नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
१ पत्रुस
पत्रुसको पाहिलो पत्र
1

1 पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर रहेका परदेशीहरूलाई येशू ख्रीष्‍टका प्रेरित पत्रुसबाट । 2 येशू ख्रीष्‍टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू । तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्तिको वृद्धि होस् । 3 परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता धन्यको हुनुभएको होस् । उहाँको महान् दयामा मृतकहरूबाट येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा ईश्‍वरीय उत्तराधिकारको निश्‍चयतको लागि हामीलाई नयाँ जन्म दिनुभयो । 4 किनकि कहिल्यै नष्‍ट नहुने ईश्‍वरीय उत्तराधिकारमा कहिल्यै दाग लाग्दैन र यो कहिल्यै बिलाएर पनि जाँदैन । यो तिमीहरूका निम्ति स्वर्गमा संरक्षित छ । 5 अन्तिम समयमा प्रकट हुने उद्धारको निम्ति तिमीहरू विश्‍वासद्वारा परमेश्‍वरको शक्‍तिले सुरक्षित राखिएका छौ । 6 अहिले तिमीहरूले विभिन्‍न किसिमका धेरै कष्‍टको अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा रमाउँछौ । 7 तिमीहरूको विश्‍वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्‍वास आगोमा नष्‍ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य छ । येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूको विश्‍वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्‍न गरोस् भनेर यसो भएको हो । 8 तिमीहरूले उहाँलाई देखेका छैनौ, तर तिमीहरू उहाँलाई प्रेम गर्छौ । तिमीहरू अहिले उहाँलाई देख्‍दैनौ, तर तिमीहरू उहाँमा विश्‍वास गर्छौ र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिमीहरू धेरै खुसी छौ । 9 अहिले तिमीहरूले आफ्नै निम्ति तिमीहरूको विश्‍वासको प्रतिफल पाइरहेका छौ, जुनचाहिँ तिमीहरूका प्राणको मुक्ति हो । 10 अगमवक्ताहरूले तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा यही मुक्तिको विषयमा ध्यानसित खोजतलास गरेका थिए । 11 तिनीहरूले कस्तो प्रकारको मुक्ति आउँदै छ भनी खोजी गरे । तिनीहरूमा हुनुभएका ख्रीष्‍टका आत्माले कुन समयको विषयमा बोलिरहनुभएको छ भन्‍ने कुराको पनि तिनीहरूले खोजी गरे । यो कार्य त्यति बेला भइरहेको थियो जति बेला उहाँले अगाडिबाट नै तिनीहरूलाई येशू ख्रीष्‍टका कष्‍टहरू र त्यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्थ्यो । 12 यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए, तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि । यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको छ । यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्छा गर्छन् । 13 त्यसकारण, तिमीहरूका मनलाई बाँध । आफ्नो सोचाइमा संयमी होओ । येशू ख्रीष्‍ट तिमीहरूकहाँ प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा पूर्ण आशा राख । 14 आज्ञाकारी छोराछोरीहरू भएकाले तिमीहरूसँग अन्जान हुँदा तिमीहरूले पछ्याएका इच्छाहरूमा नचल । 15 तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू पनि आ-आफ्ना जीवनका सबै व्यवहारमा पवित्र होओ । 16 किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनकि म पवित्र छु ।” 17 जसले प्रत्येक व्‍यक्तिलाई उसको कामअनुसार भेदभाव नगरी न्याय गर्नुहुनेलाई तिमीहरू “पिता” भन्छौ भने, आफ्नो यात्राको समय आदरमा बिताओ । 18 तिमीहरूलाई थाहा छ, कि तिमीहरूले तिमीहरूका सांसारिक पिताहरूबाट सिकेका मूर्ख बानीहरूबाट नष्‍ट भएर जाने चाँदी वा सुनबाट छुटकारा पाएका होइनौ । 19 तर तिमीहरूले येशू ख्रीष्‍टको आदरयोग्य रगतद्वारा छुटकारा पाएका छौ, जो दोषरहित र दागरहित थुमा हुनुहुन्छ । 20 येशू संसारको जग बसालिनुभन्दा पहिले नै छानिनुभएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट हुनुभएको छ । 21 तिमीहरू उहाँद्वारा परमेश्‍वरमा विश्‍वास गर्छौ, जसलाई तिमीहरूका विश्‍वास र आशा परमेश्‍वरमा रहून् भनेर परमेश्‍वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो । 22 सत्यताको आज्ञाकारिताद्वारा निष्कपट भातृ-प्रेमको निम्ति तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ । त्यसैले, आफ्नो हृदयबाट एक-अर्कालाई प्रेम गर । 23 तिमीहरू नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्‍वरको वचनको अविनाशी वीर्यबाट । 24 किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका फुलजस्तै हुन् । घाँस सुक्छ र फुल ओइलाउँछ ।” 25 तर परमेश्‍वरको वचन सदासर्वदा रहिरहन्छ । सुसमाचारको रूपमा यही सन्देशलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो ।

2

1 त्यसकारण सबै दुष्‍ट्याइँ, छल, पाखण्डीपन, डाहा र बदख्वाइँलाई टाढै राख । 2 नवजात शिशुहरूले जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्यसबाट मुक्तिमा बढ्न सक, 3 यदि प्रभु भला हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ भने, 4 उहाँमा आओ, जो मानिसहरूद्वारा इन्कार गरिनुभएका जीवित पत्थर हुनुहुन्छ, तर त्यही पत्थर नै परमेश्‍वरबाट चुनिएको छ र उहाँका निम्ति बहुमूल्य पत्थर हुनुभएको छ । 5 तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पुजारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरूजस्तै हौ । 6 धर्मशास्‍त्रले भन्दछ, “हेर म सियोनमा एउटा कुने-ढुङ्गो बसाल्नेछु, जुन मुख्य, चुनिएको र बहुमूल्य हुनेछ । जसले उहाँमाथि विश्‍वास गर्छ, त्यो शर्ममा पर्नेछैन ।” 7 त्यसैले, तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूको निम्ति आदर छ । तर, “त्यो ढुङ्गो जसलाई निर्माणकर्ताहरूले इन्कार गरे त्यो नै कुनाको शिर-ढुङ्गा भयो ।” 8 र “एउटा ठक्‍कर लाग्‍ने ढुङ्गा र एउटा ठक्‍कर लाग्‍ने चट्टान ।” वचन उल्लङ्घन गरेको कारण तिनीहरू ठक्‍कर खान्छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए । 9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्‍चर्यकर्महरूको घोषणा गर्न सक । 10 तिमीहरू एक समय परमेश्‍वरका थिएनौ, तर अब परमेश्‍वरका प्रजाहरू हौ । तिमीहरूले कृपा पाएका थिएनौ, अहिले परमेश्‍वरको कृपा पाएका छौ । 11 हेर, तिमीहरूका आत्माको विरुद्धमा लडाइँ गर्ने पापमय इच्छाबाट टाढा रहनको निम्ति परदेशीहरू र प्रवासीहरूलाई झैँ म तिमीहरूलाई बोलाउँछु । 12 अरू जातिहरूका बिचमा तिमीहरूको व्यवहार असल होस् ताकि तिमीहरूले दुष्‍ट काम गरेका छौ भनेर तिनीहरूले भने तापनि तिमीहरूका राम्रा कामहरू देखेर तिनीहरूले उहाँको आगमनमा परमेश्‍वरको प्रशंसा गरून् । 13 प्रभुको खातिर सबै मानवीय अधिकारलाई स्वीकार गर चाहे ती सर्वोच्‍च राजा हुन्, 14 या शासकहरू जो नराम्रो काम गर्नेहरूलाई सजाय दिन र असल काम गर्नेहरूको प्रशंसा गर्न उत्साह दिन पठाइएका हुन् । 15 किनकि परमेश्‍वरको इच्छा यही हो कि असल काम गरेर तिमीहरूले मूर्ख मानिसहरूका अज्ञानतालाई चुप लगाउनुपर्छ । 16 स्वतन्त्र मानिसहरूझैँ तिमीहरूको स्वतन्‍त्रता दुष्‍टतालाई ढाक्‍नको निम्ति प्रयोग नगर, तर परमेश्‍वरका दासहरूजस्तै बन । 17 सबै मानिसको आदर गर । भातृत्वलाई प्रेम गर । परमेश्‍वरको भय मान । राजाको आदर गर । 18 कमारा हो, सम्पूर्ण आदरसाथ आफ्नो मालिकको अधीनमा बस; असल र भला मालिकहरूसँग मात्र होइन, तर दुष्‍टहरूसँग पनि । 19 किनकि कोही व्यक्‍तिको विवेक परमेश्‍वरप्रति भएको कारण उसले असल काम गरे पनि कष्‍ट सहन्छ भने त्यो परमेश्‍वरमा प्रशंसनीय कुरो हो । 20 यदि तिमीले पाप गरेर सहन्छौ भने त्यो कुन ठुलो कुरा भयो र ? तर यदि तिमीले असल गरेर पनि सहन्छौ भने त्यो परमेश्‍वरमा प्रशंसनीय हुनेछ । 21 यसैको निम्ति तिमीहरू बोलाइएका थियौ, किनकि तिमीहरूले उहाँका पाइला पछ्याओ भनेर ख्रीष्‍टले पनि दुःख भोग्‍नुभयो र तिमीहरूका निम्ति उदाहरण छोड्नुभयो । 22 उहाँले कुनै पाप गर्नुभएन, न उहाँका मुखमा कुनै छलको कुरो पाइयो । 23 उहाँको अपमान हुँदा उहाँले त्यसको बदला लिनुभएन । उहाँले दुःख भोग्‍नुहुँदा पनि आफैँलाई उचित न्याय गर्नुहुनेकहाँ सुम्पिनुभयो । 24 हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो । उहाँका चोटले तिमीहरू निको भएका छौ । 25 तिमीहरू सबै हराएका भेडाझैँ भौतारिँदै थियौ, तर अब तिमीहरू आत्माका गोठालो र संरक्षककहाँ फर्किएका छौ ।

3

1 यसरी नै पत्‍नीहरू हो, तिमीहरूका आ-आफ्ना पतिको अधीनमा रहो, ताकि यदि कोही वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्‍नीहरूको आचरणको कारण तिनीहरूलाई वचनैविना जित्‍न सकिन्छ । 2 किनकि तिनीहरूले तिमीहरूका शुद्ध आचरणलाई आफ्नो सम्मानको रूपमा देख्‍नेछन् । 3 यसको लागि केशको शृङ्गार, सुनका गरगहनाहरू, शृङ्गारका वस्‍त्रहरूजस्ता बाहिरी सजावट नगर । 4 तर तिमीहरूका भित्री हृदयबाट र सदैव रहने भलो र शान्त आत्माद्वारा परमेश्‍वरको दृष्‍टिमा अनमोल हुने किसिमले यसो गर । 5 किनकि पहिलेका पवित्र स्‍त्रीहरूले यसरी नै आफ्नो शृङ्गार गर्थे । तिनीहरूले परमेश्‍वरमा आशा राख्थे र आफ्ना पतिहरूका अधीनमा बस्दथे । 6 यसरी नै सारा अब्राहामप्रति आज्ञाकारी हुन्थिन् र तिनलाई “स्वामी” भनेर बोलाउँथिन् । अब यदि तिमीहरूले जे असल छ त्यही गर्‍यौ र समस्याहरूसँग डराएनौ भने तिमीहरू तिनकै छोरीहरू ठहरिन्छौ । 7 त्यसरी नै पतिहरू हो, आफ्ना पत्‍नीहरूलाई अबला र जीवनका वरदानहरू प्राप्‍त गर्ने साझेदार सम्झी तिनीहरूसँग बस । तिमीहरूका प्रार्थनामा अवरोध नहोस् भनेर यसो गर । 8 अन्त्यमा तिमीहरू सबै एकै मनका, दयावान्, भातृत्वलाई प्रेम गर्ने, कोमल हृदयका र नम्र होओ । 9 खराबीको बदला खराबी र अपमानको बदला अपमान नगर । तर त्यसको विपरीत निरन्तर आशीर्वाद देओ किनकि आशिष्‌मा सहभागी हुन सक भनेर तिमीहरू यसैको निम्ति बोलाइएका हौ । 10 “जसले आफ्नो जीवनलाई प्रेम गर्न चाहन्छ र असल दिनहरू देख्‍ने इच्छा गर्दछ उसले आफ्नो जिब्रोलाई खराबबाट र उसको ओठलाई छल कुरा गर्नबाट रोकोस् । 11 ऊ खराब कुराहरूबाट फर्की जे असल छ त्यही गरोस् । उसले शान्तिको खोजी गरोस् र त्यसैमा लागिरहोस् । 12 परमेश्‍वरका आँखाले धर्मी जनलाई देख्छन्; उहाँका कानले तिनीहरूका निवेदनहरू सुन्छन् । तर परमेश्‍वरको मुहार खराबी गर्नेहरूको विरुद्धमा हुन्छ ।” 13 तिमीहरूले असल गर्ने चाहना गर्दा तिमीहरूलाई कसले खराबी गर्छ ? 14 तर यदि तिमीहरू धार्मिकताको लागि सताइन्‍छौ भने तिमी आशिषित् हुनेछौ । तिनीहरू डराउने कुरादेखि तिमीहरू नडराओ । हतास नहोओ । 15 बरु, प्रभु येशूलाई पवित्र मानेर तिमीहरूका हृदयमा राख । तिमीहरू किन परमेश्‍वरमा आशा राख्छौ भनेर कसैले सोधेमा त्यसको जवाफ दिन सधैँ तयार बस ? यो काम नम्रता र आदरपूर्वक गर । 16 असल विवेक कायम राख ताकि ख्रीष्‍टमा तिमीहरूका असल जीवनको निन्दा गर्न खोज्‍नेहरू लाजमा परून्, किनकि तिनीहरूले दुष्‍ट मानिसहरूको रूपमा तिमीहरूको विरुद्धमा कुरा गरिरहेका छन् । 17 परमेश्‍वरले इच्छा गर्नुभयो भने तिमीहरूले खराब काम गरेर दुःख भोग्‍नुभन्दा असल काम गरेर दुःख भोग्‍नु असल हुन्छ । 18 ख्रीष्‍टले पनि पापका निम्ति एक पटक दुःख भोग्‍नुभयो । धर्मी भएर पनि उहाँले हामीलाई परमेश्‍वरमा ल्याउनको निम्ति हामी अधर्मीहरूका लागि दुःख भोग्‍नुभयो । उहाँले शारीरिक रूपमा मृत्यु वरण गर्नुभयो, तर उहाँ आत्मामा जीवित पारिनुभयो । 19 उहाँ आत्मामा जानुभयो र कैदमा परेका आत्माहरूलाई प्रचार गर्नुभयो । 20 नोआको समयमा जहाज बनाइँदा परमेश्‍वरले धैर्य गरेर पर्खिरहेको बेला तिनीहरू आज्ञाकारी भएनन्, र परमेश्‍वरले पानीबाट आठ जना आत्मा बचाउनुभयो । 21 यो अहिले तिमीहरूलाई बचाउने बप्‍तिस्माको एउटा सङ्केत हो जुनचाहिँ शरीरको फोहोर सफा गरेजस्तो नभई येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा परमेश्‍वरमा असल विवेकको निवेदनको रूपमा हो । 22 उहाँ परमेश्‍वरको दाहिने हातपट्टि हुनुहुन्छ । उहाँ स्वर्गमा जानुभयो । स्वर्गदूतहरू, अधिकारहरू र शक्‍तिहरू सबै उहाँमा झुक्‍नुपर्छ ।

4

1 यसैकारण, जसरी ख्रीष्‍टले शरीरमा कष्‍ट भोग्‍नुभयो, तिमीहरूले पनि त्यस्तै उद्देश्य धारण गर । जसले शरीरमा कष्‍ट भोगेको छ उसले पाप गर्न छोडेको हुन्छ । 2 यो व्यक्‍तिले अब उसो मानवीय अभिलाषामा होइन, तर आफ्नो बाँकी जीवन परमेश्‍वरको इच्छाको निम्ति जिउँछ । 3 किनकि अन्यजातिले इच्छा गरेजस्तो कामुकता, कुवासना, मद्यपान, मोजमज्‍जा, पियक्‍कडपन, असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरूमा धेरै समय खर्च भइसकेको छ । 4 तिमीहरू यी कुरामा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन् । त्यसैले, तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन् । 5 तिनीहरूले जीवित र मरेकाहरूको न्याय गर्न तयार हुनुहुनेलाई लेखा दिनेछन् । 6 त्यसैले, मरिसकेकाहरूलाई यो वचन प्रचारिएको थियो । शरीरमा मानिसको रूपमा तिनीहरूको न्याय गरिएको भए तापनि आत्मामा तिनीहरू परमेश्‍वरअनुसार जिऊन् । 7 सबै कुराको अन्त्य आउँदै छ । त्यसैले, आफ्नो मन ठिक ठाउँमा लगाओ र तिमीहरूका प्रार्थनाको खातिर आफ्नो विचारमा सचेत रहो । 8 सबै कुराभन्दा बढी एक-अर्कालाई उत्कट प्रेम गर, किनकि प्रेमले एक-अर्काको दोष पत्ता लगाउँदैन । 9 गनगन नगरी एक-अर्काको अतिथि सत्कार गर, 10 जसरी तिमीहरू हरेकले वरदान पाएका छौ । परमेश्‍वरले दिनुभएका सित्तैँका वरदानहरू उहाँको असल भण्डारेजस्तै एक-अर्काको सेवाको लागि प्रयोग गर । 11 यदि कोही बोल्‍छ भने उसले परमेश्‍वरको मुखबाट निस्केको कुरा बोलोस्; यदि कसैले सेवा गर्छ भने उसले परमेश्‍वरले दिनुहुने शक्‍तिमा गरोस्, ताकि सबै कुरामा ख्रीष्‍टद्वारा परमेश्‍वर महिमित हुनुभएको होस् । महिमा र शक्‍ति सदासर्वदा उहाँकै हुन् । आमेन । 12 प्रिय हो, तिमीहरूलाई जाँच गर्नको निम्ति कुनै अग्‍निमय परीक्षा आइपरेमा त्यसलाई अनौठो नसम्झ । 13 तर जति तिमीहरू ख्रीष्‍टको दुःख भोग्‍छौ, त्यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्द मनाउन सक्‍नेछौँ । 14 तिमीहरू ख्रीष्‍टको नाउँको कारण अपमानित भयौ भने तिमीहरू धन्यका हौ, किनकि महिमाका आत्मा र परमेश्‍वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ । 15 तर तिमीहरू कसैले पनि हत्यारा, चोर, खराबी गर्ने अथवा अर्काको कुरामा हात हाल्ने व्यक्‍तिको रूपमा दुःख भोग्‍नु नपरोस् । 16 तरै पनि ख्रीष्‍टियान भएको कारणले कसैले पीडा भोग्छ भने उसले लाज नमानोस्, तर त्यही नाममा परमेश्‍वरको महिमा गरोस् । 17 किनकि यो परमेश्‍वरको परिवारबाट न्याय सुरु हुने समय हो । अनि यदि न्याय हामीबाट सुरु हुन्छ भने, परमेश्‍वरको वचन नमान्‍नेको अवस्था कस्तो होला ? 18 अनि “धर्मी जनको उद्धारचाहिँ उसको कठिनाइले हुन्छ भने, अधर्मी र पापीको अवस्था के होला ?” 19 त्यसैले परमेश्‍वरको इच्छामा दुःख भोग्‍नेहरूले असल काम गर्दै आफ्नो आत्मा सृष्‍टिकर्तालाई सुम्पून् ।

5

1 सङ्गी-एल्डर र ख्रीष्‍टका कष्‍ट अनि प्रकट हुने महिमामा सहभागी भएको व्यक्‍तिको हैसियतले म तिमीहरूका माझमा भएका एल्डरहरूलाई आग्रह गर्दछु । 2 त्यसकारण, म एल्डरहरूलाई आग्रह गर्दछु, तिमीहरूका माझमा भएका परमेश्‍वरको बगालको हेरचाह गर, करले होइन तर तिमीहरूका आफ्नै र परमेश्‍वरको इच्छाअनुसार । बेइमानीपूर्वक कमाइने पैसाको लागि होइन, तर स्वेच्छाले । 3 तिमीहरूको हेरचाहमा रहेका मानिसहरूमाथि मालिकजस्तो व्यवहार नगर, तर बगालको लागि उदाहरण बन । 4 मुख्य गोठालो प्रकट हुनुहुँदा तिमीहरूले कहिल्यै नाश नहुने महिमित मुकुट पाउनेछौ । 5 त्यसै गरी, तिमी युवकहरू वृद्धहरूको अधीनमा बस । तिमीहरू सबैले विनम्रताको वस्‍त्र धारण गर र एक-अर्काको सेवा गर किनकि परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ । 6 त्यसकारण, आफैँलाई उहाँको शक्‍तिशाली बाहुलीमुनि नम्र तुल्याओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुभएको होस् । 7 तिम्रा सबै चिन्ता-फिक्री उहाँमा सुम्पिदेओ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ । 8 सचेत र जागा रहो । तिमीहरूको शत्रु दियाबलस कसैलाई भेटेर निल्नको निम्ति गर्जने सिंहझैँ खोजिरहेको छ । 9 त्यसको विरुद्धमा खडा होओ । तिमीहरूको विश्‍वासमा दह्रिलो बन । यो जान कि संसारमा भएका तिमीहरूका भाइहरूले पनि यस्तै कष्‍टहरू भोगिरहेका छन् । 10 तिमीहरूको केही समयको कष्‍टपछि तिमीहरूलाई ख्रीष्‍टमा उहाँको महिमामा बोलाउनुहुने सबै अनुग्रहका परमेश्‍वरले तिमीहरूलाई सिद्ध, स्थापित र बलियो बनाउनुहुनेछ । 11 सबै शक्‍ति सदा सर्वदा उहाँकै होस् । आमेन । 12 म सिलासलाई विश्‍वासयोग्य भाइको रूपमा लिन्छु र तिनीबाट मैले तिमीहरूलाई केही कुरा छोटकरीमा लेखेको छु । म तिमीहरूलाई आग्रह गर्छु र तिमीहरूलाई साक्षी दिन्छु कि मैले लेखेको कुरा परमेश्‍वरको साँचो अनुग्रह हो । त्यसमा खडा होओ । 13 तिमीहरूसँगै चुनिएकी बेबिलोनमा भएकीले र मेरो छोरो मर्कूसले तिमीहरूलाई अभिवादन पठाएका छन् । 14 प्रेमको पवित्र चुम्बनले एक-अर्कालाई अभिवादन गर । ख्रीष्‍ट येशूमा हुने तिमीहरू सबैलाई शान्ति होस् ।