नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
ओबदिया
ओबदियाको पुस्तक
1

1 ओबदियाले देखेका दर्शन । एदोमको विषयमा परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: “हामीले परमप्रभुबाट एउटा सन्देश सुनेका छौं, र जातिहरूका बिचमा एक जना राजदूतलाई यसो भनेर पठाइएको छ, ‘उठ! हामी युद्धको निम्ति त्यसको विरुद्धमा उठौं!’ 2 हेर्, म तिमीहरूलाई जाति-जातिका बिचमा सानो तुल्याउनेछु, तिमीहरू अति घृणित हुनेछौ । 3 ए चट्टानका छेदहरूमा, आ-आफ्ना अग्ला घरहरूमा बस्‍नेहरू हो । आ-आफ्ना हृदयमा यसो भन्‍नेहरू “कसले मलाई तल जमिनमा खसाल्‍छ र?” तिमीहरूको हृदयको घमण्डले तिमीहरूलाई धोका दिएको छ । 4 तिमीहरू गरूडझैं उचाइमा उडे पनि र तिमीहरूको गुँड ताराहरूका बिचमा भए पनि, तिमीहरूलाई त्यहाँबाट म तल ल्याउनेछु, परमप्रभु भन्‍नुहुन्छ । 5 तिमीहरूकहाँ चोरहरू आउँदा, रातमा डाँकुहरू आउँदा— तिमीहरूको कस्तो सर्वनाश होला!— के तिनीहरूले आफूलाई चाहिने जति मात्र चोरेर लाँदैनन् र? दाख बाटुल्‍नेहरू तिमीहरूकहाँ आए भने, तिनीहरूले अलिअलि सिलाहरू छोड्‍दैनन् र? 6 तर एसाव कसरी लुटिएको छ, त्यसका लुकाइएका धनसम्पत्तिको खोजिनेछ । 7 तेरा मित्रराष्‍ट्रका सबै मानिसहरूले तँलाई सिमाना कटाउनेछन् । तँसँग मिलापमा भएका मानिसहरूले तँलाई धोका दिएका छन्, र तेरो विरूद्धमा प्रबल भएका छन् । तेरो रोटी खानेहरूले नै तेरोमुनि पासो थापेका छन् । उसमा कुनै सुझबुझ नै छैन । 8 परमप्रभु भन्‍नुहुन्छ, “त्यो दिनमा के म एदोमबाट बुद्धिमान् मानिसहरूलाई र एसावका पहाडबाट समझदारलाई नाश गर्नेछैनँ र?” 9 ए तेमान, तेरा बलवान मानिसहरू निराश हुनेछन्, जसको कारणले एसावका पहाडबाट सबै मानिसहरू काटिएर सखाप हुनेछन् । 10 तेरो भाइ याकूबमाथि गरिएको क्रूरताको कारणले, तँ शर्ममा पर्नेछस्, र तँ सधैंको निम्ति नाश हुनेछस् । 11 तँ एक्‍लै खडा भएको दिनमा, अनजान मानिसहरूले त्यसको धन खोसेर लगेका र परदेशीहरू त्यसका मूल ढोकाहरूभित्र पसेका र यरूशलेमको निम्ति चिट्ठा हालेका दिनमा, तँ पनि तीमध्‍ये एकझैं थिइस् । 12 तर आफ्नो भाइको दुर्भाग्यको दिनमा हर्षित नहो, र यहूदाका मानिसहरूको विनाशको दिनमा तिनीहरूमाथि आनन्दित नहो । तिनीहरूको विपत्तिको दिनमा घमण्ड नगर् । 13 मेरा मानिसहरूको विपत्तिको दिनमा तिनीहरूका मूल ढोकाभित्र प्रवेश नगर् । तिनीहरूको आपदको दिनमा तिनीहरूको कष्‍टमाथि हर्षित नहो । तिनीहरूको विनाशको दिनमा तिनीहरूको धन-सम्पत्ति नलुट् । 14 त्यसका भगुवाहरूलाई काट्नलाई दोबाटोमा खडा नहो, र विपत्तिको दिनमा त्यसका बाँकी बचेकाहरूलाई नसुम्‍पी । 15 किनकि सबै जातिहरूमाथि परमप्रभुको दिन नजिकै छ । तैंले जस्तो गरेको छस्, तँलाई त्यस्तै गरिनेछ । तेरा कामहरू तेरो आफ्‍नै थाप्‍लोमा फर्किनेछन् । 16 किनकि जसरी तैंले मेरो पवित्र पर्वतमा पिएको छस्, त्‍यसरी नै सारा जातिहरूले त्यहाँ सधैं पिउनेछन् । तिनीहरूले पिउनेछन् र निल्‍नेछन् अनि तिनीहरू कहिल्यै अस्तित्वमा नभएझैं हुनेछन् । 17 तर भाग्‍न सफल भएकाहरू सियोन पर्वतमा रहनेछन् र त्यो पवित्र हुनेछ । अनि याकूबको घरानाले तिनीहरूका आ-आफ्ना सम्पत्तिको अधिकार गर्नेछन् । 18 याकूबको घराना आगो हुनेछ, र योसेफको घराना ज्वाला हुनेछ, र एसावको घराना झिंजाहरू हुनेछ, र तिनीहरूले त्यसलाई जलाउनेछन् र भस्म पार्नेछन् । एसावको घरानामा कोही पनि बाँच्‍नेछैन, किनकि परमप्रभुले नै यसो भन्‍नुभएको छ ।” 19 नेगेवका मानिसहरूले एसावको डाँडामा अधिकार गर्नेछन् र शेपेलाका मानिसहरूले पलिश्‍तीहरूको देशमा अधिकार गर्नेछन् । तिनीहरूले एफ्राइम र सामरियाका देशमा अधिकार गर्नेछन् । अनि बेन्यामीनले गिलादमा अधिकार गर्नेछ । 20 निर्वासनमा गएको इस्राएलका मानिसहरूको समुहले कनान देशदेखि सारपतसम्मका देश अधिकार गर्नेछ । सपारादमा भएका यरूशलेमका निर्वासितहरूले नेगेवका सहरहरूमा अधिकार गर्नेछन् । 21 उद्धार गर्नेहरू एसावको पहाडी देशमा शासन गर्नलाई सियोन पर्वतसम्म जानेछन्, र त्यो राज्य परमप्रभुको हुनेछ ।