नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
श्रेष्‍ठगीत
श्रेष्‍ठगीतको पुस्तक
1

1 यो सोलोमनको श्रेष्‍ठगीत हो । प्रेमिका आफैसित बोल्दै: 2 उहाँले मलाई आफ्नो मुखको चुम्बनले चुम्बन गरून् । प्रेमिका प्रेमीसित बोल्दै: किनकि तपाईंको प्रेम दाखमद्यभन्दा उत्तम छ । 3 तपाईंको अभिषेकको तेलमा आनन्दप्रद बास्‍ना छ । तपाईंको नाउँ बगिरहने अत्तरझैँ छ । त्यसैले युवतीहरूले तपाईंलाई प्रेम गर्छन् । 4 मलाई तपाईंसितै लैजानुहोस्, र हामी दौडने छौँ । प्रेमिका आफैसित बोल्दै: राजाले मलाई उहाँका कोठाहरूमा ल्याउनुभएको छ । प्रेमिका प्रमीसित बोल्दै: हामी खुसी छौँ । हामी तपाईंको विषयमा आनन्द मनाउँछौँ । तपाईंको प्रेमको उत्सव मनाऔँ । यो दाखमद्यभन्दा उत्तम छ । अरू स्‍त्रीहरूले तपाईंलाई सम्मान गर्ने स्वाभाविक नै हो । प्रेमिका अरू स्‍त्रीहरूसित बोल्दैः 5 हे यरूशलेमका छोरीहरू हो, म काली छु, तर मायालु छु । म केदारका पालहरूजस्तै काली र सोलोमनका पर्दाहरूजस्तै मायालु छु । 6 म काली भएकीले र घामले मलाई डढाएकोले मलाई एकटक लगाएर नहेर । मेरी आमाका छोराहरू मसित रिसाउँथे । तिनीहरूले मलाई दाखबारीको रक्षक बनाए, तर मैले मेरो आफ्नै दाखबारीको रक्षा गरेकी छैनँ । प्रेमिका प्रेमीसित बोल्दैः 7 हे मेरा प्रेमी, मेरो प्राणले तपाईंलाई प्रेम गर्छ । मलाई बताउनुहोस् । तपाईंले आफ्नो भेडा-बाख्राको बगाल कहाँ चराउनुहुन्छ ? दिउँसो तपाईंले आफ्नो बगाल कहाँ विश्राम गराउनुहुन्छ ? तपाईंका मित्रहरूका बगालहरूको छेउमा म किन भौँतारिहिँड्ने व्यक्तिझैँ हुने ? प्रेमी प्रेमिकासित बोल्दैः 8 हे स्‍त्रीहरूमध्ये असाध्यै सुन्दरी, तिमीलाई थाहा छैन भने मेरो बगालका पाइलाहरू पछ्याऊ, र गोठालाहरूको पालनेर तिम्रा ससाना बाख्राहरू चराऊ । 9 हे मेरी प्रिय, म तिमीलाई फारोको रथको राम्रो घोडासित तुलना गर्दछु । 10 शृङ्गारले तिम्रा गाला सुन्दर भएका छन्; गर्गहनाले तिम्रो गला सजिएको छ । 11 हामी तिम्रो लागि चाँदीको जलप लगाइएका सुनका गहनाहरू बनाउने छौँ । प्रेमिका आफैसित बोल्दैः 12 राजा आफ्नो बिस्तारमा पल्टनुहुँदा मेरो अत्तरले आफ्नो बास्‍ना फिँजायो । 13 मलाई मेरा प्रेमी मूर्रको थैलीजस्तै लाग्छ जसले मेरा वक्षस्थलका बिचमा रात बिताउनुहुन्छ । 14 मलाई मेरा प्रेमी एन-गदीका दाखबारीहरूमा फुलेको मेहदीको झुप्पाजस्तै लाग्छ । प्रेमी प्रेमिकासित बोल्दैः 15 हे मेरी प्रिय, सुन । तिमी सुन्दरी छ्यौ । सुन, तिमी सुन्दरी छ्यौ । तिम्रा आँखा ढुकुरजस्ता छन् । प्रेमिका प्रेमीसित बोल्दैः 16 हे मेरा प्रेमी, सुन्‍नुहोस् । तपाईं सुन्दर हुनुहुन्छ । हो, तपाईं कति सुन्दर हुनुहुन्छ! हराभरा बिरुवाहरू हाम्रो ओछ्यान हुन् । 17 हाम्रो घरका दलिनहरू देवदारूका छन् । छाना सल्लाका छन् ।

2

1 प्रेमिका प्रेमीसित बोल्दैः म शारोनको घाँसे मैदानमा उम्रने फुल र बेँसीको लिली हुँ । प्रेमिका प्रेमीसित बोल्दैः 2 काँढाहरूका बिचमा फुलेको लिली फुलझैँ मेरी प्रिय युवतीहरूका बिचमा छिन् । प्रेमिका आफैसित बोल्दैः 3 जङ्गलका रुखहरूमध्ये स्याउको रुखझैँ मेरा प्रेमी युवाहरूका बिचमा हुनुहुन्छ । म उहाँको छायामुनि बडो आनन्दसित पल्टन्छु, र उहाँको फलको स्वाद मलाई मिठो लाग्छ । 4 उहाँले मलाई दाखमद्य-गृहमा ल्याउनुभयो, र ममाथि भएको उहाँको झन्डा प्रेम थियो । प्रेमिका प्रेमीसित बोल्दैः 5 मलाई किसमिसको परिकारले सजीव तुल्याउनुहोस्, र स्याउले ताजा बनाउनुहोस्, किनकि म प्रेमले कमजोर भएकी छु । प्रेमिका आफैसित बोल्दैः 6 उहाँको देब्रे हात मुरो शिरमूनि छ, र दाहिने हातले मलाई अङ्गालो हाल्छ । प्रेमिका अन्य स्‍त्रीहरूसित बोल्दैः 7 हे यरूशलेमका छोरीहरू हो, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा म तिमीहरूसित वाचा बाँध्छु, कि आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ । प्रेमिका आफैसित बोल्दैः 8 मेरा प्रेमीको सोर सुनिएको छ । सुन, पहाडहरूमा हामफाल्दै र डाँडाहरू छिचोल्दै उहाँ यहाँ आउनुहुन्छ । 9 मेरा प्रेमी हरिण वा जवान मृगजस्तै हुनुहुन्छ । हेर, उहाँ हाम्रो पर्खालको पछाडिपट्टि उभिरहनुभएको छ । उहाँले झ्यालभित्र नियालेर हेर्दै हुनुहुन्छ र आँखी-झ्यालभित्र चियाएर हेर्दै हुनुहुन्छ । 10 मेरा प्रेमी मसित बोल्नुभयो र उहाँले मलाई भन्‍नुभयो, "हे मेरी प्रिय, उठ । हे मेरी सुन्दरी, मसित आऊ । 11 हेर, हिउँद बितिसकेको छ; वर्षा पनि सकिएर गयो । 12 पृथ्वीमा फुलहरू देखा परेका छन् । छिँवल्ने र चराचुरुङ्गीहरूले गीत गाउने समय आएको छ, अनि हाम्रो देशमा ढुकुरहरूको सोर सुनिएको छ । 13 अञ्‍जीरका बोटमा अञ्‍जीरका हरिया दाना लागिसकेका छन् र दाखहरूको मुजुरा लागेका छन् । तिनीहरूले आफ्ना बास्‍ना फिँजाउँछन् । हे मेरी प्रिय, मेरी सुन्दरी, उठेर आऊ । 14 पहराका धाँदाहरू, भिरालो पहाडका गुप्‍त चिराहरूमा बस्‍ने मेरी ढुकुर्नी, मलाई तिम्रो मुहार हेर्न देऊ । मलाई तिम्रो सोर सुन्‍न देऊ, किनकि तिम्रो सोर सुरिलो छ, र तिम्रो मुहार मायालु छ ।" प्रेमिका प्रेमीसित बोल्दैः 15 हाम्रा लागि फ्याउराहरू समात्‍नुहोस्, ससाना फ्याउराहरू जसले दाखबारि नष्‍ट पार्छन्, किनकि हाम्रो दाखबारीमा मुजुरा लागेको छ । 16 मेरा प्रेमी मेरै हुनुहुन्छ, र म उहाँकी हुँ । उहाँ प्रसन्‍न हुँदै लिली फुलहरूका बिचमा घुमेर हिँड्नुहुन्छ । प्रेमिका प्रेमीसित बोल्दैः 17 हे मेरा प्रेमी, प्रभातको मन्द हावा चल्नुअगि र छाया भाग्‍नुअगि नै जानुहोस्, गइहाल्नुहोस् । भिराला पहाडहरूमा हरिण वा जवान मृगझैँ हुनुहोस् ।

3

1 प्रेमिका आफैसित बोल्दैः रातमा मेरो ओछ्यानमा मेरो प्राणले प्रेम गरेको प्रेमीलाई मैले खोज्दै थिएँ । मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाउन सकिनँ । 2 मैले आफैलाई भनेँ, "म उठ्ने छु, र सहरबाट जाने छु, गल्ली र चोकहरूबाट जाने छु । मेरो प्राणले प्रेम गरेको प्रेमीलाई म खोज्ने छु ।" मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाउन सकिनँ । 3 पहरेदारहरू सहरमा घुम्दै गर्दा तिनीहरूले मलाई भेट्टाए । मैले तिनीहरूलाई सोधेँ, "मेरो प्राणले प्रेम गर्ने मेरा प्रेमीलाई के तपाईंहरूले देख्‍नुभएको छ ?" 4 तिनीहरूबाट गएको केही समयपछि मात्रै मेरो प्राणले प्रेम गर्ने मेरा प्रेमीलाई मैले भेट्टाएँ । मैले उहाँलाई समातेँ, र मेरी आमाको घरमा, मलाई जन्म दिनुहुनेको कोठाभित्र नल्याएसम्म मैले उहाँलाई जान दिइनँ । प्रेमिका अन्य स्‍त्रीहरूसित बोल्दैः 5 हे यरूशलेमका छोरीहरू हो, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा म तिमीहरूसित वाचा बाँध्छु, कि आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ । प्रेमिका आफैसित बोल्दैः 6 व्यापारीहरूद्वारा बेचिएका सबै मसलाबाट बनिएको मूर्र र धूपले सुगन्धित भएर धूवाँको मुस्लोझैँ उजाड-स्थानबाट माथि आउँदै गरेको के हो ? 7 हेर, यो त सोलोमनको पलङ्ग पो रहेछ । इस्राएलका साठी जना योद्धाले यसको वरिपरि सुरक्षा दिँदै छन् । 8 तिनीहरू सबै तरवार चलाउन सिपालु छन्, र युद्धमा अनुभवी छन् । रातको त्रासको विरुद्धमा लड्न हरेकले तरवार भिरेको छ । 9 राजा सोलोमनले आफ्नै निम्ति लेबनानको काठबाट पालकी बनाउनुभयो । 10 यसका डन्डाहरू चाँदीका थिए । यसको पछाडिको भाग सुनबाट बनेको थियो, र आसनचाहिँ बैजनी वस्‍त्रले ढाकिएको थियो । यसको भित्री भागचाहिँ यरूशलेमका छोरीहरूको प्रेमले सजिएको थियो । प्रेमिका यरूशलेमका स्‍त्रीहरूसित बोल्दैः 11 हे सियोनका छोरीहरू हो, बाहिर गएर राजा सोलोमनलाई एकटक लगाएर हेर, जसले मुकुट लगाउनुभएको छ, जुन उहाँकी आमाले विवाहको दिनमा, उहाँको हृदय आनन्दले भरिएको दिनमा उहाँलाई पहिराइदिएकी थिइन् ।

4

1 प्रेमी प्रेमिकासित बोल्दैः हे मेरी प्रिय, तिमी सुन्दरी छ्यौ । तिमी सुन्दरी छ्यौ । घुम्टोभित्र लुकेका तिम्रा आँखा ढुकुरजस्ता छन् । तिम्रो कपाल गिलाद पहाडबाट झरिरहेका बाख्राहरूको बगालजस्तो छ । 2 तिम्रा दाँत भरखरै कत्रेका, नुहाउने ठाउँबाट आएका भेडीहरूको बथानजस्तै छन् । हरेकको जुम्ल्याहा छ, र तिनीहरूका बिचमा कोही पनि एकलो छैन । 3 तिम्रा ओठ सिन्दुरे रङको धागोजस्ता राता छन् । तिम्रो मुख मायालु छ । तिम्रा गालाहरू घुम्टोभित्रका दुई फ्याक परेका दारिमहरूजस्ता छन् । 4 तिम्रो घाँटी सिपाहीहरूका एक हजार ढाल झुण्ड्याइएको, पत्थरहरूको लहरमा निर्मित दाऊदको धरहराजस्तो छ । 5 तिम्रा दुई स्तन दुईवटा पाठाजस्ता छन्, लिलीहरूको बिचमा चर्ने हरिणका जुम्ल्याहा पाठाजस्ता छन् । 6 बिहान भएर छाया नभागेसम्म म मूर्रको पहाड र धूपको डाँडामा उक्लने छु । 7 हे मेरी प्रिय, तिमी हर क्षेत्रमा सुन्दरी छ्यौ, र तिमीमा कुनै खोट छैन । 8 हे मेरी दुलही, लेबनानबाट आऊ । लेबनानबाट मसितै आऊ । अमानाको टाकुराबाट ओर्लेर आऊ; सेनीर र हेर्मोनको टाकुराबाट, सिंहहरूको ओडार र चितुवाहरूका पहाडी अखडाबाट आऊ । 9 हे मेरी बहिनी, मेरी दुलही, तिमीले मेरो हृदय चोरेकी छौ । एकै नजरले, तिम्रो हारको रत्‍नले तिमीले मेरो हृदय चोरेकी छौ । 10 हे मेरी बहिनी, मेरी दुलही, तिम्रो प्रेम कति सुन्दर छ! तिम्रो प्रेम दाखमद्यभन्दा कति असल छ! कुनै पनि मसलाभन्दा तिम्रो अत्तरको बास्‍ना सुगन्धित छ । 11 हे मेरी दुलही, तिम्रा ओठले मह चुहाउँछन् । मह र दूध तिम्रो जिब्रोमूनि छन् । तिम्रो लुगाको बास्‍ना लेबनानको बास्‍नाझैँ छ । 12 हे मेरी बहिनी, मेरी दुलही बन्द गरिएको बगैँचाझैँ, छोपिएको फुहाराझैँ छिन् । 13 तिम्रा हाँगाहरू उत्तम फल फलाउने अनारका रुखहरू, मेहदी र जटामसीको कुञ्‍जझैँ, 14 जटामसी र केशर, बोझो र दालचिनीसाथै हर किसिमका मसलाहरू, मूर्र र एलावासाथै हर किसिमका सुगन्धित मसलाहरूको कुञ्‍जझैँ छन् । 15 तिमी त बगैँचाको फुहारा, ताजा पानीको इनार, लेबनानबाट बहने खोलाहरू हौ । प्रेमिका प्रेमीसित बोल्दैः 16 ए उत्तरी बतास, बिउँझी । ए दक्षिणी बतास, आइज । मेरो बगैँचाका मसलाहरूले आ-आफ्ना सुगन्ध फैलाउन सकून् भनेर यहाँबाट बह । मेरा प्रेमी उहाँको बगैँचामा आऊन्, र उसका उत्तम फलहरू खाऊन् ।

5

1 प्रेमी प्रेमिकासित बोल्दैः हे मेरी बहिनी, मेरी दुलही, म मेरो बगैँचामा आएको छु । आफ्नो सुगन्धित मसालासँगै मैले मेरो मूर्र जम्मा गरेको छु । मैले आफ्नो महसँगै महको चाका खाएको छु । मैले आफ्नो दूधसँगै मेरो दाखमद्य पिएको छु । मित्रहरू प्रेमी र प्रेमिकासित बोल्दैः हे मित्रहरू हो, खाओ । पिओ र प्रेमले मात । प्रेमिका आफैसित बोल्दैः 2 म सुतेँ, तर मेरो हृदय जागै थियो । मेरा प्रेमीले ढकढक्याइरहेको आवाज आउँदै छ, "हे मेरी बहिनी, मेरी प्रिय, मेरी शुद्ध ढुकुर्नी, ढोका खोल, किनकि मेरो शिर शीतले र मेरो कपाल रातको चिसोले भिजेको छ ।" 3 "मैले मेरो लुगा फुकालेको छु । के मैले यसलाई फेरि लगाउने ? मैले मेरो खुट्टा धोएको छु । के मैले यसलाई फेरि फोहोर बनाउने ?" 4 मेरा प्रेमीले छेस्किनी खोल्न हात हाल्नुभयो, र मेरो हृदय उहाँको लागि उत्तेजित भयो । 5 मेरा प्रेमीको लागि ढोका खोल्न म उठेँ । मेरा हातहरूबाट मूर्र चुहुँदै थियो, र मेरा औँलाहरूबाट ढोकाको ताल्चामा गिलो मूर्र चुहुँदै थियो । 6 मैले मेरा प्रेमीको लागि ढोका खोलेँ, तर मेरा प्रेमी फर्केर गइसक्‍नुभएको रहेछ । उहाँ बोल्नुहुँदा मेरो हृदय शोकित भयो । मैले उहाँको खोजी गरेँ, तर मैले उहाँलाई भेट्टाइनँ । मैले उहाँलाई डाकेँ, तर उहाँले मलाई जवाफ दिनुभएन । 7 पहरेदारहरू सहरमा घुम्दा तिनीहरूले मलाई भेट्टाए । तिनीहरूले मलाई प्रहार गरी चोटै-चोट पारे । पर्खालमाथि भएका पहरेदारहरूले मेरो खास्टो पनि खोसेर लगे । प्रेमिका सहरका स्‍त्रीहरूसित बोल्दैः 8 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूसित वाचा बाँध्छु, कि तिमीहरूले मेरा प्रेमीलाई भेट्टायौ भने तिमीहरूले उहाँलाई के भन्‍ने छौ ? म प्रेमले बिरामी परेकी छु भनी बताइदिनू । सहरका स्‍त्रीहरू प्रेमिकासित बोल्दैः 9 हे स्‍त्रीहरूमध्ये असाध्यै सुन्दरी, अर्को प्रिय पुरुषभन्दा तपाईंका प्रेमी कसरी उत्तम छन् ? अर्को प्रिय पुरुषभन्दा तपाईंको प्रेमी किन उत्तम छन्, ताकि तिमी हामीलाई यस्तो शपथ खान लगाउँछ्यौ ? प्रेमिका सहरका स्‍त्रीहरूसित बोल्दैः 10 मेरा प्रेमी उज्‍ज्वल र स्वस्थ, दस हजारका बिचमा श्रेष्‍ठ हुनुहुन्छ । 11 उहाँको शिर निखुर सुनको छ । उहाँको कपाल घुम्रिएको र कागजस्तै कालो छ । 12 उहाँका आँखा पानीको खोलाको छेउमा बस्‍ने ढुकुरहरूजस्ता छन्, दूधले नुहाएको, गर्गहना जडिएका जस्ता छन् । 13 उहाँका गालाहरू सुगन्धित मसालाहरूको ड्याङजस्ता छन्, जसले बास्‍ना फिँजाउँछन् । 14 उहाँका ओठ मूर्रको रस चुहाउने लिली फुलहरूजस्ता छन् । 15 उहाँका पाखुरा गर्गहना जडिएका गोलो सुनजस्ता छन् । उहाँको पेट नीरले ढाकिएको हस्ती-हाडजस्तो छ । 16 उहाँका गोडाहरू निखुर सुनका अड्याइएका सिङ्गमरमरका खम्बाहरूजस्ता छन् । उहाँको आकार लेबनानजस्तै, उत्तम देवदारुजस्तै छ । उहाँको मुख ज्यादै मिठो छ । उहाँ पूर्ण रूपमा मायालु हुनुहुन्छ । हे यरूशलेमका छोरीहरू हो, उहाँ नै मेरा प्रेमी हुनुहुन्छ, र मेरा मित्र हुनुहुन्छ ।

6

1 यरूशलेमका स्‍त्रीहरू प्रेमिकासित बोल्दैः हे स्‍त्रीहरूमध्ये असाध्यै सुन्दरी, तिम्रा प्रेमी कहाँ जानुभएको छ ? तिम्रा प्रेमी कुनचाहिँ दिशामा जानुभएको छ ताकि हामी तिमीसँगै खोज्न सकूँ ? प्रेमिका आफूसित बोल्दैः 2 मेरा प्रेमी आफ्नो बगैँचामा, सुगन्धित मसलाहरूले भरिएको ओछ्यानमा जानुभएको छ; बगैँचामा चाहार्न र लिली फुलहरू बटुल्न जानुभएको छ । 3 म मेरा प्रेमीको हुँ, र मेरा प्रेमी मेरै हुनुहुन्छ । उहाँ प्रसन्‍न हुँदै लिली फुलहरूका बिचमा चाहर्नुहुन्छ । प्रेमी प्रेमिकासित बोल्दैः 4 हे मेरी प्रिय, तिमी तिर्साजत्तिकै सुन्दरी र यरूशलेमजत्तिकै मायालु छ्यौ । तिमी आफ्ना झन्डाहरू फहराउने सेनाजत्तिकै प्रतापी छ्यौ । 5 तिम्रा आँखा मबाट तर्काऊ, किनकि तिनले मलाई व्याकुल तुल्याउँछन् । तिम्रो कपाल गिलाद पहाडबाट झरिरहेका बाख्राहरूको बगालजस्तो छ । 6 तिम्रा दाँत भरखरै कत्रेका, नुहाउने ठाउँबाट आएका भेडीहरूको बथानजस्तै छन् । हरेकको जुम्ल्याहा छ, र तिनीहरूका बिचमा कोही पनि एकलो छैन । 7 तिम्रा गालाहरू घुम्टोभित्रका दुई फ्याक परेका दारिमहरूजस्ता छन् । प्रेमी आफूसित बोल्दैः 8 साठी जना रानी, असी जना भित्रिनी र अनगिन्ती युवतीहरू छन् । 9 तर मेरी ढुकुर्नी, मेरी विशुद्ध एक मात्र छिन् । उनी आफ्नी आमाको एक मात्र छोरी हुन् । उनी आफ्नी आमाले जन्माएकी मनपर्ने छोरी हुन् । युवतीहरूले उनलाई देखे, उनलाई धन्यको भने । रानीहरू र भित्रिनीहरूले पनि उनलाई देखे, र उनको प्रशंसा गरे । रानीहरू र भित्रिनीहरूले भने, 10 "प्रभातझैँ उदाउने, चन्द्रमाझैँ सुन्दरी, सूर्यझैँ चम्किलो, आफ्ना झन्डाहरू फहराउने सेनाझैँ प्रतापी यी को हुन् ?" प्रेमी आफूसित बोल्दैः 11 बेसीँमा उब्जनी बढेको, दाखबारीहरूमा कोपिला लागेको छ या छैन र अनारमा मुजुरा लागेको छ या छैन भनी हेर्न म बदामका रुखहरूको बगैँचाभित्र छिरेँ । 12 म यति धेरै खुसी भएँ, कि म राजकुमारको रथमा चढिरहेको भान भयो । मित्रहरू प्रेमिकासित बोल्दैः 13 हे सिद्ध प्रेमिका, फर्केर आऊ, फर्केर आऊ । हामीले तिमीलाई एकटक लगाएर हेर्न सकूँ भनेर फर्केर आऊ, फर्केर आऊ । प्रेमिका साथीहरूसित बोल्दैः तिमीहरू किन दुई जना सेनाको बिचमा नाच्छन् जस्तै गरी सिद्ध प्रेमिकालाई एकटक लगाएर हेर्छौ ?

7

1 प्रेमी प्रेमिकासित बोल्दैः हे राजकुमारकी छोरी, जुत्ता लगाएका तिम्रा खुट्टा कति राम्रा छन्! गुरु कारीगरका हातले बनाएका जस्तै तिम्रा तिघ्राका गोलाइहरू रत्‍नझैँ छन् । 2 तिम्रो नाभि वृत्ताकार कचौराजस्तै छ, जसमा मिसिएको दाखमद्यको कहिल्यै कमी नहोस् । तिम्रो पेट लिली फुलहरूले घेरिएको गहुँको थुप्रोजस्तै छ । 3 तिम्रा दुई स्तन दुईवटा पाठाजस्ता छन्, हरिणका जुम्ल्याहा पाठाजस्ता छन् । 4 तिम्रो घाँटी हस्ती-हाडको धरहराजस्तो छ । तिम्रा आँखा बाथ-रब्बीमको मूल ढोकाको छेउमा अवस्थित हेश्बोनका तलाउहरूजस्ता छन् । तिम्रो नाक दमस्कसतिर फर्केको लेबनानको धरहराजस्तो छ । 5 कर्मेल डाँडाजस्तै तिम्रो शिरले तिमीमाथि छ । तिम्रो शिरमा भएको कपाल कालो बैजनी रङको छ । कपालका राशिद्वारा राजा मोहित पारिन्छन् । 6 हे मेरी प्रिय, तिम्रो आनन्दमा तिमी कति सुन्दरी र मायालु छ्यौ! 7 तिम्रो उचाइ खजूरको रुखजस्तै छ, र तिम्रा स्तनहरू फलका झुप्पाझैँ छन् । 8 मैले भनेँ, "म त्यस खजूरको रुखमा चढ्न चाहन्छु । म त्यसका हाँगाहरू समात्‍ने छु ।" तिम्रा स्तनहरू दाखका झुप्पाहरूजस्तै होऊन्; तिम्रो नाकको सुगन्ध स्याउको बोटझैँ होस् । 9 तिम्रो मुखको तालु मेरा प्रेमीकहाँ बिस्तारै बगेर जाने, सुत्‍नेहरूका ओठमा बग्‍ने सर्वोत्तम दाखमद्यजस्तै होस् । प्रेमिका प्रेमीसित बोल्दैः 10 म मेरा प्रेमीकी हुँ, र उहाँले मेरो मेरो तृष्णा गर्नुहुन्छ । 11 हे मेरा प्रेमी, आउनुहोस् । हामी खेतबारीमा डुल्न जाऔँ; गाउँहरूतिरै रात बिताऔँ । 12 हामी बिहान सबेरै उठेर दाखबारीहरूमा जाऔँ । दाखहरूमा कोपिला लागेर फक्रेका छन् कि छैनन्, र दारिमहरूमा फुल लागेका छन् कि छैनन् भनेर हेर्न जाऔँ । त्यहाँ म तपाईंलाई मेरो प्रेम दिने छु । 13 दूधे-फुलहरूले आफ्नो बास्‍ना फैलाउँछन् । हामी उभिरहेको ढोकामा हर किसिमका उत्तम, नयाँ र पुराना फलहरू छन्, जुन मैले मेरा प्रेमीका लागि साँचिराखेकी छु ।

8

1 प्रेमिका प्रेमीसित बोल्दैः तपाईं मेरी आमाको स्तन चुसेर हुर्कनुभएका मेरा दाजुजस्तै हुनुभए त, मैले तपाईंलाई जहिलेसुकै बाहिर भेट्दा तपाईंलाई चुम्बन गर्नेथिएँ, र कसैले मलाई तुच्छ ठान्‍नेथिएन । 2 मैले तपाईंलाई अगुवाइ गरी मेरी आमाको घरमा लैजानेथिएँ, जसले मलाई सिकाउनुभयो । मैले तपाईंलाई पिउनलाई मसलायुक्त दाखमद्य र मेरा दारिमका रस दिनेथिएँ । प्रेमिका आफूसित बोल्दैः 3 उहाँको देब्रे हात मेरो शिरमूनि छ, र उहाँको दाहिने हातले मलाई अङ्गालो हाल्छ । प्रेमिका अरू स्‍त्रीहरूसित बोल्दैः 4 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूले वाचा बाँधेको चाहन्छु, कि हाम्रो मायाप्रीति खतम नभएसम्म तिमीहरूले अवरोध नगर्नू । यरूशलेमका स्‍त्रीहरू बोल्दैः 5 आफ्ना प्रेमीसित अडेस लाग्दै उजाड-स्थानबाट आउँदै गरेको को हो ? प्रेमिका प्रेमीसित बोल्दैः मैले तपाईंलाई स्याउको रुखमूनि ब्युँझाएँ । त्यहाँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गर्नुभयो । त्यहाँ उहाँलाई सुत्केरी बेथा लाग्यो र तपाईंलाई जन्म दिनुभयो । 6 मलाई तपाईंको हृदय र तपाईंको पाखुरामा एउटा छापजस्तै गरी लगाउनुहोस्, किनकि प्रेम मृत्युजत्तिकै प्रबल हुन्छ । जोसिको भक्ति पातालजत्तिकै निष्‍ठुर हुन्छ । यसको ज्वाला दन्कन्छ । यो दन्कने आगो हो । यो कुनै पनि आगोभन्दा तातो हुन्छ । 7 उर्लंदो पानीको भेलले प्रेमलाई मेट्न सक्दैन, न त बाढीले यसलाई बगाउन सक्छ । कुनै मानिसले प्रेमको लागि आफ्नो घरको सारा सम्पत्ति दिए तापनि त्यस प्रस्तावलाई बिल्कुलै तुच्छ ठानिन्थ्यो । प्रेमिकाका दाजुहरू आफ्नै बिचमा बोल्दैः 8 हाम्री एउटी सानी बहिनी छिन्, र तिनका स्तनहरू बढिसकेका छैनन् । हाम्री बहिनीलाई विवाहको प्रतिज्ञा गरिएको दिनमा हामी उनको लागि के गर्न सक्छौँ ? 9 उनी पर्खाल भइदिएको भए, हामी उनीमाथि चाँदीको एउटा धरहरा बनाउनेथियौँ । उनी ढोका भइदिएको भए, हामी उनलाई देवदारुका फल्याकहरूले सजाउनेथियौँ । प्रेमिका आफूसित बोल्दैः 10 म एक पर्खाल थिएँ, तर मेरा स्तनहरू अहिले किल्लाका धरहरूजस्तै छन् । त्यसैले म उहाँको दृष्‍टिमा सन्तुष्‍ट ल्याउने व्यक्ति भएकी छु । प्रेमिका आफूसित बोल्दैः 11 बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो । त्यसको रेखदेख गर्न सक्‍नेहरूलाई उहाँले त्यो दाखबारी अधियाँमा दिनुभयो । हरेकले फलफुलको सट्टा एक हजार चाँदीका सिक्‍का ल्याउनुपर्थ्यो । 12 मेरो आफ्नै दाखबारी मेरै सामु छ । हे सोलोमन, ती एक हजार सिक्‍का त तपाईंकै निम्ति हुन्, र दुई सय सिक्‍का यसको फलफुल हुर्काउनेका निम्ति हुन् । प्रेमी प्रेमिकासित बोल्दैः 13 तिमी बगैँचाहरूमा बस्छ्यौ । मेरा मित्रहरूले तिम्रो सोर सुन्दै छन् । मैले पनि सुन्‍न पाऊँ । प्रेमिका प्रेमीसित बोल्दैः 14 हे मेरा प्रेमी, हतार गर्नुहोस्, र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा बस्‍ने हरिण वा जवान मृगजस्तै हुनुहोस् ।