नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
नहेम्याह
नहेम्याहको पुस्तक
1

1 हकल्याहका छोरा नहेम्याहका वचनहरूः बिसौँ वर्षको किसलेव महिनामा म शूशनको किल्लामा छँदा, 2 मेरा दाजुहरूमध्येका एक जना अर्थात् हनानी यहूदाबाट केही मानिसहरूसँगै आए, र मैले त्यहाँ बाँकी रहेका यहूदीहरू र यरूशलेमको विषयमा सोधपुछ गरेँ । 3 तिनीहरूले मलाई भने, "निर्वासनबाट बाँचेर आएकाहरू जो प्रान्तमा छन्, तिनीहरू ठुलो कष्‍ट र अपमानमा छन्, किनकि यरूशलेमको पर्खाल भत्काइएको छ, र यसका मुल ढोकाहरूमा आगो लगाइएका छन् ।" 4 मैले यी वचन सुन्‍ने बित्तिकै म बसेर रोएँ, अनि कैयौँ दिनसम्म स्वर्गका परमेश्‍वरको सामु म शोक गर्दै, उपवास बस्दै र प्रार्थना गर्दै बसेँ । 5 तब मैले भनेँ, "तपाईं स्वर्गका परमेश्‍वर परमप्रभु हुनुहुन्छ, जो महान् र भययोग्य हुनुहुन्छ । तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञाहरू मान्‍नेहरूप्रति करार पुरा गर्नुहुन्छ र तपाईंको अचुक प्रेम देखाउनुहुन्छ । 6 अब तपाईंका दासहरू अर्थात् इस्राएलका मानिसहरूका निम्ति तपाईंका दास मैले दिनप्रतिदिन गर्ने मेरो प्रार्थना सुन्‍नुहोस्, र तपाईंका आँखा खोल्नुहोस् । तपाईंको विरुद्धमा हामी सबै इस्राएलीले गरेका पाप म स्वीकार गर्दै छु । म र मेरा पिताको घराना दुवैले पाप गरेका छन् । 7 हामीले तपाईंको विरुद्धमा दुष्‍ट काम गरेका छौँ, र तपाईंले आफ्ना दास मोशालाई दिनुभएका आज्ञाहरू, विधिविधानहरु र नियमहरू पालन गरेका छैनौँ । 8 कृपा गरी आफ्ना दास मोशालाई तपाईंले आज्ञा दिनुभएको वचन स्मरण गर्नुहोस्, 'तिमीहरू अविश्‍वासयोग्य भयौ भने म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पारिदिने छु, 9 तर तिमीहरू मकहाँ फर्केर मेरा आज्ञाहरूलाई पछ्याई पालन गर्‍यौ भने तिमीहरूका मानिसहरू आकाशका कुना-कुनासम्म तितर-बितर भए तापनि म तिनीहरूलाई त्यहाँबाट जम्मा गर्ने छु, र मेरो नाउँ राख्‍न मैले चुनेको ठाउँमा तिनीहरूलाई फर्काएर ल्याउने छु ।' 10 तिनीहरू तपाईंका दासहरू हुन्, र तपाईंका मानिसहरू हुन्, जसलाई तपाईंले आफ्नो महान् शक्ति र शक्तिशाली हातले छुटकारा दिनुभएको छ । 11 हे परमप्रभु, म बिन्ती गर्छु, कि तपाईंको नाउँको आदर गर्ने तपाईंका दास र तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस् । आज तपाईंको दासलाई सफलता दिनुहोस्, र यस मानिसको दृष्‍टिमा उसलाई कृपा देखाउनुहोस् ।" म राजाको मद्य टक्र्याउने व्यक्तिको रूपमा काम गर्थें ।

2

1 राजा अर्तासास्तको बिसौँ वर्षको नीसान महिनामा उहाँले दाखमद्य रोज्नुभयो, र मैले दाखमद्य लिई राजालाई टक्र्याएँ । म उहाँको उपस्थितिमा पहिले कहिल्यै यस्तो उदास भएको थिइनँ । 2 त्यसैले राजाले मलाई सोध्‍नुभयो, "तिम्रो अनुसार किन यति उदास छ ? तिमी बिरामीजस्तो त देखिँदैनौँ । यो ह्रदयको उदासी हुनुपर्छ ।" तब म सार्‍है डराएँ । 3 मैले राजालाई भनेँ, "राजा सदासर्वदै अमर रहून्! मेरो अनुसार किन उदास नहुने त ? मेरा पिता-पुर्खाहरूका चिहान भएको सहर भग्‍नावशेषमा परिणत भएको छ, र यसका मूल ढोकाहरू आगोले नष्‍ट पारेका छन् ।" 4 तब राजाले मलाई भन्‍नुभयो, "मैले के गरेको तिमी चाहन्छौ ?" त्यसैले मैले स्वर्गका परमेश्‍वरलाई प्रार्थना चढाएँ । 5 मैले राजालाई जवाफ दिएँ, "राजालाई असल लाग्यो भने, र हजुरका दासले हजुरको दृष्‍टिमा राम्रै गरेको छ भने हजुरले मलाई मेरा पिता-पुर्खाहरूका चिहान भए सहर यहूदा पठाउन सक्‍नुहुन्छ ताकि मैले यसको पुनर्निर्माण गर्न सकूँ ।" 6 राजाले मलाई जवाफ दिनुभयो (रानी पनि उहाँकै छेउमा बसिरहनुभएको थियो), "तिमी कहिलेसम्म टाढिन्छौ र तिमी कहिले फर्कने छौ ?" मैले राजालाई मिति दिँदा राजा मलाई पठाउन खुसी हुनुभयो । 7 तब मैले राजालाई भनेँ, "राजालाई खुसी लागे यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूका लागि मलाई चिट्ठीहरू पठाइऊन् ताकि म यहूदा जाँदा तिनीहरूले मलाई तिनीहरूका इलाकाहरू भएर जान अनुमति देऊन् । 8 राजाको जङ्गलको जिम्मावाल आसापको लागि पनि एउटा चिट्ठी होस्, ताकि मन्दिरसित गाँसिएको किल्लाका मूल ढोकाहरू, सहरको पर्खाल र म बस्‍ने घरका लागि सत्तरीहरू बनाउन तिनले मलाई मुढाहरू जुटाइदेऊन् ।" परमेश्‍वरको असल हात ममाथि भएकोले राजाले मेरो अनुरोध स्वीकार गर्नुभयो । 9 म यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूकहाँ आइपुगेँ, र तिनीहरूलाई राजाका चिट्ठीहरू दिएँ । राजाले मसँगै सेनाका अधिकृतहरू र घोडचढीहरू पठाएका थिए । 10 कसैले इस्राएलीहरूलाई मदत गर्न खोज्दै छ भनी जब होरोनी सन्बलत र अम्मोनी अधिकारी तोबियाले यो सुने, तिनीहरू निकै बेखुसी भए । 11 यसरी म यरूशलेम आइपुगेँ, र त्यहाँ दिन रहेँ । 12 म र केही मानिसहरू रातमा उठ्यौँ । यरूशलेमको निम्ति परमेश्‍वरले मेरो ह्रदयमा हालिदिनुभएको बोझबारे मैले कसैलाई बताइनँ । म चढिरहेको पशुबाहेक त्यहाँ अरू कुनै पशु थिएन । 13 म राति बेँसी ढोका भएर बाहिर निस्केँ, अनि यरूशलेमका पर्खालहरू भत्केका र मूल ढोकाहरू जलाइएका ठाउँको निरीक्षण गर्दै म फोहोर ढोका रा स्यालको पोखरीतिर गएँ । 14 त्यसपछि म फुहारा ढोका र राजाको तलाउमा गएँ । त्यो ठाउँ यति सानो थियो कि म चढिरहको पशु जानलाई ठाउँ नै पुगेन । 15 त्यसैले त्यस रात म उपत्यका भएर गएँ, र पर्खालको निरीक्षण गरेँ, अनि म फर्केर बेँसी ढोकाबाट भित्र प्रवेश गरेँ । यसरी म फर्किएँ । 16 म कहाँ गएँ र मैले के गरेँ भन्‍ने बारेमा शासकहरूलाई थाहै भएन, र यति बेलासम्म मैले यहूदीहरूलाई पनि भनेको थिइनँ, न पुजारीहरू, न प्रतिष्‍ठित मानिसहरू, न शासकहरू, न त काम गर्ने बाँकी मानिसहरूलाई भनेको थिएँ । 17 मैले तिनीहरूलाई भनेँ, "हामी कस्तो सङ्कष्‍टमा छौँ, यरूशलेम कसरी भग्‍नावशेषमा परिणत भएको छ र यसका मूल ढोकाहरू आगोले नष्‍ट पारिएको छ भनी तिमीहरूले देखेका छौ । आओ, हामी फेरि अपमानित नहोऔँ भनेर यरूशलेमको पर्खाल पुनर्निर्माण गरौँ ।" 18 मेरा परमेश्‍वरको असल हात ममाथि र राजाले मलाई भन्‍नुभएका वचनहरूमाथि थियो भनी मैले तिनीहरूलाई बताएँ । तिनीहरूले भने, "उठौँ, र निर्माण गरौँ ।" त्यसैले असल कामको लागि तिनीहरूले आ-आफ्ना हात मजबुत पारे । 19 तर जब होरोनी सन्बलत, अम्मोनी अधिकारी तोबिया र अरबी गेशेमले यो कुरा सुने तिनीहरूले हामीलाई खिसी गरे र गिल्ला गरेर भने, "तिमीहरू के गर्दै छौ ? के तिमीहरू राजाको विरुद्धमा विद्रोह गर्दै छौ ?" 20 तब मैले तिनीहरूलाई जवाफ दिएँ, "स्वर्गका परमेश्‍वरल हामीलाई सफलता दिनुहुने छ । हामी उहाँका दासहरू हौँ, अनि हामी उठ्ने छौँ र निर्माणको काम गर्ने छौँ । तर यरूशलेममा तिमीहरूको कुनै हिस्सा, कुनै हक र कुनै ऐतिहासिक दाबी छैन ।"

3

1 तब प्रधान पुजारी एल्यासीब आफ्ना सङ्गी पुजारीहरूसित उठे, र तिनीहरूले भेडा ढोका बनाए । तिनीहरूले यसलाई अर्पण गरी यसका ढोकाहरू बनाए । तिनीहरूले यसलाई सयको बुर्जा र हननेलको बुर्जासम्मै अर्पण गरे । 2 तिनीपछि यरीहोका मानिसहरूले काम गरे, र तिनीहरूपछि इम्रीका छोरा जक्‍कूरले काम गरे । 3 हस्सेननाका छोराहरूले माछा ढोका बनाए । तिनीहरूले यसका लागि सत्तरीहरू बनाई यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । 4 मरेमोतले अर्को भाग मर्मत गरे । तिनी उरियाहका छोर, हक्‍कोसका नाति थिए । तिनीहरूपछि मशुल्लामले अर्को भाग मर्मत गरे । तिनी बेरेक्याहका छोर, मशेजेबेलका नाति थिए । तिनीहरूपछि सादोकले मर्मतको काम गरे । तिनी बानाका छोरा थिए । 5 तिनीहरूपछि तकोका बासिन्दाहरूले मर्मत गरे, तर तिनीहरूका नाइकेहरूद्वारा आज्ञा गरिएको काम गर्न तिनीहरूका अगुवाहरूले इन्कार गरे । 6 पसेहका छोरा योयादा र बसोदयाहका छोरा मशुल्लामले पुरानो ढोका मर्मत गरे । तिनीहरूले यसका लागि सत्तरीहरू, यसका द्वारहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । 7 तिनीहरूपछि गिबोनी मलत्याह र मेरोनोती यादान जो गोबिन र मिस्पाका मानिसहरू थिए, तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तका राज्यपाल बस्‍ने ठाउँ मर्मत गरे । 8 तिनीपछि एक जना सुनार हरयाहका छोरा उज्‍जीएलले मर्मत गरे, र तिनीपछि अत्तर बनाउने हनन्याहले मर्मत गरे । तिनीहरूले चौडा ढोकासम्म यरूशलेमको पुनर्निर्माण गरे । 9 तिनीहरूपछि हूरका छोरा रपायाहले मर्मत गरे । तिनी यरूशलेमको आधा जिल्लाका शासक थिए । 10 तिनीहरूपछि हरूमापका छोरा यदायाहले आफ्नो घरसित जोडिएको भाग मर्मत गरे । तिनीपछि हशबन्याहका छोरा हत्तूशले मर्मत गरे । 11 हारीमका छोरा मल्कियाह र पहत-मोआबका छोरा हश्शूबले भट्टीको बुर्जासमेत अर्को भाग मर्मत गरे । 12 तिनीहरूपछि यरूशलेमको आधा जिल्लाका शासक हल्लोहेशका छोरा शल्लूमले आफ्ना छोरीहरूसित मिलेर मर्मत गरे । 13 हानून र जानोहका बासिन्दाहरूले बेँसी ढोका मर्मत गरे । तिनीहरूले यसको पुनर्निर्माण गरी यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । तिनीहरूले फोहोर ढोकासम्म एक हजार हात लामो पर्खाल मर्मत गरे । 14 बेथ-हेक्‍केरेम जिल्लाका शासक रेकाबका छोरा मल्कियाहले फोहोर ढोका मर्मत गरे । तिनले यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । 15 मिस्पा जिल्लाका शासक कोल-होजेका छोरा शल्लूनले फुहारा ढोका मर्मत गरे । तिनले यसको निर्माण गरी यसमाथि छाना लगाए, र यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए । तिनले राजाको बगैँचानेर भएको सिलोआमको तलाउको पर्खालसाथै दाऊदको सहरबाट ओर्लने खुट्‌किलाहरूसम्मै पुनर्निर्माण गरे । 16 बेथ-सरको आधा जिल्लाका शासक अज्बूकका छोरा नहेम्याहले दाऊदको चिहानको सामुन्‍ने भाग, कृत्रिम तलाउ र वीरहरूको घरसम्म मर्मत गरे । 17 तिनीपछि बानीका छोरा रेहूमलगायत लेवीहरूले मर्मत गरे, तिनीपछि कीलाहको आधा जिल्लाका शासक हशब्याहले आफ्नो जिल्लाको मर्मत गरे । 18 तिनीपछि कीलाहको आधा जिल्लाका शासक हेनादादका छोरा बिन्‍नूईलगायत तिनीहरूका जनताले मर्मत गरे । 19 तिनीपछि मिस्पाका शासक येशूअका छोरा एसेरले अर्को भाग मर्मत गरे जुन पर्खालको कुनामा हतियारखानाको भिरालोको सामुन्‍नेको भाग थियो । 20 तिनीपछि जब्बैका छोरा बारूकले समर्पित भएर अर्को भाग अर्थात् प्रधान पुजारी एल्यासीबको घरको ढोकाको पर्खालको कुनासम्म मर्मत गरे । 21 तिनीपछि उरियाहका चोरा, हक्‍कोसका नाति मरेमोतले अर्को भाग अर्थात् एल्यासीबको घरको कुनादेखि तिनको घरको कुनासम्म मर्मत गरे । 22 तिनीपछि पुजारीहरू, यरूशलेम वरिपरिको क्षेत्रका मानिसहरूले मर्मत गरे । 23 तिनीहरूपछि बेन्यामीन र हश्शूबले तिनीहरूको आफ्नै घरको सामुन्‍नेको भाग मर्मत गरे । तिनीहरूपछि मासेयाहका छोरा, हननियाका नाति अजर्याहले आफ्नै घरको छेउ मर्मत गरे । 24 तिनीपछि हेनादादका छोरा बिन्‍नूईले अर्को भाग अर्थात् अजर्याहको घरदेखि पर्खालको कुनासम्म मर्मत गरे । 25 उज्‍जैका छोरा पालालले कोण र रक्षकहरूका चोकनेरको माथिल्लो महलदेखि बाहिर निस्केको बुर्जाको सामुन्‍ने मर्मत गरे । 26 ओफेलमा बसिरहेका मन्दिरका सेवकहरूले पूर्वमा अवस्थित पानी ढोका र बाहिर निस्केको बुर्जाको सामुन्‍नेको ठाउँसम्म मर्मत गरे । 27 तिनीपछि तकोका बासिन्दाहरूले अर्को भाग अर्थात् बाहिर निस्केको ठुलो बुर्जादेखि ओफेलको पर्खालसम्मको भाग मर्मत गरे । 28 पुजारीहरूले अश्‍व ढोकामाथि आ-आफ्नो घरको सामुन्‍ने मर्मत गरे । 29 तिनीहरूपछि इम्मेरका छोरा सादोकले आफ्नै घरको सामुको भाग मर्मत गरे । तिनीपछि द्वारपाल शकन्याहका छोरा शमायाहले पूर्वी ढोका मर्मत गरे । 30 तिनीपछि शेलेम्याहका छोरा हनन्याह र सालापका जन्तरे सन्तान हानूनले अर्को भाग मर्मत गरे । तिनीपछि बेरेक्याहका छोरा मशुल्लामले आफ्नो बासस्थानको सामु मर्मत गरे । 31 तिनीपछि एक जना सुनार मल्कियाहले निरीक्षण ढोका सामुन्‍नेको, मन्दिरका सेवकहरू र व्यापारीहरूको घरसम्म र कुनाको माथिपट्टिको कोठासम्म मर्मत गरे । 32 सुनारहरू र व्यापारीहरूले कुनाको माथिपट्टिको कोठा र भेडा ढोकाको बिच भाग मर्मत गरे ।

4

1 हामीले पर्खाल निर्माण गरिरहेका थियौँ भनी जब सन्बलतले सुने तिनी डाहले जले र अत्यन्तै क्रोधित भए, अनि यहूदीहरूको खिसी गरे । 2 तिनका दाजुभाइहरू र सामरियाका सेनाको उपस्थितिमा तिनले भने, "यी निर्बल यहूदीहरू के गर्दै छन् ? के तिनीहरू आफैले सहरको पुनर्स्थापना गर्ने छन् ? के तिनीहरूले बलिदानहरू चढाउने छन् ? के तिनीहरूले एकै दिनमा काम सक्‍ने छन् ? ती जलिसकेका कसिङ्गरको थुप्रोबाट के तिनीहरूले ढुङ्गाहरूलाई पुनर्जीवित पार्न सक्छन् ? 3 तिनीसँगै भएका अम्मोनी तोबियाले भने, "तिनीहरूले निर्माण गरेरहेको वस्तुमा एउटा फ्याउरो चढ्यो भने पनि तिनीहरूको पर्खाल भत्कने छ!" 4 हे हाम्रा परमेश्‍वर, सुन्‍नुहोस्, किनकि हामीलाई अपमान गरिएको छ । तिनीहरूका गिल्ला तिनीहरूकै शिरमाथि फर्काइदिनुहोस्, र तिनीहरू कैदीहरूको देशमा लुटका माल बनून् । 5 तपाईंको सामुबाट तिनीहरूको अपराध नढाक्‍नुहोस्, र तिनीहरूको पाप नमेटिदिनुहोस्, किनकि तिनीहरूले निर्माणकर्ताहरूलाई रिस उठाएका छन् । 6 यसरी हामीले आधा उचासम्म सबै पर्खाल निर्माण गर्‍यौँ, किनकि मानिसहरूमा काम गर्ने इच्छा थियो । 7 तर यरूशलेमका पर्खालहरू मर्मत गर्ने काम अगाडि बढिरहेको थियो र पर्खालमा भत्किएका भागहरू टालिँदै थिए भनी जब सन्बलत, तोबिया, अरबीहरू, अम्मोनीहरू र अश्दोदीहरूले सुने तिनीहरू रिसले आगो भए । 8 तिनीहरू सबै मिलेर षड्यन्त्र रचे, र तिनीहरू यरूशलेमको विरुद्धमा र यसमा भ्रम उत्पन्‍न गर्न आए । 9 तर हामीले हाम्रा परमेश्‍वरलाई प्रार्थना चढायौँ, र तिनीहरूको धम्कीको कारणले दिनरात तिनीहरूको विरुद्धमा सुरक्षा दिने पहरेदार राख्यौँ । 10 तब यहूदाका मानिसहरूले भने, "भारी बोक्‍नेहरूको ताकत घट्दै छ । कसिङ्गरहरू थुप्रै छन्, र हामी पर्खाल पुनर्निर्माण गर्न सक्दैनौँ ।" 11 हाम्रा शत्रुहरूले भने, "तिनीहरूले थाहा पाउनुअगि र तिनीहरूले देख्‍नुअगि तिनीहरूका बिचमा आएर तिनीहरूलाई मारी काम रोकिदिन्छौँ ।" 12 त्यस बेला तिनीहरूको नजिक बस्‍ने यहूदीहरू सबै दिशाबाट आएर तिनीहरूले हाम्रो विरुद्धमा रचेका षड्यन्त्रहरूको बारेमा चेताउनी दिँदै हामीलाई दस पटक बताए । 13 त्यसैले मैले खुल्ला क्षेत्रहरूमा पर्खालका सबैभन्दा तल्लो भू-भागहरूमा मानिसहरूलाई बसाएँ । मैले हरेक परिवारलाई आ-आफ्ना तरवार, भाला र धनुर्बाण लिएर बस्‍न लगाएँ । 14 तब मैले हेरेँ, र खडा भएर अधिकारीहरू, शासकहरू र बाँकी मानिसहरूलाई भनेँ, "तिनीहरूदेखि नडराओ । प्रभुलाई सम्झनुहोस् जो महान् र भययोग्य हुनुहुन्छ । आ-आफ्ना परिवाहरू, छोराछोरीहरू, पत्‍नीहरू र घरहरूका लागि लड्नुहोस् ।" 15 जब हामीले हाम्रा शत्रुहरूका योजनाहरू थाहा पायौँ र परमेश्‍वरले तिनीहरूका योजनाहरू विफल पारिदिनुभयो भनी तिनीहरूले सुने, हामी सबै आ-आफ्नो काम गर्न पर्खालमा फर्क्यौं । 16 त्यस समयदेखि मेरा आधा सेवकहरूले केवल पर्खाल पुनर्निर्माण गर्थे भने आधा बाँकी सेवकहरू भाला, ढाल, धनुर्बाण र झिलम लाएर बस्थे । अगुवाहरूचाहिँ यहूदाका सबै मानिसहरूको पछाडि बस्थे । 17 पर्खालको निर्माण गरिरहेका र भारी बोकिरहेका उही मजदुरहरूले पनि आ-आफैलाई सुरक्षा दिइरहेका हुन्थे । हरेकले एउटा हातले काम गर्थ्यो भने अर्को हातले आफ्नो हतियार समाउँथ्यो । 18 हरेक निर्माणकर्ताले आफ्नो तरवार भिरेर काम गर्थ्यो । तुरही बजाउनेचाहिँ मेरो छेउमा बस्थ्यो । 19 मैले अगुवाहरू, अधिकारीहरू र बाँकी मानिसहरूलाई भने, "काम विशाल र बृहत् छ, अनि हामी पर्खालमा एक-अर्कादेखि छुट्टिएका छौँ । 20 तिमीहरूले जहाँबाट तुरही बजेको सुन्छौ त्यहीँ भेला हतार गर । हाम्रा परमेश्‍वर हाम्रो पक्षमा लड्नुहुने छ ।" 21 यसरी हामीले काम गर्दै थियौँ । आधा मानिसहरूले सूर्योदयदेखि सूर्यास्तसम्म तरवार भिर्दै थिए । 22 त्यस बेला मानिसहरूलाई मैले यो पनि भनेँ, "रातमा हाम्रा लागि पहरा दिन र दिनमा काम गर्न हरेक मानिस र त्यसको सेवकले यरूशलेमको बिचमा रात बिताओस् ।" 23 न मैले, न मेरा दाजुभाइहरूले, न मेरा सेवकहरूले, न मलाई पछ्याउने पहरेदारहरूले आफ्ना लुगाहरू बद्‌लियौँ । पानी पिउन जाँदा पनि हरेकले आ-आफ्नो तरवार बोक्थ्यो ।

5

1 तब मानिसहरू र तिनीहरूका पत्‍नीहरूले आफ्ना यहूदी मित्रहरूका विरुद्धमा ठुलो आवाज उठाए । 2 त्यहाँ केही मानिसहरू थिए जसले भने, "हाम्रा छोराछोरीहरूसमेत गर्दा हामी धेरै छौँ । हामीले खाएर बाँच्नलाई अन्‍न प्राप्‍त गरौँ ।" 3 त्यहाँ अरू केही मानिसहरू पनि थिए जसले भने, "अनिकालको समयमा अन्‍न प्राप्‍त गर्न हामी हाम्रा खेतहरू, हाम्रा दाखबारीहरू र हाम्रा घरहरू बन्धकमा राख्दै छौँ ।" 4 केहीले यसो पनि भने, "राजालाई हाम्रा खेतहरू र हाम्रा दाखबारीहरूको कर तिर्न हामीले पैसा सापट लिएका छौँ । 5 तरै पनि हाम्रा शरीर हाम्रा दाजुभाइहरूका शरीर जस्तै हुन्, र हाम्रा छोराछोरीहरू तिनीहरूका छोराछोरीहरूजस्तै हुन् । हाम्रा छोराछोरीहरूलाई कमारा-कमारी बन्‍नको लागि बेच्न हामी बाध्य छौँ । हाम्रा केही छोरीहरू पहिले नै कमारी भइसकेका छन् । अरू मानिसहरूले हाम्रा खेतहरू र हाम्रा दाखबारीहरू अधिकार गरेकाले हामीसित मदत गर्ने खुबी छैन ।" 6 जब मैले तिनीहरूको रोदन र यी वचनहरू सुने म सार्‍है रिसाएँ । 7 तब मैले यस विषयमा सोचविचार गरेँ, अनि कुलीनहरू र अधिकारीहरूलाई दोष लगाएँ । मैले तिनीहरूलाई भनेँ, "तिमीहरू हरेकले आफ्नै भाइबाट ब्याज लिँदै छौ ।" मैले तिनीहरूको विरुद्धमा ठुलो भेला गराएँ, 8 र तिनीहरूलाई भनेँ, "हामी कुलीनहरूले जाति-जातिहरूकहाँ दासत्वमा बेचिएका हाम्रा यहूदी दाजुभाइहरूलाई दाम तिरी फिर्ता गरेर ल्याएका छौँ, तर तिमीहरू आफ्ना दाजुभाइ तथा दिदी-बहिनीहरू फेरी हामीलाई बेच्छौ!" तिनीहरू स्तब्ध भए र बोल्नलाई कुनै शब्दै भएन । 9 मैले यसो पनि भनेँ, "तिमीहरूले जे गरिरहेका छौ, त्यो ठिक होइन । जाति-जातिहरू अर्थात् हाम्रा शत्रुहरूका कटाक्षलाई रोक्‍न के तिमीहरू हाम्रा परमेश्‍वरोक डरमा चल्नुपर्दैन र ? 10 मैले, मेरा दाजुभाइहरूले र मेरा सेवकहरूले तिनीहरूलाई रुपियाँ-पैसा र अन्‍न सापट दिँदै छौँ । तर हामीले यी ऋणमा ब्याज लगाउन रोक्‍नुपर्छ । 11 आजकै दिन तिमीहरूले तिनीहरूबाट लिएका तिनीहरूका खेतहरू, दाखबारीहरू, भद्राक्ष बारीहरू, तिनीहरूका घरहरू, रुपियाँ-पैसाको ब्याज, अन्‍न, नयाँ दाखमद्य र तेल फर्काइदेओ ।" 12 तब तिनीहरूले भने, "हामीले तिनीहरूबाट लिएका चिजहरू फिर्ता गरिदिने छौँ, र हामी तिनीहरूबाट केही माग गर्दैनौँ । हामी तपाईंले भन्‍नुभएझैँ गर्ने छौँ ।" तब मैले पुजारीहरूलाई बोलाई तिनीहरूले भनेअनुसार गर्न तिनीहरूलाई शपथ खान लगाएँ । 13 मैले आफ्नो खास्टोको गाँठो फुकाएर भनेँ, "आफ्नो प्रतिज्ञा पुरा नगर्ने हरेक मानिसको घर र धन-सम्पत्ति परमेश्‍वरले यसरी नै फुकालिदेऊन् । त्यसलाई फुकाली रित्तो बनाइयोस् ।" सबै समुदायले भने, "आमेन," अनि तिनीहरूले परमेश्‍वरको स्तुति गरे, र तिनीहरूले आ-आफूले प्रतिज्ञा गरेअनुसार गरे । 14 म यहूदा देशको राज्यपाल नियुक्त भएको समयदेखि अर्थात् अर्तासास्त राजाको बिसौँ वर्षदेखि बत्तिसौँ वर्षसम्म, जम्माजम्मी बार्‍ह वर्षसम्म मैले र मेरा दाजुभाइहरूले राज्यपालको लागि उपलब्ध गराइएको खाना खाएनौँ । 15 तर मभन्दा अगिका राज्यपालहरूले मानिसहरूमाथि गर्‍हौँ बोझ लादिदिए, र तिनीहरूको दैनिक भोजनसाथै दाखमद्यको लागि मानिसहरूबाट चाँदीका चालिस सिक्‍का कर लिएका थिए । तिनीहरूका सेवकहरूले पनि मानिसहरूमाथि थिचोमिचो गरे । तर परमेश्‍वरको भयको कारणले मैले त्यसो गरिनँ । 16 मैले पर्खालको कामलाई पनि जारी राखेँ, र कुनै जग्गा जमिन किनिनँ, अनि मेरा सबै सेवक कामको लागि त्यहाँ जम्मा हुन्थे । 17 हाम्रा वरिपरि भएका जाति-जातिहरूबाट आउने मानिसहरूबाहेक मेरो टेबुलमा यहूदीहरू र अधिकारीहरू गरी जम्मा १५० जना हुन्थे । 18 एउटा गोरु, छवटा मोटा-मोटा भेडा र कुखुराहरू हरेक दिन खानलाई जुटाइनुपर्थ्यो, र दस-दस दिनपछि चाहिँ सबै किसिमका दाखमद्य प्रचुर मात्रामा जुटाइन्थ्यो । यति हुँदाहुँदै पनि मैले राज्यपालको भोजनको भत्ताको माग गरिनँ किनकि मानिसहरूमाथि ठुलो बोझ परेको थियो । 19 हे मेरा परमेश्‍वर, मैले यी मानिसहरूलाई गरेका सबै कामको निम्ति मेरो भलाइ सोच्नुहोस् ।

6

1 मैले पर्खाल पुनर्निर्माण गरेर सिद्ध्याएको र टाल्नुपर्ने कुनै भाग नरहेको कुरो कुरो सन्बलत, तोबिया र अरबी गेशेमसाथै हाम्रा बाँकी शत्रुहरूले सुने, यद्यपि मैले मूल ढोकाहरूका खापाहरू भने बनाइसकेको थिइनँ । 2 सन्बलत र गेशेमले मलाई यसो भनी खबर पठाए, "आऊ, हामी ओनोको मैदानको कतैतिर भेटघाट गरौँ ।" तर तिनीहरूले मेरो हानि गर्ने मनसाय बनाएका थिए । 3 मैले यसो भनी तिनीहरूकहाँ सन्देशवाहकहरू पठाएँ, "मैले महान् काम गरिरहेकोले म आउन सक्दिनँ । मैले काम छोडी तिमीहरूकहाँ आएर यो काम किन रोकिने ?" 4 तिनीहरूले मकहाँ उही खबर चार पटक पठाए, र मैले प्रत्येक पटक तिनीहरूलाई उही जवाफ दिएँ । 5 उसै गरी सन्बलतले पाँचौँ पटक पनि मकहाँ तिनको सेवक पठाए, जसको हातमा खोलिएको चिट्ठी थियो । 6 त्यहाँ यस्तो लेखिएको थियो, "जाति-जातिहरूका बिचमा यस्तो खबर पुगेको छ र गेशेम पनि त्यही भन्छन्, कि तिमी र यहूदीहरूले विद्रोह गर्ने योजना बनाउँदै छौ । त्यसकारण तिमीहरूले यो पर्खाल पुनर्निर्माण गर्दै छौ । तिमी तिनीहरूका राजा हुनै लागेका छौ भनी यी खबरहरूले बताउँछन् । 7 यरूशलेममा तिम्रो बारेमा यो घोषणा गर्न तिमीहरूले अगमवक्ताहरू पनि नियुक्त गरेका छौ, 'यहूदामा राजा हुनुहुन्छ!' राजाले यी खबरहरू सुन्‍नेछन् भनी तिमी निश्‍चित हुन सक्छौ । त्यसकारण, आऊ र एक-अर्कासित कुराकानी गरौँ ।" 8 तब मैले तिनीकहाँ यसो भनी खबर पठाएँ, "तिमीले भनेजस्ता कुनै पनि कुरा भएकै छैन, किनकि तिमीले आफ्नै ह्रदयमा ती रचेका हौ ।" 9 तिनीहरू सबैले हामीलाई यस्तो सोच्न लगाई भयभीत पार्न चाहन्थे, "काम गर्नदेखि तिनीहरूले आफ्ना हात रोक्‍ने छन्, र यो काम सकिने थिएन ।" तर अब हे परमेश्‍वर, मेरा हात मजबुत पार्नुहोस् । 10 म दलायाहका छोरा, महेतबेलका नाति शमायाहको घरमा गएँ, जो आफ्नै घरमा बन्दी बनाइएका थिए । तिनले भने, "हामी परमेश्‍वरको मन्दिरभित्र भेटौँ, र मन्दिरका ढोकाहरू बन्द गरौँ किनकि तिनीहरूलाई तपाईंलाई मार्न आउँदै छन् । तपाईंलाई मार्न तिनीहरू रातमा आउँदै छन् ।" 11 मैले जवाफ दिएँ, "के मजस्तो मान्छे भाग्छ र ? के मजस्तो मान्छे आफ्नै जीवन बचाउन मन्दिरभित्र जान सक्छ र ? म भित्र जाने छैनँ ।" 12 परमेश्‍वरले तिनलाई पठाउनुभएको होइन, तर तिनी आफैले मेरो विरुद्धमा अगमवाणी गरेका थिए भनी मैले महसुस गरेँ । तोबिया र सन्बलतले तिनलाई भाडामा लिएका थिए । 13 तिनले भनेझैँ गरेर पाप गर्न र मेरो अपमान हुने गरी मेरो ख्याति बिगार्न तिनीहरूले तिनलाई भाडामा लिई मलाई डराउन चाहन्थे । 14 हे मेरा परमेश्‍वर, तोबिया र सन्बलत अनि तिनीहरूले गरेका सबै कामलाई सम्झनुहोस् । साथै, मलाई डराउन खोज्ने अगमवादिनी नोअदिया र अरू बाँकी अगमवक्ताहरूलाई पनि सम्झनुहोस् । 15 यसरी बाउन्‍न दिनपछि एलूल महिनाको पच्‍चिसौँ दिनमा पर्खालको काम समाप्‍त भयो । 16 जब हाम्रा वरिपरि भएका हाम्रा सबै शत्रु र जातिहरूले यो सुने तिनीहरू डराए, तिनीहरू हतोत्साहित भए । किनकि हाम्रा परमेश्‍वरको मदतले यो काम गरिएको थियो भनी तिनीहरूलाई थाहा थियो । 17 यस बेला यहूदाका कुलीनहरूले तोबियालाई धेरै चिट्ठीहरू पठाए, र तोबियाका चिट्ठीहरू पनि तिनीहरूकहाँ आए । 18 किनकि यहूदामा कैयौँ मानिसहरू थिए जो तिनीसित शपथद्वारा बाँधिएका थिए किनकि तिनी आराका छोरा शकन्याहका जुवाइँ थिए । तिनका छोरा येहोहानानले बेरेक्याहका छोरा मशुल्लामकी छोरीसित विवाह गरेका थिए । 19 तिनीहरूले तिनका असल कार्यहरू पनि मलाई बताए, र मेरा कामहरू तिनलाई बताइदिए ।

7

1 पर्खालको काम सिद्धिएपछि जब मैले ढोकाहरूलाई तिनका आ-आफ्ना ठाउँमा लगाएँ, र द्वारपालहरूसाथै गायक-गायिकाहरू र लेवीहरू नियुक्त गरिए, 2 मैले मेरा भाइ हनानी र किल्लाको निरीक्षण गर्ने हनानीलाई यरूशलेममाथिको जिम्मा सुम्पिदिएँ किनकि तिनी अरू धेरैभन्दा विश्‍वासयोग्य मानिस थिए, र परमेश्‍वरदेखि डराउँथे । 3 मैले तिनीहरूलाई भनेँ, "घाम चर्को गरी नलागेसम्म यरूशलेमका मूल ढोकाहरू नखोल्नू । द्वारपालहरू पहरा बस्दा तिमीहरूले ढोकाहरू बन्दी गरी आग्ला लगाउनू । यरूशलेममा बस्‍नेहरूबाट केही पहरादारहरूलाई पहरा बस्‍ने ठाउँमा र केहीलाई चाहिँ तिनीहरूका आफ्नै घरको सामुन्‍ने राख्‍न नियुक्त गर्नू ।" 4 अब सहरचाहिँ फराकिलो र विशाल थियो, तर त्यसभित्र केही मानिसहरू मात्र थिए, र अझसम्म कुनै पनि घरको पुनर्निर्माण भएको थिएन । 5 मेरा परमेश्‍वरले कुलीनहरू, अधिकृतहरू र मानिसहरूलाई तिनीहरूका परिवार-परिवार गरी नाउँ दर्ता गराउनका लागि भेला गराउन मेरो हृदयमा बोझ हालिदिनुभयो । मैले सुरुमा फर्केनहरूको वंशावलीको पुस्तक भेट्टाएँ जसमा यो कुरा लेखिएको थियो । 6 "राजा नबूकदनेसरको निर्वासनबाट जाने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । तिनीहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के । 7 तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आएका थिए । इस्राएलका मानिसहरूको सङ्ख्या निम्‍न लिखित छ । 8 परोशका परिवारका २,१७२ 9 शपत्‍याहका परिवारका ३७२ 10 आराका परिवारका ६५२ 11 येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८ 12 एलामका परिवारका १,२५४ 13 जत्तूका परिवारका ८४५ 14 जक्‍कैका परिवारका ७६० 15 बिन्‍नूईका परिवारका ६४८ 16 बेबैका परिवारका ६२८ 17 अज्‍गादका परिवारका २,३२२ 18 अदोनीकामका परिवारका ६६७ 19 बिग्‍वैका परिवारका २,०६७ 20 आदीनका परिवारका ६५५ 21 हिजकियाबाट आतेरका परिवारका ९८ 22 हाशूमका परिवारका ३२८ 23 बेजैका परिवारका ३२४ 24 हारीपका परिवारका ११२ 25 गिबोनका परिवारका ९५ 26 बेथलेहेम र नतोपाका मानिसहरू १८८ 27 अनातोतका मानिसहरू १२८ 28 बेथ-अज्‍मावेतका मानिसहरू ४२ 29 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३ 30 रामा र गेबाका मानिसहरू ६२१ 31 मिकमाशका मानिसहरू २२ 32 बेथेल र ऐका मानिसहरू १२३ 33 अर्को नेबोका मानिसहरू ५२ 34 अर्को एलामका मानिसहरू १,२५४ 35 हारीमका मानिसहरू ३२० 36 यरीहोका मानिसहरू ३४५ 37 लोद, हादीद र ओनोका मानिसहरू ७२१ 38 सेनाहका मानिसहरू ३,९३० 39 पुजारीहरू: (येशूअको वंशबाट) यदायाहका परिवारका ९७३ 40 इम्‍मेरका परिवारका १,०५२ 41 पशहूरका परिवारका १,२४७ 42 हारीमका परिवारका १,०१७ 43 लेवीहरू: होदबिया, बिन्‍नूई र कादमीएलका वंशबाट येशूअका परिवारका ७४ 44 गायकहरू: आसापका परिवारका १४८ 45 द्वारपालहरू: शल्‍लूम, आतेर, तल्‍मोन, अक्‍कूब, हतीता, शोबैका परिवारहरूका जम्‍मा १३८ 46 मन्‍दिरका सेवकहरू: सीहा, हसूपा, तब्‍बाओत, 47 कोरेस, सीआ, पादोन, 48 लेबाना, हगाबा, शल्‍मै, 49 हानान, गिद्देल, गहर, 50 रायाह, रसीन, नकोदा, 51 गज्‍जाम, उज्‍जा, पसेह, 52 बेजै, मोनिम, नेपुसीम, 53 बक्‍बूक, हकूपा, हर्हुर, 54 बस्‍लूत, महीदा, हर्शा, 55 बर्कोस, सीसरा, तेमह, 56 नसीह, र हतीपाका परिवारहरू 57 सोलोमनका सेवकहरूका सन्‍तान: सोतै, सोपेरेत, पारीद, 58 याला, दर्कोन, गिद्देल, 59 शपत्‍याह, हत्तील, पोकेरेतहसेबायीम, र अमोनका परिवारहरू । 60 मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानको सङ्ख्या जम्‍मा ३९२ 61 तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनी बताउन सकेनन्‌ । यी हुन्‌: 62 दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्‍मा ६४२ 63 पुजारीहरूबाट: होबायाहका परिवार, हक्‍कोसका परिवार, र बर्जिल्‍लैका परिवार (तिनले गिलादी बर्जिल्‍लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरी तिनीहरूको नाउँ राखे) । 64 तिनीहरूले आफ्नो वंशावलीका अभिलेखहरू खोजे, तर तिनलाई फेला पारेनन् । त्यसैले तिनीहरूलाई अशुद्ध ठानी पुजारीको कामबाट निष्काशन गरियो । 65 पुजारीले ऊरीम र तुम्मीमसहित अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खान मिल्दैनथ्यो भनी राज्यपालले तिनीहरूलाई बताए । 66 सम्पूर्ण मानिसको सङ्ख्या ४२,३६० थियो । 67 यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए । 68 तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६, खच्‍चर २४५, 69 ऊँट ४३५ र गधा ६,७२० थिए । 70 परिवारका केही मुखियाहरूले कामको लागि दान दिए । राज्यपालले भण्डारमा १,००० सुनका सिक्‍का, ५० कचौरा र पुजारीहरूले लगाउने ५३० ओटा पोशाक दिए । 71 परिवारका केही कामकको निम्ति मुखियाहरूले भण्डारमा २०,००० सुनका सिक्‍का र २,२०० चाँदीका सिक्‍का दिए । 72 बाँकी मानिसहरूले २०,००० सुनका सिक्‍का, २,००० चाँदीका सिक्‍का र पुजारीले लगाउने ६७ ओटा पोशाक दिए । 73 यसरी पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू, केही मानिसहरू, मन्दिरका सेवकहरू र सारा इस्राएल तिनीहरूका आ-आफ्ना सहरहरूमा बसे । सातौँ महिनासम्ममा इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए ।"

8

1 सारा जनता एउटै मानिसजस्तो गरी पानी ढोकाको सामुन्‍ने खुला क्षेत्रमा भेला भए । तिनीहरूले परमप्रभुले इस्राएललाई आज्ञा दिनुभएको मोशाको व्यवस्थाको पुस्तक ल्याउन भनी शास्‍त्री एज्रालाई भने । 2 सातौँ महिनाको पहिलो दिनमा पुजारी एज्राले सुनेर बुझ्न सक्‍ने पुरुष र स्‍त्रीहरू दुवैको समुदायको सामु पुस्तक ल्याए । 3 तिनी पानी ढोकाको सामुन्‍नेको खुला क्षेत्रमा फर्के, र तिनले पुरुष र स्‍त्रीहरूको सामु बिहान सबेरैदेखि मध्यदिनसम्म यसबाट पढे, अनि सारा मानिसले व्यवस्थाको पुस्तकलाई ध्यान दिएर सुने । 4 तब शास्‍त्री एज्रा मानिसहरूले त्यस्तै कामको लागि बनाएका काठको उच्‍च मञ्चमा खडा भए । तिनको दाहिनेपट्टि छेउमा मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह र मासेयाह उभिएका थिए अनि तिनको देब्रेपट्टि पदायाह, मीशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया र मशुल्लाम उभिएका थिए । 5 एज्रा सारा मानिसभन्दा माथि उभिएकाले तिनले सबैले देख्‍ने गरी पुस्तक खोले, र तिनले पुस्तक खोल्दा सारा मानिस खडा भए । 6 एज्राले महान् परमेश्‍वर परमप्रभुलाई धन्यावाद दिए, अनि सारा मानिसले आ-आफ्ना हात उठाएर "आमेन! आमेन!" भने । तब तिनीहरूले आ-आफ्ना शिर झुकाए, र भुइँसम्मै निहुरेर परमप्रभुको आराधना गरे । 7 लेवीहरू येशूअ, बानी, शरेबियाह, यामीन, अक्‍कूब, सब्बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान, पलयाहले मानिसहरूलाई तिनीहरूकै ठाउँमा व्यवस्था बुझ्नलाई मदत गरे । 8 तिनीहरूले त्यो पुस्तक अर्थात् परमेश्‍वरको व्यवस्था पढे र मानिसहरूले बुझ्न सक्‍ने गरी अर्थ खोलिदिए । 9 राज्यपाल नहेम्याह, पुजारीसाथै शास्‍त्री एज्रा र मानिसहरूलाई अर्थ खोलिदिने लेवीहरूले सारा मानिसलाई भने, "यो दिन परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि पवित्र दिन हो । शोक नगर र नरोओ ।" किनकि तिनीहरूले व्यवस्थाका वचन सुन्दा सारा मानिस रोएका थिए । 10 तब नहेम्याहले तिनीहरूलाई भने, "आ-आफ्नो बाटो लाग, पुस्टाइएको पशु मारेर खाओ, मिठो पेय पदार्थ पिओ अनि आफ्ना निम्ति तयार पार्न नसक्‍नेहरूका निम्ति पनि थोरै भाग पठाइदेओ किनकि परमप्रभुको आनन्द नै तिमीहरूको शक्ति हो ।" 11 त्यसैले लेवीहरूले यसो भन्दै मानिसहरूलाई शान्त गराए, "चुप लाग, किनकि यो दिन पवित्र छ । शोक नगर ।" 12 तब सारा मानिस खानपान गर्न, पिउन, भोजन बाँडचुँड गर्न र बडो आनन्दसाथ उत्सव मनाउन आ-आफ्नो बाटो लागे किनकि तिनीहरूलाई बताइएका वचनहरू तिनीहरूले बुझेका थिए । 13 दोस्रो दिनमा सारा मानिसका परिवार-परिवारका मुख्य-मुख्य मानिसहरू, पुजारीहरूसाथै लेवीहरू व्यवस्थाका वचनहरूबाट अन्तर्ज्ञान प्राप्‍त गर्न शास्‍त्री एज्राकहाँ आए । 14 सातौँ महिनाको चाडमा इस्राएलीहरू छाप्रोमा बस्‍नपर्छ भनी परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको वचन तिनीहरूले व्यवस्थामा लेखिएको भेट्टाए । 15 तिनीहरूले तिनीहरूका सबै सहर र यरूशलेममा यसो भन्दै घोषणा गर्नुपर्छ, "लेखिएअनुसार छाप्रा बनाउनलाई पहाडी देशमा गएर जैतून, जङ्गली जैतून, मेहदी, खजूरका हाँगाहरूसाथै अन्य पातहरू भएका हाँगाहरू लिएर आओ ।" 16 तब मानिसहरू बाहिर गए, र हाँगाहरू ल्याए अनि हरेकले आ-आफ्नो निम्ति घरको छाना र चोकमा, परमेश्‍वरका भवनका चोकहरूमा, पानी ढोकाको सामुन्‍नेको चोकमा र एफ्राएमका ढोकाको चोकमा छाप्राहरू बनाए । 17 निर्वासनबाट फर्केकाहरू सबै समुदायले छाप्राहरू बनाई तिनमा बसे । किनकि नूनका छोरा यहोशूको समयदेखि त्यस दिनसम्म इस्राएलीहरूले यो चाड मनाएका थिएनन् । त्यसैले तिनीहरू बडो आनन्दित भए । 18 यसबाहेक, पहिलो दिनदेखि पछिल्लो दिनसम्म दिनप्रतिदिन एज्राले परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढ्ने गर्थै । तिनीहरूले सात दिनसम्म चाड मनाए, र आज्ञाअनुसार आठौँ दिनमा पवित्र सभा थियो ।

9

1 अब उही महिनाको चौबिसौँ दिनमा इस्राएलीहरू भेला भए । तिनीहरू उपवास बस्दै र भाङ्ग्रा लगाउँदै थिए, र तिनीहरूले आ-आफ्ना शिरमा धूलो हाले । 2 इस्राएलका सन्तानहरूले सबै परदेशीबाट आफूलाई अलग गरे । तिनीहरू खडा भएर आफ्ना पापसाथै तिनीहरूका पुर्खाहरूका दुष्‍ट कामहरू स्वीकार गरे । 3 तिनीहरू आ-आफ्ना ठाउँमा खडा भए, र पहिलो एक पहरचाहिँ तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढे । अर्को पहरमा तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको सामु पाप स्वीकार गर्दै र दण्डवत् गर्दै थिए । 4 लेवीहरू, येशूअ, बानी, कादमीएल, शबन्याह, बुन्‍नी, शरेबियाह, बानी र कनानी खुट्किलाहरूका उभिए, अनि तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरलाई उच्‍च सोरमा पुकारे । 5 तब लेवीहरू, येशूअ, कादमीएल, बानी, हशबन्याह, शरेबियाह, होदियाह, शबन्याह र पतहियाहले भने, "खडा भएर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सदासर्वदा प्रशंसा चढाओ ।" तिनीहरूले तपाईंको महिमित नाउँलाई धन्यको भनून्, र यो नाउँ हरेक आशिष् र प्रशंसाभन्दा माथि उचालिएको होस् । 6 तपाईं मात्र परमप्रभु हुनुहुन्छ । तपाईंले स्वर्ग, सर्वोच्‍च आकाश, त्यहाँका सबै आकाशीय पिण्ड अनि पृथ्वी र यसमा भएका थोक थोक, समुद्रहरू र तिनमा भएका सबै थोक बनाउनुभयो । तपाईंले नै ती सबैलाई जीवन दिनुहुन्छ, र स्वर्गका समुदायले तपाईंको आराधना गर्छन् । 7 तपाईं परमप्रभु परमेश्‍वर हुनुहुन्छ जसले अब्रामलाई चुन्‍नुभयो, र तिनलाई कल्दीहरूको ऊरबाट ल्याउनुभयो, र तिनलाई अब्राहाम नाउँ दिनुभयो । 8 तपाईंले तिनको हृदय तपाईंको सामु विश्‍वासयोग्य भएको भेट्टाउनुभयो, र तिनका सन्तानहरूलाई कनानी, हित्ती, एमोरी, परिज्‍जी, यबूसी र गिर्गाशीहरूको देश दिने प्रतिज्ञा गर्नुभयो । तपाईंले आफ्नो प्रतिज्ञा पुरा गर्नुभएको छ किनकि तपाईं धर्मी हुनुहुन्छ । 9 तपाईंले मिश्रमा हाम्रा पिता-पुर्खाहरूको दुःख देख्‍नुभयो, र लाल समुद्रनेर तिनीहरूको क्रन्दन सुन्‍नुभयो । 10 तपाईंले फारो, तिनका सबै अधिकारी र तिनको देशका सबै जनताको सामु चिन्हहरू र आश्‍चर्यहरू गर्नुभयो किनकि मिश्रीहरूले इस्राएलीहरूको विरुद्धमा अहङ्कारी भएर व्यवहार गरेका थिए भनी तपाईं जान्‍नुहुन्थ्यो । तपाईंले आफ्नो निम्ति एउटा नाउँ राख्‍नुभयो जुन आजको दिनसम्म खडा छ । 11 त्यसपछि तपाईंले तिनीहरूकै सामु समुद्रलाई विभाजन गरिदिनुभयो अनि तिनीहरू समुद्रको बिचमा सुक्खा भूमिबाट हिँडेर गए, र तिनीहरूलाई खेद्‍नेहरूलाई तपाईंले उर्लंदो पानी ढुङ्गा फालेझैँ फालिदिनुभयो । 12 तिनीहरूलाई बाटोमा यात्राको लागि प्रकाश दिन तपाईंले तिनीहरूलाई दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोद्वारा अगुवाइ गर्नुभयो । 13 तपाईं स्वर्गबाट सीनै पर्वतमा ओर्लनुभयो, र तिनीहरूसित बोल्नुभयो अनि तिनीहरूलाई धार्मिक नियमहरू, साँचो व्यवस्था र असल विधिविधानसाथै आज्ञाहरू दिनुभयो । 14 तपाईंले तिनीहरूलाई आफ्नो पवित्र शबाथ चिनाउनुभयो, अनि तपाईंका दास मोशाद्वारा तिनीहरूलाई आज्ञाहरू, विधिविधानहरू र व्यवस्था दिनुभयो । 15 तपाईंले तिनीहरूलाई तिनीहरूको भोक तृप्‍त पार्न स्वर्गबाट रोटी दिनुभयो, र तिनीहरूको तिर्खा मेट्न चट्टानबाट पानी दिनुभयो । तिनीहरूलाई दिन्छु भनी तपाईंले प्रतिज्ञा गर्नुभएको देशमा गएर अधिकार गर्न तिनीहरूलाई आज्ञा दिनुभयो । 16 तर तिनीहरू र हाम्रा पिता-पुर्खाहरू अटेरी र हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । 17 तिनीहरूले सुन्‍न इन्कार गरे, र तपाईंले तिनीहरूका बिचमा गर्नुभएका आश्‍चर्यहरूलाई तिनीहरूले विचारै गरेनन् । तर तिनीहरू हठी भए, र तिनीहरूको विद्रोहमा तिनीहरूले आफ्नो दासत्वमा फर्कन एक जना अगुवा नियुक्त गरे । तर तपाईं क्षमाले भरिपूर्ण, अनुग्रही, दयालु, रिसाउनमा ढिला, अचुक प्रेममा प्रचुर परमेश्‍वर हुनुहुन्छ । तपाईंले तिनीहरूलाई त्याग्‍नुभएन । 18 तिनीहरूले ढलौटे बाछा बनाएर 'तिमीहरूलाई मिश्रबाट ल्याउने ईश्‍वर यही हो' भनी तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गर्दा पनि 19 तपाईंले आफ्नो दयामा तिनीहरूलाई उजाड-स्थानमा त्याग्‍नुभएन । तिनीहरूलाई बाटोमा अगुवाइ गर्ने बादलको खाँबोले दिनमा तिनीहरूलाई छोडेन, न त तिनीहरूको यात्राको लागि प्रकाश दिने आगोको खाँबोले रातमा तिनीहरूलाई छोडे । 20 तिनीहरूलाई निर्देशन दिन तपाईंले तिनीहरूलाई आफ्नो असल आत्मा दिनुभयो, र तिनीहरूका मुखमा तपाईंले आफ्नो मन्‍न दिन रोक्‍नुभएन, र तिनीहरूको तिर्खा मेट्न तपाईंले तिनीहरूलाई पानी दिनुभयो । 21 चालिस वर्षसम्म उजाड-स्थानमा तपाईंले तिनीहरूलाई भोजन उपलब्ध गराउनुभयो, र तिनीहरूलाई कुनै थोकको कमी भएन । तिनीहरूका लुगा फाटिएनन्, र तिनीहरूका गोडा सुनिएनन् । 22 तपाईंले तिनीहरूलाई राज्यहरू र जातिहरू दिनुभयो, अनि देशका हरेक कुनामा पुर्‍याउनुभयो । तब तिनीहरूले हेश्बोनका राजा सीहोन र बाशानका राजा ओगको देश अधिकार गरे । 23 तपाईंले तिनीहरूका सन्तानहरूलाई आकाशका ताराजत्तिकै अनगिन्ती बनाउनुभयो, र तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई अधिकार गर्न दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा तिनीहरूलाई ल्याउनुभयो । 24 त्यसैले मानिसहरू देशभित्र प्रवेश गरी यसको अधिकार गरे, र तिनीहरूकै सामु त्यस देशका बासिन्दाहरू अर्थात् कनानीहरूलाई तपाईंले अधीनमा ल्याउनुभयो । इस्राएलले इच्छा लागेअनुसार कनानीहरूलाई व्यवहार गरून् भनेर तपाईंले कनानीहरू, तिनीहरूका राजाहरू, देशका जनताहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो । 25 तिनीहरूले किल्लाबन्दी गरिएका सहरहरू र उर्बरायुक्त देश कब्जा गरे । तिनीहरूले सबै असल थोकहरूले भरिएका घरहरू, पहिले नै खनेका कुवाहरू, दाखबारीहरू, जैतूनका बगैँचाहरू र प्रचुर मात्रामा फल दिने रुखहरू कब्जा गरे । यसरी तिनीहरूले खाएर तृप्‍त भए, अनि मोटाएर तपाईंको महान् भलाइमा तिनीहरूले आनन्द मनाए । 26 तब तिनीहरू अनाज्ञाकारी बने, र तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरे । तिनीहरूले तपाईंको व्यवस्थालाई पिठिउँ फर्काए । तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईंकहाँ फर्कन चेताउनी दिएका थिए । तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गरे । 27 त्यसैले तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो जसले तिनीहरूलाई सताए । तिनीहरूको दुःखकष्‍टको समयमा तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले स्वर्गबाट तिनीहरूको कुरा सुन्‍नुभयो । तपाईंको महान् कृपाको कारण तपाईंले छुटकारा दिनेहरू पठाउनुभयो जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटकारा दिए । 28 तर तिनीहरूले शान्ति पाएपछि तिनीहरूले फेरि तपाईंको सामु दुष्‍ट काम गरे, र तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा त्यागिदिनुभयो, अनि तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि शासन गरे । तथापि तिनीहरू फर्केर तपाईंलाई पुकारा गर्दा तपाईंले स्वर्गबाट सुन्‍नुभयो, र तपाईंको कृपाको कारण धेरै पटक तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो । 29 तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । आज्ञा पालन गर्ने जोसुकैलाई जीवन दिने तपाईंका आज्ञाहरूको विरुद्धमा तिनीहरूले पाप गरे । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्‍न इन्का गरे । 30 धेरै वर्षसम्म तपाईं तिनीहरूसित धैर्यवान् हुनुभयो, र आफ्ना अगमवक्ताहरूमार्फत तपाईंको आत्माद्वारा तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरूले सुनेनन् । त्यसैले तपाईंले तिनीहरूलाई छिमेकी जातिहरूका हातमा सुम्पिदिनुभयो । 31 तर तपाईंको महान् कृपामा तिनीहरूलाई निमिट्ट्यान्‍न पार्नुभएन, न त पूर्ण रूपमा त्यागिदिनुभयो किनकि तपाईं अनुग्रही र करुणामय परमेश्‍वर हुनुहुन्छ । 32 त्यसकारण, अब हे हाम्रा परमेश्‍वर तपाईं महान्, शक्तिशाली र भययोग्य परमेश्‍वर हुनुहुन्छ, जसले आफ्नो करार र अचुक प्रेम राख्‍नुहुन्छ । अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म हामी, हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू, हाम्रा अगमवक्ताहरू, हाम्रा पिता-पुर्खाहरू र तपाईंका सारा मानिसमाथि आइपरेका यी कठिनाइलाई हलुका नसम्झनुहोस् । 33 हामीमाथि आइपरेका हरेक कुरामा तपाईं धर्मी हुनुहुन्छ किनकि तपाईंले विश्‍वाससाथ व्यवहार गर्नुभएको छ, तर हामीले चाहिँ दुष्‍टतापूर्वक काम गरेका छौँ । 34 हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू र हाम्रा पिता-पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेका छैनन्, न त तपाईंका आज्ञाहरू वा तपाईंले तिनीहरूलाई चेताउनी दिनुभएका तपाईंका करारका आदेशहरूलाई ध्यान दिएका छन् । 35 तिनीहरूको आफ्नै राज्य हुँदा तपाईंले तिनीहरूलाई दिनुभएको विशाल र मलिलो देशमा तपाईंको महान् उदारतालाई तिनीहरूले उपभोग गर्दागर्दै पनि तिनीहरूले तपाईंको सेवा गरेनन्, न त तिनीहरूका दुष्‍ट मार्गहरूबाट फर्के । 36 हेर्नुहोस्, हामी दास भएका छौँ । अहिले हामी तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई त्यसका फलहरू खान र त्यसका असल उब्जनीहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौँ । 37 हाम्रा पापले गर्दा त्यसका प्रशस्त उब्जनीहरू हामीमाथि प्रभुत्व गर्न तपाईंले खटाउनुभएका राजाहरूकहाँ जान्छन् । तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूले हाम्रा शरीरसाथै हाम्रा गाईवस्तुमाथि शासन गर्छन् । हामी बडो कष्‍टमा छौँ! 38 यी सबै कारणले गर्दा हामी लेखेर नै दृढ करार बाँध्दछौँ । छाप लगाइएको दस्तावेजमा हाम्रा राजकुमारहरू, लेवीहरू र पुजारीहरूका नाउँ हुन्छन् ।"

10

1 सहीछाप लाउनेहरूका नाउँ यिनै थिए: हकल्‍याहका छोरा राज्‍यपाल नहेम्‍याह, सिदकियाह, 2 सरायाह, अजर्याह, यर्मिया, 3 पशहूर, अमर्याह, मल्‍कियाह, 4 हत्तूश, शबन्‍याह, मल्‍लूक, 5 हारीम, मरेमोत, ओबदिया, 6 दानिएल, गिन्‍नतोन, बारूक, 7 मशुल्‍लाम, अबिया, मियामीन, 8 माज्‍याह, बिल्‍गै, र शमायाह । यिनीहरूचाहिँ पुजारी थिए । 9 लेवीहरू: अजन्‍याहका छोरा येशूअ, हेनादादका छोरा बिन्‍नूई, कादमीएल, 10 र तिनीहरूका दाजुभाइहरू शबन्‍याह, होदियाह, कलीता, पलयाह, हानान, 11 मीयका, रहोब, हशब्‍याह, 12 जक्‍कूर, शरेबियाह, शबन्‍याह, 13 होदियाह, बानी, र बनीनू । 14 मानिसहरूका अगुवाहरू: परोश, पहत-मोआब, एलाम, जत्तू, बानी 15 बुन्‍नी, अज्‍गाद, बेबै, 16 अदोनियाह, बिग्‍वै, आदीन, 17 आतेर, हिजकिया, अज्‍जूर, 18 होदियाह, हाशूम, बेजै, 19 हारीप, अनातोत, नेबै, 20 मग्‍पीआस, मशुल्‍लाम, हेजीर, 21 मशेजेबेल, सादोक, यदूअ, 22 पलत्‍याह, हानान, अनायाह, 23 होशिया, हनन्‍याह, हश्‍शूब, 24 हल्‍लोहेश, पिल्‍हा, शोबक, 25 रेहूम, हशब्‍ना, मासेयाह, 26 अहिया, हानान, आनान, 27 मल्‍लूक, हारीम र बानाह । 28 बाँकी मानिसहरू अर्थात् पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायकहरू, मन्दिरका सेवकहरू र छिमेकी देशका मानिसहरूबाट आ-आफूलाई अलग गरी परमेश्‍वरको व्यवस्था पालन गर्ने प्रतिज्ञा गरेका सबै पुरुष, तिनीहरूका पत्‍नीहरू, तिनीहरूका छोराछोरीहरू जससित ज्ञान र समझशक्ति थियो, 29 तिनीहरू आफ्ना दाजुभाइहरू, तिनीहरूका कुलीनहरूसित मिलेर परमेश्‍वरका दास मोशाद्वारा दिइएको परमेश्‍वरको व्यवस्थामा हिँड्न र परमप्रभु हाम्रा परमेश्‍वरका सबै आज्ञा, उहाँका आदेशसाथै विधिविधानहरू मान्‍न र पालन गर्न सरापको शपथद्वारा बाँधिए । 30 हामीले हाम्रा छोरीहरू त्यस देशका मानिसहरूलाई नदिने र तिनीहरूका छोरीहरू हाम्रा छोरीहरूका निम्ति नलिने प्रतिज्ञा गर्‍यौँ । 31 त्यस देशका मानिसहरूले शबाथ दिनमा कुनै वस्तु वा अन्‍न बेच्न ल्याए भने शबाथ वा कुनै पनि पवित्र दिनमा हामीले तिनीहरूबाट नकिन्‍ने प्रतिज्ञा पनि गर्‍यौँ । हरेक सात वर्ष हामीले हाम्रा खेतहरूलाई विश्राम दिने छौँ, र हाम्रा सबै ऋण माफी गरिदिने छौँ । 32 हाम्रा परमेश्‍वरको मन्दिरको सेवाको लागि हरेक वर्ष शेकेलको एक तिहाइ दिनुपर्ने आज्ञालाई हामीले स्वीकार गर्‍यौँ । 33 उपस्थितिको रोटी, नियमित अन्‍नबलि, शबाथमा चढाइने होमबलिहरू, औँसीका चाडहरू र तोकिएका चाडहरू, पवित्र भेटीहरू, इस्राएलको निम्ति प्रायश्‍चित्तको लागि चढाइनुपर्ने पापबलिहरूसाथै हाम्रा परमेश्‍वरको मन्दिरका कामको लागि उपलब्ध गराउनुपर्ने आज्ञालाई हामीले स्वीकार गर्‍यौँ । 34 पुजारीहरू, लेवीहरू र मानिसहरूले दाउराको बलिदानको लागि चिट्ठा हाल्ने गर्थे । व्यवस्थामा लेखिएबमोजिम परमप्रभु हाम्रा परमेश्‍वरको वेदीमा हरेक वर्ष तोकिएको समयमा हाम्रा परमेश्‍वरको मन्दिरमा बाल्न चिट्ठाले नै कसले दाउरा ल्याउने भनी हाम्रा परिवारहरूको छनोट गर्थ्यो । 35 हामीले हाम्रो माटोमा उम्रेका प्रथम फलहरू र वर्षैपिच्छे हरेक रुखका प्रथम फलहरू परमप्रभुको मन्दिरमा ल्याउने प्रतिज्ञा गर्‍यौँ । 36 व्यवस्थामा लेखिएबमोजिम हामीले हाम्रा छोराहरू र हाम्रा गाईवस्तुसाथै भेडा-बाख्राहरूका पहिले बियाएकाहरू परमेश्‍वरको मन्दिरमा ल्याउने प्रतिज्ञा गर्‍यौँ । 37 हामी पहिले पिँधेको पिठो, हाम्रा अन्‍नबलिहरू, हरेक रुखको फल, नयाँ दाखमद्य र तेल हाम्रा परमेश्‍वरको मन्दिरका भण्डारहरूमा पुजारीहरूकहाँ ल्याउने छौँ । हामीले काम गर्ने सबै नगरमा लेवीहरूले दशांश उठाउने भएकाले हाम्रा माटोबाट हामी लेवीहरूकहाँ दशांशहरू ल्याउने छौँ । 38 लेवीहरूले दशांश बटुल्दा हारूनको सन्तान अर्थात् पुजारी तिनीहरूसित हुनैपर्छ । लेवीहरूले दशांशहरूको दसौँ अंश हाम्रा परमेश्‍वरको मन्दिरको भण्डारण कोठाहरूमा ल्याउनुपर्छ । 39 इस्राएलीहरू र लेवीका सन्तानहरूले अन्‍न, नयाँ दाखमद्य र तेलका दानहरू भण्डार कोठाहरूमा ल्याउनुपर्छ जहाँ पवित्रस्थानका भाँडाहरू राखिन्छन् र सेवा गर्ने पुजारीहरूसाथै द्वारपालहरू र गायकहरू बस्छन् । हामी हाम्रा परमेश्‍वरको मन्दिरलाई बेवास्ता गर्ने छैनौँ ।

11

1 मानिसहरूका अगुवाहरू यरूशलेममा बसोबास गरे, र बाँकी मानिसहरूले चाहिँ दस जनामध्ये एक जना पवित्र सहर यरूशलेममा बस्‍नलाई चिट्ठा हाले, अनि अरू नौ जना तिनीहरूका आ-आफ्नै सहरमा बसे । 2 तब राजीखुसीले यरूशलेममा बस्‍ने दिने सबैलाई मानिसहरूले आशीर्वाद दिए । 3 यरूशलेममा बस्‍ने प्रादेशिक अधिकारीहरू यी नै हुन् । तथापि केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूचाहिँ यहूदाका सहरहरूमा आ-आफ्नै जग्गाजमिनमा बसोबास गरे । 4 यहूदा कुलका केही सन्तानहरू र बेन्यामीन कुलका केही मानिसहरूचाहिँ यरूशलेममा नै बसे । यहूदाका मानिसहरू यी नै हुन्: फारेसको परिवारका अतायाह, जो उज्‍जियाहका छोरा, जो जकरियाका छोरा, जो अमर्याहका छोरा, जो शपत्‍याहका छोरा, जो महलालेलका छोरा थिए । 5 शेलहको परिवारका मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो योयारीबका छोरा, जो जकरियाका छोरा थिए । 6 यरूशलेममा बसोबास गर्ने फारेसको परिवारका सबै सन्तान जम्मा ४६८ जना थिए । तिनीहरू कहलिएका मानिसहरू थिए । 7 बेन्‍यामीनका सन्‍तानहरू यी नै हुन्: सल्‍लू, जो मशुल्‍लामका छोरा, जो योएदका छोरा, जो पदायाहका छोरा, जो कोलायाहका छोरा, जो मासेयाहका छोरा, जो इथीएलका छोरा, जो यशयाहका छोरा थिए, 8 र तिनका पछि लाग्‍नेहरू गब्‍बै र सल्‍लै– सबै जम्‍मा ९२८ जना थिए । 9 जिक्रीका छोरा योएलचाहिँ तिनीहरूका प्रमुख अधिकृत थिए, र हस्‍सेनूअका छोरा यहूदा दोस्रो जिल्‍लाको हेर-विचार गर्ने अधिकृत थिए । 10 पूजाहारीहरूबाट: यदायाह, योयारीबका छोरा, याकीन, 11 सरायाह, जो हिल्‍कियाहका छोरा, जो मशुल्‍लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो परमेश्‍वरका मन्दिरको देखरेख गर्ने मुख्य अधिकृत अहीतूबका छोरा थिए, 12 र मन्‍दिरको निम्‍ति काम गर्ने तिनीहरूका सहयोगीहरू सबै जम्‍मा ८२२ जना मानिस थिए । अदायाह, जो यरोहामका छोरा, जो पेलाल्‍याहका छोरा, जो अम्‍सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्‍कियाहका छोरा थिए । 13 तिनका दाजुभाइहरू जो परिवारका मुखियाहरू थिए– सबै जम्‍मा २४२ जना थिए । अमाश्‍शै, जो अज्रेलका छोरा, जो अहजैका छोरा, जो मशिल्‍लेमोतका छोरा, जो इम्‍मेरका छोरा थिए, 14 र तिनका दाजुभाइहरू जो योग्‍य मानिसहरू थिए– सबै जम्‍मा १२८ जना साहसिला लडाकाहरू थिए । तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्‍गदोलीमका छोरा जब्‍दीएल थिए । 15 लेवीहरूबाट: शमायाह, जो हश्‍शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्‍याहका छोरा, जो बुन्‍नीका छोरा थिए । 16 लेवीहरूका दुई जना अगुवाहरू सब्‍बतै र योजाबाद थिए, जो परमप्रभुको मन्दिरको बाहिरका कामका जिम्‍मावाल थिए । 17 मत्तन्‍याह, जो मीयकाका छोरा, जो जब्‍दीका छोरा, जो आसापका छोरा थिए । तिनी स्‍तुति-प्रशंसा र प्रार्थनाको सेवाका निर्देशक थिए । तिनका दाजुभाइहरूमध्‍ये दोस्रो स्‍थान लिने बक्‍बुक्‍याह थिए । अब्‍दा, जो शम्‍मूअका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए । 18 पवित्र सहरमा लेवीहरूको सङ्ख्‍या जम्‍मा २८४ थियो । 19 द्वारपालहरू: अक्‍कूब, तल्‍मोन र तिनीहरूका सहयोगीहरू सबै जम्‍मा १७२ जना थिए, जो मूल ढोकामा पहरा बस्‍थे । 20 बाँकी इस्राएलीहरू, पुजारीहरू र लेवीहरू यहूदाका सबै सहरहरूमा बसोबास गरे । हरेक आ-आफ्‍नै पुर्खाका अधिकारको जग्‍गामा बसे । 21 मन्‍दिरका सेवकहरू ओफेल डाँडामा बसे, अनि सीहा र गिश्‍पा तिनीहरूका जिम्‍मावाल थिए । 22 यरूशलेममा भएका लेवीहरूका प्रमुख अधिकृतचाहिँ उज्‍जी थिए, जो बानीका छोरा, जो हशब्‍याहका छोरा, जो मत्तन्‍याहका छोरा, जो मीयकाका छोरा थिए । उज्‍जीचाहिँ आसापका सन्‍तान थिए । ती आसापका सन्‍तानहरू परमेश्‍वरको मन्दिरका सेवाको निम्‍ति गाउने जिम्‍मा लिएकाहरू थिए । 23 तिनीहरू राजाको आदेशमुनि थिए, र हरेक दिनको आवश्यकताअनुसार ती गायकहरूलाई कडा आदेश दिइन्थ्यो । 24 मानिसहरूका सबै कामकाजको सम्बन्धमा राजाको तर्फबाट पतहियाह थिए, जो यहूदाका छोरा जेरहका परिवारका मशेजेबेलका छोरा थिए । 25 गाउँहरू र तिनीहरूका खेतहरूको सम्बन्धमा यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका गाउँहरू, अनि दीबोन र त्यसका गाउँहरू, अनि यकब्सेल र त्यसका गाउँहरू, 26 येशूअ, मोलादा, बेथ-पालेत, 27 हसरशूआल, बेर्शेबा र त्‍यसका गाउँहरू, 28 सिक्‍लग, मकोना र त्‍यसका गाउँहरू, 29 एन-रिम्‍मोन, सोरा, यर्मूत, 30 जानोह, अदुल्‍लाम र त्‍यसका गाउँहरू, लाकीश र त्‍यसका खेतहरू, र आजेका र त्‍यसका गाउँहरूमा बसे । यसरी तिनीहरू बेर्शेबादेखि हिन्‍नोमको बेँसीसम्‍म देश बसे । 31 बेन्‍यामीनका गेबाबाटका सन्‍तानहरूचाहिँ मिकमाश, अय्‍या, बेथेल र त्‍यसका गाउँहरू, 32 अनातोत, नोब र हननिया, 33 हासोर, रामा, गित्तैम, 34 हादीद, सबोयीम, नबलत, 35 लोद, ओनो र कारिगरहरूको बेँसीमा बसे । 36 यहूदामा बसोबास गर्ने केही लेवीहरूलाई बेन्यामीनका मानिसहरूका निम्ति सेवा गर्न तोकिए ।

12

1 शालतिएलका छोरा यरुबाबेल र येशूअसँग फर्केर आएका पुजारीहरू र लेवीहरू यिनै हुन्‌: 2 सरायाह, यर्मिया, एज्रा, अमर्याह, मल्‍लूक, हत्तूश, 3 शकन्‍याह, रेहूम, मरेमोत, 4 इद्दो, गिन्‍नतोन, अबिया, 5 मियामीन, मदाहा, बिल्‍गा, 6 शमायाह, योयारीब, यदायाह, 7 सल्‍लू, अमोक, हिल्‍कियाह र यदायाह । येशूअको समयमा पुजारीका अगुवाहरू र तिनीहरूका सहयोगीहरू यिनै थिए । 8 लेवीहरू: येशूअ, बिन्‍नूई, कादमीएल, शरेबियाह, यहूदा र मत्तन्‍याह । मत्तन्‍याह आफ्‍ना सहयोगीहरूसँग धन्‍यवाद ज्ञापनका भजनहरूका जिम्‍मावाल थिए । 9 तिनका सहयोगीहरू बक्‍बुक्‍याह र उन्‍नीचाहिँ सेवामा तिनीहरूका सामुन्‍ने उभिन्थे । 10 येशूअ योयाकीमका पिता थिए । योयाकीम एल्‍यासीबका पिता थिए । एल्‍यासीब योयादाका पिता थिए । 11 योयादा जोनाथनका पिता थिए, र जोनाथन यद्दूअका पिता थिए । 12 योयाकीमको समयमा यी पुजारीहरू आ-आफ्‍ना परिवारका मुखिया थिए: सरायाहका परिवारका मरायाह, यर्मियाका हनन्‍याह, 13 एज्राका मशुल्‍लाम, अमर्याहका येहोहानान, 14 मल्‍लूकका जोनाथन, शकन्‍याहका योसेफ, 15 हारीमका अदना, मरेमोतका हल्‍कै । 16 इद्दोका जकरिया, गिन्‍नतोनका मशुल्‍लाम, 17 अबियाका जिक्री, मिन्‍यामीन र मोदाहाका पिल्‍तै, 18 बिल्‍गाका शम्‍मूअ, शमायाहका यहोनातान, 19 योयारीबका मत्तनै, यदायाहका उज्‍जी, 20 सल्‍लूका कल्‍लै, अमोकका एबेर, 21 हिल्‍कियाहका हशब्‍याह, यदायाहका नतनेल । 22 एल्‍यासीब, योयादा, योहानान र यद्दूअका समयका लेवीहरूका परिवारहरू तथा पुजारीका मुखियाहरूका नाउँ फारसी राजा दाराको शासनकालमा लेखिएका थिए । 23 लेवी परिवारका मुखियाहरूका नाउँचाहिँ एल्‍यासीबका छोरा योहानानको पालासम्‍मै इतिहासको पुस्‍तकमा लेखिएका थिए । 24 लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्‍ने खडा हुन्थे, र आ-आफ्नो पालोअनुसार परमेश्‍वरका जन दाऊदको आज्ञामुताबिक प्रशंसा गर्ने र धन्यवाद दिने गर्थे । 25 मत्तन्‍याह, बक्‍बुक्‍याह, ओबदिया, मशुल्‍लाम, तल्‍मोन र अक्‍कूबचाहिँ मूल ढोकानेर भएका भण्‍डार-कोठाहरूमा रक्षा दिने द्वारपालहरू थिए । 26 तिनीहरूले येशूअका छोरा, योसादाकका नाति योयाकीमको पालोमा अनि राज्यपाल नहेम्याह र पुजारीसाथै शास्‍त्री एज्राको पालोमा सेवा गरे । 27 यरूशलेमको पर्खालको अर्पणको बेलामा धन्यवाद ज्ञापन दिँदै अनि झ्याली, वीणा र सारङ्गी बजाउँदै आनन्दसाथ अर्पणको उत्सव मनाउन मानिसहरूले लेवीहरू जहाँसुकै बसेका भए तापनि तिनीहरूको खोजी गरे । 28 यरूशलेम वरिपरिको जिल्ला र नतोपातीहरूका गाउँहरूबाट गायकहरू सँगै भेला भए । 29 तिनीहरू बेथ-गिलगाल, गेबा र अज्मावेतका क्षेत्रहरूबाट पनि आए किनकि गायकहरूले यरूशलेमको वरिपरि आफ्ना लागि गाउँहरू बनाएका थिए । 30 पुजारी र लेवीहरूले आ-आफूलाई शुद्ध पारे, अनि तिनीहरूले मानिसहरू, मूल ढोकाहरू र पर्खाललाई शुद्ध पारे । 31 तब मैले यहूदाका अगुवाहरूलाई पर्खालको माथि जान लगाएँ, र धन्यवाद दिन मैले दुईवटा ठुला-ठुला गायन-झुण्ड नियुक्त गरेँ । एउटा झुण्ड दाहिनेतिर पर्खालमा फोहोर ढोकामा गयो । 32 होशयाह र यहूदाका आधा अगुवाहरूले तिनीहरूलाई पछ्याए, 33 अनि अजर्याह, एज्रा, मशुल्लाम, 34 यहूदा, बेन्यामीन, शमायाह र यर्मिया तिनीहरूको पछि लागे । 35 साथै, तुरहीहरू बोकेर केही पुजाहारीहरूका छोराहरू र जकरिया, जो जोनाथनका छोरा, जो शमायाहका छोरा, जो मत्तन्‍याहका छोरा, जो मीकायाका छोरा, जो जक्‍कूरका छोरा, जो आसापका छोरा थिए, तिनीहरू पनि पछि लागे । 36 त्यहाँ जकरियाका नातेदारहरू अर्थात् शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा र हनानी पनि परमेश्‍वरका जन दाऊदका साङ्गीतिक साधनहरू बोकेर आएका थिए । शास्‍त्री एज्रा सबैभन्दा अगाडि थिए । 37 तिनीहरू फुहारा ढोकाबाट भएर दाऊदको सहरका सिँढीहरूबाट सिधै पर्खालमा उकालो चढ्ने बाटो भएर दाऊदको दरबार पार गरी पूर्वतिर अवस्थित पानी ढोकासम्मै गए । 38 धन्यवाद दिनेहरूको अर्को गायन झुण्ड अर्को दिशामा गयो । मानिसहरूका आधा भागसँगै मैले तिनीहरूलाई पर्खालमा पछ्याएँ । यो झुण्ड भट्टिको बुर्जा भएर, चौडा पर्खालसम्म, 39 र एफ्राइमको ढोका, येशना ढोका, माछा ढोका, हननेलको बुर्जा र सयको बुर्जादेखि भेडा ढोकासम्म गएपछि तिनीहरू गारदको ढोकामा अडिए । 40 यसरी धन्यवाद दिनेहरूका यी दुवै गायन-झुण्ड परमेश्‍वरको मन्दिरमा आ-आफ्नो स्थानमा बसे, र म पनि अधिकारीहरूको आधा भागसँगै आफ्नो स्थानमा बसेँ । 41 त्यसपछि पुजारीहरू एल्‍याकीम, मासेयाह, मिन्‍यामीन, मीकाया, एल्‍योएनै, जकरिया र हनन्‍याह तुरहीहरू बोकेर आ-आफ्नो स्थानमा बसे । 42 साथै, मासेयाह, शमायाह, एलाजार, उज्‍जी, येहोहानान, मल्‍कियाह, एलाम र एसेर पनि त्यहाँ थिए । गायकहरूले तिनीहरूका अगुवा यिज्रहियाहको निर्देशनमा गाए । 43 त्यस दिन तिनीहरूले ठुला-ठुला बलिदानहरू चढाए, र आनन्द मनाए, किनकि परमेश्‍वरले तिनीहरूलाई बडो आनन्द मनाउन दिनुभएको थियो । स्‍त्रीहरू र बालबालिकाहरूले पनि आनन्द मनाए । यसरी यरूशलेमको आनन्द टाढा-टाढासम्म सुन्‍न सकिन्थ्यो । 44 त्यस दिन भेटीहरू, अगौटे फलहरू र दशांशहरूका निम्ति भण्डार-कोठाहरूको जिम्मा लिन अनि लेवीहरू र पुजारीहरूका निम्ति व्यवस्थाले तोकेबमोजिम हिस्सा जम्मा गर्न मानिसहरू नियुक्त गरिए । सहरका नजिकका बस्तीहरूबाट काम गर्न हरेकलाई जिम्मा दिइएको थियो । किनकि यहूदा पुजारीहरू र लेवीहरूबाट प्रसन्‍न भए जो तिनीहरूका सामु खडा थिए । 45 दाऊद र तिनका छोरा सोलोमनको आज्ञामुताबिक तिनीहरूले आफ्ना परमेश्‍वरको सेवा र शुद्धिको सेवा गरे, अनि गायकहरू र द्वारपालहरूले पनि त्यसै गरे । 46 किनकि धेरै पहिले दाऊद र आसापको समयमा गायकहरूका निर्देशकहरू थिए, र त्यहाँ परमेश्‍वरको निम्ति प्रशंसासाथै धन्यवाद ज्ञापन हुन्थ्यो । 47 यरुबाबेल र नहेम्याहको समयमा सारा इस्राएलले गायकहरू र द्वारपालहरूका लागि दैनिक हिस्सा दिन्थे । तिनीहरूले लेवीहरूका निम्ति भाग छुट्ट्याउँथे, र लेवीहरूले हारूनका सन्तानहरूका निम्ति भाग छुट्ट्याउँथे ।

13

1 त्यस दिन तिनीहरूले मानिसहरूले सुन्‍ने गरी मोशाको व्यवस्था पढे । कुनै अम्मोनी वा मोआबी कहिल्यै पनि परमेश्‍वरको सभामा आउनुहुँदैन भनी त्यसमा लेखिएको भेट्टाइयो । 2 किनकि तिनीहरू रोटी र पानी लिएर इस्राएलीहरूकहाँ आएका थिएनन्, तर तिनीहरूले इस्राएललाई सराप दिन बालामलाई भाडामा लिएका थिए । तथापि हाम्रा परमेश्‍वरले सरापलाई आशिष्‌मा परिणत गरिदिनुभयो । 3 तिनीहरूले व्यवस्था सुन्‍नेबित्तिकै तिनीहरूले इस्राएलबाट हरेक विदेशीबाट अलग गराए । 4 अब योभन्दा पहिले पुजारी एल्यासीब हाम्रा परमेश्‍वरको मन्दिरका भण्डार-कोठाहरूका जिम्मावाल नियुक्त भएका थिए । तिनको तोबियासित सम्बन्ध थियो । 5 एल्यासीबले तोबियाको लागि एउटा ठुलो भण्डार-कोठा तयार पारेका थिए जहाँ पहिले तिनीहरूले लेवीहरू, गायकहरू, द्वारपालहरूका निम्ति अन्‍नबलि, धूप, काठपातहरू, अन्‍नका दशांशहरू, नयाँ दाखमद्य र तेल अनि पुजारीहरूका निम्ति दान राख्‍ने गर्थे । 6 तर यी सबै समयमा म यरूशलेममा थिइनँ । किनकि बेबिलोनका राजा अर्तासास्तको बत्तिसौँ वर्षमा म राजाकहाँ गएको थिएँ । केही समयपछि फर्केर जान मैले राजालाई अनुमति मागेँ, 7 र म यरूशलेम फर्कें । परमेश्‍वरको मन्दिरका चोकहरूमा एल्यासीबले तोबियालाई भण्डार-कोठा दिएर तिनले गरेको दुष्‍टतालाई मैले बुझेँ । 8 म सार्‍हैँ रिसाएँ, र मैले भण्डार-कोठाबाट तोबियाका सबै सरसामानहरू फालिदिएँ । 9 भण्डार-कोठाहरू शुद्ध पारिऊन् भनी मैले आज्ञा दिएँ, अनि मैले परमेश्‍वरका मन्दिरका सामानहरू, अन्‍नबलिहरू र धूप फेरि त्यहाँ राखेँ । 10 लेवीहरूलाई तिनीहरूको भाग दिइएको रहेनछ, अनि लेवीहरूसाथै काम गर्ने गायकहरू आ-आफ्नो जग्गामा भागेर गएका रहे छन् भनी मैले थाहा पाएँ । 11 त्यसैले मैले अधिकारीहरूको सामना गरी तिनीहरूलाई भनेँ, "परमेश्‍वरको मन्दिरलाई किन बेवास्ता गरिएको ?" मैले तिनीहरूलाई जम्मा गरी तिनीहरूकै पदमा नियुक्त गरेँ । 12 तब सारा यहूदाले अन्‍नको दशांश, नयाँ दाखमद्य र तेल भण्डार-कोठाहरूभित्र ल्याए । 13 मैले पुजारी शेलेम्याह, शास्‍त्री सादोक र लेवीहरूबाट पदायाहलाई भण्डार-कोठाहरूको कोषाध्यक्षको रूपमा नियुक्त गरेँ । जक्‍कूरका छोरा, मत्तन्याहका नाति हानानलाई तिनीहरूका सहायकको रूपमा नियुक्त गरेँ किनकि तिनीहरू भरोसायोग्य ठानिएका थिए । तिनीहरूका सहायकहरूका खानेकुराहरू वितरण गर्नु नै तिनीहरूको कर्तव्य थियो । 14 हे मेरा परमेश्‍वर, यस विषयमा मेरो सम्झना गर्नुहोस्, अनि मेरा परमेश्‍वरको मन्दिर र यसका सेवाहरूमा मैले गरेका असल कार्यहरूलाई नमेटिदिनुहोस् । 15 ती दिनमा मैले यहूदामा मानिसहरूले शबाथमा कोल पेलिरहेका, अन्‍नका भारीहरू ल्याइरहेका, अनि दाखमद्य, दाख, नेभारा र सबै किसिमका भारीहरू गधाहरूमाथि लादेर शबाथ-दिनमा यरूशलेममा ल्याएको देखेँ । त्यस दिन तिनीहरूले खानेकुरा बेच्दै थिए भनी मैले विरोध जनाएँ । 16 यरूशलेममा बस्‍ने टुरोसका मानिसहरूले माछासाथै सबै किसिमका खानेकुरा ल्याए, अनि शबाथमा तिनीहरूले यहूदा र सहरका मानिसहरूलाई ती चिजहरू बेचे । 17 तब मैले यहूदाका मानिसहरूको सामना गरेँ, "शबाथ-दिनलाई अपवित्र पारी तपाईंहरूले यो दुष्‍ट काम गर्नुको अर्थ के हो ? 18 के तपाईंहरूका पुर्खाहरूले यसै गरेका होइनन् र ? के हाम्रा परमेश्‍वरले हामी र हाम्रो सहरमाथि यी सबै खराबी ल्याउनुभएको होइन र ? अब शबाथलाई अपवित्र पारी तपाईंहरूले इस्राएलमाथि अझै धेरै क्रोध ल्याउँदै हुनुहुन्छ ।" 19 शबाथअगि यरूशलेमका प्रवेश-द्वारहरूमा साँझ पर्नेबित्तिकै ती बन्द गरेर शबाथ नसकिएसम्म नखोलिऊन् भनी मैले आज्ञा दिएँ । शबाथ-दिनमा कुनै भारी भित्र लैजान नसकियोस् भनेर प्रवेश-द्वारहरूमा मैले मेरा केही सेवकहरू नियुक्त गरेँ । 20 सबै किसिमका सामान ल्याउने र बेच्नेहरूले एक-दुई पटक यरूशलेमबाहिरै छाउनी हाले । 21 तर मैले तिनीहरूलाई चेताउनी दिएँ, "तपाईंहरू किन पर्खालबाहिर छाउनी हाल्नुहुन्छ ? तपाईंहरूले फेरि यसो गर्नुभयो भने म तपाईंहरूलाई कारबाही गर्ने छु ।" त्यस समयदेखि तिनीहरू शबाथमा आएनन् । 22 तब मैले लेवीहरूलाई आ-आफूलाई शुद्ध पारी शबाथलाई पवित्र पार्न प्रवेशद्वारहरूको पहरा दिनू भनी आज्ञा दिएँ । हे मेरा परमेश्‍वर, मप्रति तपाईंको करारको बफादारीको कारणले यसको लागि पनि मलाई सम्झनुहोस्, र मलाई दया देखाउनुहोस् । 23 ती दिनमा अश्दोद, अम्मोन र मोआबका स्‍त्रीहरूलाई बिहे गर्ने यहूदीहरूलाई पनि मैले देखेँ । 24 तिनीहरूका सन्तानमध्ये आधाले अश्दोदको भाषा बोल्थे । तिनीहरूमध्ये कसैले पनि यहूदाको भाषा बोल्न सक्दैनथ्यो, तर ती मानिसहरूको कुनै एउटा भाषा बोल्दथे । 25 मैले तिनीहरूको सामना गरी तिनीहरूलाई सराप दिएँ, र केहीलाई हिर्काएँ र तिनीहरूको जगल्टा लुछेँ । मैले तिनीहरूलाई यसो भनी परमेश्‍वरको नाउँमा शपथ खान लगाएँ, "तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू अथवा तिनीहरूका छोरीहरू आफ्ना छोराहरू वा आफ्नै लागि नलिनू । 26 के यी स्‍त्रीहरूकै कारणले इस्राएलका राजा सोलोमनले पाप गरेका होइनन् र ? जाति-जातिहरूका बिचमा तिनीजस्ता राजा कोही थिइनन्, र तिनका परमेश्‍वरले तिनलाई प्रेम गर्नुहुन्थ्यो, अनि परमेश्‍वरले सारा इस्राएलमाथि तिनलाई राजा बनाउनुभयो । तथापि, तिनका विदेशी पत्‍नीहरूले तिनलाई पाप गर्न लगाए । के तपाईंहरूको कुरा सुनी यी सबै दुष्‍ट काम गर्ने अनि विदेशी स्‍त्रीहरूसित बिहे गरी हाम्रा परमेश्‍वरलाई धोका दिने ?" 27 प्रधान पुजारी एल्यासीबका छोरा योयादाको एक जना छोरो होरोनी सन्बलतको ज्वाइँ रहेछ । त्यसकारण मैले त्यसलाई मेरो उपस्थितिबाट भाग्‍न लगाएँ । 28 हे मेरा परमेश्‍वर, तिनीहरूलाई सम्झनुहोस्, किनकि तिनीहरूले पुजारीको पद, यसको करार र लेवीहरूलाई दुषित पारेका छन् । 29 यसरी मैले तिनीहरूलाई हरेक विदेशीबाट शुद्ध पारेँ, अनि पुजारीहरूसाथै लेवीहरूलाई तिनीहरूको आ-आफ्नै कर्तव्यमा स्थापित गराएँ । 30 मैले तोकिएको समयमा दाउराको भेटी र अगौटे फलहरू उपलब्ध गराएँ । 31 हे मेरा परमेश्‍वर, सदासर्वदा मेरो सम्झना गर्नुहोस् ।