिजकियाले तिनीहरूको कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते, भाङ्ग्रा लगाए र परमप्रभुको मन्दिरभित्र गए । 2 तिनले राजदरबारका निरिक्षक एल्याकीम, सचिव शेब्ना र पुजारीहरूका धर्म-गुरुहरू सबैलाई भाङ्ग्रा लगाएर आमोजका छोरा अगमवक्ता यशैयाकहाँ पठाए । 3 तिनीहरूले तिनलाई भने, "हिजकिया भन्‍नुहुन्छ, 'जसरी बच्‍चा जन्मन लाग्‍छ तर तिनीहरूमा जन्‍मिने बल हुँदैन, त्यसरी नै यो दिन कष्‍ट, हप्की र अनादरको दिन भएको छ । 4 सायद परमप्रभु तपाईंका परमेश्‍वरले प्रधान सेनापतिका सबै कुरा सुन्‍नुहुनेछ, जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरलाई विरोध गर्न पठाएका छन्, र परमप्रभु तपाईंका परमेश्‍वरले सुन्‍नुभएको कुराले उहाँले तिनलाई हप्काउनुहुनेछ । अब यहाँ अझै बाँचेकाहरुका निम्ति तपाईंले प्रार्थना गर्नुहोस् ।” 5 त्यसैले राजा हिजकियाका सेवकहरू यशैयाकहाँ आए, 6 र यशैयाले तिनीहरूलाई भने, "आफ्‍ना मालिकलाई यसो भन, 'परमप्रभु यसो भन्‍नुहुन्छः अश्शूरका राजाका सेवकहरूले मेरो अपमान गरेर बोलेका कुरा सुनेर तँ नडरा । 7 हेर्, म त्यसमा एउटा आत्मा हालिदिनेछु, र त्यसले एउटा खबर सुन्‍नेछ र आफ्नै देशमा फर्केर जानेछ । त्यसको आफ्नै देशमा म त्यसलाई तरवारले ढाल्न लगाउनेछु' ।" 8 तब प्रधान सेनापति फर्के, र अश्शूरका राजालाई लिब्नाको विरुद्धमा लडाइँ गरिरहेका भेट्टाए किनकि राजा लाकीशबाट गइसकेका थिए भनी तिनले सुनेका थिए । 9 त्यसै बेला सनहेरीबको विरुद्धमा लडाइँ गर्न कुश र मिश्रदेशका राजा तिर्हाकाहले सेना परिचालन गरेका छन् भनेर तिनले सुने, त्यसैले तिनले फेरि हिजकियाकहाँ यो समाचारसहित सन्देशवाहकहरू पठाए, 10 "यहूदाका राजा हिजकियालाई भन्‍नूः 'यरूशलेम अश्शूरका राजाको हातमा पर्नेछैन' भन्‍ने तिमीले भरोसा गरेका परमेश्‍वरले तिमीलाई धोका नदेऊन् । 11 हेर, अश्शूरका राजाहरूले सबै देशलाई पूर्ण रूपले नष्‍ट पारेका कुरा तिमीले सुनेका छौ । त्यसैले के तिमीले चाहिँ छुटकारा पाउनेछौ ? 12 मेरा पुर्खाहरूले नष्‍ट पारेकाः गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्‍ने अदनका मानिसहरूलाई ती जातिहरूका देवताहरूले छुटकारा दिएका छन् ? 13 हमातका राजा, अर्पादका राजा, सपर्बेम, हेना र इव्वा सहरहरूका राजा कहाँ छन् ?" 14 हिजकियाले सन्देशवाहकरूबाट यो चिठी प्राप्‍त गरे, र तिनले यो पढे । तब तिनी परमप्रभुको मन्दिरमा उक्ले अनि उहाँको सामु यसलाई खोलेर राखिदिए । 15 तब हिजकियाले परमप्रभुको सामु प्रार्थना गरे, "हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर तपाईं जो करूबहरूमाथि विराजमान हुनुहुन्छ, तपाईं मात्र पृथ्वीका सबै राज्यमाथि राजा हुनुहुन्छ । तपाईंले नै स्वर्ग र पृथ्वीको सृष्‍टि गर्नुभयो । 16 हे परमप्रभु, आफ्‍नो कान थाप्‍नुहोस् र सुन्‍नुहोस् । हे परमप्रभु, आफ्ना आँखा खोल्नुहोस्, र सनहेरीबका कुराहरू सुन्‍नुहोस् जुन त्‍यसले जीवित परमेश्‍वरको गिल्ला गर्न पठाएको छ । 17 हे परमप्रभु, अश्शूरका राजाहरूले जातिहरू र तिनीहरूका देशहरूलाई साँच्‍चै नै नाश पारेका छन् । 18 तिनीहरूले उनीहरूका देवताहरूलाई आगोमा फालेका छन् किनकि तिनीहरू ईश्‍वरहरू थिएनन्, तर मानिसका हातका काम अर्थात् काठ र ढुङ्गाहरू थिए । त्यसैले अश्शूरीहरूले तिनलाई नष्‍ट पारे । 19 अब हे परमप्रभु हाम्रा परमेश्‍वर, म बिन्ती गर्छु, कि त्‍यसको शक्तिबाट हामीलाई बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्यले तपाईँ परमप्रभु मात्र परमेश्‍वर हुनुहुन्छ भनी जान्‍न सकून् ।" 20 तब आमोजका छोरा यशैयाले हिजकियालाई यसो भनेर समाचार पठाए, "इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तैँले अश्शूरका राजा सनहेरीबको बारेमा मलाई प्रार्थना गरेकोले म तेरो कुरा सुन्‍नेछु । 21 त्यसको विषयमा परमप्रभुले भन्‍नुभएको वचन यही होः "सियोनकी कन्या-छोरीले तँलाई तिरस्कार गर्छे, र तेरो खिल्ली उडाउँछे । यरूशलेमकी छोरीले तँलाई हेर्दै आफ्नो शिर हल्लाउँछे । 22 तैँले कसको गिल्ला गरेको छस् र अपमान गरेको छस् ? तैँले कसको विरुद्धमा आफ्नो सोर उच्‍च पारेको छस् र घमण्डका साथ आफ्ना आँखा माथि उठाएको छस् ? इस्राएलका परमपवित्रको विरुद्धमा हो ! 23 तेरा सन्देशवाहकहरूद्वारा तैँले परमप्रभुको गिल्ला गरेको छस्, र भनेको छस्, 'मेरा धेरै रथहरूसँगै म पर्वतहरूका टाकुराहरूमा, लेबनानका सबैभन्दा उच्‍च टाकुराहरूमा उक्लेको छु । म त्यहाँका अग्ला-अग्ला देवदारुका रुखहरू र सबैभन्दा असल सल्लाका रुखहरू काटेर ढाल्‍नेछु । म त्यसको पल्लो कुनामा, त्यसको सबैभन्दा फलदायी वनभित्र प्रवेश गर्नेछु । 24 मैले इनारहरू खनेको छु, र विदेशी पानी पिएको छु । मैले आफ्‍ना खुट्टाका पैतलामुनि मिश्रदेशका सबै नदी सुकाएँ ।' 25 के धेरै पहिले नै मैले यसको निधो गरेको अनि प्राचीन समयमा नै मैले यो रचेको तैँले सुनेको छैनस् र ? अब मैले यसलाई कार्यान्वयन गर्न खोज्दैछु । तैँले यहाँ किल्ला भएका सहरहरूलाई भग्‍नावशेषको थुप्रोमा समेटेको छस् । 26 तिनका थोरै बल भएका बासिन्दाहरू, थाकेका र लाजमा परेका छन् । तिनीहरू मैदानका बिरुवाहरू हुन्, हरिया घाँस छानामाथिका वा मैदान घाँस हुन् जुन उम्रनअगि नै सुक्छन् । 27 तर तँ भुइँमा बसेको र तँ बाहिर गएको र भित्र आएको अनि मेरो विरुद्धमा तैंले रिस गरेको मलाई थाहा छ । 28 तैँले मेरो विरुद्धमा रिस देखाएको हुनाले र तेरो घमण्ड मेरो कानसम्म पुगेको हुनाले म तेरो नाकमा मेरो बल्छी लगाउनेछु, र तेरो मुखमा मेरो लगाम लगाउनेछु । म तँलाई तँ आएकै बाटो फर्काउनेछु ।" 29 तेरो लागि चिन्हचाहिँ यो हुने छः यो साल तैँले आफै उम्रेको अन्‍न खानेछस्, र अर्को साल त्यसैबाट उम्रेको खानेछस् । तर तेस्रो वर्षमा चाहिँ तैँले अन्‍न रोप्‍ने अनि कटनी गर्नेछस्, दाखबारी लगाउनेछस् र तिनका फल खानेछस् । 30 यहूदाको घरानाका बाँचेर बाँकी बाँचेकाहरूले फेरि जरा हाल्‍नेछन् र फल फलाउनेछन् । 31 किनकि यरूशलेमबाट बाँकी रहेको एउटा भाग आउनेछ, सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् । सर्वशक्तिमान् परमप्रभुको जोसले यो गर्नेछ । 32 त्यसकारण अश्शूरका राजाको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छः “ऊ यो सहरमा आउनेछैन, न त त्यसले यहाँ काँड हान्‍नेछ । न त यसको सामु त्यो ढाल लिएर आउनेछ वा यसको विरुद्धमा घेरा-मचान लगाउनेछ । 33 जुन बाटोबाट ऊ आएको थियो ऊ त्‍यही बाटो फर्केर जानेछ । ऊ यस सहरमा पस्‍नेछैन— यो परमप्रभुको घोषणा हो । 34 किनकि मेरो आफ्नै निम्‍ति र मेरा दास दाऊदको निम्‍ति म यस सहरको रक्षा गर्नेछु र यसलाई बचाउनेछु ।” 35 त्यस राज परमप्रभुका दूत बाहिर निस्के र अश्शूरीहरूको छाउनीलाई आक्रमण गरे, र एक लाख पचासी हजार सिपाहीलाई मारे । जब मानिसहरू बिहान सबेरै उठे तब जताततै लाश छरिएका थिए । 36 त्यसैले अश्शूरका राजा सनहेरीबले इस्राएल चोडे र घरमा गए, र निनवेमा बसे । 37 पछि तिनले आफ्नो देवता निस्रोकको मन्‍दिरमा पुजा गरिरहँदा तिनका छोराहरू अद्रम्मलेक र शरेसेरले तिनलाई तरवारले मारे । अनि तिनीहरू आरारात देशमा भागेर गए । तब तिनको ठाउँमा तिनका छोरा एसरहदोन राजा भए ।

20

1 ती दिनमा मृत्‍यु नै हुन्‍छ कि जस्‍तो गरी हिजकिया बिरामी परे । त्यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र तिनलाई भने, "परमप्रभु भन्‍नुहुन्छ, 'तेरो घरलाई मिलाएर राख्, किनकि तँ मर्नेछस् र बाँच्‍नेछैनस्' ।" 2 तब हिजकियाले भित्तापट्टि आफ्नो अनुहार फर्काए र यसो भनेर परमप्रभुमा प्रार्थना चढाए, 3 "हे परमप्रभु, मेरो सारा ह्रदयले म कसरी तपाईंको सामु विश्‍वासका साथ हिंडेको छु, र कसरी तपाईंको दृष्‍टिमा जे ठिक थियो, मैले त्यही गरेको छु, सो कृपा गरी सम्झनुहोस् । तब हिजकिया धुरुधुरु रोए । 4 यशैया बिचको चोकमा पुग्‍नुभन्दा अगि परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो, 5 "फर्की र मेरा मानिसका अगुवा हिजकियालाई यसो भन्, 'तेरा पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तेरो प्रार्थना सुनेको छु, र मैले तेरो आँसु देखेको छु । मैले तँलाई तेस्रो दिनमा निको पार्नै लागेको छु, र तँ परमप्रभुको मन्दिरमा माथि उक्लेर जानेछस् । 6 म तेरो जीवनमा पन्ध्र वर्ष आयु थपिदिनेछु, र अश्शूरका राजाको हातबाट म तँलाई र तेरो सहरलाई बचाउनेछु, अनि मेरो आफ्नै निम्‍ति र मेरा दास दाऊदको निम्‍ति म यस सहरको रक्षा गर्नेछु' ।" 7 त्यसैले यशैयाले भने, "नेभाराको लेप लगाउनुहोस् ।” तिनीहरूले त्यसै गरे र तिनको पिलोमा त्‍यो लगाइदिए र तिनी निको भए । 8 हिजकियाले यशैयालाई भने, "परमप्रभुले मलाई निको पार्नुहुनेछ र म तेस्रो दिनमा परमप्रभुको मन्दिरमा जानुपर्छ भन्‍ने कुराको चिन्ह के हुनेछ ?" 9 यशैयाले जवाफ दिए, "तपाईंको लागि परमप्रभुबाट चिन्ह यो हुनेछ, कि परमप्रभुले बोल्नुभएको कुरा उहाँले गर्नुहुनेछ । घामको छाया दस सिंडी अगाडि जानुपर्‍यो कि दस सिंडी पछाडि जानुपर्‍यो ?" 10 हिजकियाले जवाफ दिए, “घामको छायालाई दस सिंडी अगाडि जानु त समान्‍य कुरो हो । त्‍यो छाया दस सिंडी पछाडि जाओस् ।" 11 त्‍यसैले यशैया अगमवक्ताले परमप्रभुमा पुकारा गरे र उहाँले घामको छायालाई आहाजको सिंडीमा जहाँ पुगेको थियो त्‍यहाँबाट दस सिंडी पछाडि सार्नुभयो । 12 त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियालाई चिठीहरू र एउटा उपहार पठाए किनकि हिजकिया बिरामी परेका थिए भनी तिनले सुनेका थिए । 13 हिजकियाले ती चिठीमा लेखिएका कुरा सुने र त्‍यसपछि ती सन्देशवाहकहरूलाई राजदरबारका सबै कुरा र तिनका मूल्यवान् थोकहरू अर्थात् चाँदी, सुन, मसला र बहुमुल्‍य तेल र तिनका हतियारहरूका भण्डार अनि तिनका भण्डारहरूमा भेट्टाइएका सबै थोक देखाए । हिजकियाको आफ्नो घरमा अनि तिनका सारा राज्य तिनले उनीहरूलाई नदेखाएका कुरा केही थिएन । 14 तब यशैया अगमवक्ता हिजकिया राजाकहाँ आए र तिनलाई सोधे, "यी मानिसहरूले तपाईंलाई के भने ? तिनीहरू कहाँबाट आएका हुन् ?" हिजकियाले भने, "तिनीहरू टाढाको देश बेबिलोनबाट आएका हुन् ।" 15 यशैयाले सोधे, "तपाईंको घरमा तिनीहरूले के-के हेरेका छन् ?" हिजकियाले जवाफ दिए, "तिनीहरूले मेरो घरमा भएका हरेक थोक देखेका छन् । मसँग भएका मूल्यवान् थोकहरूमा मैले तिनीहरूलाई नदेखाएका कुनै पनि बाँकी छैन ।” 16 त्यसैले यशैयाले हिजकियालाई भने, "परमप्रभुक वचन सुन्‍नुहोस्, 17 'हेर्, ती दिन आउँदैछन् जतिबेला तेरा पुर्खाहरूले आजको दिनसम्म तेरो दरबारमा जम्मा गरेर राखेको हरेक थोक बेबिलोनमा लगिनेछ । परमप्रभु भन्‍नुहुन्छ, कुनै कुरा पनि छाडिनेछैन । 18 तँबाट जन्मेका तेरा छोराहरू, जसलाई तँ आफैले हुर्काएको छस्— तिनीहरूले उनीहरूलाई लानेछन्, र उनीहरू बेबिलोनका राजदरबारमा नपुंसक बन्‍नेछन्' ।" 19 तब हिजकियाले यशैयालाई भने, “तपाईंले बोलेको परमप्रभुको वचन असल छ ।” किनकि तिनले सोचे, "के मेरो समयमा शान्ति र स्थिरता हुने छैन र ?" 20 हिजकियाका सम्‍बन्‍धमा भएका अरू कुराहरू र तिनका सबै शक्ति र कसरी तिनले पोखरी र सुरुङ बनाए अनि सहरमा पानी ल्याए भन्‍ने बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 21 हिजकिया आफ्ना पुर्खाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए ।

21

1 मनश्शेले राज्‍य गर्न सुरु गर्दा तिनी बाह्र वर्षका थिए । तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हेप्सीबा थियो । 2 परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूले घिनलाग्दा कुराहरू गरेजस्‍तै, परमप्रभुको दृष्‍टिमा जे खरब थियो, तिनले त्यही गरे । 3 किनकि तिनका पिता हिजकियाले नाश पारेका उच्‍च ठाउँहरू तिनले पुनर्निर्माण गरे, र इस्राएलका राजा आहाबले गरेझैँ तिनले बालका लागि वेदीहरू बनाए, र अश्शेरा देवीको खम्बा बनाए अनि आकाशका सबै ताराहरूका सामु तिनी घोप्‍टो परे र तिनीहरूको पुजा गरे । 4 परमप्रभुको मन्दिरमा मनश्शेले वेदीहरू बनाए, यद्यपि परमप्रभुले यस्तो आज्ञा दिनुभएको थियो, "यरूशलेममा मात्र मेरो नाउँ सदासर्वदा कायम रहनेछ ।" 5 परमप्रभुको मन्दिरका दुईवटा चोकमा तिनले आकाशका सबै ताराहरूका लागि वेदीहरू बनाए । 6 तिनले आफ्नो छोरोलाई आगोमा हिंड्‍न लगाए । तिनले टुनामुना गरे र जोखना हेरे अनि मृत आत्‍माहरू र भूत आत्‍माहरूसँग बात गर्नेहरूका सल्‍लाह लिए । तिनले परमप्रभुको दृष्‍टिमा असाध्यै खराबी गरेर परमप्रभुलाई रिस उठाए । 7 आफूले बनाएका अश्शेरा देवीको मूर्तिलाई तिनले परमप्रभुको मन्दिरमा राखे । यही मन्दिरको बारेमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनलाई यसो भन्‍नुभएको थियो, "मैले इस्राएलका सबै कुलबाट चुनेको यो मन्दिरमा र यरूशलेममा म मेरो नाउँ सदासर्वदाको निम्ति राख्‍नेछु । 8 मैले इस्राएललाई आज्ञा गरेका सबै कुरा पालन गर्न र मेरा दास मोशाले तिनीहरूलाई दिएका सबै व्यवस्था पालन गर्न तिनीहरू सावधान भए भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरूका खुट्टालाई फेरि यताउता घुमफिर गर्ने म पार्नेछैनँ ।" 9 तर मानिसहरूले यो कुरा सुनेनन्, र इस्राएलका मानिसहरूकै सामु परमप्रभुले नष्‍ट गर्नुभएका जातिहरूले भन्दा बढी खराब काम गर्न मनश्शेले तिनीहरूलाई अगुवाइ गरे । 10 त्यसैले परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूद्वारा यसो भन्‍नुभयो, 11 "यहूदाका राजा मनश्शेले यी घिनलाग्दा कुराहरू गरेको छ र तिनीभन्दा अगिका एमोरीहरूले गरेको भन्दा बढी खराब गरेको छ र यहूदालाई आफ्ना मूर्तिहरूले पाप गर्न लगाएको छ, 12 त्‍यसकारण इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यरूशलेम र यहूदामा यस्तो खराबी ल्याउन लागेको छु, कि जसले यसको बारेमा सुन्छ त्यसका दुवै कानमा गुञ्जन हुनेछ । 13 मैले सामरियाको विरुद्धमा प्रयोग गरेको नाप्ने टाँगो र आहाबको घरानाको विरुद्धमा प्रयोग गरेको साहुलले म यरूशलेमलाई नाप्नेछु । जसरी एक जना मानिसले थाललाई माझेर त्‍यसलाई घोप्‍टो पार्छ, त्‍यसरी नै म यरूशलेमलाई सफा पार्नेछु । 14 मेरो उत्तराधिकारका बाँकी रहेकाहरूलाई म फल्‍नेछु र तिनीहरूलाई आफ्‍ना शत्रुहरूका हातमा दिनेछु । आफ्‍ना सबै शत्रुका लागि तिनीहरू सिकार र लुटका माल हुनेछन्, 15 किनकि तिनीहरूका पुर्खाहरू मिश्रदेशबाट बाहिर आएदेखि आजसम्म नै मेरो दृष्‍टिमा जे खराब छ, त्यही तिनीहरूले गरेका छन्, र मलाई रिस उठाएका छन् ।" 16 यसबाहेक, यरूशलेमको एउटा कुनादेखि अर्को कुनासम्म मृत्युले नभरिएसम्‍म नै मनश्शेले धेरै निर्दोष रगत बगाए । अनि परमप्रभुको दृष्‍टिमा जे खराब थियो, यहूदालाई त्यही गर्न लगाएर तिनले गरेका पापको पनि थियो । 17 मनश्शेका सम्‍बन्‍धमा भएका अरू कुरा, तिनले गरेका काम, र तिनले गरेका पाप यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 18 मनश्शे आफ्ना पुर्खाहरूसित सुते, र तिनको आफ्नै घरको उज्‍जाको बगैँचामा तिनलाई गाडियो । तिनको ठाउँमा तिनका छोरा आमोन राजा भए । 19 आमोनले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा दुई वर्ष राज्य गरे । तिनकी आमाको नाउँ मशुल्लेमेत थियो । तिनी योत्बाका हारूसकी छोरी थिइन् । 20 तिनका पिता मनश्शेले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । 21 आमोनले आफ्‍ना पिताका सबै चालको अनुसरण गरे र आफ्‍ना पिताले पुजेका मूर्तिहरूको पुजा गरे र तिनीहरूका सामु निहुरे । 22 आफ्ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई तिनले त्यागे, र परमप्रभुको मार्गमा हिंडेनन् । 23 आमोनका सेवकहरूले राजाको विरुद्धमा षड्यन्त्र गरे र तिनलाई आफ्‍नै घरमा मारे । 24 तर देशका मानिसहरूले राजा आमोनको विरुद्धमा षड्यन्त्र गर्ने सबैलाई मारे, र तिनको ठाउँमा योशियाहलाई तिनीहरूले राजा बनाए । 25 आमोनले गरेका अरू कुराहरूका विषयमा के ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 26 मानिसहरूले तिनलाई उज्‍जाको बगैँचामा तिनकै चिहानमा गाडे, र तिनको ठाउँमा तिनका छोरा योशियाह राजा भए ।

22

1 योशियाहले राज्‍य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यदीता थियो (उनी बोस्कतकी अदायाहकी छोरी थिइन्) । 2 परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्यही गरे । तिनी आफ्ना पुर्खा दाऊदका सबै मार्गमा हिंडे, र तिनी दायाँ र बायाँ लागेनन् । 3 राजा योशियाहको अठारौँ वर्षमा तिनले मशुल्लामका नाति, असल्याहका छोरा सचिव शापानलाई यसो भनेर परमप्रभुको मन्दिरमा पठाए, 4 "प्रधान पुजारी हिल्कियाहकहाँ जाऊ, र परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ-पैसा जसलाई मन्दिरका पहरादारहरूले मानिसहरूबाट जम्मा गरेका छन्, त्‍यो गन्‍न तिनलाई भन । 5 परमप्रभुको मन्दिरको रेखदेख गर्ने मानिसहरूका हातमा त्‍यो दिनू, र तिनीहरूले परमप्रभुको मन्दिर मर्मत गर्ने कारिन्‍दाहरूलाई मन्‍दिरको मरम्‍मत गर्ने कामको निम्‍ति त्‍यो देऊन् । 6 मन्दिरको मर्मत गर्ने सिकर्मीहरू, निर्माण गर्नेहरू, र डकर्मीहरूलाई अनि काठपात किन्‍न र ढुङ्गा काटनलाई तिनीहरूले त्यो रुपियाँ-पैसा देऊन् ।” 7 तर तिनीहरूलाई दिइएको रुपियाँ-पैसाको हरहिसाब लिइएन किनकि तिनीहरूले यो कामलाई विश्‍वासका साथ सम्हालेका थिए । 8 प्रधान पुजारी हिल्कियाहले सचिव शापानलाई भने, "मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु ।” त्यसैले हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए, र तिनले यो पढे । 9 शापानले त्यो किताब राजाकहाँ लगे, र तिनलाई यसो भनी विवरण दिए, "तपाईंका दासहरूले मन्दिरमा भेट्टाइएका रुपियाँ-पैसा खर्च गरेका छन्, र तिनीहरूले यो परमप्रभुको मन्दिरको रेखदेख गर्ने कारिन्‍दहरूका हातमा दिएका छन् ।" 10 तब सचिव शापानले राजालाई भने, "प्रधान पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” तब शापानले त्यो राजाको लागि पढे । 11 जब राजाले व्यवस्थाका वचनहरू सुने तिनले आफ्ना लुगा च्याते । 12 राजाले पुजारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका आफ्नै सेवक असायाहलाई हुकुम गरे, 13 "जाओ, र यस पुस्तकमा पाइएका वचनहरूको कारणले मेरो लागि र सारा यहूदाका लागि परमप्रभुको सल्‍लाह खोज । किनकि हाम्रा विरुद्धमा भएको परमप्रभुको क्रोध भयानक छ, किनभने यस पुस्तकमा भएका हाम्रा सम्‍बन्‍धका वचनलाई हाम्रा पुर्खाहरूले जसरी पालन गर्नुपर्थ्‍यो त्‍यसरी तिनीहरूले गरेनन् ।” 14 त्यसैले पुजारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह अगमवादिनी हुल्दाकहाँ गए । उनी दरबारका लुगाफाटो हेरचाह गर्ने हरहसका नाति, तिक्भाका छोरा शल्लूमकी पत्‍नी थिइन् । (उनी यरूशलेमको दोस्रो टोलमा बस्थिन्) । तिनीहरूले उनीसित कुरा गरे । 15 उनले तिनीहरूलाई भनिन्, "इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन्, 16 "परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, यहूदाका राजाले यस पुस्तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्दाहरूमा म विपत्ति ल्याउनेछु । 17 किनकि तिनीहरूले मलाई त्यागे अनि अन्य देवताहरूलाई धूप बाले, यसरी तिनीहरूले गरेका सबै कामले तिनीहरूले मलाई रिस उठाए— यसकारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्केको छ, र यो निभाइने छैन' ।" 18 तर परमप्रभुको इच्छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः 19 तिनीहरू उजाड र श्रापित हुनेछन् भनी मैले यस ठाउँ र यसका बासिन्दाहरूको विरुद्धमा भनेको सुनेर तैँले आफ्‍नो ह्रदय कोमल बनाएको र तैँले परमप्रभुको सामु आफैलाई विनम्र तुल्याएको अनि तैँले आफ्ना लुगा च्यातेको र मेरो सामु रोएका हुनाले मैले तेरो कुरा पनि सुनेको छु—यो परमप्रभुको घोषणा हो । 20 हेर्, म तँलाई तेरा पुर्खाहरूसित जम्मा गर्नेछु, र तँ शान्तिसित तेरो चिहानमा जानेछस् । मैले यस ठाउँमा ल्याउने सबै विपत्तिलाई तेरा आँखाले देख्‍नेछैनस् । यसरी मानिसहरूले राजाकहाँ यो सन्देश लिएर गए ।

23

1 त्यसैले राजाले सन्देशवाहकहरू पठाए जसले यहूदा र यरूशलेमका सबै धर्म-गुरुलाई तिनीकहाँ भेला गराए । 2 तब राजा परमप्रभुको मन्दिरमा गए, अनि यहूदाका सबै मानिस र यरूशलेमका सबै बासिन्दा, पुजारीहरू, अगमवक्ताहरू र सानादेखि ठुलासम्‍म सबै मानिस पनि तिनीसँगै गए । तब तिनले परमप्रभुको मन्दिरमा भेट्टाइएका करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्‍ने गरी पढे । 3 राजा खम्बानेर खडा थिए अनि आफ्नो सारा ह्रदय र सारा प्राणले परमप्रभुको पछि लाग्‍न र उहाँका आज्ञाहरू, उहाँका निर्देशनहरू, उहाँका विधिहरू पालन गर्न र यस पुस्तकमा लेखिएका यस करारका वचनहरू पालन गर्न परमप्रभुको सामु करार बाँधे । यसरी सबै मानिसले यो करार पालन गर्ने सहमति जनाए । 4 तब प्रधान पुजारी हिल्कियाह, तिनको अधिनका पुजारीहरू र द्वारपालहरूलाई बाल देवता र अश्शेरा देवी अनि आकाशका सबै ताराहरूका निम्ति बनाइएका भाँडाहरू परमप्रभुको मन्दिरबाट बाहिर ल्याउन हुकुम दिए । तिनले किद्रोन उपत्यकामा भएको मैदानहरूमा तिनलाई जलाए र तिनका खरानीलाई बेथेलमा लगे । 5 यहूदाका राजाहरूले यहूदाका सहरहरूका उच्‍च ठाउँहरू र यरूशलेम वरिपरिका ठाउँहरूमा धूप बाल्नलाई चुनेका मूर्तिपूजक पुजारीहरूलाई तिनले हटाइदिए । तिनीहरूले बाल देवता, सूर्य, चन्द्रमा, ग्रहहरू र आकाशका सबै ताराहरूलाई धूप बाल्‍थे । 6 परमप्रभुको मन्दिरबाट अश्शेरा देवीको खम्बालाई तिनले यरूशलेम बाहिर किद्रोन उपत्यकामा बाहिर लगे र त्‍यसलाई त्‍यहाँ जलाए । तिनले त्‍यसलाई पिटेर धूलो र त्‍यो धूलोलाई साधारण मानिसहरूका चिहानहरूमा फालिदिए । 7 तिनले परमप्रभुको मन्दिरमा भएका झुटो धर्मका वेश्याहरूका कोठाहरू सफा गरे, जहाँ स्‍त्रीहरूले अश्शेरा देवीका निम्ति वस्‍त्रहरू बुन्‍ने गर्थे । 8 योशियाहले यहूदाका सहरहरूबाट सबै पुजारीलाई ल्याए, र गेबादेखि बेर्शेबासम्म पुजारीहरूले धूप बाल्ने उच्‍चा ठाउँहरूलाई तिनले अपवित्र तुल्याइदिए । तिनले सहरको मूल ढोकाको देब्रेपट्टि यहोशूको ढोका (सहरका राज्यपा) को प्रवेशद्वारमा भएका ढोकाहरूमा बनाइएका उच्‍च ठाउँहरूलाई नष्‍ट पारिदिए । 9 ती उच्‍च ठाउँहरूका पुजारीहरूलाई यरूशलेममा परमप्रभुको मन्दिरमा सेवा गर्न नदिए तापनि तिनीहरूले आफ्‍ना दाजुभाइका बिचमा अखमिरी रोटी खाए । 10 मोलोखलाई बलिको रूपमा कसैले आफ्ना छोरा वा छोरी आगोमा हिंड्‍न नलगाओस् भनेर योशियाहले बेन-हिन्‍नोमको बेँसीमा अवस्थित तोपेतलाई अपवित्र तुल्याए । 11 यहूदाका राजाहरूले सूर्यको सम्मानमा बनाएका घोडाहरू तिनले हटाए । ती नातान-मेलेक नाउँका अधिकारीको कोठा नजिक परमप्रभुको मन्दिरको प्रवेशद्वारको क्षेत्रमा राखिएका थिए । योशियाहले सूर्यको सम्मानमा बनाइएका रथहरूलाई जलाए । 12 आहाजको दरवारको कौसीमा यहूदाका राजाहरूले राखेका वेदीहरू र मनश्शेले परमप्रभुको मन्दिरका दुईवटा चोकमा बनाएका वेदीहरू राजा योशियाहले नष्‍ट पारे । योशियाहले तिनलाई टुक्राटुक्रा पारे र तिनलाई किद्रोनको बेँसीमा फाले । 13 इस्राएलका राजा सोलोमनले यरूशलेमको पूर्वपट्टि, भ्रष्‍टताको पर्वतको दक्षिणपट्टि बनाएका सीदोनीहरूका देवी अश्‍तोरेतको घिनलाग्दो मूर्ति, मोआबीहरूको देवता कमोशको घिनलाग्दो मूर्ति र अम्मोनीहरूको देवता मोलोखको घिनलाग्दो मूर्तिलाई राजाले नष्‍ट पारिदिए । 14 तिनले ढुङ्गाका खम्बाहरूलाई टुक्राटुक्रा पारे, र अश्शेरा देवीका खम्बाहरूलाई काटे र ती ठाउँ मानिसका हड्‍डीहरूले भरे । 15 बेथेलमा भएको वेदी र नबातका छोरा यारोबाम (इस्राएललाई पाप गर्न लगाउने) ले बनाएका उच्‍च ठाउँहरूलाई पनि योशियाहले पूर्ण रूपमा नाश पारे । तिनले त्‍यो वेदी र उच्‍च ठाउँहरूलाई जलाए र धूलोपिठो पारे । तिनले अश्शेरा देवीको खम्बालाई पनि जलाए । 16 योशियाहले त्यस क्षेत्रमा नजर लगाए र पहाडी क्षेत्रमा तिनले चिहानहरू देखे । ती चिहानहरूबाट हड्‍डीहरू ल्याउन तिनले मानिसहरू पठाए । त्यसपछि तिनले ती हड्‍डीहरूलाई वेदीमाथि राखेर जलाए जसले त्‍यो अपवित्र पार्‍यो । परमेश्‍वरका मानिसले बोलेका परमप्रभुको वचनअनुसार यसो हुन आएको थियो, ती मानिसले यी कुराहरूका बारेमा पहिले नै बोलेका थिए । 17 तब तिनले सोधे, "मैले देखेको त्यो स्मारकचाहिं केको हो ?" सहरका मानिसहरूले तिनलाई जवाफ दिए, "त्यो यहूदाबाट आएका परमेश्‍वरका मानिसको चिहान हो जसले तपाईंले भर्खरै बेथेलको वेदीको विरुद्धमा गर्नुभएको कुराको बारेमा बोलेका थिए ।" 18 त्‍यसैले योशियाहले भने, "त्यसलाई छोड । तिनका हड्‍डीहरूलाई कसैले पनि नसारोस् । त्‍यसैले सामरियाबाट आएका अगमवक्ताका हड्‍डीहरूसँगै तिनका हड्‍डीहरूलाई तिनीहरूले त्‍यहाँ छाडे । 19 त्‍यसपछि सामरियाका सहरहरूमा भएका उच्‍च ठाउँहरू जसलाई इस्राएलका राजाहरूले बनाएका र परमप्रभुलाई क्रुद्ध तुल्याएका थिए, ती सबैलाई योशियाहले हटाए । तिनले बेथेलमा जे गरेका थिए, तिनलाई पनि ठिक त्यही गरे । 20 उच्‍च ठाउँहरूका सबै पुजारीलाई तिनले वेदीहरूमा मारे, र तिनले मानिसका हड्‍डीहरू तिनमा जलाए । तब तिनी यरूशलेममा फर्के । 21 तब राजाले सबै मानिसलाई यसो भनरे आज्ञा दिए, "करारको पुस्तकमा लेखिएबमोजिम परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्ति निस्तार-चाड मनाओ ।” 22 इस्राएलमा शासन गर्ने न्यायकर्ताहरूका समयदेखि नै यसरी निस्तार-चाडको उत्सव मनाउने काम कहिलै थिएन, न त इस्राएल र यहूदाका राजाहरूको समयमा भएको थियो । 23 तर राजा योशियाहको अठारौँ वर्षमा यरूशलेममा परमप्रभुको निस्तार-चाड मनाइयो । 24 मृतहरू र भुत आत्‍माहरूसित बात गर्नेहरूलाई पनि योशियाहले निश्कासन गरे । तिनले यहूदा र यरूशलेममा देखिने सबै प्रेतपुजा, मूर्तिहरू र घिनलाग्दा थोकहरूलाई पनि हटाए । यसरी हिल्कियाह पुजारीले परमप्रभुको मन्दिरमा भेट्टाएका व्यवस्थाका पुस्‍तकमा लिखिएका वचनहरू पालन गर्ने काम भयो । 25 आफ्नो सारा ह्रदय, सारा प्राण, र सारा शक्तिले परमप्रभुतर्फ फर्केर सबै मोशाको व्यवस्थालाई पालन गर्ने योशियाहभन्दा पहिले त्‍यहाँ कुनै अर्को राजा थिएन । न त योशियाहले झैं तिनी पछि आएका अरू कुनै राजाले नै गर्‍यो । 26 तापनि परमप्रभु आफ्नो दन्किरहेको क्रोधको आगोबाट फकर्नुभएन किनकि मनश्शेले गरेका सबै कामको कारणले यहूदाको विरुद्धमा उहाँलाई भयङ्कर रिस उठेको थियो । 27 त्यसैले परमप्रभुले भन्‍नुभयो, “जसरी मैले इस्राएललाई हटाएको छु त्‍यसरी नै मैले चुनेको यो यरूशलेम सहर र 'मेरो नाउँ त्यहाँ हुनेछ' भनी मैले भनेको त्‍यो मेरो मन्दिर समेत म यहूदालाई पनि मेरो दृष्‍टिबाट हटाउनेछु ।" 28 योशियाह सम्‍बन्‍धमा भएका अरू कुराहरू, तिनले गरेका हरेक काम, के ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 29 ती दिनमा मिश्रदेशका राजा फारो नेकोले आफ्‍ना सेना लिएर उत्तरमा यूफ्रेटिस नदी पारि अश्शूरका राजालाई युद्धमा मदत गर्न गए । राजा योशियाह नेकोलाई मगिद्दोमा रोक्‍ने उदेश्‍यले गए तर त्‍यहाँ युद्धमा तिनी मारिए । 30 योशियाहका सेवकहरूले तिनको लाशलाई रथमा राखेर मगिद्दोबाट यरूशलेममा ल्याए, र तिनको आफ्नै चिहानमा तिनलाई गाडे । तब देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिई तिनलाई अभिषेक गरे, र तिनका पिताको ठाउँमा तिनलाई राजा बनाए । 31 यहोआहाजले राज्‍य गर्न सुरु गर्दा तिनी तेइस वर्षका थिए, र तिनले यरूशलेममा तिन महिना राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । उनी लिब्नाकी यर्मियाकी छोरी थिइन् । 32 यहोआहाजले हरेक कुरामा आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे । 33 तिनले यरूशलेममा राज्‍य नगरून् भनेर फारो नेकोले तिनलाई हमात देशको रिब्लामा साङ्लाले बाँधेर राखे । तब नेकोले यहूदालाई एक सय तोडा चाँदी र एक तोडा सुन कर तिर्न लगाए । 34 फारो नेकोले योशियाहका छोरा एल्याकीमलाई तिनका पिताको ठाउँमा राजा बनाए, र तिनको नाउँ बद्ली यहोयाकीम राखे । तर तिनले यहोआहाजलाई चाहिँ मिश्रदेशमा लगे, जहाँ तिनको मृत्यु भयो । 35 यहोयाकीमले फारोलाई चाँदी र सुन कर तिरे । फारोको माग पुरा गर्न यहोयाकीमले देशमा कर लगाए, र देशका प्रत्‍येक मानिसले आफ्‍नो क्षमताअनुसार तिनलाई करको रूपमा चाँदी र सुन जबरदस्ती तिर्नुपर्ने भयो । 36 यहोयाकीमले राज्‍य सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ जबीदा थियो । उनी रूमाकी पदायाहकी छोरी थिइन् । 37 आफ्ना पिता-पुर्खाहरूले गरेझैँ यहोयाकीमले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

24

1 यहोयाकीमको समयमा बेबिलोनका राजा नबूकदनेसरले यहूदालाई आक्रमण गरे । तिन वर्षसम्म यहोयाकीम तिनका सेवक भए । त्यसपछि यहोयाकीम फर्किए र नबूकदनेसरको विरुद्धमा विद्रोह गरे । 2 परमप्रभुले यहोयाकीमको विरुद्धमा कल्दी, अरामी, मोआबी र अम्मोनीहरूका दलहरू पठाउनुभयो । यहूदालाई नष्‍ट गर्न त्यसको विरुद्धमा उहाँले तिनीहरूलाई पठाउनुभयो । परमप्रभुले आफ्ना दास अगमवक्ताहरूद्वारा बोल्नुभएको वचन पुरा हुनलाई यसो भएको थियो । 3 मनश्शेले गरेका सबै पापको कारणले परमप्रभुले यहूदालाई आफ्नो दृष्‍टिबाट हटाउन उहाँले बोल्‍नुभएको कुरा निश्‍चत रूपमा पुरा हुन आयो, 4 तिनले निर्दोष रगत बगाए, किनकि तिनले यरूशलेमलाई निर्दोष रगतले भरेका थिए । त्‍यो कुरा क्षमा गर्न परमप्रभु इच्छुक हुनुभएन । 5 यहोयाकीमका सम्‍बन्‍धमा भएका अरू कुराहरू, र तिनका सबै कामका बारेमा के ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 6 यहोयाकीम आफ्ना पुर्खाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए । 7 मिश्रदेशका राजाले आफ्नो देशभन्‍दा बाहिर फेरि आक्रमण गरेनन्, किनकि मिश्रदेशको खोलादेखि यूफ्रेटिस नदीसम्म मिश्रदेशका राजाको अधीनमा भएका सबै देशलाई बेबिलोनका राजाले कब्जा गरेका थिए । 8 यहोयाकीनले राज्‍य गर्न सुरु गर्दा तिनी अठार वर्षका थिए । तिनले यरूशलेममा तिन महिना राज्य गरे । तिनकी आमाको नाउँ नहूश्ता थियो । उनी यरूशलेमकी एल्नातानकी छोरी थिइन् । 9 परमप्रभुले दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । आफ्ना पिताले गरेका सबै खराब काम तिनले गरे । 10 त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका सेनाले यरूशलेमलाई आक्रमण गर्‍यो र सहरलाई घेरा हाल्‍यो । 11 बेबिलोनका राजा नबूकदनेसरका सिपाहीहरूले सहरलाई घेरा हालेकै समयमा तिनी सहरमा आए, 12 र यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका सेवकहरू, राजकुमारहरू र तिनका अधिकारीहरू बेबिलोनका राजाकहाँ गए । बेबिलोनका राजाले आफ्नो शासनकालको आठौँ वर्षमा तिनलाई समाते । 13 नबूकदनेसरले परमप्रभुको मन्दिर र राजदरबारबाट सबै मूल्यवान थोकहरू लगे । परमप्रभुले भन्‍नुभएझैँ इस्राएलका राजा सोलोमनले परमप्रभुको मन्दिरमा बनाएका सबै सुनका सामानहरू तिनले काटेर निकाले । 14 तिनले जम्मै इस्राएल, सबै अगुवा, सबै योद्धा, सबै कारीगार र सुनारहरू गरी दस हजारलाई कैद गरेर लगे । देशमा सबैभन्दा गरिबहरूबाहेक कोही छाडिएन । 15 नबूकदनेसरले यहोयाकीन, राजाकी आमा, राजाका पत्‍नीहरू, अधिकारीहरू र देशका मुख्य-मुख्य मानिसहरूलाई बेबिलोनमा कैद गरेर लगे । तिनले यरूशलेमदेखि बेबिलोनमा तिनीहरूलाई कैद गरेर लगे । 16 लडाइँको निम्ति सुयोग्य सबै सात हजार योद्धा र एक हजार कारीगार र सुनार, युद्धको निम्‍ति सुयोग्‍य सबै मानिसहरू— बेबिलोनका राजाले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लगे । 17 बेबिलोनका राजाले यहोयाकीनका काका मत्तन्याहलाई तिनको ठाउँमा राजा बनाए, र तिनकको नाउँ बद्लेर सिदकियाह राखे । 18 सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । तिनी लिब्नाकी यर्मियाकी छोरी थिइन् । 19 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । यहोयाकीमले गरेका सबै खराब काम तिनले गरे । 20 परमप्रभुले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नहटाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा आइपरे । त्यसपछि सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे ।

25

1 राजा सिदकियाहको शासनकालको नवौँ वर्षको दसौँ महिनाको दसौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेना लिएर यरूशलेमको विरुद्धमा आए । तिनले यसको सामु छाउनी हाले र तिनीहरूले यसको चारैतिर घेरा हाले । 2 त्यसैले राजा सिदकियाहको शासनकालको एघारौँ वर्षसम्म सहरलाई घेरा हालियो । 3 त्यस वर्षको चौथो महिनाको नवौँ दिनमा सहरमा यति घोर अनिकाल पर्‍यो कि देशका मानिसहरूका लागि खानेकुरा भएन । 4 तब सहरको पर्खाल तोडेर भित्र प्रवेश गरियो र रातमा राजाको बगैँचानेर भएका दुईवटा पर्खालको बिचको ढोकाको बाटोबाट सबै योद्धा भागे, जबकि कल्दीहरूले सहरको चारैतिर घेरा लगाई राखेकै थिए । राजा अराबाको दिशातिर गए । 5 तर कल्दीहरूका सेनाले सिदकियाह राजालाई खेदे, र यरीहो नजिकैको यर्दन नदीका मैदानहरूमा तिनलाई भेट्टाए । तिनका सबै सेना तिनीबाट तितर-बितर भए । 6 तिनीहरूले राजालाई गिरफ्‍तार गरे र तिनलाई रिब्लामा बेबिलोनका राजाकहाँ ल्याए, जहाँ तिनीहरूले तिनलाई फैसला सुनाए । 7 तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे । तब तिनका आँखा तिनले निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र तिनलाई बेबिलोनमा ल्याए । 8 अब बेबिलोनका राजा नबूकदनेसरको शासनकालको उन्‍नाइसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा बेबिलोनका राजाका सेवक अनि अङ्गरक्षकहरूका सेनापति नबूजरदान यरूशलेममा आए । 9 परमप्रभुको मन्दिर, राजदरबार र यरूशलेमका सबै घरहरूमा तिनले आगो लगाए । सहरका हरेक महत्त्वपूर्ण भवनमा पनि तिनले आगो लगाए । 10 अङ्गरक्षकहरूको सेनापतिको अधीनमा रहेका बेबिलोनका सबै सेनाले यरूशलेम वरिपरिको पर्खालहरू नष्‍ट पारिदिए । 11 बेबिलोनका राजालाई वेवास्‍ता गरेका सहरमा बाँकी बचेका मानिसहरू अनि बाँकी रहेका अरू मानिसहरूका सम्‍बन्‍धमा अङ्गरक्षकहरूका सेनापति नबूजरदानले, तिनीहरूलाई निर्वासनमा लगे । 12 तर अङ्गरक्षकहरूका सेनापतिले दाखबारी र खेतबारीमा काम गर्न सबैभन्दा गरिबहरूलाई त्यहीँ छाडिदिए । 13 परमप्रभुको मन्दिरमा राखिएका काँसाका स्तम्भहरू, आधारहरू र काँसाको विशाल खड्कुँलोलाई कल्दीहरूले टुक्राटुक्रा पारे र काँसालाई बेबिलोनमा लगे । 14 भाँडाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, चम्चाहरू र मन्दिरमा पुजारीहरूले सेवा गर्दा प्रयोग गरिने काँसाका सबै सामान पनि कल्दीहरूले लगे । 15 राजाका सेनापतिले खरानी उठाउने भाँडाहरू अनि सुन र चाँदीले बनेका कचौराहरू लिएर गए । 16 सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो र आधारहरूमा भएका काँसा जोख्‍नै सकिंदनथ्यो । 17 पहिलो स्तम्भको उचाइ अठार हात थियो, र स्तम्भमाथि एउटा स्तम्भ-शिर थियो । स्तम्भ-शिर तिन हात अग्लो थियो, र यो काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो । अर्को स्तम्भ र यसका जालीसमेत सबै पहिलेको जस्तै थियो । 18 अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए । 19 सिपाहीहरूको जिम्मामा भएका अधिकारी, अनि सहरमा अझै बाँकी रहेका राजाका पाँच जना सल्लाहकारलाई तिनले सहरबाट कैद गरेर लगे । मानिसहरूलाई सेनामा भर्ती गर्ने मुख्य अधिकृत र देशमा भएका अन्य साठी जना विशिष्‍ट मानिसलाई पनि तिनले कैद गरेर लगे । 20 तब अङ्गरक्षकका सेनापति नबूजरदानले तिनीहरूलाई लगे र रिब्लामा बेबिलोनका राजाकहाँ ल्‍याए । 21 बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे । यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो । 22 बेबिलोनका राजा नबूकदनेसरले शापानका नाति, अहीकामका छोरा गदल्याहलाई यहूदामा बाँकी छोडिएका मानिसहरूमाथि निरिक्षक नियुक्त गरे । 23 बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल बनाए भनेर जब सिपाहीहरूका सबै सेनापति र तिनीहरूका मानिसहरूले सुने , तब तिनीहरू मिस्पामा गदल्याहकहाँ गए । यी मानिसहरू नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह र माकातीका छोरा याजन्याह र तिनीहरूका मानिसहरू थिए । 24 गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूसँग शपथ खाए र तिनीहरूलाई भने, "कल्दीका अधिकारीहरूदेखि नडराओ । यही देशमा बसे र बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुने छ ।” 25 तर सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल जो राजकीय वंशका थिए, तिनले दस जना मानिसलाई लिएर आए र गदल्याहलाई आक्रमण गरे । मिस्पामा आफूसँग भएका यहूदाका मानिसहरू र बेबिलोनीहरूसँगै गदल्याहको मृत्‍यु भयो । 26 तब सानादेखि ठुलासम्‍म सबै मानिससाथै सिपाहीहरूका सेनापतिहरू उठे, र तिनीहरू मिश्रमा गए किनकि तिनीहरू बेबिलोनीहरूदेखि डराएका थिए । 27 यहूदाका राजा यहोयाकीन निर्वासन भएको सैँतिसौँ वर्षको बाह्रौं महिनाको सत्ताइसौँ दिनमा बेबिलोनका राजा एबील-मरोदकले यहूदाका राजा यहोयाकीनलाई झ्यालखानाबाट मुक्त गरिदिए । एबील-मरोदकले राज्‍य गर्न सरु गरेको वर्षमा यो भएको थियो । 28 राजाले तिनीसँग दयापूर्वक कुरा गरे, र बेबिलोनमा तिनीसित भएका अरू राजाहरूलाई भन्दा तिनलाई इज्‍जतदार ठाउँमा बसाए । 29 एबील-मरोदकले यहोयाकीनका कैदका लुगाहरू उतारे, र यहोयाकीनले आफ्नो बाँकी जीवनकालभरि राजाको टेबुलमा बसेर नियमित रूपमा खाए । 30 तिनको जीवनको बाँकी समयभरि हरेक दिन खानाको भत्ता तिनलाई नियमित रूपमा दिइयो ।