नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
दानिएल
दानिएलको पुस्तक
1

1 यहूदाका राजा यहोयाकीमका शासनकालको तेस्रो वर्षमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आए र यसका सबै आपूर्तिहरू बन्द गर्न सहरलाई घेरा हाले । 2 परमप्रभुले यहूदाका राजा यहोयाकीममाथि नबूकदनेसरलाई विजय दिनुभयो, र उहाँले परमेश्‍वरको मन्‍दिरबाट केही पवित्र थोकहरू तिनलाई दिनुभयो । ती तिनले बेबिलोनियाको देशको आफ्नो देवताको भवनमा ल्याए, र ती पवित्र थोकहरूलाई तिनले आफ्नो देवताको भण्डारमा राखे । 3 राजाले आफ्ना प्रमुख अधिकारी अशपेनजलाई इस्राएलका राजकीय परिवार र कुलिनहरूबाट केही मानिसहरू ल्याउने हुकुम गरे— 4 खोटबिनाका जवान मानिसहरू, आकर्षक देखिनेहरू, सबै बुद्धिका सीप भएकाहरू, ज्ञान र समझले भरिएकाहरू, र राजाको दरवारमा सेवा पुर्‍याउनलाई योग्यहरू हुनुपर्थ्‍यो । तिनले उनीहरूलाई बेबिलोनका साहित्य र भाषा सिकाउनुपर्थ्‍यो । 5 राजाले आफ्ना मीठा भोजन र आफूले पिउने दाखमद्यबाट तिनीहरूका निम्ति दैनिक भाग अलग गर्थे । ती जवान मानिसहरूलाई तिन वर्षसम्‍म तालिम दनुपर्थ्‍यो, र त्यसपछि, तिनीहरूले राजाको सेवा गर्नुपर्थ्‍यो । 6 यहूदाका ती मानिसमध्‍ये कोही दानिएल, हनन्याह, मीशाएल र अजर्याह थिए । 7 प्रमुख अधिकारीले तिनीहरूलाई यी नाउँहरू दिए: दानिएललाई तिनले बेलतसजर भने, हनन्याहलाई तिनले शद्रक भने, मीशाएललाई तिनले मेशक भने र अजर्याहलाई तिनले अबेद्‍नगो भने । 8 तर दानिएलले राजाका मीठा भोजन र तिनले पिउने दाखमद्यले आफैंलाई अशुद्ध नपार्नलाई आफ्नो मनमा इच्‍छा गरे । यसैले तिनले आफैंलाई अशुद्ध पार्नु नपरोस् भनेर प्रमुख अधिकारीसँग तिनले अनुमति मागे । 9 अब प्रमुख अधिकारीले दानिएललाई गरेको आदरद्वारा परमेश्‍वरले तिनलाई कृपा र सहानुभूति देखाउनुभयो । 10 प्रमुख अधिकारीले दानिएललाई यसो भने, “म आफ्‍ना मालिक, महाराजादेखि डराउँछु । तिमीले के खाने र पिउने भन्‍ने बारेमा उहाँले आज्ञा गर्नुभएको छ । तिमीहरूकै उमेरका अरू जवान मानिसहरूभन्दा तिमीहरू उहाँको सामु किन कमजोर देखिने?” 11 तब दानिएल, हनन्याह, मीशाएल र अजर्याहमाथि प्रमुख अधिकारीले खटाएका भण्‍डारेसँग दानिएलले कुरा गरे । 12 तिनले भने, “कृपया, हामी तपाईंका सेवकहरूलाई दस दिनसम्म जाँच्नुहोस् । हामीलाई खानलाई सागपात र पिउनलाई पानी मात्र दिनुहोस् । 13 त्‍यसपछि राजाका मिठा भोजन खाने जवान मानिसहरूका सामु हाम्रो अनुहार कस्‍तो देखिन्‍छ तुलना गरेर हेर्नुहोस्, र हामी तपाईंका सेवकहरूलाई तपाईंले जे देख्‍नुहुन्छ, त्यसअनुसार व्यवहार गर्नुहोस् ।” 14 यसैले भण्‍डारे तिनका कुरामा सहमत भए, र तिनले दस दिनसम्म तिनीहरूको जाँच गरे । 15 दस दिनको अन्त्यमा, राजाका मीठा भोजन खाने सबै जवान मानिसहरूभन्दा तिनीहरूका अनुहार बढी स्वस्थ देखिए, र तिनीहरूले बढी पोषण पाएका देखा परे । 16 यसैले ती भण्‍डारेले तिनीहरूका सबै राजकीय मीठा भोजन र दाखमद्य हटाइदिए, अनि तिनीहरूलाई सागपात मात्र दिए । 17 यी चार जना जवान मानिसहरूका विषयमा परमेश्‍वरले तिनीहरूलाई सबै साहित्य र बुद्धिमा ज्ञान र अन्तर्दृष्‍टि दिनुभयो, अनि दानिएलले सबै किसिमका दर्शनहरू र सपनाहरू बुझ्‍न सक्‍थे । 18 तिनीहरूलाई हाजिर गराउनलाई राजाले दिएका समयको अन्‍तमा, प्रमुख अधिकारीले तिनीहरूलाई भित्र नबूकदनेसरको सामु लगे । 19 राजाले तिनीहरूसँग कुरा गरे, र दानिएल, हनन्याह, मीशाएल र अजर्याहसँग तुलना गर्नलाई सम्‍पूर्ण समूहमा अरू कोही भेटिएन । तिनीहरू राजाको सामु तिनको सेवा गर्न खडा भए । 20 राजाले तिनीहरूलाई सोधेका ज्ञान र समझका सबै प्रश्नहरूमा, तिनको सारा राज्यमा भएका जादुगरहरू र मृतहरूसँग बातचित गर्न सक्छौं भनेर दावी सबै जनाभन्दा तिनीहरू दस गुणा असल थिए । 21 राजा कोरेसको शासनकालको पहिलो वर्षसम्म दानिएल त्यहाँ थिए ।

2

1 नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा, तिनले सपनाहरू देखे । तिनको मन विचलित भयो, र तिनी सुत्‍न सकेनन् । 2 त्यसपछि राजाले जादुगरहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई बोलाए । उनले जोखना हेर्नेहरू र बुद्धिमान्‌ मानिसहरूलाई पनि बोलाए । उनका सपनाहरूका अर्थ तिनीहरूले उनलाई बताऊन् भन्‍ने उनको इच्‍छा थियो । यसैले तिनीहरू भित्र आए र राजाको सामु खडा भए । 3 राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखें, र त्यो सपनाको अर्थ के हुन सक्छ भनेर जान्‍नलाई मेरो मन विचलित भएको छ ।” 4 तब ती बुद्धिमान् मानिसहरूले आरमेइक भाषामा राजालाई भने, “महाराजा, अमर रहून्! हामी तपाईंका सेवकहरूलाई उक्‍त सपना भन्‍नुहोस्, र हामी त्यसको अर्थ खोल्‍नेछौं ।” 5 राजाले ती बुद्धिमान् मानिसहरूलाई जवाफ दिए, “निर्णय यो भएको छ । तिमीहरूले त्यो सपना मलाई प्रकट गरेनौ अनि त्यसको अर्थ खोलेनौ भने, तिमीहरूका शरीरहरू टुक्रा-टुक्रा पारिनेछन् र तिमीहरूका घरहरू भग्‍नावशेषको थुप्रो हुनेछन् । 6 तर तिमीहरूले मलाई सपना र त्यसको अर्थ भन्‍यौ भने, तिमीहरूले मबाट उपहारहरू, इनाम अनि उच्‍च-सम्मान पाउनेछौ । यसैले उक्‍त सपना र त्यसको अर्थ मलाई भन ।” 7 तिनीहरूले फेरि जवाफ दिए र यसो भने, “महाराजाले हामी आफ्‍ना सेवकहरूलाई त्‍यो सपना भन्‍नुहोस् र तपाईंलाई हामी त्यसको अर्थ भन्‍नेछौं ।” 8 राजाले जवाफ दिए, “मलाई यो निश्‍चय थाहा छ, कि तिमीहरू धेरै समय चाहन्‍छौ किनकी यस विषयमा मेरो निर्णय कति दृढ छ भनी तिमीहरूले देखेका छौ। 9 तर तिमीहरूले मलाई सपना भनेनौ भने, तिमीहरूका निम्ति एउटै मात्र सजाय छ । मैले आफ्‍नो मन नबद्लेसम्‍म तिमीहरूले झुटो र छलपूर्ण शब्‍दहरू मलाई भन्‍ने तयारी गर्नलाई तिमीहरूले मिलेर निर्णय गरेका छौ । यसैले, मलाई सपना बताओ, र त्‍यसको अर्थ तिमीहरूले भन्‍न सक्छौ भनी मलाई थाहा हुनेछ ।” 10 ती बुद्धिमान् मानिसहरूले राजालाई जवाफ दिए, “महाराजाको माग पुरा गर्नलाई यस पृथ्वीमा कुनै मानिस छैन । कुनै यस्‍तो महान् र शक्तिशाली राजा पनि छैन जसले कुनै जादुगर, वा मृतसँग बोल्न सक्छु भनेर दावी गर्ने कुनै व्‍यक्‍ति, वा कुनै बुद्धिमान् मानिसबाट यस्तो कुराको माग गरेका छन् । 11 महाराजाले जे माग गर्नुभएको छ त्यो अत्यन्तै कठिन छ, र यो कुरा महाराजालाई देवहरूले बाहेक अरू कसैले बताउन सक्दैन, र तिनीहरू मानिसहरूका बिचमा बस्दैनन् ।” 12 यस कुराले राजालाई रिस उठायो र अत्‍यन्‍तै क्रोधित बनायो, र तिनले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मार्ने एउटा आदेश दिए । 13 यसैले आफूमा भएका बुद्धिको निम्‍ति प्रख्‍यात भएका सबै जनालाई मार्नको निम्ति उर्दी जारी भयो । यही उर्दीको कारणले, तिनीहरूले दानिएल र तिनका साथीहरूलाई पनि खोजे ताकि तिनीहरूलाई मार्न सकियोस् । 14 तब बेबिलोनका आफूमा भएको बुद्धिको निम्‍ति प्रख्‍यात सबै जनालाई मार्नको निम्‍ति आएका राजाका अङ्गरक्षकका कमान्‍डर अर्योकलाई दानिएलले विवेकपूर्ण र बुद्धिमान् किसिमले जवाफ दिए । 15 दानिएलले राजाका कमान्‍डरलाई सोधे, “किन महाराजाबाट तुरुन्तै यस्तो उर्दी आयो?” अनि अर्योकले जे भएको थियो त्‍यो दानिएललाई बताए । 16 त्यसपछि दानिएल भित्र गए र राजासँग भेट गर्न दिन अनुरोध गरे जसले गर्दा तिनले सपनाको अर्थ राजालाई बताउन सकून्। 17 त्यसपछि दानिएल आफ्नो घरमा गए र जे भएको थियो त्यो हनन्याह, मीशाएल र अजर्याहलाई बताए । 18 यो रहस्यको विषयमा स्वर्गका परमेश्‍वरको कृपा खोज्न तिनले उनीहरूलाई अनुरोध गरे, ताकि उनीहरू र तिनी बेबिलोनका अन्य ख्‍यातिप्राप्‍त बुद्धिमान् मानिसहरूसँगै नमारिऊन् । 19 त्यो रात एउटा दर्शनमा दनिएललाई त्यो रहस्य प्रकट गरियो । तब दानिएलले स्वर्गका परमेश्‍वरको प्रशंसा गरे, 20 र यसो भने, “परमेश्‍वरको नाउँको सदासर्वदा प्रशंसा होस्, किनकि बुद्धि र शक्ति उहाँकै हुन् । 21 उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ । उहाँले राजाहरूलाई हटाउनुहुन्छ र राजाहरूलाई सिंहासनमा राख्‍नुहुन्छ । उहाँले बुद्धिमान्‌लाई बुद्धि र समझदारहरूलाई ज्ञान दिनुहुन्छ । 22 उहाँले गहिरा र लुकेका कुराहरू प्रकट गर्नुहुन्छ किनभने अन्धकारमा के छ भनी उहाँले जानुहुन्छ र उज्यालोले उहाँसँग वास गर्छ । 23 हे मेरा पुर्खाहरूका परमेश्‍वर, म तपाईंलाई धन्यावाद दिन्छु र तपाईंको प्रशंसा गर्छु,किनकि तपाईंले मलाई बुद्धि र शक्ति दिनुभयो । हामीले तपाईंसँग जे बिन्‍ती गर्‍यौं त्‍यो तपाईंले मलाई प्रकट गर्नुभएको छ, राजाको चिन्‍ताको विषयलाई तपाईंले हामीलाई जानकारी गराउनुभएको छ ।” 24 त्यसपछि दानिएल अर्योकलाई भेट्न गए (जसलाई बेबिलोनका सबै बुद्धिमान्‌लाई मार्नलाई राजाले नियुक्त गरेका थिए) । तिनी गए र उनलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस् । मलाई राजाकहाँ लानुहोस् र राजाको सपनाको अर्थ म उहाँलाई खोलिदिनेछु ।” 25 त्यसपछि अर्योकले तुरुन्‍तै दानिएललाई राजाको सामु लगे र यसो भने, “मैले यहूदाका निर्वासितहरूका बिचमा एक जना मानिस भेट्टाएको छु जसले, महाराजाको सपनाको अर्थ खोल्नेछ ।” 26 राजाले दानिएललाई (जसको नाउँ बेलतसजर थयो) सोधे, “मैले देखेको सपना र त्यसको अर्थ के तिमी मलाई भन्‍न सक्छौ?” 27 दानिएलले राजालाई जवाफ दिए र यसो भने, “राजाले सोध्‍नुभएको रहस्यलाई बुद्धि भएकाहरूले प्रकट गर्न सक्‍दैनन्, न त मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूले, न त जादुगरहरूले र ज्योतिषीहरूले नै गर्न सक्‍छन् । 28 तापनि, त्‍यहाँ एक यस्‍तो परमेश्‍वर हुनुहुन्‍छ जो स्वर्गमा वास गर्नुहुन्‍छ, जसले रहस्यहरू प्रकट गर्नुहुन्‍छ र आउने दिनहरूमा के हुनेछ भनी उहाँले हजुर महाराजा नबूकदनेसरलाई प्रकट गर्नुभएको छ । हजुर आफ्नो ओछ्यानमा पल्टनुहुँदा हजुरले देख्‍नुभएको सपना र हजुरका मनका दर्शनहरू यसप्रकार थिए । 29 महाराजा, हजुरको सम्‍बन्‍धमा, ओछ्यानमा हुँदा हजुरमा भएका विचारहरू हुन आउने कुराहरूका बारेमा थिए, र भविष्‍यमा के हुँदैछ भनेर रहस्य खोल्नुहुनेले नै हजुरलाई प्रकट गर्नुभएको छ । 30 मेरो बारेमा, अरू कुनै जीवित मानिसभन्दा धेरै बुद्धि मसँग भएको कारण मलाई त्यो रहस्य प्रकट भएको होइन । हजुर, महाराजाले त्यसको अर्थ बुझ्न सक्‍नुभएको होस्, र आफूभित्रका गहिरा कुराहरू हजुरले जान्‍न सक्‍नुभएको होस् भनेर हजुरलाई त्यो रहस्य प्रकट भएको हो । 31 महाराजा, हजुरले माथि हेर्नुभयो र हजुरले एउटा ठुलो सालिक देख्‍नुभयो । त्यो धेरै शक्तिशाली र उज्यालो सालिक हजुरको सामु खडा भयो । त्यसको चमक डरलाग्‍दो थियो । 32 त्यस सालिकको शिर निक्खर सुनले बनेको थियो । त्यसको छाती र हातहरू चाँदीका थिए । त्यसको पेट र तिघ्राहरू काँसाका थिए, 33 र त्यसका गोडाहरू फलामका थिए । त्यसका पाउहरू केही फलाम र केही माटोले बनेका थिए । 34 हजुरले माथि हेर्नुभयो, र एउटा ढुङ्गो काटियो । तापनि त्यो मानिसको हातले होइन, अनि फलाम र माटोले बनेको सालिकको पाउहरूमा त्‍यो ठोक्‍कियो, र त्यसले ती चकनाचूर पार्‍यो । 35 तब फलाम, माटो, काँसा, चाँदी र सुन सबै सँगै टुक्रा-टुक्रा भए र ती ग्रीष्म ऋतुमा अन्‍न चुट्ने खलाका भुसझैं भए । बतासले तिनलाई उडायो र त्यहाँ तिनका कुनै नाउँ निशाना रहेन । तर त्यो सालिकलाई हिर्काउने ढुङ्गोचाहिं एउटा ठुलो पर्वत बन्यो र त्यसले सम्‍पूर्ण पृथ्वीलाई ढाक्यो । 36 हजुरको सपना यही थियो । अब हामी महाराजालाई अर्थ बताउँछौं। 37 महाराजा, हजुर राजाहरूका महाराजा हुनुहुन्छ जसलाई स्वर्गका परमेश्‍वरले राज्य, शक्ति, बल र सम्मान दिनुभएको छ । 38 मानवजातिहरू बस्‍ने ठाउँ उहाँले हजुरका हातमा दिनुभएको छ । जमिनका पशुहरू र आकाशका चराहरू उहाँले हजुरका हातमा दिनुभएको छ, र ती माथि हजुरलाई शासन गर्ने बनाउनुभएको छ । हजुर नै त्यस सालिकको सुनको शिर हुनुहुन्छ । 39 हजुरपछि, अर्को एउटा राज्य खडा हुनेछ जुन हजुरको भन्दा कमजोर हुनेछ, र त्यसपछि अझै काँसाको अर्को तेस्रो राज्यले सबै पृथ्वीमाथि शासन गर्नेछ । 40 त्यहाँ फलामझैं बलियो चौथो राज्य हुनेछ, किनकि फलामले अरू कुराहरूलाई टुक्रा-टुक्रा पार्छ र हरेक कुरालाई चकनाचूर पार्छ । त्यसले यी सबै कुराहरूलाई चकनाचूर पार्नेछ र कुल्चनेछ । 41 जसरी हजुरले देख्‍नुभयो, पाउहरू र बुढी औंलाहरू केही पाकेका माटो र केही फलामले बनेका थिए, त्‍यसरी नै त्यो एउटा विभाजित राज्य हुनेछ । त्यसमा केही फलामको शक्ति हुनेछ, जसरी हजुरले फलाम र नरम माटो मिसिएको देख्‍नुभयो । 42 जसरी पाउहरूका बुढी औंलाहरू केही फलाम र केही माटोले बनेका थिए, त्‍यसरी नै त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रिने किसिमको हुनेछ । 43 जसरी हजुरले फलामलाई नरम माटोसँग मिसिएको देख्‍नुभयो, त्‍यसरी नै मानिसहरू पनि मिश्रित हुनेछन् । तिनीहरू मिलेर बस्‍नेछैनन्, जसरी फलाम माटोसँग मिल्‍न सक्दैन । 44 ती राजाहरूको समयमा, स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ । 45 जसरी पर्वतबाट एउटा ढुङ्गो काटिएको हजुरले देख्‍नुभयो, तर मानिसको हातले होइन । त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई टुक्रा-टुक्रा पार्‍यो । महाराजा, महान् परमेश्‍वरले हजुरलाई यसपछि के हुनेछ भनेर बताउनुभएको छ । यो सपना साँचो हो र त्यसको अर्थ विश्‍वासयोग्य छ ।” 46 राजा नबूकदनेसर दानिएलको अगि घोप्टो परे र तिनको सम्मान गरे । तिनलाई भेटी चढाइयोस् र तिनको निम्ति धूप बालियोस् भनेर तिनले आज्ञा दिए । 47 राजाले दानिएललाई भने, “साँच्‍चै नै तिम्रा परमेश्‍वरचाहिं देवताहरूका परमेश्‍वर, राजाहरूका परमप्रभु हुनुहुन्छ, र उहाँले रहस्यहरू प्रकट गर्नुहुन्‍छ, किनकि तिमीले यो रहस्य प्रकट गर्न सफल भएका छौ ।” 48 अनि राजाले दानिएललाई उच्‍च सम्मान दिए र तिनलाई धेरै असल उपहारहरू दिए । तिनले उनलाई बेबिलोनको सम्‍पूर्ण प्रदेशमाथि शासक बनाए । बेबिलोनका सबैभन्दा ज्ञानी मानिसहरूमाथि दानिएल प्रमुख गभर्नर भए । 49 दानिएलले राजासँग एउटा अनुरोध गरे, र राजाले शद्रक, मेशक, र अबेद्‍नगोलाई बेबिलोनको प्रदेशमाथि प्रशासकहरू नियुक्त गरे । तर दानिएल राजाको दरवारमा नै रहे ।

3

1 नबूकदनेसर राजाले तिस मिटर अग्लो र तिन मिटर चौडा एउटा सुनको मूर्ति बनाए । तिनले त्यो बेबिलोन प्रदेशमा दूराको मैदानमा खडा गरे । 2 त्यसपछि नबूकदनेसरले आफूले स्थापना गरेका मूर्ति अर्पण गर्नका निम्ति प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, र स्थानीय गभर्नरहरूका साथै सल्लाहकारहरू, कोषाध्यक्षहरू, न्यायाधीशहरू, जिल्‍ला अधिकारीहरू र सबै उच्‍च पदस्‍त अधिकारीहरूलाई भेला गराउन सन्देशहरू पठाए । 3 तब प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, र स्थानीय गभर्नरहरूका साथै सल्लाहकारहरू, कोषाध्यक्षहरू, न्यायाधीशहरू, जिल्‍ला अधिकारीहरू र सबै उच्‍च पदस्‍त अधिकारीहरू नबूकदनेसरले स्थापना गरेका मूर्ति अर्पण गर्नका निम्ति एकसाथ भेला भए । तिनीहरू त्यसको सामु खडा भए । 4 तब उद्घोषकले ठुलो सोरले कराएर भन्‍यो, “जाति-जातिका मानिसहरू र धेरै भाषाहरू बोल्‍ने, तपाईंहरूलाई यो हुकुम छ, 5 कि तपाईंहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्‍ने बित्तिकै तपाईंहरू सबै जनाले आफूलाई भुइँमा घोप्टो पार्नुपर्छ अनि नबूकदनेसर महाराजाले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु लम्‍पसार हुनुपर्छ । 6 जसले भुइँमा घोप्टो पार्दैन र आराधना गर्दैन, उसलाई दन्किरहेको आगोको भट्टीमा फालिनछ ।” 7 यसैले जब मानिसहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुने, सबै मानिसहरू जातिहरू र भाषा बोल्नेहरू भुइँमा घोप्टो परे र नबूकदनेसर राजाले स्थापना गरेका सुनको मूर्तिको सामु आफूलाई लम्‍पसार भए । 8 यति बेला केही कल्‍दीहरू आए र यहूदीहरूको विरुद्धमा अभियोगहरू लगाए । 9 तिनीहरूले नबूकदनेसर राजालाई यसो भने, “महाराजा, अमर रहून्! 10 हजुर महाराजाले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्‍ने सबै मानिसहरू घोप्टो हुनुपर्छ र त्यो सुनको मूर्तिको सामु आफूलाई लम्पसार पार्नुपर्छ भनेर उर्दी निकाल्नुभएको छ । 11 जसले भुइँमा घोप्टो पार्दैन र आराधना गर्दैन, उसलाई त्‍यसै बेला नै दन्किरहेको आगोको भट्टीमा फालिनुपर्छ । 12 यति बेला त्यहाँ कोही यहूदीहरू छन् जसलाई हजुरले बेबिलोनको प्रदेशका मामिलाहरू हेर्न नियुक्त गर्नुभएको छ । तिनीहरूका नाउँ शद्रक, मेशक, र अबेद्‍नगो हुन् । हे महाराजा, यी मानिसहरूले हजुरका कुरामाथि ध्यान दिंदैनन् । तिनीहरूले हजुरका देवताहरूलाई दण्डवत् गर्दैनन् वा हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफूलाई लम्‍पसार पार्दैनन् ।” 13 त्यसपछि नबूकदनेसर रिस र क्रोधले चूर भए अनि शद्रक, मेशक, र अबेद्‍नगोलाई आफूकहाँ ल्याउने हुकुम दिए । यसैले तिनीहरूले यी मानिसहरूलाई राजाको सामु ल्याए । 14 नबूकदनेसरले तिनीहरूलाई सोधे, “ए शद्रक, मेशक, र अबेद्‍नगो, के तिमीहरूले मेरा देवताहरूको पुजा नगर्ने वा मैले स्थापना गरेको सुनको मूर्तिको सामु आफूलाई लम्‍पसार नपार्ने निर्णय गरेका छौ? 15 अब तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्‍ने बित्तिकै घोप्टो पर्‍यौ र मैले बनाएको मूर्तिको सामु लम्‍पसार पर्‍यौ भने, सबै कुरा ठिक हुनेछ । तर तिमीहरूले पुजा गरेनौ भने, तिमीहरू तुरुन्‍तै दन्किरहेको आगोको भट्टीमा फालिनेछौ । त्‍यो कुन देवता होला जसले तिमीहरूलाई मेरा हातबाट बचाउन सक्‍छ?” 16 शद्रक, मेशक, र अबेद्‍नगोले राजालाई जवाफ दिए, “हे नबूकदनेसर, हामीले हजुरलाई यस बारेमा जवाफ दिनु आवश्यक छैन । 17 त्यहाँ कुनै जवाफ छ भने, त्यो यही हो, कि हामीले सेवा गर्ने परमेश्‍वरले हामीलाई दन्किरहेको आगोको भट्टीबाट सुरक्षित राख्‍न सक्‍नुहुन्छ, र उहाँले नै हामीलाई हजुर महाराजाको हातबाट बचाउनुहुनेछ । 18 तर उहाँले त्यस्तो गर्नुभएन भने पनि, महाराजालाई यो थाहा होस्, कि हामी हजुरका देवताहरूको पुजा गर्नेछैनौं र हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफैंलाई लम्‍पसार पार्नेछैनौं ।” 19 तब नबूकदनेसर रिसले चूर भए । शद्रक, मेशक, र अबेद्‍नगोप्रति तिनको अनुहार भाव बद्लियो । अनि तिनले आगोको भट्टीलाई साधारण रूपमा तताउनेभन्दा सात गुणा बढी तताउने आदेश दिए । 20 तब तिनले आफ्ना सेनामा अत्यन्तै बलिया मानिसहरूलाई शद्रक, मेशक, र अबेद्‍नगोलाई बाँध्‍न र दन्किरहेको आगोको भट्टीमा फाल्न आदेश दिए । 21 तिनीहरूका वस्‍त्रहरू, अलखाहरू, फेटाहरू र अन्य लुगाहरूसमेत तिनीहरूलाई बाँधियो, र तिनीहरूलाई दन्किरहेको भट्टीमा फालियो । 22 राजाको आज्ञालाई सख्त रूपमा पालना गरिएको हुनाले र त्यो भट्टी अत्यन्तै तातो भएको हुनाले शद्रक, मेशक, र अबेद्‍नगोलाई त्यहाँ लाने मानिसहरू आगोको ज्वालाले मार्‍यो । 23 यी तिन मानिस, शद्रक, मेशक, र अबेद्‍नगो बाँधिएकै अवस्थामा दन्किएको भट्टीमा फालिए । 24 अनि राजा नबूकदनेसर आश्‍चर्यचकित भए र झट्टै खडा भए । तिनले आफ्ना सल्लाहकारहरूलाई सोधे, “के हामीले ती तिन जना मानिसहरूलाई बाँधेर आगोमा फालेका होइनौं र?” तिनीहरूले राजालाई जवाफ दिए, “निश्‍चय नै महाराजा ।” 25 तिनले भने, “तर चार जना मानिसलाई नबाँधिएर आगोमा हिंडिरहेका म देख्दैछु, र तिनीहरूलाई कुनै हानी भएको छैन । अनि चौथोचाहिं देवताहरूका पुत्रझैं चम्किरहेका छन् ।” 26 अनि नबूकदनेसर दन्किरहेको भट्टीको ढोका नजिक आए र बोलाए, “ए शद्रक, मेशक, र अबेद्‍नगो, अति उच्‍च, परमेश्‍वरका सेवकहरू, बाहिर निस्क! यहाँ आओ!” अनि शद्रक, मेशक, र अबेद्‍नगो आगोबाट बाहिर आए । 27 त्यहाँ भेला भएका प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, अन्य गभर्नरहरू र राजाका सल्लाहकारहरूले यी मानिसहरूलाई देखे । आगोले तिनीहरूका शरीरलाई कुनै हानी गरेको थिएन । तिनीहरूका शिरको रौं खहरिएको थिएन । तिनीहरूका लुगालाई केही भएको थिएन । अनि तिनीहरूमा आगोको कुनै गन्ध नै थिएन । 28 नबूकदनेसरले भने, “हामी शद्रक, मेशक, र अबेद्‍नगोका परमेश्‍वरको प्रशंसा गरौं, जसले आफ्नो सन्देशवाहक पठाउनुभएको छ र आफ्ना सेवकहरूलाई आफ्नो सन्देश दिनुभएको छ । तिनीहरूले मेरो आज्ञा नमानेर उहाँमा विश्‍वास गरे, र आफ्ना परमेश्‍वरबाहेक अरू कुनै देवताको पुजा गर्नु र तिनका सामु लम्‍पसार पर्नुको साटोमा तिनीहरूले आफ्ना शरीरलाई नै त्यागे । 29 त्यसैले म एउटा उर्दी जारी गर्छु, कि शद्रक, मेशक, र अबेद्‍नगोका परमेश्‍वरको विरुद्ध बोल्ने कुनै जाति, राष्‍ट्र, वा कुनै भाषा बोल्ने जोसुकैलाई टुक्रा-टुक्रा पारिनेछ, र तिनीहरूका घरहरू भग्‍नावशेषका थुप्रो हुनेछन्, किनभने यसरी बचाउन सक्‍ने अरू कुनै देवता छैन ।” 30 त्यसपछि राजाले शद्रक, मेशक, र अबेद्‍नगोलाई बेबिलोनको प्रदेशमा पदोन्‍ननि गरिदिए ।

4

1 नबूकदनेसर राजाले पृथ्वीमा बस्‍ने सबै मानिसहरू जातिहरू, र भाषा बोल्नेहरूलाई यो उर्दी पठाए: तिमीहरूमा प्रशस्त शान्ति होस् । 2 सर्वोच्‍च परमेश्‍वरले मेरो निम्ति गर्नुभएका चिन्हहरू र आश्‍चर्य कामहरू बारेमा तिमीहरूलाई बताउनु मलाई असल लागेको छ । 3 उहाँका चिन्हहरू कति महान् छन्, र उहाँका आश्‍चर्य कामहरू कति शक्तिशाली छन्! उहाँको राज्य अनन्‍तको राज्‍य हो, र उहाँको प्रभुत्व पुस्ता-पुस्तासम्म रहन्छ । 4 म, नबूकदनेसर, मेरो महलमा खुशीसाथ बसिरहेको थिएँ, र म आफ्‍नो दरबारमा समृद्धिमा आनन्‍दित थिएँ । 5 तर मैले देखेको एउटा सपनाले मलाई त्रसित बनायो । म त्‍यहाँ पल्टिरहँदा, मैले देखेका दृश्यहरू र मेरो मनका दर्शनहरूले मलाई व्याकुल बनाए । 6 यसैले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मेरो सामु उपस्‍थित हुनलाई मैले एउटा उर्दी निकालें ताकि तिनीहरूले उक्‍त सपनाको अर्थ मलाई बताउन सकून् । 7 त्‍यसपछि जादुगरहरू, मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू र ज्योतिषीहरू आए । मैले तिनीहरूलाई सपना सुनाएँ, तर तिनीहरूले त्यसको अर्थ मलाई भन्‍न सकेनन् । 8 तर अन्तमा दानिएल आए— जसलाई मेरा देवताको नाउँ बेलतसजर दिइयो, र जसमा पवित्र देवहरूका आत्मा छन्— र मैले तिनलाई सपना सुनाएँ । 9 “ए बेलतसजर, जादुगरहरूका प्रमुख, पवित्र देवताहरूका आत्मा तिमीमा छन् भनी म जान्‍दछु र तिम्रो निम्ति कुनै पनि रहस्य कठिन हुँदैन । मैले आफ्‍नो सपनामा के देखें र त्यसको अर्थ के हो सो मलाई बताऊ । 10 म आफ्‍नो ओछ्यानमा पल्टिँदा मैले देखेका दर्शनहरू यी नै हुन्: मैले हेरें, र पृथ्वीको बिचमा एउटा रूख थियो, र त्यो अत्यन्तै अग्लो थियो । 11 त्यो रूख बढ्यो र बलियो भयो । त्यसको टुप्पो आकाशसम्मै पुग्यो, र पृथ्वीको पल्‍लो छेउबाट पनि त्यो देख्‍न सकिन्थ्यो । 12 त्यसका पातहरू सुन्दर थिए, त्यसका फल प्रशस्त थिए, र त्यसमा सबैको निम्ति खानेकुरो थियो । जङ्गली पशुहरूले त्यसमुनि छाहरी पाउँथे, र आकाशका चराहरूले त्यसका हाँगाहरूमा वास गर्थे । सबै जीवित प्राणीहरूले त्यसैबाट खान्थे । 13 म आफ्‍नो ओछ्यानमा पल्टिरहँदा मैले यस्तो दर्शन देखें, अनि आकाशबाट एउटा पवित्र समाचारवाहक तल आए । 14 तिनले ठुलो सोरमा कराए र यसो भने, ‘त्यो रूख र त्यसका हाँगाहरू काट, त्यसका पातहरू टिपेर फाल र त्यसका फललाई छरपष्‍ट पार । त्यसको छहारीमुनिबाट पशुहरू भागून् र चराहरू त्यसका हाँगाहरूबाट उडून् । 15 तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधिएर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै रहोस् । आकाशका शीतले त्यो भिजोस् । त्यो जमिनका बोट-बिरुवाका बिचमा रहने पशुहरूसित रहोस् । 16 त्यसको मनलाई मानिसको मनबाट बद्लियोस् र सातवर्ष नवितेसम्म त्यसलाई एउटा पशुको मन दिइयोस् । 17 यो निर्णय समाचारवाहकले बताएका उर्दिअनुसार हो । यो निर्णय पवित्र जनहरूले गर्नुभएको हो, ताकि बाँचेकाहरूले यो जानून्, कि सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र तिनीहरूमाथि शासन गर्नका निम्ति जोसुकैलाई अर्थात् सबैभन्दा निम्‍न स्‍तरका मानिसहरूका अधिनमा पनि उहाँले ती दिनुहुन्छ ।’ 18 म, राजा नबूकदनेसरले यो सपना देखें । अब तिमी बेलतसजर, मलाई यसको अर्थ बताऊ, किनभने मेरो राज्यका बुद्धिमान् मानिसहरू कसैले पनि मेरो निम्ति यसको अर्थ खोल्न सक्‍दैनन् । तर तिमीले यो गर्न सक्छौ, किनभने पवित्र देवताहरूका आत्मा तिमीमा छन् ।” 19 तब बेलतसजर भनिने दानिएल केही समय धेरै चिन्तित भए, र आफ्ना विचारहरूले तिनलाई त्रसित पार्‍यो । राजाले भने, “ए बेलतसजर, त्‍यो सपना वा त्यसको अर्थले तिमी त्रसित नहोऊ ।” बेलतसजरले जवाफ दिए, “मेरा मालिक, यो सपना हजुरलाई घृणा गर्नेहरूका निम्ति होस्, र त्यसको अर्थ हजुरका शत्रुहरूका निम्ति होस् । 20 हजुरले देख्‍नुभएको त्यो रूख, जुन बढेर धेरै बलियो भयो, र जसको टुप्पो आकाशसम्मै पुग्यो, र जुन पृथ्वीको छेऊबाट पनि देखिन्थ्यो, 21 र जसका पातहरू सुन्दर थिए, र जसको फल प्रशस्त थियो, जसले गर्दा सबैले यसैमा खानेकुरो पाउँथे, र यसको मुनि जमिनका पशुहरूले छहारी पाउँथे, र जसमा आकाशका चराहरूले वास गर्थे, 22 हे महाराजा, त्यो रूख हजुर नै हुनुहुन्छ, जो ज्‍यादै शक्तिशाली हुनुभएको छ । हजुरको महान्‌ता बढेर आकाशसम्म पुगेको छ, र हजुरको अधिकार पृथ्वीको पल्‍लो छेऊसम्मै पुगेको छ । 23 हे महाराजा, हजुरले एउटा पवित्र सन्देशवाहकलाई स्वर्गबाट तल आएको अनि यसो भनेका देख्‍नुभयो, ‘त्यो रूखलाई काटेर ढाल र त्यसलाई नष्‍ट गर, तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधेर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै छोड । त्यो आकाशको शीतले भिजोस्, र सात वर्ष नवितेसम्म जमिनमै जङ्गली पशुहरूसँग रहोस् ।’ 24 हे महाराजा, यसको अर्थचाहिं यो हो । यो सर्वोच्‍च परमेश्‍वरको घोषणा हो, जुन मेरा मालिक, महाराजा हजुरकहाँ आएको छ । 25 हजुर मानिसहरूका बिचबाट हटाइनुहुनेछ, र हजुर जमिनमा हुने जङ्गली पशुहरूसँग बस्‍नुहुनेछ । गोरुले झैं हजुरले घाँस खानुपर्नेछ, र आकाशको शीतले हजुरलाई भिजाउनेछ, र सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्‍ने कुरा हजुरले स्वीकार गर्दासम्‍म सात वर्ष बित्‍नेछ । 26 रूखको जरासहितको फेदलाई त्यहीं छोड्ने आज्ञा भएझैं, स्वर्गले शासन गर्नुहुन्‍छ भनेर हजुरले स्वीकार गरेपछि हजुरको राज्य हजुरलाई फर्काइनेछ । 27 यसकारण, महाराजा, मेरो सल्लाह हजुरको निम्ति स्वीकारयोग्य होस् । पाप गर्न छोड्‍नुहोस् र जे ठिक छ त्यही गर्नुहोस् । थिचो-मिचोमा परेकाहरूलाई कृपा देखाएर आफ्ना अपराधहरूबाट मुक्त हुनुहोस्, र हजुरको समृद्धि अझै बढोस् ।” 28 यी सबै कुराहरू राजा नबूकदनेसरमाथि घट्यो । 29 बाह्र महिनापछि, तिनी बेबिलोनमा एउटा दरबारको कौसीमा हिंडिरहेका थिए, 30 अनि तिनले भने, “के यो महान् बेबिलोन होइन, जुन मैले आफ्‍नो राजकीय निवास, र आफ्‍नो ऐश्‍वर्यको महिमाको निम्ति निर्माण गरें?”. 31 राजाका यी शब्दहरू तिनको ओठमै हुँदा नै, स्वर्गबाट यस्तो आवाज आयो, “राजा नबूकदनेसर, तँलाई यो घोषणा गरिन्छ, कि तँबाट यो राज्य खोसिएको छ । 32 तँ मानिसहरूबाट निकालिनेछस्, र तेरो वासस्थान खेतमा वन-पशुहरूसँग हुनेछ । तैंले गोरुले झैं घाँस खानेछस् । सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्‍ने कुरा तैंले स्वीकार गर्दासम्‍म सात वर्ष बित्‍नेछ ।” 33 नबूकदनेसरको विरुद्धमा भएको यो आदेश तुरुन्‍तै पुरा भयो । तिनी मानिसहरूबाट निकालिए । तिनले गोरुले झैँ घाँस खाए, र तिनको शरीर आकाशको शीतले भिज्यो । तिनको केस चीलका प्वाँखहरूझैँ लामो भयो, र तिनको नङहरू चराका नङ्ग्राझैं भयो । 34 ती दिनहरूको अन्तमा, म, नबूकदनेसरले आफ्ना आँखा स्वर्गतर्फ उठाएँ, र मेरो होश मलाई फिर्ता दिइयो । “मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरें, र सदासर्वदा रहनुहुनेलाई मैले सम्मान र महिमा दिएँ । किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ । 35 सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गनिन्छन् । स्वर्गका सेनाहरू र पृथ्वीका मानिसहरूका बिचमा उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ । कसैले पनि उहाँलाई रोक्‍न वा उहाँलाई चुनौती दिन सक्दैन । कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’?” 36 मेरो होश मलाई फिर्ता दिइएकै समयमा, मेरो राज्यको महिमाको निम्ति मेरो गौरव र वैभव मकहाँ फर्यो । मेरा सल्लाहकारहरू र भारदारहरूले मेरो कृपाको इच्‍छा गरे । मलाई आफ्‍नो सिंहासन फर्काइयो, र मलाई झनै धेरै महान्‌ता दिइयो । 37 अब म, नबूकदनेसर, स्वर्गका राजाको प्रशंसा, स्तुति, र महिमा गर्दछु, किनकि उहाँका सबै कामहरू ठिक हुन्छन् र उहाँका मार्गहरू धर्मी हुन्‍छन् । आफ्नै घमण्डमा हिंड्नेहरूलाई उहाँले नम्र बनाउन सक्‍नुहुन्छ ।

5

1 बेलसजर राजाले आफ्ना एक हजार भारदारहरूका निम्ति एउटा ठुलो भोजको आयोजना गरे, र ती सबै एक हजार मानिसहरूका सामु तिनले दाखमद्य पिए । 2 जब बेलसजरले दाखमद्ये चाखे, तिनले आफ्ना बुबा नबूकदनेसरले यरूशलेमको मन्दिरबाट निकालेर ल्‍याएका सुन वा चाँदीका भाँडाहरू ल्याउन आज्ञा दिए, जसबाट तिनी, तिनका भारदारहरू, तिनकी पत्‍नीहरू र उप-पत्‍नीहरूले पिउन सकून् । 3 यरूशलेममा भएको परमेश्‍वरको मन्दिरबाट ल्‍याइएका सुनका भाँडाहरूलाई सेवकहरूले ल्याए । राजा, तिनका भारदारहरू, र तिनकी पत्‍नीहरू र उप-पत्‍नीहरूले ती भाँडाहरूबाट पिए । 4 तिनीहरूले दाखमद्य पिएपछि सुन र चाँदी, काँसा, फलाम, काठ, र ढुङ्गाले बनेका आफ्‍ना मूर्तिहरूको प्रशंसा गरे । 5 त्यही समय पानसको अगाडि एउटा मानिसको हातका औंलाहरू देखा परे र राजाको दरवारका लिपिएका भित्तामा लेख्‍न थाले । त्यो हातले लेख्दै गर्दा, राजाले त्‍यसको केही भाग देख्‍न सक्थे । 6 तब राजाको अनुहार बद्लियो र तिनका आफ्ना विचारहरूले तिनलाई भयभीत बनाए । तिनका गोडाहरूले तिनलाई धान्‍न सकेनन्, र तिनका घुँडाहरू कामेर ठोक्‍किन थाले । 7 मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूलाई भित्र ल्याउनको निम्ति राजाले आदेश दिए । बेबिलोनमा आफ्ना बुद्धिको निम्ति ख्‍याति पाएकाहरूलाई राजाले यसो भने, “जसले यो लेख र यसको अर्थ बताउन सक्छ उसलाई बैजनी लुगा पहिराइनेछ र उसको घाँटीमा सुनको सिक्री लगाइनेछ । त्यसलाई यस राज्यको तेस्रो उच्‍च शासकको अधिकार दिइनेछ ।” 8 अनि आफ्नो बुद्धिको निम्‍ति ख्‍याति पाएका राजाका सबै मानिसहरू आए, तर तिनीहरूले त्यो लेख पढ्न अनि राजालाई त्यसको अर्थ बताउन सकेनन् । 9 अनि राजा बेलसजर धेरै डराए र तिनको अनुहारको स्‍वरूप परिवर्तन भयो । तिनका भारदारहरू अलमल्ल भए । 10 राजा र तिनका भारदारहरूले भनेका कुरा सुनेर रानी भोजको घरमा आईन् । रानीले भनिन्, “राजा, अमर रहून्! हजुरका विचारहरूले हजुरलाई विचलित नपारोस् । हजुरको अनुहारको स्‍वरूपमा परिवर्तन नहोस् । 11 हजुरको राज्यमा एक जना मानिस छन् जसमा पवित्र देवताहरूको आत्मा छ । हजुरका बुबाका समयमा, उनमा देवताहरूका जस्तै प्रकाश र समझ र बुद्धि पाइएको थियो । महाराजा नबूकदनेसर, हजुरका बुबा, महाराजाले उनलाई जादूगरहरू, मृतसँग बोल्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूका प्रमुख बनाउनुभयो । 12 यी मानिस, दानिएलमा उत्कृष्‍ट आत्मा, ज्ञान, समझ, सपनाको अर्थ खोल्न सक्‍ने, अड्को फुकाउन सक्‍ने र समस्याहरू हल गर्न सक्‍ने विशेषताहरू थिए, जसलाई राजाले बेलतसजर नाउँ दिनुभयो । अब दानिएललाई बोलाउनुहोस् र लेखिएको कुराको अर्थ तिनले हजुरलाई बताउनेछन् ।” 13 तब दानिएललाई राजाको सामु ल्याइयो । राजाले तिनलाई भने, “तिमी यहूदाका निर्वासितमध्ये एक जना मानिस, त्यही दानिएल हौ, जसलाई मेरा बुबाले यहूदाबाट ल्याउनुभयो । 14 देवताहरूका आत्मा र प्रकाश तथा समझ र उत्कृष्‍ट बुद्धि तिमीमा छन् भनेर मैले तिम्रो विषयमा सुनेको छु । 15 बुद्धिको निम्ति ख्‍याति पाएका मानिसहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई यो लेख पढ्न र त्यसको अर्थ खोल्‍नलाई भित्र मेरो सामु ल्याइएको छ, तर तिनीहरूले त्यसको अर्थ जानकारी गराउन सकेनन् । 16 तिमीले अर्थहरू खोल्न सक्छौ र समस्याहरू हल गर्न सक्छौ भनी मैले सुनेको छु । अब तिमीले यो लेख पढ्न सक्यौ र मलाई यसको अर्थ बतायौ भने, तिमीलाई बैजनी कपडा पहिराइनेछ र तिम्रो घाँटीमा सुनको सिक्री लगाइनेछ, र यस राज्यमा तिमीलाई तेस्रो उच्‍च शासकको अधिकार हुनेछ ।” 17 तब दनिएलले राजाको सामु जवाफ दिए, “हजुरका उपहारहरू हजुरकै निम्ति होऊन्, र हजुरका इनामहरू अर्को व्यक्तिलाई दिनुहोस् । तापनि, म यो लेख, महाराजा, हजुरको निम्ति पढिदिनेछु, र हजुरलाई यसको अर्थ बताउनेछु । 18 हे महाराजाका, सर्वोच्‍च परमेश्‍वरले हजुरका पिता नबूकदनेसरलाई राज्य, महान्‌ता, आदर, र ऐश्‍वर्य दिनुभयो । 19 परमेश्‍वरले उहाँलाई दिनुभएको महान्‌ताको कारणले, सबै मानिसहरू, जातिहरू र भाषा बोल्नेहरू थरथर भए र उहाँको भय माने । उहाँले जसको प्राण लिने इच्‍छा गर्नुभयो, त्‍यसको प्राण उहाँले लिनुभयो, र उहाँले जसलाई जीवित राख्‍ने इच्‍छा गर्नुभयो, त्‍यसलाई उहाँले जीवित राख्‍नुभयो । जसलाई उहाँले चाहनुभयो त्‍यसलाई उचाल्‍नुभयो, र जसलाई उहाँले इच्‍छा गर्नुभयो त्‍यसलाई उहाँले होच्‍याउनुभयो । 20 तर जब उहाँको हृदयमा अहंकारी र उहाँको आत्मा कठोर भयो, जसको कारण उहाँले हठपूर्ण किसिमले काम गर्नुभयो, तब उहाँको आफ्नो राजकीय सिंहासनबाट उहाँलाई तल खसालियो, र तिनीहरूले उहाँको सबै ऐश्‍वर्य हटाए । 21 उहाँ मानिसजातिबाट लखेटिनुभयो । उहाँमा पशुको मन थियो, र उहाँ जङ्गली गधाहरूसँग रहनुभयो । उहाँले गोरुले झैं घाँस खानुभयो । सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र उहाँले आफ्नो इच्छाअनुसार मानिसहरूमाथि शासक नियुक्त गर्नुहुन्छ भनेर उहाँले स्‍वीकार नगरेसम्‍म आकाशका शीतहरूले उहाँको शरीर भिज्यो । 22 हजुर, बेलसजर, उहाँका छोराले यी सबै थाहा भएर पनि आफ्नो हृदयलाई नम्र बनाउनुभएको छैन । 23 हजुरले आफैंलाई स्वर्गका परमप्रभुको विरुद्ध खडा गर्नुभएको छ । उहाँको भवनबाट तिनीहरूले ती भाँडाहरू ल्याए, जसबाट हजुर, हजुरका भारदारहरू, हजुरका पत्‍नीहरू, र उप-पत्‍नीहरूले दाखमद्य पिउनुभयो र हजुरले चादी र सुन, काँसा, फलाम, काठ र ढुङ्गाका मूर्तिहरूलाई पुज्नुभयो, ती मूर्तिहरू जसले देख्दैनन्, सुन्दैनन्, र केही पनि जान्दैनन् । हजुरको सास आफ्नो हातमा लिनुहुने र हजुरका सबै मार्ग जान्‍नुहुने परमेश्‍वरलाई हजुरले आदर गर्नुभएको छैन । 24 अनि परमेश्‍वरले आफ्नो उपस्थितिबाट एउटा हात पठाउनुभयो र यो लेख लेखियो । 25 त्यो लेखिएको कुरा यस्तो छः ‘मेने, मेने, टेकेल, पर्सिन ।’ 26 यसको अर्थ यो होः ‘मेने,’ ‘परमेश्‍वरले हजुरको राज्यको गन्ती गर्नुभएको छ र त्यसको अन्त्य गर्नुभएको छ ।’ 27 ‘टेकेल,’ ‘तराजुमा हजुरको नाप लिइयो र हजुरमा कमी भेट्टाइयो ।’ 28 ‘पेरेस,’ ‘हजुरको राज्य विभाजित भएको छ र त्यो मादी र फारसीहरूलाई दिइएको छ ।’” 29 अनि बेलसजरले आज्ञा दिए, र दानिएललाई बैजनी कपडा पहिराइयो । उनको घाँटीमा सुनको सिक्री लगाइयो, र त्यस राज्यमा उनमा तेस्रो उच्‍च शासकको अधिकार हुनेछ भनेर राजाले घोषणा गरे । 30 त्यही रात बेबिलोनका राजा बेलसजर मारिए, 31 अनि मादी दाराले करीब बैसठ्ठी वर्षको उमेरमा त्यो राज्य प्राप्‍त गरे ।

6

1 दारालाई १२० जना प्रान्‍तिय गभर्नरहरू नियुक्त गर्न मन लाग्यो, जसले सारा राज्यभरि शासन गर्नेछन् । 2 तिनीहरूमाथि तिन जना प्रमुख प्रशासकहरू थिए, र तिनीहरूमध्ये दानिएल एक जना थिए । ती प्रमुख प्रशासकहरूले प्रान्‍तिय गभर्नरहरूको निगरानी गरून् जसले गर्दा राजालाई कुनै नोक्सान नहोस् भनेर तिनीहरूलाई नियुक्त गरिएको थियो । 3 अन्य प्रमुख प्रशासकहरू र प्रान्‍तिय गभर्नरहरूभन्‍दा दानिएल विशिष्‍ट थिए, किनभने उनमा असाधारण आत्मा थियो । राजाले उनलाई सारा राज्यमा प्रमुख बनाउने योजना गर्दै थिए । 4 अनि अरू प्रमुख प्रशासकहरू र प्रान्‍तिय गभर्नरहरूले त्यस राज्यको निम्ति दानिएलले गर्ने काममा त्रुटी खोज्न थाले, तर तिनीहरूले उनको काममा कुनै पनि भ्रष्‍टचार वा उनको जिम्मेवारीमा असफलता भेट्टाउन सकेनन्, किनभने उनी विश्‍वासयोग्य थिए । उनमा कुनै त्रुटी वा हेलचेक्र्याइँ भेट्टाइएन । 5 अनि यी मानिसहरूले भने, “आफ्‍नो परमेश्‍वरको व्यवस्थासँगको दानिएलको सम्बन्धको कुरामा तिनको विरुद्ध केही खोट नदेखाएसम्म हामीले तिनको विरुद्ध अरू कुनै अभियोग लगाउन सक्दैनौं ।” 6 अनि यी मुख प्रशासकहरू र प्रान्‍तिय गभर्नरहरूले राजाको सामु एउटा योजना ल्याए । तिनीहरूले उनलाई भने, “महाराजा दारा, हजुर दिर्घायु हुनुहोस् ! 7 राज्यका सबै प्रमुख प्रशासकहरू र क्षेत्रीय गभर्नरहरू र प्रदेशीय गभर्नरहरू, सल्लाहकारहरू, र अन्य गभर्नरहरूले एकसाथ सल्लाह गरी यो निर्णय गरेका छौं, कि राजाले एउटा यस्तो उर्दि निकाली त्यसलाई लागु गर्नुहोस्, र भन्‍नुहोस्, तिस दिनसम्म हजुरबाहेक अरू कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गर्‍यो भने, त्यो मानिस सिंहको खोरमा फालिनुपर्छ । 8 अनि राजाले एउटा उर्दि निकाले र कागजातमा दस्तखत गरे, ताकि मादी र फारसीहरूका नियमअनुसार त्यो परिवर्तन नहोस्, यसरी त्‍यसलाई हेरफेर गर्न सकिन्‍न ।” 9 यसरी राजा दाराले कागजातमा दस्तखत गरेर त्यस उर्दिलाई ऐन बनाए । 10 कागजातमा ऐन बनाउनलाई दस्तखत भएको छ भनी दानिएल थाहा पाएपछि, उनी आफ्नो घरमा गए (यरूशलेमतर्फ फर्केका उनको माथिल्लो कोठाका झ्यालहरू खुल्ला थिए), र जसरी उनले दिनको तिनपटक गर्ने गर्थे, त्‍यसरी नै उनले आफ्ना घुँडाहरू टेके, अनि उनले पहिले गरेझैं प्रार्थना गरे र आफ्ना परमेश्‍वरलाई धन्यवाद दिए । 11 अनि यी एकसाथ मिलेर षड्यन्त्र गरेका मानिसहरूले दानिएलले परमेश्‍वरसँग बिन्ती गरेका र उहाँसँग मदत मागेका देखे । 12 तब तिनीहरू राजाको नजिक गए र तिनको उर्दिको विषयमा तिनीसँग कुरा गरे: “हे महाराजा, के आउँदो तिस दिनसम्म हजुर, महाराजाबाहेक अरू कुनै देवता वा मानिसलाई प्रार्थना गर्ने मानिस सिंहको खोरमा फालिनुपर्छ भनेर हजुरले उर्दि निक्लनुभएको थिएन र?” राजाले जवाफ दिए, “मादी र फारसीहरूको ऐनअनुसार यो निश्‍चित छ, र यो हेरफेर हुन सक्दैन ।” 13 तब तिनीहरूले राजालाई जवाफ दिए, “यहूदाका निर्वासितहरूमध्ये एक जना ती दानिएलले हजुर, महाराजा, वा हजुरले दस्तखत गर्नुभएको उर्दिको वेवास्ता गर्छन् । तिनले आफ्नो परमेश्‍वरलाई दिनको तिन पटक प्रार्थना गर्छन् ।” 14 जबा राजाले यो कुरा सुने, तिनी धेरै विचलित भए, र दानिएललाई यस कानूनबाट बचाउन तिनले दिमाग लगाए । तिनले सूर्यास्तसम्मै दानिएललाई बचाउने हरसम्‍भव प्रयास गरे । 15 त्‍यसपछि षड्यन्त्र रच्ने यी मानिसहरू एकसाथ राजाकहाँ भेला भए र तिनलाई भने, “हे महाराजा हजुरलाई यो थाहा होस्, कि यो मादी र फारसीहरूको ऐन हो, जसलाई राजाले जारी गर्ने अर्को कुनै उर्दि वा नियमले हेरफेर गर्न सक्दैन ।” 16 अनि राजाले आज्ञा दिए र तिनीहरूले दानिएललाई भित्र ल्याए र तिनीहरूले उनलाई सिंहको खोरमा फाले । राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गर्ने तिम्रो परमेश्‍वरले तिमीलाई बचाऊन् ।” 17 खोरको ढोकामा एउटा ढुङ्गो ल्याएर राखियो, र दानिएलको विषयमा केही पनि परिवर्तन नहोस् भनेर राजाले त्यसमा आफ्नो अनि आफ्‍ना भारदारहरूका औंठीको मोहर लगाए । 18 त्‍यसपछि राजा आफ्नो महलमा गए र रातभरि उपवास बसे । तिनको अगि कुनै मनोरन्जनका कुरा ल्याइएन, र उनलाई कत्ति पनि निद्रा लागेन । 19 अनि राजा बिहान सबेरै उठे र उनी झट्टै सिंहको खोरतर्फ गए । 20 जसै तिनी खोरको नजिक आए, तिनले निरास भएको सोरले दानिएललाई यसो भनेर बोलाए, “ए दानिएल, जीवित परमेश्‍वरका सेवक, के तिमीले निरन्तर सेवा गर्ने तिम्रा परमेश्‍वरले तिमीलाई सिंहहरूबाट बचाउन सक्षम हुनुभएको छ?” 21 अनि दानिएलले राजालाई भने, “महाराजा, अमर रहून्! 22 मेरा परमेश्‍वरले आफ्नो सन्देशवाहक पठाउनुभएको अनि सिंहहरूका मुखहरूलाई बन्द गर्नुभएको छ, र तिनीहरूले मलाई कुनै हानी गरेका छैनन् । किनभने उहाँ अनि हजुर, महाराजाका सामु म दोषरहित भेट्टाइएँ, र मैले हजुरलाई कुनै हानी गरेको छैनँ ।” 23 अनि राजा अत्‍यन्‍तै खुशी भए । तिनले दानिएललाई खोरबाट माथि निकाल्ने आदेश दिए । यसैले दानिएललाई खोरबाट माथि निकालियो । उनमा कुनै पनि चोट भेट्टाइएन, किनभने उनले आफ्ना परमेश्‍वरमाथि भरोसा गरेका थिए । 24 राजाले आदेश दिए र दानिएललाई दोष लगाउने मानिसहरूलाई तिनीहरूले ल्याए अनि तिनीहरू, तिनका छोराछोरी, र तिनका पत्‍नीहरूलाई सिंहहरूको खोरमा फालिदिए । तिनीहरू भुइँमा पुग्‍न नपाउँदै, सिंहहरूले तिनीहरूमाथि झम्टे, र तिनीहरूका हड्‍डीहरूलाई टुक्रा टुक्रा पारे । 25 त्‍यसपछि राजा दाराले पृथ्वीमा बस्‍ने सबै मानिसहरू, जातिहरू, र भाषा बोल्नेहरूलाई यस्तो लेखे: “तिमीहरूमा प्रशस्त शान्ति होस् । 26 म अब यो एउटा उर्दि जारी गर्छु, कि मेरो अधिराज्यमा रहने सबै मानिसले दानिएलका परमेश्‍वरको भय मान्‍नू र आदर गर्नू, किनभने उहाँ नै जीवित परमेश्‍वर हुनुहुन्छ र उहाँ सदासर्वदा रहनुहुन्छ, र उहाँको राज्य नष्‍ट हुनेछैन, र उहाँको प्रभुत्व अन्त्यसम्म रहनेछ । 27 उहाँले हामीलाई सुरक्षित राख्‍नुहुन्छ र हामीलाई बचाउनुहुन्छ, अनि उहाँले स्वर्गमा र पृथ्वीमा चिन्हहरू र आश्‍चर्य कामहरू गर्नुहुन्छ । उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट सुरक्षित राख्‍नुभएको छ ।” 28 यसरी दाराको शासनकालमा अनि फारसी कोरेसको शासनकालमा दानिएल समृद्धि भयो ।

7

1 बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा, दानिएल आफ्नो ओछ्यानमा पल्टिरहँदा तिनले एउटा सपना र दर्शन देखे । अनि तिनले सपनामा देखेका कुरालाई लेखे । तिनले सबैभन्दा महत्त्वपूर्ण घटनाहरूलाई लेखेः 2 दानिएलले वर्णन गरे, “रातमा मैले देखेको दर्शनमा स्‍वर्गका चार बतासले महान् समुद्रलाई घोलिरहेको मैले देखें । 3 प्रत्‍येक नै एक-अर्काबाट भिन्‍न चार विशाल पशु समुद्रबाट बाहिर आए । 4 पहिलोचाहिं सिंहजस्‍तो देखिन्‍थ्‍यो तर त्‍यसका चीलका पखेटाहरू थिए । मैले हेर्दै गर्दा, त्यसका पखेटाहरू च्यातिए र जमिनबाट त्‍यसलाई माथि उठाइयो र मानिसझैं दुई खुट्टामा त्यसलाई खडा गरियो । त्यसलाई मानिसको मन दिइएको थियो । 5 अनि त्‍यहाँ अर्को एउटा भालुजस्तो पशु थियो, र त्यो झुकिरहेको थियो । आफ्‍ना दाँतहरूका बिचमा त्‍यसले तिनवटा करङ थिए । त्यसलाई यसो भनियो, ‘उठ्‍ र धेरै जना मानिसलाई खा ।’ 6 यसपछि मैले फेरि हेरें । त्यहाँ अर्को एउटा पशु थियो, जुन चितुवाजस्तो देखिन्थ्यो । त्यसको पछाडिपट्टि चराका जस्‍तै चारवटा पखेटा थिए, र त्यसका चारवटा टाउका थिए । राज्‍य गर्ने अधिकार त्यसलाई दिइएको थियो । 7 त्यसपछि रातको दर्शनमा डरलाग्दो, भयङ्कर, र धेरै बलियो थियो एउटा चौथो पशु मैले देखें । त्यसका फलाममा ठुला-ठुला दाँत थिए । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीलाई खुट्टामुनि कुल्‍चियो । अरू पशुभन्दा त्यो फरक थियो, र त्यसका दशवटा सिङ थिए । 8 जसै मैले ती सिङहरूका बारेमा विचार गर्दै थिएँ, मैले हेरें र ती सिङका बिचमा अर्को एउटा सानो सिङ बढ्‍दै गरेको देखें । पहिलो तिनवटा सिङ उखेलिएर झरे । यो सिङका आँखा मानिसका आँखाजास्‍ता भएको मैले देखें र त्यसको एउटा मुखले ठुला कुराहरूको सेखी गर्दै थियो । 9 जसै मैले हेरें, सिंहासनहरू तयार पारिएका थिए, र दिनहरूभन्‍दा प्राचीनले चाहिं आफ्नो आशन ग्रहण गर्नुभयो । उहाँका वस्‍त्र हिउँझैं सेता थिए, र उहाँको शिरको कपाल शुद्ध ऊनजस्तो थियो । उहाँको सिंहासनमा आगोको ज्वाला थियो, र त्यसका चक्‍काहरू बलिरहने आगो थियो । 10 उहाँको सामुबाट आगोको नदी बग्यो । लाखौं-लाखले उहाँको सेवा गरे, र दस करोडचाहिं उहाँको सामु खडा थिए । अदालतले न्यायको काम सुरु गर्‍यो, र पुस्तकहरू खोलिए । 11 त्यो सिङले बोलेका अहङ्कारपुर्ण वचनहरूका कारणले मैले निरन्‍तर हेरें । त्यो पशु मारिएको र त्यसको शरीर नष्‍ट पारिएको, र त्यसलाई जलाउनलाई दिइएको मैले देखें । 12 चारवटा पशुमध्‍येका अरू बाँकीका बारेमा, राज्‍य गर्ने अधिकार खोसियो, तर केही समयको निम्ति तिनीहरूका उमेर बढाइयो । 13 त्यस रातको मेरा दर्शनहरूमा, आकाशका बादलहरूका साथमा मानिसका पुत्रजस्‍तै एक जना आउँदै गर्नुभएको मैले देखें । दिनहरूभन्‍दा प्राचीनकाहाँ उहाँ आउनुभयो र उहाँको सामु उपस्थित गराउनुभयो । 14 राज्‍य गर्नलाई अधिकार र महिमा र राजकीय शक्ति उहाँलाई दिइयो, यसैले कि सबै मानिसहरू, जातिहरू, र भाषा बोल्नेहरूले उहाँको सेवा गरून् । राज्‍य गर्ने उहाँको अधिकारचाहिं सदासर्वदाको अधिकार हो जुन बितेर जानेछैन, अनि उहाँको राज्य त्‍यस्‍तो हो जुन कहिल्यै पनि नाश हुनेछैन । 15 म दानिएलको बारेमा, मभित्र मेरो आत्मा दु:खित भयो, र मेरो मनमा मैले देखेका दर्शनहरूले मलाई विचलित बनाए । 16 त्यहाँ खडा भएकामध्ये एक जनाको नजिक म गएँ र यी कुराहरूको अर्थ मलाई देखाउनलाई मैले तिनलाई बिन्‍ती गरें । 17 ‘यी विशाल पशुका चारवटा सङ्ख्‍याले चार जना राजालाई जनाउँछन् जो पृथ्वीमा खडा हुनेहुन् । 18 तर सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूले त्यो राज्य प्राप्‍त गर्नेछन्, र तिनीहरूले सदासर्वदाको निम्ति त्‍यसको अधिकार गर्नेछन् ।’ 19 अनि त्‍यो चौथो पशुको बारेमा अझै धेरै जान्‍ने मलाई इच्‍छा भयो— त्‍यो अरूभन्दा धेरै फरक थियो र आफ्ना फलामका दाँत र काँसाका नङ्ग्राका कारणले त्‍यो धेरै डरलाग्‍दो थियो । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीमाथि खुट्टाले कुल्‍चियो । 20 त्यसको शिरका दशवटा सिङ र नयाँ पलाएको अर्को सिङ जसको सामु तिनवटा सिङ उखेलिएर झरेको बारेमा जान्‍ने इच्‍छा मलाई भयो। आँखा भएका सिङ र ठुला कुराहरूको सेखी गर्ने मुखको बारेमा जान्‍ने इच्‍छा मलाई भयो, अनि त्‍यो आफ्‍ना मित्रहरूभन्दा महान् देखिन्थ्यो । 21 जसै मैले हेरें, त्‍यो सिङले पवित्र मानिसहरूका विरुद्ध युद्ध सुरु गर्‍यो र तिनीहरूलाई पराजित गर्दै थियो, 22 जबसम्म दिनहरूभन्‍दा प्राचीन आउनुभएन, र सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूलाई न्याय दिनुभएन । तब समय आयो जब पवित्र मानिसहरूले राज्य प्राप्‍त गरे । 23 ती मानिसले यसो भने, ‘चौथो पशुको बारेमा, त्‍यो पृथ्वीमा चौथो राज्य हुनेछ जुनचाहिं अरू सबै राज्यभन्दा फरक हुनेछ । त्यसले सारा पृथ्वीलाई नाश गर्नेछ र त्यसलाई कुल्चनेछ र त्यसलाई टुक्रा-टुक्रा पार्नेछ । 24 दसवटा सिङका बारेमाचाहिं, यो राज्यबाट दस जना राजा खडा हुनेछन्, तिनीहरूभन्‍दा पछि अर्को खडा हुनेछ । पहिलेकाभन्दा ऊ फरक हुनेछ, र उसले तिन जना राजालाई पराजित गर्नेछ । 25 उसले सर्वोच्‍च परमेश्‍वरका विरुद्ध बोल्नेछ र सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूमाथि अत्याचार गर्नेछ । उसले चाडहरू र व्यवस्थालाई परिवर्तन गर्न कोसिस गर्नेछ । यी कुराहरूलाई उसको हातमा एक वर्ष, दुई वर्ष, र आधा वर्षको लागि दिइनेछ । 26 तर अदालतले न्यायको काम सुरु गर्नेछ, र अन्त्यमा भष्‍म पारिन र नाश गरिनलाई तिनीहरूले उसका राजकीय शक्तिलाई खोस्‍नेछन् । 27 राज्य र प्रभुत्व, र सम्‍पूर्ण स्वर्गमुनिका राज्यहरूको महान्‌ता ती मानिसहरूलाई दिइनेछ जो सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरू हुन् । उहाँको राज्य सदासर्वदाको राज्‍य हो, र अरू सबै राज्यहरूले उहाँको सेवा गर्नेछन् र उहाँको आज्ञा मान्‍नेछन् ।’ 28 कुराको अन्त यही हो । म, दानिएलको बारेमा, मेरा विचारहरूले मलाई धेरै भयभीत बनाए र मेरो अनुहारको स्‍वरूप परिवर्तन भयो । तर यी कुराहरू मैले आफूमा नै सिमित राखें ।”

8

1 राजा बेलसजरले राज्‍य गर्न सुरु गरेको तेस्रो वर्षमा, (मैले पहिला देखेको दर्शनपछि) म, दानिएलले अर्को दर्शन देखें । 2 मैले हेरिरहँदा, दर्शनमा मैले आफूलाई एलाम प्रदेशको शूशनको किल्लामा भएको देखें । दर्शनमा म ऊलै नहरको छेउमा थिएँ । 3 मैले माथि हेरें र मेरो सामु नहरको छेउमा दुईवटा सिङ भएको एउटा भेडालाई मैले देखें । एउटा सिङचाहिं अर्कोभन्दा लामो थियो, तर छोटोभन्दा लामो ढिला बढ्यो र छोटोले त्‍यसलाई जित्‍यो । 4 अनि त्यो भेडाले पश्‍चिममा, त्‍यसपछि उत्तरमा, र त्यसपछि दक्षिणमा हानिरहेको मैले देखें । त्यसको सामु अरू कुनै पशु खडा हुन सकेन । तीमध्‍ये कुनैले पनि कसैलाई पनि त्यसको हातबाट बचाउन सकेन । आफूलाई जे मन लाग्‍यो, त्‍यसले त्‍यही गर्‍यो, र त्यो महान् भयो । 5 जब मैले यसको बारेमा विचार गरिरहेको थिएँ, तब पश्‍चिमबाट आउँदै गरेको एउटा बोकोलाई मैले देखें, जो जमिनलाई नै नछोए जस्‍तो गरी द्रुत गतिमा दौडेर सम्‍पूर्ण पृथ्वीको सतहमा गयो । त्यो बोकोको आँखाहरूका बिचमा एउटा ठुलो सिङ थियो । 6 दुईवटा सिङ भएको भेडाकहाँ त्यो आयो—त्यो भेडालाई नहरको किनारमा खडा भएको मैले देखेको थिएँ— र त्यो बोको उक्‍त भेडातर्फ शक्तिशाली क्रोधमा दौडियो । 7 त्यो बोकोलाई उक्‍त भेडाको नजिक आएको मैले देखें । भेडासँग त्यो धेरै रिसाएको थियो, र त्यसले भेडालाई हिर्कायो र त्यसका दुईवटै सिङलाई भाँचिदियो । त्यसको सामु खडा हुनलाई त्यो भेडो शक्तिहीन थियो । बोकोले त्यसलाई भुइँमा ढाल्‍यो र त्यसलाई कुल्चियो । त्यसको शक्तिबाट त्यो भेडालाई बचाउने त्यहाँ कोही थिएन । 8 तब त्यो बोको धेरै ठुलो भयो । तर जब त्यो शक्तिशाली भयो, त्यसको ठुलो सिङ भाँचियो, र त्यसको ठाउँमा अरू चार ठुला सिङ पलाए जसले आकाशका चारै बतासलाई देखाए । 9 तीमध्येबाट अर्को एउटा सिङ पलायो, जुन पहिला सानो थियो, तर त्यो दक्षिणमा, पूर्वमा, र सुन्दरताको देशमा धेरै विशाल भयो । 10 त्यो यति विशाल भयो, कि त्यो स्वर्गको सेनासँग युद्ध गर्न तयार भयो । ती सेनामध्ये कोही र केही ताराहरू पृथ्वीमा फालिए, र त्यसले तीमाथि कुल्चियो । 11 त्यसले आफूलाई सेनाका कमान्‍डर जत्तिकै महान् बनायो । त्यसले उहाँबाट नियमित होमबलि खोसेर लग्यो, र उहाँको पवित्रस्थानलाई अशुद्ध पारियो । 12 विद्रोहको कारणले, त्‍यो सेनालाई बोकोको सिङकहाँ सुम्पिइनेछ, र होमबलि रोकिनेछ । त्यो सिङले सत्यतालाई तल जमिनमा फाल्नेछ, र त्यसले जे गर्छ त्यसमा त्यो सफल हुनेछ । 13 त्‍यसपछि एक जना पवित्र जनले बोल्‍दै गर्नुभएको र अर्को पवित्र जनले उहाँलाई यसो भनेर जवाफ दिंदै गर्नुभएको मैले सुनें, “यी दर्शनका कुराहरू रहने, होमबलि, सर्वनाश ल्याउने पाप, पवित्रस्थानको हस्तान्तरण, र स्वर्गका सेनाहरू कुल्चिइएका पूरा हुनलाई कहिलेसम्म लाग्‍छ ?” 14 उहाँले मलाई भन्‍नुभयो, “यो २,३०० साँझ र बिहानसम्म रहनेछ । त्यसपछि पवित्रस्थान फेरि शुद्ध पारिनेछ ।” 15 जब म, दानिएलले त्यो दर्शन देखें, तब मैले त्यो बुझ्ने कोसिस गरें । तब मेरो सामु एक जना खडा भए जो मानिसजस्तो देखिन्‍थे । 16 ऊलै नहरको किनाराहरूका बिचबाट एक जना मानिसले यस्तो भन्दै गरेको आवाज मैले सुनें । उहाँले भन्‍नुभयो, “ए गाब्रिएल, यो दर्शन बुझ्‍नलाई यस मानिसलाई मदत गर ।” 17 यसैले तिनी म उभिएको ठाउँ नजिक आए । जब तिनी आए, म भयभीत भएँ र आफूलाई भुइँमा लम्‍पसार पारेर दण्डवत् गरें । तिनले मलाई भने, “ए मानिसको पुत्र, यो दर्शन अन्तको समयको निम्ति हो भन्‍ने कुरा बुझ ।” 18 तिनले मसँग बोलिरहँदा, मेरो अनुहार भुइँमा घोप्‍टो पारेर म गहिरो निद्रामा निदाएँ । तब तिनले मलाई छोए र मलाई खडा गराए । 19 तिनले भने, “हेर, पछि क्रोधको समयमा के हुनेछ भनेर म तिमीलाई देखाउनेछु, किनभने यो दर्शन अन्त हुन तोकिएको समयको निम्ति हो । 20 तिमीले देखेका भेडाको बारेमा, जसका दुई सिङ थिए, ती मादी र फारसका राजाहरू हुन् । 21 त्यो बोकोचाहिं ग्रीसको राजा हो । त्यसका आँखाका बिचको सिङचाहिं पहिलो राजा हो । 22 अनि जुन सिङ भाँचियो, जसको ठाउँमा चारवटा अरू उम्रे, उसको राज्यबाट चारवटा राज्‍य खडा हुनेछन्, तर उसको महान् शक्तिमा होइन । 23 ती राज्यहरूको पछिल्लो समयमा, जब अपराधीहरूको पाप चरम सिमामा पुग्छ, एक जना हठी राजा खडा हुनेछ, जो धेरै बुद्धिमान् हुनेछ । 24 उसको शक्ति महान् हुनेछ— तर उसको आफ्नै शक्तिले होइन । उसले जे कुराको विनाश गर्छ, त्‍यसमा ऊ अचम्ममा पर्नेछ । काम गर्नेछ र सफल हुनेछ । उसले शक्तिशाली मानिसहरू, अर्थात् पवित्र जनहरूका बिचमा भएका मानिसहरूलाई सर्वनाश गर्नेछ । 25 आफ्नो धूर्तताले उसले आफ्नो हातमुनि छललाई सफल पार्नेछ । आफ्नै मनमा ऊ महान् हुनेछ । उसले अप्रत्‍यासित किसिमले धेरै मानिसहरूलाई नाश गर्नेछ । राजाहरूका राजाको विरुद्धमा पनि ऊ उठ्नेछ, र ऊ टुक्रा-टुक्रा पारिनेछ, तर मानिसका हातले होइन । 26 साँझ र बिहानको विषयमा बताइएका यी दर्शनहरू सत्य हुन् । तर यो दर्शनलाई मोहर लगाई बन्द गर, किनकि यसले भविष्यका धेरै दिनहरूलाई जनाउँछ ।” 27 अनि, म दानिएल थकित भएँ र केही दिनसम्म कमजोर भएँ । त्यसपछि, म उठें, र राजाको कामधन्धामा लागें । तर म दर्शनको कारणले भयभीत भएँ, र यसलाई बुझ्ने त्यहाँ कोही थिएन ।

9

1 दारा मादी वंशका अहासूरसका छोरा थिए । यी तिनै अहासूरस थिए जसलाई बेबिलोनको राज्यमाथि राजा बनाइएको थियो । 2 अब दाराले राज्‍य सुरु गरेको पहिलो वर्षमा, म दानिएलले, परमप्रभुको वचन पढ्दै थिएँ, जुन वचन यर्मियाकहाँ अगमवक्ता आएको थियो । यरूशलेम त्‍यागिएको अवस्‍थामा सत्तरी वर्षसम्म रहन्‍छ भनिएको मैले देखें । 3 उपवाससहित प्रार्थना र बिन्ती गर्न, भाङ्ग्रा लगाउँदै र खरानीमा बस्‍दै परमप्रभु परमेश्‍वरको खोजी गर्न मैले आफ्‍नो अनुहार उहाँतर्फ फर्काएँ । 4 परमप्रभु आफ्‍नो परमेश्‍वरसँग मैले प्रार्थना गरें, अनि मैले हाम्रा पापहरू स्वीकारें । मैले भनें, “कृपया, हे परमप्रभु, तपाईं महान् र भययोग्य परमेश्‍वर हुनुहुन्छ, तपाईंले आफ्नो करारको पालन गर्नुहुन्छ र तपाईंलाई प्रेम गर्ने र तपाईंका आज्ञाहरू मान्‍नेलाई प्रेम गर्न तपाईं विश्‍वासयोग्य हुनुहुन्छ । 5 हामीले पाप गरेका छौं र गलत काम गरेका छौं। हामीले दुष्‍टतापुर्वक काम गरेका छौं र तपाईंका आज्ञा र विधिहरूबाट तर्केर हामीले बागी भएका छौं। 6 तपाईंका नाउँमा हाम्रा राजाहरू, अगुवाहरू, पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका तपाईंका सेवक अगमवक्ताहरूका वचन हामीले सुनेका छैनौं । 7 हे परमप्रभु, धार्मिकता तपाईंको हो । तर आज, हाम्रो अनुहार, अनि यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरू, र सारा इस्राएलीहरू लाजमा परेका छन् । अनि तपाईंले विभिन्‍न ठाउँहरूमा छरपष्‍ट पार्नुभएका नजिक र टाढाका सबै मानिसहरू त्यसमा समावेश हुन्‍छन् । हामीले तपाईंको विरुद्धमा गरेका विश्‍वासघातको कारणले नै यस्‍तो भएको हो । 8 हे परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका कारणले गर्दा, हामी, हाम्रा राजाहरू, अगुवाहरू, र पुर्खाहरूका अनुहार शर्ममा परेका छन् । 9 दया र क्षमा परमप्रभु हाम्रा परमेश्‍वरका हुन्, किनकि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौं । 10 आफ्‍ना सेवक अगमवक्ताहरूद्वारा परमप्रभुले हामीलाई दिनुभएका उहाँका व्यवस्थामा हिंड्नलाई हामीले उहाँको वचन मानेका छैनौं । 11 तपाईंको वचन पालन गर्नलाई इन्‍कार गरेर सबै इस्राएलले तपाईंको व्यवस्थाको विरुद्धमा अपराध गरेका छन्। परमेश्‍वरका सेवक मोशाका व्यवस्थामा लेखिएका सराप र प्रतिज्ञा हामीमाथि खनिएका छन्, किनकि हामीले उहाँको विरुद्ध पाप गरेका छौं। 12 परमप्रभुले हामीमाथि ठुलो विपत्ति ल्याउनुभएर उहाँले हामी र हाम्रा शासकहरूका विरुद्धमा बोल्नुभएका वचनहरू पुरा गर्नुभएको छ । किनभने यरूशलेमलाई जे गरिएको छ सारा स्वर्गमुनि त्यस्तो कहिल्यै गरिएको छैन । 13 मोशाको व्यवस्थामा लेखिएझैं सबै विपत्ति हामीमाथि आइपरेको छन्, तापनि आफ्ना पापबाट फर्केर र तपाईं परमप्रभु परमेश्‍वरका सत्यतामा ध्यान दिएर हामीले तपाईंबाट कृपा पाउन अझैसम्‍म बिन्ती गरेका छैनौं । 14 यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्‍नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्‍वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं । 15 अब हे परमप्रभु हाम्रा परमेश्‍वर, शक्तिशाली हातले तपाईंले आफ्ना मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र आजको दिनसम्म तपाईंले आफ्नो नामको ख्याति कायम राख्‍नुभएको छ । तापनि हामीले अझै पाप गर्‍यौं, र हामीले दुष्‍ट काम गरेका छौं । 16 हे परमप्रभु, तपाईंका सबै धार्मिक कामहरूका कारणले, तपाईंको सहर यरूशलेम, तपाईंको पवित्र पर्वतबाट तपाईंको रिस र क्रोध हटोस् । हाम्रा पापहरू र हाम्रा पुर्खाहरूका अपराधहरूका कारणले, यरूशलेम र हाम्रा वरिपरि भएका तपाईंका मानिस सबै घृणाका पात्र भएका छन् । 17 अब हे हाम्रा परमेश्‍वर, तपाईंको दासको प्रार्थना र कृपाको निम्ति गरिएको उसको निवेदन सुन्‍नुहोस् । हे परमप्रभु, तपाईंको खातिर, उजाड भएको तपाईंको पवित्र स्थानमा आफ्नो अनुहार चम्काउनुहोस् । 18 मेरा परमेश्‍वर, आफ्ना कान खोल्‍नुहोस् र सुन्‍नुहोस् । आफ्ना आँखा खोल्‍नुहोस् र हेर्नुहोस् । हामी तहस-नहस पारिएका छौं। तपाईंको नामद्वारा पुकारिने त्‍यो सहरलाई हेर्नुहोस् । हाम्रो धार्मिकताको कारणले होइन, तर तपाईंको महान् कृपाको कारणले तपाईंबाट सहायता पाउनलाई हामी बिन्ती गर्छौं । 19 हे परमप्रभु सुन्‍नुहोस्! हे परमप्रभु क्षमा गर्नुहोस्! हे परमप्रभु ध्यान दिनुहोस् र काम गर्नुहोस् । हे मेरा परमेश्‍वर, तपाईंको आफ्नै निम्‍ति ढिला नगर्नुहोस्, किनभने तपाईंको सहर र तपाईंका मानिस तपाईंकै नाउँले बोलाइन्‍छन् ।” 20 जब म बोलिरहेको, प्रार्थना गरिरहेको र आफू अनि आफ्‍ना मानिस इस्राएलका पाप स्‍विकार गरिरहेको थिएँ, र परमेश्‍वरको पवित्र पर्वत निम्‍ति परमप्रभु मेरा परमेश्‍वरको सामु मेरा बिन्‍तीहरू राख्दै थिएँ— 21 मैले प्रार्थना गरिरहँदा, मैले दर्शनमा पहिला देखेको मानिस, गाब्रिएल साँझको बलिदानको समयमा तिव्र वेगले उडेर तल मकाहाँ आए । 22 उनले मलाई समझ दिए र मलाई भने, “ए दानिएल, तिमीलाई अन्तर्दृष्‍टि र समझ दिनलाई अहिले म आएको हुँ । 23 तिमीले कृपाको निम्ति बिन्ती गर्न सुरु गर्दा, आज्ञा दिइयो र तिमीलाई जवाफको बारेमा बताउनलाई म आएको हुँ, किनकि तिमीलाई धेरै प्रेम गरिएको छ । यसकारण यो वचन विचार गर र प्रकट भएको कुरालाई बुझ । 24 तिम्रा मानिसहरू र तिम्रो पवित्र सहरको दोषको अन्‍त्‍य गर्न र पापलाई अन्त्य गर्न, दुष्‍टताको निम्ति पश्‍चात्ताप गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई पुरा गर्न, र अति पवित्र स्थानलाई शुद्ध पार्नलाई सत्तरी सातहरूको आदेश दिइएको छ । 25 यो जान र बुझ, कि यरूशलेमलाई पुनर्स्थापित र पुनर्निर्माण गर्ने आज्ञा दिएपछि, अभिषिक्त जनको (जो अगुवा हुनेछन्) आगमनसम्‍म त्यहाँ सात सातहरू र बैसठ्ठी सातहरू हुनेछन् । धेरै विपदका समयहरू हुने भए तापनि, सडकहरू र सुरुङहरूसहित यरूशलेमको पुनर्निर्माण हुनेछ । 26 बैसठ्ठी सातहरूपछि, अभिषिक्त जनलाई नाश पारिनेछ र तिनीसँग केही पनि हुनेछैन । आउनेवाला शासकका सेनाले सहर र पवित्र स्थानलाई नाश गर्नेछ । बाढीसँगै त्यसको अन्त्य आउनेछ, र अन्त्‍यसम्मै युद्ध हुनेछ । सर्वनाश पार्ने आज्ञा दिइएको छ । 27 एउटा सातको निम्‍ति तिनले धेरै जनासँग करार सदर गर्नेछन् । सातको बिचमा तिनले बलिदान र भेटीलाई समाप्‍त गर्नेछन् । घृणित कुराहरूको पखेटामा कोही व्‍यक्‍ति आउनेछ जसले सर्वनाश गर्नेछ । सर्वनाश गर्ने व्‍यक्‍तिलाई पूर्ण रूपमा खत्तम गर्ने र विनाश पार्ने आदेश भएको छ ।”

10

1 फारसका राजा कोरेसको तेस्रो वर्षमा दानिएललाई एउटा सन्देश प्रकट गरियो जसलाई बेलतसजर पनि भनिन्‍थ्‍यो। यो सन्देश साँचो थियो । यो एउटा ठुलो युद्धको विषयमा थियो । आफूले दर्शनबाट अन्तर्दृष्‍टि पाएपछि दानिएलले यो सन्देश बुझे । 2 ती दिनहरूमा म दानिएल, तिन हप्‍तासम्म शोक गरिरहें । 3 तिन हप्‍ता पुरै नबितेसम्म नै मैले कुनै मिठो खाना खाइनँ, न मासु खाएँ, न दाखमद्य पिएँ, न त मैले आफैंलाई तेलले अभिषेक गरें । 4 पहिलो महिनाको चौबीसौं दिनमा, जब म त्यो विशाल नदी (अर्थात् टाइग्रिस) को छेउमा थिएँ, 5 मैले माथि हेरें र सूतीको लुगा लगाएका एक जना मानिसलाई देखें, जसको कम्मरमा उफाजको शुद्ध सुनले बनेको पेटी बाँधिएको थियो । 6 तिनको शरीर पीतमणिजस्‍तो र तिनको अनुहार बिजुलीजस्‍तो थियो । तिनका आँखा बलिरहेका राँकोजस्‍ता थिए, र तिनका हात र खुट्टाहरू टल्‍काइएका काँसाजस्‍तै थिए । तिनको वचन आवाज एउटा ठुलो भीडको जस्‍तो थियो । 7 म, दानिएल एक्‍लै त्यो दर्शन देखें, किनकि मसँगै भएका मानिसहरूले त्यो दर्शन देखेनन् । तपनि, तिनीहरूमा एउटा ठुलो त्रास पर्‍यो, र तिनीहरू आफू लुक्‍नलाई भागे । 8 यसैले म एक्लै छोडिएँ र यो महान् दर्शन देखें । ममा बल बाँकी रहेन । मेरो उज्यालो अनुहार नै अँधयारो भयो, र ममा कुनै शक्ति नै रहेन । 9 तब मैले तिनका शब्‍दहरू सुनें— र मैले ती सनिरहँदा, म जमिनमा घोप्टो परेर गहिरो निद्रामा निदाएँ । 10 मलाई एउटा हातले छोयो, र त्‍यसले मेरा घुँडाहरू र हत्केलाहरूलाई थरथर काँम्‍ने बनायो । 11 ती स्वर्गदूतले मलाई भने, “ए दानिएल, धेरै सम्‍मान पाएको मानिस, मैले तिमीलाई भनिरहेका वचनलाई बुझ । सिधा खडा होऊ, किनकि मलाई तिमीकहाँ पठाइएको छ ।” तिनले मलाई यो सन्देश बोलेको समयमा, थरथर काम्दै म उठें । 12 अनि तिनले मलाई यसो भने, “ए दानिएल, नडराऊ । बुझ्न र आफ्‍नो परमेश्‍वरको सामु आफैंलाई नम्र बनाउन तिमीले प्रयास गरेका पहिलो दिनदेखि नै तिम्रा शब्दहरूको सुनुवाइ भएको छ, र तिम्रा शब्दहरूकै कारणले म आएको छु । 13 तर फारस राज्यका राजकुमारले मेरो विरोध गर्‍यो, र मलाई एक्‍काइस दिनसम्म फारसका राजाहरूसँग राखियो । तर प्रधान राजकुमारहरूमध्ये एक, मिखाएल मलाई सहायता गर्न आए । 14 तिम्रा मानिसहरूलाई अन्तका दिनमा के हुनेछ भनेर बुझ्न तिमीलाई मदत गर्न म आएको हुँ । किनकि यो दर्शनचाहिं अझै आउन बाँकी दिनको निम्ति हो ।” 15 जब तिनले यी शब्दहरूको प्रयोग गरी मसँग बोल्दै थिए, मैले मेरो मुहारलाई जमिनतर्फ झुकाएँ र म बोल्न सकिनँ । 16 मानिसका पुत्रजस्‍तै देखिने एक जनाले मेरो ओठहरूमा छोए, र मैले आफ्‍नो मुख खोलें र मेरो सामु हुनेसँग बात गरें, “हे मेरा मालिक, दर्शनको कारणले गर्दा म वेदनामा परेको छु । मसँग बल छैन । 17 म तपाईंको सेवक हुँ । कसरी म आफ्‍नो मालिकसँग बोल्न सक्छु? किनकि म जान्‍दछु कि मसँग बल छैन, र ममा सास पनि बाँकी छैन ।” 18 मानिसजस्ता देखिनेले मलाई फेरि छोए र मलाई शक्ति दिए । 19 तिनले भने, “ए धेरै सम्‍मान पाएको मानिस, नडराऊ । तिमीलाई शान्ति होस् ! अब शाहसी होऊ, बलियो होऊ !” तिनी मसँग बोल्दै गर्दा, ममा बल आयो । मैले भनें, “ए मेरा मालिक बोल्नुहोस्, किनकि तपाईंले मलाई शक्ति दिनुभएको छ ।” 20 तिनले भने, “म तिमीकहाँ किन आएँ के तिमीलाई थाहा छ? म छिट्टै फारसका राजकुमारसँग यद्ध गर्नलाई फर्कनेछु । म गएपछि, ग्रीसका राजकुमार आउनेछन् । 21 तर सत्यको पुस्तकमा के लेखिएको छ, म तिमीलाई बताउनेछु । तिम्रा राजकुमार मिखाएल बाहेक अरू कसैले पनि तिनीहरूका विरुद्ध मलाई शाहसी बनाउन सक्दैनन् ।”

11

1 मादी दाराको पहिलो वर्षमा, म आफैं मिखाएलको मदत र सुरक्षा गर्न आएँ । 2 अब म तिमीलाई सत्य कुरा बताउँछु । फारसमा तिन जना राजा खडा हुनेछन्, र अरूभन्दा चौथोचाहिं धेरै धनी हुनेछ । आफ्नो धनदौलतबाट त्यसले शक्ति हासिल गरेपछि, त्यसले सबैलाई ग्रीस राज्यको विरुद्ध उत्तेजित गर्नेछ । 3 एक जना शक्तिशाली राजा खडा हुनेछन्, जसले धेरै विशाल राज्यमा शासन गर्नेछन्, र आफ्नै इच्छाअनुसार तिनले काम गर्नेछन् । 4 तिनी खडा भएपछि, तिनको राज्य टुक्राटुक्रा हुनेछ र स्वर्गका चार बतासतिर त्यो विभाजित हुनेछ, तर तिनका आफ्नै वंशमा होइन, अनि तिनले राज्य गरिरहँदाको शक्तिले तिनको शक्तिले होइन । किनकि तिनको राज्य तिनको वंशको निम्ति नभएर अरूका निम्ति उखेलिनेछ । 5 दक्षिणको राजा धेरै शक्तिशाली हुनेछन्, तर तिनका कमान्‍डरमध्ये एकजना तिनीभन्दा शक्तिशाली हुनेछ र आफ्‍नो राज्यलाई ठुलो शक्तिले शासन गर्नेछ । 6 केही वर्षपछि, ठिक समयमा, तिनीहरूले मित्रता कायम गर्नेछन् । सम्झौता पक्‍का गर्नलाई दक्षिणको राजाकी छोरी उत्तरको राजाकहाँ जान्छिन् । तर तिनको आफ्‍नो हातको बल कायम राख्‍न सक्‍नेछैनन्, न त उनले वा उनको हातले नै सक्‍नेछन् । तिनी र तिनलाई ल्‍याउनेहरू र तिनका पिता र ती समयमा तिनको समर्थन गर्ने सबै त्यागिनेछन् । 7 तर तिनको ठाउँमा तिनका जराहरूबाट एउटा हाँगो पलाउनेछ । उनले उत्तरको राजाको सेनालाई आक्रमण गर्नेछन् र किल्लाभित्र प्रवेश गर्नेछन् । उनले तिनीहरूसित लडाइँ गर्नेछन् र तिनीहरूमाथि विजय पाउनेछन् । 8 उनले तिनीहरूका देवताहरू र तिनीहरूका ढलौटे फलामका मूर्तिहरू र सुन र चाँदीका बहुमुल्य भाँडाहरू मिश्रदेशमा लानेछन् । केही वर्षसम्‍म उनी उत्तरका राजाबाट टाढा रहनेछन् । 9 अनि उत्तरका राजाले दक्षिणको राजाको राज्यमाथि आक्रमण गर्नेछन्, तर तिनि आफ्नै देशमा फर्कनेछन् । 10 तिनका छोराहरू तयार हुनेछन् र ठुलो सेनालाई भेला गर्नेछन् । त्यो निरन्‍तर अघि बढ्‍नेछ र बाढीले झैं हरेक कुरा बगाउनेछ । सबैलाई जित्‍दै त्‍यो उसको किल्लासम्मै पुग्‍नेछ । 11 तब दक्षिणको राजा धेरै क्रुद्ध हुनेछन् । तिनी जानेछन् र उत्तरको राजाको विरुद्धमा लडाइ गर्नेछन् । उत्तरको राजाले एउटा ठुलो सेना खडा गर्नेछन्, तर त्यो सेनालाई दक्षिणको राजाको हातमा दिइनेछ । 12 त्यो सेना लगिनेछ, र दक्षिणको राजाको हृदय घमण्डले फुल्नेछ, र तिनले दसौं हजारलाई मार्नेछन्, तर तिनी विजयी हुनेछैनन् । 13 अनि उत्तरको राजाले पहिलेको धेरै भन्दा शक्तिशाली अर्को सेना खडा गर्नेछन् । केही वर्षपछि, उत्तरका राजा निश्‍चय नै शक्तिशाली सेनाका साथमा धेरै हतियारका साथमा आउनेछन् । 14 ती समयमा धेरै जना दक्षिणको राजाको विरुद्धमा खडा हुनेछन् । दर्शन पुरा गर्नलाई तिम्रा मानिसहरूका बिचमा भएका हिंसात्‍मक छोराहरूले आफैंलाई तयार पार्नेछन्, तर तिनीहरू ठेस खानेछन् । 15 उत्तरका राजा आउनेछन्, र घेरा मचान बनाउनलाई माटो थुपार्नेछन् र पर्खालले घेरिएको सहरलाई कब्जा गर्नेछन् । दक्षिणको शक्ति टिक्‍न सक्‍नेछैन, तिनीहरूका सर्वोत्कृष्‍ट सेना पनि टिक्‍न सक्दैन । खडा हुने शक्ति हुनेछैन । 16 बरु, आउनेले चाहिं आफ्नो इच्छा अनुसार उनको विरुद्ध व्यवहार गर्नेर्छन् । तिनको मार्गमा कोही खडा हुनेछैन । सुन्दरताको देशमा तिनी खडा हुनेछन्, र विनाश तिनको हातमा हुनेछ । 17 उत्तरको राजा आफ्नो सम्पूर्ण राज्यको शक्तिमा आउने निर्णय गर्नेछन्, र तिनीसित सम्झौताको एउटा दस्‍तावेज हुनेछ जुन तिनले दक्षिणको राजासँग गर्नेछन् । दक्षिणको राज्यलाई खत्तम गर्न तिनले एउटी स्‍त्रीको छोरीलाई उनीसित विवाहमा गरिदिनेछन् । तर त्यो योजनाले तिनलाई सफल वा मदत हुनेछैन । 18 यसपछि, उत्तरको राजाले समुद्रतटका देसहरूमा ध्यान लगाउनेछ र तीमध्ये धेरैलाई अधीन गर्नेछन् । तर एक जना कमान्‍डरले तिनको घमण्डको अन्त्य गर्नेछन् र तिनको घमण्डलाई तिनैकहाँ फर्काउनेछन् । 19 तब तिनले आफ्नै देशका किल्लाहरूतर्फ ध्यान दिनेछन्, तर तिनी ठेस खानेछन् र त्यो ढल्‍नेछन् । तिनी फेरि भेट्टाइनेछैनन् । 20 तब तिनको ठाउँमा अरू कोही एक जना खडा हुनेछन् जसले राज्यको वैभवको निम्ति एक जना कर उठाउनेलाई घुसपैट गर्न लगाउनेछन् । तर केही दिनमा कुनै रिस वा युद्धविना नै तिनी टुक्रा-टुक्रा पारिनेछन् । 21 तिनको ठाउँमा एक जना तुच्छ मानिस खडा हुनेछ जसलाई मानिसहरूले राजकीय शक्तिको सम्मान दिनेछैनन् । ऊ अचानक आउनेछ र छल गरेर उसले राज्यलाई कब्जा गर्नेछ । 22 उसको सामु एउटा सेनालाई बाढीले झैं बगाउनेछ । करार सेना र अगुवा दुवै नष्‍ट हुनेछन् । 23 ऊसित मित्रता गरेको समयदेखि नै उसले छलपूर्ण ढङ्गले काम गर्नेछ । थोरै मानिसको साथमा पनि ऊ शक्तिशाली हुनेछ । 24 कुनै चेतावनीविना नै ऊ प्रदेशको सबैभन्दा सम्‍वृद्ध ठाउँमा आउनेछ, र उसको बुबा वा हजुरबुबाले नगरेका काम त्यसले गर्नेछ । उसले लुटका सामान र धन-सम्पत्ति आफ्ना अनुयायीहरूसँग बाँड्नेछ । उसले किल्लाहरूलाई हटाउने योजना गर्नेछ, तर केही समयको लागि मात्र हुनेछ । 25 ऊ आफ्नो शक्ति र हृदयसहित ठुलो सेनाको साथमा दक्षिणको राजाको विरुद्धमा उठ्नेछ । दक्षिणको राजाले ठुलो, र धेरै शक्तिशाली सेनासँग युद्ध गर्नेछ, तर तिनको विरुद्धमा अरूले षड्यन्त्र गरेको कारणले गर्दा तिनी टिक्‍नेछैनन् । 26 तिनको मिठा भोजन खानेहरूले समेत तिनलाई नाश गर्न खोज्नेछन् । बाढीले झैं तिनका सेना बगाइनेछ, र तीमध्‍ये धेरै जना मारिनेछन् । 27 यी दुवै राजाहरू, आफ्नो हृदयमा एक-अर्काको विरुद्धमा दुष्‍टता लिएर, एउटै टेबिलमा बस्‍नेछन् र एक-अर्कालाई ढाँट्‍नेछन्, तर त्यो केही कामको हुनेछैन । किनभने तोकिएकै समयमा अन्त्य आउनेछ । 28 अनि उत्तरका राजा धेरै धनदौलत लिएर, आफ्नो हृदयलाई पवित्र करारको विरुद्धमा उठाएर आफ्नै देशमा फर्कनेछ । उसले त्यस्तै काम गर्नेछ र आफ्नै देशमा फर्कनेछ । 29 तोकिएको समयमा ऊ फर्कनेछ र दक्षिणको विरुद्धमा खडा हुनेछ । तर यस पटक पहिलाको झैं हुनेछैन । 30 किनभने कित्तिमका जहाजहरू उसको विरुद्धमा आउनेछन्, र ऊ डराउनेछ र पछि हट्नेछ । त्यो पवित्र करारको विरुद्ध ऊ रिसले चूर हुनेछ, र पवित्र करारलाई त्याग्‍नेहरूलाई उसले समर्थन गर्नेछ । 31 उसको सैन्य-बल उठ्नेछ र पवित्र-स्‍थानका किल्लाहरूलाई अशुद्ध पार्नेछ । तिनीहरूले दैनिक होमबलि हटाउनेछन्, र तिनीहरूले घृणित थोक स्थापना गर्नेछन् जसले विनाश ल्याउनेछ । 32 अनि करारको विरुद्धमा दुष्‍टतापूर्ण काम गर्नेहरूलाई उसले तिनलाई धोका दिनेछ र तिनलाई भ्रष्‍ट पार्नेछ । तर आफ्ना परमेश्‍वरलाई चिन्‍ने मानिसहरू बलियै हुनेछन् र सोअनुसार काम गर्नेछन् । 33 मानिसहरूमध्ये बुद्धिमान्‌ले धेरै जनालाई बुझाउनेछ । तर तरवार र आगोले तिनीहरू ढल्‍नेछन् । तिनीहरू कैदमा जानेछन् र धेरै दिनसम्म लुटिनेछन् । 34 तिनीहरू ढलेका अवस्‍थामा, तिनीहरूलाई थोरै सहायता मिल्नेछ । कपट गरेर धेरै जनाले तिनीहरूसँग मिलाप गर्नेछन् । 35 बुद्धिमान्‌मध्‍ये कोही-कोहीले ठेस खानेछन्, जसले गर्दा तिनीहरू अन्तको समयसम्म खारिनेछन्, शुद्ध पारिनेछन्, र दागरहित हुनेछन् । किनभने तोकिएको समय आउन अझै बाँकी हुन्‍छ । 36 राजाले आफ्नो इच्छाहरूअनुसार काम गर्नेछ । उसले आफैंलाई उठाउनेछ र सारा देवहरूमाथि आफूलाई महान् बनाउनेछ । देवहरूका परमेश्‍वरको विरुद्धमा उसले आश्‍चर्यलाग्दा कुराहरू भन्‍नेछ, किनभने क्रोधको समय पूरा नभएसम्म ऊ सफल हुनेछ । किनभने जे आदेश दिइएको छ, त्यो पूरा भएरै छोड्‍नेछ । 37 आफ्ना पुर्खाका देवहरू वा स्‍त्रीहरूले रुचाएका देवप्रति पनि उसले ध्यान दिनेछैन । न त उसले अन्य देवहरूप्रति ध्यान दिनेछ । किनभने सबैभन्दा माथि उसले आफैंलाई महान् बनाउनेछ । 38 यीभन्दा किल्लाहरूका देवलाई उसले सम्मान गर्नेछ । उसले पुर्खाहरूले नमान्‍ने देवलाई उसले सुन र चाँदी, र बहुमुल्य पत्थरहरू, अनि महत्त्वपूर्ण उपहारहरूले सम्मान गर्नेछ । 39 सबैभन्दा बलिया किल्लाहरूलाई उसले पराई देवको सहायताले आक्रमण गर्नेछ । उसका कुरा मान्‍ने हरेकलाई उसले धेरै सम्मान दिनेछ । उसले तिनीहरूलाई धेरै मानिसहरूका शासकहरू बनाउनेछ, र त्यो देशलाई उसले इनामको रूपमा विभाजन गर्नेछ । 40 अन्त्यको समयमा, दक्षिणका राजाले आक्रमण गर्नेछन् । उत्तरको राजाले दक्षिणको राजाको विरुद्ध रथहरू र घोडचडीहरू, र धेरै जहाजहरूको साथमा आँधीझैं युद्ध गर्नेछ । ऊ धेरै देशहरूका विरुद्ध जानेछ, र तिनीहरूलाई बाढीले झैं बगाउनेछ र अगि बढ्नेछ । 41 ऊ सुन्दारताको देशमा जानेछ, र दशौं हजार इस्राएलीहरू मर्नेछन् । तर त्यसका हातबाटः एदोम, मोआब, र अम्मोनका मानिसमद्‍ये बाँकी रहेकाहरू उम्‍कनेछन् । 42 उसले देशहरूमाथि आफ्नो अधिकार फैलाउनेछ । अनि मिश्रदेश बचाइनेछैन । 43 सुन र चाँदीका, र मिश्रदेशका सारा धन-सम्पत्तिमा उसले नियन्त्रण गर्नेछ । लिबियाली र कूशीहरू उसका पाउँमुनि हुनेछन् । 44 तर पूर्व र उत्तरबाट आउने समाचारले उसलाई भयभीत बनाउनेछ, र पूर्ण रूपमा नाश गर्न र धेरैलाई विनाशको निम्ति अलग गर्न ऊ क्रोधित भएर जानेछ । 45 उसले समुद्रहरू र पवित्रताको सुन्दरताको पर्वतको बिचमा आफ्‍नो राजकीय वासस्थानको पाल खडा गर्नेछ । उसको अन्त्य हुनेछ, र उसको निम्ति त्यहाँ सहायता गर्ने कोही पनि हुनेछैन ।

12

1 “त्यो समयमा, तिम्रा मानिसहरूको रक्षा गर्ने महान् राजकुमार, मिखाएल खडा हुनेछन् । त्यहाँ विपत्तिको समय हुनेछ, जुन कुनै पनि जातिको सुरुदेखि त्यो समयसम्‍म कहिल्यै भएको थिएन । त्यो समयमा तिम्रा मानिसमध्‍ये हरेक, जसका नाम पुस्तकमा लेखिएका पाइनेछ, ती बचाइनेछन् । 2 पृथ्वीको माटोमा सुतेकाहरूमध्‍ये धेरै जना, कोही अनन्तको जीवनको निम्ति, अनि कोही लाज र अनन्तको निन्दाको निम्ति फेरि उठ्नेछन् । 3 बुद्धिमान् मानिसहरू माथि आकाशको उज्यालोझैं चम्कनेछन्, र धेरैलाई धार्मिकतामा डोर्‍याउनेहरू सदाको निम्ति ताराहरूझैं हुनेछन् । 4 तर तिमी दानिएल, यी वचनलाई बन्द गर । अन्तको समयसम्म त्यो पुस्तकलाई मोहर लगाई राख । धेरै जना यता-उता दौडनेछन्, र ज्ञान बढ्नेछ ।” 5 तब, म, दनिएलले हेरें, र त्यहाँ अरू दुई जना खडा थिए । एक जना नदीको यतापट्टिको किनारमा, र एक जना नदीको अर्कोपट्टिको किनारमा खडा थिए । 6 तीमध्ये एक जनाले नदीको माथि भएका मलमलको लुगा लगाउने मानिसलाई सोधे, “यी अचम्मका घटनाहरू पूरा हुन कति समय लाग्‍नेछ?” 7 नदीमाथि भएका मलमलको लुगा लगाउने मानिसको आवाज मैले सुनें— तिनले आफ्नो दाहिने र देब्रे हात स्वर्गतिर उचाले र अनन्तसम्म रहनुहुनेको नाउँमा सपथ खाएर भने, कि त्यो एक वर्ष, दुई वर्ष, र आधा वर्षसम्म हुनेछ । आखिरीमा जब पवित्र मानिसहरूका शक्ति तोडिनेछ, तब यी सबै कुराहरू पूरा हुनेछन् । 8 मैले सुनें, तर मैले बुझिनँ । यसैले मैले सोधें, “ए मेरा मालिक, यी सबै कुराहरूको परिणाम के हुनेछ?” 9 तिनले भने, “ए दानिएल, तिमी आफ्नो बाटो लाग, किनभने अन्तको समय नभएसम्म यी वचनलाई बन्द गरिएका र मोहर लगाइएका छन् । 10 धेरै जना शुद्ध पारिनेछन्, दागरहित बनाइनेछन्, र खारिनेछन्, तर दुष्‍टहरूले दुष्‍ट काम गर्नेछन् । दुष्‍टहरूमध्‍ये कसैले पनि बुझ्नेछैन, तर बुद्धिमान्‌हरूले बुझ्नेछन् । 11 दैनिक होमबलि हटाइएको र पूर्ण विनाश ल्याउने घृणित थोकको स्‍थापना गरिएको समयदेखि, त्‍यहाँ १,२९० दिन हुनेछन् । 12 त्‍यो मानिस धन्यको जो १,३३५ दिनहरूका अन्त्यसम्म पर्खकन्‍छ । 13 अन्तसम्म तिमी आफ्नै बाटो लाग, र तिमीले विश्राम पाउनेछौ । दिनहरूका अन्तमा तिमीलाई दिइएको ठाउँमा तिमी खडा हुनेछौ ।”