नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
२ थेसलोनिकी
थेसलोनिकीहरूलाई पावलको दोस्रो पत्र
1

1 पावल, सिलास र तिमोथीबाट परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्डलीलाई, 2 परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति । 3 भाइहरू हो, हामीले तिमीहरूका लागि परमेश्‍वरलाई सधैँ धन्यवाद दिनुपर्छ । किनभने यो उचित छ, किनभने तिमीहरूको विश्‍वास धेरै बढिरहेको छ र तिमीहरूमध्ये हरेकको प्रेम एक अर्काप्रति प्रशस्त छ । 4 त्यसैले, हामीहरू तिमीहरूको धैर्य र विश्‍वासको बारेमा परमेश्‍वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने तिमीहरूका सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौँ । 5 यो परमेश्‍वरको धार्मिक न्यायको प्रष्‍ट चिन्ह हो, जसको कारणले तिमीहरू परमेश्‍वरको राज्यको योग्य ठहरिन्छौ, जुन राज्यको निम्ति तिमीहरू दुःख पनि भोग्दछौ । 6 तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्‍वरको धार्मिकता हो, 7 र येशू ख्रीष्‍ट स्वर्गबाट स्वर्गदूतहरूका शक्‍तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ । 8 जसले परमेश्‍वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ । 9 तिनीहरूले प्रभु र उहाँको शक्‍तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्‍नेछन्, 10 तिमीहरूले हाम्रो गवाहीमा विश्‍वास गर्‍यौ । त्यसै गरी विश्‍वास गर्ने सबैद्वारा अचम्मित पार्नलाई र सबै सन्तहरूद्वारा महिमित हुनलाई उहाँ त्यो दिनमा आउनुहुन्छ । 11 यसको निम्ति हामी निरन्तर तिमीहरूका लागि प्रार्थना गर्दछौँ, कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई तिमीहरूको बोलावटको योग्य ठानून्, र भलाइको निम्ति तिमीहरूको प्रत्येक चाहना र विश्‍वासको हरेक काम शक्‍तिद्वारा पुरा गरून् । 12 हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहको कारणले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाम तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होओ ।

2

1 अब भाइहरू हो, हाम्रा प्रभु येशूको आगमन र हाम्रो उहाँसँग एकसाथ भेट गर्ने सम्बन्धमा हामी अनुरोध गर्दछौँ, 2 कि प्रभुको दिन आइसकेको छ भनी तिमीहरूको मन सजिलै नधर्मराओस्, न त विचलित होस्, न आत्माद्वारा, न वचन न त हाम्रो पत्रद्वारा । प्रभुको आगमन पहिल्यै भइसकेको छ भनेर 3 तिमीहरूलाई कसैले कुनै प्रकारले छल्न नपाओस् । किनकि पतित, पापमय विनाशको छोरो, अधर्मी मानिस प्रकट नहोऊन्जेलसम्म यो हुन आउनेछैन । 4 यो त्यो हो जसले आफैलाई उचाल्दछ र परमेश्‍वरको विरोध गर्दछ र आफैलाई परमेश्‍वरको रूपमा प्रस्तुत गरेर महिमित हुन चाहन्छ र उहाँको मन्दिरमा बस्छ । 5 म तिमीहरूसँग हुँदा मैले तिमीहरूलाई ज भनेँ के तिमीहरू त्यो सम्झदैनौ ? 6 अब तिमीहरू जान्दछौ कि कुनै कुराले उसलाई रोक्दछ, ताकि ऊ ठिक समयमा मात्र प्रकट हुनेछ । 7 किनभने, पापको रहस्यले पहिले देखि नै काम गरिरहेको छ जबसम्म जसले उसलाई थामिराख्‍नुभएको छ उहाँले उसका मार्गबाट हटाउनुहुन्‍न । 8 त्यसपछि पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले मार्नुहुनेछ र उहाँका आगमनले उसको अन्त हुनेछ । 9 शैतानका सबै शक्‍तिशाली काम, चिन्हहरू र झुटा आश्‍चर्यकर्महरूको कारण पापको मानिसको आगमन हुनेछ । 10 त्यो अधार्मिकताका सबै छलका साथ आउनेछ । यी कुराहरू नाश हुनेहरूका निम्ति हुनेछन् जसले बचाइनको लागि परमेश्‍वरको प्रेमको सत्यतालाई ग्रहण गरेनन् । 11 यसकारण, तिनीहरूले झुटो विश्‍वास गरून् भनी परमेश्‍वरले भ्रमको काम पठाई रहनुभएको छ, 12 ताकि अधार्मिकतामा रमाउने तर सत्यतालाई विश्‍वास नगर्ने सबैको न्याय होस् । 13 प्रभुका प्रिय भाइहरू हो, हामीले प्रभुलाई तिमीहरूका लागि धन्यवाद दिनुपर्छ किनभने परमेश्‍वरले आत्माको शुद्धतामा र सत्यताको विश्‍वासमा उद्धारको पहिलो फलझैँ तिमीहरूलाई चुन्‍नुभयो, 14 हाम्रा सुसमाचारद्वारा प्रभु येशूको महिमा प्राप्‍त गर्न सक भनी उहाँले तिमीहरूलाई यसतर्फ बोलाउनुभयो । 15 यसैले अब भाइहरू हो, स्थिर रहो, वचन या हाम्रा पत्रद्वारा तिमीहरूलाई सिकाएका परम्पराहरूलाई पक्रिराख । 16 अब हामीलाई प्रेम गर्नुहुने अनुग्रहद्वारा अनन्तको सान्त्वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैले तथा परमेश्‍वर हाम्रा पिताले, 17 हरेक असल काम र वचनमा तिमीहरूका हृदयलाई सान्त्वना र स्थिर गराऊन् ।

3

1 अब भाइहरू हो, हाम्रो निम्ति प्रार्थना गर, ताकि हाम्रा प्रभुको वचन द्रुत गतिमा फैलियोस् र महिमित होस्, जसरी तिमीहरूका माझमा पनि भएको थियो । 2 र हामी दुष्‍ट र ईश्‍वरहीन मानिसहरूबाट छुटकारा हुन सकौँ, किनकि सबैसँग विश्‍वास छैन । 3 तर हाम्रा प्रभु विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई स्थापना गर्नुहुन्छ र दुष्‍टताबाट सुरक्षा प्रदान गर्नुहुन्छ । 4 हामी तिमीहरूप्रति प्रभुमा विश्‍वस्त छौँ कि तिमीहरू दुवैले हामीले आज्ञा गरेका कामहरू गर्नेछौ र निरन्तरता दिइरहनेछौ । 5 प्रभुले तिमीहरूका हृदयलाई परमेश्‍वरको प्रेम, ख्रीष्‍टको सहनशीलतातर्फ अगुवाइ गर्नुभएको होस् । 6 अब हाम्रा प्रभु येशूको नाउँमा भाइहरूलाई आज्ञा गर्दछौँ कि, तिमीहरूले अल्छे भाइहरूलाई अलग गर जसले हामीले सिकाएको परम्परालाई कार्यान्वयन गर्दैनन् जुन कुराहरू तिमीहरूले हामीबाट ग्रहण गरेका छौ । 7 तिमीहरू आफैलाई थाहा छ, कि कसरी तिमीहरूले हाम्रो अनुकरण गरेका छौ जसरी हामीले तिमीहरूका बिचमा अल्छीपना देखाएनौँ, 8 न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ, तर त्यसको सट्टामा हामी कसैको भार बनेनौँ भनेर हामीले मेहनत गर्‍यौँ, रातदिन काम गर्‍यौँ । 9 यसको अर्थ हामीसँग अधिकार छैन भनेको होइन, तर हामी तिमीहरूको निम्ति उदाहरण भयौँ ताकि तिमीले हाम्रो अनुकरण गर्न सक । 10 हामी तिमीहरूसँग हुँदा आज्ञा गरेका थियौँ, “यदि कसैले काम गर्न चाहँदैन भने, उसले खाना पनि नखाओस्” । 11 किनकि हामीले सुन्यौँ कोही-कोही अल्छी भएर काम नगरीकन तिमीहरूको माझमा हिँड्दछन्, तिनीहरू काम गर्दैनन् तर अर्काको काममा हात लगाउनेहरू भएका छन् । 12 यस्ताहरूलाई हामी ख्रीष्‍ट येशूमा उत्साह र आज्ञा दिँदछौँ, ताकि तिनीहरू शान्तसँग काम गरून् र आफ्नै मेहनतद्वारा जीविकोपार्जन गरून् । 13 तर तिमी भाइहरू हो, हृदयलाई जे असल छ त्यो गर्नबाट वञ्‍चित नगर, 14 यदि कसैले यो पत्रमा लेखिएको आज्ञालाई पालना गर्दैन भने, उसको विषयमा ख्याल गर र उसलाई सहभागी नगराओ ताकि ऊ शर्ममा परोस् । 15 उसलाई शत्रुलाई झैँ व्यवहार नगर तर आफ्नो भाइ सम्झेर सुझाव देओ । 16 शान्तिका परमेश्‍वर आफैँले तिमीहरूलाई सदासर्वदाका लागि शान्ति प्रदान गरून् । 17 यो मेरो अभिवादन हो, म पावल आफ्नै हातले हरेक पत्रहरू लेखेको हो भन्‍ने चिन्ह हो । 18 हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरू सबैमा रहोस् ।