नेपाली: Unlocked Literal Bible - Nepali Print

Updated ? hours ago # views See on WACS
लुका
लुकाले लेखेको सुसमाचार
1

1 धेरैले हाम्रा बिचमा घटेका र पुरा भएका यी घटनाहरूको विवरण लेख्‍ने प्रयास गरेका छन् । 2 तिनीहरूले यी कुरा हामीलाई भर्खरै सुम्‍पिदिए, जो सुरुदेखि नै प्रत्यक्षदर्शी र वचनका सेवकहरू भएका छन् । 3 सम्मानित थियोफिलस, त्यसैले मलाई पनि यी सबै कुराहरूलाई अनुसन्धान गरी ठिकसित क्रमबद्ध रूपमा सुरुदेखि घटेका घटनाहरूलाई लेख्‍न असल लाग्यो । 4 त्यसैले, तपाईंलाई सिकाइएको सत्‍यताबारे यी कुराहरू तपाईंलाई थाहा होस् । 5 यहूदाका राजा हेरोदको समयमा, त्यहाँ जकरिया नाउँ गरेका एक जना पुजारी थिए जो अबियाको कुलका थिए । उनकी पत्‍नी हारुन कुलकी छोरी थिइन् जसको नाउँ एलीशिबा थियो । 6 परमेश्‍वरको दृष्‍टिमा तिनीहरू दुवै धर्मी थिए । तिनीहरूले परमेश्‍वरका सबै आज्ञाहरू पालना गर्दथे र निर्दोष जीवन जिउँथे । 7 तर तिनीहरूको कुनै सन्तान थिएन, किनकि एलीशिबा बाँझी थिइन् र तिनीहरू दुवै जना वृद्ध भइसकेका थिए । 8 एक दिन आफ्नो कुलको पालोअनुसार जकरिया पुजारी सेवा गर्न परमेश्‍वरको उपस्थितिमा थिए । 9 त्यहाँको परम्पराअनुसार चिट्ठाद्वारा पुजारीहरू आफ्नो सेवा गर्ने पालोअनुसार परमप्रभुको मन्दिरभित्र धूप बाल्नलाई छानिन्थे । त्यसैले, उनको नाउँ पर्‍यो । 10 जब तिनी धूप बाल्दै थिए, बाहिर त्यही समयमा मानिसको पुरै भिडले प्रार्थना गरिरहेको थियो । 11 ठिक त्यसै बेला परमप्रभुका एउटा दूत उनीकहाँ देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए । 12 जब जकरियाले स्वर्गदूतलाई देखे, तब उनी साह्रै डराए र आत्तिए । 13 तर स्वर्गदूतले उनलाई भने, “जकरिया नडराऊ, किनकि तिम्रो प्रार्थनाको सुनाइ भएको छ । तिम्री पत्‍नी एलीशिबाले तिम्रो लागि एउटा छोरा जन्माउनेछिन् र तिमीले उनको नाउँ यूहन्‍ना राख्‍नेछौ । 14 तिमीमा खुसी र आनन्द हुनेछ र उनको जन्ममा धेरै मानिसहरू आनिन्दित हुनेछन् । 15 परमप्रभुको दृष्‍टिमा उनी महान् हुनेछन् र उनले दाखमद्य पिउनेछैनन् । उनी आमाको गर्भमा नै पवित्र आत्माले भरिनेछन् । 16 अनि उनले इस्राएलका धेरै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काउनेछन् । 17 उनी एलियाको आत्माको शक्‍तिमा परमप्रभुको अगि-अगि जानेछन् । उनले बुबाहरूको हृदय आफ्ना छोराछोरीतिर फर्काउनेछन् र अनाज्ञाकारीहरूलाई बुद्धि र धार्मिकतामा हिँडाउनेछन् । उनले मानिसहरूलाई परमप्रभुको निम्ति तयार गर्नका लागि त्यसो गर्नेछन् ।” 18 जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा पुरा हुनेछ भनी मैले कसरी थाहा पाउने ?” किनकि म बुढो भइसकेँ र मेरी पत्‍नी पनि बुढी भइसकिन् ।” 19 तब स्वर्गदूतले जवाफ दिए र उनलाई भने, म गब्रिएल हुँ, जो परमेश्‍वरको उपस्थितिमा उभिन्‍छु । तिम्रो निम्ति बोल्न र शुभ खबर दिन मलाई पठाइएको हो ।” 20 हेर, ती कुरा हुने समयसम्म तिमी शान्त रहनेछौ र बोल्न सक्‍ने छैनौ, किनकि तिमीले मेरो वचनमा विश्‍वास गरेनौ, जुन ठिक समयमा पुरा हुनेछ ।” 21 अनि जकरियाले लामो समयसम्म मन्दिरमा समय बिताइरहेकाले मानिसहरू अचम्म मान्दै पर्खिरहेका थिए । 22 तर, जब तिनी बाहिर आए, तब उनी तिनीहरूसँग बोल्न सकेनन् र उनले मन्दिरभित्र एउटा दर्शन देखे भनी तिनीहरूले महसुस गरे । उनले तिनीहरूलाई इसारा मात्र गरे, तर बोल्न सकेनन् । 23 जब तिनको सेवाको समय समाप्‍त भयो, तब तिनी आफ्नो घरमा फर्किए । 24 ती दिनहरूपछि, तिनकी पत्‍नी एलीशिबा गर्भवती भइन् । पाँच महिनासम्म उनले यसो भन्दै आफूलाई लुकाइन् । 25 “परमप्रभु परमेश्‍वरले मेरो लागि यो गर्नुभएको छ, उहाँले ममाथि निगाह गर्नुभयो र मानिसहरूका बिचबाट मेरो निन्दा हटाउनुभयो । 26 एलीशिबा गर्भवती भएको छैठौँ महिनामा, परमेश्‍वरले गालीलको सहर नासरतमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो । 27 परमेश्‍वरले तिनलाई एउटा कन्याकहाँ पठाउनुभयो जसको योसेफ भन्‍ने मानिससँग मगनी भएको थियो । तिनी दाऊदका वंशका थिए र कन्याको नाउँ मरियम थियो । 28 उनी तिनीकहाँ आए र भने, “तिमीलाई अभिवादन ! तिमीले परमेश्‍वरबाट धेरै निगाह पाएकी छ्यौ ।” 29 तर उनको वचन सुनेर तिनले यो कस्तो प्रकारको अभिवादन हो भनी तिनी विचलित भइन् र चकित परिन् । 30 तब स्वर्गदूतले उनलाई भने, “मरियम, तिमी नडराऊ । किनकि तिमीले परमेश्‍वरबाट निगाह प्राप्‍त गरेकी छ्यौ । 31 हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ । तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्यौ । 32 उहाँ महान हुनुहुनेछ र उहाँ सर्बोच्च परमेश्‍वरको पुत्र भनेर चिनिनु हुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पिता दाऊदको सिंहासन दिनुहुनेछ । 33 उहाँ महान् हुनुहुनेछ र उहाँ सर्वोच्‍च परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ । 34 तब मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ जब कि अहिलेसम्म म कुनै मानिससँग सुतेकै छैन ?” 35 अनि स्वर्गदूतले जवाफ दिए, र उनलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्‍चका परमेश्‍वरको शक्‍तिले तिमीलाई ढाक्‍नेछ । त्यसैले, जो पवित्र जन्मनुहुनेछ उहाँलाई परमेश्‍वरका पुत्र भनेर बोलाइनेछ । 36 अनि हेर, तिम्री नातेदार एलीशिबाले पनि उनको वृद्धावस्थामा एउटा छोरा जन्माउन गर्भवती भएकी छन् । उनलाई बाँझी भनिए तापनि उनी अहिले ६ महिनाको गर्भवती अवस्थामा छिन् । 37 परमेश्‍वरको लागि कुनै पनि कुरा असम्भव हुनेछैन ।” 38 मरियमले भनिन्, “हेर, म परमप्रभुकी दासी एक स्‍त्री हुँ । तपाईंको सन्देशअनुसार नै मेरो निम्ति होस् ।” त्यसपछि स्वर्गदूत उनीबाट बिदा भए । 39 त्यसपछि मरियम ती दिनहरूमा हतारिँदै यहूदाको पहाडी देशको एउटा सहरमा गइन् । 40 जहाँ उनी जकरियाको घरमा गइन् र एलीशिबालाई अभिवादन गरिन् । 41 जब एलीशिबाले मरियमको अभिवादन सुनिन्, उनको गर्भमा भएको बालक उफ्रियो र एलीशिबा पवित्र आत्माले भरिइन् । 42 तिनले ठुलो आवाजले उनलाई यसो भनिन्, “स्‍त्रीहरूमा तिमी धन्यकी हौ र तिम्रो गर्भको फल धन्यको होस् ।” 43 तब यो कसरी हुन कि सक्छ मेरा प्रभुकी आमा मकहाँ आउनुभयो ? 44 तब हेर, जब तिम्रो अभिवादनको आवाज मेरो कानमा आयो, मेरो गर्भमा भएको बालक आनन्दले उफ्रियो । 45 अनी जसले विश्‍वास गरेकी छिन्, धन्यकी हुन् किनकि जुन कुराहरू उनलाई परमप्रभुबाट भनिएको थियो ती पुरा हुनेछन् ।” 46 मरियमले भनिन्, “मेरो प्राण परमभुमा आनन्दित छ । 47 र मेरो आत्मा परमप्रभु मेरो उद्धारकमा आनन्दित हुँदछ । 48 किनकि उहाँले आफ्नी दासी स्‍त्रीको नीच अवस्थामा ध्यान दिनुभएको छ । अब हेर, अहिलेबाट सबै पुस्ताहरूले मलाई धन्यकी भन्‍नेछन् । 49 किनकि सर्वशक्‍तिमान्‌ले मेरो लागि महान् कार्य गर्नुभएको छ, र उहाँको नाउँ पवित्र छ । 50 जसले उहाँलाई आदर गर्छ, एउटा पुस्तादेखि एर्को पुस्तसम्म उहाँको दया रहिरहन्‍छ । 51 उहाँका बाहुलीले शक्‍तिशाली कामहरू गरेका छन् । आफ्नो हृदयमा घमण्ड विचार भएकाहरूलाई उहाँले तितर-बितर पार्नुभएको छ । 52 उहाँले राजकुमारहरूलाई तिनीहरूका सिंहासनबाट खसाल्नुभएको छ । अनि तल्लो अवस्थाकाहरूलाई उठाउनुभएको छ । 53 उहाँले भोकाहरूलाई असल थोकहरूले भरिदिनुहुन्छ, तर धनीहरूलाई रित्तै हात पठाउनुहुन्छ । 54 त्यसकारण, आफ्नो दयालाई सम्झना गरेर, उहाँले आफ्नो दास इस्राएललाई सहायता दिनुभएको छ । 55 जसरी उहाँले हाम्रा पुर्खाहरूलाई भनेजस्तै, अब्राहाम र उनका वंशसँग सदासर्वदा गर्नुहुनेछ ।” 56 मरियम झन्डै तिन महिना एलीशिबासँग बसिन् र अनि आफ्नो घरमा फर्किन् । 57 अब एलीशिबाको बालक जन्माउने बेला आयो, र तिनले एउटा छोरा जन्माइन् । 58 जब तिनका छिमेकी र नातेदारहरूले परमप्रभुले तिनीमाथि महान् दया गर्नुभएको कुरा सुने, तब उनीहरू तिनीसँग आनन्दित भए । 59 अब बालक जन्मेको आठौँ दिनमा तिनीहरू बालकको खतना गर्न गए र तिनीहरूले उनलाई आफ्ना पिताको नाउँबाट नै जकरिया भनेर बोलाउन सक्थे । 60 तर उनकी आमाले जवाफ दिएर भनिन्, “होइन, उनलाई यूहन्‍ना भनेर बोलाइनेछ ।” 61 तिनीहरूले तिनलाई भने, “तिम्रा नातेदारहरूका बिचमा यो नाउँ भएको त्यहाँ कोही पनि छैन ।” 62 तिनीहरूले उनको बुबासँग इसारा गरेर बालकको नाउँ के राख्‍न चाहेका छन् भनेर तिनलाई सोधे । 63 उनले लेख्‍नका लागि पाटी मागे, र त्यसमा “तिनको नाउँ यूहन्‍ना हो” भनेर लेखे । त्यो देखेर तिनीहरू सबै अचम्मित भए । 64 तुरुन्तै उनको मुख खुल्यो र जिब्रोको बन्धन टुट्यो, अनि तिनले बोल्न सुरु गरे र परमेश्‍वरको प्रशंसा गरे । 65 तिनीहरूका वरिपरि बस्‍नेहरूको बिचमा भय उत्पन्‍न भयो र त्यहाँ भएका कुराहरू यहूदाको पहाडी मुलुकभरि नै फैलियो । 66 त्यसपछि यी कुरा सुन्‍ने सबैले आफ्नो हृदयमा राख्‍दै भने, “त्यसो भए, अब यो बालक कस्तो हुनेछ ?” किनकि परमप्रभुको हात त्यस बालकसँग थियो । 67 उनका पिता जकरिया पवित्र आत्माले भरिए र यसो भन्दै अगमवाणी गरे, 68 “इस्राएलका परमप्रभु परमेश्‍वरको प्रशंसा होस्, किनभने उहाँले आफ्ना मानिसहरूका लागि सहायता र उद्धारको काम गर्नुभएको छ । 69 उहाँले हाम्रा निम्ति मुक्‍तिको सिङ्लाई उहाँका दास दाऊदको घरानाबाट शक्‍तिशाली रूपमा खडा गर्नुभएको छ । 70 प्राचीन कालमा उहाँका पवित्र अगमवक्‍ताहरूका मुखद्वारा बोल्नुभए झैँ भयो । 71 उहाँले हाम्रा शत्रुहरू र हामीलाई घृणा गर्नेहरूबाट छुटकारा दिनुहुनेछ । 72 यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्नलाई गर्नुभएको छ । 73 त्यो करारचाहिँ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको शपथ हो । 74 उहाँले हामीलाई हाम्रा शत्रुहरूका हातबाट मुक्‍त गर्न र उहाँको सम्मुख हाम्रो सारा जीवनभर 75 पवित्रता र धार्मिकतामा उहाँको सेवा गर्नलाई योग्यको बनाउने शपथ खानुभयो । 76 हो, बालक तिमी, सर्वोच्‍चका अगमवक्‍ता कहलाइनेछौ, किनभने तिमी मानिसहरूका निम्ति मार्ग तयार पार्न प्रभुको अगि-अगि जानेछन् । 77 तिनीहरूका पाप-क्षमाद्वारा उहाँले आफ्ना मानिसहरूलाई मुक्‍तिको ज्ञान दिनुभएको छ । 78 हाम्रा परमेश्‍वरले उहाँको कोमल कृपाको कारणले हामीलाई क्षमा गर्नुहुनेछ । यही कृपाद्वारा उहाँ हामीकहाँ बिहानको सूर्यझैँ आउनुहुनेछ । 79 मृत्युको अन्धकारको छायाँमा बस्‍ने मानिसहरूमाथि उहाँ चम्कनुहुनेछ । उहाँले हाम्रा गोडाहरूलाई शान्तिको मार्गतिर डोर्‍याउनुहुन्छ ।” 80 त्यसपछि बालक हुर्के र आत्मामा बलियो भए, र उनी इस्राएलमा देखा नपरेसम्म उजाड-स्थानमा नै बसे ।

2

1 ती दिनहरूमा रोमी साम्राज्यभित्र बस्‍ने सबै जनाको जनगणना गर्नू भनी कैसर अगस्टसले उर्दी जारी गरे । 2 कुरेनियस सिरियाका हाकिम हुँदाको यो पहिलो जनगणना थियो । 3 त्यसैले, सबै जना आ-आफ्ना गाउँमा जनगणनाका लागि नाउँ दर्ता गर्न गए । 4 योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेममा गए, जुन ठाउँ दाऊदको सहरको नामले चिनिन्‍थ्‍यो, किनभने उनी दाऊदको वंशका थिए । 5 उनी मरियमसँगै दर्ता गर्न त्‍यहाँ गएका थिए, जससँग उनको मगनी भएको थियो र तिनले एउटा बालकको आशा गरेका थिए । 6 तिनीहरू त्यहीँ छँदा मरियमको बालक जन्माउने समय आयो । 7 उनले आफ्नो पहिलो छोरा जन्माइन्, र कपडाले बेह्रिन् अनि जनावरहरूले खाने ठाउँमा राखिन् । किनभने तिनीहरूका निम्ति धर्मशालामा कुनै ठाउँ थिएन । 8 त्यस इलाकाको चौरमा राती आ-आफ्ना भेडाका रखवाली गर्दै गोठालाहरू बसिरहेका थिए । 9 एक्‍कासि, तिनीहरूकहाँ परमप्रभुका एउटा दूत देखा परे, र तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्किरहेको थियो, र तिनीहरू साह्रै भयभीत भए । 10 तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ, किनभने आज म तिमीहरूलाई बडो आनन्दको सुसमाचार घोषणा गर्छु, जसले सबै मानिसहरूलाई ठुलो आनन्द दिनेछ । 11 आज तिमीहरूका निम्ति दाऊदको सहरमा एउटा मुक्‍तिदाताको जन्म भएको छ । उहाँ ख्रीष्‍ट प्रभु हुनुहुन्छ । 12 तिमीहरूलाई चिह्नचाहिँ यो दिइएको छ, कि तिमीहरूले बालकलाई कपडाले बेह्रेरेर जनावरहरूलाई खुवाउने डुँडमा सुताइरहेको भेट्टाउनेछौ ।” 13 एक्‍कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा ठुलो दल देखा पर्‍यो र तिनीहरूले यसो भन्‍दै परमेश्‍वरको प्रंशसा गरे । 14 “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्छ, तिनीहरूलाई शान्ति ।” 15 जब परमप्रभुका स्वर्गदूतहरू स्वर्ग फर्के, तब गोठालाहरूले एक-अर्कालाई भने, “परमप्रभुबाट हामीलाई प्रकट गरिएको र घटेको यस घटनालाई बताउन बेथलेहेममा जाऊँ र हेरौँ ।” 16 तब तिनीहरू हतार-हतार गर्दै त्यहाँ गए, अनि योसेफ र मरियमलाई भेटे । तिनीहरूले बालकलाई दाना खुवाउने डुँडमा सुताइरहेको देखे । 17 तिनीहरूले यसलाई देखे पछि, बालकको बारेमा बताइएका सबै कुरा मानिसहरूलाई बताए । 18 गोठालाहरूद्वारा भनिएका कुरा सुन्‍नेहरू जति सबै जना आश्‍चर्य चकित भए । 19 तर मरियमले सुनेका सबै कुराहरूको बारेमा सोच्दै गरिन् र उनले आफ्नो मनमै राखिन् । 20 तिनीहरूलाई भनेअनुसार सुनेका र देखेका हरेक कुराका निम्ति परमेश्‍वरलाई महिमा दिँदै र प्रशंसा गर्दै फर्के । 21 जब आठौँ दिन भयो, तब बालकको खतना गर्ने समय भयो । तिनीहरूले उहाँको नाउँ येशू राखे, जुन नाउँ स्वर्गदूतद्वारा उहाँ गर्भधारण हुनुभन्दा अगि दिइएको थियो । 22 मोशाको व्यवस्थाअनुसार तोकिएका शुद्धिकरणका दिनहरू सकिएपछि, योसेफ र मरियमले सानो बालकलाई परमप्रभुको उपस्थितिमा यरूशलेममा ल्याए । 23 परमप्रभुको व्यवस्थामा लेखिएझैँ “पहिलो जन्मेको प्रत्येक पुरुष परमप्रभुमा अर्पण गर्नुपर्थ्यो ।” 24 तिनीहरूले परमप्रभुको व्यवस्थामा भनेअनुसार “एक जोडी ढुकुर र दुईवटा परेवा बलिदान चढाउन लिएर आए ।” 25 हेर, यरूशलेममा एक जना सिमियोन नाउँ गरेका व्यक्‍ति थिए । उनी धर्मी र ईश्‍वरभक्‍त मानिस थिए । उनले इस्राएलका सान्त्वना दाताको प्रतीक्षा गरिराखेका थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्‍यो । 26 पवित्र आत्माद्वारा उनलाई यो प्रकट गराइएको थियो कि परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्म उनको मृत्यु हुनेछैन । 27 एक दिन तिनी मन्दिरमा पवित्र आत्माको अगुवाइमा आए । व्यवस्थाले जे माग गरेको थियो, त्यो पुरा गर्न आमाबुबाद्वारा बालक येशूलाई मन्दिरमा ल्याइयो । 28 त्यसपछि शिमियोनले बालक येशूलाई काखमा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने, 29 “तपाईंको वचनअनुसार, अब हे परमप्रभु, आफ्ना दासलाई शान्‍तिसँग बिदा दिनुहोस् । 30 किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्, 31 जुन तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार गर्नुभएको छ । 32 तपाईंका जन इस्राएलीहरूका महिमा र अन्यजातिहरूलाई प्रकाश दिने ज्योति हुनुहुन्छ ।” 33 बालकका बुबाआमा बालकका विषयमा भनिएका कुरामा अचम्मित भए । 34 त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, “होसियारीसँग सुन, यो बालक इस्राएलमा धेरैको उत्थान र पतनका निम्ति र धेरैको विरुद्धमा बोलिने चिह्नको निम्ति नियुक्‍त गरिएको छ । 35 साथै तरवारले तिम्रो आफ्नै प्राण छेड्नेछ, ताकि धेरैका हृदयका विचारहरू प्रकट होऊन् ।” 36 एक जना हन्‍ना नामकी अगमवादिनी पनि त्यहाँ थिइन् । उनी आशेर कुलकी फनुएलकी छोरी थिइन् । उनी धेरै वृद्ध भइसकेकी थिइन् । विवाहपछि उनी जम्मा सात वर्ष आफ्ना पतिसँग बसेकी थिइन् । 37 त्यसपछि उनी चौरासी वर्ष विधवा नै रहिन् । उनले मन्दिर कहिल्यै नछोडी निरन्तर दिनरात प्रार्थना र उपवास गर्दै परमेश्‍वरको आराधना गर्दै रहिन् । 38 त्यही समयमा उनी त्यहाँ आइन् र परमेश्‍वरलाई धन्यवाद चढाउन थालिन् । यरूशलेमको उद्धार पर्खिरहेका हरेकलाई उनले बालकको बारेमा बताइन् । 39 परमप्रभुको व्यवस्थाले बताएबमोजिम जब तिनीहरूले सबै काम सिद्धयाए, उनीहरू आफ्नै सहर गालीलको नासरतमा फर्के । 40 बालक बुद्धिमा र कदमा बढ्दै जानुभयो, र परमप्रभुको अनुग्रह उहाँमाथि थियो । 41 उहाँका आमाबुबा निस्तार-चाड मनाउनका निम्ति हरेक वर्ष यरूशलेममा जान्थे । 42 जब उहाँ बाह्र वर्षको हुनुहुन्‍थ्‍यो, तिनीहरू सधैँझैँ चाड मनाउनका निम्ति फेरि गए । 43 चाडका पुरा दिनहरू त्यहाँ बिताएपछि तिनीहरू आफ्ना घर फर्किन थाले, तर बालक येशू यरूशलेममा नै रहनुभयो जुन कुरा उहाँका बुबाआमालाई थाहा थिएन । 44 तर तिनीहरूले बालक येशू यात्रीहरूकै दलमा हुनुहुन्छ भनी विचार गरे र एक दिनको यात्रा गरी सिद्धायाए । त्यसपछि उनीहरूले उहाँलाई नातेदार र साथीहरूको बिचमा खोज्‍न थाले । 45 जब उनीहरूले उहाँलाई भेट्टाएनन्, यरूशलेममा फर्केर उहाँलाई खोज्‍न थाले । 46 तिन दिनपछि, उनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा सुन्दै र तिनीहरूलाई प्रश्‍न गर्दै गरेको भेट्टाए । 47 जतिले उहाँका कुरा सुन्थे, उहाँको समझशक्‍ति र जवाफमा आश्‍चर्य चकित हुन्थे । 48 जब उनीहरूले उहाँलाई देखे, तब अचम्मित भए । उहाँकी आमा मरियमले उहाँलाई भनिन् “छोरा, किन तिमीले हामीसँग यस्तो व्यवहार गर्‍यौ ? सुन ! तिम्रा बुबा र मैले कति चिन्तित हुँदै तिमीलाई खोजिरहेका थियौँ ।” 49 उहाँले उनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनुभएको ? म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा छैन ?” 50 तर उहाँले उनीहरूलाई के भन्‍नुभएको थियो भनी उनीहरूले बुझ्‍न सकेनन् । 51 त्यसपछि उहाँ तिनीहरूसँग आफ्नो घर नासरत फर्कनुभयो र आज्ञाकारी भई रहनुभयो । उहाँकी आमाले यी सबै कुरा मनमै राखिन् । 52 तर येशू बुद्धिमा, कदमा र परमेश्‍वर अनि मानिसको निगाहमा निरन्तर बढ्दै जानुभयो ।

3

1 कैसर तिबेरियसको पन्ध्रौँ वर्षमा, जति बेला पन्तियस पिलातस यहूदियाका शासक थिए, हेरोद गालीलका शासक र उनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए । लुसानियास अबिलेनेका शासक थिए । 2 हन्‍नास र कैयाफा प्रधान पुजारी भएको समयमा, जकरियाका छोरा यूहन्‍नाकहाँ उजाड-स्थानमा परमेश्‍वरको वचन आयो । 3 उनले पाप क्षमाका निम्ति बप्‍तिस्माको प्रचार गर्दै यर्दन नदी वरपरिका क्षेत्रहरूमा प्रचार गर्दै हिँडे । 4 जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “उजाड-स्थानमा कसैको आवाजले बोलाइरहेको छ, प्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझो बनाऊ । 5 हरेक उपत्यका बनाइनेछ, हरेक पहाड र डाँडाहरू समतल पारिनेछ, बाङ्गा बाटाहरू सोझो हुन आउनेछन् र नराम्रा बाटोहरू राम्रा बनाइनेछन् । 6 सबै मानिसहरूले परमेश्‍वरको उद्धारलाई देख्‍नेछन् ।” 7 यसकारण, यूहन्‍नाले उनीकहाँ बप्‍तिस्‍मा लिन आइरहेको ठुलो भिडलाई भने, “हे विषालु सर्पका सन्तान हो, कसले तिमीहरूलाई परमेश्‍वरको आउँदै गरेको क्रोधबाट भाग्‍नलाई चेताउनी दियो ? 8 पश्‍चात्ताप योग्यको फल फलाओ र आफ्नो मनमा हाम्रा पिता त अब्राहाम हुन् भन्‍न छोड, किनभने परमेश्‍वरले यी चट्टानहरूबाट पनि अब्राहामको निम्ति सन्तान खडा गर्न सक्‍नुहुन्छ । 9 रुखहरूको जरामा बन्चरो परिसकेको छ । त्यसैले, असल फल नफलाउने हरेक रुख काटिनेछ र आगोमा फालिनेछ ।” 10 तब भिडबाट मानिसहरूले यसो भन्दै सोधे, “त्यसो भए हामीले के गर्ने त ?” 11 उनले तिनीहरूलाई जवाफ दिए, “दुई जोर दौरा हुनेले नहुनेलाई दिओस् । त्यसै गरी, जससँग खानेकुरा छ, त्यसले नहुनेलाई दिओस् ।” 12 त्यसपछि केही कर उठाउनेहरू पनि उनीकहाँ बप्‍तिस्मा लिन आए र भने, “गुरु, हामीले के गर्ने नि ?” 13 उनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूले उठाउनुपर्ने भन्दा बढी पैसा नउठाउनू ।” 14 केही सिपाहीहरू पनि आएर सोधे, “हाम्रो बारेमा नि ? हामीले के गर्ने ?” उनले तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूबाट जबरजस्ती पैसा नलेओ र कसैलाई पनि झुटो दोष नलगाओ, तर आफ्ना तलबमा नै सन्तुष्‍ट होओ ।” 15 तब मानिसहरूले ख्रीष्‍ट आउनुहुन्छ भनेर उत्सुकतासाथ प्रतीक्षा गरिरहेका थिए, कतै यूहन्‍ना नै पो ख्रीष्‍ट हुन् कि भनेर हरेकको मनमा दोधार भइरहेको थियो । 16 यूहन्‍नाले तिनीहरू सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु, तर मभन्दा अर्का शक्‍तिशाली व्यक्‍ति आउनुहुन्छ, जसको जुत्ताको फित्ता फुकाल्न पनि म योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ । 17 उहाँको खला सफा गर्न र अन्‍नलाई भण्डारमा जम्मा गर्नलाई उहाँको हातमा निफन्‍ने नाङ्लो छ । तर उहाँले भुसलाई चाहिँ कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ । 18 उहाँले मानिसहरूलाई अझ धेरै उत्साह दिँदै सुसमाचार प्रचार गर्नुभयो । 19 यूहन्‍नाले हेरोदलाई उनका भाइकी पत्‍नी हेरोदियासलाई विवाह गरेको साथै उनले गरेको अन्य खराबीहरूका निम्ति पनि हप्काए । 20 तर हेरोदले अझ बढी दुष्‍ट काम गरे । किनभने उनले यूहन्‍नालाई जेलमा हालेका थिए । 21 यूहन्‍नाले मानिसहरूलाई बप्‍तिस्‍मा दिँदै गर्दा, येशूलाई पनि बप्‍तिस्‍मा दिइयो । जब उहाँले प्रार्थना गर्दै हुनुहुन्‍थ्‍यो, तब स्वर्ग खुल्यो । 22 पवित्र आत्मा उहाँमाथि ढुकुरजस्तै ओर्लनुभयो । त्यसै बेला स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, म तिमीसँग प्रसन्‍न छु ।” 23 येशूले आफैँ सिकाउन सुरु गर्नुहुँदा उहाँ तिस वर्षको हुनुहुन्थ्यो । उहाँ योसेफका छोरा (जस्तो सोचिएको थियो) हुनुहुन्थ्यो, योसेफ एलीका छोरा थिए । 24 मत्तातका छोरा एली, लेवीका छोरा मत्तात, मल्कीका छोरा लेवी, यान्‍नाका छोरा मल्की, योसेफका छोरा यान्‍ना, 25 मत्ताथियासका छोरा योसेफ, आमोसका छोरा मत्ताथियास, नहूमका छोरा आमोस, इसलीका छोरा नहूम र इसली नग्गैका छोरा थिए, 26 माथका छोरा नग्गै, मत्ताथियासका छोरा, माथ मत्ताथियासका छोरा, सेमैनका छोरा मत्ताथियास, योसेखका छोरा सेमैन, योदाका छोरा योसेख थिए, 27 योआनानका छोरा योदा, रेसाका छोरा योआनान, यरुबाबेलका छोरा रेसा, शालतिएलका छोरा यरुबाबेल, नेरीका छोरा शालतिएल, 28 मल्कीका छोरा नेरी, अद्दीका छोरा मल्की, कोसामका छोरा अद्दी, एलमादमका छोरा कोसाम, एर्‍का छोरा एलमादम थिए, 29 यहोशूका छोरा एर्, एलिएजरका यहोशू, योरीमका छोरा एलिएजर, मत्तातका छोरा योरीम, लेवीका छोरा मत्तात थिए, 30 शिमियोनका छोरा लेवी, यहूदाका छोरा शिमियोन, योसेफका छोरा यहूदा, योनानका छोरा योसेफ, एल्याकीमका छोरा योनान, 31 मलेआका छोरा एल्याकीम, मिन्‍नाका छोरा मलेआ, मत्ताथाका छोरा मिन्‍ना, नातानका छोरा मत्ताथा, दाऊदका छोरा नातान, 32 यिशैका छोरा दाऊद, ओबेदका छोरा यिशै, बोअजका छोरा ओबेद, सल्मोनका छोरा बोअज, नहशोनका छोरा सल्मोन, 33 अम्मीनादाबका छोरा नहशोन, आरामका छोरा अम्मीनादाब, हेस्रोनका छोरा आराम, फारेसका छोरा हेस्रोन, यहूदाका छोरा फारेस, 34 याकूबका छोरा यहूदा, इसहाकका छोरा याकूब, अब्राहामका छोरा इसहाक, तेरहका छोरा अब्राहाम, नाहोरका छोरा तेरह, 35 सरूगका छोरा नाहोर रऊका छोरा सरूग, पेलेगका छोरा रऊ, एबेरका छोरा पेलेग, शेलहका छोरा एबेर, 36 केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ, 37 मतूशेलहका छोरा लेमेख, हनोकका छोरा मतूशेलह, येरेदका छोरा हनोक, महलालेलका छोरा येरेद, केनानका छोरा महलालेल, 38 एनोशका छोरा केनान, शेतका छोरा एनोश, आदमका छोरा शेत आदम परमेश्‍वरका छोरा थिए ।

4

1 तब पवित्र आत्माले भरिएर येशू यर्दन नदीबाट फर्कनुभयो, अनि आत्माद्वारा उजाड-स्थानमा डोर्‍याइनुभयो । 2 त्‍यहाँ उहाँ चालिस दिनसम्म दियाबलसद्वारा परीक्षामा पर्नुभयो । ती दिनहरूमा उहाँले केही पनि खानुभएको थिएन, र त्‍यो समयको अन्त्‍यमा उहाँ भोकाउनुभएको थियो । 3 तब शैतानले येशूलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यो ढुङ्गालाई रोटी हुन आज्ञा दिनुहोस् ।” 4 येशूले जवाफ दिनुभयो, “लेखिएको छ, मानिस रोटीले मात्र बाँच्‍न सक्दैन ।” 5 त्यसपछि, शैतानले उहाँलाई उच्‍च स्थानमा लगेर संसारका सबै राज्यहरूलाई छिनभरमै देखायो । 6 शैतानले उहाँलाई भन्यो, “म तपाईंलाई यी सबै राज्यहरू र यसको वैभवमाथि शासन गर्ने अधिकार दिनेछु । म यो गर्न सक्छु, किनकि यी सबैमाथि शासन गर्ने अधिकार मलाई दिइएको छ, मैले जसलाई चाहन्छु त्यसलाई दिन सक्छु । 7 यसकारण यदि तपाईंले मलाई दण्डवत् गरी आराधना गर्नुभयो भने, यी सबै तपाईंकै हुनेछन् ।” 8 तर येशूले जवाफ दिनुभयो र त्‍यसलाई भन्‍नुभयो, “लेखिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्‍वरको मात्र आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू ।” 9 त्यसपछि शैतानले येशूलाई यरूशलेम मन्‍दिरको उच्‍च स्थानको टुप्‍पामा लगेर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम्फाल्नुहोस् । 10 किनभने लेखिएको छ, तपाईंको सुरक्षा र वास्ता गर्न ‘उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ ।’ 11 अनि तिनीहरूले तपाईंलाई हात हातै थाम्‍नेछन्, त्यसकारण तपाईंका खुट्टा ढुङ्गामा ठोकिने छैनन् ।” 12 येशूले जवाफ दिँदै त्यसलाई भन्‍नुभयो, “यस्तो भनिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्‍वरको परीक्षा नगर्नू ।” 13 अनि शैतानले येशूको परीक्षा गरिसकेपछि उहाँलाई अर्को समय नआएसम्म छोडेर गयो । 14 त्यसपछि पवित्र आत्माको शक्‍तिद्वारा येशू गालीलमा फर्कनुभयो र उहाँको विषयमा भएको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो । 15 उहाँले तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो र हरेकले उहाँको प्रशंसा गरे । 16 एक दिन येशू नासरतमा आउनुभयो, जुन सहरमा येशू हुर्कनुभएको थियो । उहाँको रीतिअनुसार उहाँ यहूदी सभाघरमा प्रवेश गरी विश्रामको दिनमा खडा भई धर्मशास्‍त्र पाठ गर्नुभयो । 17 उहाँलाई यशैया अगमवक्‍ताको चर्मपत्रको मुट्ठो दिइयो । त्यसपछि उहाँले मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो । 18 “परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्‍त्रता प्रदान गर्न, 19 र परमप्रभुको निगाहको वर्ष घोषणा गर्न मलाई पठाउनुभएको छ ।” 20 त्यसपछि उहाँले चर्मपत्रको मुट्ठोलाई बन्‍द गर्नुभयो र सभाघरको मुख्य सेवकलाई फिर्ता गर्नुभयो र उहाँ बस्‍नुभयो । सभाघरमा उपस्थित भएका सबै मानिसहरूको हेराइ उहाँमाथि पर्‍यो । 21 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आज तिमीहरूले यी वचनहरू सुन्दा सुन्दै यो पुरा भएको छ ।” 22 उहाँले बोल्नुभएको वचनको सबैजना साक्षी भए र सबै मानिसहरू उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्‍चर्य चकित भए । उनीहरू यसो भन्दै थिए, “के यी मानिस ‍योसेफका छोरा होइनन् र ? 23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “निश्‍चय नै तिमीहरूले मलाई यो उखान भन्‍नेछौ, ए वैद्य तिमी आफैँलाई निको पार । कफर्नहुममा जे-जति कामहरू तपाईंले गर्नुभयो त्यो हामीले सुनेका छौँ, ती कार्यहरू तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर ।” 24 साँच्‍चै म तिमीलाई भन्दछु, “कुनै पनि अगमवक्‍तालाई आफ्नो ठाउँमा स्वीकार गरिँदैन । 25 तर म तिमीहरूलाई सत्य भन्दछु, तिन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्‍टि रोकिँदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए । 26 तर एलियालाई अन्य कुनै व्यक्‍ति र स्थानहरूमा नपठाई सिदोन नगरमा भएकी सारपतकी विधवाकहाँ पठाइयो । 27 अगमवक्‍ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्‍ठरोगीहरू थिए, तर सिरियाली नामानबाहेक कोही पनि निको पारिएन । 28 जब सभाघरमा भएका सबै मानिसहरूले यी सबै कुराहरू सुने, तब उनीहरू रिसले चुर भए । 29 तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्‍न गरे । 30 तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्‍नुभयो । 31 त्यसपछि उहाँ गालील सहरको कफर्नहुममा जानुभयो । विश्राम दिनमा उहाँले मानिसहरूलाई सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो । 32 तिनीहरू उहाँको शिक्षामा आश्‍चर्य चकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभएको थियो । 33 त्यस दिन सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस त्यहाँ थियो, र उसले ठुलो स्वरले चिच्याउँदै भन्यो, 34 “नासरतका येशू, हामीहरूसँग तपाईंको के सरोकार छ ? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो ? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ ।” 35 येशूले दुष्‍टात्मालाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग् र त्यसबाट बाहिर निस्किजा ।” त्यसले तिनीहरूका बिचमा उसलाई लडायो र कुनै पनि हानि नोक्सानी नगरीकन उसबाट निस्केर गयो । 36 सबै मानिसहरू अति आश्‍चर्य चकित भए र उनीहरू एक अर्कामा यो विषयमा छलफल गर्न लागे । उनीहरूले भने, “यी वचनहरू कस्ता हुन् ? उहाँले अशुद्ध आत्माहरूलाई अधिकार र शक्‍तिसाथ आज्ञा गर्नुहुन्छ र तिनीहरू बाहिर निस्केर जान्छन् ?” 37 उहाँको विषयमा भएका समाचारहरू वरिपरिका सबै क्षेत्रहरूमा चारैतिर फैलियो । 38 त्यसपछि येशू सभाघरबाट निस्केर सिमोनको घरमा पस्‍नुभयो । सिमोनकी सासुलाई उच्‍च ज्वरोले सताएको थियो र उनीहरूले उनको पक्षमा उहाँसँग बिन्ती गरे । 39 उहाँ उनको छेउमा उभिनुभयो र ज्वरोलाई हकार्नुभयो र ज्वरोले उनलाई छोड्यो । तुरुन्तै उनी उठिन् र उहाँहरूको सेवा गर्न थालिन् । 40 साँझपख सूर्य अस्ताउने बेलामा धेरै प्रकारका रोग लागेका बिरामीहरूलाई येशूकहाँ ल्याइयो । उहाँले तिनीहरू सबैमाथि आफ्नो हात राख्‍नुभयो र सबैलाई निको पार्नुभयो । 41 तिनीहरूमध्ये धेरैबाट भूत आत्मा चिच्याउँदै बाहिर निस्केर यसो भन्यो, “तपाईं जीवित परमेश्‍वरका पुत्र हुनुहुन्छ ।” येशूले भूत आत्माहरूलाई हकार्नुभयो र तिनीहरूलाई बोल्न दिनुभएन, किनभने उहाँ ख्रीष्‍ट हुनुहुन्थ्यो भनी तिनीहरूलाई थाहा थियो । 42 जब बिहान भयो, उहाँ एकान्त ठाउँमा जानुभयो । ठुलो भिडले उहाँलाई खोजी राखेको थियो र उहाँ जहाँ हुनुहुन्थ्यो, भिड त्यहीँ नै आइपुग्यो र तिनीहरूले उहाँलाई अन्‍त जानबाट रोक्‍ने कोसिस गरे । 43 तर येशूले भन्‍नुभयो, “मैले अन्य सहरहरूमा पनि राज्यको सुसमाचार प्रचार गर्नुपर्छ, किनभने म यसैको लागि पठाइएको हुँ ।” 44 त्यसपछि यहूदियाका सबै प्रान्तका सभाघरहरूमा उहाँले निरन्तर प्रचार गर्नुभयो ।

5

1 जब मानिसहरू येशूकहाँ परमेश्‍वरको वचन सुन्‍नको लागि जम्मा भए, त्यो समयमा येशू गनेसरेतको तालमा उभिनुभएको थियो । 2 उहाँले तालको किनारमा दुईवटा डुङ्गा राखेको देख्‍नुभयो । जालहारीहरूले बाहिर निस्‍केर आफ्ना जालहरू धोइरहेका थिए । 3 येशू तीमध्ये एउटा डुङ्गामा चढ्नुभयो जुनचाहिँ सिमोनको थियो र उनलाई जमिनभन्दा पर पानी भएको ठाउँतिर लैजान भन्‍नुभयो । त्यसपछि उहाँले डुङ्गामा बसेर मानिसहरूलाई सिकाउनुभयो । 4 उहाँले बोलिसक्‍नुभएपछि सिमोनलाई भन्‍नुभयो, “माछाहरू समात्‍नलाई तिम्रो डुङ्गा गहिरो पानीतिर लैजाऊ र जाल हान ।” 5 सिमोनले जवाफ दिएर भने, “प्रभु, हामीले रातभरि जाल हान्यौँ, तर केही पनि पक्रन सकेनौँ । तरै पनि तपाईं भन्‍नुहुन्छ भने म जाल हान्‍नेछु ।” 6 जब तिनीहरूले यसो गरे, तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले र तिनीहरूको जाल फाट्न लागिरहेको थियो । 7 त्यसैले, तिनीहरूले आफ्ना डुङ्गाका अरू साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे । तिनीहरू आए र सबै डुङ्गाहरू भरे अनि ती डुब्‍न थाले । 8 तर सिमोन पत्रुसले जब यो देखे, येशूको अगाडि घुँडा टेकेर भने, “हे प्रभु, मबाट टाढा जानुहोस् किनकि म पापी हुँ ।” 9 तिनीहरूले माछा समातेको देखेर उनी र तिनीसँग भएका सबै जना आश्‍चर्य चकित भए । 10 यस कार्यमा जब्दियाका छोराहरू याकूब र यूहन्‍ना पत्रुससँग साझेदार थिए । येशूले पत्रुसलाई भन्‍नुभयो, “नडराऊ, किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ ।” 11 जब तिनीहरूले आफ्नो डुङ्गालाई जमिनमा ल्याए, उनीहरूले आफूसँग भएका सबै कुरा छोडेर उहाँको पछि लागे । 12 जब उहाँ सहरहरूमध्ये एउटा सहरमा जाँदै गर्नुहुँदा उहाँले कुष्‍ठरोगीलाई देख्‍नुभयो । जब कुष्‍ठरोगीले येशूलाई देख्यो, उसले घोप्‍टो परेर दण्डवत् गर्‍यो र भन्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्छ ।” 13 येशूले हात पसारेर छुनुभयो र भन्‍नुभयो, “म चाहन्छु कि तिमी शुद्ध होऊ ।” अनि तत्कालै कुष्‍ठरोगले उसलाई छोड्यो । 14 उहाँले यो कुरा कसैलाई नभन्‍नू भनी आज्ञा गर्नुभयो र भन्‍नुभयो, “आफ्नो बाटो लाग र मोशाको व्यवस्थाबमोजिम आफैँलाई पुजारीकहाँ देखाऊ । तिम्रो शुद्धताको लागि बलि चढाऊ र तिनीहरूलाई तिमी कसरी निको भयौ भनी गवाही देऊ ।” 15 तर यो कुरा चारैतिर फैलियो र भिडहरू त्यो कसरी निको भयो भनी सिकाएको सुन्‍न र आ-आफ्नो रोगबाट निको हुन आए । 16 तर उहाँ प्रायः गरेर उजाड-स्थानतिर गएर प्रार्थना गर्नुहुन्थ्यो । 17 एक दिन उहाँले शिक्षा दिइरहनुभएको बेलामा, त्यहाँ फरिसीहरू र व्यवस्‍थाका शिक्षकहरू पनि बसिरहेका थिए, जो गालील र यहूदाका विभिन्‍न गाउँ र इलाकाहरूबाट अनि यरूशलेमको सहरबाट आएका थिए । निको पार्नका लागि परमेश्‍वरको शक्‍ति उहाँसँग थियो । 18 केही मानिसहरूले एक जना पक्षाघाती मानिसलाई गुन्‍द्रिमा बोकेर त्यहाँ आए । उसलाई येशूको अगाडि भित्र लगेर राख्‍नका लागि लैजाने बाटो खोजे । 19 तर भिडको कारणले गर्दा तिनीहरूले उसलाई येशूकहाँ लैजान सकेनन् । त्यसैले, तिनीहरू घरको छानामाथि चढे र छाना खोलेर तिनीहरूले त्यो मानिसलाई येशू भएको ठाउँको अगाडि ओछ्यानसहित झारिदिए । 20 येशूले तिनीहरूको विश्‍वासलाई देख्‍नुभयो र भन्‍नुभयो, “हे मानिस, तिम्रो विश्‍वासको कारण तिम्रा पाप क्षमा भएका छन् ।” 21 शास्‍त्री र फारिसीहरूले प्रश्‍न गर्न थाले, “यो ईश्‍वर-निन्दा गर्ने को हो ? परमेश्‍वरबाहेक कसले पापको क्षमा दिन सक्छ ?” 22 येशूले तिनीहरूले आपसमा के विचार गरेका थिए भन्‍ने कुरा जान्‍नुभयो र भन्‍नुभयो, “तिमीहरू आफ्नो हृदयमा किन यस्तो प्रश्‍न गर्दछौ ? 23 कुन कुरा सजिलो छ ‘तिम्रा पाप क्षमा भए भन्‍नु वा उठेर हिँड् भन्‍नु ?‘ 24 तिमीहरूलाई थाहा होस् कि मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ । म तिमीलाई भन्दछु, ‘उठ, तिम्रो आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ‘ ।” 25 तुरुन्तै तिनीहरूको सामुन्‍ने ऊ उठ्यो र आफ्नो ओछ्यान उठाएर परमेश्‍वरको महिमा गर्दै आफ्नो घरतर्फ लाग्यो । 26 सबै जना अचम्मित भए र परमेश्‍वरलाई महिमा दिए । तिनीहरू डरले भरिएर भने, “आज हामीले असाधारण काम देखेका छौँ । 27 यसपछि येशू त्यहाँबाट जानुभयो र लेवी नाउँ गरेको कर उठाउने व्यक्‍तिलाई कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो । उहाँले उसलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।” 28 त्यसैले, लेवीले सब थोक छाडेर उठे अनि उहाँलाई पछ्याए । 29 तब लेवीले येशूको निम्ति उसको घरमा एउटा ठुलो भोज दिए, जहाँ धेरै कर उठाउनेहरू पनि थिए अनि अन्य मानिसहरूले पनि टेबलमा अडेस लगाएर तिनीहरूसँगै खाइरहेका थिए । 30 तर फरिसीहरू र तिनीहरूका शास्‍त्रीहरूले उहाँका चेलाहरूसँग यसरी गुनासो गरिरहेका थिए, “तिमीहरू किन कर उठाउनेहरू र अरू पापीहरूसँग बसेर खान्‍छौँ ?” 31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “असल स्वस्थ हुने मानिसलाई वैद्यको आवश्यकता पर्दैन, बिरामीलाई मात्र यसको आवश्यकता पर्छ ।” 32 म धर्मी मानिसलाई पश्‍चात्तापको लागि बोलाउन आएको होइनँ, तर पापीहरूलाई पश्‍चात्तापको निम्ति बोलाउन आएको हुँ । 33 तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू प्रायः उपवास बस्छन् र प्रार्थना गर्छन् अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरू खान्छन् र पिउँछन् ।” 34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के विवाह भोजमा दुलहा त्यहाँ तिनीहरूकासाथमा हुँदा विवाह भोजमा उपस्थित हुनेहरू उपवास बस्‍छन् र ?” 35 तर तिनीहरूबाट दुलहालाई लगिने समय आउनेछ,तब मानिसहरू ती दिनहरूमा उपवास बस्‍नेछन् ।” 36 त्यसपछि येशूले तिनीहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो, “कसैले पनि पुरानो कपडा टाल्नलाई नयाँ कपडा च्यात्दैन । उसले त्यसो गर्‍यो भने, उसले त्यो नयाँ कपडालाई च्यातेको हुन्छ, तर त्यो नयाँ कपडाको टुक्रा पुरानो कपडासँग पनि मिल्दैन । 37 साथै कसैले पनि पुरानो मशकमा नयाँ दाखमद्य हाल्दैन । उसले त्यसो गर्‍यो भने नयाँ दाखमद्यले पुरानो मशकलाई फुटाउनेछ र दाखमद्य पोखिन्छ र मशक पनि नष्‍ट हुनेछ । 38 तर नयाँ दाखमद्य नयाँ मशकमा नै राख्‍नुपर्छ । 39 पुरानो दाखमद्य पिएर कसैले पनि नयाँ दाखमद्यको चाह गर्दैन, किनभने उसले “पुरानो नै असल छ भन्छ ।”

6

1 अब विश्रामको दिनमा यस्तो भयो कि येशू चेलाहरूसँग अन्‍नको खेतको बाटो भएर जाँदै गर्नुहुँदा तिनीहरूले हातले अन्‍नका बाला टिप्दै र तिनीहरूका हातमा माडिरहेका र अन्‍न खाइरहेका थिए । 2 तर केही फरिसीहरूले भने, “किन तिमीहरूले विश्रामको दिनमा व्यवस्थाअनुसार गर्न नहुने काम गरिरहेका छौ ?” 3 येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ ? 4 तिनी परमेश्‍वरको भवनभित्र पसेर पूजारीहरूले बाहेक अरूले खान निषेध गरिएको परमेश्‍वरको उपस्थितिको रोटीबाट आफूले केही खाए र केही आफूसँग भएका मानिसहरूलाई पनि दिए ।” 5 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र विश्राम दिनको पनि प्रभु हो ।” 6 अर्को विश्राममा यसो भयो कि उहाँ सभाघरमा जानुभयो र त्यहाँ भएका मानिसहरूलाई सिकाउनुभयो । त्यहाँ दाहिने हात सुकेको एक जना मानिस थियो । 7 उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्‍न भनेर शास्‍त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई नियाली राखेका थिए ताकि तिनीहरूले उहाँलाई केही गल्ती गरेको कारण दोष भेट्टाउन सकियोस् । 8 तर तिनीहरूले के सोचिरहेका थिए भनी उहाँलाई थाहा थियो, र हात सुकेको मानिसलाई भन्‍नुभयो, “उठ र सबैका बिचमा खडा होऊ ।” त्यसकारण, त्यो मानिस उठ्यो र त्यहाँ सबैका बिचमा उभियो । 9 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा कसैको असल गर्नु वा हानि गर्नु, जीवन बचाउनु वा नाश गर्नु कुन ठिक हो ?” 10 तब उहाँले तिनीहरूका वरिपरि हेर्नुभयो र त्यस मानिसलाई भन्‍नुभयो, “तेरो हात पसार् ।” उसले त्यसै गर्‍यो र उसको हात पहिलाको जस्तै भयो । 11 तर तिनीहरू रिसले चूर भए र येशूको बारेमा के गर्न सकिन्छ भनी एक अर्कामा कुराकानी गरे । 12 उहाँ डाँडामा प्रार्थना गर्न जानुभएको बेला ती दिनहरूमा यसो भएको हो । उहाँले परमेश्‍वरसँग रातभर निरन्तर प्रार्थनामा बिताउनुभयो । 13 जब उज्यालो भइसकेको थियो । उहाँले चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूमध्येबाट बाह्र जनालाई चुन्‍नुभयो जसलाई “प्रेरित” नाउँ दिनुभयो । 14 पप्रेरितहरूका नाउँहरू थिएः सिमोन (जसलाई उहाँले पत्रुस भनी नाउँ दिनुभयो) र उनका भाइ अन्द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ, 15 मत्ती, थोमा, अल्फयासका छोरा याकूब, सिमोन जसलाई विद्रोही भनिन्थ्यो, 16 याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो एक धोकेबाज हुन पुग्यो । 17 त्यसपछि येशू तिनीहरूसँगै डाँडाबाट तल ओर्लनुभयो र समथर ठाउँमा उभिनुभयो । त्यहाँ उहाँका चेलाहरूको ठुलो भिड थियो र त्यसै गरी ठुलो सङ्ख्यामा यहूदिया, र यरूशलेम, र सिदोन, टुरोसको समुद्री तटका बासिन्दाहरू पनि थिए । 18 तिनीहरू उहाँका वचन सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए । अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए । 19 भभिडमा भएका सबैले उहाँलाई छुन खोजे, किनभने निको पार्ने शक्‍ति उहाँबाट गइहेको थियो र उहाँले सबैलाई निको पार्नुभयो । 20 उहाँले चेलाहरूतर्फ हेर्नुभयो र भन्‍नुभयो, “धन्य तिमीहरू जो दीन छौ, परमेश्‍वरको राज्य तिमीहरूकै हो । 21 धन्य तिमीहरू जो अहिले भोकाउँदछौ, तिमीहरू तृप्‍त हुनेछौ । धन्य तिमीहरू जो अहिले रुन्छौ, तिमीहरू हाँस्‍नेछौ । 22 जब मानिसका पुत्रका खातिर बहिष्कार गरी साथीहरूबाट अलग गरेर तिमीहरूलाई निकाल्दछन् र दुष्‍ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्दछन् । धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई घृणा गर्दछन् । 23 त्यसदिन तिमीहरू रमाओ र आनन्दले उफ्र, किनकि निश्‍चय नै स्वर्गमा तिमीहरूका लागि ठुलो इनाम हुनेछ । किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्‍ताहरूलाई त्यसै गरेका थिए । 24 तर धिक्‍कार तिमीहरू जो धनी छौ ! तिमीहरूले आफ्ना सान्त्वना पाइसकेका छौ । 25 धिक्‍कार तिमीहरूलाई जो आहिले तृप्‍त छौ ! तिमीहरू पछि भोकाउनेछौ । धिक्‍कार तिमीहरू जो अहिले हाँस्‍छौ ! तिमीहरू पछि रुनेछौ र विलाप गर्नेछौ । 26 धिक्‍कार तिमीहरू मानिसहरूबाट प्रशंसा पाउनेहरू ! तिम्रा पुर्खाहरूले झुटा अगमवक्‍ताहरूलाई पनि त्यसै गरेका थिए । 27 तर म तिमीहरूलाई भन्दछु जसले सुनिरहेका छौ, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर । 28 तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष्‌‌ देऊ र तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर । 29 तिम्रो एउटा गालामा हिर्काउनेलाई अर्को पनि थापिदेऊ । यदि कसैले तिम्रो कोट खोस्‍छ भने उसलाई दौरा पनि दिइहाल । 30 तिमीसँग माग्‍ने सबैलाई देऊ । यदि कसैले तिम्रो केही कुरा लगेमा त्यससँग फिर्ता नमाग । 31 मानिसहरूले तिमीलाई जसो गरेको चाहन्छौ, तिमीले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ । 32 तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने के लाभ भयो र ? किनकि पापीहरूले पनि तिनीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छन् । 33 यदि तिमीहरूलाई असल गर्नेलाई मात्र असल गर्छौ भने के लाभ भयो र ? पापीहरूले पनि त त्यसै गर्छन् । 34 यदि तिमीले तिनीहरूले फिर्ता गर्न सक्छन् भन्‍ने आशामा मात्र ऋण दिन्छौ भने तिमीलाई के लाभ भयो र ? पापीहरूले पनि पापीहरूलाई ऋण दिन्छन् र उत्तिकै मात्रामा फिर्ता पाउने आशा राख्दछन् । 35 तर तिम्रा शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर । पैँचो माग्‍नेहरूलाई केही पनि फिर्ता पाउने आशा नगरीकन देऊ ताकि तिम्रो इनाम ठुलो हुनेछ । तिमी सर्वोच्‍चका छोराहरू हुनेछौ, किनकि उहाँ आफैँ अधन्यवादी र खराब मानिसहरूप्रति कृपालु हुनुहुन्छ । 36 तिम्रा पिता कृपालु हुनुभएझैँ तिमी पनि कृपालु होऊ । 37 कसैको न्याय नगर र तिम्रो न्याय गरिनेछैन । दोष नलगाऊ र तिमी दोषी ठहरिनेछैनौ; अरूलाई क्षमा देऊ र तिमीलाई पनि क्षमा गरिनेछ । 38 अरूहरूलाई देऊ र तिमीहरूलाई पनि दिइनेछ । प्रशस्त परिमाणमा खाँदी-खाँदी, हल्लाई-हल्लाई पोखिने गरी, तिनीहरूले तिमीहरूका पोल्टामा खन्याउनेछन् । जुन नापले तिमीहरू नाप्‍तछौ, त्यहीँ नापले तिमीहरू पनि नापिनेछौ ।” 39 त्यसपछि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त पनि भन्‍नुभयो, “के एक जना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्‍याउन सक्छ ? त्यसो गरे दुवै जना खाल्डोमा पर्दैनन् र ? 40 एउटा चेला आफ्नो गुरुभन्दा महान् हुन सक्दैन । तर हेरक जसले तालिम प्राप्‍त गर्छ, तब ऊ आफ्नो गुरुजस्तै हुनेछ । 41 तिमीले तिम्रो भाइको आँखामा मात्र किन सानो कसिङ्गर देख्‍तछौ तर आफ्नै आँखामा भएको मुढाचाहिँ किन देख्दैनौ ? 42 कसरी तिमीले आफ्नो भाइलाई भन्‍न सक्छौ, भाइ मलाई तिम्रा आँखामा भएको कसिङ्गर निकाल्न देऊ जब कि तिमीले आफ्नै आँखामा भएको मुढा देख्दैनौ ? हे पाखण्डी हो ! पहिले तिम्रा आँखाबाट मुढा निकाल तब तिमीले तिम्रो भाइको आँखामा भएको कसिङ्गर निकाल्न स्पष्‍टसँग देख्‍नेछौ । 43 किनकि कुनै असल रुखले कुहिएको फल फलाउँदैन, न त कुहिएको रुखले असल फल फलाउन सक्छ । 44 किनभने प्रत्येक रुख त्यसको फलले नै चिनिन्छ । किनकि काँडाको रुखबाट कसैले अञ्‍जीर बटुल्न सक्दैन, न त काँडे झाडीबाट अङ्गुर बटुल्न सक्छ । 45 असल मान्छेले आफ्नो हृदयको भण्डारबाट असल कुरा निकाल्छ र खराब मान्छेले आफ्नो हृदयको भण्डारबाट खराब कुरा नै निकाल्दछ । किनकि उसले आफ्नो हृदयको प्रशस्तबाट त्यही बोल्दछ र जे भण्डार गरी राखेको छ, त्यहीँ निकाल्छ । 46 तिमीहरू मलाई किन “प्रभु, प्रभु” भन्दछौ, जब कि मैले भनेका कुराहरूचाहिँ तिमीहरूले पालना गर्दैनौ ? 47 हरेक व्यक्‍ति जो मकहाँ आउँछ र मेरा वचन सुन्छ र पालन गर्छ, म तिमीहरूलाई भन्दछु, ऊ कस्तो मानिस हो । 48 ऊ एक जना घर बनाउने मानिसजस्तो हो, जसले जमिन गहिरो गरी खन्यो र घरको जग बलियो चट्टानमाथि बसाल्यो । जब जलप्रवाह भयो, तब बाढी उर्ली आएर त्यस घरलाई प्रहार गर्‍यो, तर त्यसलाई हल्लाउन सकेन, किनभने त्यो राम्ररी बनाइएको थियो । 49 तर एक जना मानिस जसले मेरा वचनहरू सुन्छ र पालन गर्दैन्, त्यो मानिस जमिनमाथि विनाजग घर बनाउने मानिसजस्तो हो । जब जलप्रवाह उर्ली आयो र त्यस घरलाई प्रहार गर्‍यो तब त्यो घर तुरुन्तै ढली हाल्यो र त्यस घरको पुरै विनाश भयो ।

7

1 सुनिरहेका मानिसहरूलाई सबै कुरा भनेर सक्‍नुभएपछि येशू कफर्नहुममा प्रवेश गर्नुभयो । 2 एउटा कप्‍तानको दास जो उनका लागि अति नै महत्त्वपूर्ण थियो, ऊ साह्रै बिरामी भएर मर्नै आँटेको थियो । 3 तर उनले येशूको बारेमा सुनेको हुनाले कप्‍तानले यहूदीहरूका धर्म-गुरुहरूलाई येशूकहाँ गएर उहाँ आएर आफ्नो दासलाई मर्नदेखि बचाइ दिनुहोस् भनी पठायो । 4 जब तिनीहरू येशूको नजिक आए, तब तिनीहरूले उहाँसँग यसो भन्दै बिन्ती गरे, तिनी योग्यका छन् यो तिनका निम्ति तपाईंले गरिदिनुहोस् । 5 किनकि उनले हाम्रा जातिहरूलाई प्रेम गर्छन् र उनी तिनै नै हुन् जसले हाम्रा लागि सभाघर पनि निर्माण गरिदिएका छन् ।” 6 त्यसैले, येशू तिनीहरूसँगै सरासर बाटो लाग्‍नुभयो । तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्‍तानले साथीहरू पठाएर उहाँलाई यसो भन्‍न लगाए, “प्रभु तपाईंले आफैँलाई दुःख नदिनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्न योग्यको छैनँ । 7 यही कारणले मैले आफैँलाई तपाईंकहाँ आउने प्रर्याप्‍त योग्यको ठानिनँ, तर वचन बोली दिनुहोस् र मेरो दास निको हुनेछ । 8 किनकि म पनि एउटा अधिकार पाएको मानिस हुँ र मेरोमुनि सिपाहीहरू छन् । मैले एउटलाई जा भन्छु र त्यो जान्छ र अर्कोलाई आइज भन्छु र त्यो आउँछ र मेरो दासलाई ‘यसो गर भन्छु,‘ त्यसले त्यो गर्छ ।” 9 जब येशूले त्यो सुन्‍नुभयो, उहाँ अचम्मित हुनुभयो र भिडतिर फर्केर उनलाई देखाउँदै भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, कि इस्राएलमा पनि मैले कसैमा यस्तो विश्‍वास भेट्टाएको छैन ।” 10 तब ती पठाइएका मानिसहरू घरमा फर्केर आए र दासलाई स्वस्थ अवस्थामा भेट्टाए । 11 त्यसको केही समयपछि येशू नाइन भन्‍ने सहरमा यात्रा गरिरहनुभएको थियो । मानिसहरूको एउटा ठुलो भिडसँगै उहाँका चेलाहरू पनि उहाँसँगै थिए । 12 जब उहाँ सहरको मूल ढोकानजिक पुग्‍नुभयो, त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो । त्यो उसकी आमाको एक मात्र छोरो थियो । तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भिड तिनीसँगै थियो । 13 तिनलाई देखेर प्रभु तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्‍नुभयो, “नरोऊ ।” 14 तब उहाँ अगाडि आउनुभयो र मृतकलाई छुनुभयो र शरीरलाई बोक्‍नेहरू टक्‍क अडिए । उहाँले भन्‍नुभयो, “जवान मानिस, म तिमीलाई भन्दछु, उठ ।” 15 मृत मानिस उठ्यो र बोल्न थाल्यो । तब येशूले उसलाई उसकी आमालाई सुम्पनुभयो । 16 तब तिनीहरू सबै डराए । तिनीहरूले यसो भन्दै परमेश्‍वरको प्रशंसा गरिरहे, “हाम्रा बिचमा एउटा महान् अगमवक्‍ता खडा भएका छन् र परमेश्‍वरले आफ्ना मानिसहरूलाई हेर्नुभएको छ ।” 17 येशूले गर्नुभएका यस कार्यको खबर सारा यहूदियाभरि र सबै छिमेकी इलाकाहरूमा चारैतिर फैलियो । 18 यूहन्‍नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए । 19 तब यूहन्‍नाले आफ्ना दुई जना चेलाहरूलाई बोलाएर प्रभुकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्‍ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै छ ? 20 जब तिनीहरू येशूको नजिक गए, तब तिनीहरूले यसो भने, बप्‍तिस्‍मा-दिने यूहन्‍नाले हामीलाई तपाईंकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्‍ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै छ ?” 21 त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई तिनीहरूका रोग, दुःखकष्‍ट र दुष्‍टात्माबाट निको पार्नुभयो र उहाँले धेरै दृष्‍टिविहीन मानिसहरूलाई देख्‍न सक्‍ने क्षमता दिनुभयो । 22 येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ, सो यूहन्‍नालाई बताइदेओ । दृष्‍टिविहीनहरूले दृष्‍टि पाइराखेका छन्, लङ्गडाहरू हिँडिराखेका छन्, कुष्‍ठरोगीहरू शुद्ध भइराखेका छन्, कान नसुन्‍नेहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन् र आवश्यकतामा परेका मानिसहरूलाई सुसमाचार सुनाइएको छ । 23 मेरो क्रियाकलापको कारणले मलाई विश्‍वास गर्न नछोड्ने त्यो मानिस धन्यको हो । 24 यूहन्‍नाका समाचार वाहकहरू गइसकेपछि येशूले भिडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमी उजाड-स्थानमा के हेर्नलाई गयौ, के बतासले हल्लाइराखेको निगालोलाई ? 25 तर के हेर्नलाई तिमी गयौ, मलमलको कपडा लगाएको एउटा मानिसलाई ? हेर, राम्रा सुन्दर कपडा लगाएका मानिसहरू राजाका दरबारमा भोगविलाससाथ जिउँछन् । 26 तर के हेर्नलाई तिमीहरू बाहिर गयौ, एउटा अगमवक्‍तालाई ? हो, म तिमीहरूलाई भन्दछु, र एउटा अगमवक्‍ताभन्दा पनि महान् यहाँ छ । 27 यो जसको बारेमा लेखिएको छ, हेर, म मेरा सन्‍देशवाहकलाई तिम्रो अगि-अगि पठाउँदै छु । 28 म तिमीहरूलाई भन्दछु, स्‍त्रीहरूबाट जन्मेकाहरूमध्येमा, बप्‍तिस्मा-दिने यूहन्‍नाभन्दा महान् कोही छैन, तापनि परमेश्‍वरको राज्यमा सबभन्दा कम महत्त्‍वको मानिस पनि उनीभन्दा महान् हुन्छ ।” 29 जब सबै मानिसहरूले यो सुने, तब कर उठाउनेहरूसमेत, तिनीहरूले यो घोषणा गरे कि परमेश्‍वर धर्मी हुनुहुन्छ, जसले बप्‍तिस्मा-दिने यूहन्‍नासँगै बप्‍तिस्‍मा लिएका थिए । 30 तर फरिसीहरू र यहूदीहरूका व्यवस्थाका पण्डितहरू, जसले उनीबाट बप्‍तिस्‍मा लिएका थिएनन्, तिनीहरू आफैँले आफ्ना निम्ति परमेश्‍वरको बुद्धिलाई इन्कार गरे । 31 यस पुस्ताका मानिसहरूलाई मैले केसित तुलना गरूँ ? तिनीहरू केजस्ता छन् ? 32 तिनीहरू बजार क्षेत्रमा खेलिरहने बालबालिकाहरूजस्ता छन्, जो बस्दछन् र एक अर्कोलाई यसो भन्दै बोलाउँछन्, “हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, तर तिमीहरू नाचेनौ । हामीले विलाप गर्‍यौँ, तर तिमीहरू रोएनौ ।” 33 किनकि बप्‍तिस्मा-दिने यूहन्‍ना न रोटी खाँदै आए न त दाखमद्य नै पिउदै आए र पनि तिमीहरू भन्छौ कि उसलाई भूत लागेको छ । 34 मानिसका पुत्र खाँदै र पिउँदै आए र तिमीहरू भन्छौ, “हेर, ऊ त एउटा घिचुवा र पियक्‍कड मानिस, कर उठाउने र पापीहरूका मित्र हो ।” 35 तर बुद्धि तिनका सबै सन्तानहरूद्वारा प्रमाणित हुन्छ ।” 36 अहिले एक जना फरिसीले येशूलाई ऊसँग भोजन गर्नका लागि अनुरोध गरिरहेको थियो । त्यसपछि येशू फरिसीको घरमा प्रवेश गर्नुभयो, भोजन खानलाई टेबुलमा गएर बस्‍नुभयो । 37 हेर, त्यस सहरमा एउटी स्‍त्री थिइन् जो पापी थिइन्, तिनले पत्ता लगाइन् कि उहाँ फरिसीको घरमा बस्‍नुभएको छ र तिनले सिङ्गमरमरको बोतलमा अत्तर ल्याइन् । 38 तिनी उहाँका पाउको नजिक पछाडिपट्टि उभिइन् र रोइन् । तब तिनले उहाँको पाउ आफ्ना आँसुले भिजाउन थालिन् र टाउकाको कपालले उहाँका पाउ पुछिन्, उहाँका पाउमा म्वाइ खाइन् र पाउमा अत्तर घसिन् । 39 जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तब उसले आफूले विचार गर्दै भन्यो, “यदि यी मानिस एउटा अगमवक्‍ता भएको भए, तब उनले जान्‍ने थिए कि को र कस्ती प्रकारकी स्‍त्रीले उहाँलाई छोइरहेकी छे र त्यो एउटी पापी स्‍त्री हो भनेर ।” 40 येशूले जवाफ दिएर उसलाई भन्‍नुभयो, “सिमोन मैले तिमीलाई केही भन्‍नु छ ।” उसले भन्यो, “गुरुज्यू, भन्‍नुहोस् ।” 41 येशूले भन्‍नुभयो, “दुई जना मानिसले एक जना साहुबाट ऋण लिएका थिए । एउटाले पाँच सय दिनार ऋण, र अर्कोले पचास दिनार ऋण लिएको रहेछ । 42 तिनीहरूसँग तिर्ने नभएकोले साहुले ती दुवै जनालाई माफ गरिदिए । त्यसकारण, तिनीहरूमध्ये कुनचाहिँले उनलाई बढी प्रेम गर्नेछ ?” 43 सिमोनले उहाँलाई जवाफ दिए र भने, “म विचार गर्छु कि जसलाई उनले बढी माफ गरे । येशूले उसलाई भन्‍नुभयो तिमीले ठिकसित न्याय गर्‍यौ ।” 44 येशू स्‍त्रीतिर फर्केर सिमोनलाई भन्‍नुभयो, “तिमी यो स्‍त्रीलाई देख्दछौ । म तिम्रो घरभित्र प्रवेश गरेँ । तिमीले मेरो पाउ धुनलाई पानीसम्म दिएनौँ, तर तिनले त आफ्नो आँसुले मेरा पाउ भिजाइन्, र कपालले मेरा पाउ पुछिन् । 45 तिमीले मलाई म्वाइँ खाएनौ, तर तिनले म यहाँभित्र पसेको समयदेखि मेरा पाउमा म्वाइँ खान छोडेकी छैनन् । 46 तिमीले मेरो शिर तेलले अभिषेक गरेनौ, तर तिनले मेरा पाउमा अत्तर घसिन् । 47 यो घटनाको कारणले म तिमीलाई भन्दछु, कि जसका धेरै पाप थिए र बढी क्षमा गरिएको छ, तिनले धेरै प्रेम गरेकी छन् । तर जसलाई थोरै मात्र क्षमा गरिएको छ, उसले थोरै नै मात्र प्रेम गर्छ ।” 48 तब उहाँले तिनलाई भन्‍नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन् ।” 49 त्यहाँ एकसाथ बसिरहेकाहरूले एक-अर्कामा भन्‍न थाले, ‘पाप क्षमा गर्ने यी को हुन् र ?‘ 50 तब येशूले स्‍त्रीलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ, शान्तिसँग जाऊ ।”

8

1 यसपछि छिट्टै प्रभु येशू आफ्ना बाह्र जना चेलाका साथमा वरपरका सहरहरू र गाउँहरूमा प्रचार गर्दै र परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दै जानुभयो । 2 केही स्‍त्रीहरू जो दुष्‍टात्मा र रोगहरूबाट निको भएका थिए, तिनीहरू पनि उहाँहरूसँगै थिए । तिनीहरू मरियम जसलाई मग्दलनी भनिन्थ्यो, जसबाट सातवटा भूतात्मा निकालिएका थिए । 3 हेरोदका कारिन्दा खुजासकी पत्‍नी योअन्‍ना र सुसन्‍ना, यिनीहरू र अरूहरू आफ्ना भौतिक स्रोतहरूबाट उहाँहरूका निम्ति जुटाई दिन्थे । 4 अब मानिसहरूको एउटा ठुलो भिड एकसाथ भेला भएको थियो, साथै धेरै विभिन्‍न सहरबाट मानिसहरूसमेत उहाँकहाँ आइरहेका थिए । उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो । 5 “एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो । उसले छर्दा केही बिउहरू बाटोमा परे र ती बिउहरू खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए । 6 अरू बिउ ढुङ्गेनी जमिनमा परे र चाँडै ती बोटको रूपमा बढे र सुकिहाले, किनकि त्यो जमिन ओबानो थियो । 7 अझै अरू बिउहरू काँढाँका बिरुवाहरूमा परे, र बिउहरू सँगसँगै बिरुवाहरू पनि बढे र बिउहरूलाई काँढे झाडीले निसासिदियो । 8 तर केही बिउहरू असल जमिनमा परे र सय गुणा फल फलाए ।” येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले बोलाउनुभयो, जससँग सुन्‍ने कानहरू छन् त्यसले सुनोस् । 9 त्यसपछि उहाँका चेलाहरूले उहाँलाई यो दृष्‍टान्तको अर्थ के हुन सक्छ भनी सोधे । 10 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई परमेश्‍वरका राज्यका रहस्यका कुराहरू बुझ्‍ने अवसर दिइएको छ, तर बाँकी मानिसहरूलाई दृष्‍टान्तमा सिकाइने छ । त्यसकारण ‘वास्तवमा तिनीहरूले हेरेर पनि देख्‍नेछैनन्, सुनेर पनि बुझ्‍नेछैनन् ।’ 11 अब दृष्‍टान्तको अर्थ यही होः बिउ परमेश्‍वरको वचन हो । 12 बाटोको किनारमा परेका बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, तर दुष्‍ट आउँछ र तिनीहरूको हृदयमा भएका वचन खोसेर लैजान्छ ताकि तिनीहरूले विश्‍वास नगरून् र नबाँचून् । 13 त्यसपछि ढुङ्गेनी जमिनमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, खुसीसाथ ग्रहण गर्छन्, तर तिनीहरूको गहिराइ नभएकोले केवल एक क्षणका लागि मात्र विश्‍वास गर्छन् र जाँचको समयमा तिनीहरू पतन भएर जान्छन् । 14 काँडाको झाडीमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुनेका छन्, तर जीवन जिउने क्रममा, संसारका धन सम्पत्तिको फिक्री, सुख विलासका कारण निसासिएर परिपक्‍व फल फलाउन सक्दैनन् । 15 तर असल जमिनमा परेका बिउ ती मानिसहरूजस्तउ हुन्, जसले इमानदार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन् । 16 अनि बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन, बरु यसलाई उसले सामदानमा राख्छ, ताकि भित्र पस्‍ने सबैले उज्यालो देखून् । 17 किनभने कुनै पनि कुरालाई प्रकट हुन नसक्‍ने गरी लुकाउन सकिँदैन, न त कुनै पनि गोप्य कुरा प्रकट नै हुन नसक्‍ने र ज्योतिमा आउन नसक्‍ने हुन्छ । 18 त्यसैकारण, तिमीहरू कसरी सुन्छौ, त्यसमा होसियार होओ, किनभने जससँग छ त्यसलाई धेरै दिइनेछ, जससँग छैन उसले आफूसँग जे छ भनी सोचेको छ त्योसमेत उसबाट खोसिनेछ ।” 19 त्यसपछि येशूकी आमा र भाइहरू उहाँकहाँ आए, तर भिडको कारणले गर्दा उहाँको नजिक आउन सकेनन् । 20 र उहाँलाई यसो भनिएको थियो, “तपाईंकी आमा र भाइहरू तपाईंलाई भेट्ने इच्छा गरी बाहिर पर्खिरहेका छन् ।” 21 तर येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “मेरा आमा र भाइहरू भनेका ती हुन्, जसले मेरो वचन सुन्छन् र पालना गर्छन् ।” 22 अब ती दिनहरूमा एक दिन येशू र उहाँका चेलाहरू डुङ्गामा चढ्नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामी तालको पल्लोपट्टि जाऔँ ।” तब उहाँहरू डुङ्गामा चढ्नुभयो । 23 तर उहाँहरू यात्रामा हुनुहुँदा, प्रभु येशू निदाउनुभयो र त्यस तालमा धेरै ठुलो आँधीबेहरी आयो अनि तिनीहरूको डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू डरलाग्दो खतरामा थिए । 24 त्यसपछि येशूका चेलाहरू उहाँकहाँ आए र यसो भन्दै उहाँलाई ब्युँझाए, “प्रभु, प्रभु, हामी त मर्नै लाग्यौँ ।” उहाँ उठ्नुभयो, र बतासलाई हप्काउनुभयो, पानीको बेग थामियो र त्यहाँ सुनसान भयो । 25 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास कहाँ छ ?” डराएर तिनीहरू अचम्मित हुँदै एक-अर्कालाई भन्दै थिए “उहाँ को हुनुहुन्छ, जसले आँधी र पानीलाई हप्काउनुहुन्छ र तिनले उहाँको आज्ञा मान्छन् ?” 26 उहाँहरू गेरासेनसको इलाकामा आइपुग्‍नुभयो, जुन गालीलको पारीपट्टि पर्छ । 27 जब प्रभु डुङ्गाबाट पाखामा उत्रनुभयो, एउटा सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्यो र त्यस मानिसमा दुष्‍टात्माहरू थिए । किनभने लामो समयदेखि त्यस मानिसले कपडाहरू लगाएको थिएन र घरमा बस्दैनथ्यो, बरु चिहानहरूमा नै बस्दथियो । 28 जब उसले येशूलाई देख्यो, ऊ चिच्‍च्‍यायो, उहाँको सामु लड्यो र उसले उच्‍च स्वरमा भन्यो, “सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईंसँग मेरो के सरोकार ? म बिन्ती गर्छु कि मलाई नसताउनुहोस् ।” 29 किनभने येशूले त्यो मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्दै हुनुहुन्थ्यो, किनकि धेरै पटक यसले उसलाई पक्रेर राखेको थियो । ऊ साङ्ग्ला र नेलले बाँधिएर पहरामा राखिएको भए तापनि उसले ती छिनालिहाल्थ्यो र दुष्‍ट आत्माद्वारा मरुभूमितिर डोर्‍याइन्थ्यो । 30 त्यसपछि येशूले त्यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो ?” र त्यसले भन्यो, “फौज ।” किनभने धेरै दुष्‍ट आत्माहरू त्यसभित्र पसेका थिए । 31 तिनीहरूलाई अगाध खाँदमा नपठाउनुहोस् भनी तिनीहरूले उहाँलाई निरन्तर बिन्ती गरे । 32 अब त्‍यहाँ नजिकै डाँडामा सुँगुरको एक बथान चरिरहेको थियो र दुष्‍ट आत्माहरूले उहाँलाई सुँगुरको बथानमा पठाइदिन भनी बिन्ती गरे । उहाँले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभयो । 33 त्यसैले, त्यस मानिसबाट दुष्‍ट आत्माहरू निस्की सुँगुरको बथानमा पसे, र त्यो बथान भिरालोबाट हुर्रिंदै गएर समुद्रमा डुबेर मरे । 34 सुँगुर चराइरहेका मानिसहरूले जे भइरहेको थियो त्यो देखेपछि तिनीहरू भाग्दै सहर र वरपरका ठाउँहरूमा गए र त्यो कुरो बताए । 35 त्यसकारण, मानिसहरू जसले यसबारे सुने, के भएको थियो सो हेर्नलाई तिनीहरू येशूकहाँ आए र त्यस मानिस जसबाट दुष्‍ट आत्माहरू निस्केर गएका थिए, त्यसलाई कपडा लगाएर राम्रो अवस्थामा येशूको चरणमा बसिरहेको भेट्टाए र तिनीहरू डराए । 36 तब जुन घटना घटेको ती मानिसहरूले देखेका थिए अर्थात् कसरी दुष्‍ट आत्माहरूद्वारा नियन्‍त्रित मानिस बचाइको थियो, सो तिनीहरूले अरूहरूलाई भने । 37 गेरासेन र वरपरका सबै मानिसहरूले येशूलाई तिनीहरूबाट जान आग्रह गरे, किनभने तिनीहरू साह्रै डराएका थिए । 38 तर दुष्‍ट आत्माहरू निस्केर गएको मानिसले येशूसँगै जानलाई उहाँलाई बिन्ती गर्‍यो, तर येशूले यसो भन्दै उसलाई पठाउनुभयो, 39 “आफ्नो घर फर्क र परमेश्‍वरले तिम्रो निम्ति गर्नुभएका महान् कार्यहरूको स्मरण गर ।” 40 जब येशू फर्कनुभयो, भिडले उहाँलाई स्वागत गर्‍यो, किनकि तिनीहरू सबैले उहाँलाई पर्खिरहेका थिए । 41 हेर, याइरस नाउँ गरेका एक जना मानिस त्यहाँ आए, जो सभाघरका अगुवाहरूमध्ये एक थिए । याइरस प्रभु येशूका पाउमा घोप्‍टो परे र उहाँलाई उनको घरमा आउन बिन्ती गरे । 42 किनभने उनको एउटै मात्र बाह्र वर्षकी छोरी मर्नै लागेकी थिइन् । तर उहाँ जाँदै गर्नुहुँदा मानिसहरूको भिडले उहाँलाई घचेटिरहेको थियो । 43 त्यहाँ एउटी बाह्र वर्षसम्म रगत बग्‍ने समस्या भएकी स्‍त्री थिइन् । तिनले आफ्नो सम्पूर्ण पैसा डाक्टरहरूकहाँ औषधी उपचारमा खर्चे गरिसकेकी थिइन्, तर तिनीहरूमध्ये कसैले पनि निको पार्न सकेका थिएनन् । 44 तिनी येशूको पछिल्तिर आइन् र उहाँको कपडाको छेऊ छोइन् र तुरुन्तै तिनको रक्‍तश्राव रोकियो । 45 येशूले भन्‍नुभयो, “मलाई कसले छोयो ?” जब सबैले यसलाई इन्कार गरे, पत्रुसले भने, “प्रभु मानिसहरूको भिडले तपाईंलाई घेरेर घचेट्दै छन् ।” 46 तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोयो, किनभने शक्‍ति मबाट बाहिर गइरहेको मैले थाहा पाएँ ।” 47 जब त्यस स्‍त्रीले आफूले गरेको कुरा लुकाउन नसक्‍ने देखिन्, तब काँप्दै येशूको चरणमा घोप्‍टो परिन्, तिनले येशूलाई छुनुको कारण र कसरी तुरुन्तै निको भइन् सबै मानिसहररूका सामु बताइन् । 48 त्यसपछि उहाँले तिनलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्तिसँग जाऊ ।” 49 जब उहाँ अझै बोल्दै हुनुहुन्थ्यो, सभाघरका अगुवाको घरबाट एक जना आएर भने, “तिम्री छोरी मरिसकिन् । गुरुलाई दुःख नदेऊ ।” 50 तर जब येशूले त्यो सुन्‍नुभयो, उहाँले उसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्‍वास मात्र गर र तिनी बचाइनेछिन् ।” 51 जब उहाँ घरमा आउनुभयो, तब पत्रुस, यूहन्‍ना र याकूब, केटीको बुबा र आमाबाहेक अरू कसैलाई पनि भित्र पस्‍ने अनुमति दिनुभएन । 52 अनि त्यहाँ सबै मानिसहरू ती केटीका निम्ति रुँदै र विलाप गर्दै थिए । तर उहाँले भन्‍नुभयो, “नरोऊ, तिनी मरेकी छैनन्, तर निदाएकी मात्र छिन् ।” 53 तर तिनीहरू केटी मरेको थाहा पाएर, येशूलाई गिल्ला गर्दै हाँसे । 54 तर उहाँले केटीलाई हातमा लिएर यसो भनेर बोलाउनुभयो, “नानी उठ ।” 55 तिनको आत्मा फर्क्यो, र तिनी तुरुन्तै उठिन् । उहाँले तिनलाई केही खान दिनका लागि आज्ञा दिनुभयो । 56 तिनका बुबा-आमा अचम्मित भए, तर त्यहाँ जे भएको थियो त्यो कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो ।

9

1 उहाँले बाह्र जनालाई एकैसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने अधिकार र शक्‍ति दिनुभयो । 2 उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो । 3 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यात्राका निम्ति केही नलैजाओ न त लौरो, न त थैली, न त रोटी, न त पैसा, न त दुईवटा दौरा लैजाओ । 4 तिमीहरू जुन घरमा पस्छौ, त्यस ठाउँलाई नछोडेसम्म त्यहीँ बस । 5 कसैले तिमीहरूलाई ग्रहण गर्दैन भने, जब तिमीहरू त्यस सहरलाई छोडछौ, तिनीहरूका विरुद्धमा साक्षीका लागि तिमीहरूका खुट्टाको धुलोसमेत टकटकाइदेओ ।” 6 तब तिनीहरू सुसमाचारको घोषणा गर्दै हिँडे र हरेक ठाउँका रोगी मानिसहरूलाई निको पार्दै गाउँहरूतिर गए । 7 अनि शासक हेरोदले जे भइरहेको थियो, त्यो सुनेर उनी अन्योलमा परे, कारण बप्‍तिस्मा-दिने यूहन्‍ना जीवित भएका छन् भनेर कसैले उनलाई सुनाइदिएको थियो । 8 र कसैले एलिया देखा परेका छन्, र अरूहरूले पुराना अगमवक्‍ताहरूमध्ये एक जना फेरि पुनर्जीवित भएका छन् भने । 9 हेरोदले भने, “मैले यूहन्‍नाको टाउको काटेँ, तर यो को हो जसको बारेमा म यस्तो कुरा सुन्दै छु ?” र हेरोदले येशूलाई हेर्ने बाटो खोज्‍ने कोसिस गरे । 10 जब पठाइएकाहरू फर्केर आए, तिनीहरूले गरेका सबै कुरा उहाँलाई तिनीहरूले बताए । तिनीहरूलाई उहाँसँगै लगेर, बेथसेदा भनिने सहरमा आफैँ तिनीहरूसँग जानुभयो । 11 तर भिडले यो सुन्यो र उहाँलाई पछ्यायो र उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो र जसलाई निको हुन आवश्यक थियो, तिनीहरूलाई निको पार्नुभयो । 12 दिन ढल्किन लाग्दा बाह्रै जना उहाँकहाँ आए र भने, “यस भिडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले गाउँहरूतिर र वरिपरिका ठाउँहरूमा गएर बास बस्‍न र खान पाउन सकून्, किनकि हामी यहाँ मरुभूमिको ठाउँमा छौँ ।” 13 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानलाई देओ ।” तिनीहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढी केही छैन । मानिसहरूको यो ठुलो भिडलाई गएर खाना किन्‍नबाहेक अर्को उपाय छैन ।” 14 त्यहाँ पाँच हजारभन्दा बढी मानिस थिए । उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, तिनीहरूलाई पचास-पचास जनाको समूहमा बस्‍न लगाओ ।” 15 अनि तिनीहरूले त्यसै गरे, र सबै मानिसहरू बसे । 16 उहाँले पाँचवटा रोटी र दुईवटा माछालाई हातमा लिनुभयो र स्वर्गतिर आँखा उठाउँदै, तिनीहरूलाई आशीर्वाद दिनुभयो, र तिनलाई भाँचेर टुक्रा-टुक्रा पार्नुभयो, र भिडको सामु बाँड्नलाई चेलाहरूलाई दिनुभयो । 17 तिनीहरू सबैले खाए र सन्तुष्‍ट भए र उब्रेका सबै रोटीका टुक्राहरू बटुले र बाह्र डाला भरे । 18 जब उहाँ एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू पनि उहाँसँग थिए । उहाँले तिनिहरूलाई प्रश्‍न गर्दै भन्‍नुभयो, “भिडले म को हुँ भनी भन्दछ ?” 19 तिनीहरूले जवाफ दिँदै भने, “बप्‍तिस्मा-दिने यहून्‍ना, तर अरूले भन्छन् एलिया र अरूहरूले फेरि उदाएका पुरानो समयका एक जना अगमवक्‍ता हुन् भनी भन्दछन् ।” 20 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ तर तिमीहरूचाहिँ म को हुँ भनी भन्दछौ ?” पत्रुसले जवाफ दिँदै भने, “परमेश्‍वरबाट आउनुभएका ख्रीष्‍ट ।” 21 तर तिनीहरूलाई चेताउनी दिँदै येशूले तिनीहरूलाई यो कसैलाई पनि नभन्‍नू भनी शिक्षा दिनुभयो । 22 निश्‍चय नै मानिसका पुत्रले धेरै कुरामा दुख सहनु, बुढापाकाहरू, मुख्य पुजारीहरू र शास्‍त्रीहरूबाट तिरष्कृत हुनु छ र तिनी मारिनेछन् र तेस्रो दिनमा जीवनमा फर्की आउनेछन् । 23 उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो, “यदि कोही मेरो पछि आउन चाहन्छ भने, उसले आफैँलाई इन्कार गरोस्, दिनहुँ आफ्नो क्रुस उठाओस् र मलाई पछ्याओस् । 24 जसले आफ्नो जीवनलाई बचाउने प्रयास गर्दछ, उसले त्यसलाई गुमाउनेछ, तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ । 25 सारा संसार हात पारेर पनि उसले आफैँलाई नाश गर्छ वा गुमाउँछ भने, मानिसलाई के लाभ हुन्छ र ? 26 जो मेरा वचनहरू र मसँग शर्माउँछ, महिमाका पिता र पवित्र दूतहरूका सामु मानिसका पुत्र पनि आफ्नो महिमामा आउँदा तिनीहरूसँग शर्माउँनेछन् । 27 तर म तिमीहरूलाई साँचो भन्दछु, यहाँ तिमीहरूमध्ये उभिनेहरू कोही छन् जसले मृत्युको स्वाद चाख्‍नअगि परमेश्‍वरको राज्य देख्‍नेछैनन् । 28 लगभग आठ दिनपछि येशूले उहाँसँग प्रार्थना गर्न पत्रुस, यूहन्‍ना र याकूबलाई सँगै लिएर जाँदा यी कुराहरू भन्‍नुभएको थियो । 29 जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अनुहार परिवर्तन भयो, र उहाँको वस्‍त्र सेतो र चम्किलो भयो । 30 हेर, त्यहाँ दुई जना मानिस उहाँसँग कुरा गरिरहेका थिए ! तिनीहरू मोशा र एलिया थिए, 31 जो महिमित देखिए । तिनीहरू उहाँको उठाइबारे कुरा गरिरहेका थिए, जुन यरूशलेममा पुरा हुन लागेको थियो । 32 अब पत्रुस र तिनीसँग भएकाहरू निन्द्राले लट्ठ भएका थिए । तर जब तिनीहरू पूर्ण रूपले ब्युँझे, तिनीहरूले उहाँसँगै उभिरहेका दुई जना मानिस र उहाँको महिमालाई देखे । 33 तिनीहरू येशूबाट टाढा जाँदै गर्दा, पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामी यहाँ तिन वटा टहरा बनाऔँ, यो हाम्रो लागि असल छ । एउटा तपाईंको लागि, अर्को मोशाको लागि र एउटा एलियाको लागि ।” उहाँले केको बारेमा भन्दै हुनुहुन्थ्यो भन्‍ने कुरा उनले बुझेनन् । 34 जब तिनले यी कुराहरू भन्दै थिए, बादल आयो र तिनीहरूलाई ढाक्यो र तिनीहरूका वरिपरि बादलले ढाकेको देखेर तिनीहरू अत्तालिए । 35 बादलबाट यसो भन्दै एउटा आवाज आयो, “यिनी मेरा चुनिएका पुत्र हुन् । यिनको कुरा सुन ।” 36 जब त्यो आवाज बन्द भयो, येशू एकलै हुनुभयो । तिनीहरू चुप भए र ती दिनमा जुन कुरा तिनीहरूले देखेका थिए, कसैलाई पनि भनेनन् । 37 तिनीहरू पहाडबाट तल ओर्लेर आएको भोलिपल्ट मानिसहरूको ठुलो भिडले उहाँलाई भेट्यो । 38 हेर, भिडबाट एक जना मानिस यसो भन्दै चिच्यायो, “गुरुज्यू, म बिन्ती गर्छु, कि तपाईंले मेरो छोरालाई हेर्नुहोस्, किनभने ऊ मेरो एउटै मात्र छोरा हो । 39 हेर्नुहोस, उसलाई आत्माले समात्छ, र ऊ अचानक चिच्‍च्‍याउँछ, यसले उसको मुखमा फिज काढेर उसलाई काम्‍न लगाउँछ । यो उसबाट मुस्किलले जान्छ, जब यसले छोड्छ तब उसलाई नराम्रो गरी चोट पार्छ । 40 मैले ऊबाट यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्ती गरेँ, तर तिनीहरूले सकेनन् ।” 41 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “हे अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म तिमीहरूसँग कति समयसम्म रहनु र तिमीहरूलाई सहनु ? तिम्रो छोरालाई यहाँ लेऊ ।” 42 त्यो केटो आउँदै थियो, भूतले उसलाई भुइँमा पछार्‍यो, र भयानक तवरले कमायो । तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटालाई निको पार्नुभयो र उसको बुबालाई फिर्ता दिनुभयो । 43 तिनीहरू परमेश्‍वरको महानतामा चकित भए । तर सबै जना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, 44 “यी वचनहरू तिमीहरूका कानका गहिराइसम्म पुगून्, किनभने, मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् ।” 45 तर तिनीहरूले यस भनाइलाई बुझेनन् र यो तिनीहरूबाट लुकाइएको थियो । त्यसैले, तिनीहरूले यसलाई बुझ्‍न सकेनन् । तिनीहरूले त्यस भनाइबारे उहाँलाई सोध्‍न डराए । 46 तब तिनीहरूबिच सबैभन्दा ठुलो को हुने हो भनी विवाद चल्यो । 47 तर येशूले तिनीहरूले हृदयमा के विचार गरिरहेका छन् भन्‍ने थाहा पाएर उहाँले एउटा बालकलाई लिएर उहाँको छेउमा राख्‍नुभयो, 48 र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मेरो नाउँमा सानो बालकलाई झैँ ग्रहण गर्छ भने उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने, उसले मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्दछ । किनभने तिमीहरूमध्ये सबैभन्दा सानो नै सबैभन्दा महान् हो ।” 49 यूहन्‍नाले जवाफ दिए र भने, “प्रभु, हामीले कसैले तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्यौँ । र उसलाई हामीले रोक्यौँ, किनकि उसले हामीलाई पछ्याएन ।” 50 तर येशूले तिनलाई भन्‍नुभयो, “उसलाई नरोक, किनभने जो तिम्रो विरुद्धमा हुँदैन, त्यो तिम्रो पक्षमा हुन्छ ।” 51 जब उहाँ स्वर्गतिर जाने समय नजिक आउँदै थियो, उहाँले यरूशलेमतिर जाने अठोट लिनुभयो । 52 उहाँले आफूभन्दा अगि सन्‍देशवाहकहरूलाई पठाउनुभयो र तिनीहरू गए र उहाँका निम्ति तयारी गर्ने सामरीहरूको गाउँमा प्रवेश गरे । 53 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गरेनन्, किनभने उहाँले यरूशलेमतिर जाने अठोट लिनुभएको थियो । 54 जब उहाँका चेलाहरू यूहन्‍ना र याकूबले यो देखे, तिनीहरूले भने, “प्रभु के स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्‍ट गर्न हामी आज्ञा गरौँ ?” 55 तर उहाँ फर्केर तिनीहरूलाई हप्काउनुभयो । 56 तब उहाँहरू अर्को गाउँतिर जानुभयो । 57 जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्थ्यो, तब कसैले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई पछ्यानेछु ।” 58 येशूले उसलाई भन्‍नुभयो, “फ्याउराहरूका दुला छन् र आकासका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको टाउको लुकाउने ठाउँ पनि छैन ।” 59 तब उहाँले अर्को मानिसलाई भन्‍नुभयो, “मेरो पछि लाग ।” तर उसले भन्यो, “प्रभु, मलाई पहिले मेरा बुबालाई गाड्न दिनुहोस् ।” 60 तर उहाँले उसलाई भन्‍नुभयो, “मृतकहरूलाई नै तिनीहरूको मृत शरीर गाड्न देऊ, तर तिमी जाऊ र जताततै परमेश्‍वरको राज्यको घोषणा गर ।” 61 अर्को मानिसले पनि भन्यो, “प्रभु म तपाईंलाई पछ्याउँछु, तर पहिले मेरो घरमा भएकाहरूसँग बिदा माग्‍न दिनुहोस् ।” 62 तर येशूले उसलाई भन्‍नुभयो, “हलोमा आफ्नो हात राखेर पछाडि हेर्ने कोही पनि परमेश्‍वरको राज्यको योग्य हुँदैन ।”

10

1 अब यी कुराहरूपछि, प्रभुले अरू सत्तरी जनालाई नियुक्‍त गर्नुभयो, र जहाँ उहाँ आफैँ जान चाहनुहुन्थ्यो हरेक सहर र ठाउँमा तिनीहरूलाई उहाँको अगि-अगि जोडी-जोडी बनाएर पठाउनुभयो । 2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन् । यसकारण फसलका प्रभुसँग जरुरी प्रार्थना गर, ताकि उहाँले खेतालाहरूलाई उहाँको फसलमा पठाऊन् । 3 तिम्रो मार्गमा गई राख । हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाजस्तै पठाउँदै छु । 4 पैसाको थैली नबोक, यात्राको निम्ति झोला नबोक, न त फाल्तु चप्पलहरू, र बाटोमा कसैलाई अभिवादन नगर । 5 तिमीहरू जुन घरमा पस्छौ, पहिला यसो भन “यस घरमा शान्ति होस् ।” 6 यदि एउटा शान्तिको मानिस त्यहाँ छ भने, तिमीहरूको शान्ति उसँग रहनेछ, तर यदि होइन भने, यो तिमीहरूमा नै फर्कनेछ । 7 तिनीहरूले जे दिन्छन्, त्यहीँ खादै र पिउँदै त्यही घरमा रहो, किनकि खेताला उसको ज्यालाको योग्य हुन्छ । एउटा घरबाट अर्को घरमा नजाओ । 8 तिमीहरू जुन सहरमा जान्छौ, त्यहाँ तिनीहरूले स्वागत गरे भने तिमीहरूका अगि जे राखिएको छ खाओ, 9 र त्यहाँ भएका बिरामीहरूलाई निको पार । तिनीहरूलाई भन, “परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ ।” 10 तर तिमीहरू जुन सहरमा प्रवेश गर्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गरेनन् भने, त्यस सहरका सडकहरूमा गएर यसो भन, 11 “तिमीहरूको सहरबाट हाम्रा खुट्टाहरूमा टाँसिएका धुला पनि तिमीहरूको विरुद्ध टकटकाउदँ छौ । तर यो जान कि परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ ।” 12 म तिमीहरूलाई भन्दछु, कि न्यायको दिन त्यस सहरलाई भन्दा सदोमका निम्ति सह्‍य हुनेछ । 13 खोराजीन, तँलाई धिक्‍कार छ ! बेथसेदा, तँलाई पनि धिक्‍कार छ ! यदि तिमीहरूमा गरिएका शक्‍तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए, तिनीहरूले भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसक्थे । 14 तर न्यायको दिनमा तिमीहरूलाई भन्दा टुरोस र सदोमलाई बढी सहज हुनेछ । 15 तँ कफर्नहुम, के तँ स्वर्गतिर उचालिन्छस् जस्तो लाग्छ ? होइन, तँलाई पातालमा ल्याइनेछ । 16 जसले तिमीहरूले भनेको सुन्छ, त्यसले मैले भनेको सुन्छ, जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ । 17 सत्तरी जना आनन्दित हुँदै फर्के र भने, “प्रभु, तपाईंको नाउँमा भूतहरू पनि हाम्रो वशमा आउँछन् ।” 18 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुलीजस्तै खसेको देखिरहेको थिएँ । 19 हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्‍तिमाथि कुल्चने अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि पुर्‍याउनेछैन । 20 तथापि आत्माहरू तिमीहरूको वशमा पर्छन् भनेर मात्र नरमाओ, तर तिमीहरूको नाम स्वर्गमा लेखिएका छन् भनेर अझ बढी आनन्दित होओ ।” 21 त्यही समय उहाँ पवित्र आत्मामा आनन्दित हुनुभयो, “हे पिता, पृथ्वी र स्वर्गका प्रभु, म तपाईंको प्रशंसा गर्छु, किनभने तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभयो र साना बालकहरूजस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो । हे पिता, किनभने यो नै तपाईंको दृष्‍टिमा असल थियो ।” 22 सबै कुराहरू पिताबाट मलाई सुम्पिएको छ र पितालेबाहेक पुत्र को हो भनी कसैले जान्दैन र पुत्रले उहाँलाई प्रकट गर्ने इच्छा गरेकोले बाहेक पिता को हो भनी कसैले जान्दैन ।” 23 चेलाहरूतिर फर्केर उहाँले गुप्‍त रूपले भन्‍नुभयो, “तिमीहरूले देखेका कुरा देख्‍नेहरू धन्यका हुन् । 24 म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्‍ताहरू र राजाहरूले तिमीहरूले देखेको कुरा देख्‍ने इच्छा गरे र तिनीहरूले देखेनन्, तिमीहरूले सुनेको कुरा सुन्‍ने इच्छा गरे र पनि तिनीहरूले सुनेनन् ।” 25 हेर, एउटा यहूदी व्यवस्थाका शिक्षक खडा भएर यसो भन्दै उहाँलाई जाँचे “गुरु, मैले अनन्त जीवन पाउन के गर्नुपर्छ ?” 26 येशूले तिनलाई भन्‍नुभयो, “व्यवस्थामा के लेखिएको छ ? तिमीहरू यसलाई कसरी पढ्छौ ?” 27 तिनले जवाफ दिँदै भने, “तिमीले आफ्ना सारा हृदयले, आफ्ना सारा प्राणले, आफ्ना सारा सामर्थ्यले र आफ्ना सारा मनले परमेश्‍वरलाई प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर्नू ।” 28 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले ठिकसँग जवाफ दियौ । यसै गर, र तिमी बाँच्‍नेछौ ।” 29 तर ती व्यवस्थाको शिक्षकले आफैँलाई धर्मी ठहराउने विचारले येशूलाई यसो भने, “मेरो छिमेकी को हो ?” 30 येशूले जवाफ दिँदै भन्‍नुभयो, एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदै थियो । ऊ लुटेराहरूको हातमा पर्‍यो, जसले उसका सम्पत्तिहरू लुटे र उसलाई पिटे, अनि उसलाई अर्ध-मृत अवस्थामा छोडे । 31 त्यसै बेला एक जना पुजारी त्यही बाटो भएर झरे र जब उनले त्यसलाई देखे, तिनी अर्को छेउबाट भएर गए । 32 यसै गरी, एक जना लेवी पनि त्यस ठाउँमा आइपुगे र त्यसलाई देखे र अर्को छेउबाट भएर गए । 33 तर एक जना सामरी पनि यात्रा गर्दा त्यो भएको ठाउँमा आइपुगे । जब उनले त्यसलाई देखे, उनी दयाले भरिए । 34 उनी त्यसको नजिक गए र उसको घाउमा पट्टी बाँधिदिए अनि तेल र दाखमद्य लगाइदिए । उनले आफ्नो जनावरमाथि राखेर त्यसलाई धर्मशालामा ल्याए र उसको हेरचाह गरे । 35 अर्को दिन उनले दुई दिनार झिकेर धर्मशालाका चौकीदारलाई दिएर भने, “यसको हेरचाह गर, तिमीले गरेको अन्य खर्च पछि म फर्कंदा तिमीलाई तिर्नेछु ।” 36 यी लुटेराहरूको हातमा पर्नेको छिमेकी यी तिनजनामध्ये कुनचाहिँ हो जस्तो तिमीलाई लाग्छ ?” 37 ती शिक्षकले भने, “जसले त्यसलाई दया देखायो ।” येशूले तिनलाई भन्‍नुभयो, “जाऊ र तिमीले पनि त्यसै गर ।” 38 जब तिनीहरू यात्रा गरिरहेका थिए, उहाँ एउटा गाउँमा पस्‍नुभयो, र मार्था नाउँ गरेकी एउटी स्‍त्रीले उहाँलाई तिनको घरमा स्वागत गरिन् । 39 मरियम नाउँ गरेकी तिनकी एउटी बहिनी थिइन्, जो प्रभुको चरणमा बसेर उहाँका वचन सुन्दथिन् । 40 तर मार्था खाना पकाउने काममा अत्ति नै व्यस्त थिइन् । तिनी येशूकहाँ आइन्, र भनिन्, “प्रभु, मेरी बहिनीले पकाउने काममा मलाई एकलै छोडेकी तपाईंलाई थाहा छैन ? त्यसकारण, मलाई सहायता गर्न तिनलाई भनिदिनुहोस् ।” 41 तर प्रभुले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराको बारेमा चिन्ता गर्दछ्यौ । 42 तर एउटा मात्र कुरा आवश्यक छ । मरियमले सबैभन्दा असल कुरा चुनेकी छिन् जुन कुरा तिनीबाट खोसिनेछैन ।”

11

1 उहाँले प्रार्थना गरिसक्‍नुपछि उहाँका चेलाहरूमध्ये एक जनाले भने, “प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् जसरी यूहन्‍नाले आफ्नो चेलालाई सिकाएका थिए ।” 2 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब तिमीहरूले प्रार्थना गर्छौ, यसो भन्‍नू, ‘हे पिता, तपाईंको नाउँ पवित्र गरियोस् । तपाईंको राज्य आओस् । 3 हामीलाई हाम्रो प्रत्येक दिनको रोटी दिनुहोस् । 4 हाम्रा पापहरू क्षमा गर्नुहोस, जसरी हामीले हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौँ । हामीलाई परीक्षामा नडोर्‍याउनुहोस् ।’ 5 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिम्रो यस्तो मित्र होला जसले मध्य-रातमा गएर तिमीलाई भन्‍नेछ ‘हे मित्र, मलाई तिनवटा रोटी सापट दिनुहोस् । 6 मेरा एउटा मित्र घुम्दै गर्दा मकहाँ आइपुग्‍नुभयो र उहाँलाई दिनका लागि मसित केही पनि छैन ।’ 7 त्यसपछि भित्रबाट यस्तो उत्तर आउन सक्छ, ‘मलाई दिक्‍क नबनाउनुहोस् । ढोका पहिले नै लगाइसकिएको छ, मेरा नानीहरू मसँगै ओछ्यानमा सुतिराखेका छन् । त्यसैले, म उठेर तपाईंलाई रोटी दिन सक्दिनँ ।’ 8 म तिमीलाई भन्दछु, कि उसले उठेर तिमीलाई रोटी नदिए तापनि तिमी उनको मित्र भएकोले गर्दा र लगातार मागिरहेको कारणले ऊ उठ्नेछ र तिमीलाई आवश्यक पर्ने रोटीहरू दिनेछ । 9 म तिमीलाई भन्दछु, “माग, र तिमीलाई यो दिइनेछ; खोज, र तिमीले भेट्टाउनेछौ; ढकढक्याऊ, र तिम्रो लागि यो उघारिनेछ । 10 माग्‍ने हरेकले यो पाउनेछ; र खोज्‍ने व्यक्‍तिले भेट्टाउनेछ; र ढकढक्याउने व्यक्‍तिका लागि उघारिनेछ । 11 तिमीहरूमध्ये को यस्तो बाबु होला जसले आफ्नो छोराले रोटी माग्दा ढुङ्गा देला अथवा माछा माग्दा सर्प देला र ? 12 अथवा उसले अन्डा माग्दा, तिमीले बिच्छी दिन्छौ र ? 13 त्यसैकारण, तिमीहरू दुष्‍ट भएर पनि आफ्ना नानीहरूलाई असल चिजहरू दिन जान्दछौ भने, तिमीहरूका स्वर्गका पिताले उहाँसँग माग्‍नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछैन र ?” 14 त्यसपछि, येशूले बोल्न नसक्‍ने मानिसबाट भूतात्मा निकाल्नुभयो । जब भुतात्मा ऊबाट निस्क्यो र ऊ बोल्न थाल्यो । यो देखेर मानिसहरूको भिड छक्‍क पर्‍यो । 15 त्यहाँ भएका केही मानिसहरूले आपसमा भने, “शैतानहरूको शासक बालजिबुलले भूतात्मालाई निकाल्यो ।” 16 तर कतिले उहाँलाई परीक्षा गर्नका लागि स्वर्गको कुनै एउटा चिह्न देखाउन भन्यो । 17 तर येशूले तिनीहरूले के सोचिरहेका छन् भनी जान्‍नुभयो र भन्‍नुभयो, हरेक राज्य एक-अर्काको विरुद्धमा विभाजन गरिनेछ र घरहरू एक-आपसको विरुद्धमा खडा हुनेछ । 18 यदि शैतानहरू एक आपसमा विभाजित हुन्छन् भने, कसरी तिनीहरूको राज्य रहन सक्दछ ? तिमीहरूले भन्छौ, मैले बालजिबुलको नाउँमा भूतात्मालाई धपाउँछु । 19 यदि मैले बालजिबुलको नाउँमा भूतहरूलाई धपाएँ भने, तिमीहरूका चेलाले कसको नाउँबाट धपाउलान् त ? किनकि, तिनीहरू तिम्रो न्याय गर्नेहरू हुनेछन् । 20 तर यदि मैले परमेश्‍वरको हातबाट भूतहरू निकालेँ भने, परमेश्‍वरको राज्य तिमीहरूमा आएको छ । 21 जब कुनै बलियो मानिसले हातहतियारसहित आफ्नो घरको सुरक्षा गर्दछ भने, त्यसको कारणले गर्दा उसका सामानहरू सुरक्षित हुन्छन् । 22 तर कुनै अझ बलियो मानिसले उसलाई हराउँछ भने मानिसहरूका हातहतियारहरू कब्जा गर्दछन् र मानिसका धन सम्पत्तिहरू लुट्ने छन् । 23 मसगँ नहुने, मेरो विरुद्धमा हुन्छ, र मसँगै जम्मा नगर्नेले छरपस्ट पार्छ । 24 जब अशुद्ध आत्मा मानिसबाट निस्केर गयो, यो पानी नभएको ठाउँ भएर गयो र यसले आरामको लागि ठाउँ खोजेको छ । त्यसले कुनै ठाउँ पनि बस्‍नका लागि पाएन र त्यसले भन्यो, म जहाँबाट आएको हुँ म त्यहीँ फर्कीजानेछु । 25 फर्की सकेपछि, त्यसले आफ्नो घर सफासँग व्यवस्थित पारेर राखिएको देख्यो । 26 त्यसपछि, ऊ जानेछ र अन्य सातवटा भूतात्मालाई पनि बोलाउनेछ र तिनीहरूसँगै बस्‍नेछ र त्यो मानिसको अवस्था अझ खराब हुनेछ । 27 उहाँले यो कुरा भन्दै गर्नुहुँदा, एउटी स्‍त्रीले भिडबाट कराएर उहाँलाई भनी “त्यो कोख धन्यको हो जसले तपाईंलाई जन्माइन् र दूध चुसाइन् र हुर्काइन् ।” 28 तर उहाँले भन्‍नुभयो, “त्योभन्दा पनि, ती मानिसहरू धन्यका हुन् जसले परमेश्‍वरका वचन सुन्दछन् र त्यसलाई पालन गर्दछन् ।” 29 जब अझ धेरै मानिसहरू जम्मा भए, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो पुस्ता दुष्‍ट पुस्ता हो, यिनीहरूले चिह्न खोज्‍नेछन्, तर योनाको चिह्नबाहेक तिमीहरूलाई कुनै चिह्न दिइनेछैन । 30 जसरी निनवेका मानिसहरूका लागि योना चिह्न थिए, त्यसै गरी यो पुस्ताका लागि पनि मानिसका पुत्र चिह्न हुनेछ । 31 दक्षिणकी रानी मानिसको विरुद्धमा दोष लगाउनका लागि उठ्नेछिन्, किनकि उनी पृथ्वीको पल्लो कुनाबाट सोलोमनको ज्ञानको बारेमा सुन्‍न आएकी थिइन् र हेर, सोलोमनभन्दा पनि महान् यहाँ हुनुहुन्छ । 32 निनवेका मानिसहरू यो पुस्ताका मानिसहरूसँगै न्यायमा उभिनेछन् र यिनीहरूलाई दोष लगाउनेछन् । तिनीहरूले योनाको प्रचार सुनेर पश्‍चात्ताप गरे र हेर, योनाभन्दा पनि महान् कोही यहाँ हुनुहुन्छ । 33 कसैले बत्ती बालेर टोकरीले छोपेर राख्दैन, तर त्यसलाई सामदानमा राख्दछ, ताकि त्यो भएर जाने हरेकलाई उज्‍जालो होस् । 34 तिम्रा आँखा तिम्रो शरीरको लागि ज्योति हो । तिम्रा आँखा असल छन् भने, तिम्रो पुरै शरीरले ज्योति पाउनेछ । तर तिम्रा आँखा खराब छन् भने, तिम्रो पुरै शरीरलाई अन्धकारले छोप्‍नेछ । 35 त्यसैकारण, होसियार रहो, कि तिमीमा भएको ज्योति अन्धकार नहोस् । 36 यदि त्यसो भए, तिम्रो पुरै शरीर ज्योति हो, यसको कुनै पनि भाग अन्धकारमा रहेको छैन, त्यसपछि तिम्रो पुरै शरीर बत्तीको चमकजस्तै तिमीमा चम्कोस् । 37 उहाँले बोलिसक्‍नुभएपछि, फरिसीहरूले उहाँलाई आफ्नो घरमा खाना खानलाई बोलाए । त्यसपछि येशू जानुभयो र ढल्केर बस्‍नुभयो । 38 खाना खानुभन्दा पहिले हात नधोएको कारणले गर्दा फरिसीहरू छक्‍क परे । 39 तर प्रभुले तिनीहरूलाई भन्‍नुभयो, “तिमी फरिसीहरू गिलास र कचौराको बाहिर सफा गर्दछौ, तर तिमीहरू भित्रपट्टि लोभ र खराब कुराले भरिएका छौ । 40 हे मूर्ख मनिसहरू हो, जसले बाहिर बनायो के उसले भित्र पनि बनाउँदैन र ? 41 तिमीभित्र जे छ, त्यो कुरा गरिबलाई देओ र त्यो कुरा तिम्रो निम्ति सबै शुद्ध हुनेछन् । 42 धिक्‍कार तिमी फरिसीहरू, किनभने तिमीहरूले पुदिना, सुप र जडीबुटीको दशांश त दिन्छौ, तर परमेश्‍वरको प्रेम र धार्मिकतालाई बेवास्ता गर्छौ । तर तिमीहरूले परमेश्‍वरको प्रेम र धार्मिकताबमोजिम काम गर्नुपर्ने हो । यी काम गर्न असफल नहोओ । 43 धिक्‍कार फरिसीहरू, तिमीहरूले सभाघरको अगाडि बस्‍ने मानिसहरूलाई सहरहरूमा आदर र इज्‍जत गर्दछौ । 44 तिमीहरूलाई धिक्‍कार होस्, तिमीहरू चिह्न नलगाइएको चिहानजस्तै छौ । मानिसहरू केही थाहा नपाईकन हिँड्ने छन् ।” 45 अनि केही यहूदी व्यवस्थाका शिक्षकहरूले जवाफ दिँदै भने, “गुरु, तपाईं हामीलाई किन अपमान गर्नुहुन्छ ।” 46 येशूले भन्‍नुभयो, “तिमीहरूलाई धिक्‍कार व्यवस्थाका शिक्षकहरू, तिमीहरू मानिसहरूलाई व्यवस्थाको भार उठाउन लगाउँदछौ, तर तिमीहरूले आफ्नो एउटा औँलाले पनि त्यस्तो व्यवस्थाका सारा भारलाई उठाउँदैनौ । 47 तिमीहरूलाई धिक्‍कार, किनभने तिमीहरूले अगमवक्‍ताहरूको चिहानको स्मरणको लागि निर्माण गर्‍यौ, तर तिनीहरूलाई मार्ने तिमीहरूकै पुर्खाहरू हुन् । 48 त्यसैले, तिमीहरूले तिम्रा पुर्खाहरूको काममा गवाही दियौ र सहमति जनायौ, किनकि वास्तवमा तिनीहरूले त्यस समयका अगमवक्‍ताहरूलाई मारेका थिए र जसको चिहान तिमीहरूले आज सम्झनाको लागि बनाएका छौ । 49 त्यसैकारणले गर्दा, परमेश्‍वरको विवेकले भन्दछ, “म तिमीहरूलाई अगमवक्‍ता र प्रेरितहरूकहाँ पठाउनेछु र तिमीहरूले तिनीहरूलाई सताउनेछन् र यीमध्ये कतिलाई मार्नेछन् । 50 तब यो पुस्ताको लागि संसारको सुरुदेखि अगमवक्‍ताहरूको रगतमा तिमीहरू जिम्मेवार छौ । 51 म तिमीहरूलाई भन्दछु, कि हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्मको दोष लागि यो पुस्ता जिम्मेवार छ । 52 यहूदी व्यवस्थाका शिक्षकहरू तिमीहरूलाई धिक्‍कार छ, किनभने तिमीहरूले बुद्धिको साँचोलाई तिमीहरूबाट टाढा लग्यौ । तिमीहरू आफैँ यो परिस्थिति भएर गएनौ र तिमीहरू तिनीहरूबाट लुक्यौ । 53 येशू त्यहाँबाट गइसक्‍नुभएपछि, शास्‍त्रीहरू र फरिसीहरू एक-आपसमा धेरै कुराका लागि बहस गर्न लागे । 54 तिनीहरूले येशूलाई आफ्नो वचनको कारण परीक्षामा पार्ने कोसिस गरे ।

12

1 त्यसै बेला, जब हजारौँ मानिस एकै ठाउँमा जम्मा भएका थिए । उनीहरूको सङ्ख्या अत्यधिक भएको कारण एउटाले अर्कोलाई कुल्चिरहेका थियो । उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍न सुरु गर्नुभयो, “फरिसीहरूको खमिरबाट सावधान रहो, जुनचाहिँ पाखण्डीपना हो । 2 तर कुनै पनि कुराहरू यसरी गुप्‍त छैनन् जुन प्रकट हुनै सक्दैनन् र कुनै पनि कुराहरू लुकेका छैनन् जुन कुरा थाहा नहोस् । 3 यसकारण, तिमीले जे कुराहरू अन्धकारमा भनेका छौ, त्यो ज्योतिमा सुनिनेछ र जे कुरा तिमीले भित्री कोठामा कानमा भनेका छौ, त्यो घरको धुरीबाट घोषणा गरिनेछ । 4 मेरा मित्रहरू, म तिमीलाई भन्दछु कि शरीरलाई मार्नेहरूसँग नडराओ किनकि त्यसपछि तिनीहरूले केही गर्न सक्दैनन् । 5 तर म तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्छु । त्यो व्यक्‍तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीलाई भन्दछु, उहाँसँग डराओ । 6 के पाँचवटा भङ्गेरा दुई सिक्‍कामा बेचिँदैनन् र ? परमेश्‍वरको दृष्‍टिबाट एउटा पनि बिर्सेको हुँदैन । 7 तर उहाँले तिम्रा कपालका सबै रौँको पनि गणना गर्नुभएको छ । उहाँसित नडराओ, किनकि तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान् छौ । 8 म तिमीलाई भन्दछु, कि हरेक जसले मानिसहरूका अगि मलाई स्वीकार गर्दछ, परमप्रभुका दूतहरूका अगि मानिसका पुत्रले पनि उसलाई स्वीकार गर्नेछन् । 9 तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्दछ, परमप्रभु परमेश्‍वरका दूतहरूले उसलाई पनि इन्कार गर्नेछन् । 10 हरेक जसले परमेश्‍वरका पुत्रको विरुद्धमा बोल्दछ, उसलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, उसलाई क्षमा गरिनेछैन । 11 जब तिनीहरूले तिमीहरूलाई सभाघरको शासक र अधिकारीहरूको अगि ल्याउनेछन, कसरी प्रतिकार गर्ने र के बोल्ने भन्‍ने विषयमा चिन्तित नहोओ । 12 पवित्र आत्माले तिमीहरूलाई त्यही घडी के भन्‍नुपर्ने हो भनी सिकाउनुहुनेछ । 13 त्यसपछि भिडबाट एक जनाले उहाँलाई यसो भन्यो, “गुरुज्यू, मेरो भाइलाई सम्पत्तिको भागबन्डा गरिदिनुहोस् भनी बताइदिनुहोस् ।” 14 येशूले त्यसलाई भन्‍नुभयो, “हे मानिस, कसले मलाई तिमीहरूमाथि न्यायधीश र मध्यस्तकर्ता बनायो ?” 15 र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर आफैँलाई लोभी इच्छाहरूबाट अलग राख, किनभने कसैको पनि जीवन उसको प्रशस्त धन सम्पत्तिको कारणले गर्दा जीवन प्रशस्ततामा रहन सक्दैन ।” 16 तब येशूले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो, 17 र उसले मनमनै भन्‍न लाग्यो, ‘म के गरूँ, किनकि मसँग अन्‍नको भण्डारण गर्ने प्रशस्त ठाउँ छैन ?‘ 18 उसले भन्यो, ‘म भकारीहरूलाई भत्काउनेछु र ठुलो बनाउनेछु । त्यहीँ नै सबै अन्‍नहरू र अन्य सामग्री भण्डारण गर्नेछु ।’ 19 म मेरो प्राणलाई भन्‍नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर, खा, पी र आनन्दित हो ।’ 20 तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘मूर्ख मानिस, आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने, तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ ?’ 21 यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछन् र यो परमेश्‍वरकहाँ पुग्दैन ।” 22 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको विषयमा के खाऔँला वा के पहिरौँला भनी चिन्ता नगर । 23 जीवन खानेकुरा भन्दा र शरीर लगाउने कुराभन्दा अझ बढी उत्तम छ । 24 कागहरूलाई विचार गर, तिनीहरूले न त छर्छन् न त बटुल्दछन् । उनीहरूका भण्डारणहरू छैनन् अथवा भकारी पनि छैन, तर परमेश्‍वरले उनीहरूलाई खुवाउनुहुन्छ । तिमी चराहरूभन्दा धेरै मूल्यवान् छौ । 25 र के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो जीवनको आयुमा एकपल पनि थप्‍न सक्छौ र ? 26 तिमीहरू सबैभन्दा सानो काम गर्न योग्यका छैनौ भने बाँकी कुराहरूको लागि किन चिन्तित हुन्छौ ? 27 मैदानका लिली फुलहरूलाई विचार गर, तिनीहरू कसरी बढ्छन् ? न त तिनीहरूले परिश्रम गर्छन्, न त मेहनत नै गर्छन, म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्ना सबै महिमामा यिनीहरूझैँ आभूषित थिएनन् । 28 यदि परमेश्‍वरले जमिनका घाँसलाई सुशोभित पार्नुहुन्छ जुन आज अस्तित्वमा छ, तर भोली आगोमा फालिनेछ भने, हे अल्प विश्‍वासी हो, त्यो भन्दाबढी तिमीहरूलाई कति धेरै सशोभित गर्नुहुनेछ । 29 के खाऔँला र के पिऔँला भनी नभौतारिओ र चिन्ता नगर । 30 संसार भरका सबै राष्‍ट्रहरूले यही कुराको खोजी गर्दछन् र तिम्रा पिताले तिम्रा सबै आवश्‍यकताहरू जान्‍नुहुन्छ । 31 तर उहाँको राज्यको खोजी गर, र यी सबै थोकहरू तिमीलाई थपिनेछन् । 32 सानो बगाल हो, नडराओ, किनकि तिम्रा पिताले तिमीलाई राज्य दिन अति खुसी हुनुहुन्छ । 33 आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ । तिनलाई नखिइने थैलीभित्री राख; स्वर्गमा धन संचय गर, जहाँ चोरले चोर्न सक्दैन, र किराले हानि पुर्‍याउँदैन, न त खिया नै लाग्दछ । 34 जहाँ तिम्रो धन छ, त्यहीँ नै तिम्रो मन पनि हुनेछ । 35 तिम्रो लामो पोसाक कम्मरको पेटीसम्म होस् र तिम्रा बत्तीहरू बलिरहून् । 36 आफ्नो मालिक विवाहको भोजबाट फर्केर आउने प्रतीक्षामा रहेका मानिसहरूझैँ होओ । जब मालिक आउँछ र ढोका ढकढकाउँदछ, तिनीहरूले तुरुन्तै ढोका खोल्नेछन् । 37 धन्य हुन् ती सेवकहरू, जो आफ्नो मालिक फर्केर आउँदा उसले जागा रहेको भेट्टाउनेछ । म तिमीहरूलाई साँचो भन्दछु, कि उसले आफ्नो लामो वस्‍त्रलाई पेटीले कसेर भित्री भागमा सुरक्षित राखी खानामा बसाल्दछ र आएर उनीहरूको सेवा गर्नेछ । 38 यदि मालिक दोस्रो पटक रातको समय आयो भने पनि वा तेस्रो चोटि हेर्न आयो भने पनि तिनीहरू जागा भेट्टाइए भने, तिनीहरू धन्यका हुन् । 39 तर पनि यो जानी राख, कि यदि घरको मालिकलाई चोर कुन बेला आउँछ भन्‍ने थाहा भएको भए उसले आफ्नो घर फोर्नबाट बचाउने थियो । 40 जागा रहो, किनभने तिमीहरूलाई मानिसका पुत्र कुन घडीमा आउँछ भन्‍ने कुरा थाहा छैन ।” 41 पत्रुसले भने, “प्रभु, के तपाईंले यो दृष्‍टान्‍त हामीलाई मात्रै भन्‍नुभएको हो, कि सबैलाई ?” 42 प्रभुले भन्‍नुभयो, “विश्‍वासयोग्य र बुद्धिमान् व्यवस्थापकलाई मालिकले आफूमुनिका सेवकहरूलाई उनीहरूको भागको खाना ठिक समयमा खाना दिन्छन् । 43 धन्य हो त्यो सेवक, जसले आफ्नो मालिक फर्कंदा यी कार्यहरू गरिरहेको भेट्टाउनेछ । 44 म साँचो भन्दछु, कि उसले सबै सम्पत्तिको हक उसलाई दिनेछ । 45 तर यदि सेवकले आफ्नो हृदयमा यसो भन्दछ भने, मेरो मालिक फर्की आउन ढिलो गर्नुहुनेछ भनी स्‍त्री तथा पुरुष सेवकहरूलाई दुर्व्यवहार गरी कुटपिट गर्दछ अनि खाँदै, पिउँदै दाखमद्यले मातिन्छ । 46 त्यस सेवकले नचिताएको बेलामा मालिक फर्की आउनेछ, जुन घडी उसलाई थाहै हुनेछैन । आफ्नो मालिकले उसलाई भेटेर टुक्रा-टुक्रा गरी काट्नेछ र अविश्‍वासीहरूका लागि तयार पारेको ठाउँमा उसको नियुक्‍ति हुनेछ । 47 त्यस सेवकलाई आफ्नो मालिकले यस्तै गर्नेछन भन्‍ने थाहा हुँदाहुँदै पनि आफैँलाई तयार नगरी वा आफ्नो इच्छाअनुसार गरेको कारण उसलाई धेरै मुक्‍का हानिनेछ । 48 तर जसले थाहै नभईकन मुक्‍का पाउने योग्यको काम गर्दछ, उसलाई थोरै मात्र मुक्‍काहरू दिइनेछ । हरेक जसलाई धेरै दिइएको छ, उसबाट पनि चाहिए जति असुलिने छ, जसलाई तिनीहरूले धेरै जिम्मा दिइएको छ उसबाट धेरै नै फिर्ता मागिनेछ । 49 म पृथ्वीमा आगो वर्षाउन आएको हुँ र म जे चाहन्छु त्यो भइसकेको छ । 50 तर मैले एउटा बप्‍तिस्‍मा लिनुपर्नेछ, यो पुरा नहुन्जेलसम्म मैले कष्‍ट भोग्‍नुपर्छ । 51 के म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी सोच्द्छौ ? होइन, म तिमीहरूलाई भन्दछु, कि म बरु विभाजन ल्याउन आएँ । 52 अब परिवारमा भएका पाँच जना मानिसमध्ये तिन जना दुई जनाको विरुद्धमा वा दुई जना तिन जनाको विरुद्धमा हुनेछन् । 53 त्यहाँ विभाजन हुनेछ । बाबुको विरुद्धमा छोरा र छोराको विरुद्धमा बाबु हुनेछ; आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, सासू बुहारीको विरुद्धमा र बुहारी सासूको विरुद्धमा हुनेछिन् । 54 येशूले भिडलाई पनि यसो भनिरहनुभएको थियो, “जब तिमीहरूले पश्‍चिम दिशामा बादल उठेको देख्दछौ र तुरुन्तै भन्दछौ, ‘वृष्‍टि हुनेछ र त्यस्तै हुनेछ ।’ 55 जब दक्षिणबाट बतास बहन्छ, तिमीहरू भन्दछौ, ‘त्यो एकदमै प्रचण्ड तातो हुनेछ र त्यस्तै हुनेछ ।’ 56 पाखण्डीहरू हो, तिमीहरू जान्दछौ कि पृथ्वी र स्वर्गमा भएका चिह्नहरूलाई हेरेर, के हुँदै छ त्यो भन्‍न सक्दछौ, तर अहिलेको वर्तमान समयको विषयमा केही भन्‍न सक्दैनौँ ? 57 तिम्रो आफ्नै लागि जे कुरा ठिक छ, त्यसमा किन न्याय गर्दैनौ ? 58 तिमी आफ्नो विरोधीसँग प्रशासककहाँ जाँदा, बाटोमा नै आफ्नो मुद्दा मिलाऊ ताकि उसले तिमीलाई न्यायमा नडोर्‍याओस् र हाकिमकहाँ नसुम्पोस्, नत्रता हाकिमले तिमीलाई झ्यालखानामा हाल्नेछ । 59 म तिमीलाई भन्दछु, “तिमी कहिल्यै पनि त्यहाँबाट मुक्‍त भएर आउन सक्दैनौ जबसम्म तिमीले त्यसको पैसा चुक्‍ता गर्दैनौँ ।”

13

1 त्यस बेला, केही मानिसहरूले उहाँलाई पिलातसले तिमीहरूको रगत तिनीहरूको आफ्नै बलिदानसँग मिसाइदिएका गालीलीहरूबारे बताए । 2 येशूले जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो, “के ती गालीलीहरूले यस्तो भोगेकाले तिनीहरू अरू गालीलीहरूभन्दा पापी थिए भन्‍ने तिमीहरू सोच्छौँ ? 3 होइन, म तिमीहरूलाई भन्छु । तर यदि तिमीहरूले पनि पश्‍चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्‍ट हुनेछौ । 4 वा सिलोआमको धरहरा भत्केर मरेका अठार जना मानिस, यरूशलेमका अरू मानिसहरूभन्दा बढी पापी थिए भन्‍ने लाग्छ ? 5 म भन्छु, होइन । तर यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्‍ट हुनेछौ । 6 येशूले यो दृष्‍टान्त भन्‍नुभयो, “कसैले उसको दाखबारीमा दाख रोप्‍न लगायो र त्यसमा केही फलहरू खोज्‍न आयो, तर उसले केही पनि पाएन । 7 त्यो मानिसले त्यसको हेरचाह गर्नेलाई भन्यो, ‘हेर, मैले यो दाखको रुखमा तिन वर्षदेखि फल खोजेको छु, तर कुनै पनि फल पाइनँ । यसलाई ढाल । जमिनलाई किन खेर फाल्ने ?’ 8 त्यसको हेरचाह गर्नेले जवाफ दिएर भन्यो, ‘यस वर्ष यसै होस् । म यसको वरिपरि खनेर मल हाल्नेछु । 9 यसले अर्को वर्ष फल फलायो भने, ठिक छ; तर यदि फल फलाएन भने, ढाल्नुहोस्’ ।” 10 यस बेला येशू विश्रामको समयमा एउटा सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो । 11 हेर, त्यहाँ अठार वर्षदेखि दुर्बलताको अशुद्ध आत्माले सताएइकी एउटी स्‍त्री थिइन् र तिनी कुप्रो भएर पूर्ण रूपमा उभिन सक्दिन थिइन् । 12 जब येशूले तिनलाई देख्‍नुभयो, उहाँले तिनलाई बोलाउनुभयो र भन्‍नुभयो, “तिम्रो दुर्बलताबाट छुटकारा पाऊ ।” 13 उहाँले तिनीमाथि हात राख्‍नुभयो र तिनी तत्कालै सोझो भएर उभिन् र परमेश्‍वरको महिमा गरिन् । 14 तर सभाघरका शासकहरू क्रूद्ध भए, किनभने येशूले विश्रामको दिनमा निको पार्नुभएको थियो । त्यसैले, शासकले जवाफ दिएर भिडलाई भने, “काम गर्नको निम्ति छ दिन छन् । यसैले, विश्रामको दिन होइन, अरू दिनमा आओ र निको होओ ।” 15 प्रभुले जवाफ दिएर भन्‍नुभयो, “पाखण्डीहरू हो ! के तिमीहरू हरेकले विश्रामको दिनमा तिमीहरूका गधा वा गाईलाई फुकाएर पानी खुवाउन लाँदैनौ र ? 16 त्यसैले, यी अब्राहामकी छोरी जसलाई अठार वर्षदेखि शैतानले बन्धनमा पारेको छ, के तिनको बन्धन विश्रामको दिनमा नै फुकाल्नु पर्दैन र ?” 17 जब उहाँले यी कुराहरू भन्‍नुभयो, उहाँका विरोध गर्नेहरू सबै लज्‍जित भए, तर सम्पूर्ण भिड उहाँले गर्नुभएका यी सबै महिमामय कार्यहरूमा आनन्दित भए । 18 तब येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य केजस्तो छ र म यसलाई केसँग तुलना गर्न सक्छु ? 19 यो एउटा रायोको बिउजस्तो हो, जसलाई एउटा मानिसले उसको करेसाबारीमा लगेर छरे र यो एउटा ठुलो बिरुवा भयो र आकाशका चराहरूले यसका हाँगाहरूमा गुँड बनाए ।” 20 उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्यलाई म केसँग तुलना गर्न सक्छु ? 21 यो एउटा स्‍त्रीले खमिरलाई लिएर तिन मुठी पिठोमा यसलाई नफुलेसम्म मिसाएजस्तो हो ।” 22 येशू यरूशलेम जाने बाटोमा पर्ने हरेक सहर र गाउँमा घुम्‍नुभयो र तिनीहरूलाई सिकाउनुभयो । 23 कसैले उहाँलाई भन्यो, “प्रभु, के थोरै मानिसहरू मात्र बचाइन्छन् त ?” त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो, 24 “साँगुरो ढोका भएर पस्‍ने कोसिस गर, किनभने धेरैले प्रयास गर्नेछन्, तर पस्‍न सक्षम हुनेछैनन् । 25 एक पटक घरको मालिक उठेर ढोका थुनेपछि, तिमीहरू बाहिर उभिएर ढोका ढक्ढक्याउँदै यसो भन्‍नेछौ, ‘प्रभु, हामीलाई भित्र आउन दिनुहोस् ।’ अनि उहाँले जवाफ दिएर तिमीहरूलाई भन्‍नुहुनेछ, ‘म तिमीहरूलाई चिन्दिनँ अर्थात् तिमी कहाँबाट आएको ?’ 26 तब तिमीहरूले भन्‍नेछौ, ‘हामीले तपाईंसँगै खायौँ, पियौँ र तपाईंले हाम्रा गल्लीहरूमा सिकाउनुभयो ।’ 27 तर उहाँले जवाफ दिनुहुनेछ, ‘म तिमीहरूलाई भन्दछु, कि तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ । दुष्‍टहरू हो, मबाट गइहाल् ।’ 28 जब तिमीहरूले परमेश्‍वरको राज्यमा अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्‍ताहरूलाई देख्‍नेछौ, तिमीहरूलाई बाहिर फ्याँकिनेछ जहाँ रुवाइ र दाँत किटाइ हुनेछ । 29 तिनीहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आइपुग्‍नेछन् र परमेश्‍वरको राज्यको भोजमा रमाउनेछन् । 30 र अब, यो जान कि अन्तिमको पहिलो हुनेछ र पहिलोचाहिँ अन्तिम हुनेछ । 31 लगतै केही फरिसीहरू आए र उहाँलाई भने, “यहाँबाट जानुहोस्, यसलाई छोड्नुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन् ।” 32 येशूले भन्‍नुभयो, “जाऊ र त्यो फ्याउरोलाई भन, हेर, मैले आज र भोलि भूतहरू निकाल्छु र निको पार्नेछु र तेस्रो दिन मेरो लक्ष्य पुरा गर्नेछु । 33 आज, भोलि र पर्सि मैले निरन्तरता दिनु आवश्यक छ, किनभने यरूशलेमबाट टाढामा एउटा अगमवक्‍ताहरूलाई मार्नु ग्रहणयोग्य हुँदैन । 34 त्यहाँ पठाइएका अगमवक्‍ताहरूलाई मार्ने, ढुङ्गाले हान्‍ने हे यरूशलेम ! मैले एउटा पोथीले आफ्ना चल्लाहरूलाई बटुलेझैँ तेरा सन्तानहरूलाई बटुल्न कति पटक इच्छा गरेँ, तर तैँले मानिनस् । 35 हेर, तेरो घर त्यागिएको छ । म तिमीहरूलाई भन्छु, तिमीहरूले यसो नभनेसम्म तिमीहरूले मलाई देख्‍नेछैनौ, “परमप्रभुको नाउँमा आउने धन्यको हो ।”

14

1 एउटा विश्राम दिनमा जब उहाँ फरिसीहरूका एक जना अगुवाको घरमा रोटी खान जानुभयो, तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए । 2 हेर, त्यहाँ उहाँको अगाडि एउटा मानिस थियो जो छारे रोगबाट ग्रसित थियो । 3 येशूले यहूदी व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्‍नुभयो, “विश्राम दिनमा निको पार्नु उचित छ वा छैन ? 4 तर तिनीहरू मौन रहे । त्यसैले, येशूले त्यसलाई समातेर निको पार्नुभयो र उसलाई पठाइदिनुभयो । 5 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये कसले आफ्नो छोरा अथवा गोरुलाई विश्राम दिनको दिन इनारमा खसेको देख्दा तुरुन्तै बाहिर निकाल्दैन र ?” 6 तिनीहरूले ती कुराहरूको जवाफ दिन सकेनन् । 7 जब येशूले ख्याल गर्नुभयो कि कसरी ती जो बोलाइएकाहरूले आदरको आसन छान्‍ने गर्दथे, तिनीहरूलाई उहाँले एउटा उखान भन्‍नुभयो । 8 “जब तिमीहरूलाई कसैले विवाह भोजमा बोलाउँछ, आदरको ठाउँमा नबस किनकि तिमीभन्दा अझै आदरको मानिसलाई बोलाएको हुन सक्दछ । 9 जब बोलाइएका दुवै जना आउँदछन्, उसले तिमीलाई भन्दछ, ‘तपाईं बसेको यो ठाउँ उहाँका लागि छोडिदिनुहोस्‘ भन्ला र लाजकासाथ तिमीले त्यो ठाउँ छोडेर तल्लो ठाउँमा बस्‍नुपर्ने हुन्छ । 10 तर जब तिमीलाई निमन्‍त्रणा गरिन्छ, गएर कम महत्त्‍वको ठाउँमा बस, ताकि तिमीलाई बोलाउने मानिस आएर साथी माथिल्लो स्थानमा गएर बस्‍नुहोस् भनेर भनोस् । तब तिम्रो टेबलमा बस्‍नेहरूका बिचमा तिम्रो आदर हुनेछ । 11 हरेक जसले आफूलाई उचाल्दछ त्यसलाई होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ त्यो उच्‍च पारिनेछ । 12 उहाँलाई बोलाउनुभएको मानिसलाई येशूले भन्‍नुभयो, “जब तिमीले कसैलाई खाना खान बोलाउँछौ, तब आफ्ना साथीहरू वा आफ्ना दाजुभाइहरू वा आफ्ना नातेदारहरू वा आफ्ना धनी छिमेकीहरूलाई नबोलाऊ किनकि तिनीहरूले पनि तिमीलाई त्यसको बदला बोलाउन सक्दछन् । 13 तर जब तिमीले भोज दिन्छौ, गरिब, लुला-लङ्गडा र दृष्‍टिविहीनहरूलाई बोलाऊ । 14 र तिमी आशिषित् हुनेछौ, किनकि तिनीहरूले तिमीलाई तिम्रो गुणा फिर्ता गर्न सक्दैनन् । किनकि धर्मीहरूको पुनरुत्थान हुँदा तिम्रो गुण तिरिनेछ ।” 15 येशूसँगै टेबुलमा बस्दा तिनीहरूमध्ये एक जना जसले यी कुराहरू सुन्यो, जब उसले उहाँलाई भन्यो, “त्यो धन्यको हो जसले परमेश्‍वरको राज्यमा रोटी खानेछ ।” 16 तर येशूले त्यसलाई भन्‍नुभयो, “एक जना मानिसले ठुलो भोजको आयोजना गर्‍यो र धेरैलाई निम्तो दियो । 17 जब भोज तयार भयो, तब उसले आफ्नो सेवकलाई निम्तो गरिएकाहरूलाई बोलाउन पठायो ‘आउनुहोस् सबै कुरा तयार भइसक्यो ।’ 18 तिनीहरू सबैले फरक-फरक किसिमको बहाना बनाउन थाले । पहिलोले भन्यो, ‘मैले भर्खर खेत किनेको छु र मैले गएर त्यो हेर्नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’ 19 र अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु र मैले तिनीहरूलाई जोत्‍नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’ 20 र अर्को मानिसले भन्यो, ‘मैले श्रीमती विवाह गरेको छु, त्यसकारण म आउन सक्दिनँ ।’ 21 त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र सेवकलाई भने, ‘छिटो बाहिर गल्ली र सहरका खुल्ला मैदानमा जाऊ र गरिब, लुला, लङ्गडा, दृष्‍टिविहीनहरूलाई यहाँ ल्याऊ ।’ 22 तब सेवकले भन्यो, ‘मालिक, तपाईंको आदेशअनुसार सबै कुरा भयो, तरै पनि त्यहाँ अझै ठाउँ बाँकी छ ।’ 23 मालिकले सेवकलाई भने, ‘राजमार्गहरू, गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन अनुरोध गर, ताकि मेरो घर भरिएको होस् । 24 किनकि म तिमीलाई भन्दछु, पहिला बोलाएकाहरू कसैले पनि मेरो भोज चाख्‍न पाउने छैन ।’ 25 ठुलो भिड उहाँसँग गइराखेको थियो, र उहाँ तिनीहरूतिर फर्केर भन्‍नुभयो, 26 “यदि कोही मेरो पछि आउँछ भने र आफ्नो आमा, बुबा, श्रीमती, छोराछोरी, दाजुभाइ र दिदी-बहिननी, र आफ्नै जीवनलाई पनि इन्कार गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन । 27 जसले आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन सक्दैन । 28 तिमीहरूमध्ये को होला, जसले एउटा धरहरा बनाउने इच्छा गर्दछ र पहिला बसेर निर्माण सम्पन्‍न गर्न सक्‍ने रुपियाँ-पैसा छ कि छैन भनेर त्यसको हिसाब गर्दैन र ? 29 नत्रभने, उसले जग बसालिसकेपछि निर्माण सम्पन्‍न गर्न सकेन भने, यसलाई देख्‍ने सबैले उसको गिल्ला गर्नेछन् र 30 भन्‍नेछन्, ‘यो मानिसले निर्माण गर्न त सुरु गर्‍यो तर सिद्धयाउन सकेन ।’ 31 अथवा त्यो कस्तो राजा हो, जसले आफूसँग भएको दस हजार मानिसका साथ अर्को बिस हजार मानिस भएको राजासँग सामना गर्न सक्छु कि सक्दिनँ भनी पहिला बसेर सल्लाह लिँदैन ? 32 र यदि सक्दैन भने, अर्को सेना टाढा हुदाँ नै उसको राजदूत पठाएर शान्तिको शर्त राख्‍न सक्छ । 33 त्यसैले, तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्‍न सक्‍दैन भने, ऊ मेरो चेला हुन सक्दैन । 34 नुन असल हो, तर यदि नुनले यसको स्वाद गुमायो भने, यसलाई कसरी फेरि नुनिलो बनाउने ? 35 यो जमिनको लागि काम लाग्दैन वा मलको थुप्रोको लागि पनि । यो कुल्चन र फ्याँक्‍न को लागि मात्र हुन्छ । जसको कान छ,त्यसले सुनोस् ।”

15

1 अब सबै कर उठाउनेहरू र पापीहरू उहाँकहाँ वचन सुन्‍नलाई आउँदै थिए । 2 फरिसीहरू र शास्‍त्रीहरू एक-अर्कासँग गनगन गर्न थाले र भने, “यस मानिसले पापीहरूलाई स्वागत गरी तिनीहरूसँग खाने गर्दछ ।” 3 येशूले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो, 4 “तिमीहरूमध्ये कुनचाहिँ होला, यदि उसका सयवटा भेडा छन् र त्यसमध्ये एउटा हराएमा, उनान्‍सयवटा भेडालाई उजाड-स्थानमा छोडेर हराएको एउटा भेडालाई नभेट्टाउन्जेल खोज्दैन ? 5 त्यसपछि जब उसले भेट्टाउँछ, उसलाई काँधमा राखेर रमाउँछ । 6 जब ऊ घर आउँछ, उसले आफ्ना साथीहरू र छिमेकीहरूलाई बोलाउँछ र यसो भन्छ, ‘मसँग आनन्दित हुनुहोस्, किनभने मैले मेरो हराएको भेडालाई भेट्टाएको छु ।’ 7 म पनि तिमीहरूलाई भन्दछु, कि उनान्सय जना पश्‍चात्ताप गर्न नपर्ने धर्मी मानिसहरूभन्दा पश्‍चात्ताप गर्नुपर्ने एक जना पापी मानिसको खातिर स्वर्गमा ठुलो रमाहट हुनेछ । 8 अथवा कुन स्‍त्री होला जससँग दसवटा चाँदीका सिक्‍काहरूमध्ये एउटा हराएमा, बत्ती बालेर, घर बढारेर र सिक्‍का नभेट्टाइन्जेल दिलोज्यानसाथ खोज्दिनन् र ? 9 जब तिनले भेट्टाउँछिन्, तब तिनले अफ्ना सबै साथीहरू र छिमेकीहरूलाई यसो भनी बोलाउँछिन्, ‘मसँग रमाओ, किनभने मैले हराएको सिक्‍का भेट्टाएकी छु ।’ 10 त्यसै गरी, म तिमीहरूलाई भन्दछु, कि एक जना पश्‍चात्ताप गर्ने पापीका खातिर परमेश्‍वरका दूतहरूका उपस्थितिमा स्वर्गमा ठुलो आनन्द हुनेछ ।” 11 त्यसपछि येशूले भन्‍नुभयो, “एक जना मानिसका दुई जना छोरा थिए, 12 र कान्छाले उसका बुबालाई भन्यो, ‘बुबा मैले पाउनुपर्ने सम्पत्तिको अंश अब मलाई दिनुहोस् ।’ त्यसैले, तिनीहरूका बिचमा उनले सम्पत्ति बाँडिदिए । 13 धेरै दिन नबित्दै, कान्छा छोराले आफ्ना सर सामान तयार गरी टाढा देश जान यात्रा सुरु गरे र उनले अनाअवश्यक थोकहरू किनेर त्यहाँ उनले जथाभावी रुपियाँ-पैसा खर्च गरे । 14 जब उनले सबै खर्च गरी सिध्याए, त्यहाँ देशभरि ठुलो अनिकाल पर्न सुरुभयो र उनी निकै खाँचोमा पर्न थाले । 15 उनी त्यस देशको एक जना नागरिककहाँ गए र काम खोजे, ती नागरिकले उनलाई सुँगुरहरू चराउन पठाए । 16 उनलाई कसैले केही पनि खानेकुरा नदिएका कारण सुँगुरहरूले खाने दानाले उनले आफ्‍नो पेट भर्न चाहन्थे । 17 तर जब कान्छा छोरा आफैँले विचार गरे र भने, ‘मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा छ, तर म भने यहाँ भोकभोकै मरिरहेको छु ! 18 म यस ठाउँलाई छोडेर मेरा बुबाकहाँ जानेछु, र उहाँलाई भन्‍नेछु, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु । 19 म तपाईंको छोरा भनिनयोग्य छैनँ; मलाई तपाईंका सेवकहरूमध्ये एक नोकर बनाउनुहोस् ।’ 20 यसरी कान्छो छोराले त्यस ठाउँ छाडे र आफ्ना बुबाको घरतर्फ लागे । उनी टाढै छँदा बुबाले उनलाई देखे र दयाले भरिएर दौडे र अँगालो हालेर म्वाँइ खाए । 21 छोराले बुबालाई भन्यो, ‘बुबा मैले स्वर्ग र तपाईंको दृष्‍टिमा पाप गरेको छु र म तपाईंको छोरा भनी बोलाइन योग्यको छैनँ ।’ 22 बुबाले सेवकहरूलाई भने, ‘तुरुन्तै उत्तम वस्‍त्रहरू ल्याओ र उनलाई लगाइदेओ, उनको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ ।’ 23 त्यसपछि मोटो पशु मार । हामी खाऔँ र उत्सव मनाऔँ । 24 किनकि मेरा छोरा मरेका थिए, अब जीवित भएका छन्; हराएका थिए, तर अब भेटिएका छन् । तिनीहरूले उत्सव मनाउन सुरु गरे ।’ 25 अब उनको जेठो छोरा खेतमा थियो, ऊ जब घरको नजिकै आइपुग्यो, उनले नाचगानहरू भैरहेको सुने । 26 उनले सेवकहरूमध्ये एक जनालाई बोलाएर के कुराहरू भइराखेको होला भनेर सोधे । 27 सेवकले उनलाई भने, तपाईंका भाइ आउनुभएको छ, र तपाईंको बुबाले मोटो पशु मार्नुभएको छ, किनकि उहाँ सुरक्षित फर्कनुभयो । 28 जेठो छोरो रिसाएको थियो र भित्र पसेन र उनका बुबा बाहिर आएर उसलाई मनाउन थाले । 29 तर जेठा छोराले जवाफ दिएर उनका बुबालाई भने, ‘हेर्नुहोस्, यति धेरै वर्ष मैले तपाईंको सेवकझैँ काम गरेँ, मैले कहिल्यै तपाईंको एउटा नियम पनि तोडिनँ, तर तपाईंले मलाई कहिल्यै मेरा साथीहरूसँग आनन्द मनाउन एउटा पाठो पनि दिनुभएन, 30 तर जब तपाईंको छोरा आयो, जसले सम्पत्ति वेश्याहरूसँग सखाप पारेको थियो, त्यसको लागि तपाईंले मोटो पशु मार्नुभयो ।’ 31 बुबाले उनलाई भने, ‘छोरा, तिमी त मसँग सधैँ छौ र मसँग भएका सबै थोक तिम्रै हुन् । 32 तर अहिले हामीलाई उत्सव मनाउन र खुसी हुनु उचित छ, किनभने तिम्रो भाइ मरेका थिए र अहिले जीवित भएका छन्; र उनी हराएका थिए र अहिले भेटिएका छन्‘ ।”

16

1 येशूले आफ्ना चेलाहरूलाई यसो पनि भन्‍नुभयो, “कोही एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्यस व्यवस्थापकले तिनको धन फजुल खर्च गरिरहेको छ भनी तिनलाई सुनाइदिए । 2 तब ती धनी मानिसले उसलाई बोलाएर भने, ‘तिम्रो बारेमा म यो के सुन्दै छु ? तिम्रो व्यवस्थापनको बारेमा हिसाब देऊ । अब उप्रान्त तिमी व्यवस्थापक रहन सक्दैनौ ।’ 3 त्यो व्यवस्थापकले आफैँसँग भन्यो, ‘मेरा मालिकले अब मलाई व्यवस्थापकको कामबाट हटाउन लागेका छन्, म के गरूँ ? मेरो खन्‍ने तागत छैन; मलाई माग्‍न पनि लाज लाग्दछ । 4 मैले के गर्नेछु भन्‍ने कुरा मलाई थाहा छ । मलाई व्यवस्थापकको कामबाट हटाइएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा निम्त्याऊन् भनी म यसो गर्नेछु ।’ 5 तब त्यस व्यवस्थापकले उसका मालिकका ऋणीहरू प्रत्येकलाई बोलायो र पहिलो चाहिँलाई भन्यो, ‘तिमीले मेरा मालिकलाई कति तिर्नु छ ? ’ 6 उसले भन्यो, ‘एक सय माना जैतूनको तेल ।’ उसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, तुरुन्तै बसेर पचास लेख ।’ 7 तब त्यस व्यवस्थापकले अर्कोलाई भन्यो, ‘तिम्रोचाहिँ ऋण कति छ ?’ उसले भन्यो, ‘एकसय माना गहुँ ।’ उसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक ल्याऊ र असी लेख ।’ 8 तब ती मालिकले त्यस अधर्मी व्यवस्थापकको प्रशंसा गरे किनकि उसले चतुर्‍याइँसँग काम गरेको थियो । किनकि आफ्ना मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा यस संसारका सन्तानहरू बढी चतुर हुन्छन् । 9 म तिमीहरूलाई भन्दछु, अधर्मी धनले तिमीहरूले अफ्ना लागि मित्र बनाओ, र यो धन सकिएपछि तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून् । 10 जो अत्यन्तै थोरैमा विश्‍वासयोग्य हुन्छ, त्यो धेरैमा पनि विश्‍वासयोग्य हुन्छ र जो अत्यन्तै थोरैमा अधर्मी हुन्छ, त्यो धेरैमा पनि अधर्मी हुन्छ । 11 त्यसकारण, तिमीहरू अधर्मी सम्पत्ति प्रयोग गर्ने कुरामा विश्‍वासयोग्य भएनौ भने, साँचो सम्पत्तिमा तिमीहरूलाई कसले भरोसा गर्ला र ? 12 त्यस्तै अरू मानिसहरूको सम्पत्तिमा तिमीहरू विश्‍वासयोग्य भएनौ भने, तिमीहरूको आफ्नै सम्पत्ति तिमीहरूलाई कसले देला र ? 13 कुनै पनि सेवकले दुई जना मालिकको सेवा गर्न सक्दैन, किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ अथवा एउटाप्रति भक्‍ति देखाउनेछ र अर्कोलाई तुच्छ ठान्‍नेछ । तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्दैनौ ।” 14 अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने र तिनीहरूले उहाँको गिल्ला गरे । 15 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको दृष्‍टिमा तिमीहरूले आफैँलाई धर्मी ठहर्‍याउँछौ, तर परमेश्‍वरले तिमीहरूका हृदयहरू जान्‍नुहुन्छ । जो मानिसहरूका माझमा उच्‍च हुन्छ, त्यो परमेश्‍वरको नजरमा घृणित हुन्छ । 16 यूहन्‍ना आउनअगि अगमवक्‍ता र व्यवस्थाले काम गर्दथे । त्यस समयदेखि, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिएको छ र यसमा सबै जना बलजफ्तीसँग प्रवेश गर्न कोसिस गर्छन् । 17 स्वर्ग र पृथ्वी बितेर जान सक्ला तर व्यवस्थाको वचनबाट एउटा अक्षरको थोप्लो पनि रद्द हुनेछैन । 18 प्रत्येक जसले आफ्नी पत्‍नीलाई छोडपत्र दिन्छ र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ र जसले आफ्नो पतिसँग छोडपत्र गरेकीसँग विवाह गर्छ त्यसले पनि व्यभिचार गर्छ । 19 अब कोही एक जना धनी मानिस थियो र उसले सधैँ मसिनो मलमल र वैजनी वस्‍त्र पहिरन्थ्यो र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गर्दथ्यो । 20 लाजरस नाम गरेको, घावैघाउ भएको कोही एक जना मानिसलाई ल्याएर उसको ढोकामा राखिदिन्थे । 21 उसले त्यस धनी मानिसको टेबलबाट झरेका टुक्राटाक्रीले आफ्नो पेट भर्ने इच्छा गर्थ्‍यो र त्यसबाहेक, कुकुरहरू आएर उसका घाउहरू चाट्ने गर्थे । 22 यसपछि त्यो भिखारी मर्‍यो र स्वर्गदूतहरूले उसलाई उठाएर अब्राहामकहाँ लगे । त्यो धनी मानिस पनि मर्‍यो र गाडियो । 23 र नरकमा कष्‍ट भोगिरहेको बेला, उसले आफ्ना आँखा उठाएर हेर्‍यो र टाढामा अब्राहामलाई र तिनको छातीमा आड लागेको लाजरसलाई देख्यो । 24 अनि उसले कराएर भन्यो, ‘पिता अब्राहाम, ममाथि कृपा गर्नुहोस् र लाजरसलाई पठाइदिनुहोस् । उसको औँलाले पानीको थोपा चुहाई देओस् र मेरो जिब्रो शितल हुनेछ किनभने म यस ज्वालाको पीडामा छु ।’ 25 तर अब्राहामले भने, ‘बाबु आफ्नो जीवनकालमा तिमीले असल कुराहरू पायौ र त्यसै गरी लाजरसले खराब कुराहरू पायो भन्‍ने कुरा याद राख । तर अहिले ऊ यहाँ आराममा छ र तिमी पीडामा छौ । 26 र यी सबै बाहेक तिम्रो र हाम्रो बिचमा र मानिसहरू यताबाट उता र उताबाट यता आउन नसकून् भनेर ठुलो खाडल राखिएको छ ।’ 27 धनी मानिसले भन्यो, ‘म बिन्ती गर्छु पिता अब्राहाम, उसलाई मेरा पिताको घरमा पठाइदिनुहोस् । 28 किनकि मेरा पाँच जना भाइ छन् । उसले तिनीहरूलाई चेताउनी दिओस् र तिनीहरू यस डरलाग्दो ठाउँमा आउनु नपरोस् ।’ 29 तर अब्राहामले भने, ‘तिनीहरूसँग मोशा र अगमवक्‍ताहरू छन् । तिनीहरूले उनीहरूका कुरा सुनून् ।’ 30 धनी मानिसले उत्तर दियो, ‘होइन पिता अब्राहाम, मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने, तिनीहरूले पश्‍चात्ताप गर्ने थिए ।’ 31 अब्राहामले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्‍ताका कुरा सुनेनन् भने कोही मृत्युबाट उठेको मानिसको कुरा पनि मान्‍ने छैनन्’ ।”

17

1 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “पाप गर्न लगाउने कुराहरू निश्‍चय नै हुनेछन्, तर त्यस व्यक्‍तिलाई धिक्‍कार छ जसद्वारा यो आउँदछ । 2 उसले यी सानाहरूमध्ये एक जनालाई ठेस लगाउनुभन्दा त उसको घाँटीमा ढुङ्गा झुन्डाएर उसलाई समुद्रमा फालिदिएको भए उसको लागि असल हुने थियो । 3 आफ्नो बारेमा होसियार रहो । तिम्रो भाइले पाप गर्छ भने उसलाई हप्काऊ र उसले क्षमा माग्छ भने उसलाई क्षमा गर । 4 यदि उसले तिम्रो विरुद्धमा दिनमा सात पटकसम्म पाप गर्दछ भने र सातै पटक तिमीकहाँ फर्की आएर, ‘म पश्‍चात्ताप गर्छु’ भन्यो भने तिमीले उसलाई क्षमा गर्नुपर्छ । 5 प्रेरितहरूले प्रभुलाई भने “हाम्रो विश्‍वास बढाइदिनुहोस् ।” 6 प्रभुले भन्‍नुभयो “यदि तिमीसँग रायोको बिउजत्रो विश्‍वास छ भने नेभाराको रुखलाई ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्‍नेछ । 7 तर तिमीहरूमध्ये को होला जसको नोकरले जोत्दै वा भेडा चराउँदै गर्दा उसले तिमीलाई भन्‍नेछ, तत्कालै आउनुहोस् र खाना खानलाई बसौँ ।” 8 मेरो लागि खानको लागि खानेकुरा तयार पार, र कम्मरमा पटुका कस र मैले नसकुन्जेल मेरो सेवा गर भनेन भने, के तिमीले त्यसपछि केही कुरा खाने र पिउने गर्दछौ र ? 9 उसले आफ्नो नोकरलाई स्याबासी दिनेछैन किनकि हामीले केही आज्ञा नगरी के उसले हाम्रो निम्ति गर्नेछ ? 10 तिमीले अर्‍हाएको कुरा मात्र गर्दछौ भने तिमीले यसो पो भन्‍नुपर्ने हो, “हामी अयोग्य नोकरहरू हौँ, हामीले गर्नुपर्ने मात्र गरेका छौँ ।” 11 यो भन्दै गर्दा तिनीहरू यरूशलेमको यात्रा गर्दै थिए । त्यस बेला उहाँ सामरिया र गालील हुँदै यात्रा गर्नुभयो । 12 एउटा गाउँमा पुगेपछि, उहाँले दस जना कुष्‍ठरोग लागेका मानिसलाई भेट्नुभयो । तिनीहरू उहाँभन्दा टाढा उभिए । 13 र तिनीहरूले चर्को स्वरले भने, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।” 14 जब उहाँले तिनीहरूलाई देख्‍नुभयो र भन्‍नुभयो, “जाओ र आफैँलाई पुजारीकहाँ देखाओ । र तिनीहरू गए अनि निको भए ।” 15 जब तीमध्ये एक जनाले आफू निको भएको महसुस गर्‍यो, ऊ चर्को स्वरले परमेश्‍वरको महिमा गर्दै फर्कियो ।” 16 उसले येशूको चरणमा पर्दै, उहाँलाई धन्यवाद चढायो । ऊ एउटा सामरी थियो । 17 येशूले उत्तर दिँदै भन्‍नुभयो, “के त्यहाँ दस जना निको भएका होइनन् ? अरू नौ जना कहाँ गए ? 18 के यो परदेशीबाहेक निको भएकाहरू फर्केर परमेश्‍वरलाई महिमा दिनुपर्ने होइन र ? 19 उहाँले त्यसलाई भन्‍नुभयो, “उठ र आफ्नो बाटो जाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” 20 फरिसीहरूले परमेश्‍वरको राज्य कहिले आउँछ भनी सोधे । येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “परमेश्‍वरको राज्य तिमीहरूले देखेको जस्तै होइन, 21 न त तिनीहरूले भन्‍नेछन्, ‘यता हेर ! वा उता हेर !’ किनभने परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ ।” 22 येशूले चेलाहरूलाई भन्‍नुभयो, “त्यो दिन आउनेछ जब तिमीहरूले मानिसका पुत्रलाई हेर्ने इच्छा गरौला तर तिमीहरूले देख्‍नेछैनौ । 23 तिनीहरूले तिमीलाई भन्‍नेछन्, ‘यता हेर ! उता हेर !’ तर तिमीहरूले नहेर, न त तिनीहरूलाई पछ्याओ । 24 आकाशमा एउटा कुनामा बिजुली चम्कदा अर्को कुनामा देखिएजस्तै मानिसका पुत्रको आगमनको दिनमा त्यस्तै हुनेछ । 25 तर उहाँ पहिले विभिन्‍न थोकहरूबाट सताइनुहुनेछ र यो पुस्ताद्वारा अस्वीकार गरिनुहुनेछ । 26 यस्ता घटनाहरू नोआको समयमा पनि भएको थिए र मानिसका पुत्रको समयमा पनि ती कुराहरू हुनेछन् । 27 नोआ जहाजभित्र नपसुन्जेलसम्म तिनीहरू खाँदै, पिउँदै, र विवाहमा सहभागी भएका थिए । त्यसपछि बाढी आयो र सबै कुरालाई विनाश गर्‍यो । 28 यस्तै घटनाहरू लोतको समयमा पनि घटेको थियो । त्यस समयमा तिनीहरूले खाँदै, पिउँदै, किन्दै, बेच्दै, र ती विभिन्‍न कुराहरूको निर्माण गर्दै थिए । 29 तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्‍ट गर्‍यो । 30 अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् । 31 त्यस दिनमा घरको माथिल्लो तल्‍लाबाट आफ्ना असल चिज लिनको लागि तल नआओ । र कोही खेतमा छ भने, नफर्क । 32 लोतकी पत्‍नीलाई सम्झ । 33 जसले आफ्नो प्राण बचाउन खोज्ला उसले त्यो गुमाउनेछ, तर जसले गुमाउला, उसको बचाइनेछ । 34 म तिमीलाई भन्‍नेछु, रातको समयमा दुई जना एकै ठाउँमा सुत्‍नेछन् । 35 तिनीहरूमध्ये एक जना लगिनेछ, र अर्को छोडिनेछ । 36 (खेतमा दुई जना हुनेछन् तिनीहरूमध्ये एक जना लगिनेछ र अर्को छोडिनेछ । ) 37 तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु ?” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू जम्मा हुनेछन् ।”

18

1 तब तिनीहरूले कसरी सधैँ प्रार्थना गर्नुपर्छ र निरुत्साह हुनुहुँदैन भन्‍ने सम्बन्धमा उहाँले तिनीहरूसँग दृष्‍टान्तमा बोल्नुभयो । 2 उहाँले भन्‍नुभयो, “कुनै एउटा सहरमा एक जना न्यायाधीश बस्दथे, जसले परमेश्‍वरको भय मान्दैनथे र मानिसहरूको पनि आदर गर्दैनथे । 3 त्यस सहरमा एक जना विधवा बस्थिन् र बारम्बार ती अधर्मी न्यायाधीशकहाँ आउँथिन् र भन्थिन्, ‘मलाई सहायता गर्नुहोस् र मेरो वादीको विरुद्ध मलाई न्याय दिलाउनुहोस् ।’ 4 लामो समयसम्म उनले ती विधवालाई सहायता गर्ने इच्छा गरेनन्, तर केही समयपछि उनले मनमनै भने, ‘मैले परमेश्‍वरको भय मान्दिनँ र मानिसहरूको पनि आदर गर्दिनँ, 5 तर यस विधवाले मलाई सताउँछे । त्यसैले, मकहाँ बारम्बार आएर यसले मलाई नसताओस् भनेर, म उसलाई न्याय दिलाउनेछु’ ।” 6 तब प्रभुले भन्‍नुभयो, “ती अन्यायी न्यायाधीशले के भन्छन्, सुन । 7 के परमेश्‍वरले पनि उहाँलाई दिनरात पुकारा गर्ने आफ्ना चुनिएका मानिसहरूको निम्ति न्याय गरिदिनुहुन्‍न र ? के उहाँ तिनीहरूप्रति धैर्यवान् हुनुहुन्‍न र ? 8 म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूलाई तुरुन्तै न्याय दिलाउनुहुनेछ । तर जब मानिसका पुत्र आउनेछन्, के उनले पृथ्वीमा विश्‍वास भेट्टाउनेछन् र ?” 9 त्यसपछि उहाँले आफैँलाई धर्मी ठान्‍ने र अरूलाई तुच्छ ठान्‍ने कतिपय मानिसहरूलाई यो दृष्‍टान्त पनि भन्‍नुभयो, 10 “दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए– एक जना फरिसी र अर्को कर उठाउने । 11 फरिसीले उभिएर यसो भनेर आफ्नै बारेमा प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु कि म अरू चोरहरूजस्तो छैनँ, अधर्मीहरूजस्तो छैनँ, व्यभिचारीजस्तो पनि छैनँ, यही कर उठाउनेजस्तो पनि छैनँ । 12 म हरेक हप्‍ता दुई पटक उपवास बस्दछु । म आफूले पाएका सबै थोकको दशांश दिन्छु ।’ 13 तर कर उठाउने मानिसले टाढैबाट उभिएर, स्वर्गतिर पनि नहेरीकन आफ्नो छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्‍वर म पापीमाथि कृपालु हुनुहोस् ।’ 14 म तिमीहरूलाई भन्दछु, कि यो मानिस अर्को मानिसभन्दा बढी धर्मी ठहरिएर आफ्नो घर फर्क्यो, किनभने हरेक जसले आफूलाई उचाल्दछ त्यो होच्याइनेछ र जसले आफैँलाई होच्याउँछ त्यो उचालिनेछ । 15 उहाँले तिनीहरूलाई छोइदिऊन् भनी मानिसहरूले बालबालिकाहरूलाई पनि उहाँकहाँ ल्याए, तर यो यो देखेर चेलाहरूले तिनीहरूलाई हकारे । 16 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यस्तैहरूको हो । 17 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि कसैले परमेश्‍वरको राज्यलाई बालकले झैँ ग्रहण गर्दैन भने त्यो निश्‍चय नै स्वर्गमा प्रवेश गर्नेछैन ।” 18 एक जना शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ ?” 19 येशूले तिनलाई भन्‍नुभयो, “किन मलाई असल भन्दछौ, एक परमेश्‍वरबाहेक कोही पनि असल छैन । 20 तिमीलाई आज्ञाहरू थाहा छ– तैँले व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झुटो गवाही नदिनू, आफ्ना आमाबुबाको आदर गर्नू ।” 21 ती शासकले भने, “यी सब कुराहरू त मैले आफ्नो जवान अवस्थादेखि नै पालन गरिरहेको छु ।” 22 जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमीमा अझै एउटा कुराको कमी छ । तिमीले आफ्नो सारा सम्पत्ति बेच्‍नुपर्छ र गरिबहरूलाई दिनुपर्छ अनि तिम्रो धन स्वर्गमा हुनेछ । त्यसपछि आऊ र मेरोपछि लाग ।” 23 तर जब धनी मानिसले यो कुरा सुने, तिनी अति नै दुःखित भए, कारण तिनी धेरै धनी थिए । 24 तब येशूले तिनलाई हेरेर अति दुःखित हुँदै भन्‍नुभयो, “धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति गाह्रो छ ! 25 धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्नुभन्दा बरु उँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ !” 26 त्यो सुन्‍नेहरूले यसो भने, “त्यसो भए को बचाइनेछ त ?” 27 येशूले जवाफ दिनुभयो, “मानिसको निम्ति जुन कुरा असम्भव छ, त्यो परमेश्‍वरमा सम्भव छ ।” 28 पत्रुसले जवाफ दिए, “हामीले आफ्ना सबै कुराहरू त्यागेर तपाईंको पछि लागेका छौँ ।” 29 येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यको खातिर घर, श्रीमती वा दाजुभाइ, आमाबुबा वा छोराछोरीलाई त्याग्दछन्, 30 तिनीहरूले यस संसारमा अझै धेरै पाउनेछन् अनि आउने संसारमा अनन्त जीवन पाउनेछन् ।” 31 बाह्र जनालाई आफूकहाँ भेला गरेर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर, हामी यरूशलेमतर्फ जाँदै छौँ, अनि मानिसका पुत्रको बारेमा अगमवक्‍ताहरूले लेखेका सबै कुरा पुरा हुनेछन् । 32 किनकि उनी अन्यजातिहरूका हातमा सुम्पिइनेछन् र मनिसहरूले उनलाई गिल्ला गर्नेछन् र अपमानजनक व्यवहार गर्नेछन् र उनलाई थुक्‍नेछन् । 33 उनलाई दण्ड दिइसकेपछि तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा उनी मृत्युबाट जीवित भई उठ्नेछन् ।” 34 उनीहरूले यी कुनै पनि कुराहरू बुझेनन् र यो वचन उनीहरूबाट लुकाइएका थिए, यसकारण भनिएका कुनै पनि कुराहरू उनीहरूको समझमा आएन । 35 येशू यरीहो नजिक आउनुहुँदा, एक जना दृष्‍टिविहीन मानिस बाटोको छेउमा बसी भिख मागिरहेको थियो । 36 त्यो बाटो भएर ठुलो भिड गइरहेको कुरा सुनेर उसले सोध्यो, “यहाँ के हुँदै छ ?” 37 तिनीहरूले उसलाई भने, “नासरतका येशू यो बाटो भएर जाँदै हुनुहुन्छ ।” 38 त्यसपछि त्यो दृष्‍टिविहीन मानिसले चिच्याउँदै भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस् ।” 39 भिडको अगिअगि हिँडिरहेका मानिसहरूले त्यो दृष्‍टिविहीन मानिसलाई हकारेर चुप लाग्‍न भने, तर उसले झन् चर्को स्वरले कराउँदै भन्यो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।” 40 येशू टक्‍क उभिनुभयो र त्यस दृष्‍टिविहीन मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्यस दृष्‍टिविहीन मानिस येशूको नजिक आयो, येशूले उसलाई सोध्‍नुभयो, 41 “मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ ?” उसले भन्यो, “प्रभु, म देख्‍न चाहन्छु ।” 42 येशूले भन्‍नुभयो, “तिमी देख्‍ने भइ जाऊ । तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” 43 तुरुन्तै उसले देख्‍न सक्यो र परमेश्‍वरको महिमा गर्दै उहाँलाई पछ्यायो । यो देखेर सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे ।

19

1 येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो । 2 हेर, त्यहाँ जखायस नाउँ गरेका एक जना मानिस थिए । उनी कर उठनेहरूका मुख्य र धनी मानिस थिए । 3 उनले येशू को हुनुहुन्छ भनी हेर्न कोसिस गरिरहेका थिए, तर भिडको कारणले गर्दा हेर्न सकेनन्, किनकि उनी होचा थिए । 4 त्यसैले उनी भिडका मानिसहरूभन्दा अगाडि दौडे र उहाँलाई हेर्नको लागि नेभाराको रुखमा चढे, किनभने येशू त्यही बाटो भएर जाँदै हुनुहुन्थ्यो । 5 जब येशू उनी भएको ठाउँ नजिक आइपुग्‍नुभयो, उहाँले मास्तिर हेरेर भन्‍नुभयो, “जखायस छिटो ओर्ली आऊ, किनकि आज मलाई तिम्रो घरमा बस्‍नु छ ।” 6 त्यसैले उनी हतार-हतार ओर्ली आए र उहाँलाई खुसीसाथ स्वागत गरे । 7 जब तिनीहरू सबैले यो देखे, तब उनीहरूले यसो भन्दै गनगन गर्न थाले, “उहाँ पापी मानिसकहाँ बस्‍नको लागि जानुभयो ।” 8 जखायस खडा भएर भने, “हेर्नुहोस् प्रभु, मसँग भएका जे-जति छन् त्यसको आधा म गरिबहरूलाई दिनेछु र यदि मैले कसैलाई ठगेर कसैबाट केही कुरा लिएको छु भने त्यसको चार गुणा फिर्ता दिनेछु ।” 9 येशूले तिनलाई भन्‍नुभयो, “आज यो घरमा मुक्‍ति आएको छ, किनकि यिनी पनि अब्राहामका पुत्र हुन् । 10 किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्‍न र बचाउनको लागि आएका हुन् ।” 11 तिनीहरूले यी कुरा सुन्दै गर्दा, उहाँले अर्को दृष्‍टान्त पनि भन्‍नुभयो, किनभने तिनीहरू यरूशलेमको नजिक थिए र तिनीहरूले परमेश्‍वरको राज्य तुरुन्तै देखा पर्न लागेको छ भन्‍ने सोचेका थिए । 12 त्यसकारण, उहाँले भन्‍नुभयो, “एउटा भलादमी मानिस आफ्नो राज्य प्राप्‍त गर्नको निम्ति एउटा टाढा देशमा गएर फर्की आउनलाई गए । 13 उनले आफ्ना दस जना नोकरलाई बोलाए र तिनीहरूलाई दस सिक्‍का दिँदै भने, ‘म फर्की नआउँदासम्म यसलाई व्यापारमा लगाओ ।’ 14 तर उनका मानिसहरूले घृणा गर्दै यसो भन्‍ने सन्देश दिएर दूतहरू पठाए, ‘यो मानिसले हामीमाथि शासन गरेको हामी चाहँदैनौँ ।’ 15 तब राज्य प्राप्‍त गरी फर्केर आएपछि उनले सिक्‍का पाएका नोकरहरूलाई बोलाए र तिनीहरूले व्यापारबाट कति आर्जन गरे भनेर जान्‍ने इच्छा गरे । 16 पहिलो नोकर उनको अगाडि आयो र भन्यो, ‘मालिक, मैले तपाईंको सिक्‍काबाट अरू दस सिक्‍का कमाएँ ।’ 17 ती भलादमी मानिसले त्यसलाई भने, ‘स्याबास, असल नोकर । तिमी धेरै सानो कुरामा विश्‍वासयोग्य भयौ, त्यसकारण तिमीले दसवटा सहर अधिकार गर्नेछौ ।’ 18 दोस्रो नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्‍काबाट मैले पाँच सिक्‍का कमाएँ ।’ 19 ती भलादमी मानिसले त्यस नोकरलाई भने, ‘तिमीले पाँचवटा सहरमा राज्य गर्नेछौ ।’ 20 अनि अर्को नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्‍का यहाँ छ, जसलाई मैले कपडाभित्र सुरक्षितसाथ राखेको थिएँ । 21 किनकि म डराएँ, किनभने तपाईं कठोर मानिस हुनुहुन्छ । तपाईंले जे राख्‍नुभएको छैन, त्यो कुरा लिनुहुन्छ र जे छर्नुभएको छैन, त्यही कटनी गर्नुहुन्छ ।’ 22 ती भलादमी मानिसले त्यसलाई भने, ‘तँ दुष्‍ट नोकर, म तँलाई तेरो आफ्नै वचनले न्याय गर्नेछु । जहाँ राखेको छैन त्यहाँबाट लिन खोज्‍ने र जहाँ छरेको छैन त्यहाँबाट कटनी गर्न खोज्‍ने म कठोर मानिस हुँ भनी तँलाई थाहा थियो । 23 त्यसो भए, तैँले मेरो सिक्‍का किन बैङ्कमा राखिनस्, ताकि फर्की आउँदा ब्याजसहित मैले यो रकम पाउने थिएँ ?’ 24 ती भलादमी मानिसले त्यहाँ उभिएका मानिसहरूलाई भने, ‘योसँग भएको सिक्‍का खोसेर जससँग दस सिक्‍का छ, त्यसलाई देओ ।’ 25 तिनीहरूले उसलाई भने, ‘मालिक उसँग त दस सिक्‍का छ ।’ 26 ‘म तिमीलाई भन्दछु, जससँग छ त्यसलाई अझ धेरै दिइने छ, तर जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ । 27 तर, मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा यी शत्रुहरूलाई यहाँ ल्याओ र मेरो अगाडि मार’ ।” 28 यी कुराहरू भनिसक्‍नुभएपछि, उहाँ यरूशलेमतिर जानुभयो । 29 बेथफागे र बेथानियाबाट जैतून भनिने डाँडा नजिक पुग्‍नुभएपछि उहाँले आफना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो, 30 “नजिकैको गाउँमा जाओ । त्यहाँ पस्दै गर्दा, तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ । 31 यदि कसैले तिमीहरूलाई, ‘यसलाई किन फुकाउँदै छौ ?’ भनेर सोध्यो भने यसो भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ’ ।” 32 पठाइएकाहरू गए र तिनीहरूले येशूले भन्‍नुभएजस्तै बछेडो पाए । 33 तिनीहरूले बछेडालाई फुकाल्दै गर्दा, त्यसका मालिकले तिनीहरूलाई भने, “तिमीहरूले यस बछेडालाई किन फुकाउँदै छौ ?” 34 तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ ।” 35 तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए र तिनीहरूले त्यस बछेडामाथि आफ्ना कपडाहरू राखे र त्यसमाथि येशूलाई बसाले । 36 उहाँ जाँदै गर्नुहुँदा, तिनीहरूले बाटोमा कपडा ओछ्याए । 37 उहाँ जैतून डाँडाको ओरालोको नजिकै आइपुग्‍नुहुँदा, उहाँका चेलाहरूको ठुलो भिडले उहाँले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न लागे । 38 तिनीहरूले यसो भन्‍न लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन् ! स्वर्गमा शान्ति र सर्वोच्‍चमा महिमा !” 39 त्यो भिडमा भएका केही फरिसीहरूले उहाँलाई यसो भने, “गुरुज्यू, तपाईंका चेलाहरू चुप बसून् भनी हप्काउनुहोस् ।” 40 येशूले जवाफ दिँदै भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, तिनीहरू चुप लागे भने, यी ढुङ्गाहरू नै कराउनेछन् ।” 41 जब येशू सहरको नजिक पुग्‍नुभयो, उहाँ त्यसलाई देखेर यसो भन्दै रुनुभयो, 42 “यदि तैँले यो दिनको बारेमा थाहा पाएको भए, तँलाई शान्ति दिने कुरालाई जानेको भए ! तर अहिले यी कुराहरू तेरो नजरबाट लुकाइएका छन् । 43 किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन् । 44 तिनीहरूले तँलाई र तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन्; तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्, किनभने परमेश्‍वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्‍नलाई तैँले बुझिनस् । 45 येशू मन्दिरभित्र छिर्नुभयो र त्यहाँ व्यापार गरिरहेका मानिसहरूलाई यसो भन्दै खेद्नुभयो, 46 “यसो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकुहरूको अड्डा बनाएका छौ ।” 47 येशूले मन्दिरमा दिनहुँ शिक्षा सिकाउनुहुन्थ्यो । मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूले उहाँलाई मार्न चाहन्थे । 48 तर तिनीहरूले त्यसो गर्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनभने मानिसहरूले उहाँको वचन ध्यानसित सुनिरहेका थिए ।

20

1 येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्‍त्रीहरू येशूकहाँ आए । 2 तिनीहरूले उहाँलाई भने, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ ? अथवा कसले तिमीलाई यो अधिकार दियो ?” 3 उहाँले जवाफ दिएर भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु । 4 यूहन्‍नाको बप्‍तिस्‍माको बारेमा मलाई बताओ । यो स्वर्गबाट थियो कि मानिसहरूबाट ?” 5 उनीहरूले आपसमा भने, “यदि हामीले स्वर्गबाट भन्यौँ भने उसले यसो भन्ला ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ ?’ 6 तर यदि हामीले मानिसबाट हो भन्यौँ भने, ‘सबै मानिसले हामीलाई ढुङ्गाले हान्‍नेछन्, किनभने उनीहरूले यूहन्‍नालाई अगमवक्‍ता हो भनी विश्‍वास गरेका छन्’ ।” 7 यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, “त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन ।” 8 येशूले तिनीहरूले भन्‍नुभयो, “म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ ।” 9 उहाँले मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाएर कामदारहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए । 10 तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिऊन् भनी तिनले आफ्नो एक जना नोकरलाई ती कामदारहरूकहाँ पठाए । तर ती कामदारहरूले त्यसलाई पिटेर रित्तो हात पठाइदिए । 11 तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटेर बेइज्‍जत गरी रित्तै हात पठाए । 12 तिनले तेस्रो नोकरलाई पनि पठाए, तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकाली दिए । 13 त्यसकारण, दाखबारीका मालिकले भने, ‘अब म के गरूँ ? म आफ्नो प्यारो छोरालाई पठाउनेछु सायद उसलाई त तिनीहरूले आदर गर्लान् कि ।’ 14 तर कामदारहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो । हामी यसलाई मारौँ र सम्पत्तिको हक हाम्रो हुनेछ ।’ 15 अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे । अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान् ? 16 उनी आएर ती कामदारहरूलाई मार्नेछन् र दाखाबरी अरूहरूलाई दिनेछन् ।” यो सुनेर तिनीहरूले भने, “यस्तो कहिल्यै नहोस् !” 17 तर येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “यो धर्मशास्‍त्रको भनाइको अर्थ के हो, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे त्यही नै कुने-ढुङ्गो बन्यो ?’ 18 त्यस ढुङ्गामाथि खस्‍ने हरेक चकनाचुर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यसले त्यसलाई धुलोपिठो पार्नेछ ।” 19 त्यसकारण, शास्‍त्री र मुख्य पुजारीहरूले त्यति नै बेला उहाँलाई पक्रन खोजे । किनकि तिनीहरूलाई थाहा भयो कि उहाँले यो दृष्‍टान्त तिनीहरूकै विरुद्धमा भन्‍नुभएको थियो । तर तिनीहरू मानिसहरूसँग डराउँथे । 20 तिनीहरूले मौका हेर्न लागे र येशूले भन्‍नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए । 21 उनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, हामी जान्दछौँ कि तपाईं ठिक बोल्नुहुन्छ र ठिक सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्‍न तर परमेश्‍वरको मार्गको सत्यता सिकाउनुहुन्छ । 22 हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन ?” 23 येशूले उनीहरूको धूर्त्याइँलाई बुझेर भन्‍नुभयो, 24 “मलाई एउटा सिक्‍का देखाओ, यसमा कसको नाम र चित्र खोपिएको छ ?” उनीहरूले भने, “कैसरको ।” 25 उहाँले उनीहरूलाई भन्‍नुभयो, “त्यसो भए जे कैसर को हो, कैसरलाई देओ र जे परमेश्‍वरको हो परमेश्‍वरलाई देओ ।” 26 मानिसहरूको सामुन्‍ने उहाँले बोल्नुभएका कुरामा शास्‍त्री र मुख्य पुजारीहरूले उहाँलाई फसाउन सकेनन् । उहाँको जवाफमा उनीहरू छक्‍क परे र केही पनि भन्‍न सकेनन् । 27 त्यसपछि मृतकहरूबाट पुनरुत्थान हुँदैन भन्‍ने सदूकीहरू उहाँकहाँ आए, 28 र उहाँलाई सोधे, “गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निसन्तान भयो भने भाइले त्यसकी पत्‍नीलाई विवाह गरी दाजुको लागि सन्तान खडा गरिदिनुपर्छ । 29 सात भाइ थिए । जेठोले एउटी पत्‍नी ल्यायो र निसन्तान मर्‍यो 30 अनि माहिलाले पनि त्यसलाई विवाह गर्‍यो र निसन्तान मर्‍यो । 31 साहिँलाले पनि त्यसलाई विवाह गर्‍यो अनि त्यसरी नै ती सातै जना निसन्तान मरे । 32 पछिबाट त्यो स्‍त्री पनि मरी । 33 यसकारण, मृतकबाट पुनरुत्थान हुँदा त्यो स्‍त्री तिनीहरूमध्ये कसकी पत्‍नी हुनेछे ? किनकि ती सातै जनाले त्यसलाई पत्‍नीको रूपमा लिएका थिए ।” 34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र विवाह गरेर पठाइन्छन् । 35 तर मृतकबाट जीवित भई उठ्न र अनन्त जीवन प्राप्‍त गर्न योग्य ठहरिनेहरूले न विवाह गर्दछन् न त विवाह गरेर पठाइन्छन् । 36 तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूत समान हुन् र पुनरुत्‍थानका सन्तान भएकाले परमेश्‍वरका सन्तान हुन् । 37 तर मृतकहरू जीवित भई उठ्नेछन् भन्‍नेकुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर भनेर पुकार्दा देखाइदिए । 38 उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जिउँछन् ।” 39 अनि शास्‍त्रीहरूमध्ये कुनै-कुनैले भने, “गुरुज्यू, तपाईंले सही जवाफ दिनुभयो ।” 40 उनीहरू कसैले पनि उहाँलाई फेरि प्रश्‍न सोध्‍ने आँट गरेनन् । 41 येशूले उनीहरूलाई भन्‍नुभयो, “ख्रीष्‍ट दाऊदका पुत्र हुन् भनेर तिनीहरूले कसरी भन्दछन् ? 42 किनकि भजनको पुस्तकमा दाऊद आफैँले भन्दछन्, परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस, 43 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ ।’ 44 यसकारण, दाऊदले ख्रीष्‍टलाई प्रभु भन्दछन् भने फेरि उनी कसरी दाऊदका पुत्र भए ?” 45 सबै मानिसहरूले सुन्‍ने गरी उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, 46 “शास्‍त्रीहरूदेखि होसियार रहो जो लामा वस्‍त्रहरूमा सजिएर बजारमा अभिवादन गरिएको मन पराउँछन् अनि सभाघर र भोजहरूमा प्रमुख स्थान चाहन्छन् । 47 तिनीहरूले विधवाहरूको घर हडप्छन् र लामो-लामो प्रार्थना गरेर देखाउँछन् । तिनीहरूले नै अझै ठुलो दण्ड पाउनेछन् ।”

21

1 येशूले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेको देख्‍नुभयो । 2 उहाँले एक जना गरिब विधवाले दुई पैसा भेटी हालेको हेर्नुभयो । 3 यसैले, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनीहरू सबैले भन्दा यस विधवाले बढी दिई । 4 यिनीहरू सबैले प्रशस्तताबाट भेटीहरू दिए । तर यस विधवाले आफू गरिब भएर पनि, ऊ बाँच्‍नका लागि जे-जति थियो सबै दिई ।” 5 अब कसैले मन्दिरको बारेमा भने, “दानहरू र सुन्दर-सुन्दर ढुङ्गाहरूले सजाइएको हेर्नुहोस् ।” उहाँले भन्‍नुभयो, 6 “जसरी यी सबै थोकहरू तिमीहरू देख्छौ, यस्ता दिनहरू आउनेछन् जुन बेला एकमाथि अर्को ढुङ्गा रहनेछैन, सबै भत्किनेछन् ।” 7 त्यसकारण, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन् ? र यी सबै घटनाहरू हुँदा के-कस्ता चिह्नहरू हुनेछन् ?” 8 येशूले जवाफ दिनुभयो, “होसियार रहो ताकि तिमीहरू धोकामा नपर । धेरै जना मेरो नाउँमा यसो भन्दै आउनेछन्, ‘म उही हुँ र समय नजिक आएको छ ।’ तिमीहरू तिनीहरूका पछि नजाओ । 9 जब तिमीहरूले लडाइँ र झैझगडाहरू सुन्‍नेछौ, तब भयभीत नहोओ, यी कुराहरू पहिले हुनैपर्छ, तर अन्त्य भने तुरुन्तै हुनेछैन ।” 10 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “राज्य-राज्यको विरुद्धमा र देश-देशको विरुद्धमा उठ्नेछन् । 11 त्यहाँ धेरै भूकम्पहरू जानेछन्, र धेरै ठाउँमा महामारी र अनिकालहरू हुनेछन् । त्यहाँ डरलाग्दा घटनाहरू हुनेछन् र आकाशमा ठुला-ठुला चिह्नहरू हुनेछन् । 12 तर यी सबै कुरा हुन अगाडि, तिनीहरूका हात तिमीहरूमाथि पर्नेछन् र तिनीहरूले तिमीहरूलाई सताउनेछन्, सभाघरमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्, तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन् । 13 यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्‍याउनेछ । 14 त्यसकारण, तिमीहरूले बचाउको लागि के भन्‍ने भनेर अगिबाटै हृदयमा नसोच । 15 तिमीहरूका विरोधीहरूले सबै कुराको खण्डन गर्न नसकून् भनेर म तिमीहरूलाई वचन र बुद्धि दिनेछु । 16 तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिमीहरूमध्ये केही मृत्युका लागि सुम्पिनेछौ । 17 मेरो नाउँको खातिर सबैले तिमीहरूलाई घृणा गर्नेछन् । 18 तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्‍ट हुनेछैन । 19 तिमीहरूको सहनशीलतामा तिमीहरूले प्राण प्राप्‍त गर्नेछौ । 20 जब तिमीहरूले यरूशलेमलाई सेनाले घेरेको देख्‍नेछौ, तब त्यसको विनाश नजिकै छ भनी जान । 21 तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् र जो सहरको बिचमा छन् तिनीहरू सहर बाहिर भागून्, र बाहिर हुनेहरू सहरभित्र नपसून् । 22 यी दिनहरू बदला लिने दिनहरू हुनेछन्, यसैले लेखिएका सबै कुराहरू पुरा हुनेछन् । 23 हाय ती दिनमा गर्भवती र दूध चुसाउने स्‍त्रीहरू ! त्यस देशमाथि महासङ्कष्‍ट आउनेछ, र ती मानिसहरूमाथि क्रोध आइपर्नेछ । 24 तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी भएर जानेछन्, र गैरयहूदीहरूको समय पुरा नभएसम्म गैरयहूदीहरूले यरूशलेम नै कैदी बनाएर राख्‍नेछन् । 25 सूर्य, चन्द्रमा र ताराहरूमा चिह्नहरू देखा पर्नेछन् । अनि समुद्रका गर्जनहरू र छालहरूबाट पृथ्वीमा भएका राष्‍ट्रहरू कष्‍टमा पर्नेछन् । 26 संसारमा आइपर्न लागेका घटनाहरूका आशङ्काले मानिसहरू मुर्छित हुनेछन्, किनकि आकाशका शक्‍तिहरू डग्मगाउनेछन् । 27 त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई ठुलो शक्‍ति र महामहिमाका साथ बादलमा आउँदै गरेको देख्‍नेछन् । 28 जब यी कुरा हुन आउनेछन्, उठ र आफ्ना शिरहरू ठाडो पारेर हेर, तिमीहरूको उद्धारको दिन नजिकै छ ।” 29 येशूले उनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “नेभाराको रुखलाई हेर र अरू सबै रुखहरूलाई पनि । 30 जब तिनहरूले पालुवा फेरेको तिमीहरूले देख्छौ, तब गृष्म ऋतु नजिकै छ भनी तिमीहरू आफैँले थाहा पाउनेछौ । 31 त्यसैले पनि, जब तिमीले यी थोकहरू भएको देख्‍नेछौ, परमेश्‍वरको राज्य नजिकै छ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ । 32 तिमीहरूलाई म साँचो भन्दछु, यी सब कुराहरू पुरा नभइन्जेलसम्म यो पुस्ता बितेर जानेछैन । 33 स्वर्ग र पृथ्वी टलेर जानेछ, तर मेरा वचनहरू कहिल्यै टल्नेछैनन् । 34 तर तिमीहरू आफैँ होसियार रहो । त्यसकारण तिमीहरूको हृदय विलास, मतवालापान र जीवनको चिन्ताले नभरियोस् । नत्रभने, त्यो दिन तिमीहरूमाथि अचानक आइपर्ला । 35 यसरी नै सारा पृथ्वी भरि जिउने हरेकमाथि त्यो पासोझैँ आइपर्नेछ । 36 तर हर समय सतर्क रहो, र हुन आउने सम्पूर्ण कुराहरूबाट उम्कनलाई बलियो हुन सक र मानिसका पुत्रका अगाडि खडा हुनलाई प्रार्थना गर्दै रहो ।” 37 दिउँसोको समयमा उहाँले मन्दिरमा सिकाउनुहुन्थ्यो र साँझमा उहाँ बाहिर जानुहुन्थ्यो, र डाँडामा रात बिताउनुहुन्थ्यो जसलाई जैतून भनिन्छ । 38 सबै मानिसहरू उहाँका कुरा सुन्‍न बिहानै मन्दिरमा आउँथे ।

22

1 अखमिरी रोटीको चाड नजिक थियो, जसलाई निस्तार-चाड भनिन्छ । 2 मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए । 3 बाह्र जनामध्ये एउटा यहूदा इस्करियोतमा शैतान पस्यो । 4 येशूलाई कसरी तिनीहरूकहाँ सुम्पन सकिन्छ भन्‍ने बारेमा छलफल गर्न यहूदा मुख्य पुजारीहरू र कप्‍तानहरूसँगै गयो । 5 तिनीहरू खुसी भए र उसलाई पैसा दिन सहमत भए । 6 ऊ सहमत भयो र उसले उहाँलाई भिडबाट टाढा बनाएर तिनीहरूकहाँ सुम्पने उचित अवसर खोज्यो । 7 अखमिरी रोटीको चाडको दिन आयो जुन दिन निस्तार-चाडको थुमा बलिदान चढाउनै पर्थ्यो । 8 येशूले पत्रुस र यूहन्‍नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रो निम्ति निस्तार-चाडको भोज तयार पार, ताकि हामीले खान सकौँ ।” 9 तिनीहरूले उहाँलाई सोधे, “हामीले कहाँ तयार परेको तपाईं चाहनुहुन्छ ?” 10 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “सुन, जब तिमीहरू सहरभित्र पस्तछौँ, तिमीहरूले एउटा पानीको गाग्रो बोकिरहेको मानिस भेट्टाउनेछौ । ऊ जाने घरभित्र उनलाई तिमीहरूले पछ्याओ । 11 तब घरको मालिकलाई भन, गुरुले तपाईंलाई भन्‍नुहुन्छ, ‘पाहुना कोठा कहाँ छ, जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाड खानेछु ?’ 12 उनले तिमीहरूलाई एउटा ठुलो सजाइएको माथिल्लो तलाको कोठा देखाउनेछन् । त्यहीँ तयारी गर ।” 13 त्यसैले, तिनीहरू गए र उहाँले तिनीहरूलाई भनेझैँ हरेक थोक भेट्टाए । तब तिनीहरूले निस्तार-चाडको भोज तयार पारे । 14 जब समय आयो, उहाँ प्रेरितहरूसँगै बस्‍नुभयो । 15 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले कष्‍ट भोग्‍नअगि तिमीहरूसँग निस्तार-चाड खाने ठुलो इच्छा गरेको छु । 16 किनभने म तिमीहरूलाई भन्दछु, यो परमेश्‍वरको राज्यमा पुरा नभएसम्म मैले फेरि खानेछैनँ ।” 17 तब येशूले कचौरा लिनुभयो, र जब उहाँले धन्यवाद दिनुभयो, उहाँले भन्‍नुभयो, “यो लेऊ, र तिमीहरूका बिचमा बाँड । 18 किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य नआएसम्म म फेरि अङ्गुरको फलको रस पिउनेछैनँ ।” 19 तब उहाँले रोटी लिनुभयो, र जब उहाँले धन्यवाद दिनुभयो, र उहाँले रोटी भाँच्‍नुभयो, र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । मेरो सम्झनामा यो गर्ने गर ।” 20 भोज खानुभएपछि त्यसै गरी उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जुन तिमीहरूका निम्ति बगाइन्छ । 21 तर ध्यान देओ । मलाई धोखा दिनेचाहिँ यही टेबलमा नै छ । 22 किनभने मानिसका पुत्र त निश्‍चय गरेअनुसार जानुपर्छ । तर त्यो मानिसलाई धिक्‍कार होस् जसद्वारा उनलाई विश्‍वासघात गरिन्छ ।” 23 र तिनीहरूमध्ये कसले यो गर्ला भनी तिनीहरूबिच आफैँमा प्रश्‍न गर्न लागे । 24 तब तिनीहरूमध्ये को सबैभन्दा ठुलो भन्‍नेबारे तिनीहरूबिच झगडा उब्जियो । 25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँदछन्, र तिनीहरूमाथि अधिकार जमाउनेलाई आदरणीय शासकहरू भनिन्छ । 26 तर तिमीहरूमा यस्तो हुनुहुँदैन । बरु, तिमीहरूमध्ये सबैभन्दा ठुलोचाहिँ सबैभन्दा सानोजस्तो होस् । र जो सबैभन्दा महत्त्‍वपूर्ण छ, त्यो सेवा गर्नेजस्तो होस् । 27 किनभने टेबलमा खान बस्‍ने कि वा सेवा गर्ने कुनचाहिँ ठुलो हो ? टेबलमा खान बस्‍ने होइन र ? तर म त तिमीहरूका बिचमा एक सेवा गर्नेजस्तै छु । 28 तर मेरो परीक्षामा निरन्तर मसँग रहने तिमीहरू नै हौ । 29 जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभएको छ, म तिमीहरूलाई एउटा राज्य दिन्छु । 30 मेरो राज्यमा तिमीहरूले मसँगै टेबलमा खान र पिउन सक्‍नेछौ । र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनमा बस्‍नेछौ । 31 सिमोन, हे सिमोन, होसियार होऊ, शैतानले तिमीलाई हात पार्न खोज्यो ताकि उसले तिमीलाई गहुँलाई जस्तै निफन्‍न पाओस् । 32 तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु, ताकि तिम्रो विश्‍वास नचुकोस् । तिमी फेरि फर्केपछि तिम्रा भाइहरूलाई बलियो बनाओ । 33 पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग जेल र मृत्युसम्म जानको निम्ति तयार छु ।” 34 येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्छु, तिमीले मलाई चिन्दिनँ भनेर तिन पटक इन्कार नगरेसम्म, यो दिन भाले बास्‍नेछैन ।” 35 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई पैसाको थैलो, खानेकुरा, वा जुत्ताहरूविना पठाउँदा, के तिमीहरूलाई केही कुराको खाँचो पर्‍यो र ?” र तिनीहरूले जवाफ दिए, “खाँचो परेन ।” 36 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर अहिले जोसँग पैसाको थैली छ, उसलाई बोक्‍न देऊ र खानेकुरा बोक्‍ने झोला पनि । जससँग तरवार छैन, त्यसले आफ्नो ओढ्ने बेचोस् र एउटा किनोस् । 37 किनकि म तिमीहरूलाई भन्दछु, मेरो बारेमा जे लेखिएको छ त्यो पुरा हुनेछ, ‘र उसलाई दुष्‍टलाई जस्तै व्यवहार गरिनेछ । किनकि मेरो बारेमा जे अगमवाणी गरिएको छ त्यो पुरा भइरहेको छ ।” 38 तब तिनीहरूले भने, “प्रभु, हेर्नुहोस ! यहाँ दुईवटा तरवार छन् ।” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो पर्याप्‍त छ ।” 39 भोजनपछि, येशूले प्रायः गर्नेजस्तै गर्नुभयो, उहाँ जैतून डाँडातिर जानुभयो, र चेलाहरूले उहाँलाई पछ्याए । 40 जब तिनीहरू आइपुगे, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “प्रार्थना गर ताकि तिमीहरू परीक्षामा नपर ।” 41 उहाँ तिनीहरूबाट टाढा ढुङगा फ्याक्‍न सकिने ठाउँसम्म जानुभयो, र उहाँले घुँडा टेकेर प्रार्थना गर्नुभयो, 42 “हे पिता, यदि तपाईं चाहनुहुन्छ भने, यो कचौरा मबाट हटाइदिनुहोस् । तथापि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पुरा होस् ।” 43 तब स्वर्गबाट एउटा स्वर्गदूत उहाँकहाँ देखा परे र उहाँलाई शक्‍ति दिए । 44 पीडामा परेर पनि उहाँले जोसिलो प्रकारले प्रार्थना गर्नुभयो, अनि उहाँका पसिना रगतको ठुला-ठुला थोपाजस्तै भुइँमा खसिरहेका थिए । 45 जब उहाँ प्रार्थना गरेर उठ्नुभयो, उहाँ चेलाहरूकहाँ आउनुभयो, र तिनीहरूका दुःखको कारणले गर्दा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो । 46 र उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “किन तिमीहरू निदाइरहेका छौ ? उठ र प्रार्थना गर, ताकि तिमीहरू परीक्षामा पर्नु नपरोस् ।” 47 हेर, उहाँ बोलिरहनु हुँदा, बाह्र जनामध्ये एउटा अर्थात् यहूदाको अगुवाइमा एउटा भिड देखा पर्‍यो । ऊ येशूलाई चुम्बन गर्न उहाँको नजिक आयो, 48 तर येशूले उसलाई भन्‍नुभयो, “यहूदा, के तिमीले मानिसका पुत्रलाई एउटा चुम्बनले विश्‍वासघात गर्दछौ ?” 49 जब येशूको वरिपरि भएकाहरूले जे भइरहेको थियो, त्यो देखे, तिनीहरूले भने, “प्रभु, के हामीले तरवारले प्रहर गर्नुपर्छ ?” 50 तिनीहरूमध्ये एक जनाले प्रधान पुजारीको नोकरलाई प्रहार गरे, र उसको दाहिने कान काटिदिए । 51 येशूले भन्‍नुभयो, “यति नै हुनदेऊ ।” र उहाँले उनको कान छुनुभयो, र निको पार्नुभयो । 52 येशूले उहाँ विरुद्ध आउने मुख्य पुजारीहरू, मन्दिरको कप्‍तान र अगुवाहरूलाई भन्‍नुभयो, “के तिमीहरू एउटा लुटेराको विरुद्धमा जस्तै तरवारहरू र लाठीहरू लिएर आउँछौ ? 53 जब म तिमीहरूसँगै मन्दिरमा दिनहुँ हुँदा, तिमीहरूले ममाथि हात हालेनौँ । तर यो तिमीहरूको समय र अन्धकारको अधिकारको समय हो ।” 54 तिनीहरूले उहाँलाई गिरफ्तार गरेर प्रधान पुजारीको घरभित्र ल्याए । तर पत्रुसले टाढैबाट उहाँलाई पछ्याए । 55 त्यसपछि तिनीहरूले आँगनको बिचमा आगो बाले र सँगै बसे, पत्रुस तिनीहरूका बिचमा बसे । 56 पत्रुस आगोको उज्यालोमा बस्दा एउटी नोकर्नीले उनीतिर सोझै हेरेर भनी, “यी मानिस पनि उनीसँगै थिए ।” 57 तर पत्रुसले यसलाई इन्कार गर्दै भने, “नारी, म उहाँलाई चिन्दिनँ ।” 58 केही बेरपछि अरू कसैले देखेर भन्यो, “तिमी पनि तिनीहरूमध्ये एक हौ ।” तर पत्रुसले भने, “हे मानिस, म होइनँ ।” 59 लगभग एक घण्टापछि अर्को मानिसले जिद्दी गर्दै भन्‍यो, “साँच्‍चै यी मानिस पनि उनीसँगै थिए, किनभने उनी पनि एक गालीलबासी हुन् ।” 60 तर पत्रुसले भने, “हे मानिस, तिमीले के भनिरहेछौ, म जान्दिनँ ।” र उनले बोल्दै गर्दा भाले तुरुन्तै बास्यो । 61 प्रभुले पत्रुसतिर फर्केर हेर्नुभयो । र पत्रुसलाई उहाँले भन्‍नुभएको वचनलाई सम्झे, “भाले बास्‍नअगि तिमीले मलाई तिन पटक इन्कार गर्नेछौ ।” 62 पत्रुस बाहिर गएर धुरुधुरु रोए । 63 तब येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई गिज्याए र कुटे । 64 उहाँका आँखामा पट्टी बाँधेर, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “भविष्यवाणी गर् ! तँलाई कुट्ने को हो ?” 65 येशूको विरुद्धमा तिनीहरूले अरू धेरै कुराहरू बोले र उहाँलाई ईश्‍वर-निन्दाको दोष लगाए । 66 बिहान हुनेबितिकै, मुख्य पुजारीहरू र शास्‍त्रीहरू दुवै मानिसहरूका धर्म-गुरुहरू सँगै भेला भए । तिनीहरूले उहाँलाई परिषद्‍मा लगे र 67 भने, “यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन् ।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि मैले तपाईंहरूलाई भने पनि तपाईंहरूले विश्‍वास गर्नुहुनेछैन, 68 र मैले तपाईंहरूलाई सोधेँ भने, तपाईंहरूले जवाफ दिनुहुनेछैन । 69 तर अहिलेबाट, मानिसका पुत्र परमेश्‍वरको शक्‍तिको दाहिने हातपट्टि विराजमान हुनेछ ।” 70 तिनीहरू सबैले भने, “त्यसो भए के तँ परमेश्‍वरका पुत्र होस् ?” र येशूले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरू नै भन्‍नुहुन्छ, म उही हुँ ।” 71 तिनीहरूले भने, “अब हामीलाई किन अझ साक्षीहरूको आवश्यक पर्छ र ? किनभने हामी आफैँले उसको आफ्नै मुखबाट सुनिसक्यौँ ।”

23

1 तिनीहरूका सबै दल उठे, र येशूलाई पिलातसका सामु ल्याए । 2 तिनीहरूले उहाँलाई यसो भन्दै दोष लगाउन सुरु गरे, “हामीले यस मानिसलाई हाम्रो देश भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैँलाई ख्रीष्‍ट राजा भनेको भेट्टायौँ ।” 3 पिलातसले उहाँलाई यसो भन्दै सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?” येशूले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तपाईंले नै त्यसो भन्दै हुनुहुन्छ ।” 4 पिलातसले मुख्य पुजारीहरू र भिडलाई भने, “यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिनँ ।” 5 तर तिनीहरूले जबरजस्ती भनिरहेका थिए, “यसले गालीलबाट सुरु गरेर सारा यहूदाभरि यस ठाँउसम्म मानिसहरूलाई भड्काउँदै छ ।” 6 त्यसकारण जब पिलातसले यो सुने, तब उनले उहाँ गालीली हुनुहुन्थ्यो कि भनी सोधे । 7 जब उनले उहाँ त हेरोदको अधिकारमुनि हुनुहुन्छ भन्‍ने थाहा पाए, उनले येशूलाई हेरोदकहाँ पठाए जो ती दिनहरूमा यरूशलेममा नै थिए । 8 जब हेरोदले येशूलाई देखे, उनी धेरै खुसी भए, किनकि उनले उहाँलाई धेरै अगाडिदेखि हेर्ने इच्छा गरेका थिए । उनले उहाँको बारेमा धेरै कुराहरू सुनेका थिए र उहाँद्वारा केही आश्‍चर्यकर्महरू गरिएको हेर्न चाहन्थे । 9 हेरोदले येशूलाई धेरै शब्दहरूमा प्रश्‍न गरे, तर येशूले उनलाई कुनै पनि जवाफ दिनुभएन । 10 मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई जोड्दार दोष लगाउँदै उभिएका भए । 11 हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँको अपमान गरे र उहाँलाई गिल्ला गरे अनि असल पोशाक पहिर्‍याएर येशूलाई पिलातसकहाँ फर्काइदिए । 12 हेरोद र पिलातस त्यसै दिनदेखि एक-अर्कासँग साथी भए (त्यस अगि उनीहरू शत्रु थिए) । 13 तब पिलातसले मुख्य पुजारीहरू र शासकहरू र मानिसहरूका भिडलाई बोलाए, 14 र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई खराब काम गर्न मानिसहरूलाई अगुवाइ गर्ने व्यक्‍तिको रूपमा मकहाँ ल्यायौ, र हेर, तिमीहरूकै सामुन्‍ने यी मानिसलाई मैले प्रश्‍न गरेँ । तर तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइनँ ।” 15 हेरोदले पनि दोषी भेट्टाएनन्, किनकि उनले हामीकहाँ फिर्ता पठाए । र हेर, यिनले मृत्युदण्ड पाउनेयोग्य कुनै काम गरेका छैनन् । 16 यसकारण म यिनलाई सजाय दिनेछु र छोडिदिन्छु ।” 17 अब चाडको समयमा पिलातसले यहूदीका निम्ति एक जना कैदीलाई छोडिदिनुपर्थ्यो । 18 तर तिनीहरू एकैसाथ कराउँदै यसो भने, “यस मानिसलाई हाम्रा बिचबाट हटाउनुहोस् र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस् ।” 19 बारब्बा सहरमा विद्रोह र हत्याको कारण गर्दा झ्यालखानमा राखिएको एक मानिस थिए । 20 येशूलाई छोड्ने इच्छा गरी फेरि पिलातसले तिनीहरूलाई सम्बोधन गरे । 21 तर तिनीहरूले चिच्‍च्‍याउँदै यसो भने, “त्यसलाई क्रुसमा झुन्ड्याओ, क्रुसमा झुन्ड्याओ ।” 22 पिलातसले तेस्रो पटक तिनीहरूलाई भने, “किन, यो मानिसले के दुष्‍ट काम गरेको छ र ? मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइनँ । यसकारण, यसलाई सजाय दिएर छोडिदिन्छु ।” 23 तर तिनीहरू उच्‍च स्वरमा येशूलाई क्रुसमा टाँग्‍ने माग गर्दै लागि परे । र पिलातसलाई उनीहरूका आवाजले विश्‍वस्त तुल्यायो । 24 त्यसकारण, पिलातसले उनीहरूका माग पुरा गरिदिने निर्णय गरे । 25 त्यसैले तिनीहरूले माग गरेअनुसार पिलातसले बारब्बालाई छोडिदिए जसद्वारा सहरमा हत्या र आतङ्क भएको थियो, तर येशूलाई तिनीहरूको इच्छाअनुसार सुम्पिदिए । 26 तिनीहरूले उहाँलाई टाढा लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर येशूलाई पछ्याउदै उहाँको क्रुस बोक्‍न लगाए । 27 मानिसहरूको एउटा ठुलो भिड, उहाँका लागि विलाप गर्ने र दुःखित हुने स्‍त्रीहरूले पनि उहाँलाई पछ्याइरहेका थिए । 28 तर तिनीहरूतिर फर्केर येशूले भन्‍नुभयो, “यरूशलेमका छोरीहरू हो, मेरो लागि नरोऊ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रोओ । 29 किनभने हेर, दिनहरू आउँदै छन् र तिनीहरूले भन्‍नेछन्, ‘हे बाँझीहरू, नजन्माउने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्यका हुन् ।’ 30 त्यसपछि तिनीहरूले पहाडहरूलाई भन्‍न थाल्नेछन्, ‘हामीमाथि खस,’ र डाँडाहरूलाई भन्‍नेछन्, ‘हामीलाई छोप ।’ 31 यदि रुख हरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने, सुख्खा हुँदा के गर्लान् ?” 32 उहाँसँगै अरू दुई जना अपराधीलाई पनि मृत्युदण्ड दिनलाई लगिएको थियो । 33 जब तिनीहरू खप्परे भन्‍ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँ र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई बायाँतर्फ क्रुसमा टाँगे । 34 येशूले भन्‍नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्‍त्रहरू भाग गर्नलाई चिट्ठा हाले । 35 मानिसहरूले उभिएर हेरिरहेका थिए, जहाँ शासकहरूले पनि उहाँलाई यसो भन्दै गिल्ला हेरिरहेका थिए, “यो परमेश्‍वरको चुनिएको ख्रीष्‍ट हो भने यसले अरूलाई त बचायो, अब आफैँलाई बचाओस् ।” 36 अनि सिपाहीहरूले पनि सिर्का दिँदै यसो भनी गिल्ला गरे, 37 “यदि तिमी यहूदीहरूका राजा हौ भने, आफैँलाई बचाओ ।” 38 “यो यहूदीहरूका राजा हो भनी” त्यहाँ उहाँको माथि एउटा चिह्न पनि थियो । 39 क्रुसमा टाँगिएको एक जना अपराधीले उहाँको गिल्ला गर्दै यसो भन्यो, “के तिमी ख्रीष्‍ट होइनौ ? हामीलाई र आफैँलाई बचाऊ ।” 40 तर अर्कोले त्यसलाई हप्काउँदै जवाफ दियो, “के तँ परमेश्‍वरको डर मान्दैनस्, तँ आफैँ यस्तो अवस्थामा छस् ? 41 हामी वास्तवमा यहाँ न्यायोचित रूपले छौँ, हामीले हाम्रो कामको उचित परिणाम पाइरहेका छौँ । तर यी मानिसले त कुनै गल्ती काम गरेका छैनन् ।” 42 र उसले थप्यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस् ।” 43 येशूले त्यसलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ ।” 44 यो छैठौँ घडीको बेला थियो, र नवौँ घडीसम्म सारा देशभरि अन्धकारले ढाक्यो । 45 सूर्यले प्रकाश दिन छोड्यो । त्यसपछि मन्दिरको पर्दा बिचबाट च्यातियो । 46 येशूले उच्‍च स्वरमा कराएर भन्‍नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु । यसो भनेर उहाँले प्राण त्याग्‍नुभयो ।” 47 जब कप्‍तानले जे भइरहेको थियो सो देखे, उनले यसो भन्दै परमेश्‍वरको महिमा गरे, “निश्‍चय नै यिनी एक धार्मिक मानिस थिए ।” 48 यस ठाउँमा आएका सबै भिडले त्यहाँ भएका घटनाहरूलाई देखेपछि तिनीहरू आफ्नो छाती पिट्दै फर्के । 49 तर उहाँका चिनाजानीका मानिसहरू र गालीलबाट उहाँलाई पछ्याउने स्‍त्रीहरू टाढै उभिएर यी कुराहरू हेरिरहेका थिए । 50 हेर, त्यहाँ एक जना योसेफ नाउँ गरेका मानिस थिए । तिनी महासभाका सदस्य थिए, जो एक असल र धार्मिक मानिस थिए । 51 (उनी तिनीहरूका निर्णय र क्रियाकलापसँग सहमत थिएनन्), उनी यहूदिया सहर अरिमाथियाका थिए, जसले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए । 52 यी मानिसले पिलातसकहाँ गएर येशूको शरीर मागे । 53 उनले तल लगे र सफा मलमलको कपडामा बेह्रेर चट्टानमा कपेर बनाइएको चिहानमा राखे, जहाँ कहिल्यै कसैलाई राखिएको थिएन । 54 यो तयारीको दिन थियो, र विश्राम दिन सुरु हुनै लागेको थियो । 55 गालीलदेखि पछ्याउँदै आएका स्‍त्रीहरूले पनि चिहानमा उहाँको शरीर कसरी राखिएको थियो, त्यसलाई हेरे । 56 तिनीहरू फर्के र सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे । त्यसपछि आज्ञाअनुसार विश्राम दिनमा तिनीहरूले विश्राम गरे ।

24

1 हप्‍ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर उनीहरू चिहानमा आए । 2 तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए । 3 तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन् । 4 जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलोवस्‍त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए । 5 ती स्‍त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्‍त्रीहरूलाई भने, “किन तिमीहरूले जीवितलाई मृतकहरूका बिचमा खोज्छौ ?” 6 उहाँ यहाँ हुनुहुन्‍न, तर जीवित हुनुभएको छ ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्‍नुभएको थियो, सो सम्झ । 7 मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ ।” 8 तब ती स्‍त्रीहरूले उहाँका वचनलाई सम्झे । 9 र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र अरू सबैलाई बताइदिए । 10 अब मरियम मग्दलिनी, योअन्‍ना, याकूबकी आमा मरियम र उनीहरूसँग अरू स्‍त्रीहरू पनि थिए र प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए । 11 तर यो सन्‍देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लग्यो, र तिनीहरूले स्‍त्रीहरूको कुरामा विश्‍वास गरेनन् । 12 यथापि पत्रुस उठे, र चिहानतिर दौडेर गए र निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीलाई देखे । तब पत्रुस आश्‍चर्य चकित हुँदै के भएको होला भन्दै आफ्नो घर तर्फलागे । 13 हेर, तिनीहरू दुई जना त्यही दिन इम्माउस नाउँ भएको गाउँतिर गइराखेका थिए, जुन यरूशलेमबाट साठी किलोमिटर टाढा थियो । 14 जे भएको थियो, ती सबै कुराको विषयमा तिनीहरूले एक-अर्कामा छलफल गरे । 15 तिनीहरू छलफल र एकसाथ प्रश्‍न गरिरहेका बेलामा येशू आफैँ तिनीहरूको नजिक आउनुभयो र तिनीहरूसँगै जानुभयो । 16 तर तिनीहरूका आँखा उहाँलाई नचिन्‍ने बनाइएका थिए । 17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू दुवै जना हिँड्दै गर्दा के को विषयमा कुरा गरिरेहेका थियौ ?” उदास भएर तिनीहरू त्यहाँ उभिए । 18 तिनीहरूमध्ये क्लेओपास नाउँ गरेका एक जनाले उहाँलाई जवाफ दिए, ”यी दिनहरूमा यरूशलेममा भएका कुराहरू थाहा नपाउने व्यक्‍ति के तपाईं मात्रै एक हुनुहुन्छ ?” 19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के कुराहरू ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्‍ता हुनुहुन्थ्यो, सबै मानिसहरू र परमेश्‍वरको अगाडि काम र वचनमा शक्‍तिशाली हुनुहुन्थ्यो । 20 र कसरी मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रुसमा टाँगे । 21 तर उहाँले नै इस्राएललाई स्वतन्‍त्र गर्नुहुने थियो भनी हामीले आशा राखेका थियौँ । र यी सबै कुराबाहेक, यी सबै कुरा हुन आएको आज तेस्रो दिन भइसक्यो । 22 तरै पनि, बिहान सबेरै उहाँको चिहानमा गएर, हाम्रो समूहका केही स्‍त्रीहरूले हामीलाई आश्‍चर्य चकित पारेका छन्, । 23 जब तिनीहरूले उहाँको शरीरलाई भेट्टाएनन्, तब यसो भन्दै तिनीहरू आए, तिनीहरूले स्वर्गदूतहरूको दर्शन पनि देखे जसले उहाँ जीवित हुनुभएको थियो भने । 24 हामीसँग भएका केही मानिसहरू चिहानमा गए, र थाहा पाए कि स्‍त्रीहरूले भनेजस्तै भएको थियो । तर तिनीहरूले उहाँलाई देखेनन् ।” 25 येशूले तिनीहरूलाई भन्‍नुभयो, “हे मूर्ख मानिसहरू र विश्‍वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्‍ताहरूले बोलेका थिएनन् र ? 26 के ख्रीष्‍टले यी सबै कुराहरूमा दुःख कष्‍ट भोग्‍न र उसको महिमामा प्रवेश गर्न आवश्यक थिएन र ?” 27 तब मोशादेखि लिएर सबै अगमवक्‍ताहरूद्वारा सबै धर्मशास्‍त्रमा येशूको विषयमा भनिएका कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गरिदिनुभयो । 28 तिनीहरू जुन गाउँतिर गइरहेका थिए, तिनीहरू त्यसको नजिकै पुग्‍न लाग्दा येशूले अझै टाढा जानेजस्तै गरी व्यवहार गर्नुभयो । 29 तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे, “हामीसँगै बस्‍नुहोस् किनकि साँझ परिसक्यो र लगभग दिन बितिसक्यो ।” त्यसैले, येशू तिनीहरूसँगै बस्‍न जानुभयो । 30 जब उहाँ तिनीहरूसँग खान बस्‍नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष्‌‌ माग्‍नुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो । 31 तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने, र उहाँ तिनीहरूका दृष्‍टिबाट हराउनुभयो । 32 तिनीहरूले एक अर्कोलाई भने, बाटोमा उहाँ हामीसँग बोल्नुँहुदा उहाँले हामीलाई धर्मशास्‍त्र खोलिदिनुहुँदा के हाम्रा हृदयभित्र जलन भइराखेको थिएन र ?” 33 त्यसै घडी तिनीहरू उठे, र यरूशलेममा फर्के । तिनीहरूले एघार जना एक आपसमा र उनीहरूसँग भएकाहरू पनि जम्मा भइराखेको भेट्टाए, 34 तिनीहरूले भने, “प्रभु जीवित हुनुभएको रहेछ, र सिमोनकहाँ देखा पर्नुभएको रहेछ ।” 35 त्यसकारण, बाटोमा जे भएको थियो, ती कुराहरू तिनीहरूले बताए र कसरी येशूले रोटी भाँच्‍ने बेलामा तिनीहरूलाई आफूलाई प्रकट गर्नुभयो, सो पनि बताए । 36 जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् ।” 37 तर तिनीहरू भयभीत भए र डरले भरिए, र हामीले एउटा आत्मा देख्यौँ भनी विचार गरे । 38 येशूले तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ ? किन तिमीहरूका हृदयमा प्रश्‍न उठाउँछौ ? 39 मेरा हात र खुट्टा हेर, त्यो म आफैँ हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीले मेरो शरीरमा भएको देखेका छौ ।” 40 जब उहाँले यो भनी सक्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो । 41 तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ ?” 42 तिनीहरूले उहाँलाई एउटा पकाएको माछा दिए । 43 येशूले त्यसलाई लिनुभयो, र तिनीहरूकै सामु खानुभयो । 44 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्‍ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।” 45 तब तिनीहरूले धर्मशास्‍त्र बुझ्‍न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो । 46 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ख्रीष्‍टले कष्‍ट भोग्‍नु, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नु आवश्यक छ । 47 र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्‍चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ । 48 तिमीहरू यी कुराहरूका साक्षी छौ । 49 हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँछु, तर माथिबाट शक्‍ति प्राप्‍त नगरेसम्म तिमीहरू यही सहरमा पर्खेर बस ।” 50 त्यसपछि तिनीहरू बेथानी नपुगेसम्म उहाँले तिनीहरूलाई अगुवाइ गर्नुभयो । उहाँले आफ्ना हातहरू उचालेर तिनीहरूलाई आशिष्‌‌ दिनुभयो । 51 त्यसपछि, जब उहाँले तिनीहरूलाई आशिष्‌‌ दिँदै हुनुहुन्थ्यो, उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो । 52 त्यसैले, तिनीहरूले उहाँको आराधना गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के । 53 तिनीहरू निरन्तर परमेश्‍वरलाई धन्यको भन्दै मन्दिरमा रहे ।