नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
मलाकी
मलाकीको पुस्तक
1

1 इस्राएलको विषयमा मलाकीद्दारा भएको परमप्रभुको वचनको घोषणा । 2 “मैले तिमीहरूलाई प्रेम गरेको छु,” परमप्रभु भन्‍नुहुन्छ । तर तिमीहरू भन्छौ, “तपाईंले हामीलाई कसरी प्रेम गर्नुभएको छ?” “के एसाव याकूबको दाजु थिएन र?” परमप्रभु घोषणा गर्नुहुन्छ । “तथापि मैले याकूबलाई प्रेम गरेको छु, 3 तर मैले एसावलाई घृणा गरेको छु । मैले त्यसका पर्वतहरूलाई त्यागिएको बनाएको छु, र मैले त्यसको उत्तराधिकारलाई मरुभूमिका स्यालहरूका वासस्थान बनाइदिएको छु ।” 4 “हामीहरू कुल्चिएकाछौँ, तर हामी हाम्रा भग्‍नावशेषहरूलाई पुनर्निर्माण गर्नेछौँ,” भनेर एदोमले भनेमा, परमप्रभुले भन्‍नुहुनेछ, “तिनीहरूले पुनर्निर्माण गर्लान्, तर म फेरि तल झारिदिनेछु । अरूहरूले तिनीहरूलाई ‘दुष्‍टताको देश’ र ‘परमप्रभुले सदाको निम्ति श्रापित गर्नुभएको जाति’ भनेर भन्‍नेछन् । 5 तिमीहरूका आफ्नै आँखाले यो देख्‍नेछन्, अनि तिमीहरूले भन्‍नेछौ, ‘इस्राएलका सिमानाहरूभन्दा बाहिर पनि परमप्रभु महान् हुनुहुन्छ ।’” 6 “छोरोले आफ्नो बुबाको आदर गर्दछ, र दासले आफ्नो मालिकको । यदि, यसैकारण, म पिता हुँ भने, मेरो आदर कहाँ छ? म मालिक हुँ भने, मेरो निम्ति श्रद्धा कहाँ छ?” सेनाहरूका परमप्रभु तिमी पुजारीहरूलाई भन्‍नुहुन्छ, जसले मेरो नाउँको तिरस्कार गर्दछौ । “तर तिमीहरू भन्छौ, ‘हामीले कसरी तपाईंको नाउँको तिरस्कार गरेका छौँ?’ 7 तिमीहरूले मेरो वेदीमा अशुद्ध रोटी अर्पण गर्छौ । तर तिमीहरू परमप्रभुको टेबिल तुच्छ छ भनेर यसो भन्दछौ, ‘हामीहरूले कसरी तपाईंलाई अशुद्ध बनाएका छौँ?’ 8 जब तिमीहरू बलिदानको निम्ति अन्धा पशुहरू चढाउँछौ, के त्यो खराब होइन र? जब तिमीहरू लङ्गडो र रोग लागेका पशु चढाउँछौ, के त्यो बेठिक होइन र? त्यो तिमीहरूका राज्यपाललाई चढाएर हेर! के तिनले तिमीहरूलाई स्वीकार गर्लान्, वा के तिनले तिमीहरूको शिर माथि उठाउलान्?” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 9 उहाँ तिमीहरूप्रति अनुग्रही होऊन् भनेर तिमीहरू उहाँको मुहारको खोजी गर्छौ । तर सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ, तिमीहरूका हातमा त्यस्तो भेटी लिएर, के उहाँले तिमीहरूका शिर उठाउनुहुन्छ? 10 “तिमीहरूले मेरो वेदीमा व्यर्थै आगो नबालोस् भनेर, तिमीहरूमध्ये कोही एकले मन्दिरका ढोकाहरू बन्द गरोस् भन्‍ने म इच्छा गर्दछु! म तिमीहरूमा प्रसन्‍न हुन्‍नँ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ, “र म तिमीहरूका हातबाट कुनै बलिदान अर्पण गर्नेछैनँ । 11 किनभने सूर्योदयदेखि सूर्यास्तसम्‍म जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ र हरेक ठाउँमा मेरो नाउँमा धूप र शुद्ध भेटीहरू अर्पण गरिनेछन् । किनभने जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 12 “तर तिमीहरूले परमप्रभुको टेबिल अशुद्ध छ, र त्यसमा भएका फलफुल र रोटी घृणायुक्त छन् भनेर त्यो अपवित्र बनाउँछौ । 13 तिमीहरू यसो पनि भन्छौ, ‘यो कति थकानयुक्त छ,’ र आफ्नो नाक बङ्गाउँछौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “जङ्गली पशुले लगेका र लङ्गडो वा रोग लागेको पशु तिमीहरू ल्याउँछौ, र तिमीहरू यी आफ्नो भेटीस्वरूप ल्याउँछौ । के म ती तिमीहरूका हातबाट अर्पण गरूँ?” परमप्रभु भन्‍नुहुन्छ । 14 “छलगर्नेचाहिँ श्रापित होस् जसले आफूसँग आफ्नो बगालमा भएको नर-पशु मलाई दिने प्रतिज्ञा गर्दछ, तर त्यसले परमप्रभुलाई खोट भएको पशु चढाउँछ! किनभने म महान् राजा हुँ, र सारा जातिहरूबिच मेरो नाउँको आदर हुनेछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

2

1 ए पुजारी हो, यो आज्ञा तिमीहरूका निम्ति हो । 2 “यदि मेरो नाउँलाई आदर गर्न तिमीहरूले सुन्दैनौ र त्यो हृदयमा राख्दैनौ भने, म तिमीहरूकहाँ सराप पठाउनेछु, र तिमीहरूका आशिषलाई पनि सराप दिनेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । साँच्‍चै, मैले तिनीहरूलाई सराप दिइसकेको छु, किनभने तिमीहरूले मेरो आज्ञालाई आफ्नो हृदयमा राखेनौ । 3 हेर, म तिमीहरूका सन्ततिलाई हप्काउन जाँदैछु, र म तिमीहरूका अनुहारमा गोबर छरिदिनेछु, तिमीहरूका चाड-पर्वहरूको गोबर, र त्योसँगै त्यसले तिमीहरूलाई लैजानेछ । 4 यो आज्ञा मैले नै तिमीहरूलाई दिएको हुँ, र मेरो करार लेवीसँग रहिरहनेछ भनेर तिमीहरूले जान्‍नेछौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 5 “त्यससँग मेरो करार जीवन र शान्तिको थियो, र मैले ती तिनीहरूलाई दिएँ । मैले त्यसलाई डर दिएँ, र त्यसले मेरो भय राख्यो, मेरो नाउँको भयमा त्यो उभियो । 6 त्यसको मुखमा साँचो शिक्षा थियो, र त्यसको ओठमा कुनै झुट पाइएन । त्यो मसँग शान्ति र सत्यतामा हिँड्यो र त्यसले धेरैलाई पापबाट टाढा राख्यो । 7 किनभने पूजारीको ओठमा ज्ञान हुनुपर्छ र मानिसहरूले त्यसको मुखबाट शिक्षा खोज्नुपर्छ, किनभने त्यो सेनाहरूका परमप्रभुको समाचारवाहक हो । 8 तर तिमीहरू साँचो मार्गबाट टाढा गएका छौ । तिमीहरूका शिक्षाले धेरैलाई ठेस लागेको छ । तिमीहरूले लेवीको करारलाई तोडेका छौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 9 “यसैले मैले पनि तिमीहरूलाई सारा मानिसहरूका अगाडि तुच्छ र निंदनीय बनाएको छु, किनभने तिमीहरू मेरा मार्गमा हिँडेका छैनौ, तर शिक्षा दिइएका कुराहरूमा पक्षपात गरेका छौ ।” 10 के हामीहरू सबैका निम्ति एउटै पिता हुनुहुन्‍न र? के एउटै परमेश्‍वरले हामीलाई बनाउनुभएको होइन र? हामीहरू हरेक किन आफ्नो दाजुभाइको विरुद्धमा विश्‍वासहीन हुन्छौँ, र हाम्रा पितापुर्खाका नाउँलाई अपमानित गर्दछौ? 11 यहूदा विश्‍वासहीन भएको छ । इस्राएल र यरूशलेममा घिनलाग्दो काम भएको छ । परमप्रभुले प्रेम गर्नुहुने पवित्र ठाउँलाई यहूदाले अपवित्र बनाएको छ, र त्यसले पराई ईश्‍वरकी छोरीसँग विहे गरेको छ । 12 यसो गर्ने मानिस, जो बिउँझेको छ र जसले उत्तर दिन्छ, त्यसले सेनाहरूका परमप्रभुकहाँ भेटी अर्पण गर्ने भए तापनि, परमप्रभुले त्यसलाई याकूबका पालहरूबाट बहिष्कृत गरून् । 13 तिमीहरू यसो पनि गर्दछौ: तिमीहरू परमप्रभुको वेदीलाई आँसु, रोदन र विलापले ढाक्छौ, किनभने तिमीहरूका हातका भेटीलाई उहाँले कृपासित ग्रहण गर्नुहुन्‍न, न त त्योतिर ध्यान नै दिनुहुन्छ । 14 तर तिमीहरू भन्छौ, “उहाँले किन गर्नुहुन्‍न?” किनभने परमप्रभु तिमीहरू र तिमीहरूका जवानीपनकी पत्‍नीबिच साक्षी हुनुहुन्थ्यो, र त्यो तेरी जीवनसाथी र करारअनुसार तेरी पत्‍नी हुँदाहुँदै पनि त्यसको विरुद्ध तिमीहरू विश्‍वासहीन भयौ । 15 के उहाँले आफ्नो आत्मामा तिनीहरूलाई एक बनाउनुभएको होइन र? त्यसोभए किन उहाँले तिमीहरूलाई एक बनाउनुभयो? किनभने उहाँले परमेश्‍वरको सन्तान खोज्नुभएको थियो । त्यसैले आफैँलाई आफ्नो आत्मामा रखवाली गर र आफ्नो जवानी अवस्थाकी पत्‍नीसँग अविश्‍वासी नहोओ । 16 “किनभने म सम्बन्धविच्छेदलाई घृणा गर्दछु,” इस्राएलका परमेश्‍वर, परमप्रभु भन्‍नुहुन्छ, “र त्यसलाई पनि जसले आफ्नो वस्‍त्रलाई हिंसाले ढाक्दछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “यसैकारण आफैँलाई आत्मामा रखवाली गर र विश्‍वासहीन नहोओ ।” 17 तिमीहरूले आफ्ना बोलीले परमप्रभुलाई थकित तुल्याका छौ । तर तिमीहरू भन्छौ, “हामीले उहाँलाई कसरी थकित तुल्याएका छौँ?” यसो भनेर, “दुष्‍ट काम गर्ने सबै परमप्रभुको दृष्‍टिमा असल छ, र उहाँ तिनीहरूमा खुशी हुनुहुन्छ,” वा “न्यायका परमेश्‍वर कहाँ हुनुहुन्छ?”

3

1 “हेर, म आफ्नो समाचारवाहक पठाउँदै छु, र तिनले मेरो अगि बाटो तयार पार्नेछन् । अनि तिमीहरूले खोजेका प्रभु एक्‍कासी आफ्नो मन्दिरमा आउनेछन् । करारका समाचारवाहक जसमा तिमीहरू रमाहट गर्दछौ, हेर, तिनी आउनेछन्,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 2 तर उहाँको आगमनको दिन कसले सहन सक्छ र? उहाँ आउनुहुँदा को खडा हुन सक्छ र? किनभने उहाँ सुनारको आगो र धोबीको साबूनझैँ हुनुहुनेछ । 3 उहाँ चाँदी खार्ने र सफा गर्नेझैँ गरी बस्‍नुहुनेछ, र उहाँले लेवीका छोराहरूलाई शुद्ध पार्नुहुनेछ । उहाँले तिनीहरूलाई सुन र चाँदीलाई झैँ खार्नुहुनेछ, र तिनीहरूले धार्मिकताका भेटीहरू परमप्रभुकहाँ ल्याउनेछन् । 4 त्यसपछि यहूदा र यरूशलेमको भेटी, पुराना दिनमा झैँ, र प्राचीन वर्षहरूमा झैँ परमप्रभुको निम्ति प्रसन्‍न तुल्याउने किसिमको हुनेछ । 5 “अनि न्यायको निम्ति म तिमीहरूको नजिक आउनेछु । टुनामुना गर्नेहरू, व्यभिचारीहरू, झुटा साक्षी दिनेहरू, ज्यालादारीमा काम गर्ने श्रमिक, विधवा र टुहुरा-टुहुरीलाई दमन गर्नेहरू, परदेशीहरूलाई सहायता नगर्नेहरू, र मलाई आदर नगर्नेहरूका विरुद्ध म नै साक्षी हुनेछु,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 6 “किनभने म, परमप्रभु परिवर्तन भएको छैनँ, यसैकारण याकूबका सन्तान हो, तिमीहरू नष्‍ट भएका छैनौ । 7 तिमीहरूका पिता-पुर्खाका समयदेखि नै तिमीहरू मेरा आज्ञाहरूबाट टाढा गएका छौ र ती पालना गरेका छैनौ । मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामी कसरी फर्कने?’ 8 के कुनै मानिसले परमेश्‍वरलाई लुट्छ? तर तिमीहरूले मलाई लुटिरहेका छौ । तर तिमीहरू भन्छौ, ‘हामीले कसरी तपाईंलाई लुटेका छौँ?’ दशांश र भेटीमा । 9 तिमीहरू श्रापित भएका छौ, किनभने तिमीहरू सारा जातिले मलाई लुटिरहेका छौ । 10 भण्डारमा पूर्ण दशांश ल्याओ, ताकि मेरो भवनमा भोजन होस्, र मैले स्वर्गका ढोकाहरू खोलेर तिमीहरूकहाँ राख्‍ने ठाउँ नहुनेसम्‍म गरी तिमीहरूमाथि आशिष् खन्याउँछु, कि खन्याउँदिन, यसमा मलाई जाँचेर हेर,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 11 “तिमीहरूका बालीहरू नष्‍ट गर्नेहरूको विरुद्ध म बोल्नेछु, ताकि तिनीहरूले तिमीहरूका भूमिको जम्‍मै फसल नष्‍ट नगरून् । भूमिका तिमीहरूका दाखको बोटले आफ्ना फल गुमाउनेछैनन्,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 12 “सारा जातिहरूले तिमीहरूलाई आशिषित् भन्‍नेछन्, किनभने तिमीहरू रमाहटको देश हुनेछौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 13 “मेरो विरूद्ध तिमीहरूका वचन कडा भएका छन्,” परमप्रभु भन्‍नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामीहरूले हाम्रो बिचमा तपाईंको विरुद्ध के भनेका छौँ?’ 14 तिमीहरूले भनेका छौ, ‘परमेश्‍वरको सेवा गर्नु व्यर्थ छ । हामीले उहाँले भनेअनुसार गरेर वा सेनाहरूहरूका परमप्रभुको अगि विलाप गर्दै हिँडेर हामीलाई के लाभ? 15 यसैकारण अब हामी हठीहरूलाई नै आशिषित् भन्छौँ । दुष्‍ट काम गर्नेहरू सफल मात्र हुँदैनन्, तर तिनीहरूले परमेश्‍वरलाई जाँच गरेर उम्कन्छन् ।’” 16 अनि परमप्रभुको भय मान्‍नेहरू एक-आपसमा बोले । परमप्रभुले ध्यान दिनुभयो र सुन्‍नुभयो, र परमप्रभुको भय मान्‍ने र उहाँको नाउँलाई आदर गर्नेहरूका विषयमा उहाँकै सामु सम्झनाको पुस्तक लेखियो । 17 “मैले काम गर्ने दिनमा, तिनीहरू मेरा हुनेछन्, मेरो आफ्नै धन-सम्पत्ति हुनेछन्,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । बुबाको सेवा गर्ने छोरोमाथि त्यो बुबाले दया देखाएझैँ, म तिनीहरूमाथि दया देखाउनेछु । 18 अनि फेरि एकपटक तिमीहरूले धर्मी र दुष्‍ट बिच भिन्‍नता गर्नेछौ, तिनीहरूबिच जसले परमेश्‍वरको आराधना गर्छन् र जसले उहाँको आराधना गर्दैनन् ।

4

1 किनभने हेर, त्यो दिन आउँदै छ, जुन दिन भट्टीझैँ दन्कनेछ । त्यस दिन सबै हठी र दुष्‍ट काम गर्नेहरू ठुटाझैँ हुनेछन् । आउन लागेको दिनले तिनीहरूलाई जलाई भस्म गर्नेछ, र तिनीहरूको न त जरा न हाँगा बाँकी रहनेछ, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 2 तर मेरो नाउँको भय मान्‍नेहरूका निम्ति भने, धार्मिकताको सूर्य निको पार्दै आफ्ना पखेटामा उदाउनेछ । तिमीहरू बाहिर जानेछौ, र गोठबाट निस्केका बाछाझैँ उफ्रनेछौ । 3 त्यस दिन तिमीहरूले दुष्‍टलाई कुल्चनेछौ, किनभने मैले काम गर्ने दिनमा तिनीहरू, तिमीहरूका पाउमुनिका खरानीझैँ हुनेछन्, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 4 “मेरा दास मोशाका शिक्षालाई याद गर, जुन विधि र नियमहरू मैले त्यसलाई सारा इस्राएलीहरूका निम्ति होरेब पर्वतमा दिएको थिएँ । 5 हेर, परमप्रभुको महान् र भयानक दिन आउनुअगि म अगमवक्ता एलियालाई तिमीहरूकहाँ पठाउनेछु । 6 त्यसले बुबाहरूका हृदयलाई छोराछोरीहरूतर्फ, र छोराछोरीहरूका हृदयलाई तिनीहरूका बुबाहरूतर्फ फर्काउनेछन्, अनि म आएर देशलाई आक्रमण गरी पूर्ण रूपमा नाश गर्नेछैनँ ।”