नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
हिब्रू
हिब्रूहरूका निम्ति पत्र
1

1 प्राचीन कालमा परमेश्‍वर विभिन्‍न समयमा विभिन्‍न प्रकारले हाम्रा पिता पुर्खाहरूसँग अगमवक्‍ताहरूद्वारा बोल्नुभयो । 2 तर यी अन्तिम दिनहरूमा उहाँ हामीहरूसँग पुत्रद्वारा बोल्‍नुभएको छ, जो सबै कुराका निम्ति उत्तराधिकारी नियुक्त गरिनुभएको छ । परमेश्‍वरले उहाँद्वारा नै सबै कुरा पनि बनाउनुभयो । 3 उहाँ नै परमेश्‍वरलको स्वभावको सार र महिमाको चमक हुनुहुन्छ । आफ्नो शक्‍तिको वचनद्वारा उहाँले सबै कुरा सँगै पक्रिराख्‍नुभएको छ । उहाँले पापको शुद्धेइँ गर्नुपछि उहाँ उच्‍च सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ । 4 उहाँ स्वर्गदूतहरूभन्दा महान् हुनुहुन्छ, किनभने जुन नाउँ उहाँले प्राप्‍त गर्नुभएको छ, त्यो तिनीहरूलाई दिइएको नाउँभन्दा उत्तम छ । 5 के परमेश्‍वरले स्वर्गदूतहरूमध्ये कसैलाई कहिल्यै यसो भन्‍नुभयो र ? “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु ?” र फेरि, “म उनका लागि पिता हुनेछु, र उनी मेरा लागि पुत्र हुनेछन् ?” 6 फेरि, जब परमेश्‍वरले पहिले जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ भन्‍नुहुन्छ, “परमेश्‍वरका सबै स्वर्गदूतले उहाँलाई आराधना गर्नैपर्छ ।” 7 स्वर्गदूतहरूका विषयमा उहाँ यसो भन्‍नुहुन्छ, “उहाँ जसले आफ्ना दासहरूलाई आगोको ज्वाला र उहाँका स्वर्गदूतहरूलाई आत्माहरू बनाउनुहुन्छ ।” 8 तर पुत्रको विषयमा उहाँ यसो भन्‍नुहुन्छ, “हे परमेश्‍वर, तपाईंको सिंहासन सधैँभरि रहिरहने छ । तपाईंको राजदण्ड नै तपाईंको राज्यको न्यायको राजदण्ड हुनेछ । 9 तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र अधर्मलाई घृणा गर्नुहुन्छ । त्यसकारण, हे परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई आनन्दको तेलले अभिषेक गर्नुभएको छ र सहयोगी बनाउनुभएको छ ।” 10 “हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् । 11 तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ । तिनीहरू लगाइने कपडाका टुक्राझैँ झुत्रा हुनेछन् । 12 तपाईंले तिनीहरूलाई लबेदाजस्तै बेर्नुहुनेछ, र तिनीहरू कपडाको टुक्राझैँ परिवर्तन हुनेछन् । तर तपाईं सधैँ उस्तै हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुँदैन ।” 13 तर कुनचाहिँ स्वर्गदूतलाई परमेश्‍वरले कहिल्‍यै यस्तो भन्‍नुभएको छ, “मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ ?” 14 के सबै स्वर्गदूतहरू मुक्‍ति पाउनेहरूको वास्ता र सेवा गर्न पठाइएका आत्माहरू होइनन् र ?

2

1 त्यसकारण, हामीले जे सुनेका छौँ त्यसमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ । त्यसैले, यसबाट बहकिएर हामी टाढा जानुहुँदैन । 2 यदि स्वर्गदूतहरूद्वारा बोलिएको सन्देशको मान्यता भयो भने, र हरेक आज्ञा उल्लघङ्न गर्ने र अनाज्ञाकारीहरूले ठिक सजाय पाउँछन् भने र 3 हामीले यति ठुलो मुक्‍तिको बेवास्‍ता गर्‍यौँ भने, तब हामी कसरी उम्कन सक्छौँ र ? यो मुक्‍ति जुन पहिलो पल्ट प्रभुद्वारा नै घोषणा गरिएको थियो र जसले यो सुने हाम्रा निम्ति त्यो पक्‍का गरियो । 4 त्यही समयमा परमेश्‍वरले यसलाई चिह्नहरू, अचम्मका काम र विभिन्‍न शक्‍तिशाली कामहरूबाट अनि उहाँको आफ्नै इच्छाअनुसार पवित्र आत्माका वरदानहरूको वितरणद्वारा प्रमाणित गरिदिनुभयो । 5 हामीले कुरा गरिराखेको आउँदो संसारलाई परमेश्‍वरले स्वर्गदूतहरूको अधीनमा राख्‍नुभएन । 6 त्यसको सट्टामा, कसैले कुनै ठाउँमा यसरी गवाही दिएको छ, “मानिस के हो, तपाईं त्यसको ख्याल गर्नुहुन्छ ? वा मानिसको छोरो के हो जसका निम्ति तपाईं वास्ता गर्नुहुन्छ ? 7 तपाईंले मानिसलाई स्वर्गदूतभन्दा अलि कम बनाउनुभएको छ; तपाईंले उसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ । (नोटः केही पुरानो संस्करणले थप्छ) र तपाईंले उसलाई तपाईंका हातका कामहरूमाथि राख्‍नुभएको छ । 8 तपाईंले हरेक कुरा उहाँको अधीनमा राख्‍नुभएको छ ।” किनभने परमेश्‍वरले सबै कुरा मानव-जातिको अधीनतामा राख्‍नुभएको थियो । उहाँले कुनै पनि थोक मानिसबाट बाहिर रहन दिनुभएन । तर आज हामी कुनै पनि चिज मानिसको अधीनमा रहेको देख्दैनौँ । 9 तर, उहाँलाई केही समयको निम्ति स्वर्गदूतभन्दा कम बनाइएको हामीले देखेका छौँ । उहाँ येशू हुनुहुन्छ । किनभने उहाँका दुःख र मृत्युको कारणले येशू ख्रीष्‍टलाई महिमा र आदरको मुकुट पहिराइएको छ । त्यसकारण, अहिले परमेश्‍वरको अनुग्रहबाट येशू ख्रीष्‍टले हरेक मानिसका निम्ति मृत्यु चाख्‍नुभयो । 10 यो परमेश्‍वरका निम्ति उपयुक्त थियो, किनभने हरेक थोक उहाँका निम्ति र उहाँद्वारा अस्तित्वमा आएको छ । धेरै छोराहरू महिमामा ल्याइँदा उहाँको दुःखद्वारा तिनीहरूको मुक्‍तिलाई पुरा गर्न उहाँ एक अगुवा बनाइनुभयो । 11 किनकि समर्पण गर्ने र समर्पण गरिएकाहरू दुवै एउटै स्रोतबाट आउँछन् । त्यसैकारण, उहाँ तिनीहरूलाई भाइहरू भनी बोलाउन शर्माउनुहुन्‍न । 12 उहाँ भन्‍नुहुन्छ, “म तपाईंको नाउँ मेरा दाजुभाइहरूलाई घोषणा गर्नेछु; म सभाको बिचबाट तपाईंको गीत गाउनेछु ।” 13 र फेरि, “म उहाँमा भरोसा गर्नेछु ।” र फेरि, “हेर, यहाँ म र मेरा छोराछोरीहरू जसलाई परमेश्‍वरले मलाई दिनुभएको छ ।” 14 त्यसकारण, पहिले नै परमेश्‍वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो । त्यसैले, येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्‍ट पार्नुभयो । 15 मृत्युको डरद्वारा र सधैँ शैतानका दास भएर जिएकाहरूको लागि स्वतन्त्रता दिन उहाँले त्यसो गर्नुभयो । 16 किनकि वास्तवमा उहाँले स्वर्गदूतहरूको वास्ता गर्नुहुन्‍न; बरु, उहाँले वास्ता गर्ने त अब्राहामका सन्तानको हो । 17 त्यसैले, उहाँका भाइहरूजस्तै बन्‍न उहाँका निम्ति सबै क्षेत्रमा आवश्यक थियो । त्यसकारण, उहाँ परमेश्‍वरका कुराहरूसम्बन्धी दयापूर्ण र विश्‍वासयोग्य हुनुभई परमेश्‍वरका महान् पुजारी हुनुभयो । त्यसैले, उहाँले सबै मानिसका पापको क्षमा ल्याउन सक्‍नुभयो । 18 किनभने येशू आफैँले दुःख भोग्‍नुभयो, र परीक्षित हुनुभयो; उहाँले परीक्षामा पर्नेहरूलाई सहायता गर्न सक्‍नुहुन्छ ।

3

1 त्यसकारण, पवित्र भाइहरू हो, तिमीहरू स्वर्गीय बोलावटमा साझेदार हुन बोलाइएका हाम्रा प्रधान पुजारी, प्रेरित र येशू ख्रीष्‍टलाई विचार गर । 2 जसले उहाँलाई नियुक्त गर्नुभयो, उहाँ परमेश्‍वरप्रति विश्‍वास योग्य हुनुहुन्थ्यो, जसरी मोशा पनि परमेश्‍वरको घरानामा विश्‍वासयोग्य थिए । 3 परमेश्‍वरले मोशालाई भन्दा येशूलाई योग्य र महान् महिमा दिनुभएको थियो । किनभने घर आफैँलाई भन्दा घर बनाउनेको बढी आदर हुन्छ । 4 हरेक घर कोही न कोहीद्वारा बनाइएको हुन्छ, तर हरेक थोक बनाउने परमेश्‍वर नै हुनुहुन्छ । 5 एकातिर, मोशा परमेश्‍वरका सारा घरानामा विश्‍वासयोग्य सेवकजस्तै भएर भविश्यमा बोलिने कुराहरूका बारेमा उनी एक गवाही थिए । 6 तर परमेश्‍वरको घरानाको जिम्मा पुत्र ख्रीष्‍टले लिनुभएको छ । यदि हामी निश्‍चयतासाथ उहाँलाई पक्री रहन्छौँ भने हामी गर्वसाथ भन्‍न सक्छौँ, कि हामी उहाँका घराना हौँ । 7 त्यसकारण, जसरी पवित्र आत्मा भन्‍नुहुन्छ, “आज, यदि तिमीले उहाँको सोर सुन्यौ भने, 8 उजाड-स्थानमा परीक्षाको समयमा विद्रोह गरेजस्तै तिमीहरूका हृदयलाई कठोर नपार । 9 चालिस वर्षसम्म मैले गरेको काम तिनीहरूले देखे र पनि तिम्रा पुर्खाहरूले विद्रोह गरेर मेरो परीक्षा गरे । 10 त्यसकारण म त्यस पुस्तासँग अप्रसन्‍न भए । मैले भनेँ, ‘तिनीहरू जहिले पनि आफ्ना हृदयबाट तर्किएर गएका छन् । अनि तिनीहरूलाई मेरो बाटो नै थाहा छैन ।’ 11 मेरो क्रोधमा मैले शपथ खाएः ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा प्रवेश गर्न पाउनेछैनन्’ ।” 12 भाइहरू हो, होसियार बस । त्यसैले, तिमीहरूमध्ये कोही पनि दुष्‍ट हृदय र अविश्‍वासी नहोस्, जुन हृदयले जीवित परमेश्‍वरबाट तर्काएर टाढा नलैजाओस् । 13 बरु, जबसम्म “आजको दिन” भन्‍ने कुरा छ, दिनहुँ एकले अर्कोलाई उत्साह देओ । त्यसकारण, तिमीहरूमध्ये कसैले पनि छलकपटको पापद्वारा हृदय कठोर नपारोस् । 14 यदि हामीले सुरुदेखि अन्त्यसम्मै उहाँमा राखेको हाम्रो भरोसालाई निश्‍चयतासाथ बलियोसँग पक्री राख्यौँ भने, ख्रीष्‍टसँगै हामी साझेदार भएका हुन्छौँ । 15 यसको बारेमा यस्तो भनिएको थियो, “आज, यदि तिमीहरूले उहाँको सोर सुन्यौ भने, विद्रोहमा गरेजस्तै तिमीहरूले हृदय कठोर नपार ।” 16 ती को थिए जसले परमेश्‍वरको आवाज सुने र उहाँको विरोध गरे ? के ती सबै मोशाले मिश्र देशबाट निकालेर ल्याएकाहरू नै होइनन् र ? 17 जोसँग उहाँ चालिस वर्षसम्म रिसाउनुभएको होइन र ? के ती पाप गर्नेहरूसित होइन जसका मृत शरीरहरू उजाड-स्थानमा छरिएका थिएनन् र ? 18 तिनीहरू उहाँको विश्राममा पस्‍न पाउनेछैनन् भनी कोसँग उहाँले शपथ खानुभएको थियो, के ती उहाँका आज्ञा नमान्‍नेहरू होइनन् र ? 19 र अविश्‍वासको कारणले नै तिनीहरू उहाँको विश्राममा पस्‍न नसकेको हामी देख्दछौ ।

4

1 यसकारण, हामी निकै होसियार होऔँ ताकि हामीमध्ये कोही पनि परमेश्‍वरको विश्राममा प्रवेश गर्ने प्रतिज्ञा हुँदा हुँदै विश्राम गर्नदेखि वञ्‍चित हुन नपरोस् । 2 किनभने तिनीहरूलाई जस्तै हामीलाई पनि सुसमाचार सुनाइएको थियो । तर सुनेको वचनले तिनीहरूलाई कुनै पनि फाइदा भएन । किनकि सुन्‍नेहरूले विश्‍वाससाथ स्वीकार गरेनन् । (नोटः अरू संस्करणमा पढ्छौँ) तर त्यो सन्देश सुन्‍नेहरू जसले विश्‍वासविना नै सहभागी भए तिनीहरूलाई फाइदा भएन । 3 किनकि हामी जसले विश्‍वास गरेका छौँ त्यस विश्राममा हामी प्रवेश गर्नेछौँ, जसरी उहाँले भन्‍नुभयो, “जसरी मैले मेरो क्रोधमा शपथ खाएँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा प्रवेश गर्नेछैनन्’ ।” उहाँले यसो भन्‍नुभयो, यद्यपि संसारको उत्‍पत्तिमा नै उहाँका सृष्‍टिका कामहरू पुरा भइसकेका थिए । 4 किनकि सातौँ दिनको विषयमा उहाँले केही भन्‍नुभएको छ, “परमेश्‍वरले सातौँ दिनमा आफ्ना सबै कामबाट विश्राम लिनुभयो ।” 5 फेरि उहाँले भन्‍नुभएको छ, “तिनीहरू मेरो विश्राममा कहिल्यै प्रवेश गर्नेछैनन् ।” 6 त्यसकारण, उहाँको विश्राममा प्रवेश गर्न अझै कसैका लागि बाँकी नै छ, र धेरै इस्राएलीहरूले सुसमाचार सुने, तर तिनीहरूले आज्ञापालन नगरेको कारण यस विश्राममा प्रवेश गर्न सकेनन् । 7 “आज” भनेर परमेश्‍वरले फेरि एउटा निश्‍चित दिन ठहराउनुभएको छ । धेरै दिनपछि उहाँ दाऊदद्वारा बोल्नुभयो, जसरी यो अगिबाटै भनिएको थियो, “आज तिमीहरूले उहाँको आवाजलाई सुन्यौ भने, तिमीहरूका हृदय कठोर नपार ।” 8 किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्‍वरले अर्को दिनको विषयमा बोल्नुहुने थिएन । 9 यसकारण, परमेश्‍वरका मानिसहरूका निम्ति एउटा विश्राम दिनको विश्राम अझै बाँकी छ । 10 किनकि जसले परमेश्‍वरको विश्राममा प्रवेश गर्दछ, त्यो आफैँले पनि आफ्ना कामहरूबाट विश्राम लिन्छ, जसरी परमेश्‍वरले उहाँका कामहरूबाट विश्राम लिनुभयो । 11 त्यसकारण, हामी त्यस विश्राममा प्रवेश गर्नका निम्ति प्रयत्‍न गरौँ, ताकि कोही पनि त्यस प्रकारको अनाज्ञाकारितामा नपरोस् जसरी तिनीहरू परे । 12 किनभने परमेश्‍वरको वचन जीवित र क्रियाशील अनि दुईधारे तरवारभन्दा पनि धारिलो छ । यसले आत्मा, प्राण र मासीलाई अलग गर्दछ र छेड्दछ अनि यो हृदयका भावना र विचारहरूको जाँच गर्न सक्षम छ । 13 सृष्‍टिको कुनै पनि थोक परमेश्‍वरको दृष्‍टिमा लुकेको छैन । बरु, उहाँको दृष्‍टिमा हरेक कुरा छर्लङ्गै छ जसलाई हामीले लेखा दिनुपर्छ । 14 त्यसकारण, हामीसँग महान् प्रधान पुजारी हुनुहुन्छ जो स्वर्ग भएर जानुभएको छ । उहाँ परमेश्‍वरका पुत्र येशू हुनुहुन्छ । तसर्थ, हामी हाम्रो विश्‍वासलाई दृढतासाथ थामिराखौँ । 15 किनकि हामीसँग हाम्रा कमजोरीहरूमा हामीलाई सान्त्वना दिन नसक्‍ने एक जना प्रधान पुजारी हुनुहुन्‍न । त्यसको सट्टामा, हामीसँग एक जना हुनुहुन्छ जो हामीजस्तै परीक्षामा भएर जानुभयो, तरै पनि उहाँ पापरहित हुनुहुन्छ । 16 तब हामी परमेश्‍वरको अनुग्रहको सिंहासनमा साहसपूर्वक जाऔँ, ताकि खाँचोको समयमा हामीले कृपा र अनुग्रह पाउन सकौँ ।

5

1 किनकि प्रत्येक प्रधान पुजारी मानिसहरूकै बिचबाट छानिएको हुन्छ । परमेश्‍वरका थोकहरूसम्बन्धी काम गर्न मानिसहरूका सट्टामा तिनलाई नियुक्त गरिएको हो । त्यसकारण, तिनले पापहरूका निम्ति बलि र उपहारहरू दुवै बलिदानका काम गर्न सक्छन् । 2 तिनले अजान र कमजोरहरूसँग नम्रतापूर्वक व्यवहार गर्नुपर्दछ, किनकि तिनी आफैँ पनि कमजोरीबाट घेरिएका छन् । 3 यसकारणले गर्दा, जसरी तिनले मानिसहरूका पापको निम्ति बलि चढाउँछन्, त्यसरी नै तिनलाई पनि आफ्नो पापका निम्ति बलिदान चढाउन माग गरिएको छ । 4 र कुनै पनि मानिस आफैँले आफ्नो आदर लिन सक्दैन । त्यसको सट्टामा, हारूनलाई जस्तै उसलाई परमेश्‍वरद्वारा बोलाइएको हुन्छ । 5 त्यसै गरी, ख्रीष्‍टलाई प्रधान पुजारी बनाइएको कारणले न त उहाँले आफैँलाई उचाल्नुभयो । बरु, उहाँसँग बोलिरहनुहुनेले भन्‍नुभयो, “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु ।” 6 अर्को ठाउँमा पनि उहाँले यसरी भन्‍नुभएको छ, “तिमी सधैँका निम्ति मल्कीसेदेकको दर्जाअनुसारको पुजारी हौ ।” 7 उहाँ शरीरमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्‍नुहुने परमेश्‍वरसँग उहाँले ठुलो सोरमा क्रन्दन र आँशुकासाथ प्रार्थना र निवेदन गर्नुभयो । उहाँको आदरको कारणले गर्दा उहाँले सुन्‍नुभयो । 8 उहाँ एक पुत्र हुनुभएर पनि आफूले भोगेको कष्‍टबाट उहाँले आज्ञापालन गर्न सिक्‍नुभयो । 9 उहाँ सिद्ध बनाइनुभएपछि उहाँमा आज्ञाकारी हुने हरेकका निम्ति उहाँ अनन्त मुक्‍तिको कारण बन्‍नुभयो । 10 मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पुजारी हुनलाई परमेश्‍वरले उहाँलाई नियुक्त गर्नुभयो । 11 हामीसँग येशूको बारेमा भन्‍नुपर्ने धेरै कुरा छन्, तर तिमीहरू सुन्‍नमा मन्द भएकाले यसलाई व्याख्या गर्न गाह्रो छ । 12 किनकि यस बेलासम्म त तिमीहरू शिक्षकहरू भइसक्‍नुपर्ने थियो, तर तिमीहरूलाई अझै पनि कसैले परमेश्‍वरको वचनका साधारण सिद्धान्तहरू सिकाउनुपरेको छ । तिमीहरूलाई खँदिलो भोजन होइन, दूधको आवश्‍यक छ । 13 किनकि दूध मात्र पिएर जिउने कसैले पनि धार्मिकताको वचनसँग अनुभव गर्न सक्दैन, किनकि ऊ अझसम्म बालकै हुन्छ । 14 तर खँदिलो भोजन परिपक्‍वहरूका लागि हो । किनकि तिनीहरूको परिपक्‍वताको बुझाइको तालिमले तिनीहरू दुष्‍टबाट असल छुट्‌ट्याउन सक्‍ने भएका हुन्छन् ।

6

1 त्यसकारण, सुरुमा सिकेको ख्रीष्‍टको वचनलाई छोडेर हामी परिपक्‍वतातिर अगाडि बढौँ । परमेश्‍वरमा विश्‍वास र मरेका कामहरूबाट पश्‍चात्तापको जग बसाल्ने काम फेरि नगरौँ, 2 न त बप्‍तिस्माबारे शिक्षाको जग, हात राख्‍ने काम, मरेका मानिसहरूको पुनरुत्थान, र अनन्त न्यायको जग बसालौँ । 3 यदि परमेश्‍वरले अनुमति दिनुभयो भने हामीले पनि यो गर्नेछौँ । 4 किनकि जसले एक चोटि ज्योति पाएर स्वर्गको वरदान चाखेका थिए, जो पवित्र आत्मामा सहभागी भएका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो । 5 र जसले परमेश्‍वरको असल वचन र आउने युगको शक्‍तिको स्वाद चाखेका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो । 6 तर जो पतित भएको छ, तिनीहरूलाई फेरि पश्‍चात्तापमा ल्याउन असम्भव छ । किनकि तिनीहरूले फेरि आफ्नै निम्ति परमेश्‍वरका पुत्रलाई क्रुसमा टाँग्दछन्, र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्दछन् । 7 किनकि जमिनले आफूमाथि बर्सिने जुन पानी पिउँछ, जसमा बारम्बार पानी पर्छ र त्यसले जमिनमा काम गर्नेहरूका लागि उपयुक्त अन्‍न उत्पादन गर्दछ, त्यस जमिनले परमेश्‍वरबाट आशिष् प्राप्‍त गर्दछ । 8 तर यदि त्यसले काँडा र सिउँडीहरू फलाउँछ भने, त्यो मूल्यहीन हुन्छ र यो श्रापको नजिक पुग्दछ, र अन्त्यमा त्यसलाई जलाइन्छ । 9 हामीले यस प्रकारले बोले, तापनि प्रिय हो, हामीलाई तिमीहरूका असल थोकहरूले प्रभावित परेका छन्, र त्यो कुरा उद्धारको विषयमा हो । 10 किनकि तिमीहरूले उहाँको नाउँका खातिर देखाएको काम र प्रेमलाई बिर्सेने परमेश्‍वर अधर्मी हुनुहुन्‍न, किनभने तिमीहरूले विश्‍वासीहरूको सेवा गरेका थियौ र अझै पनि तिनीहरूको सेवा गर्दै छौ । 11 अनि हामी उत्कट इच्छा गर्दछौँ, कि तिमीहरू हरेकले अन्त्यसम्मै आफ्नो भरोसाका निम्ति त्यही पूर्ण निश्‍चयता देखाओ । 12 त्यसैले, तिमीहरू अल्छे नहोओ, तर विश्‍वास र धैर्यद्वारा प्रतिज्ञाहरूको हकदार हुनेहरूका देखासेखी गर्नेहरू होओ । 13 किनकि परमेश्‍वरले अब्राहामलाई आफ्नो प्रतिज्ञा गर्नुहुँदा उहाँभन्दा ठुलो अरू कोही नभएकाले गर्दा उहाँ आफैँले शपथ खानुभयो । 14 उहाँले भन्‍नुभयो, “निश्‍चय नै म तँलाई आशिष्‌‌ दिनेछु, र तँलाई ज्यादै वृद्धि गराउनेछु ।” 15 यसरी, अब्राहामले धैर्यसाथ पर्खे र जे प्रतिज्ञा गरिएको थियो, सो प्राप्‍त गरे । 16 किनकि मानिसहरूले आफूभन्दा ठुलाहरूद्वारा शपथ खान्छन्, र शपथले अन्त्यमा तिनीहरूको वादविवाद मिलाउन निश्‍चयता दिन्छ । 17 परमेश्‍वरले उहाँको प्रतिज्ञाको अपरिवर्तनशील स्वभावको प्रतिज्ञाका हकदारहरूलाई स्पष्‍ट रूपले देखाउन निर्णय गर्नुहुँदा उहाँले शपथद्वारा नै पक्‍का गर्नुभयो । 18 त्यसैले, यी दुईवटा अपरिवर्तनशील कुराद्वारा उहाँले यसो गर्नुभयो जसद्वारा परमेश्‍वरलाई झुट बोल्न असम्भव छ, ताकि हामी, जो शरणको लागि भाग्‍नेहरूले, हाम्रो अगाडि राखिदिएको निश्‍चयतालाई बलियो गरी समात्‍नलाई दह्रो उत्साह पाउन सकौँ । 19 हामीसित हाम्रो आत्मा सुरक्षित र भरपर्दो निश्‍चयतामा गाडिएको छ, यस्तो निश्‍चयता जुन भित्रको पर्दाभित्र पनि पस्दछ । 20 मल्कीसेदेकको दर्जाअनुसार उहाँ सधैँका निम्ति प्रधान पुजारी हुनुभएकाले हाम्रा अग्रदूतको रूपमा येशू हामीभन्दा पहिले त्यस ठाउँमा गएर बसिसक्‍नुभएको छ ।

7

1 यिनै मल्कीसेदेक शालेमका राजा, सर्वोच्‍च परमेश्‍वरका पुजारी थिए । अब्राहाम लडाइँ जितेर फर्की रहेको बेलामा मल्कीसेदेकले तिनलाई भेटेर आशीर्वाद दिए । 2 अब्राहामले मल्कीसेदेकलाई सबै कुराको दशांश दिए । मल्कीसेदेक नाउँको अर्थ हुन्छ, “धार्मिकताका राजा ।” तिनको अर्को पद “शालेमका राजा” हो, अर्थात् “शान्तिका राजा ।” 3 उनी विनापिता, विनामाता, विनापिता-पुर्खाहरू र जीवनको सुरु वा अन्त्य नभएका व्यक्‍ति हुन् । बरु, उनी परमेश्‍वरका पुत्रजस्तै सदाकालका पुजारी हुनुहुन्छ । 4 हेर, यिनी कस्ता महान् व्यक्‍ति थिए । हाम्रा पुर्खा अब्राहामले तिनलाई लडाइँमा जितेर ल्याएका सबै कुराको दशांश दिए । 5 एकातिर, लेवीका छोराहरू जसले पुजारी पदलाई प्राप्‍त गरेका छन्, तिनीहरूलाई मानिसहरू अर्थात् आफ्नै भाइहरूबाट दशांश लिने आज्ञा व्यवस्थाले दिएको छ, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तानबाट आएका हुन् । 6 तर अर्कोतिर, मल्कीसेदेक जसका वंशावली तिनीहरूबाटका थिएनन्, जसले अब्राहामबाट सबै दशांश प्राप्‍त गरे, र तिनले जसलाई प्रतिज्ञाहरू गरिएको थियो उनलाई आशिष्‌‌ दिए । 7 ठुला मानिसले दिएको आशीर्वादलाई साना मानिसले इन्कार गर्ने कुनै कारण छैन । 8 यस अवस्थामा मरणशील मानिसहरूले दशांश प्राप्‍त गर्दछन् भने, अर्कोतिर त्यस सन्दर्भमा उनी जीवित रहन्छन् भनी यसले प्रमाणित गर्दछ । 9 र यस सन्दर्भमा भन्‍नुपर्दा, अब्राहामद्वारा दशांश पाउने लेवीले पनि दशांश दिए, 10 किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवी पनि आफ्ना पुर्खाकै शरीरमा थिए । 11 अब यदि लेवीको पुजारी पदद्वारा पूर्णताको सम्भव भएको भए (किनकि जसबाट मानिसहरूले व्यवस्था प्राप्‍त गर्दछन्), हारूनको दर्जाबमोजिम नभएर मल्कीसेदेकको दर्जाअनुसार अर्को पुजारी स्थापित गर्न किन आवश्यक पर्थ्यो ? 12 किनकि जब पुजारी पद परिवर्तन हुन्छ, तब व्यवस्था पनि परिवर्तन हुनुपर्दछ । 13 किनकि एक जना जसको बारेमा यी कुराहरू भनिएका छन्, उहाँ अर्कै कुलका हुनुहुन्छ, जसबाट कहिल्यै कसैले वेदीमा सेवा गरेका छैनन् । 14 अब यो स्पष्‍ट छ, कि यहूदाको कुलबाट हाम्रा प्रभु जन्मनुभएको थियो, तर मोशाले पुजारीहरूका बारेमा कहिल्यै उल्लेख गरेका छैनन् । 15 यदि मल्कीसेदेकजस्तै अर्को स्वरूपमा पुजारी खडा हुन्छ भने, हामीले जे भनिरहेका छौँ, त्यो स्पष्‍ट छ । 16 उहाँ शारीरिक पुर्खाहरूका नियमका आधारमा पुजारी हुनुभएको होइन, तर बरु उहाँ अविनाशी जीवनको शक्‍तिमा पुजारी हुनुभयो । 17 किनकि उहाँको बिषयमा धर्मशास्‍त्रले यसरी गवाही दिन्छः “मल्कीसेदेकको दर्जाजस्तै तिमी सधैँका निम्ति पुजारी हौ ।” 18 किनभने पहिलेको आज्ञा रद्द भएको छ, कारण त्यो कमजोर र काम नलाग्‍ने थियो । 19 किनकि व्यवस्थाले कुनै पनि कुरालाई सिद्ध बनाएन । तथापि, भविष्यको निम्ति उत्तम निश्‍चयता छ, जसद्वारा हामी परमेश्‍वरको नजिक पुग्‍न सक्छौँ । 20 अनि यो शपथविना भएको होइन । एकातिर, ती अरूहरू शपथविना नै पुजारीहरू भएका थिए । 21 तर अर्कोतिर भने, यी येशू शपथविना नै पुजारी हुनुभयो, जसको बारेमा परमेश्‍वर यसो भन्‍नुहुन्छ, “परमप्रभुले प्रतिज्ञा गर्नुभएको छ, र उहाँले आफ्नो मन परिवर्तन गर्नुहुन्‍न, ‘तिमी सदाकाल पुजारी हुनेछौ’ ।” 22 जसद्वारा येशूलाई उत्तम करारको निश्‍चयता दिइएको छ । 23 एकातिर, धेरै पुजाहारीहरू भएका छन्, तर मृत्युको कारणले गर्दा तिनीहरूलाई निरन्तर पुजारीको कार्यमा लागि रहन दिएन । 24 तर अर्कोतिर भने, येशू सदासर्वदा रहिरहनुहुन्छ, उहाँसँग एउटा स्थायी पुजारी पद छ । 25 यसकारण, येशूद्वारा परमेश्‍वरको नजिक आउने मानिसहरूलाई बचाउनका निम्ति उहाँ पूर्ण रूपमा सामर्थी हुनुहुन्छ, किनभने उहाँ तिनीहरूका निम्ति अन्‍तर-बिन्‍ती गर्नलाई सधैँ जीवित हुनुहुन्छ । 26 किनकि यस्तै प्रकारको प्रधान पुजारी हाम्रा निम्ति सुहाउँदो छ । उहाँ पापरहित हुनुहुन्छ; उहाँ दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिनुभएका र आकाशभन्दा उच्‍च हुनुभएको छ । 27 प्रधान पुजारीले जस्तै पहिले आफ्नै पापका निम्ति र त्यसपछि मानिसहरूका पापका निम्ति उहाँले दिनहुँ बलिदान चढाई रहनुपर्दैन । जब उहाँले आफैँलाई अर्पण गर्नुभयो, तब उहाँले यो एकै पटक सधैँका निम्ति गर्नुभयो । 28 किनकि व्यवस्थाले मानिसहरूलाई प्रधान पुजारीको रूपमा नियुक्त गर्‍यो, जससँग कमजोरी हुन्थे । तर उहाँ व्यवस्थापछि आएको शपथको वचनले नियुक्त हुनुभएका पुत्र हुनुहुन्छ जो सदाकालका निम्ति सिद्ध बनाइनुभएको छ ।

8

1 अब हामीले भनिरहेको कुरा यही होः हामीसँग एक जना प्रधान पुजारी हुनुहुन्छ जो स्‍वर्गको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ । 2 मानिसले बनाएको होइन, तर परमेश्‍वरले बनाउनुभएको साँचो पवित्र बासस्थानमा उहाँ एक सेवक हुनुहुन्छ । 3 किनकि हरेक प्रधान पुजारी भेटीहरू र बलिदानहरू दुवै चढाउन नियुक्त गरिएको हुन्छ । त्‍यसकारण, केही कुरा चढाउन आवश्‍यक छ । 4 अब यदि ख्रीष्‍ट पृथ्‍वीमा हुनुभएको भए, उहाँ सबैका पुजारी हुनुहुने थिएन किनकि त्‍यहाँ व्‍यवस्‍थाअनुसार भेटी चढाउनेहरू छँदै छन् । 5 तिनीहरूले स्‍वर्गीय कुराहरूको नक्‍कल र छायाँको मात्र सेवा गर्दछन् । जसरी मोशाले बासस्थान बनाउन लाग्दा परमेश्‍वरद्वारा मोशालाई चेतावनी दिइयो, परमेश्‍वरले भन्‍नुभयो, “हेर, तिमीलाई पहाडमा देखाइएको नमुनाबमोजिम तिमीले हरेक थोक बनाउनू ।” 6 तर अहिले ख्रीष्‍टले प्राप्‍त गर्नुभएको सेवा-कार्य अझ धेरै उत्तम छ । किनभने उहाँले मध्‍यस्‍थता गर्नुभएको करार धेरै उत्तम छ, जुनचाहिँ उत्तम प्रतिज्ञाहरूमा स्‍थापना गरिएको छ । 7 किनकि यदि पहिलो करार दोषरहित भएको भए, दोस्रो करारको आवश्‍यकता नै पर्दैन थियो । 8 किनकि जब परमेश्‍वरले मानिसको दोष भेट्टाउनुभयो, तब उहाँले भन्‍नुभयो, “हेर, परमप्रभु भन्‍नुहुन्‍छ, ती दिन आउँदै छन्, जब म यहूदा र इस्राएलका घरानासँग नयाँ करार स्‍थापना गर्नेछु । 9 यो करार तिनीहरूका पिता-पुर्खाहरूसँग मैले बाँधेको जस्‍तो हुनेछैन, एक दिन मैले तिनीहरूको हात समातेर तिनीहरूलाई मिश्र देशबाट डोर्‍याएर ल्‍याएँ । किनकि तिनीहरूले मेरो करारलाई अटुट रूपमा पछ्याएनन्, र परमप्रभु भन्‍नुहुन्‍छ, मैले तिनीहरूको बेवास्‍ता गरे । 10 परमप्रभु भन्‍नुहुन्‍छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु । म मेरो व्‍यवस्‍था तिनीहरूको मनमा राखिदिनेछु, र म तिनीहरूका हृदयमा पनि ती लेखिदिनेछु । म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन् । 11 तिनीहरूले हरेक आफ्नो छिमेकीलाई सिकाउनेछैनन्,र आफ्नो हरेक भाइलाई परमप्रभुलाई चिन भन्‍नुपर्दैन । किनकि तिनीहरूमध्येका सानादेखि लिएर ठुलासम्‍म सबैले मलाई चिन्‍नेछन् । 12 किनकि तिनीहरूले गरेका अपराधहरूप्रति म अनुग्रह देखाउनेछु, र तिनीहरूले गरेका पापहरूको सम्झना म कहिल्यै गर्नेछैनँ ।” 13 “नयाँ” भन्‍नुहुँदा उहाँले पहिलो करारलाई पुरानो बनाउनुभयो । र जुन काम नलाग्‍ने र पुरानो भएको छ, त्यो हराएर जानै लागेको छ ।

9

1 अब पहिलेको करारमा आराधनाका निम्ति नियमहरू र सांसारिक बासस्‍थान थिए । 2 किनकि एउटा बासस्‍थान तयार गरिएको थियो जसको पहिलो कोठाभित्र सामदान, टेबुल, र उपस्थितिको रोटी थिए, त्यसलाई पवित्रस्थान भनिन्थ्यो । 3 पर्दाको पछाडितिर अर्को दोस्रो कोठा थियो, जसलाई महा-पवित्रस्थान भनिन्थ्यो । 4 यसमा धूपको निम्ति एउटा सुनको वेदी थियो । यसमा करारको सन्दुक पनि थियो, जुन पूर्ण रूपले सुनले मोहोरिएको थियो । यसको भित्रपट्टि रहेको सुनको भाँडोमा मन्‍न राखिएको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिलालेखहरू थिए । 5 करारको सन्दुकको माथि ईश्‍वरीय महिमाका करूबहरूले प्रायश्‍चित्तको ढकनीलाई ढाकेका थिए, जसको बारेमा हामी अहिले पूर्ण रूपले वर्णन गर्न सक्दैनौँ । 6 यी थोकहरूलाई तयार गरिसकेपछि पुजारीहरू नियमित रूपमा बासस्‍थानको बाहिरी कोठामा सधैँ आफ्ना सेवाको काम गर्न प्रवेश गर्दथे । 7 तर प्रधान पुजारी मात्रै हरेक वर्षको एक पल्ट दोश्रो कोठामा प्रवेश गर्दथे । उनले रगत लिएर आफ्नै निम्ति र मानिसहरूले अजानमा गरेका अपराधहरूका निम्ति बलि चढाउँछन् । 8 पवित्र आत्माले देखाउनुभयो, कि पहिलो पवित्रस्‍थान रहुञ्‍जेलसम्म महा-पवित्रस्थानमा जाने मार्ग प्रकट गरिएको थिएन । 9 वर्तमान समयका लागि यो एक उदाहरण थियो । चढाइएका भेटी र बलिदानहरू दुवैले आराधकको विवेकलाई सिद्ध गर्न सकेनन् । 10 ती विभिन्‍न किसिमका उत्सवका शुद्धिकरणहरू खाने र पिउने कुरासँग मात्रै सम्बन्धित छन् । ती सबै शरीरका निम्ति नियमहरू मात्रै थिए, जसलाई नयाँ प्रकारले सृजना नगरेसम्म क्रमिक रूपमा राखिएको थियो । 11 ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीको रूपमा आउनुभयो । उहाँ अझ बढी महान् र सिद्ध पवित्रस्थानमा प्रवेश गर्नुभयो, जुन मानवीय हातद्वारा बनाइएको होइन, जुन यस सृजित संसारको होइन । (नोटः अन्य संस्करणहरूमा लेखिएको छ) ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीजस्तै भएर आउनुभयो । 12 बोका र बाछाहरूको रगतले नभई उहाँ आफ्नै रगतद्वारा सबैका निम्ति एकै चोटि त्यस महा-पवित्रस्थानभित्र प्रवेश गर्नुभयो र हाम्रो अनन्तको छुटकारलाई सुरक्षित गर्नुभयो । 13 किनकि यदि बोका र साँढेहरूको रगत अनि कोरेलीको खरानीले छर्किंदा तिनीहरू अशुद्ध हुन्छन् र तिनीहरूका शरीरलाई शुद्ध पार्न तिनीहरू परमेश्‍वरमा समर्पित हुनुपर्छ भने, 14 झन् कति धेरै ख्रीष्‍टको रगतले हाम्रा विवेकलाई मृत कामहरूबाट शुद्ध पार्दछ र जीवित परमेश्‍वरको सेवा गर्न जसले अनन्त आत्माद्वारा दोषरहित प्रकारले आफैँलाई अर्पण गर्नुभयो ? 15 यसै कारणले गर्दा, उहाँ नयाँ करारको मध्यस्तकर्ता हुनुहुन्छ । यो मृत्युको कारणले गर्दा स्वतन्‍त्र गराइएकाहरू तिनीहरूका पापको सजायबाट पहिलो करारमा रहन्छन् ताकि परमेश्‍वरद्वारा बोलाइएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकारलाई प्राप्‍त गर्न सकून् । 16 किनकि जहाँ इच्छा हुन्छ, त्यहाँ त्यो बनाउने व्यक्‍तिको मृत्युलाई प्रमाणित गर्नुपर्ने हुन्छ । 17 किनकि एउटा इच्छा तब मात्र लागु हुन्छ, जब त्यहाँ मृत्यु भएको हुन्छ, किनभने जबसम्म यसलाई बनाउने जीवित हुन्छ, तबसम्म यसको कुनै जोड हुँदैन । 18 त्यसैले, पहिलो करार पनि रगतविना स्थापित भएको थिएन । 19 किनकि जब मोशाले मानिसहरूलाई व्यवस्थामा भएका हरेक आज्ञा दिए, उनले बाछा र बोकाहरूको रगत, पानी, रातो उन र हिसप लिएर त्यस मुट्ठा र सबै मानिस दुवैलाई छर्के । 20 तब उनले भने, “यो करारको रगत हो, जुन परमेश्‍वरले तिमीहरूका निम्ति आज्ञा गर्नुभएको थियो ।” 21 यसरी नै, उनले पवित्रस्‍थान र सेवामा प्रयोग हुने सबै भाँडामा रगत छर्के । 22 अनि व्यवस्थाअनुसार रगतले हरेक थोकलाई शुद्ध पार्दछ । रगत नबगाइकन क्षमा हुँदैन । 23 त्यसकारण, स्वर्गमा भएका थोकहरूका नक्‍कलहरूलाई जनावरहरूको बलिदानद्वारा शुद्ध पारिनुपर्थ्यो भने स्वर्गमा भएका थोकहरू आफैँलाई झन् कति धेरै उत्तम बलिदानद्वारा शुद्ध पार्न आवश्यक पर्‍यो । 24 किनकि ख्रीष्‍ट हातद्वारा बनाइएको महा-पवित्रस्थानमा प्रवेश गर्नुभएन, जुनचाहिँ सत्यताको एक नक्‍कल मात्र हो । बरु, उहाँ आफैँ स्वर्गमा प्रवेश गर्नुभयो, अनि हाम्रा निम्ति अहिले उहाँ परमेश्‍वरको सामु उपस्थित हुनुहुन्छ । 25 उहाँ आफ्नै निम्ति घरिघरि बलि चढाउनका निम्ति त्यहाँ जानुभएको होइन, जसरी प्रधान पुजारीले हरेक वर्ष अर्काको रगत लिएर महा-पवित्रस्थानभित्र प्रवेश गर्दछन् । 26 त्यसो भएको भए, संसारको उत्पत्तिदेखि नै उहाँले धेरै पल्ट दुःख भोग्‍नुपर्ने हुन्थ्यो । तर यस युगको अन्त्यमा एक पल्ट उहाँको आफ्नै बलिद्वारा पापलाई हटाउन उहाँ सधैँका निम्ति एकै पल्ट प्रकट हुनुभएको हो । 27 हरेक व्यक्‍ति एक पटक मर्न निश्‍चित छ, र त्यसपछि न्याय आउँदछ । 28 त्यसरी नै, ख्रीष्‍ट पनि धेरै जनाका पाप बोक्‍नलाई सधैँका निम्ति एकै पल्ट बलि हुनुभयो । पापसँग सामना गर्नलाई दोस्रो पल्ट उहाँ देखा पर्नुहुने होइन, तर मुक्‍तिका लागि धैर्यसाथ उहाँका निम्ति पर्खिरहनेहरूका लागि हो ।

10

1 किनकि व्यवस्था हुन आउने असल कुराहरूको एक छायाँ मात्र हो, ती आफैँमा सत्य थोकहरू भने होइनन् । पुजारीहरूले वर्षैपिच्छे लगातार रूपमा चढाउने यस्ता बलिहरूले परमेश्‍वरको नजिक जान कहिल्यै पूर्ण बनाउन सकेन् । 2 नत्रता के बलि चढाउने काम बन्द हुने थिएन र ? त्यसो हुँदो हो त, आराधकहरू एकै पल्टमा सधैँका लागि शुद्ध हुने थिए, तिनीहरूलाई थप पापको चेतना हुने थिएन । 3 तर ती बलिदानहरूले वर्षैपिच्छे पापहरूको सम्झना गराउँछन् । 4 किनभने साँढे र बोकाहरूको रगतले पाप हटाउन असम्भव छ । 5 जब ख्रीष्‍ट संसारमा आउनुभयो, उहाँले भन्‍नुभयो, “तपाईंले भेटीहरू र बलिदानहरू चाहनुभएन, बरु तपाईंले मेरो लागि एउटा शरीर तयार पारिदिनुभएको छ । 6 पापका लागि न त पुरै होमबलि न बलिदानहरूमा तपाईं प्रसन्‍न हुनुभयो ।” 7 तब मैले भनेँ, “हेर्नुहोस्, पुस्तकको मुट्ठोमा मेरो बिषयमा लेखिएजस्तै तपाईंको इच्छा पुरा गर्न म यहाँ छु ।” 8 उहाँले पहिला भन्‍नुभयो, “पापका निम्ति न त बलिदानहरू, न भेटीहरू र होमबलिहरू नै तपाईंले चाहनुभयो, न त ती कुराहरूमा तपाईं प्रसन्‍न हुनुभयो ।” (यी त व्यवस्थाअनुसार चढाइन्छन् ) । 9 तब उहाँले भन्‍नुभयो, “हेर्नुहोस्, म तपाईंकै इच्छा पुरा गर्न आएको छु ।” दोस्रो अभ्यासलाई स्थापित गर्न उहाँले पहिलो अभ्यासलाई रद्द गर्नुहुन्छ । 10 दोस्रो अभ्यासमा हामी उहाँको इच्छाबाट सधैँका निम्ति येशू ख्रीष्‍टको शरीरको बलिदानद्वारा परमेश्‍वरमा समर्पित भएका छौँ । 11 अर्कोतिर, हरेक पुजारी दिनहुँ परमेश्‍वरको सेवा गर्न खडा भइरहन्छ । उसले सधैँ उस्तै भेटीहरू चढाइरहेको हुन्छ, त्यसले कहिल्यै पनि पापलाई उठाई लान सक्दैन । 12 अर्कोतिर, ख्रीष्‍टले पापका निम्ति सधैँको लागि एउटै बलिदान चढाएर उहाँ परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभएको छ । 13 उहाँका शत्रुहरूलाई आफ्नो पाउदानमा नपारेसम्म उहाँ पर्खिरहनुहुन्छ । 14 किनकि उहाँले एउटै बलिद्वारा परमेश्‍वरमा समर्पित भएकाहरूलाई सदाका निम्ति सिद्ध पार्नुभएको छ । 15 र पवित्र आत्माले पनि हामीलाई गवाही दिनुहुन्छ, किनभने पहिला उहाँले भन्‍नुभयो, 16 “मैले तिनीहरूसँग बाँध्‍ने करार यही हो, ती दिनहरूपछि, परमप्रभु भन्‍नुहुन्छ । तिनीहरूका हृदयमा म मेरो व्यवस्था रखिदिनेछु, र तिनीहरूको मनमा पनि लेखिदिनेछु ।” 17 म कहिल्यै पनि तिनीहरूका पाप र दुष्कर्महरू सम्झनेछैनँ ।” 18 अब जहाँ यी कुराहरूको क्षमा हुन्छ, त्यहाँ पापका निम्ति कुनै बलिदानको खाँचो पर्दैन । 19 यसकारण, भाइहरू हो, हामीसँग येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र प्रवेश गर्ने साहस छ । 20 पर्दा अर्थात् उहाँको आफ्नो शरीरद्वारा उहाँले हाम्रा लागि नयाँ र जीवित बाटो खोलिदिनुभएको छ । 21 र परमेश्‍वरको घरमा हामीसँग महान् पुजारी हुनुभएकोले 22 हाम्रो हृदयका अशुद्ध विवेकलाई छिट्काउद्वारा हाम्रो शरीरलाई शुद्ध पानीले धोएर विश्‍वासको सम्पूर्ण निश्‍चयतासाथ हामी साँचो हृदय लिएर नजिक जाऔँ । 23 हामीले स्वीकार गरेको आशालाई दृढतासाथ बलियोसँग थामी राखौँ, किनकि प्रतिज्ञा गर्नुहुने परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ । 24 हामीले एक अर्कालाई प्रेम र असल कामहरूले कसरी उत्साह दिने भन्‍ने कुरालाई विचार गरौँ । 25 हामी एक-अर्कामा सँगसँगै भेला हुन नछोडौँ, जसरी कतिले छोडेका छन् । बरु, दिन नजिकै आएको हुनाले जतिसक्दो एकले अर्कालाई झन् बढी उत्साह देओ । 26 किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामी जानिबुझिकन पाप गरिरहन्छौँ भने, पापका लागि कुनै बलिदान बाँकी रहँदैन । 27 त्यसको सट्टामा, न्यायको डरलाग्दो प्रतीक्षा र परमेश्‍वरका शत्रुहरूलाई भस्म पार्ने क्रोधको डरलाग्दो आगो मात्र रहनेछ । 28 मोशाको व्यवस्थालाई उल्लङ्घन गर्ने जो कोही पनि दुई वा तिन जना साक्षीको गवाहीमा दयाविना नै मर्दछ । 29 परमेश्‍वरका पुत्रलाई खुट्टाले कुल्चने, परमेश्‍वरमा समर्पित गरिएको करारको रगतलाई अपवित्र तुल्याउने र अनुग्रहको आत्मालाई अपमान ठान्‍ने जो कोहीले झन् कति बढी सजाय पाउँछ होला । 30 किनकि यसो भन्‍नुहुनेलाई हामी जान्दछौँ, “बदला लिने काम मेरो हो; म बदला लिनेछु ।” र फेरि, “परमप्रभुले उहाँका मानिसहरूको न्याय गर्नुहुनेछ ।” 31 जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्दो कुरा हो । 32 तर तिमीहरूले ज्योति पाएपछि पनि दुःखको कठिन घडीमा कसरी सह्‍यौ, ती अघिका दिनहरूको सम्झना गर । 33 तिमीहरू सबैका सामु अपमानित र तिरस्कृत भएका थियौ, र त्यस्तै समस्यामा परेकाहरूसँगै तिमीहरू सहभागी भयौ । 34 किनकि कैदमा हुनेहरूलाई तिमीहरूले दया देखायौ; आफ्नो सम्‍पत्ति खोसिँदा पनि त्यसलाई सहर्ष स्वीकार गर्‍यौ; यो जानेर कि तिमीहरूसँग अझ उत्तम र रहिरने आफ्नै सम्‍पत्ति छ । 35 त्यसकारण, आफ्नो निश्‍चयतालाई नगुमाओ, जसको ठुलो इनाम छ । 36 तिमीहरूलाई धैर्यको खाँचो छ । त्यसकारण, परमेश्‍वरले तिमीहरूलाई जे प्रतिज्ञा गर्नुभएको थियो, उहाँको इच्छालाई पुरा गरेपछि, सो प्राप्‍त गर्नेछौ । 37 “किनकि केही बेरमा जो आउँदै हुनुहुन्छ, उहाँ अवश्य आउनुहुनेछ र ढिलाउनु हुनेछैन । 38 मेरा धर्मी जन विश्‍वासद्वारा जिउनेछ, यदि ऊ पछि फर्कन्छ भने, म उसँग प्रसन्‍न हुनेछैन ।” 39 तर हामी नाश हुनेहरूमध्येका होइनौँ, जो विनाशतिर फर्कन्छ । बरु, ती मध्येका हौँ जसले हाम्रो आत्मालाई बचाइराख्‍ने विश्‍वास छ ।

11

1 अब विश्‍वासचाहिँ आशा गरिएका कुराहरूको बारेमा भएको निश्‍चयता हो; अहिलेसम्म नदेखेका घटनाहरूको बारेमा भएको प्रमाण हो । 2 किनकि हाम्रा पुर्खाहरू तिनीहरूको विश्‍वासका निम्ति यसरी नै प्रमाणित भएका थिए । 3 विश्‍वासद्वारा हामी बुझ्न सक्छौँ, कि सारा विश्‍व परमेश्‍वरको आज्ञाद्वारा सृष्‍टि भएको थियो । त्यसकारण, जे देखिन्छन् ती देखिने कुराहरूबाट बनाइएका होइनन् । 4 विश्‍वासद्वारा नै हाबिलले कयिनले भन्दा उत्तम बलिदान चढाए । यसकारण, तिनी धर्मी हुन पुगे । यसरी, परमेश्‍वरप्रति तिनको भेटीको कारणले गर्दा तिनले सर्मथन पाए । त्यसैकारण, हाबिल मरे तापनि तिनी अझ बोलिरहेका छन् । 5 विश्‍वासद्वारा नै हनोक माथि उठाई लगिए र तिनले मृत्यु देखेनन् । “तिनी भेटिएनन्, किनकि परमेश्‍वरले तिनलाई उठाउनुभयो ।” कारण तिनी उठाइनुभन्दाअघि तिनले परमेश्‍वरलाई प्रसन्‍न पारेको प्रमाणित भएको थियो । 6 विनाविश्‍वास परमेश्‍वरलाई प्रसन्‍न पार्न असम्भव छ । किनकि जो परमेश्‍वरकहाँ आउँछ उसले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्नैपर्छ र उहाँलाई जसले खोज्छ त्यसले इनाम पाउनेछ भनी विश्‍वास गर्नुपर्छ । 7 विश्‍वासद्वारा नै नोआलाई अहिलेसम्म नदेखेका कुराहरूका बारेमा ईश्‍वरीय सन्देश दिइएको थियो । तिनले भक्तिमय सम्मानसाथ एउटा पानी जहाज बनाए र आफ्नो घरानालाई बचाए । यसो गरेर तिनले संसारलाई दोषी ठहराए र विश्‍वासअनुसार तिनी धार्मिकताका उत्तराधिकारी भए । 8 अब्राहामलाई बोलाइँदा विश्‍वासद्वारा नै तिनले आज्ञापालन गरे र तिनी उत्तराधिकारको रूपमा पाउनुपर्ने ठाउँतिर गए । आफू कहाँ जाँदै छु भन्‍ने कुरा थाहै नपाए तापनि तिनी गए । 9 तिनी विश्‍वासद्वारा नै प्रतिज्ञाको देशमा एक परदेशीको रूपमा बसे । तिनी पालहरूमा इसहाक र याकूबसँगै उही प्रतिज्ञाको सङ्गी उत्तराधिकारीको रूपमा बसे । 10 किनकि तिनले जगहरू भएको सहरलाई हेरिरहेका थिए, जुन सहरको रचनाकार र निर्माणकर्ता परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ । 11 सारा बाँझी भए तापनि अब्राहामले गर्भधारण गराउने शक्‍ति विश्‍वासद्वारा नै प्राप्‍त गरे । तिनी एकदमै वृद्ध भइसक्दा यसो भएको थियो । तिनीहरूलाई प्रतिज्ञा दिनुहुनेप्रति तिनीहरू विश्‍वासयोग्य भइरहे । 12 त्यसैकारण, मरेतुल्य यिनै एक जना मानिसबाट आकाशका असङ्ख्य तारा र समुद्री किनारका असङ्ख्य बालुवासरह सन्तानहरू जन्मिए, जसलाई गन्‍नै सकिँदैन । 13 यी सबै प्रतिज्ञालाई प्राप्‍त नगरिकनै यिनीहरू सबैले टाढैबाट स्वागत गरे । पृथ्वीमा परदेशी र निर्वासितहरू मात्र हौँ भन्‍ने कुरा स्वीकार गर्दै तिनीहरू विश्‍वासमा नै मरे । 14 किनकि जसले यस्ता कुराहरू भन्दछन् तिनीहरूले एउटा स्वदेश खोजिरहेका छन् भन्‍ने कुरा स्पष्‍ट हुन्छ । 15 साँच्‍चै नै तिनीहरूले आफू निस्केर गएको देशका लागि सोचिरहेका भए, तिनीहरूले फर्केर जाने मौका पाउने थिए । 16 तर तिनीहरू अझ उत्तम देश अर्थात् स्वर्गीय देशको चाहना गर्दछन् । त्यसकारण, परमेश्‍वर तिनीहरूका परमेश्‍वर हुन लजाउनुहुन्‍न, किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ । 17 आफ्नो जाँच हुँदा विश्‍वासद्वारा नै अब्राहामले इसहाकलाई बलि चढाए, जो उनको एक मात्र छोरा थिए जसलाई उनले बलिदान चढाए । उनले नै प्रतिज्ञाहरू प्राप्‍त गरेका थिए । 18 यिनी तिनै अब्राहाम थिए जसलाई यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ ।” 19 परमेश्‍वरले इसहाकलाई मृत्युबाट जीवित पार्न सक्‍नुहुने थियो भन्‍ने कुरा अब्राहामलाई थाहा थियो, र साङ्केतिक अर्थमा भन्‍नुपर्दा उनले तिनिहरूबाट आफ्ना छोरालाई फिर्ता पाएका थिए । 20 आउन लागेका थोकहरूको बारेमा इसहाकले विश्‍वासद्वारा नै याकूब र एसावलाई आशिष्‌ दिए । 21 याकूब मर्नै लागेका बेलामा विश्‍वासद्वारा नै उनले योसेफका हरेक छोरालाई आशिष्‌‌ दिए । लौरोको टुप्पोमा अडेस लागेर याकूबले आराधना गरे । 22 योसेफको अन्त्य नजिकिँदा विश्‍वासद्वारा नै तिनले मिश्रबाट इस्राएलीहरू प्रस्थान हुने विषयमा बोलेका थिए र तिनका अस्थिहरूको बारेमा तिनीहरूलाई आदेश दिएका थिए । 23 मोशा जन्मँदा तिनी सुन्दर भएको कारणले गर्दा उनका आमाबुबाले विश्‍वासद्वारा नै तिनलाई तिन महिनासम्म लुकाएर राखे र तिनीहरू राजाको आदेशसित डराएनन् । 24 मोशा हुर्केपछि विश्‍वासद्वारा नै तिनले फारोकी छोरीको छोरा कहलाइनलाई इन्कार गरे । 25 त्यसको सट्टामा, तिनले पापको क्षणिक सुख भोग्‍नुभन्दा बरु परमेश्‍वरका मानिसहरूसँगै दुःख भोग्‍ने कुरालाई छाने । 26 मिश्रको सम्‍पत्तिमा भन्दा ख्रीष्‍टलाई पछ्याउँदा सहनुपर्ने अपमानलाई नै उनले बहुमूल्यको ठाने । कारण उनले आफ्ना आँखालाई इनाममाथि केन्द्रित गराएका थिए । 27 विश्‍वासद्वारा नै मोशाले मिश्रदेश छोडे । उनी राजाको क्रोधदेखि डराएनन्, किनकि एक जो अदृश्यलाई देखेजस्तै गरी उनले सही रहे । 28 त्यसकारण, नाश गर्नेले इस्राएलीहरूका पहिले जन्मिएका जेठा छोराहरूलाई छुन नसकोस् भनी विश्‍वासद्वारा नै उनले निस्तार-चाड र रगतको छिट्काउको पालन गरे । 29 विश्‍वासद्वारा नै उनले सुख्खा जमिनमा हिँडेजस्तै गरी लाल समुद्र पार गरे । जब मिश्रीहरूले पनि यसै गर्न खोजे, तब तिनीहरू डुबे । 30 तिनीहरूले सात दिनसम्म यरीहो पर्खालको वरिपरि घुमेपछि विश्‍वासद्वारा नै यो ढल्यो । 31 राहाब वेश्याले विश्‍वासद्वारा नै जासुसहरूलाई शान्तिसाथ सत्कार गरेकीले हुनाले तिनी अनाज्ञाकारीहरूसँगै नष्‍ट भइनन् । 32 अनि योभन्दा बढी म के भनौँ ? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दाऊद, शमूएल र अगमवक्‍ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्दैन । 33 विश्‍वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते; न्यायपूर्ण काम गरे; र प्रतिज्ञाहरू प्राप्‍त गरे । तिनीहरूले सिंहहरूको मुखलाई बन्द गरिदिए । 34 तिनीहरूले आगोको ज्वालालाई निभाए; तरवारको धारबाट भागे; रोगहरूबाट निको पारिए; युद्धमा शक्‍तिशाली भए; र विदेशी सेनाहरूलाई भगाए । 35 स्‍त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा प्राप्‍त गरे । अरूले अझ उत्तम पुनरुत्थान प्राप्‍त गर्नलाई तिनीहरूले छुटकारालाई स्वीकार गरेनन् । त्यसैले, तिनीहरूले दण्ड भोगे । 36 अरूहरूले निन्दा, कोर्रा, साङ्‌ला र कैदजस्ता आदि कुराहरू सहे । 37 तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग हुने गरी चिरियो । तिनीहरूलाई तरवारले मारियो । तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्‍यो र विभिन्‍न किसिमका दुःख, निर्दयता र अमानवीय कुराहरू सहनुपर्‍यो । 38 यो संसार तिनीहरूका लागि योग्य थिएन । तिनीहरू मरुभूमि, पहाड, गुफा र जमिनका ओडारहरूतिर तितर-बितर हुनुपर्‍यो । 39 यहाँसम्म यी सबै मानिसहरू तिनीहरूका विश्‍वासको कारण परमेश्‍वरद्वारा प्रमाणित भए, तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्‍त गर्न सकेनन् । 40 हामीविना तिनीहरू सिद्ध नहोऊन् भनी परमेश्‍वरले हाम्रा लागि अझ उत्तम कुरा अघिबाटै योजना गरिदिनुभएको थियो ।

12

1 यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हर प्रकारका बोझ र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाऔँ । हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दोडौँ । 2 विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्‍द्रित गरौँ, जसले आफ्नो सामुन्‍ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्‍नुभयो, अनि उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ । 3 त्यसैले, पापीहरूबाट उहाँको विरुद्धमा भएका वादविवाद सहनुहुनेलाई विचार गर । त्यसकारण, तिमीहरू आफ्ना हृदयमा शिथिल नहोओ र हरेस नखाओ । 4 तिमीहरूले पापको विरुद्धमा अझसम्‍म रगत बगाउनुपर्ने अवस्था आएको छैन वा यसको लागि सङ्घर्ष गर्नुपरेको छैन । 5 अनि तिमीहरूलाई छोराहरूसरह उत्‍साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौः “हे मेरो छोरा, परमेश्‍वरको अनुशासनलाई हलुका नसम्‍झ । जब उहाँद्वारा तिमी सुधारिन्छौ, तब हरेस नखाऊ । 6 किनकि परमप्रभुले जसलाई प्रेम गर्नुहुन्‍छ ती हरेकलाई अनुशासनमा राख्‍नुहुन्छ । अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्‍छ ।” 7 कष्‍टलाई अनुशासनझैँ सहो । परमेश्‍वरले तिमीहरूसित छोराहरूलाई जस्‍तै व्‍यवहार गर्नुहुन्‍छ । किनकि बाबुले अनुशासन नगरेको कुन छोरा हुन्‍छ र ? 8 तर यदि तिमीहरू अनुशसानविनाका छौ भने तिमीहरू अवैध भयौ, उहाँका छोराहरू भएनौ । 9 यो भन्दा बढी, हामीलाई अनुशासन गर्ने हाम्रा संसारिक बुबाहरू अनुशासनकर्ताका रूपमा थिए, जसलाई हामीले आदर गर्‍यौँ । यसकारण, के हामीले हाम्रा आत्‍माका पिताको झन् बढी आज्ञा पालन गर्नुपर्दैन र ? 10 किनकि एकातिर, हाम्रा बाबुहरूले केही दिनसम्‍म हामीलाई अनुशसानमा राखे जुन त्यसो गर्न तिनीहरूलाई उचित लाग्यो । तर अर्कोतिर, हामीले उहाँको पवित्रतालाई बाँड्न सकौँ भनेर परमेश्‍वरले हाम्रै भलाइका लागि त्यसो गर्नुहुन्छ । 11 यस समयमा कुनै पनि अनुशासन आनन्दको हुँदैन, तर दुःखदायी नै हुन्‍छ । तथापि जे भए तापनि यसद्वारा तालिम प्राप्‍त गरेकाहरूका निम्ति भने अन्त्यमा गएर यसले धार्मिकताको शान्‍तिपूर्ण फल फलाउँदछ । 12 त्यसकारण, लत्रेका हातहरू र र्दुबल घुँडाहरू बलियो बनाओ । 13 आफ्ना खुट्टाका लागि बाटो सिधा बनाओ । त्यसैले, जे लङ्गडो छ, त्यो नखुस्कियोस्, बरु निको होस् । 14 हरेकसित शान्‍तिमा बस्‍ने प्रयत्‍न गर, र पवित्रताविना कसैले पनि परमप्रभुलाई देख्‍न सक्दैन । 15 होसियार रहो, ताकि परमेश्‍वरको अनुग्रहबाट कोही पनि वञ्‍चित हुन नपरोस्, र तिक्तताको जरा उम्रिएर कसैलाई पनि दुःख नदियोस्, र यसले धेरैलाई दोषी नबनाओस् । 16 होसियार रहो । कोही पनि एक छाक खानाको लागि आफ्‍नो जन्‍माधिकार बेच्‍ने एसावजस्‍तो अधर्मी नहोस् वा यौन अनैतिक नहोस् । 17 किनकि तिमीहरूलाई थाहै छ, कि पछि गएर उनले त्‍यो आशिष्‌को उत्तराधिकार प्राप्‍त गर्ने इच्‍छा गर्दा उनलाई अस्‍वीकार गरियो, किनभने उनले विलाप गर्दा आँशुका साथ पश्‍चात्ताप गर्ने मौकासमेत पाएन, यद्यपि उनले यसलाई चाहेका थिए । 18 किनकि तिमीहरू जलिरहेको पहाड, अन्धकार, बादल र छुन नसक्‍ने पहाडमा आएका छैनौ । 19 तिमीहरू तुरही फुकिएको चर्को आवाज भएको ठाउँमा पनि आएका छैनौ, न त त्यस्तो आवाज सुन्‍ने ठाउँमा आएका छौ जसलाई सुनेर तिनीहरूले अर्को शब्द सुन्‍नु नपरोस् भनी बिन्‍ती गरेका थिए । 20 किनकि “यदि कुनै जनावरले त्यस पहाडलाई छोयो भने त्यसलाई ढुङ्गाले हान्‍नैपर्छ” भन्‍ने आज्ञालाई तिनीहरूले सहन सकेनन् । (नोटः केही पुरानो संस्करणमा लेखिएको छः एउटा जनावरले त्यस पहाडलाई छोयो भने, तापनि त्यसलाई ढुङ्गा वा तीरले हान्‍नैपर्छ) ।” 21 मोशाले भने कि त्यो दृश्य एकदमै डरलाग्दो थियो, “म डराएँ र म डरले काम्दै छु ।” 22 त्यसको सट्टामा, तिमीहरू सियोन पहाड र जीवित परमेश्‍वरको सहर स्वर्गीय यरूशलेम अनि दसौँ हजार स्वर्गदूतको उत्सवमा आएका छौ । 23 तिमीहरू स्वर्गमा नाउँ दर्ता गरिएका पहिले जन्मेकाहरूको सभामा, सबैका न्यायकर्ता परमेश्‍वरकहाँ, अनि सिद्ध पारिएका धर्मी जनका आत्माहरूकहाँ आएका छौँ । 24 अनि नयाँ करारका मध्यस्तकर्ता येशूकहाँ र हाबिलको रगतभन्दा अझ उत्तमसित बोल्ने रगतको छिट्काउमा आएका छौ । 25 हेर, तिमीहरूसित बोल्दै गर्नुहुनेलाई इन्कार नगर । किनकि यदि पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनेलाई इन्कार गर्नेहरू त उम्केनन् भने, स्वर्गबाट चेतावनी दिनुहुनेदेखि हामी तर्कीनेहरू झन् कसरी उम्कन सक्छौँ र ? 26 कुनै समय उहाँको आवाजले पृथ्वी हल्लायो । तर अहिले उहाँले प्रतिज्ञा गर्नुभयो र भन्‍नुभयो, “अझ एक पटक म पृथ्वी मात्र होइन, तर स्वर्गहरूलाई पनि हल्लाउनेछु ।” 27 “अझ एक पटक” भन्‍ने यी शब्दहरूको अर्थ हुन्छ कि हल्लाउन सकिने थोकहरू जो सृष्‍टि गरिएका छन्, सबै निकालिनेछन् र हल्लाउन नसकिने थोकहरू स्थिर रहनेछन् । 28 त्यसकारण, एउटा हल्लाउन नसकिने राज्य प्राप्‍त गरेकोमा हामी कृतज्ञ होऔँ र यस प्रकारले आदर र श्रद्धासाथ परमेश्‍वरलाई आराधना गरौँ । 29 किनकि हाम्रा परमेश्‍वर भस्म पार्ने आगो हुनुहुन्छ ।

13

1 भ्रातृ-प्रेम बनिरहोस् । 2 अपरिचितहरूलाई अतिथि सत्कार गर्न नबिर्स । किनकि थाहा नै नपाइकन कति जनाले स्वर्गदूतहरूको अतिथि सत्कार गरेका थिए । 3 तिमी आफैँ पनि कारागारमा तिनीहरूसँगै बाँधिएजस्तै सम्झना गर । जसले तिनीहरूलाई दुर्व्यवहार गरे तिमी पनि तिनीहरूको शरीरमा भएजस्तै तिनीहरूको सम्झना गर । 4 हरेकले विवाहलाई आदर गरोस् । विवाहको ओछ्यान नबिटुलियोस्, किनकि यौन दुराचारी मानिस र व्‍यभिचारीहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ । 5 तिमीहरूका चालचलनलाई रुपियाँ-पैसाको प्रेमबाट अलग राख । तिमीहरूसँग भएका थोकहरूमा सन्‍तुष्‍ट होओ । किनकि परमेश्‍वर आफैँले यसो भन्‍नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, न त म तिमीहरूलाई त्याग्‍नेछु ।” 6 हामी सन्तुष्‍ट होऔँ । त्यसकारण, हामी साहससाथ भन्‍न सक्छौँ, “परमप्रभु मेरा सहायक हुनुहुन्छ म डराउनेछैनँ । मानिसले मलाई के गर्न सक्छ र ?” 7 तिमीहरूलाई परमेश्‍वरको वचन सुनाउने तिम्रा अगुवाहरूलाई विचार गर, र तिनीहरूका रहनसहनको परिणामलाई विचार गर र तिनीहरूका विश्‍वासको देखासिखी गर । 8 येशू ख्रीष्‍ट हिजो, आज र सधैँभरि एक समान हुनुहुन्छ । 9 विभिन्‍न प्रकारका र अनौठा शिक्षाहरूले तिमीहरूलाई टाढा नलैजाओस् । तर भोजनसम्बन्धी विधिद्वारा जिउनेहरूलाई यसले केही सहायता गर्दैन, किनकि अनुग्रहद्वारा निर्माण भएको ह्रदय असल हुन्छ । 10 हामीसँग एउटा वेदी छ, जसबाट पवित्रस्‍थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन । 11 किनकि पाप क्षमाका निम्ति प्रधान पुजारीद्वारा पशुहरूको रगत पवित्रस्थानमा ल्याइन्थ्यो । तर तिनीहरूको शरीरलाई भने छाउनीबाहिर जलाइन्‍थ्‍यो । 12 त्यसकारण, येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई समर्पण गर्नका खातिर सहरको ढोकाबाहिर दुःख भोग्‍नुभयो । 13 त्यसैले, हामी पनि उहाँसँगै छाउनीबाहिर जाऔँ, र उहाँको निन्दामा सहभागी होऔँ । 14 किनकि हामीसँग यहाँ कुनै स्थायी सहर छैन । बरु, हामी आउनेवाला सहरको प्रतीक्षामा छौँ । 15 त्यसैले, उहाँद्वारा परमेश्‍वरलाई महिमा दिन हामी सधैँ बलिदान चढाऔँ, उहाँको नाउँलाई थाहा गर्दै महिमा दिनु हाम्रो ओठको फल हो । 16 अनि हामीले एक अर्कालाई भलाइ गर्न र सहायता गर्न नबिर्सौं । किनकि यस्तै बलिदानहरूसँग परमेश्‍वर अति प्रसन्‍न हुनुहुन्छ । 17 तिमीहरूका अगुवाहरूको अधीनमा बस र आज्ञा मान, किनभने जसले हिसाब दिनुपर्नेले जस्तै गरी तिनीहरूले तिमीहरूका आत्माको रेखदेख गर्दछन् । आज्ञा मान ताकि तिम्रा अगुवाहरूले आनन्‍दसाथ तिमीहरूको वास्ता गरून्, दुःखसँग होइन, जुन तिमीहरूका लागि प्रयोगयोग्य छैन । 18 हाम्रा लागि प्रार्थना गर, किनकि हामीमा सफा विवेक छ भनी निश्‍चित हुन सकौँ र सबै कुरामा ठिक प्रकारले जिउन सकौँ । 19 अझ धेरै काम गर भनेर म तिमीहरूलाई उत्साह दिन्छु । त्यसकारण, म तिमीहरूकहाँ चाँडै फर्केर आउनेछु । 20 अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूको अनन्त करारको रगतद्वारा मृत्‍युबाट जीवनमा ल्याउनुहुने शान्तिका परमेश्‍वरले, 21 उहाँको इच्‍छा पुरा गर्न तिमीहरू हरेकलाई सुसज्जित पारून् । परमेश्‍वरको दृष्‍टिमा जे कुरा ग्रहणयोग्य छ ख्रीष्‍ट येशूद्वारा त्यही गर । उहाँलाई नै सधैँभरि महिमा भइरहोस् । आमेन । 22 अब भाइहरू हो, म तिमीहरूलाई उत्साह दिन्छु, कि यी उत्साहका वचनहरूलाई पालन गर, जुन मैले छोटकरीमा तिमीहरूलाई लेखेको छु । 23 तिमीहरूलाई यो थाहा होस्, कि हाम्रा भाइ तिमोथी स्‍वतन्‍त्र पारिएका छन् । यदि उनी छिट्टै आए भने, म तिमीहरूलाई उनीसँगै देख्‍नेछु । 24 तिम्रा सबै विश्‍वासी र अगुवाहरूलाई अभिवादन गर । इटालियाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । 25 तिमीहरू सबैसँग अनुग्रह रहोस् ।