नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
२ कोरिन्थी
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र
1

1 पावल, परमेश्‍वरको इच्छा अनुसार येशू ख्रीष्‍टका प्रेरित, र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्‍वरको मण्डली र अखैया प्रान्तमा रहेका सम्पूर्ण विश्‍वासीहरूलाई । 2 हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहेको होस् । 3 हाम्रा पिता परमेश्‍वर येशू ख्रीष्‍टलाई प्रशंसा भएको होस् । उहाँ दयाका पिता र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ । 4 परमेश्‍वरले हाम्रा सारा दुःख कष्‍टमा हामीलाई सान्त्वना दिनुहुन्छ । त्यसैले, हामी पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सक्छौँ । परमेश्‍वरले हामीलाई सान्त्वना दिनको निम्ति प्रयोग गर्नुभएको सान्त्वनाद्वारा नै हामी अरूलाई सान्त्वना दिन्छौँ । 5 जसरी हाम्रो निम्ति ख्रीष्‍टको कष्‍ट प्रशस्त छ, त्यसरी नै ख्रीष्‍टद्वारा हाम्रो सान्त्वना प्रशस्त हुन्छ । 6 तर यदि हामीले दुःख भोग्यौँ भने यो तिमीहरूका सान्त्वना र उद्धारको निम्ति हो । र यदि हामीले सान्त्वना पायौँ भने यो तिमीहरूको सान्त्वनाको निम्ति हो । तिमीहरू हाम्रो दुःखमा धैर्यसाथ सहभागी हुँदा तिमीहरूको सान्त्वनाले प्रभावकारी रूपले काम गरिरहेको हुन्छ । 7 तिमीहरूको निम्ति हाम्रो आशा दृढ छ । तिमीहरू दुःखमा सहभागी हुँदा सान्त्वनामा पनि सहभागी हुन्छौ भन्‍ने हामीलाई थाहा छ । 8 भाइहरू हो, हामीले एसियामा भोगेका दुःखको बारेमा तिमीहरू अजान रहो भन्‍ने हामी चाहन्‍नौँ । हामीले सहन नसक्‍ने किसिमले हामी मिचिएका थियौँ, यति साह्रो कि हामीले बाँच्ने आशा नै मारेका थियौँ । 9 वास्तवमा, हामीमाथि मृत्युदण्ड थियो । तर त्यो हामी आफैँमा होइन, मृतकहरूलाई जीवन दिनुहुने परमेश्‍वरमाथि भरोसा गर्न सकौँ भनेर भएको थियो । 10 उहाँले हामीलाई त्यस्तो घातक जोखिमबाट बचाउनुभयो र फेरि पनि उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ भन्‍ने हामीले उहाँमा आशा राखेका छौँ । 11 उहाँले यसो गर्नुहुनेछ जसरी तिमीहरूले पनि हामीलाई आफ्ना प्रार्थनाद्वारा मदत गर्छौ । त्यसपछि धेरैको प्रार्थनाद्वारा हामीलाई दिइएको अनुग्रही कृपाको लागि धेरैले हाम्रो तर्फबाट धन्यवाद दिनेछन् । 12 हाम्रो अन्तस्करणको गवाहीमा हामी गर्व गर्छौं । किनकि यो परमेश्‍वरबाट आउने शुद्ध प्रेरणा र इमानदारीमा छ जसअनुसार हामी यो संसारमा चलेका छौँ । विशेष गरी, हामीले यो तिमीहरूसँग अझ बढी गरेका छौँ, सांसारिक ज्ञानमा होइन, तर परमेश्‍वरको अनुग्रहमा । 13 हामी तिमीहरूले पढ्न र बुझ्न नसक्‍ने गरी केही पनि लेख्दैनौँ । म आशा गर्छु, कि तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ । 14 जसरी अहिले तिमीहरूले हामीलाई केही मात्रमा बुझ्यौ । येशू ख्रीष्‍टको दिनमा हामी तिमीहरूका निम्ति गर्व गर्ने कारण बन्‍नेछौँ, जसरी तिमीहरू हाम्रा कारण बन्‍नेछौ । 15 यो कुरामा म निर्धक्‍क भएको कारण, तिमीहरूले दुईवटा भेटको लाभ उठाउन सक भनेर म तिमीहरूकहाँ अगाडि नै आउन चाहन्थेँ । 16 माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्ने मैले योजना बनाउँदै थिएँ । माकेडोनियाको यात्रापछि म फेरि तिमीहरूलाई भेट्न चाहन्थेँ, र तिमीहरूले मलाई यहूदियाको बाटो हुँदै पठाएको चाहन्थेँ । 17 जब मैले यस तरिकाले सोच्दै थिएँ, तब के म हिच्किचाएँ र ? के मैले मानवीय मापनअनुसार योजनाहरू बनाएँ कि मैले एकै समयमा “हो” र “होइन” भनेँ र ? 18 तर जसरी परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, हामी एकैसाथ “हो” र “होइन” भन्दैनौँ । 19 किनकि परमेश्‍वरका पुत्र येशू ख्रीष्‍ट जसलाई सिलास, तिमोथी र मैले तिमीहरूमाझ घोषणा गर्‍यौँ, जो चाहिँ “हो” र “होइन” हुनुहुन्‍न । बरु, उहाँ सदा “हो” हुनुहुन्छ । 20 किनकि परमेश्‍वरका सबै प्रतिज्ञा उहाँमा “हो” नै हुन्छन् । यसैले, उहाँद्वारा नै हामीले परमेश्‍वरको महिमालाई “आमेन” भनेका छौँ । 21 अब परमेश्‍वर जसले हामीलाई तिमीहरूसँग ख्रीष्‍टमा दरिला पार्नुहुन्छ, उहाँले हामीलाई नियुक्ति गर्नुभयो । 22 उहाँले आफ्नो छाप हामीमा लगाउनुभयो र हामीलाई पछि दिने कुराको बैनाको रूपमा हाम्रो हृदयमा पवित्र आत्मा दिनुभयो । 23 बरु, मैले परमेश्‍वरलाई मेरो गवाहीको लागि पुकारेँ । त्यसैले, तिमीहरूलाई बचाउन सकूँ भनेर म कोरिन्थमा आइनँ । 24 तिमीहरूको विश्‍वास कस्तो हुनुपर्छ भनेर हामीले नियन्‍त्रण गर्ने प्रयास गरेको कारण यसो भएको होइन । बरु, हामी तिमीहरूको आनन्दको निम्ति तिमीहरूसँग काम गरिरहेका छौँ जसरी तिमीहरू आफ्नो विश्‍वासमा अटल रहन्छौ ।

2

1 तिमीहरूको दुःखपूर्ण अवस्थामा म फेरि तिमीहरूकहाँ नआउने निर्णय मैले गरेँ । 2 यदि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने, मैले जसलाई दुःखित तुल्याएँ उसले बाहेक अरू कसले मलाई खुसी तुल्याउन सक्छ र ? 3 मैले जे लेखेँ, त्यो यसकारण लेखेँ कि म तिमीहरूकहाँ आउँदा जुन व्यक्‍तिहरूद्वारा मैले आनन्द पाउनुपर्ने थियो तिनीहरूद्वारा म दुःखित नहोऊँ । मेरो आनन्द तिमीहरू सबैमा भएको जस्तै छ भन्‍ने कुरामा म निश्‍चित छु । 4 किनकि मैले ठुलो कष्‍ट, हृदयको पीडा र धेरै आँशुका साथमा तिमीहरूलाई लेखेँ । म तिमीहरूलाई कष्‍ट दिन चाहन्‍न थिएँ । बरु, तिमीहरूप्रति भएको मेरो प्रेमको गहिराइ तिमीहरूले थाहा पाओ भन्‍ने म चाहन्थेँ । 5 यदि कसैले दुःख दिएको छ भने, त्यसले मलाई मात्र छैन, तर केही हदसम्म (यसलाई कडा गरी नभन्‍ने हो भने) तिमीहरू सबैलाई पनि दुःखित तुल्याएको छ । 6 त्यो व्यक्‍तिलाई बहुमतद्वारा दिइएको सजाय पर्याप्‍त छ । 7 त्यसैले, अब सजायको साटो उसलाई क्षमा र सान्त्वना देओ । उसले धेरै दुःखबाट हरेस नखाओस् भनेर यसो गर । 8 उसको निम्ति गरेको तिमीहरूको प्रेम सार्वजनिक रूपमा प्रकट गर । 9 तिमीहरूलाई जाँच गर्न सकूँ र तिमीहरू सबै कुरामा आज्ञाकारी छौ कि छैनौ भनी मैले बुझ्‍न सकूँ भनेर मैले तिमीहरूलाई लेखेँ । 10 यदि तिमीहरूले कसैलाई क्षमा दियौ भने, म पनि त्यस व्यक्‍तिलाई क्षमा दिनेछु । यदि मैले केही क्षमा दिएको छु भने, यो येशूको उपस्थितिमा तिमीहरूका निम्ति हो । 11 यसैले, शैतानले हामीलाई छक्याउने छैन । किनकि हामी त्यसका योजनाहरूको विषयमा अजान छैनौँ । 12 जब म ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआस सहर आएँ, त्यहाँ मेरो लागि प्रभुले ढोका खोलिदिनुभएको थियो । 13 तापनि, मलाई मनमा शान्ति मिलेन, किनकि मैले मेरा भाइ तीतसलाई त्यहाँ भेटिनँ । त्यसैले, उनीहरूलाई छोडेर म माकेडोनिया फर्कें । 14 तर परमेश्‍वरलाई धेरै धन्यवाद होस्, जसले हामीलाई सधैँ विजयमा अगुवाइ गर्नुहुन्छ । हामीद्वारा उहाँले सबैतिर ज्ञानको मिठो सुबास्‍ना छर्नुहुन्छ । 15 किनकि हामी परमेश्‍वरको निम्ति उद्धार पाएकाहरू र नष्‍ट भइरहेकाहरूका निम्ति ख्रीष्‍टका सुबास्‍ना हौँ । 16 नष्‍ट भइरहेका मानिसहरूका लागि यो मृत्युदेखि मृत्युसम्मको सुबास्‍ना हो । अनि बचाइएकाहरूको लागि हामी जीवनदेखि जीवनसम्मको सुबास्‍ना हो । यी कुराहरूका लागि को योग्यको छ ? 17 हामी नाफाको लागि परमेश्‍वरको वचन बेच्‍ने धेरै मानिसहरूजस्ता होइनौँ । बरु, हामी ख्रीष्‍टमा शुद्ध अभिप्रायले परमेश्‍वरको दृष्‍टिमा उहाँले पठाउनुभएको जस्तै गरी बोल्दछौँ ।

3

1 के हामी फेरि आफ्नो प्रशंसा आफैँ गर्न लागिरहेका छौँ ? केही मानिसहरूलाई जस्तै हामीलाई पनि तिमीहरू समक्ष वा तिमीहरूबाट सिफारिस पत्रको जरुरी छैन, छ र ? 2 तिमीहरू नै हाम्रो लागि हृदयमा लेखिएको सिफारिस पत्र हौ जसलाई सबै मानिसले पढेका र जानेका छन् । 3 र तिमीहरू हामीद्वारा वितरण गरिएका ख्रीष्‍टका पत्र हौ भन्‍ने तिमीहरूले नै देखाउँछौ । यो मसीले होइन, तर जीवित परमेश्‍वरको आत्माबाट लेखिएको थियो । यो ढुङ्गाको पाटीमा लेखिएको थिएन, तर मानिसहरूका हृदयका पाटीमा लेखिएको थियो । 4 र यो ख्रीष्‍ट येशूद्वारा परमेश्‍वरमा भएको हाम्रो आत्मविश्‍वास हो । 5 कुनै पनि कुरा हामीबाट आइरहेको छ भनेर दाबी गर्न हामी आफैँ योग्य छैनौँ । बरु, हाम्रो योग्यता परमेश्‍वरबाट आएको हो । 6 परमेश्‍वरले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनुभएको छ । यो करार अक्षरबाट होइन, तर आत्माबाट हो । किनकि अक्षरले मार्दछ, तर आत्माले जीवन दिन्छ । 7 अब ढुङ्गामा कुँदिएको मृत्यु ल्याउने अक्षर यस्तो महिमासँग इस्राएलीहरूको बिचमा आयो कि इस्राएलीहरूले मोशाको अनुहार सिधै हेर्न सकेनन् । यो उनको अनुहारको महिमाको कारणले गर्दा हो, जुन महिमा मन्द हुँदै थियो । 8 पवित्र आत्माको काम झन् कति धेरै महिमित होला ? 9 यदि निन्दापूर्ण सेवाको महिमा थियो भने धार्मिकताको सेवा अझ कति धेरै महिमित हुन्छ ! 10 किनकि वास्तवमा जुन एक समय महिमित पारिएको थियो, यसलाई माथ गर्ने अर्को महिमाको कारण अहिले त्यो महिमित छैन । 11 यदि बितेर जानेको कुराको महिमा थियो भने सधैँको लागि रहने कुराको झन् कति धेरै महिमा हुनेछ ! 12 हामीसँग यस्तो आशा भएको कारण हामी साहसी छौँ । 13 हराउँदै गरेको महिमाको अन्त्य इस्राएलीहरूले सिधै देख्‍न नसकून् भनेर हामी आफ्नो अनुहारमा घुम्टो लगाउने मोशाजस्ता छैनौँ । 14 तर तिनीहरूका मन कठोर पारिएका थिए । पुरानो करार पढ्दा आजको दिनसम्म पनि त्यो घुम्टो रहिरहन्छ । त्यो खोलिएको छैन, किनकि ख्रीष्‍टमा मात्र यो खोलिन्छ । 15 तर आज पनि जब मोशाको बारेमा पढिन्छ, तिनीहरूको हृदयमा घुम्टो रहन्छ । 16 तर जब कोही व्यक्‍ति परमप्रभुमा फर्किन्छ, तब घुम्टो हटाइन्छ । 17 परमप्रभु आत्मा हुनुहुन्छ । जहाँ परमप्रभुको आत्मा छ, त्यहाँ स्वतन्‍त्रता हुन्छ । 18 अब हामी सबै घुम्टो हटाइएको अनुहारले परमप्रभुको महिमालाई हेर्छौं । हामी एक महिमादेखि अर्को महिमामा उक्लँदै त्यही महिमामा बद्‌लिँदै छौँ । यो परमप्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ ।

4

1 त्यसकारण, हामीसँग यो सेवा-कार्य भएको र हामीले यो दया पाएको कारणले गर्दा हामी निराश हुँदैनौँ । 2 बरु, हामीले गोप्य र लाजमर्दा मार्गहरू त्यागेका छौँ । हामी धूर्ततामा जिउँदैनौँ र हामी परमेश्‍वरको वचनलाई गलत तरिकाले चलाउँदैनौँ । सत्यता प्रस्तुत गर्दै परमेश्‍वरको नजरमा प्रत्येकको विवेकप्रति हामी आफैँलाई सिफारिस गर्दछौँ । 3 यदि हाम्रो सुसमाचार घुम्टोले ढाकिएको छ भने, त्यो विनाश भइरहेकाहरूका निम्ति मात्र ढाकिएको छ । 4 तिनीहरूको विषयमा भन्‍ने हो भने, यस संसारको देवले तिनीहरूको अविश्‍वासी मनहरू अन्धो तुल्याइदिएको छ । फलस्वरूप, तिनीहरू ख्रीष्‍टको महिमाको सुसमाचारको प्रकाश देख्‍न सक्दैनन्, जो परमेश्‍वरको स्वरूप हुनुहुन्छ । 5 किनकि हामी आफैँलाई होइन, तर ख्रीष्‍टको खातिर तिमीहरूका सेवकको रूपमा रहेर ख्रीष्‍ट येशूलाई घोषणा गर्छौं जो प्रभु हुनुहुन्छ । 6 किनकि परमेश्‍वरले भन्‍नुभयो, “अन्धकारबाट ज्योति चम्कनेछ ।” येशू ख्रीष्‍टको उपस्थितिमा परमेश्‍वरको महिमाको ज्ञानको ज्योति दिन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ । 7 यो अति नै महान् शक्‍ति हामीसँग होइन, तर परमेश्‍वरसँग छ भन्‍ने स्पष्‍ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ । 8 हामी सबैतिरबाट कष्‍टित भएका छौँ, तर निराश भएका छैनौँ । 9 हामी सताइएका छौँ, तर त्यागिएका छैनौँ । हामी हिर्काइएका छौँ, तर नाश पारिएका छैनौँ । 10 येशूको जीवन हाम्रा शरीरमा देखियोस् भनेर हामी हाम्रा शरीरमा सधैँ येशूको मृत्युलाई बोकिहिँड्छौँ । 11 हाम्रा मानवीय शरीरहरूमा येशूको जीवन देखा परोस् भनेर जीवित भएका हामीहरू येशूको खातिर सधैँ मृत्युमा सुम्पिइँदै छौँ । 12 यही कारणले, हामीमा मृत्युले काम गर्दछ, तर जीवनले तिमीहरूमा । 13 “मैले विश्‍वास गरेँ, यसैले मैले बोलेँ ।” भनेर लेखिएजस्तै हामीसँग विश्‍वासको उस्तै आत्मा छ । 14 हामीलाई थाहा छ, कि जसले प्रभु येशूलाई पुनः जीवित पार्नुभयो, उहाँले हामीलाई पनि उहाँसँगै पुनः जीवित पार्नुहुनेछ । हामीलाई थाहा छ, कि उहाँले हामीलाई तिमीहरूसँगै उहाँको उपस्थितिमा ल्याउनुहुनेछ । 15 हरेक कुरा तिमीहरूको निम्ति हो ताकि जसरी धेरै मानिसहरूमा अनुग्रह फैलिएको छ, त्यसरी नै परमेश्‍वरको महिमाको लागि धन्यवाद दिने काम पनि वृद्धि होस् । 16 त्यसकारण हामी निराश हुँदैनौँ । हामी बाहिरी रूपमा विनाश हुँदै गए तापनि, भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौँ । 17 किनकि यो क्षणिक छ, हलुका कष्‍टले हामीलाई सबै नापलाई माथ गर्ने वजनदार अनन्त महिमाको लागि तयार पारिरहेको छ । 18 किनकि हामीले देखिने कुराहरूको होइन, तर नदेखिने कुराहरूको प्रतीक्षा गरिरहेका छौँ । देखिने कुराहरू क्षणिक हुन्छन् र नदेखिने कुराहरू अनन्तसम्म रहन्छन् ।

5

1 हामी जान्दछौँ, कि हामीले बास गरेको यो यो पार्थिव शरीर नष्‍ट भयो भने पनि हामीसँग परमेश्‍वरले दिनुभएको भवन छ । यो मानिसको हातले बनाएको घर होइन, तर स्वर्गमा रहेको अनन्तसम्म रहने घर हो । 2 किनकि हाम्रो स्वर्गीय बासस्थानको पोशाक पहिरिने आशामा हामी यो पालमा पीडाले आर्तनाद गर्छौं । 3 हामी यसको इच्छा गर्छौं किनकि यसलाई पहिरिएपछि हामी नाङ्गा हुनेछैनौँ । 4 किनकि जबसम्म हामी यस पालमा छौँ, बोझले भरिएर हामी आर्तनाद गर्छौं । हामी निर्वस्‍त्र हुन चाहँदैनौँ । तर जे मरणशील छ , त्यो जीवनमा समावेश होस् भनेर हामी वस्‍त्र पहिरन चाहन्छौँ । 5 हामीलाई यसको निम्ति तयार गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ, जसले हाम्रो निम्ति पछि आउने कुराको बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ । 6 त्यसैले, सधैँ विश्‍वस्त रहो । यो जानी राख कि जब हामी हाम्रो शारीरिक घरमा रहन्छौँ, हामी परमेश्‍वरबाट टाढा रहन्छौँ । 7 हामी विश्‍वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन । 8 त्यसैले, हामी विश्‍वस्‍त छौँ । हामी शरीरबाट टाढा रहेर प्रभुसँग हुन रुचाउँछौँ । 9 त्यसैले, घरमा वा त्यसबाट टाढा जहाँ रहे पनि हाम्रो उद्देश्य उहाँलाई प्रसन्‍न पार्नु हो । 10 किनकि हामी सबै ख्रीष्‍टको न्याय आसनको अगाडि खडा हुनुपर्छ, ताकि हरेकले शरीरमा हुँदा गरेको असल वा खराब कार्यको निम्ति प्रतिफल पाओस् । 11 त्यसकारण, परमेश्‍वरको भय जानेर नै हामी मानिसहरूलाई मनाउँछौँ । हामी को हौँ भन्‍ने कुरा परमेश्‍वरलाई थाहा छ । म आशा गर्छु कि तिमीहरूको विवेकमा यो कुरा स्पष्‍ट छ । 12 हामीलाई तिमीहरूले इमानदार ठान भनेर हामीले तिमीहरूलाई मनाउन खोजिरहेका छैनौँ । बरु, हामी तिमीहरूलाई हामीमाथि गर्व गर्ने कारण दिँदै छौँ ताकि हृदयका भन्दा बाहिरी रूपको धाक लगाउनेहरूलाई जवाफ दिन सक । 13 किनकि यदि हाम्रो मन ठिक छैन भने पनि त्यो परमेश्‍वरको लागि हो । तर यदि हाम्रो मन ठिक छ भने त्यो तिमीहरूको खातिर हो । 14 किनकि ख्रीष्‍टको प्रेमले हामीलाई बाध्य पार्छ र हामीलाई यो निश्‍चय छ कि सबैको निम्ति एक जना मर्नुभएको हुनाले सबै मरेका छन् । 15 अनि ख्रीष्‍ट हामी सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू आफ्नो लागि नबाँचून् । बरु, तिनीहरू उहाँको निम्ति जिउनुपर्छ, जो मर्नुभयो र फेरि जीवित पारिनुभयो । 16 त्यसैले, हामीले एक चोटि ख्रीष्‍टलाई त्यसै गरेका भए तापनि अब उसो हामी कसैलाई मानिसको दृष्‍टिकोणअनुसार मूल्याङ्कन गर्दैनौँ । अब हामी कसैलाई कदापि त्यसरी हेर्दैनौँ । 17 किनभने कोही ख्रीष्‍टमा छ भने ऊ नयाँ सृष्‍टि हो । पुराना कुरा बितेर गएका छन् । हेर, ती नयाँ भएका छन् । 18 यी सबै कुरा परमेश्‍वरबाट भएका हुन् । उहाँले हामीलाई ख्रीष्‍टद्वारा उहाँसँगै मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभएको छ । 19 अर्थात् तिनीहरूका पापका लेखा नलिएर परमेश्‍वरले ख्रीष्‍टद्वारा संसारलाई आफूसित मिलापमा ल्याउँदै हुनुहुन्छ । उहाँले मिलापको सन्देशको जिम्मा हामीलाई सुम्पनुहुँदै छ । 20 त्यसैले, परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभए झैँ गरेर हामी ख्रीष्‍टका दूतको रूपमा नियुक्त गरिएका छौँ । “परमेश्‍वरमा मिलापमा आओ !” भनेर हामी तिमीहरूसित ख्रीष्‍टको खातिर अनुरोध गर्छौं । 21 उहाँले ख्रीष्‍टलाई हाम्रा पापको निम्ति बलि बन्‍न लगाउनुभयो । उहाँले कहिल्यै पाप गर्नुभएन । हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौँ भनेर उहाँले यसो गर्नुभयो ।

6

1 र यसकारण, उहाँको अनुग्रहमा सँगसँगै काम गर्दै हामी तिमीहरूलाई अनुरोध गर्दछौँ कि उहाँको अनुग्रहलाई व्यर्थमा नलेओ । 2 उहाँ यसरी भन्‍नुहुन्छ, “मैले उपयुक्त समयमा तिम्रो वास्ता गरेँ, र मुक्‍तिको दिनमा मैले तिम्रो सहायता गरेँ ।” हेर, यो मुक्‍तिको दिन यो । 3 हामी कसैको अगाडि ठेस लाग्‍ने कुराहरू राख्दैनौँ, कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्‍नौँ । 4 बरु, हामी आफैँलाई परमेश्‍वरका सेवकहरू हौँ भनी हाम्रो कामबाट प्रमाणित गर्छौं । हामी धैर्य धारणमा, कष्‍टमा, विपत्तिमा, कठिनाइमा, 5 पिटाइमा, कैदी अवस्थामा, हुलदङ्गामा, कडा परिश्रममा, अनिदा रातमा, भोकमा 6 शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्मामा, असल प्रेममा उहाँका सेवकहरू हौँ । 7 हामीहरू परमेश्‍वरको शक्‍तिमा, वचनको सत्यतामा सेवकहरू हौँ । हामीसँग हाम्रो दायाँ र बायाँ हातमा धार्मिकताको हतियार छन् । 8 हामी मान र अपमान, निन्दा र प्रशंसामा काम गर्दछौँ । हामीलाई ठगाहा छौँ भन्‍ने आरोप लगाइन्छ, तथापि हामी साँचा छौँ । 9 हामी नचिनिएका व्यक्‍तिहरूले झैँ गर्छौं तापनि हामी चिनिएका छौँ । हामी मरे जस्तो काम गर्छौं, तर हामी अझै जीवितै छौँ । हामीहरू हाम्रा कार्यहरूको निम्ति दण्डित भए जस्तै गरी काम गर्छौं, तर मृत्युदण्ड पाए जस्तै गरी होइन । 10 हामी अफसोसी भएर काम गर्छौं, तर सधैँ आनन्दमा रमाइरहेका छौँ । हामी गरिब भएर काम गर्छौं, तर धेरैलाई धनी बनाउँछौँ । हामी केही नभए जस्तो गरी काम गर्छौं, तापनि सबै थोकहरू पाएका छौँ । 11 हे कोरिन्थका विश्‍वासीहरू हो, हामीले तिमीहरूलाई सबै साँचा कुराहरू बताएका छौँ र हाम्रा हृदयहरू खुला छन् । 12 तिमीहरूका हृदय हामीबाट नियन्‍त्रित छैनन्, तर तिमीहरूका आफ्नै भावनाद्वारा नियन्‍त्रित छन् । 13 अब यसको सट्टामा, म बालकहरूसँग झैँ बोल्दछु, कि आफ्नो हृदयलाई खुला राख । 14 अविश्‍वासीहरूसँगै ननारिओ । किनकि धार्मिकताको व्यवस्थाविहीनहरूसित के सहभागिता ? अनि ज्योतिको अन्धकारसित के सङ्गति ? 15 ख्रीष्‍टको झुटा बोल्नेहरूसित के सम्झौता ? अर्थात्, विश्‍वासीहरूको अविश्‍वासीहरूसँग के सहभागिता ? 16 र परमेश्‍वरको मन्दिर र मूर्तिहरूबिच के सम्झौता ? त्यसकारण, हामीहरू जीवित परमेश्‍वरका मन्दिर हौँ, जसरी उहाँले भन्‍नुभएको छः “म तिनीहरूका बिचमा हिँड्नेछु र बास गर्नेछु । म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।” 17 त्यसकारण, ‘तिनीहरूका माझबाट बाहिर निस्केर आओ र आफूलाई अलग गर,’ परमप्रभु भन्‍नुहुन्छ । अशुद्ध चिजहरूलाई नछोओ र म तिमीहरूलाई अपनाउनेछु । 18 म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ,” सर्वशक्‍तिमान् परमेश्‍वर भन्‍नुहुन्छ ।

7

1 प्रियहरू, हामीसँग यी प्रतिज्ञाहरू भएका कारण हाम्रो शरीर र आत्मामा हामीलाई अशुद्ध पार्ने कुराहरूबाट आँफैलाई शुद्ध पारौँ । परमेश्‍वरको भयमा पवित्रतालाई पछ्याऔँ । 2 हाम्रा निम्ति ठाउँ बनाओ ! हामीले कसैको खराबी गरेका छैनौँ । हामीले कसैलाई हानि पुर्‍याएका छैनौँ, न त कसैको फाइदा नै लिएका छौँ । 3 मैले तिमीहरूलाई दोषी ठहर्‍याउन यो भनेको होइनँ । किनकि मैले अघि नै भनिसकेको छु कि तिमीहरू हाम्रा हृदयमा छौ, सँगै मर्न र बाँच्नको निम्ति । 4 तिमीहरूमाथि मेरो ठुलो भरोसा छ र म तिमीहरूमा गर्व गर्छु । म सान्त्वनाले भरिएको छु । हाम्रा सबै कष्‍टमा पनि म आनन्दले भरिएको छु । 5 हामी माकेडोनिया आउँदा हाम्रो शरीरले आराम पाएन । बरु, बाहिरका सङ्घर्षहरू र भित्रका भयहरूबाट हामी हरतरहले सताइएका थियौँ । 6 तर निरुत्साहितहरू लाई सान्त्वना दिनुहुने परमेश्‍वरले तीतसको आगमनबाट हामीलाई सान्त्वना दिनुभयो । 7 तिनको आगमनले मात्र हामीलाई परमेश्‍वरले सान्त्वना दिनुभएन । तर तीतसले तिमीहरूबाट प्राप्‍त गरेको सान्त्वनाबाट पनि हो । तिनले तिमीहरूको महान् प्रेम, दुःख र मेरो निम्ति तिमीहरूको गहिरो चिन्ताको बारेमा बताए । यसकारण, म अझ धेरै आनन्दित भएँ । 8 मेरो पत्रले तिमीहरूलाई दुःखित तुल्याएको भए तापनि म यसको लागि पछुताउँदिनँ । मेरो पत्रले तिमीहरूलाई दुःखित बनाएको मैले देख्दा म पछुताएँ । तर तिमीहरू केही समयको लागि मात्र दुःखित भयौ । 9 तिमीहरू सताइएको कारणले होइन, तर तिमीहरूको दुःखले तिमीहरूलाई पश्‍चात्तापसम्म डोर्‍याएको कारणले अब म खुसी छु । तिमीहरूले ईश्‍वरीय शोकको महसुस गर्‍यौ । हाम्रो कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौ । 10 किनकि ईश्‍वरीय शोकले पश्‍चात्ताप ल्याउँछ जसले पछुतोविना नै मुक्‍तिको काम पुरा गर्छ । तर सांसारिक शोकले मृत्यु ल्याउँछ । 11 हेर, यस ईश्‍वरीय शोकले तिमीहरूमा कति ठुलो सङ्कल्प उत्पन्‍न गरायो । आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठुलो सङ्कल्प थियो । तिमीहरूका क्रोध, डर, तृष्‍णा, जोस र न्याय भएको हेर्ने तिमीहरूको इच्छा कति ठुलो ! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैँलाई निर्दोष प्रमाणित गरेका छौ । 12 मैले तिमीहरूलाई लेखे तापनि त्यो खराबीग र्ने वा खराबी भोग्‍नेको खातिर मैले लेखिनँ । हामीप्रति भएको तिमीहरूको गम्भीरता परमेश्‍वरको सामु थाहा पाउन सकूँ भनेर मैले लेखेँ । 13 यही कारणले हामी उत्साहित हुन्छौँ । हाम्रा सान्त्वनासाथै हामी तीतसको आनन्दमा अझै रमायौँ किनकि तिमीहरूद्वारा तिनको प्राणलाई स्फूर्ति मिलेको छ । 14 किनकि तिनीसँग तिमीहरूको बारेमा गर्व गर्दा म शर्माइनँ । यसको विपरीत, जसरी तिमीहरूलाई हामीले भनेका सबै कुरा साँचा थिए, त्यसरी नै तिमीहरूको बारेमा हामीले तीतससँग गरेको गर्व पनि सत्य ठहरियो । 15 तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले तिनलाई डर र कम्पसाथ गरेको स्वागत सम्झेर तिमीहरूप्रति तिनको स्‍नेह अझ बढ्छ । 16 म रमाउँछु, किनकि तिमीहरूमाथि मेरो पूर्ण भरोसा छ ।

8

1 भाइहरू हो, माकेडोनियाका मण्डलीहरूलाई परमेश्‍वरले दिनुभएको अनुग्रहको बारेमा तिमीहरूले थाहा पाएको हामी चाहन्छौँ । 2 कष्‍टको भयङ्कर परीक्षाको समयमा पनि तिनीहरूको प्रशस्तताको शान्ति र घोर दरिद्रताले तिनीहरूमा उदारताको ठुलो धन उत्पन्‍न गरायो । 3 म साक्षी छु, कि तिनीहरूले जति सके दिए, र दिन सक्‍नेभन्दा पनि बढ्ता र आफ्नो स्वेच्छाले दिए । 4 तिनीहरूले विश्‍वासीहरूका बिचको सेवामा सहभागिताको अवसरको लागि हामीहरूसँग धेरै बिन्‍ती गरे । 5 यो हामीले आशा गरेबमोजिम भएन । बरु, तिनीहरूले पहिले आफैँलाई प्रभुमा सुम्पिदिए । त्यसपछि परमेश्‍वरको इच्छाअनुसार आफैँलाई हामीकहाँ सुम्पिदिए । 6 त्यसपछि तीतसले यो काम अघिबाटै सुरु गरेको हुनाले उदारताको यो काम तिमीहरूका माझमा पनि पुरा गरुन् भनेर हामीले तिनलाई अनुरोध गर्‍यौँ । 7 तर तिमीहरू सबै कुरामा बढेर गएका छौ, अर्थात् विश्‍वासमा, बोलीवचनमा, ज्ञानमा, सबै लगावमा र हामी प्रतिको प्रेममा । त्यसकारण, उदारको यो काममा पनि तिनीहरू बढेर जाने कुरामा ख्याल राख । 8 म यसलाई आज्ञाको रूपमा भन्दिनँ । बरु, अरू मानिसहरूको तत्परतासँग तिमीहरूको इमानदारी तुलना गरेर जाँच्नको निम्ति म यो भन्छु । 9 किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूलाई थाहा छ । उहाँ धनी हुनुभए तापनि तिमीहरूका खातिर गरिब हुनुभयो, ताकि उहाँको गरिबीबाट तिमीहरू धनी बन्‍न सक । 10 यस कुरामा म तिमीहरूलाई सल्लाह दिन्छु जसले तिमीहरूलाई सहयोग मिल्नेछ । एक वर्षअघि तिमीहरूले केही कुरा सुरु मात्र गरेनौ, तर त्यो गर्ने चाहना पनि गर्‍यौ । 11 अब यसलाई पुरा गर । जसरी त्यस बेला तिमीहरूमा केही गर्ने इच्छा र चाहना थियो, तिमीहरूले त्यसलाई पुरा गर्न पनि जति सक्दो प्रयास गर । 12 किनकि यदि तिमीहरू यो काम गर्न इच्छुक छौ भने, यो असल र ग्रहणयोग्य कुरा हो । यो कुनै व्यक्‍तिसँग भएको कुरामा त्यसमा भर पर्नुपर्छ, उसँग नभएको कुरामा होइन । 13 किनकि यो काम तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर होइन । बरु, निष्पक्षता हुनुपर्छ । 14 तिमीहरूमा अहिले भएको प्रशस्तताले तिनीहरूको आवश्यकता पुरा गर्नेछ । यो यसकारणले पनि हो कि तिनीहरूका प्रशस्तताबाट तिमीहरूका आवश्यकताहरू पुरा हुन सकोस् र समानता कायम होस् । 15 यसरी लेखिएको छः “धेरै हुनेसँग केही बाँकी रहेन, र थोरै हुनेसँग कुनै अभाव भएन ।” 16 तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले तीतसको हृदयमा पनि मेरो जस्तै साँचो फिक्रीको मन हालिदिनुभयो । 17 किनकि तिनले हाम्रो अनुरोधलाई ग्रहण मात्र गरेनन्, तर उनी यसप्रति धेरै उत्साहित पनि भए । तिनी आफ्नै स्वतन्त्र इच्छाले तिमीहरूकहाँ आए । 18 सुसमाचार प्रचार गर्ने काममा सबैका माझमा प्रख्यात भएका एक भाइलाई पनि हामीले तिनको साथमा पठाएका छौँ । 19 त्यति मात्र होइन, तिनी हाम्रो यो उदारताको काममा हामीसँगै यात्रा गर्नको निम्ति मण्डलीहरूद्वारा छानिएका थिए । यो परमेश्‍वरको आफ्नै आदर र सहयोग गर्ने हाम्रो उत्कट इच्छाको निम्ति हो । 20 हामीले गरिरहेको यो उदारताको कामको विषयमा कसैले गर्ने उजुरीको सम्भावनालाई हामी पन्छाइरहेका छौँ । 21 हामी परमप्रभुको अगाडि मात्र होइन, तर मानिसहरूका अघि पनि आदरणीय भएको कुरा गर्ने कुरामा ख्याल राख्छौँ । 22 हामी अर्को भाइलाई पनि तिनीहरूसँग पठाउँदै छौँ । हामीले तिनको धेरै पल्ट जाँच गर्‍यौँ र हामीले तिनलाई धेरै काममा जोसिलो भएको भेट्टायौँ । तिमीहरूप्रति भएको भरोसाको कारण तिनी अहिले झन् मेहनती भएका छन् । 23 तीतसको सन्दर्भमा भन्‍नुपर्दा, तिमीहरूको निम्ति तिनी मेरा साझेदार र सहकर्मी हुन् । भाइहरूचाहिँ मण्डलीहरूबाट पठाइएका हुन् । तिनीहरू ख्रीष्‍टका महिमा हुन् । 24 त्यसैले, तिनीहरूलाई तिमीहरूको प्रेम देखाओ, र तिमीहरूका विषयमा गरिएको हाम्रो गर्वको कारण मण्डलीहरूलाई देखाओ ।

9

1 विश्‍वासीहरूको सेवा-कार्यको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ । 2 तिमीहरूमा भएको चाहना मलाई थाहा छ, जसको बारेमा माकेडोनियामा भएका मानिसहरूलाई मैले गर्वका साथ बताएँ । गएको वर्षदेखि अखैयामा तयार हुँदै आइरहेको छ भनेर मैले तिनीहरूलाई भनेँ । 3 तिमीहरूका निम्ति हामीले गरेको गर्व व्यर्थ नहोस्, र तिमीहरू पनि मैले भने जस्तै गरी तयार होओ भनेर मैले भाइहरूलाई तिमीहरूकहाँ पठाएको छु । 4 नत्रता, यदि माकेडोनियाका कोही मसँगै आउँदा तिमीहरू तयार नभएको पाए भने, हामी शर्ममा पर्नेछौँ । तिमीहरूमाथि धेरै भरोसा भएको हुनाले तिमीहरूको बारेमा म केही पनि भन्दिनँ । 5 त्यसैले, भाइहरूलाई तिमीहरूकहाँ पठाउनलाई आवश्‍यक ठानेर बिन्ती गरेको छु ताकि तिमीहरूले प्रतिज्ञा गरेको उपहारहरू अगाडि नै प्रबन्ध गर्न सक । यो भेटी करकापले होइन, तर आशिष्‌को रूपमा तयारी हुन सकोस् भनेर यसो गरिएको हो । 6 यसको अर्थ होः थोरैसँग छर्नेले थोरै बटुल्छ; आशिष्‌‌ पाउने उद्देश्यले छर्नेले आशिष्‌कै‌ कटनी गर्छ । 7 हरेकले आफ्नो हृदयमा सङ्कल्प गरेअनुसार देओस् । दुःखित भएर र करकापमा परेर कसैले पनि नदेओस् । खुसीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ । 8 र परमेश्‍वरले हरेक आशिष्‌लाई तिमीहरूको निम्ति वृद्धि गर्न सक्‍नुहुन्छ, ताकि तिमीहरूलाई चाहिने सबै कुरा तिमीहरूले सधैँ प्राप्‍त गर्न सक । तिमीहरूका असल कामहरू वृद्धि हुन् भनेर यसो हुनेछ । 9 यस्तो लेखिएको छः “उहाँले आफ्नो सम्‍पत्ति बाँडेर गरिबहरूलाई दिनुभएको छ । उहाँको धार्मिकता सधैँभरि रहन्छ ।” 10 छर्नेलाई बिउ र खानाको निम्ति रोटी उपलब्ध गराउनुहुनेले तिमीहरूको बिउ उपलब्ध गराएर वृद्धि पनि गराउनुहुनेछ । उहाँले तिमीहरूको धार्मिकताको फसल प्रशस्ततासँग वृद्धि गराउनुहुनेछ । 11 तिमीहरूले उदारसँग दिन सक भनेर तिमीहरू हर किसिमले धनी तुल्याइनेछौ । यसले हामीद्वारा परमेश्‍वरप्रति चढाउने धन्यवाद उत्पन्‍न गराउनेछ । 12 किनकि सेवाको काम गर्दा विश्‍वासीहरूको खाँचो मात्र पुरा हुँदैन । यसले परमेश्‍वरलाई धन्यवाद दिने काममा वृद्धि गराउँछ । 13 सेवाको कामले तिमीहरू जाँचिदा र प्रमाणित हुँदा येशू ख्रीष्‍टको सुसमाचारलाई स्वीकार गर्ने आज्ञाकारिताको कारण तिमीहरूले परमेश्‍वरलाई पनि महिमित तुल्याउनेछौ । तिमीहरूले तिनीहरूलाई र सबैलाई उदारसँग दिएको भेटीका कारण पनि परमेश्‍वरलाई महिमित तुल्याउनेछौ । 14 तिनीहरूले तिमीहरूको चाहना गरेका छन् र तिमीहरूको निम्ति प्रार्थना गरिरहेका छन् । परमेश्‍वरको महान् अनुग्रहको कारण तिनीहरू यसो गर्छन्, जुन अनुग्रह तिमीहरूमा पनि छ । 15 व्यक्त गर्न नसकिने वरदानको लागि परमेश्‍वरलाई महिमा भएको होस् ।

10

1 म पावल आफैँ तिमीहरूलाई येशू ख्रीष्‍टको नम्रता र विनम्रतामा आग्रह गर्दछु । म तिमीहरूको उपस्थितिमा हुँदा नम्र हुन्छु, तर जब म टाढा हुन्छु, तब म तिमीहरूप्रति साहसी हुन्छु । 2 म तिमीहरूसँग बिन्‍ती गर्दछु, कि तिमीहरूसँग म उपस्थित हुँदा, मलाई आत्म-विश्‍वासका साथ साहसी हुन आवश्यक पर्नेछैन । तर मेरो विचारमा हामी शरीरअनुसार बाँचिरहेका छौँ भनी ठान्‍नेहरूको विरोध गर्दा म साहसी हुन आवश्यक पर्नेछ । 3 हामी शरीरमा हिँडे तापनि हामी शरीरअनुसार युद्ध लड्दैनौँ । 4 हामीले लडाइँ लड्ने हतियार शारीरिक होइन, बरु तिनीहरूसँग किल्लाहरू नष्‍ट गर्न सक्‍ने ईश्‍वरीय शक्‍ति छ । तिनीहरूले बहकाउने विवादहरूलाई बेकारको तुल्याउँछन् । 5 हामी पनि परमेश्‍वरको ज्ञानको विरुद्धमा खडा हरेक उच्‍च कुरालाई नष्‍ट गर्दछौँ । हामी हरेक विचारलाई ख्रीष्‍टको आज्ञाकारितामा कैद गर्छौं । 6 तिमीहरूको आज्ञाकारिता पुरा हुनासाथ हामी हरेक अनाज्ञाकारिताका कामहरूलाई दण्ड दिन तयार हुँदै छौँ । 7 जे कुरा तिमीहरूको अगाडि स्पष्‍ट छ, त्यसलाई हेर । यदि कसैले ऊ ख्रीष्‍टको हो भन्‍ने कुरामा विश्‍वस्त छ भने, ऊ ख्रीष्‍टको भए जस्तैहामी पनि ख्रीष्‍टका हौँ भन्‍ने कुरा आफैँलाई याद दिलाओस् । 8 किनकि जसले तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न हामीलाई प्रभुले दिनुभएको हाम्रो अधिकारको बारेमा मैले केही ज्यादा नै घमण्ड गरेँ भने पनि म लज्‍जित हुनेछैन । 9 मेरा पत्रहरूद्वारा म तिमीहरूलाई भयभीत तुल्याउँदै छु भन्‍ने देखाउन चाहन्‍नँ । 10 तर केही मानिसहरू भन्छन्, “त्यसका पत्रहरू गम्भीर र शक्‍तिशाली छन्, तर त्यो शारीरिक रूपमा कमजोर छ । त्यसका वचनहरू सुन्‍न योग्यका छैनन् ।” 11 त्यस्ता मानिसहरू यो कुरामा सचेत रहून्, कि हाम्रो अनुपस्थितिमा हाम्रा पत्रहरूका वचनमा हामी जस्ता छौँ हामी त्यहाँ हुँदा पनि हाम्रा कामद्वारा हामी त्यस्तै हुनेछौँ । 12 हामी आफ्नो प्रशंसा आफैँ गर्ने मानिसहरूको समूहमा रहन वा तिनीहरूसँग आफैँलाई तुलना गर्ने हदसम्म हामी जाँदैनौँ । तर जब तिनीहरूले आफैँलाई एक अर्कासँग नापेर हेर्छन्, र एक अर्कासँग तुलना गर्दछन्, तिनीहरूसँग अन्तर्दृष्‍टि हुँदैन । 13 तर हामी सीमाभन्दा बाहिर गएर घमण्ड गर्नेछैनौँ । बरु, परमेश्‍वरले नियुक्त गरिदिनुभएका सीमाहरूभित्र मात्र हामी त्यसो गर्दछौँ, जुन सीमा तिमीहरूसम्म पुग्दछ । 14 किनकि तिमीहरूकहाँ आउँदा हामीले आफैँलाई बढी ठानेनौँ । सुसमाचार लिएर तिमीहरूकहाँ पहिलो पटक आउने हामी नै थियौँ । 15 हामीले अरूको परिश्रमको बारेमा सीमाभन्दा बढी घमण्ड गरेका छैनौँ । बरु, हामी आशा गर्छौं, कि तिमीहरूको विश्‍वास बढ्दा हाम्रो कामको दायरा पनि बृहत् रूपमा फैलनेछ, तापनि यो उचित सीमाभित्र नै रहनेछ । 16 हामी यसको आशा गर्दछौँ, ताकि तिमीहरूभन्दा परका क्षेत्रहरूमा पनि हामी सुसामाचार प्रचार गर्न सकौँ । अरूको क्षेत्रमा भइरहेको कामको बारेमा हामी घमण्ड गर्दैनौँ । 17 “तर घमण्ड गर्नेले परमप्रभुमा घमण्ड गरोस् ।” 18 किनकि आफ्नो सिफारिस आफैँ गर्ने मानिसलाई स्वीकार गरिँदैन । बरु, परमप्रभुले सिफारिस गरेको मानिसलाई स्वीकार गरिन्छ ।

11

1 मेरा केही मूर्खताहरू तिमीहरूले सहिदिए हुन्थ्यो भन्‍ने मेरो इच्छा छ । तर वास्तवमा तिमीहरूले सहिरहेका पनि छौ ! 2 किनकि म तिमीहरूप्रति डाही भएको छु । तिमीहरूलाई एउटै पतिसँग विवाह गरिदिने प्रतिज्ञा गरिदिएपछि म ईश्‍वरीय डाहले डाही भएको छु । मैले तिमीहरूलाई एक शुद्ध कन्याको रूपमा ख्रीष्‍टमा प्रस्तुत गर्ने प्रतिज्ञा गरेँ । 3 तर सर्पले हव्वालाई आफ्नो धूर्तताद्वारा झुक्याए जस्तै गरी ख्रीष्‍टप्रति भएको तिमीहरूको निष्कपट र शुद्ध आराधनाबाट तिमीहरूका विचार टाढा लगिन्छ कि भनेर मलाई डर लागेको छ । 4 किनकि मानौँ, यदि कोही आएर हामीले प्रचार गरेको येशूभन्दा अर्को येशू छ भनेर प्रचार गर्छ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको आत्माभन्दा छुट्टै आत्मा प्राप्‍त गर्‍यौ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको सुसमाचारभन्दा फरक सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ भने तिमीहरूले यी कुराहरूलाई राम्ररी सहने गर्‍यौ ! 5 किनकि म विचार गर्दछु, कि ती सर्वोच्‍च प्रेरितहरू भनाउदाहरूभन्दा म कुनै पनि हिसाबले कम छैनँ । 6 तर भाषण गर्नमा तालिम प्राप्‍त नभए पनि, म ज्ञानमा अनभिज्ञ छैनँ । हामीले सबै कुरामा हर किसिमले तिमीहरूलाई यो कुरा थाहा दिएका छौँ । 7 के मैले तिमीहरूलाई उच्‍च पार्नको निम्ति आफैँलाई नम्र पारेर पाप गरेँ ? किनकि मैले तिमीहरूलाई सित्तैँमा सुसमाचार प्रचार गरेँ । 8 तिमीहरूलाई सेवा दिन सकूँ भनेर मैले अरू मण्डलीबाट सहयोग स्वीकार गरेर तिनीहरूलाई लुटेँ । 9 तिमीहरूको साथमा हुँदा म खाँचोमा थिएँ, म कसैको बोझ भइनँ । किनकि माकेडोनियबाट आएका भाइहरूबाट मेरा खाँचोहरू पुरा भए । सबै कुरामा मैले आफैँलाई तिमीहरूको बोझ बन्‍नबाट टाढा राखेँ, र म यो कुरालाई निरन्तरता दिनेछु । 10 ख्रीष्‍टको सत्यता मभित्र भएको हुनाले अखैयामा मेरो गर्व रोकिनेछैन । 11 किन ? किनकि म तिमीहरूलाई प्रेम गर्दिनँ र ? परमेश्‍वर जान्‍नुहुन्छ । 12 तर म जे गरिरहेको छु, त्यो म गर्नेछु । म यो गर्नेछु किनकि हाम्रो स्थानमा आएर स्थापित हुन खोज्दै जे कुरामा तिनीहरू घमण्ड गरिरहेका छन्, तिनीहरूको त्यो मौकालाई म बन्द गर्न चाहन्छु । 13 किनकि त्यस्ता मानिसहरू झुटा प्रेरितहरू र छली काम गर्नेहरू हुन् । तिनीहरूले ख्रीष्‍टको प्रेरितको भेस धारण गर्छन् । 14 र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतको भेस धारण गर्छ । 15 यदि त्यसका सेवकहरूले पनि धार्मिकताको सेवकको रूपमा भेस धारण गरे भने, यो अचम्मको कुरा होइन । तिनीहरूको अन्त्य तिनीहरूको कामअनुसार नै हुनेछ । 16 म फेरि भन्दछुः मलाई कसैले मूर्ख नसम्झोस् । तर यदि तिमीहरूले सम्झन्छौ भने पनि मलाई मूर्खकै रूपमा ग्रहण गर, ताकि म अलिकति भए पनि घमण्ड गर्न सकूँ । 17 मैले भनेको यो घमण्डको निश्‍चयतालाई परमप्रभुले स्वीकार गर्नुभएको छैन, तर म मूर्खझैँ बोल्दै छु । 18 धेरै मानिस शरीरअनुसार घमण्ड गर्दछन्, म पनि घमण्ड गर्नेछु । 19 किनकि तिमीहरू खुसीसाथ मूर्खहरूको सहन गर्छौं । तिमीहरू आफैँ बुद्धिमानी छौ ! 20 किनकि तिमीहरू त्यसलाई सहन्छौ जसले तिमीहरूलाई दास बनाउँछ; बर्बाद गर्छ; तिमीहरूबाट फाइदा उठाउँछ; आफूलाई तिमीहरूभन्दा असल ठान्छ र तिमीहरूलाई थप्पड पनि लाउँछ । 21 म हाम्रै शर्ममा यो भन्दछु, कि हामीहरू ती सब गर्न नसक्‍ने गरी दुर्बल थियौ । तर यदि कसैले घमण्ड गर्छ भने, म एक मूर्खजस्तो बोल्दै छु, म पनि घमण्ड गर्नेछु । 22 के तिनीहरू हिब्रूहरू हुन् ? म पनि हुँ । के तिनीहरू इस्राएली हुन् ? म पनि इस्राएली हुँ । के तिनीहरू अब्राहामका सन्तान हुन् ? म पनि हुँ । 23 के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन् ? (म पागल भएको जस्तै गरी बोल्छु ।) म अझै बढ्ता हुँ । मैले अझ धेरै परिश्रम गरेको छु; अझ धेरै झ्यालखानामा बसेको छु; मापन गर्न नै नसकिने गरी कुटाइ खाएको छु; मृत्युका धेरै खतराहरूको सामना गरेको छु । 24 यहूदीहरूबाट मैले पाँच पल्ट “एक कम चालिस कोर्रा खाएको छु ।” 25 मलाई तिन पल्ट लौराले पिटियो । एक पल्ट मलाई ढुङ्गाले हानियो । तिन पल्ट म पानी जहाज दुर्घटनामा परेँ । मैले एक दिन र एक रात खुला समुद्रमा बिताएको छु । 26 नदीहरूका खतरामा, डाँकुहरूका खतरामा, मेरा आफ्नै मानिसहरूका खतरामा, अन्यजातिहरूका खतरामा, सहर भित्रका खतरामा, उजाड-स्थानहरूका खतरामा, समुद्रका खतरामा, झुटा भाइहरूका खतरामा मैले बारम्बार यात्राहरू गरेको छु । 27 धेरै अनिदोका रातहरूमा, भोक र तिर्खामा, प्राय उपवासमा, नाङ्गोपन र जाडोमा म कडा परिश्रम र कठिनाइमा परेको छु । 28 यी कुराहरूबाहेक सबै मण्डलीको फिक्रीको बोझ पनि ममाथि छ । 29 को कमजोर छ, र म कमजोर छैनँ ? कसले ठक्‍कर खाएको छ र मचाहिँ थकित हुन्‍नँ ? 30 यदि मैले घमण्ड गर्नैपर्छ भने, मेरा कमजोरीहरू देखाउने कुरामा घमण्ड गर्छु । 31 प्रभु येशूका पिता र सदासर्वदा प्रशंसा गरिनुहुने परमेश्‍वरलाई थाहा छ कि मैले ढाँटेको छैन ! 32 दमस्कसका राजा अरितसको मातहतमा रहेका हाकिमले मलाई गिरफ्तार गर्नको निम्ति सहरलाई पहरा दिइरहेका थिए । 33 तर मलाई पर्खालको झ्यालबाट टोकरीमा हालेर तल झारियो र म तिनको हातबाट उम्केँ ।

12

1 मैले गर्व गर्नैपर्छ, तर यसबाट केही लाभ हुँदैन । तर प्रभुको दर्शन र प्रकाशहरूमा म लागिरहन्छु । 2 म ख्रीष्‍टमा एक जना मानिसलाई चिन्छु जो चौध वर्ष अगाडि तेस्रो स्वर्गसम्म उचाली लगियो, शरीरमा वा शरीरविनै मलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ । 3 र मलाई थाहा छ, त्यो मानिस शरीरमा वा शरीरविनै हो, मलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ । 4 कि ऊ स्वर्गमा उचालि लगियो र उसले कसैले उच्‍चारण नै गर्न नसक्‍ने अति पवित्र कुराहरू सुन्यो । 5 त्यस मानिसको तर्फबाट म गर्व गर्छु । तर म आफ्नै दुर्वलताबाहेक अरू कुरामा गर्व गर्नेछैन । 6 यदि मैले गर्व नै गर्न चाहेको भए तापनि म मूर्ख बन्‍नेछैन किनकि मैले सत्य बोलिरहेको छु । तर कसैले पनि मबाट देखेको वा सुनेका कुरा भन्दा बढि मलाई नसोचोस् भनेर म गर्व गर्नदेखि थामिन्छु । 7 आश्‍चर्यजनक प्रकाशहरूको कारण म गर्व गर्नदेखि थामिन्छु । त्यसकारण, म घमण्डले नफूलूँ भनेर एउटा काँढो मेरो शरीरमा दिइएको छ । म धेरै घमण्डी नहूँ भनेर शैतान तर्फको दूत मलाई दुःख दिनको निम्ति दिइएको छ । 8 मबाट यो काँढो निकालिदिनुभएको होस् भनेर मैले प्रभुसित तिन पटक बिन्‍ती गरेँ । 9 अनि उहाँले मलाई भन्‍नुभयो, “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनकि दुर्बलतामा नै शक्‍ति सिद्ध हुन्छ ।” यसैले, ख्रीष्‍टको शक्‍ति ममा बास गरोस् भनेर म मेरो दुर्बलतामा गर्व गर्नेछु । 10 त्यसकारण, म ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, निन्दाहरूमा, समस्याहरूमा, सतावटहरूमा, कष्‍टपूर्ण अवस्थाहरूमा खुसी रहन्छु । 11 म मूर्ख भएको छु ! तिमीहरूले मलाई यसो गर्न कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्ने थियो । किनकि म केही नभए तापनि ती सर्वोच्‍च प्रेरितहरूभन्दा तुच्छ छैनँ । 12 सारा धैर्य, चिह्नहरू र शक्‍तिशाली कामहरूद्वारा साँचा प्रेरितहरूका लक्षणहरू तिमीहरूका माझमा प्रदर्शन गरिएका थिए । 13 म तिमीहरूको बोझ नभएको कुरा बाहेक कसरी तिमीहरू अरू मण्डलीहरूभन्दा कम महत्त्वका भयौ र ?” यो गल्तीको निम्ति मलाई क्षमा देओ । 14 हेर ! म तिमीहरूकहाँ तेस्रो पटक आउन इच्छुक छु । तिमीहरूका निम्ति म बोझ बन्‍न चाहन्‍नँ, किनकि म तिमीहरूसँग भएका कुराहरू चाहन्‍नँ । म तिमीहरूलाई चाहन्छु । किनकि छोराछोरीहरूले आमा बाबुको निम्ति बचत गर्दैनन् । बरु, आमा बाबुले छोराछोरीको निम्ति बचत गर्नुपर्छ । 15 म तिमीहरूका प्राणको निम्ति ज्यादै खुसीसाथ खर्च गर्नेछु र स्वयम् आफैँ पनि खर्चनेछु । यदि म तिमीहरूलाई बढी प्रेम गर्छु भने के मैलेचाहिँ कम माया पाउने र ? 16 यसो भए तापनि म तिमीहरूमाथि बोझ बनिनँ । तर म धूर्त भएको कारण मैले नै छलद्वारा तिमीहरूलाई फसाएँ । 17 के मैले पठाएका कोहीमार्फत मैले तिमीहरूको फाइदा उठाएँ र ? 18 मैले बिन्‍ती गरेर तीतससँग केही भाइहरूलाई तिमीहरूकहाँ पठाएँ । के तीतसले तिमीहरूबाट केही फाइदा लिए र ? के हामी पनि यसरी नै चलेनौँ र ? के हामीले पनि यसरी नै पाइला चालेनौँ र ? 19 के यतिञ्‍जेल हामी तिमीहरूका सामु हामी आफ्नो सफाइ दिइरहेका थियौँ भन्‍ने तिमीहरू सोच्छौ ? परमेश्‍वरको दृष्‍टिमा हामी तिमीहरूलाई बलियो बनाउनको निम्ति सबै कुरा ख्रीष्‍टमा बोलिरहेका छौँ । 20 किनकि म तिमीहरूकहाँ आउँदा तिमीहरूलाई मैले चाहेजस्तै पाउँदिनँ कि भनेर म डराउँछु । मलाई तिमीहरूले चाहेजस्तै नपाऔला भनेर म डराउँछु । त्यहाँ वादविवाद, ईर्ष्या, रिसहरू पोख्‍ने काम, व्यक्‍तिगत स्वार्थ, कुरा काट्ने, घमण्ड र गडबडी होला भनेर म डराउँछु । 21 म तिमीहरूकहाँ फेरि फर्केर आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूका सामु विनम्र पार्नुहोला भनेर मलाई डर लाग्छ । त्यस्ता धेरै मानिसहरू जसले अपवित्रता र यौन अनैतिकता अनि कामवासनाको चाहनाबाट पश्‍चात्ताप गरेका छैनन्, तिनीहरूको कारण मैले शोक पर्नुपर्ला कि भनेर मलाई डर लाग्छ ।

13

1 म तेस्रो पटक तिमीहरूकहाँ आउँदै छु । “हरेक आरोपलाई दुई वा तिन जना साक्षीद्वारा प्रमाणित गरिनुपर्छ ।” 2 म दोस्रो पटक त्यहाँ हुँदा नै पाप गर्नेहरू र बाँकीलाई भनिसकेको छु र फेरि पनि भन्दछुः म फेरि आउँदा तिनीहरूलाई छोड्नेछैन । 3 तिमीहरूलाई म यो भन्छु, किनकि तिमीहरू मद्वारा ख्रीष्‍ट बोल्नुभएको कुराको प्रमाण खोज्छौ । उहाँ तिमीहरूप्रति कमजोर हुनुहुन्‍न । तर उहाँ तिमीहरूमा शक्‍तिशाली हुनुहुन्छ । 4 किनकि उहाँ दुर्बलतामा क्रुसमा टाँगिनुभयो, तर परमेश्‍वरको शक्‍तिद्वारा जीवित हुनुभयो । किनकि हामी पनि उहाँमा दुर्बल छौँ, तर तिमीहरूका बिचमा हामी परमेश्‍वरको शक्‍तिद्वारा उहाँमा जिउँछौँ । 5 तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी आफैँले जाँच । आफैँलाई जाँच । येशू ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ भन्‍ने तिमीहरूले महसुस गरेका छैनौ ? उहाँ हुनुहुन्छ, नत्रता तिमीहरू स्वीकृत हुँदैनौ । 6 र म निश्‍चित छु, कि तिमीहरूले हामी अस्वीकृत नभएका पाउनेछौ । 7 तिमीहरूले केही खराबी गर्नेछैनौ भनी हामी परमेश्‍वरसँग प्रार्थना गर्दछौँ । हामी जाँचमा सफल भएका छौँ भन्‍ने देखाउनको निम्ति म प्रार्थना गर्दिनँ । बरु, हामी जाँचमा असफल भएको जस्तो देखिए तापनि तिमीहरूले जे असल छ त्यही गर्न सक भनेर हामी प्रार्थना गर्छौं । 8 किनकि हामी सत्यको विरुद्ध केही पनि गर्न सक्दैनौ, केवल सत्यको निम्ति मात्र गर्न सक्छौँ । 9 किनकि हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी रमाउँछौँ । तिमीहरू पूर्ण होओ भनी हामी प्रार्थना गर्छौं । 10 म टाढा हुँदा यी कुराहरू तिमीहरूलाई लेख्दै छु, ताकि म तिमीहरूमा रहँदा निर्दयतासाथ व्यवहार गर्नु नपरोस् । मैले प्रभुबाट पाएको अधिकार तिमीहरूको निर्माण गर्नको निम्ति प्रयोग गर्न सकूँ, भत्काउन होइन । 11 अन्तमा भाइ हो, आनन्द गर ! पुनर्निर्माणको निम्ति काम गर; उत्साहित होओ; एक अर्कासँग सहमत होओ; शान्तिमा बस । अनि प्रेम र शान्तिका परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ । 12 एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर । 13 सबै विश्‍वासीले तिमीहरूलाई अभिवादन पठाएका छन् । 14 प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम, अनि पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून् ।