नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
हबकूक
हबकूकको पुस्तक
1

1 अगमवक्ता हबकूकले पाएका सन्देश, 2 “परमप्रभु, म कति समय अझै सहायताको निम्ति पुकारूँ, तर तपाईंले सुन्‍नुहुन्‍न? म ‘हिंसा’ भनेर तपाईंलाई पुकार्दछु, तर तपाईंले बचाउनुहुन्‍न । 3 मलाई किन अपराध र दुष्कर्म देखाउनुहुन्छ? सर्वनाश र हिंसा मेरो सामुन्‍ने छन् । त्यहाँ झैँ-झगडा छ, र विवाद चर्किंदै छ । 4 यसैकारण कानून-व्यवस्था कमजोर भएको छ, र न्याय अब छैन । किनकि दुष्‍टले धर्मीलाई घेर्दछ । यसैकारण इन्साफ झुटो भएको छ ।” परमप्रभु हबकूकलाई जवाफ दिनुहुन्छ । 5 “जाति-जातिहरूलाई हेर् र तिनीहरूको जाँच गर्, अचम्मित, र आश्‍चर्यचकित हो! किनभने निश्‍चय नै तेरै समयमा म यस्तो काम गर्दै छु जसको विषयमा तँलाई बताइँदा तँलाई विश्‍वास लाग्‍नेछैन । 6 किनभने हेर्, म बेबिलोनीहरूलाई उठाउँदै छु, त्यो भयानक र उग्र जाति । तिनीहरू सारा भुमिमा अर्काको बासस्थान खोस्‍नको निम्ति अगि बढिरहेका छन् । 7 तिनीहरू डरलाग्दा र भयानक छन् । न्याय र वैभव तिनीहरूबाटै अगाडि बढ्छ । 8 तिनीहरूका घोडाहरू चितुवाभन्दा तेज, र साँझका ब्वाँसाहरूभन्दा द्रुत छन् । यसैकारण तिनीहरूका घोडाहरूले जमिनमा कुल्चन्‍छन्, र तिनीहरूका घोडचढीहरू टाढा-टाढाबाट आउँछन्, र तिनीहरू शिकारलाई खानको निम्ति आतुर भएको गरुडझैँ उड्छन् । 9 तिनीहरू सबै हिंसाको निम्ति आउँछन् । तिनीहरूको समुहहरू मरुभूमिको हुरीझैँ जान्छन्, र बालुवासरह कैदीहरू ल्याउँछन् । 10 यसैकारण तिनीहरूले राजाहरूलाई जिस्काउँछन्, र शासकहरू तिनीहरूका निम्ति हाँसोका पात्र मात्र हुन् । हरेक किल्लाहरू देखेर तिनीहरू हाँस्‍छन्, किनभने तिनीहरूले माटोको ढिस्को बनाएर ती लैजान्छन् । 11 अनि बतास आउनेछ र दोषी मानिसहरूबाट त्यो जानेछ, ती मनिसहरू जसको सामर्थ्य तिनीहरूको देवता हो ।” हबकूकले परमप्रभुलाई अर्को प्रश्न गर्छन्, 12 “परमप्रभु मेरा परमेश्‍वर, मेरा एक मात्र पवित्र परमेश्‍वर, के तपाईं प्राचीन समयदेखि नै हुनुहुन्‍न र? हामी मर्नेछैनौँ । परमप्रभुले तिनीहरूलाई न्यायको निम्ति नियुक्त गर्नुभएको छ, र हे चट्टान, तपाईंले तिनीहरूलाई सुधारको निम्ति स्थापित गर्नुभएको छ । 13 तपाईंका आँखा यति शुद्ध छन्, कि तपाईं दुष्‍टलाई हेर्नुहुन्‍न, र तपाईंले गलत काम गर्नेलाई कृपाले हेर्न सक्‍नुहुन्‍न । त्यसोभए किन तपाईंले धोका दिनेलाई कृपाले हेर्नुभएको छ? दुष्‍टहरूले तिनीहरूको आफ्नो सङ्ख्याभन्दा धेरै धर्मीहरूलाई निल्दा तपाईं किन चुप बस्‍नुभएको छ? 14 तपाईंले मानिसलाई समुद्रका माछाझैँ बनाउनुहुन्छ, घस्रने जीवहरूझैँ जसको कुनै शासक छैन । 15 त्यसले सबैलाई बल्छीले ल्याउँछ । त्यसले मानिसहरूलाई माछी-जालमा पारेर पर लैजान्छ । त्यसले महाजालमा सबैलाई थुपार्छ, अनि त्यो खुशी हुन्छ र रमाहट गर्दछ । 16 त्यसैकारण त्यसले आफ्नो माछी-जालमा बलि चढाउँछ र महाजालमा धूप बाल्छ, किनभने आफ्नो जालद्धारा त्यो विलासितामा जिउँछ, र त्यसको भोजन उत्तम हुन्छ । 17 के त्यसले यसैकारण आफ्नो जाल रित्त्याउँदै जान्छ, र जाति-जातिहरूलाई निर्दयतापूर्वक काटिरहन्छ?”

2

1 म मेरो सुरक्षा-कक्षमा उभिनेछु र पहरा-पर्खालमा म बस्‍नेछु, र उहाँले मलाई के भन्‍नुहुनेछ, र म कसरी आफ्नो अभियोगबाट फर्कूँ भनेर हेर्नलाई म ध्यान दिनेछु । 2 परमप्रभुले मलाई जवाफ दिनुभयो, “यस दर्शनलाई पाटीहरूमा प्रष्‍टसँग लेख्, ताकि यो पढ्नेचाहिँ दौडोस् । 3 किनभने यो दर्शन भविष्यको समयको निम्ति हो र त्यो अन्ततः बोल्नेछ र विफल हुनेछैन । त्यसले ढिलाइ गरे तापनि, त्यसको प्रतीक्षा गर् । किनभने त्यो निश्‍चय नै आउनेछ र त्यसले बिलम्ब गर्नेछैन । 4 हेर्, गलत इच्छा गर्नेचाहिँ घमण्डले फुलेको छ । तर धर्मीचाहिँ आफ्नो विश्‍वासले जिउनेछ । 5 किनकि घमण्डी जवान मानिसको निम्ति मद्य विश्‍वासघाती हुन्छ, र यसैकारण त्यसले सहन सक्दैन, तर त्यसले आफ्ना इच्छाहरूलाई चिहानझैँ बढाउँछ,र त्यो मृत्युझैँ कहिल्यै सन्तुष्‍ट हुँदैन । त्यसले आफ्नो निम्ति सारा जाति र मानिसहरूलाई भेला गराउँछ । 6 के यी सबैले त्यसको ठट्टा गर्ने एउटा यस्तो भनाइ र त्यसको विषयमा हाँसोको रूपमा यस्तो गीत सृजना गर्दैन र, ‘धिक्‍कार त्यसलाई जसले जे आफ्नो होइन त्यो थुपार्छ । कहिलेसम्म तैँले आफूले बन्धकमा लिएका कुराहरूको वजन बढाउँदै जान्छस्?’ 7 के तँलाई टोक्‍नेहरू अचानक उठ्नेछैनन्, अनि तँलाई त्रासमा राख्‍नेहरू जाग्‍नेछैनन्? तँ तिनीहरूका निम्ति शिकार बन्‍नेछस् । 8 तैँले धेरै जातिहरूलाई लुटेको हुनाले, जाति-जातिहरूमा बाँकी रहेकाहरू सबैले तँलाई लुट्नेछन् । किनभने तैँले मानिसहरूका रगत बगाएको छस्, र देश, शहरहरु, र त्यसमा बसोबास गर्ने सबैको विरुद्ध हिंसात्मक काम गरेको छस् । 9 ‘धिक्‍कार त्यसलाई जसले दुष्‍टको हातबाट आफैँलाई सुरक्षित राख्‍नलाई आफ्नो गुँड उच्‍च स्थानमा बनाउन सकोस् भनेर आफ्नो घरको निम्ति दुष्‍टताका मुनाफाबाट चीजहरू बनाउँछ ।’ 10 तैँले धेरै मानिसहरूलाई सर्वनाश गरेर आफ्नो घरानाको निम्ति शर्म ल्याएको छस्, र आफ्नै विरुद्ध पाप गरेको छस् । 11 किनभने भित्ताबाट ढुङ्गाहरूले पुकार्नेछन्, र काठका दलिनहरूले तिनीहरूलाई जवाफ दिनेछन्, 12 ‘धिक्‍कार त्यसलाई जसले रगतले शहर बनाउँछ, र जसले अधर्ममा नगर स्थापना गर्दछ ।’ 13 के सेनाहरूका परमप्रभुले यो भन्‍नुभएको छैन र, जातिहरू आगोको निम्ति परिश्रम गर्दछन् र अरू सबै जातिहरू व्यर्थमा थकित हुन्छन्? 14 तथापि समुद्रलाई पानीले ढाकेझैँ सारा भुमि परमप्रभुको महिमाको ज्ञानले भरिनेछ । 15 ‘धिक्‍कार त्यसलाई जसले आफ्नो छिमेकीलाई मद्य पियाउन जोड गर्छ । तैँले आफ्नो रिस पोख्‍नलाई, र तिनीहरूको नग्‍नता हेर्नको निम्ति तिनीहरूलाई मद्यले टिल्ल पार्छस् ।’ 16 तँ महिमाले होइन तर शर्मले भरिनेछस् । अब यो तेरो पालो हो! पिई र आफ्नो गुप्‍तांग देखा! परमप्रभुको दाहिने हातमा भएको कचौरा तँकहाँ आउँदै छ, र कलंकले तेरो महिमालाई ढाक्‍नेछ । 17 लेबनानमाथि गरिएको हिंसाले तँलाई ढाक्‍नेछ र पशुहरूको सर्वनाशले तँलाई आतंकित बनाउनेछ । किनभने तैँले मानिसहरूका रगत बगाएको छस्, र देश, शहरहरु, र त्यसमा बसोबास गर्ने सबैको विरुद्ध तैँले हिंसक काम गरेको छस् । 18 खोपेर बनाएको मुर्तिले तँलाई के लाभ हुन्छ? किनभने त्यो मुर्तिलाई खोपेर बनाउने, वा धातुलाई पगालेर मुर्ति बनाउनेचाहिँ झुटको शिक्षक हो, किनभने त्यसले यी बोल्न नसक्‍ने देवताहरू बनाएर आफ्नै हातका कलामाथि विश्‍वास गर्दछ । 19 ‘धिक्‍कार त्यसलाई जसले काठलाई उठ भन्छ, वा बोल्न नसक्‍ने ढुङ्गालाई जाग भन्छ ।’ के यी कुराहरूले सिकाउन सक्छन्? हेर्, त्यो सुन र चाँदीले मोहोरिएको छ, तर त्यसभित्र सास नै छैन । 20 तर परमप्रभु उहाँको पवित्र मन्दिरमा हुनुहुन्छ । ए सारा भुमि उहाँको अगि शान्त होओ ।”

3

1 अगमवक्ता हबकूकको प्रार्थना । 2 परमप्रभु मैले तपाईंको बयान सुनेको छु, र म भयभीत भएको छु । परमप्रभु, यी समयहरूको बिचमा आफ्नो काम पुनर्जीवित पार्नुहोस् । यी समयहरूको बिचमा ती परिचित बनाउनुहोस् । तपाईंको क्रोधको समयमा कृपा गर्न सम्झनुहोस् । 3 परमेश्‍वर तेमानबाट आउनुभयो, र एकमात्र पवित्रचाहिँ पारान पर्वतबाट आउनुभयो । सेला उहाँको महिमाले आकाशहरू ढाके, र पृथ्वी उहाँको प्रशंसाले भरिएको छ । 4 प्रकाशझैँ चम्किलो, दुईवटा किरण उहाँको हातबाट चम्कियो, र उहाँले आफ्नो शक्ति त्यहाँ लुकाउनुहुन्छ । 5 उहाँभन्दा अगि घातक रोग फैलियो, र महामारीले उहाँलाई पछ्यायो । 6 उहाँ उभिनुभयो र पृथ्वीको नाप लिनुभयो । उहाँले हेर्नुभयो अनि राष्‍ट्रहरूलाई हल्लाउनुभयो । सनातनका पर्वतहरू चकनाचुर भए, र स्थायी पहाडहरू झुके । उहाँको मार्ग अनन्तसम्म रहिरहन्छ । 7 मैले कूशनका पालहरूलाई दु:खमा देखेँ, र मिद्दानको भुमिमा भएका पालहरूका रचनाहरूलाई काँपिरहेको देखेँ । 8 के परमप्रभु नदीहरूसँग रिसाउनुभएको थियो? तपाईं घोडाहरूमाथि र विजयी रथहरूमाथि चढ्नुहुँदा के तपाईंको क्रोध नदीहरूको विरुद्धमा थियो, वा तपाईंको रिस समुद्रको विरुद्धमा थियो? 9 तपाईंले आफ्नो नाङ्गो धनु बाहिर निकाल्नुभएको छ, र तपाईंले आफ्नो धनुमा तिर राख्‍नुहुन्छ! सेला तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो । 10 पर्वतहरूले तपाईंलाई देखे र पीडामा मडारिए । तिनीहरूमाथि मुसलधार पानी पर्‍यो । गहिरो समुद्रले आफ्नो आवाज उठायो । त्यसले आफ्ना छालहरू उठायो । 11 तपाईंका तिरहरू उडेर चम्किँदा, तपाईंको चम्किलो भालाको चमक आउँदा, सूर्य र चन्द्र तिनीहरूकै उच्‍च स्थानमा अडिरहे । 12 तपाईं पृथ्वीमाथि क्रोधमा हिँड्नुभएको छ । क्रोधमा तपाईंले जाति-जातिहरूलाई दाइँ गर्नुभएको छ । 13 तपाईं आफ्ना मानिसहरूको मुक्ति, आफ्नो अभिषिक्त जनको मुक्तिको निम्ति निस्कनुभयो । दुष्‍टको घरानाको मुखियालाई तपाईंले चकनाचुर पार्नुभयो र त्यसको खुट्टादेखि घाँटीसम्म त्यसलाई नाङ्गो पारिदिनुभयो । सेला 14 तपाईंले त्यसका लडाकुहरूका शिरलाई तिनीहरूकै तिरले छेडिदिनुभयो किनभने तिनीहरू हामीलाई तितरबितर गर्न आँधीझैँ आए, शरणस्थानमा दरिद्रहरूलाई भस्म पार्नेको झैँ तिनीहरूको नजर थियो । 15 तपाईं आफ्ना घोडाहरूमा समुद्रमाथि हिँड्नुभएको छ, र समुद्रमाथि तपाईंले कुल्चनुभएको छ । 16 मैले सुनेँ, र मेरा भित्री अङ्गहरू काँपे! त्यो आवाजमा मेरा ओठ थर-थर काँपे । हामीलाई आक्रमण गर्ने मानिसहरूमाथि आउने संकटको दिनलाई शान्त भएर पर्खिंदा मेरा हड्‍डीहरू मक्‍किन्छन्, र म भित्र-भित्रै काँप्‍छु । 17 अन्जिरका रूखहरूमा मुना नलागेपनि, र दाखका बोटहरूमा कुनै फल नलागेपनि, र जैतूनको रूखले केही नफलाए पनि, र भुमिले केही भोजन नदिएपनि, र खोरबाट बगाल हटाइएपनि, र गोठमा कुनै गाइवस्तु नभएपनि, म यही गर्नेछु । 18 म अझै पनि परमप्रभुमा रमाहट गर्नेछु । मेरो मुक्तिको परमेश्‍वरको कारण म खुशी हुनेछु । 19 परमप्रभु परमेश्‍वर मेरो शक्ति हुनुहुन्छ र उहाँले मेरा खुट्टालाई हरिणका झैँ बनाउनुहुन्छ । उहाँले मलाई उच्‍च स्थानहरू अगि जान दिनुहुन्छ । सङ्गीत निर्देशकको निम्ति, मेरा तार- वाद्दहरुमा बजाइने राग ।