नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
होशे
होशेको पुस्तक
1

1 यहूदाका राजाहरू उज्‍जियाह, योताम, आहाज र हिजकिया अनि येहोआशका छोरा इस्राएलका राजा यारोबामको समयमा बेरीको छोरो होशेकहाँ आऐको परमप्रभुको वचन यही हो, 2 जब परमप्रभु पहिलो पटक होशेद्वारा बोल्‍नुभयो, तब उहाँले तिनलाई यसो भन्‍नुभयो, “जा अनि एउटा वेश्‍यालाई आफ्नो पत्‍नी बना । त्यसले आफ्नो वेश्‍यागमनको फलस्वरूप छोराछोरी जन्माउनेछे । किनकि देशले परमप्रभुलाई त्यागेर ठुलो वेश्‍यागमन गरिरहेको छ ।” 3 यसैले होशे गएर दिब्‍लैमकी छोरी गोमेरलाई विवाह गरे, र त्‍यो गर्भवती भई र तिनको निम्ती एउटा छोरो जन्माई । 4 परमप्रभुले होशेलाई भन्‍नुभयो, “उसको नाउँ यिजरेल राख् । किनकि केही समयमा नै, म येहूको घरानालाई यिजरेलमा बगाएको रगतको कारण दण्ड दिनेछु र इस्राएलको घरानाको राज्यलाई म अन्‍त गर्नेछु । 5 त्यस दिनमा यिजरेलको बेसीमा म इस्राएलको धनु भाँचिदिनेछु ।” 6 गोमेर फेरि गर्भवती भई र एउटी छोरी जन्माई । तब परमप्रभुले होशेलाई भन्‍नुभयो, “त्यसको नाउँ लो-रूहामा राख्, किनकि इस्राएलको घरानालाई म फेरि कृपा गर्ने छैनँ, तिनीहरूलाई म कुनै किसिमले पनि क्षमा गर्ने छैनँ । 7 तापनि यहूदाको घरानामाथि म कृपा गर्नेछु, र म परमप्रभु तिनीहरूका परमेश्‍वर आफैले तिनीहरूलाई बचाउनेछु । धनु, तरवार, युद्ध, घोडाहरू, वा घोडचढीहरूले, म तिनीहरूलाई बचाउनेछैन ।” 8 गोमेरले लो-रूहामालाई दूध छुटाएपछि, त्यो गर्भवती भई र अर्को एउटा छोरो जन्माई । 9 तब परमप्रभुले भन्‍नुभयो, “त्यसको नाउँ लो-अम्मी राख, किनकि तिमीहरू मेरा मनिसहरू होइनौ, र म तिमीहरूका परमेश्‍वर होइनँ । 10 तापनि इस्राएलका मानिसहरूको सङ्ख्या समुद्रको किनारको बालुवा जत्तिकै हुनेछ, जसलाई नाप्‍न वा गन्‍न सकिंदैन । त्‍यो त्‍यहीं हुनेछ जहाँ तिनीहरूलाई भनिएको थियो, ‘तिमीहरू मेरा प्रजा होइनौ’, तिनीहरूलाई यसो भनिनेछ, ‘तिमीहरू जीवित परमेश्‍वरका मानिसहरू हौ ।’ 11 यहूदाका मानिसहरू र इस्राएलका मानिसहरू, एकसाथ भेला पारिनेछन् । तिनीहरूले आफ्ना निम्ति एक जना अगुवालाई नियुक्‍त गर्नेछन्, र तिनीहरू त्यस देशबाट माथितर्फ जानेछन् किनकि यिजरेलको दिन महान् हुनेछ ।

2

1 आफ्‍ना दाजुभाइलाई ‘मेरा मानिसहरू’ र आफ्ना दिदीबहिनीलाई ‘तिमीहरूलाई कृपा गरिएको छ’ भन ।” 2 आफ्नी आमाको विदरुद्धमा एउटा मुद्धा हाल, एउटा मुद्धा हाल, किनकि त्यो मेरी पत्‍नी होइन, र न त म त्यसको पति हुँ । त्यसले आफ्नो सामनेबाट आफ्‍नो वेश्‍यागमन, र आफ्ना स्‍तनहरूको बिचबाट आफ्‍नो व्यभिचारका कामहरूलाई हटाओस् । 3 होइन भने, म त्यसलाई नाङ्गो पार्नेछु र त्यो जन्‍मको दिनमा झैं म त्यसको नग्‍नता देखाउनेछु । उजाड-स्‍थानजस्‍तै, एउटा सुख्‍खा लागेको देशजस्‍तै, म त्यसलाई बनाउनेछु, र त्यसलाई तिर्खाले मर्ने म बानउनेछु । 4 त्यसका छोराछोरीलाई म कृपा देखाउनेछैनँ, किनकि ती वेश्‍यागमनका सन्‍तान हुन् । 5 किनकि तिनीहरूकी आमा वेश्‍या थिई, र तिनीहरूलाई गर्भधारण गर्नेले लज्‍जास्‍पद किसिमले काम गरेकी छे । त्यसले भनी, “म आफ्‍ना प्रमीहरूको पछि जानेछु, किनकि तिनीहरूले मलाई मेरो रोटी र पानी, मेरो ऊन र सूती कपडा, मेरो तेल र दाखमद्य दिन्छन् ।” 6 यसकारण त्यसको मार्ग रोक्‍नलाई म काँडे झाडीका बार लगाउनेछु । त्यसले आफ्नो बाटो पत्ता नलगाओस् भनेर, म त्यसको विरुद्ध पर्खाल लगाउनेछु । 7 त्यो आफ्ना प्रेमीहरूको पछि लाग्‍नेछ, तर त्यसले तिनीहरूलाई भेट्‍टाउनेछैन । त्यसले तिनीहरूलाई खोज्‍नेछ, तर त्यसले तिनीहरूलाई पाउनेछैन । अनि त्यसले भन्‍नेछ, “म आफ्‍नो पहिलो पतिकहाँ नै फर्कनेछु, किनभने अहिलेभन्दा त्यो नै मेरो निम्ति असल थियो ।” 8 किनकि त्यसलाई अन्‍न, नयाँ दाखमद्य र तेल दिने, म नै थिएँ भनी त्यसलाई थाहा भएको थएन,र जसले त्यसलाई प्रशस्‍त चाँदी र सुन दियो जसलाई तिनीहरूले त्‍यस बेला बालको निम्ती प्रयोग गरे । 9 यसैले फसलको समयमा म त्यसको अन्‍न, र दाखमद्यको मौसममा म त्‍यो फिर्ता लिनेछु । त्यसको नग्‍नतालाई ढाक्‍न प्रयोग भएका, मेरो ऊन र सूतीको कपडा म फिर्ता लिनेछु । 10 तब त्यसका प्रेमीहरूकै सामु म त्यसलाई नाङ्गो बनाउनेछु, र मेरो हातबाट त्यसलाई कसैले बचाउनेछैन । 11 त्यसका सबै उत्‍सवहरू, त्‍यसका भोजहरू, त्‍यसका औँसीका उत्‍सवहरू, त्‍यसका शबाथहरू, र त्यसका निर्धारित सबै चाडलाई म अन्‍त गरिदिनेछु । 12 “म त्यसका दाखका बोटहरू र अन्जीरका रुखहरूलाई नष्‍ट गरिदिनेछु, जसका विषयमा त्यसले भन्‍थी, ‘मेरा प्रेमीहरूले मलाई दिएका ज्याला यी नै हुन् ।’ तिनलाई म झाडी तुल्‍याउनेछु, र मैदानका पशुहरूले ती खानेछन् । 13 बाल देवताका भोजका दिनका निम्ति म त्यसलाई दण्ड दिनेछु, जति बेला त्यसले तिनीहरूका निम्ति धूप बाली, जति बेला त्यसले आफ्ना औँठीहरू र गहनाले आफूलाई सुसज्‍जिए पारी, अनि त्यो आफ्ना प्रेमीहरूको पछि गई र मलाई बिर्सी, यो परमप्रभुको घोषणा हो ।” 14 यसैले म त्यसलाई फकाउन जानेछु । म त्यसलाई उजाड-स्‍थानमा ल्याउनेछु र त्योसँग कोमल भएर बोल्‍नेछु । 15 त्यसका दाखबारीहरू र आशाको ढोकाको रूपमा आकोरको बेसी, म त्यसलाई फिर्ता गरिदिनेछु । त्यसको जवानीका दिनहरूमा झैं, र मिश्रदेशबाट बाहिर आएको दिनहरूमा झैं, त्यसले मलाई त्यहाँ जवाफ दिनेछ । 16 “यो परमप्रभुको घोषणा हो, त्यो दिन यस्‍तो हुनेछ, तैंले मलाई ‘मेरो पति’ भन्‍नेछस्, अनि फेरि मलाई ‘मेरो बाल’ भन्‍नेछैनस् । 17 किनकि म त्यसको मुखबाट बालको नाउँ हटाइदिनेछु, र तिनका नाउँ फेरि कहिल्यै सम्झना हुनेछैन ।” 18 “त्यस दिन मैदानका पशुहरूसँगै, आकाशका चराहरूसँगै, अनि जमिनमा घस्रने जीवजन्‍तुसँगै, म तिनीहरूसँग एउटा करार बाँध्‍नेछु । म देशबाट धनु, तरवार, र युद्धलाई हटाउनेछु, र म तँलाई सुरक्षासाथ पल्‍टिन दिनेछु । 19 सदासर्वदाको निम्‍ति तेरो पति हुने प्रतिज्ञा म गर्नेछु । धार्मिकता, न्याय, करारको विश्‍वस्तता र कृपामा तेरो पति हुने प्रतिज्ञा म गर्नेछु । 20 विश्‍वस्ततामा प्रतिज्ञा गरेर म आफैंलाई तँकहाँ सुम्‍पनेछु, र तैंले परमप्रभुलाई चिन्‍नेछस् । 21 त्यो दिनमा जवाफ दिनेछु, यो परमप्रभुको घोषणा हो, म आकाशमण्‍डललाई जवाफ दिनेछु, र तिनले पृथ्‍वीलाई जवाफ दिनेछन् । 22 पृथ्‍वीले अन्‍न, नयाँ दाखमद्य र तेललाई जवाफ दिनेछ र तिनले यिजरेललाई जवाफ दिनेछन् । 23 आफ्‍नो निम्ति म त्यसलाई जमिनमा रोप्‍नेछु, र मैले लो-रूहामामाथि कृपा गर्नेछु । लो-अम्‍मीलाई म भन्‍नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ’ र तिनीहरूले मलाई भन्‍नेछन्, ‘तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ ।’”

3

1 परमप्रभुले मलाई भन्‍नुभयो, “फेरि जा, आफ्नो पतिले प्रेम गरेकी एक जना स्‍त्रीलाई प्रेम गर्, तर त्‍यो एक जना व्यभिचारिणी हो । इस्राएलका मानिसहरू अन्‍य देवतातर्फ लागे र तिनीहरूले पवित्र दाखका केकहरू मन पराए तापनि, जसरी म परमप्रभुले तिनीहरूलाई प्रेम गरें, त्‍यसरी नै त्यसलाई प्रेम गर् ।” 2 यसैले मैले त्यसलाई मेरो निम्ति पन्ध्र शेकेल चाँदी र अढाइ मुरी जौ तिरेर किनें । 3 मैले त्यसलाई भनें, “तिमी मसँग धेरै दिन बस्‍नुपर्छ । तिमी अब वेश्‍या हुनेछैनौ र कुनै अर्को पुरुषको हुनेछैनौ । त्‍यसरी नै म पनि तिमीसँगै रहनेछु ।” 4 किनकि इस्राएलका मानिसहरू राजा, राजकुमार, बलिदान, ढुङ्गाको स्तम्भ, एपोद र घरघरका मूर्तिहरूविना धेरै दिनसम्म रहनेछन् । 5 त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन् र परमप्रभु आफ्‍ना परमेश्‍वर र आफ्‍ना राजा दाऊदलाई खोज्‍नेछन्, र अन्तका दिनहरूमा, तिनीहरु परमप्रभु र उहाँको भलाइको सामु भयसाथ आउँछन् ।

4

1 ए इस्राएलका मानिस हो, परमप्रभुको वचन सुन । यस देशका वासिन्दाहरूको विरुद्धमा परमप्रभुको एउटा मुद्धा छ, किनभने देशमा सत्यता, करारको विश्‍वस्‍तता, परमप्रभुको ज्ञान छैन । 2 त्यहाँ सराप, झुटो बोली, हत्या, चोरी र व्यभिचार छ । मानिसहरूले सबै सीमा तोडेका छन्, र रगत बगेपछि रगत बगेको छ । 3 यसैले त्यो देश सुख्‍खा हुँदैछ, र त्यहाँ बसोबास गर्ने सबै खेर जाँदैछन् । मैदानका पशुहरू, आकाशका चराहरू, र समुद्र भएका माछासमेत मारिंदैछन् । 4 तर कसैलाई मुद्धा ल्‍याउन नदेओ । कसैले कसैलाई पनि दोष नलगाओस् । किनकि मैले दोष लगाइरहेको तिमी, पुजारीहरूलाई नै हो । 5 तिमी पुजारीहरू दिनमा ठेस खानेछौ । तिमीहरूसँगै अगमवक्ताहरू पनि रातमा ठेस खानेछन्, र तिमीहरूकी आमालाई म नष्‍ट गर्नेछु । 6 मेरा मानिसहरू ज्ञानको कमिले गर्दा नष्‍ट भइरहेका छन् । तिमी पुजारीहरूले ज्ञानलाई इन्कार गरेको कारणले, तिमीहरूलाई मेरो पुजारी हुनबाट म पनि इन्कार गर्नेछु ।तिमीहरूले मेरो व्यवस्थालाई बिर्सेका कारणले, म तिमीहरूका परमेश्‍वर भए पनि म तिमीहरूका छोराछोरीलाई बिर्सनेछु । 7 पुजारीहरूका सङ्ख्या जति धैरै वृद्धि भयो,त्‍यति नै धेरै तिनीहरूले मेरो विरूद्धमा पाप गरे । आफ्नो आदरलाई तिनीहरूले लाजसँग साटे । 8 मेरा मानिसहरूको पापमा तिनीहरू पोसिन्‍छन्, र उनीहरूले धेरै दुष्‍टता गरून् भन्‍ने तिनीहरूको इच्‍छा हुन्‍छ । 9 पुजारीहरूलाई जस्‍तो गरियो मानिसहरूलाई त्‍यस्‍तै गरिनेछः तिनीहरूका अभ्‍यासहरूका निम्‍ति म तिनीहरू सबैलाई दण्ड दिनेछु, तिनीहरूका कामहरूको बदला म तिनीहरूलाई दिनेछु । 10 तिनीहरूले खानेछन् तर तिनीहरूसँग येथेष्‍ट हुनेछैन, तिनीहरूले वेश्‍यागमन गर्नेछन् तर वृद्धि हुनेछैन, किनभने तिनीहरू परमप्रभुबाट धेरै टाढा गएका छन् । 11 तिनीहरूलाई यौनको छाडापन, दाखमद्य र नयाँ मद्य मन पर्छ, जसले तिनीहरूका समझलाई नाश पारेका छन् । 12 मेरा मानिसहरूले काठका मूर्तिहरूसँग सल्लाह लिन्छन्, र तिनीहरूका लौरोले तिनीहरूलाई अगमवाणीहरू दिन्छन् । किनभने यौनको छाडापनको विचारले तिनीहरूलाई भ्रममा पारेको छ, र आफ्‍ना परमेश्‍वरमा विश्‍वसयोग्‍य हुन छोडेर वेश्‍याहरूले जस्‍तो व्यवहार तिनीहरूले गरेका छन् । 13 पर्वतका टाकुराहरूमा तिनीहरूले बलि चढाउँछन् र पहाडहरूमा, फलाँट, लहरे-पीपल र तारपीनका फेदमा धूप बाल्छन्, किनभने छाया शितल हुन्छ । यसैले तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्छन्, अनि तिमीहरूका बुहारीहरूले व्यभिचार गर्छन् । 14 तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्दा म तिनीहरूलाई दण्ड दिनेछैन, न त तिमीहरूका बुहारीहरूले व्यभिचार गर्दा तिनीहरूलाई दण्ड दिनेछु । किनकि पुरुषहरूले पनि आफैंलाई वेश्‍याहरूकहाँ दिन्छन्, र पवित्र वेश्‍याहरूसँग तिनीहरूले अनैतिक काम गर्न सकून् भनेर तिनीहरू बलिदानहरू चढाउँछन् । यी मानिसहरू जसले बुझ्‍दैनन्, तिनीहरू तल फालिनेछन् । 15 तँ इस्राएलले व्यभिचार गरेको भए पनि, यहूदाचाहिं दोषी नहोस् । ए मानिस हो, तिमीहरू गिलगालमा नजाओ माथि बेथ-आवनमा नजाओ, र “परमप्रभु जिउँदो हुनुभएझैं” भनेर शपथ नखाओ । 16 किनकि एउटी अटेरी साँडी-गाईले झैं इस्राएलले अटेरी भएर व्यवहार गरेको छ । भेडाहरूलाई घाँसे-मैदानमा लगेझैं परमप्रभुले कसरी तिनीहरूलाई खर्कमा लान सक्‍नुहुन्‍छ? 17 एफ्राइमले आफूलाई मूर्तिहरूसँग मिलाएको छ । त्यसलाई वास्‍तै नगर । 18 तिनीहरूका कडा दाखमद्यले छोड्दा पनि, तिनीहरू निरन्‍तर व्यभिचारमा गर्छन् । र त्यसको शासकहरूले आफ्‍नो लज्‍जास्‍पद कुरालाई ज्यादै मन पराउँछन् । 19 हावाले त्यसलाई आफ्ना पखेटामा बेर्नेछ, र आफ्ना बलिदानहरूका कारणले तिनीहरू शर्ममा पर्नेछन् ।

5

1 “ए पुजारीहरू हो, यो कुरा सुन! ए इस्राएलको घराना, ध्यान देओ! ए राजाको घराना, सुन! किनकि तिमीहरू सबैका विरुद्ध न्‍याय आउँदैछ । तिमीहरू मिस्‍पामा पासो, र तबोरमाथि फैलिएको जाल भएका छौ । 2 विद्रोहीहरू मारकाटमा साह्रै नै संलग्‍न हुन्‍छन्, तर म तिनीहरू सबैलाई दण्ड दिनेछु । 3 एफ्राइम र इस्राएल मबाट लुकेका छैनन् भनी म जान्‍दछु । ए एफ्राइम, तँ अब वेश्‍याझैं भएको छस् । इस्राएल अपवित्र पारिएको छ । 4 तिनीहरूका कामहरूले तिनीहरूलाई परमेश्‍वरतर्फ फर्कन दिंदैनन्, किनकि तिनीहरूमा व्यभिचारको मन छ, र तिनीहरूले परमप्रभुलाई चिन्दैनन् । 5 इस्राएलको घमण्डले उसकै विरुद्ध गवाही दिन्छ । यसैले इस्राएल र एफ्राइम आफ्‍नै दोषमा ठेस खानेछन्, र यहूदा पनि तिनीहरूसँगै ठेस खानेछ । 6 आफ्ना बगाल र बथानसँग परमप्रभुको खोजी गर्न तिनीहरू जानेछन्, तर तिनीहरूले उहाँलाई भेट्‍टाउने छैनन्, किनकि उहाँले आफैंलाई तिनीहरूबाट टाढा लानुभएको छ । 7 तिनीहरू परमप्रभुप्रति विश्‍वासघाती भए, किनकि तिनीहरूले अवैधानिक छोराछोरी जन्माएका छन् । अब औंसीका पर्वहरूले तिनीहरूका भूमिसँगै तिनीहरूलाई पनि निलिदिनेछ । 8 गिबामा तुरही र रामामा बिगुल फुक । बेथ-आवनमा युद्ध-ध्वनि बजाओः ‘ए बेन्यामीन, हामी तेरो पछि लाग्‍छौं!’ 9 न्यायको दिनमा एफ्राइम निर्जन हुनेछ । इस्राएलका कुलहरू बिचमा निश्‍चय हुन आउने कुरा मैले घोषणा गरेको छु । 10 यहूदाका अगुवाहरू त्‍यस्‍ता हुन् जसले सिमानाको ढुङ्गा सार्छ । पानी खन्याएझैं तिनीहरूमाथि म आफ्‍नो क्रोध खन्याउनेछु । 11 एफ्राइम कुल्चिएको छ, त्यो न्यायमा कुल्चिएको छ, किनभने त्यो आफ्नै इच्‍छामा मूर्तिहरूको पछि लागेको छ । 12 यसैले एफ्राइमको निम्ति म कपडा काट्ने किराझैं हुनेछु र यहूदाको घरानाको निम्ति सडाउने कुराझैं हुनेछु । 13 जब एफ्राइमले आफ्नो रोग देख्‍यो, र यहूदाले आफ्नो घाउ देख्‍यो, तब एफ्राइम अश्‍शूरमा गयो, र यहूदाले महान् राजाकहाँ सन्देशवाहक पठायो । तर त्यसले तेरा मानिसहरूलाई निको पार्न वा तिमीहरूका घाउ निको पार्न सकेन । 14 यसैले एफ्राइमको निम्ति म सिंहझैं हुनेछु, र यहूदाको घरानाको निम्ति जवान सिंहझैं हुनेछु । मैले नै तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र जानेछु । म तिनीहरूलाई बोकेर लानेछु, र तिनीहरूलाई बचाउने कोही पनि हुनेछैन । 15 तिनीहरूले आफ्ना दोष स्‍वीकार गरेर मेरो खोजी नगरेसम्म, र आफ्‍ना दु:खको समयमा मलाई तत्परतासाथ नखोजेसम्म, म जानेछु र आफ्नै ठाउँमा फर्कनेछु ।”

6

1 “आओ, हामी परमप्रभुतर्फ फर्कौं । किनकि उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ । उहाँले हामीलाई घाइते बनाउनुभएको छ, तर उहाँले हाम्रो घाउमा पट्‍टी लगाउनुहुनेछ । 2 दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ । तेस्रो दिनमा उहाँले हामीलाई उठाउनुहुनेछ, र हामीहरू उहाँको सामु जिउनेछौं । 3 हामी परमप्रभुलाई चिनौं । परमप्रभुलाई चिन्‍नुपर्ने दवावमा हामी परौं । झिसमिसे बिहानीझैं उहाँको आगमन निश्‍चित छ । उहाँ हामीकहाँ झरीझैं, जमिनलाई भिजाउने बसन्‍त ऋतुको झरीझैं आउनुहुनेछ ।” 4 ए एफ्राइम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? तेरो विश्‍वस्‍तता बिहानीको बादलझैं, चाँडै हराएर जाने शीतझैं छ । 5 यसैले तिनीहरूलाई मैले अगमवक्ताहरूद्वारा टुक्रा-टुक्रा पारेको छु, तिनीहरूलाई मैले आफ्‍नो मुखको वचनले मारेको छु । तिमीहरूका आदेशहरू चम्किने बिजुलीझैं छन् । 6 किनकि म बलिदान होइन, विश्‍वस्‍तता चाहन्छु, र होमबलिहरूभन्दा धैरे परमेश्‍वरको ज्ञान भएको चाहन्छु । 7 आदमले झैं तिनीहरूले करार तोडेका छन्, तिनीहरू मप्रति विश्‍वासहीन भएका छन् । 8 गिलादचाहिं दुष्‍ट काम गर्नेहरूको सहर हो, जसका पाइलाहरूमा रगत छ । 9 डाँकुहरूका समुहले कसैलाई पर्खिरहेझैं, शकेम जाने बाटोमा पुजारीहरू मार्नलाई समुहमा बस्छन् । तिनीहरूले लज्‍जास्‍पद अपराधहरू गरेका छन् । 10 इस्राएलको घरानामा मैले घिनलाग्‍दो कुरा देखेको छु । त्यहाँ एफ्राइमको वेश्‍यागमन छ, र इस्राएल अशुद्ध भएको छ । 11 ए यहूदा तेरो निम्ति पनि कटनी तोकिएको छ, जति बेला म आफ्‍ना मानिसहरूको सुदिन पुनर्स्थापना गर्नेछु ।

7

1 मैले इस्राएललाई निको पार्ने इच्‍छा गर्दा, एफ्राइमको पाप र सामरियाका दुष्‍ट कामहरू प्रकट हुन्छन्, किनकि तिनीहरू धोकापूर्ण काम गर्छन् । एक जना चोर भित्र प्रवेश गर्छ, र डाँकूहरूको समुहले सडकमा आक्रमण गर्छ । 2 तिनीहरूका सबै दुष्‍ट कामलाई मैले याद गर्छु, भनी तिनीहरूले आफ्नो हृदयहरूमा महसुस नै गर्दैनन् । अब तिनीहरूका कामहरूले तिनीहरूलाई नै घेर्छन् । ती मेरो अनुहारको सामु छन् । 3 तिनीहरूले आफ्ना दुष्‍टताले राजालाई, र आफ्ना झुटले अधिकारीहरूलाई खुशी बनाउँछन् । 4 रोटी बनाउनेले तताएको तावाजस्‍तै, जसले पिठो मुछेर नफुलेसम्म आगो बाल्‍दैन, तिनीहरू सबै व्यभिचारीहरू हुन् । 5 हाम्रा राजाको दिनमा अधिकारीहरूले आफैंलाई दाखमद्यको मातले बिरामी पार्छन् । ठट्टा गर्नेहरूसँग उसले आफ्नो हात मिलायो । 6 किनकि एउटा तावाजस्‍तो हृदयहरूले, तिनीहरू आफ्ना छलपूर्ण योजना बनाउँछन् । तिनीहरूको रिस रातभरि दन्किन्छ । बिहान त्यो ज्वालामय आगोझैं बल्दछ । 7 तिनीहरू सबै तावाजस्‍तै तातो छन्, र आफूमाथि शासन गर्नेलाई तिनीहरू भस्म पार्छन् । तिनीहरूका सबै राजा पतित भएका छन् । तीमध्‍ये कसैले मलाई पुकारा गर्दैनन् । 8 एफ्राइमले आफैंलाई अरू मानिसहरूसँग मिसाएको छ । नफर्काइएको रोटीजस्‍तै एफ्राइम छ । 9 परदेशीहरूले उसको शक्तिलाई नष्‍ट गरेको छ, तर उसलाई त्यो थाहा नै छैन । उसमा यताउता केश फुलेका छन्, तर उसलाई त्यो थाहा छैन । 10 इस्राएलको घमण्डले आफ्‍नै विरुद्ध गवाही दिन्छ, तापनि तिनीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरतिर फर्केका छैनन्, न त यी सबै कुरापछि पनि तिनीहरूले उहाँलाई खोजेका छन् । 11 एफ्राइमचाहिं सजिलै छकाउन सकिने र विवेकहीन ढुकुरजस्‍तो छ, मिश्रदेशलाई पुकारा गर्दैछ, त्‍यसपछि अश्‍शूरतिर उड्दैछ । 12 जब तिनीहरू जान्छन्, तब तिनीहरूमाथि म आफ्‍नो जाल फैलाउनेछु, आकाशका चराहरूझैं तिनीहरूलाई म तल खसाल्‍नेछु । तिनीहरू एकसाथ जम्‍मा हुँदा म तिनीहरूलाई दण्ड दिनेछु । 13 तिनीहरूलाई धिक्‍कार छ! किनकि तिनीहरू मबाट टाढा बहकिएका छन् । तिनीहरूमाथि विनाश आउँदै छ ! तिनीहरूले मेरो विरुद्ध विद्रोह गरेका छन्! मैले तिनीहरूलाई बचाउन सक्‍थें, तर तिनीहरूले मेरो विरुद्धमा झुट बोले । 14 आफ्ना सारा हृदयले, तिनीहरूले मसँग पुकारा गरेका छैनन्, तर आफ्ना ओछ्यानमा तिनीहरू विलाप गर्छन् । अन्‍न, र नयाँ दाखमद्यको निम्ति तिनीहरू एकसाथ भेला हुन्छन्, र तिनीहरू मबाट टाढा जान्छन् । 15 मैले तिनीहरूलाई तालिम दिएँ र तिनीहरूका पाखुराहरूलाई सशक्‍त बनाएँ, तापनि अहिले तिनीहरू मेरो विरुद्धमा नै खराब षड्‌यन्‍त्र रच्‍छन् । 16 तिनीहरू फर्कन्छन्, तर म, अर्थात् सर्वोच्‍चतिर भने फर्कंदैनन् । तिनीहरू धोका दिने धनुझैं छन् । आफ्ना जिब्रोको निर्लज्‍जताका कारणले, तिनीहरूका अधिकारीहरू तरवारले मारिनेछन् । मिश्रदेशमा यही तिनीहरूको उपहास हुनेछ ।

8

1 “तुरही फुक्‍न तयार होओ! परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन् । 2 तिनीहरू मलाई पुकारा गर्छन्, ‘हे मेरा परमेश्‍वर, इस्राएलीमा हामी तपाईंलाई चिन्दछौं ।’ 3 तर इस्राएलले जे असल छ त्यो इन्‍कार गरेको छ, र सत्रुले त्यसलाई खेद्‍नेछ । 4 मैले नचुनेका राजाहरूलाई, तिनीहरूले स्थापित गरेका छन् । तिनीहरूले मलाई नसोधी राजकुमारहरू नियुक्‍त गरेका छन् । आफ्‍ना चाँदी र सुनले, आफ्नै निम्ति तिनीहरूले मूर्तिहरू बनाएका छन्, तर तिनीहरूको विनाश हुनलाई नै यसो भयो ।” 5 “ए समारिया, तेरो बाछो तिरस्‍कृत भएको छ । यी मानिसहरूका विरूद्धमा मेरो क्रोध जल्‍दैछ । किनकि कहिलेसम्म तिनीहरू दोषी रहनेछन्? 6 किनकि यो मूर्ति इस्राएलबाट आएको हो । एउटा कारिगरले त्‍यो बनायो । त्यो परमेश्‍वर होइन! सामरियाको बाछोलाइ टुक्रा-टुक्रा पारिनेछ । 7 किनकि मानिसहरूले बतास छर्छन्, र आँधिको कटनी गर्छन् । खडा बालीमा बालाहरू छैनन्, र त्यसले केही फसल दिंदैन । त्यसमा फसल लाग्‍यो भने, परदेशीहरूले त्यो सखाप पार्नेछन् । 8 इस्राएल निलिएको छ । अब जातिहरूमा बिचमा ती काम नलाग्‍ने वस्तुझैं रहन्‍छन् । 9 किनकि वन-गधा एक्लै गएझैं, तिनीहरू अश्‍शूरसम्‍म गए । एफ्राइमले आफ्नै निम्ति प्रेमीहरू नियुक्‍त गरेको छ । 10 तिनीहरूले जातिहरूका बिचमा प्रेमीहरू नियुक्‍त गरे तापनि, अब तिनीहरूलाई म एकसाथ भेला गराउनेछु । राजकुमारहरूका राजाको दमनको कारणले, तिनीहरू दुःखी हुन लाग्‍नेछन् । 11 किनकि पापबलिहरूका निम्ति एफ्राइमले वेदीहरूको सङ्ख्या बढाएका छन्, तर झन् पाप गर्ने वेदीहरू ती भएका छन् । 12 तिनीहरूका निम्ति मैले आफ्‍नो व्यवस्थालाई दस हजारपल्‍ट लेखे पनि, तिनीहरूले त्यसलाई कुनै नयाँ कुराजस्‍तो गरी हेर्छन् । 13 मेरा भेटीहरूका बलिदानको बारेमा, तिनीहरूले मासु चढाउँछन् र त्यो खान्‍छन्, तर म, परमप्रभुले त्यो ग्रहण गर्दिनँ । अब म तिनीहरूका अधर्मका बारेमा विचार गर्नेछु, र तिनीहरूका पापलाई दण्ड दिनेछु । तिनीहरू मिश्रदेशमा फर्कनेछन् । 14 इस्राएलले आफ्‍ना सृष्‍टिकर्ता, मलाई बिर्सेको छ, र दरबारहरू बनाएका छ । यहूदाले धेरै सहरहरूलाई किल्‍लाबन्‍दी गरेको छ, तर त्यसका सहरहरूमा म आगो पठाउनेछु, र त्यसले उसका किल्‍लाहरू भष्‍म पार्नेछ ।

9

1 ए इस्राएल, अरू मानिसहरूझैं आनन्दित नहोओ । किनकि आफ्ना परमेश्‍वरलाई त्यागेर, तिमीहरूले विश्‍वासहीन भएका छौ । अन्‍नका सबै खलामा वेश्‍यालाई तिर्नुपर्ने ज्याला तिर्न तिमीहरू मन पराउँछौ । 2 तर अन्‍नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन, र नयाँ दाखमद्य तिनीहरूका निम्ति पर्याप्‍त हुनेछैन । 3 तिनीहरू परमप्रभुको देशमा सधैंभरि रहनेछैनन्, बरु, एफ्राइम मिश्रदेशमा फर्कनेछ, र एक दिन तिनीहरूले अश्‍शूरमा अशुद्ध भोजन खानेछन् । 4 तिनीहरूले परमप्रभुलाई दाखमद्यको भेटी चढाउनेछैनन्, न त तिनीहरूले उहाँलाई प्रसन्‍न तुल्याउनेछन् । तिनीहरूका बलिदानहरू तिनीहरूका निम्ति शोक गर्नेको भोजनझैं हुनेछ । जतिले त्यो खान्छन् ती सबै अशुद्ध हुनेछन् । किनकि तिनीहरूका भोजन तिनीहरूकै निम्ति मात्र हुनेछ । त्यो परमप्रभुको मन्‍दिरमा आउनेछैन । 5 तोकिएको चाडको दिनमा, परमप्रभुको निम्ति चाडको दिनमा तिमीहरू के गर्नेछौ? 6 किनकि, हेर, तिनीहरू विनाशबाट उम्के भने, मिश्रदेशले तिनीहरूलाई एकसाथ भेला गर्नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । तिनीहरूका चाँदीका धन काँढाघारीले ढाक्‍नेछ, र तिनीहरूका पालहरू काँढाका झाँगहरूले भरिनेछ । 7 दण्डका दिनहरू आउँदैछन् । बदलाका दिनहरू आउँदैछन् । सबै इस्राएलीहरूले यी कुरा जानून् । तिमीहरूका घोर अधर्म र वैरभावका कारणले, अगमवक्ता मुर्ख हुन्‍छ र प्रेरणा पाएको मानिसचाहि बौलाह हुनेछ । 8 अगमवक्ताचाहिं एफ्राइममाथि मेरा परमेश्‍वरको निम्ति रेखदेख गर्ने व्‍यक्‍ति हो । तर त्यसका सबै मार्गहरूमा चराको पासो थापिएको छ, र त्‍यसको परमेश्‍वरको मन्‍दिरमा त्योप्रति शत्रुता छ । 9 गिबाका दिनहरूमा झैं, तिनीहरूले आफैंलाई भित्री रूपमा भ्रष्‍ट पारेका छन् । तिनीहरूको अधर्म परमेश्‍वरले सम्झना गर्नुहुनेछ र उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ । 10 परमप्रभु भन्‍नुहुन्छ, “मैले इस्राएललाई भेट्‍टाउँदा, त्‍यो उजाड-स्‍थानमा दाख पाएको जस्‍तै थियो । नेभाराको बोटमा ऋतुको पहिलो फलझैं, मैले तिमीहरूका पुर्खाहरूलाई भेट्‍टाएँ । तर तिनीहरू बाल-पोरमा गए, र तिनीहरूले आफैंलाई त्यस लज्‍जास्पद मूर्तिकहाँ अर्पण गरे । तिनीहरूले प्रेम गर्ने मूर्तिहरूझैं तिनीहरू पनि घृणित भए । 11 एफ्राइमको बारेमाचाहिं, तिनीहरूको महिमा चराझैं उडिजानेछ । त्यहाँ कुनै जन्‍म, कुनै गर्ववास, र कुनै गर्भधारण हुनेछैन । 12 तिनीहरूले छोराछोरीलाई हुर्काएको भए पनि, एउटै पनि बाँकी नरहने गरी म तिनीहरूलाई लैजानेछु । तिनीहरूबाट म फर्कँदा, तिनीहरूलाई धिक्‍कार होस् । 13 मैले एफ्राइमलाई टुरोसजस्तै सुन्दर मैदानमा रोपिएको देखेको छु, तर एफ्राइमले आफ्ना छोराछोरीलाई त्यसकहाँ लानेछ, जसले तिनीहरूको हत्‍या गर्नेछ ।” 14 हे परमप्रभु, तिनीहरूलाई दिनुहोस्— तपाईंले तिनीहरूलाई के दिनुहुन्छ ? तिनीहरूलाई तुहिने गर्भ र दूध नआउने स्तन दिनुहोस् । 15 “तिनीहरूले गिलगालमा गरेका सबै दुष्‍टताका कारणले, तिनीहरूलाई मैले त्‍यहाँ घृणा गर्न सुरु गरें । तिनीहरूका पापी कामहरूका कारणले, मेरो मन्‍दिरबाट म तिनीहरूलाई धपाउनेछु । म तिनीहरूलाई फेरि प्रेम गर्नेछैनँ । तिनीहरूका सबै अधिकारीहरू विद्रोहीहरू हुन् । 16 एफ्राइम रोगले ग्रस्‍त भएको छ, र तिनीहरूको जरा सुकेका छ । तिनीहरूले फल दिंदैनन् । तिनीहरूका छोराछोरी भए पनि, तिनीहरूका अति प्रिय छोराछोरीलाई म मार्नेछु ।” 17 मेरा परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुहुन्छ किनभने तिनीहरूले उहाँको आज्ञा मानेका छैनन् । जातिहरूका बिचमा तिनीहरू फिरन्‍तेहरू हुनेछन् ।

10

1 इस्राएल एउटा मौलाएको दाखको बोट हो जसले फल फलाउँछ । त्यसको फलको जति बढ्यो, त्यसले त्‍यति नै धेरै वेदी बनायो । त्यसको देशले जति धेरै उब्‍जनी दियो, त्यसले त्‍यति नै धेरै स्‍तम्‍भ खडा गर्‍यो । 2 किनकि तिनीहरूको हृदय छलपूर्ण छ । अब तिनीहरूले आफ्नो दोषको दण्ड भोग्‍नैपर्छ । परमप्रभुले तिनीहरूका वेदीहरू भत्‍काउनुहुन्छ, तिनीहरूका स्‍तम्‍भहरू नाश गर्नुहुन्छ । 3 किनकि तब तिनीहरूले यसो भन्‍नेछन्, “हाम्रा राजा छैनन्, किनकि हामीले परमप्रभुको भय मानेनौं, अनि राजा भए पनि उनले हाम्रो निम्ति के गर्न सक्‍थे र?” 4 तिनीहरू फोस्रा शब्‍दहरू बोल्छन्, र झुटो कसम खाएर करार बाँध्‍छन् । यसैले जोतेको डोबहरूमा विषालु झारहरू उम्रेझैं, न्याय बढ्नेछ । 5 बेथ-आवनका बाछाहरूका कारणले, सामरियामा बसोबास गर्नेहरू डराउँनेछन् । त्यसका मानिसहरूले तिनीहरूका निम्ति विलाप गरे, अनि तीमाथि र तिनका गौरवमा, आनन्द मनाउने ती मूर्तिपुजक पुजारीहरूले पनि विलाप गरे, तर तिनीहरू अब त्यहाँ छैनन् । 6 महान् राजाका निम्ति उपहारको रूपमा, तिनीहरू अश्‍शूरमा लगिनेछन् । एफ्राइम अपमान हुनेछ, र इस्राएल आफ्नो मूर्तिको लागि लाजमा पर्नेछ । 7 पानीको सतहमाथिको काठको एउटा टुक्राझैं, सामरियाका राजा नष्‍ट पारिनेछ । 8 दुष्‍टताका उच्‍च ठाउँहरू नष्‍ट हुनेछ । यो इस्राएलको पाप हो! तिनीहरूका वेदीहरूमाथि काँडाहरू र सिउँढीहरू पलाउनेछन् । मानिसहरूले पर्वतहरूलाई, “हामीलाई छोप!” अनि पहाडहरूलाई, “हामीमाथि खस!” भन्‍नेछन् । 9 “ए इस्राएल, तैंले गिबाको दिनदेखि नै पाप गरेको छस् । तँ अहिले त्‍यहाँ नै बसेको छस् । के गिबामा खराब गर्नेहरूका छोराहरूलाई युद्धले सखाप पार्नेछैन र? 10 जब म चाहन्‍छु, तब म तिनीहरूलाई अनुशासित गर्नेछु । तिनीहरूका विरूद्ध जातिहरू एकसाथ भेला हुनेछन् अनि तिनीहरूको दोब्‍बर अधर्मको निम्‍ति तिनीहरूलाई बन्धनमा राख्‍नेछन् । 11 एफ्राइम दाइँ गर्न मनपराउने दाइएको बाछोझैं हो, यसैले त्यसको सुन्दर काँधमा म एउटा जुवा हाल्‍नेछु । म एफ्राइमको काँधमा म एउटा जुवा राख्‍नेछु, यहूदाले हलो जोत्‍नेछ । र याकूब आफैले लिंड्‍को लगाउनेछ ।” 12 आफ्ना निम्ति धार्मिकता छर, अनि करारको विश्‍वस्‍तताको फल कटनी गर । आफ्‍नो बाँझो बारी जोत, किनकि परमप्रभु आएर तिमीहरूमाथि धार्मिकता नबर्षाउनुभएसम्म यो उहाँको खोजी गर्ने समय यही हो । 13 तिमीहरूले दुष्‍टता जोतेका छौ, अनि तिमीहरूले अन्यायको कटनी गर्‍यौ । तिमीहरूले छलको फल खाएका छौ, किनभने तिमीहरूले आफ्ना योजनाहरू, र आफ्‍ना धेरै सिपाहीहरूमा भर पर्‍यौ । 14 यसैले तिमीहरूका मानिसहरूमा युद्धको गर्जन हुनेछ, र तिमीहरूका किल्‍लाबन्‍दी गरिएका सहरहरू नष्‍ट हुनेछन् । युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैं त्‍यो हुनेछ, जुन बेला आमाहरूलाई आफ्‍ना छोराछोरीसितै टुक्रा-टुक्रा पारिएको थियो । 15 यसैले ए बेथेल, तेरो ठुलो दुष्‍टताको कारणले, तँलाई पनि यस्तै हुनेछ । झिसमिसेमा इस्राएलका राजा पूर्ण रूपले नाश पारिनेछ ।

11

1 “जब इस्राएल जवान मानिस थियो, तब मैले त्यसलाई प्रेम गरें, र मैले मेरो पुत्रलाई मिश्रबाट बाहिर ल्याएँ । 2 जति धेरै तिनीहरूलाई बोलाइयो, तिनीहरू मबाट त्यति नै टाढा गए । तिनीहरूले बाल देवतालाई बलिदान चढाए, र मूर्तिहरूलाई धूप बाले । 3 तापनि एफ्राइमलाई हिंड्न सिकाउने म नै थिएँ । तिनीहरूका हात समतेर तिनीहरूलाई उठाउने म नै थिएँ, तर मैले तिनीहरूको वास्ता गरें भन्‍ने कुरा तिनीहरूलाई थाहै भएन । 4 तिनीहरूलाई मानवताका डोरीहरू र प्रेमको बन्धनहरूले मैले डोर्‍याएँ । तिनीहरूका काँधका जुवालाई सजिलो पारिदिने कोही व्‍यक्‍ति जस्तै म तिनीहरूका निम्‍ति थिएँ, र तिनीहरूका अगि म झुकें र तिनीहरूलाई खुवाएँ । 5 के तिनीहरू मिश्रदेशमा फर्कने छैनन् र? तिनीहरू मकहाँ फर्कन नमानेका हुनाले, के अश्‍शूरले तिनीहरूमाथि राज्‍य गर्ने छैन र? 6 तिनीहरूका सहरहरूमा तरवार चल्‍नेछ र तिनीहरूका मुख्य ढोकाका बारहरूलाई नष्‍ट गर्नेछ । तिनीहरूका आफ्‍नै योजनाहरूका कारणले, त्यसले तिनीहरूलाई नष्‍ट गर्नेछ । 7 मबाट तर्केर जानलाई मेरा मानिसहरूले निश्‍चित गरेका छन् । तिनीहरूले सर्वोच्‍चलाई पुकारे पनि, कसैले पनि तिनीहरूलाई सहायता गर्नेछैन । 8 ए एफ्राइम, म कसरी तँलाई त्याग्‍न सक्‍छु? ए इस्राएल, म कसरी तँलाई अरूकहाँ सुम्‍पिन सक्‍छु र? म तँलाई कसरी अदमाझैं बनाउन सक्छु? म तँलाई कसरी सबोयीमझैं बनाउन सक्छु? मेरो हृदय मभित्र परिवर्तन भएको छ, र मेरो सम्पूर्ण दया जागेको छ । 9 म आफ्‍नो प्रचण्ड क्रोधलाई प्रयोग गर्नेछैनँ । म फेरि एफ्राइमलाई नष्‍ट गर्नेछैनँ । किनकि म परमेश्‍वर हुँ र म मानिस होइनँ । तिमीहरूका बिचमा म परमपवित्र हुँ, र म क्रोधमा आउनेछैनँ । 10 तिनीहरूले परमप्रभुको अनुसरण गर्नेछन्, र उहाँ सिंहझैं गर्जनुहुनेछ । जब उहाँ गर्जनुहुन्छ, उहाँका छोराछोरी पश्‍चिमबाट थरथर काम्दै आउनेछन् । 11 तिनीहरू मिश्रदेशबाट चराझैं र अश्‍शूरबाट ढुकुरझैं काम्दै आउनेछन् । तिनीहरूका आफ्‍नै घरमा बस्‍ने म तिनीहरूलाई बनाउनेछु— यो परमप्रभुको घोषणा हो । 12 एफ्राइमले झुटले, अनि इस्राएलको घरानाले छलले मलाई घेर्छ । तर यहूदाचाहिं अझै पनि म, परमेश्‍वरसँग हिंड्‍दैछ, र म, परमपवित्रमा विश्‍वासयोग्‍य छ ।”

12

1 एफ्राइमले हावा खान्‍छ र त्यसले पूर्वीय बतासको पछि लाग्‍छ । त्यसले झुट र हिंसालाई निरन्तर बढाउँछ । तिनीहरूले अश्‍शूरसँग करार बाँध्‍दछन् र मिश्रदेशमा जैतूनको तेल लान्छन् । 2 यहूदाको विरुद्ध परमप्रभुसँग एउटा मुद्धा छ र याकूबले जे गरेको छ, त्यसको लागि दण्ड दिनुहुनेछ । त्यसका कामहरूका निम्‍ति उहाँले त्यसलाई बदला दिनुहुनेछ । 3 गर्भमा नै याकूबले आफ्नो दाजुको कुर्कुच्‍चा समाते, र आफ्नो जवान अवस्थामा तिनले परमेश्‍वरसँग लडन्‍त गरे । 4 तिनले स्वर्गदूतसँग लडन्‍त गरे र जिते । तिनी रोए र उहाँको निगाहको निम्ति बिन्ती गरे । तिनले बेथेलमा परमेश्‍वरलाई भेटे । त्यहाँ तिनीसँग परमेश्‍वर बोल्‍नुभयो । 5 उहाँ सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर हुनुहुन्छ । पुकारा गर्नुपर्ने उहाँको नाउँ “परमप्रभु” हो । 6 यसैले आफ्नो परमेश्‍वरकहाँ फर्क । करारको विश्‍वस्‍तता र न्याय कायम राख र आफ्नो परमेश्‍वरमा निरन्तर पर्ख । 7 व्यापारीहरूका हातमा छलको तराजु रहेको छ, तिनीहरूलाई छल गर्न मन पराउँछन् । 8 एफ्राइमले भन्‍यो, “निश्‍चय नै म धेरै धनी भएको छु । आफ्‍नो निम्ति मैले धनसम्पत्ति पाएको छु । मेरो सबै काममा कुनै अपराध हुने कुरा, पाप हुने कुनै कुरा तिनीहरूले भेट्‍टाउनेछैनन् ।” 9 “मिश्रदेशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । तोकिएको चाडका दिनहरूमा झैं, तिमीहरूलाई फेरि म पालहरूमा बस्‍ने बनाउनेछु । 10 म अगमवक्ताहरूसँग बोलें, र तिमीहरूका निम्ति मैले तिनीहरूलाई धेरै दर्शनहरू दिएँ । अगमवक्ताहरूका हातद्वारा मैले दृष्‍टान्‍तहरू दिएँ ।” 11 गिलादमा दुष्‍टता छ भने, निश्‍चय नै त्यहाँका मानिसहरू बेकामका छन् । गिलगालमा तिनीहरू साँढेहरू बलि चढाउँछन् । तिनीहरूका वेदीहरू जोतेको खेतमा ढुङ्गाका थुप्रोझैं हुनेछन् । 12 याकूब अरामको देशमा भागे । एक जना पत्‍नी पाउनलाई इस्राएलले काम गरे, र एक जना पत्‍नी पाउनलाई तिनले भेडाका बगालको रेखदेख गरे । 13 परमप्रभुले एक जना अगमवक्ताद्वारा इस्राएललाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र एक जना अगमवक्ताद्वारा नै उहाँले तिनीहरूको रेखदेख गर्नुभयो । 14 एफ्राइमले परमप्रभुलाई अत्यन्तै क्रोधित पारेको छ । यसैले त्यसका परमप्रभुले त्यसको रगतको दोष त्यसमाथि नै छोड्नुहुनेछ र त्यसको अपमान त्‍यसैलाई फर्काउनुहुनेछ ।

13

1 “जब एफ्राइम बोल्‍थ्‍यो, तब त्यहाँ कम्पन हुन्थ्यो । त्यसले आफैंलाई इस्राएलमा उच्‍च पार्‍यो, तर बाल देवताको उपासना गरेको कारणले त्यो दोषी ठहरियो, र त्यो मर्‍यो । 2 अब तिनीहरू झन् धेरै पाप गर्छन् । आफ्ना चाँदीलाई ढालेर तिनीहरू मूर्तिहरू बनाउँछन्, सकेसम्‍म राम्रो सिपले ती मूर्तिहरू बनाउँछन्, र ती सबै शिल्पकारका काम हुन् । मानिसहरूले तिनीहरूका बारेमा भन्छन्, ‘बलिदान चढाउने यी मानिसहरूले बाछाहरूलाई चुम्बन गर्छन् ।’ 3 यसैले तिनीहरू बिहानको बादलझैं, चाँडै नै बिलाइजाने शितझैं, खलाबाट हुरीले टाढा उडाएको भुसझैं, र चिम्नीबाट निस्‍कने धूवाँझैं हुनेछन् । 4 तर मिश्रदेशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । मबाहेक अर्को कुनै परमेश्‍वर छैन भनी तिमीहरूले स्‍वीकार गर्नुपर्छ । र मबाहेक कुनै अर्को उद्धारकर्ता छैन भनी तिमीहरूले स्‍वीकार गर्नुपर्छ । 5 उजाड-स्‍थानमा, अति सुक्‍खा भूमिमा नै, मैले तिमीहरूलाई चिनें । 6 जब तिमीहरूले खर्कमा खायौ, तब तिमीहरू भरपेट भयौ, र जब तिमीहरूको पेट भरियो, तब तिमीहरूका हृदयमा घमण्ड पलायो । त्यही कारणले तिमीहरूले मलाई भुल्यौ । 7 तिनीहरूका निम्ति म एउटा सिंहझैं हुनेछु, र चितुवाझैं म तिनीहरूको बाटोभरि ढुक्‍नेछु । 8 छाउराहरू खोसिएको माउ भालूले झैं म तिनीहरूलाई आक्रमण गर्नेछु । तिनीहरूका छातीहरूलाई म च्यात्‍नेछु, र त्यहाँ म तिनीहरूलाई सिंहले झैं निल्‍नेछु जसरी जङ्गली पशुले तिनीहरूलाई टुक्रा-टुक्रा पार्छ । 9 ए इस्राएल, म तँलाई नष्‍ट गर्नेछु । कसले तँलाई सहायता गर्नेछ? 10 तेरो राजा कहाँ छ, जसले तँलाई सबै सहरहरूमा बचाउन सक्‍ला? तेरा शासकहरू कहाँ छन्, जसको विषयमा तैंले मलाई भनिस्, ‘मलाई एउटा राजा र राजकुमारहरू दिनुहोस्’? 11 मैले आफ्‍नो क्रोधमा तँलाई एउटा राजा दिएँ, र मेरो क्रोधमा त्यसलाई मैले हटाएँ । 12 एफ्राइमको अपराध थुप्रिएको छ । त्यसको पाप थुप्रिएको छ । 13 प्रसवको पीडा त्यसमाथि आउनेछ, तर त्यो एउटा मूर्ख छोरा हो, किनकि जन्मने समय हुँदा पनि त्यो कोखबाट बाहिर आउँदैन । 14 के म तिनीहरूलाई चिहानको शक्तिदेखि बचाउनेछु र? के म तिनीहरूलाई मृत्‍युबाट बचाउनेछु र? ए मृत्‍यु, तेरा विपत्तिहरू कहाँ छन्? ए चिहान, तेरो विनाश कहाँ छ? मेरा आँखाबाट दया लुकेको छ ।” 15 एफ्राइम आफ्ना दाजुभाइका बिचमा समृद्ध भए पनि, पूर्वीय बतास आउनेछ, परमप्रभुको बतास उजाड-स्‍थानबाट बहनेछ । एफ्राइमको मुहान सुक्‍नेछ, र त्यसको इनारमा पानी हुनेछैन । त्यसका हरेक बहुमुल्य थोकको भण्डारलाई त्यसको शत्रुले लुट्‍नेछ । 16 सामरिया दोषी ठहरिनेछ, किनकि त्यसले आफ्नो परमेश्‍वरको विरुद्धमा विद्रोह गरेको छ । तिनीहरू तरवारद्वारा मारिनेछन्, र तिनीहरूका जवान छोराछोरीलाई पछारेर टुक्रा-टुक्रा पारिनेछ, र तिनीहरूका गर्भवती स्‍त्रीहरूका पेट चिरिनेछन् ।

14

1 ए इस्राएल, परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ फर्क, किनकि आफ्ना अपराधको कारणले तिमीहरू पतित भएका छौ । 2 आफ्नो साथमा वचन लेओ र परमप्रभुकहाँ फर्क । उहाँलाई भन, “हाम्रा सबै अपराध क्षमा गर्नुहोस् र जे असल छ त्यो ग्रहण गर्नुहोस्, ताकि तपाईंलाई हामी आफ्‍ना ओठको फल चढाउन सकौं । 3 अश्‍शूरले हामीलाई बचाउनेछैन । हामी युद्ध गर्नलाई घोडाहरूमा सवार हुनेछैनौं । न त आफ्‍ना हातले बनाएका कुरालाई हामी यसो भन्‍नेछौं, ‘तपाईं हाम्रा देवता हुनुहुन्‍छ,’ किनकि तपाईंमा नै टुहुरोले दया पाउँछ ।” 4 “तिनीहरू तर्केका भए पनि म निको पार्नेछु, म तिनीहरूलाई सित्तैंमा प्रेम गर्नेछु, किनकि त्यसप्रतिको मेरो रिस मरेको छ । 5 इस्राएलको निम्ति म शीतझैं हुनेछु । लिली फूलझैं त्यो फुल्नेछ र लेबनानको देवदारुझैं त्यसले जरा गाड्नेछ । 6 त्यसका हाँगाहरू फैलिनेछन् । त्यसको सुन्दरता जैतूनको रूखझैं हुनेछ, र त्यसको सुगन्ध लेबनानको देवदारुझैं हुनेछ । 7 त्यसको छहारीमा बस्‍ने मानिसहरू फर्कनेछन् । तिनीहरू अन्‍नझैं बढ्नेछन् र दाखको बोटझैं फुल्नेछन् । त्यसको ख्याति लेबनानको दाखमद्यझैं हुनेछ । 8 ए एफ्राइम, मूर्तिहरूसँग मेरो अरू के काम छ? म त्यसलाई जवाफ दिनेछु र त्यसको वास्ता गर्नेछु । म सल्‍लोको रूखझैं हुँ, जसका पातहरू सधैं हरिया हुन्छन्, र मबाट नै तेरो फल आउँछ ।” 9 को बुद्धिमान छ, जसले यी कुराहरू बुझ्‍न सक्‍छ? कसले कुराहरू बुझ्‍छ जसले गर्दा उसले ती जान्‍न सक्‍छ? किनकि परमप्रभुका मार्गहरू ठिक हुन्‍छन्, र धर्मीचाहिं तिनमा हिँड्छन्, तर विद्रोह गर्नेहरूचाहिं तिनमा ठेस खानेछन् ।