नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
२ तिमोथी
तिमोथीलाई पावलको दोस्रो पत्र
1

1 ख्रीष्‍ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित पावल, 2 मेरा प्रिय बालक तिमोथीलाईः पिता परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्‍टको अनुग्रह, कृपा र शान्ति । 3 मैले दिन-रात तिमीलाई निरन्तर मेरो प्रार्थनामा सम्झिरहँदा म परमेश्‍वरलाई धन्यवाद चढाँउदछु, जसको सेवा मेरा पुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु । 4 तिम्रो आँसुको सम्झना गर्दै म तिमीलाई भेट्न चाहन्छु, ताकि म आनन्दले भरिन सकूँ । 5 सुरुमा तिम्रा हजुरआमा लोइस र आमा युनिसमा भएको तिम्रो असल विश्‍वासको सम्झना गर्दै, त्यो विश्‍वास तिमीमा पनि छ भन्‍ने कुरामा म विश्‍वस्त छु । 6 यही कारणले गर्दा मैले तिमीमाथि हात राखेर तिमीले प्राप्‍त गरेको परमेश्‍वरको वरदानलाई फेरि प्रज्वलित पार । 7 परमेश्‍वरले हामीलाई डरको आत्मा होइन तर प्रेम, शक्‍ति र अनुशासनको आत्मा दिनुभएको छ । 8 तब हाम्रा प्रभुको बारेमा गवाही दिन नसर्माऊ, र मेरो बारेमा पनि । म पावल उहाँका एक कैदी हुँ, तर परमेश्‍वरको शक्‍तिद्वारा कष्‍टमा पनि सुसमाचार प्रचार गर, 9 जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो, हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार जुन हामीलाई ख्रीष्‍ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभएको थियो । 10 तर अहिले परमेश्‍वरको मुक्‍ति ख्रीष्‍ट येशूको आगमनले प्रकट गरिदिएको छ, जसले मृत्युलाई नाश पार्नुभयो, सुसमाचारद्वारा कहिल्यै अन्त नहुने जीवन ल्याउनुभयो । 11 त्यसैको निम्ति म प्रचारक, प्रेरित र शिक्षक हुन नियुक्‍त भएको छु । 12 यसको निम्ति म सतावटमा परेको छु, तरै पनि म शर्माऊँदिनँ । किनकि म उहाँलाई जान्दछु र विश्‍वास गर्दछु, साथै म विश्‍वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्‍नुहुनेछ । 13 ख्रीष्‍ट येशूको प्रेम र विश्‍वासमा मबाट सुनेको विश्‍वसनीय निर्देशनहरूको अनुसरण गर । 14 जुन-जुन असल कुराहरू परमेश्‍वरले तिमीलाई सुम्पनुभएको छ, त्यसलाई हामीभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख । 15 तिमीलाई यो थाहा छ, कि एसियामा हुनेहरू सबै मबाट तर्केर गएका छन्; यो समूहमा फुगेलस र हर्मोगेनस पर्छन् । 16 परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले मलाई उत्साह दिए, मेरा साङ्लाहरूको शर्म मानेनन् । 17 तर जब तिनी रोममा आए तिनले परिश्रमपूर्वक खोजेर मलाई भेट्टाए । 18 त्यस दिनमा परमप्रभुले तिनलाई कृपा प्रदान गर्नुभएको होस् र तिमीलाई राम्ररी थाहा छ, कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए ।

2

1 त्यसैकारण, मेरा बालक, येशू ख्रीष्‍टमा भएको अनुग्रहमा बलियो होऊ । 2 र धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ, अरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ । 3 येशू ख्रीष्‍टको असल सिपाहीझैँ मसँग कष्‍ट भोग । 4 सेनामा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि उसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् । 5 कोही खेलमा भाग लिन्छ भने, उसले नियमअनुसार नखेली मुकुट जित्‍न सक्दैन । 6 परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिले भाग प्राप्‍त गर्नुपर्छ । 7 मैले भनेका कुरामा विचार गर, किनकि परमेश्‍वरले तिमीलाई सबै कुरामा समझशक्‍ति दिनुहुनेछ । 8 मैले सुसमाचारको सन्देशमा भनेअनुसार दाऊदको वंशबाट आउनुभएका येशू ख्रीष्‍टको सम्झना गर । 9 जुन कुराको लागि मैले अपराधीझैँ बन्धनमा पर्ने अवस्थासम्म कष्‍ट भोगेँ । तर परमेश्‍वरको वचन बन्धनमा परेको छैन । 10 त्यसैकारण चुनिएकाहरूका लागि म सबै कुरा सहन्छु, ताकि तिनीहरूले अनन्तको महिमाका साथ येशू ख्रीष्‍टमा भएको मुक्‍ति प्राप्‍त गरून् । 11 यो भनाइ भरोसायोग्य छः “हामी उहाँसँगै मर्‍यौँ भने, हामी उहाँसँगै जीवित पनि हुनेछौँ । 12 हामीले सह्‍यौँ भने, हामीले उहाँसँगै राज्य गर्नेछौँ । हामीले उहाँलाई इन्कार गर्‍यौँ भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुन्छ । 13 हामी उहाँमा विश्‍वासयोग्य भएनौँ भने, उहाँ विश्‍वासयोग्य हुनुहुन्छ, किनकि उहाँले आफैलाई इन्कार गर्नुहुन्‍न । 14 तिनीहरूलाई यी कुराहरूको निरन्तर सम्झना दिलाऊ । शब्दहरूमा तर्क-वितर्क नगर भनी तिनीहरूलाई परमेश्‍वरको अगाडि चेतावनी देओ, किनभने तिनीहरूले केही फाइदा गर्दैनन् र यी कुराहरू सुन्‍नेहरूलाई नोक्सान मात्र पुग्‍छ । 15 सत्यको वचनलाई होसियारीसाथ प्रयोग गर्ने शर्माउन नपर्ने कामदारजस्तै परमेश्‍वरको उपस्थितिमा स्वीकारयोग्य हुन भरमग्दुर प्रयत्‍न गर । 16 भक्‍तिहीन कुरालाई त्याग, जसले तिमीहरूलाई अझ धेरै भक्‍तिहीनतातर्फ डोर्‍याउँछ । 17 तिनीहरूको वचन निको नहुने सइनको घाउजस्तै फैलिनेछ । तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन् । 18 ती मानिसहरू सत्यताबाट टाढा हराइरहेका छन् र तिनीहरूले येशूको पुनरुत्थान पहिले नै भइसकेको छ भनेर भन्दछन्, र तिनीहरूमध्‍ये कतिको विश्‍वासलाई खल्बल्याइरहेका छन् । 19 तथापि यस छाप सहितको परमेश्‍वरको दृढ जग स्थिर रहन्छ, “प्रभुले आफ्नाहरूलाई चिन्‍नुहुन्छ” र “जसले उहाँको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहोस्” । 20 सम्पन्‍न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुदैनन्, तर त्यहाँ माटा र काठका भाँडा पनि हुन्छन्, र कति आदर र कति अनादरको निम्ति प्रयोग हुन्छन् । 21 कसैले अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ भने, ऊ अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ । 22 जवानीको अभिलाषाबाट अलग बस, र शुद्ध हृदयले परमेश्‍वरलाई पुकार्नेहरूसँगै धार्मिकता, विश्‍वास, प्रेम, शान्तिको खोजी गर । 23 तर मूर्ख र अज्ञानी प्रश्‍नहरूले वादविवाद ल्याउँछन् भन्‍ने जानेर तिनबाट अलग बस । 24 परमेश्‍वरका सेवकहरूले झगडा गर्नुहुँदैन, तर तिनीहरू सबैका लागि दयालु, सिकाउन सक्‍ने र धैर्यवान् हुनुपर्दछ । 25 उहाँका विरोधीहरूलाई विनम्रतामा सुधार्ने हुनुपर्छ । सायद परमेश्‍वरले तिनीहरूलाई सत्यताको ज्ञानको लागि पश्‍चात्ताप दिनुहुनेछ । 26 अनि दुष्‍टले आफ्नो इच्छा पुरा गर्नको लागि पारेको पासोबाट उम्किएर तिनीहरूको चेतना फर्किनेछ ।

3

1 तर यो जान कि अन्तिम दिनहरूमा खतरापूर्ण समय आउनेछ । 2 किनकि मानिसहरू आफैलाई प्रेम गर्नेहरू, धनका प्रेमी, घमण्डी, हठी, अरूको निन्दा गर्ने, आमा बुबाले भनेको नमान्‍ने, कृतघ्‍न, अपवित्र, 3 स्वाभाविक प्रेमरहित, कठोर, निन्दा गर्नेहरू, आत्म-नियन्त्रण गर्न नसक्‍ने, विद्रोही, असल नरुचाउने, 4 ठगाहा, जिद्धिवाल, घमण्डी, परमेश्‍वरको प्रेमको साटो सुखविलास रुचाउने हुनेछन् । 5 तिनीहरू भक्‍तिमय देखिनेछन्, तर यसको शक्‍तिलाई भने इन्कार गर्नेछन् । यस्ता मानिसहरूबाट अलग बस । 6 यी मानिसहरूमध्ये केही मानिसहरू घर-घरमा पसेर मूर्खताले भरिएका विभिन्‍न पाप-स्वभावले थिचिएका र धेरै अभिलाषाले प्रभावित स्‍त्रीहरूलाई अधीनमा पार्छन । 7 यी स्‍त्रीहरू सधैँ नयाँ कुरा सिक्‍न प्रयास गरिरहेका हुन्छन्, तर कहिल्यै सत्यको ज्ञानमा आउन सक्दैनन् । 8 जसरी यान्‍नेस र याम्ब्रेस मोशाको विरुद्धमा खडा भए, त्यसरी नै यी झुटा शिक्षकहरू सत्यको विरुद्धमा खडा हुन्छन् । तिनीहरूको मन भ्रष्‍ट भएको छ, र तिनीहरूले विश्‍वासलाई इन्कार गरेका छन् । 9 यी मानिसहरू धेरै अगाडि जान सक्दैनन्, किनकि तिनीहरूको मूर्खता यी दुई मानिसको जस्तै सबै मानिसहरूलाई थाहा हुनेछ । 10 तर तिमीहरूले मेरो शिक्षा, आचरण, उद्देश्य, विश्‍वास, धैर्य धारण, प्रेम, सहनशक्‍ति, 11 सतावट, दुःखभोग अनि एन्टिओखिया, आइकोनियन र लुस्‍त्रामा ममाथि आइपरेका कुराको अनुकरण गर्‍यौ । मैले त्यस्ता सतावटहरू सहेँ र प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो । 12 ख्रीष्‍ट येशूको भक्‍तिमा जिउन चाहने मान्छे सधैँ सतावटमा पर्छ । 13 दुष्‍ट मानिस र ठगाहाहरू अझ खराब हुनेछन्, तिनीहरूले अरूलाई पथभ्रष्‍ट बनाउँछन्, र आफू पनि अरूद्वारा पथभ्रष्‍ट पारिन्छन् । 14 तर तिमीचाहिँ सिकेका र बलियोसँग विश्‍वास गरेको कुरामा लागि राख, यो जानेर कि ती कुराहरू तिमीले कसबाट सिकेका हौ । 15 तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्‍त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ । 16 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरबाट भएको हो र यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्‍याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ, 17 ताकि परमेश्‍वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकून् ।

4

1 परमेश्‍वर र येशू ख्रीष्‍टको सामने जसले जिउँदा र मरेकाहरूको न्याय गर्न लाग्‍नुभएको छ, र उहाँको प्रकटीकरण र राज्यलाई ध्यानमा राखेर म तिमीहरूलाई कडा आज्ञा दिन्छुः 2 वचन प्रचार गर, सजिलो र असजिलो दुवै अवस्थामा तयार बस । सबै प्रकारका धैर्य र शिक्षाद्वारा सुधार गर, हप्काऊ र अर्ती देऊ । 3 त्यस्तो समय आउनेछ जब मानिसहरूले असल शिक्षा सहने छैनन् । तर तिनीहरू आफ्नो अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूबाट घेरिनेछन् । यसरी तिनीहरूले आफूलाई मन परेको कुरा मात्र सुन्दछन् । 4 तिनीहरूले सत्यताबाट आफ्नो कान फर्काउनेछन् र दन्त्य कथातिर लगाउनेछन् । 5 तर तिमी सबै कुरामा सचेत होऊ; कष्‍ट भोग; प्रचारकको काम गर; आफ्नो सेवा पुरा गर । 6 म अगिबाट नै बलिको रूपमा अर्पित भइरहेको छु, मेरो बिदाइको समय आएको छ । 7 मैले राम्रो प्रतिस्पर्धामा भाग लिएको छु; मैले दौड सिध्याएको छु; मैले विश्‍वासलाई जोगाइराखको छु । 8 मेरो लागि धर्मिकताको मुकुट राखिएको छ, जुन त्यस दिनमा धार्मिक न्यायाधीश प्रभुले मलाई त्यो मुकुट दिनुहुनेछ, मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रिय ठान्‍ने सबैलाई । 9 जतिसक्दो छिटो मकहाँ आऊ । 10 किनकि डेमासले मलाई छोडिदिए । यस वर्तामान संसारलाई प्रेम गरेर तिनी थेसलोनिकेमा गएका छन् । क्रेसेन्स गलातियामा गएका छन् भने तीतसचाहिँ दलमातियामा । 11 लूका मात्र मसँग छन् । मर्कूसलाई तिमीसँगै लिएर मकहाँ आऊ, किनकि काममा तिनी मेरो लागि उपयोगी हुनेछन् । 12 तुखिकसलाई मैले एफिससमा पठाएको छु । 13 तिमी आउँदा मैले त्रोआसमा कार्पससित छाडेका कपडा र किताबहरू, विशेष गरी चर्मपत्रका मुट्ठाहरू लिएर आऊ । 14 तमौटे अलेक्जेन्डरले मप्रति खराब व्यवहार गरेको छ । प्रभुले त्यसलाई त्यसको कामअनुसारको इनाम दिनुहुनेछ । 15 तिमी पनि त्यससँग होसियार होऊ, किनकि त्यो हाम्रो वचनको विरुद्धमा जोडदारसँग खडा भयो । 16 मेरो पहिलो प्रतिरक्षामा कसैले मलाई साथ दिएन, तर सबैले मलाई छाडे । तिनीहरूको विरुद्धमा यसो नभएको होस् । 17 तर प्रभु मसँग उभिनुभयो र मलाई बल दिनुभयो, ताकि मद्वारा सुसमाचारको घोषणा पूर्ण रूपमा पुरा हुन सकोस् र सबै गैरयहूदीहरूले सुन्‍न पाऊन् । यसैले, मैले सिंहको मुखबाट छुटकारा पाएँ । 18 परमेश्‍वरले मलाई सबै दुष्‍ट कामबाट छुटकारा दिनुहुन्छ, र उहाँको स्वर्गीय राज्यको लागि बचाउनुहुनेछ । उहाँलाई सदासर्वदा महिमा होस् । आमेन 19 प्रिस्किला, अकिलास र ओनेसिफरसको घरानालाई अभिवादन सुनाइदेऊ । 20 इरास्तस कोरिन्थमा नै बसे, तर त्रोफिमसलाई मैले बिरामी अवस्थामा मिलेटसमा छोडेँ । 21 हिउँद लाग्‍नुभन्दा अगाडि नै मकहाँ आउने कोसिस गर । युबुलसले तिमीलाई अभिवादन पठाएका छन् र पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि । 22 प्रभु तिम्रो आत्मामा हुनुभएको होस् । तिमीसँग अनुग्रह रहोस् । आमेन ।