नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
जकरिया
जकरियाको पुस्तक
1

1 दाराको शासनकालको दोस्रो वर्षको आठौँ महिनामा, अगमवक्ता इद्दोका नाति बेरेक्याहका छोरा जकरियाकहाँ परमप्रभुको यस्तो वचन आय। 2 “परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूसँग अत्यन्तै रिसाउनुभएको थियो! 3 तिनीहरूलाई भन्, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: मतिरफर्क!- परमप्रभु घोषणा गर्नुहुन्छ- र म तिमीहरूतिर फर्कनेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 4 तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए, “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: तिमीहरूका खराब मार्गहरू र दुष्‍ट कामहरूबाट फर्क!” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’” 5 तिमीहरूका पिता-पुर्खाहरू कहाँ छन्? अगमवक्ताहरू कहाँ छन्, के तिनीहरूयहाँ सधैँ रहन्छन्? 6 तर मैले मेरा दास अगमवक्ताहरूलाई आज्ञा गरेका मेरा वचन र निर्णयहरूले के तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेकाछैनन् र? यसैकारण तिनीहरूले पाश्‍चाताप गरे र भने, ‘हाम्रा चाल र कामहरूअनुसारसुहाउँदो सेनाहरूका परमप्रभुले हामीसँग जस्तो व्यवहार गर्ने योजना गर्नुभयो, उहाँले हामीसित त्यस्तै गर्नुभएको छ ।’” 7 दाराको शासनकालको दोस्रो वर्षको एघारौँ महिनाको चौबिसौँ दिन, अर्थात् शेबातको महिनामा, अगमवक्ता इद्दोका नाति बेरेक्याहका छोरा जकरियाकहाँ परमप्रभुको यस्तो वचन आयो, 8 “मैले रातमा यस्तो देखेँ! एउटा मानिस रातो घोडामा सवार थिए, र तिनी बेँसीको असारे-फूलका रूखहरूका माझमा थिए, र उनको पछाडि रातो, रातो-खैरो, र सेतो घोडाहरू थिए ।” 9 मैले भनेँ, “परमप्रभु, यी कुराहरू के हुन्?” अनि मसँग बोलिरहेका स्वर्गदूतले मलाई भने, “यी कुराहरू के हुन्, म तिमीलाई देखाउनेछु ।” 10 ती असारे-फूलका रूखहरूबिचमा उभिरहेका मानिसले जवाफ दिए, “यी तिनै हुन् जसलाई परमप्रभुले पृथ्वीभरि घुमफिर गर्नको निम्ति पठाउनुभएको छ ।” 11 असारे-फूलका रूखहरूकाबिचमा बसेका परमप्रभुका स्वर्गदूतलाई तिनीहरूले यस्तो जवाफ दिए, “हामी सारा पृथ्वीभरि धुमिरहेका छौँ । हेर्नुहोस्, सारा पृथ्वी शान्त र आराम गरिरहेको छ ।” 12 अनि परमप्रभुका स्वर्गदूतले यस्तो जवाफ दिए, सेनाहरूका परमप्रभु, यरूशलेम र यहूदाका सहरहरूप्रति तपाईंले कहिलेसम्म दया देखाउनुहुनेछैन, जससँग तपाईं सत्तरी वर्षदेखि रिसाउनुभएको छ?” 13 मसँग कुरा गरेका स्वर्गदूतसँग परमप्रभुले असल शब्दहरू, सान्त्वनाका शब्दहरूमा बोल्नुभयो । 14 यसैकारण मसँग कुरा गरेका स्वर्गदूतले मलाई भने, “उच्‍च सोरमा भन, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: म यरूशलेम र सियोनको निम्ति अत्यन्तै डाही भएको छु! 15 सुख-चैनमा बसिरहेका जातिहरूसँग म धेरै रिसाएको छु । जब म तिनीहरूसँग थोरै मात्र रिसाएको थिएँ, तिनीहरूले विपत्तिलाई झन् खराब बनाइदिए । 16 यसकारण सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: म यरूशलेममा दयासाथ फर्केको छु । मेरो भवन त्यसभित्र निर्माण हुनेछ र यरूशलेममाथि नाप्ने डोरी तन्काइनेछ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ ।’ 17 उच्‍च सोरमा फेरि यस्तो भन, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: मेरा सहरहरू फेरि असल कुराहरूले भरिएर पोखिनेछ, र परमप्रभुले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र उहाँले फेरी यरूशलेमलाई चुन्‍नुहुनेछ ।’” 18 अनि मैले आफ्ना आँखाहरू माथि उठाएँ र चारओटा सीङ देखें! 19 मसँग बोलिरहेका स्वर्गदूतसँग म बोलें, “यी के हुन्?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदा, इस्राएल, र यरूशलेमलाई तितर-बितर पारे ।” 20 अनि परमप्रभुले मलाई चार जना कारीगरहरु देखाउनुभयो । 21 मैले भनें, “यी मानिसहरू के गर्न आएका हुन्?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदालाई तितर-बितर पारे ताकि कोही मानिसले पनि आफ्नो शिर उठाउन नसकोस् । तर ती कारीगरहरु तिनीहरूलाई त्रासित गर्न, र यहूदालाई तितर-बितर गर्नको निम्ति त्यसको विरुद्ध सीङ उठाएका जातिहरूका सीङहरूलाई पराजित गर्न आएका हुन् ।”

2

1 अनि मैले माथितिर हेरें र एउटा मानिसले आफ्नो हातमा नाप्ने डोरी लिएको देखें । 2 मैले भनें, “तपाईं कहाँ जाँदैहुनुहुन्छ?” उहाँले मलाई भन्‍नुभयो, यरूशलेमलाई नाप्न, त्यसको लमाइ र चौडाइ थाहा गर्न” ।” 3 त्यसपछि मसँग कुरा गरिरहेका स्वर्गदूत त्यहाँबाट गए र अर्को एउटा स्वर्गदूत उनलाई भेट्न निस्के । 4 दोस्रो स्वर्गदूतले उनलाई भने, “दौडेर जाऊ र त्यस जवान मानिसलाई यस्तो भन, ‘यरूशलेमभित्रका मानिसहरू र पशुहरूको ठुलो संख्याको कारण त्यो पर्खालविनाको देश हुनेछ । 5 किनभने म त्यसको वरिपरि आगोको पर्खाल हुनेछु, र त्यसभित्रको महिमा म नै हुनेछु, परमप्रभु घोषणा गर्नुहुन्छ । 6 जाओ, जाओ, उत्तरको देशबाट भाग - परमप्रभु घोषणा गर्नुहुन्छ, किनभने मैले तिमीहरूलाई आकाशका चार बतासझैँ तितर-बितर पारेको छु - परमप्रभु घोषणा गर्नुहुन्छ । 7 ए बेबिलोनकी छोरीसँग बस्‍ने हो, जाओ, भागेर सियोनमा जाओ!’” 8 किनकि सेनाहरूका परमप्रभुले मलाई सम्मानित गर्नुभएर तिमीहरूलाई लुट्ने जातिहरूको विरुद्ध मलाई पठाउनुभएपछि (किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले परमेश्‍वरका आँखाको नानीलाई छुन्छ!) उहाँले भन्‍नुभयो, 9 “तिनीहरूमाथि म आफैँ आफ्ना हात टक्‍टक्याउनेछु, र तिनीहरूका आफ्नै दासहरूले तिनीहरूलाई लुट्नेछन्।” त्यसपछि सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ । 10 “सियोनकी छोरी, रमाहटको गीत गाऊ, किनकि म आफैँ नै आएर तिमीहरूका बिचमा वास गर्नेछु!- परमप्रभु घोषणा गर्नुहुन्छ ।” 11 त्यसपछि त्यस दिन महान् जातिहरू परमप्रभुकहाँ मिल्न आउनेछन् । उहाँ भन्‍नुहुन्छ, “अनि तिमीहरू मेरा मानिस हुनेछौ, किनकि म तिमीहरूका बिचमा वास गर्नेछु,” र सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ । 12 किनकि पवित्र भूमिमा परमप्रभुले यहूदालाई आफ्नो उत्तराधिकारझैँ प्राप्‍त गर्नुहुनेछ र उहाँले फेरि पनि यरूशलेमलाई आफ्नो निम्ति चुन्‍नुहुनेछ । 13 सारा मानिस हो, परमप्रभुको अगि शान्त होओ, किनकि उहाँ आफ्नो पवित्र सहरबाट जागिउठ्नुभएको छ ।

3

1 त्यसपछि परमप्रभुले मलाई प्रधान पुजारी यहोशू परमप्रभुको स्वर्गदूतको अगि उभिएका देखाउनुभयो र शैतान तिनलाई पापको दोष लगाउनको निम्ति तिनको दाहिने हात तिर उभिरहेको थियो । 2 परमप्रभुका स्वर्गदूतले शैतानलाई भने, “ए शैतान, परमप्रभुले तँलाई हप्काऊन् । यरूशलेमलाई चुन्‍नुहुने परमप्रभुले तँलाई हप्काऊन्! के यो मानिस आगोबाट निकालिएको अगुल्टो होइन र?” 3 स्वर्गदूतको अगि उभिँदा यहोशूले फोहोर लुगा लगाएका थिए । 4 अनि स्वर्गदूतले आफ्नो अगि उभिरहेकाहरूलाई भने, “त्यसबाट ती फोहोर लुगाहरू फुकालिदेओ ।” अनि तिनले यहोशूलाई भने, “हेर! मैले तिम्रा पाप तिमीबाट अलग गराइदिएको छु र म तिमीलाई असल लुगा लगाइदिनेछु ।” 5 त्यसपछि मैले भनें, “तिनीहरूले तिनको शिरमा एउटा सफा फेटा लगाइदिऊन्!” यसैले परमप्रभुका स्वर्गदूत उभिरहँदा नै तिनीहरूले यहोशूको शिरमा सफा फेटा लगाइदिए र तिनलाई सफा लुगा पहिराइदिए । 6 त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूलाई यस्तो कडा आज्ञा दिए, 7 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ, तँ मेरा मार्गमा हिँडिस्, र मेरा आज्ञाहरू पालन गरिस् भने, तैंले मेरो भवनको जिम्मा लिनेछस् र मन्दिरको सुरक्षा गर्नेछस्, किनकि यहाँ मेरो सामु उभिएकाहरूमध्ये म तँलाई भित्र आउन र बाहिर जान दिनेछु । 8 प्रधान पुजारी यहोशू, र तँसँगै बस्‍ने तेरा साथीहरू, सुन! किनकि यी मानिसहरू चिन्ह हुन्, तर म आफैँले नै मेरा दास अर्थात् हाँगोलाई ल्याउनेछु । 9 अब मैले यहोशूको सामु राखिदिएको ढुङ्गोलाई हेर् । यो एउटा ढुङ्गोमा सात आँखाहरू छन्, र म एउटा शिलालेख खोप्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ, अनि म एक दिनमा नै यस भूमिबाट पाप मेटाउनेछु। 10 त्यस दिनमा हरेक मानिसले आफ्नो छिमेकीलाई आफ्नो दाखको बोट र अन्जिरको रूखमुनि बस्‍न निम्तो दिनेछन्, परमप्रभु घोषणा गर्नुहुन्छ ।”

4

1 त्यसपछि मसँग कुरा गरिरहेका स्वर्गदूत फर्के र मलाई निन्द्राबाट जगाइएको मानिसझैँ जगाए । 2 तिनले मलाई भने, “तिमीले के देख्दैछौ?” मैले भनें, “मैले पूर्ण रूपमा सुनले बनेको एउटा सामदान देख्दैछु, र त्यसको टुप्पोमा एउटा बटुको रहेको छ । त्यसमा सातओटा बत्ती छन् र हरेक बत्तीको टुप्पोमा सातओटा नली छन् । 3 बटुकोको दाहिनेपट्टि एउटा जैतूनको रूख र देब्रेपट्टि अर्को जैतूनको रूख रहेका छन् ।” 4 अनि मसँग कुरा गरिरहेका स्वर्गदूतसँग मैले फेरि भनें, “मेरा मालिक, यी कुराहरूको अर्थ के हो?” 5 मसँग कुरा गरिरहेका स्वर्गदूतले मलाई जवाफ दिए, “के तिमीलाई यी कुराहरूको अर्थ थाहा छ?” मैले भनें, “अँहँ, मेरा मालिक ।” 6 यसैले तिनले मलाई भने, “यो यरुबाबेलको निम्ति परमप्रभुको वचन हो: न त बलले, न शक्तिले, तर मेरो आत्माले, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 7 महान् पर्वत, तँ के होस्? यरुबाबेलको अगि तँ समतल जमिन हुनेछस्, र उहाँले टुप्पोको ढुङ्गोलाई ‘अनुग्रह! त्यसलाई अनुग्रह’ भन्‍ने सोरहरूको बिचमा ल्याउनुहुनेछ ।” 8 परमप्रभुको यस्तो वचन मकहाँ आयो, 9 “यरुबाबेलका हातले यस भवनको जग बसाल्यो, र त्यसकै हातले यो पूर्ण गर्नेछ ।” अनि सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूले थाहा गर्नेछौ । 10 साना कुराहरूका दिनलाई कसले तुच्छ ठानेको छ? यी मानिसहरूले रमाहट गर्नेछन् र यरुबाबेलको हातमा तिनीहरूले साहुल देख्‍नेछन् । (यी सात बत्तीहरू परमप्रभुका आँखा हुन् जुन सारा पृथ्वीभरि घुमिरहन्छन् ।) 11 त्यसपछि मैले स्वर्गदूतलाई सोधें, “सामदानको दाहिने र देब्रेपट्टि रहेका जैतूनका यी दुइ रूखहरू के हुन्?” 12 मैले फेरि तिनलाई सोधें, “सुनको तेल बगरहने यी दुइ सुनका नलीहरूका छेउमा भएका जैतूनका यी दुइ हाँगाहरू के हुन्?” 13 अनि तिनले मलाई भने, “के तिमीलाई यी कुराहरू के हुन् भन्‍ने थाहा छ?” मैले भनें, “अँहँ, मेरा मालिक ।” 14 अनि तिनले भने, “यी दुइ नयाँ जैतूनकोतेलका छोराहरू हुन् जो सारा पृथ्वीका परमप्रभुको अगि खडा हुन्छन् ।”

5

1 अनि म फर्कें र मेरो नजर उठाएर हेर्दा मेरोअगि एउटा चर्मपत्रको मुट्ठो उडिरहेको देखें । 2 स्वर्गदूतले मलाई भने, “तिमी के देख्दैछौ?” मैले जवाफ दिएँ, “मैले नौ मिटर लामो र साढे चार मिटर चौडा चर्मपत्रको मुट्ठो उडिरहेको देख्दै छु ।” 3 अनि तिनले मलाई भने, “यो त्यो सराप हो जुन सारा भूमिमा जानेछ । किनकि यसको एकापट्टि जे भनिएको छ त्यसको आधारमा हरेक चोर बहिष्कृत हुनेछ, र अर्कापट्टि जे भनिएको छ त्यसको आधारमा झुटो शपथ खाने हरेक बहिष्कृत हुनेछ ।” 4 “म यो पठाउनेछु, अनि त्यो चोरको घरमा र मेरो नाउँको झुटो शपथ खानेको घरमा जानेछ, परमप्रभु घोषणा गर्नुहुन्छ । त्यो त्यस घरभित्रै रहनेछ र त्यसका काठहरू र ढुङ्गाहरूलाई ध्वस्त पार्नेछ ।” 5 त्यसपछि मसँग बोलिरहेका स्वर्गदूत बाहिर निस्के अनि मलाई भने, “आफ्नो नजर उठाउ र आउन लागेको कुरा हेर!” 6 मैले भनें, “त्यो के हो?” तिनले भने, “यो एउटा नाप्ने डालो हो । सारा भूमिमा तिनीहरूका पाप यही हो ।” 7 अनि त्यस डालोको ढक्‍कन उठाइयो र त्यस डालोभित्र एउटी स्‍त्री थिई । 8 स्वर्गदूतले भने, “योचाहिँ दुष्‍टता हो!” तिनले त्यस स्‍त्रीलाई त्यस डालोभित्र फ्याँकिदिए, र त्यसको ढक्‍कन लगाइदिए । 9 मैले आफ्नो नजर उठाएँ अनि दुई जना स्‍त्री मतिर आइरहेको देखें, र बतास तिनीहरूका पखेटामा थियो, किनकि तिनीहरूका पखेटा सारसका पखेटाझैँ थिए । तिनीहरूले त्यो डालोलाई पृथ्वी र आकाशको बिचमा पुर्‍याए । 10 यसैले मसँग बोलिरहेका स्वर्गदूतलाई मैले भनें, “तिनीहरूले त्यो डालो कहाँलैजाँदै छन्?” 11 तिनले मलाई भने, “त्यसको निम्ति बेबिलोनिया देशमा मन्दिर बनाउनको निम्ति ।मन्दिर तयार भएपछि, डालो राख्‍नको निम्ति बनाइएको स्थानमा त्यो राखिनेछ ।”

6

1 अनि मैले फर्केर आफ्नो नजर उठाएँ र दुइओटा पर्वतका बिचबाट चारओटा रथ बाहिर आउँदै गरेको देखें; र ती पर्वतहरू काँसाका थिए । 2 पहिलो रथमा रातो रङ्गका घोडाहरू, दोस्रोमा कालो रङ्गका घोडाहरू, 3 तेस्रो रथमा सेतो रङ्गका घोडाहरू, र चौथो रथमा पाटे खरानी रङ्गका घोडाहरू थिए । 4 यसैकारण मसँग बोलिरहेका स्वर्गदूतलाई मैले जवाफ दिएँ, “यी के हुन्, मेरा मालिक?” 5 ती स्वर्गदूतले मलाई जवाफमा भने, “यी आकाशका चारओटा बतास हुन् र ती सारा पृथ्वीका परमप्रभुको अगि खडाभएर त्यहाँबाट बाहिर निस्कनेछन् । 6 कालो रङ्गका घोडाहरू भएको रथचाहिँ उत्तरको देशमा जानेछ, सेतो रङ्गका घोडाहरू भएको रथचाहिँ पश्‍चिमको देशमा, र पाटे खरानी रङ्गका घोडाहरू भएको रथ चाहिँ दक्षिणको देशमा जानेछ ।” 7 यी बलिया घोडाहरू बाहिर निस्के र पृथ्वीमाथि परिवहन गर्न थाले, यसैले स्वर्गदूतले भने, “जाओ र पृथ्वीमाथि घुम!” र तिनीहरू सबै पृथ्वीतिर गए । 8 त्यसपछि तिनले मलाई बोलाएर भने, “उत्तरको देशमा गइरहेकालाई हेर, तिनीहरूले त्यहाँ मेरो आत्मालाई प्रसन्‍न बनाएका छन् ।” 9 यसैकारण परमप्रभुको यस्तो वचन मकहाँ आयो, 10 “निर्वासनमा गएकाहरू हेल्दै, तोबियाह र यदायाहबाट एउटा भेटी लिएर सोही दिन बेबिलोनबाट आएका सपन्याहको छोरो योशियाहको घरमा लैजा । 11 अनि चाँदी र सुन लिएर एउटा मुकुट बना, र प्रधान पुजारी यहोसादाकको छोरो यहोशूको शिरमा लगाइदे । 12 त्यसलाई यस्तो भन्‍नू, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: यो मानिसको नाउँ हाँगा हो! यो त्यसको आफ्नै ठाउँमा बढ्नेछ र त्यसले परमप्रभुको मन्दिर बनाउनेछ! 13 त्यो त्यही हो जसले परमप्रभुको मन्दिर बनाउनेछ, र त्यो राजकीय वैभवले पहिराइनेछ, त्यो आफ्नो सिंहासनमा विराजमान भएर शासन गर्नेछ । त्यो आफ्नो सिंहासनमा एउटा पुजारी हुनेछ, र दुईको बिचमा मिलाप गराउनेछ । 14 मुटुकचाहिँ हेल्दै, तोबियाह, यदायाह, र सपन्याहको छोरो हेनलाई परमप्रभुको मन्दिरमा सम्झनाको निम्ति दिइनेछ । 15 टाढा-टाढा भएकाहरू आएर परमप्रभुको मन्दिर बनाउनेछन्, अनि सेनाहरूहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूलाई थाहा हुनेछ । किनकि तिमीहरूले साँचो रूपमा परमप्रभु आफ्ना परमेश्‍वरको आवाज सुन्यौ भने, यो हुनेछ ।’”

7

1 दारा राजाले चार वर्ष शासन गरिसकेपछि, किसलेव (अर्थात् नवौँ महिना) को चौथो दिनमा, परमप्रभुको वचन जकरियाकहाँ आयो । 2 बेथेलका मानिसहरूले शरेसेर र रेगेम-मेलक र तिनीहरूका मानिसहरूलाई परमप्रभुको सामु बिन्ती गर्न पठाए । 3 तिनीहरूले सेनाहरूका परमप्रभुका भवनमा भएका पुजारीहरू र अगमवक्ताहरूलाई यस्तो भने, “मैले बितेका वर्षहरूमा गर्आएकोझैँ, के म पाचौँ महिनामा उपवास बसेर विलाप गरूँ?” 4 यसैकारण सेनाहरूका परमप्रभुको यस्तो वचन मकहाँ आयो, 5 “भूमिका सबै मानिसहरू र पुजारीहरूलाई यस्तो भन्, ‘यी सत्तरी वर्षसम्म तिमीहरूले पाचौँ र सातौँ महिनामा उपवास बस्दा र विलाप गर्दा, के तिमीहरू साँच्‍चै मेरो निम्ति उपवास बसिरहेका थियौ? 6 तिमीहरूले खाँदा र पिउँदा, के तिमीहरूले आफ्नै निम्ति खाएनौ र आफ्नै निम्ति पिएनौ? 7 तिमीहरू यरूशलेम र आसपासका सहरहरूमा सम्पन्‍नतामाबसोबास गरिरहँदा र तिमीहरू नेगेव, र पश्‍चिमका पहाडहरूको फेदमा अवस्थित हुँदा, के अगिल्ला अगमवक्ताहरूका मुखबाट परमप्रभुले घोषणा गर्नुभएका वचन यी नै थिएनन् र?’” 8 परमप्रभुको यस्तो वचन जकरियाकहाँआयो, 9 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ, ‘साँचो न्याय, करारको विश्‍वसनीयता, र अनुग्रहद्वारा इन्साफ गर । हरेक मानिसले आफ्नो दाजुभाइको निम्ति यस्तो गरोस् । 10 विधवा र टुहुरा, परदेशी, र गरिब मानिसमाथिअत्याचार नगर, र कसैले पनि आफ्नो हृदयमा अर्काको विरुद्ध खराबीको योजना नबनाओस् ।’ 11 तर तिनीहरूले ध्यान दिएनन् र हठी भएर आफ्नो पीठ फर्काए । तिनीहरूले आफ्ना कान थुने र केही पनि सुनेनन् । 12 व्यवस्था वा सेनाहरूका परमप्रभुको वचन नसुन्‍नको निम्ति तिनीहरूले आफ्ना हृदयलाई चट्टानझैँ कडा बनाए । पहिलेका समयमा, उहाँले यी सन्देशहरू आफ्ना मानिसहरूकहाँ आफ्नो आत्माद्वारा, अगमवक्ताहरूका ओठद्वारा पठाउनुभयो । तर ती मानिसहरूले सुन्‍न इन्कार गरे, यसैकारण सेनाहरूका परमप्रभु तिनीहरूसँग धेरै रिसाउनुभयो । 13 उहाँले बोलाउनुहुँदा, तिनीहरूले सुनेनन् । त्यसरी नै तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म त्यो सुन्‍नेछैनँ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 14 “किनकि म आँधीबेहरीद्वारा तिनीहरूलाई तिनीहरूले नदेखेकाजातिहरूका बिचमा तितर-बितर पार्नेछु, र तिनीहरूपछि त्यो भूमि निर्जन हुनेछ । किनकि कोही पनि त्यो देशबाट भएर जानेछैन न त कोही त्यहाँ फर्कनेछ किनभने मानिसहरूले आफ्नो सुन्दर भूमिलाई उजाड बनाएका छन् ।”

8

1 परमप्रभुको यस्तो वचन मकहाँ आयो, 2 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: म सियोनको निम्ति साह्रै डाही भएको छु र म त्यसको निम्ति डाही भएर अत्यन्तै रिसाएको छु! 3 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: म सियोनमा फर्कनेछु र यरूशलेममा वास गर्नेछु, किनकि यरूशलेम सत्यको सहर भनिनेछ र सेनाहरूका परमप्रभुको पर्वतचाहिँ पवित्र पर्वत भनिनेछ! 4 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: यरूशलेमका सडकहरूमा फेरि वृद्ध पुरुष र स्‍त्रीहरू हुनेछन्, र हरेक मानिस धेरै वृद्ध भएको हुँदा उसलाई आफ्नो हातमा एउटा लौरो आवश्यक पर्नेछ । 5 त्यस सहरका सडकहरू खेल्ने केटा-केटीहरूले भरिनेछन् । 6 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: ती दिनहरूमा बाँकी रहेका यी मानिसहरूका आँखामा केही कुरा असम्भव देखिएमा, के ती मेरो नजरमा पनि असम्भव हुन्छन् र? - परमप्रभु घोषणा गर्नुहुन्छ । 7 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: हेर, सुर्योदय हुने र सुर्यास्त हुने भूमिबाट मैले मेरा मानिसहरूलाई बचाउन लागेको छु! 8 किनभने म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरू यरूशलेममा वास गर्नेछन्, अनि तिनीहरू फेरि मेरा मानिसहरू हुनेछन्, र सत्यता र धार्मिकतामा म तिनीहरूका परमेश्‍वर हुनेछु । 9 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: मेरो यस घरको जग बसालिँदा अगमवक्ताहरूको ओठबाट निस्केका वचनहरू जसले अहिले सुन्दछन्, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ: आफ्ना हातहरू बलिया बनाओ, ताकि त्यो मन्दिर निर्माण गर्न सकियोस् । 10 किनकि ती दिनहरूभन्दा पहिले कोहीले पनि फसल बटुल्दैन थिए, मानिस वा पशुको निम्ति त्यहाँ कुनै मुनाफा थिएन, र आउने र जाने कसैलाई पनि शत्रुहरूबाट शान्ति थिएन । मैले हरेक मानिसलाई त्यसको छिमेकीको विरुद्ध खडा गरेको थिएँ । 11 तर म अब पहिलेका दिनमाझैँ हुन्‍न, म यी बाँकी रहेका मानिसहरूसँग हुनेछु - सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । 12 किनभने शान्तिको बीउ छरिनेछ; माथि बढ्दै गरेको दाखले आफ्नो फल दिनेछ र पृथ्वीले आफ्नो उब्जनी: आकाशले शीत दिनेछ, किनभने यी बाँकी रहेका मानिसहरूलाई म यी सबै कुराहरू उत्तराधिकारमा दिनेछु । 13 ए यहूदा र इस्राएलको घराना,अन्य श्रापित जातिहरूमा तिमीहरू एउटा उदाहरण थियौ । यसैकारण म तिमीहरूलाई बचाउनेछु र तिमीहरू आशिषको कारण हुनेछौ । नडराओ; तिमीहरूका हात बलियो बनाओ! 14 किनभने सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: तिमीहरूका पिता-पुर्खाहरूले मलाई रिस उठाउँदा मैले तिनीहरूलाई हानी पुर्‍याउने योजना गरेर तिनीहरूप्रति दया देखाइनँ - परमप्रभु घोषणा गर्नुहुन्छ, 15 यी दिनहरूमा पनि म यरूशलेम र यहूदाको घरानालाई भलाइ गर्ने योजना गर्नेछु! नडराओ! 16 तिमीहरूले यी कामहरू गर्नुपर्छ: हरेक मानिसले आफ्नो छिमेकीसँग सत्य बोलोस् । आफ्नो इलाकामा सत्य, न्याय, र शान्तिसँग इन्साफ गर । 17 आफ्नो हृदयमा एक अर्काको विरुद्धमा खराबी गर्ने योजना नबनाओ, र झुटा शपथलाई प्रेम नगर - किनभने यी कुराहरूलाई म घृणा गर्दछु! – परमप्रभु घोषणा गर्नुहुन्छ ।” 18 अनि सेनाहरूका परमप्रभुको यस्तो वचन मकहाँ आयो, 19 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: चौथो, साथौँ, र दशौँ महिनाका उपवासहरू यहूदाका घरानाको निम्ति आनन्द, हर्ष, र खुशीका पर्वहरूका समय हुनेछन्! यसैले सत्य र शान्तिलाई प्रेम गर! 20 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: विभिन्‍न सहरहरूमा बस्‍ने सबै मानिसहरू फेरि आउनेछन् । 21 एउटा सहरका वासिन्दाहरू अर्को सहरमा जानेछन् र भन्‍नेछन्, ‘हामी तुरुन्तै परमप्रभुको सामु बिन्ती गर्न र सेनाहरूका परमप्रभुको खोजी गर्न जाऔँ! हामीहरू आफैँ पनि जाँदै छौँ ।’ 22 धेरै मानिसहरू र धेरै जातिहरू यरूशलेममा सेनाहरूका परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्‍त गर्न आउनेछन्! 23 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: ती दिनहरूमा हरेक भाषा र जातिबाट दश जना मानिसहरूले तिम्रो लबेदाको छेउ समातेर यसो भन्‍नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्, किनभने परमेश्‍वर तपाईंसँग हुनुहुन्छ भन्‍ने हामीले सुनेका छौँ!’”

9

1 “हद्राकको देशको विषयमा परमप्रभुको यस्तो वचन घोषणा भयो, र उहाँको वचन दमस्कसको विषयमा पनि आयो, किनभने सबै मनुष्यजाति र इस्राएलका सबै कुलहरूका आँखा परमप्रभुतिर छन् । 2 दमस्कसको सिमानामा भएको हमात, र टुरोस र सीदोनको निम्ति पनि यो घोषणा हो, किनकि तिनीहरू धेरै बुद्धिमान छन् । 3 टुरोसले आफैँ एउटा गढी बनाएको छ, र त्यसले सडकहरूमा धुलोसरह चाँदी र माटोसरह निखुर सुन थुपारेको छ । 4 हेर! परमप्रभुले त्यसबाट सबै खोस्‍नुहुनेछ र त्यसको बललाई समुद्रमा नष्‍ट गर्नुहुनेछ, अनि त्यो आगोले भस्म हुनेछ । 5 अश्कलोनले त्यो देख्‍नेछ र डराउनेछ! गाजा पनि थर-थर काँप्नेछ! एक्रोनको आशा निराशामा परिणत हुनेछ । गाजाबाट राजा नष्‍ट हुनेछ, र अश्कलोनमा कोही वास गर्नेछैन! 6 अश्दोदमा परदेशीहरूले घर बसाल्नेछन्, र म पलिश्तीहरूको घमण्ड तोडिदिनेछु । 7 किनकि म तिनीहरूका मुखबाट रगत र तिनीहरूका दाँतबाट घिनलाग्दा कुराहरू हटाइदिनेछु । तिनीहरू हाम्रा परमेश्‍वरको निम्ति बाँकी रहेकाहरू, यहूदाको एउटा कुलझैँ हुनेछन्, र एक्रोन यबूसीजस्तै हुनेछ । 8 शत्रुका सेनाहरूको विरुद्ध म मेरो भूमिवरिपरि छाउनी लगाउनेछु, ताकि त्यहाँबाट न त कोही छिरोस् वा निस्कोस्, किनकि कोही अत्याचारीले पनि तिनीहरूलाई कुल्चनेछैन, किनभने म मेरै आँखाले नजर लगाउनेछु! 9 ए सियोनकी छोरी अति धेरै आनन्दले कराऊ! यरूशलेमकी छोरी खुशीले कराऊ! हेर! तिम्रा राजा धार्मिकतामा तिमीकहाँ तिमीलाई बचाउन आउँदै हुनुहुन्छ । उहाँ नम्र हुनुहुन्छ र उहाँ गधामाथि, अर्थात् गधाको बछेडामाथि सवार हुनुहुन्छ । 10 अनि म एफ्राइमबाट रथ र यरूशलेमबाट घोडा हटाइदिनेछु, र युद्धबाट धनु हटाइनेछन्, किनभने उहाँले जाति-जातिमा शान्ति घोषणा गर्नुहुनेछ, र एउटा समुद्रदेखि अर्कोसम्म, र नदीदेखि पृथ्वीको छेउ-छेउसम्म उहाँको प्रभुत्व रहनेछ! 11 तँसँग मेरो करारको रगतको कारण, ती सुक्खा खाडलबाट म तेरा कैदीहरूलाई मुक्त गरिदिनेछु । 12 आशा भएका कैदीहरू, गढीमा फर्क! आज म यो घोषणा गर्दै छु, कि म तिमीहरूलाई दोब्बर फिर्ता गरिदिनेछु, 13 किनभने मैले यहूदालाई मेरो धनुझैँ बङ्गाएको छु । मैले मेरो तूणलाई एफ्राइमले भरेको छु । ए सियोन, मैले तेरा छोराहरूलाई ग्रीसका छोराहरूको विरूद्ध उक्साएको छु, र सियोन, मैले तँलाई योद्धाको तरवारझैँ बनाएको छु!” 14 परमप्रभु तिनीहरूकहाँ देखापर्नुहुनेछ, उहाँको काँड बिजुलीझैँ निस्कनेछ! किनकि मेरा परमप्रभु परमेश्‍वरले तुरही फुक्‍नुहुनेछ र उहाँ तेमानबाट आँधीको साथ अगि बढ्नुहुनेछ । 15 सेनाहरूका परमप्रभुले तिनीहरूको सुरक्षा गर्नुहुनेछ, र तिनीहरूले उनीहरूलाई नाश गर्नेछन् र घुयेँत्रोका ढुङ्गाहरूलाई पराजय गर्नेछन् । तिनीहरूले पिउनेछन् र मद्यले मातेका मानिसहरुझैँ ठुलो सोरमा कराउनेछन्, र तिनीहरू बटुकाझैँ, र वेदीका छेउहरूझैँ मद्येले भरिनेछन् । 16 यसैकारण परमप्रभु तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई त्यस दिन आफ्ना मानिसहरूको बागललाईझैँ बचाउनुहुनेछ । तिनीहरू उहाँको देशमा चम्कने मुकुटका रत्‍नहरू हुन् । 17 तिनीहरू कत्ति असल र कति सुन्दर हुनेछन्! जवान मानिसहरू अन्‍नले र कन्याहरू नयाँ मद्यले हृष्‍टपुष्‍ट हुनेछन् ।

10

1 वसन्त ऋतुको मौसममा परमप्रभुबाट वर्षा माग, परमप्रभु जसले आकाशमा बिजुली र आँधी बनाउनुहुन्छ, अनि उहाँले सबैलाई वर्षाको झरी र भूमिमा उब्जनी दिनुहुनेछ । 2 किनकि घरका मूर्तिहरू झुट बोल्छन्, र भविष्य बताउनेहरू झुटा दर्शनहरू देख्‍छन् । तिनीहरू छलपूर्ण सपनाहरू बताउँछन् र व्यर्थका सान्त्वना दिन्छन् ।यसैकारण तिनीहरू भेडाझैँ बरालिन्छन् र गोठालो नभएकोले समस्यामा पर्छन् । 3 “मेरो क्रोध गोठालाहरूमाथि खनिन्छ । भाले बोको, अर्थात् अगुवाहरूलाई म दण्ड दिनेछु । सेनाहरूका परमप्रभुले उहाँको बगाल अर्थात् यहूदाको घरानाको हेरचाह गर्नुहुनेछ र तिनीहरूलाई युद्धको घोडाझैँ बनाउनुहुनेछ! 4 कुने-ढुङ्गो यहूदाबाट आउनेछ । पालको कीला त्यसबाट आउनेछ, अनि युद्धको धनु र हरेक शासक एकसाथ त्यसैबाट आउनेछ । 5 युद्दको मैदानको माटोमा आफ्ना शत्रुहरूलाई कुल्चने योद्धाहरूझैँ तिनीहरू हुनेछन् । तिनीहरूले युद्ध गर्नेछन्, किनकि परमप्रभु तिनीहरूसँग हुनुहुन्छ, र तिनीहरूले युद्धका घोडा चढ्नेहरूलाई शर्ममा पार्नेछन् । 6 म यहूदाको घरानाललाई बलियो बनाउनेछु र योसेफको घरानालाई बचाउनेछु, किनकि म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु र तिनीहरूमाथि दया देखाउनेछु । तिनीहरू वहिष्कृत नभएकाहरूझैँ हुनेछन्, किनकि म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ, र म तिनीहरूलाई उत्तर दिनेछु । 7 अनि एफ्राइम योद्धाझैँ हुनेछ, र तिनीहरूका हृदय मद्यले झैँ आनन्दित हुनेछ । तिनीहरूका छोराछोरीहरूले यो देखेर आनन्द मनाउनेछन् । तिनीहरूका हृदय ममा आनन्दित हुनेछन्! 8 म तिनीहरूलाई सुस्केराले बोलाउनेछु र तिनीहरूलाई भेला गराउनेछु । म तिनीहरूलाई बचाउनेछु, र तिनीहरू पहिलेको झैँ महान् हुनेछन्! 9 मैले तिनीहरूलाई मानिसहरूका बिचमा छरेँ, तर तिनीहरूले मलाई टाढा-टाढाका देशहरूमा सम्झनेछन्, यसैकारण तिनीहरू र तिनीहरूका छोराछोरीहरू बाँच्नेछन् र फर्कनेछन् । 10 किनकि म तिनीहरूलाई मिश्र देशबाट पुनर्स्थापित गर्नेछु र तिनीहरूलाई अश्शूर देशबाट भेला गराउनेछु । गिलाद र लेबनानमा तिनीहरूका निम्ति ठाउँ बाँकी नरहेसम्म म तिनीहरूलाई त्यहाँ लानेछु । 11 म तिनीहरूको पीडाको समुद्रबाट भएर जानेछु । म त्यस समुद्रका छालहरूलाई प्रहार गर्नेछु र नील नदीका सबै गहिराइलाई सुकाइदिनेछु । अश्शूरको गौरव घटाइनेछ, र मिश्रको राजदण्ड मिश्रीहरूबाट टाढा जानेछ । 12 तिनीहरूलाई म ममा नै बलियो बनाउनेछु, र तिनीहरू मेरो नाउँमा हिँड्नेछन्, परमप्रभु घोषणा गर्नुहुन्छ ।”

11

1 ए लेबनान तेरा ढोकाहरू खोल्, ताकि आगोले तेरा देवदारुहरूलाई भस्म पारोस्! 2 ए सल्लोको रूख, विलाप गर्, किनकि देवदारुका रूखहरू ढलेका छन्! सुन्दर र महान् भनिएका कुराहरू ध्वस्त भएका छन्! ए बाशानका फलाँटका रूखहरू, विलाप गर, किनभने त्यो ठुलो जङ्गल सखाप भएको छ । 3 गोठालाहरू वेदनामा रुन्छन्, किनभने तिनीहरूको महिमा नष्‍ट पारिएको छ! जवान सिंहहरू गर्जन्छन्, किनकि यर्दन नदीको घमण्ड नष्‍ट पारिएको छ । 4 परमप्रभु मेरा परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “गोठालाले झैँ काटिनको निम्ति अलग गरिएको बगालको हेरचाह गर्! 5 ती किन्‍नेहरूले तिनीहरूलाई काट्छन् र तिनीहरूलाई सजाय दिइँदैन, र तिनीहरूलाई बेच्नेहरूले भन्छन्, ‘परमप्रभुको प्रशंसा होस्! म धनी भएको छु!’ किनकि बगालका मालिकहरूका निम्ति काम गर्ने गोठालाहरूले तिनीहरूमाथि दया देखाएनन् । 6 किनकि अब म भूमिमा बसोबास गर्नेहरूलाई दया देखाउनेछैनँ! - परमप्रभु घोषणा गर्नुहुन्छ । हेर, म हरेक मानिसलाई त्यसको छिमेकी र त्यसको राजाको हातमा सुम्पन लाग्दै छु, अनि तिनीहरूले भूमिलाई नष्‍ट गर्नेछन् र तिनीहरूका हातबाट म कसैलाई पनि छुटाउनेछैन ।” 7 यसैकारण म काटिनको निम्ति चिन्ह लगाइएको भेडाको बगालको गोठालो बनेँ । मैले दुईवटा लौरो लिएँ: एउटा लौरोलाई मैले “अनुग्रह” नाउँ दिएँ र अर्कोलाई“एकता” नाउँ दिएँ । यसरी मैले बगालको हेरचाह गरेँ । 8 एक महिनामा मैले तिनवटा गोठालालाई नाश गरेँ । म तिनीहरूप्रति धैर्य भइनँ, र तिनीहरूले मलाई घृणा गरे । 9 अनि मैले मालिकहरूलाई भनेँ, “म अब तिमीहरूका निम्ति गोठालोको रूपमा काम गर्नेछैनँ । मर्न लागेका भेडाहरू मरून्, नष्‍ट भइरहेका भेडाहरूलाई नष्‍ट हुनदेऊ । बाँकी रहेको भेडोलेचाहिँ आफ्नो छिमेकीको मासु खाओस् ।” 10 यसैकारण मैले आफ्नो लौरो “अनुग्रह” लिएँ अनि आफ्ना सबै कुलहरूसँग गरेको करार तोड्नको निम्ति त्यो भाँचिदिएँ । 11 त्यस दिन त्यो करार तोडियो, र भेडाको हेरचाह गर्नेहरू र मलाई हेर्नेहरूले परमप्रभु बोल्नुभएको थाहा पाए । 12 मैले तिनीहरूलाई भनेँ, “यदि तिमीहरूलाई यो असल लागे, मलाई मेरो ज्याला देओ । तर तिमीहरूलाई असल नलागे, नदेओ ।” यसैले तिनीहरूले मेरो ज्याला चाँदीका तिस टुक्रा हिसाब गरे । 13 अनि परमप्रभुले मलाई भन्‍नुभयो, “तिनीहरूले तेरो मुल्य तय गरेको उत्कृष्‍ट मोलमा त्यो चाँदी भण्डारमा जम्मा गर्!” यसैकारण मैले ती तिस टुक्रा चाँदी लिएर परमप्रभुको भवनमा भण्डारमा जम्मा गरेँ । 14 अनि यहूदा र इस्राएलबिचको दाजुभाइको नातालाई तोड्नको निम्ति मैले मेरो दोस्रो लौरो “एकता” पनि भाँचे । 15 परमप्रभुले मलाई भन्‍नुभयो, “फेरि, मूर्ख गोठालोको उपकरण तेरो निम्ति ली, 16 किनभने हेर्, म भूमिमा एउटा गोठालो नियुक्त गर्दैछु । त्यसले हराउँदै गरेको भेडाको वास्ता गर्नेछैन । हराएको भेडालाई त्यो खोज्न जानेछैन, न त घाइते भेडालाई निको पार्नेछ । त्यसले स्वस्थ भेडाहरूलाई खुवाउनेछैन, तर मोटो भेडाको मासु खानेछ र तिनीहरूका खुरलाई च्यात्‍नेछ । 17 धिक्‍कार, आफ्नो बगाललाई त्याग्‍ने बेकामको गोठालो! त्यसको पाखुरा र दाहिने आँखाको विरुद्ध तरवार चलाइयोस्! त्यसको पाखुरा सुकोस् र त्यसको दाहिने आँखा अन्धो होस्!”

12

1 इस्राएलको विषयमा परमप्रभु यस्तो घोषणा गर्नुहुन्छ, जसले आकाश बनाउनुभयो र पृथ्वीको जग बसाल्नुभयो, जसले मानिसको आत्मालाई त्यसभित्र रच्नुभयो, 2 “हेर, म यरूशलेमलाई एउटा कचौरा तुल्याउँदै छु जसको कारण त्यसको वरिपरिका सबै धरमराउनेछन् । यरूशलेमको विरुद्ध घेरावन्दी हुँदा यहूदाको निम्ति पनि त्यस्तै हुनेछ । 3 त्यस दिन, म सबै जातिहरूका निम्ति यरूशलेमलाई एउटा गह्रौँ ढुङ्गो तुल्याउनेछु । त्यो ढुङ्गोलाई उठाउन खोज्ने सबैलाई गहिरो चोट लाग्‍नेछ, र पृथ्वीका सबै जातिहरू त्यस सहरको विरुद्धमा एक हुनेछन् । 4 त्यस दिन, म हरेक घोडालाई भ्रमले र त्यसमा सवारलाई पागलपनले प्रहार गर्नेछु - परमप्रभु घोषणा गर्नुहुन्छ। यहूदाको घरानामाथि म मेरो नजर लगाउनेछु, तर जाति-जातिहरूका हरेक घोडालाई म अन्धोपनले प्रहार गर्नेछु । 5 अनि यहूदाका अगुवाहरूले आफ्ना हृदयमा यस्तो भन्‍नेछन्, ‘सेनाहरूका परमप्रभु, तिनीहरूका परमेश्‍वरको कारण यरूशलेमका वासिन्दाहरू हाम्रो बल भएका छन् ।’ 6 त्यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको बिचको आगोको मकलझैँ र बिटाहरूको बिचमा बलिरहेको राँकोझैँ तुल्याउनेछु, किनकि तिनीहरूले वरिपरिका सबै मानिसहरूलाई आफ्नो दाहिने र देब्रेपट्टि सखाप पार्नेछन् । यरूशलेम फेरि आफ्नै ठाउँमा बस्‍नेछ ।” 7 दाऊदको घराना र यरूशलेममा बस्‍नेहरूको गौरव यहूदाका बाँकी रहेकाहरूको भन्दा बढ्ता नहोस् भनेर परमप्रभुले पहिला यहूदाको पाललाई बचाउनुहुनेछ । 8 त्यस दिन, परमप्रभु नै यरूशलेमका वासिन्दाहरूको रक्षक हुनुहुनेछ, र त्यस दिन तिनीहरूका कमजोरहरू दाऊदझैँ हुनेछन्, अनि दाऊदको घरानाचाहिँ परमेश्‍वरझैँ, तिनीहरूको अगि परमप्रभुका स्वर्गदूतझैँ हुनेछ । 9 “त्यसदिन यरूशलेमको विरुद्ध खडा हुने सबै जातिहरूलाई म सर्वनाश गर्न थाल्नेछु । 10 तर दाऊदको घराना र यरूशलेमका वासिन्दाहरूमाथि म अनुग्रह र नम्र-निवेदन गर्ने आत्मा खन्याउनेछु, अनि तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले नै घोचेका छन् । एक मात्र छोरोको लागि शोक गरेझैँ, तिनीहरू मेरो निम्ति शोक गर्नेछन् । आफ्नो पहिलो पुत्रको निम्ति शोक गरेझैँ तिनीहरूले उनको लागि अत्यन्तै विलाप गर्नेछन् । 11 त्यस दिन यरूशलेमको विलाप मगिद्दोको बेँसीमा हदद-रिम्मोनको विलापझैँ हुनेछ । 12 भूमि विलाप गर्नेछ, हरेक कुलले अलग-अलग विलाप गर्नेछन् । दाऊदको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् । नातानको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् । 13 लेवीको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् । शिमीको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् । 14 बाँकी रहेका कुलहरूको हरेक वंश अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् ।”

13

1 “त्यस दिन दाऊदको घराना र यरूशलेमका वासिन्दाहरूका पाप र अशुद्धताको कारण तिनीहरूका निम्ति पानीको छहरा खोलिनेछ । 2 त्यस दिन, म भूमिबाट मूर्तिहरूका नाउँ मेटाइदिनेछु र तिनीहरूको कहिल्यै सम्झना हुनेछैन, परमप्रभु घोषणा गर्नुहुन्छ । म भूमिबाट अगमवक्ताहरू र अशुद्धताका आत्मालाई हटाइदिनेछु । 3 कुनै मानिसले अझै अगमवाणी गरेमा, त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसलाई भन्‍नेछन्, ‘तँ बाँच्नेछैनस्, किनभने तैँले परमप्रभुको नाउँमा झुटो बोल्छस्!’ अनि त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसले अगमवाणी बोल्दा त्यसलाई छेडिदिनेछन् । 4 त्यस दिन हरेक अगमवक्ता, अगमवाणी गर्न लाग्दा आफ्नो दर्शनको कारण शर्ममा पर्नेछ । यी अगमवक्ताहरूले अब मानिसहरूलाई धोकामा पार्न रौँ भएका लबेदा लगाउनेछैनन् । 5 किनभने हरेकले भन्‍नेछ, ‘म अगमवक्ता होइनँ! म त माटोमा काम गर्ने मानिस हुँ, किनकि म जवान हुँदादेखि नै भूमिमा नै मैले काम गर्न थालेँ!’ 6 तर कसैले त्यसलाई भन्‍नेछ, ‘तेरा हातहरूका बिचमा भएका यी घाउ के हुन्?’ र त्यसले जवाफ दिनेछ, ‘म आफ्ना साथीभाइको घरमा हुँदा मलाईती चोट लागेका थिए ।’” 7 “ए तरवार! मेरो गोठालोको विरुद्ध उठ्, जो मेरो नजिक उभिएको छ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । गोठालोलाई प्रहार गर्, र बगाल तितर-बितर हुनेछ! किनभने तल्लो वर्गकाहरूका विरुद्ध म मेरो हात उठाउनेछु । 8 र साराभूमिमा यस्तो हुनेछ - परमप्रभु घोषणा गर्नुहुन्छ, कि त्यसको दुई-तिहाइ भाग नाश हुनेछ! ती मानिसहरू नष्‍ट हुनेछन्, र एक-तिहाइमात्र बाँकी रहनेछ । 9 म ती एक-तिहाइलाई आगोबाट लैजानेछु र तिनीहरूलाई चाँदीलाई झैँ निखार्नेछु । सुनलाई झैँ म तिनीहरूको परिक्षण गर्नेछु । तिनीहरूले मेरो नाउँ पुकार्नेछन्, र म तिनीहरूलाई जवाफ यस्तो दिनेछु, ‘यी मेरा मानिस हुन्!’ र तिनीहरूले भन्‍नेछन्, ‘परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ!’”

14

1 हेर! परमप्रभुको त्यो दिन आउँदै छ जब तिमीहरूको लुटको सम्पत्ति तिमीहरूका माझमा बाँडिनेछ । 2 किनभने म यरूशलेमको विरुद्ध युद्ध गर्नको निम्ति सारा जातिलाई तयार गर्नेछु र त्यो सहर कब्जा हुनेछ । घरहरू लुटिनेछन् र स्‍त्रीहरूको इज्‍जत लुटिनेछ । आधा सहर निर्वासनमा जानेछ, तर बाँकी रहेका मानिसहरू सहरबाट बहिष्कृत हुनेछैनन् । 3 तर परमप्रभु बाहिर निस्कनुहुनेछ र यूद्धको दिनमा झैँ ती जातिहरूको विरूद्ध लडाइँ सुरु गर्नुहुनेछ। 4 त्यस दिन उहाँले यरूशलेमको पूर्वतिर भएको जैतून डाँडामा आफ्ना खुट्टा टेक्‍नुहुनेछ । जैतून डाँडाको पूर्व र पश्‍चिम एउटा ठुलो बेँसीद्वारा दुई भाग हुनेछ र त्यस डाँडाको आधा भाग उत्तरतिर जानेछ र आधा भाग दक्षिणतिर जानेछ । 5 अनि तिमीहरू परमप्रभुका पर्वतहरूको बिचको बेँसीतर्फ भाग्‍नेछौ, किनकि ती पर्वतहरूका बिचको बेँसी आसेलसम्म पुग्दछ । यहूदाका राजा उज्‍जियाहका दिनमा भूकम्पबाट भागेझैँ तिमीहरू भाग्‍नेछौ । त्यसपछि परमप्रभु मेरा परमेश्‍वर आउनुहुनेछ र सबै पवित्र जनहरू उहाँसँग हुनेछन् । 6 त्यस दिन त्यहाँ उज्यालो हुनेछैन, न त चिसो हुनेछ, न तुसारो पर्नेछ । 7 त्यस दिन, जुन दिनको विषयमा परमप्रभुलाई मात्र थाहा छ, दिन वा रात हुनेछैन, किनभने साँझचाहिँ उज्यालोको समय हुनेछ । 8 त्यस दिन यरूशलेमबाट जिउँदो पानी बग्‍नेछ । गर्मीमा र जाडोमा, आधाचाहिँ पूर्वीय समुद्रतिर र आधाचाहिँ पश्‍चिमी समुद्रतिर बग्‍नेछ । 9 परमप्रभु सारा पृथ्वीका राजा हुनुहुनेछ । त्यस दिन एक मात्र परमेश्‍वर परमप्रभु हुनुहुनेछ, र उहाँको नाउँ मात्र रहनेछ । 10 गेबादेखियरूशलेमको दक्षिण रिम्मोनसम्म सारा भूमि अराबाजस्तै हुनेछ । यरूशलेम निरन्तर माथि उठाइनेछ र बेन्यामीनको ढोकादेखि पहिलो ढोकाको ठाउँसम्म, कुने ढोकासम्म, र हननेलको बुर्जादेखि राजाको दाखको कोलसम्म त्यो आफ्नै ठाउँसम्म रहनेछ । 11 मानिसहरू यरूशलेममा बस्‍नेछन् र परमेश्‍वरद्वारा तिनीहरूको पूर्ण विनाश हुनेछैन । यरूशलेम सुरक्षित रहनेछ । 12 यरूशलेमको विरुद्ध युद्ध सुरु गर्ने सबै जातिहरूलाई परमप्रभुले यस्तो महामारीद्वारा प्रहार गर्नुहुनेछः तिनीहरू आफ्ना खुट्टा उभिरहँदा पनि तिनीहरूको मासु कुहेर जानेछ । तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहुनेछन्, र तिनीहरूका जिब्रा तिनीहरूकै मुखमा कुहुनेछन् । 13 त्यस दिन तिनीहरूका बिचमा परमप्रभुको त्यो महान् भय छाउनेछ । हरेकले अर्को व्यक्तिको हात समाउनेछ, र एउटाको हात अर्काको विरुद्ध उठ्नेछ । 14 यहूदा पनि यरूशलेमको विरुद्ध लडाइँ गर्नेछ । तिनीहरूले वरपरका सबै जातिहरूका सम्पत्तिहरू-सुन, चाँदी, र असल लुगाहरू प्रशस्त मात्रामा बटुल्नेछन् । 15 घोडाहरू र खच्‍चरहरू, ऊँटहरू र गधाहरू, र ती छाउनीहरूमा भएका सबै पशुहरूमा त्यही महामारी फैलिनेछ । 16 यरूशलेमको विरुद्धभएका तीजातिहरूका सबै बाँकी रहेकाहरू वर्षेनी राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न, र छाप्रो-वासको पर्व मनाउन माथि जानेछन् । 17 ती सारा जातिहरूमध्ये कोही राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न माथि यरूशलेममा गएनन् भने, परमप्रभुले तिनीहरूमाथि झरी वर्षाउनुहुनेछैन । 18 यदि मिश्रदेशका मानिसहरू माथि गएनन् भने, त्यहाँ वर्षात हुनेछैन । छाप्रो-बासको पर्व मनाउन माथि नजाने जातिहरूमाथि परमप्रभुको महामारीको प्रहार हुनेछ । 19 छाप्रो-बासको पर्व मनाउन माथि नजाने मिश्रको निम्ति र हरेक जातिको निम्ति यही दण्ड हुनेछ । 20 तर त्यस दिन, घोडाहरूका घन्टीमा यस्तो लेखिएको हुन्छ, “परमप्रभुको निम्ति अलग गरिएको,” र परमप्रभुको घरानाका बाटाहरू वेदीसामुका कचौराहरूझैँ हुन्छन् । 21 किनकि यरूशलेम र यहूदाका हरेक भाँडाहरू सेनाहरूका परमप्रभुको निम्ति अलग गरिनेछन् र बलिदान ल्याउने सबैले तीबाटै खानेछन् र तिनमा नै पकाउनेछन् । त्यस दिन सेनाहरूका परमप्रभुको भवनमा कोही व्यापारीहरू बाँकी हुनेछैनन् ।