नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
नहूम
नहूमको पुस्तक
1

1 निनवेको विषयमा भएको घोषणा । एल्कोशी नहूमको दर्शनको पुस्तक । 2 परमप्रभु डाही परमेश्‍वर हुनुहुन्छ र उहाँले बदला लिनुहुन्छ । परमप्रभुले बदला लिनुहुन्छ र उहाँ क्रोधले भरिनुभएको छ । उहाँले आफ्ना विरोधीहरूसँग बदला लिनुहुन्छ र आफ्ना शत्रुहरूप्रति उहाँको रिस रहिरहन्छ । 3 परमप्रभु रिसाउनमा ढिला र शक्तिमा महान् हुनुहुन्छ । उहाँले दुष्‍टलाई दण्डबाट उम्कन दिनुहुन्‍न । परमप्रभुले भुमरी र आँधीमा आफ्नो मार्ग तयार गर्नुहुन्छ, र बादलहरू उहाँका पाउका धुलो हुन् । 4 उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुक्खा बनाउनुहुन्छ । उहाँले सबै नदीहरूलाई सुकाइदिनुहुन्छ । बाशान र कर्मेल कमजोर छन् । लेबनानका फूलहरू कमजोर छन् । 5 पर्वतहरू उहाँको उपस्थितिमा काँप्छन्, र पहाडहरू पग्लिन्‍छन् । उहाँको उपस्थितिमा पृथ्वी, सारा संसार र त्यसमा बसोबास गर्ने सबै मानिस नष्‍ट हुन्छन् । 6 उहाँको क्रोधको अगाडि को खडा हुन सक्छ? उहाँको क्रोधको प्रचण्डता कसले सहन सक्छ? उहाँको क्रोध आगोझैँ खन्याइन्‍छ, र उहाँद्धारा चट्टानहरू टुक्रा-टुक्रा पारिन्छन् । 7 परमप्रभु असल हुनुहुन्छ, र कष्‍टको समयमा उहाँ बलियो गढ हुनुहुन्छ, र उहाँमा शरण लिनेको निम्ति उहाँ विश्‍वसनीय हुनुहुन्छ । 8 तर उहाँले महान् बाढीले आफ्ना शत्रुहरूको अन्त गर्नुहुनेछ, र उहाँले तिनीहरूलाई अन्धकारमा लानुहुनेछ । 9 तिमीहरूले परमप्रभुको विरुद्ध के षड्यन्त्र गर्दैछौ? उहाँले पूर्णरूपमा त्यो अन्त गर्नुहुनेछ । समस्या दोस्रो पटक आइपर्नेछैन । 10 किनभने तिनीहरू काँढाघारीहरूझैँ अल्झिनेछन् । तिनीहरू आफ्नै पेय पदार्थले भरपेट हुनेछन् । तिनीहरू सुकेका ठोसाहरूझैँ आगोद्धारा पूर्ण रूपमा भस्म हुनेछन् । 11 निनवे, तिमीहरूका बिचमा कोही खडा भयो, जसले परमप्रभुको विरुद्धमा योजना बनायो, र त्यसले दुष्‍टतालाई बढुवा दियो । 12 परमप्रभु यस्तो भन्‍नुहुन्छ, “तिनीहरू आफ्ना पूर्ण शक्ति र पूर्ण सङ्ख्याको अवस्थामा भए तापनि तिनीहरू काटिनेछन्, र तिनीहरूका मानिसहरू बाँकी रहनेछैनन् । तर यहूदा, मैले तँलाई पीडा दिएको भए तापनि अब म तँलाई पीडा दिनेछैनँ । 13 अब म मानिसहरूका जुवा भाँची तँबाट निकालिदिनेछु, तेरा बन्धनहरूलाई म तोडिदिनेछु ।” 14 निनवे, तेरो विषयमा परमप्रभुले एउटा आज्ञा दिनुभएको छ, “अब तेरो नाम बोक्‍ने कोही वंश बाँकी रहनेछैन । कलात्मक रूपमा हातले बनाइएका र फलाम गालेर बनाइएका मुर्तिहरूलाई तिमीहरूका देवताहरूका घरबाट म हटाइदिनेछु । म तेरो चिहान तयार गर्नेछु, किनकि तँ तुच्छ छस् ।” 15 हेर, असल समाचार ल्याउनुहुने, र शान्ति घोषणा गर्नुहुनेका पाउ पर्वतहरूमा छन् । यहूदा, आफ्ना चाडहरू मनाओ, र आफ्ना प्रतिज्ञाहरू पुरा गर, किनकि दुष्‍टले अब तँलाई आक्रमण गर्नेछैन, त्यो पूर्णरूपमा नाश भएको छ ।

2

1 तँलाई टुक्रा-टुक्रा पार्नुहुने तेरो विरुद्धमा आउँदै हुनुहुन्छ । सहरहरूका पर्खालहरूमा मानिसहरू खटाओ, बाटोहरूलाई पहरा देओ, आफैँलाई बलिया बनाओ, आफ्ना सेनाहरूलाई एकठ्ठा गर । 2 लुटेराहरूले तिनीहरूलाई तहस-नहस गरे तापनि, र तिनीहरूका दाखका हाँगाहरूलाई नष्‍ट गरे तापनि, परमप्रभुले इस्राएलको गौरवझैँ याकूबको गौरव पुनर्स्थापित गर्दै हुनुहुन्छ । 3 त्यसका शक्तिशाली मानिसहरूका रक्षा कवचहरू राता छन्, र त्यसका सैनिकहरू वैजनी रङ्गका पोशाकमा छन् । तिनीहरूका रथहरू तयार भएका दिनमा तिनीहरूका धातुद्धारा चम्किन्छन्, र सल्लोका भालाहरू हावामा लहराइन्‍छन् । 4 ती रथहरू सडकहरूबाट तीव्र गतिमा अगि बढ्छन्, फराकिला सडकहरूमा ती अगाडि र पछाडि दौडन्‍छन् । तिनीहरू राँकाझैँ देखिन्छन्, र तिनीहरू बिजुलीझैँ दौडन्‍छन् । 5 तँलाई टुक्रा-टुक्रा पार्नेले आफ्ना अधिकारीहरूलाई बोलाउँछ, तर तिनीहरू हिँड्ने क्रममा एक आपसमा ठेस खाई लड्छन् । तिनीहरू सहरको पर्खाललाई आक्रमण गर्न हतारिन्छन् । यी आक्रमण गर्नेहरूलाई बचाउनको निम्ति ठुलो रक्षा कवच बनाइन्छ । 6 नदीका बाँधहरू खुला पारिन्छन्, र दरबारचाहिँ नाश हुनेछ । 7 हुज्‍जाबका वस्‍त्र फुकालिएकाछन् र त्यो निर्वासनमा लगिनेछे । त्यसका कमारीहरू छाती पिट्दै ढुकुरहरूझैँ विलाप गर्छन् । 8 निनवे चुहिरहेको पोखरीझैँ हो, जसका मानिसहरू जोडले बगिरहेको पानीझैँ भागिरहेका छन् । अरूहरूले ठुलो सोरमा भन्छन्, “रोक, रोक,” तर कसैले पनि पछि फर्केर हेर्दैन । 9 चाँदी र सुनका लुटका सामान लेओ, किनभने निनवेका सबै सुन्दर कुराहरूका वैभवको कुनै अन्त्य छैन । 10 निनवे रित्तो र नष्‍ट भएको छ । सबैका हृदय पग्लिन्‍छन्, सबैका घुँडाहरू एक आपसमा ठोकिन्छन्, र पीडा सबैमा छ, तिनीहरू सबैका अनुहारहरू पहेँला छन् । 11 सिंहको गुफा, जहाँ जवान सिंहहरूलाई खुवाइन्थ्यो, जहाँ सिंह र सिंहनी आफ्ना डमरुहरूसँग हिँड्थे, जहाँ तिनीहरू कोहीसँग डराउँदैनथे, त्यो ठाउँ कहाँ छ? 12 सिंहले आफ्ना डमरुहरूका निम्ति त्यसका शिकारहरूलाई टुक्रा-टुक्रा गर्‍यो । त्यसले आफ्ना सिंहनीहरूका निम्ति शिकारको घाँटी निमोठी मार्‍यो, र आफ्नो गुफालाई शिकारहरूले , र आफ्नो ओडारलाई टुक्रा-टुक्रा पारिएका सिनुहरूले भर्‍यो । 13 सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्धमा छु । म तेरा रथहरूलाई जलाएर धुँवा बनाउनेछु र तेरा जवान सिंहहरूलाई तरवारले नष्‍ट पार्नेछ । तेरो भुमिबाट तेरो शिकारलाई म हटाइदिनेछु र तेरा समाचारबाहकहरूका आवाज अब कहिल्यै सुनिनेछैन ।”

3

1 रगतले भरिएको सहरलाई धिक्‍कार! त्यो झूट र लूटको सम्पत्तिले भरिएको छ । त्यसका शिकारहरू सधैँ त्यहीँभित्र छन् । 2 तर अब त्यहाँबाट कोर्राहरूको, तेज पाङ्ग्राहरू, उफ्रदै गरेका घोडाहरू, र रथहरूको कुदाइको आवाज आउँछन् । 3 आक्रमण गर्ने घोडचढीहरू, टल्कने तरवारहरू, चम्कने भालाहरू, लास र मुर्दाहरूको थुप्रो त्यहाँ छन् । त्यहाँ अनगिन्ती लाशहरू छन् । त्यसलाई आक्रमण गर्नेहरू लाशमा ठोकर खाँदै हिँड्छन् । 4 टुनामुनामा निपुण, त्यो सुन्दर वेश्या, जसले आफ्नो, र टुनामुनाले जाति-जातिहरूलाई बेच्छे, त्यसको कामवासनापूर्ण कामहरूका कारण यो भइरहेको छ । 5 सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्ध छु । म तेरो फरियालाई तेरो अनुहारभन्दा माथिसम्म उचालिदिनेछु र तेरा गुप्‍तांगहरू जाति-जातिहरूलाई, र तेरो शर्म राज्यहरूलाई देखाइदिनेछु । 6 म तँमाथि घिनलाग्दो फोहोर फ्याँक्‍नेछु र तँलाई घृणित बनाइदिनेछु । म तँलाई यस्तो बनाउनेछु, कि सबैले तँलाई हेर्नेछन् । 7 तँलाई हेर्ने सबै तँबाट टाढा भाग्‍नेछन् र भन्‍नेछन्, ‘निनवे नष्‍ट भएको छ, त्यसको निम्ति कसले विलौना गर्ला?’ तँलाई शान्त्वना दिने मैले कहाँ पाउन सक्छु?” 8 निनवे, के तँ नील नदीको किनारमा बनाइएको नो शहरभन्दा असल छस्, त्यो शहर जसको वरिपरि पानी थियो, जसको सुरक्षा सागर, र जसको पर्खाल समुद्र थियो? 9 कूश र मिश्र त्यसका शक्ति थिए, र त्यसको कुनै अन्त थिएन । पूत र लिबिया त्यसका मित्रराष्‍ट्रहरू थिए । 10 तथापि नो शहर निर्वासनमा लगियो, त्यो दासत्वमा लगियो, त्यसका छोराछोरीहरू हरेक सडकहरूका मुखमा टुक्रा-टुक्रा पारिए । त्यसका शत्रुहरूले त्यसका भारदारहरूका निम्ति चिट्ठा हाले, र त्यसका सबै महान् मानिसहरू साङ्लाले बाँधिए । 11 तँ मतवाला हुनेछस्, तँ लुक्‍न कोसिस गर्नेछस्, र तैँले आफ्नो शत्रुबाट भाग्‍नलाई शरणस्थान खोज्नेछस् । 12 तेरा सबै किल्लाहरू पहिले नै फल पाकेका अन्जिरका रूखहरूझैँ हुनेछन् । ती हल्लाइए भने, त्यसका सबै फल खानेवालाको मुखमा झर्नेछन् । 13 हेर्, तेरा बिचमा भएका मानिसहरू स्‍त्रीहरू मात्र छन् । तेरो देशका प्रवेशद्धारहरु शत्रुहरूका निम्ति खुला भएका छन् । आगोले त्यसका गजबारहरू भस्म पारेको छ । 14 घेरावन्दीको दिनको निम्ति पानी भर्, आफ्ना किल्लाहरू बलियो पार् । हिलोमा जा, र त्यसलाई कुल्ची । इट बनाउने भाँडो बोक् । 15 आगोले तँलाई त्यहाँ भस्म पार्नेछ, र तरवारले तँलाई नाश गर्नेछ । सलहहरूले सबै कुरा सखाप पारेझैँ त्यसले तँलाई सखाप पार्नेछ । फटेङ्ग्राहरू जस्ता अनगिन्ती हो, र सलाहहरूझैँ संख्यामा बढ्‍ । 16 तैँले आफ्ना व्यापारीहरूलाई आकाशका ताराहरूभन्दा पनि धेरै बनाएको छस्, तर तिनीहरू सलहहरूझैँ हुन्, तिनीहरूले भुमिलाई लुटेर उडिजान्छन् । 17 तेरा राजकुमारहरू सलहहरूझैँ धेरै छन्, र तेरा अधिकारीहरू सलहका बथानझैँ छन्, जो चिसो दिनमा पर्खालहरूमा बस्छन् । तर घाम उदाएपछि ती कहाँ उडेर जान्छन् भन्‍ने नै थाहा हुँदैन । 18 अश्शूरको राजा, तेरा गोठालाहरू सुतेका छन्, तेरा शासकहरू विश्राम गर्दै पल्टेका छन् । तेरा मानिसहरू पर्वतहरूमा छरिएका छन्, र तिनीहरूलाई त्यहाँ भेला गर्ने कोही छैन । 19 तेरा घाउहरू निको हुँदैनन् । ती गहिरा छन् । तेरो विषयमा सुन्‍ने सबैले रमाहटले ताली बजाउँछन् । तेरो लगातारको दुष्‍टताबाट को भागेको छ र?