नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
हितोपदेश
हितोपदेशको पुस्तक
1

1 दाऊदका छोरा इस्राएलका राजा सोलोमनको हितोपदेशः 2 यी हितोपदेशहरू बुद्धि र निर्देशनक कुराहरू सिकाउन र अन्तर्दृष्‍टिका वचनहरू सिकाउनलाई हो, 3 ताकि जे ठिक, न्यायी र उचित छ त्यो गरेर बाँच्नलाई तिमीले निर्देशन प्राप्‍त गर्न सक । 4 यी हितोपदेशहरू सोझाहरूलाई बुद्धि दिन र युवाहरूलाई ज्ञान र समझदारी दिनलाई पनि हो । 5 बुद्धिमानी मानिसहरूले सुनून् र तिनीहरूको ज्ञान बढाऊन्, अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन्, 6 जसद्वारा तिनीहरूले हितोपदेशहरू, दृष्‍टान्तहरू, बुद्धिमानीहरूका वचनहरू र आहानहरू बुझून् । 7 परमप्रभुको भय नै ज्ञानको सुरु हो । मूर्खहरूले बुद्धि र निर्देशनलाई तुच्छ ठान्छ । 8 हे मरो छोरो, आफ्नो छोरोको निर्देशन सुन्, र आफ्नी आमाका नियमहरूलाई पाखा नलगा । 9 ती तेरो शिरमा अनुग्रहको माला हुने छन्, र तेरो गलामा सम्मानको हार हुने छन् । 10 हे मेरो छोरो, पापीहरूले तँलाई तिनीहरूकै पापमा बहकाउन खोजे भने, तिनीहरूको पछि नलाग् । 11 तिनीहरूले भन्लान्, "हामीसित आऊ । उक्तपातको लागि ढुकिबसौँ । विनाकारण लुकेर निर्दोष मानिसहरूलाई आक्रमण गरौँ । 12 स्वस्थहरूलाई पातालले निलेझैँ तिनीहरूलाई जिउँदै निलौँ, र तिनीहरूलाई खाडलमा खस्‍नेहरूलाई झैँ गरौँ । 13 हामीले सबै किसिमका बहुमूल्य थोकहरू पाउने छौँ । तिनीहरूबाट हामीले चोरेका थोकहरूले हामी आफ्ना घरहरू भर्ने छौँ । 14 तिमी हामीसित साझेदार होऊ । हामी सबैको एउटै थैलो हुने छ ।" 15 हे मेरो छोरो, तिनीहरूसँग त्यस मार्गमा नचल । तिनीहरू हिँड्ने बाटोमा तेरा पाउलाई छुन नदे । 16 तिनीहरूका पाउ खराबीको लागि दौडन्छन्, र तिनीहरू रगत बगाउन हतारिन्छन् । 17 किनकि कुनै पनि पक्षीको दृष्‍टिमा जाल फ्याँक्‍नु बेकाम्मा हुन्छ । 18 यी मानिसहरू तिनीहरूको आफ्नै रगतको लागि ढुकिबस्छन् । तिनीहरूले आफ्नै ज्यानको लागि पासो थाप्छन् । 19 अन्यायद्वारा धन थुपार्ने हरेकका मार्गहरू पनि त्यस्तै हुन्छन् । अन्यायद्वारा कमाउनेहरूको जीवन त्यही धनले छिनेर लैजान्छ । 20 बुद्धि सडकमा चर्को गरी कराउँछ, र खुला ठाउँहरूमा त्यसले आफ्नो सोर उचाल्छ । 21 होहल्लाले भरिएका सडकहरूको माथि त्यो कराउँछ, र सहरको मूल ढोकामा त्यसले भन्छ, 22 "हे निर्बुद्धि मानिसहरू हो, तिमीहरू कहिलेसम्म निर्बुद्धि भइरहन्छौ ? हे गिल्ला गर्नेहरू हो, तिमीहरू कहिलेसम्म गिल्ला गर्नमा रमाउँछौ ? र हे मूर्खहरू हो, तिमीहरू कहिलेसम्म ज्ञानलाई घृणा गर्छौ ? 23 मेरो सुधारलाई ध्यान देओ । म तिमीहरूमाथि मेरा विचार खन्याइदिने छु । म तिमीहरूलाई मेरा वचनहरू ज्ञात गराइदिने छु । 24 मैले बोलाएको छु, तर तिमीहरूले सुन्‍न इन्कार गरेका छौ । मैले मेरा हात फैलाएँ, तर ध्यान दिने कोही थिएन । 25 तिमीहरूले मेरा सबै निर्देशनलाई बेवास्ता गरेका छौ, र मेरो सुधारलाई वास्तै गरेका छैनौ । 26 तिमीहरूमाथि विपत्ति आइपर्दा म खिसी गर्ने छु; त्रास आउँदा म तिमीहरूलाई उपहास गर्ने छु- 27 जब तिमीहरूमाथि आँधीबेहरीझैँ डरलाग्दो त्रास आउने छ, र भुमरीझैँ विपत्ति तिमीहरूमाथि मडारिन्छ, र सङ्कष्‍ट र पीडा तिमीहरूमाथि आउँछन् । 28 तब तिनीहरूले मेरो पुकारा गर्ने छन्, तर मे जवाफ दिने छैनँ । तिनीहरूले मेरो औधी खोजी गर्ने छन्, तर मलाई भेट्टाउने छैनन् । 29 तिनीहरूले ज्ञानलाई घृणा गर्ने भएकाले र परमप्रभुको भयलाई नरोजेकाले, 30 तिनीहरूले मेरो निर्देशनलाई मानेनन्, र मेरो सुधारलाई तुच्छ ठाने । 31 तिनीहरूले तिनीहरूका चालको फल खाने छन्, र तिनीहरूका षड्यन्त्रको फलले तिनीहरू भरिने छन् । 32 किनकि निर्बुद्धिहरू फर्कंदा तिनीहरू मारिन्छन्, र मूर्खहरूको तटस्थताले तिनीहरूलाई नष्‍ट गर्ने छन् । 33 तर मेरो कुरा सुन्‍ने सुरक्षामा जिउने छ, र कुनै पनि विपत्तिको डरैविना ढुक्‍कसित बस्‍ने छ ।"

2

1 हे मेरो छोरो, तैँले मेरा वचनहरू ग्रहण गरिस् र मेरा आज्ञाहरूलाई तेरो मनमा राखिस् भने, 2 बुद्धिका कुराहरू सुन्‍न तेरो कान थापिस्, र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने, 3 तैँले समझशक्तिको लागि पुकारा गरिस्, र यसको लागि सोर उचालिस् भने, 4 तैँले चाँदीलाई झैँ यसलाई खोजिस्, र गाडधनलाई झैँ समझशक्तिको खोजी गरिस् भने, 5 तैँले परमप्रभुको भय बुझ्ने छस्, र परमेश्‍वरको ज्ञान पाउने छस् । 6 किनकि परमप्रभुले नै बुद्धि दिनुहुन्छ, अनि उहाँको मुखबाट ज्ञान र समझशक्ति निस्कन्छन् । 7 उहाँलाई खुसी तुल्याउनेहरूका लागि उहाँले पक्‍का बुद्धि साँचेर राख्‍नुभएको छ । निष्‍ठामा चल्नेहरूका लागि उहाँ ढाल हुनुहुन्छ । 8 उहाँले न्यायका मार्गहरूलाई सुरक्षा दिनुहुन्छ, र उहाँप्रति विश्‍वासयोग्य हुनेहरूको मार्ग रक्षा गर्नुहुन्छ । 9 तब तैँले धार्मिकता, न्याय, समानता र हरेक असल मार्गलाई बुझ्ने छस् । 10 किनकि बुद्धि तेरो हृदयमा आउने छ, र ज्ञान तेरो प्राणको लागि आनन्ददायक हुने छ । 11 विवेकले तँमाथि निगरानी गर्ने छ; समझशक्तिले तेरो रक्षा गर्ने छ । 12 तिनीहरूले तँलाई दुष्‍ट चालबाट र छली कुराहरू गर्नेबाट जोगाउने छन् । 13 त्यस्ताहरूले ठिक मार्गलाई त्याग्छन्, र अन्धकारका मार्गमा हिँड्छन् । 14 तिनीहरूले खराबी गर्दा तिनीहरू रमाउँछन्, र दुष्‍टका बदमासीहरूमा आनन्द मनाउँछन् । 15 तिनीहरू बाङ्गाटिङ्गा बाटाहरूमा हिँड्छन्, र छलको प्रयोग गर्दै तिनीहरूले आफ्ना चाल लुकाउँछन् । 16 बुद्धि र विवेकले तँलाई व्यभिचारी स्‍त्री, र अनैतिक स्‍त्रीसाथै त्यसका चाप्लुसी वचानहरूबाट बचाउने छ । 17 त्यसले आफ्नो युवावस्थाको मित्रलाई त्याग्छे, र आफ्ना परमेश्‍वरको करारलाई भुल्छे । 18 किनकि त्यसको घरले मृत्युमा डोर्‍याउँछ, र त्यसका बाटाहरूले तँलाई चिहानमा भएकाहरूकहाँ पुर्‍याउने छन् । 19 त्यसकहाँ जाने कोही पनि फेरि फर्केर आउने छैनन्, र तिनीहरूले जीवनका मार्गहरू भेट्टाउने छैनन् । 20 त्यसकारण असल मानिसहरूको बाटोमा हिँड्, र धर्मी मानिसहरूको मार्गको पछि लाग । 21 किनकि ती ठिक गर्नेहरूले देशमा घर बनाउने छन्, र निष्‍ठावान्‌हरू यसमा रहने छन् । 22 तर दुष्‍टहरूचाहिँ देशबाट जरैदेखि उखेलिने छन्, र विश्‍वासहीनहरू यसबाट मिल्काइने छन् ।

3

1 हे मेरो छोरो, मेरा आज्ञाहरू नभुल्, र मेरा शिक्षाहरूलाई तेरो हृदयमा राख् । 2 किनकि तिनले तेरो आयु लामो बनाउने छन्, र शान्ति ल्याउने छन् । 3 करारको विश्‍वसनीयता र भरोसाले तँलाई कहिल्यै नछोडून् । तिनलाई तेरो गलाको वरिपरि सँगसँगै बाँध् । तिनलाई तेरो हृदयको पाटीमा लेख् । 4 तब तैँले परमेश्‍वर र मानिसको दृष्‍टिमा निगाह पाउने छस्, र ख्याति कमाउने छस् । 5 तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् । 6 तेरा सबै मार्गमा उहाँलाई उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ । 7 तेरो आफ्नै दृष्‍टिमा बुद्धिमान् नबन् । परमप्रभुको भय मान्, र खराबीबाट फर्की । 8 यो तेरो शरीरको लागि चङ्गाइ हुने छ, र तेरो देहको लागि ताजापन हुने छ । 9 तेरो धन-सम्पत्ति र तेरा सबै उब्जनीको अगौटे-फलले परमप्रभुको आदर गर् । 10 तब तेरा भन्डार कोठाहरू भरिने छन्, र तेरा भाँडाकुँडाहरू नयाँ दाखमद्यले चुलिएर पोखिने छन् । 11 हे मेरो छोरो, परमप्रभुको निर्देशनलाई तुच्छ नठान्, र उहाँको हप्कीलाई घृणा नगर् । 12 किनकि परमप्रभुले प्रेम गर्नुहुनेहरूलाई नै उहाँले अनुशासनमा राख्‍नुहुन्छ, जस्तो बुबालाई खुसी पार्ने छोरोलाई बुबाले व्यवहार गर्छ । 13 बुद्धि प्राप्‍त गर्ने धन्यको हो । त्यसले समझशक्ति पनि पाउँछ । 14 तैँले बुद्धिबाट प्राप्‍त गर्ने कुरो चाँदीबाट प्राप्‍त गर्ने कुरोभन्दा उत्तम हुन्छ, र यसको लाभ सुनभन्दा उत्तम हुन्छ । 15 बुद्धि गरगहनाभन्दा बहुमूल्य हुन्छ, र तैँले इच्छा गरेको कुनै पनि थोक त्यससित तुलना गर्न सकिँदैन । 16 बुद्धिको दाहिने हातमा दीर्घायु हुन्छ भने त्यसको देब्रे हातमा धन-सम्पत्ति र मान हुन्छन् । 17 त्यसको मार्ग दयाको मार्ग हो, र त्यसका सबै बाटा शान्तिका छन् । 18 बुद्धिलाई पक्रनेहरूका लागि त्यो जीवनको रुख हो, र त्यसलाई समात्‍नेहरू खुसी हुन्छन् । 19 बुद्धिले नै परमप्रभुले पृथ्वी बनाउनुभयो र समझशक्तिले उहाँले आकाशहरू स्थापना गर्नुभयो । 20 उहाँको ज्ञानद्वारा गहिरा-गहिरा सागरहरू फुटेर निस्के, र बादलले तलतिर शीत झारे । 21 हे मेरो छोरो, पक्‍का बुद्धि र समझशक्तिलाई जोगाइराख्, अनि तिनलाई तेरो नजरबाट जान नदे । 22 ती तेरो प्राणको निम्ति जीवन हुने छन्, र तेरो गलाको वरिपरि लगाउने स्‍नेहको गहना हुने छन् । 23 तब तँ आफ्नो मार्गमा सुरक्षितसाथ हिँड्ने छस्, र तेरो खुट्टा ठोक्‍किने छैन । 24 तँ पल्टँदा डराउने छैनस् । तँ पल्टँदा तँलाई मिठो निद्रा लाग्‍ने छ । 25 दुष्‍टहरूबाट अकस्मात् आउने त्रास वा विपत्तिदेखि नडरा । 26 किनकि परमप्रभु तेरो पक्षमा हुनुहुने छ, र उहाँले तेरो पाउलाई पासोमा पर्नदेखि जोगाउनुहुने छ । 27 तँ शक्तिमा रहुञ्‍जेलसम्म भलाइ गरिन योग्य भएकाहरूबाट त्यसलाई नरोक् । 28 तँसित रुपियाँ-पैसा हुँदा आफ्नो छिमेकीलाई यसो नभन्, "जाऊ, र फेरि आऊ अनि म भोली दिने छु ।" 29 तेरो नजिकै बस्‍ने र तँमाथि भर पर्ने आफ्नो छिमेकीको हानि गर्ने योजना नबना । 30 तँलाई कसैले हानि नपुर्‍याउँदा विनाकारण त्यससित तर्क-वितर्क नगर् । 31 हिंसात्मक व्यक्तिको ईर्ष्या नगर् वा त्यसको कुनै पनि मार्गलाई नछान् । 32 किनकि कुटिल व्यक्ति परमप्रभुको लागि घृणित हुन्छ, तर सोझो व्यक्तिलाई उहाँले आफ्नो विश्‍वासमा ल्याउनुहुन्छ । 33 दुष्‍टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीहरूको घरमा उहाँको आशिष् पर्छ । 34 उहाँले गिल्ला गर्नेहरूलाई गिल्ला गर्नुहुन्छ, तर विनम्र मानिसहरूलाई उहाँले आफ्नो स्‍नेह देखाउनुहुन्छ । 35 बुद्धिमान् मानिसहरू आदरको हकदार हुने छन्, तर मूर्खहरू तिनीहरूकै लाजमा पर्ने छन् ।

4

1 हे मेरा छोराहरू हो, बुबाको निर्देशन सुन, र ध्यान देओ ताकि समझशक्ति के रहेछ भनी तिमीहरूले जान्‍न सक । 2 म तिमीहरूलाई असल निर्देशनहरू दिँदै छु । मेरो शिक्षालाई नत्याग । 3 म मेरो बुबाको छोरो हुँदा, मेरी आमाको कोमल र एक मात्र सन्तान हुँदा, 4 उहाँले मलाई सिकाउनुभयो, र भन्‍नुभयो, "तेरो हृदयले मेरा वचनहरू पक्रिराख् । मेरा आज्ञाहरू पालन गरेर बाँच् । 5 बुद्धि र समझशक्ति प्राप्‍त गर् । मेरो मुखका वचनहरूलाई नबिर्सी र इन्कार नगर् । 6 बुद्धिलाई नत्याग् र त्यसले तेरो निगरानी गर्ने छ । त्यसलाई प्रेम गर्, र त्यसले तँलाई सुरक्षा दिने छ । 7 बुद्धि सबैभन्दा महत्त्वपूर्ण वस्तु हो । त्यसैले बुद्धि प्राप्‍त गर्, र समझशक्ति प्राप्‍त गर्न सबै मूल्य चुका । 8 बुद्धिलाई कदर गर्, र त्यसले तँलाई माथि उठाउने छ । तैँले त्यसलाई अङ्गाल्दा त्यसले तेरो इज्‍जत गर्ने छ । 9 बुद्धिले तेरो शिरमा आदरको माला पहिराइदिने छ । त्यसले तँलाई सुन्दर मुकुट दिने छ ।" 10 हे मेरो छोरो, मेरा वचनहरू सुन्, र तिनलाई ध्यान दे, अनि तेरो जीवनको आयु लामो हुने छ । 11 म तँलाई बुद्धिको बाटोमा लैजान्छु । म तँलाई सिधा बाटाहरूमा अगुवाइ गर्छु । 12 तँ हिँड्दा तेरो बाटोमा कोही खडा हुने छैन, र तँ दौडिस् भने पनि ठक्‍कर खाने छैनस् । 13 निर्देशनलाई समातेर राख्; यसलाई जान नदे । यसलाई पहरा दे, किनकि यो तेरो जीवन हो । 14 दुष्‍टहरूको चालमा नहिँड् र खराबी गर्नेहरूको मार्गमा नजा । 15 त्यसलाई त्यागिदे; त्यसमा नहिँड् । त्यसबाट फर्केर अर्को बाटो लाग् । 16 किनकि तिनीहरूले खराबी नगरेसम्म तिनीहरू सुत्‍न सक्दैनन्, र तिनीहरूले कसैलाई नलडाएसम्म तिनीहरूलाई निन्द्रै लाग्दैन । 17 किनकि तिनीहरूले दुष्‍टताको रोटी खान्छन्, र हिंसाको मद्य पिउँछन् । 18 तर धर्मी मानिसहरूको मार्ग प्रभातको पहिलो किरणजस्तै हो । मध्यदिन नआएसम्म यो झन्-झन् चम्किलो हुन्छ । 19 दुष्‍टहरूको मार्ग अन्धकारजस्तै छ । तिनीहरू केमा ठक्‍कर खान्छन् भनी तिनीहरूलाई थाहै हुँदैन । 20 हे मेरो छोरो, मेरा वचनहरूलाई ध्यान दे । मेरा भनाइहरू सुन्‍न तेरो कान थाप । 21 तेरो नजरबाट तिनलाई उम्केर जान नदे । तिनलाई तेरो हृदयमा राख् । 22 किनकि मेरा वचनहरू पाउनेका लागि ती जीवन हुन्, र तिनीहरूको पुरै शरीरको लागि स्वास्थ्य हो । 23 तेरो हृदयलाई सुरक्षित राख्, र पुरा मेहनतसाथ यसको रक्षा गर्, किनकि यसबाट नै जीवनका मूलहरू उम्रन्छन् । 24 कुवाक्यलाई तँबाट पर राख्, र भ्रष्‍ट कुराकानीलाई तँबाट टाढा राख् । 25 तेरा आँखाले सिधा अगाडि हेरून्, र तेरो अगिल्तिर सिधा एकटक लगाएर हेर् । 26 तेरो खुट्टाको लागि नैतिकताको मार्ग बना । तब तेरा सबै मार्गहरू सुरक्षित हुने छन् । 27 दाहिने वा देब्रेतिर नलाग् । खराबीबाट तेरो चाललाई फर्का ।

5

1 हे मेरो छोरो, मेरो बुद्धिमा ध्यान लगा । मेरो समझशक्तिमा कान थाप । 2 यसरी तैँले विवेकको विषयमा सिक्‍ने छस्, र तेरो ओठले ज्ञानको रक्षा गर्न सक्‍ने छ । 3 किनकि व्यभिचारी स्‍त्रीको ओठबाट मह चुहन्छ, र त्यसको मुख तेलभन्दा पनि चिल्लो हुन्छ । 4 तर अन्त्यमा त्यो ऐरेलु जत्तिकै तितो हुन्छ, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ । 5 त्यसको खुट्टा मृत्युतिर ओह्रालो लाग्छ । त्यसका कदमहरू पातालको मार्गमा जान्छन् । 6 त्यसले जीवनको मार्गको बारेमा सोच्दैन । त्यसका चालहरू भौँतारिन्छन् । कहाँ जाँदै छे भनी त्यसलाई थाहै हुँदैन । 7 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरो मुखका वचनहरू सुन्‍नदेखि नतर्क । 8 तिमीहरूको मार्ग त्यसबाट परै राख, र त्यसको घरको ढोका नजिक नआओ । 9 यसरी तिमीहरूले आफ्नो इज्‍जत अरूलाई दिने छैनौ वा तिमीहरूको उमेर क्रुर व्यक्तिलाई दिने सुम्पने छैनौ । 10 परदेशीहरूले तिमीहरूको धन-सम्पत्तिमा भोज लगाउने छैनन् । तिमीहरूले जेको लागि काम गरेका छौ, त्यो परदेशीहरूको घरमा जाने छैन । 11 तिमीहरूका मासु र छाला गलिसक्दा तिमीहरूको जीवनको अन्त्यमा तिमीहरूले विलाप गर्ने छौ । 12 तिमीहरूले भन्‍ने छौ, "हाय, मैले निर्देशनलाई कसरी घृणा गरेँ, र मेरो हृदयले सुधारलाई तुच्छ ठान्यो! 13 मैले मेरा शिक्षकहरूको आज्ञा मानिनँ वा मेरा प्रशिक्षकहरूका कुरा सुन्‍न कान थापिनँ । 14 सभाको बिचमा, मानिसहरूको जमघटमा म झण्डै पूर्ण रूपमा विनाश भएँ ।" 15 आफ्नै कुण्डको पानी पिउनू, र आफ्नै कुवाबाट बगेको पानी पिउनू । 16 के तेरो कुवाको पानी जताततै र तेरो खोलाको पानी सार्वजनिक चोकहरूमा बग्‍न दिने ? 17 ती तेरा लागि मात्र होऊन्, र तँसित भएका परदेशीहरूका लागि नहोऊन् । 18 तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्‍नीसित तँ आनन्दित भएको होस् । 19 किनकि त्यो मायालु मृग र अनुग्रहमय हरिणझैँ छे । त्यसका स्तनहरूले तँलाई सधैँभरि सन्तुष्‍ट पारून् । त्यसको प्रेमद्वारा तँ निरन्तर रूपमा मोहित तुल्याइएको होस् । 20 हे मेरो छोरो, तँ किन व्यभिचारी स्‍त्रीद्वारा फसाइने ? तैँले किन अनैतिक स्‍त्रीलाई अङ्गालो हाल्ने ? 21 मानिसले गर्ने हरेक कुरो परमप्रभुले देख्‍नुहुन्छ, र त्यसका सबै मार्गलाई उहाँले निगरानी गर्नुहुन्छ । 22 दुष्‍ट व्यक्ति आफ्नै अधर्मद्वारा पासोमा पर्ने छ । त्यसको पापका डोरीहरूले त्यसलाई कसेर बाँध्‍ने छ । 23 निर्देशनको कमीले त्यो मर्ने छ । त्यसको असीम मूर्खताद्वारा त्यसले बाटो बिराउँछ ।

6

1 हे मेरो छोरो, आफ्नो छिमेकीको ऋणको लागि तँ जमानी बसेको छस्, वा आफूले नचिनेको व्यक्तिको ऋणको लागि तैँले प्रतिज्ञा गरेको छस् भने, 2 तेरो प्रतिज्ञाद्वारा तैँले आफैलाई पासो थापेको छस्, र तेरो मुखको वचनद्वारा तँ पक्रिएको छस् । 3 हे मेरो छोरो, तेरो वचनद्वारा तँ पक्राउ पर्दा यसो गरेर आफैलाई बचा, किनकि तँ तेरो छिमेकीको हातमा परिसकेको छस् । गएर आफैलाई विनम्र तुल्या, र तेरो छिमेकीको सामु आफ्नो मामला राख । 4 आँखामा निद्रा पर्न नदे, र तेरा पलकलाई बन्द हुन नदे । 5 सिकारीको हातबाट हरिण उम्केझैँ र व्यधाको हातबाट चरा उम्केझैँ आफैलाई बचा । 6 ए अल्छे मानिस, कमिलालाई हेर् । त्यसका चालहरूलाई विचार गरेर बुद्धिमानी बन् । 7 त्यसको कुनै अगुवा, हाकिम वा शासक हुँदैन, 8 तरै पनि ग्रिष्म ऋतुमा त्यसले आफ्नो भोजन तयार गर्छ, र कटनीको बेला आफ्नो खानेकुरा सञ्चय गर्छ । 9 ए अल्छे मानिस, तँ कहिलेसम्म सुत्‍ने छस् ? तेरो निद्राबाट तँ कहिले ब्युँझने छस् ? 10 क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्‍ने कामले 11 गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ । 12 बेकम्मा व्यक्ति अर्थात् दुष्‍ट मानिस आफ्नो जाली बोलिवचनद्वारा जिउँछ । 13 त्यसले आफ्ना आँखा झिम्काउँछ, आफ्नो खुट्टाले सङ्केत गर्छ र आफ्ना औँलाले इसारा गर्छ । 14 त्यसले आफ्नो हृदयमा छल राखेर दुष्‍ट योजना बनाउँछ । त्यसले सधैँ विवाद निम्त्याउँछ । 15 त्यसकारण त्यसको विपत्तिले त्यसलाई एकै क्षणमा आक्रमण गर्ने छ । क्षण भरमा नै निको नहुने गरी त्यो टुट्ने छ । 16 छवटा कुरा छन् जसलाई परमप्रभु घृणा गर्नुहुन्छ, र सातौचाहिँ उहाँको लागि घिनलाग्दो छ । 17 अहङ्कारी व्यक्तिका आँखा, झुट बोल्ने जिब्रो, निर्दोष मानिसहरूको रगत बगाउने हात, 18 दुष्‍ट योजनाहरू रच्ने हृदय, खराबी गर्न अग्रसर हुने खुट्टा, 19 झुट बोल्ने साक्षी र दाजुभाइहरूका बिचमा विवाद उत्पन्‍न गर्ने मानिस । 20 हे मेरो छोरो, आफ्नो बुबाको आज्ञा मान्, र आफ्नी आमाको शिक्षालाई नत्याग् । 21 तिनलाई सधैँ तेरो हृदयमा बाँधिराख् । तिनलाई तेरो गलाको वरिपरि बाँधिराख् । 22 तँ हिँड्दा तिनले तँलाई अगुवाइ गर्ने छन् । तँ सुत्दा तिनले तेरो हेरचाह गर्ने छन्, र तँ ब्युँझँदा तिनले तँलाई सिकाउने छन् । 23 किनकि आज्ञाहरू बत्ती र शिक्षा ज्योति हुन् । निर्देशनद्वारा आउने सुधार जीवनका मार्ग हुन् । 24 यसले तँलाई अनैतिक स्‍त्रीबाट बचाउने छ, र त्यसका चिल्ला वचनहरूबाट जोगाउने छ । 25 त्यसको सुन्दरताको कारण तेरो हृदयमा कामवासनाले नजल, र त्यसका आँखाले तँलाई नफसाओस् । 26 वेश्यासितको सुताइको मूल्य रोटीको एउटा टुक्रा हुन सक्छ, तर अर्काकी पत्‍नीको लागि तैँले आफ्नो जीवनै गुमाउनुपर्ने हुन सक्छ । 27 के आफ्नो लुगा नडढाइकन कसैले आफ्नो काखमा आगो राख्‍न सक्छ ? 28 के आफ्नो खुट्टा नजलाइकन कुनै मानिस आगोको भुङ्ग्रोमा हिँड्न सक्छ ? 29 आफ्नो छिमेकीकी पत्‍नीसित सुत्‍ने पुरुष पनि त्यस्तै हुन्छ । त्यससित सुत्‍ने मानिस दण्डविना उम्कने छैन । 30 भोकाएको मानिसले आफ्नो भोक मेट्न चोरी गर्‍यो भने मानिसहरूले त्यसलाई तुच्छ ठान्दैनन् । 31 तापनि त्यो पक्राउ पर्‍यो भने त्यसले आफूले चोरेको सात गुणा बढी तिर्नुपर्ने हुन्छ । त्यसले आफ्नो घरमा भएको हरेक थोक दिनुपर्ने हुन सक्छ । 32 व्यभिचार गर्ने व्यक्ति समझविनाको हुन्छ । यसो गर्नेले आफैलाई नष्‍ट पार्छ । 33 त्यो चोट र लाजको हकदार बन्छ, र त्यसको अपमान मेटिने छैन । 34 किनकि लालचले मानिसलाई क्रोधित तुल्याउँछ । त्यसले बदला लिँदा कृपा देखाउने छैन । 35 त्यसले कुनै क्षतिपूर्ति स्वीकार गर्ने छैन, र धेरै घुस दिए तापनि त्यसलाई किन्‍न सकिँदैन ।

7

1 हे मेरो छोरो, मेरा वचनहरू पालन गर्, र मेरा आज्ञाहरू तँभित्र सञ्चय गरेर राख् । 2 मेरा आज्ञाहरू पालन गरेर बाँच्, र मेरो निर्देशनलाई तेरो आँखाको नानीजस्तै जोगाइराख् । 3 तिनलाई तेरा औँलाहरूमा बेह्रेर राख् । तिनलाई तेरो हृदयको पाटीमा लेखेर राख् । 4 बुद्धिलाई भन्, "तिमी मेरी बहिनी हौँ," र समझशक्तिलाई आफ्नो आफन्त भन् । 5 तब तिनले तँलाई व्यभिचारी स्‍त्री र अनैतिक स्‍त्रीको मोहित तुल्याउने कुराहरूबाट बचाउने छन् । 6 मेरो घरको झ्यालमा बसेर मैले आँखी-झ्यालबाट हेर्दै थिएँ । 7 मैले सोझा मानिसहरूलाई हेरेँ, र युवाहरूका बिचमा एक जना निर्बुद्धिलाई ख्याल गरेँ । 8 त्यो जवान मानिस त्यस स्‍त्री बस्‍ने गल्ली नजिकबाट गयो, र त्यो स्‍त्रीको घरतर्फ लाग्यो । 9 साँझको बेलामा दिन ढल्कँदै थियो, जुन बेला अन्धकार छाएको थियो । 10 एउटी स्‍त्रीले त्यसलाई भेटी, जसले वेश्याले जस्तै पहिरन लगाएकी थिई र त्यसको हृदय धूर्त थियो । 11 त्यो चञ्चली र जिद्दीवाल थिई । त्यो आफ्नो घरमा बस्दिनथी । 12 त्यो कहिले सडकमा त कहिले बजारमा बस्थी, अनि हरेक कुनाकाप्चामा त्यो लुकेर बस्थी । 13 त्यसले उसलाई पक्रेर चुम्बन गरी, र निर्लज्‍ज चेहरा लिएर भनी, 14 "आज मैले आफ्नो मेलबलि चढाएँ; मेरा भाकलहरू पुरा गरेँ । 15 त्यसैले म तपाईंलाई भेट्न, उत्सुकतासाथ तपाईंको मुहार हेर्न आएकी हुँ, र अहिले मैले तपाईंलाई भेट्टाएकी छु । 16 मैले मेरो ओछ्यानमा मिश्र देशको रङ्गिन तन्‍ना ओछ्याएकी छु । 17 मैले मेरो ओछ्यानमा मूर्र, एलवा र दालचिनी छर्केकी छु । 18 आउनुहोस्, बिहानसम्मै हामी प्रेमको सागरमा डुबौँ । हामी प्रेमको कार्यमा रमाऔँ । 19 किनकि मेरा पति घरमा हुनुहुन्‍न । उहाँ लामो यात्रामा जानुभएको छ । 20 उहाँले आफूसित पैसाको थैली लिएर जानुभएको छ । उहाँ पूर्णिमामा मात्र घर फर्कनुहुने छ ।" 21 धेरै कुराकानी गरेर त्यो उसकहाँ फर्की । त्यसले आफ्ना मोहित तुल्याउने कुराहरूलाई उसलाई फकाई । 22 मारिनलाई लगिएको गोरुझैँ र पासोमा परेको मृगझैँ त्यो अकस्मात् स्‍त्रीको पछि लाग्यो । 23 वाणले त्यसको कलेजो नछेडेसम्म त्यो पछि लागरिरह्‍यो । त्यो जालतिर कुदिरहरेको चरोजस्तो थियो । आफ्नो ज्यानै गुमाउनुपर्थ्यो भनी त्यसलाई थाहा थिएन । 24 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरा मुखका वचनहरूलाई ध्यान देओ । 25 तिमीहरूको हृदय त्यसका मार्गहरूमा नलागोस् । त्यसका मार्गहरूमा बरालिएर नजाओ । 26 त्यसले धेरै मानिसहरूलाई फसाएकी छे । त्यसका सिकारहरू धेरै छन् । 27 त्यसको घर पातालका मार्गहरूमा छ । तिनीहरू मृत्युका अन्धकारपूर्ण कोठाहरूमा जान्छन् ।

8

1 के बुद्धिले आव्हान गर्दैन र ? के समझशक्तिले त्यसको सोर उचाल्दैन र ? 2 बाटोको छेउका उच्‍च ठाउँहरूमा, चौबाटाहरूमा बुद्धिले आफ्नो ठाउँ लिएको छ । 3 सहरको मूल ढोकाको सामु, प्रवेशद्वारमा त्यो चर्को सोरले यसरी कराउँछ, 4 "हे मानिसहरू हो, म तिमीहरूलाई नै आव्हान गर्दछु । मेरो सोर मानव-जातिका छोराहरूका लागि हो । 5 तिमीहरू जो निर्बुद्धि छौ, बुद्धि प्राप्‍त गर । तिमीहरू जो मूर्ख छौ, तिमीहरूले समझशक्तिको हृदय प्राप्‍त गर । 6 सुन, किनकि म आदरणीय कुराहरूको विषयमा बताउने छु, र मेरो ओठ खुला हुँदा मैले सिधा कुराहरू भन्‍ने छु । 7 किनकि मेरो मुखले भरोसायोग्य कुरा बताउँछ, र दुष्‍टता मेरो ओठको लागि घृणित कुरो हो । 8 मेरो मुखका सबै वचन न्यायपूर्ण छन् । तिनमा कुनै पनि बाङ्गोटिङ्गो छैन वा तिनले गलत मार्गमा लैजाँदैनन् । 9 बुझ्नेको व्यक्तिको लागि ती सबै सिधा छन् । ज्ञान पाउनेहरूका लागि मेरा वचनहरू उचित छन् । 10 चाँदीभन्दा मेरो निर्देशनलाई प्राप्‍त गर । निखुर सुनभन्दा मेरो ज्ञानलाई प्राप्‍त गर । 11 किनकि बुद्धि रत्‍नहरूभन्दा बहुमूल्य हुन्छ । कुनै पनि खजाना यसको समान छैन । 12 म बुद्धि सावधानीसित बस्छु, र म ज्ञान र विवेक अधिकार गर्छु । 13 परमप्रभुको भय खराबीलाई घृणा गर्नु हो । म घमण्ड, अहङ्कार, दुष्‍ट मार्ग र भड्काउने बोलीवचनलाई घृणा गर्दछु । म तिनीहरूलाई घृणा गर्दछु । 14 मसित असल सरसल्लाह र पक्‍का बुद्धि छ । म अन्तर्दृष्‍टि हुँ । मसित सामर्थ्य छ । 15 मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायपूर्ण व्यवस्था बनाउँछन् । 16 मद्वारा नै राजकुमारहरू र कुलीनहरूले शासन गर्छन्, अनि सबैले न्यायसित शासन चलाउँछन् । 17 मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्दछु, र मलाई परिश्रमसाथ खोज्नेहरूले मलाई भेट्टाउँछन् । 18 मसित रुपियाँ-पैसा र इज्‍जत, टिकिरहने धन-सम्पत्ति र धार्मिकता छन् । 19 मेरो फल सुनभन्दा अर्थात् निखुर सुनभन्दा श्रेष्‍ठ छ । मेरो उत्पादन निखुर चाँदीभन्दा श्रेष्‍ठ छ । 20 म धार्मिकताको मार्गमा, न्यायका मार्गहरूका बिचमा हिँड्छु । 21 परिणामस्वरूप, मलाई प्रेम गर्नेहरूलाई म धन-सम्पत्तिले सम्पन्‍न तुल्याउने छु । म तिनीहरूका ढुकुटीहरू भरिदिने छु । 22 परमप्रभुले मलाई सुरुमा अर्थात् उहाँका सुरुका कार्यहरूभन्दा पहिले नै सृष्‍टि गर्नुभयो । 23 पृथ्वीको आरम्भदेखि नै युगौँ पहिले मलाई बनाइएको थियो । 24 महासागरहरू हुनुभन्दा पहिले नै, पानीले भरिपूर्ण खोला-नालाहरू हुनुभन्दा पहिले नै मलाई जन्म दिइयो । 25 पहाडहरू स्थापित गरिनुअगि, डाँडाहरू बनाइनुअगि म जन्मेको थिएँ । 26 परमप्रभुले पृथ्वी वा जमिनहरू वा संसारको पहिलो धुलो बनाउनुअगि म जन्मेको थिएँ । 27 उहाँले आकाशहरू स्थापित गर्नुहुँदा, महासागरको सतहमा घेरा लगाउनुहुँदा म त्यहाँ थिएँ । 28 उहाँले माथि बादलहरू स्थापित गर्नुहुँदा र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा बसाल्नुहुँदा म त्यहाँ थिएँ । 29 उहाँको आज्ञाविना पानी आफ्नो सिमानाभन्दा बाहिर नजाओस् भन्‍नाका लागि उहाँले समुद्रको सिमा तोकिदिनुहुँदा र सुक्खा भूमिका जगहरू बसाल्नुहुँदा म त्यहाँ थिएँ । 30 एउटा सिपालु कारीगरझैँ म उहाँको छेउमा थिएँ । दिनप्रति दिन म उहाँको आनन्द भएँ र सधैँभरि उहाँको सामु आनन्दित हुन्थेँ । 31 म उहाँको सारा संसारमा रमाउँदै थिएँ, र मानव-जातिका छोराहरूमा मेरो आनन्द थियो । 32 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, किनकि मेरा मार्गहरूमा हिँड्ने आशिषित् हुने छन् । 33 मेरो निर्देशनलाई सुनेर बुद्धिमान् होओ । यसलाई बेवास्ता नगर । 34 मेरो कुरा सुन्‍ने जन आशिषित् हुने छ । मेरा ढोकाहरूको चौकोसनेर प्रतीक्षा गर्दै उसले हरेक दिन मेरा ढोकाहरूमा हेर्ने छ । 35 किनकि मलाई भेट्ने जोसुकैले पनि जीवन पाउँछ, र उसले परमप्रभुको निगाह पाउने छ । 36 तर असफल हुनेले चाहिँ आफ्नै जीवनमा हानि ल्याउँछ । मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छ ।"

9

1 बुद्धिले आफ्नै घर बनाएको छ । त्यसले चट्टानबाट सातवटा खम्बा गाडेको छ । 2 त्यसले आफ्ना पशुहरू मारेको छ । त्यसले आफ्नो दाखमद्य मिसाएको छ, र त्यसले आफ्नो टेबुल तयार पारेको छ । 3 त्यसले आफ्ना दासीहरूलाई बाहिर पठाएको छ । त्यो सहरको सबैभन्दा अग्लो टाकुराबाट चिच्‍च्याउँछ । 4 "निर्बुद्धि को हो ? त्यो यहाँ फर्कोस् ।" त्यो समझ नभएको व्यक्तिसित बोल्छ । 5 "आएर मेरो खाना खाओ, र मैले मिसाएको दाखमद्य पिओ । 6 आफ्ना निर्बुद्धि चालहरू त्यागेर बाँच । समझशक्तिको मार्गमा हिँड । 7 गिल्ला गर्नेलाई अनुशासनमा राख्‍नेले दुर्व्यवहार पाउँछ, र दुष्‍ट व्यक्तिलाई हप्काउनेले अपमान पाउँछ । 8 गिल्ला गर्नेलाई नहप्का, नत्रता त्यसले तँलाई घृणा गर्ने छ । बुद्धिमान् मानिसलाई हप्का, र त्यसले तँलाई प्रेम गर्ने छ । 9 बुद्धिमान् व्यक्तिलाई निर्देशन दे, र त्यो अझै बुद्धिमान् हुने छ । धर्मी व्यक्तिलाई सिका, र त्यो अझै सिपालु हुने छ । 10 परमप्रभुको भय नै बुद्धिको सुरु हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो । 11 किनकि मद्वारा तेरा दिनहरू धेरै हुने छन्, र तेरो आयु लामो हुने छ । 12 तँ बुद्धिमान् भइस् भने तँ आफ्नै लागि बुद्धमान् हुने छस् । तैँले गिल्ला गरिस् भने तैँले त्यो आफैसित बोक्‍ने छस् ।" 13 मूर्ख स्‍त्री अज्ञानी हुन्छे । त्यो अशिक्षित हुन्छे र त्यसलाई केही थाहा हुँदैन । 14 त्यो आफ्नो घरको ढोकामा, सहरका सबैभन्दा अग्ला ठाउँहरूमा बस्छे । 15 त्यसले सडकमा हिँड्नेहरू, आफ्नो बाटोम सिधा अगाडि बढ्नेहरूलाई डाक्दै छे । 16 "कोही निर्बुद्धि छ भने त्यो यहाँ फर्कोस्," समझशक्ति नभएकाहरूलाई त्यसले भन्छे । 17 "चोरीको पानी मिठो हुन्छ, र गुप्‍तमा खाएको रोटी स्वादिष्‍ट हुन्छ ।" 18 तर त्यहाँ मरेकाहरू छन् र त्यस स्‍त्रीले निम्तो दिएका पाहुनाहरू पातालको गहिराइमा छन् भनी त्यसलाई थाहा छैन ।

10

1 सोलोमनको हितोपदेश । बुद्धिमान् छोरोले आफ्नो बुबालाई खुसी तुल्याउँछ, तर मूर्ख छोरोले आफ्नी आमामा शोक ल्याउँछ । 2 दुष्‍टताद्वारा जम्मा गरिएको धन-सम्पत्तिको कुनै मूल्य हुँदैन, तर ठिक गर्नाले तपाईंलाई मृत्युबाट जोगाउँछ । 3 परमप्रभुले धर्मी व्यक्तिको प्राणलाई भोकै रहन दिनुहुन्‍न, तर उहाँले दुष्‍टको इच्छालाई निराश तुल्याइदिनुहुन्छ । 4 अल्छे हातले मानिसलाई गरिब बनाउँछ, तर परिश्रमी मानिसको हातले धन-सम्पत्ति आर्जन गर्छ । 5 बुद्धिमान् छोरोले ग्रिष्म ऋतुमा फसल जोहो गर्छ, तर कटनीको समयमा सुत्‍नेले अपमान ल्याउँछ । 6 परमेश्‍वरका उपहारहरू धर्मी व्यक्तिको शिरमा पर्छन्, तर दुष्‍टहरूको मुख हिंसाले ढाकिएको हुन्छ । 7 धर्मी व्यक्तिलाई सम्झनेहरूलाई उसले खुसी तुल्याउँछ, तर दुष्‍टहरूको नामचाहिँ सडेर जाने छ । 8 संवेदनशील हुनेहरूले आज्ञालाई स्वीकार गर्छन्, तर बकबके मूर्ख नष्‍ट हुने छ । 9 निष्‍ठामा हिँड्ने सुरक्षामा हिँड्छ, तर आफ्ना मार्गहरूलाई टेडो बनाउने पक्राउमा पर्ने छ । 10 द्वेषपूर्ण आँखा झिम्क्याउनेले शोक निम्त्याउँछ, तर बकबके मूर्ख फ्याँकिने छ । 11 धर्मात्माको मुख जीवनको पानीको फुहारा हो, तर दुष्‍टहरूको मुखमा हिंसा लुकेको हुन्छ । 12 घृणाले द्वन्द्व निम्त्याउँछ, तर प्रेमले सबै कुकर्मलाई ढाकिदिन्छ । 13 बुद्धि विवेकशील व्यक्तिको ओठमा पाइन्छ, तर लट्ठीचाहिँ समझ नभएको व्यक्तिको लागि हो । 14 बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्, तर मूर्खको मुखले विनाशलाई नजिक ल्याउँछ । 15 धनी मानिसको सम्पत्ति उसको किल्लाबन्दी गरिएको सहर हो, तर गरिबहरूको गरिबी तिनीहरूको विनाश हो । 16 धर्मी मानिसको ज्यालाले जीवनमा पुर्‍याउँछ, तर दुष्‍टहरूको लाभले पापमा पुर्‍याउँछ । 17 अनुशासनलाई पछ्याउनेको लागि जीवनको मार्ग छ, तर सुधारलाई इन्कार गर्ने कुबाटोमा लगिन्छ । 18 घृणालाई लुकाउने जोसुकैसित छली जिब्रो हुन्छ, र बदख्याइँ फैलाउनेचाहिँ मूर्ख हो । 19 जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो । 20 धर्मी व्यक्तिको जिब्रो शुद्ध चाँदी हो, तर दुष्‍टहरूको हृदयमा थोरै मूल्य हुन्छ । 21 धर्मी व्यक्तिको ओठले धेरैलाई तृप्‍त पार्छ, तर समझशक्तिको कमीको कारण मूर्खहरू मर्छन् । 22 परमप्रभुका असल वरदानहरूले धन-सम्पत्ति ल्याउँछन्, र उहाँले त्यसमा दुःखकष्‍ट थप्‍नुहुन्‍न । 23 दुष्‍टता मूर्खले खेल्ने खेल हो, तर बुद्धि समझशक्ति भएको मानिसको लागि खुसी हो । 24 दुष्‍ट व्यक्तिको डरले त्यसलाई उछिन्‍ने छ, तर धर्मी व्यक्तिको इच्छा पुरा हुने छ । 25 दुष्‍टहरू बितिजाने आँधीबेहरीझैँ हुन्, र तिनीहरू रहँदैनन्, तर धर्मात्माचाहिँ सदा टिकिरहने जग हो । 26 दाँतमा सिर्का र आँखामा धुवाँजस्तै अल्छे आफूलाई पठाउनेहरूका निम्ति त्यस्तै हुन्छ । 27 परमप्रभुले भयले जीवनको आयु लम्ब्याउँछ, तर दुष्‍टको आयु छोटिने छ । 28 धर्मी मानिसहरूको आशा तिनीहरूको आनन्द हो, तर दुष्‍ट मानिसहरूको आयु छोटिने छ । 29 परमप्रभुको मार्गले निष्‍ठावान् मानिसहरूको रक्षा गर्छ, तर दुष्‍टको लागि यो विनाश हो । 30 धर्मात्मा कहिल्यै उखेलिने छैन, तर दुष्‍टचाहिँ पृथ्वी रहने छैन । 31 धर्मात्माको मुखबाट बुद्धिको फल निस्कन्छ, तर भड्काउने जिब्रो काटिने छ । 32 धर्मात्माको ओठले स्वीकारयोग्य कुरा जान्दछ, तर दुष्‍टको मुखले बाङ्गोटिङ्गो कुरा मात्र जान्दछ ।

11

1 बेठिक तराजुलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठिक तौलमा उहाँ आनन्द मनाउनुहुन्छ । 2 जब घमण्ड आउँछ, तब अपमान आउँछ, तर विनम्रतासित बुद्धि आउँछ । 3 सोझाहरूको निष्‍ठाले तिनीहरूलाई अगुवाइ गर्छ, तर विश्‍वासघातीहरूका टेडा मार्गहरूले तिनीहरूलाई नष्‍ट गर्छन् । 4 क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ, तर ठिक गर्नाले मृत्युबाट जोगाउँछ । 5 खोटरहित व्यक्तिको ठिक आचरणले उसको मार्ग सिधा बनाउँछ, तर दुष्‍टहरूको दुष्‍टताको कारण तिनीहरूको पतन हुने छ । 6 परमेश्‍वरलाई खुसी पार्नेहरूको ठिक आचरणले तिनीहरूलाई सुरक्षित राख्छन्, तर विश्‍वासघातीहरू तिनीहरूकै अभिलाषाद्वारा पासोमा पर्छन् । 7 दुष्‍ट मानिस मर्दा त्यसको आशा नष्‍ट हुन्छ, र त्यसको शक्तिमा भएको आशा निरर्थक हुन्छ । 8 धर्मात्मा सङ्कष्‍टबाट बचाइन्छ, र त्यसको साटो यो दुष्‍टमाथि आइपर्छ । 9 ईश्‍वरहीन व्यक्तिले आफ्नो मुखले त्यसको छिमेकीलाई नष्‍ट गर्छ, तर धर्मी मानिसहरू ज्ञानद्वारा सुरक्षित हुन्छन् । 10 धर्मी मानिसहरूले उन्‍नति गर्दा सहर नै रमाउँछ, तर दुष्‍टहरू नष्‍ट हुँदा रमाहट हुन्छ । 11 परमेश्‍वरलाई खुसी पार्नेहरूका असल उपहारहरूद्वारा सहर महान् हुन्छ, तर दुष्‍टहरूको मुखद्वारा सहर भताभुङ्ग हुन्छ । 12 आफ्नो साथीलाई तिरस्कार गर्ने मानिस बेसमझको हुन्छ, तर समझशक्ति भएको मानिस चुप लागेर बस्छ । 13 चारैतिर बदख्याइँ गर्दै हिँड्नेले गोप्य कुराहरू प्रकट गर्छ, तर विश्‍वासयोग्य व्यक्तिले विषयलाई लुकाएर राख्छ । 14 बुद्धिमान् निर्देशन नहुँदा देशको पतन हुन्छ, तर धेरै परामर्शदाताहरूको कारण विजय आउँछ । 15 परदेशीको लागि ऋणको जमानी बस्‍नेले निश्‍चय नै हानि भोग्‍ने छ, तर त्यस किसिमको प्रतिज्ञामा जमानीलाई इन्कार गर्ने सुरक्षित हुन्छ । 16 अनुग्रही स्‍त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन-सम्पत्ति कमाउँछन् । 17 दयाले व्यक्तिले आफैमा लाभ ल्याउँछ, तर क्रुर व्यक्तिले आफैलाई चोट पुर्‍याउँछ । 18 दुष्‍ट व्यक्तिले आफ्नो ज्याला पाउन झुट बोल्छ, तर ठिक कुरो छर्नेले सत्यताको ज्याला कटनी गर्ने छ । 19 ठिक कुरो गर्ने इमानदार व्यक्ति जिउने छ, तर खराबीको पिछा गर्नेचाहिँ मर्ने छ । 20 कुटिल हृदय भएकाहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ, तर खोटरहित चाल भएकाहरूसित उहाँ आनन्द मनाउनुहुन्छ । 21 यो कुरो निश्‍चित छ, कि दुष्‍ट व्यक्ति दण्डविना उम्कने छैन, तर धर्मी मानिसहरूका सन्तानहरू सुरक्षित रहने छन् । 22 विवेकहीन सुन्दरी स्‍त्री सुँगुरको नाकमा सुनको नत्थजस्तै हो । 23 धर्मी मानिसहरूका इच्छाले असल नतिजामा पुर्‍याउँछ, तर दुष्‍ट मानिसहरूले केवल क्रोधको अपेक्षा गर्न सक्छन् । 24 जसले छर्छ, त्यसले धेरै बटुल्ने छ । जसले दिनुपर्ने पनि समातेर राख्छ, त्यो दरिद्रतामा पर्छ । 25 उदार व्यक्तिको उन्‍नति हुने छ, र अरूलाई पानी दिने व्यक्ति आफैले पानी पाउने छ । 26 अन्‍न बेच्न इन्कार गर्ने व्यक्तिलाई मानिसहरूले सराप्छन्, तर यसलाई बेच्नेको शिरमा असल उपहारहरूको मुकुट हुने छ । 27 परिश्रमसाथ भलाइको खोजी गर्नेले स्‍नेहको पनि खोजी गरिरहेको हुन्छ, तर खराबीको खोजी गर्नेले त्यही पाउने छ । 28 आफ्ना धन-सम्पत्तिमाथि भरोसा गर्नेहरूको पतन हुने छ, तर धर्मी मानिसहरू पातझैँ मौलाउने छन् । 29 आफ्नै घरानामाथि सङ्कष्‍ट ल्याउनेको भाग बतास हुने छ, र मूर्खचाहिँ बुद्धिमान्‌को नोकर हुने छ । 30 धर्मात्मा जीवनको रुखझैँ हुने छ, तर हिंसाले जीवन लिन्छ । 31 धर्मात्माले आफ्नो प्रतिफल पाउँछ भने दुष्‍ट र पापीले झन् कति बढी पाउलान्!

12

1 अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्दछ, तर सुधारलाई घृणा गर्नेचाहिँ अबुझ हो । 2 परमप्रभुले असल मानिसलाई स्‍नेह देखाउनुहुन्छ, तर दुष्‍ट योजनाहरू रच्ने मानिसलाई उहाँले दोषी ठहराउनुहुन्छ । 3 दुष्‍टताद्वारा मानिस स्थापित हुन सक्दैन, तर धर्मी मानिसहरूलाई जरैदेखि उखेल्न सकिँदैन । 4 चरित्रवान् पत्‍नी आफ्नो पतिको मुकुट हो, तर लाज ल्याउने पत्‍नीचाहिँ आफ्नो हड्‍डी सडाउने रोगजस्तै हो । 5 धर्मीका योजनाहरू न्यायपूर्ण हुन्छन्, तर दुष्‍टको सल्लाह छलपूर्ण हुन्छ । 6 दुष्‍ट मानिसका वचनहरू हत्या गर्ने मौकाको प्रतीक्षा गर्ने पासो हुन्, तर धर्मीहरूका वचनहरूले तिनीहरूलाई सुरक्षित राख्छन् । 7 दुष्‍ट मानिसहरू फालिन्छन्, र तिनीहरू रहँदैनन्, तर धर्मी मानिसहरूको घर खड रहने छ । 8 मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर टेडो रोजाइ गर्नेचाहिँ तुच्छ ठानिन्छ । 9 आफ्नो प्रतिष्‍ठाबारे घमण्ड गरेर भोजन नहुनुभन्दा बरु नोकर भएर महत्वहीन पदमा बस्‍नु बेस हो । 10 धर्मात्माले आफ्नो पशुका आवश्यकताहरूको वास्ता गर्छ, तर दुष्‍टको दया पनि क्रुर हुन्छ । 11 आफ्नो खेतबारी खनजोत गर्नेले प्रशस्त अन्‍न उब्जाउने छ, तर बेकामको कामको पछि कुद्‍नेचाहिँ बेसमझको हुन्छ । 12 दुष्‍टले खराब मानिसहरूले अरूबाट चोरेको वस्तुको इच्छा गर्छ, तर धर्मी मानिसहरूको फल तिनीहरू आफैबाट आउँछ । 13 दुष्‍ट व्यक्ति त्यसकै खराब बोलीवचनबाट पासोमा पर्छ, तर धर्मी व्यक्तिचाहिँ सङ्कष्‍टबाट उम्कन्छ । 14 जसरी आफ्नो हातको कामले मानिसलाई इनाम दिन्छ, त्यसै गरी आफ्नै वचनको फलबाट ऊ असल थोकहरूले भरिन्छ । 15 मूर्खको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक हुन्छ, तर बुद्धिमान् मानिसले सरसल्लाह सुन्छ । 16 मूर्खले आफ्नो रिस तुरुन्तै देखाउँछ, तर अपमानलाई बेवास्ता गर्नेचाहिँ विवेकी मानिस हो । 17 सत्य बोल्नेले ठिक कुरा बोल्छ, तर झुटो साक्षीले झुटो कुरा बोल्छ । 18 असावधानसाथ बोल्नेका वचनहरू तरवारको घोचाइझैँ हुन्छन्, तर बुद्धिमान्‌को बोलीले चङ्गाइ ल्याउँछ । 19 सत्य बोल्ने ओठ सधैँभरि रहिरहन्छ, तर झुट बोल्ने जिब्रो केही क्षण मात्र टिक्छ । 20 खराबी गर्ने योजना बनाउनेहरूको हृदयमा छल हुन्छ, तर शान्तिका परामर्शदाताहरूमा आनन्द आउँछ । 21 धर्मात्मामाथि कुनै हानि आइपर्दैन, तर दुष्‍टचाहिँ कठिनाइहरूले भरिएको हुन्छ । 22 परमप्रभुले झुट बोल्ने ओठलाई घृणा गर्नुहुन्छ, तर विश्‍वासयोग्यसाथ जिउनेहरू उहाँका आनन्द हुन् । 23 विवेकशील मानिसले आफ्नो ज्ञान लुकाएर राख्छ, तर मूर्खहरूको हृदयले मूर्खता प्रकट गर्छ । 24 परिश्रमीको हातले शासन गर्ने छ, तर अल्छे मानिसलाई जबरजस्ती काम लगाइने छ । 25 मानिसको हृदयमा भएको चिन्ताले उसलाई कमजोर तुल्याउँछ, तर असल वचनले उसलाई प्रसन्‍न पार्छ । 26 धर्मात्मा उसको मित्रको लागि पथ-प्रदर्शक हो, तर दुष्‍टहरूको चालले तिनीहरूलाई बरालिदिन्छ । 27 अल्छे मानिसले आफ्नो सिकार फेला पार्दैन, तर परिश्रमी मानिसले बहुमूल्य सम्पत्ति पाउने छ । 28 ठिक मार्गमा हिँड्नेहरूले जीवन पाउने छ, र त्यस मार्गमा मृत्यु हुँदैन ।

13

1 बुद्धिमान् छोरोले आफ्नो बुबाको अर्ती सुन्छ, तर गिल्ला गर्नेले हप्कीलाई सुन्दैन । 2 आफ्नो मुखको फलबाट मानिसले असल थोकहरूको भोग गर्दछ, तर विश्‍वासघातिको भोक हिंसाको लागि हुन्छ । 3 आफ्नो मुखको रखवाली गर्नेले आफ्नो जीवनको रक्षा गर्छ, तर असावधान बोलीवचनले आफ्नै जीवन बर्बाद गर्ने छ । 4 अल्छे मानिसको भोकले लालस गर्छ, तर केही पाउँदैन, जब कि परिश्रमी मानिसको भोक पूर्ण रूपमा सन्तुष्‍ट हुने छ । 5 धर्मात्माले झुटलाई घृणा गर्छ, तर दुष्‍टले आफैलाई घृणित तुल्याउँछ, र लज्‍जास्पद कुरो गर्छ । 6 धार्मिकताले ती मानिसहरूको रक्षा गर्छ, जो आफ्नो मार्गमा दोषरहित छन्, तर दुष्‍टताले पाप गर्नेहरूलाई पल्टाइदिन्छ । 7 कोही मानिस धनी भएजस्तो गर्छ, जब कि त्योसँग केही हुँदैन, र कसैले चाहिँ आफूसित भएको हरेक थोक दिन्छ, र पनि त्यो साँच्‍चै धनी हुन्छ । 8 धनी मानिसको जीवनको छुटकारा उसको सम्पत्ति हो, तर गरिब मानिसले धम्की सुन्‍नुपर्दैन । 9 धर्मात्माको बत्ती बलिरहन्छ, तर दुष्‍टको बत्ती निभाइने छ । 10 घमण्डले केवल द्वन्द्व निम्त्याउँछ, तर असल सल्लाह सुन्‍नेसित बुद्धि हुन्छ । 11 बेइमानीसित कमाएको धनको महत्त्व घट्दै जान्छ, तर आफ्नो हातले परिश्रम गरेर कमाएको धन बढ्दै जान्छ । 12 आशालाई स्थगित गरिँदा यसले हृदय छिया-छिया पार्छ, तर पुरा भएको तृष्णा जीवनको रुख हो । 13 अर्तीलाई तुच्छ ठान्‍नेले आफैमा विनाश ल्याउँछ, तर आज्ञालाई आदर गर्नेलाई इनाम दिइने छ । 14 बुद्धिमान् मानिसको शिक्षा जीवनको फुहारा हो, जसले तपाईंलाई मृत्युका जालहरूबाट जोगाउँछ । 15 असल अन्तर्दृष्‍टिले स्‍नेह प्राप्‍त गर्छ, तर विश्‍वासघातिको चाल कहिल्यै टुङ्गोमा आउँदैन । 16 समझदार मानिसले आफ्नो ज्ञानअनुसार हरेक निर्णय गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ । 17 दुष्‍ट दूत सङ्कष्‍टमा फस्छ, तर विश्‍वासयोग्य दूतले मिलाप ल्याउँछ । 18 अर्तीलाई बेवास्ता गर्नेले गरिबी र लाज पाउने छ, तर सुधारबाट सिक्‍ने जनमा आदर आउने छ । 19 पुरा भएको इच्छा भोकको लागि मिठो हुन्छ, तर मूर्खहरू आफ्नो दुष्‍टताबाट फर्कन मन पराउँदैनन् । 20 बुद्धिमान् मानिसहरूसित हिँड र तिमी पनि बुद्धिमान् हुने छौ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्‍ने छ । 21 विपत्तिले पापीहरूलाई खेद्‍ने छ, तर धर्मी मानिसले भलाइको इनाम पाउने छ । 22 असल व्यक्तिले आफ्ना नाति-नातिनाहरूका निम्ति पैतृक-सम्पत्ति छाड्छ, तर पापीको सम्पत्ति धर्मी व्यक्तिको लागि सञ्चय गरिन्छ । 23 गरिब मानिसको नजोतिएको खेतबारीले प्रशस्तै अन्‍न उब्जाउला, तर अन्यायले त्यसलाई खोसेर लैजान्छ । 24 आफ्नो छोरोलाई अनुशासनमा नराख्‍नेले उसलाई घृणा गर्छ, तर आफ्नो छोरोलाई प्रेम गर्नेले उसलाई होसियारीसाथ अर्ती दिन्छ । 25 आफ्नो भोक तृप्‍त नभएसम्म धर्मात्माले खान्छ, तर दुष्‍टको पेट सधैँ भोकभोकै हुन्छ ।

14

1 बुद्धिमान् स्‍त्रीले आफ्नो घर बनाउँछे, तर मूर्ख स्‍त्रीले आफ्नै हातले त्यो भत्काउँछे । 2 सोझो भएर हिँड्नेले परमप्रभुको भय मान्छ, तर आफ्ना चालहरूमा बेइमान व्यक्तिले उहाँलाई तुच्छ ठान्छ । 3 मूर्खको मुखबाट त्यसको मूर्खताको हाँगा निस्कन्छ, तर बुद्धिमान्‌को ओठले त्यसको रक्षा गर्छ । 4 गाईवस्तु नभएको ठाउँमा भकारी खाली हुन्छ, तर गोरुको बलद्वारा प्रशस्त फसलको कटनी हुन सक्छ । 5 विश्‍वासयोग्य साक्षीले झुट बोल्दैन, तर झुटो साक्षीले झुटा कुराहरू निकाल्छ । 6 गिल्ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन, जब कि समझदार व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ । 7 मूर्ख मानिसबाट टाढै बस, किनकि तिमीले त्यसको ओठमा ज्ञान पाउने छैनौ । 8 समझदार मानिसको बुद्धि उसको आफ्नै मार्ग बुझ्नको लागि हो, तर मूर्खहरूको मूर्खता छल हो । 9 दोषबलि चढाइँदा मूर्खहरूले गिल्ला गर्छन्, तर सोझाहरूका बिचमा स्‍नेह बाँडचुँड गरिन्छ । 10 हृदयले यसको आफ्नै तिक्तता जान्दछ, र कुनै पनि परदेशीले यसको आनन्द बाँडचुँड गर्दैन । 11 दुष्‍ट मानिसहरूको घर नष्‍ट पारिने छ, तर धर्मी मानिसहरूको पालमा फलिफा हुने छ । 12 कुनै बाटो मानिसलाई सोझोजस्तै लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ । 13 हृदयमा हाँसो भए तापनि वेदना हुन सक्छ, र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ । 14 विश्‍वासयोग्य नभएको व्यक्तिले आफ्ना चालहरूको प्रतिफल भोग्‍ने छ, तर असल व्यक्तिले आफ्नो इनाम पाउने छ । 15 बेवकूफ मानिसले हरेक कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना चालहरूबारे विचार गर्छ । 16 बुद्धिमान् मानिस डराएर दुष्‍टताबाट टाढै बस्छ, तर मूर्खले निश्‍चयतासाथ चेताउनीलाई खारेज गरिदिन्छ । 17 झट्ट रिसाउनेले मूर्ख कुराहरू गर्छ, र दुष्‍ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ । 18 बेसमझ मानिसले मूर्खता कमाउँछ, तर समझदार मानिसले ज्ञानको मुकुट पहिरिन्छ । 19 खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्‍ट मानिसहरू धर्मात्माका ढोकाहरूमा झुक्‍ने छन् । 20 आफ्नै मित्रहरूबाट समेत गरिब मानिसलाई घृणा गरिन्छ, तर धनी मानिसका धेरै साथीहरू हुन्छन् । 21 आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गरिरहेको हुन्छ, तर गरिबलाई स्‍नेह देखाउने आशिषित् हुन्छ । 22 के खराब युक्ति रच्नेहरू बरालिँदैनन् र ? तर असल गर्ने योजना बनाउनेहरूले करारको विश्‍वसनीयता र भरोसा प्राप्‍त गर्ने छन् । 23 सबै कडा परिश्रमले लाभ ल्याउँछ, तर कुरा मात्र गर्नाले गरिबीमा पुर्‍याउँछ । 24 बुद्धिमान् मानिसहरूको मुकुट तिनीहरूको सम्पत्ति हो, तर मूर्खहरूको मूर्खताले तिनीहरूमा झन् बढी मूर्खता ल्याउँछ । 25 विश्‍वासयोग्य साक्षीले जीवन बचाउँछ, तर झुटो साक्षीले झुटा कुराहरू ओकल्छ । 26 परमप्रभुको भय मान्‍नेसित बढी निश्‍चयता हुन्छ । त्यस मानिसको छोराछोरीका निम्ति यो सुरक्षाको एउटा बलियो स्थानझैँ हुने छ । 27 परमप्रभुको भय जीवनको फुहारा हो, जसद्वारा मानिस मृत्युका जालहरूबाट उम्कन्छ । 28 राजाको महिमा तिनका धेरै मानिसहरूको सङ्ख्यामा पाइन्छ, तर मानिसहरूविना राजकुमार नष्‍ट हुन्छ । 29 धैर्यवान् मानिससित ठुलो समझशक्ति हुन्छ, तर गरम मिजासको मानिसले मूर्खतालाई उचाल्छ । 30 शान्त हृदय शरीरको लागि जीवन हो, तर ईर्ष्याले हड्‍डीहरूलाई सडाउँछ । 31 गरिबलाई थिचोमिचो गर्नेले आफ्नो सृष्‍टिकर्तालाई सराप्छ, तर खाँचोमा परेकाहरूलाई स्‍नेह देखाउनेले उहाँको आदर गर्छ । 32 आफ्ना खराब कामहरूद्वारा दुष्‍ट मानिस तल खसालिन्छ, तर धर्मात्माले मृत्युमा समेत आश्रय पाउँछ । 33 बुद्धिले विवेकीको हृदयमा बास गर्छ, र मूर्खहरूका बिचमा समेत त्यसले आफूलाई चिनाउँछ । 34 धार्मिकताले देशलाई उचाल्छ, तर पाप कुनै पनि मानिसको लागि अपमानको कुरो हो । 35 समझदारसित काम गर्ने नोकरमाथि राजाको स्‍नेह हुन्छ, तर लाजमर्दो तरिकाले काम गर्नेमाथि तिनको रिस पर्छ ।

15

1 विनम्र जवाफले क्रोधलाई हटाउँछ, तर कठोर वचनले रिस उठाउँछ । 2 बुद्धिमान् मानिसहरूको जिब्रोले ज्ञानको तारिफ गर्छ, तर मूर्खहरूको मुखले मूर्खता खन्याउँछ । 3 परमप्रभुको दृष्‍टि जताततै छ । उहाँले दुष्‍ट र असलमाथि नजर लगाउनुहुन्छ । 4 निको पार्ने जिब्रो जीवनको रुख हो, तर छलपूर्ण जिब्रोले आत्मालाई चोट पुर्‍याउँछ । 5 मूर्खले आफ्नो बुबाको अर्तीलाई हेला गर्छ, तर सुधारबाट सिक्‍नेचाहिँ विवेकशील हो । 6 धर्मात्माको घरमा ठुलो खजाना हुन्छ, तर दुष्‍ट मानिसको कमाइले त्यसलाई कष्‍ट दिन्छ । 7 बुद्धिमान् मानिसहरूको ओठले चारैतिर ज्ञान फैलाउँछ, तर मूर्खहरूको हृदय त्यस्तो हुँदैन । 8 परमप्रभुले दुष्‍ट मानिसहरूको बलिदानलाई घृणा गर्नुहुन्छ, तर धर्मी मानिसहरूको प्रार्थना उहाँको आनन्द हो । 9 परमप्रभुले दुष्‍ट मानिसहरूको मार्गलाई घृणा गर्नुहुन्छ, तर ठिक कुराको पछि लाग्‍नेलाई उहाँले प्रेम गर्नुहुन्छ । 10 कठोर अनुशासनले आफ्नो बाटो त्याग्‍नेको प्रतीक्षा गर्छ, र सुधारलाई घृणा गर्नेचाहिँ मर्ने छ । 11 पाताल र विनाश परमप्रभुको सामु खुला छन् भने मानिसको हृदय झन् कति खुला होला ? 12 गिल्ला गर्ने सुधारदेखि अप्रसन्‍न हुन्छ । त्यो बुद्धिमान्‌कहाँ जाँदैन । 13 आनन्दित हृदयले मुहारलाई हँसिलो बनाउँछ, तर हृदयको पिरले आत्मालाई चोट पुर्‍याउँछ । 14 विवेशकशीलहरूको हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खहरूको मुखले मूर्खता नै रुचाउँछ । 15 थिचोमिचोमा परेकाहरूका सबै दिन दुःखद हुन्छन्, तर आनन्दित हृदयको सुखको अन्त्य हुँदैन । 16 भ्रमको साथ धेरै धन-सम्पत्ति हुनुभन्दा बरु परमप्रभुको भयको साथ थोरै हुनु उत्तम हो । 17 घृणा भएको ठाउँमा पुष्‍टाइएको बाछो खानुभन्दा बरु प्रेम भएको ठाउँमा सागसब्जी खानु उत्तम हो । 18 रिसाएको मानिसले तर्क-वितर्क गर्छ, तर रिसाउनमा धिमा व्यक्तिले झगडालाई शान्त पार्छ । 19 अल्छेको बाटो काँढाको छेकबार भएको ठाउँझैँ हुन्छ, तर धर्मीको बाटो निर्मित लोकमार्ग हो । 20 बुद्धिमान् छोरोले आफ्नो बुबालाई आनन्द दिन्छ, तर मूर्ख व्यक्तिले आफ्नी आमालाई तुच्छ ठान्छ । 21 मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ । 22 सरसल्लाह नहुँदा योजनाहरू गलत हुन्छन्, तर धेरै परामर्शदाताहरूद्वारा तिनीहरू सफल हुन्छन् । 23 उचित जवाफ दिँदा मानिसले आनन्द पाउँछ । ठिक समयमा बोलिएको वचन कति असल हुन्छ! 24 जीवनको मार्गले विवेकशील मानिसहरूलाई उँभोतिर लैजान्छ । यसले तिनीहरूलाई उँधो पातालतिर जानदेखि फर्काउँछ । 25 परमप्रभुले अहङ्कारीको घर भत्काइदिनुहुन्छ, तर विधवाको सम्पत्तिको रक्षा गर्नुहुन्छ । 26 परमप्रभुले दुष्‍ट मानिसहरूको विचारलाई घृणा गर्नुहुन्छ, तर दयाका वचनहरू शुद्ध हुन्छन् । 27 चोरी गर्नेले आफ्नो परिवारमा सङ्कष्‍ट ल्याउँछ, तर घुसलाई घृणा गर्नेचाहिँ बाँच्ने छ । 28 जवाफ दिनुअगि धर्मात्माको हृदयले मनन गर्छ, तर दुष्‍ट मानिसको मुखले आफ्नो सबै खराबी ओकल्छ । 29 दुष्‍ट मानिसहरूबाट परमप्रभु निकै टाढा हुनुहुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्‍नुहुन्छ । 30 आँखाको ज्योतिले हृदयमा आनन्द ल्याउँछ, र शुभ खबर शरीरको लागि स्वास्थ्य हो । 31 कसरी जिउने भनी कसैले तिमीलाई सुधार गर्दा तिमीले ध्यान दियौ भने तिमी बुद्धिमान् मानिसहरूका बिचमा रहने छौ । 32 अनुशासनलाई इन्कार गर्नेले आफैलाई तुच्छ ठान्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति पाउँछ । 33 परमप्रभुको भयले बुद्धि सिकाउँछ, र आदरअगि विनम्रता आउँछ ।

16

1 हृदयका योजनाहरू मानिसका हुन्, तर जिब्रोको जवाफ परमप्रभुबाट नै आउँछ । 2 मानिसका सबै मार्ग उसको आफ्नै दृष्‍टिमा शुद्ध छन्, तर परमप्रभुले अभिप्रायहरू जोख्‍नुहुन्छ । 3 आफ्ना कामहरू परमप्रभुमा सुम्प, र तिम्रा योजनाहरू सफल हुने छन् । 4 परमप्रभुले हरेक थोक यसको आफ्नो उद्धेश्यको लागि बनाउनुभएको छ । उहाँले दुष्‍टहरूलाई समेत विनाशको दिनको लागि राख्‍नुभएको छ । 5 अहङ्कारी हृदय भएको हरेकलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर यो निश्‍चित छ, कि तिनीहरू दण्डविना उम्कने छैनन् । 6 करारको विश्‍वसनियता र भरोसाद्वारा अधर्मको प्रायश्‍चित्त हुन्छ, र परमप्रभुको भयद्वारा मानिसहरू खराबीबाट तर्कने छन् । 7 जब मानिसका मार्गहरूले परमप्रभुलाई खुसी पार्छन्, तब उहाँले त्यसका शत्रुहरूलाई पनि त्यससित मिलापमा राख्‍नुहुने छ । 8 अन्यायसित कमाएको धेरै धन-सम्पत्तिभन्दा बरु ठिकसित कमाएको थोरै नै उत्तम हुन्छ । 9 मानिसले आफ्नो हृदयमा योजना बुन्छ, तर परमप्रभुले नै त्यसका कदमहरू निर्धारण गर्नुहुन्छ । 10 राजाको ओठमा अन्तर्ज्ञानयुक्त निर्णयहरू हुन्छन् । तिनको मुखले न्यायलाई धोका दिनुहुँदैन । 11 इमानदार तराजु परमप्रभुबाट आउँछ । थैलीमा भएका सबै ढक उहाँका काम हुन् । 12 राजाले दुष्‍ट कामहरू गर्दा त्यसलाई तुच्छ ठानिनुपर्छ, किनकि ठिक गरेर नै सिंहासन स्थापित हुन्छ । 13 ठिक बोल्ने ओठमा राजा आनन्दित हुन्छ, र सत्य बोल्ने व्यक्तिलाई तिनी प्रेम गर्छन् । 14 राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले तिनको रिसलाई शान्त पार्ने कोसिस गर्छ । 15 राजाको मुहारको ज्योतिमा जीवन हुन्छ, र तिनको निगाह वसन्त ऋतुमा झरी ल्याउने बादलजस्तै हो । 16 सुनभन्दा बुद्धि प्राप्‍त गर्नु र चाँदीभन्दा समझशक्ति प्राप्‍त गर्नु उत्तम हुन्छ । 17 धर्मी मानिसहरूको लोकमार्ग खराबीबाट अलग रहन्छ । आफ्नो जीवनको रक्षा गर्नेले आफ्नो मार्गको रखवाली गर्छ । 18 विनाशअगि घमण्ड आउँछ, र पतनअगि हठी आत्मा आउँछ । 19 घमण्डी मानिसहरूलाई लुटको माल बाँड्नुभन्दा बरु गरिब मानिसहरूका बिचमा विनम्र हुनु उत्तम हुन्छ । 20 सिकाइएको शिक्षामा मनन गर्नेले असल कुरो पाउने छ, र परमप्रभुमाथि भरोसा गर्नेहरू आशिषित् हुने छन् । 21 हृदयमा बुद्धिमान् हुनेलाई विवेकशील भनिन्छ, र मिठा बोलीवचनले सिकाउने क्षमताको विकास गर्छ । 22 समझशक्ति भएको व्यक्तिको लागि त्यो जीवनको फुहारा हो, तर मूर्खहरूको अर्ती नै तिनीहरूको मूर्खता हो । 23 बुद्धिमान् व्यक्तिको हृदयले उसको मुखलाई अन्तर्दृष्‍टि प्रदान गर्छ, र उसको ओठमा विश्‍वसनीयता थप्छ । 24 मिठा वचनहरू महका चाकाजस्ता हुन्, जुन प्राणको लागि मिठो हुन्छ, र हड्‍डीहरूका लागि चङ्गाइ हुन्छ । 25 कुनै बाटो मानिसलाई सिधाजस्तो लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ । 26 परिश्रमीको पेटले नै त्यसलाई काम गर्न लगाउँछ । त्यसको भोकले त्यसलाई अभिप्रेरित गर्छ । 27 बेकम्मा मानिसले खराबीको खाल्डो खन्छ, र त्यसको बोलीवचन पोल्ने आगोझैँ हुन्छ । 28 टेडो मानिसले द्वन्द्व निम्त्याउँछ, र कुरा काट्नाले घनिष्‍ठ मित्रहरूमा पनि फाटो आउँछ । 29 हिंसा गर्ने मानिसले आफ्नो छिमेकीलाई झुट बोल्छ, र त्यसलाई बेठिक मार्गमा लैजान्छ । 30 द्वेषपूर्ण आँखा झिम्क्याउनेले टेडो षड्यन्त्र रचिरहेको हुन्छ । आफ्नो ओठ लेब्‍र्‍याउनेले खराबी ल्याउँछ । 31 फुलेको कपाल शोभाको मुकुट हो । ठिक तरिकाले जिएर यसलाई प्राप्‍त गर्न सकिन्छ । 32 योद्धा हुनुभन्दा बरु रिसाउनमा धिमा हुनु उत्तम हुन्छ, र आफ्नो आत्मालाई नियन्त्रण गर्नेचाहिँ सहरमाथि विजयी हासिल गर्नेभन्दा बलियो हुन्छ । 33 सप्कोमा चिट्ठा त हालिन्छ, तर निर्णयचाहिँ परमप्रभुबाट नै आउँछ ।

17

1 कलहले भरिएको घरमा भोज खानुभन्दा शान्तिसाथ रोटीको सुक्खा टुक्रा खानु उत्तम हो । 2 बुद्धिमान् नोकरले लाजमर्दो गरी काम गर्ने छोरोमाथि शासन जमाउँछ, र दाजुभाइ सरह नै पैतृक-सम्पत्ति पाउने छ । 3 चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ, तर परमप्रभुले नै हृदय जाँच गर्नुहुन्छ । 4 खराब काम गर्नेले दुष्‍टको ओठमा ध्यान दिन्छ । झुट बोल्नेले विनाशक जिब्रोमा कान लगाउँछ । 5 गरिबलाई गिल्ला गर्नेले आफ्नो सृष्‍टिकर्ताको अपमान गर्छ, र अर्काको विपत्तिमा रमाउनेचाहिँ दण्डविना उम्कने छैन । 6 नाति-नातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन् । 7 सिपालु बोलीवचन मूर्खलाई सुहाउँदैन । शासकको लागि झुट बोल्ने ओठ झन कति असुहाउँदो हुन्छ! 8 घुस दिनेको लागि यो टुनाजस्तै हो । त्यो जहाँ गए तापनि सफल हुन्छ । 9 चित्त दुखाइलाई बेवास्ता गर्नेले प्रेमको खोजी गर्छ, तर विषयलाई दोहोर्‍याउनेले घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ । 10 मूर्खलाई सय कोर्रा प्रहार गर्नुभन्दा बरु समझशक्ति भएको व्यक्तिलाई एउटा हप्की काफी हुन्छ । 11 दुष्‍ट व्यक्तिले केवल विद्रोहको खोजी गर्दछ । त्यसैले त्यसको विरुद्धमा क्रुर दूत पठाइन्छ । 12 मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा बरु बच्‍चा खोसिएको भालुसित भेट गर्नु उत्तम हुन्छ । 13 जसले भलाइको साटो खराबी गर्छ, खराबीले त्यसको घर कहिल्यै छोड्ने छैन । 14 द्वन्द्वको सुरुआत सर्वत्र पानी फैलनुजस्तै हो । त्यसैले विवाद चर्किनुअगि नै त्यहाँबाट हिँडिहाल । 15 दुष्‍ट मानिसलाई निर्दोष ठहराउने व्यक्ति र धर्मी मानिसलाई दण्ड दिने व्यक्ति दुवै नै परमप्रभुको लागि घृणित छन् । 16 बुद्धिको विषयमा सिक्‍न मूर्खले किन पैसा तिर्ने जब कि त्योसित यसलाई सिक्‍ने कुनै क्षमता नै छैन ? 17 मित्रले हर समय प्रेम गरिरहन्छ, र दाजुभाइचाहिँ कष्‍टको समयको लागि जन्मेका हुन्छन् । 18 बेसमझको मानिसले वाचा बाँध्च, र आफ्नो छिमेकीको ऋणप्रति जिम्मेवार बन्छ । 19 द्वन्द्वलाई प्रेम गर्नेले पापलाई प्रेम गर्छ । आफ्नो ढोकाको सङ्घार अति अग्लो बनाउनेले हड्‍डी भँचाउने छ । 20 कुटिल हृदय भएको मानिसले कुनै असल कुरो पाउँदैन । छली जिब्रो भएको मानिस विपत्तिमा पर्छ । 21 जो मूर्खको बुबाआमा, तिनीहरूले आफैमा शोक ल्याउँछन्, र मूर्खको बुबामा कुनै आनन्द हुँदैन । 22 आनन्दित हृदय असल औषधी हो, तर टुटेको हृदयले हड्‍डीहरूलाई सुकाउँछ । 23 न्यायको मार्गलाई बङ्ग्याउन दुष्‍ट मानिसले गुप्‍त घुसलाई स्वीकार गर्छ । 24 समझशक्ति भएको व्यक्तिले बुद्धितिर आफ्नो मन लगाउँछ, तर मूर्खको आँखा पृथ्वीको कुनाकुनामा पुग्छ । 25 मूर्ख छोरो आफ्नो बुबाको लागि शोक हो, र त्यसलाई जन्माउने आमाको लागि तिक्तता हो । 26 धर्मात्मालाई दण्ड दिनु कहिल्यै असल हुँदैन, न त निष्‍ठा भएका कुलीन मानिसहरूलाई कोर्रा लगाउनु असल हुन्छ । 27 ज्ञान भएको व्यक्तिले थोरै वचन बोल्दछ, र समझशक्ति भएको व्यक्तिचाहिँ ठन्डा मिजासको हुन्छ । 28 चुप लागेमा मूर्खलाई पनि बुद्धिमान् ठानिन्छ । त्यसले आफ्नो मुख बन्द गर्दा त्यसलाई विवेकी मानिन्छ ।

18

1 आफैलाई अलग गर्ने मानिसले आफ्नै इच्छाको खोजी गर्छ, र त्यसले सबै पक्‍का न्यायको विरोध गर्छ । 2 मूर्खलाई समझशक्तिमा कुनै रमाहट हुँदैन, तर त्यसको हृदयमा भएको कुरो प्रकट गर्न पाए त्यो प्रसन्‍न हुन्छ । 3 दुष्‍ट मानिस आउँदा त्योसितै हेला, लाज र निन्दा पनि आउँछन् । 4 मानिसको मुखका वचनहरू गहिरो पानी हुन् । बुद्धिको फुहारा बगिरहने खोला हो । 5 दुष्‍ट मानिसको पक्ष लिनु राम्रो होइन, न त धर्मी मानिसको न्यायलाई इन्कार गर्नु राम्रो हो । 6 मूर्खको ओठले आफैमाथि कलह ल्याउँछ, र त्यसको मुखले पिटाइ निम्त्याउँछ । 7 मूर्खको मुख त्यसको विनाश हो, र त्यसले आफ्नै ओठले आफैलाई पासोमा पार्छ । 8 कुरौटेका वचनहरू स्वादिष्‍ट गाँसझैँ हुन्छन्, र ती शरीरका भित्री भागसम्म पुग्छन् । 9 आफ्नो काम गराइमा मन्द हुने व्यक्ति सर्वनाश गर्नेको भाइजस्तै हो । 10 परमप्रभुको नाम एउटा बलियो धरहरा हो । धर्मात्मा त्यहाँ दौडेर जान्छ र सुरक्षित हुन्छ । 11 धनीको सम्पत्ति त्यसको किल्लाबन्दी गरिएको सहर हो, र त्यसको कल्पनामा यो अग्लो पर्खालझैँ हुन्छ । 12 आफ्नो पतनअगि मानिसको हृदयमा घमण्ड आउँछ, तर आदरअगि विनम्रता आउँछ । 13 सुन्‍नअगि जवाफ दिनेको लागि त्यो त्यसको मूर्खता र लाज हो । 14 मानिसको आत्मा बिरामी अवस्थामा बाँच्ने छ, तर टुटेको आत्माको पीडालाई कसले सहन सक्छ र ? 15 विवेकीको हृदयले ज्ञान प्राप्‍त गर्छ, र बुद्धिमान्‌को कानले यसको खोजी गरेर भेट्टाउँछ । 16 मानिसको उपहारले बाटो खोली उसलाई महत्त्वपूर्ण मानिसको सामु ल्याउन सक्छ । 17 प्रतिद्वन्दी अगाडि बढेर प्रश्‍नहरू नतेर्साएसम्म आफ्नो मुद्दाको पक्षमा वकालत गर्ने पहिलो व्यक्ति नै ठिक देखिन्छ । 18 चिट्ठा हाल्नाले वादविवादलाई मिलाउँछ, र बलिया प्रतिद्वन्द्वीहरूलाई अलग गराउँछ । 19 बलियो सहरमाथि जित हासिल गर्नुभन्दा बरु चोट लागेको भाइलाई जित्‍न कठिन हुन्छ, र झगडा गर्नुचाहिँ किल्लाका बारहरूझैँ हो । 20 आफ्नो मुखको फलले त्यसको पेट भरिएको हुन्छ । त्यसको ओठको फसलले त्यो सन्तुष्‍ट हुन्छ । 21 मृत्यु र जीवन जिब्रोद्वारा नियन्त्रित हुन्छ, र जिब्रोलाई प्रेम गर्नेहरूले यसको फल खाने छन् । 22 पत्‍नी पाउनेले असल कुरा पाउँछ, र परमप्रभुबाट निगाह प्राप्‍त गर्छ । 23 गरिब मानिसले कृपाको लागि बिन्ती गर्छ, तर धनी मानिसले हतारमा जवाफ दिन्छ । 24 धेरै साथीहरू भएको दाबी गर्ने मानिस तिनीहरूद्वारा नै विनाशमा लगिन्छ, तर कुनै मित्रचाहिँ भाइभन्दा पनि नजिक रहन्छ ।

19

1 बोलीवचनमा कुटिल भई मूर्ख हुनुभन्दा आफ्नो सत्यनिष्‍ठामा हिँड्ने गरिब मानिस उत्तम हो । 2 ज्ञानविनाको इच्छा राम्रो हुँदैन, र हतार गर्नेले बाटो बिराउँछ । 3 मान्छेको मूर्खताले त्यसको जीवन बर्बाद पार्छ, र त्यसको हृदय परमप्रभुको विरुद्धमा क्रोधित हुन्छ । 4 धनले धेरै मित्रहरू बनाउँछ, तर गरिब मानिसचाहिँ आफ्ना मित्रहरूबाट त्यागिन्छ । 5 झुटो साक्षी दण्डविना उम्कने छैन, र झुटो कुरो बोल्ने फुत्कने छैन । 6 धेरैले उदार मानिसबाट निगाहको लागि बिन्ति गर्ने छन्, र हरेक व्यक्ति उपहार दिनेको मित्र बन्छ । 7 गरिब मानिसका सबै दाजुभाइले त्यसलाई घृणा गर्छन् भने, त्यसका टाढा जाने मित्रहरूले त झन् कति धेरै त्यसलाई त्याग्लान्! त्यसले तिनीहरूलाई बोलाउँछन्, तर तिनीहरू गइसकेका हुन्छन् । 8 बुद्धि प्राप्‍त गर्नेले आफ्नो जीवनलाई प्रेम गर्छ । समझशक्तिलाई जोगाउनेले जे असल छ, त्यो पाउने छ । 9 झुटो साक्षी दण्डविना उम्कने छैन, तर झुटो कुरो बोल्नेचाहिँ नष्‍ट हुने छ । 10 मूर्खलाई भोग-विलासमा जिउनु सुहाउँदैन भने कमाराले राजकुमारहरूमाथि शासन चलाउनु झन् कति नराम्रो हो! 11 विवेकले मानिसलाई रिसाउन धिमा बनाउँछ, र चित्त दुखाइलाई बेवास्ता गर्नु त्यसको महिमा हो । 12 राजाको क्रोध जवान सिंहको गर्जनजस्तै हुन्छ, तर तिनको निगाह घाँसमाथिको शीतजस्तै हुन्छ । 13 मूर्ख छोरो त्यसको बुबाको लागि विनाश हो, र झगडा गर्ने पत्‍नीचाहिँ नित्य परिरहने तपतपे झरीजस्तै हो । 14 घर र धन-सम्पत्ति बुबाआमाबाट आएका हुन्छन्, तर विवेकी पत्‍नीचाहिँ परमप्रभुबाट आउँछ । 15 अल्छीपनले मानिसलाई घोर निद्रामा पुर्‍याउँछ, र काम गर्न अनिच्छुकचाहिँ भोकभोकै हुने छ । 16 आज्ञा पालन गर्नेले त्यसको जीवनको रखवाली गर्छ, तर आफ्ना मार्गहरूबारे नसोच्नेचाहिँ मर्ने छ । 17 गरिबप्रति दयालु हुनेले परमप्रभुलाई सापट दिन्छ, र उहाँले त्यसले गरेको कामको प्रतिफल दिनुहुने छ । 18 आशा बाँकी छँदै आफ्नो छोरोलाई अनुशासनमा राख, र त्यसलाई मृत्युण्ड दिने इच्छा नबना । 19 गरम मिजास भएको मानिसले जरिवाना तिर्नैपर्छ । त्यसलाई छुटकारा दिइस् भने तैँले दोस्रो पटक त्यसै गर्नुपर्ने हुन्छ । 20 सरसल्लाह सुन् र अर्तीलाई स्वीकार गर्, ताकि तेरो जीवनको अन्त्यसम्ममा तँ बुद्धिमान् बन्‍न सक्छस् । 21 मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन्, तर परमप्रभुको उद्धेश्य नै स्थिर रहने छ । 22 मानिसले भक्तिको चाह गर्छ, र झुटो बोल्नेभन्दा त गरिब मानिस उत्तम हो । 23 परमप्रभुप्रतिको आदरले मानिसहरूलाई जीवनमा डोर्‍याउँछ । यो हुने कुनै पनि व्यक्ति सन्तुष्‍ट हुने छ, र त्यसलाई नोक्सानीले छुँदैन । 24 अल्छेले आफ्नो हात थालमा गाड्छ, र त्यसलाई आफ्नो मुखसम्म पनि ल्याउँदैन । 25 गिल्ला गर्नेलाई हिर्का, र निर्बुद्धि मानिस विवेकी बन्‍ने छ । समझदार मानिसलाई अनुशासनमा राख्, र त्यसले ज्ञान प्राप्‍त गर्ने छ । 26 आफ्नो बुबालाई लुट्ने र आफ्नी आमालाई लखेट्ने छोरोले लाज र बेइज्‍जत ल्याउँछ । 27 हे मेरो छोरो, तैँले अर्ती सुन्‍न छाडिस् भने तँ ज्ञानका वचनहरूबाट बहकिने छस् । 28 भ्रष्‍ट साक्षीले न्यायको खिल्ली उडाउँछ, र दुष्‍टको मुखले अधर्मलाई निलिदिन्छ । 29 गिल्ला गर्नेहरूका लागि दण्डाज्ञा र मूर्खहरूको पिठिउँको लागि कोर्रा तयार छ ।

20

1 दाखमद्य खिल्ली उडाउने कुरो हो र मदिराचाहिँ कचिङ्गाल मच्‍चाउने कुरो हो । मदिराद्वारा बहकाइने कोही पनि बुद्धिमान् हुँदैन । 2 राजाको डर गर्जिरहेको जवान सिंहको डरजस्तै हुन्छ । तिनलाई रिस उठाउनेले आफ्नो जीवन गुमाउँछ । 3 द्वन्द्वलाई हटाउनु हरेकको लागि आदर हो, तर हरेक मूर्खचाहिँ तर्क-वितर्कमा फस्छ । 4 अल्छेले शरद् ऋतुमा जोत्दैन । त्यसले कटनीको बेला फसल खोज्छ, तर केहीँ पाउने छैन । 5 मानवीय हृदयमा भएको उद्धेश्य गहिरो पानीजस्तै हो, तर समझशक्ति भएको मानिसले यसलाई बाहिर निकाल्ने छ । 6 धैरेले आफू भक्त भएको घोषणा गर्छन्, तर कसले विश्‍वासयोग्य जन पाउन सक्छ ? 7 धर्मात्मा आफ्नो सत्यनिष्‍ठामा चल्छ, र त्यसलाई पछ्याउने त्यसका छोराहरू आशिषित् हुने छन् । 8 न्यायको काम गर्दै सिंहासनमा बस्‍ने राजाले आफ्नो सामु भएका सबै खराबी आफ्नै आँखाले केलाउँछन् । 9 कसले भन्‍न सक्छ, "मैले मेरो हृदय शुद्ध राखेको छु । म मेरो पापबाट सफा छु ?" 10 नमिल्ने नापहरू असमान ढकहरू दुवैलाई परमप्रभु घृणा गर्नुहुन्छ । 11 एउटा बालकलाई पनि त्यसका गतिविधिहरूबाट त्यसको आचरण शुद्ध र सोझो छ कि छैन भनेर चिनिन्छ । 12 सुन्‍ने कान र देख्‍ने आँखा दुवैलाई परमप्रभुले बनाउनुभयो । 13 निद्रालाई प्रेम नगर्, नत्रता तँ दरिद्र हुने छस् । तेरा आँखा खोल्, र तँसित खानलाई प्रशस्त हुने छ । 14 "यो खराब छ, यो खराब छ," ग्राहकले भन्छ, तर पर पुगेपछि त्यसले घमण्ड गर्छ । 15 सुन छ, र प्रशस्त महङ्गा मणिहरू छन्, तर ज्ञानको ओठ बहुमूल्य रत्‍न हो । 16 परदेशीको जमानी बस्‍नेको खास्टो पनि खोस्‍नू, र त्यसले अनैतिक स्‍त्रीको लागि यसो गरेको भए त्यो धरौटी राख्‍नू । 17 छलद्वारा प्राप्‍त रोटीको स्वाद मिठो होला, तर पछि त्यसको मुखभरि रोडा हालेसरह हुन्छ । 18 सरसल्लाहद्वारा योजनाहरू स्थापित हुन्छन्, र बुद्धिमान् मार्ग-दर्शनद्वारा मात्र तैँले लडाइँ लड् । 19 कुरौटेले गुप्‍त कुराहरू बाहिर ल्याउँछ । त्यसैले धेरै कुरा गर्ने मानिसहरूसित सङ्गत नगर् । 20 कसैले आफ्नो बुबा वा आफ्नी आमालाई सराप्यो भने निस्पट्ट अन्धकारमा त्यसो बत्ती निभाइने छ । 21 सुरुमा झट्टै प्राप्‍त गरेको पैतृक-सम्पत्तिले अन्त्यमा थोरै भलाइ गर्ने छ । 22 यसो नभन्, "म यस खराबीको बदला लिने छु ।" परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटकारा दिनुहुने छ । 23 परमप्रभुले असमान ढकहरूलाई घृणा गर्नुहुन्छ, र बेइमान तराजुहरू ठिक होइनन् । 24 मानिसका कदमहरू परमप्रभुद्वारा निर्देशित हुन्छन् भने तब त्यसले कसरी आफ्नो मार्ग बुझ्न सक्ला त ? 25 "यो कुरो पवित्र छ," भनी हतारमा भन्‍ने र भाकल गरिसकेपछि मात्र त्यसको बारेमा सोच्नु मानिसको लागि पासो हुन्छ । 26 बुद्धिमान् राजाले दुष्‍टहरूलाई पन्साउँछन्, र तिनले अन्‍न चुट्ने चक्‍काले तिनीहरूलाई प्रहार गर्छन् । 27 मानिसको आत्मा परमप्रभुको बत्ती हो जसले त्यसका भित्री भागहरूको खोजी गर्छ । 28 करारको विश्‍वसनीयता र भरोसाले राजालाई जोगाउँछ । प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित हुन्छ । 29 युवाहरूको महिमा तिनीहरूको शक्ति हो, र पाकाहरूको शोभा तिनीहरूको फुलेको कपाल हो । 30 चोट लगाउने मुक्‍काले खराबीलाई साफ गर्छ, र पिटाइले भित्री भागहरूलाई शुद्ध पार्छ ।

21

1 राजाको हृदय परमप्रभुको हातमा भएको खोलाजस्तो हो । उहाँलाई खुसी लागेअनुसार उहाँले त्यसलाई फर्काउनुहुन्छ । 2 हरेक मानिसको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक छ, तर परमप्रभुले नै हृदयको जाँच गर्नुहुन्छ । 3 बलिदानभन्दा जे ठिक र न्यायसङ्गत छ, त्यही गर्नु परमप्रभुको लागि बढी ग्रहणयोग्य हुन्छ । 4 अहङ्कारी आँखा, घमण्डी हृदय र दुष्‍टको बत्ती पाप हुन् । 5 परिश्रमीका योजनाहरूले केवल उन्‍नतितिर लैजान्छन्, तर हतार काम गर्नेचाहिँ केवल दरिद्रतामा पुग्छ । 6 झुट बोलेर सम्पत्ति आर्जन गर्नु उडिजाने बाफ र मार्ने पासोजस्तै हो । 7 दुष्‍टहरूको हिंसाले तिनीहरूलाई तानेर लैजान्छ, किनकि ठिक काम गर्न तिनीहरू इन्कार गर्छन् । 8 दोषी मानिसको बाटो टेडो हुन्छ, तर निर्दोषले ठिक काम गर्छ । 9 झगडालु पत्‍नीसित एउटै घरमा बस्‍नुभन्दा कौसीको कुनामा बस्‍नु बेस हुन्छ । 10 दुष्‍टको भोकले खराबीको लालसा गर्छ । त्यसको छिमेकीले त्यसको आँखामा निगाह देख्दैन । 11 खिल्ली गर्नेलाई दण्ड दिइँदा निर्बुद्धि बुद्धिमान् बन्छ, र बुद्धिमान् मानिसलाई अर्ती दिइँदा त्यसले ज्ञानलाई पक्रिराख्छ । 12 धर्मात्माले दुष्‍ट मानिसको घरको निगरानी गर्छ । उहाँले दुष्‍ट मानिसहरूमाथि विपत्ति ल्याउनुहुन्छ । 13 गरिबको पुकारामा कान थुन्‍नेले पुकारा गर्दा त्यसलाई जवाफ दिइने छैन । 14 गुप्‍तमा दिइएको उपहारले रिस मारिदिन्छ, र लुकाएर दिइएको उपहारले बल्दो क्रोधलाई शान्त पारिदिन्छ । 15 न्याय कायम हुँदा यसले धर्मात्मामा आनन्द ल्याउँछ भने खराबी गर्नेहरूमा त्रास ल्याउँछ । 16 समझशक्तिको मार्गबाट तर्कने मानिसले मरेकाहरूको सभामा विश्राम पाउने छ । 17 मोजमज्‍जालाई प्रेम गर्ने गरिब हुनेछ । दाखमद्य र तेललाई प्रेम गर्ने धनी हुने छैन । 18 दुष्‍ट मानिस धर्मी मानिसको लागि प्रायश्‍चित्त हुन्छ, र विश्‍वासघाती मानिस सोझो मानिसको लागि प्रायश्‍चित्त हुन्छ । 19 झगडालु र रिसालु पत्‍नीसित बस्‍नुभन्दा उजाड्-स्थानमा बस्‍नु बेस हुन्छ । 20 इच्छा गरिएको खजाना र तेल बुद्धिमान्‌को बासस्थानमा हुन्छन्, तर मूर्खले यी सबै निलिदिन्छन् । 21 असल काम गर्ने र दयालु मानिसले जीवन, धार्मिकता र इज्‍जत पाउँछ । 22 बुद्धिमान् मानिसले शक्तिशाली योद्धाहरूको सहरको लेखाजोखा गर्छ, र तिनीहरूले भरोसा गरेको किल्लालाई भत्काइदिन्छ । 23 आफ्नो मुख र जिब्रोको रखवाली गर्नेले आफैलाई कष्‍टबाट बचाउँछ । 24 घमण्डी र हठी मानिसको नाउँ "खिल्ली उडाउने" हो र त्यसले अभिमानीसाथ व्यवहार गर्छ । 25 अल्छेको इच्छाले त्यसलाई मार्छ, किनकि त्यसको हातले काम गर्न इन्कार गर्छ । 26 दिनभरि त्यसले केवल लालसा गर्छ, तर धर्मात्माले मुट्ठी खोलेर दिन्छ । 27 दुष्‍टको बलिदान घृणित हुन्छ । त्यसले खराब अभिप्राय लिएर ल्याउँदा यो झनै घृणित हुन्छ । 28 झुटो साक्षी नष्‍ट हुने छ, तर ध्यान दिएर सुन्‍नेले बोलिरहने छ । 29 दुष्‍ट मानिस हठी हुन्छ, तर सोझो मानिस आफ्ना मार्गहरूबारे निश्‍चित हुन्छ । 30 यस्तो कुनै बुद्धि, समझशक्ति र सरसल्लाह छैन जुन परमप्रभुको विरुद्धमा खडा हुन सक्छ । 31 घोडा युद्धको लागि तयार पारिन्छ, तर विजयचाहिँ परमप्रभुकै हो ।

22

1 धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु अनि निगाह सुन र चाँदीभन्दा उत्तम हो । 2 धनी र गरिब यस कुरामा समान छन्, कि दुवैका सृष्‍टिकर्ता परमेश्‍वर हुनुहुन्छ । 3 विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ । 4 विनम्रता र परमप्रभुको भयको इनाम धन-सम्पत्ति, मान र जीवन हुन् । 5 टेडा मानिसहरूको मार्गमा काँढा र पासाहरू लुकेका हुन्छन् । आफ्नो जीवनको रखवाली गर्नेचाहिँ तीबाट टाढै बस्‍ने छन् । 6 बच्‍चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्‍न सिका, र बुढेस्कालसम्म पनि त्यो त्यस अर्तीबाट तर्कने छैन । 7 धनी मानिसहरूले गरिब मानिसहरूमाथि शासन गर्छन्, र सापट लिनेचाहिँ सापट दिनेको दास बन्छ । 8 अन्याय छर्नेले सङ्कष्‍टको कटनी गर्ने छ, र त्यसको झोँखको लौरो भाँचिने छ । 9 उदार दृष्‍टि भएको मानिस आशिषित् हुने छ, किनकि त्यसले आफ्नो रोटी गरिबहरूसित बाँडचुँड गर्छ । 10 खिल्ली उडाउनेलाई बाहिर निकाल्, र द्वन्द्व हटेर जान्छ अनि वादविवाद र अपमान लोप हुने छन् । 11 शुद्ध हृदयलाई प्रेम गर्ने र बोलीवचन अनुग्रहमय भएको मानिसको लागि राजा पनि मित्र हुने छ । 12 परमप्रभुको दृष्‍टिले ज्ञानमाथि नजर लगाइरहन्छ, तर उहाँले विश्‍वासघातीका वचनहरूलाई मिल्काइदिनुहुन्छ । 13 अल्छे मानिसले भन्छ, "बाटोमा एउटा सिंह छ । मलाई खुला ठाउँहरूमा मारिने छ ।" 14 व्यभिचारी स्‍त्रीको मुख गहिरो खाडलजस्तै हो । त्यसभित्र खस्‍नेको विरुद्धमा परमप्रभुको क्रोध दन्कन्छ । 15 बच्‍चाको हृदयमा मूर्खता जेलिएको हुन्छ, तर अनुशासनको लट्ठीले त्यसलाई टाढा भगाउँछ । 16 आफ्नो धन-सम्पत्ति बढाउन गरिब मानिसहरूमाथि थिचोमिचो गर्ने वा धनी मानिसहरूलाई दिने व्यक्ति दरिद्रतामा पुग्‍ने छ । 17 आफ्नो कान थाप् र बुद्धिमान्‌का वचनहरू सुन् अनि मेरो ज्ञानमा तेरो हृदय लगा । 18 किनभने तिनलाई तँभित्र राखिस् भने र ती सबै तेरो ओठमा तयार भए भने यो तेरो लागि रमणीय हुने छ । 19 तेरो भरोसा परमप्रभुमाथि होस् भनेर आज म तँलाई यी कुराहरू सिकाउँछु । 20 के मैले तेरो लागि अर्ती र ज्ञानका तिसवटा नीति-वचन लेखिदिएको छैनँ र ? 21 तँकहाँ पठाइएकाहरूलाई तैँले भरोसायोग्य जवाफहरू दिन सक् भनेर मैले तँलाई यी भरोसायोग्य वचनहरू सिकाएको होइनँ र ? 22 गरिबलाई नलुट्, किनकि त्यो गरिब हो, न त खाँचोमा परेकोलाई मूल ढोकामा पेल्ने गर, 23 किनकि परमप्रभुले तिनीहरूको मुद्दाको पक्षमा वकालत गर्नुहुने छ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुने छ । 24 रिसद्वारा नियन्त्रित हुने मानिसलाई मित्र नबना, र क्रोधित मानिससित सङ्गत नगर् । 25 नत्रता तैँले त्यसका मार्गहरू सिक्‍ने छस्, र तेरो प्राण पासोमा पर्ने छ । 26 धितोमा आफ्नो हात नहाल् वा अर्काको ऋणको जमानी नबस् । 27 तँसित तिर्ने उपायको कमी भयो भने कसैलाई तेरो खाटसमेत लैजानबाट कुन कुराले रोक्‍न सक्छ ? 28 तेरा पिता-पुर्खाहरूले खडा गरेका प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा । 29 के आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस् ? त्यो राजाहरूका सामु खडा हुने छ । त्यो सर्वसाधारणको सामु खडा हुने छैन ।

23

1 तँ खानलाई शासकसित बस्दा तेरो सामु राखिएको खानेकुरालाई होसियारीपूर्वक अवलोकन गर् । 2 तँ धेरै खाने खन्चुवा हो भने तेरो घाँटीमा चक्‍कु राख् । 3 तिनको स्वादिष्‍ट खानेकुराको लालसा नगर्, किनकि यो झुटको खाना हो । 4 धन-सम्पत्ति कमाउन धेरै नघोट्टी । कहिले बन्द गर्ने भनी थाहा पाउन बुद्धिमानी बन् । 5 के यसमाथि तेरो आँखाको ज्योति चम्कन दिन्छस् ? यो बितेर जाने छ, किनकि गरुडका झैँ यसका पखेटाहरू पलाउने छन् र यो आकाशमा उडेर जाने छ । 6 दुष्‍ट आँखा भएको मानिसको भोजन नखा, र त्यसको स्वादिष्‍ट खानेकुराको लालसा नगर् । 7 किनकि त्यो भोजनको मूल्य गिन्ती गर्ने मानिस हो । त्यसले भन्छ, "खाऊ र पिऊ ।" तर त्यसको हृदय तँसित हुँदैन । 8 तैँले खाएको थोरै खानेकुरा पनि तैँले बान्ता गर्ने छस्, र तैँले तेरो तारिफलाई त्यसै खेर जान दिनेछस् । 9 मूर्खले सुन्‍ने गरी नबोल्, किनकि त्यसले तेरा वचनहरूको बुद्धिलाई तुच्छ ठान्‍ने छ । 10 प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा वा अनाथहरूको खेतबारी नमिच् । 11 किनभने तिनीहरूका उद्धारकर्ता शक्तिशाली हुनुहुन्छ, र उहाँले तेरो विरुद्धमा तिनीहरूको मुद्दा लड्नुहुने छ । 12 तेरो हृदयलाई अर्तीतिर लगा, र तेरा कानलाई ज्ञानका वचनहरूमा लगा । 13 बच्‍चाबाट अर्तीलाई नरोक्, किनकि तैँले त्यसलाई अनुशासनमा राखिस् भने त्यो मर्ने छैन । 14 त्यसलाई छडी लगाउने र पातालबाट त्यसको प्राण जोगाउने तँ नै होस् । 15 हे मेरो छोरो, तेरो हृदय बुद्धिमानी छ भने मेरो हृदय पनि प्रसन्‍न हुने छ । 16 तेरो ओठले जे ठिक छ, त्यही बोल्दा मेरो अन्तस्करण रमाउने छ । 17 तेरो हृदयलाई पापीहरूको ईर्ष्या गर्न नदे, तर दिनैभरि परमप्रभुको भयमा लागिराख् । 18 निश्‍चय नै एउटा भविष्य छ, र तेरो आशा निराश हुने छैन । 19 हे मेरो छोरो, सुन् र बुद्धिमान् हो, अनि तेरो हृदयलाई सुमार्गमा लगा । 20 मातेकाहरू वा धेरै मासु हुसर्नेहरूसित सङ्गत नगर्, 21 किनकि मतवाला र घिचुवाहरू गरिब बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरूलाई झुत्रे बनाउँछ । 22 तँलाई जन्म दिने बुबाको कुरा सुन्, र तेरी आमा वृद्ध हुँदा उनलाई तुच्छ नठान् । 23 सत्यलाई किन्, र त्यसलाई नबेच् । बुद्धि, अर्ती र समझशक्तिलाई किन् । 24 धर्मात्माको बुबा अत्यन्तै आनन्दित हुने छ, र बुद्धिमान् छोरोलाई जन्म दिने मानिस त्यसमा प्रसन्‍न हुने छ । 25 तेरा बुबा र आमा प्रसन्‍न होऊन्, अनि तँलाई जन्म दिने आनन्दित होऊन् । 26 हे मेरो छोरो, मलाई तेरो हृदय दे, र तेरा आँखाले मेरा मार्गहरू हेरून् । 27 किनभने वेश्या एउटा गहिरो खाडल हो, र अनैतिक स्‍त्री एउटा साँघुरो इनार हो । 28 त्यो चोरझैँ ढुकिबस्छे, र त्यसले मानिसहरूका बिचमा विश्‍वासघातीहरूको सङ्ख्या बढाउँछे । 29 कोसित कष्‍ट छ ? कोसित शोक छ ? कोसित कलह छ ? कोसित गुनासो छ ? कोसित विनाकारण चोट छ ? कसका आँखा राताराता छन् ? 30 तिनीहरूकै जो धेरै मद्य पिउँछन्, जसले मिश्रित मद्य पिउँछन् । 31 मद्य रातो हुँदा, कचौरामा त्यसको फिँज उठ्दा र त्यो सहजै उँधो जाँदा त्यसलाई नहेर् । 32 अन्त्यमा त्यसले सर्पले झैँ डस्छ, र गोमनले झैँ विष हालिदिन्छ । 33 तेरा आँखाहरूले अनौठा कुराहरू देख्‍ने छन्, र तेरो मनले टेडा कुराहरू व्यक्त गर्ने छन् । 34 तँ महासमुद्रमा सुतिरहने व्यक्तिझैँ वा मस्तुलको डोरीको मास्तिर बस्‍नेझैँ हुने छ । 35 तैँले भन्‍ने छस्, "तिनीहरू मलाई हिर्काए, तर मलाई चोट लागेन ।" तिनीहरूले मलाई पिटे, तर मलाई यसको अनुभूति भएन । म कहिले ब्युँझने छु ? म अर्को चुस्की खोज्ने छु ।"

24

1 खराब मानिसहरूको लालच नगर्, न त तिनीहरूसित सङ्गत गर्ने चाहना राख् । 2 किनभने तिनीहरूको हृदयले हिंसाको षड्यन्त्र रच्छ, र तिनीहरूको ओठले कष्‍टबारे कुराकानी गर्छ । 3 बुद्धिद्वारा घर निर्माण गरिन्छ, र समझशक्तिद्वारा यसलाई स्थापित गरिन्छ । 4 ज्ञानद्वारा सारा बहुमूल्य र उत्कृष्‍ट थोकहरूले कोठाहरू भरिन्छन् । 5 बुद्धिमान् योद्धा बलियो हुन्छ, र ज्ञानी मानिसले आफ्नो शक्ति बढाउँछ । 6 किनभने बुद्धिमानी निर्देशनद्वारा तैँले आफ्नो युद्ध लड्न सक्छस्, र धेरै परामर्शदाताहरूद्वारा विजय हासिल गरिन्छ । 7 मूर्खको लागि बुद्धि अति उच्‍च हुन्छ । ढोकामा त्यसले आफ्नो मुख खोल्दैन । 8 खराबी गर्न योजनाहरू बनाउने एउटा छ जसलाई मानिसहरू "षड्यन्त्रकारीको गुरु" भन्छन् । 9 मूर्ख योजना पाप हो, र मानिसहरूले खिल्ली उडाउनेलाई तुच्छ ठान्छन् । 10 कष्‍टको दिनमा तँ डरले कमजोर भइस् भने तेरो शक्ति क्षीण हुने छ । 11 मृत्युको लागि लगिँदै गरेकाहरूलाई छुटकारा दे, र मारिनका लागि ढुनमुनिएकाहरूलाई बचा । 12 "हामीलाई यस विषयमा केही थाहा थिएन," भनी तैँले भनिस् भने के हृदयको जाँच गर्नुहुनेले तैँले भनिरहेको कुरालाई बुझ्नुहुन्‍न र ? तेरो जीवनको रखवाली गर्नुहुनेलाई के यो कुरा थाहा छैन र ? के परमेश्‍वरले हरेकलाई त्यसको प्रतिफलअनुसार दिनुहुन्‍न र ? 13 हे मेरो छोरो, मह खा, किनकि यो गुलियो हुन्छ, किनकि महको चाकाबाटको महको स्वाद तँलाई गुलियो हुन्छ । 14 तेरो प्राणको लागि बुद्धि यही होः तैँले यसलाई भेट्टाइस् भने तेरो भविष्य सुन्दर हुने छ, र तेरो आशा निराश हुने छैन । 15 धर्मात्माको घरमाथि आक्रमण गर्ने दुष्‍ट मानिसजस्तै ढुकेर नबस् । त्यसको घर नभत्का । 16 किनकि धर्मात्मा सात पटक लोट्छ र फेरि उठ्छ, तर दुष्‍ट मानिसहरू विपत्तिद्वारा तल खसालिन्छन् । 17 तेरो शत्रुको पतन हुँदा उत्सव नमना, र त्यसले ठक्‍कर खाँदा तेरो हृदयलाई प्रसन्‍न हुन नदे । 18 नत्रता परमप्रभुले देख्‍नुहुने छ र असहमति जनाउनुहुने छ अनि त्यसबाट आफ्नो क्रोध हटाउनुहुने छ । 19 खराबी गर्नेहरूको कारण चिन्ता नमान्, र दुष्‍ट मानिसहरूको ईर्ष्या नगर् । 20 किनभने दुष्‍ट मानिसको कुनै भविष्य छैन, र दुष्‍ट मानिसको बत्ती निभाइने छ । 21 हे मेरो छोरो, परमप्रभुको भय मान्, र राजादेखि डरा । तिनीहरूको विरुद्धमा लाग्‍नेहरूको सङ्गत नगर् । 22 किनभने उहाँहरूको विपत्ति अकस्मात आइपर्ने छ, र उहाँहरू दुवैबाट आउने विनाशको मात्रा कसलाई थाहा छ र ? 23 यी पनि बुद्धिमान्‌का नीति-वचनहरू हुन् । मुद्दाको न्यायमा पक्षपात गर्नु राम्रो होइन । 24 दुष्‍ट मानिसलाई "तिमी धर्मात्मा हौ," भनी भन्‍ने कुनै पनि व्यक्ति मानिसहरूद्वारा श्रापित हुने छ, र जाति-जातिहरूद्वारा घृणित हुने छ । 25 तर दुष्‍टलाई अनुशासनमा राख्‍नेहरू आनन्दित हुने छन्, र तिनीहरूमा भलाइका उपहारहरू आउने छन् । 26 इमानदार जवाफ दिनेले ओठमा चुम्बन दिन्छ । 27 तेरो बाहिरको काम तयार गर्, र खेतबारीमा गरिने हरेक काम तँ आफैले तयार राख् । त्यसपछि तेरो घर बना । 28 विनाकारण तेरो छिमेकीको विरुद्धमा साक्षी नबन्, र तेरो ओठले छल्ने काम नगर् । 29 यसो नभन्, "त्यसले मलाई गरेजस्तै म त्यसलाई गर्ने छु । त्यसले मलाई गरेको साटो म लिने छु ।" 30 म अल्छे मानिसको खेतनेरबाट गएँ, बेसमझ मानिसको दाखबारीबाट भएर गएँ । 31 जताततै काँढाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकिएको थियो, र यसको ढुङ्गाको पर्खाल तोडिएको थियो । 32 तब मैले देखेका कुरामा मैले विचार गरेँ । मैले हेरेँ र अर्ती प्राप्‍त गरेँ । 33 क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्‍ने कामले 34 गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ ।

25

1 यी सोलोमनका थप हितोपदेश हुन् जसलाई यहूदाका राजा हिजकियाका मानिसहरूले प्रतिलिपि गरे । 2 कुनै विषय गोप्य राख्‍नुमा परमेश्‍वरको महिमा हुन्छ, तर यसको खोजी गर्नु राजाहरूको महिमा हो । 3 जसरी आकाशहरू उचाइका लागि हुन्, र पृथ्वी गहिराइको लागि हो, त्यसै गरी राजाहरूको हृदय खोजी गर्न नसकिने खालको हुन्छ । 4 चाँदीबाट कसर निकालिदे, र धातुको काम गर्नेले त्यसलाई चाँदीलाई आफ्नो शिल्पकृतिमा प्रयोग गर्न सक्छ । 5 त्यसै गरी, राजाको उपस्थितिबाट दुष्‍ट मानिसहरूलाई हटाइदे, र तिनको सिंहासन ठिक काम गरेर स्थापित हुने छ । 6 राजाको उपस्थितिमा आफैलाई नउचाल्, र उच्‍च मानिसहरूलाई तोकिएको ठाउँमा नबस् । 7 उच्‍च मानिसहरूको सामु तेरो अपमान हुनुभन्दा त बरु तँलाई "यहाँ माथि आऊ" भन्‍नु उत्तम हुन्छ । 8 तैँले जे देखेको छस्, त्यसलाई झट्टै अदालतमा नलैजा । किनकि तेरो छिमेकीले तँलाई लाजमा पार्दा अन्त्यमा तँ के गर्ने छस् ? 9 तेरो मुद्दालाई तँ र तेरो छिमेकीको बिचमा बहस गर्, र अर्कोको गुप्‍त कुरोलाई प्रकट नगर् । 10 नत्रता सुन्‍ने व्यक्तिले तँमाथि लाज र तेरो विषयमा भएको खराब प्रतिवेदन ल्याउने छ जसलाई चुप गराउन सकिँदैन । 11 ठिक अवस्थामा बोलिएको वचन चाँदीमा जडान गरिएको सुनका स्याउहरूजस्तै हुन्छन् । 12 सुनको औँठी वा निखुर सुनबाट बनेको गहना सुन्‍ने कानको लागि बुद्धिमान् हप्कीझैँ हो । 13 कटनीको समयमा हिउँको शीतलझैँ विश्‍वासयोग्य दूत त्यसलाई पठाउनेहरूका लागि हुन्छ । त्यसले आफ्ना मालिकहरूको जीवन फर्काएर ल्याउँछ । 14 आफूले नदिएको उपहारबारे धाक लगाउने मानिस पानीविनाको बादल र बतासझैँ हुन्छ । 15 धैर्यताले शासकलाई पनि मनाउन सकिन्छ, र कोमल जिब्रोले हड्‍डीलाई गलाउन सक्छ । 16 मह पाइस् भने चाहिँदो मात्रामा खा । नत्रता अत्यधिक खाइस् भने तैँले बान्ता गर्छस् । 17 आफ्नो छिमेकीको घरमा अक्सर जाने नगर् । त्यो तँदेखि वाक्‍क भएर तँलाई घृणा गर्छ । 18 आफ्नो छिमेकीको विरुद्धमा झुटो साक्षी दिने मानिस युद्धमा प्रयोग गरिने लट्ठी, तरवार वा तिखो काँडजस्तै हो । 19 तैँले कष्‍टको समयमा भरोसा गर्ने अविश्‍वासयोग्य मानिस दुःखेको दाँत वा चिप्लने खुट्टाजस्तै हो । 20 जाडो मौसममा खास्टो खोसेर लैजाने मानिस वा सोडामा सिर्का खन्याएझैँ दुःखित हृदय भएकोलाई गीत गाउने मानिसझैँ हुन्छ । 21 तेरो शत्रु भोकाएको छ भने त्यसलाई खानलाई भोजन दे, र त्यो तिर्खाएको छ भने त्यसलाई पिउनलाई पानी दे । 22 किनकि त्यसो गर्नाले तैँले त्यसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउने छस्, र परमप्रभुले तँलाई इनाम दिनुहुने छ । 23 जसरी उत्तरी बतासले पक्‍कै वृष्‍टि ल्याउँछ, त्यसै गरी गुप्‍त कुराहरू बताउने जिब्रोले क्रुद्ध अनुहार ल्याउँछ । 24 झगडालु पत्‍नीसँग एउटै घरमा बस्‍नुभन्दा कौसीको कुनामा बस्‍नु बेस हुन्छ । 25 तिर्खाएको मानिसलाई चिसो पानी जस्तो हुन्छ, टाढाको देशबाट आएको शुभ खबर त्यस्तै हुन्छ । 26 हिलोको फुहारा वा दूषित कुवाझैँ दुष्‍ट मानिसको सामु लर्खराउँदै हिँड्ने धर्मी मानिस हुन्छ । 27 अत्यधिक मह खानु राम्रो हुँदैन । त्यसो गर्नु भनेको मान-सम्मान खोजीरहनुजस्तै हो । 28 आत्मसंयमविनाको मानिस दरार भएको वा पर्खालविनाको सहरजस्तै हो ।

26

1 ग्रिष्म ऋतुमा हिउँ वा फसलको समयमा झरी परेझैँ मूर्ख आदरको योग्य हुँदन । 2 भुर्र उड्ने भँगेरो र हानिएर जाने गौँथलीझैँ कारणविनाको श्राप पनि लाग्दैन । 3 कोर्रा घोडाको लागि हो; लगाम गधाको लागि हो र लट्ठी मूर्खहरूको पिठिउँको लागि हो । 4 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदे, नत्रता तँ त्योजस्तै हुने छस् । 5 मूर्खलाई जवाफ दे र त्यसको मूर्खतामा मिल् ताकि त्यो त्यसको आफ्नै दृष्‍टिमा बुद्धिमान् नहोस् । 6 मूर्खको हातमा सन्देश पठाउने मानिसले आफ्नै खुट्टामा बन्चरो हानेर हिंसा पिउँछ । 7 पक्षाघातीका झुण्डिएका खुट्टाहरूझैँ मूर्खको मुखमा भएको हितोपदेश हुन्छ । 8 मूर्खलाई आदन दिनु घुयेँत्रोमा ढुङ्गा बाँध्‍नुजस्तै हो । 9 मतवालाको हातमा काँढा भएझैँ मूर्खको मुखमा भएको हितोपदेश हो । 10 मूर्ख वा बटुवालाई ज्यालामा काम लगाउनु धनुर्धारीले त्यसको वरिपरि भएका सबैलाई काँड हानी चोट पुर्‍याउनुजस्तै हो । 11 जसरी कुकुर आफ्नै बान्तामा फर्केर आउँछ, त्यसै गरी मूर्खले आफ्नो मूर्खता दोहोर्‍याउँछ । 12 के तैँले आफ्नै दृष्‍टिमा बुद्धिमान् भएको कुनै मानिसलाई देखेको छस् ? त्यसको भन्दा त मूर्खको लागि बढी आशा हुन्छ । 13 अल्छे मानिसले भन्छ, "सडकमा सिंह छ । खुला ठाउँहरूका बिचमा सिंह छ ।" 14 ढोका आफ्नो कब्जामा यताउता हल्लेझैँ अल्छे मानिस आफ्नो खाटमा पल्टन्छ । 15 अल्छे मानिसले आफ्नो हात थालमा गाड्छ, र त्यसलाई आफ्नो मुखसम्म पुर्‍याउन पनि त्योसित शक्ति हुँदैन । 16 सही न्यायसहित प्रतिक्रिया दिने सात जना मानिसभन्दा अल्छे मानिस त्यसको आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ । 17 कुकुरको कान समात्‍ने मानिस आफूसित सम्बन्धित नभएको झगडामा रिसाउने बटुवाजस्तै हो । 18 त्यो घातक काँड हान्‍ने बौलाहा मानिसजस्तो हो, 19 जसले आफ्नो छिमेकीलाई धोका दिइसकेपछि भन्छ, "के मैले ठट्टा गर्दै थिइनँ र ?" 20 दाउराको कमीले आगो निभ्छ, र जहाँ कुरौटो हुँदैन त्यहाँ झगडाको अन्त्य हुन्छ । 21 जसरी भुङ्ग्रोको लागि कोइला र आगोको लागि दाउरा हो, त्यसै गरी झगडालु मानिस कलह सल्काउनको लागि हो । 22 कुरौटेका वचनहरू स्वादिष्‍ट गाँसजस्तै हुन्छन् । ती शरीरको भित्री भागसम्म प्रवेश गर्छन् । 23 माटोको भाँडामा चल्काउने जलप लाएझैँ आघात पुर्‍याउने ओठ र दुष्‍ट हृदय हुन्छ । 24 अरूहरूलाई घृणा गर्नेले आफ्नो ओठले आफ्ना भावना लुकाउँछ, तर भित्रपट्टि भने त्यसले छलछामलाई आश्रय दिन्छ । 25 त्यसले अनुग्रही भएर बोले तपानि त्यसमाथि विश्‍वास नगर्, किनकि त्यसको हृदयमा सातवटा घृणित कुरा छन् । 26 त्यसको घृणालाई छलले ढाकिएको भए तापनि त्यसको दुष्‍टता सभामा खुला हुने छ । 27 खाडल खन्‍ने मानिस त्यसभित्र जाकिन्छ, र ढुङ्गा गुडाउने मानिसमा नै त्यो ढुङ्गा फर्केर आउने छ । 28 झुट बोल्ने जिब्रोले पीडामा परेकाहरूलाई घृणा गर्छ, र चापलुसी घस्‍ने मुखले विनाश ल्याउँछ ।

27

1 भोलीको विषयमा घमण्ड नगर्, किनकि एकै दिनमा के आइपर्छ भनी तँलाई थाहा छैन । 2 कसैले तेरो प्रशंसा गरोस्, तेरै आफ्नै मुखले होइन; परदेशीले गरोस्, तेरो ओठले होइन । 3 ढुङ्गाको बोझ र बालुवाको ओजनलाई विचार गर् । मूर्खको चिढ्याइ ती दुवैभन्दा गरुङ्गो हुन्छ । 4 झोँकको क्रोध र रिसको बाढी छ, तर डाहको सामु को खडा हुन सक्छ र ? 5 गुप्‍त प्रेमभन्दा खुला हप्की बेस हो । 6 मित्रले दिएको चोट पत्यारलाग्दो हुन्छ, तर शत्रुले तँलाई प्रचुर मात्रामा चुम्बन गर्न सक्छ । 7 पेटभरि खाएको मानिसले महको चाकालाई पनि इन्कार गर्छ, तर भोकाएको व्यक्तिलाई हरेक तितो कुरो मिठो लाग्छ । 8 आफ्नो गुँडबाट भट्किएर निस्केको चरा आफ्नो बासस्थानबाट बरालिएको मानिसझैँ हुन्छ । 9 अत्तर र धूपले हृदयलाई आनन्द दिन्छ, तर मित्रको मिठास उसको इमानदार सल्लाहबाट आउँछ । 10 आफ्नो मित्र र मित्रको बुबालाई नत्याग्, अनि तेरो विपत्तिको दिनमा तेरो भाइको घरमा नजा । टाढाको भाइभन्दा नजिकको छिमेकी उत्तम हुन्छ । 11 हे मेरो छोरो, बुद्धिमान हो, र मेरो हृदयलाई आनन्दित तुल्या । तब मेरो खिल्ली उडाउनेलाई म जवाफ दिने छु । 12 विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ । 13 परदेशीको जमानी बस्‍नेको खास्टो पनि खोस्‍नू, र त्यसले अनैतिक स्‍त्रीको लागि यसो गरेको भए त्यो धरौटी राख्‍नू । 14 कसैले आफ्नो छिमेकीलाई बिहान सबेरै चर्को सोरमा आशिष् दिन्छ भने, त्यो आशिष्‌लाई श्राप ठानिन्छ । 15 झगडालु पत्‍नी वर्षाको समयमा एकहोरो तपतप चुहुने झरीजस्तै हो । 16 त्यसलाई नियन्त्रण गर्नु बतासलाई नियन्त्रण गर्नुझैँ हो वा दाहिने हातमा तेललाई समात्‍नुझैँ हो । 17 फलामले फलामलाई उध्याउँछ । त्यसै गरी, मानिसले आफ्नो मित्रलाई उध्याउँछ । 18 अञ्‍जीरको रुख गोडमेल गर्नेले यसको फल खाने छ, र आफ्नो गुरुको रक्षा गर्नेले आदर पाउँछ । 19 जसरी पानीले मानिसको अनुहार प्रतिबिम्बित गर्छ, त्यसै गरी मानिसको हृदयले उसको प्रतिबिम्बित गर्छ । 20 जसरी पाताल र एब्बाड्‍डोन कहिल्यै सन्तुष्‍ट हुँदैनन्, त्यसै गरी मानिसका आँखा कहिल्यै सन्तुष्‍ट हुँदैनन् । 21 चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ, अनि मानिसको प्रशंसा हुँदा त्यसको जाँच हुन्छ । 22 मूर्खलाई खलमा वा अन्‍नलाई झैँ जाँतोमा हालेर पिँधे तापनि त्यसको मूर्खता त्यसबाट हट्ने छैन । 23 तेरा भेडा-बाख्राहरूको अवस्था राम्ररी थाहा गर, र तेरा गाईवस्तुहरूको बारेमा ध्यान दे । 24 किनकि धन-सम्पत्ति सदाको लागि होइन । के मुकुट सबै पुस्ताभरि रहन्छ र ? 25 पराल कहिले हटाइन्छ र नयाँ पालुवा कहिले पलाउँछ अनि डाँडापाखाबाट घाँस कहिले बटुलिन्छ भनी तँलाई थाहा हुनुपर्छ । 26 ती भेडाहरूले तेरो वस्‍त्र जुटाउने छन्, र बाख्राहरूले खेतको मूल्य जुटाउने छन् । 27 तँ र तेरो घरानाको भोजनको लागि बाख्रीको दूध उपलब्ध हुने छ र त्यो तेरा नोकर्नीहरूलाई पोषण हुने छ ।

28

1 कसैले नलखेट्दा पनि दुष्‍ट मानिसहरू भाग्छन्, तर धर्मी मानिसहरू जवान सिंहझैँ निर्भीक हुन्छन् । 2 देशको अधर्मको कारण त्यहाँ धेरै शासकहरू हुन्छन्, तर समझशक्ति र ज्ञान भएको मानिसले अमनचैन कायम राख्‍ने छ । 3 एउटा गरिब मानिसमाथि थिचोमिचो गर्ने अर्को गरिब मानिस अन्‍न सखाप पार्ने मुसलधारे वर्षाजस्तो हो । 4 व्यवस्था त्याग्‍नेहरूले दुष्‍ट मानिसहरूको प्रशंसा गर्छन्, तर व्यवस्था पालन गर्नेहरू तिनीहरूको विरुद्धमा लड्छन् । 5 खराब मानिसले न्यायलाई बुझ्दैन, तर परमप्रभुको खोजी गर्नेहरूले हरेक कुरो बुझ्दछ । 6 आफ्ना मार्गहरूमा टेडो हुने धनी मानिसभन्दा आफ्नो निष्‍ठामा हिँड्ने गरिब मानिस उत्तम हुन्छ । 7 व्यवस्था पालन गर्ने छोरो समझदार हुन्छ, तर घिचावाको सङ्गत गर्नेले चाहिँ आफ्नो बुबालाई लज्‍जित तुल्याउँछ । 8 धेरै ब्याज लगाएर आफ्नो सम्पत्ति बढाउने मानिसको धनलाई अर्कैले कुम्ल्याउँछ र त्यसले गरिबहरूमाथि दया देखाउँछ । 9 कसैले व्यवस्था सुन्‍नबाट आफ्नो कान तर्कायो भने त्यसको प्रार्थना पनि घृणित हुन्छ । 10 सोझाहरूलाई खराब मार्गमा लैजाने जो कोही पनि आफूले खनेको खाल्डोमा जाकिने छ, तर खोटरहित मानिसले असल पैतृक-सम्पत्ति पाउने छ । 11 धनी मानिस आफ्नै दृष्‍टिमा बुद्धिमान् होला, तर समझशक्ति भएको गरिब मानिसले त्यसलाई पत्ता लगाउने छ । 12 धर्मीहरू विजय हुँदा ठुलो महिमा हुन्छ, तर दुष्‍टहरूको उदय हुँदा मानिसहरू लुक्‍न थाल्छन् । 13 आफ्ना पापहरू लुकाउनेको उन्‍नति हुने छैन, तर तिनलाई स्वीकार गरी त्याग्‍नेलाई कृपा देखाइने छ । 14 सधैँ आदरसाथ जिउने आशिषित् हुने छ, तर आफ्नो हृदयलाई कठोर बनाउनेचाहिँ कष्‍टमा पर्ने छ । 15 गर्जने सिंह वा झम्टने भालुझैँ मानिसहरूमाथि शासन गर्ने दुष्‍ट शासक हुन्छ । 16 समझशक्ति कमी भएको शासक क्रुर हुन्छ, तर बेइमानीलाई घृणा गर्नेचाहिँको आयु लामो हुन्छ । 17 कसैको रगत बगाएकोले मानिस दोषी छ भने त्यसको मृत्यु नभएसम्म त्यो भगुवा हुने छ र कसैले त्यसलाई सहायता गर्ने छैन । 18 निष्‍ठासहित हिँड्ने सुरक्षित हुने छ, तर टेडो चाल भएको मानिस अकस्मात् पतन हुने छ । 19 आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त अन्‍न हुने छ, तर बेकम्मा कोसिसको पछि लाग्‍नेचाहिँ दरिद्रताले भरिने छ । 20 विश्‍वासयोग्य मानिसले धेरै आशिष्‌हरू पाउने छ, तर झट्टै धनी हुनेचाहिँ दण्डविना उम्कने छैन । 21 पक्षपात गर्नु राम्रो होइन, तरै पनि एक टुक्रा रोटीको लागि मानिसले गलत काम गर्छ । 22 कन्जुस मानिस धनको पछि लाग्छ, तर दरिद्रता त्यसमाथि आइपर्ने छ भनी त्यसलाई थाहै हुँदैन । 23 फुर्क्याउने जिब्रो भएकोले भन्दा अनुशासनमा राख्‍नेले नै पछि बढी निगाह पाउँछ । 24 आफ्ना बुबा र आमालाई लुटेर "त्यो पाप होइन" भनी बताउने मानिस बर्बादी ल्याउनेको मित्र हुन्छ । 25 लोभी मानिसले द्वन्द्व निम्त्याउँछ, तर परमप्रभुमा भरोसा गर्नेको उन्‍नति हुने छ । 26 आफ्नै हृदयमा भरोसा गर्ने मानिस मूर्ख हो, तर बुद्धिमा चल्नेचाहिँ खतराबाट टाढै बस्छ । 27 गरिबलाई दिनेलाई कुनै कुराको अभाव हुँदैन, तर तिनीहरूप्रति आँखा चिम्लनेले धेरै श्राप पाउने छ । 28 दुष्‍टहरूको उदय हुँदा मानिसहरू लुक्छन्, तर तिनीहरू नष्‍ट हुँदा धर्मीहरूको वृद्धि हुन्छ ।

29

1 धेरै पटक हप्की पाएर पनि हठी हुने मानिस निको नहुने गरी एकै क्षणमा नष्‍ट हुने छ । 2 धर्मात्माहरूको वृद्धि हुँदा मानिसहरूले आनन्द मनाउँछन्, तर दुष्‍ट मानिस शासक बन्दा मानिसहरूले सुस्केरा हाल्छन् । 3 बुद्धिलाई प्रेम गर्नेले आफ्नो बुबालाई प्रसन्‍न तुल्याउँछ, तर वेश्याहरूको सङ्गत गर्नेले आफ्नो सम्पत्ति नष्‍ट पार्छ । 4 राजाले न्यायद्वारा देश सुदृढ बनाउँछ, तर घुस लिनले देशलाई तहसनहस पार्छ । 5 आफ्नो छिमेकीलाई फुर्क्याउनेले त्यसका खुट्टाका लागि जाल फिजाइरहेको हुन्छ । 6 खराब मानिसको पापमा पासो हुन्छ, तर धर्मात्माले गाएर आनन्द मनाउँछ । 7 धर्मात्मालाई गरिबका अधिकारहरू थाहा हुन्छ, तर दुष्‍टले यस्तो ज्ञान बुझ्दैन । 8 खिल्ली उडाउनेहरूले सहरमा आगो लगाउँछन्, तर बुद्धिमान्‌हरूले क्रोधलाई पाखा लगाउँछ । 9 बुद्धिमान् मानिसले मूर्खसित तर्क-वितर्क गर्दा मूर्खले रिस प्रकट गरेर गिल्ला गर्छ र त्यहाँ चैन हुँदैन । 10 रक्तपात गर्नेले खोटरहित मानिसलाई घृणा गर्छ, र सोझाहरूको ज्यान लिन खोज्छ । 11 मूर्खले आफ्ना सबै रिस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्यसलाई थामेर शान्त हुन्छ । 12 शासकले झुटो कुरोलाई ध्यान दियो भने त्यसका सबै कर्मचारी दुष्‍ट हुने छन् । 13 गरिब र थिचोमिचो गर्ने मानिस उस्तै हुन्, किनकि परमप्रभुले नै दुवैका आँखामा दृष्‍टि दिनुहुन्छ । 14 राजाले सत्यताद्वारा गरिबको न्याय गर्‍यो भने तिनको सिंहासन सदाको लागि स्थिर रहने छ । 15 लट्ठी र सुधारले बुद्धि दिन्छन्, तर अनुशासनविनाको बालकले आफ्नी आमालाई लाजमा पार्छ । 16 दुष्‍ट मानिसहरू शक्तिमा पुग्दा अधर्मको वृद्धि हुन्छ, तर धर्मी मानिसहरू ती दुष्‍ट मानिसहरूको पतन देख्‍ने छन् । 17 आफ्नो छोरोलाई अनुशासनमा राख्, र त्यसले तैलाई चैन दिने छ; त्यसले तेरो जीवनमा आनन्द ल्याउने छ । 18 जहाँ अगमवाणीय दर्शन हुँदैन, त्यहाँ मानिसहरू भाँडिन्छन्, तर व्यवस्था पालन गर्नेचाहिँ धन्यको हो । 19 कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, किनकि त्यसले बुझे तापनि त्यहाँ कुनै प्रतिक्रिया हुँदैन । 20 के आफ्नो वचनमा हतारिएर बोल्ने मानिसलाई तँ देख्छस् ? त्यसको लागि भन्दा त मूर्खको लागि बढी आशा हुन्छ । 21 जसले आफ्नो नोकरलाई आफ्नो बाल्यावस्थादेखि पुल्पुल्याउँछ, त्यसले अन्त्यमा कष्‍ट भोग्‍ने छ । 22 रिसाएको मानिसले द्वन्द्व निम्त्याउँछ, र झोँकको मालिकले धेरै पाप गर्छ । 23 मानिसले घमण्डले त्यसलाई तल खसाल्छ, तर विनम्र आत्मा भएको मानिसलाई आदर दिइने छ । 24 चोरसित बाँडचुँड गर्नेले आफ्नै जीवनलाई घृणा गर्छ । त्यसले श्राप सुन्छ र केही भन्दैन । 25 मानिसको डर पासोजस्तै हो, तर परमप्रभुमाथि भरोसा गर्नेचाहिँ सुरक्षित हुने छ । 26 शासकको मुहार खोज्नेहरू धेरै छन्, तर मानिसको लागि न्याय परमप्रभुबाट नै आउँछ । 27 अन्यायी मानिस धर्मात्माको लागि घृणित हुन्छ, र सोझो चाल भएको मानिस दुष्‍टको लागि घृणित हुन्छ ।

30

1 याकेका छोरा आगूरका वचनहरू अर्थात् ईश्‍वरवाणीः यी मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्: 2 निश्‍चय नै म कुनै पनि मानिसभन्दा पशुजस्तो छु, र मसित मानिसको समझशक्ति छैन । 3 मैले बुद्धि प्राप्‍त गरेको छैनँ, न त मसित परमपवित्रको ज्ञान नै छ । 4 स्वर्ग उक्लेर को तल झरेको छ र ? आफ्ना हातको मुट्ठीमा कसले बतासलाई बटुलेको छ र ? कसले पानीलाई आफ्नो खास्टोमा जम्मा गरेको छ र ? कसले पृथ्वीका कुना-कुनालाई स्थापित गरेको छ र ? उहाँको नाउँ के हो र उहाँका पुत्रको नाउँ के हो ? निश्‍चय नै तँलाई थाहा होला! 5 परमेश्‍वरको हरेक वचन जाँचिएको छ । उहाँमा शरण लिनेहरूका लागि उहाँ ढाल हुनुहुन्छ । 6 उहाँका वचनहरूमा नथप् नत्रता उहाँले तँलाई अनुशासनमा राख्‍नुहुने छ, र तँ झुटो ठहरिने छस् । 7 म तपाईंबाट दुईवटा कुरा माग्दछु । म मर्नुअगि ती मबाट नरोक्‍नुहोस् । 8 व्यर्थता र झुटलाई मबाट पर राखिदिनुहोस् । मलाई दरिद्रता वा धन-सम्पत्ति नदिनुहोस् । मलाई आवश्यक पर्ने भोजन मात्र दिनुहोस् । 9 किनकि मसित धेरै भए भने मैले तपाईंलाई इन्कार गरेर भनूँला, "परमप्रभु को हो र ?" वा गरिब भएँ भने, मैले चोरेर मेरा परमेश्‍वरको नाउँ अपवित्र तुल्याउँला । 10 मालिकको सामु त्यसको नोकरको निन्दा नगर्, नत्रता त्यसले तँलाई सराप्‍ने छ, र तँ दोषी बन्‍ने छस् । 11 आफ्ना बुबाहरूलाई सराप्‍ने र आमाहरूलाई आशिष् नदिने पुस्ता पनि छ । 12 आफ्नै दृष्‍टिमा शुद्ध हुने पुस्ता पनि छ, तापनि तिनीहरू आफ्नो फोहोरबाट सफा भएका छैनन् । 13 अहङ्कारी आँखा भएकाहरूको पुस्ता पनि छ, जसको हेराइ अति घृणास्पद हुन्छ । 14 यस्तो पुस्ता पनि छ जसका दाँत तरवारहरू हुन्, र तिनीहरूका बङ्गारा छुराजस्तै छन्, ताकि तिनीहरूले देशबाट गरिबहरूलाई र मानव-जातिबाट खाँचोमा परेकाहरूलाई निल्न सकून् । 15 जूकाका दुई छोरी छन् । "देऊ, देऊ" भन्दै तिनीहरू चिच्‍च्याउँछन् । तिनवटा कुरा छन् जुन कहिल्यै सन्तुष्‍ट हुँदैनन्, र चारवटा कुरा जसले कहिल्यै "पुग्यो" भन्दैनन् । 16 पाताल, बाँझी स्‍त्री, पानीले कहिल्यै सन्तुष्‍ट नहुने जमिन र कहिल्यै "पुग्यो" नभन्‍ने आगो । 17 बुबालाई खिल्ली उडाउने र आमाको आज्ञालाई खिसी गर्ने आँखालाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्ने छन्, र त्यसलाई गिद्धहरूले खाने छन् । 18 तिनवटा कुरा छन्, जुन मेरा लागि ज्यादै उदेकका छन्, चारवटा छन्, जसलाई म बुझ्न सक्दिनँ: 19 आकाशमा चिलको चाल, चट्टानमा सर्पको चाल, समुद्रको बिचमा जहाजको चाल र तरुणीसित पुरुषको चाल । 20 व्यभिचारी स्‍त्रीको चाल यस्तो हुन्छः त्यसले खाएर आफ्नो मुख पुछ्छे अनि भन्छे, "मैले कुनै गल्ती गरेकी छैनँ ।" 21 तिनवटा कुराबाट पृथ्वी काम्छ, र चारवटा कुरालाई यसले सहन सक्दैनः 22 राजा भएको नोकर, खानाले टन्‍न अघाएको मूर्ख, 23 विवाह गर्ने माया नपाएकी स्‍त्री र आफ्नी मालिक्‍नीलाई पन्छाएर उक्त ठाउँमा बस्‍ने नोकर्नी । 24 पृथ्वीमा चारवटा कुरा साना छन्, र पनि तिनीहरू अत्यन्तै बुद्धिमान् छन्: 25 कमिलाहरू निर्बल प्राणी हुन्, तरै पनि तिनीहरूले ग्रीष्म ऋतुमा आफ्नो भोजन तयार पार्छन् । 26 शापानहरू शक्तिशाली प्राणी होइनन्, तरै पनि पहरामा तिनीहरूले आफ्नो घर बनाउछन् । 27 सलहहरूको कुनै राजा हुँदैन, तरै पनि तिनीहरू हुल बाँधेर अगाडि बढ्छन् । 28 छेपाराहरूलाई तपाईंका दुईवटा हातले समात्‍न सकिन्छ, तरै पनि तिनीहरू राजदरबारमा पाइन्छन् । 29 तिनवटा कुरा छन्, जो आफ्नो हिँडाइमा रवाफिला छन् र चारवटा छन् जुन शानसँग हिँड्छन्: 30 सिंह पशुहरूमध्ये सबैभन्दा शक्तिशाली हुन्छ, जो कुनै प्राणीदेखि तर्कंदैन । 31 शानसँग हिँड्ने कुखुराको भाले, बोका र आफ्नो छेउमा सिपाहीहरू राखेर हिँड्ने राजा । 32 आफैलाई उचालेर तँ मूर्ख भएको छस् भने वा तैँले खराबीको योजना रचेको छस् भने हातले तेरो मुख थुनिहाल् । 33 जसरी दूध मथेर घिउ निस्कन्छ, र नाक ठोक्‍किँदा रगत निस्कन्छ, त्यसरी नै रिसमा गरिएको कामले द्वन्द्व उत्पन्‍न गराउँछ ।

31

1 राजा लमूएलका वचनहरू अर्थात् तिनकी आमाले सिकाएकी ईश्‍वरवाणीः 2 हे मेरो छोरो, हे मेरो गर्भको छोरो, हे मेरा भाकलहरूको छोरो, तँ के चाहन्छस् ? 3 स्‍त्रीलाई तेरो बल नदे वा राजाहरूलाई नष्‍ट गर्नेहरूलाई तेरा चालहरू नदे । 4 यो राजाहरूका लागि होइन, हे लमूएल, राजाहरूले दाखमद्य पिउनुहुन्‍न वा शासकहरूले मदिराको लालसा गर्नुहुन्‍न । 5 किनभने तिनीहरूले पिउँदा तिनीहरूले कानुनी आदेश बिर्सेका हुन्छन्, र कष्‍टमा परेकाहरू सबैका अधिकारलाई वञ्चित गरिदिन्छन् । 6 नष्‍ट भइरहेकाहरूलाई मदिरा दे, र विरहमा भएकाहरूलाई दाखमद्य दे । 7 त्यसले पिएर आफ्नो गरिबी भुल्ने छ, र त्यसले आफ्नो कष्‍टलाई सम्झने छैन । 8 बोल्न नसक्‍नेहरू र नष्‍ट भइरहेकाहरूको अधिकारको लागि बोल् । 9 आवाज उठा, र जे ठिक छ त्यसको नापअनुसार न्याय गर्, अनि गरिब र खाँचोमा परेकाहरूको अधिकारको निम्ति बोल् । 10 कसले सुयोग्य पत्‍नी पाउन सक्छ ? उनको मूल्य रत्‍नहरूभन्दा बहुमूल्य हुन्छ । 11 उनका पतिको हृदयले उनीमाथि भरोसा गर्छन्, र तिनी कहिल्यै गरिब हुने छैनन् । 12 उनले तिनका लागि आफ्नो जीवनकालभरि खराब कुराहरू नभई असल कुराहरू गर्छिन्, 13 उनले ऊन र सनपाट रोज्छिन्, अनि आफ्ना हातले खुसी भएर काम गर्छिन् । 14 उनी व्यापारी जहाजझैँ छिन् । उनले टाढाबाट आफ्नो भोजन ल्याउँछिन् । 15 उनी राती नै उठ्छिन्, र आफ्नो परिवारलाई भोजन बाँड्छिन्, अनि आफ्ना चाकर्नीहरूलाई तिनीहरूका काम बाँडफाँड गरिदिन्छिन् । 16 उनले सोचविचार गरेर एउटा खेत किन्छिन्, र आफ्नो हातको कमाइले दाखबारी लगाउँछिन् । 17 उनी शक्तिले आभुषित हुन्छिन् र आफ्ना पाखुराहरूलाई बलियो बनाउँछिन् । 18 उनको लागि केले मुनाफा ल्याउने छ भनी तिनी अनुमान गर्छिन् । रातैभरि उनको बत्ती निभ्दैन । 19 उनले आफ्नो हात चर्खाको डन्डामा राख्छिन्, र आफ्नै औँलाले पिउरी समात्छिन् । 20 उनले गरिब मानिसहरूप्रति आफ्नो मुट्ठी खोल्छिन् । उनले खाँचोमा परेकाहरूप्रति आफ्नो हात अगाडि बढाउँछिन् । 21 आफ्नो परिवारमा हिउँ पर्दा उनी डराउँदिनन्, किनकि उनको परिवारका सबै सदस्यले सिन्दूरे रङका लुगा लगाउँछन् । 22 उनले आफ्नो ओछ्यानको लागि तन्‍ना बनाउँछिन्, र उनले मसिनो गरी बाटेको सुतीको कपडाको लुगा लगाउँछिन् । 23 उनका पति सहरको मूल ढोकामा देशका पाका मानिसहरूसित बस्दा सम्मानित हुन्छन् । 24 उनले सुती कपडाका वस्‍त्रहरू बनाएर बेच्छिन्, र व्यापारीहरूलाई पटुका उपलब्ध गराउँछिन् । 25 उनी शक्ति र आदरले आभुषित छिन्, अनि आउने समयको लागि उनी हाँस्‍न सक्छिन् । 26 उनले बुद्धिसित आफ्नो मुख खोल्छिन्, र दयाको व्यवस्था उनको जिब्रोमा छ । 27 उनले आफ्नो परिवारका चालहरूको रेखदेख गर्छिन्, र आलस्यको रोटी खाँदिनन् । 28 उनका छोरा-छोरीहरू खडा भएर उनलाई धन्यको भन्छन्, र उनका पतिले यसो भन्दै उनको तारिफ गर्छन्, 29 "धेरै स्‍त्रीहरूले राम्ररी काम गरेका छन्, तर तिमीले तिनीहरू सबैलाई जितेकी छ्यौ ।" 30 सुन्दरता भ्रामक हुन्छ; सौन्दर्य व्यर्थको हुन्छ, तर परमप्रभुको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिने छ । 31 उनको हातको कमाइ उनलाई नै दिनू, र उनका कामहरूले मूल ढोकामा उनको प्रशंसा गरून् ।