नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
एज्रा
एज्राको पुस्तक
1

1 फारसका राजा कोरेसको पहिलो वर्षमा परमप्रभुले यर्मियाद्वारा बोल्नुभएको आफ्नो वचन पुरा गर्नुभयो, र कोरेसको आत्मालाई उत्तेजित पार्नुभयो । कोरेसको आदेश तिनका सारा राज्यभरि पुग्‍यो । लेखिएको र बोलिएको कुरो यही नै हो, 2 "फारसका राजा कोरेस भन्‍नुहुन्छ, 'परमप्रभु स्वर्गका परमेश्‍वरले मलाई सारा पृथ्वीका राज्यहरू दिनुभयो, र उहाँले यहूदियाको यरूशलेममा एउटा मन्दिर निर्माण गर्नलाई मलाई नियुक्त गर्नुभयो । 3 जो उहाँका मानिसहरू हुन् (तिनका परमेश्‍वर तिनीसित होऊन्) तिनीहरू यरूशलेममा जान र यरूशलेममा बास गर्नुहुने इस्राएलका परमप्रभु परमेश्‍वरको निम्ति एउटा मन्दिर बनाउन सक्छन् । 4 राज्यको कुनै पनि क्षेत्रमा भएका मानिसहरू जहाँ त्यस देशका बाँकी बचेकाहरू बसोबास गर्दैछन्, तिनीहरूले यरूशलेममा भएको परमेश्‍वरको मन्दिर बनाउनलाई चाँदी र सुन, धनदौलत र गाईवस्तु अनि स्वेच्छा भेटी दिनुपर्छ ।" 5 तब परमप्रभुको मन्दिर निर्माण गर्न परमेश्‍वरले उत्तेजित पार्नुभएका हरेक मानिस, यहूदा र बेन्यामीनका कुलाका प्रमुख अगुवाहरू र पुजारीहरू अनि लेवीहरू उठे । 6 तिनीहरूका वरिपरि भएकाहरूले तिनीहरूको कामलाई चाँदी, सुनका चिजहरू, धन-सम्पत्ति, गाईवस्तु, मुल्यवान चिजहरू र स्वेच्छा भेटीहरू दिएर सहयोग गरे । 7 नबूकदनेसरले यरूशलेमबाट ल्याएका र आफ्ना देवताहरूको मन्दिरमा राखेका परमप्रभुको मन्‍दिरका चिजहरू पनि फारसका राजा कोरेस निकाले । 8 कोरेसले ती कोषाध्‍यक्ष मित्रेताको हातमा दिए जसले यहूदाका अगुवा शेशबस्सरको निम्ति ती चीजहरूको गणना गरे । 9 ती वस्तुहरूको सङ्ख्या यस प्रकार थिए: सुनका भाँडा तिसवटा, चाँदीका भाँडा एक हजारवटा, उनन्तिसवटा बाटा, 10 सुनका कचौरा तिसवटा, चार सय दसवटा चाँदीका स-साना कचौरा र एक हजारवटा अन्य भाँडाकुँडा । 11 सुन र चाँदीका सामानको जम्मा सङ्ख्या ५,४०० ओटा थियो । निर्वासितहरू बेबिलोनबाट यरूशलेममा फर्कंदा शेशबस्सरले ती सबै कुरा ल्याए ।

2

1 राजा नबूकदनेसरको निर्वासनबाट छुटेर फर्कने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । यी मानिसहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के । 2 तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आए । इस्राएलका मानिसहरूको विवरण यही हो । 3 परोशका परिवारका २,१७२ 4 शपत्‍याहका परिवारका ३७२ 5 आराका परिवारका ७७५ 6 येशूअ र योआबका सन्‍तानबाट पहत-मोआबका परिवारका २,८१२ 7 एलामका परिवारका १,२५४ 8 जत्तूका परिवारका ९४५ 9 जक्‍कैका परिवारका ७६० 10 बानीका परिवारका ६४२ 11 बेबैका परिवारका ६२३ 12 अज्‍गादका परिवारका १,२२२ 13 अदोनीकामका परिवारका ६६६ 14 बिग्‍वैका परिवारका १,०५६ 15 आदीनका परिवारका ४५४ 16 हिजकियाबाट आतेरका परिवारका ९८ 17 बेजैका परिवारका ३२३ 18 योराका परिवारका ११२ 19 हाशूमका मानिसहरू २२३ 20 गिबारका मानिसहरू ९५ 21 बेथलेहेमका मानिसहरू १२३ 22 नतोपाका मानिसहरू ५६ 23 अनातोतका मानिसहरू १२८ 24 अज्‍मावेतका मानिसहरू ४२ 25 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३ 26 रामा र गेबाका मानिसहरू ६२१ 27 मिकमाशका मानिसहरू १२२ 28 बेथेल र ऐका मानिसहरू २२३ 29 नेबोका मानिसहरू ५२ 30 मग्‍बीसका मानिसहरू १५६ 31 अर्को एलामका मानिसहरू १,२५४ 32 हारीमका मानिसहरू ३२० 33 लोद, हादीद र ओनोका मानिसहरू ७२५ 34 यरीहोका मानिसहरू ३४५ 35 सेनाहका मानिसहरू ३,६३० । 36 पुजारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३ 37 इम्‍मेरका परिवारका १,०५२ 38 पशहूरका परिवारका १,२४७ 39 हारीमका परिवारका १,०१७ । 40 लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४ 41 मन्दिरका गायकहरू: आसापका परिवारका १२८ 42 मन्‍दिरका द्वारपालहरू: शल्‍लूम, आतेर, तल्‍मोन, अक्‍कूब, हतीता, शोबैका परिवारहरूका जम्‍मा १३९ । 43 मन्‍दिरका सेवकहरू: सीहा, हसूपा, तब्‍बाओत, 44 केरोस, सीआ, पादोन, 45 लेबाना, हगाबा, अक्‍कूब, 46 हागाबा, शल्‍मै, हानान, 47 गिद्देल, गहरका, रायाह, 48 रसीन, नकोदा, गज्‍जाम, 49 उज्‍जा, पसेह, बेजै, 50 अस्‍ना, मोनिम, नेपुसीम, 51 बक्‍बूक, हकूपा, हर्हुर, 52 बस्‍लूत, महीदा, हर्शा, 53 बर्कोस, सीसरा, तेमह, 54 नसीह, र हतीपाका परिवारहरू । 55 सोलोमनका सेवकहरूका सन्‍तानहरू: सोतै, हस्‍सोपेरेत, पारूद, 56 याला, दर्कोन, गिद्देल, 57 शपत्‍याह, हत्तील, पोकेरेत-हसेबायीम, र आमीका परिवारहरू । 58 मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानहरूको सङ्ख्या जम्‍मा ३९२ थियो । 59 तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना पुर्खाहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनेर बताउन सकेनन्‌ । यी हुन्‌: 60 दलायाह, तोबिया, नकोदाका परिवारहरूका जम्‍मा ६५२, 61 र पुजारीहरूबाट: होबायाहका, हक्‍कोसका र बर्जिल्‍लै (तिनले गिलादी बर्जिल्‍लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरे र तिनीहरूका नाउँ राखे) परिवार । 62 तिनीहरूले आफ्नो वंशावलीका विवरणहरू खोजे, तर ति फेला पार्न सकेनन्, त्यसैले तिनीहरूलाई अशुद्ध ठानेर पुजारीको काममा समावेश गरिएन । 63 त्‍यसैले ऊरीम र तुम्मीमको सेवा गर्ने एक जना पुजारीले अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खानुहुँदैन भनी गभर्नरले तिनीहरूलाई बताए । 64 सम्पूर्ण समुहको जम्‍मा सङ्ख्या ४२,३६० थियो, 65 यसमा तिनीहरूका नोकर-नोकर्नीहरू (७,३३७ जना) र तिनीहरूका मन्दिरका गायक-गायिकाहरू (२००) समावेश थिएन । 66 तिनीहरूका घोडाहरू ७३६ । खच्‍चरहरू २४५ । 67 ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए । 68 जब तिनीहरू यरूशलेममा परमप्रभुको मन्दिरमा गए, मुख्य पुर्खाहरूले मन्दिर निर्माणको लागि स्वेच्छा भेटीहरू चढाए । 69 तिनीहरूले आ-आफ्नो औकातअनुसार कामको लागि रुपियाँ-पैसा दिएः ६१,००० सुनका सिक्‍का, ५,००० चाँदीका सिक्‍का र पुजारीको १०० ओटा अलखाहरू । 70 यसरी पुजारी र लेवीहरू, मानिसहरू, मन्दिरका गायकहरू र द्वारपालहरूसाथै मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू आ-आफ्ना सहरहरूमा बसोबास गरे । इस्राएलका सबै मानिस आ-आफ्ना सहरहरूमा थिए ।

3

1 इस्राएलीहरू आ-आफ्ना सहरमा फर्केको सातौं महिनमा तिनीहरू एक जना मानिसझैं यरूशलेममा भेला भए । 2 योसादाकका छोरा येशूअ र तिनका पुजारी दाजुभाइहरू, शालतिएलका छोरा यरुबाबेल र तिनका दाजुभाइहरू उठे, र परमेश्‍वरका मानिस मोशाको व्यवस्थामा लेखिएझैं होमबलिहरू चढाउन इस्राएलका परमेश्‍वरको वेदी निर्माण गरे । 3 त्यसपछि तिनीहरूमा देशका मानिसहरूको डर परेको भए तापनि तिनीहरूले वेदीलाई त्‍यसको आधारमा स्थापित गरे । तिनीहरूले बिहान र बेलुका परमप्रभुका निम्ति होमबलिहरू चढाए । 4 लेखिएअनुसार तिनीहरूले छाप्रोवासको चाड पनि मनाए, र हरेक दिनको निम्‍ति आदेश भएअनुसार दिनदिनै होमबलिहरू चढाए । 5 यसैगरी, सबै स्वेच्छिक भेटीहरूका साथै परमप्रभुका सबै तोकिएका चाडका लागि दैनिक होमबलिहरू र मासिक होमबलिहरू र भेटीहरू पनि थिए । 6 मन्‍दिरको जग नै नबसालिएको भए तापनि तिनीहरूले सातौं महिनाको पहिलो दिनमा परमप्रभुका निम्ति होमबलिहरू चढाउन थाले । 7 तिनीहरूले ढुङ्गा काट्ने र कारीगरहरूलाई चाँदी दिए, अनि फारसका राजा कोरेसले सीदोन र टुरोसका मानिसहरूलाई अधिकार दिएका हुनाले लेबनानदेखि योप्पासम्म समुद्राबाट उनीहरूले देवदारुका काठहरू ल्याइदिऊन् भनी तिनीहरूले उनीहरूलाई खाना, पानी र तेल दिए । 8 त्‍यसपछि तिनीहरू यरूशलेममा परमेश्‍वरको मन्दिरमा आएको दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल, योसादाकका छोरा येशूअ, बाँकी पुजारीहरू, लेवीहरू र निर्वासनबाट यरूशलेममा फर्केकाहरूले काम गर्न सुरु गरे । तिनीहरूले बिस वर्ष र त्यसभन्दा माथिका लेवीहरूलाई परमप्रभुको मन्दिरको निरीक्षण गर्ने जिम्मा दिए । 9 येशूअ र तिनका छोराहरूसाथै दाजुभाइहरू, कादमीएल र तिनका छोराहरू (जो होदबियाका सन्तानहरू थिए), हेनादादका छोराहरू र तिनीहरूका छोराहरू र दाजुभाइ जो सबै लेवी थिए, तिनीहरू परमप्रभुको मन्दिर निर्माण गर्नेहरूको निरीक्षण गर्न एकजुट भए । 10 जब निर्माणकर्ताहरूले परमप्रभुको मन्दिरको जग बसाले, तब पुजारीहरू आ-आफ्ना पोशाकहरूमा तुरहीहरू लिएर अनि लेवीहरू र आसापका छोराहरू झ्यालीहरू लिएर परमप्रभुको प्रशंसा गर्न खडा भए, जसरी इस्राएलका राजा दाऊदले आज्ञा गरेका थिए । 11 तिनीहरूले परमप्रभुलाई प्रशंसा र धन्यवादको गीत गाए, "उहाँ भलो हुनुहुन्छ ! इस्राएलसित बाँधिएको उहाँको करारको विश्‍वासनियता सदासर्वदा रहन्छ ।” मन्दिरको जग बसालिएको हुनाले सबै मानिसले परमप्रभुको प्रशंसा गर्दै आनन्दले कराए । 12 तर पुजारीहरू, लेवीहरू र मुख्‍य मानिसहरूमध्‍ये धेरै जना जो धेरै वृद्ध थिए र पहिलो मन्दिरलाई देखेका थिए, जब तिनीहरूको आँखाको सामु यो मन्दिरको जग बसालियो, तब तिनीहरू धुरुधुरु रोए । तर खुसी र आनन्‍दको चर्को स्‍वरको आनन्दले कराउने मानिसहरूको संख्‍या धेरै थियो । 13 फलस्वरूप, मानिसहरूले आनन्‍द र खुसीको आवाजलाई रोएका मानिसहरूको आवाजबाट छुट्ट्याउन सकेनन् किनकि मानिसहरू ठुलो आनन्दले कराउँदै थिए, र आवाज टाढा-टाढासम्म सुनिएको थियो ।

4

1 यतिबेला निर्वासनबाट फर्केका मानिसहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको लागि मन्दिर बनाउँदै छन् भनी यहूदा र बेन्यामीनका केही शत्रुहरूले सुने । 2 त्यसैले तिनीहरू यरुबाबेल र परिवारका मुख्य मानिसहरूकहाँ आए । तिनीहरूले उनीहरूलाई भने, "हामीलाई पनि तपाईंहरूसँगै निर्माण गर्न दिनुहोस्, किनकि अश्शूरका राजा एसरहदोनले हामीलाई यहाँ ल्याएदेखि नै तपाईंहरूजस्तै हामी तपाईंका परमेश्‍वरको खोजी गर्छौं, र हामीले उहाँलाई नै बलिदान चढाएका छौं ।" 3 तर यरुबाबेल, येशूअ र परिवारका मुख्य मानिसहरूले भने, "तपाईंहरूले होइन, तर हामीले परमेश्‍वरको मन्दिर बनाउनुपर्छ, किनकि हामीले नै परमप्रभु इस्राएलका परमेश्‍वरको निम्ति मन्दिर बनाउनेछौं, जस्‍तो फारसका राजा कोरेसले आज्ञा गर्नुभएको छ ।” 4 त्यसैले त्यस देशका मानिसहरूले यहूदीहरूका हात कमजोर तुल्याए । तिनीहरूले निर्माणमा यहूदीहरूलाई डर देखाए । 5 यहूदीहरूका योजनालाई निराश तुल्याउन तिनीहरूले सल्लाहकारहरूलाई घुस पनि दिए । तिनीहरूले फारसका राजा कोरेसको शासनकाल र दाराको शासनकालभरि नै यसो गरे । 6 तब अहासूरस (अर्तासास्त) को शासनकालको सुरुमा तिनीहरूले यहूदा र यरूशलेमका बासिन्दाहरूको विरुद्धमा एउटा अभियोग-पत्र लेखे । 7 अर्तासास्तको शासनकालमा विश्‍लाम, मित्रेता, ताबेल र तिनका सहयोगीहरूले अर्तासास्तलाई लेखे ।उक्‍त चिट्ठी आरमेइक भाषामा लेखियो र अनुवाद गरियो । 8 सेनापति रेहूम र सचिव शिम्शैले यरूशलेमको बारेमा अर्तासास्तलाई यसरी चिट्ठी लेखे । 9 रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अर्थात् फारस, एरेक र बेबिलोनका मानिसहरूमाथि अधिकार गर्ने न्यायाधीशहरू र अधिकारीहरू अनि शूशनका मानिसहरू (अर्थात् एलामीहरू) ले एउटा चिट्ठी लेखे, 10 र महान् अनि प्रसिद्ध अशूरवनिपलले देश निकाला गरेर सामरिया र यूफ्रेटिस नदीपारिको प्रान्तमा बसालेका मानिसहरू पनि तिनीहरूसँगै मिले । 11 तिनीहरूले अर्तासास्तलाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो, "हजुरका सेवकहरू, यूफ्रेटिस नदी पारिको प्रान्तका मानिसहरू यसो लेख्छन्: 12 हजुरकहाँबाट आएका यहूदीहरू यरूशलेममा एउटा विद्रोही सहर निर्माण गर्न हाम्रो विरुद्ध आएका छन् भन्‍ने कुरो राजालाई जाहेर होस् । तिनीहरूले पर्खालहरू बनाएर सिद्ध्याएका छन्, र जगहरू मर्मत गर्दैछन् । 13 यो सहर निर्मण भयो रउक्‍त पर्खाल सम्पन्‍न भयो भने, तिनीहरूले कुनै महसुल र कर तिर्नेछैनन्, तर तिनीहरूले राजाहरूलाई हानि पुर्‍याउनेछन् भन्‍ने कुरो राजाका हजुरीमा जाहेर होस् । 14 हामीले दरबारको नून खाएका हुनाले राजालाई कुनै अनादर भएको देख्‍नु हाम्रो लागि निश्‍चय नै उचित हुँदैन । यही कारणले गर्दा हामीले राजालाई जानकारी गराउँदैछौं, 15 जसले गर्दा हजुरले आफ्ना पिताको अभिलेख खोज्‍न र राजाहरूसाथै प्रान्तहरूलाई हानि गर्ने यो एउटा विद्रोही सहर रहेछ भनी पुष्‍टि गर्न सक्‍नुहुन्‍छ । यसले राजाहरू र प्रान्तहरूलाई धेरै समस्या दिएको छ । पहिले देखि नै यो विद्रोहको केन्द्र बनेको छ । यही कारणले गर्दा यो सहर नष्‍ट पारिएको थियो । 16 यो सहर र पर्खाल निर्माण गरियो भने हजुरको लागि यूफ्रेटिस नदीपारिको प्रान्तमा केही बाँकी रहने छैन भनी हामी राजालाई जानकारी गराउँदैछौं ।" 17 त्यसैले राजाले सामरियामा बस्‍ने रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अनि यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्‍ने बाँकी सबैलाई एउटा जवाफ पठाए, "तिमीहरूलाई शान्ति होस् । 18 तिमीहरूले पठाएका चिट्ठी अनुवाद गरियो र मेरो सामु पढियो । 19 त्यसैले मैले छानविन गर्न आदेश दिएँ, रपहिलौक दिनहरूमा तिनीहरू राजाहरूका विरुद्धमा बागी भएका र विद्रोह गरेका रहेछन् भनी पत्ता लगाइयो । 20 शक्तिशाली राजाहरूले यरूशलेममा राज्‍य गरेका रहेछन्, र यूफ्रेटिस नदीपारिको प्रान्तका हरेक कुरामा अधिकार जमाएका रहेछन् । तिनीहरूलाई करहरू र महसुलहरू तिरिएका रहेछन् । 21 अब मैले आज्ञा नदिएसम्म यी मानिहरूले यो सहर निर्माण गर्न रोक्‍नुपर्छ भनी एउटा आज्ञा जारी गर्नू । 22 यसलाई बेवास्ता नगर्न होसियार हुनु । यस खतरालाई बढ्न दिने र राजकीय हितको बढी क्षति हुन किन दिने ? 23 जब राजा अर्तासास्तको आदेश रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरूका सामु पढियो, तिनीहरू तुरुन्‍तै यरूशलेममा गए, र यहूदीहरूलाई जबरदस्तसाथ निर्माण रोक्‍न लगाए । 24 यसरी फारसका राजा दाराको शासनकालको दोस्रो वर्षसम्म यरूशलेममा परमेश्‍वरको मन्दिरको काम रोकियो ।

5

1 तब हाग्गै अगमवक्ता र इद्दोका छोरा जकरिया अगमवक्ताले इस्राएलका परमेश्‍वरको नाउँमा यहूदा र यरूशलेमका यहूदीहरूलाई अगमवाणी बोले । 2 शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअ उठे, र आफ्‍ना सहयोगी अगमवक्ताहरूका साथमा मिलेर यरूशलेममा परमेश्‍वरको मन्दिर बनाउन सुरु गरे । 3 तब यूफ्रेटिस नदीपारिको प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरू आए र तिनीहरूलाई सोधे, "यो मन्दिरको निर्माण गर्ने र पर्खालहरू सम्पन्‍न गर्ने आज्ञा तिमीहरूलाई कसले दियो ?" 4 तिनीहरूले यसो पनि भने, “यो भवनलाई बनाउने मानिसका नाउँहरू के-के हुन् ?" 5 तर परमेश्‍वरको दृष्‍टि यहूदी धर्म-गुरुहरूमाथि थियो, र तिनीहरूका शत्रुहरूले तिनीहरूलाई रोक्‍न सकेनन् । राजाकहाँ एउटा चिट्ठी पठाउने र त्यसको जवाफमा एउटा आदेश आउने काम नहुन्‍जेलसम्म तिनीहरूलाई कसैले रोकेन । 6 यो यूफ्रेटिस नदीपारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिनीहरूका सहयोगीहरूले दारा राजालाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो । 7 तिनीहरूले लेखेर दारा राजालाई पठाएको विवरण यही हो, "हजुरमा अपार शान्ति रहोस् । 8 हामी यहूदामा महान् परमेश्‍वरको मन्दिरमा गयौं भन्‍ने कुरा हजुरलाई जाहेर होस् । ठुला-ठुला ढुङ्गाहरूले यो निर्माण हुँदैछ र पर्खालमा काठहरू राखिंदैछन् । यो काम निकै राम्रोसँग गरिएको छ, र तिनीहरूका हातमा राम्ररी अगाडि बढिरहेको छ । 9 हामीले धर्म-गुरुहरूलाई सोध्‍यौं, 'यो मन्दिर र यी पर्खालहरू बनाउन तिमीहरूलाई कसले आदेश दियो ?' 10 कस-कसले तिनीहरूलाई अगुवाइ गरेका रहेछन् भनी हजुरलाई थाहा होस् भनेर हामीले तिनीहरूका नाउँ पनि सोध्‍यौं । 11 तिनीहरूले जवाफ दिए र भने, 'हामी स्वर्ग र पृथ्वीका परमेश्‍वरका सेवकहरू हौं, र हामीले यस मन्दिरलाई पुनर्निर्माण गरिरहेका छौं जसलाई धेरै वर्ष पहिले इस्राएलका महान् राजाले निर्माण गरेका र पुरा गरेका थिए । 12 तापनि जब हाम्रा पुर्खाहरूले स्वर्गका परमेश्‍वरलाई रिस उठाए, तब उहाँले तिनीहरूलाई बेबिलोनका कल्दी राजा नबूकदनेसरको हातमा सुम्‍पनुभयो जसले यस मन्दिरलाई नष्‍ट पारे र मानिसहरूलाई बेबिलोनमा कैदमा लगे । 13 तापनि कोरेस बेबिलोनका राजा बन्‍नुभएको पहिलो वर्षमा कोरेसले परमेश्‍वरको मन्दिर पुनर्निर्माण गर्ने आदेश जारी गर्नुभयो । 14 नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनको मन्दिरमा लगेका परमेश्‍वरको मन्दिरका सुन र चाँदीका वस्तुहरू पनि राजा कोरेसले फिर्ता गरिदिए । आफूले गभर्नर बनाएका शेशबस्सरलाई उहाँले यी थोकहरू दिनुभयो । 15 राजाले तिनलाई भन्‍नुभयो, "यी थोकहरू लैजाऊ । जाऊ र ति यरूशलेमको मन्दिरमा राख । त्यहाँ परमेश्‍वरको मन्दिर पुनर्निमाण होस् ।" 16 तब यिनै शेशबस्सर आए र यरूशलेममा परमेश्‍वरको मन्दिरको जग बसाले । अनि अहिले यो निर्माण हुँदैछ, तर अझै सकिएको छैन ।' 17 अब राजाको हजुरीमा असल लागेमा, राजा कोरेसले यरूशलेममा परमेश्‍वरको मन्दिर बनाउन आज्ञा दिनुभएको थियो कि थिएन भनी बेबिलोनको अभिलेख संग्रहमा अनुसन्‍धान होस् । त्‍यसपछि राजाबाट हामीलाई आफ्नो निर्णय पठाउने कष्‍ट होस् ।”

6

1 त्यसैले दारा राजाले बेबिलोनको अभिलेख संग्रहमा खोजतलाश गर्ने आज्ञा दिए । 2 मादी प्रान्तको एक्बातानको किल्लाबन्दी गरिएको सहरमा एउटा मुट्ठो भेट्टाइयो । त्यसको विवरण यस्तो थियोः 3 "राजा कोरेसको पहिलो वर्षमा, कोरेसले यरूशलेममा भएको परमेश्‍वरको मन्दिरको बारेमा एउटा आदेश जारी गर्नुभयो, 'बलिदानको स्थानको रूपमा एउटा भवन पुनर्निर्माण गरियोस्, यसका जगहरू बसालिऊन्, यसको उचाइ साठी हात र चौडाइ साठी हात होस्, 4 चोकमा ठुला ढुङ्गाका छपनी तिन लहर र फल्‍याकका छपनी एक लहर होस्, अनि राजदरबाट यसको खर्च तिरियोस् । 5 अब नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनमा ल्याएका परमेश्‍वरको मन्दिरका सुन र चाँदीका थोकहरू लिएर ल्‍याऊ र तिनलाई यरूशलेमकै मन्दिरमा फिर्ता पठाऊ । तिमीहरूले तिनलाई परमेश्‍वरको मन्दिरमा राख्‍नुपर्छ ।' 6 अब यूफ्रेटिस नदीपारिकप प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरू अलग बसून् । 7 परमेश्‍वरको यस मन्दिरको काममा बाधा नदिनू । गभर्नर र यहूदी धर्म-गुरुहरूले त्यस ठाउँमा परमेश्‍वरको मन्दिर बनाउनेछन् । 8 परमेश्‍वरको यस मन्दिर बनाउने यी यहूदी धर्म-गुरुहरूका लागि तिमीहरूले यसो गर्नू भनी म तिमीहरूलाई हुकुम दिंदैछुः तिनीहरूले आफ्नो काम रोक्‍न नपरोस् भनेर यूफ्रेटिस नदी पारिको राजकीय कोषबाट रुपियाँ-पैसा दिनू । 9 तिनीहरूलाई आवश्यक हरेक कुरो अर्थात् स्वर्गका परमेश्‍वरको निम्ति होमबलि चढाउन साँढेहरू, भेडाहरू वा थुमाहरू र यरूशलेमका पुजारीहरूको आज्ञामुताबिक अन्‍न, नून, दाखमद्य वा तेल दिनहुँ तिनीहरूलाई नबिर्सी दिनू । 10 यसै गर्नू ताकि तिनीहरूले स्वर्गका परमेश्‍वरको निम्ति भेटी ल्याऊन् र म राजा अनि मेरा छोराहरूका निम्ति प्रार्थना गरून् । 11 कसैले यस आदेशलाई उल्लङ्घन गर्‍यो भने त्यसको घरबाट एउटा खम्बा उखेलियोस् र त्यसलाई त्यही खम्बामा टाँगियोस् भनी म आज्ञा दिंदैछु ।यो कारणले त्यसपछि त्यसको घरलाई भग्‍नावशेषको थुप्रोमा परिणत गरियोस् । 12 त्यस ठाउँमा आफ्नो नाउँ राख्‍नुहुने परमेश्‍वरले यस आदेशलाई बद्लन खोज्ने वा यरूशलेममा परमेश्‍वरको यस मन्दिरलाई नष्‍ट गर्न खोज्ने कुनै पनि राजा वा मानिसलाई पदच्‍यूत गरून् । म दाराले यो आदेश दिंदैछु । मेहनतसाथ यसलाई कार्यान्वयन गरियोस् ।” 13 तब राजा दाराद्वारा पठाइएको यस आदेशको कारणले यूफ्रेटिस नदीपारिको प्रान्तका गभर्नर तत्तनै, शत्तर-बोज्नै र तिनका सहयोगीहरूले राजा दाराले आज्ञा गरेअनुसार हरेक कुरा गरे । 14 यसरी यहूदी धर्म-गुरुहरूले हाग्गै अगमवक्ता र इद्दोका छोरा जकरियाको सुझाव मानेर निर्माण गरे र उन्‍नति गरे । इस्राएलका परमेश्‍वरको आज्ञा र फारसका राजाहरू कोरेस, दारा र अर्तासास्तका आदेशअनुसार तिनीहरूले आफ्‍नो भवन बनाएर सिद्ध्याए । 15 राजा दाराको शासनकालको छैटौं वर्षको अदार महिनाको तेस्रो दिनमा मन्दिरको काम पुरा भयो । 16 इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरू र निर्वासनबाट फर्केर आएकाहरूले आनन्दसाथ परमेश्‍वरको यस मन्दिरको समर्पण-उत्सव मनाए । 17 परमेश्‍वरको मन्दिरको समर्पणको निम्ति तिनीहरूले एक सयवटा साँढे, एक सयवटा भेडा र चार सयवटा थुमा बलि चढाए । इस्राएलका एक-एक कुलको लागि सारा इस्राएलीको लागि पापबलिको रूपमा बाह्रवटा बोका पनि चढाइयो । 18 मोशाको पुस्तकमा लेखिएबमोजिम तिनीहरूले पुजारीहरू र लेवीहरूलाई यरूशलेममा परमेश्‍वरको सेवाको लागि तिनीहरूका विभाजनअनुसार नियुक्त पनि गरे । 19 यसरी निर्वासनबाट फर्केकाहरूले पहिलो महिनाको चौधौं दिनमा निस्तार-चाड मनाए । 20 पुजारीहरू र लेवीहरूले आफूलाई शुद्ध पारे, र आफूलगायत निर्वासनबाट फर्केकाहरू सबैका लागि निस्तारको बलि चढाए । 21 निस्तारको मासु खाने इस्राएलका मानिसहरूमा निर्वासनबाट फर्केका र देशका मानिसहरूको अशुद्धताबाट आफूलाई अलग राखेका अनि इस्राएलका परमप्रभु परमेश्‍वरको अनुसरण गरेकाहरू थिए । 22 तिनीहरूले सात दिनसम्म हर्षका साथ अखमिरी रोटीको चाड मनाए, किनकि परमप्रभुले तिनीहरूमा आनन्द ल्याउनुभएको थियो, र इस्राएलका परमेश्‍वरको मन्दिर अर्थात् उहाँको घरको काममा तिनीहरूका हात बलियो पार्न अश्शूरका राजाको ह्रदय फर्काइदिनुभएको थियो ।

7

1 यसपछि फारसका राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट एज्रा आए । एज्राका पुर्खाहरू यिनै थिएः सरायाह, अजर्याह, हिल्कियाह, 2 शल्लूम, सादोक, अहीतूब, 3 अमर्याह, अजर्याह, मरायोत, 4 जरयाह, उज्‍जी, बुक्‍की, 5 अबीशू, पीनहास, एलाजार । एलाजार प्रधान पुजारी हारूनका छोरा थिए । 6 एज्रा बेबिलोनबाट आए, र इस्राएलका परमप्रभु परमेश्‍वरले दिनुभएका मोशाको व्यवस्थामा तिनी निपुण अध्यापक थिए । परमप्रभुको हात तिनीमाथि भएको हुनाले तिनले मागेका हरेक कुरा राजाले दिए । 7 राजा अर्तासास्तको सातौं वर्षमा इस्राएलका केही सन्तानहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका गायकहरू, द्वारपालहरू र मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू पनि यरूशलेममा गए । 8 तिनी त्‍यही वर्षको पाँचौं महिनामा यरूशलेममा आइपुगे । 9 पहिलो महिनाको पहिलो दिनमा तिनी बेबिलोनबाट हिंडेका थिए । परमेश्‍वरको असल हात तिनीमाथि रहेको हुनाले तिनी पाँचौं महिनाको पहिलो दिनमा यरूशलेममा आइपुगे । 10 परमप्रभुको व्यवस्थाका विधिहरू र आज्ञाहरू अध्ययन गर्न, पालन गर्न र सिकाउन एज्राले आफ्नो ह्रदय समर्पित गरेका थिए । 11 राजा अर्तासास्तले इस्राएलका लागि परमप्रभुका विधिहरू र आज्ञाहरू सिकाउन पुजारी र अध्यापक एज्रालाई दिएको आदेशको प्रतिलिपी यही हो, 12 "राजाहरूका राजा अर्तासास्तबाट स्वर्गका परमेश्‍वरको व्यवस्थाका अध्यापक पुजारी एज्रालाई, 13 इस्राएलबाट आएका मेरो राज्यमा भएका कुनै पनि व्‍यक्‍ति आफ्‍ना पुजारी र लेवीहरूका साथमा यरूशलेममा जाने इच्छा गर्छ भने त्यो तिमीसँगै जान सक्छ भनी म हुकुम दिंदैछु। 14 तिम्रो हातमा भएको परमेश्‍वरको व्यवस्थामुताबिक यहूदा र यरूशलेमको बारेमा सोधखोज गर्न म राजा र मेरा सात जना सल्लाहकारले तिमीलाई पठाएका छौं । 15 यरूशलेममा बास गर्नुहुने इस्राएलका परमेश्‍वरलाई तिनीहरूले सित्तैंमा चढाएका चाँदी र सुन लिएर जानू । 16 बेबिलोनको प्रदेशभरि तिमीले लैजान सक्‍ने जति चाँदी र सुनसाथै यरूशलेममा आफ्‍ना परमेश्‍वरका मन्दिरको निम्ति मानिसहरू र पुजारीहरूले खुसीसाथ जुन भेटीहरू दिन्छन्, ती पनि तिमीले लैजानू । 17 त्यसैले यस रकमले प्रशस्त मात्रामा गोरुहरू, भेडाहरू, थुमाहरू, अन्‍नबलि र अर्घबलि किन्‍नू । यरूशलेममा तिम्रा परमेश्‍वरको मन्दिरको वेदीमा ति चढाउनू । 18 तिम्रा परमेश्‍वरलाई खुसी तुल्याउन तिमी र तिम्रा दाजुभाइलाई असल लागेअनुसार बाँकी चाँदी र सुनको प्रयोग गर्नू । 19 तिमीलाई सित्तैंमा दिइएका चिजहरू यरूशलेममा तिम्रा परमेश्‍वरको मन्दिरको सेवाको लागि उहाँको सामु राख्‍नू । 20 तिम्रा परमेश्‍वरको मन्दिरको लागि आवश्यक कुनै पनि थोक किन्‍नलाई मेरो कोषबाट पैसा लिनू । 21 म अर्तासास्तले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै कोषाध्यक्ष यो आदेश दिन्छु, कि एज्राले तिमीहरूबाट मागेका कुनै पनि थोक प्रचुर मात्रामा दिनू, 22 अर्थात् एक सय तोडा चाँदी, एक सय कोर गहुँ, एक सय बाथ दाखमद्य, एक सय बाथ तेल र नूनचाहिं असिमित रूपमा दिनू । 23 स्वर्गका परमेश्‍वरबाट आउने कुनै पनि आज्ञा आउँछ भने उहाँको मन्दिरको लागि भक्तिसहित पुरा गर्नू । किनकि म र मेरा छोराहरूको राज्यमाथि उहाँको क्रोध पर्न किन दिनू? 24 पुजारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू वा मन्दिरको सेवामा नियुक्त गरिएका मानिसहरू र परमेश्‍वरको मन्दिरका सेवकहरूमा तिमीहरूले कुनै महसुल वा कर नलगाउनु भनेर हामीले तिनीहरूलाई जानकारी गराउँदैछौं । 25 एज्रा, तिमीलाई परमेश्‍वरले दिनुभएको बुद्धिले तिमीले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै मानिसको न्याय गर्न र तिम्रो परमेश्‍वरको व्यवस्था जान्‍ने सबैको सेवा गर्न न्यायकर्ताहरू र अधिकारीहरू नियुक्त गर्नू । व्यवस्था नजान्‍नेहरूलाई पनि तिमीले सिकाउनुपर्छ । 26 परमेश्‍वरको व्यवस्था वा राजाको व्यवस्थालाई पूर्ण रूपमा पालन नगर्ने जोकसैलाई मृत्युदण्ड, देश निकाला, तिनीहरूका थोकहरू जफत वा कैद गरेर दण्ड दिनू । 27 हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वरको स्तुति होस् जसले यरूशलेममा भएको परमप्रभुको मन्दिरको महिमा गर्न राजाको ह्रदयमा यी सबै कुरा हाल्‍नुभयो, 28 अनि राजा, तिनका सल्लाहाकारहरू र तिनका सबै शक्तिशाली अधिकारीहरूका सामु मलाई उहाँको करारको विश्‍वास्‍तता देखाउनुभयो । म परमप्रभु मेरा परमेश्‍वरको हातद्वारा बलियो बनाइएको छु, र मैले आफूसित जानलाई इस्राएलका अगुवाहरूलाई भेला गरें ।

8

1 राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट मसितै आएका परिवारका अगुवाहरू यिनै हुन्: 2 पीनहासका परिवारका– गेर्शोम । ईतामारका परिवारका– दानिएल । दाऊदका परिवारका– शकन्‍याहका छोरा हत्तूश, 3 परोशका परिवारका– जकरिया र तिनीसँग दर्ता भएका १५० पुरुष जसको विवरण तिनको वंशावलीमा लेखिएको छ । 4 पहत-मोआबका परिवारका– जरयाहका छोरा एल्‍यहोएनै र तिनीसँग २०० पुरुष थिए । 5 जत्तूका परिवारका– बेन यहासेल र तिनीसँग ३०० पुरुष थिए । 6 आदीनका परिवारका– जोनाथनका छोरा एबेद र तिनीसँग ५० पुरुष थिए । 7 एलामका परिवारका– अतल्‍याहका छोरा यशयाह र तिनीसँग ७० पुरुष थिए । 8 शपत्‍याहका परिवारका– मिखाएलका छोरा जबदियाह र तिनीसँग ८० पुरुष थिए । 9 योआबका परिवारका– यहीएलका छोरा ओबदिया र तिनीसँग २१८ पुरुष थिए । 10 बानीका परिवारका– योसिपियाका छोरा शलोमीत र तिनीसँग १६० पुरुष थिए । 11 बेबैका परिवारका– बेबैका छोरा जकरिया, र तिनीसँग २८ पुरुष थिए । 12 अज्‍गादका परिवारका– हक्‍कातानका छोरा योहानान र तिनीसँग ११० पुरुष थिए । 13 अदोनीकामका परिवारका– पछि आएका एलीपेलेत, यीएल र शमायाह, र तिनीहरूसँग ६० पुरुष थिए । 14 बिग्‍वैको परिवारका– उत्तै र जक्‍कूर, र तिनीहरूसँग ७० पुरुष थिए । 15 मैले यात्रुहरूलाई अहावातिर बग्‍ने नहरमा जम्मा गरें, र हामीले त्यहाँ तिन दिनसम्म छाउनी हाल्‍यौं । मैले मानिसहरू र पुजारीहरूको जाँच गरें तर त्यहाँ लेवीका सन्तानहरू कोही पनि पाइनँ । 16 त्यसैले एलीएजर, अरीएल, शमायाह, एल्‍नातान, यारीब र एल्‍नातान र नातान, जकरिया र मशुल्‍लाम जो अगुवाहरू थिए, अनि योयारीब र एल्‍नातान जो शिक्षकहरू थिए, तिनीहरूलाई मैले बोलाएँ । 17 त्यसपछि मैले तिनीहरूलाई कासिपियाका अगुवा इद्दोकहाँ पठाएँ । इद्दो र तिनका आफन्तहरू, कासिपियामा बसिरहेका मन्दिरका सेवकहरूकहाँ गएर हामीकहाँ परमेश्‍वरको मन्दिरका लागि सेवकहरू पठाइदिनुहोस् भनी तिनीहरूलाई भन्‍न लगाएँ । 18 त्यसैले हाम्रा परमेश्‍वरको भलो गर्ने हातद्वारा तिनीहरूले बुद्धिमान् मानिस शरेबियाहलाई हामीकहाँ पठाइदिए । तिनी इस्राएलका छोरा लेवीका छोरा महलीका परिवारका थिए । तिनी अठार छोरा र दाजुभाइसँगै आए । 19 तिनीसँगै हशब्याह पनि आए । त्यहाँ मरारीका छोराहरूमध्येका एक अर्थात् यशयाह र तिनका दाजुभाइ र तिनीहरूका छोराहरू गरी जम्मा बिस जना पुरुष थिए । 20 दाऊद र तिनका अधिकारीहरूले लेवीहरूलाई सहायता गर्न मन्दिरमा सेवा गर्ने यस्ता सेवकहरूको नियुक्त गरेका, २२० जना त्यस्ता मानिसहरूको पनि नाउँ दर्ता गरिए । 21 त्यसपछि परमप्रभुको सामु आफैलाई विनम्र तुल्याउन, र हामी, हाम्रा बालबच्‍चा अनि हाम्रा सबै सम्पत्तिको लागि सोझो मार्गको खोजी गर्न मैले अहावा नहरमा उपवासको घोषणा गरें । 22 बाटोमा शत्रुहरूबाट हाम्रो रक्षा गर्नका लागि राजासँग सेना वा घोडचढीहरू माग्‍न म लजाएँ किनकि हामीले राजालाई भनेका थियौं, 'हाम्रा परमेश्‍वरको खोजी गर्ने सबैमाथि सदाको लागि उहाँको हात रहेको हुन्छ, तर उहाँलाई त्याग्‍नेहरू सबैमाथि उहाँको शक्ति र क्रोध पर्छ ।' 23 त्यसैले यस विषयमा हामीले उपवास बस्‍यौं, र परमेश्‍वरको खोजी गर्‍यौं, अनि हामीले उहाँलाई बिन्ती चढायौं । 24 त्यसपछि मैले पुजारीय अधिकारीहरूबाट बाह्र जना मानिस छानें: शरेबियाह र जशब्याह अनि तिनीहरूका दस जना दाजुभाइ थिए । 25 राजा, तिनका सल्लाहकारहरू र अधिकारीहरू अनि सारा इस्राएलीले परमेश्‍वरको मन्दिरको लागि सित्तैंमा दिएका चाँदी, सुन, चिजहरू र भेटीहरू मैले तिनीहरूका निम्ति तौलें । 26 मैले तिनीहरूका हातमा बाइस हजार किलो चाँदी, चौतिस सय किलो चाँदीका वस्तुहरू, चौतिस सय किलोग्राम सुन, 27 आठ किलो सुनका बाटाहरू र सुनजस्तै बहुमूल्य काँसाका दुईवटा भाँडा दिएँ । 28 तब मैले तिनीहरूलाई भनें, "तिमीहरू र यी वस्तुहरू परमप्रभुका निम्ति समर्पण गरिएका छन् । चाँदी र सुन तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरको निम्ति स्वेच्छिक भेटी हुन् । 29 यरूशलेममा परमेश्‍वरको मन्दिरका कोठाहरूमा भएका पुजारीका अधिकारीहरू, लेवीहरू र परिवारका अगुवाहरूको सामु यी जोखेर नदिएसम्म तिमीहरूले यिनको रेखदेख गरी सुरक्षित राख्‍नू ।" 30 यरूशलेममा हाम्रा परमेश्‍वरको मन्दिरमा लैजानलाई तौलिएका ति चाँदी, सुन र वस्तुहरू पुजारीहरू र लेवीहरूले जिम्‍मा लिएर राखे । 31 पहिलो महिनाको बाह्रौं दिनमा हामी अहावा नहरबाट यरूशलेम प्रस्थान गर्‍यौं । हामीमाथि हाम्रा परमेश्‍वरको हात थियो । उहाँले हामीलाई शत्रु र बाटोमा लुकेर बसेका लुटेराहरूको हातबाट सुरक्षा दिनुभयो । 32 यसरी हामी यरूशलेम प्रवेश गर्‍यौं, र त्यहाँ तिन दिन बस्यौं। 33 तब चौथो दिनमा चाँदी, सुन र वस्तुहरू तौलेर हाम्रा परमेश्‍वरको घरमा उरियाह पुजारीका छोरा मरेमोत र तिनको साथमा भएका पीनहासका छोरा एलाजार, यशूअका छोरा योजाबाद, लेवी बिन्‍नूईका छोरा नोअदिया हातमा जिम्मा लगाइयो । 34 हरेक कुराको सङ्ख्या र तौल जाँच गरियो । त्यस बेला सबै कुराको तौल लेखेर राखियो । 35 निर्वासन अर्थात् कैदबाट फर्केर आएकाहरूले इस्राएलका परमेश्‍वरको निम्ति होमबलिहरू चढाए । तिनीहरूले सारा इस्राएलीका निम्ति बाह्रवटा साँढे, पापबलिको रूपमा छयानब्बेवटा भेडा, सतहत्तरवटा थुमा र बाह्रवटा बोका चढाए । यी सबै परमप्रभुका निम्ति होमबलि थिए । 36 तब तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्‍ने राजाका उच्‍च अधिकारीहरू र गभर्नरहरूलाई राजाको आदेश दिए, अनि तिनीहरूले मानिसहरू र परमेश्‍वरको मन्दिरलाई मदत गरे ।

9

1 जब यी कुराहरू भए तब अधिकारीहरू मकहाँ आए र भने, "इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरूले अन्य देशमा बस्‍ने जातिहरू अर्थात् कनानी, हित्ती, परिज्‍जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री र एमोरीहरू अनि तिनीहरूका घिनलाग्दा कुराहरूदेखि आफैलाई अलग गरेका छैनन् । 2 किनकि तिनीहरूले उनीहरूका केही छोराछोरीसित विहेवा गरेका छन् र अरू देशका जातिहरूसित पवित्र जातिलाई मिसाएका छन्, अनि अधिकारीहरू र अगुवाहरूले नै पहिले यस्तो अविश्‍वासको काम गरेका छन् ।" 3 जब मैले यो सुनें तब मैले मेरो लुगा र खास्टो च्यातें अनि मेरो शिरको कपाल र दाह्री उखेलें र दुःखित भई बसें । 4 साँझको बलिदान चढाउने समयसम्म नै म बसिरहँदा यस अविश्‍वासयोग्य कामको बारेमा इस्राएलका परमेश्‍वरको वचनदेखि डराउने सबै जना मकहाँ भेला भए । 5 तर साँझको बलिदानको समयमा आफ्‍नो च्यातिएकै लुगा र खास्टोमा विनम्र भएकै अवस्थामा म उठें, र घुँडा टेकें अनि परमप्रभु मेरा परमेश्‍वर हुनुभएतिर आफ्ना हात फैलाएँ । 6 मैले भने, "हे मेरा परमेश्‍वर, मेरो अनुहार तपाईंकहाँ उठाउन म लज्‍जित र अयोग्‍य भएको छु, किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन्, र हाम्रा दोष स्वर्गसम्मै पुगेका छन् । 7 हाम्रा पुर्खाहरूको समयदेखि अहिलेसम्म हामी ठुलो दोषमा छौं । हाम्रा अपराधहरूको कारणले हामी, हाम्रा राजाहरू, हाम्रा पुजारीहरूलाई यस संसारका राजाहरूका हातमा, तरवारको धारमा, निर्वासनमा, लुट र बेइज्‍जतको लागि सुम्पिदियो जस्तो आज हामी छौं । 8 तरै पनि अब परमप्रभु हाम्रा परमेश्‍वरले केही जीवित रहेकाहरूलाई हामीकहाँ दिएर र आफ्नो पवित्रस्थानमा सुरक्षित ठाउँ दिएर हामीलाई छोटो समयको लागि भए पनि कृपा देखाउनुभएको छ । हाम्रा आँखा खोल्न र हाम्रो दासत्वमा हामीलाई थोरै राहत दिन परमेश्‍वरले यसो गर्नुभयो । 9 हामी दासहरू हौं, तर हाम्रा परमेश्‍वरले हामीलाई बिर्सनुभएको छैन, तर हामीसम्म करारको विश्‍वासनीयता फैलाउनुभएको छ । हामीले हाम्रा परमेश्‍वरको मन्दिर पुनर्निर्माण गर्न सकौं र यसका भग्‍नावशेषहरूलाई उठाउन सकौं भनेर हामीलाई नयाँ शक्ति प्रदान गर्न उहाँले फारसका राजाको दृष्‍टिमा यसो गर्नुभएको छ । उहाँले हामीलाई यहूदा र यरूशलेममा सुरक्षाको पर्खाल दिनलाई उहाँले यसो गर्नुभयो । 10 तर अब हे हाम्रा परमेश्‍वर, यसपछि हामी के भन्‍न सक्‍छौं र ? हामीले तपाईंका आज्ञाहरू भुलेका छौं । 11 ती आज्ञाहरू जुन तपाईंले आफ्ना सेवक अगमवक्ताहरूलाई तपाईंले भनेर दिनुभयो, "तिमीहरू जुन देश अधिकार गर्न लाग्दैछौ, त्यो अशुद्ध देश हो । त्यस देशका जातिहरूका घिनलाग्दा कुराहरूले यो देश दूषित भएको छ । तिनीहरूले यसको एउटा कुनादेखि अर्को कुनासम्म अशुद्धताले भरेका छन् । 12 त्यसैले अब आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू । तिनीहरूका छोरीहरू आफ्‍ना छोराहरूका लागि नलिनू, र तिनीहरूका जारी शान्ति र भलाइको खोजी नगर्नू, जसको कारणले तिमीहरू बलिया हुनेछौ, र त्यस देशका असल थोकहरूको उपभोग गर्नेछौ अनि तिमीहरूले आफ्ना छोराछोरीका लागि सदाको लागि यो देश अधिकार गर्नेछौ ।" 13 तापनि हाम्रो दुष्‍ट अभ्यास र हाम्रो ठुलो दोषको कारणले हामीमाथि हरेक कुरा आइपरे पनि तपाईं हाम्रा परमेश्‍वरले हामीलाई हाम्रा अपराधअनुसार कम दण्ड दिनुभएको छ र हामीलाई बाँचेकाहरू छाड्नुभएको छ, 14 हामीले फेरि तपाईंका आज्ञाहरू भङ्ग गर्न र यी घिनलाग्दा जातिहरूसित मिश्रित विवाह गर्न हुन्‍छ र ? के तपाईं क्रोधित भएर कोही पनि नरहने गरी हामीलाई निमिट्‍यान्‍न पार्नुहुन्‍न र ? 15 हे इस्राएलका परमप्रभु परमेश्‍वर, तपाईं धर्मी हुनुहुन्छ, किनकि आजको दिनसम्म हामी केही बाँचेकाहरू अझै छौं । हाम्रो दोषको कारणले कोही पनि तपाईंको सामु खडा हुन नसक्‍ने भए तापनि हामी हाम्रा दोषमा तपाईंको सामु छौं ।

10

1 एज्राले प्रार्थना गर्दा र पाप स्वीकार गर्द तिनी रोए र परमेश्‍वरको मन्दिरको सामु घोप्टो परे । इस्राएली पुरुष, स्‍त्री र बालबलिकाको एउटा ठुलो भेला तिनीकहाँ जम्मा भए किनकि मानिसहरू धुरुधुरु रुँदै थिए । 2 एलामका परिवारका यहीएलका छोरा शकन्याहले एज्रालाई भने, "हामी हाम्रा परमेश्‍वरप्रति अविश्‍वासी भएका छौं, र हामीले अन्य देशका विदेशी स्‍त्रीहरूसित विवाह गरेका छौं । तर यसको बाबजुत पनि इस्राएलको लागि अझै आशा छ । 3 त्यसैले अब प्रभुका निर्देशनहरू र हाम्रा परमेश्‍वरका आज्ञाहरूदेखि डराउनेहरूका निर्देशनहरूअनुसार सबै स्‍त्री र तिनीहरूका छोराछोरीलाई पठाउन हाम्रा परमेश्‍वरसित करार बाँधौं, र यो काम व्यवस्थाअनुसार गरियोस् । 4 उठ्नुहोस्, किनकि यो काम तपाईंले गर्नुपर्ने हुन्छ र हामी तपाईंसित छौं । बलियो हुनुहोस् र यो काम गर्नुहोस् ।" 5 त्यसैले एज्रा उठे, र पुजारीका अधिकारीहरू, लेवीहरू र सारा इस्राएलीहरूलाई यसरी नै प्रतिज्ञा गर्न लगाए । तिनीहरू सबैले गम्भीर शपथ खाए । 6 तब एज्रा परमप्रभुको मन्‍दिरको सामुबाट उठेर एल्यासीबका छोरा येहोहानानको कोठामा गए । तिनले कुनै रोटी खाएनन्, न त पानी पिए किनकि तिनी निर्वासनबाट फर्केकाहरूको विश्‍वासत्यागको लागि शोक गर्दै थिए । 7 तिनीहरूले निर्वासनबाट फर्केर यहूदा र यरूशलेममा आएर बसेका सबै मानिसलाई यरूशलेममा भेला हुन समाचार पठाए । 8 अधिकारीहरू र धर्म-गुरुहरूका निर्देशनमुताबिक तिन दिनमा नआउने कुनै पनि व्यक्तिको सारा सम्पत्ति जफत गरिने र निर्वासनबाट फर्केर आएका मानिसहरूको ठुलो सभाबाट बहिष्कार गरिने भयो । 9 त्यसैले यहूदा र बेन्यामीनका सारा मानिस तिन दिनमा यरूशलेममा भेला भए । यो नवौं महिनामा र उक्‍त महिनाको बाह्रौं दिनमा भएको थियो । सारा मानिस परमेश्‍वरको मन्दिरको सामुन्‍ने चोकमा खडा भए, र वचन र वृष्‍टिको कारणले थरथर काँपे । 10 पुजारी एज्रा खडा भए र भने, "तिमीहरू आफैले अपराध गरेका छौ । इस्राएलको पापलाई बढाउलाई तिमीहरू विदेशी स्‍त्रीहरूसित बस्यौ । 11 तर अब आफ्‍ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई प्रशंसा देओ, र उहाँको इच्छाअनुसार गर । यस देशका मानिसहरू र विदेशी स्‍त्रीहरूबाट अलग रहो ।” 12 सारा समुदायले ठुलो सोरमा जवाफ दिए, "तपाईंले भन्‍नुभएझैं हामी गर्नेछौं । 13 यद्यपि, मानिसहरू धेरै छन्, र यो पानी पर्ने समय हो । बाहिर खडा हुन हामीसित ताकत छैन, र यो केवल एक वा दुई दिनको काम होइन, किनकि हामीले यस विषयमा घोर अपराध गरेका छौं । 14 त्यसैले हाम्रा अधिकारीहरूले सारा समुदायको प्रतिनिधित्व गरून् । हामीबाट हाम्रा परमेश्‍वरको क्रोध नहटेसम्म हाम्रा सहरहरूमा विदेशी स्‍त्रीहरूलाई बस्‍न दिएकाहरू सहरका सबै धर्म-गुरु र सहरका न्यायकर्ताहरूद्वारा तोकिएको समयमा आऊन् ।" 15 असाहेलका छोरा जोनाथन र तिक्भाका छोरा याजयाहले यसको विरोध गरे, र मशुल्लाम र लेवी सब्बतैले तिनीहरूलाई समर्थन गरे । 16 यसैले निर्वासनबाट फर्केर आएकाहरूले सुझावअनुसार गरे । पुजारी एज्राले नाउँ दर्ता भएअनुसार आ-आफ्नो परिवारका अगुवाहरूको छनोट गरे, र तिनीहरूले दसौं महिनाको पहिलो दिनसम्म यस विषयमा जाँच गरे । 17 पहिलो महिनाको पहिलो दिनसम्ममा तिनीहरूले कुन-कुन मानिसहरू विदेशी स्‍त्रीहरूसित बसेका थिए भनी पत्ता लगाए । 18 विदेशी स्‍त्रीहरूलाई विवाह गर्ने पुजारी परिवारहरूका यिनै हुन्: योसादाकका छोरा येशूअ र तिनका दाजुभाइका: मासेयाह, एलीएजर, यारीब र गदल्‍याह थिए । 19 त्यसैले तिनीहरूले आ-आफ्‍ना पत्‍नीहरूलाई त्‍यागिदिने निधो गरे । तिनीहरू दोषी भएका हुनाले तिनीहरूले दोषबलिको रूपमा आफ्‍ना बगालबाट एउटा भेडा पनि ल्‍याए । 20 इम्‍मेरका परिवारका: हनानी र जबदियाह । 21 हारीमका परिवारका: मासेयाह, एलिया, शमायाह, यहीएल र उज्‍जियाह । 22 पशहूरका परिवारका: एल्‍योएनै, मासेयाह, इश्‍माएल, नतनेल, योजाबाद र एलासा । 23 लेवीहरूमा: योजाबाद, शिमी, केलायाह अर्थात्‌ कलीता, पतहियाह, यहूदा र एलीएजर । 24 गायकहरूमा: एल्‍यासीब । द्वारपालहरूमा: शल्‍लूम, तेलेम र ऊरी । 25 अनि अरू इस्राएलीहरूमा- परोशका परिवारका: रम्‍याह, यिज्‍याह, मल्‍कियाह, मियामीन, एलाजार, मल्‍कियाह र बनायाह । 26 एलामका परिवारका: मत्तन्‍याह, जकरिया, यहीएल, अब्‍दी, यरेमोत र एलिया । 27 जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा । 28 बेबैका परिवारका: येहोहानान, हनन्‍याह, जब्‍बै र अत्‍लै । 29 बानीका परिवारका: मशुल्‍लाम, मल्‍लूक, अदायाह, याशूब, शाल र यरेमोत । 30 पहत-मोआबका परिवारका: अदना, केलाल, बनायाह, मासेयाह, मत्तन्‍याह, बजलेल, बिन्‍नूई र मनश्‍शे । 31 हारीमका परिवारका: एलीएजर, यिशियाह, मल्‍कियाह, शमायाह, शिमेओन, 32 बेन्‍यामीन, मल्‍लूक र शमरयाह । 33 हाशूमका परिवारका: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्‍शे र शिमी । 34 बानीका परिवारका: मादै, अम्राम, ऊएल, 35 बनायाह, बेदयाह, कलूही, 36 भन्‍याह, मरेमोत, एल्‍यासीब, 37 मत्तन्‍याह, मत्तनै र यासू । 38 बिन्‍नूईका परिवारका: शिमी, 39 शेलेम्‍याह, नातान, अदायाह, 40 मक्‍नादबै, शाशै, शारै, 41 अज्रेल, शेलेम्‍याह, शमरयाह, 42 शल्‍लूम, अमर्याह र योसेफ । 43 नेबोका परिवारका: यीएल, मत्तित्‍याह, जाबाद, जबीना, यद्दै, योएल, र बनायाह । 44 यी सबैले विदेशी स्‍त्रीहरूलाई विवाह गरेका थिए, र तिनीहरूमध्ये कसैले छोराछोरीसमेत जन्माएका थिए ।