नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
मिका
मिकाको पुस्तक
1

1 यरूशलेमका राजाहरू योताम, आहाज, र हिजकियाको समयमा मोरेशेतका निवासी मीकाकहाँ परमप्रभुको यस्तो वचन आयो, जुन उनले सामरिया र यरूशलेमको विषयमा देखेका थिए । 2 सारा जातिका मानिस, यो सुन । पृथ्वी र त्यसमा भएका सबैले यो सुन । परमप्रभु परमेश्‍वर उहाँको पवित्र मन्दिरबाट तिमीहरूका विरुद्ध गवाही बनून् । 3 हेर, परमप्रभु आफ्नो वासस्थानबाट बाहिर आउनुहुन्छ; उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्‍च स्थानहरूमा आफ्नो पाउ राख्‍नुहुनेछ । 4 मैन आगोको सामु पग्‍लिएझैँ, र भिरालो ठाउँबाट पानी बगेझैँ उहाँको चरणमुनि हिमालहरू पग्‍लन्‍छन्, र उपत्यकाहरू टुक्रिन्‍छन् । 5 यो सबै याकूबको अपराध र इस्राएलको घरनाका पापको कारणले भएको हो । याकूबको अपराध के हो? के त्यो सामरिया होइन? यहूदाको उच्‍च स्थान के हो? के त्यो यरूशलेम होइन? 6 “म सामरियालाई भग्‍नावशेषको थुप्रो, र दाखबारी लगाउने स्थान बनाइदिनेछु, र म त्यसका ढुङ्गाहरूलाई तल उपत्यकामा फ्याँकिदिनेछु र म त्यसका जगहरूलाई नाङ्गा बनाइदिनेछु । 7 त्यसका सबै हातले बनाइएका चिजहरू टुक्रा-टुक्रा पारिनेछन्, र त्यसले पाएका सबै उपहारहरूलाई आगोद्धारा जलाइनेछ, र त्यसका सबै मुर्तिहरूलाई म नष्‍ट गर्नेछु । त्यसले आफ्ना उपहारहरू वेश्याको ज्यालाबाट संचय गरेको हुनाले, ती फेरि वेश्याकै ज्याला बन्‍नेछन् ।” 8 यसैकारण म विलाप गर्नेछु र रुनेछु; म खाली खुट्टा र नाङ्गै जानेछु । म स्यालहरूझैँ चिच्‍याउनेछु र लाटोकोसेरोझैँ शोक गर्नेछु । 9 किनभने त्यसको घाउ निको हुँदैन, किनकि त्यो यहूदासम्म आएको छ । त्यो मेरा मानिसको प्रवेशद्धार, अर्थात् यरूशलेम पुगिसकेको छ । 10 गातमा यस विषयमा केही नबताओ, रुँदै नरोओ । बेथ-ओप्रामा म आफैँ धुलोमा लत्‍पतिन्छु । 11 शाफीरका निवासीहरू, नग्‍नता र शर्ममा हिँड । सानानका निवासीहरू बाहिर ननिस्‍क । बेथ एजेल विलाप गर्दछ, किनकि तिनीहरूको सुरक्षा-स्थान खोसिएको छ । 12 किनभने मरोतका निवासीहरू असल समाचारको निम्ति व्याकुल भएर पर्खन्छन्, किनभने परमप्रभुबाट यरूशलेमका प्रवेशद्धारहरुमा विनाश आएको छ । 13 लाकीशका निवासीहरू, रथलाई घोडाहरूका समुहमा बाँध । ए लाकीश, सियोनकी छोरीको निम्ति तँ नै पापको सुरुवात थिइस्, किनकि तँमा नै इस्राएलका अपराधहरू भेटिएका थिए । 14 यसैकारण तिमीहरूले मोरेशेत-गातलाई बिदाईको उपहार दिनेछौ । अक्‍जीबको नगरले इस्राएलका राजाहरूलाई निराश बनाउनेछन् । 15 मारेशाका निवासीहरू, म तिमीहरूको विरुद्धमा एउटा विजेता ल्याउनेछु । इस्राएलको वैभव अदुल्‍लाममा आउनेछ । 16 तिमीहरू हर्षित हुने आफ्ना छोराछोरीहरूका निम्ति आफ्नो केश खौर । आफैँलाई गिद्धझैँ तालुखुइले बनाओ, किनभने तिमीहरूका छोराछोरीहरू तिमीहरूबाट टाढा निर्वासनमा जानेछन् ।

2

1 धिक्‍कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्‍ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ छ । 2 तिनीहरू भुमिहरूको लोभ गर्छन् र ती आफ्नो कब्जामा गर्छन्; तिनीहरू घरहरूको लोभ गर्छन् र ती आफ्नो बनाउँछन् । तिनीहरूले मानिस र त्यसको घर अनि त्यसको उत्तराधिकारमाथि शासन गर्छन् । 3 यसैकारण परमप्रभु यस्तो भन्‍नुहुन्छ, “हेर, यस वंशको विरुद्ध म सर्वनाश ल्याउँदै छु, र त्यसबाट तिमीहरू उम्कन सक्‍नेछैनौ । तिमीहरू घमण्डसाथ हिँड्नेछैनौ, किनकि त्यो खराब समय हुनेछ । 4 त्यस दिन मानिसहरूले तिमीहरूबारे गीत गाउनेछन्, र विलापको रुवाबासीसहित तिनीहरू विलाप गर्नेछन् । तिनीहरू यसरी गाउनेछन्, ‘हामी इस्राएलीहरू पूर्ण रूपमा नष्‍ट भएका छौँ । परमप्रभुले मेरा मानिसहरूको इलाका परिवर्तन गर्नुहुन्छ । उहाँले कसरी त्यो मबाट हटाउनुहुनेछ? उहाँले हाम्रो भुमि धोका दिनेहरूलाई बाँडिदिनुहुनेछ!’” 5 यसैकारण, परमप्रभुको समुदायमा चिट्ठा हालेर आफ्नो इलाका बाँड्नको निम्ति धनी मानिसहरूसँग उत्तराधिकारीहरू हुनेछैनन् । 6 “अगमवाणी नगर” भनेर तिनीहरू भन्‍नेछन् । “तिनीहरूले यस्ता कुराहरूको अगमवाणी गर्नुहुँदैन; तिरस्कार हामीमाथि आउनेछैन ।” 7 याकूबको घराना, के साँच्‍चै यस्तो भनिनुपर्छ, “के परमप्रभुको आत्मा रिसाउनुभएको छ? के यी उहाँका कामहरू हुन्?” के सिधा हिँड्ने मानिसको निम्ति मेरो वचनले असल काम गर्दैन र? 8 अहिले मेरा मानिसहरू शत्रुझैँ जागेका छन् । युद्धबाट फर्केका सैनिकहरू तिनीहरूले सुरक्षित ठानेको ठाउँमा गएझैँ शङ्का नगरी नजिकबाट जानेहरूबाट तिमीहरू तिनीहरूको वस्‍त्र अर्थात् लबेदा खोस्छौ । 9 तिमीहरूले मेरा मानिसहरूका स्‍त्रीहरूलाई तिनीहरूका सुखद घरहरूबाट निकाल्‍दछौ; तिनीहरूका साना छोराछोरीहरूबाट मेरो आशिषलाई तिमीहरू सदाको निम्ति खोस्दछौ । 10 उठ र जाओ, किनभने त्यसको अशुद्धताको कारण यो ठाउँ तिमीहरू बस्‍न मिल्‍ने ठाउँ होइन । त्यो पूर्ण रूपमा सर्वनाश भएको छ । 11 यदि कोही झुट र असत्यताको आत्मामा तिमीहरूकहाँ आएर “म मद्य र कडा मदिराको विषयमा तिम्रो निम्ति अगमवाणी बोल्‍नेछु,” भनेर भन्दछ भने त्यसका मानिसहरूको निम्ति त्यो अगमवक्‍ता हुनेछ । 12 याकूब, म निश्‍चय नै तिमीहरू सबैलाई एकसाथ भेला गराउनेछु । म निश्‍चय नै इस्राएलका बाँकी रहेकाहरूलाई एकसाथ भेला गराउनेछु । गोठको भेडाझैँ, तिनीहरूको खर्कको बिचमा भएको बगालझैँ म तिनीहरूलाई एकसाथ ल्याउनेछु । मानिसहरूको ठुलो सङ्ख्याको कारण त्यहाँ ठुलो आवाज हुनेछ । 13 तिनीहरूका निम्ति मार्ग खुला गरिदिनेचाहिँ तिनीहरूभन्दा अगि जानेछ । तिनीहरू ढोका भत्‍काएर बाहिर जान्छन्, र तिनीहरूका राजा तिनीहरूभन्दा अगाडि जानेछन् । तिनीहरू सबैभन्दा अगाडि परमप्रभु हुनुहुनेछ ।

3

1 मैले भनेँ, “अब सुन, ए याकूबका अगुवाहरू र इस्राएलका घरानाका शासकहरू, के इन्साफलाई बुझ्नु तिमीहरूका निम्ति ठिक होइन र? 2 तिमीहरू जसले असल कुरालाई घृणा गर्छौ र दुष्‍टलाई रुचाउँछौ, तिमीहरू जसले तिनीहरूका छालालाई काढ्‍दछौ, र तिनीहरूका हड्‍डीबाट मासुलाई अलग गर्दछौ, 3 तिमीहरु जसले मेरा मानिसहरूका मासु खान्छौ, र तिनीहरूका छाला काढ्छौ, तिनीहरूका हड्‍डी भाँच्‍छौ, र तिनीहरूलाई भाँडोमा राख्‍ने मासु, र खड्कुँलोमा पकाउने मासुझैँ टुक्रा-टुक्रा गर्दछौ । 4 त्यसपछि तिमी शासकहरूले परमप्रभुलाई पुकार्नेछौ, तर उहाँले तिमीहरूलाई जवाज दिनुहुनेछैन । त्यस बेला उहाँले आफ्नो मुहार तिमीहरूदेखि लुकाउनुहुनेछ किनभने तिमीहरूले दुष्‍ट कामहरू गरेका छौ ।” 5 परमप्रभु यस्तो भन्‍नुहुन्छ, “मेरा मानिसहरूलाई गलत मार्गमा हिँडाउने अगमवक्ताहरू, कसैले तिनीहरूलाई केही खान दिए भने, तिनीहरू ‘शान्ति होस्’ भनेर घोषणा गर्दछन् । तर यदि त्यसले तिनीहरूलाई केही खान दिएन भने, तिनीहरू त्यसको विरुद्ध युद्ध गर्नको निम्ति लागिपर्दछन् । 6 यसैकारण, तिमीहरूका निम्ति त्यो दर्शनविनाको रात हुनेछ । अनि त्यो यस्तो अन्धकार हुनेछ, कि तिमीहरूले कुनै भविष्यवाणी गर्नेछैनौ । अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ, र तिनीहरूमाथि दिन पनि अन्धकार हुनेछ । 7 दर्शन देख्‍नेहरू शर्ममा पर्नेछन्, र भविष्यवक्ताहरू भ्रमित हुनेछन् । तिनीहरू सबैले आफ्ना मुख छोप्‍नेछन्, किनभने मबाट कुनै जवाफ आउनेछैन ।” 8 तर याकूबलाई त्यसको अपराध र इस्राएललाई त्यसको पापको घोषणा गर्न मचाहिँ परमप्रभुको आत्माद्वारा शक्ति, न्याय र पराक्रमले भरिपूर्ण छु । 9 अब, न्यायलाई घृणा गर्ने, र सबै असल कुरालाई भ्रष्‍ट गर्ने ए याकूबका घरानाका अगुवाहरू, र इस्राएलका घरानाका शासकहरू, यो सुन । 10 तिमीहरूले सियोनलाई रगतद्धारा र यरूशलेमलाई अधर्मद्धारा निर्माण गर्छौ । 11 तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्‍न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।” 12 यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्‍नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।

4

1 तर अन्त्यका दिनहरूमा परमप्रभुको घरानाको पर्वत अरू पर्वतहरूमाथि स्थापित हुनेछ । त्यो पहाडहरूभन्दा माथि उचालिनेछ र जाति-जातिहरू त्यसतर्फ जानेछन् । 2 धेरै जातिहरू गएर भन्‍नेछन्, “आओ, परमप्रभुको पर्वत, अर्थात् याकूबका परमेश्‍वरको वासस्थानसम्म जाऔँ । उहाँले हामीलाई उहाँका मार्ग सिकाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिँड्नेछौँ ।” किनभने सियोनबाट व्यवस्था र यरूशलेमबाट परमप्रभुको वचन बाहिर निस्कनेछ । 3 उहाँले धेरै जातिहरूको न्याय गर्नुहुनेछ र टाढा-टाढा भएका धेरै जातिहरूका विषयमा निर्णय गर्नुहुनेछ । तिनीहरूले आफ्ना तरवारहरूलाई पिटेर हलोका फाली र आफ्ना भालाहरूलाई छिमल्ने हँसिया बनाउँनेछन् । एउटा जातिले अर्को जातिको विरुद्ध तरवार उठाउने छैन, नत तिनीहरूले अबदेखि युद्धको निम्ति तालिम लिनेछन् । 4 बरु, तिनीहरूले हरेक मानिसलाई उहाँको दाखको बोटमुनि र उहाँको नेभाराको रूखमुनि राख्‍नेछन् । कसैले पनि तिनीहरूलाई भयभीत बनाउनेछैन, किनभने सेनाहरूका परमप्रभु बोल्नुभएको छ । 5 किनभने हरेक जातिहरू तिनीहरूका ईश्‍वरहरूका नाममा हिँड्छन् । तर हामी हाम्रा परमेश्‍वर परमप्रभुको नाउँमा सदा सर्वदा हिँड्नेछौँ । 6 परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिनमा, म लङ्गडाहरू भेला गराउनेछु र निर्वासितहरूलाई एकसाथ ल्याउनेछु, तिनीहरू जसलाई मैले पीडा दिएको छु । 7 म लङ्गडोलाई बाँकी जाति र निर्वासितहरूलाई एउटा बलियो जाति बनाउनेछु, र म, परमप्रभुले सदा सर्वदा तिनीहरूमाथि सियोन पर्वतमा शासन गर्नेछु । 8 ए बगालको धरहरा, सियोनकी छोरीको पर्वत, तेरो पहिलेको राज्य अर्थात् यरूशलेमकी छोरीको राज्य पुनर्स्थापित हुनेछ । 9 अब, तिमीहरू किन ठुलो सोरमा कराउँछौ? के तिमीहरूका बिचमा कोही राजा छैन? के तिमीहरूको सल्लाहकार मरिसक्‍यो? के यही कारणले प्रसववेदनाकी स्‍त्रीलाई झैँ पीडाले तिमीहरूलाई पक्रेको छ? 10 सियोनकी छोरी, प्रसववेदनाकी स्‍त्रीझैँ बच्‍चा जन्माउनको निम्ति पीडा र वेदनामा पर् । किनभने अब तँ सहरबाट बाहिर जानेछस्, मैदानमा बस्‍नेछस्, र बेबिलोनमा जानेछस् । त्यहाँ तँलाई बचाइनेछ । त्यहाँ परमप्रभुले तिमीहरूका शत्रुका हातबाट तिमीहरूलाई बचाउनुहुनेछ । 11 अब धेरै जातिहरू तिमीहरूका विरुद्धमा एक भएका छन् । तिनीहरू भन्छन्, ‘त्यसलाई अपवित्र रहन देओ, हाम्रा आँखाले सियोनमाथि नजर लगाइरहून् ।’ 12 तिनीहरू परमप्रभुका विचार जान्दैनन्, नत तिनीहरू उहाँका योजनाहरू बुझ्‍छन्, किनभने उहाँले तिनीहरूलाई खलाको निम्ति तयार गरिएको अन्‍नका बिटाझैँ बटुल्नुभएको छ । 13 ए सियोनकी छोरी उठ्‍ र दाइँ गर्, किनभने म तेरो सिङ्लाई फलाम र तेरा खुरलाई काँसा बनाउनेछु । तिमीहरूले धेरै जातिहरूलाई कुल्चनेछौ र तिनीहरूका अन्यायपूर्ण धन समस्त पृथ्वीका परमप्रभुकहाँ सुम्पनेछौ ।”

5

1 अब, ए सेनाहरूका छोरी, युद्धको निम्ति पङ्क्तिमा आओ, किनभने सेनाहरूले सहरको वरिपरि घेरा लगाएका छन्, र तिनीहरूले इस्राएलका न्यायकर्ताको गालामा छडीले हिर्काउनेछन् । 2 तर, बेथलेहेम एप्राता, तँ यहूदाका वंशहरूमा सानो भए तापनि, तेरै बिचबाट एक जना इस्राएलमा शासन गर्न मकहाँ आउनेछ, जसको सुरुवात प्राचीन समयदेखि, अर्थात् सदादेखि नै भएको थियो । 3 यसैकारण प्रसववेदनामा भएकीले बच्‍चा नजन्माएसम्म, र त्यसका बाँकी रहेकाहरू इस्राएलका मानिसकहाँ नफर्केसम्म परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुहुनेछ । 4 परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्‍वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ । तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महानता रहिरहनेछ । 5 किनभने हाम्रो शान्तिचाहिँ यो हुनेछ - जब अश्शूरीहरू हाम्रो देशभित्र प्रवेश गर्नेछन्, र जब तिनीहरू हाम्रा किल्लाहरूतर्फ अगि बढ्‍छन्, त्यसबेला हामी तिनीहरूका विरुद्ध सात गोठाला र मानिसहरूमाथि आठ अगुवा खडा गर्नेछौँ । 6 तिनीहरूले अश्शूर देश र निम्रोदको देशलाई तिनीहरूको प्रवेशद्धारमा तरवारद्धारा नियन्त्रण गर्नेछन् । अश्शूरीहरू हाम्रो देशमा आउँदा, र तिनीहरू हाम्रो सिमानाभित्र अगि बढ्दा उहाँले हामीलाई तिनीहरूबाट बचाउनुहुनेछ । 7 याकूबका बाँकी रहेकाहरू धेरै जातिहरूका माझमा हुनेछन् । तिनीहरू परमप्रभुबाटको शीत, र घाँसमा पर्ने झरीझैँ हुन् जसले कुनै मानिस, वा मानिस जातिका सन्तानलाई पर्खंदैनन् । 8 याकूबका बाँकी रहेकाहरू राष्‍ट्रहरू र जातिहरूका माझमा हुनेछन् । तिनीहरू जङ्गलका पशुहरूका बिचमा भएको एउटा सिंहझैँ, र भेडाहरूको बगालमा एउटा जवान सिंहझैँ हुन् । जब त्यो तिनीहरूका बिचबाट जान्छ, त्यसले तिनीहरूलाई कुल्चनेछ र तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछ, अनि तिनीहरूलाई बचाउने त्यहाँ कोही हुनेछैन । 9 तेरो हात तेरा शत्रुहरूका विरुद्ध उठ्नेछन् र त्यसले तिनीहरूलाई सर्वनाश गर्नेछ । 10 परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिन यस्तो हुनेछ । म तिमीहरूका बिचमा तिमीहरूका घोडाहरूलाई नाश गर्नेछु र तिमीहरूका रथहरू भत्‍काइदिनेछु । 11 तेरो भुमिका सहरहरूलाई म नाश गर्नेछु र तिमीहरूका गढीहरूलाई भत्काइदिनेछु । 12 म तिमीहरूका बिचमा भएको तन्त्रमन्त्र नष्‍ट पार्नेछु, र तिमीहरूका बिचमा कोही पनि भविष्यवक्ताहरू हुनेछैनन् । 13 म तिमीहरूले हातले बनाएका मुर्तिहरू र तिमीहरूका ढुङ्गाका स्तम्भहरूलाई नाश गर्नेछु । अबदेखि तिमीहरूले आफ्ना हातले बनाएका वस्तुहरूलाई पुज्नेछैनौ । 14 म तिमीहरूका बिचबाट अशेराका खम्बाहरू उखेलिदिनेछु, र म तिमीहरूका सहरहरू नाश गर्नेछु । 15 मेरा कुराहरू नसुन्‍ने जातिहरूमा म रिस र क्रोधमा प्रतिशोद ल्याउनेछु ।”

6

1 अब परमप्रभु के भन्‍नुहुन्छ त्यो सुन, “उठ र आफ्नो विषयमा पर्वतहरूलाई बताओ; पहाडहरूले तिमीहरूको आवाज सुनून् । 2 ए पर्वतहरू र पृथ्वीका बलिया जगहरू परमप्रभुको अभियोगलाई सुन । किनभने आफ्ना मानिसहरूको विरुद्ध परमप्रभुको एउटा अभियोग छ, र उहाँ इस्राएलको विरुद्ध न्यायलयमा लड्नुहुनेछ ।” 3 “मेरा मानिस हो, मैले तिमीहरूलाई के गरेको छु? मैले तिमीहरूलाई कसरी थकित पारेको छु? मेरो विरुद्धमा साक्षी देओ! 4 किनभने मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ र दासत्वको घरबाट बचाएँ । मैले मोशा, हारून, र मिरियमलाई तिमीहरूकहाँ पठाएँ । 5 मेरा मानिस हो, तिमीहरू शित्तीमदेखि गिलगालसम्म जाँदा, मोआबका राजा बालाकले कल्पना गरेका कुरा, र बओरको छोरो बालामले कसरी जवाफ दिएका थिए त्यो सम्झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरू जान्‍न सक ।” 6 उच्‍च परमेश्‍वरकहाँ म निहुरिँदा, मैले परमप्रभुकहाँ के लैजाऊँ? के म उहाँकहाँ एक वर्षे बाछाहरूका होमबलि लिएर आऊँ? 7 के परमप्रभु हजारौँ भेडाहरुद्धारा, वा तेलका दश हजार नदीहरुद्धारा प्रसन्‍न हुनुहुन्छ? के मेरा अपराधहरूका निम्ति र मेरो आफ्नै पापको निम्ति मेरो जेठो छोरो, मेरो शरीरको फल चढाऊँ? 8 ए मानिस, उहाँले तँलाई जे असल छ त्यो, र तँबाट परमप्रभुले चाहनुभएको कुरा बताउनुभएको छ । न्यायपूर्ण काम गर, कृपालाई प्रेम गर, र आफ्ना परमेश्‍वरसँग नम्र भएर हिँड । 9 परमप्रभुको आवाजले सहरलाई एउटा घोषणा गर्दै छ - विवेकले तपाईंको नाउँलाई स्वीकार्दछ: “छडीलाई र त्यो ठाउँमा राख्‍नेलाई ध्यान देओ । 10 बेइमान दुष्‍टका घरानाहरूमा सम्पत्तिहरू छन्, र त्यहाँ झुटा कुराहरू छन्, जुन घृणास्पद छन् । 11 यदि कसैले छलपूर्ण तराजू र कपटपूर्ण ढक प्रयोग गर्छ भने के मैले त्यसलाई निर्दोष मान्‍ने? 12 धनी मानिसहरू हिंसाले भरिएका छन्, त्यसका निवासीहरू झुट बोल्छन्, र तिनीहरूका मुखमा तिनीहरूका जिब्रा छलपूर्ण छन् । 13 यसैकारण म तिमीहरूलाई भयङ्कर रूपमा प्रहार गर्नेछु, र तिमीहरूका पापको कारण म तिमीहरूलाई उजाड बनाउनेछु । 14 तिमीहरूले खानेछौ तर तृप्‍त हुनेछैनौ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ । तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्यो म तरवारलाई दिनेछु । 15 तिमीहरूले छर्नेछौ तर कटनी गर्नेछैनौ । तिमीहरूले जैतूनको तेल निकाल्नेछौ तर त्यस तेलले आफैँलाई अभिषेक गर्नेछैनौ । तिमीहरूले दाख पेल्नेछौ तर मद्य भने पिउनेछैनौ । 16 ओम्रीका नियमहरू, र आहाबका घरानाका सबै कामहरू पालना भएका छन् । यसैकारण म तिमीहरूको सहरलाई भग्‍नावशेष बनाउनेछु, र त्यहाँका बासिन्दाहरूलाई खिसीको पात्रो बनाउनेछु, र मेरा मानिसहरूबाट तिमीहरूले निन्दा सहनेछौ ।”

7

1 हाय म! म ग्रीष्म ऋतुमा बटुलिएको फलझैँ भएको छु, र रस निकालिएको दाखझैँ भएको छु । त्यहाँ खानलाई दाखको झुप्पा छैन, र मेरो प्राणले इच्छा गरेकोजस्तो पहिले नै पाकेको अन्जीर पनि छैन । 2 भुमिबाट विश्‍वसनीय मानिसहरू बिलिन भएका छन् । सारा मानवजातिमा कोही सोझो मानिस छैन । तिनीहरू सबै रक्तपातको निम्ति पर्खिरहन्छन् । हरेकले आफ्नो दाजुभाइलाई जालले शिकार गर्दछ । 3 तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्‍त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् । 4 तिनीहरूमध्येको उत्कृष्‍टचाहिँ काँडाझैँ छ, सबैभन्दा सोझोचाहिँ काँडाको झाँगभन्दा पनि खराब छ । तिमीहरूका पहरेदारहरूले पहिले नै बताएको दिन, तिमीहरूको दण्डको दिन यही हो । अब यो तिनीहरूको भ्रमको समय हो । 5 कुनै पनि छिमेकीमाथि विश्‍वास नगर्नू । कुनै साथिमाथि भरोसा नगर्नू । तिम्रा अङ्गालोमा बस्‍ने स्‍त्रीसँग पनि होसियारसँग बोल्नू । 6 किनभने छोरोले आफ्ना बुबाको अनादर गर्दछ, छोरी आफ्नी आमाको विरुद्धमा उठ्छे, र बुहारी सासूको विरुद्ध । मानिसको शत्रु आफ्नै घरका मानिसहरू हुन् । 7 तर मचाहिँ परमप्रभुतर्फ आँखा लगाउँछु । म मेरो मुक्तिको परमेश्‍वरको पर्खाइमा छु, मेरा परमेश्‍वरले मलाई सुन्‍नुहुन्छ । 8 ए मेरो शत्रु, मलाई देखेर रमाहट नगर् । म लडेपछि, फेरि उठ्नेछु । जब म अन्धकारमा बस्दछु, परमप्रभु मेरो निम्ति ज्योति हुनुहुनेछ । 9 मैले परमप्रभुको विरुद्ध पाप गरेको कारणले, उहाँले मेरो विषयमा वकालत नगर्नुभएसम्म, र मेरो निम्ति इन्साफ नगर्नुभएसम्म मैले उहाँको क्रोध सहनेछु । 10 अनि मेरो शत्रुले त्यो देख्‍नेछ, र “परमप्रभु तेरो परमेश्‍वर कहाँ छ?” भनेर भन्‍नेलाई शर्मले ढाक्‍नेछ । मेरा आँखाले त्यसलाई हेर्नेछन् । सडकहरूका माटोझैँ त्यो कुल्चिनेछे । 11 तिमीहरूका पर्खालहरू निर्माण गर्ने दिन आउनेछ । त्यस दिनमा सिमानाहरू टाढा-टाढासम्म विस्तार हुनेछन् । 12 त्यस दिन अश्शूर र मिश्रका शहरहरुबाट, मिश्रदेखि यूफ्रेटिस नदीसम्म, समुद्रदेखि समुद्रसम्म, र पर्वतदेखि पर्वतसम्म मानिसहरू तिमीहरूकहाँ आउनेछन् । 13 तर भुमि भने त्यसमा बसोबास गर्ने मानिसहरूका कारण, र तिनीहरूका कामका प्रतिफलको कारण उजाड हुनेछ । 14 आफ्ना मानिसहरू, अर्थात् तपाईंका उत्तराधिकारको बगाललाई आफ्नो छडीले नियन्त्रण गर्नुहोस् । तिनीहरू एक्लै खर्कको बिचमा, र जङ्गलमा बस्छन् । पुराना दिनहरूमा झैँ तिनीहरूलाई बाशान र गिलादमा चर्न दिनुहोस् । 15 मिश्रको भुमिबाट तिमीहरू बाहिर आएका दिनमा झैँ, म तिनीहरूलाई आश्‍चर्य कामहरू देखाउनेछु । 16 जाति-जातिहरूले यो देख्‍नेछन् र आफ्ना शक्तिमाथि लज्‍जित हुनेछन् । तिनीहरूले केही बोल्नेछैनन्, र तिनीहरू बहिरा हुनेछन् । 17 तिनीहरूले सर्पले झैँ धुलो चाट्नेछन्, माटोमा घस्रने प्राणीझैँ तिनीहरूले गर्नेछन् । तिनीहरू आफ्ना गुफाहरूबाट डरसाथ निस्कनेछन् । परमप्रभु, हाम्रा परमेश्‍वर, तपाईंकहाँ तिनीहरू डरसाथ आउनेछन्, र तिनीहरू तपाईंको कारण भयभीत हुनेछन् । 18 तपाईंझैँ परमेश्‍वर को छ, जसले पापलाई मेटाउनुहुन्छ, र आफ्नो उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध क्षमा गर्नुहुन्छ? उहाँ सदाको निम्ति रिसाउनुहुन्‍न, किनभने उहाँ आफ्नो करारको विश्‍वसनीयतामा खुशी हुनुहुन्छ । 19 तपाईंले फेरि हामीमाथि दया देखाउनुहुनेछ । तपाईंले हाम्रा अपराधहरूलाई आफ्ना पाऊमुनि कुल्चनुहुनेछ । तपाईंले हाम्रा सबै पापहरूललाई समुद्रको गहिराइमा फ्याँकिदिनुहुनेछ । 20 प्राचीन दिनहरूमा तपाईंले हाम्रा पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएझैँ तपाईंले याकूबलाई सत्यता र अब्राहामलाई करारको विश्‍वसनीयता दिनुहुनेछ ।